एमालेको चुनावी ‘कमाण्डर’ बादल
काठमाडौं । नेकपा एमालेले निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको उपमहासचिप लेखराज भट्टले जानकारी दिए । कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहेका छन् । बैठकले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ ।
एमालेले निर्वाचन अभियान सञ्चालनका लागि प्रदेश इञ्चार्ज तोकेको छ । कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा सचिव महेश बस्नेत, राजधानीमा सचिव राजन भट्टराई, गण्डकीमा सचिव खगराज अधिकारी, लुम्बिनीमा सचिव पद्मा अर्याल, कर्णालीमा सचिव यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई इञ्चार्ज तोकिएको छ । बैठकले संगठन विभागको इन्चार्जको जिम्मेवारी सचिव भानुभक्त ढकाललाई दिएको छ ।
त्यस्तै, ७७ जिल्लामा भूगोल केन्द्रित रहेर केन्द्रीय सदस्यलाई परिचालन गर्ने निर्णय समेत बैठकले गरेको छ । ‘बैठकले पदाधिकारी र केन्द्रीय सदस्यलाई निर्वाचनमा केन्द्रित रहन निर्देशन गरेको छ,’ उपमहासचिव लेखराज भट्टले भने, ‘निर्वाचनमा खेलेको भूमिकाका आधारमा आगामी जिम्मेवारी निर्धारण गरिनेछ ।’
सचिव राजन भट्टराईले शान्ति सुरक्षा नाजुक रहेको उल्लेख गर्दै सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । तर एमाले निर्वाचन कार्याक्रमअनुसार अघि बढेकाले चुनावको तयारीमा लागेको उनको भनाइ छ । ‘हामी चुनावमा जाने नै हो । अब चुनावी तयारीमा जुट्यौं । तर पनि अहिलेको राजनीतिलाई सही ट्रयाकमा ल्याउन संसद् पुनस्र्थापनाको मुद्दा कायम राखेका छौं,’ उनले भने, ‘वीरगञ्जलगायत क्षेत्रमा सुरक्षा चुनौती देखिएको छ । सरकारले वातावरण बनाउन सकेको छैन । निर्वाचन वातावरण बनाउनै पर्छ ।’
