`

यातयात व्यवसायीका समस्या समाधान गर्न तयार छौँ : मुख्यमन्त्री अधिकारी

Nepal One HD २९ वैशाख २०८१ ६:०५
राजनीति

लेखनाथ (कास्की)-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकरीले जोखिमपूर्ण सडकका कारण यातायात क्षेत्र अझै सुरक्षित बन्न नसकेको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन गण्डकी प्रदेशको तेस्रो प्रदेश अधिवेशनको पोखरामा उद्घाटन गर्दै उहाँले यातायात व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सकरात्मक छ भन्नुभयो ।

“राजनीतिक अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने अवस्था छैन, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकी प्रदेश सरकार यातायातमैत्री बनाउन चाहन्छ, सरकारले याातायात व्यवसायीसँग कर मात्र लिने हैन व्यवसाय गर्न उनीहरुलाई सहज वातावरण बनाउने काम पनि हो ।”

यातायात व्यवसायीलाई सहज रुपमा सेवा प्रदान गर्न केही दिनभित्र नै यातायात व्यवस्था कार्यालय गण्डकीको शाखा कार्यालय पोखराको लेखनाथमा विस्तार गरिने जानकारी उहाँले दिनुभयो । यातायात व्यवसायीले भोग्दै आएका समस्याका बारेमा आफू जानकार भएको बताउँदै उहाँले उनीहरुका समस्या समाधानमा आफ्नो भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

“राजनीतिक अधिकार प्राप्तिका लागि अब आन्दोलन गर्नुपर्ने अवस्था छैन, व्यवसायीले स्वतन्त्र रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्”, मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “यातायात क्षेत्रमा भएको अर्बाै रुपैयाँको लगानी डुब्न दिने पक्षमा गण्डकी प्रदेश सरकार छैन ।” यातायात व्यवसायी योगेन्द्र केसीले निजी लगानीमा सञ्चालनमा ल्याइएको यातायात सेवा जोखिमपूर्ण बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । याातायात मजदुर नेता रुद्र खत्रीले याातायात मजदुरका समस्या समाधान गर्नेतर्फ व्यवसायीको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सङ्गठनका गण्डकी प्रदेश संयोजक बलराम सापकोटाको अध्यक्षतामा भएको उक्त अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।


प्रतिक्रिया