`

ओलीको आरोप : कांग्रेस–एमाले नजिकिएपछि सरकार र विदेशी चुनाव सार्ने षडयन्त्रमा लागे

Nepal One HD २२ पुष २०८२ १२:५२
नेकपा एमाले

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशको वर्तमान राजनीतिक परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र विदेशी शक्तिहरूले निर्वाचन स्थगित गर्ने वा विभिन्न चरणमा विभाजन गरेर सञ्चालन गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

मंगलबार च्यासलमा आयोजित पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै तयार छैन । एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचनलाई ढिला गराउने वा चरणबद्ध रूपमा गर्ने योजना बनाइरहेका छन् ।’ उनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्की दिने र संसद् पुनस्र्थापना हुन नदिने प्रयास भइरहेको पनि बताएका छन् ।

अध्यक्ष ओलीले वैदेशिक हस्तक्षेप अब स्पष्ट रूपमा देखिन थालेको उल्लेख गर्दै भने, ‘नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने चुनौती अझै बढिरहेको छ । यस परिस्थितिमा पार्टीले आन्दोलनलाई जुझारु र सशक्त बनाएर अगाडि बढाउनु पर्छ । प्रत्येक तहमा युवालाई परिचालन गर्दै टोल–टोलमा नेशनल युथ भोलेन्टियर फोर्स गठन गर्नुपर्ने छ । निर्वाचनको तयारी आन्दोलनकै माध्यमबाट सुरु गर्नुपर्छ ।’

उनीसँगै पार्टीभित्रको आन्तरिक चिन्ता पनि व्यक्त गरेका छन् । ओलीले पछिल्लो समय एक भइरहेका दलहरूलाई लक्षित गर्दै भने, ‘विकासको नाममा एनजीओ–डोनरको एजेण्डा बोकेर राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने र विभिन्न दाग लागेका व्यक्तिहरूलाई एउटै ठाउँमा जम्मा गर्ने प्रवृत्ति देखिन्छ । कतिपय स्वार्थका लागि भ्रष्टाचार, ठगी र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन् ।’

उनले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा संलग्नहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे । ओलीको भनाइ अनुसार, पार्टीले आफ्नो आन्दोलनलाई सक्रिय र व्यवस्थित बनाउँदै युवा र स्थानीय तहमा परिचालन गरेर राजनीतिक तयारीमा अग्रसर रहनु पर्छ । यसअघि नेपाली राजनीतिक परिदृश्यमा एमाले र कांग्रेसबीचको नजिकिएर सहकार्यको संकेतले सत्ता–संरचना र निर्वाचन प्रक्रिया प्रति विवाद र तनावको वातावरण सिर्जना गरेको छ । ओलीले पार्टी बैठकमा यस विषयमा स्पष्ट चासो देखाएका छन् र आफ्नो दलका कार्यकर्ताहरूलाई सतर्क रहन आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *