सडकमा फोहोर छाडेको भन्दै एमालेलाई महानगरले गरायो एकलाख जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा गरिएको जागरणसभाका क्रममा गरिएको फोहोर फुटपाथ र सडकमै छाडिएपछि महानगरले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
महानगरले भनेको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरि वातावरण प्रदूषण गरेकोले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
यसअघि गत चैत २७ गते राप्रपाले प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै महानगरले जरिवाना तिराएको थियो ।
काठमाडौं महानगरपालिकाले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको महानगरले जनाएको थियो ।
