सुदूरपश्चिमबाट नागरिक उन्मुक्ति पार्टीले राष्ट्रियसभामा एक सिट पाउने
धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिमबाट आफ्नो पार्टीले राष्ट्रियसभामा एक सिट पाउने सहमति भएको बताएका छन्। बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी चौधरीले सुदूरपश्चिमका तीन सिटमा एक सिट नागरिक उन्मुक्तिले पाउने सहमति भएको बताएका हुन् ।
उनले पुस २१ गते बस्ने सत्ता गठबन्धनको बैठकले यसबारे निर्णय गर्ने बताए । उनले भने, ‘एक सिट पाउने सहमति भएको छ। सुदूरपश्चिमबाट एक सिट पाउँछौ। २१ गतेको बैठकले पक्का गर्छ।’
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका तीन जनाको पदावधि फागुनमा सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी.इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो । नागरिक उन्मुक्ति पार्टीका १७ वटा मत रहेको छ ।
स्थानीय तहमा सात र १० वटा केन्द्रको भोट रहेको चौधरीले बताए । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ।
