`

रविविरुद्धको मुद्दा फिर्तापछि युवा संघले भन्याे – ‘जनतालाई लाज भो, सहकारी ठगको राज भो ।’

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय युवा संघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिवादी भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गरेको छ ।

संघले लामिछानेविरुद्धको दुई गम्भीर मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै भनेको छ, ‘जनतालाई लाज भो, सहकारी ठगको राज भो ।’

यसअघि नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पनि लामिछानेविरुद्धको दुई मुद्दा फिर्ता लिने सरकारी निर्णयको विरोधमा शुक्रबार प्रदर्शन गरेको थियो ।

गत ३० पुसमा सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत यो मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारको यो कदमले अपराधबाट आर्जित सम्पत्ति व्यवस्थापन (सम्पत्ति शुद्धीकरण)बारे विश्व्यापी अनुगमन गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई जोखिमपूर्ण मुलुकको सूचीबाट कालो सूचीमा राख्‍ने चिन्ता बढेको छ ।

यदि कालो सूचीमा परे नेपाललाई पर्ने आर्थिक असर कल्पना बाहिरको हुने अर्थ–राजनीतिक विश्लेषक डा. भीम भुर्तेल बताउँछन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भने, ‘अहिले सुशीला कार्कीको महान्यायधिवक्ता सविता भण्डारीले रविविरूद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरको मुद्धा फिर्ता लिने निर्णय गरेको कारण अब पक्का ग्रेबाट कालो सूचीमा झर्ने छ । यसको कारण देशलाई पर्ने आर्थिक असर कल्पना बाहिरको कुरो हो । एक पटक झरेपछि माथि उक्लन गाह्रो पर्छ ।’

रविविरुद्धको दुवै मुद्दा गम्भीर भएको भन्दै ठट्टा गर्न नहुने उनले बताए ।

लामिछानेविरुद्ध काठमाडौं, कास्की, रुपन्देही र पर्सा जिल्लामा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा विचाराधीन छ । यी जिल्लाहरूमा सहकारी ठगी मुद्दा पनि छ । चितवनमा भने सहकारी ठगीको मात्रै छ ।

कानुनतः सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन पाउँदैन । तर, रास्वपा सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पाउने र निर्वाचन जिते सांसद हुँदै मन्त्री हुने बाटो खुला गर्न दुई गम्भीर प्रकृतिको मुद्दा सरकारले सुटुक्क फिर्ता गर्ने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार रविविरुद्ध चलिरहेका ती मुद्दालाई सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयबाट फिर्ता लिन निर्देशन दिइसकिएको छ ।

 

बर्दिया–१ मा नेकपाको उम्मेदवार बामदेव गौतम, राष्ट्रियसभा सदस्यबाट राजीनामा कहिले ?

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री बामदेव गौतमलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बर्दिया–१ बाट उम्मेदवार बनाएको छ ।

उम्मेदवार बन्‍ने भएसँगै गौतमले राष्ट्रिय सदस्यबाट राजीनामा दिने भएका छन् । उनीनिकट एक नेताका अनुसार गौतमले आइतबार पदबाट राजीनामा दिने छन् । उनी नेकपाका वरिष्ठ नेता हुन् ।

२०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर– १ बाट उनले चुनाव लडे । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जिते ।

तर, ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्‍न भने सकेनन् । उनी कांग्रेसका सञ्‍जयकुमार गौतमसँग पराजित भएका थिए ।

त्यसपछि बर्दिया– १ बाट चुनाव नलडेका उनी अहिले फेरि त्यही क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन् ।

उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्य मनोनीत भएका थिए ।

गौतमसहित राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ ।

कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

उपेन्द्र यादवसँग इन्जिनियर अरविन्दलाई चुनाव लडाउँदै रास्वपा

काठमाडौं । गत निर्वाचनमा बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्जिनियर अरविन्द साहलाई प्रतिस्पर्धा गराउँदै छ ।

साह सूचना प्रविधि उद्यमी हुन् । ग्रामीण जीवनबाट संघर्ष गर्दै प्रविधि र उद्यमशीलतामार्फत राष्ट्रिय पहिचान बनाएका साहले सूचनाको पहुँज, वित्त पहुँज, रोजगारी सिर्जना र प्रविधिमैत्री विकासलाई प्रमुख राजनीतिक एजेन्डा बनाएका छन् ।

रुखमुनि बसेर सुरु गरेको अध्ययनदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पससम्मको शैक्षिक यात्रापछि उनले आईटी क्षेत्रमा १९ वर्षभन्दा बढी अनुभव सँगालेका छन् ।

स्प्यारो एसएमएस, खल्ती एपजस्ता देशव्यापी डिजिटल सेवाको नेतृत्व गरेका साहलाई नीति निर्माण, नवप्रवर्तन र परिणाममुखी सोचको प्रतिनिधि पात्रका रूपमा हेरिन्छ ।

कृषिमा प्रविधिको प्रयोग, ग्रामिण युवाको क्षमता विकास, स्टार्टअप इकोसिस्टम प्रवर्द्धन तथा रोजगारी सिर्जनामा प्रत्यक्ष योगदान दिएका उनले भाषणभन्दा काम र नतिजामा विश्‍वासगउगर्ने नेतृत्वको छवि बनाएका छन् ।

 

प्रेम आले कैलाली- ५ बाट चुनाव लड्ने

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रेम आले कैलाली क्षेत्र नम्बर- ५ बाट २१ फागुनको प्रतिनिधीसभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन्। 

गएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका थिए। 

आले यसअघि डोटीबाट चुनाव लड्दै आएका नेता हुन्। 

 

 

सर्लाही-३ बाट चुनाव लड्दै नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ २१ फागुनको प्रतिनिधीसभा निर्वाचनमा सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्।

नेकपाले सर्लाहीमा श्रेष्ठलाई पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको थियो। सर्लाही ३ मा गएको निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेतीले जितेका थिए।

महेश बस्‍नेतको गम्भीर आरोप – ‘कांग्रेस विभाजनमा प्रधानमन्त्री कार्की पनि संलग्‍न’

काठमाडौं । एमाले सचिव महेश बस्‍नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की संलग्‍न भएको गम्भीर आरोप लगाएका छन् ।

कांग्रेस, एमालेजस्ता शक्तिलाई कमजोर बनाउन उनले प्रधानमन्त्री कार्कीसहित अन्तर्राष्ट्रिय शक्तिहरू लागेर कांग्रेस विभाजन गरेको आरोप लगाए ।

‘जुन ढङ्‍गले सेटिङको आधारमा एक घण्टाको अन्तरालमा निर्वाचन आयोगले जे निर्णय गर्‍यो, त्यो बेठिक गर्‍यो भन्ने शेरबहादुर देउवाजीहरूले भन्‍नुभएको छ । त्यो कुरामा हाम्रो पनि समर्थन छ । कांग्रेसको विभाजन भनेको लोकतन्त्र माथिको प्रहार हो,’ उनले शनिबारसचिवालय बैठकस्थल च्यासलमा पत्रकारहरूसँग उनले भने, ‘कांग्रेस र एमालेजस्तो शक्तिलाई कमजोर बनाउने र रवि लामिछानेजस्ता बलियो बनाउने कुरामा सुशीला कार्कीलगायतका अन्तर्राष्ट्रिय शक्तिहरू जुन ढङ्‍गले लागेका छन् । यो निकै गम्भीर विषय हो भन्‍ने हाम्रो निष्कर्ष हो ।’

उनले कांग्रेसको विभाजनलाई निकै गम्भीरताका साथ हेरिरहेको पनि बताए ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको नेपाली कांग्रेसलाई आधिकारिता दिएको थियो ।

लगत्तै बस्‍नेतले आयोगको निर्णयलाई आलोचना मात्रै गरेनन्, आन्दोलन गर्नेसम्मको चुनौती दिए ।

प्रचण्डसँग प्रलोपाबाट चुनाव लड्दै सन्दिप

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सन्दीप पुन आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। पूर्वी रुकुमलाई निर्वाचन क्षेत्र बनाएर पुनले चुनावी मैदानमा उत्रने घोषणा गरेका हुन्।

पुनले गत साता सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका थिए। त्यसपछि काठमाडौंस्थित रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले पूर्वी रुकुम विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि पछाडि परेको जिल्ला रहेको उल्लेख गर्दै यसलाई समृद्ध बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए।

फेसबुकमा लेख्दै पुनले भनेका छन्, ‘विकासको प्रचुर सम्भावना भएर पनि पछि परेको हाम्रो गौरवशाली र विरासत बोकेको जिल्ला रुकुम पूर्वलाई समृद्ध बनाउने र यहाँका आवाजहरूलाई संघीय संसदमा बुलन्द पार्ने अठोटका साथ मैले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु।’ उनले स्थानीय जनताको समस्या, आवश्यकता र आकांक्षालाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

सन्दीप पुन १० वर्षे सशस्त्र ‘जनयुद्ध’का शहीद सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्ष’का छोरा हुन्। उनका बुबाआमाको २०५३ साल जेठ २५ गते जनयुद्धकै समयमा जनवादी विवाह भएको थियो। २०५४ सालमा जनयुद्धकै क्रममा जन्मिएका पुनले द्वन्द्वकालीन पीडा र इतिहास नजिकबाट भोगेका छन्।

२०५९ साल जेठ १४ गते बझाङको रायलमा उनकी आमा परम्परा गौतम र सोही महिनाको २३ गते बझाङकै सैसुमा उनका बुवा सूर्यप्रकाश पुनको तत्कालीन शाही सेनासँगको दोहोरो भिडन्तमा मृत्यु भएको थियो । हाल सन्दीप पुन शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनका अध्यक्षसमेत हुन् । 

उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने दाबी गर्दै चुनावी मैदानमा उत्रिएका छन्।

इन्जिनियर अशेषलाई झापा–१ मा नेकपाले दियो टिकट

काठमाडौं । मार्क्सवादी अध्येता तथा इन्जिनियर अशेष घिमिरेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले झापा– १ मा उम्मेदवार बनाउने भएको छ ।

शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनालसहितका नेताहरूले अशेषलाई टिकट दिएका हुन् ।

४२ वर्षे उनी नेकपाको केन्द्रीय कमिटी सदस्य हुन् । उनले भने, ‘संयोजक–सहसंयोजकसहितका नेताहरूले शुभकामना दिएर टिकट प्रदान गर्नुभएको छ ।’

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा– १ बाट नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएका थिए । उनले यसपटक निर्वाचन नलड्ने घोषणा गरिसकेका छन् ।

उनीभन्दा अघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र (हाल प्रगतिशील लोकतान्त्रिक पार्टी) का नेता राम कार्की निर्वाचित भए । कार्कीभन्दा अघि भने एमाले नेता रविन कोइराला पटकपटक निर्वाचित भएका थिए ।

चुनावी परिणामलाई आधार मान्दा झापा– १ कम्युनिस्ट जनमत भएको क्षेत्र हो । यही क्षेत्रबाट नयाँ पुस्ताका मार्क्सवादका गहिरो अध्येताको पहिचान बनाएका अशेषलाई नेकपाले उम्मेदवार बनाएको हो ।

शनिबार नै झापा–५ मा नेकपाले पूर्वविद्यार्थी नेता तथा नेकपा केन्द्रीय सदस्य रञ्‍जित तामाङलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस एक्लै चुनाव लड्ने, गठबन्धन नगर्ने, यी हुन् अरु पाँच निर्णय (भिडियाेसहित)

काठमााडौं । नेपाली कांग्रेसको बैठकले छ बुँदे निर्णय गरेको छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि बसेको पहिलो बैठकले पार्टी एकता, आगामी निर्वाचन र पूर्वसभापति शेरबहादुर देउवाको भूमिकालगायतबारे निर्णयहरू गरेको हो ।

प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेका निर्णयहरूमा निर्वाचन आयोगको निर्णयलाई पनि स्वागत गर्ने उल्लेख छ ।

देउवाले कांग्रेस पार्टीको लामो समय नेतृत्व गरेर योगदान पुर्‍याएको भन्दै धन्यवाद गर्ने गरेको छ । अब उनको भूमिका कांग्रेसमा अभिभावकीय हुनुपर्ने भनिएको छ ।

निर्वाचनमा कहिल्यै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने घोषणा गरिएको छ ।

संविधानको रक्षा र नवयुवाको आकांक्षालाई सम्बोधन गर्ने पनि निर्णय भएको छ ।

हेर्नुहोस् बैठकका निर्णयहरू

१.

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ । यो कसैको जित/हार होइन— यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ ।

२.

यो समय एकता, सद्‍भाव र सहकार्यको समय हो । देश/विदेशमा रहेका सबै काग्रेसजन, सबै तहका समितिहरू र सबै भातृ तथा शभेच्छुक सस्थाका साथिहरूलाई नवीन ऊर्जा, अटुट विश्‍वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ ।

३.

विभिन्‍न कारणले पार्टीवाट निष्कृय रहनु भएका, विभिन्‍न कारणले पार्टी छाड्नुभएका सबै साथीहरूलाई पार्टीमा पुन: जोडिन यो बैठक हार्दिकतापूर्वक आव्हान गर्दछ ।

४.

यतिबेला हामी निवर्तमान सभापति शेरबहादुर देउवालगायत नेताहरूले नेपाली कांग्रेसको नेतृत्त्वमा रही लामो समयदेखि पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै हार्दिक धन्यवाद प्रकट गर्दछ । यो बैठकले श्रद्देय नेताको अभिभावकीय भूमिका प्राप्त हुने विश्‍वास राख्दछ ।

५.

नेपाली कांग्रेस आम नेपाली नागरिकप्रति आफ्नो अटल प्रतिबद्धता पुन: दोहाेर्‍याउन चाहन्छ -अब कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता हुने छैन । हामी सदैव मूल्य र सिद्धान्तमा अडिग रहनेछौँ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्त्व गर्ने छौ । नवयुवाको आकांक्षा र जनताको अपेक्षालाई साकार पार्ने छौँ ।

६.

यो नयाँ अध्याय हो— रुपान्तरणको, एकताको, विजयको ।

सबैमा अनुरोध छ, समुन्‍नत नेपाल निर्माणको महाअभियानमा जोडिनुहोस्। थप स्‍नेह, विश्‍वास र साथ दिन सबैमा अनुरोध छ ।

जय नेपाल

देवराज चालिसे
प्रवक्ता
नेपाली कांग्रेस

कांग्रेस एक्लै चुनाव लडेर बहुमत ल्याउँछ, गगन थापा प्रधानमन्त्री बन्छन् : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने र बहुमत हासिल गरेर गगन थापालाई प्रधानमन्त्री बनाउने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई स्वीकार गर्नु अब सबैका लागि बाध्यकारी रहेको बताए । निर्वाचन आयोगले आधिकारिकता दिइसकेको नेतृत्वलाई नस्वीकार्ने कुनै विकल्प नभएको उल्लेख गर्दै उनले पार्टीभित्र देखिएका असन्तुष्टिलाई मिलाएर अघि बढ्ने जिम्मेवारी वर्तमान नेतृत्वको भएको स्पष्ट पारे ।

उनका अनुसार संस्थापन पक्षबाट भएको उत्पीडनकै कारण विशेष महाधिवेशन आवश्यक परेको हो । ‘अधिवेशन भइसकेको छ, अब यसलाई स्वीकार गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानु बाहेक अर्को विकल्प छैन’, उनले भने, ‘नेताहरूले आफ्नो व्यक्तिगत इगो त्यागेर कांग्रेसलाई एकढिक्का बनाउनु पर्छ ।’

शर्माले आगामी आमनिर्वाचनमा कांग्रेसको ठूलो प्रतिस्पर्धी नदेखिएको दाबी गर्दै नयाँ नेतृत्वको टिमले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गरे । ‘कांग्रेस गठबन्धनमा जाँदैन । १६५ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुन्छन् । दुविधा छैन, गगन थापालाई प्रधानमन्त्री बनाएर जाने हो’, उनले भने।

उनले सभापति थापा, उपसभापतिसहितको नयाँ नेतृत्वले संस्थापन पक्षका नेताहरूलाई पनि समेटेर पार्टीलाई एकतामा ल्याउने विश्वास व्यक्त गरे । पार्टी फुटेको नभई अधिवेशन वैधानिक भइसकेकाले असन्तुष्ट नेताहरूलाई संवादमार्फत मिलाइने उनको भनाइ थियो ।

‘नेतृत्वमा अहिले जो आउनु भएको छ, उहाँहरू पनि बुद्धिमान हुनुहुन्छ, विगतमा लामो समय नेतृत्वमा रहेकाहरू पनि अनुभवी र बुद्धिमान छन्’, शर्माले भने, ‘सबैले इगो त्यागेर पार्टीलाई एकढिक्का बनाएर लगे भने आगामी निर्वाचनमा कांग्रेसको प्रतिष्पर्धी नै हुँदैन । हामी स्वीप गर्छौं।’ उनका अनुसार पार्टीभित्रको एकता नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति हो र त्यसलाई कायम राख्न सके कांग्रेसले एक्लै बहुमत ल्याएर सरकार बनाउने निश्चित छ ।

प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार टुंगो लगाउँदै एमाले, सचिवालय बैठक जारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकले पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरू हुँदै सिफारिस भएका उम्मेदवारहरूको नाम टुुंगो लगाउने भएको हो ।

१६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ३५ भन्दा बढी उम्मेदवार सर्वसम्मत भएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सर्वसम्मत भएका हुन् । करिब १३० उम्मेदवार टुंगो लगाउन सचिवालय बैठक बसेको हो ।

एमालेले कुनै दलसँग चुनावी गठबन्धन गर्ने समझदारी गरिसकेको छैन । त्यसो हुँदा एमालेले सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएर उम्मेदवारी दिने तयारी गरेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार यही ६ माघमा उम्मेदवारी (मनोनयन) दर्ता गराउनुपर्ने भएको छ ।

बालअधिकारदेखि संसद्को टिकटसम्म : सोनी भट्टराईको सामाजिक र राजनीतिक यात्रा

काठमाडौं । बालबालिकाको हकहित र संरक्षणका क्षेत्रमा लामो समयदेखि सक्रिय सोनी भट्टराई सामाजिक अभियन्ता मात्र होइनन्, युवा नेतृत्व र राजनीतिक सहभागिताको सशक्त अनुहारका रूपमा स्थापित हुँदै गएकी छन् ।

काठमाडौँ महानगरपालिकाको बालअधिकार समितिमा विज्ञ सदस्यका रूपमा काम गरेकी उनी नेतृत्वको टोलीले एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट नाबालिकाको उद्धार गरेको घटना डेढ वर्षअघि चर्चित बन्यो ।

यसले बालअधिकार संरक्षणमा स्थानीय तहको जिम्मेवारी र सक्रियताको महत्वलाई समेत उजागर गरेको थियो । उनले बालअधिकार उल्लङ्‍घनका घटनामा हस्तक्षेप गर्दै संस्थागत सुधारका लागि आवाज उठाउँदै आएकी छन् ।

राजनीतिशास्त्र अध्ययन गरेकी भट्टराई हाल नमुना युवा संसद अभ्यास कार्यक्रमकी केन्द्रीय प्रशिक्षकका रूपमा पनि क्रियाशील छन् ।

राष्ट्रिय युवा परिषद्को सहकार्यमा सञ्‍चालन हुँदै आएको उक्त कार्यक्रममार्फत उनले युवालाई लोकतान्त्रिक अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कामकारबाही र नागरिक अधिकारबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएकी छन् ।यस कार्यक्रमलाई युवा नेतृत्व विकासको प्रभावकारी अभ्यासका रूपमा हेरिएको छ ।

भट्टराई बालअधिकारका लागि राष्ट्रिय अभियानसँग आबद्ध रहँदै नीति निर्माण तहमा बालमैत्री दृष्टिकोण स्थापित गर्न निरन्तर पहल गरिरहेकी छन् । उनका गतिविधिले बालअधिकार र युवाको सहभागितालाई एउटै धारमा जोडेको देखिन्छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोरखा– १ को उम्मेदवारका रूपमा मैदानमा उत्रिदैछिन् ।

जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने नेतृका रूपमा उनले नागरिक अधिकार, बालअधिकार र युवाको राजनीतिक सहभागितालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाएकी छन् । उनले समावेशी, पारदर्शी र उत्तरदायी राजनीतिक अभ्यासको पक्षमा स्पष्ट धारणा राख्दै आएकी छन् ।

गोरखाको नारेश्‍वर घर भएकी भट्टराईलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)निकट व्यक्तिका रूपमा पनि चिनिन्छ ।

पार्टीभित्रको स्रोतका अनुसार उनलाई गोरखा–१ बाट उम्मेदवार बनाउने निर्णयमा बालेनको सिफारिस रहेको बताइन्छ ।

बालअधिकार र युवा नेतृत्व विकासलाई सँगसँगै अघि बढाइरहेकी सोनी भट्टराईलाई धेरैले नयाँ पुस्ताको आशा र सम्भावनाको प्रतिनिधि पात्रका रूपमा लिन सकिन्छ ।

सामाजिक अभियन्ताबाट राजनीतिक यात्रासम्मको उनको निरन्तरताले रास्वपामा नयाँ सोच र पुस्तागत परिवर्तनको प्रयास गरेको देखSसकिन्छ ।

 

कपी पेष्टले ‘नो ओली’ कमेन्टलाई बनाइदियो ‘नो ओएल’

काठमाडौं । केही दिन यता सामाजिक सञ्‍जाल फेसबुकको कमेन्टबक्स ‘नो ओली’- ‘अन्ली बालेन’ भन्‍ने कमेन्टले भरिएको देखिन्छ।  विशेषत: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका अन्य नेताहरूले गर्ने फेसबुक पोष्टहरूमा यस्ता कमेन्ट धेरै देखिन्छन् । 

सुरुमा त धेरै कमेन्टमा ‘नो ओली’ देखिन्थ्यो। पछि ‘नो ओली’ भनेर लेख्‍न खोजिएका कमेन्टहरू ‘नो ओएल’ भएकाे देखियाे ।  

सामान्यतया ‘नो ओली’ भन्‍ने कमेन्टले ‘ओली नाइँ’ भनेकाे बुझाए तापनि ‘नो ओएल’ कमेन्टले ‘तेल नाइँ’ भन्‍ने बुझाउँछ। 

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह ‘बालेन’ चुनाव लड्न झापा-५ जाने चर्चा छ। यही चर्चालाई आधार मानेर प्रमुख साहका समर्थकहरूले अहिले फेसबुकमा ‘नो ओली- अन्ली बालेन’, ‘नो हर्क-अन्ली बालेन’, ‘नो कुलमान-अन्ली बालेन’ लगायतका कमेन्ट गर्दै चुनावी प्रचार प्रसार गरिरहेका छन् ।

यस विषयमा एमाले सचिव महेश बस्‍नेतले सामाजिक सञ्‍जाल फेसबुकबाट सिंहदरबार जलाउन, संसद् जलाउन, सर्वाेच्च जलाउन, उधोग जलाउन ‘नो ओली- अन्ली बालेन’ भन्‍न सुहाउने भन्दै कटाक्ष गरेका छन् । साथै, उनले उधोगलाई सहयोग गर्न, सिंहदरबारको संरक्षण गर्न, अदालतको सम्मान गर्न ‘नो बालेन- अन्ली ओली’ भन्‍न पनि सुझाए ।

बस्‍नेतले सामाजिक संञ्‍जाल फेसबुकमा गरेको उक्त पोष्टपछि ‘नो ओएल’ भनेर गरिएका कमेन्टहरू तुलनात्मक रूपमा बढेका छन् ।  

यसरी कमेन्ट गर्ने फेसबुकका प्रयोगकर्तामा एक तिहाई प्रयोगकर्ता नक्कली छन् । यस्ता गतिविधिले निर्वाचन आचारसंहिता उल्लङ्‍घन हुने निर्वाचन आयोगको चिन्‍ता छ । आयोगले यसअघि सामाजिक सञ्‍जालको प्रयोगको सन्दर्भमा फेसबुकबाट फोटो-पोष्टर सार्वजनिक गरेको थियो।   

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले पनि सामाजिक सञ्‍जालबाट निर्वाचन आचारसंहिताको उल्लङ्‍घन भएको पाइएमा कारबाही हुने बताए।

‘हामीले आचारसंहिता जारी गरेका छौँ, त्यसमा सामाजिक सञ्‍जालसम्बन्धी आचारसंहिता पनि छ’, जिसीले नेपालवन एचडीसँग भने, ‘सामाजिक सञ्‍जाल वा प्रविधिको दुरुपयोग गरेर आचारसंहिता उल्लङ्‍घनका मुद्दा हेर्न नेपाल प्रहरीकाे साइबर ब्युरो नै खटेको छ। उल्लङ्‍घनका उजुरी आएमा कानुनअनुसार कारबाही हुन्छ।’  

कांग्रेसले एक्लै चुनाव लड्ने, अप्राकृतिक गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि अप्राकृतिक चुनावी गठबन्धन नगरी एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिने स्पष्ट निर्णय गरेको छ । निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएपछि बसेको गगन थापा नेतृत्वको पहिलो केन्द्रीय समिति बैठकले सत्ता केन्द्रित सम्झौता र अवसरवादी गठबन्धनलाई पूर्ण रूपमा अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले कांग्रेस अब आफ्नै शक्ति, नीति र संगठनको भरोसामा जनतामाझ जाने बताए । उनका अनुसार पार्टीले एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने र जेन–जी (नयाँ पुस्ता) को आकांक्षा तथा जनअपेक्षालाई प्रतिनिधित्व गर्ने राजनीतिक एजेण्डालाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा रहँदा पुर्‍याएको योगदानको औपचारिक प्रशंसा गर्दै आगामी दिनमा उनले पार्टीमा अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेको छ । ‘देउवाजीले लामो समयसम्म पार्टीको नेतृत्व गर्नुभयो, त्यस योगदानको कदर गर्दै हामी हार्दिक आभार व्यक्त गर्छौं’, प्रवक्ता चालिसेले भने ।

केन्द्रीय समिति बैठकमा पार्टीभित्र देखिएका मतभेदलाई स्वाभाविक भन्दै त्यसलाई लोकतान्त्रिक ढंगले व्यवस्थापन गरिने पनि स्पष्ट गरिएको छ। देउवा पक्ष निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालत जाने तयारीमा रहेको चर्चा चलिरहेका बेला कांग्रेस नेतृत्वले चुनावको मुखमा पार्टीलाई संकटमा पार्ने कुनै कदम नचालिने विश्वास व्यक्त गरेको छ ।

‘असहमति हुनु स्वाभाविक हो, तर कांग्रेस सबैको साझा पार्टी हो’, चालिसेले भने, ‘विगतका घटनाका आधारमा कुनै आग्रह–पूर्वाग्रह नराखी असहमत मतको सम्मान गरिन्छ । टिकट वितरणलगायतका विषयमा पनि विगतको अन्याय दोहोरिन दिइँदैन ।’

कांग्रेसले अब पार्टी एकता, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणलाई मुख्य आधार बनाएर निर्वाचनमा जाने संकेत दिएको छ । अप्राकृतिक गठबन्धनबाट टाढा रहँदै आफ्नै राजनीतिक पहिचान र जनसमर्थन बलियो बनाउने यो निर्णयले आगामी चुनावी राजनीतिमा कांग्रेसको रणनीति स्पष्ट रूपमा नयाँ दिशातर्फ मोडिएको देखिन्छ ।

एमाले नेता भीम आचार्य चुनावी मैदानबाट स्वेच्छिक ‘आउट’

काठमाडौं । नेकपा एमालेका तथा तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य चुनावी मैदानबाट स्वेच्छिक रूपमा ‘आउट’ भएका छन् ।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा कतैबाट उम्मदेवार नबन्‍ने बताए ।

नेपालवान एचडीसँग उनले भने ‘म यसपटक कतैबाट चुनाव लड्दिनँ । मलाई चुनाव लड्ने इच्छा छैन । यसबारे मैले पार्टीमा पनि भनिसकेको छु ।’

उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी– २ बाट निर्वाचित भएका थिए । त्यसअघि उनी प्रदेशसभा निर्वाचन लड्दै कोशीका मुख्यमन्त्री भए ।

त्यसअघि २०७० को संविधान सदस्य हुँदै उनी पर्यटनमन्त्री भएका थिए । तर, यसपटक उनले निर्वाचन नलड्ने भएका हुन् ।

एमालेको एघारौँ महाधिवेशनमा उनी उपाध्यक्षमा पराजित भएका थिए । अध्यक्ष केपी शर्मा ओलीले आचार्यलाई केन्द्रीय सदस्यमा मात्रै राख्‍न खोजेपछि उनी उपाध्यक्ष पदमा लडेका थिए ।

त्यसबेला उनलाई अध्यक्षका अर्का उम्मेदवार ईश्‍वर पोखरेलले पनि आफ्नो टिममा राखेन । यसपछि उनी असन्तुष्ट थिए ।

अन्ततः निर्वाचन नलड्ने निर्णयमा आचार्य पुगेका हुन् ।

गगन थापाले खोजे कांग्रेसको अभिभावकीय भूमिकामा शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा रहन आग्रह गरेको छ ।

उनले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले बताए ।

बैठकपछि उनले पत्रकारसँग भने, ‘आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्‍ने विश्‍वास पनि हामीलाई छ ।’

बैठकले पार्टी एकता कायम राख्‍न अपिल गरेको छ । ‘जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ । निर्वाचन पनि आइरहेको छ,’ प्रवक्ता चालिसेले भने, ‘पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।’

बैठकले पार्टीको निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसलाई बलियो बनाउने भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

कुलमानकाे चुनावी वार्मअप : काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली

काठमाडौं । कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी (उनेपा)ले काठमाडौंमा बृहत् मोटरसाइकल र्‍याली निकालेको छ ।

पार्टीको निर्वाचन परिचालन समितिको संयोजनमा शनिबार काठमाडौंको तीनकुने, थापाथली, जमल, कमलपोखरी, गौशला हुँदै तीनकुनेसम्म मोटरसाइकल र्‍याली निकालेको हो ।

पार्टीले मोटरसाइकल र्‍यालीलाई प्रतिनिधिसभा निर्वाचनको वार्मअपको रूपमा लिएको छ ।

गत साता रास्वपासँग एकता भाँडिएपछि घिसिङ नेतृत्वको उनेपाले एक्लै निर्वाचन लड्ने तयारी गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीसँग यो दलले हालै एकता गर्‍यो ।

तर, निर्वाचनकेन्द्रित गतिविधि खासै गरेको देखिएको छैन । जबकि, प्रतिनिधिसभा निर्वाचन आगामी डेढ महिनामा हुँदैछ ।

सर्वोच्चको ढोका ढक्ढक्याउन जाँदै शेरबहादुर देउवा

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधाकारिकता दिने निर्णय गरेपछि शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ ।

नेता डा. प्रकाशशरण महतका अनुसार शनिबार बिहान बसेको बैठकले आयोगको निर्णय बदर माग गर्दै सर्वोच्च जाने निर्णय गरेको हो ।

आयोगले शुक्रबार गगन थापा नेतृत्वमा विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसलाई आधिकारिता दिएको थियो ।

आयोगको उक्त निर्णयले चार तारे झण्डासँगै रुख चिह्न गगन नेतृत्वको नेपाली कांग्रेसको पक्षमा पार्‍यो ।

आयोगको यस्तो निर्णयलाई देउवा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्वीकार गर्दै कानुनी चुनौती दिने चेतावनी दिएका थिए ।

सोहीअनुसार शनिबार बसेको बैठकले अदालत जाने निर्णय गरेको हो ।

 

गगन थापालाई सबैले सभापति स्विकार्नुपर्छ : सुनिल शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले गगन थापालाई पार्टी सभापति स्वीकारेर अघि बढ्नुको विकल्प कांग्रेससँग नरहेको बताएका छन्।

टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा सहभागी भएर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले थापाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र देखिएको असन्तुष्टि र आन्तरिक विभाजन अन्त्य गर्न सभापतिलाई स्वीकारेर सहकार्य गर्नु अनिवार्य रहेको उनको भनाइ थियो।

‘उहाँलाई सभापति स्वीकारेर मिलेर जानुबाहेक पार्टीको अर्को विकल्प छैन,’ शर्माले भने, ‘कांग्रेसभित्र धेरै नेता–कार्यकर्ता उत्पीडित भएका छन्। पछिल्ला पाँच वर्षमा नहुनुपर्ने धेरै काम पार्टीभित्र भएका छन्।’

उनले संस्थापन पक्षमा नलाग्ने नेता तथा कार्यकर्तालाई विभिन्न रूपमा दबाब र उत्पीडनमा राखिएको आरोप समेत लगाए। टिकट वितरण प्रक्रियामा समेत ठुलो चलखेल हुँदै आएको दाबी गर्दै त्यसैको परिणामस्वरूप पार्टी अहिलेको अवस्थासम्म आइपुगेको उनले बताए।

भक्तपुुरमा आमाको हत्यापछि छोराले गरे आफ्नै टाउकोमा हतियार प्रहार

काठमाडौं । भक्तपुरमा छोराले आमाको हत्या गरेका छन् ।

मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटारका २७ वर्षीय प्रवीण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार उनीहरू त्यहाँ डेरामा बस्दै आएका थिए ।

प्रारम्भिक अनुसन्धानको क्रममा प्रवीणले शुक्रबार राति आमालाई धारिलो हतियार प्रहार गरेको खुलेको जबेगूले बताए । घटनामा सरिता गम्भीर घाइते भएकी थिइन् ।

उनको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।

आमालाई धारिलो हतियार प्रहार गरेपछि भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियारले हानेका थिए । उनी घाइते छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको डीएसपी जबेगूले जानकारी दिए ।

देउवा पक्षीय कांग्रेस सर्वोच्च अदालत जाने

काठमाडाैं । नेपाली कांग्रेसको देउवा पक्षीय समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ।

देउवा पक्षीय कांग्रेसको सानेपामा बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै देउवा पक्षका प्रवक्ता प्रकाशशरण महतले आयोगको निर्णय अस्वीकार्य रहेको बताए। उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिने जानकारी दिए।

महतका अनुसार पार्टीको विधान र लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत आयोगले निर्णय गरेको निष्कर्षसहित कांग्रेसले सबै कानुनी विकल्प प्रयोग गर्नेछ । साथै, आवश्यक परे राजनीतिक दबाबका कार्यक्रमसमेत अघि बढाइने उनले बताए।

निर्वाचन आयोगको पछिल्लो निर्णयपछि नेपाली कांग्रेसभित्रको विवाद थप चर्किएको छ।

निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई झण्डा र चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको थियो। 

ओली-बालेनसँग रञ्‍जित भिडाउँदै प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले युवा नेता रञ्‍जित तामाङलाई झापा– ५ मा उम्मेदवार बनाएको छ ।

उनलाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार उम्मेदवारको टिकट दिए । अब उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग चुनावी प्रतिस्पर्धा गर्नेछन् ।

तामाङले २०७९ को प्रतिनिधिसभा निर्वाचनमै त्यहाँबाट चुनाव लड्न चाहेका थिए ।

तर, नेपाली कांग्रेससँग उनी आबद्ध तत्कालीन नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेपछि उनले चुनाव लड्न पाएनन् ।

त्यसबेला कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी गठबन्धनको उम्मेदवार थिए । उनी ओलीसँग दोब्बर बढी मतान्तरले पराजित भए । ओलीलाई राप्रपाको समर्थन थियो ।

यसपटक भने तामाङले चुनाव लड्न टिकट पाए । यो उनको पहिलो संसदीय निर्वाचनमा प्रतिस्पर्धा हुनेछ ।

त्यहाँ नेपाली कांग्रेसले यसपटक विश्‍वद्विप लिङ्देनलाई टिकट दिने चर्चा गाइँगुइँ सुनिन्छ । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा ओलीलाई पराजित गर्ने पूर्वमाओवादी नेता हुन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेस प्रवेश गरेका लिङ्देन यसपटक फेरि मैदानमा उत्रिने सम्भावना देखिएको छ ।

२०४८ सालदेखि यता भएका ७ वटामध्ये छ वटा निर्वाचनमा ओली विजयी भए । निर्वाचनको यो परिणामले भन्छ– झापा– ५ ओली र उनको दल एमालेको बलियो प्रभाव क्षेत्र हो ।

त्यहाँबाट एकपटक पनि कांग्रेस र राप्रपाले निर्वाचन जितेकै छैनन् । सोही क्षेत्रबाट युवा नेता रञ्‍जितलाई नेकपाले चुनावी मैदानमा उतारेकाे हाे ।

टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार एक कार्यक्रम गरी आईसीसी टी–२० विश्वकप खेल्ने टोलीलाई बिदाई गरेको हो ।

टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिए ।

आगामी फेब्रुअरी-मार्चमा टि-२० वर्ल्डकपको आठौं संस्करण भारत र श्रीलंकामा आयोजित हुदैछ। 

आईसीसी टी–२० विश्‍वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी टी–२० विश्‍वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।

आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्‍वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बिदाइ गरेको हो ।

नेपाली टोलीको बिदाइ गर्दै क्यानका सचिव पारस खड्काले विश्‍वकपका लागि शुभकामना दिए । उनले भने, ‘यो समग्र विश्‍वले पनि हेर्ने कुरा हो, हामी राम्रो गरिरहेका छौं । विश्‍वकपका लागि खेलाडीदेखि व्यवस्थापन टिम सबैलाई शुभकामना छ ।’

नेपाली टोलीले विश्‍वकपअघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएको छ । नेपाली टोली आइतबार मात्रै प्रस्थान गर्ने छ ।

कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताए । ‘हाम्रो तयारी राम्रो छ । अभ्यासले पनि राम्रो बिल्डअप भएजस्तो लाग्छ, सन् २०२५ एकदम राम्रो भएको थियो । आशा छ यो वर्ष पनि राम्रो हुने छ ।’

प्रशिक्षक स्टुअर्ट लले पनि विश्‍वकपमा राम्रो गर्ने दाबी गरे । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिँदै तयारी राम्रो देखिएको र राम्रो प्रदर्शन गर्ने विश्‍वास व्यक्त गरेका छन् ।

नेपालले विश्‍वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ ।

पत्रकार जोशीमाथि दुर्व्यवहार

काठमाडाैं । सेराेफेरो अनलाइनका पत्रकार केशवराज जोशीमाथि रिपोर्टिङका क्रममा दुर्व्यवहार भएको छ।  शुक्रबार साँझ निर्वाचन आयोग अगाडि ‘पीटीसी’ दिने क्रममा दुर्व्यवहार भएको हो। 

आयोग अगाडि शुक्रबार नेपाली काङ्ग्रेसका दुई छुट्टाछुट्टै समूह आधिकारिकताको विवादलाई लिएर प्रदर्शनमा थिए ।

आयोगले गगन पक्षलाई आधिकारिकता प्रदान गरेपछि आयोग अगाडिको माहोल एकछिन तनावग्रस्त बनेको थियो। त्यही क्रममा ”अन्तत: गगनलाई दियो आयोगले मान्यता” भन्दै पीटीसी दिने क्रममा पत्रकार जोशीमाथि दुर्व्यवहार भएको हो। 

उनले नेपालवान एचडीसँग भने, ‘अन्तत: आयोगले दियो गगनलाई मान्यता भनेर पीटीसी दिन लागेको बेला उहाँहरु आक्रमण गर्न आइहाल्नुभयो ।’  

हालै प्रेस काउन्सिल नेपालले पत्रकारमाथि दुर्व्यवहारका सबैभन्दा बढी ५० वटा घटना भएकाे तथ्याङ्‍क सार्वजनिक गरेकाे थियाे । 

सानेपामा देउवा समूहको भेला, गगनले बानेश्वरमा बोलाए कांग्रेसको पहिलो बैठक

काठमाडौं । नेपाली कांग्रेसभित्र शक्ति संघर्ष तीव्र बनेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई वैधानिक मान्यता दिएसँगै पार्टीभित्र दुई फरक केन्द्रबाट समानान्तर गतिविधि सुरु भएका छन् ।

आयोगबाट शुक्रबार आधिकारिकता पाएपछि थापा नेतृत्वको नव निर्वाचित केन्द्रीय कार्यसमितिले शनिबार बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा पहिलो बैठक बोलाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन व्यवस्थापन, आगामी रणनीति र विविध विषयमा छलफल हुनेछ । पार्टी कार्यालय सानेपा बाहिर बैठक राखिनु आफैंमा असहज परिस्थिति र आन्तरिक विवादको संकेतका रूपमा हेरिएको छ ।

यता, निर्वाचन आयोगको निर्णय अस्वीकार गर्दै शेरबहादुर देउवा समूहले पार्टी कार्यालय सानेपामै छुट्टै भेला आह्वान गरेको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको भेलालाई पनि केन्द्रीय कार्यसमितिको बैठककै रूपमा प्रस्तुत गरिएको छ ।बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको वर्तमान अवस्था र निर्वाचन आयोगको पछिल्लो निर्णयबारे गहन छलफल हुनेछ ।
निर्णयलगत्तै देउवा समूह अझ आक्रामक रणनीतिमा उत्रिएको छ । शुक्रबार राति महाराजगञ्जस्थित देउवा निवासमा बसेको शीर्ष नेताहरूको बैठकले कानुनी र राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने निष्कर्ष निकालेको छ । बैठकमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महतलगायत नेताहरू सहभागी थिए ।

देउवा समूहले शनिबार नै केन्द्रीय कार्यसमितिको बैठकबाट देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने र आइतबार अदालत जाने तयारी गरेको जनाएको छ । आन्दोलनमा तरुण दललाई सक्रिय पार्ने निर्णय समेत भइसकेको छ । देउवा पक्षले निर्वाचन आयोग सरकार र बाह्य दबाबमा परेको आरोप लगाउँदै आगामी फागुन २१ मा तय निर्वाचन हुन नदिने रणनीति बनाएको बताइएको छ ।

यसअघि सानेपामा आयोजित पत्रकार सम्मेलनमा पूर्णबहादुर खड्काले आयोगले विधान र संविधानविपरीत निर्णय गरे देशभर सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनले १४औं महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्वकै समिति आधिकारिक रहेको दाबी दोहोर्‍याएका थिए ।
निर्वाचन आयोगमा भने बहुमतका आधारमा निर्णय भएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सुमन शम्शेर राणाले थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने पक्षमा मत दिए भने आयुक्त जानकी तुलाधर विपक्षमा उभिएकी थिइन् ।

अब कांग्रेस एकातिर वैधानिक मान्यता पाएको नयाँ नेतृत्वसहित औपचारिक बैठकतर्फ अघि बढिरहेको छ भने अर्कातिर पुरानो नेतृत्व आन्दोलन र अदालतको बाटो रोज्दैछ । एउटै पार्टीभित्र दुई ध्रुव, दुई बैठक र दुई रणनीतिले कांग्रेसको आगामी राजनीतिक यात्रालाई झनै पेचिलो बनाएको छ ।

आयाेगले गगन पक्षलाई मान्यता दिएपछि देउवा पक्षले बोलायो बैठक

काठमाडाैं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित भएको गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक भोली बिहान बस्ने भएको छ। 

सानेपामा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य एवं सातवटै प्रदेशका प्रदेश सभापतिहरुलाई बैठकमा अनिवार्य रुपमा सहभागी हुन भनिएको छ ।

यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगकाे निर्णयलाई स्वीकार नगर्ने प्रतिक्रिया दिएका थिए ।

आयोगबाट मान्यता पाएपछि गगन थापाको अपिल: एकताबद्ध बनाएर निर्वाचनमा जानुपर्छ

काठमाडौं।  नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टी पंक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। निर्वाचन आयोगले शुक्रबार साँझ थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई झण्डा र चुनाव चिन्हसहितको आधिकारिकता प्रदान गरेपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।

थापाले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको दाबी गर्दै यसलाई विवादको विषय नबनाउन आग्रह गरेका छन्। ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं,’ विज्ञप्तिमा उल्लेख छ।

उनले यो निर्णय नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा परिणाम भएको बताएका छन्। पार्टी अब नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्ने स्थापित भएको उनको भनाइ छ।

थापाले विशेष महाधिवेशनमा सहभागी भए–नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै कांग्रेसलाई जय–पराजयको विषयमा नअल्झाउन अनुरोध गरेका छन्। ‘अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ,’ उनले भने।

आसन्न निर्वाचनमा उच्च आत्मविश्वासका साथ एकढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै थापाले पूर्व सभापति शेरबहादुर देउवासहित पार्टीका सबै तहका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्दै पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,’ भन्दै उनले पार्टी आम मानिसको सार्वजनिक पुँजी भएको उल्लेख गरेका छन्। कांग्रेस अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने र सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्।

अन्त्यमा, थापाले लोकतन्त्र र समुन्नत नेपालको निर्माणका लागि कांग्रेसले नेतृत्व गर्ने उल्लेख गर्दै सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

अब आवेग होइन, एकता रोजौं

नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न भइसकेपछि निर्वाचन आयोगले आज साँझ विशेष महाधिवेशनले दिएको निर्णयबमोजिम नेपाली कांग्रेस पार्टीको नेतृत्वलाई अध्यावधिक गर्ने निर्णय गरेको छ।

निर्वाचन आयोगले विधिको जगमा उभिएर नेपालको संविधान, प्रचलित कानूनहरू, नेपाली कांग्रेसको विधानको आधारमा जे निर्णय गरेको छ, यो निर्णयले आगामी दिनका लागि समेत एउटा ऐतिहासिक नजीर कायम गरेको छ। नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन आयोजना गर्नका लागि दूरदराजका गाउँहरूमा बसेर, प्रदेशहरूमा बसेर, जो–जो आदरणीय साथीहरूले हस्ताक्षर गर्नुभयो, माग दर्ता गर्नुभयो, उहाँहरू सबैलाई म विशेष बधाई दिन चाहन्छु। साथै, म आग्रह गर्न चाहन्छु—यो विधिवत् प्रक्रियाबमोजिम जे भएको छ, त्यसलाई हामीले एउटा नवीन कांग्रेसको सुरुवातको रूपमा, नवीन नेपालका लागि नवीन कांग्रेसको सुरुवातको रूपमा लिनुपर्छ।

निर्वाचन आयोगमा एक प्रकारको बहस भयो। कसले नेपाली कांग्रेस पार्टीको नाम, झण्डा अथवा चुनाव चिह्न प्राप्त गर्ने भन्ने कोणबाट पनि विविध दाबीहरू रहे। निर्वाचन आयोगले विशेष महाधिवेशनले गरेको निर्णयको पक्षमा निर्णय गरे आन्दोलन पनि गर्छौँ भन्ने खालका अभिव्यक्तिहरू पनि आए। एउटा परिस्थितिमा आवेगका कुरा पनि भएका होलान्। तर, म यो बेला पार्टीका सबै श्रद्धेय अग्रज नेताहरूलाई सविनय नम्र निवेदन गर्न चाहन्छु—इतिहासको यो घडीमा विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, त्यसले जे नवीन सुरुवात गर्दैछ, त्यो सुरुवातको यो घडीमा हामी अब पुराना आवेगका कुराहरू बिर्सनुपर्छ। हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ।

माघ ६ गते उम्मेदवारी दर्ता छ। गगन थापा सभापति रहनुभएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिले उम्मेदवारी चयन सम्बन्धी प्रक्रियालाई अगाडि बढाइसकेको छ। पार्टीका साथीहरूले देशभरिबाट कहाँ उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन्, त्यसलाई अलग्गै छुट्याइसक्नुभएको छ, छुट्याउँदै हुनुहुन्छ। कहाँ उम्मेदवार चयन गर्दा अलिकति थप ध्यान दिनुपर्ने, मिलाउनुपर्ने अवस्था छ, त्यसतर्फ ध्यान दिँदै हुनुहुन्छ। त्यसलाई सूचीकरण गर्दै हुनुहुन्छ। भोलि हामी बैठक बस्दा त्यसबारे साथीहरूले तयार गर्नुभएको विवरण हेरेर नेपाली कांग्रेसको कामको गतिलाई हामी अगाडि बढाउँदै जानेछौँ।

विशेष महाधिवेशन सम्पन्न भएको भोलिपल्टै, मध्यरातपछि माघ सङ्क्रान्तिको बिहान बैठक बसेर नेपाली कांग्रेस पार्टीको निर्वाचन परिचालन समिति, आगामी निर्वाचनका लागि संकल्पपत्र तथा घोषणापत्र लेख्ने समिति, उम्मेदवार चयनका लागि संसदीय बोर्ड—यी सबै विषयमा निर्णय भइसकेको छ।

पछिल्लो भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई नयाँ परिस्थितितर्फ लैजाने संकल्प गर्‍यो। त्यस आन्दोलनमा जीवन गुमाएका नेपाली होनहार युवाप्रति म श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आन्दोलनमा जीवन गुमाएका छोराछोरीका आमा–बुबाप्रति भावनात्मक एक्यबद्धता प्रकट गर्न चाहन्छु। नेपाली कांग्रेस पार्टीका तर्फबाट हामी अपिल, आग्रह र संकल्प गर्दछौँ—सात सालको क्रान्तिले देशलाई स्वतन्त्रता दिँदा कांग्रेसले नेतृत्व गर्‍यो, २०४६ सालमा प्रजातन्त्र दिलाउँदा कांग्रेसले नेतृत्व गर्‍यो, २०६३ सालमा शान्ति स्थापना गर्दा कांग्रेसले नेतृत्व गर्‍यो, संविधान निर्माण गरेर २०७२ सालमा पुग्दा कांग्रेसले नेतृत्व गर्‍यो। मधेस आन्दोलनले अघि सारेको संघीयताको मुद्दालाई नेपाली कांग्रेसले पहिल्यै दस्तावेजीकरण गरेर केन्द्रीय रूपमा नीतिगत रूपमा उठाएको थियो। त्यसलाई सम्बोधन गर्दै संविधानमा अङ्कन गर्ने, संविधानअनुसार चुनाव गराउने काम नेपाली कांग्रेसले गर्‍यो। अब स्वतन्त्रता, प्रजातन्त्र, समावेशिता, शान्ति स्थापना र संविधान निर्माणपछि देशले माग गरेको सुशासन प्रत्याभूत गर्ने घडी आएको छ। यस विषयमा नेपाली कांग्रेस पार्टी पूर्ण रूपमा स्पष्ट छ।

हामीले स्वीकार गरेका छौँ—बितेका ३४ वर्षमा ३० वटा सरकार बन्नु हाम्रो कमजोरी थियो। यसप्रति हामी आत्मालोचित छौँ। आज नेपाली कांग्रेस पार्टीलाई विधिवत् रूपमा नयाँ ढंगले अघि बढाउने मार्ग प्रशस्त भएको छ। देशभरिका तथा विदेशमा रहेका साथीहरूलाई सम्मान व्यक्त गर्दै म आग्रह गर्न चाहन्छु—यो यात्रा टुंगिएको होइन, यो यात्रा सुरु भएको हो। यात्रा सुरु हुँदै गर्दा विशेष महाधिवेशनको उद्घाटन समारोहमा भनेको वाक्य दोहोर्‍याउन चाहन्छु—जो बदलिन्छन्, तिनैले बदल्न सक्छन्। अब हामीले बदल्ने संकल्प गर्नुपर्छ।

यो घडी कसैले कसैप्रति आवेग नराखी अघि बढ्ने संकल्प गर्नुपर्छ। हिजो कसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नुभयो, कसले गर्नुभएन—अब त्यो दरार रहनु हुँदैन। विधि र विधानको जगमा गरिएको निर्णयको आधारमा कांग्रेसलाई बदल्दै लैजानु छ। त्यसैले अब हामीले आवेग होइन, एकता रोज्नुपर्छ। पार्टीका सभापति गगनकुमार थापाको वक्तव्य पनि सार्वजनिक भइसकेको छ। संस्थागत रूपमा यसलाई अपनत्वसहित अघि बढाउँ, पुरानो अध्याय यहीँ अन्त्य गरौँ।

इजरायल र इरानका नेतासँग रुसी राष्ट्रपति पुटिनको फोनवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार इजरायल र इरानका नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् । इरानमा भएको राष्ट्रव्यापी सरकार विरोधी प्रदर्शनको कडा जवाफमा इरानी सुरक्षा बलले गरेको कारबाहीमा हजारौँको मृत्यु भएको खबरहरू बाहिरिएपछि रूसी नेताले इरानी र इजरायली अधिकारीसँग फोनवार्ता गरेका हुन्।

इरानमा भएका प्रदर्शनमा व्यापक दमनपछि इजरायलको प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले इरानमा सैन्य कारबाही गर्नसक्ने चेतावनी दिएको थियो। इरान र इजरायलबीच गत जुनमा छोटो युद्ध भएको थियो जसमा इजरायलले इरानको सैन्य र आणविक केन्द्रहरुमा आक्रमण गरेको थियो । इरानका तीन प्रमुख आणविक केन्द्रमा आक्रमण गर्दै अमेरिका केही समयका लागि उक्त आक्रमणमा सामेल भएको थियो ।

शुक्रबार रुसी राष्ट्रपति पुटिनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँग सम्पर्कमा रहेको जानकारी गराएका छन् । रूसी प्रशासनिक केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यस क्षेत्रको स्थिति निकै तनावपूर्ण छ र राष्ट्रपतिले तनाव कम गर्न आफ्नो प्रयास जारी राखेका छन्।’

मस्को इरानको नजिकको सहयोगी हो । उसले इजरायलसँग राम्रो सम्बन्धका लागि पनि प्रयास गरेको छ। यद्यपि सन् २०२३ अक्टोबर ७ देखि गाजामा इजरायलको कार्यको रुसी आलोचनाको बीचमा ती सम्बन्धहरू तनावपूर्ण भएका थिए । शुक्रबार इजरायली नेता नेतान्याहुसँगको कुराकानीमा क्रेमलिनले रुसले मध्यस्थताको प्रयासलाई निरन्तरता दिन आफू तयार रहेको बताएको छ । इरानमा भइरहेको प्रदर्शनबारे अहिले के प्रयास भइरहेको छ भन्ने स्पष्ट पारेको छैन । मस्कोले यसअघि युद्धका बेला मध्यस्थताको प्रस्ताव गरेको थियो ।

मस्कोले चाँडै नै इरानी राष्ट्रपतिसँगको टेलिफोन वार्ताबारे जानकारी सार्वजनिक गर्ने बताएका छन् । नेतान्याहूले आइतबार विरोध प्रदर्शनका बीच इरान चाँडै नै ‘निरंकुशताको पञ्जा’ बाट मुक्त हुने विश्वास व्यक्त गरेका थिए । यद्यपि, दमन र एक हप्ता लामो ‘इन्टरनेट ब्ल्याकआउट’को सामना गर्दै पछिल्ला केही दिनहरूमा प्रदर्शनहरू कम भएको देखिन्छ ।

इरानले बारम्बार अमेरिका र इजरायलमाथि अशान्ति भड्काएको र इस्लामिक गणतन्त्रको राष्ट्रिय एकतालाई कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ । साउदी अरब, कतार र ओमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि हुन लागेको आक्रमणबारे वार्ता गर्न पहल गरिरहेको साउदी अरबका एक वरिष्ठ अधिकारीले बिहीबार एएफपीलाई बताए ।

गगनले पाए रूख र चार तारे झन्डा, आयोगले दियो विशेषलाई मान्यता

नेपाली कांग्रेसको नेतृत्व विवादसम्बन्धि निर्वाचन आयोगले आफ्नो निर्णय दिएको छ । १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा वा शुक्रबार सकिएको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वमध्ये कुन आधिकारिक भन्ने विवाद शुक्रबार नै निर्वाचन आयोग पुगेको थियो ।

शुक्रबार साँझ आयोगले विशेष महाधिवेशनको पक्षमा निर्णय गरेपछि गगन थापा सभापति रहेको नेपाली कांग्रेसको नेतृत्व आधिकारिक बनेको छ । यद्यपी, आयोगको यो निर्णयलाई स्वीकार नगरे देउवा पक्ष सर्वोच्च अदालत जान सक्ने छ ।

नेतृत्वको आधिकारिकता सम्बन्धि विवादका कारण शुक्रबार दिनभरि कान्तिपथ तनावग्रस्त भएको थियो ।  गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस र शेर बहादुर देउवा नेतृत्वकाे कांग्रेस समूहका कार्यकर्ताले निर्वाचन आयोग अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा गगन समूहले वैधानिक कांग्रेस यता छ, गगन-विश्व जिन्दावाद भन्दै नाराबाजी गरिरहेका थिए भने देउवा समूहका प्रदर्शनकारीले किर्ते भेला बन्द गर, हामी केही जान्दैनौ-विशेष भेला मान्दैनौं भन्दै नाराबाजी गरिरहेका थिए । एकअर्को पक्षका विरुद्धमा नाराबाजी गरिरहेका उनीहरूले नेपाली कांग्रेस जिन्दावादको नारा भने समान रूपमा लगाइरहेका थिए ।

नेपाली कांग्रेसका छुट्टाछुट्टै समूह वैधताको प्रश्न सहित निर्वाचन आयोग धाइरहेका थिए । विशेष महाधिवेशनबाट निर्वाचित गगन नेतृत्वको कांग्रेसले  आफू आधिकारिक भएको भन्दै बिहीबार पुरानो पार्टी कार्यसमितिको सूची अद्यावधिक गर्न निर्वाचन आयोग पुगेपछि देउवा पक्ष आफू आधिकारिक भएको भन्दै शुक्रबार बिहानै आयोग पुगेको थियो । त्यसको तीन घण्टापछि गगन नेतृत्वको कांग्रेस वैधताको प्रश्नसहित आयोग अगाडि धर्ना नै बस्यो । 

त्यसको केही समय नबित्दै कान्तिपथ नेपाली कांग्रेसका दुई छुट्टाछुट्टै समूहका प्रदर्शनले दुई घण्टाभन्दा बढी समय जाममा परिरह्यो । प्रदर्शनमा उत्रिएका दुवै पक्षले एकअर्कालाई विधानको विपरीत गएर गतिविधि गरेको आरोप लगाए ।

विधानको छुट्टाछुट्टै व्याख्या 

जमल कान्तिपथमा प्रदर्शनमा जुटेका देउवा पक्षीय काङ्ग्रेस र गगन पक्षीय काङ्ग्रेस कार्यकर्ताले आ-आफ्नै तरिकाले विधानको व्याख्या गरिरहेका थिए। ४० प्रतिशत महाधिवेशन प्रतिनिधीले विशेष महाधिवेशन बोलाउन सक्ने विधानको व्यवस्था रहेको गगन पक्षको दाबीलाई देउवा पक्षले केन्द्रीय कार्यसमिति बाहेक अरु कसैले महाधिवेशन बोलाउन नसक्ने भन्दै खण्डन गरिरहेको थियो। 

देउवा पक्षबाट प्रदर्शनमा आएका एक काङ्ग्रेस कार्यकर्ताले विशेष महाधिवेशनमा देखाईएको हस्ताक्षर ‘फेक’ भएको आरोप लगाए। ‘पार्टीको विधान मान्छ भने विधानमा टेकेर सय सत्ताइस जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर गर्‍या छन्,’ ती कार्यकर्ताले भने, ‘मेरै जिल्ला, सुन्नुस्, म सुनसरी जिल्लाको हो, मेरो जिल्लाको दुई नम्बरक्षेत्रको एक महाधिवेशन प्रतिनिधि बितिसक्यो। उहाँको पनि सिग्नेचर आएको छ। उहाँ स्वर्गबाट आएर सिग्नेचर गर्नुभा हो? कसले गर्‍यो त्यसरी, कसले गर्‍यो त?’

साथै उनले निर्वाचन आयोगले विधि र विधानमा टेकेर निर्णय दिएन भने देशैभरका निर्वाचन आयोगमा आगो बाल्ने चेतावनी समेत दिए।’ चुनाव होइन, हामी सतहत्तरै जिल्लाको निर्वाचन आयोगमा आगो बाल्छौँ’ उनले भने। 

त्यस्तै, देउवापक्षकै अर्की कार्यकर्ता यशोदा भट्टले आफू विधि, विधान र कानुनको पक्षमा रहेको बताइन्। ‘कानुन प्रक्रियामा हिँड्न सक्नुपर्‍यो, कानुन हेर्नुपर्‍यो, हामी भनेको कानुन क्षेत्रमा हिँडेका मान्छे हौँ’, उनले भनिन्, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कानुनमा हिँडेको मान्छे हो।  विशेष महाधिवेशन भन्नेले कानुन मिचेर बस्नुभएको छ नि ।’

यता गगन पक्षीय कार्यकर्ताले भने विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले वैधता प्रदान गर्ने क्रममा रहेकाले उपस्थित भएको प्रतिक्रिया दिए। ‘पार्टीको कार्यसमिति परिवर्तन भएकाले हामी त्यसलाई अधावधिक गर्न आयोगमा उपस्थित भएका हौ’, प्रदर्शनमै सहभागी एक कार्यकर्ताले भने, ‘निर्वाचन आयोगको निर्णय पर्खेर बसिरहेका छौँ, आयोगले हामीलाई नै वैधता दिन्छ भन्नेमा विश्वस्त छौँ।’ 

अधिवक्ता दिनेश त्रिपाठीले कांग्रेसमा निम्तिएको यो विवादको जिम्मेवार पार्टी सभापति लगायत संस्थापन भएको बताए। ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरिसकेपछि अधिवेशन बोलाउने जिम्मा पार्टी सभापतिको हो, तर उहाँले किन बाेलाउनु भएन मलाइ थाहा छैन,’ उनले भने, ‘अब महाधिवेशन सम्पन्न भइसक्यो। ५६ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधीले नयाँ नेतृत्व चुनिसक्यो, यसैले वैधता पाउँछ।’

यो विवादलाई चिर्दै आयोगले विशेष महाधिवेशन र यसले निर्वाचित गरेको नेतृत्वलाई मान्यता दिएको हो ।     

देउवा पक्षका कसैप्रति ‘गालीगलौज’ नगर्न गगन–विश्वको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद उत्कर्षमा पुगेका बेला गगन थापा–विश्वप्रकाश शर्मा समूहले शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्तामाथि कुनै पनि प्रकारको गालीगलौज नगर्न स्पष्ट निर्देशन दिएको छ । सामाजिक सञ्जालदेखि सार्वजनिक अभिव्यक्तिसम्म संयम अपनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आन्तरिक सर्कुलर नै जारी गरिसकेको उक्त समूहका एक पदाधिकारीले बताएका छन् ।

उनका अनुसार भविष्यमा पार्टीको आधिकारिकता कसको पक्षमा आए पनि सबैलाई समेटेर अघि बढ्नु पर्ने भएकाले अहिले नै कटु शब्द प्रयोग नगर्न नेतृत्वले सचेत गराएको हो । ‘भोलि हामीले आधिकारिकता पाए पनि पार्टी एकताबद्ध बनाएर लैजानु पर्छ । त्यसैले अहिले अर्को पक्षमा रहेका नेताहरूलाई लक्षित गरेर गालीगलौज नगर्न सभापति र उपसभापतिले निर्देशन दिनु भएको छ,’ ती पदाधिकारीले भने ।

यसअघि देउवा पक्षले भने गगन थापा पक्षका नेता–कार्यकर्ताबाट सामाजिक सञ्जालमा अपशब्द प्रयोग भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । यही विवादका बीच बिहीबार दुवै पक्ष निर्वाचन आयोग पुगेका छन्। गगन थापा नेतृत्वको समूह आधिकारिकता दाबी गर्दै आयोगभित्र छलफलमा जुटेको थियो भने शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ता आयोग बाहिर नाराबाजी गर्दै उपस्थित भएका थिए । देउवा समूहले ‘विशेष महाधिवेशन चिन्दैनौं’, ‘शेरबहादुर देउवा जिन्दावाद’ र ‘नेपाली कांग्रेस जिन्दावाद’का नारा लगाएका थिए ।

आयोगभित्र छलफल सकेर गगन थापा समूह बाहिरिँदा उपसभापति विश्वप्रकाश शर्माले महामन्त्री प्रदीप पौडेललाई फोन गरेर बाहिरिन आग्रह गरेको बताइएको छ । यद्यपि, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कार्यकर्तालाई आयोग परिसर नछाड्न आग्रह गर्दै गेटमै रोक्न खोजेका थिए । प्रहरीले भने सुरक्षा कारण देखाउँदै परिसर खाली गर्न निर्देशन दिइरहेको थियो ।

निर्वाचन आयोगको कार्यालय र गेट वरिपरि दुवै पक्षका कार्यकर्ताको बाक्लो उपस्थिति भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । पार्टीको आधिकारिकतासम्बन्धी निर्णय निर्वाचन आयोगले गर्ने भएकाले अबको केही समय नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा थप तनाव र प्रतीक्षा दुवै रहने देखिएको छ ।

 

 

 

 

निर्वाचन आयोगमा देउवा र गगन पक्षधर कांग्रेसको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद निर्वाचन आयोगको कार्यालयमा शक्ति प्रदर्शनको रूपमा प्रकट भएको छ । पार्टीको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) र विशेष महाधिवेशन पक्ष (गगन थापा नेतृत्व) दुवैले एकअर्काविरुद्ध आधिकारिकताको दाबी गर्दै आयोग परिसरमा प्रदर्शन र धर्ना दिएका हुन् । विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको पक्षले बिहीवार आधिकारिकताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो ।

त्यसको प्रतिवादमा शुक्रवार बिहानै देउवा पक्षका शिर्ष नेता तथा कार्यकर्ताहरूको जम्बो टोली आयोग पुगेको हो । आयोग परिसरमा देउवा पक्षका नेताहरूले आफूहरू नै वैधानिक कांग्रेस भएको जिकिर गर्दै शक्ति प्रदर्शन गरेका छन् । संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको भन्दै आलोचना गरेका छन् । उनीहरूले यदि आयोगले विधान, संविधान र कानुनविपरीत निर्णय गरेमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

यता, गगन थापा पक्षले पनि आयोगमा दबाब बढाउँदै धर्ना तथा प्रदर्शन गरेको छ । उनीहरूले बहुमत महाधिवेशन प्रतिनिधिको समर्थनमा विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक भएको दाबी गरेका छन् । विशेष महाधिवेशनले नयाँ कार्यसमिति गठन गरिसकेको र पुरानो समिति स्वतः भंग भएको उनीहरूको तर्क छ । निर्वाचन आयोगले दुवै पक्षको निवेदन तथा दाबीमाथि छलफल गरिरहेको जनाएको छ ।

आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी ऐन, पार्टी विधान र विगतका नजिरका आधारमा हुने बताइएको छ । नेपाली कांग्रेसको यो विवादले आगामी निर्वाचनलाई समेत प्रभावित पार्ने आशंका गरिएको छ । पार्टीको नाम, चुनाव चिन्ह ‘रुख’ र झण्डाको आधिकारिकता कसले पाउने भन्ने विषयमा आयोगको निर्णय निर्णायक हुने देखिन्छ । दुवै पक्षले आयोगको निर्णयलाई चुनौती दिने तयारी गरेका छन् । यो विवादले नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत गरेको छ ।
तस्वीरहरु : अनुप प्रधान / न्युज एजेन्सी नेपाल

 

 

कांग्रेस विभाजनबारे ओली : कसैले सडकमा बहुमत पुर्‍याएँ भनेका भरमा हुन्छ ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु मुलुकको लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन् । पार्टीको विधान, विधि र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै सडकको भीडलाई बहुमत ठान्ने प्रवृत्तिले लोकतन्त्र नै संकटमा पर्ने उनको चेतावनी थियो ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित एमालेको राजधानी प्रदेश कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विशेष महाधिवेशनको नाममा पार्टी विधान लत्याउने र सडकबाट बहुमत प्रमाणित गर्न खोज्ने अभ्यासले समाजलाई अराजकतर्फ लैजाने षड्यन्त्र भइरहेको आरोप लगाए । ‘बैठक कसले बोलाउने, महाधिवेशन कसले बोलाउने भन्ने थिति हुन्छ। बहुमत–अल्पमत टुंग्याउने विधि हुन्छ’, उनले भने, ‘कसैले सडकमा बहुमत पुगेको छ भनिदिँदैमा बहुमत पुग्छ ?’

कांग्रेस विभाजनको अवस्थामा पुग्नु आफूलाई आश्चर्य र पीडादायी लागेको उल्लेख गर्दै ओलीले लोकतन्त्र, संविधान र कानूनी शासन मिचिएको वर्तमान अवस्थामा कांग्रेस जस्तो पार्टीले आन्तरिक झगडामा अल्झिनु दुर्भाग्यपूर्ण भएको बताए । ‘लोकतन्त्रका लागि लड्नुपर्ने बेला पार्टी फुटाउने स्थितिमा कांग्रेस पुगेको छ’, उनले प्रश्न गरे, ‘यो कांग्रेसका नेता–कार्यकर्ताका लागि चिन्ताको विषय होइन र ?’ अध्यक्ष ओलीले एमालेभित्र पनि सानातिना असन्तुष्टि थाती राखेर एकताबद्ध हुन कार्यकर्तालाई आग्रह गरे । ‘अहिले असन्तुष्टि संकलन गरेर चाङ लगाएर हिँड्ने बेला होइन’, उनले भने, ‘देश, जनता, लोकतन्त्र, शान्ति र सुशासनका लागि दिल खोलेर लड्ने बेला हो ।’

सामाजिक सञ्जालमा आक्रामक हुन निर्देशन

कार्यक्रममै अध्यक्ष ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै एमाले कार्यकर्तालाई सामाजिक सञ्जालमा सक्रिय हुन विशेष निर्देशन दिएका छन् । ‘अबको लडाइँ सामाजिक सञ्जालबाट पनि लड्नुपर्छ’, उनले भने, ‘दिनमा कम्तिमा १० वटा मेसेज गर्नुस्, १० वटा स्टाटस लेख्नुस् । राम्रो कामको प्रशंसा गर्नुस्, लाइक थिच्न कञ्जुस्याइँ नगर्नुस् ।’ अहिले विश्राम गर्ने समय नभएको उल्लेख गर्दै उनले ‘४० कटेपछि रमाऔंला’ गीतको उदाहरण दिए ।

‘अहिले थकाइ मार्ने बेला होइन, चुनावपछि थकाइ मारौंला’, उनले भने । आगामी प्रतिनिधिसभा निर्वाचन जुनसुकै महिनामा भए पनि एमालेले ‘स्विप आउट’ गर्ने दाबी गर्दै उनले सानो अन्तरले होइन, ठूलो मतान्तरले जित्नुपर्नेमा जोड दिए ।एमाले नै देशको सबैभन्दा सशक्त, संगठित र एकीकृत पार्टी भएको दाबी गर्दै ओलीले भने, ‘वडा–टोलसम्म संगठन भएको पार्टी अरू कसैको छैन । उम्मेदवार खोज्न हात उठाउनु पर्ने अवस्था अरूको छ ।’ आगामी चुनावपछि एमाले प्रमुख दल बन्ने उनको विश्वास थियो ।

 

 

 

कांग्रेसको दुई समूहको उपस्थितिले निर्वाचन आयोगमा तनाव, उच्च सुरक्षा सतर्कता

काठमाडौं । नेपाली कांग्रेसको दुई पक्षको उपस्थितिले निर्वाचन आयोग कार्यालय परिसरमा तनाव सिर्जना भएको छ । भर्खरै सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेससँग छलफल चलिरहेका बेला सानेपाबाट पत्रकार सम्मेलन आयोजना गरी पुनः निर्वाचन आयोग पुगेको देउवा पक्षीय कांग्रेसका नेता–कार्यकर्ताबीच विवादको अवस्था सिर्जना भएको हो ।

जसका कारण अहिले आयोग कार्यालय परिसरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । दुवै पक्षका कांग्रेसले आफू आधिकारिक भएको दावी गर्दै आयोगमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आयोगले आज दुबै समूहसँग छलफल गरेको थियो । आयोगले पहिलो चरणमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेससँग पार्टीको आधिकारिकता, चुनाव, चिन्ह र झण्डका विषयमा छलफल गरेको थियो । त्यसपछि उक्त पक्ष आफ्नो पार्टी कार्यालय सानेपा फर्किएको थियो ।

देउवा पक्षीय कांग्रेससँगको छलफलपछि गगन थपा नेतृत्वको कांग्रेस नेता–कार्यकर्ता आधिकारिकता दावीसहित आयोगमा धलफल गर्न पुगेका थिए । उनीहरुले आफूलाई आधाकारितकता दिनुपर्ने दावी गर्दै धर्ना समेत दिएका थिए । सानेपामा पत्रकार सम्मेलनपछि देउवा नेतृत्वको कांग्रेस नेता–कार्यकर्ता पुनः आयोग पुगेपछि तनावको अवस्था सिर्जना भएको हो । सानेपाको पत्रकार सम्मेलनमा कांग्रेस कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

 

 

दुई दिनभित्र १६५ क्षेत्रका उम्मेदवार टुंग्याउँछौं, आयोगले छिटो निर्णय देओस् : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेस (गगन पक्ष) ले आगामी निर्वाचनका लागि १६५ क्षेत्रका उम्मेदवार दुई दिनभित्रै टुंग्याउने तयारी गरेको छ । उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगसँग छिटो निर्णय दिन आग्रह गर्दै कांग्रेसको विषयमा आयोगसँग पूर्ण सहकार्य रहने बताए ।

शर्माले शुक्रबार निर्वाचन आयोगमा आयोजित छलफलमा भने, ‘सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय बोर्ड गठन गरेर चुनावको तयारी सुरु गरिसकेको छ । हामी दुई दिनभित्रै सबै १६५ क्षेत्रका उम्मेदवार टुंग्याउने गरी काम गरिरहेका छौं । निर्धारित समयमा चुनाव हुन आयोगलाई हाम्रो साथ रहन्छ, तर निर्णय ढिला नगरियोस् ।’ कांग्रेसको नियमित महाधिवेशन नहुँदा विधानको धारा १७ अनुसार विशेष महाधिवेशन गर्नु बाध्यकारी रहेको उनले बताए। अर्की उपसभापति पुष्पा भुसालले पनि विशेष महाधिवेशनको निर्णय अनुसार दल अद्यावधिक गर्न आयोगसँग आग्रह गरेकी छन् ।

विशेष महाधिवेशनको मागलाई लिएर हस्ताक्षर फिर्ता हुने विषयमा विवाद छ । शर्माले आयोगमा जानकारी गराए अनुसार, विशेष महाधिवेशन माग गर्ने ९० जनामध्ये हालसम्म २९ जनाले मात्रै हस्ताक्षर फिर्ता गरेका छन् । यसअघि शेरबहादुर देउवा पक्षले भने ८८५ जनाले हस्ताक्षर फिर्ता गरेको दाबी आयोगमा पेश गरेको थियो। शर्माले जवाफ दिँदै भने, ‘कसैले हस्ताक्षर फिर्ता गरे पनि त्यसलाई अन्यथा बुझ्नु हुँदैन । विधि र समयअनुसार मात्र फिर्ता मान्य हुनेछ। माघ ६ गते प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता छ, त्यसअघि फिर्ता भए मात्र मान्य हुन्छ । त्यसपछि फिर्ता भनेको दाबी मान्य हुँदैन ।’

उपसभापति शर्माले स्पष्ट पारे, ‘हाम्रो विशेष महाधिवेशनको समयावधिभित्र फिर्ता गरिएको संख्या २९ जना हो। गाउँ फर्किसकेपछि फिर्ता भनेकालाई मान्न नमिल्ने र दाबी खारेज हुने नियम छ ।’ यो विवाद कांग्रेसभित्रको आन्तरिक संघर्ष र आगामी निर्वाचन तयारीलाई लिएर आयोगसँगको समन्वयमा के कस्तो असर पार्नेछ, भन्ने विषयमा राजनीतिक विश्लेषकहरू ध्यान दिइरहेका छन् ।

 

 

 

 

महान्यायाधिवक्ताको निर्णय : सबै सहकारी ठगीका अभियुक्तको मुद्दा संशोधन स्वीकृत

काठमाडौँ । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेसँग जोडिएका मात्र होइन, सहकारी ठगीसँग सम्बन्धित सबै अभियुक्तको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी छन्। पहिले भण्डारीले लामिछानेको हकमा मात्र अभियोगपत्र फिर्ता लिन निर्देशन दिएकी थिइन् ।

तर यस विषयमा विवाद उठेपछि र नेपाल बार एशोसिएसन लगायतको दबाबपछि उनले सर्वसमान आधारमा सबै अभियुक्तको हकमा निर्णय सच्याएकी बताइन् । भण्डारीले भनिन्, ‘हामीले विभेद गर्न मिल्दैन । सबैलाई एउटै निर्णय हुनेछ ।’यसअघि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता आयुष बडाल, आभास रेग्मी, स्मृति अधिकारी, प्रवीण पौडेल र युवराज पौडेलले संयुक्त रूपमा रिट दायर गरी महान्यायाधिवक्ताको निर्णय संविधान र कानूनविपरीत भएको भन्दै बदरको माग गरेका छन् । सर्वोच्च अदालतले रिट अध्ययन गरिरहेको छ र रिट दर्ता हुने वा नहुनेबारे आइतबार निर्णय हुने जनाइएको छ । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

 

 

 

आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको विवाद र आन्दोलनको धम्कीले निर्वाचन आयोग प्रभावित नहुने विश्वास व्यक्त गरेका छन् । उनी विशेष महाधिवेशनबाट निर्वाचित भएका हुन् र हाल निर्वाचन आयोगलाई पार्टीको विधान कार्यान्वयनबारे जानकारी गराउन पुगेका थिए ।

उपसभापति शर्माले केहीबेरअघि कांग्रेस केन्द्रीय कार्यालयमा भएको पत्रकार सम्मेलनको सन्दर्भ दिँदै भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भन्ने कुरा भर्खरै सुन्नु भयो होला । तर हामी विश्वास गर्छौं कि आयोग यस्तो धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन ।’

उनीसँगै गगन थापाले पनि निर्वाचन आयोगमा उपस्थित भई पार्टीको विधान कार्यान्वयन सम्बन्धी अवस्था बुझाएका थिए । उनका अनुसार, पार्टीको केन्द्रीय समितिले विशेष महाधिवेशन मागकर्तालाई सम्बोधन नगरेपछि उनीहरूले स्वतन्त्र रूपमा महाधिवेशन आह्वान गर्नु परेको थियो ।

शर्माले आयोगलाई जानकारी दिँदै भने, ‘विशेष महाधिवेशनमार्फत निर्वाचित पदाधिकारी नै पार्टीको आधिकारिक प्रतिनिधि हुन् । कारबाही गर्ने कुरा कानुनसम्मत छैन । हामीले विशेष महाधिवेशन मागकर्ताले विधानअनुसार नै आह्वान गरेको हो । नियमित महाधिवेशनको तालिका नआएको अवस्थामा विशेष महाधिवेशनको प्रावधान अनुसार अघि बढ्नु स्वाभाविक हो ।’

थापाले पनि स्पष्ट पारे, ‘विशेष महाधिवेशन माग भएको ९० दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था विधानमा छ । १५औं महाधिवेशनको तालिका कार्यान्वयन नभएपछि हामी विशेष महाधिवेशन आह्वान गर्न बाध्य भयौं । कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यालय महामहामन्त्री मातहत रहने व्यवस्था गरिएको छ र सोहीअनुसार प्रक्रिया अघि बढाइएको छ ।’ विशेष महाधिवेशनको निर्णयले पार्टीमा विवादित कारबाहीको कानुनी पक्षलाई पनि चुनौती दिएको छ । यसले पार्टीभित्रको नेतृत्व र विधान कार्यान्वयनबारे नयाँ बहस सुरु गरेको छ ।

 

 

 

घरधनीकै योजनामा लुटिएको थियो सिन्धुलीमा एसबिआई बैंक, सातै जना पक्राउ

सिन्धुली । पुस २९ गते साँझ सिन्धुलीको घ्याङलेख–२ हायुटारस्थित एसबिआई बैंक शाखामा भएको तीन करोड ७ लाख रुपैयाँको लुटपाटमा सात जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये बैंकको घरधनी छविलाल स्याङतान र उनका जेठान चतुरमान बज्यु मुख्य संलग्न व्यक्ति हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, राति साढे ७ बजे लुटेराहरूले बैंकमा प्रवेश गरी सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंकभित्र प्रवेश गर्दा उनीहरूले प्लाष्टिकको पेस्तोल देखाएर ताल्चा खोलाएका थिए । सुरक्षागार्ड रुद्रबहादुर कार्कीलाई सामान्य घाइते बनाएपछि उनीहरूले पैसा बोरा र झोला भित्र राखेर जंगलतर्फ भागेका थिए ।

घटनामा ठूलो समूह संलग्न रहेको प्रहरीले जनाएको छ । बैंकबाट फरार भएकाहरूमध्ये केहीलाई करिब दुई किलोमिटर पूर्व लिपिखोलामा नियन्त्रणमा लिइएको थियो । प्रहरीले जंगल र विभिन्न स्थानमा लुकाइएको रकम पनि फेला पारेको छ। प्रारम्भिक खोजीमा २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद भएको छ भने बाँकी रकमको खोजी जारी छ ।

पक्राउ परेकामध्ये भागवतसिंह थापा (काभ्रेपलाञ्चोक, ४२ वर्ष), चतुरमान बज्यु (सिन्धुली, ४७ वर्ष), शशांक श्रेष्ठ (चितवन, २४ वर्ष), मिलन गिरी (नुवाकोट, २३ वर्ष), विवेक मगर (नुवाकोट, १९ वर्ष), छविलाल स्याङतान (सिन्धुली, ४४ वर्ष) र एक १६ वर्षीय नाबालक रहेको प्रहरीले जनाएको छ ।

एसपी सुवेदीले घटनाको योजनासम्बन्धी जानकारी पनि दिएका छन् । उनका अनुसार लुटपाटको योजना गत असोजदेखि नै बनाइएको थियो । पुस २३ गते पहिलो प्रयास असफल भएपछि पुस २८–२९ गते दोश्रो प्रयास सफल भएको थियो । बैंकको घरधनी स्याङतानले आवश्यक हातहतियारको व्यवस्था र सूचना आदानप्रदान गरेको पाइएको छ । प्रहरीले बाँकी रकम र अन्य संलग्न व्यक्तिहरूको खोजी जारी राखेको छ । पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन हिरासत अनुमति लिइएको छ ।

खड्काको चेतावनी : निर्वाचन आयोगले वैधानिकता नदिए देशभर आन्दोलन गर्छौं

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले षड्यन्त्र र दबाबमा परेर निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरित निर्णय गरेर वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिए । उनले पार्टीको केन्द्रिय कार्यसमिति बाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरु नै आधिकारिक भएको जिकिर गरे ।

उनले भने, ‘पार्टीको विधान, संविधान र निर्वाचनसम्बन्धी ऐन र दलसम्बन्धी ऐनको आधारमा भन्दा तलमाथि भएर यदि निर्वाचन आयोगले षड्यन्त्र र दबाबमा परेर संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै आयोगले नेपाली कांग्रेसको विधानविपरित अन्यथा निर्णय गर्यो भने देशभर आन्दोलन गर्नेबाहेक हामीसँग विकल्प हुने छैन । प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रुख लिएर हामी अगाडि बढ्छौँ । हामीलाई निर्वाचन आयोगले त्यस्तो गर्छ भन्न लागेको छैन । आशंका, अविश्वास र बाहिर आएका भ्रमहरुका आधारमा भनेका हौँ ।’ पुस अन्तिममा काठमाडौंमा सम्पन्न पार्टीको विषेश महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजित भएको छ । पार्टीको संस्थापन पक्ष र विशेष पक्ष वैधानिकताको लडाइँमा छन् ।