जलस्रोत बाँडफाँटबारे छलफल गर्न बङ्गलादेशको प्रतिनिधिमण्डल भारत भ्रमणमा


बङ्गलादेश र भारतबीच जलस्रोतको साझेदारीबारे छलफल गर्न बङ्गलादेशको प्राविधिक प्रतिनिधिमण्डल सोमबार कोलकाता गएको अधिकारीहरूले बताएका छन् ।
जोइन्ट रिभर कमिशन (जेआरसी) का सदस्य मुहम्मद अबुल होसेनको नेतृत्वमा रहेको १२ सदस्यीय बङ्गलादेशी प्रतिनिधिमण्डलले मार्च ५ बिहानसम्म फरक्कामा गङ्गाको प्रवाह अवलोकन गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताए ।
त्यसपछि प्रतिनिधिमण्डल भारत–बंगलादेश जोइन्ट रिभर कमिशनको तत्वावधानमा मार्च ६–७ मा कोलकातामा हयात रिजेन्सी होटलमा दुई दिवसीय बैठकका लागि कोलकाता फर्किने तय भएको द डेली स्टारले जनाएको छ ।
“फराक्का स्थल भ्रमणपछि बङ्गलादेश र भारतबीच दुईवटा बैठक हुनेछन् । एउटा बैठकमा गङ्गा सम्झौता कार्यान्वयनबारे छलफल हुनेछ भने अर्को बैठकमा साझा नदीका विभिन्न प्राविधिक विषयमा छलफल हुनेछ”, जेआरसीका कार्यकारी इन्जिनियर काजी साहिदुर रहमानले भन्नुभयो, “प्रतिनिधिमण्डल मार्च ८ मा ढाका फर्कनेछ ।”
गङ्गा भारत र बङ्गलादेशले साझा गर्ने ५४ वटा नदीमध्ये एउटा हो । सन् १९९६ डिसेम्बर १२ मा तत्कालीन भारतीय प्रधानमन्त्री एच डी देवगौडा र उहाँका तत्कालीन बङ्गलादेश समकक्षी शेख हसिनाद्वारा गङ्गा जल सन्धिमा हस्ताक्षर गरेर यसको पानी बाँडफाँटलाई लिएर लामो समयदेखि रहेको मतभेद समाधान गरिएको थियो ।
यो सन्धि ३० वर्षको अवधिका लागि लागु हुने थियो र आपसी सहमतिमा नवीकरणयोग्य थियो । जलस्रोत विभागअनुसार सन्धिको कार्यान्वयन अनुगमन गर्नसंयुक्त समिति गठन गरिएको छ ।
सन् २०२६ मा यो सन्धि नवीकरण हुने अपेक्षा गरिएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले गङ्गाको पानी बाँडफाँट सन्धि नवीकरण गर्ने प्रयासमा महत्त्वपूर्ण भूमिका खेल्नुहुने अपेक्षा गरिएको छ ।
सन् २०११ मा भारत र बङ्गलादेश यसको पाठमा सहमत भए तापनि बेनर्जीले टिस्टा नदीको पानी बाँडफाँट सन्धिको विरोध गरिरहनुभएको छ ।
विशेष गरी भारतबाट बङ्गलादेशमा मनसुनको मौसममा गङ्गा, टिस्टा, ब्रह्मपुत्र र बराक जस्ता प्रमुख नदीहरूमा बाढी पूर्वानुमान डेटाको प्रसारण गर्ने प्रणाली अवस्थित छ ।
मनसुनको समयमा बाढी पूर्वानुमान जानकारीको प्रसारणले बङ्गलादेशका नागरिक र सैन्य अधिकारीहरूलाई बाढीबाट प्रभावित जनसङ्ख्यालाई सुरक्षित स्थानमा सार्न सक्षम बनाएको मन्त्रालयले जनाएको छ ।