सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहको दाबी पेस
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेस गरेका छन् । शाहले आइतबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको लागि दाबी पेस गरेका हुन् ।
प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा शाहले दाबी पेस गरेका हुन् । योसँगै कांग्रेसका शाह दोस्रोपटक सुदूरपश्चिमको पाचौँ मुख्यमन्त्री बन्ने भएका छन् ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेभित्र नयाँ सरकारको दाबी पेस गर्न आह्वान गरेका थिए।
मुख्यमन्त्रीको दौडमा प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट र प्रकाशबहादुर देउवा थिए । यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।
शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन् । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए ।
