काठमाडौँ–५ मा यसरी उम्मेदवार सिफारिस भए ईश्वर पोखरेल
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरेको छ । आइतबार बसेको क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पोखरेललाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।
एमालेका लागि काठमाडौँ–५ पोखरेलको नियमित निर्वाचन क्षेत्र मानिन्छ । साबिक क्षेत्र नम्बर ३ रहँदा निर्वाचित भएदेखि उनी यही क्षेत्र वरपरबाट चुनाव लड्दै आएका छन् । यस क्षेत्रबाट उनले अहिलेसम्म दुई पटक जित र तीन पटक हार व्यहोरेका छन् । यही कारण पार्टीभित्र उनलाई ‘परिचित र स्थापित अनुहार’ का रूपमा लिइँदै आएको छ । यस पटक उम्मेदवार सिफारिसको प्रक्रियामा एमाले सचिव राजन भट्टराईको नाम पनि चर्चामा थियो । अघिल्ला निर्वाचनमा काठमाडौँ–४ बाट उम्मेदवार बन्दै आएका भट्टराईले यसपालि क्षेत्र नम्बर–५ बाट उम्मेदवार हुन चाहेका थिए ।
पार्टीभित्र आगामी चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने चर्चा चलिरहेका बेला, क्षेत्र नम्बर–४ मा कांग्रेस नेता गगन थापा उठ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भट्टराईले क्षेत्र परिवर्तनको प्रयास गरेको बताइन्छ । तर आफ्नै क्षेत्र छाडेर नयाँ क्षेत्रमा आउन खोजेको भन्दै पार्टीभित्रै उनको आलोचना हुन थाल्यो । यसले क्षेत्रीय कमिटीभित्र असन्तुष्टि बढायो र अन्ततः भट्टराईको नाम सिफारिसमा पर्न सकेन ।
राजन भट्टराईको सम्भावित प्रवेशको चर्चाकै कारण सुरुमा उम्मेदवारी आकांक्षा नदेखाएका नेताहरू पनि पछि अघि सरे । नारायण सिलवाल, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ र शान्ति अधिकारीको नाम वैकल्पिक रूपमा प्रस्ताव गरियो । तर यी सबै नाम ‘ईश्वर पोखरेल उम्मेदवार नबनेको खण्डमा मात्र’ भन्ने शर्तसहित सिफारिस गरिएको हो । पार्टीका एक नेताका अनुसार, भित्री विवाद र असहमतिका बीच अन्ततः पोखरेलको नाममा सहमति जुटेको हो ।
यद्यपि क्षेत्रीय कमिटीले एकल सिफारिस गरे पनि स्वयं ईश्वर पोखरेलले उम्मेदवार बन्ने विषयमा स्पष्ट जवाफ दिएका छैनन् । क्षेत्रीय र जिल्ला कमिटीका नेताहरूले सिफारिसबारे जानकारी गराउँदा उनले पहिले पार्टीको मुख्य नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्र अन्तिम निर्णय लिने बताएका छन् । स्थानीय नेताहरूका अनुसार पोखरेल यस पटक चुनाव लड्न खासै इच्छुक देखिएका छैनन् । यदि उनी उम्मेदवार नबने शान्ति अधिकारी बस्नेत (पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी बुहारी), जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रीय सदस्य नारायण सिलवाललगायत नेताहरू बलिया दाबेदारका रूपमा अघि देखिएका छन् ।
काठमाडौँ जिल्ला कमिटीले सबै क्षेत्रीय कमिटीलाई विस्तारित भेलाबाट उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो । क्षेत्रीय कमिटी सदस्यसँगै नगर र वडा कमिटीका पदाधिकारी समेत सहभागी भेलाबाट नाम प्रस्ताव गरिएको हो । अब क्षेत्रीय कमिटीबाट आएका सिफारिसहरू जिल्ला हुँदै प्रदेश कमिटीमा पठाइने जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिएका छन् । काठमाडौँ–५ मा देखिएको यो सिफारिस प्रक्रिया केवल उम्मेदवार चयन मात्र नभई एमालेभित्रको आगामी चुनावी रणनीति र सम्भावित गठबन्धन राजनीतिलाई पनि प्रतिबिम्बित गर्ने घटनाक्रमका रूपमा हेरिएको छ ।
