हामी मिसन ८४ मा छौं, अबको निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न सक्दैन : ओली


काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को चुनावमा एकल बहुमत ल्याउने दावी गरेका छन् । पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कम्तीमा एकल बहुमत ल्याउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिए । उनले भने, ‘हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने, हाम्रा सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका कमिटी र कार्यकर्ताहरू परिचालन गरेर गर्यौं भने बहुमत ल्याउनबाट कसैले पनि हामीलाई रोक्न सक्दैन । हामी बहुमत ल्याउन सक्छौं।’
उनले अहिले पार्टीको नीति अनुसार राष्ट्र अघि बढेकाले विरोधीहरूले प्रहार गरेको बताएका छन् । उनले थपे, ‘हामी सरकारमा छौँ, चुनावमा कसैले धाँधली गर्न सक्दैन । हामी सरकारमा भएर धाँधली रोक्नेछौँ दृढताको साथ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ ।’ उनले एमालेको विषयमा हल्ला फिँजाएपछि मध्यपहाडी लोकमार्ग यात्रा गरेर तथ्य जाँच गरेको पनि बताएका छन् ।
‘एउटा अभियान चाल्यौ । विरोधीहरूले हल्ला फिँजाए जस्तै हाम्रो अवस्था त्यस्तै भएको हो कि भनेर हामीले जाँच्न खोजेका थियौँ,’ उनले भने, ‘हामी जनताका बीचमा आशाका केन्द्र राष्ट्रियताका लागि, सुशासन र विकासका लागि हरेक पक्षमा हामी जनताको आशाका केन्द्र हौं । समानता र न्यायका लागि हामी अग्रगामी हौं ।’
उनले देशको अर्थतन्त्र समाजवाद उन्मुख भए पनि विकासशील भइनसकेको बताएका छन् । ‘हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख छ । समाजवदामा पुग्या छैन, हामी विकासशील भएका छैनौँ,’ उनले भने, ‘०८३ मंसिरमा हामी बल्ल विकासशीलमा पुग्छौँ ।’ उनले ०८४ सालको निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउने पनि दावी गरे । ‘मिसन ०८४ लाई हामीले निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउने छौँ । हाम्रा नीति नै राष्ट्रिय नीति हो’ उनले भने ।