चुनाव अनिश्चित छ, संसद पुनर्स्थापना नै सुरक्षित बाटो : शंकर पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा आगामी निर्वाचन हुने वा नहुने विषयमा अझै स्पष्टता नआएको भन्दै वर्तमान अन्योलपूर्ण अवस्थामा प्रतिनिधिसभा पुनः स्थापना नै सबैभन्दा सुरक्षित र व्यवहारिक विकल्प भएको बताएका छन् ।
गृह जिल्ला दाङमा आयोजित प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक वातावरण अझै स्थिर भइनसकेको उल्लेख गरे । उनले भने, ‘चुनावको मिति र वातावरण दुवै अन्योलमै छन् । यस्तो अवस्थामा संसद पुनःस्थापना गरेर संवैधानिक र राजनीतिक स्थिरताको बाटो रोज्नु नै देशका लागि उपयुक्त हुन्छ ।’
यद्यपि, पोखरेलले यदि निर्वाचन हुने स्पष्ट परिस्थिति बनेमा नेकपा एमाले चुनावी प्रक्रियाबाट नभाग्ने स्पष्ट पारे । ‘एमाले लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने पार्टी हो । चुनाव हुने स्थिति बने हामी पूर्ण रूपमा सहभागी हुन्छौं’, उनले भने । राजनीतिक दलहरूबीच बढ्दो विभाजनप्रति चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले दल फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने धारणा राखे । विशेष गरी नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले समग्र लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पार्न सक्ने उनको भनाइ थियो । ‘सत्तारूढ दलभित्रको अस्थिरता र आन्तरिक खिचातानीले लोकतन्त्र कमजोर हुन्छ’, उनले भने, ‘मुख्य दलहरू जिम्मेवार भएर अघि बढ्नु पर्छ ।’
पोखरेलले रवि लामिछानेसँग जोडिएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने प्रयासले सरकार वास्तवमै कहाँबाट र कसरी सञ्चालित भइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको दाबी गरे । ‘यस्ता निर्णयले सरकारको नियत र स्वतन्त्रतामाथि शंका उत्पन्न भएको छ’, उनले टिप्पणी गरे ।
देशमा अझै पनि शान्ति–सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै महासचिव पोखरेलले यसलाई अत्यन्तै चिन्ताजनक अवस्था बताए । उनका अनुसार लुटिएका हतियार संकलन, फरार कैदीहरूलाई फिर्ता ल्याउने र सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुन आवश्यक छ । ‘प्रहरी र सुरक्षा निकायको मनोबल कमजोर हुँदा राज्य नै कमजोर हुन्छ’, उनले भने, ‘सरकारले राजनीतिक रस्साकस्सीभन्दा माथि उठेर शान्ति–सुरक्षामा ध्यान दिनुपर्छ ।’ महासचिव पोखरेलको अभिव्यक्तिले वर्तमान राजनीतिक संकट, निर्वाचनको अनिश्चितता र सरकारको कार्यशैलीमाथि पुनः बहस चर्किने संकेत देखिएको छ ।
