`

अध्यक्ष ओलीका चुनावी कमाण्डर भन्छन्–विकासका विरुद्ध ‘प्रोपोगन्डा’ को लडाई

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले झापा ५ मा विकासका विरुद्ध प्रोपोगन्डाको लडाईं भएको बताएका छन् । पूर्व प्रधानमन्त्री, मन्त्री, सांसदको हैसियतमा केपी ओलीले गरेका कामको फेहरिस्त यहाँका जनताले उपभोग गरिरहेकाले प्रोपोगन्डामा उनीहरुले विश्वास नगर्ने दाहालले बताए । केही व्यक्तिहरु सामाजिक सञ्जालमा जनतालाई भ्रम छर्ने प्रयास गरे पनि त्यसलाई स्थानीयबासीले राम्ररी बुझेको उनको भनाइ छ ।

‘सामाजिक सञ्जालमा फैलाइएका हल्ला चिर्नु हाम्रो दायित्व हो’, पार्टी केन्द्रीय सदस्य समेत रहेका दाहालले प्रचार समितिको बैठकमा बोल्दै दाहालले भने, ‘एमालेले फिजिकल्ली काम गरेको छ । डिजिटल्ली फैलाइएका अफवाहको जवाफ जनताले नै दिन्छन् ।’ झापा ५ मा एमालेलाई बिगतको मतान्तर घटाउने छुट नभएको भन्दै उनले देशी विदेशीको घेराबन्दीका विरुद्ध एमाले एकताबद्ध हुनुपर्ने दाहालको भनाइ छ । दाहालले झापा ५ मा वडा, टोल र घरघर केन्द्रीत अभियान सुरु गरिसकेको बताएका छन् ।

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन् । अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए । कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरेका छन् ।

 

राष्ट्रियसभामा कोशीबाट एमालेकी रोशनी मेचे निर्वाचित

मोरङ । राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ नेकपा एमालेकी उम्मेदवार रोशनी मेचे विजयी भएकी छन् । उनले ७,१७३ मत प्राप्त गरेकी छन् । उनको प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार नमिता न्यौपाने २,२६८ मत पाइन् ।

अल्पसंख्यक मेचे समुदायबाट प्रतिनिधित्व गर्ने रोशनीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरेकी छिन् । २०३८ साल भदौ ८ गते जन्मिएकी रोशनी मेचे झापाको मेचीनगर–१२ की स्थायी बासिन्दा हुन् ।अल्पसंख्यक मेचे समुदायको सशक्त आवाजको रूपमा चिनिने उनी विगत १०–१२ वर्षदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छिन् । उनी हाल एमालेको भ्रातृ संगठन ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ को केन्द्रीय सदस्यको रूपमा कार्यरत छिन् ।

ओलीको हस्ताक्षरसहित साढे ६ लाख बढीलाई एमालेको चुनावी चिठ्ठी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका संगठित सदस्यहरूलाई लक्षित गर्दै हस्ताक्षरसहितको व्यक्तिगत चिठ्ठी पठाएका छन् । आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै अध्यक्ष ओलीले ६ लाख ६७ हजारभन्दा बढी संगठित सदस्यलाई एकैसाथ चिठ्ठी पठाएको एमालेले जनाएको छ ।

चिठीमार्फत अध्यक्ष ओलीले आगामी निर्वाचनलाई देशको भविष्यसँग जोडिएको निर्णायक लडाइँका रूपमा चित्रण गरेका छन् । उनले निर्वाचनले ‘देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने हार–जितको फैसला गर्ने’ उल्लेख गर्दै देश निर्माणका लागि एमालेको बहुमत अपरिहार्य रहेको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन उच्च मनोबलका साथ सक्रिय भूमिका खेल्न सबैलाई आग्रह गरेका छन् । ‘देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’, चिठ्ठीमा उल्लेख गर्दै उनले बहुमत सुनिश्चित गर्न पार्टीका उम्मेदवारहरूको विजय अनिवार्य रहेको बताएका छन् । चिठीमा विध्वंस, आगजनी र अराजक प्रवृत्तिविरुद्ध निर्वाचनमार्फत निर्णायक रूपमा परास्त गर्नुपर्ने सन्देश पनि दिइएको छ । एमालेले यस्ता प्रवृत्तिलाई चुनावी मैदानबाटै विदा गर्नुपर्ने धारणा अध्यक्ष ओलीले व्यक्त गरेको जनाएको छ ।

एमालेका अनुसार चिठी हाल संगठित सदस्य रहेका व्यक्तिसँगै विगतमा सदस्य भएर नवीकरण नगरेका केही व्यक्तिहरूलाई समेत पुगेको छ । चिठ्ठी प्राप्त भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा पनि पोस्ट गर्न थालेका छन् । यसअघि पनि अध्यक्ष ओलीले यस्तै विषयवस्तु समेटिएको चिठ्ठीी केन्द्रीय सदस्यहरूलाई पठाइसकेका थिए । निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाउन पार्टी नेतृत्वले प्रत्यक्ष संवादको माध्यमका रूपमा चिठ्ठी अभियान अघि बढाएको एमालेको भनाइ छ ।

 

झापाबाट फर्किदा एयरपोर्टमा हामीलाई सुन तस्करलाई जस्तो व्यवहार गरियो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सरकारले योजनाबद्ध रूपमा दुःख दिने र अपमान गर्ने काम गरिरहेको आरोप लगाएका छन् । झापाबाट काठमाडौं फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्करझैं व्यवहार गरिएको भन्दै उनले सरकारप्रति कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो एयरपोर्टमा मलाई सुन तस्करी गर्ने मान्छे जस्तो गरी अनावश्यक चेकजाँच गरेर हैरान पारियो । किन यस्तो व्यवहार भयो भनेर सोध्दा ‘माथिबाट आदेश आएको छ’ भन्ने जवाफ दिइयो ।’

उनका अनुसार यसअघि झापा जाँदा भने त्यस्तो व्यवहार गरिएको थिएन । फर्किदा भने अवस्था बिल्कुलै फरक देखिएको उनको भनाइ थियो । ‘अस्ती जाँदा त राम्रो व्यवहार थियो, फर्किदा आँखा नै जलेझैं भयो’, ओलीले कटाक्ष गर्दै भने, ‘विदेश जाँदा त चिनजान भएका ठाउँमा समेत यस्तो व्यवहार हुँदैन, आफ्नै देशको एयरपोर्टमा हेपिनु पर्‍यो ।’

अध्यक्ष ओलीले सरकारको नियत नै नेताहरूको अपमान गर्ने दिशामा केन्द्रित रहेको आरोप लगाए । ‘यो सरकार अराजनीतिक र असभ्य बन्दै गएको छ । यस्तो व्यवहार देख्दा हामी सभ्य संसारमै छौँ कि छैनौँ भन्ने लाग्छ’, उनले भने ।

कार्यक्रममा ओलीले वर्तमान राजनीतिक अवस्थाबारे पनि संकेतपूर्ण अभिव्यक्ति दिए । उनले एमाले अब आन्दोलनमा उत्रिने कि निर्वाचन प्रक्रियामै सहभागी हुने भन्ने विषयमा अझै स्पष्ट निर्णयमा नपुगेको बताए । ‘हामी आन्दोलनमा जाने हो कि चुनावमा सामेल हुने हो, त्यो अवस्था अझै तय भइसकेको छैन’, उनले भने ।

सरकारको गतिविधिले आफूहरूलाई निरन्तर दुःख दिने र दबाब सिर्जना गर्ने प्रयास भइरहेको ओलीको दाबी थियो । यस्तो व्यवहारले राजनीतिक वातावरण झनै बिग्रँदै जाने उनको चेतावनी थियो । ओलीको यो अभिव्यक्तिलाई आगामी दिनमा एमालेले लिन सक्ने रणनीतिक कदमका रूपमा पनि राजनीतिक वृत्तमा हेरिएको छ ।

अध्यक्षको कुराबाट चिन्तित र दुःखी छु : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट आफू चिन्तित र दुःखी रहेको बताएका छन् । उपमहासचिव भट्टराईले ताप्लेजुङ, काभ्रेपलाञ्चोक–२ आदि क्षेत्रमा टिकट वितरणका सन्दर्भमा अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्नँ । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट म विचलित र निरास छैन । यत्ति भन्छु– अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ उनले भनेका छन् ।

भट्टराईले ताप्लेजुङबाट टिकट पाएनन् । उनको सट्टा त्यहाँ राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेलाई उम्मेदवार बनाइएको छ । काभ्रे–२ मा अशोक ब्याञ्जुलाई उम्मेदवार बनाइएको छ । अन्यत्र पनि अध्यक्ष ओलीले टिकट वितरणमा एकलौटी गरेको इतर समूहको आरोप छ ।

जनताले विध्वंश मच्याउनेहरुलाई निर्वाचनमा पराजित गर्नु पर्दछ : देवेन्द्र दाहाल

काठमाडौं । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गरेका छन् । शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । नेता दाहालले देशलाई ध्वस्त बनाउनेहरुलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताए ।

उनले देशमा ध्वंश मच्चाउनेहरुलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताए । नेता दाहालले भने, ‘यो निर्वाचन एउटा परीक्षा हो जनताका लागि । जसले यो देश बनाउनेलाई, निर्माण गर्नेलाई मतदान गर्ने कि अथवा यो देश ध्वंश बनाउने ? जनताले सही मूल्यांकन गर्नुपर्ने आवश्यकता छ । त्यसमा जनताले सही र सटिक निर्णय गर्नु हुनेछ भन्ने विश्वास राखेको छ ।’ नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनःस्थापनमा जोड दिनुपरेको बताए ।

अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेलाई कारवाहीको दायरामा ल्याएर छाडिन्छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक गतिविधिमा संलग्नहरू कुनै पनि हालतमा कानुनी दायराबाट उम्किन नसक्ने स्पष्ट पारेका छन् । आज (बिहीबार) झापाको दमक–८ स्थित नेपाली कम्युनिष्ट पार्टी (एकीकृत नेपाल कम्युनिष्ट पार्टी–माओवादी) का नेता गगन पुरीको आगजनी गरिएको घरको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले अराजकताको आयु लामो नहुने भन्दै आपराधिक क्रियाकलाप गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने विश्वास व्यक्त गरे । जेनजी आन्दोलनको नाममा गरिएको आगजनी र तोडफोडप्रति गम्भीर आपत्ति जनाउँदै उनले भने,‘सधैं अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि । बरु उजुरी–निवेदनलगायतको प्रक्रिया अघि बढाउनु होला ।’

पीडित नेता पुरीले आफूले घटनासम्बन्धी सबै प्रमाण संकलन गरिसकेको र कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए । बिहीबार झापाको दमक–८ स्थित पुरीको आगजनी गरिएको घर अवलोकनका क्रममा ओलीले यस प्रकारको विध्वंस मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए । पुरीलाई उनले भने, ‘सधैँ अराजकता कहाँ टिक्छ र, एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ नि ! बरु उजुरी–निवेदन लगायतको प्रक्रिया चाहिँ अघि बढाउनु होला ।’

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस् : ओली (भिडियोसहित)

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गरेका छन् । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् ।

बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गरे । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गरे । आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गरेका छन् ? भन्दै प्रश्न गरे ।

साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको बताए । हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनु पर्ने बताए । उनले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताए ।

उनले भने, ‘हामी बहुमत ल्याउने, सांसद बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने त्यसका लागि बल गरिरहेका छैनौं । यो देश जोगाउनका लागि, यो देशमा शान्ति, सुव्यवस्था कायम गर्न, यो देशमा सुशासन र विकास ल्याउनका लागि, यो देशमा संविधानलाई ट्रयाकमा ल्याउनका लागि, यो देशमा लोकतन्त्र स्थापना, पुनःस्थापना र सुदृढ बनाउनका लागि आज हामी संघर्ष गरिरहेका छौँ । हाम्रो युवाहरुले बुझ्नुपर्दछ । हाम्रो दाजुभाई दिदिबहिनीहरुले बुझ्नु पर्दछ ।’

उनले भने, ‘पोहोर परार २०६४ सालमा एक पटक चल्यो । ०६४ सालमा एमालेलाई धेरै पटक भोट दियौँ अब एक पटक नयाँलाई भनेर । नयाँलाई भोट दिइसकेपछि त्यसको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न अरु केही गर्दा । ०६४ देखि न एक सिन्का विकास भयो । न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन । विकास हुँदैन । जसले गर्दा विकासको काम फेरि पछाडि पर्‍यो । अहिले पनि म अलिअलि सुन्छु नयाँ । नयाँ को भन्दा चिनेको जानेको छैन । बैंकले नोट छाप्दा धितो जमानी बिना छाप्दैन । यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्नु हुन्छ ? खोज्दै कहाँ जानुहुन्छ, घर देख्नु भएको छ ?’

अध्यक्ष ओलीले भने, ‘हामी त कमसेकम के भन्न सक्छौँ भने मैले यहाँ खुशीसाथ आएका उम्मेदवार यो ठाउँमा केही पनि छैन । राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन । सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए ।’ अध्यक्ष ओलीले बालेन्द्र साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने बताए । सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।

 

ओलीले आज झापा–५ को दक्षिणी भेगका कार्यकर्ता भेट्दै, अलग–अलग छलफल

झापा । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्दैछन् । गौरादह नगरपालिका–५ स्थित स्कूलचोकको नमुना कृषि खेतीको सभाहलमा आयोजना हुने कार्यक्रममा ओलीले प्रत्येक वडा कमिटीसँग अलग–अलग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्ज गाउँपालिकाका ६ वटा वडाका वडा कमिटीसँग ओलीले छुट्टाछुट्टै संवाद गर्नेछन् । छलफलमा वडाका पदाधिकारी तथा सदस्यहरूले मतदाताको मनोविज्ञान, विकासको अवस्था र पार्टी संगठनको वर्तमान गतिविधिबारे अध्यक्ष ओलीलाई जानकारी गराउने छन् ।

त्यस्तै, ओलीले कार्यकर्ताका गुनासा सुन्ने, पार्टीको नीति, देशको समसामयिक आवश्यकता र झापा–५ मा आफूले गरेको योगदानबारे स्पष्ट पार्ने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह (बालेन) को उम्मेदवारी चर्चामा आएपछि झापा–५ को राजनीतिक माहोल थप तातिएको छ, जसलाई ओलीको यो सक्रियतासँग जोडेर हेरिएको छ ।

अध्यक्ष ओलीले आजै ‘जेन जी आन्दोलन’ का क्रममा आगजनी र तोडफोड भएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उक्त आन्दोलनमा गौरादह नगरपालिका कार्यालयसहित वडा नम्बर १, २ र ७ का कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, गौरादहका मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंसीको निवासमा आगजनी गरिएको थियो ।

यसअघि ओलीले मंगलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीसँग पनि अलग–अलग छलफल गरिसकेका छन् । यस पटक प्रत्येक वडा कमिटीसँग छुट्टै भेटघाट गर्ने व्यवस्थाले संगठन सुदृढीकरण र चुनावी तयारीलाई थप तीव्र बनाउने एमालेको अपेक्षा छ ।

ओलीको दावी : एमालेले ७० प्रतिशत मत ल्याएर जित्छ, बालेन उम्मेदवार बनेर फर्किन्छन्

झापा । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापालाई केन्द्रमा राख्दै नयाँ राजनीतिक शक्तिमाथि कडा टिप्पणी गरेका छन् । झापाको युवा भेलालाई सम्बोधन गर्दै उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै राष्ट्रिय भिजनको अभाव रहेको आरोप लगाएका छन् । ओलीका अनुसार बालेन झापा–५ मा उम्मेदवार बन्ने बाहेक देशव्यापी जिम्मेवारी वहन गर्नसक्ने अवस्थामा छैनन् ।

ओलीले नयाँ अनुहार भन्दैमा जनताले आँखा चिम्लेर विश्वास नगर्ने स्पष्ट पारे । उनले भने, ‘बैंकले पनि धितो बिना नोट छाप्दैन, अनि यहाँ भोट हाल्दा न चिनिएको, न जिम्मेवारी बोकेको व्यक्तिलाई कसरी विश्वास गर्ने ? भोलि खोज्न परे कहाँ जाने ?’ झापासँग बालेनको प्रत्यक्ष सम्बन्ध नरहेको दाबी गर्दै उनले स्थानीय उत्तरदायित्व बिना उम्मेदवारी दिनु अर्थहीन हुने बताए ।

पूर्व प्रधानमन्त्री ओलीले विकासका उदाहरण दिँदै आफूले बालेनको घर अगाडिको बाटो समेत बनाइ दिएको दाबी गरे । साथै, महोत्तरीको मटियारीदेखि जनकपुरसम्मको बाटो र पुल निर्माणमा पनि आफ्नो भूमिका रहेको उल्लेख गरे । बालेनमाथि आरोप लगाउँदै उनले भने, ‘खोला किनारमा बसेका बस्ती भत्काउने, कवाडीलाई गरिखान नदिने जस्ता कुरा गरेर विकास हुँदैन ।’

यही क्रममा ओलीले आगामी निर्वाचनमा एमालेको अवस्था बलियो रहेको दाबी दोहो¥याए । उनले ७० प्रतिशत मतसहित एमाले विजयी हुने दाबी गर्दै कांग्रेस कमजोर अवस्थामा रहेको र पूर्व माओवादीका धेरै मतदाता पनि एमालेतर्फ आकर्षित भएको बताए । झापाको कमल गाउँपालिकामा कार्यकर्तासँगको भेटमा उनले विकास, रूपान्तरण र जनआधारका हिसाबले सिंगो क्षेत्र एमालेको पक्षमा एकजुट रहेको बताए ।

ओलीले पछिल्लो समय देखिएका आन्दोलन र गतिविधितर्फ संकेत गर्दै राजनीतिलाई अपराधीकरणबाट जोगाउनु पर्ने बेला आएको बताए । गत भदौमा भएको आन्दोलनमा राजनीतिकभन्दा बढी आपराधिक गतिविधि भएको उनको टिप्पणी थियो । ‘केही मृत्यु आन्दोलनका क्रममा भए, तर धेरैजसो आपराधिक क्रियाकलापकै कारण भए’, उनले भने ।

उनले देशमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै बाह्य शक्तिको चलखेलबाट नेपाललाई जोगाउनुपर्ने बताए । ‘हामीले भनेको मान्नुपर्छ भनेर दबाब दिन खोज्ने पनि आउलान्, तर त्यस्तो दबाब स्वीकार हुँदैन’, ओलीको भनाइ थियो । कांग्रेस–एमाले मिल्न नदिने र देशमा विदेशी प्रभाव रोक्ने प्रयासकै कारण यस्ता गतिविधि बढेको उनको दाबी छ ।

एमालेले सबै १६५ क्षेत्रमा उम्मेदवार उतार्दा आधा भन्दा बढी नयाँ अनुहार (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यस पटक एमालेले उम्मेदवार छनोटमा उल्लेख्य रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको देखिएको छ ।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले अघि सारेका कुल उम्मेदवारमध्ये ५४.५४ प्रतिशत पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने नयाँ अनुहार हुन् । यसलाई संगठन नवीकरण र नेतृत्व विकासको निरन्तर प्रक्रियाको रूपमा एमालेले व्याख्या गरेको छ ।

प्रदेशगत विवरण हेर्दा कर्णाली प्रदेशमा सबैभन्दा धेरै अर्थात् ७५ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् । त्यसपछि गण्डकी प्रदेशमा ६१.११ प्रतिशत र बागमती प्रदेशमा ६०.६० प्रतिशत नयाँ अनुहार समेटिएका छन् । कोशी प्रदेशमा ५३.५७ प्रतिशत नयाँ उम्मेदवार रहेका छन् भने मधेस र सुदूरपश्चिम प्रदेशमा नयाँ र पुराना उम्मेदवारको अनुपात बराबर ५०–५० प्रतिशत रहेको छ । सबैभन्दा कम नयाँ उम्मेदवार लुम्बिनी प्रदेशमा देखिएको छ, जहाँ ४२.३० प्रतिशत मात्रै नयाँ अनुहार रहेका छन् ।

यद्यपि, प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिलाको उम्मेदवारी संख्या भने सीमित देखिएको छ । एमालेले बर्दिया–२ बाट विमला विकलाई उम्मेदवार बनाएको छ । त्यसैगरी तनहुँ–१ बाट भगवती न्यौपाने, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे, धनुषा–३ बाट जुली महतो, बारा–३ बाट ज्वालाकुमार साह, पर्साबाट रिमाकुमारी यादव र सुनसरी–३ बाट भगवती चौधरी उम्मेदवार छन् ।

पूर्वी पहाडी जिल्लामा सोलुखुम्बुबाट कल्पना राई, ओखलढुंगाबाट अस्मिता थापा र उदयपुर–१ बाट दुर्गा थापा स्वस्ती प्रतिनिधि सभा सदस्यका लागि एमालेको उम्मेदवार बनेका छन् । एमालेले नयाँ अनुहारलाई अघि सारेर संगठनलाई थप सुदृढ बनाउने, जनतासँग नयाँ ऊर्जा र भरोसासहित जानु नै यसपटकको उम्मेदवारी रणनीति रहेको दाबी गरेको छ । पार्टीले सार्वजनिक गरेको १६५ निर्वाचन क्षेत्रको उम्मेदवार सूचीमार्फत आगामी निर्वाचनमा व्यापक प्रतिस्पर्धा गर्ने तयारी पूरा भएको जनाएको छ ।

हेर्नुस् सूची

अन्तरिम सरकारले देश जलाउनेहरुको, अपराधीहरुलाई कारवाही गरेन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनुनअनुसार दोषी रहेको बताए । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताए । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनु पर्ने बताए ।

उनले भने, ‘राष्ट्रिय सम्पति, सार्वजनिक सम्पति, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नु पर्छ । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनु पर्छ । कारबाहीको दायरामा ल्याउनु पर्छ । अरुको घर जलाएर छोडिदिन पाइन्छ ? अहिलेको सरकार सायद उनीहरुकै सरकार हो । त्यसकारण उनीहरुलाई जोगाउने काम गरेको छ ।’

अन्तरिम सरकार देश जलाउनेहरुकै भएकाले पनि अपराधीहरुलाई कारबाही नगरेको उनको जिकिर छ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अध्यक्ष ओली मनोनयन गर्न सोमवार मात्रै झापा गएका थिए । झापा ५ बाट उनले आगामी निर्वाचनमा प्रतिष्पर्धा गर्ने गरी मनोनयन गराएका छन् ।

 

 

रुपन्देही–२ मा विष्णु पौडेलको उम्मेदवारी दर्ता

रुपन्देही । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर-२ मा नेकपा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । पौडेलले यो क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् ।
नेपाली कांग्रेसका चुन्नप्रसाद पौडलले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराइसकेका छन् । रास्वपाबाट सुलभ खरेलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपाबाट विश्वदीप पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् ।

 

देश जलाउनेहरुबाट जोगाउनु छ : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आगो लगाउनेहरुबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताएका छन् । मंगलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले अहिले देशमा आगो लगाउनेहरु जागिरहेको बताए । उनले देश जलाउनेहरुले भ्रम फैल्याइरहेको र नयाँ पुस्ता त्यसको शिकार भइरहेको बताए । आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनुपर्ने अहिलेको आवश्यकता भएको बताए ।

उनले भने, ‘अहिले देशमा आगो लगाउनेहरु जागिराखेका छन्, अघि बढिराखेका छन् । यिनले भ्रम पारिरहेका छन् । नयाँ पिँढीमा अलिकति भ्रम छ । भीड देखियो भन्नुभयो । मैले त त्यस्तो देखेको छैन । केही मान्छे जम्मा भएका होलान् । अब यस्तो अवस्थामा आगो लगाउने, लोकतन्त्र खाने, संविधान मिच्नेहरुबाट कार्यालय जलाउनेहरुबाट, व्यक्तिका घर जलाउनेहरुबाट, सरकारी कार्यालय जलाउनेबाट, नगरपालिका चलाउनेबाट देश बचाउनु पर्नेछ । देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व चाहिन्छ ।’ अध्यक्ष ओलीले देश बचाउनका लागि अनुभवी र दृढ नेतृत्व आवश्यक रहेको बताए ।

एमालेका अध्यक्ष ओलीले रास्वपाका कार्यकर्ताहरुले झापामा असभ्यता देखाएको बताएका छन् । उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताए । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भए पनि झडप नभएको बताए । उनले भने, ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनें । तर त्यस्तो ठूलो केही होइन । उनीहरुले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरुले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिष्पर्धा, शान्तिपूर्ण ढंगले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढंगले हुनुपर्छ ।’ अध्यक्ष ओलीले स्वस्थ प्रतिष्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।

एमाले महासचिव पोखरेलले गरे दाङ-२ बाट दर्ता गरे मनोनयन

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका महासचिव पोखरेलले झाँकी जुलुस र बाजागाजासहित घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य छन् ।

मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उम्मेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको समृद्धिमा सधैँ प्रतिबद्ध रहने उनको भनाई छ । कांग्रेसको जगजगीबीच २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका स्थापित नेता दीपक गिरीलाई पराजित गरेर संसद प्रवेश गरेका थिए ।

२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बने । २०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी काँग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने ।

२०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यस पटक जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् । उनीसँग दाङ–२ मा काँग्रेसका किरणकिशोर घिमिरे, नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिष्पर्धामा छन् ।

ईश्वर पोखरेलले दिए उम्मेदवारी (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले फागुन २१ गते हुने निर्वाचनका लागि काठमाडौँ–५ बाट उम्मेदवारी दर्ता गराएका छन् । अन्तिमतिर मात्रै चुनाव लड्ने निर्णयमा पुगेका पोखरेलले मंगलबार काठमाडौँ–५ को निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । उनी २०७९ को चुनावमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग पराजित भएका थिए । यस्तै नेपाली कम्युनिष्ट पार्टीकी कल्पना शर्माले पनि उम्मेदवारी दिएकी छिन् ।

 

 

एमाले अध्यक्ष ओलीले गरे उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ताका क्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असभ्यता देखाएको टिप्पणी गरेका थिए । उम्मेदवारी दर्ताका क्रममा एमाले र रास्वपाबीच दमकमा झडपको अवस्था समेत सिर्जना भएको थियो । ओलीले त्यसप्रति टिप्पणी गरेका हुन् ।

‘उम्मेदवारी दर्ता गर्न आउने क्रममा हामीलाई रोक्न खोजियो, त्यहाँ रास्वपाले असभ्यता देखाए,’ अध्यक्ष ओलीले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै भने, ‘एमालेलाई रोक्न खोज्दा महँगो पर्ला !’ झापा–५ मा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रञ्जित तामाङले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

ओलीलाई योगेशको आग्रह : केहि ठाउँ मिलाउनुस्, म किचलो गर्दिनँ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्रको उम्मेदवार विवादलाई पछि सार्दै सबैलाई एकतामा लाग्न आह्वान गरेका छन् । उनले आफू व्यक्तिगत रूपमा केही माग नगर्ने स्पष्ट पारेका छन्, तर केही निर्वाचन क्षेत्रमा उम्मेदवार मिलाउन अध्यक्ष केपी शर्मा ओलीसँग अनुरोध गरेका छन् ।

उपमहासचिव भट्टराईले काठमाडौंमा भने, ‘कमरेड अध्यक्ष, तपाईं यो पार्टीको सम्मानित नेता हुनुहुन्छ । हामी सबै तपाईंको नेतृत्वमा छौं । अहिले महाधिवेशन र निर्वाचनको समयमा पार्टीको सफलता नै हाम्रो पहिलो लक्ष्य हुनुपर्छ । यदि देशभरिका केही निर्वाचन क्षेत्रमा उम्मेदवार मिलाउन सकिन्छ भने त्यसमा मेरो ध्यानाकर्षण चाहन्छु ।’ उनी आफ्नै उम्मेदवारीको विषयमा स्पष्ट छन् ।

भट्टराईले भने, ‘म ताप्लेजुङबाट उम्मेदवार बन्न इच्छुक थिएँ । तर पार्टीले निर्णय गरेको छ र त्यसमा म अब कुनै किचलो गर्ने वाला छैन । जसलाई उम्मेदवार बनाइयो, सूर्य चिन्ह ध्वजावाहकलाई जिताउन मेरो कर्तव्य हो । यसमा म दृढताका साथ अघि बढ्छु ।’ भट्टराईले कतिपय निर्वाचन क्षेत्रमा साथीहरूमाथि न्याय नभएको जस्ता गुनासोहरू आएको पनि स्वीकारे । उनले भने, ‘मैले सचिवालयको बैठकपछि पनि दर्जनौँ ठाउँमा उम्मेदवार परिवर्तन भएको देखें । त्यसैले अब अन्तिम अवसरमा पनि म अध्यक्ष कमरेड केपी ओलीलाई अनुरोध गर्न चाहन्छु–सात, आठ, नौ, १० निर्वाचन क्षेत्रमा उपयुक्त मिलान गर्न सकिए राम्रो हुने देख्छु, ताकि पार्टी कमजोर नहोस् ।’

उनले भिडिओ सन्देशमार्फत पार्टीभित्रको फरक मत स्वाभाविक भएको तर त्यो पार्टीको जितमा बाधा पु¥याउन नहुने बताए । ‘हामीले उम्मेदवार छनोट गर्दा न्यायसंगत ढंग अपनायौं कि अपनाएनौं ? लोकप्रिय, पार्टी प्रति निष्ठावान उम्मेदवार दिएका छौं कि दिएका छैनौं ? यी सबै विषयको समीक्षा चुनावपछि गरौँला । अहिले हाम्रो लागि केही बाँकी छैन, अगाडि सूर्य चिन्ह मात्रै छ ।’ उपमहासचिव भट्टराईले आगामी निर्वाचन र पार्टीको नेतृत्व सशक्त बनाउन सबैलाई मिलेर काम गर्न अपील गरेका छन् । उनले जोड दिए, ‘हामीले उम्मेदवार विवादलाई पछि सार्दै सूर्य चिन्ह जिताउनमा केन्द्रित हुनुपर्छ । पार्टीको एकता नै हाम्रो सबभन्दा ठूलो शक्ति हो ।’

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैन : ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको बताएका छन् । सोमवार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रवन्ध गर्न नसकेको बताएका हुन् ।

विभिन्न प्रकारका अपराधिक घटनाहरु अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ । अध्यक्ष ओलीकाअनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताए ।

उनले भने, ‘सुरक्षा प्रवन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्नचिन्ह उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ । जस्तोसुकै अवस्थामा पनि हामी चुनावमा भाग लिन्छौँ । त्यसमा कुनै समस्या छैन । तर शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्छ । अझै त्यो स्थिति बनिसकेको छैन ।’ अध्यक्ष ओलीले झापा निर्वाचन क्षेत्र नम्बर पाँच कुनै पनि हिसावले निर्वाचनको इपि सेन्टर नरहेको बताए ।

 

ओलीले टिकट नदिएपछि गोकुलको आक्रोश : मसँग आँखा जुधाएर कुरा गर, बदख्वाही नगर

काठमाडौं । नेकपा एमालेभित्र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनोटले तीव्र राजनीतिक तरंग पैदा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएको टिकट वितरणले पार्टीका प्रभावशाली नेताहरूलाई बाहिर राखेपछि असन्तुष्टि, आक्रोश र आन्तरिक शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ ।

काभ्रे–२ बाट निरन्तर निर्वाचित हुँदै आएका केन्द्रीय सदस्य गोकुल बास्कोटाले टिकट नपाएपछि सामाजिक सञ्जालमार्फत तीखो प्रतिक्रिया जनाएका छन् । उनले आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिँदै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ‘त्यति मात्र सत्य बोल, जति भेट हुँदा आँखा जुधाएर भन्न सकियोस्’, बास्कोटाले लेखेका छन्, ‘पदमा बसेर नभएका कुरामा मेरो बदख्वाही नगर्नू । म पद लिएर आएको होइन, न पदका लागि नै जाने हुँ ।’ यस पटक ओलीले बास्कोटालाई छाडेर काभ्रे–२ मा अशोककुमार ब्याञ्जु श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । पछिल्लो समय ओलीका निर्णयहरूमाथि खुलेर प्रश्न उठाउँदै आएका बास्कोटालाई सोही कारण टिकटबाट वञ्चित गरिएको चर्चा एमाले वृत्तमा व्यापक छ ।

ताप्लेजुङमा योगेश भट्टराई बाहिरिए, क्षितिज थेबे भित्रिए
टिकट विवादको अर्को ठूलो केन्द्र बनेको छ ताप्लेजुङ । दुई पटक सोही क्षेत्रबाट निर्वाचित उपमहासचिव योगेश भट्टराईलाई यस पटक टिकट नदिई एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ । शनिबार सचिवालय बैठकले टिकट ‘होल्ड’ गरे पनि आइतबार थेबेको नाम अन्तिम रूपमा टुंगिएको हो ।

यस निर्णयसँगै अध्यक्ष ओली र भट्टराईबीच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव पुनः सार्वजनिक भएको छ । भट्टराईले निर्णयविरुद्ध औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै उम्मेदवार छनोट प्रक्रिया अपारदर्शी र गुटगत भएको आरोप लगाएका छन् ।

ओलीको रणनीति र पार्टीभित्रको सन्देश
पार्टीभित्रका स्रोतका अनुसार अध्यक्ष ओलीले ताप्लेजुङको टिकट ‘होल्ड’ गरेर भट्टराईसँग सुलहको अपेक्षा गरेका थिए । तर भट्टराई नेतृत्वसँग प्रत्यक्ष भेट नगरी निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै असहमति दर्ता गरेपछि ओली थप कठोर बनेको बताइन्छ । एमालेको ११औं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका भट्टराई पुनः सांसद बनेमा संसदीय दलमै चुनौती खडा हुन सक्ने आंकलनले टिकट रोकेको विश्लेषण पनि भइरहेको छ ।

व्यापक टिकट कटौती, बढ्दो असन्तुलन

यस पटक एमालेले १४० भन्दा बढी क्षेत्रमा उम्मेदवार टुंग्याउँदा यसअघि चुनाव जितेका १३ जना सांसदको टिकट काटिएको छ । गोकुल बास्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा, ऐन महरलगायत नेताहरू सूचीमा परेका थिए । पछि केही निर्णय सच्याइए पनि मूल विवाद भने कायमै छ । महाधिवेशनमा विभिन्न पदमा प्रतिष्पर्धा गरेका धेरै नेताहरू टिकटबाट वञ्चित हुँदा पार्टीभित्र शक्ति सन्तुलन ओलीपक्षमा केन्द्रित हुँदै गएको देखिन्छ ।

नयाँ अनुहार, पुराना प्रश्न
ताप्लेजुङमा क्षितिज थेबे जस्ता युवा नेतालाई अघि सारिएको भन्दै एमालेले पुस्तान्तरणको तर्क प्रस्तुत गरे पनि योगेश भट्टराई जस्ता स्थापित नेताको बहिर्गमनले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ । टिकट राजनीतिले चर्किएको यो असन्तुष्टि आगामी निर्वाचनमा एमालेको संगठनात्मक एकता र चुनावी परिणाममा कति असर पार्छ भन्ने प्रश्न अझै खुला नै छ ।

 

 

 

ताप्लेजुङमा योगेश भट्टराईको खोसियो टिकट, क्षितिज थेबे एमाले उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा उम्मेदवार परिवर्तन गरेसँगै पार्टीभित्र शक्ति संघर्ष र असन्तुष्टि सतहमा आएको छ । यसअघि दुई पटक सोही क्षेत्रबाट विजयी भएका उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिई एमालेले राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट ‘होल्ड’ गरे पनि आइतबार त्यो निर्णय थेबेको पक्षमा टुंगिएको हो । ‘निर्णय हिजै भएको हो, आज सार्वजनिक मात्र भएको हो,’ थेबेले बताएका छन् । यस निर्णयसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव भट्टराईबीच लामो समयदेखि चलिरहेको राजनीतिक तनाव फेरि एक पटक सार्वजनिक रूपमा देखिएको छ ।

भट्टराईको असहमति र ओलीको सन्देह
टिकट खोसिएको विरोधमा योगेश भट्टराईले सचिवालयको निर्णयविरुद्ध औपचारिक रूपमा ‘नोट अफ डिसेन्ट’ (लिखित असहमति) दर्ता गराएका छन् । उनले उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड नबनाइएको, नेतृत्वको इच्छा र पक्षधरतालाई प्राथमिकता दिइएको तथा महाधिवेशनको प्रतिष्पर्धालाई आधार बनाएर निर्णय गरिएको आरोप लगाएका छन् ।

भट्टराई निकट स्रोतका अनुसार अध्यक्ष ओलीले ताप्लेजुङको टिकट ‘होल्ड’ गरेर भट्टराईलाई गुन्डुस्थित निवासमा आएर सुलह गर्ने अपेक्षा गरेका थिए । तर भट्टराई त्यहाँ नगई निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै असहमति दर्ता गराएपछि ओली थप कठोर बनेको बताइन्छ ।

एमालेको ११औं महाधिवेशनमा अध्यक्ष ओलीविरुद्ध खुलेर उम्मेदवारी दिएका भट्टराई त्यसयता पार्टीभित्र आलोचनात्मक धारमा देखिँदै आएका थिए । उनी पुनः सांसद बनेमा संसदीय दलमै चुनौती खडा हुन सक्ने आंकलनका कारण ओलीले टिकट रोकेको विश्लेषण पार्टीभित्र व्यापक छ।

चार बुँदे असहमति : भट्टराई के भन्छन् ?
भट्टराईले आफ्नो नोट अफ डिसेन्टमा मुख्यतः चार विषय उठाएका छन्–
स्पष्ट मापदण्डको माग : योग्यता, क्षमता, निष्ठा र निरन्तरताका आधारमा उम्मेदवार छनोट हुनुपर्ने ।
महाधिवेशनको प्रतिष्पर्धाबाट मुक्त निर्णय : गुटगत आँखाबाट उम्मेदवार चयन गर्दा पार्टी एकता कमजोर हुने चेतावनी ।
चुनौतीपूर्ण क्षेत्रमा नेतृत्व जानुपर्ने : सुरक्षित क्षेत्र खोज्ने प्रवृत्तिले कार्यकर्तामा गलत सन्देश जाने टिप्पणी ।
कार्यकर्तामाथि अन्याय : पद र पहुँचका आधारमा टिकट बाँड्दा तल्लो तहका स्वाभिमानी कार्यकर्ता पीडित भएको निष्कर्ष ।

उनले यी आधारमा निर्णय भएको भए पार्टीमा अभूतपूर्व एकता र चुनावी उत्साह सिर्जना हुने दाबी गरेका छन् । यद्यपि अन्त्यमा उनले पार्टी निर्णयलाई स्वीकार गर्दै सबैलाई एमालेको विजयका लागि एकताबद्ध हुन आह्वान गरेका छन् ।

व्यापक टिकट कटौती र सन्तुलनको प्रयास
शनिबारको सचिवालय बैठकले १४० भन्दा बढी क्षेत्रका उम्मेदवार टुंग्याउँदा यसअघि चुनाव जितेका १३ जना सांसदको टिकट काटिएको थियो। त्यसमा तारा लामा तामाङ, ठाकुर गैरे, गोकुल बाँस्कोटा, ऋषिकेश पोखरेल, एलपी साँवा, ऐन महरलगायत परेका थिए । यद्यपि आइतबार केही निर्णय सच्याइँदै तामाङ र साँवालाई टिकट दिने सहमति बनेको छ ।

महाधिवेशनमा अध्यक्ष, महासचिव, उपाध्यक्ष र सचिव पदमा प्रतिष्पर्धा गरेका धेरै नेताहरू टिकटबाट वञ्चित भएका छन् । पोखरेल समूहका अधिकांश नेताले टिकट नपाउँदा भागीरथ सापकोटाले भने नवलपुर–१ बाट अवसर पाएका छन् ।

ताप्लेजुङमा नयाँ अनुहार, पुरानो विवाद
ताप्लेजुङमा एमालेले युवा नेतृत्व अघि सारेको तर्क गरे पनि योगेश भट्टराई जस्ता स्थापित नेताको बहिर्गमनले पार्टीको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र नेतृत्व शैलीमाथि गम्भीर प्रश्न उठाएको छ । क्षितिज थेबे उम्मेदवार बनेसँगै चुनावी प्रतिष्पर्धा कस्तो मोड लिन्छ र भट्टराईको असन्तुष्टिले एमालेको सांगठनिक एकतामा कति असर पार्छ–यो विषय आगामी दिनमा अझ चर्किने देखिन्छ ।

बझाङमा एमालेका ऐन महर उम्मेदवार चयन

काठमाडौं । नेकपा एमालेले बझाङमा केन्द्रीय सदस्य ऐन महरलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर आइतबार उक्त निर्णय परिवर्तन गर्दै एमालेले महरलाई टिकट दिएको हो ।

 

टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि : मालपानीका लागि कसैसँग हात नपसार्नु मेरो कमजोरी

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीभित्र भएको आन्तरिक मतदानको नतिजालाई बेवास्ता गरेको भन्दै दैलेखमा चर्चा चुलिएको छ । आन्तरिक प्रतिष्पर्धामा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै एमालेले दैलेख क्षेत्र नं. २ बाट लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शर्मालाई औपचारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उम्मेदवार सिफारिसका लागि भएको क्षेत्रीय कमिटीको मतदानमा रिजालले ६७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए भने शर्माले ६६ मत पाएका थिए । एक मतले पछि परेका शर्मालाई केन्द्रले अघि सारेपछि कार्यकर्ताबीच यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जिल्ला र प्रदेश कमिटीबाट समेत पहिलो नम्बरमा सिफारिस भएका रिजाललाई टिकट नदिइएपछि एमालेको ‘आन्तरिक लोकतन्त्र’ माथि प्रश्न उठेको छ । दैलेख एमाले वृत्तमा नेतृत्वको निर्णयले कार्यकर्ताको मतको सम्मान नभएको टिप्पणी भइरहेको छ ।

टिकट नपाएपछि विष्णु रिजालले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कार्यकर्ताको रोजाइमा पहिलो भए पनि तेस्रो पटकसम्म नेतृत्वको रोजाइमा पर्न सकिनँ ।’ उनले यस पटक आफू दैलेख–२ बाट पार्टी कार्यकर्ताको मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको, जिल्ला र प्रदेश कमिटीले समेत पहिलो नम्बरमै अघि सारेको स्मरण गराएका छन् ।

रिजालले टिकट पाउने नेतालाई कटाक्षपूर्ण शैलीमा लामो राजनीतिक अनुभव भए पनि पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा पराजित हुँदाहुँदै पनि नेतृत्वको रोजाइमा पर्न सक्ने ‘अद्भूत क्षमता’ को चर्चा गरेका छन् । उनले ‘कसैसँग मालपानीका लागि हात नपसार्नु नै मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन’ भन्दै संकेतात्मक अभिव्यक्ति दिएका छन् ।

उनले राजनीति भित्र प्रत्यक्ष प्रतिस्पर्धा गर्न नसकेर व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने प्रवृत्तिप्रति आलोचना गर्दै आफ्ना पक्षमा उभिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । साथै टिकट नपाएको विषयमा निरास नहुन आग्रह गर्दै समर्थकसँग क्षमायाचना पनि गरेका छन् । एमालेको यो निर्णयले उम्मेदवार छनोट प्रक्रियामा आन्तरिक मतदानको भूमिका र नेतृत्वको प्राथमिकताबीचको अन्तरविरोधलाई पुनः सतहमा ल्याएको छ ।

 

 

एमालेलाई पनि अहिलेको कांग्रेस जस्तो बनाउन खोजेका थिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताए ।

पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो । काम त त्यसरी नै गर्नुपर्छ । हामी हमला, आक्रमणको बीचमा छौँ । विरोधीहरु लागेका छन् । कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर, हल्ला, भ्रमहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई जसरी बलजफ्ती निष्काशन भनेर गरेका छन् । त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए नि त । कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ ।’

उनले भने, ‘यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो त । त्यसो भए जनता र कार्यकर्ताले फैसला गरुन् भनेर एक वर्षअघि नै महाधिवेशन तानेर महाधिवेशन गर्‍यौँ । हाम्रो पार्टीमा पनि यही समस्या आउँदै थियो नि । तर पार्टी जोगिएको छ । पार्टी एकजुट बनेको छ । महाधिवेशनले एउटा फैसला दिएको छ ।’ अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने गरी भाष्य निर्माण गर्न नहुने बताए ।

 

 

 

 

 

चुनाव अनिश्चित छ, संसद पुनर्स्थापना नै सुरक्षित बाटो : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा आगामी निर्वाचन हुने वा नहुने विषयमा अझै स्पष्टता नआएको भन्दै वर्तमान अन्योलपूर्ण अवस्थामा प्रतिनिधिसभा पुनः स्थापना नै सबैभन्दा सुरक्षित र व्यवहारिक विकल्प भएको बताएका छन् ।
गृह जिल्ला दाङमा आयोजित प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक वातावरण अझै स्थिर भइनसकेको उल्लेख गरे । उनले भने, ‘चुनावको मिति र वातावरण दुवै अन्योलमै छन् । यस्तो अवस्थामा संसद पुनःस्थापना गरेर संवैधानिक र राजनीतिक स्थिरताको बाटो रोज्नु नै देशका लागि उपयुक्त हुन्छ ।’

यद्यपि, पोखरेलले यदि निर्वाचन हुने स्पष्ट परिस्थिति बनेमा नेकपा एमाले चुनावी प्रक्रियाबाट नभाग्ने स्पष्ट पारे । ‘एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हो । चुनाव हुने स्थिति बने हामी पूर्ण रूपमा सहभागी हुन्छौं’, उनले भने । राजनीतिक दलहरूबीच बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले दल फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने धारणा राखे । विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले समग्र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पार्न सक्ने उनको भनाइ थियो । ‘सत्तारूढ दलभित्रको अस्थिरता र आन्तरिक खिचातानीले लोकतन्त्र कमजोर हुन्छ’, उनले भने, ‘मुख्य दलहरू जिम्मेवार भएर अघि बढ्नु पर्छ ।’

पोखरेलले रवि लामिछानेसँग जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासले सरकार वास्तवमै कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको दाबी गरे । ‘यस्ता निर्णयले सरकारको नियत र स्वतन्त्रतामाथि शंका उत्पन्न भएको छ’, उनले टिप्पणी गरे ।

देशमा अझै पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसलाई अत्यन्तै चिन्ताजनक अवस्था बताए । उनका अनुसार लुटिएका हतियार संकलन, फरार कैदीहरूलाई फिर्ता ल्याउने र सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुन आवश्यक छ । ‘प्रहरी र सुरक्षा निकायको मनोबल कमजोर हुँदा राज्य नै कमजोर हुन्छ’, उनले भने, ‘सरकारले राजनीतिक रस्साकस्सीभन्दा माथि उठेर शान्ति–सुरक्षामा ध्यान दिनुपर्छ ।’ महासचिव पोखरेलको अभिव्यक्तिले वर्तमान राजनीतिक संकट, निर्वाचनको अनिश्चितता र सरकारको कार्यशैलीमाथि पुनः बहस चर्किने संकेत देखिएको छ ।

 

विध्वंश मच्चाउनेहरु लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कस्दैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र अन्य शक्तिहरूले लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिरहेको आरोप लगाएका छन् । उनले भदौ २४ का घटनाहरूलाई वैधता दिने कि नदिने भन्ने विषयमा राजनीतिक ध्रुवीकरण बढेको पनि बताएका छन् ।

एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘देश बनाउने लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन नपाएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन् । उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास भइरहेको छ ।’

उनले रवि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै थपे, ‘दुवै जनाले राम्रो र स्वस्थ मनसाय राखेर एक ठाउँमा उभिएको होइन । यो फरक मनसायले, देश बर्बाद गर्ने उद्देश्यले एक ठाउँमा उभिएका हुन् । लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ ।’

अध्यक्ष ओलीले कुलमान घिसिङ लगायतका अन्य शक्तिहरूलाई पनि यस मोर्चाको हिस्सा भएको आरोप लगाए । उनले भने, ‘कुनै सार्वजनिक जवाफदेहिता नभएका व्यक्तिहरूले देश बनाउने होइन, विध्वंस गर्ने उद्देश्यले एकत्रित भएका छन् । कुनै अवतारी आएर समस्या समाधान हुने भ्रम फैलाइएको छ, जुन सत्य होइन।’

ओलीको भनाइ अनुसार, भदौ २४ का घटनालाई वैधता दिने कि अस्वीकार गर्ने भन्ने बहसले देशको राजनीतिक वातावरणलाई थप ध्रुवीकृत बनाएको छ । अध्यक्ष ओलीले यसै सन्दर्भमा आफूहरू लोकतन्त्रलाई पुनःस्थापित गर्ने प्रयासमा रहेको दाबी गरे । यसरी ओलीले स्पष्ट पारे कि राजनीतिक उद्देश्यका लागि विभिन्न व्यक्ति र समूहहरू मिलेर लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा बनाइरहेका छन्, र यसलाई उनले देशको स्थायित्व र लोकतन्त्रका लागि खतराको रूपमा व्याख्या गरेका छन् ।

निर्वाचन केन्द्रित बन्दै एमाले, जनसंगठनलाई जनमत सिर्जनामा लाग्न निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनलाई केन्द्रीय एजेण्डा बनाउँदै पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्न जनसंगठनहरूलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले जनसंगठनहरूलाई निर्वाचन अभियानको अग्रपंक्तिमा उभिन स्पष्ट निर्देशन दिए ।

महासचिव पोखरेलले यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई विचार र वर्ग संघर्षसँग जोडिएको लडाइँ भएको उल्लेख गर्दै पार्टीका नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउने मुख्य जिम्मेवारी जनसंगठनकै भएको बताए । केन्द्रबाट तय गरिएका कार्यक्रम र योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले निर्वाचन केन्द्रित बैठक, अभियान र जनसंवादलाई तीव्र बनाउन आग्रह गरे ।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न विशेष जोड दिइयो । पार्टी सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहसम्म पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनु पर्नेमा महासचिव पोखरेलले जोड दिए । यसक्रममा उनले भदौ २३ र २४ गते भएका घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्दै ती घटनासँग सम्बन्धित फुटेज सार्वजनिक भइसकेको उल्लेख गरे । टीओबी, फ्री तिब्बत मुभमेन्ट र बारबरा फाउन्डेसन जस्ता पक्षहरूको संलग्नतासम्बन्धी विषयहरू बाहिर आइसकेको भन्दै ती घटना आकस्मिक नभई लामो तयारीका साथ घटाइएको तथ्य जनतामाझ स्पष्ट रूपमा राख्नुपर्ने आवश्यकता औंल्याए ।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी ढंगले परिचालन हुन निर्देशन दिए । उनले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने निष्कर्ष निकालेको छ।

 

 

 

बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच तीन घण्टा ‘गोप्य’ संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा लामो ‘वान टु वान’ छलफल भएको छ । झण्डै तीन घण्टा चलेको यो भेटवार्तालाई आसन्न प्रतिनिधिसभा निर्वाचन र त्यसको वातावरण निर्माणसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार ओली बिहीबार बिहान करिब ११ बजे बालुवाटार पुगेका थिए । उनी आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्र साथमा लिएर प्रधानमन्त्री कार्कीसँग एक्लै संवादमा बसेका थिए । भेटमा मुख्यतः फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन, त्यसको तयारी र राजनीतिक वातावरणबारे गम्भीर छलफल भएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्लो समय सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै आलोचना गर्दै आएका छन् । एमालेले चुनाव बहिष्कार गर्न सक्ने संकेत समेत दिएका ओलीले भने आवश्यक वातावरण बनेमा पार्टी सहभागी हुन तयार रहेको धारणा प्रधानमन्त्री समक्ष राखेका थिए । प्रधानमन्त्री कार्कीले भने चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र सबै दलको सहभागिताका लागि संवाद आवश्यक रहेको बताएको स्रोतको दाबी छ ।

उल्लेखनीय कुरा के छ भने बुधबार मात्र चुनावको विषयमा सार्वजनिक रूपमा आशंका व्यक्त गरेका ओली प्रधानमन्त्री कार्कीको बोलावटमा बिहीबार बालुवाटार पुगेका थिए । यसले दुबै नेताबीच पछिल्ला दिनमा संवादको दूरी घट्दै गएको संकेत गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जनेजी आन्दोलनपछि ओली नेतृत्वको सरकार विस्थापित भई सुशीला कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन भएको थियो । त्यसयता कार्की र ओलीबीच प्रत्यक्ष संवाद न्यून थियो । सुरुका केही महिना प्रधानमन्त्री कार्की तीन शीर्ष नेतासँग भेट्न अनिच्छुक देखिएकी थिइन्, जसका कारण चुनावी वातावरण नबन्ने भन्दै आलोचना पनि भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते शीतल निवासमा प्रधानमन्त्री कार्की, ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिलो पटक संयुक्त भेटवार्ता भएको थियो । त्यस भेटपछि बालुवाटारमै थप संवाद गर्ने सहमति बनेको थियो । पुस १२ गते प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डबीच पुनः छलफल भएको थियो ।

त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्की र ओलीबीच भएको पछिल्लो ‘वान टु वान’ भेटलाई विशेष अर्थका साथ हेरिएको छ । राजनीतिक वृत्तमा यो संवादले चुनावी अन्योल घटाउने र दलहरूबीच न्यूनतम सहमति निर्माण गर्ने बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ ।

ओलीको प्रश्न : सडकबाट उम्मेदवार मागिएको छ, कस्ता मान्छे आउलान् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त र सुशासनयुक्त देश निर्माण गर्न योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गराउँदै अप्रत्याशित चुनौतीहरूको सामना गर्नु परेको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीले देशलाई जोगाएर ल्याएका छौं । सबैलाई थाहा छ, एमालेको दृष्टिकोण र अडान स्पष्ट छ र यो निरन्तर जारी रहन्छ । हामी राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा कायम छौं ।’

उनले वर्तमान समयमा देशलाई जात, भूगोल र भाषाभाषामा विभाजित गर्न खोज्ने प्रयास भइरहेको बताए । साथै उनले सञ्चारमाध्यम र बौद्धिक जगत पर्याप्त सतर्क नभएकोमा चिन्ता व्यक्त गर्दै भने, ‘भावनामा बगेको देखिन्छ । भावनामा बगेर देश विकास हुँदैन, सुशासन आउँदैन, भ्रष्टाचार रोकिँदैन ।’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उम्मेदवार आह्वान गर्ने प्रक्रियामा पनि टिप्पणी गर्दै भने, ‘उम्मेदवार छान्न सडकबाट दरखास्त मागिएको छ । यसरी आह्वान गर्दा कस्ता मान्छे आउलान् ? झोला भरिएका कि मस्तिष्क भरिएका ? देश चलाउन सक्ने कि हल्ला फैलाउने ? सत्य बोल्ने कि झूठ प्रचार गर्ने ?’ उनले यसलाई देशको राजनीतिक प्रक्रियामा गरिएको ‘मजाक’ को रूपमा वर्णन गरे ।

अध्यक्ष ओलीले थपे, ‘राजनीति र राजनीतिक दलसँग मजाक गर्नु हुँदैन । यस्तो खेलबाडले देशको भविष्य जोखिममा पर्छ । यस समयमा सञ्चारमाध्यम र बुद्धिजीवीहरूले विशेष सजगता अपनाउनु पर्छ, तर त्यो भएको छैन ।’ ओलीले आफ्नो सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन र राष्ट्रिय विकास रहेको दोहो¥याए । उनले भने, ‘हामी चुनौतीहरूको बाबजुद पनि योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ र हाम्रो अडान स्पष्ट छ । देशलाई बचाउन र समृद्ध बनाउन निरन्तर प्रयास जारी रहनेछ ।’

 

निर्वाचनमा एमालेका थेवेलाई युवा परिचालनको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी तयारीलाई गति दिन प्रमुख जिम्मेवारीहरु बाँडफाँड गरेको छ । यसै क्रममा, पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई निर्वाचन परिचालन संयोजक र क्षितिज थेबेलाई युवा परिचालन संयोजक बनाइएको छ ।

क्षितिज थेबे युवा परिचालनको जिम्मेवारी पाउँदा पार्टी नेतृत्वले उनले आफ्नो संगठनात्मक क्षमता र युवामाझको लोकप्रियतामा भरोसा राखेको बताएको छ । थेबे हाल युवासंघ अध्यक्षको रुपमा सक्रिय छन् र संगठन विस्तार, राजनीतिक प्रशिक्षण, तथा युवाको वैचारिक सशक्तिकरणमा निरन्तर भूमिका खेल्दै आएका छन् । पार्टीका नेताहरूको अनुसार, ‘आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्नु आवश्यक छ ।’ यसै आवश्यकतालाई ध्यानमा राख्दै थेबेलाई केन्द्रीय स्तरमा युवासंघ संरचनालाई समन्वय गर्ने जिम्मेवारी दिइएको हो ।

थेबेको नेतृत्वमा देशभरका युवासंघका संरचनाहरू चुनावी अभियानमा सक्रिय हुनेछन् । यस अन्तर्गत घरदैलो अभियान, मतदाता शिक्षा, सामाजिक सञ्जाल अभियान, चुनावी अनुशासन कायम गर्ने कार्यहरू अघि बढाइने योजना रहेको पार्टीले जनाएको छ । यस्तै, क्षितिज थेबे ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस पनि भएका छन् । स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मको अनुभव, युवामाझको स्वीकार्यता र निरन्तर राजनीतिक सक्रियताका कारण उनलाई सम्भावित उम्मेदवारका रुपमा अघि सारिएको बताइएको छ । ताप्लेजुङमा उनको सिफारिसले स्थानीय नेता र कार्यकर्तामा उत्साह थपेको छ ।

क्षितिज थेबेले युवाहरुलाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि एकताबद्ध गराउने बताएका छन् । उनले भने, ‘युवाशक्ति परिवर्तनको मूल शक्ति हो । आसन्न निर्वाचनमा युवाको सक्रिय सहभागितामार्फत पार्टीलाई जनताको बलियो विश्वास दिलाउने हाम्रो लक्ष्य हो ।’ पार्टीको युवा परिचालन रणनीतिमा उनले संगठनात्मक विस्तार, प्रशिक्षण र अनुशासनलाई प्राथमिकता दिने योजना बनाएका छन् । यसरी युवालाई चुनावी अभियानमा सक्रिय गराउने कार्यले एमालेको निर्वाचन तयारीलाई थप बल दिने विश्वास गरिएको छ ।

 

 

 

एमालेको चुनावी ‘कमाण्डर’ बादल

काठमाडौं । नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको उपमहासचिप लेखराज भट्टले जानकारी दिए । कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहेका छन् । बैठकले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ ।

एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इञ्चार्ज तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इञ्चार्ज तोकिएको छ । बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।

त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । ‘बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेको छ,’ उपमहासचिव लेखराज भट्टले भने, ‘निर्वाचनमा खेलेको भूमिकाका आधारमा आगामी जिम्मेवारी निर्धारण गरिनेछ ।’

सचिव राजन भट्टराईले शान्ति सुरक्षा नाजुक रहेको उल्लेख गर्दै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । तर एमाले निर्वाचन कार्याक्रमअनुसार अघि बढेकाले चुनावको तयारीमा लागेको उनको भनाइ छ । ‘हामी चुनावमा जाने नै हो । अब चुनावी तयारीमा जुट्यौं । तर पनि अहिलेको राजनीतिलाई सही ट्रयाकमा ल्याउन संसद् पुनस्र्थापनाको मुद्दा कायम राखेका छौं,’ उनले भने, ‘वीरगञ्जलगायत क्षेत्रमा सुरक्षा चुनौती देखिएको छ । सरकारले वातावरण बनाउन सकेको छैन । निर्वाचन वातावरण बनाउनै पर्छ ।’

 

 

राष्ट्रियसभामा एमालेको दावी सात सिट, उम्मेदवार टुंगो लगाउने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रियसभा निर्वाचनका लागि सात सिटमा आफ्नो दावी प्रस्तुत गरेको छ । पार्टीको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘हरेक प्रदेशबाट एक जना उम्मेदवार हुने गरी सात सिटमा हामीले दाबी गरेका छौं । तर क्लस्टर अनुसार उम्मेदवार टुंगो लगाउने काम अझै बाँकी छ ।’

उनका अनुसार, पार्टीले राष्ट्रियसभामा जाने रणनीति तय गरिसकेको छ र निर्वाचन माघ ११ गते हुने तयारी भइरहेको छ । यस क्रममा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको छ । उपमहासचिव भट्टले बताएअनुसार, उम्मेदवारको अन्तिम निर्णय अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘कुन प्रदेशबाट महिला उम्मेदवार कसले पाउने भन्ने टुंगो लागिसकेको छैन । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी बाँकी उम्मेदवारको निर्णय अध्यक्षले गर्नेछन्’, उनले सुनाए ।

भट्टले थपे, ‘कसले कति सिट पाउने भन्ने बाँडफाँड टुंगो लागेको छ, तर क्लस्टर अनुसार उम्मेदवारको निर्णय बाँकी छ । कांग्रेसका सभापतिसँग छलफलपछि बाँकी नाम टुंगो लाग्ने छ ।’ राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १८ सिटका लागि एमाले, कांग्रेस र अन्य गठबन्धन पार्टीले मिलेर चुनाव लड्ने सहमति भइसकेको छ । यससँगै पार्टीले आफ्नो प्राथमिक दावी पेश गरी गठबन्धनसहित रणनीतिक तयारी सुरु गरिसकेको छ ।

एमालेले बनायो ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति, पोखरेल पनि समेटिए

काठमाडौं । नेकपा एमालेले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । सदस्यमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाललाई मस्यौदा समिति सदस्य छन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेशनल भोलिन्टियर्स फोर्स’ लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन् । गत मंसिर ५ मा एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा भोलिन्टियर्स फोर्स घोषणा गरेको थियो । जेनजी र युवालाई समेटेर फोर्स गठन गरिएको थियो । मंगलबार एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले फोर्सलाई टोलटोलमा पुर्‍याउन निर्देशन दिएको एक सचिवालय सदस्यले नेपालखबरलाई बताए ।

‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेशनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ,’ ओली बैठकमा भनेको कुरा उद्धृत गर्दै ती सदस्यले भने । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन सार्न षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो । त्यसमा सरकार र विदेशी शक्ति लागिरहेको उनको आरोप थियो ।

त्यसका विरुद्ध भोलिन्टियर्स फोर्स परिचालन गरेर चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेमा ओलीले जोड दिए । ‘निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्छ,’ ओलीको थप भनाइ थियो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेको छ । बैठकमा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भइरहेको छ । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते तोकिएको छ । त्यस्तै, राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

यी नेतालाई तोकियो प्रदेश संयोजक
नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । जस अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्ना रहेका छन् । यस्तै संगठन विभागको जिम्मेवारी भानुभक्त ढकालले पाएका छन् ।

 

 

ओलीको आरोप : कांग्रेस–एमाले नजिकिएपछि सरकार र विदेशी चुनाव सार्ने षडयन्त्रमा लागे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र विदेशी शक्तिहरूले निर्वाचन स्थगित गर्ने वा विभिन्न चरणमा विभाजन गरेर सञ्चालन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

मंगलबार च्यासलमा आयोजित पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै तयार छैन । एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई ढिला गराउने वा चरणबद्ध रूपमा गर्ने योजना बनाइरहेका छन् ।’ उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने र संसद् पुनस्र्थापना हुन नदिने प्रयास भइरहेको पनि बताएका छन् ।

अध्यक्ष ओलीले वैदेशिक हस्तक्षेप अब स्पष्ट रूपमा देखिन थालेको उल्लेख गर्दै भने, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने चुनौती अझै बढिरहेको छ । यस परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त बनाएर अगाडि बढाउनु पर्छ । प्रत्येक तहमा युवालाई परिचालन गर्दै टोल–टोलमा नेशनल युथ भोलेन्टियर फोर्स गठन गर्नुपर्ने छ । निर्वाचनको तयारी आन्दोलनकै माध्यमबाट सुरु गर्नुपर्छ ।’

उनीसँगै पार्टीभित्रको आन्तरिक चिन्ता पनि व्यक्त गरेका छन् । ओलीले पछिल्लो समय एक भइरहेका दलहरूलाई लक्षित गर्दै भने, ‘विकासको नाममा एनजीओ–डोनरको एजेण्डा बोकेर राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने र विभिन्न दाग लागेका व्यक्तिहरूलाई एउटै ठाउँमा जम्मा गर्ने प्रवृत्ति देखिन्छ । कतिपय स्वार्थका लागि भ्रष्टाचार, ठगी र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन् ।’

उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा संलग्नहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे । ओलीको भनाइ अनुसार, पार्टीले आफ्नो आन्दोलनलाई सक्रिय र व्यवस्थित बनाउँदै युवा र स्थानीय तहमा परिचालन गरेर राजनीतिक तयारीमा अग्रसर रहनु पर्छ । यसअघि नेपाली राजनीतिक परिदृश्यमा एमाले र कांग्रेसबीचको नजिकिएर सहकार्यको संकेतले सत्ता–संरचना र निर्वाचन प्रक्रिया प्रति विवाद र तनावको वातावरण सिर्जना गरेको छ । ओलीले पार्टी बैठकमा यस विषयमा स्पष्ट चासो देखाएका छन् र आफ्नो दलका कार्यकर्ताहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

 

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । आज बिहान ९ बजे पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

सोमबार कांग्रेस–एमाले बीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने लगभग समझदारी जुटेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि माघ ११ गते चुनाव हुँदैछ । भोलि बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसैले दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका थिए ।

आज बस्ने सचिवालय बैठकले हिजोको छलफललाई अन्तिम रूप दिने एमाले नेताहरूले बताएका छन् । एमाले सचिवालय १९ सदस्यीय छ । गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै छलफल गरेका थिए ।

काठमाडौँ–५ मा यसरी उम्मेदवार सिफारिस भए ईश्वर पोखरेल

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पोखरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेका लागि काठमाडौँ–५ पोखरेलको नियमित निर्वाचन क्षेत्र मानिन्छ । साबिक क्षेत्र नम्बर ३ रहँदा निर्वाचित भएदेखि उनी यही क्षेत्र वरपरबाट चुनाव लड्दै आएका छन् । यस क्षेत्रबाट उनले अहिलेसम्म दुई पटक जित र तीन पटक हार व्यहोरेका छन् । यही कारण पार्टीभित्र उनलाई ‘परिचित र स्थापित अनुहार’ का रूपमा लिइँदै आएको छ । यस पटक उम्मेदवार सिफारिसको प्रक्रियामा एमाले सचिव राजन भट्टराईको नाम पनि चर्चामा थियो । अघिल्ला निर्वाचनमा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै आएका भट्टराईले यसपालि क्षेत्र नम्बर–५ बाट उम्मेदवार हुन चाहेका थिए ।

पार्टीभित्र आगामी चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने चर्चा चलिरहेका बेला, क्षेत्र नम्बर–४ मा कांग्रेस नेता गगन थापा उठ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भट्टराईले क्षेत्र परिवर्तनको प्रयास गरेको बताइन्छ । तर आफ्नै क्षेत्र छाडेर नयाँ क्षेत्रमा आउन खोजेको भन्दै पार्टीभित्रै उनको आलोचना हुन थाल्यो । यसले क्षेत्रीय कमिटीभित्र असन्तुष्टि बढायो र अन्ततः भट्टराईको नाम सिफारिसमा पर्न सकेन ।

राजन भट्टराईको सम्भावित प्रवेशको चर्चाकै कारण सुरुमा उम्मेदवारी आकांक्षा नदेखाएका नेताहरू पनि पछि अघि सरे । नारायण सिलवाल, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ र शान्ति अधिकारीको नाम वैकल्पिक रूपमा प्रस्ताव गरियो । तर यी सबै नाम ‘ईश्वर पोखरेल उम्मेदवार नबनेको खण्डमा मात्र’ भन्ने शर्तसहित सिफारिस गरिएको हो । पार्टीका एक नेताका अनुसार, भित्री विवाद र असहमतिका बीच अन्ततः पोखरेलको नाममा सहमति जुटेको हो ।

यद्यपि क्षेत्रीय कमिटीले एकल सिफारिस गरे पनि स्वयं ईश्वर पोखरेलले उम्मेदवार बन्ने विषयमा स्पष्ट जवाफ दिएका छैनन् । क्षेत्रीय र जिल्ला कमिटीका नेताहरूले सिफारिसबारे जानकारी गराउँदा उनले पहिले पार्टीको मुख्य नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्र अन्तिम निर्णय लिने बताएका छन् । स्थानीय नेताहरूका अनुसार पोखरेल यस पटक चुनाव लड्न खासै इच्छुक देखिएका छैनन् । यदि उनी उम्मेदवार नबने शान्ति अधिकारी बस्नेत (पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी), जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रीय सदस्य नारायण सिलवाललगायत नेताहरू बलिया दाबेदारका रूपमा अघि देखिएका छन् ।

काठमाडौँ जिल्ला कमिटीले सबै क्षेत्रीय कमिटीलाई विस्तारित भेलाबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो । क्षेत्रीय कमिटी सदस्यसँगै नगर र वडा कमिटीका पदाधिकारी समेत सहभागी भेलाबाट नाम प्रस्ताव गरिएको हो । अब क्षेत्रीय कमिटीबाट आएका सिफारिसहरू जिल्ला हुँदै प्रदेश कमिटीमा पठाइने जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन् । काठमाडौँ–५ मा देखिएको यो सिफारिस प्रक्रिया केवल उम्मेदवार चयन मात्र नभई एमालेभित्रको आगामी चुनावी रणनीति र सम्भावित गठबन्धन राजनीतिलाई पनि प्रतिबिम्बित गर्ने घटनाक्रमका रूपमा हेरिएको छ ।

 

विष्णु पौडेल रुपन्देही–२ बाट एकल सिफारिस

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि पौडेल रुपन्देही–२ बाट एकल उम्मेदवार सिफारिस भएका हुन् ।क्षेत्रीय कमिटीको विस्तारित बैठकबाट पौडेलको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।

पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार रहेका छन् भने २०६४ देखि निरन्तर जित्दै आएका छन् । पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल रुपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको उनले जनाएका छन् ।

चक्रे मिलन गोरखा–२ बाट एमालेको उम्मेदवार सिफारिस

काठमाडौं । गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। उम्मेदवार सिफारिसपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरेका छन् । विगतमा गुण्डा नाइकेको छवी पाएका उनी नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका हुन् । उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’ गुरुङ पटक–पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोपमा उनी समातिएका थिए । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ । कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।
भुतपूर्व गोर्खा आर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे ।

चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बनेका हुन् । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले । महाराजगञ्ज क्षेत्रलाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।

चुनाव फागुन २१ मै हुनुपर्छ, उम्मेदवार बन्ने मन्त्रीले राजीनामा दिनुपर्छ : योगेश भट्टराई

मोरङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी बनाउन बहालवाला पार्टीका मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले मन्त्री पदमै बसेर चुनावी प्रतिस्पर्धामा उत्रिनु नैतिक र व्यावहारिक दुवै दृष्टिले गलत हुने तर्क गरे । निर्वाचनमा सत्ताको दुरुपयोग हुने आशंका औंल्याउँदै उनले लोकतान्त्रिक अभ्यासको मर्यादा कायम गर्न मन्त्रीहरूले जिम्मेवारी त्याग्नु अनिवार्य रहेको बताए ।

विशेषगरी हालै रास्वपामा समाहित भएका मन्त्री कुलमान घिसिङतर्फ संकेत गर्दै भट्टराईले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न मन्त्री पदमा रहेर चुनाव लड्नु उपयुक्त हुँदैन । यस्तो अवस्थामा राजीनामा दिनु नै सही विकल्प हो ।’ घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने विषय पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा उठिरहेको छ ।

उनका अनुसार आगामी माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यतालिका रहेकाले त्यसअघि नै मन्त्रीहरूले पद छाड्नु उचित हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला दिनमा व्यक्त गरेका प्रतिबद्धता स्मरण गराउँदै उनले सरकारबाट शक्ति दुरुपयोग हुन सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने बताए । निर्वाचनको मिति र परिस्थितिबारे पनि भट्टराईले ध्यानाकर्षण गराए। फागुन २१ गते तराई–मधेश क्षेत्रमा होली पर्व पर्ने र हिमाली क्षेत्रमा सम्भावित हिमपातका कारण मतदान प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले आवश्यक परे निर्वाचनलाई विभिन्न चरणमा सम्पन्न गर्ने विकल्पबारे सरकार गम्भीर हुनुपर्ने सुझाव दिए । ‘संक्रमणकाल अनावश्यक रूपमा लम्बिँदा संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै संकट आउन सक्छ’, उनले भने, ‘त्यसैले तोकिएको समयमै निर्वाचन हुनुपर्छ र सरकारले मतदाताले ढुक्कसँग मतदान गर्न पाउने सुरक्षित वातावरण निर्माण गर्नुपर्छ ।’

पार्टीको आन्तरिक राजनीतिबारे धारणा राख्दै भट्टराईले नेकपा एमाले महाधिवेशनको म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने दाबी गरे । महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भन्दै उनले पराजित पक्षलाई कारबाही गरिने भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनका अनुसार पार्टी अहिले आन्तरिक विवादभन्दा बाहिर निस्कँदै पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित भइसकेको छ । यसैबीच ताप्लेजुङ जाने क्रममा एमाले नेता भीम रावल र उपमहासचिव भट्टराई एउटै विमानबाट विराटनगर अवतरण गरेका थिए । विमानस्थलमा नेता वासिम आलमलगायत कार्यकर्ताहरूले भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए ।