नाडा अटो शो २०२५ सुरु, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन (तस्बिरहरु)


काठमाडौँ । नाडा अटो शो-२०२५ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा नाडा अटो शोको यो वर्षको संस्करण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शोको उद्घाटन गरेका छन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताए । “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ । लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । ” उनले भने, “उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दैछन्, अन्तरराष्ट्रिय विमानस्थल थपेका छौँ ।
हरित ऊर्जा, मिथेन ग्यास, धौवादीबाट फलाम उत्पादन गरेर प्रयोग गर्दैछौँ । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान गर्नुहोस् ।”




















