`

एमालेलाई पनि अहिलेको कांग्रेस जस्तो बनाउन खोजेका थिए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको नेपाली कांग्रेसको जस्तै गरी एमालेलाई पनि फुटाउन खोजिएको तर सफल नभएको बताए ।

पार्टीको महाधिवेशनले नेतृत्व चयन गरेर एमाले अहिले एकजुट भएको उहाँको दाबी छ । अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा आफू सुत्न समेत नभ्याएको र सरकारका काम कारबाहीमा सधैँ तल्लिन रहेको बताए । उनले भने, ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैन थियो । काम त त्यसरी नै गर्नुपर्छ । हामी हमला, आक्रमणको बीचमा छौँ । विरोधीहरु लागेका छन् । कांग्रेस पार्टीमा अहिले जे भएको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए । एक वर्षअघि नै महाधिवेशन गरेर, हल्ला, भ्रमहरुको तुवाँलो चिरेर, शेरबहादुरलाई जसरी बलजफ्ती निष्काशन भनेर गरेका छन् । त्यस्तै त हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए नि त । कारबाही हुनुपर्छ, जिम्मेवार बन्नुपर्छ ।’

उनले भने, ‘यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थियो त । त्यसो भए जनता र कार्यकर्ताले फैसला गरुन् भनेर एक वर्षअघि नै महाधिवेशन तानेर महाधिवेशन गर्‍यौँ । हाम्रो पार्टीमा पनि यही समस्या आउँदै थियो नि । तर पार्टी जोगिएको छ । पार्टी एकजुट बनेको छ । महाधिवेशनले एउटा फैसला दिएको छ ।’ अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने गरी भाष्य निर्माण गर्न नहुने बताए ।

 

 

 

 

 

चुनाव अनिश्चित छ, संसद पुनर्स्थापना नै सुरक्षित बाटो : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा आगामी निर्वाचन हुने वा नहुने विषयमा अझै स्पष्टता नआएको भन्दै वर्तमान अन्योलपूर्ण अवस्थामा प्रतिनिधिसभा पुनः स्थापना नै सबैभन्दा सुरक्षित र व्यवहारिक विकल्प भएको बताएका छन् ।
गृह जिल्ला दाङमा आयोजित प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक वातावरण अझै स्थिर भइनसकेको उल्लेख गरे । उनले भने, ‘चुनावको मिति र वातावरण दुवै अन्योलमै छन् । यस्तो अवस्थामा संसद पुनःस्थापना गरेर संवैधानिक र राजनीतिक स्थिरताको बाटो रोज्नु नै देशका लागि उपयुक्त हुन्छ ।’

यद्यपि, पोखरेलले यदि निर्वाचन हुने स्पष्ट परिस्थिति बनेमा नेकपा एमाले चुनावी प्रक्रियाबाट नभाग्ने स्पष्ट पारे । ‘एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हो । चुनाव हुने स्थिति बने हामी पूर्ण रूपमा सहभागी हुन्छौं’, उनले भने । राजनीतिक दलहरूबीच बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले दल फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने धारणा राखे । विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले समग्र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पार्न सक्ने उनको भनाइ थियो । ‘सत्तारूढ दलभित्रको अस्थिरता र आन्तरिक खिचातानीले लोकतन्त्र कमजोर हुन्छ’, उनले भने, ‘मुख्य दलहरू जिम्मेवार भएर अघि बढ्नु पर्छ ।’

पोखरेलले रवि लामिछानेसँग जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासले सरकार वास्तवमै कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको दाबी गरे । ‘यस्ता निर्णयले सरकारको नियत र स्वतन्त्रतामाथि शंका उत्पन्न भएको छ’, उनले टिप्पणी गरे ।

देशमा अझै पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसलाई अत्यन्तै चिन्ताजनक अवस्था बताए । उनका अनुसार लुटिएका हतियार संकलन, फरार कैदीहरूलाई फिर्ता ल्याउने र सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुन आवश्यक छ । ‘प्रहरी र सुरक्षा निकायको मनोबल कमजोर हुँदा राज्य नै कमजोर हुन्छ’, उनले भने, ‘सरकारले राजनीतिक रस्साकस्सीभन्दा माथि उठेर शान्ति–सुरक्षामा ध्यान दिनुपर्छ ।’ महासचिव पोखरेलको अभिव्यक्तिले वर्तमान राजनीतिक संकट, निर्वाचनको अनिश्चितता र सरकारको कार्यशैलीमाथि पुनः बहस चर्किने संकेत देखिएको छ ।

 

विध्वंश मच्चाउनेहरु लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कस्दैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र अन्य शक्तिहरूले लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिरहेको आरोप लगाएका छन् । उनले भदौ २४ का घटनाहरूलाई वैधता दिने कि नदिने भन्ने विषयमा राजनीतिक ध्रुवीकरण बढेको पनि बताएका छन् ।

एमाले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘देश बनाउने लोकतान्त्रिक शक्तिहरूलाई किनारा लगाउन नपाएपछि विध्वंसका पक्षधरहरू एक ठाउँमा उभिन खोजिरहेका छन् । उनीहरूमा त्रास छ, त्यसैले एक ठाउँमा उभिने प्रयास भइरहेको छ ।’

उनले रवि लामिछाने र बालेन शाहलाई लक्षित गर्दै थपे, ‘दुवै जनाले राम्रो र स्वस्थ मनसाय राखेर एक ठाउँमा उभिएको होइन । यो फरक मनसायले, देश बर्बाद गर्ने उद्देश्यले एक ठाउँमा उभिएका हुन् । लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा कसिँदैछ ।’

अध्यक्ष ओलीले कुलमान घिसिङ लगायतका अन्य शक्तिहरूलाई पनि यस मोर्चाको हिस्सा भएको आरोप लगाए । उनले भने, ‘कुनै सार्वजनिक जवाफदेहिता नभएका व्यक्तिहरूले देश बनाउने होइन, विध्वंस गर्ने उद्देश्यले एकत्रित भएका छन् । कुनै अवतारी आएर समस्या समाधान हुने भ्रम फैलाइएको छ, जुन सत्य होइन।’

ओलीको भनाइ अनुसार, भदौ २४ का घटनालाई वैधता दिने कि अस्वीकार गर्ने भन्ने बहसले देशको राजनीतिक वातावरणलाई थप ध्रुवीकृत बनाएको छ । अध्यक्ष ओलीले यसै सन्दर्भमा आफूहरू लोकतन्त्रलाई पुनःस्थापित गर्ने प्रयासमा रहेको दाबी गरे । यसरी ओलीले स्पष्ट पारे कि राजनीतिक उद्देश्यका लागि विभिन्न व्यक्ति र समूहहरू मिलेर लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चा बनाइरहेका छन्, र यसलाई उनले देशको स्थायित्व र लोकतन्त्रका लागि खतराको रूपमा व्याख्या गरेका छन् ।

निर्वाचन केन्द्रित बन्दै एमाले, जनसंगठनलाई जनमत सिर्जनामा लाग्न निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनलाई केन्द्रीय एजेण्डा बनाउँदै पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्न जनसंगठनहरूलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले जनसंगठनहरूलाई निर्वाचन अभियानको अग्रपंक्तिमा उभिन स्पष्ट निर्देशन दिए ।

महासचिव पोखरेलले यो निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धा मात्र नभई विचार र वर्ग संघर्षसँग जोडिएको लडाइँ भएको उल्लेख गर्दै पार्टीका नीति, विचार र उपलब्धिलाई जनतामाझ प्रभावकारी ढंगले पुर्‍याउने मुख्य जिम्मेवारी जनसंगठनकै भएको बताए । केन्द्रबाट तय गरिएका कार्यक्रम र योजनाहरू स्थानीय तहसम्म कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिँदै उनले निर्वाचन केन्द्रित बैठक, अभियान र जनसंवादलाई तीव्र बनाउन आग्रह गरे ।

बैठकमा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत पार्टीको पक्षमा जनमत निर्माण गर्न विशेष जोड दिइयो । पार्टी सर्कुलरअनुसार सबै जनसंगठनहरू परिचालित भई युवासहित विभिन्न वर्ग, समुदाय र पेशागत समूहसम्म पार्टीको सन्देश सशक्त रूपमा पु¥याउनु पर्नेमा महासचिव पोखरेलले जोड दिए । यसक्रममा उनले भदौ २३ र २४ गते भएका घटनाहरू स्वस्फूर्त नभई योजनाबद्ध रहेको दाबी गर्दै ती घटनासँग सम्बन्धित फुटेज सार्वजनिक भइसकेको उल्लेख गरे । टीओबी, फ्री तिब्बत मुभमेन्ट र बारबरा फाउन्डेसन जस्ता पक्षहरूको संलग्नतासम्बन्धी विषयहरू बाहिर आइसकेको भन्दै ती घटना आकस्मिक नभई लामो तयारीका साथ घटाइएको तथ्य जनतामाझ स्पष्ट रूपमा राख्नुपर्ने आवश्यकता औंल्याए ।

बैठकमा पार्टी सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पनि जनसंगठनलाई थप सक्रिय, अनुशासित र परिणाममुखी ढंगले परिचालन हुन निर्देशन दिए । उनले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न जनतासँग प्रत्यक्ष सम्पर्क, संवाद र अभियानलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । बैठकले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्ने लक्ष्यसहित जनसंगठनहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने निष्कर्ष निकालेको छ।

 

 

 

बालुवाटारमा प्रधानमन्त्री र ओलीबीच तीन घण्टा ‘गोप्य’ संवाद

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा लामो ‘वान टु वान’ छलफल भएको छ । झण्डै तीन घण्टा चलेको यो भेटवार्तालाई आसन्न प्रतिनिधिसभा निर्वाचन र त्यसको वातावरण निर्माणसँग जोडेर हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार ओली बिहीबार बिहान करिब ११ बजे बालुवाटार पुगेका थिए । उनी आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यलाई मात्र साथमा लिएर प्रधानमन्त्री कार्कीसँग एक्लै संवादमा बसेका थिए । भेटमा मुख्यतः फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन, त्यसको तयारी र राजनीतिक वातावरणबारे गम्भीर छलफल भएको बताइएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पछिल्लो समय सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै आलोचना गर्दै आएका छन् । एमालेले चुनाव बहिष्कार गर्न सक्ने संकेत समेत दिएका ओलीले भने आवश्यक वातावरण बनेमा पार्टी सहभागी हुन तयार रहेको धारणा प्रधानमन्त्री समक्ष राखेका थिए । प्रधानमन्त्री कार्कीले भने चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र सबै दलको सहभागिताका लागि संवाद आवश्यक रहेको बताएको स्रोतको दाबी छ ।

उल्लेखनीय कुरा के छ भने बुधबार मात्र चुनावको विषयमा सार्वजनिक रूपमा आशंका व्यक्त गरेका ओली प्रधानमन्त्री कार्कीको बोलावटमा बिहीबार बालुवाटार पुगेका थिए । यसले दुबै नेताबीच पछिल्ला दिनमा संवादको दूरी घट्दै गएको संकेत गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जनेजी आन्दोलनपछि ओली नेतृत्वको सरकार विस्थापित भई सुशीला कार्कीको नेतृत्वमा ‘नागरिक सरकार’ गठन भएको थियो । त्यसयता कार्की र ओलीबीच प्रत्यक्ष संवाद न्यून थियो । सुरुका केही महिना प्रधानमन्त्री कार्की तीन शीर्ष नेतासँग भेट्न अनिच्छुक देखिएकी थिइन्, जसका कारण चुनावी वातावरण नबन्ने भन्दै आलोचना पनि भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पुस ८ गते शीतल निवासमा प्रधानमन्त्री कार्की, ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिलो पटक संयुक्त भेटवार्ता भएको थियो । त्यस भेटपछि बालुवाटारमै थप संवाद गर्ने सहमति बनेको थियो । पुस १२ गते प्रधानमन्त्री कार्कीसँग देउवा, ओली र प्रचण्डबीच पुनः छलफल भएको थियो ।

त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्की र ओलीबीच भएको पछिल्लो ‘वान टु वान’ भेटलाई विशेष अर्थका साथ हेरिएको छ । राजनीतिक वृत्तमा यो संवादले चुनावी अन्योल घटाउने र दलहरूबीच न्यूनतम सहमति निर्माण गर्ने बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ ।

ओलीको प्रश्न : सडकबाट उम्मेदवार मागिएको छ, कस्ता मान्छे आउलान् ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार मुक्त र सुशासनयुक्त देश निर्माण गर्न योजनाबद्ध रूपमा काम अघि बढाएको स्मरण गराउँदै अप्रत्याशित चुनौतीहरूको सामना गर्नु परेको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘हामीले देशलाई जोगाएर ल्याएका छौं । सबैलाई थाहा छ, एमालेको दृष्टिकोण र अडान स्पष्ट छ र यो निरन्तर जारी रहन्छ । हामी राष्ट्रियताको पक्षमा, सुशासन र विकासको पक्षमा कायम छौं ।’

उनले वर्तमान समयमा देशलाई जात, भूगोल र भाषाभाषामा विभाजित गर्न खोज्ने प्रयास भइरहेको बताए । साथै उनले सञ्चारमाध्यम र बौद्धिक जगत पर्याप्त सतर्क नभएकोमा चिन्ता व्यक्त गर्दै भने, ‘भावनामा बगेको देखिन्छ । भावनामा बगेर देश विकास हुँदैन, सुशासन आउँदैन, भ्रष्टाचार रोकिँदैन ।’

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उम्मेदवार आह्वान गर्ने प्रक्रियामा पनि टिप्पणी गर्दै भने, ‘उम्मेदवार छान्न सडकबाट दरखास्त मागिएको छ । यसरी आह्वान गर्दा कस्ता मान्छे आउलान् ? झोला भरिएका कि मस्तिष्क भरिएका ? देश चलाउन सक्ने कि हल्ला फैलाउने ? सत्य बोल्ने कि झूठ प्रचार गर्ने ?’ उनले यसलाई देशको राजनीतिक प्रक्रियामा गरिएको ‘मजाक’ को रूपमा वर्णन गरे ।

अध्यक्ष ओलीले थपे, ‘राजनीति र राजनीतिक दलसँग मजाक गर्नु हुँदैन । यस्तो खेलबाडले देशको भविष्य जोखिममा पर्छ । यस समयमा सञ्चारमाध्यम र बुद्धिजीवीहरूले विशेष सजगता अपनाउनु पर्छ, तर त्यो भएको छैन ।’ ओलीले आफ्नो सरकारको मुख्य उद्देश्य भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवद्र्धन र राष्ट्रिय विकास रहेको दोहो¥याए । उनले भने, ‘हामी चुनौतीहरूको बाबजुद पनि योजनाबद्ध रूपमा अघि बढिरहेका छौँ र हाम्रो अडान स्पष्ट छ । देशलाई बचाउन र समृद्ध बनाउन निरन्तर प्रयास जारी रहनेछ ।’

 

निर्वाचनमा एमालेका थेवेलाई युवा परिचालनको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको चुनावी तयारीलाई गति दिन प्रमुख जिम्मेवारीहरु बाँडफाँड गरेको छ । यसै क्रममा, पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई निर्वाचन परिचालन संयोजक र क्षितिज थेबेलाई युवा परिचालन संयोजक बनाइएको छ ।

क्षितिज थेबे युवा परिचालनको जिम्मेवारी पाउँदा पार्टी नेतृत्वले उनले आफ्नो संगठनात्मक क्षमता र युवामाझको लोकप्रियतामा भरोसा राखेको बताएको छ । थेबे हाल युवासंघ अध्यक्षको रुपमा सक्रिय छन् र संगठन विस्तार, राजनीतिक प्रशिक्षण, तथा युवाको वैचारिक सशक्तिकरणमा निरन्तर भूमिका खेल्दै आएका छन् । पार्टीका नेताहरूको अनुसार, ‘आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्नु आवश्यक छ ।’ यसै आवश्यकतालाई ध्यानमा राख्दै थेबेलाई केन्द्रीय स्तरमा युवासंघ संरचनालाई समन्वय गर्ने जिम्मेवारी दिइएको हो ।

थेबेको नेतृत्वमा देशभरका युवासंघका संरचनाहरू चुनावी अभियानमा सक्रिय हुनेछन् । यस अन्तर्गत घरदैलो अभियान, मतदाता शिक्षा, सामाजिक सञ्जाल अभियान, चुनावी अनुशासन कायम गर्ने कार्यहरू अघि बढाइने योजना रहेको पार्टीले जनाएको छ । यस्तै, क्षितिज थेबे ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस पनि भएका छन् । स्थानीय तहदेखि केन्द्रीयस्तरसम्मको अनुभव, युवामाझको स्वीकार्यता र निरन्तर राजनीतिक सक्रियताका कारण उनलाई सम्भावित उम्मेदवारका रुपमा अघि सारिएको बताइएको छ । ताप्लेजुङमा उनको सिफारिसले स्थानीय नेता र कार्यकर्तामा उत्साह थपेको छ ।

क्षितिज थेबेले युवाहरुलाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि एकताबद्ध गराउने बताएका छन् । उनले भने, ‘युवाशक्ति परिवर्तनको मूल शक्ति हो । आसन्न निर्वाचनमा युवाको सक्रिय सहभागितामार्फत पार्टीलाई जनताको बलियो विश्वास दिलाउने हाम्रो लक्ष्य हो ।’ पार्टीको युवा परिचालन रणनीतिमा उनले संगठनात्मक विस्तार, प्रशिक्षण र अनुशासनलाई प्राथमिकता दिने योजना बनाएका छन् । यसरी युवालाई चुनावी अभियानमा सक्रिय गराउने कार्यले एमालेको निर्वाचन तयारीलाई थप बल दिने विश्वास गरिएको छ ।

 

 

 

एमालेको चुनावी ‘कमाण्डर’ बादल

काठमाडौं । नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको उपमहासचिप लेखराज भट्टले जानकारी दिए । कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहेका छन् । बैठकले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ ।

एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इञ्चार्ज तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इञ्चार्ज तोकिएको छ । बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।

त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । ‘बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेको छ,’ उपमहासचिव लेखराज भट्टले भने, ‘निर्वाचनमा खेलेको भूमिकाका आधारमा आगामी जिम्मेवारी निर्धारण गरिनेछ ।’

सचिव राजन भट्टराईले शान्ति सुरक्षा नाजुक रहेको उल्लेख गर्दै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । तर एमाले निर्वाचन कार्याक्रमअनुसार अघि बढेकाले चुनावको तयारीमा लागेको उनको भनाइ छ । ‘हामी चुनावमा जाने नै हो । अब चुनावी तयारीमा जुट्यौं । तर पनि अहिलेको राजनीतिलाई सही ट्रयाकमा ल्याउन संसद् पुनस्र्थापनाको मुद्दा कायम राखेका छौं,’ उनले भने, ‘वीरगञ्जलगायत क्षेत्रमा सुरक्षा चुनौती देखिएको छ । सरकारले वातावरण बनाउन सकेको छैन । निर्वाचन वातावरण बनाउनै पर्छ ।’

 

 

राष्ट्रियसभामा एमालेको दावी सात सिट, उम्मेदवार टुंगो लगाउने जिम्मा ओलीलाई

काठमाडौं । नेकपा एमालेले आगामी राष्ट्रियसभा निर्वाचनका लागि सात सिटमा आफ्नो दावी प्रस्तुत गरेको छ । पार्टीको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, ‘हरेक प्रदेशबाट एक जना उम्मेदवार हुने गरी सात सिटमा हामीले दाबी गरेका छौं । तर क्लस्टर अनुसार उम्मेदवार टुंगो लगाउने काम अझै बाँकी छ ।’

उनका अनुसार, पार्टीले राष्ट्रियसभामा जाने रणनीति तय गरिसकेको छ र निर्वाचन माघ ११ गते हुने तयारी भइरहेको छ । यस क्रममा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको छ । उपमहासचिव भट्टले बताएअनुसार, उम्मेदवारको अन्तिम निर्णय अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । ‘कुन प्रदेशबाट महिला उम्मेदवार कसले पाउने भन्ने टुंगो लागिसकेको छैन । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी बाँकी उम्मेदवारको निर्णय अध्यक्षले गर्नेछन्’, उनले सुनाए ।

भट्टले थपे, ‘कसले कति सिट पाउने भन्ने बाँडफाँड टुंगो लागेको छ, तर क्लस्टर अनुसार उम्मेदवारको निर्णय बाँकी छ । कांग्रेसका सभापतिसँग छलफलपछि बाँकी नाम टुंगो लाग्ने छ ।’ राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १८ सिटका लागि एमाले, कांग्रेस र अन्य गठबन्धन पार्टीले मिलेर चुनाव लड्ने सहमति भइसकेको छ । यससँगै पार्टीले आफ्नो प्राथमिक दावी पेश गरी गठबन्धनसहित रणनीतिक तयारी सुरु गरिसकेको छ ।

एमालेले बनायो ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति, पोखरेल पनि समेटिए

काठमाडौं । नेकपा एमालेले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले ७ सदस्यीय घोषणापत्र मस्यौदा समिति बनाएको हो । सदस्यमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णुप्रसाद रिमाललाई मस्यौदा समिति सदस्य छन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेशनल भोलिन्टियर्स फोर्स’ लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन् । गत मंसिर ५ मा एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा भोलिन्टियर्स फोर्स घोषणा गरेको थियो । जेनजी र युवालाई समेटेर फोर्स गठन गरिएको थियो । मंगलबार एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले फोर्सलाई टोलटोलमा पुर्‍याउन निर्देशन दिएको एक सचिवालय सदस्यले नेपालखबरलाई बताए ।

‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेशनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ,’ ओली बैठकमा भनेको कुरा उद्धृत गर्दै ती सदस्यले भने । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन सार्न षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो । त्यसमा सरकार र विदेशी शक्ति लागिरहेको उनको आरोप थियो ।

त्यसका विरुद्ध भोलिन्टियर्स फोर्स परिचालन गरेर चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेमा ओलीले जोड दिए । ‘निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्छ,’ ओलीको थप भनाइ थियो । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेको छ । बैठकमा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भइरहेको छ । प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते तोकिएको छ । त्यस्तै, राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ ।

यी नेतालाई तोकियो प्रदेश संयोजक
नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । जस अनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्ना रहेका छन् । यस्तै संगठन विभागको जिम्मेवारी भानुभक्त ढकालले पाएका छन् ।

 

 

ओलीको आरोप : कांग्रेस–एमाले नजिकिएपछि सरकार र विदेशी चुनाव सार्ने षडयन्त्रमा लागे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र विदेशी शक्तिहरूले निर्वाचन स्थगित गर्ने वा विभिन्न चरणमा विभाजन गरेर सञ्चालन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

मंगलबार च्यासलमा आयोजित पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै तयार छैन । एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई ढिला गराउने वा चरणबद्ध रूपमा गर्ने योजना बनाइरहेका छन् ।’ उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने र संसद् पुनस्र्थापना हुन नदिने प्रयास भइरहेको पनि बताएका छन् ।

अध्यक्ष ओलीले वैदेशिक हस्तक्षेप अब स्पष्ट रूपमा देखिन थालेको उल्लेख गर्दै भने, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने चुनौती अझै बढिरहेको छ । यस परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त बनाएर अगाडि बढाउनु पर्छ । प्रत्येक तहमा युवालाई परिचालन गर्दै टोल–टोलमा नेशनल युथ भोलेन्टियर फोर्स गठन गर्नुपर्ने छ । निर्वाचनको तयारी आन्दोलनकै माध्यमबाट सुरु गर्नुपर्छ ।’

उनीसँगै पार्टीभित्रको आन्तरिक चिन्ता पनि व्यक्त गरेका छन् । ओलीले पछिल्लो समय एक भइरहेका दलहरूलाई लक्षित गर्दै भने, ‘विकासको नाममा एनजीओ–डोनरको एजेण्डा बोकेर राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने र विभिन्न दाग लागेका व्यक्तिहरूलाई एउटै ठाउँमा जम्मा गर्ने प्रवृत्ति देखिन्छ । कतिपय स्वार्थका लागि भ्रष्टाचार, ठगी र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन् ।’

उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा संलग्नहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे । ओलीको भनाइ अनुसार, पार्टीले आफ्नो आन्दोलनलाई सक्रिय र व्यवस्थित बनाउँदै युवा र स्थानीय तहमा परिचालन गरेर राजनीतिक तयारीमा अग्रसर रहनु पर्छ । यसअघि नेपाली राजनीतिक परिदृश्यमा एमाले र कांग्रेसबीचको नजिकिएर सहकार्यको संकेतले सत्ता–संरचना र निर्वाचन प्रक्रिया प्रति विवाद र तनावको वातावरण सिर्जना गरेको छ । ओलीले पार्टी बैठकमा यस विषयमा स्पष्ट चासो देखाएका छन् र आफ्नो दलका कार्यकर्ताहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

 

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । आज बिहान ९ बजे पार्टी सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल लगायतबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड, प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोट लगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

सोमबार कांग्रेस–एमाले बीच राष्ट्रिय सभामा तालमेल गरेर उम्मेदवारी दिने लगभग समझदारी जुटेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानमध्ये १८ स्थानका लागि माघ ११ गते चुनाव हुँदैछ । भोलि बुधबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसैले दलहरू सोमबार अबेर रातिसम्म छलफलमा जुटेका थिए ।

आज बस्ने सचिवालय बैठकले हिजोको छलफललाई अन्तिम रूप दिने एमाले नेताहरूले बताएका छन् । एमाले सचिवालय १९ सदस्यीय छ । गएको आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा सहकार्यका विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लाएक्लै छलफल गरेका थिए ।

काठमाडौँ–५ मा यसरी उम्मेदवार सिफारिस भए ईश्वर पोखरेल

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पोखरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेका लागि काठमाडौँ–५ पोखरेलको नियमित निर्वाचन क्षेत्र मानिन्छ । साबिक क्षेत्र नम्बर ३ रहँदा निर्वाचित भएदेखि उनी यही क्षेत्र वरपरबाट चुनाव लड्दै आएका छन् । यस क्षेत्रबाट उनले अहिलेसम्म दुई पटक जित र तीन पटक हार व्यहोरेका छन् । यही कारण पार्टीभित्र उनलाई ‘परिचित र स्थापित अनुहार’ का रूपमा लिइँदै आएको छ । यस पटक उम्मेदवार सिफारिसको प्रक्रियामा एमाले सचिव राजन भट्टराईको नाम पनि चर्चामा थियो । अघिल्ला निर्वाचनमा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै आएका भट्टराईले यसपालि क्षेत्र नम्बर–५ बाट उम्मेदवार हुन चाहेका थिए ।

पार्टीभित्र आगामी चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने चर्चा चलिरहेका बेला, क्षेत्र नम्बर–४ मा कांग्रेस नेता गगन थापा उठ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भट्टराईले क्षेत्र परिवर्तनको प्रयास गरेको बताइन्छ । तर आफ्नै क्षेत्र छाडेर नयाँ क्षेत्रमा आउन खोजेको भन्दै पार्टीभित्रै उनको आलोचना हुन थाल्यो । यसले क्षेत्रीय कमिटीभित्र असन्तुष्टि बढायो र अन्ततः भट्टराईको नाम सिफारिसमा पर्न सकेन ।

राजन भट्टराईको सम्भावित प्रवेशको चर्चाकै कारण सुरुमा उम्मेदवारी आकांक्षा नदेखाएका नेताहरू पनि पछि अघि सरे । नारायण सिलवाल, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ र शान्ति अधिकारीको नाम वैकल्पिक रूपमा प्रस्ताव गरियो । तर यी सबै नाम ‘ईश्वर पोखरेल उम्मेदवार नबनेको खण्डमा मात्र’ भन्ने शर्तसहित सिफारिस गरिएको हो । पार्टीका एक नेताका अनुसार, भित्री विवाद र असहमतिका बीच अन्ततः पोखरेलको नाममा सहमति जुटेको हो ।

यद्यपि क्षेत्रीय कमिटीले एकल सिफारिस गरे पनि स्वयं ईश्वर पोखरेलले उम्मेदवार बन्ने विषयमा स्पष्ट जवाफ दिएका छैनन् । क्षेत्रीय र जिल्ला कमिटीका नेताहरूले सिफारिसबारे जानकारी गराउँदा उनले पहिले पार्टीको मुख्य नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्र अन्तिम निर्णय लिने बताएका छन् । स्थानीय नेताहरूका अनुसार पोखरेल यस पटक चुनाव लड्न खासै इच्छुक देखिएका छैनन् । यदि उनी उम्मेदवार नबने शान्ति अधिकारी बस्नेत (पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी), जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रीय सदस्य नारायण सिलवाललगायत नेताहरू बलिया दाबेदारका रूपमा अघि देखिएका छन् ।

काठमाडौँ जिल्ला कमिटीले सबै क्षेत्रीय कमिटीलाई विस्तारित भेलाबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो । क्षेत्रीय कमिटी सदस्यसँगै नगर र वडा कमिटीका पदाधिकारी समेत सहभागी भेलाबाट नाम प्रस्ताव गरिएको हो । अब क्षेत्रीय कमिटीबाट आएका सिफारिसहरू जिल्ला हुँदै प्रदेश कमिटीमा पठाइने जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन् । काठमाडौँ–५ मा देखिएको यो सिफारिस प्रक्रिया केवल उम्मेदवार चयन मात्र नभई एमालेभित्रको आगामी चुनावी रणनीति र सम्भावित गठबन्धन राजनीतिलाई पनि प्रतिबिम्बित गर्ने घटनाक्रमका रूपमा हेरिएको छ ।

 

विष्णु पौडेल रुपन्देही–२ बाट एकल सिफारिस

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट एकल उम्मेदवार सिफारिस भएका छन् । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि पौडेल रुपन्देही–२ बाट एकल उम्मेदवार सिफारिस भएका हुन् ।क्षेत्रीय कमिटीको विस्तारित बैठकबाट पौडेलको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिए ।

पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार रहेका छन् भने २०६४ देखि निरन्तर जित्दै आएका छन् । पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल रुपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको उनले जनाएका छन् ।

चक्रे मिलन गोरखा–२ बाट एमालेको उम्मेदवार सिफारिस

काठमाडौं । गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवार सिफारिस भएका छन्। उम्मेदवार सिफारिसपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरेका छन् । विगतमा गुण्डा नाइकेको छवी पाएका उनी नेकपा एमालेमा वि.सं. २०५० सालदेखि सक्रिय बनेका हुन् । उनी सामाजिक कार्यमा पनि क्रियाशील छन् ।

गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’ गुरुङ पटक–पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो । सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोपमा उनी समातिएका थिए । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) को विवरण केलाउने हो भने उनीविरुद्ध अहिलेसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको छ । कुनै समय (हाल दिवंगत) एमाले नेता प्रदीप नेपालका किचन क्याबिनेटका सदस्य भनेर चिनिने उनै मिलन गुरुङ अहिले चक्रे बनेर परिचित छन् ।
भुतपूर्व गोर्खा आर्मीका छोरा चक्रेको घर गोरखा सिरानचोक गाउँपालिका–५ छोप्राक हो । उनी काठमाडौंमा भने चक्रपथ महाराजगञ्जमा बसे ।

चक्रपथ क्षेत्रमा आफ्नो गतिविधि बिस्तार गरेर पछि चक्रे नामले नै अपराधको दुनियाँमा प्रख्यात भए । एक समय दरबारको निकट रहेको मानिने चक्रे २०४६ सालपछि भने एमाले बनेका हुन् । अनि महाराजगञ्ज क्षेत्रमा केटाहरू जम्मा पारेर त्यसक्षेत्रका बालुवा खानीका ठेक्काहरूमा कमिसन लिन थाले । महाराजगञ्ज क्षेत्रलाई आफ्नो आधार इलाका बनाउँदै ठेक्कापट्टामार्फत कमिसन र सलामी शेयर लिन थालेका उनी नदिनेविरुद्ध धम्की दिँदै कमिसन लिन थाले । सोही क्रममा पहिलो पटक चक्रे ७ साउन २०४७ मा पक्राउ परे ।

चुनाव फागुन २१ मै हुनुपर्छ, उम्मेदवार बन्ने मन्त्रीले राजीनामा दिनुपर्छ : योगेश भट्टराई

मोरङ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र पारदर्शी बनाउन बहालवाला पार्टीका मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले मन्त्री पदमै बसेर चुनावी प्रतिस्पर्धामा उत्रिनु नैतिक र व्यावहारिक दुवै दृष्टिले गलत हुने तर्क गरे । निर्वाचनमा सत्ताको दुरुपयोग हुने आशंका औंल्याउँदै उनले लोकतान्त्रिक अभ्यासको मर्यादा कायम गर्न मन्त्रीहरूले जिम्मेवारी त्याग्नु अनिवार्य रहेको बताए ।

विशेषगरी हालै रास्वपामा समाहित भएका मन्त्री कुलमान घिसिङतर्फ संकेत गर्दै भट्टराईले भने, ‘निर्वाचनको निष्पक्षता सुनिश्चित गर्न मन्त्री पदमा रहेर चुनाव लड्नु उपयुक्त हुँदैन । यस्तो अवस्थामा राजीनामा दिनु नै सही विकल्प हो ।’ घिसिङले मन्त्री पदबाट राजीनामा दिनुपर्ने विषय पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक रूपमा उठिरहेको छ ।

उनका अनुसार आगामी माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने कार्यतालिका रहेकाले त्यसअघि नै मन्त्रीहरूले पद छाड्नु उचित हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले अघिल्ला दिनमा व्यक्त गरेका प्रतिबद्धता स्मरण गराउँदै उनले सरकारबाट शक्ति दुरुपयोग हुन सक्ने सम्भावनाप्रति सचेत रहनुपर्ने बताए । निर्वाचनको मिति र परिस्थितिबारे पनि भट्टराईले ध्यानाकर्षण गराए। फागुन २१ गते तराई–मधेश क्षेत्रमा होली पर्व पर्ने र हिमाली क्षेत्रमा सम्भावित हिमपातका कारण मतदान प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले आवश्यक परे निर्वाचनलाई विभिन्न चरणमा सम्पन्न गर्ने विकल्पबारे सरकार गम्भीर हुनुपर्ने सुझाव दिए । ‘संक्रमणकाल अनावश्यक रूपमा लम्बिँदा संविधान र लोकतान्त्रिक व्यवस्थामाथि नै संकट आउन सक्छ’, उनले भने, ‘त्यसैले तोकिएको समयमै निर्वाचन हुनुपर्छ र सरकारले मतदाताले ढुक्कसँग मतदान गर्न पाउने सुरक्षित वातावरण निर्माण गर्नुपर्छ ।’

पार्टीको आन्तरिक राजनीतिबारे धारणा राख्दै भट्टराईले नेकपा एमाले महाधिवेशनको म्यान्डेटअनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकताबद्ध भएर अगाडि बढ्ने दाबी गरे । महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक प्रक्रिया भन्दै उनले पराजित पक्षलाई कारबाही गरिने भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनका अनुसार पार्टी अहिले आन्तरिक विवादभन्दा बाहिर निस्कँदै पूर्ण रूपमा चुनावी अभियानमा केन्द्रित भइसकेको छ । यसैबीच ताप्लेजुङ जाने क्रममा एमाले नेता भीम रावल र उपमहासचिव भट्टराई एउटै विमानबाट विराटनगर अवतरण गरेका थिए । विमानस्थलमा नेता वासिम आलमलगायत कार्यकर्ताहरूले भट्टराईलाई खादा लगाएर स्वागत गरेका थिए ।

 

नेपालमा पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधको राजनीति टुसायो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधको राजनीतिले जरा गाड्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले पाकिस्तानी र बंगलादेशी मोडेलको प्रतिशोधको राजनीतिक अभ्यास अब नेपाली राजनीतिमा पनि देखिन थालेको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले अहिलेको राजनीति अत्यधिक सत्ताकेन्द्रित बन्दै सैद्धान्तिक जग गुमाउँदै गएको परिणाम स्वरूप यस्तो अवस्था आएको बताए । उनले लेखेका छन्, ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट संकेत दिन थालेका छन् ।’

बास्कोटाका अनुसार सत्तामै केन्द्रित राजनीति कमजोर बन्दै जाँदा घृणा, बदला र टकरावको राजनीति हावी हुने जोखिम बढेको छ । उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतालाई क्षति पु¥याउने भन्दै सचेत गराएका छन् । ‘यो अति सत्ताकेन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्,’ भन्दै उनले राजनीतिक दलहरूलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन् ।

ओलीलाई बयानका लागि पत्र काट्दै जाँचबुझ आयोग, नआए के हुन्छ ?

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले अनुसन्धानलाई राजनीतिक तहसम्म विस्तार गरेको छ । आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई औपचारिक रूपमा पत्र पठाउने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनले ओलीको बयान अझै बाँकी रहेकाले आयोगले करिब एक साताको समय दिएर बयानका लागि उपस्थित हुन आग्रह गर्ने तयारी गरेको बताए । ‘ओलीजीलाई बोलाउने प्रक्रियामा छौं । आउनु भएन भने त्यसबारे आवश्यक निर्णय समयमै हुन्छ’, अध्यक्ष कार्कीले भने, ‘उहाँका लागि प्रश्नपत्र समेत तयार भइसकेको छ ।’

आयोगका अनुसार तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान प्रक्रिया पूरा भइसकेको छ । लेखकसँग सोमबार र बुधबार गरी दुई चरणमा बयान लिइएको थियो । आयोगले यसअघि आन्दोलनका बेला फिल्डमा खटिएका सुरक्षाकर्मी र प्रशासनिक निकायका उच्च अधिकारीहरूसँग पनि विस्तृत बयान लिइसकेको जनाएको छ । यस क्रममा तत्कालीन मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालगायतको बयान लिइएको आयोगले जनाएको छ ।

सुरक्षा र प्रशासनिक निकायका जिम्मेवार पदाधिकारीको बयान सकिएपछि आयोग राजनीतिक नेतृत्वको भूमिकाबारे अनुसन्धानमा केन्द्रित भएको हो । आयोग अध्यक्ष कार्कीका अनुसार आयोगको कार्यावधि एक महिना थप गरिएको छ र थपिएको समयभित्र सम्पूर्ण अनुसन्धान पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ । पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ५ असोजमा गठन गरिएको यस आयोगले घटनासँग सम्बन्धित कागजात, विवरण र प्रत्यक्ष सरोकारवालाको बयानका आधारमा निष्कर्ष निकाल्ने जनाएको छ । आयोगले आन्दोलनका क्रममा भएका घटनामा निर्णय तहमा रहेका व्यक्तिहरूको भूमिकालाई विशेष प्राथमिकताका साथ अध्ययन गरिरहेको बताइएको छ ।

एमालेको समानुपातिक सूचीमा विष्णु पौडेलकोसहित २१ जिल्ला शून्य

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक तर्फको बन्दसूचीले पार्टीभित्रै क्षेत्रीय असन्तुलनको बहस चर्काएको छ । सार्वजनिक सूचीअनुसार देशका ७७ जिल्लामध्ये ५६ जिल्लाबाट मात्र प्रतिनिधित्व भएको छ भने २१ जिल्लाबाट एक जना पनि समेटिएका छैनन् । विशेष गरी झापा र दाङ जस्ता जिल्लाबाट अत्यधिक प्रतिनिधित्व हुँदा रूपन्देही, प्यूठान जस्ता ठूला जिल्लाहरू शून्यमा परेका छन् ।

एमालेको बन्दसूचीमा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (पूर्व), रूपन्देही, सल्यान, पश्चिम रुकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुराबाट कुनै पनि प्रतिनिधि समावेश छैनन् । समानुपातिक सूचीमा सबैभन्दा बढी झापाबाट नौं जनाको प्रतिनिधित्व देखिएको छ । झापा ठेगाना भएकामध्ये जनजाति महिला क्लस्टरबाट अनिता सुब्बा, जनजाति पुरुषबाट विद्यानन्द राजवंशी, खस–आर्य महिलाबाट नर्मदादेवी शिवाकोटी, मेनुका काफ्ले र लता प्रसाईं, दलित महिलाबाट निता घतानी, दलित पुरुषबाट जितु दर्जी गौतम र सोम पोर्तेल तथा मधेशी महिलाबाट बिना शाह महतो सूचीमा परेका छन् ।

समानुपातिक बन्दसूचीले लुम्बिनी प्रदेशमा पनि गम्भीर असन्तुलन देखाएको छ । प्रदेशबाट १८ जना समेटिँदा महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङबाट ४ जना समावेश भएका छन् । पाल्पाबाट पनि ४ जना परेका छन् । तर, ५ वटा निर्वाचन क्षेत्र रहेको रूपन्देही र प्यूठानबाट एक जना पनि नपर्नुले स्थानीय तहमा असन्तोष बढाएको छ । रूपन्देही एमालेका प्रभावशाली नेता तथा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सचिव छविलाल विश्वकर्मा यही जिल्लाका भए पनि समानुपातिक सूचीमा जिल्लाको नामै नपर्नु कार्यकर्ताका लागि चित्तबुझ्दो देखिएको छैन । जिल्लाबाट विभिन्न क्लस्टरमा सिफारिस गरिएका सबै नाम केन्द्रले काटेको पुष्टि भएको छ ।

दाङबाट कोमल वली, एञ्जिला थापा, शान्ता चौधरी र साजिदा खातुन सिद्धिकी सूचीमा परेका छन् । शान्ता चौधरी यसअघि दुई पटक समानुपातिक सांसद भइसकेकी हुन् भने कोमल वली पनि पूर्व सांसद तथा केन्द्रीय कमिटी सदस्य हुन् । पाल्पाबाट ठानेश्वरप्रसाद बस्याल, हिरुसरा राना, ओमबहादुर घर्ती मगर र रोजी खातुन परेका छन् । यस्तै बाँके, रोल्पा, रुकुम पूर्व, गुल्मी, बर्दिया, कपिलवस्तु, अर्घाखाँची लगायतका जिल्लाबाट सीमित संख्यामा प्रतिनिधित्व गरिएको छ ।

प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले समानुपातिक सूची केन्द्रले नै तयार पारेको र प्रदेश–जिल्लासँग पर्याप्त समन्वय नभएको बताएका छन् । रूपन्देही अध्यक्ष यज्ञ गैरेले भने ठूलो निर्वाचन क्षेत्र भएको जिल्लालाई पूरै बेवास्ता गर्नु ‘गम्भीर भूल’ भएको टिप्पणी गरेका छन् । एमालेले ११० जनाको समानुपातिक सूची बुझाइसकेको छ । निर्वाचन आयोगले हाल क्लस्टरअनुसार सूचीको अध्ययन गरिरहेको छ । पुस २० गतेसम्म अध्ययन सकिने, २७ गतेसम्म संशोधन गर्ने, २८ गते नाम फिर्ता लिने र २० माघमा अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ । आगामी २१ फागुनमा मतदान हुनेछ ।

यी हुन् एमालेका ११० समानुपातिक उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ । एमालेले सोमबार राति नै आयोगमा सूची बुझाएको भए पनि बुधबार साँझ मात्रै यो सूची सार्वजनिक गरेको हो ।

एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित प्रतिनिधित्व नभएको, यसअघि समानुपातिक सांसद भइसकेकाहरूलाई पनि उम्मेदवारका रूपमा समावेश गरिएको भन्दै पार्टीभित्रै विरोध भइरहेको छ । त्यसो त उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईले प्रस्ताव गरेका केही नाम बेवास्ता गरेर एकतर्फी रोस्टर बनाइएको भन्दै असन्तुष्टि पनि बढेको छ ।

हेर्नुस् सूची

खस आर्य महिला :

पद्मा अर्याल, टुकाभद्रा हमाल, निरुदेवी पाल, कोमल वली, नर्वदादेवी सिवाकोटी, एञ्जिला थापा, मेनुका काफ्ले, लता प्रसाईं, एशुदाकुमारी बराल, लीलाकुमारी भण्डारी, सानुमैया खड्का, नारायणकुमारी खनाल, प्रभा बराल (पौडेल), क्रान्ति बुर्लाकोटी, कल्पना शर्मा जोशी, विजया धिताल, भागिरथी कुमारी चन्द ।

खस आर्य पुरुष

गुरुप्रसाद बराल, पुष्पराज कँडेल, गोरखबहादुर बोगटी, नरेशप्रसाद पोखरेल, प्रेम पराजुली, पर्शुराम अधिकारी, लालबहादुर महतारा, रामबहादुर थापा (स्याङ्जा), हरिशंकर योगी, बालाराम शर्मा, दुर्गाबहादुर शाही, दीपकबहादुर पौडेल, ठानेश्वरप्रसाद बस्याल, लालबहादुर रावल, डफकुमार बास्तोला, बमबहादुर बिसी ।

आदिवासी जनजाति महिला :

भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्वा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हरुसरा राना।

आदिवासी जनजाति पुरुष

रामबहादुर थापा मगर, कुलभक्त शाक्य, युद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा, विद्यानन्दसिंह राजवंशी, सन्तबहादुर प्रजा, बागलाल बुढा मगर, ओमबहादुर घर्ती मगर, जेहेन्द्र सिंह ऐतवाल ९सौका०, प्रेम घले, दलबहादुर गुरुङ, विजयसिंह लामा तामाङ, नवीन रोक्का मगर, विषमलाल अधिकारी दनुवार र राजकुमार श्रेष्ठ ।

मधेसी महिला

रिगला यादव, यशोधाकुमारी यादव, वीणाकुमारी साह, शर्मिलाकुमारी यादव, मन्जु महतो, अंशु सिंह, बविता दास, आशा यादव ।

मधेसी पुरुष

चन्देश्वर मण्डल, अरविन्द साह, रामचरित्र साह, राजेश अग्रवाल, सुशीलकुमार श्रीवास्तव, चन्देश्वर यादव, अनिलकुमार सिंह, विचारीप्रसाद यादव र सचिदानन्द साह ।

दलित महिला

विष्णुमाया विक, नीता घतानी, राधिका भुजेल साकी, अञ्जु नेपाली, मायादेवी पोडेनी, उर्मिलादेवी पासमान, मैना अछामी र सावित्रा घिमिरे ।

दलित पुरुष

जितबहादुर दर्जी गौतम, यमबहादुर परियार, मनोहर विश्वकर्मा नेपाली, निर्मल देउला पोडे, सोम पोर्तेल, बोमबहादुर विश्वकर्मा र जगबहादुर नेपाली ।

थारु महिला

मञ्जुकुमारी चौधरी, शान्ता चौधरी, इच्छाकुमारी चौधरी र असरादेवी चौधरी ।

थारु पुरुष

कृपाराम राना, शिवप्रसाद चौधरी र जजीर प्रसाद चौधरी ।

मुस्लिम महिला

साजिदा खातुन सिद्धिकी, रुही नाज र रोजीरन खातुन ।

मुस्लिम पुरुष

मोहम्मद हारुन हलवाई र एकवाल मिया ।

एमाले उपाध्यक्षकै जिल्लामा ‘असन्तुष्टि’ : पूर्व सांसद घिमिरेले त्यागे पार्टी, रास्वपा प्रवेशको तयारी

बुटवल । नेकपा एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गृह जिल्ला रुपन्देही पछिल्लो समय तीव्र राजनीतिक तनावको केन्द्र बनेको छ । पार्टीभित्रको असन्तुष्टि, समानुपातिक उम्मेदवार सूचीप्रति आक्रोश र नेतृत्वबीचको शक्ति संघर्षकै बीच पूर्व सांसद वासुदेव घिमिरेले एमाले परित्याग गर्ने घोषणा गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ५ बाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख घिमिरेले एमाले छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत आफू अब एमालेमा नरहेको स्पष्ट पार्दै पार्टी सुधार हुने संकेत नदेखिएको बताएका छन् ।

घिमिरे पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग निकट रहेका थिए । बालेन रास्वपामा आवद्ध भएपछि आफूलाई पनि रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन प्रस्ताव आएको घिमिरेको भनाइ छ । ‘म एमालेमा त रहिनँ, तर प्रस्तावबारे अन्तिम निर्णय भने गरिसकेको छैन’, उनले बताएका छन् ।

यसैबीच, एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा रुपन्देही जिल्लाबाट एक जनाको पनि नाम नपरेपछि जिल्लाभर असन्तुष्टि चुलिएको छ । हिजो साँझ रुपन्देहीका एमाले कार्यकर्ताले बुटवलस्थित पुष्पलाल स्मृति भवन घेराउ गर्दै प्रदर्शनसमेत गरेका छन् । उनीहरूले केन्द्रीय नेतृत्वले उपाध्यक्ष पौडेलको गृह जिल्लालाई अपमान गरेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूको आरोप छ कि समानुपातिक उम्मेदवार सूची महासचिव शंकर पोखरेलको नेतृत्वमा तयार पारिएको हो, जसमा योजनाबद्ध रूपमा रुपन्देहीलाई उपेक्षा गरिएको छ । सूचीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याल अगाडि रहे पनि रुपन्देहीका कुनै पनि नेता नसमेटिनु अस्वीकार्य भएको उनीहरूको भनाइ छ ।

पार्टीभित्र महासचिव समूहले उपाध्यक्ष पौडेललाई राजनीतिक रूपमा एक्ल्याउने रणनीति अपनाएको आरोप समेत उठेको छ । असन्तुष्ट नेताहरूका अनुसार गत महाधिवेशनमा पौडेल निकट मानिएका लीला गिरी र वासुदेव घिमिरे केन्द्रीय सदस्यमा पराजित गराइनु पनि यही रणनीतिको हिस्सा थियो । अहिले महासचिव पोखरेल निकट भूमिश्वर ढकाललाई रुपन्देही जिल्ला इन्चार्ज बनाउने तयारी भइरहेको चर्चा पनि पार्टीभित्र छ । यही आन्तरिक शक्ति संघर्ष र असन्तुष्टिकै पृष्ठभूमिमा पूर्व सांसद घिमिरेको पार्टी परित्यागलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले नेतृत्वले जनअपेक्षालाई सम्बोधन गर्न नसकेको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका छन् । रास्वपामा प्रवेश गरेमा उनी आगामी निर्वाचनमा उपाध्यक्ष पौडेलकै निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्न सक्ने सम्भावनाले रुपन्देहीको राजनीति थप रोचक बन्ने संकेत देखिएको छ । समग्रमा, एमालेको रुपन्देही संगठन आन्तरिक विवाद, असन्तुष्टि र नेतृत्व संघर्षले कमजोर बन्दै गएको देखिन्छ । पूर्व सांसदको बहिर्गमन र कार्यकर्ताको सडक प्रदर्शनले पार्टी नेतृत्वमाथि दबाब बढ्दै गएको स्पष्ट संकेत दिएको छ ।

बादललाई गोकुलको कटाक्ष : रूख–सूर्य मिलेपछि चुनाव लडे भो त !

काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई कटाक्ष गर्दै समानुपातिकबाट नाम फिर्ता लिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर चुनाव लड्ने भए समानुपातिकमा नबस्न सुझाव दिएका हुन् ।

‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो । अझ तिनै रूख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रूख–सूर्य मिलेपछि चुनाव लडे भयो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले । समावेशिताकै बेइज्जत नगर के– त्यो पनि पुरूषले !,’ उनले भनेका छन् । उपाध्यक्ष बादलले मंगलबार कांग्रेस र एमाले मिलेर चुनावमा जानुपर्ने धारणा राखेका थिए । अध्यक्ष केपी ओली सामु नै उनले यस्तो विचार राखेका थिए । यसपछि एमालेभित्र यसले बहस सिर्जना गरेको छ ।

 

 

बादलको बाचा : मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौं

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाले मदन भण्डारी र जीवराज आश्रितका हत्यारालाई कानुनको कठघरामा उभ्याएर छोड्ने प्रतिबद्धता जनाएका छन् । मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको विचार विमर्शलाई सम्बोधन गर्दै उनले यस्तो बाचा गरेका हुन् । उनले दासढुंगा घटना सुनियोजित षड्यन्त्र भएको जिकिर गरे । उनले उक्त घटना नेपालविरोधी जनविरोधीहरूको षड्यन्त्र रहेको बताए । अहिलेसम्म मदन–आश्रितका हत्यारालाई कानुनको कठघरामा ल्याउन नसकेको भए पनि एक दिन कानुनको कठघरामा उभ्याउने दावी गरे ।

उनले भने, ‘दासढुंगा घटना जुन भयो । दासढुंगा घटना जहाँ मदनआश्रितको निधन भएको थियो । त्यो एउटा सडक दुर्घटना थियो वा सुनियोजित दुर्घटना थियो । एउटा हत्या षड्यन्त्र थियो । त्यो बेला यो प्रश्न उठेको थियो । छानबिनले के साबित गर्‍यो, निष्कर्ष के निस्कियो भने नेपालविरोधी जनविरोधीहरूको भयङ्कर षड्यन्त्र थियो । षड्यन्त्रअन्तर्गत नै मदन आश्रितको हत्या गरिएको थियो । हामीले ती हत्याराहरू कानुनको कठघरामा ल्याउन सकिरहेका छैनौँ । तर एक दिन हामी मदन आश्रितको हत्यारालाई कानुनको कठघरामा उभ्याउनेछौँ ।’

उपाध्यक्ष थापाले भाद्र २३ र २४ गते नेपालमा भएको घटना साधारण नभएको बताए । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइनु, आगजनी गरिनु, राजनीतिक दलका नेताहरूमाथि आक्रमण र आगजनी हुनुले सामान्य नभएको बताए । उक्त घटना जनविद्रोह, जनक्रान्ति वा अग्रगमन नभएको बताउँदै उक्त घटना प्रतिक्रान्ति र प्रतिगमन भएको बताए ।

उनले भने, ‘त्यसको झण्डै तीन दशक भन्दा बढी समयपछि २०८२ मा आउँदा यो प्रश्न उठेको छ । भाद्र २३ र २४ गते जुन घटना भयो नेपालमा । एउटा असाधारण घटना । २४ घण्टाभित्र राज्यका तीन वटै अङ्गहरूलाई ध्वस्त बनाइयो । आगजनी गरियो । राजनीतिक दलका नेताहरूमाथि आक्रमण गरियो, आगजनी गरियो । यो घटना सामान्य घटना होइन । यो असाधारण घटना हो ।’ उनले भने, ‘यहाँको जननिर्वाचित सरकार र सदन दुवै विघटन गरियो । न्यायपालिकालाई आगो लगाइयो । त्यसकारण आज फेरि एउटा प्रश्न उठेको छ । त्यो जनविद्रोह थियो ? जेनजीको आवरणमा गरिएको घटना हो । वा यो प्रतिगमन थियो, प्रतिक्रान्ति थियो ? यो प्रश्न उठेको छ । भदौ २३ र २४ को घटना जनविद्रोह थिएन । जनक्रान्ति थिएन । अग्रगमन थिएन । प्रतिगमन थियो । प्रतिक्रान्ति थियो ।’ उपाध्यक्ष थापाले अहिले नेपाल भूराजनीतिको सिकार भएको बताए । संसद विघटन र जननिर्वाचित सरकार विघटन गरेर लोकतन्त्र अपहरण गरिएको बताएका छन् ।

रास्वपाप्रति ओलीको कटाक्ष : मान्छेहरुले प्रधानमन्त्री बनाइसके, हामी चुनाव पर्खिरहेका छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार अघि सारिएको भन्दै कटाक्ष गरेका छन् । आज (मंगलबार) मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा ११ औं महाधिवेशनका सन्देश र राजनीतिक निकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका हुन् ।

‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ,’ ओलीले भने, ‘प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला या अर्को मंसिरमा होला ।’ फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि रास्वपाले काठमाडौँका मेयर बालेनलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जंगलमा बाघको शिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले मोर्चा बनाएको समेत टिप्पणी गरेका छन् । ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको शिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले भने । ओलीले यसो भन्दा सभाहलमा ठूलो हाँसो गुञ्जिएको थियो । उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको आरोप समेत लगाएका छन् । ‘एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ ।’ एमालेले महाधिवेशनबाट धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताएका छन् ।

 

 

एमाले नेता भन्छन्–रवि र बालेनको एकताले खासै अर्थ राख्दैन

काठमाडौँ । नेकपा एमालेका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) बीच भएको ‘वृहत् एकता’ लाई खासै राजनीतिक महत्व नहुने दाबी गरेका छन् । उनीहरूका अनुसार उक्त सहमतिले न त नेपाली राजनीतिको मूलधारमा ठुलो असर पार्छ, न त जनतामा बलियो प्रभाव छोड्न सक्छ । एमाले नेता मानवीर राईले रवि लामिछाने र बालेन साहबीचको राजनीतिक मिलन वा विमिलन दुवैलाई अर्थहीन ठहर गरे । उनले यी नेताहरूको राजनीति जनआधारित नभएको आरोप लगाउँदै बाह्य प्रभाव र इशारामा चल्ने राजनीति वर्तमान नेपाली परिवेशमा दीर्घकालीन प्रभाव पार्न नसक्ने दाबी गरे ।

राईका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन साह निर्वाचित हुँदा काठमाडौँका जनतामा ठुलो आशा र अपेक्षा थियो । तर समयक्रममा उनका गतिविधिले ती अपेक्षा पूरा गर्न नसकेको उनले आरोप लगाए । काठमाडौँ महानगरभित्र भइरहेका अधिकांश सडक तथा पूर्वाधार निर्माण संघीय सरकारअन्तर्गत सडक विभाग र सडक डिभिजनमार्फत भइरहेको उल्लेख गर्दै उनले महानगरको प्रत्यक्ष योगदान देखिन नसकेको बताए ।

उनले विकास निर्माणमा ठोस उपलब्धि नदेखिएको आरोप लगाउँदै बालेन साहले मकै पोलेर जीविकोपार्जन गर्नेहरूलाई हटाउने जस्ता कार्यबाहेक उल्लेख्य काम नगरेको दाबी गरे । विभिन्न राजनीतिक कार्यक्रमहरूमा जरिवाना घोषणा गरेर ‘स्टन्टबाजी’ मात्र गरिएको उनको टिप्पणी छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र हिंसात्मक घटनामा काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको आरोप पनि राईले लगाए । उनका अनुसार यसले प्रमुख साहको विकास, समृद्धि र सार्वजनिक सुरक्षाप्रतिको संवेदनशीलता नदेखाएको संकेत गर्छ । उनले ललितपुर महानगरले दमकल पठाएको उदाहरण दिँदै काठमाडौँ महानगरको भूमिकामाथि प्रश्न उठाए ।

राईले चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति हाँस्यास्पद भएको टिप्पणी गरे । २०६४ सालमा माओवादीले पुष्पकमल दाहाललाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गरे पनि अन्ततः राष्ट्रपति बन्न नसकेको उदाहरण दिँदै उनले बालेन साह सांसद बन्ने विषयमै शंका व्यक्त गरे । साथै, रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा सबैभन्दा धेरै धरौटी बुझाएर बाहिरिएको पात्र भएको उल्लेख गर्दै उनीहरू जनतामाझ अपेक्षित सफलता हासिल गर्न नसक्ने दाबी गरे ।

यद्यपि एमालेका अर्का नेता लालबाबु पण्डितले भने राजनीतिक दलहरूबीच एकता हुनु सकारात्मक भएको धारणा राखे । उनले नेपालमा राजनीतिक दलहरूको अत्यधिक संख्या अस्थिरताको कारण बनेको बताउँदै ध्रुवीकरण आवश्यक रहेको जिकिर गरे । हाल देशमा १५२ भन्दा बढी दल रहेको उल्लेख गर्दै पाँच वटा जति प्रमुख दलबीच प्रतिस्पर्धा भए मात्र बहुमतको सरकार, राजनीतिक स्थायित्व, विकास र समृद्धि सम्भव हुने उनको भनाइ छ ।

पण्डितले एमाले कुनै पनि गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पार्दै कोही पार्टी मिल्दैमा अर्को समाप्त हुन्छ भन्ने बुझाइ गलत भएको बताए । उनका अनुसार लोकतन्त्रमा अनुशासन, नैतिकता र समर्पण आवश्यक हुन्छ, नभए राजनीति अवसरवादमा सीमित हुन्छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र साहबीच आइतबार बिहान ‘वृहत् एकता’ सम्बन्धी ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमतिअनुसार निर्वाचनपछि साह संसदीय दलका नेता बन्नेछन् भने रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहने छन् । पार्टी संरचना भने पूर्ण रूपमा रास्वपाकै रहने उल्लेख गरिएको छ ।

 

जेनजी आन्दोलन रास्वपा र मेयर साहले सत्ता स्वार्थका लागि ‘हाइज्याक’ गर्न खोजे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन् । उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई समान्य रुपमा लिनुपर्ने बताए। लोकतान्त्रिक प्रक्रियामा राजनीतिक दलहरु मिल्ने र विभाजन हुने कुरालाई अनौठो मान्न नहुने उनको भनाई छ । उनले आगामी निर्वाचनलाई लक्षित गरेर रास्वपा र प्रमुख साहले पनि एकताको घोषणा गरेको उल्लेख गरे ।

उनले नेपालको लोकतान्त्रिक प्रक्रियालाई पारदर्शी र स्वच्छ बनाउन, खण्डित भएको संवैधानिक प्रक्रियालाई सही बाटोमा ल्याउन र स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई अगाडि बढाउन राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्नेमा जोड दिए । त्यसको लागि नेकपा एमाले तयार रहेको उनको भनाई छ । उनले पवित्र उद्देश्यले भदौमा भएको जेन–जी आन्दोलनलाई रास्वपा र बालेन्द्र साहले सत्तास्वार्थको लागि हाईज्याक गर्न खोजेको भन्दै जेन–जी अगुवाहरुलाई सजक रहन पनि आग्रह गरे ।

उनले भने, ‘लोकतान्त्रिक परिपाटीमा कुनै पनि व्यक्ति वा समूह एकआपसमा मिल्नु र विषय नमिल्दा अलग अलग ढंगले विभाजित हुने कुरालाई अनौठो मान्न सकिदैन । त्यही क्रममा आगामी निर्वाचनलाई ध्यान दिँदै केही राजनीतिक व्यक्ति र शक्तिहरु एकआपसमा मिलेको घोषणा गर्नु भएको छ । त्यसलाई मैले अन्यथा रुपमा लिन चाहन्न । मुख्य कुरा के हो भने नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी पारदर्शी र स्वच्छ बनाउने, हाम्रो खण्डित भएको संवैधानिक प्रक्रियालाई कसरी पुनरलिकमा ल्याउने र नेपालमा स्थायी शान्तिमार्फत दिगो विकासको योजनालाई कसरी अगाडि बढाउने ? यो आजको दिनमा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

उनले भने, ‘यसका निम्ति राजनीतिक प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने हो । नेकपा एमाले कुनैपनि चुनौतीसँग सामाना गर्न तयार छ । जेन–जी आन्दोलन जुन भदौ २३ गते भएको थियो । त्यो हाम्रो नवयुवा पुस्ताहरुको एउटा आन्दोलन थियो, त्यो जागरण थियो । त्यो जागरण सुशासनको निम्ति थियो, भ्रष्टाचार अन्त्य गर्नको लागि थियो, सामाजिक सञ्जाललाई खोल्नपर्ने भन्ने कुराहरुसँग थियो । यी पवित्र मागहरु हुन् ।’

भट्टराईले भने, ‘पवित्र मागहरुसहित पवित्र आत्माहरु त्यो आन्दोनलमा थिए । ती पवित्र माग र पवित्र आत्मालाई कुनैपनि गलत राजनीतिक उदेश्य र व्यक्तिहरुको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग नहोस् भन्ने कुरामा हामी सबै सचेत हुनुपर्छ । जेन–जी आन्दोलनका अगुवाहरु पनि यसमा सचेत होउन् । आफ्नो आन्दोलन हाइज्याक गरेर राजनीतिक स्वार्थसत्ताको रोटी सेक्न र व्यक्तिगत स्वार्थको रोटी सेक्न आफ्ना आन्दोलन र एजेण्डा हाईज्याक भए की भन्नेकुरामा जेन–जी अगुवाहरुले पनि ध्यान दिउन् ।’ उपमहासचिव भट्टराईले एमाले आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी तयारीमा लागेको पनि बताए । उनले हाल पार्टीमाथि चौतर्फी आक्रमण भएको उल्लेख गर्दै आन्तरिक पार्टी एकतलाई बलियो बनाउने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरे । उनले चुनावको तयारीको लागि पार्टीभित्रका आन्तरिक मतभेदहरुलाई थाँती राखेर सबै एकजुट हुन आवश्यक रहेको बताए ।

महेश बस्नेतको टिप्पणी : अब बालेनप्रतिको आकर्षण घट्छ

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय देखिएको राजनीतिक उतारचढावप्रति कडा टिप्पणी गर्दै संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित सहकार्यलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

बस्नेतका अनुसार नेपाली राजनीतिमा नयाँ अनुहारलाई बारम्बार ‘आशा’ का रूपमा प्रस्तुत गर्ने तर केही समयमै ती पात्रहरू ‘बासी’ बन्ने प्रवृत्ति दोहोरिँदै आएको छ । उनले गगन थापा, रवि लामिछाने हुँदै बालेन शाहसम्मको उदाहरण दिँदै लोकप्रियताको लहर दीर्घकालीन परिवर्तनको आधार बन्न नसकेको दाबी गरेका छन् । उनले लेखेका छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ । गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए–तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ ।’

बस्नेतको भनाइमा बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र छविसँग जोडिएको थियो । तर विवादित छवि भएका रवि लामिछाने नेतृत्वको दलसँग नजिकिँदै गएपछि त्यो आकर्षण तीव्र गतिमा घट्ने संकेत देखिन थालेको उनले बताएका छन् । ‘बालेनको लोकप्रियता स्वतन्त्र छविकै कारण थियो । रवि जस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिना साथ त्यो आकर्षण घट्नु स्वाभाविक हो’, उनले उल्लेख गरेका छन् ।

रास्वपाको राजनीतिप्रति पनि बस्नेतले तीखो टिप्पणी गरेका छन् । उनका अनुसार पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने बाहेक स्पष्ट नीति, दिशा र दीर्घकालीन भिजन नहुँदा जनतासँगको दूरी झन् बढ्दै जाने निश्चित छ । ‘काम गर्ने कालू, मकै खाने भालु’ को उखान प्रयोग गर्दै उनले व्यक्तिवादी स्वार्थमा आधारित राजनीति टिकाउ नहुने जिकिर गरेका छन् । बस्नेतले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध रूपमा मुठभेडमा परिणत गराइएको र त्यसक्रममा केही युवाले ज्यान गुमाउनुपरेको उल्लेख गरेका छन् । साथै, भदौ २४ गते राज्यका आधारस्तम्भ—सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत—माथि आक्रमण गरिएको भन्दै त्यसलाई लोकतन्त्रविरुद्धको गम्भीर चुनौतीका रूपमा चित्रण गरेका छन् ।

उनको दाबी छ कि यी घटनाहरू नेपाललाई अस्थिर बनाउने भूराजनीतिक षड्यन्त्रको प्रारम्भिक चरण हुन सक्छन् । ‘यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर चिन्ताको विषय हो’, उनले लेखेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै बस्नेतले मुख्य प्रश्न उठाएका छन्–राज्यका संरचना जलाउने अराजक राजनीति रोज्ने कि ती संरचना निर्माण गर्ने र भत्काउनेमाथि कारबाही गर्ने जिम्मेवार राजनीतिलाई साथ दिने ? उनका अनुसार अराजक धारको नेतृत्व बालेन–रविहरूले गरिरहेको देखिन्छ भने संरचना जोगाउने जिम्मेवारी पुराना दलकै काँधमा आएको छ । यद्यपि, उनले समस्या पुराना दलको अस्तित्व नभई तिनभित्रका विकृतिहरू भएको स्पष्ट पारेका छन् । ‘नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीतिक सुधार गर्नु नै आजको आवश्यकता हो’, बस्नेतको निष्कर्ष छ । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै जिम्मेवार शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नत्र ‘नयाँ बोत्तलमा पुरानै रक्सी’ पिइरहँदा नेपाली जनता फेरि–फेरि उही भ्रमको सिकार भइरहने चेतावनी उनले दिएका छन् ।

 

बालेन–रवि सहमतिबारे पोखरेलको टिप्पणी–षड्यन्त्रको दोस्रो चरणको तयारी शुरु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सात बुँदे सहमति भएको सन्दर्भमा भदौ २३ र २४ गते भएका घटनाका योजनाकार र मतियार क्रमशः सार्वजनिक हुन लागेको दाबी गरेका छन् । उनले ती घटनालाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेन जस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरणको रूपमा व्याख्या गर्दै अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी सुरु भएको आशंका व्यक्त गरेका छन् ।

सात बुँदे सहमति भएकै दिन बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले भदौ २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरिएको र त्यस क्रममा केही युवाको ज्यान गएको आरोप लगाएका छन् । उनका अनुसार भदौ २४ गते त्यसैको आडमा मुलुकको अस्मिता र सामथ्र्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गर्ने प्रयास भयो । यी सबै गतिविधि कुनै आकस्मिक घटना नभई संगठित विध्वंसको हिस्सा भएको उनको निष्कर्ष छ ।

पोखरेलले उक्त घटनाहरूको पृष्ठभूमिमा रहेको शक्तिको पहिचान अब बाहिरिँदै गएको उल्लेख गर्दै विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै जाने दाबी गरेका छन् । उनले नेपाललाई भूराजनीतिक द्वन्द्वमा तान्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर सतर्कता अपनाउनुपर्ने बताए । नयाँ राजनीतिक शक्तिहरू एकीकृत हुने प्रक्रियामा रहेको बेला पोखरेलले संविधान र लोकतन्त्रका पक्षधर पुराना शक्तिहरूबीच समेत एकताको आवश्यकता औंल्याएका छन् । उनले देशभक्त शक्तिहरू सचेत र एकजुट हुनुपर्नेमा जोड दिँदै नेपाल राष्ट्रलाई बाह्य भूराजनीतिक खेलको गोटी बन्नबाट जोगाउन सबै पक्षले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका छन् ।

 

‘साउथ फिल्मको हिरो जस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीं पुर्‍याउँदैन’

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दक्षिण भारतीय चलचित्रका नायक जस्तै चमत्कारी पात्रको अपेक्षामा गरिने राजनीति देश निर्माणका लागि उपयोगी नहुने टिप्पणी गरेका छन् । व्यक्तिको भूमिका महत्वपूर्ण भए पनि अन्ततः मुलुक बन्ने आधार विचार, संस्था, प्रणाली र सामूहिक प्रयास हुने उनको तर्क छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चलिरहेको एकता संवादलाई लक्षित गर्दै पछिल्लो समय अनावश्यक ‘हाइप’ सिर्जना गर्न खोजिएको टिप्पणी गरेका छन् । विचार मिलेर सहकार्य हुनु सकारात्मक भए पनि बालेन–रविबीचको नजिकिँदो सम्बन्ध विचारमा आधारित हो कि स्वार्थमा, त्यसको मूल्यांकन समयले गर्ने उनले बताएका छन् ।

ज्ञवालीका अनुसार, देश नबन्नुको कारण केही व्यक्तिहरू नमिल्नु हो भन्ने जस्तो भाष्य सिर्जना गर्नु यथार्थपरक होइन । ‘दक्षिण भारतीय फिल्महरूमा जस्तो नायक रंगमञ्चमा उत्रँदा सबै समस्या क्षणभरमै समाधान हुन्छन् भन्ने कल्पना राजनीतिमा लागू हुँदैन’, उनले लेखेका छन् । यस्ता ‘तिलस्मी’ अपेक्षाले देशलाई सही दिशामा अघि बढाउन नसक्ने उनको निष्कर्ष छ ।

उनले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, बदलिँदो भूराजनीतिक सन्दर्भमा राष्ट्रिय हितको रक्षा, जलवायु परिवर्तन जस्ता चुनौती, संविधानका विषयमा के संरक्षण र के परिमार्जन गर्ने भन्ने जस्ता गम्भीर प्रश्नमा बालेन–रविबाट स्पष्ट वैकल्पिक दृष्टिकोण नआएको आरोप पनि लगाएका छन् । ज्ञवालीको भनाइमा उनीहरूमा नकारात्मकता, निषेध र घृणाको राजनीति बढी देखिन्छ ।

मिडियामा देखिएको उत्साहप्रति पनि उनले प्रश्न उठाएका छन् । दुई दशकअघि ‘जनसरकार’ घोषणाका बेला देखिएको अत्यधिक प्रचार र त्यसपछि आएको निराशा सम्झँदै ज्ञवालीले ‘मिडिया हाइप’ बाट निर्माण गरिएका बिम्ब दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन् । ‘घोडा कति पानीदार हो भन्ने कुरा लामो दौडपछि मात्र थाहा हुन्छ’, उनले उल्लेख गरेका छन् । अन्त्यमा, ज्ञवालीले समाजलाई भावनामा होइन, तर्क र विवेकमा आधारित बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै अत्यधिक अपेक्षापछि आउने निराशा पीडादायी हुने चेतावनी दिएका छन् ।

ओलीलाई सरकारका प्रवक्ताले भने–चुनावको वातावरण बनिसक्यो, सुरक्षा व्यवस्था मजबुत बन्छ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । ओलीसँग भेटेर निस्किएका सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेकाले एमाले पनि चुनावका लागि तयारी गरिरहेको बुझिएको बताएका छन् ।

‘मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो,’ उनले भने, ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।’ उनले ओलीले निर्वाचनको वातावरण बनिसकेकोमा शंका गरेको पनि बताए । ‘सुरक्षा कुरा राम्रो बनाउनु पर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि,’ खरेलले भने । चुनाव बहिष्कार गर्ने कुरा छैन । दल दर्ता भइसकेको छ । समन्वय र छलफल गरौँ भन्ने छ ।’

उनले एमाले अध्यक्ष केपी ओलीले सुरक्षाको बारेमा प्रश्न उठाएको बताएका छन् उनले सरकारको तर्फबाट चुनावको वातावरण बनेको जानकारी गराउँदै भोट माग्ने र भोट हाल्ने अवस्था सुरक्षित रूपमा बन्ने कुरामा आश्वस्त पारेको बताए । ओलीलाई सरकारले लगाएको स्थान हदबारेको प्रश्नमा उनले भने, ‘सरकारको लक्ष्य नै निर्वाचन हो, यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू छन् भने, त्यसलाई सहज बनाउनुपर्नेछ भने निर्वाचनको गन्तव्यमा पुग्नको लागि सरकारले त्यो खालको वातावरण बनाउँछ, बनाएरै अघि बढ्नुपर्छ ।’

ओलीको कटाक्ष : देशका चर्चित भनिएका व्यक्ति नशामा भेटिन्छन्

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिने टिप्पणी गरेका छन् । महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका युवाहरूमा कुनै दुव्र्यसनी नरहेको दाबी गरे । उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरूमा त्यस प्रकारको कुनै दुव्र्यसनी देखिएन, मेरो भनाइ मन नपरेर, इख मानेर दुव्र्यसनीमा भएकाहरूले पनि छाड्नु भयो भने म धेरै खुशी हुन्थे ।’

उनले महाधिवेशनमा खटिएका कुनै स्वयंसेवकको छेउमा पुग्दा खैनी समेत गनाएको नभेटिएको जिकिर गरे । ‘यस पटक महाधिवेशनमा कसैको छेउमा पनि पुग्दा पनि खैनी गन्हाएको भेटिएन । खैनी भनेको कस्तो चिज छ भने ओठमा एउटा कुनामा च्यापेको छ भने पनि पर–पर गन्हाउँछ थाह भइहाल्छ । खटिएका कोही पनि कुनै पनि लागुपदार्थ, केही तरल पदार्थ प्रयोग गरेर बसेको पाइनँ,’ उनले भने, ‘देशका चर्चित भनिएका मान्छेहरू नशामा भेटिन्छन् । हाम्रा युवाहरू कुनै दुर्व्यसनमा हुनु हुन्न । मेरो भनाइ मन नपरेर दुर्व्यसन छोड्नु भए म खुशी हुन्छु ।’

 

 

 

 

सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैन : रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै नेकपा एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् । एमाले मुख्यालय च्यासलमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको पनि बताए । तर सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको दाबी गरे ।

एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने उनले बताए । उनकाअनुसार सरकारले निर्वाचन चाहेको भए एमाले अध्यक्ष केपी ओलीलाई स्थानहद तोक्ने थिएन । सरकारले स्थान हद हटाएर निर्वाचनको वातावरण बनाउन पनि उनले आग्रह गरे । उनले चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएको बताए । वर्तमान सरकारले निर्वाचन गर्नै नचाहेको र निवार्चन गर्न पनि नसक्ने उनको दाबी छ । हालसम्म बनेका अन्तरिम सरकार सफल भए पनि वर्तमान सरकार असफलताको बाटोमा हिँडेको उनले बताए । अन्तरिम सरकारका मन्त्रीहरु नै दल खोलेर राजनीतिक गतिविधि गरिरहको उनको भनाई छ । उनले मन्त्रिमण्डलमा रहेका सदस्यहरुलाई राजनीतिक गतिविधिमा रोक लगाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, ‘हामी निर्वाचनको विरुद्धमा कहिले पनि थिएनौँ, न थियौँ, न छौँ । तर कुरा के भने नेकपा एमाले पार्टी निर्वाचनमा नआओस् भनेर यो चाहना त सरकारकै हो । यदि यो चाहना नभएको भए, साँच्चीकै नेकपा एमाले चुनावमा आओस् भन्ने सोच सरकारको भएको भए त नेकपा एमालेको अध्यक्षमाथि जुन प्रकारले एउटा स्थानहद तोकेको छ, त्यो स्थानहद त तोक्ने थिएन । पार्टी अध्यक्षलाई स्थानहद तोकेर नेकपा एमाले चुनावमा जानसक्छ र ?’

उनले भने, ‘पहिले नेपाल सरकारले स्थानहदको बारेमा आफ्नो कमी कमजोरी स्वीकार गर्नुप¥यो । स्थानहद हटाउनु प¥यो । नेपालमा अहिलेसम्म जतिपनि अन्तरिम सरकार बन्यो, सबै सरकार सफल भएर गएको छ तर यो सरकारमाथि प्रश्न किन उठ्दैछ ? अहिलेको सरकारको गतिविधि चुनावमैत्री छैन । सरकारमा बस्ने अनि म निर्वाचनमा भाग लिन्छु, पार्टी बनाउँछ, सरकारमा बस्ने मन्त्रिमण्डलका साथीहरुले पहिला जुन राजनीतिक क्रियाकलापहरु गरिरहनु भएको छ, सरकारले त त्यो बन्द गर्नु¥यो नी पहिला । मन्त्रीमण्डलमा बस्ने अनि आफ्नो पार्टी बनाउने सरकार विभिन्न संयन्त्रहरुलाई मिसयुज गर्ने ? त्यो हुनसक्छ ? त्यो कुरामा पनि सरकार सचेत होस् ।’ छानविन आयोगको गतिविधिले निर्वाचन गर्ने वातावरण नै बिगारेको उनको भनाई छ ।

 

 

 

 

 

च्यासल छलफलपछि सरकारका प्रवक्ताले भने–एमाले निर्वाचनमा जान तयार भइसक्यो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताएका छन् । नेकपा एमालेको मुख्यालय च्यासलमा अनुगमनको क्रममा पुगेका उनले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताएका हुन् । सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उनले एमाले तथा राजनीतिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उनको भनाई छ । उनले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताए ।

उनले भने, ‘आज अलिकति खुलेर कुराहरु हामी दुवै पक्षबीच भएको छ । त्यसमा के भएको छ भन्दाखेरी नेकपा एमाले तर्फबाट उहाँहरुले स्पष्ट रुपमा भन्नु भएको छ, वातावरण बनाउनुस्, हामी निर्वाचनमा भाग लिन्छौँ भन्ने कुरा नेकपा एमालेको महासचिवबाट स्पष्ट रुपमा आएको छ । सरकारको तर्फबाट हामीले उहाँहरुलाई निर्वाचनको लागि स्वतन्त्र भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउँछ, चुनाव प्रचारप्रचारको लागि चुनावी अभियानका अगाडी बढ्नको लागि कुनैपनि नेता कार्यकर्ता अथवा जनतलाई कहीँ कतैपनि अवरोध नभईकन खुला रुपमा भोट माग्ने र भोट दिने वातावरण बनाउने कुरामा सरकार प्रतिबद्ध छ भन्ने कुरा हामीले दोहोर्‍याएका छौँ ।’

उनले भने, ‘यो सबै हिसाबले आज नेकपा एमालेसँगको भेटघाट चुनावउन्मुख भएको र चुनावको लागि नेकपा एमाले पनि तयार भएको र सरकारले पनि वातावरण बनाउने कुराहरुमा त्यही रुपमा तयारी अगाडि बढाएको हिसाबले अब मुलुक चुनावमा होमियो र चुनावमा अगाडि बढ्यो ।’

उनले एमाले अध्यक्ष केपी ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्न सक्ने संकेत गरे । उनले एमालले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताए । भदौ २३ र २४ गतेको घटना छानबिन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उनले जानकारी दिए ।

उनले भने, ‘जब तपाईं हामी देश नै सबै चुनावको लागि तयार भयो भने सरकारले चुनावमा भाग लिने राजनीतिक दललाई र तीनका नेताहरुलाई त्यो वातावरण त सरकारले दिनुपर्‍यो । तर सबभन्दा पहिला चुनावमा भाग लिने कुराहरुको स्पष्ट रुपमा राजनितिक दलबाट खास गरेर नेकपा एमालेबाट आज आएको अवस्था छ । त्यो अवस्थालाई सरकारले सकरात्मक रुपमा लिएको छ ।’

प्रवक्ता खरेलले भने, ‘जहाँसम्म स्थानहदका कुराहरु छन् । नेतृत्वको सन्दर्भमा अथवा विभिन्न नेताहरुको सन्दर्भमा स्थानहदको सन्दर्भमा त एकातिर आयोगले काम गरिरहेको छ, अर्कोतिर सरकारले पनि त्यो काम गरिरहेको भएर यहाँहरुलाई हामी के भन्न चाहन्छौँ भने चुनाव हाम्रो महायज्ञ हो, महोत्सव हो । सुशासन अर्को महत्वपूर्ण प्राथमिकता हो । भ्रष्टाचार नियन्त्रण गर्ने कुरा यो सरकारले म्याण्डेड लिएको छ भनेदेखि यी बाँकी कुराहरुको सन्दर्भमा यी महत्वपूर्ण कुराहरुलाई आत्मसाथ गर्दै कहाँ कहाँ सरकार लचक हुनसक्छ, यी ठाउँहरुमा सरकारको आफ्नो अधिकार क्षेत्र र जिम्मेवारी, सरकारको जहाँ छ, जे गर्नसक्छ, त्यो भन्ने अवस्थामा सरकारको तर्फवाट सबै प्रकारको वातावरण बनाउन सरकारले काम गर्छ ।’ कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडि बढाउने बताए । उनले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि बताए ।

 

च्यासल पुगेका सरकारका प्रवक्तासँग स्थानहद र निर्वाचनको गाँठोबारे संवाद

काठमाडौं । नेकपा एमालेले शीर्ष नेतामाथि लगाइएको स्थानहद र निर्वाचनको वातावरणबारे सरकारसँग स्पष्ट जवाफ मागेको छ । मंगलबार दिउँसो च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पुगेको सरकारी राजनीतिक संवाद समितिसँग महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले छलफल गर्दै जेनजी आन्दोलन जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थानहदप्रति जिज्ञासा राखेका थिए ।

छलफलपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले सरकार आफ्नो अधिकार क्षेत्र, विधि, प्रक्रिया र कानुनको सीमाभित्र रहेर निर्वाचनको सम्पूर्ण वातावरण बनाउन प्रतिबद्ध रहेको बताए । आयोगजस्ता अन्य स्टेकहोल्डरले गरिरहेको काममा सरकारको तर्फबाट कुनै प्रतिकूल प्रभाव नपर्ने गरी अघि बढ्ने स्पष्ट पार्दै उनले उठाइएका विषयहरू सुनुवाइ हुनुपर्ने र निर्वाचनमा सहभागी हुने अधिकारलाई पनि नजरअन्दाज गर्न नहुने बताए ।

खरेलका अनुसार एमालेले निर्वाचनको वातावरण बनेमा पार्टी चुनावमा सहभागी हुने स्पष्ट सन्देश दिएको छ । निर्वाचन आयोग सक्रिय रहेको, सुरक्षा निकायहरू उच्च मनोबलका साथ परिचालित रहेको र नेता–कार्यकर्ताले बिना अवरोध प्रचार–प्रसार गर्न पाउने वातावरण सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता एमाले नेताहरूसँग राखिएको उनले जानकारी दिए ।

सरकार नागरिक सरकार भएको दाबी गर्दै खरेलले कसैलाई अन्याय नगर्ने र हुन नदिने प्रतिवद्धता दोहो¥याए। आयोगले लगाएको स्थानहदका विषयमा आयोगको काममा असर नपर्ने गरी, तर निर्वाचन सहभागितासँग जोडिएका जायज मागलाई पनि बेवास्ता नगरी कानुनसम्मत ढंगले समाधान खोजिने उनको भनाइ छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा गठित तीन सदस्यीय राजनीतिक वार्ता समितिले दलहरूसँग छलफल थालेको छ । यसअघि समितिले नेपाली कांग्रेससँग पनि वार्ता गरिसकेको छ ।

 

 

सरकारीले टोली तीन महिनापछि पुग्यो एमाले पार्टी कार्यालय अनुगमनमा

काठमाडौं । सरकारी टोलीले तीन महिनाअघि जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । उच्चस्तरीय राजनीतिक वार्ता समितिले आज एमालेको पार्टी कार्यालयको अनुगमन र निरीक्षण गरेको हो । समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा निरीक्षण गरेका हुन् ।

टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ । यसअघि आजै टोलीले कांग्रेस कार्यालय पनि अनुगमन गरेको थियो । आजै नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरुका निवास, सिंहदबार, संसद भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी भएको थियो ।

शंकर पोखरेललाई योगेश भट्टराईको फोन : तत्काल सचिवालय बैठक बोलाउनुस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आसन्न निर्वाचनको तयारीबारे पार्टीभित्र औपचारिक छलफल नदेखिएको भन्दै महासचिव शंकर पोखरेललाई सचिवालय बैठक तत्काल बोलाउन आग्रह गरेका छन् । भट्टराईले मंगलबार पोखरेललाई फोन गरी प्रतिनिधि सभा निर्वाचन तथा राष्ट्रिय सभा चुनावसँग जोडिएका महत्वपूर्ण कार्यतालिका नजिकिँदै जाँदा पनि पार्टीस्तरबाट स्पष्ट तयारी र निर्देशन नआएकोप्रति ध्यानाकर्षण गराएका हुन् । फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुने, पुस १३–१४ मा समानुपातिक सूची बुझाउनु पर्ने, माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता र माघ ११ मा राष्ट्रिय सभा चुनावको कार्यसूची रहेकाले अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

उनका अनुसार विगतमा यस्ता चुनावी प्रक्रियाअघि सचिवालय वा सम्बन्धित कमिटी बैठक बसेर उम्मेदवार छनोटका मापदण्ड तय गर्ने र तहगत कमिटीबाट नाम माग्ने अभ्यास रहँदै आएको थियो । तर यस पटक अहिलेसम्म त्यस्तो औपचारिक तयारी देखिन नसकेको भन्दै बैठक बसेर छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । विशेष गरी समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियाका लागि स्पष्ट मापदण्ड बनाएर प्रदेश, जिल्ला तथा तल्ला कमिटीलाई निर्देशन दिनुपर्नेमा भट्टराईले जोड दिएका छन् ।

‘समय निकै नजिक आइसकेको छ, बैठक बसेर मापदण्ड बनाइएपछि मात्र व्यवस्थित रूपमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढ्न सक्छ’, उनले बताएका छन् । एमालेले एकातिर प्रतिनिधि सभाको पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेको छ भने अर्कातिर निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता पनि गराइसकेको छ । यस्तो अवस्थामा पार्टीभित्र चुनावी तयारीलाई औपचारिक र व्यवस्थित बनाउने दबाब बढ्दै गएको देखिन्छ ।

 

 

 

 

गोकुल बास्कोटाको प्रश्न : चुनाव हुँदैन पनि भन्ने भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ?

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनाव हुँदैन भन्ने नेकपा एमालेलगायत दलहरू समानुपातिक सदस्यको नाम बटुल्न थालेको भन्दै टिप्पणी गरेका छन् । बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पणी गरेका हुन् । ‘चुनाब हुँदैन पनि भन्छन् दलहरू फेरि आफै खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन् । कुन पत्याउनु हो ? लाखे !,’ उनले व्यंग्यात्मक शैलीमा लेखेका छन् । एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचनको विरोध गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन् । शनिबार काठमाडौँमा भएको सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको बताएका थिए । एमाले नेता बास्कोटाले पनि आफ्नै दलले भित्रभित्रै निर्वाचनको तयारी गरेको संकेत गरेका हुन् ।

ईश्वर पोखरेलको चेतावनी : पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सम्मानजनक व्यवहार स्थापित हुन नसके अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत लामो धारणा सार्वजनिक गर्दै ११औं महाधिवेशनका प्रत्यासी समेत रहेका पोखरेलले महाधिवेशनले तय गरिसकेका निष्कर्षहरूलाई सबैले इमानदारीपूर्वक पालना गर्नु आजको प्रमुख दायित्व भएको बताएका छन् ।

उनले पार्टी नेतृत्वप्रति अन्धसमर्पण होइन, समानता र सम्मानमा आधारित व्यवहारको अपेक्षा स्वाभाविक र आवश्यक भएको स्पष्ट पारेका छन् । नेतृत्व तह र त्यसबाट प्रभावित सबैले यो यथार्थ बुझ्न जरुरी रहेको उल्लेख गर्दै पोखरेलले सम्मानजनक व्यवहार नहुँदा उत्पन्न हुने अप्रिय र हानिकारक परिणामबाट कसरी जोगिन सकिन्छ भन्ने प्रश्नसमेत उठाएका छन् । उनका अनुसार यस्ता व्यवहारले पार्टी मात्र होइन, समग्र आन्दोलनलाई कमजोर बनाउने खतरा रहन्छ ।

पोखरेलले पार्टी रूपान्तरणका लागि निरन्तर बहस, छलफल, विधि र प्रक्रियाबाट गरिएका आधिकारिक तथा संस्थागत निर्णयहरूको पालना अनिवार्य रहेको बताएका छन् । व्यवहारमा काखा–पाखा नगर्ने सुनिश्चितता र विभाजनजस्ता दुर्भाग्यपूर्ण प्रवृत्तिको दृढ विरोध अहिलेको आवश्यकता भएको उनको निष्कर्ष छ । महाधिवेशनका क्रममा नेतृत्व चयनमा समूहगत धारणा देखिए पनि त्यसलाई आधार बनाएर कटाक्ष र आग्रह–प्रेरित टिप्पणी गर्नु पार्टीका लागि लाभदायी नभई थप नोक्सानदायी हुने उनको भनाइ छ ।

उनले अनावश्यक रूपमा पार्टीभित्र तरंग सिर्जना नगर्न आग्रह गर्दै विधि र प्रक्रियाअनुसार भएका निर्णयहरूको निशर्त पालना नै पार्टी एकतालाई मजबुत बनाउने आधार भएको उल्लेख गरेका छन् । पार्टीलाई विभाजित गर्ने कुनै पनि प्रयासको कडा विरोध गर्नुपर्ने र साथसाथै सबै कार्यकर्ताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न नेतृत्व प्रतिबद्ध हुनुपर्ने पोखरेलको धारणा छ । यिनै मूल्य र आचरणका आधारमा मात्र पार्टी नेतृत्वको वैधता र प्रतिरक्षा सम्भव हुने उल्लेख गर्दै उनले सबै प्रकारका षड्यन्त्रलाई पराजित गर्दै नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

 

सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदासम्म चुनाव हुन सक्दैन : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट तय गर्ने सरकारको तयारीप्रति तीव्र आपत्ति जनाएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार निर्वाचन तयारीबारे आयोजना गरेको छलफलमा उनले अध्यादेशमार्फत यस्तो व्यवस्था ल्याउन खोजिएको भन्दै लोकतान्त्रिक मर्मविपरीत भएको बताए ।

बस्नेतका अनुसार सरकारले पछिल्लो समय निरन्तर अध्यादेश ल्याइरहेको छ र त्यसप्रति एमालेको असहमति छ । ‘अध्यादेश पूरै अध्ययन गर्न नपाए पनि सुनेअनुसार दलहरूको चुनाव चिन्ह गोला प्रथाबाट मर्यादाक्रम तोक्ने व्यवस्था राखिएको छ,’ उनले प्रधानमन्त्रीकै सामु भने, ‘विगतमा दलले पाएको मतको आधारमा चिन्हको मर्यादा तय गर्ने परम्परा थियो । त्यसलाई तोड्नु गम्भीर असन्तुष्टि रोप्नु हो ।’ उनले राष्ट्रपतिबाट पुस ४ गते जारी प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेशतर्फ संकेत गर्दै गोला प्रथाबाट चुनाव चिन्ह छान्ने व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारे । पुराना र स्थापित राजनीतिक दललाई निषेध गरेर निष्पक्ष निर्वाचन सम्भव नहुने उनको भनाइ थियो ।

‘तपाईंहरूको जिम्मेवारी चुनाव गराउने हो । सर्वोच्चको फैसला र कुनै सहमति नआएसम्म दलहरूबीच समझदारी खोज्नु पर्छ,’ उनले भने, ‘पुराना दललाई गाली गरेर वा पन्छाएर चुनाव हुँदैन ।’ बस्नेतले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी दोहो¥याउँदै एमाले त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको स्मरण गराए । यही अवस्थाबीच फागुन २१ गते निर्वाचन हुनेमा आफूलाई विश्वास नरहेको उनले बताए । ‘हामी सैद्धान्तिक रूपमा निर्वाचनको पक्षमा छौं,’ उनले भने, ‘तर असंवैधानिक ढंगले सरकार बनेको विषय सर्वोच्चमा विचाराधीन रहँदा चुनाव हुन सक्दैन ।’ ११ औँ महाधिवेशनबाट एमाले सचिवमा निर्वाचित बस्नेत दलको प्रतिनिधित्व गर्दै सर्वदलीय बैठकमा सहभागी भएका हुन् ।

 

 

पोखरेलसहित देउवा भेट्न फेरि महाराजगञ्ज पुगे ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । महासचिव शंकर पोखरेललाई लिएर ओली सोमबार दिउँसो देउवाको अस्थायी निवास पुगेका हुन् । राष्ट्रियसभा निर्वाचनको तयारीबारे छलफल गर्न ओली देउवाकोमा पुगेका स्रोतले बतायो । दुवै नेताबीच अहिले भेटवार्ता जारी छ ।

अध्यक्ष निर्वाचित भएपछि उनी देउवालाई भेट्न पुगेका हुन् । ओली महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो । यसअघि मंसिर १९ मा देउवालाई भेट्ने ओली महाराजगञ्ज पुगेका थिए । सिंगारपुरबाट उपचार गरेर फर्केका देउवा दम्पत्तिलाई भेट्न पत्नी राधिका शाक्यलाई पनि सँगै लगेर गएका थिए । त्यतिवेला पारिवारिक भेटघाट भनिएको थियो । त्यस लगत्तै कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको थियो ।