काठमाडौं। धार्मिक आस्था र परम्पराका नाममा पशु बली दिने प्रथामाथि पुनर्विचार गर्नुपर्ने आवाज उठेको छ।
धार्मिक स्वतन्त्रताको संवैधानिक अधिकारलाई सम्मान गर्दै पशुमाथि हुने क्रूर व्यवहार रोक्न कानुनी, धार्मिक र सामाजिक तहबाट पहल गर्नुपर्नेमा विभिन्न धर्मका गुरु, अधिकारकर्मी तथा सञ्चार क्षेत्रका व्यक्तिले जोड दिएका छन् ।
जागरण मिडिया सेन्टर, स्नेहाज केयर र अन्तरधार्मिक शान्ति महासंघ नेपालको संयुक्त आयोजनामा शुक्रबार ‘करुणामय समाज निर्माणमा धार्मिक, आध्यात्मिक तथा सञ्चारको भूमिका’ विषयअन्तर्गत नेपालमा पशु बली प्रथासम्बन्धी अन्तरसंवाद कार्यक्रममा सहभागीले पशु बली प्रथाको विकल्प खोज्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले संविधान निर्माणका क्रममा समेत धार्मिक स्वतन्त्रताको विषय उठेको उल्लेख गर्दै समयसँगै पशु बलीको प्रथामा पनि परिवर्तन आवश्यक रहेको बताइन् ।
उनले मासु खानै नहुने भन्ने नभए पनि पशुप्रति माया र संरक्षणको भावना विकास गर्नुपर्ने बताइन् । संविधानको धारा ३६ ले धार्मिक स्वतन्त्रताको हक दिएको भए पनि धार्मिक स्वतन्त्रताको नाममा पशुमाथि क्रूर यातना दिने कार्य उचित नहुने उनको भनाइ थियो । ‘बलीको नाममा पशु नै किन ? पशु बाहेक अरू केही वैकल्पिक उपाय पनि गर्न सकिन्छ,’ उनले भनिन् ।
प्रविधिको विकाससँगै एक ठाउँबाट अर्को ठाउँमा पुगेर पूजा गर्नुपर्ने अवस्थासमेत परिवर्तन भइरहेको उल्लेख गर्दै विश्वकर्माले पशु बलीजस्ता विषयमा बहस र छलफललाई अघि बढाउनुपर्ने बताइन् ।
स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले धार्मिक स्थल नै बधशालामा परिणत हुन थालेको बताइन् । आफू हिन्दु धर्म मान्ने भए पनि पशु अधिकारको पक्षमा रहेकाले पशु बली प्रथाको विरोधमा उभिएको उनले स्पष्ट पारिन् ।
उनले बिस्केट जात्रा, महाअष्टमी, महानवमी, सिकाली जात्रा, दुर्गापूजालगायतका अवसरमा पशु बली दिने प्रचलन रहेको उल्लेख गर्दै धार्मिक स्थललाई बधशालामा परिणत नगर्न आग्रह गरिन् । ‘बधशाला छुट्टै भएकाले धार्मिक स्थललाई बधशाला नबनाउन अनुरोध छ,’ उनले भनिन् ।
भक्ति, श्रद्धा, कृतज्ञता, प्रतिज्ञा र आध्यात्मिक समर्पणका नाममा पशु बली दिने गरिएको उल्लेख गर्दै श्रेष्ठले पशुलाई पनि पीडा हुने, बाँच्ने इच्छा हुने, तनाव, असहजता, डर र खतरा महसुस हुने बताइन् ।
कृषि तथा पशु उत्पादन बढाउने उद्देश्य राख्ने तर अर्कोतर्फ पशु बधशाला बढाउँदै जाने प्रवृत्ति विरोधाभासपूर्ण भएको उनको भनाइ थियो । पशु संरक्षणका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउँदै उनले मुलुकी अपराध संहितामा पशु बली तथा पशुमाथिको क्रूर व्यवहारका लागि गरिएको सजाय पर्याप्त नभएको दाबी गरिन् ।
हिन्दु धर्मगुरु दामोदर गौतमले सबैभन्दा धेरै पशुको पूजा गर्ने धर्म हिन्दु धर्म भएको बताए । हिन्दु धर्ममा विभिन्न चाडपर्वमा फरक-फरक जनावरको पूजा गर्ने प्रचलन रहेको उल्लेख गर्दै उनले हिन्दु धर्मले बली प्रथालाई संरक्षण नगर्ने धारणा राखे ।
उनले शाकाहारी जीवनशैलीलाई राम्रो विकल्पका रूपमा प्रस्तुत गर्दै मांशाहारीभन्दा शाकाहारी मानिस बलिया र शक्तिशाली हुने दाबी गरे ।
इस्लाम धर्मगुरु मौलाना नजरुल हुसेनले पशुलाई अमानवीय ढंगले बली दिने र यातना दिने कार्य गर्न नहुने बताए । उनले मस्जिदमा बली नदिइने र बलीको मासु तथा रगत अल्लाहसम्म नपुग्ने धार्मिक मान्यता रहेको बताए । मानवलाई हानि पुग्ने किसिमका विकृति तथा कुरीति कायम राख्न नहुने उनको भनाइ थियो ।
‘बली भनेको सबै कुराको बली हो,’ उनले भने, ‘बली दिने नै हो भने कुनै पनि जनावरलाई कमभन्दा कम दुःख र कष्ट हुनेगरी बली दिनुपर्छ ।’
साइ केन्द्रकी प्राध्यापक लालकुमारी गुरुङले बली चढाउनैपर्ने अवस्था भए पनि त्यसको वैकल्पिक उपाय अपनाउनुपर्ने बताइन् ।
वरिष्ठ पत्रकार एवं संविधान सभा सदस्य विनोद पहाडीले दसैँका बेला ठूलो संख्यामा पशुको काटमार हुने गरेको उल्लेख गर्दै काठमाडौंमा चार जना महिलाले पशु बली प्रथाका विषयमा अन्तरसंवाद आयोजना गर्नु सराहनीय काम भएको बताए ।
कार्यक्रममा पत्रकारले पशु बली प्रथा सम्बन्धी विभिन्न विषयमा प्रश्न गरेका थिए । जवाफमा स्नेहा श्रेष्ठले गढीमाईमा पशु बलीसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको तर त्यसको कार्यान्वयन हुन नसकेको बताइन् ।
कार्यक्रम सञ्चालक तनुजा बस्नेतले पशु बली प्रथाले दलित समुदायमाथि समेत थप विभेद गरिरहेको बताइन् । पशुको बली दिने र त्यसको मासु दलित समुदायका व्यक्तिलाई खान बाध्य पार्ने जस्ता कार्य जातीय विभेदसँग समेत जोडिने उनको भनाइ थियो । यस विषयमा राष्ट्रिय दलित आयोगलगायत सम्बन्धित निकायले समेत अभियान सञ्चालन गर्नुपर्ने उनले बताइन् ।
अन्तरधार्मिक शान्ति महासंघ नेपालकी अध्यक्ष सिमा खानले महासंघ सबै धर्मका लागि खुला रहेको बताउँदै हरेक धर्मसँग सम्बन्धित विषयमा बहस र छलफल गर्न सकिने बताइन् । उनले पशु बली प्रथा अन्त्यका लागि हिन्दु धर्मावलम्बीले बढी पहल गर्नुपर्ने धारणा राखिन् । मुस्लिम समुदायको जनसंख्या करिब पाँच प्रतिशत रहेको उल्लेख गर्दै उनले बहसलाई नीतिगत तहसम्म लैजानुपर्ने बताइन् ।
‘क्रिश्चियनलाई धर्म बेचुवा र मुस्लिमलाई पाकिस्तान जाऊ भन्ने प्रचलन छ,’ उनले भनिन्, “तर मुलुकमा हिन्दुको जनसंख्या धेरै भएका कारण पशु बली प्रथा अन्त्यका लागि हिन्दु धर्मावलम्बीले नै विशेष पहल गर्न जरुरी छ ।’
कार्यक्रममा किरात धर्मगुरु डोङ धोज, जैन धर्मगुरु डा.नमनकुमार उपाध्याय, ब्रह्माकुमारी शोभालगायतले पनि पशु बली प्रथा, धार्मिक आस्था, करुणा र अहिंसाका विषयमा धारणा राखेका थिए ।
अन्तरसंवादमा सहभागी वक्ता्ले पशु बलीलाई धार्मिक परम्पराको विषयका रूपमा मात्र नहेरी पशु अधिकार, मानवीय संवेदना, कानुनी व्यवस्था, सामाजिक विभेद र धार्मिक सुधारसँग जोडेर बहस गर्नुपर्नेमा जोड दिएका थिए ।


























