`

मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवले राजीनामा दिएकोमा त्यसलाई स्वीकृत गरेका हुन्।

बुधबार मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको परमादेश अनुसार विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाएकोमा विश्वासको मत पाउने अवस्था नदेखेपछि रोष्टमबाट राजीनामा घोषणा गर्दै नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड (क) अनुसार राजीनामा दिएका थिए।

यादवले दिएको राजीनामालाई प्रदेश प्रमुख कर्णले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिएका हुन्। उनका अनुसार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ।

प्रदेश प्रमुख कर्णले अब सर्वोच्च अदालतको परमादेशअनुसार नै नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बुधबार  दिउसो २ बजे विश्वासको मत लिने गरि व्यवस्था गर्न प्रदेश सभामा पत्र पठाएको जानकारी दिएका हुन् ।

यादवले आफुले विश्वासको मत पाउने दाबि गर्दै आफुले बुधबार विश्वासको मत लिने बताएका हुन् । यादवले आफुले सर्वोच्चको आदेश नपाएपछि आफ्नै अनुरोधमा प्रतिलिपि मगाएर विश्वासको मत लिन बैठक राखिदिन प्रदेश सभालाई आफुले पत्र लेखेको बताएका हुन् ।

उनले आफुले दलहरुसँग छलफल मै रहेको र भोली बिहानसम्म दलहरु पनि विश्वासको मत दिने नदिने स्पष्ट हुने बताएका छन् ।