`

भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै चैत ९ देखि नारायणी नदी किनारमा महोत्सव

Nepal One HD २२ फागुन २०८० १९:२२
अर्थ समाचार

चितवन, २२ फागुन : जनजातिको भाषा र संस्कृति प्रवर्द्धन गर्न चितवनमा महोत्सव गरिने भएको छ । आगामी चैत ९ देखि १८ गतेसम्म नारायणी नदी किनारमा ‘प्रथम आदिवासी जनजाति सास्कृतिक तथा व्यापार महोत्सव’ आयोजना गर्न लागिएको हो । आदिवासी जनजाति महासङ्घले आयोजना गर्न लागेको उक्त महोत्सवको तयारीबारे आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । महोत्सवमा तीन सय कक्ष रहने छन् ।

भरतपुर भ्रमण वर्ष, २०२४ लाई लक्षित गर्दै महोत्सवको आयोजना गरिएको महासङ्घ चितवनका अध्यक्ष एवं मेलाका संयोजक महेन्द्र दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो । यसबाट भरतपुर भ्रमण वर्र्षको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।

” महोत्सव अवधिभर दैनिकजसो सांस्कृतिक प्रदर्शनीको अवलोकन गर्न सकिने छ । सो अवसरमा चितवनमा ४० आदिवासी जनजाति समुदायको बसोबास रहेको जानकारी दिइयो । तीन लाख ३२ हजारभन्दा बढी आदिवासीको बसोबास रहेको चितवनमा पहिलोपटक आयोजना गर्न लागिएको सो महोत्सवले आदिवासी संस्कृतिको संरक्षणसँगै पहिचान दिने संयोजक दुराको भनाइ छ । चितवनमा कूल जनसङ्ख्याको ४६ प्रतिशत आदिवासी जनजातिको बसोबास छ ।

चितवनमा थारु, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बरामलगायतका जनजाति छन् । सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भ्रातृत्व अभिवृद्धिका लागि महोत्सवबाट मद्दत पुग्ने महासङ्घका सल्लाहाकार पदम गुरुङले बताउनुभयो ।


प्रतिक्रिया