`

जसपा नेपालका यादव मधेश प्रदेशको सभामुखमा निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकूल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।

 

 

 

मधेशमा आज सभामुखको निर्वाचन हुँदै

काठमाडौँ । मधेश प्रदेश सभामुखका लागि आज (आइतबार) निर्वाचन हुने भएको छ । शनिबार मधेश प्रदेश सभामा सातदलीय गठबन्धनबाट जसपा नेपालका रामअशिष यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा एमालेले त्रिलोकी प्रसादलाई उम्मेदवार बनाएको छ ।

पद अनुकूलको आचरण नगरेको भन्दै सात दलीय गठबन्धनले दुई तिहाइबाट यसअघिका सभामुख रामचन्द्र मण्डललाई मंसिर ३ गते दुहटाएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढेको हो । दिउँसो १ बजे प्रदेशसभा बैठकमा सभामुखको निर्वाचन कार्यतालिका छ ।

मधेशका मुख्यमन्त्री यादवको शपथ लगतै तीन मन्त्री नियुक्त

जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो । गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।

यस्तै मुख्यमन्त्री यादवले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसका जंगीलाल राय, जनमतका महेश प्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिस पटेललाई मन्त्री नियुक्त गरेका हुन् । जनमतका महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादीका कनिस पटेलको मन्त्रालय भने तोकिएको छैन । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

मधेशका नव नियुक्त मुख्यमन्त्री यादवको आज शपथ

जनकपुर । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (आइतबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा कांग्रेस संसदीय दलका नेताका तर्फबाट मुख्यमन्त्री नियुक्त यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार जनकपुरधाममा शपथ ग्रहणका सबै तयारी पूरा भएका छन् ।

यसअघि संविधानको धारा १६८(३) बमोजिम ठूलो दलका हैसियतमा नियुक्त भएका नेकपा एमालेका नेता सरोजकुमार यादवले विश्वासको मत लिनसक्ने सम्भावना नदेखिएपछि मंसिर १७ गते राजीनामा दिए थिए । सर्वोच्च अदालतले उनी नियुक्त भइसकेपछि २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत प्राप्त गर्ने परिस्थिति नबनेपछि उनले पद त्यागेपछि नयाँ बहुमत निर्माण भएको हो ।

शनिबार राति बसेको बैठकपछि सरकार गठनमा सहभागी दलहरूले मन्त्रालय बाँडफाँडमा मोटामोटी सहमति गरेका छन् । सहमति अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउनेछ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि तीन मन्त्रालय दिने सहमति भएको छ ।

मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले दुई मन्त्रालय व्यवस्थापन गर्नेछ भने जनमत पार्टीले पनि दुई मन्त्रालय पाउनेछ । विश्वासको मत नपाए पनि सरकार विस्तारमा सहभागी हुन लागेको लोसपा नेपालले पनि दुई मन्त्रालय प्राप्त गर्ने सहमति बनेको छ ।

गत कार्तिक २३ गते एमालेका सरोज कुमार यादव १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्चमा रिट दायर गर्दै प्रक्रिया गलत भएको दाबी गरेको थियो । त्यसपछि अदालतको निर्देशनअनुसार विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था उत्पन्न भयो, तर मत सुनिश्चित नभएपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।

यही परिस्थितिमा कांग्रेस नेता यादवले कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीसँगै अन्य मिलेर ७७ सदस्यको बहुमत देखाउँदै दाबी पेस गरेका थिए । आज शपथसँगै मधेशमा नयाँ सरकार आधिकारिक रूपमा स्थापना हुँदैछ ।

मधेशका मुख्यमन्त्री यादवको शपथ र मन्त्रिपरिषद विस्तार आइतबार

जनकपुरधाम । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार शपथ ग्रहण गर्ने भएका छन् । सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई बिहान १०ः३० बजे पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् ।

यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सात दलबीच भएको लामो छलफलले यादवको नाममा सहमति जुटेको थियो । सरकारमा लग्ने मन्त्रीका विषयमा छलफल भइरहेको छ । तत्काल सातै दलबाट एक–एक मन्त्री नियुक्त हुने प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमालेबाहेकका सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका २२, जसपाका १८, जनमतका १२, माओवादीका ९, लोसपाका ८, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्तिका १ सांसदको समर्थन छ । सात दलीय गठबन्धनको तर्फबाट दाबी पेस गरेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

कांग्रेसका यादव मधेशको छैटौं मुख्यमन्त्री नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् । योसँगै मधेशले छैटौं मुख्यमन्त्री पाएको छ । प्रदेशमा नेपाली कांग्रेसले भने पहिलो पटक मुख्यमन्त्री पाएको छ । यादवले ७७ जना सांसदको समर्थनमा दाबी पेस गरेका थिए । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित उनले दाबी पेस गरेका हुन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा ३ जना सांसद निलम्बनमा छन् । त्यसैले सरकार बनाउन तत्काल कायम रहेका १०४ सदस्यको बहुमत ५३ जनाको समर्थन चाहिन्छ । गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । सात दलीय गठबन्धनले कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने आजै सहमति गरेका थिए । जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै एक साताभित्रै विश्वासको मत लिने सात दलीय गठबन्धको तयारी छ । सातै दलका नेताहरूले दाबीपत्रमा हस्ताक्षर गरेका छन् ।

मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने आज अन्तिम दिन, छलफलमा दलहरु

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया निर्णायक मोडमा पुगेको छ । एमाले बाहेकका सात दल गठबन्धनबद्ध भएर आजै नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तयारी अवस्थामा छन् । प्रदेश प्रमुखले तोकेको समयसीमा अनुसार आज साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्ने भएकाले दलहरू बिहानैदेखि अन्तिम छलफल र समन्वयमा व्यस्त छन् ।

गत कात्तिक २४ गते शपथ लिएर विवादमा तानिएका तत्कालीन मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सर्वोच्च अदालतको आदेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन नसकेपछि मंसिर १७ मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सात दलीय गठबन्धन—नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी—ले नयाँ सरकार बनाउने सहमति गरेका छन्। १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक ५४ भन्दा धेरै ७३ जना सांसद उनीहरूका पक्षमा छन्, जसले सरकार गठनको प्रक्रिया सहज बनाएको छ ।

गठबन्धनभित्र मुख्यमन्त्रीका लागि मुख्य दाबेदारमा लोसपाका जितेन्द्र सोनल र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव रहेका छन् । यद्यपि नेताहरूबीच बिहीबार झण्डै आठ घण्टासम्म चलेको छलफलमा नाम टुंगो नलागेपछि आज पुनः बसेर अन्तिम निर्णय गर्ने सहमति भएको एक सांसदले जानकारी दिए । जसपाका संसदीय दलका नेता सरोजकुमार यादवले भने गठबन्धनले साझा सहमति कायम गरिसकेको बताउँदै आज दिउँसो २ बजे नै दाबी पेस हुने दाबी गरेका छन्।

उनका अनुसार मुख्यमन्त्रीसँगै सबै दलका मन्त्रीहरूले एकैपटक शपथ लिने तयारी छ । यसैबीच एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सभामुख पद पनि रिक्त छ, जसमा जसपाले दाबी गर्ने संकेत देखिएको छ । नयाँ सरकार, नयाँ शक्ति सन्तुलन र प्रदेश सभाको नेतृत्व कसरी बन्छ भन्ने प्रश्नमा प्रदेशभर राजनीतिक सरगर्मी तीव्र बनेको छ ।

मधेशमा नयाँ सरकार बनाउन सात दल सक्रिय, मुख्यमन्त्री कृष्ण कि सोनल ?

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने संकेत पाएपछि राजीनामा दिएसँगै अन्य दलहरु नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । सर्वोच्च अदालतको परमादेशपछि बुधबार उनले पद छाडेपछि नयाँ सरकार गठनका लागि दलहरूबीच संवाद र गृहकार्य सुरु भएको हो ।

कांग्रेस, जसपा नेपाल, लोसपा र अन्य गरी सात दलबीच सरकार गठनका विषयमा अनौपचारिक संवाद सुरु भइसकेको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले जनकपुरमा जानकारी दिए । उनका अनुसार दलहरू साना–साना समूहमा बसेर विकल्पको खोजी गरिरहेका छन् र चाँडै नै औपचारिक बैठक बस्ने तयारी छ । जसपा नेपालको अडान छ–संघीयता र लोकतन्त्रलाई बलियो बनाउने नेतृत्व जुन दलले दिन सक्छ, दल त्यहीसँग जानेछ । ‘मुख्यमन्त्रीको पदभन्दा संस्थागत सुधार महत्वपूर्ण हो,’ यादवले भने ।

यसबीच, ठूलो दलको हैसियत राख्ने नेपाली कांग्रेसले नेतृत्व आफ्नो हातमै हुनुपर्ने दाबी अघि सारेको छ । पार्टीले संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई सम्भावित मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । कांग्रेस प्रमुख सचेतक कुँवरकान्त झाले यादवलाई सबै दलसँग वार्ता सञ्चालन गर्ने जिम्मेवारी दिएको जानकारी दिए । तर लोसपाले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी अघि सारेको छ । लोसपाका सांसद उपेन्द्र महतोका अनुसार अल्पकालीन भए पनि जितेन्द्र सोनल नेतृत्वको सरकार प्रभावकारी भएकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नु उपयुक्त हुने पार्टीको धारणा छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् । दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत जुटाउन सक्ने सदस्यले शुक्रबार साँझ ५ बजेसम्म दाबी पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । यता, एमालेले भने अब बन्ने जुनसुकै सरकारलाई विश्वासको मत दिने घोषणा गरेको छ । कार्यवाहक मुख्यमन्त्री तथा संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार प्रदेशमा लगातार सरकार ढलिरहेको अवस्थाले स्थिरता खलबलिएको भन्दै एमाले बाहिर बसेर स्थिरताका लागि सहयोग गर्ने सोंचमा रहेको जनाएका छन् ।

‘सरकार जेसुकै स्वरूपमा आए पनि स्थिरता आवश्यक छ,’ उनले भने । अब मधेश प्रदेशमा कांग्रेसबाट कृष्णप्रसाद यादव वा लोसपाबाट जितेन्द्र सोनलमध्ये कसले बहुमतको दाबी पेश गर्छन्, त्यसले आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ । प्रदेशसभामा अंकगणित जटिल बनेका कारण सात दलको सहमति नै सरकार गठनको मूल कडी बन्ने देखिएको छ ।

मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।

२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिएका थिए । विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।

मुख्यमन्त्री नै अनुपस्थित, सर्‍यो मधेश प्रदेशसभा बैठक

जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक तोकिएको भन्दा २ घण्टा ढिला सुरु भए लगतै सारिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले २ बजे मात्र विश्वासको मत लिने अडान राखेपछि बैठक सारिएको हो । प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।

तर, करिब साढे १० बजेसम्म मुख्यमन्त्री सरोजकुमार यादव प्रदेश सभामा आएका छैनन् । विपक्षी दलका प्रदेश सांसदहरू बिहानै ८ः३० बजे आएर प्रदेश सभामा कुरिरहेका छन् । नेकपा एमालेका समेत केही प्रदेश सांसदहरू आइसकेका छन् ।
मुख्यमन्त्री यादवले दिउँसो २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए । तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले आज बिहान ८ः३० बजे प्रदेश सभा बैठक राख्ने सहमति गरेका थिए । तर मुख्यमन्त्री यादवले विगतमा पनि विश्वासको मत लिन मुख्यमन्त्रीहरूले आग्रह गरेअनुसार समय निर्धारण गरेपनि विपक्षी दलहरूको उक्साहटमा उपसभामुखले बिहान साढे आठ बजे नै समय तोकेको गुनासो गरे ।

‘विगतमा पनि मुख्यमन्त्रीहरूले विश्वासको मत लिन पठाएको पत्र अनुसार समय निर्धारण गरिएको थियो। तर मैले पठाएको पत्र अनुसार नगरेर उपसभामुखले दलहरूको उक्साहटमा आज बिहानै प्रदेशसभा बैठक राख्नु भयो,’ उनले भने । मुख्यमन्त्री यादवकै अडान अनुसार आज दिउँसो दुई बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । उपसभामुख ईशरले पुनः कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर मुख्यमन्त्री यादवले मागेकै समयअनुसार दिउँसो २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिइन् ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश गरेपछि प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आफूलाई यसको औपचारिक रुपमा आदेशको प्रति प्राप्त नभएको बताउँदै प्रदेश सभाबाट प्रति ल्याएर प्रक्रिया अगाडि बढाउन आफूले अग्रसरता लिएको जानकारी दिएका थिए ।

मधेश प्रदेश सभा बैठक बस्न ढिलाई, सुरक्षा व्यवस्था कडा

जनकपुर । मधेश प्रदेशमा विश्वासको मतको प्रक्रिया फेरि एकपटक अनिश्चित बन्दै गएको छ । बुधबार बिहान ८ः३० बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएकाले प्रदेश सभा सदस्यहरु समयमै जनकपुरधामस्थित सभा भवन पुगे पनि मुख्यमन्त्री सरोज कुमार यादव उपस्थित नहुँदा बैठक निर्धारित समयमा सुरु हुन सकेन । विश्वासको मत पेश गर्नुपर्ने मुख्य एजेण्डा भएको बैठकमा मुख्यमन्त्री नपुगेपछि सभाहलमा भेला भएका सांसदहरू प्रतीक्षामा बसिरहेका छन् ।

मंगलबार दिउँसो मुख्यमन्त्री यादवले २ बजेको समय माग्दै पत्र पठाएका थिए । तर सर्वदलीय बैठकले त्यसअघि नै बुधबार बिहान बैठक डाक्ने निर्णय गरेपछि सत्ता पक्षमै आन्तरिक असमझदारी देखिएको छ । उक्त सर्वदलीय बैठक उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको थियो ।

प्रदेशसभा बैठक बस्न ढिलाइ भइरहँदा भवन परिसरमा सुरक्षा कडा पारिएको छ । तालिम प्राप्त कुकुरमार्फत सुरक्षा जाँच गरिएको छ, जुन जेनजी आन्दोलनको क्रममा सुरक्षा उपकरण जलाइएपछि अपनाइएको विधि हो । यसअघि पनि मुख्यमन्त्री विश्वासको मतको प्रक्रियासँग जोडिएको संवेदनशील दिनमा यस्तो सुरक्षा जाँच गरिएको थियो । मधेश प्रदेशको हालको राजनीतिक अस्थिरताको मूलमा सर्वोच्च अदालतको आदेश छ । अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएको थियो । आदेश आएको भोलिपल्ट मुख्यमन्त्रीले आफूसँग आदेशको औपचारिक प्रति नआएको तर प्रक्रिया अघि बढाउन सचिवालयसँग सहयोग मागेको बताएका थिए । तर बिहानको बैठकमा उनको अनुपस्थितिले परिस्थिति झनै उल्झिएको छ ।

यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए । त्यसपछि संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर बर्दिवासस्थित होटलमा झिसमिसेमा गरिएको शपथले व्यापक विवाद खडा गर्दै दलहरू सर्वोच्च अदालतसम्म पुगेका थिए । अब सबैको ध्यान मुख्यमन्त्री यादव कहिले सभामा पुग्छन् र विश्वासको मतको प्रक्रिया अघि बढ्छ कि बढ्दैन भन्ने प्रश्नमा केन्द्रित छ । बैठक बस्न ढिलाइ भइरहेका बेला प्रदेश सभाभित्र र वरिपरि राजनीतिक तनाव, प्रतीक्षा र अनिश्चितताको माहोल छ ।

 

मधेस सरकारबारे सर्वोच्चको फैसलामा ओलीको प्रश्न : कुन धाराको आधारमा यस्तो आदेश ?

काठमाडौं । मधेश प्रदेशमा उत्पन्न राजनीतिक जटिलतामाथि सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसप्रति तीव्र असन्तुष्टि जनाएका छन् । पार्टीको वन तथा वातावरण विभागद्वारा च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतको आदेश संविधानसँग मेल नखाने दाबी गर्दै खुला प्रश्न गरे, ‘संविधानले ३० दिनको म्याद दिन्छ, सर्वोच्चले २४ घण्टाको ? कुन धाराको आधारमा यस्तो आदेश आयो ?’

ओलीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन पाउने संवैधानिक समय पूरा हुन चार दिन बाँकी हुँदाहुँदै अदालतले अत्यन्त न्यून समयसीमा तोक्नु आश्चर्यजनक र संविधानविपरीत छ । उनले ‘आवश्यकताको सिद्धान्त’ भन्दै मनपरी समयसीमा तोक्ने अभ्यासले न्यायिक मर्यादामै प्रश्न उठेको टिप्पणी गरे । उनले प्रश्न गरे, ‘चार दिनपछि एक महिना पुग्दैछ, तर सर्वोच्च २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ । संविधानभन्दा माथि कसरी आदेश जान्छ?’

यससँगै ओलीले पछिल्ला केही निर्णयहरूमा अदालतले कानूनभन्दा व्यक्तित्व, राजनीतिक र संगठनगत झुकावका आधारमा फैसला गर्ने प्रवृत्ति बढेको आरोप पनि लगाए । उनका अनुसार यस्तो अभ्यासले न्यायिक निष्पक्षतामा जनआस्था कमजोर हुने खतरा छ । तर विवादका बीच उनले अदालतप्रति आफ्नो सम्मान कायम रहने र जारी आदेश कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘म अदालतलाई पूरा सम्मान गर्छु । तर परिस्थिति, मान्छे वा अनुहार हेरेर निर्णय गर्ने प्रवृत्ति बस्नु हुँदैन । संविधान र कानूनी मर्यादा अनुसार सबैले चल्नु पर्छ ।’ मधेश प्रदेश सरकारको टिकाउ र बहुमतसम्बन्धी विवादले राजनीतिकतरह ठूलो तानातान चलिरहेका बेला सर्वोच्चको आदेश र त्यसप्रति प्रमुख राजनीतिक नेताको असन्तुष्टिले विषयलाई थप चर्काएको छ ।

मधेश सरकार विवादमा सर्वोच्चको आदेशबारे ओलीको भनाइ जस्ताको तस्तै :

म सम्मानित सर्वोच्च अदालतको हिजोको एउटा फैसला सम्झन चाहन्छु । संविधानको धारा १६८ को प्रदेशस्तरमा भन्ने हो भने धारा २ को होस् वा ३ को होस् वा ५ को होस् । ती सरकारहरूमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ भनेर भनेको छ । हिजो सम्मानित सर्वोच्च अदालतबाट एक महिना पुग्न ४ दिन बाँकी होला । संविधानले ३० दिनभित्र विश्वासको मत लिन्छ भन्छ । सम्मानित सर्वोच्च अदालतबाट २४ घण्टाभित्र लेऊ भन्छ । म सुन्दा आश्चर्यचकित भएँ । संविधानले ३० दिनको म्याद दिन्छ । ४ दिनपछि ३० दिन पुग्दैछ ।

तीन दिन वर तान्नका लागि संविधानविपरीत २४ घण्टाको परमादेश कुन धाराको आधारमा ? आवश्यकताको सिद्धान्त भनेको त्यही हो कि ? म अदालतलाई पूरा सम्मान गर्छु । अदालतको निर्णय हामी कार्यान्वयन पनि गर्छौं । तर, मेरो आग्रह के हो भने अदालतबाट पनि खुद आफ्नै, संविधानको मर्यादा कायम हुनु वान्छनिय हुन्छ । परिस्थिति, मान्छे र अनुहार हेरेर कुनै हिसाबले फैसला होइन, संविधान कानुन र न्याय हेरेर फैसला हुनुपर्छ । संविधान विपरीतको फैसला, सधैँ नेकपा एमालेको भागमा पर्छ यस्तो फैसला चाहीँ । यो मैले कुनै अदालतप्रति मानमर्यादामा प्रभाव पार्न खोजेको होइन, प्रसंगबस ल्याएको मात्र हो ।

 

 

मधेशमा सत्ता समीकरण पुनर्संयोजन : पुरानो गठबन्धन कि नयाँ कोर्स ?

जनकपुरधाम । मधेश प्रदेशमा सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज (मंगलबार) भित्र विश्वासको मत लिन आदेश दिएपछि प्रदेशको राजनीतिक दिशाबारे नयाँ बहस सुरु भएको छ । सात दलका ७३ सांसदको संख्या रहेको गठबन्धन सुदृढ बनेपछि २४ सिटसहित एमाले एक्लिएको छ, जसले प्रदेश प्रमुखदेखि सभामुख र अब मुख्यमन्त्री समेत गुमाउने सम्भावना देखिएको छ ।

मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा जसपा नेपालका महासचिव लालबाबु राउतका अनुसार दलहरू पुरानै कोर्स—अर्थात् जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठन-तर्फ फर्कन सक्ने वा नयाँ मोडेलको सरकारबारे छलफल सुरु हुन सक्ने संकेत देखिएको छ । उनका अनुसार सात दलबीच अहिलेसम्म निश्चित सहमति बनेको छैन, तर दुवै विकल्पमा गम्भीर संवाद सुरु भएको छ । जसपाले विचार र सिद्धान्त मिल्ने दलहरूसँग सहकार्य गर्ने निर्णयअनुसार लोसपासँग पनि कुराकानी चलिरहेको उनले बताए ।

उता एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले भने देशी–विदेशी ‘चलखेल’ को कारण एमालेसँग रहेको बहुमत कमजोर पारिएको आरोप लगाए । सर्वोच्चको आदेशको स्वागत गर्दै उनले एमाले नेतृत्वको सरकार गैरसंवैधानिक भन्ने आरोप असिद्ध भएको दाबी गरे। उनका अनुसार धारा १६८ (३) बमोजिम बनेको सरकारलाई सर्वोच्चले खारेज नगरेकाले मुख्यमन्त्री नियुक्ति वैध नै ठहरिएको हो ।

मण्डलले प्रारम्भमा एमाले, कांग्रेस र जनमत पार्टीको बहुमत रहे पनि बाह्य प्रभावले गठबन्धन भत्काइयो भनेका छन् । कांग्रेससँग हाल संवाद नरहेको उल्लेख गर्दै उनले अन्य दलबाट ‘धोका’ पाएको टिप्पणी समेत गरे । विश्वासको मतको समयसीमा नजिकिँदै गर्दा मधेश प्रदेशको सत्ता समीकरण पुरानै गठबन्धनतर्फ फर्किन्छ कि नयाँ राजनीतिक संयोजन बन्छ—यो आजको घटनाक्रमसँगै निर्णायक मोडतर्फ उन्मुख देखिन थालेको छ ।

मधेसमा एमालेको सत्ता ‘धराप’ मा, मुख्यमन्त्रीलाई विश्वासको मत ‘संकट’

काठमाण्डौं । मधेश प्रदेशमा राजनीतिक घटनाक्रम द्रुत गतिमा मोडिँदै गएको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएलगत्तै प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणतर्फ दलहरूको सक्रियता तीव्र बनेको छ । एमाले बाहेकका सबै दलले यादवलाई विश्वासको मत नदिने स्पष्ट संकेत गरेका कारण उनको सरकारले बहुमत जुटाउने सम्भावना कम रहेको देखिएको छ ।

१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ मत आवश्यक छ । तर एमालेसँग सभामुखसहित जम्मा २५ सांसद मात्र छन्, त्यसमध्ये एक जना निलम्बित । अर्कोतर्फ कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी मिलेर ७३ सदस्यीय गठबन्धन बनेको छ, जसले सुरुदेखि नै यादवको नियुक्ति असंवैधानिक भएको भन्दै विरोध गर्दै आएको छ ।

एमाले बाहेकका ७३ सांसदले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले यादवलाई संविधानको धारा १६८ (३) बमोजिम नियुक्त गरिएको भन्दै एक पटक विश्वासको मत लिनुपर्ने आदेश जारी गरेको हो । विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रियामा जाने मार्ग समेत खुला गरिएको छ ।

यही व्यवस्थाले यादवलाई पनि विश्वासको मत पार लगाउन कठिन हुने आंकलन गर्न बाध्य बनाएको छ । उनका अनुसार ‘उपधारा २’ बाट सरकार गठनको विकल्प खुल्नु नै दलहरूको मुख्य माग भएकाले आफ्नो सरकार जोगिन कठिन छ ।

गएको कार्तिक २३ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेलाई ठूलो दलको आधारमा यादवलाई मुख्यमन्त्री नियुक्त गरी रातकै समयमा महोत्तरीको एक होटेलमा शपथ गराएकी थिइन् । गठबन्धन दलहरूले यसलाई संवैधानिक प्रावधान विपरीत भन्दै कडा विरोध गरेका थिए ।

बढ्दो विवादका कारण नै संघीय सरकारको सिफारिसमा भण्डारीलाई पदमुक्त गरियो र त्यसपछि प्रदेशसभाले सभामुख रामचन्द्र मण्डललाई समेत दुई तिहाइ बहुमतले पदबाट हटायो । यही कदममार्फत एमालेले प्रदेश प्रमुख र सभामुख जस्ता महत्वपूर्ण पद गुमाइसकेको अवस्थामा अहिले मुख्यमन्त्री पद समेत खोसिने निश्चित जस्तै बनेको छ ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलगायत ७३ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरू सबै यादव नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै खुलेर विरोध गरिरहेका छन् । कांग्रेसको साथमा रहेर गठबन्धन विस्तार भएको दिनदेखि नै अन्य दलहरू पनि एउटै मोर्चामा उभिएका छन् ।

गठबन्धन दलहरूले अब धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको तयारी अघि बढाइसकेका छन् । एमालेसँग केही साना दलका एक–एक सांसदको सहयोग देखिए पनि, एक सांसद कञ्चन बिच्छाको पद नै खारेज गर्ने प्रक्रियामा उनीहरूको आन्तरिक संख्या अझै घट्ने सम्भावना छ । यसले मुख्यमन्त्री यादवका लागि बहुमतको हिसाब पुस्तक झनै प्रतिकूल बनाएको छ ।

सर्वोच्चको आदेशअनुसार विश्वासको मतको प्रक्रियाले मधेश प्रदेशमा राजनीतिक अध्याय नयाँ मोडमा प्रवेश गरेको छ । एमालेबाट गठन भएको वर्तमान सरकारमा संसदमा आवश्यक समर्थन जुट्ने कुनै संकेत नदेखिएपछि प्रदेशमा नयाँ सत्ता संरचना आउने लगभग स्पष्ट छ ।एमालेले ठूलो दलको हैसियत र प्रदेश प्रमुख तथा सभामुखको सहारामा बनाएको सरकार अहिले आफ्नै कदमकै कारण संकटमा परेको छ । प्रदेशको शक्ति सन्तुलन सातदलीय गठबन्धनतर्फ फर्कदै जाँदा अब मधेशमा सरकार परिवर्तनको टुंगो लाग्ने समय मात्र बाँकी जस्तो देखिन्छ ।

मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा आज (सोमबार) सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि शुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो । मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरुले रिट दर्ता गरेका थिए ।

तीनवटै रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरिसकेको छ । उक्त रिटमा यसअघि मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वको कुनै पनि निर्णय नगर्न नगराउन भन्दै अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तत्कालीन प्रदेश प्रमुखले होटलमै एमालेका सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्ति गरेपछि यो विवाद सर्वोच्च पुगेको थियो ।

 

मुख्यमन्त्री यादवविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ भइरहेको यो मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

मधेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ प्रदेश सभासदस्यले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । यसअघि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको थियो ।

मुख्यमन्त्रीविरुद्धको रिट संयुक्त इजलासमा

काठमाडौं । मधेश प्रदेशमा उत्पन्न भएको राजनीतिक तथा संवैधानिक विवाद आज (बिहीबार) देखि निर्णायक चरणमा प्रवेश गर्ने भएको छ । प्रदेश सरकार गठनविरुद्ध ७४ सांसदले दर्ता गराएको रिटमा सर्वोच्च अदालतले बिहीबारदेखि अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा यो मुद्दा पहिलो नम्बरमै सूचीकृत छ ।

यसअघि संयुक्त इजलासले नै अन्तिम सुनुवाइको मिति टुंगो लगाइसकेको थियो । हेर्न नमिल्ने कारण वा अन्य कुनै बाधा नआएको खण्डमा निरन्तर सुनुवाइमार्फत छिटो निर्णय दिने तयारी सर्वोच्चले गरेको छ । संवैधानिक प्रकृतिको विषय भएकाले यो मुद्दालाई अदालतले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सरकार गठनसम्बन्धी विवाद तब चर्किएको थियो जब प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई बर्दिवासस्थित होटलमै गएर शपथ गराएकी थिइन् ।

एमाले बाहेक अन्य दलका ७४ सांसदले यो प्रक्रिया राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा असंगत रहेको आरोप लगाउँदै सर्वोच्च अदालत पुगेका थिए । यसैबीच अदालतले गत मंगलबार अन्तरिम आदेश जारी गर्दै नव–नियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न निर्देशन दिएको थियो । प्रदेशसभामा जम्मा १०७ मध्ये तीन जना सांसद निलम्बित भएपछि हाल कायम संख्या १०४ रहेको छ । जसअनुसार सरकार बनाउन आवश्यक बहुमत ५४ हो।

प्रतिनिनिधित्व हेर्दा एमाले २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७ तथा संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट १–१ जना सांसद रहेका छन् । यस्तो संरचनाबीच प्रदेश प्रमुखद्वारा एमाले नेता यादवको नियुक्ति सही कि नसही भन्ने प्रश्न अहिले सर्वोच्चमा टुंगो लाग्ने प्रतीक्षामा छ । कांग्रेसका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राईलगायतका नेताले रिट दर्ता गराएका छन् । उनीहरूले प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरेका छन् । मधेश प्रदेशको राजनीतिक नेतृत्वको भविष्य अब सर्वोच्च अदालतको अन्तिम निर्णयमा निर्भर रहने छ, जसले प्रदेशको आगामी सत्ता समीकरणमा ठूलो प्रभाव पार्नेछ ।

 

मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त

काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभामा निर्णाथ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको हो ।

यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो । दुई तिहाइका लागि ७२ मत भए पुग्छ । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।

त्यसपछि निर्णयार्थ प्रस्तुत गरी मत विभाजनमार्फत पारित गरिएको हो । बैठकमा नेकपा एमालेबाट भने एकजना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि स्थगित भए पश्चात पुनः सुरु भएको बैठकमा कोही उपस्थित थिएनन् ।

 

मधेशमा एमाले–सात दल आमने–सामने : दुबै पक्ष धर्नामा, सर्वोच्चमा आज पेसी

जनकपुर । मधेश प्रदेशको राजनीति अहिले पटक तातिएको छ । नेकपा एमाले पनि ‘मुख्यमन्त्री सरोजकुमार यादवलाई काम गर्न देऊ’ भन्दै जनकपुरमा धर्नामा उत्रिएको छ । सात दलहरूले ‘अवैधानिक सरकार’ भन्दै प्रदेश सरकारको मुख्य ढोकामा नौं दिनदेखि घेराउ जारी राखेका छन् । प्रदेशको राजनीतिक टकराव अब सर्वोच्च अदालतको इजलासमा गाँसिएको छ, जहाँ आज पुनः सुनुवाइ हुँदैछ ।

आज (मंगलबार) जनकपुरको जनक मन्दिर परिसरमा एमालेका नेता–कार्यकर्ता धर्नामा बसेका छन् । उनीहरूको माग छ—मुख्यमन्त्रीलाई काम गर्न दिइयोस् र संविधानको रक्षा गरियोस् । सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशका कारण ‘सरकारलाई काम गर्न अवरोध पुगेको’ भन्दै एमाले कार्यकर्ता आक्रोश छन् । उता कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, लोसपा, नेकपा (एस) लगायत सात दलहरूले जनकपुरस्थित मधेश भवनको मुख्य ढोकामै धर्ना कडाइका साथ निरन्तरता दिइरहेका छन् ।

उनीहरूको मुख्य आरोप–प्रदेश प्रमुखले एमाले सांसद सरोजकुमार यादवलाई होटलमै गएर मुख्यमन्त्री नियुक्ति गरे, बहुमत नपुगेको व्यक्तिलाई सरकार बनाइयो, सभामुखले दलीय अनुकूल निर्णय गर्दै संविधानको भावना तोडे । यसै आधारमा सात दलका ७४ सांसद सर्वोच्च अदालत पुगेका छन् र सरकार बदर गर्नुपर्ने माग दाबी गरेका छन् ।

मधेश प्रदेश सरकार गठनसम्बन्धी रिटको सुनुवाइ आज न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पहिलो नम्बरमै तोकिएको छ । गत सोमबार समयाभावका कारण पेसी रोकिए पनि आज दुवै पक्षको विस्तृत बहस हुने अपेक्षा छ । सर्वोच्चले यसअघि मुख्यमन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको सम्पूर्ण फाइल पेश गर्न आदेश गरिसकेको छ, तर सुनुवाइ पटक–पटक सरेको थियो । मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न भनेपछि विवाद झनै गहिरिएको छ ।
मधेश प्रदेशसभामा हाल कायम सदस्य संख्या १०४ छ । सरकार बनाउन आवश्यक बहुमत ५४ हो । तेस्रो विकल्प निस्कन कठिन देखिने अवस्थामै–एमाले २५ (सभामुखसहित), कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, अन्य १–१ सांसद छन्।

यसमध्ये तीन सांसद (एमाले, जसपा र लोसपा) निलम्बनमा छन् । यही संख्यात्मक उल्झनकै बीच प्रदेश प्रमुखले एमालेका सरोजकुमार यादवलाई सरकार गठनको जिम्मा दिएपछि अहिलेको राजनीतिक विवाद सुरु भएको हो । एकातिर सत्तापक्ष ‘सरकारलाई काम गर्न नदिने शक्ति केन्द्र–विरुद्ध’ सडकमा छ भने, विपक्षी सात दलहरू ‘संवैधानिक उल्लंघनविरुद्ध’ मोर्चाबन्दीमा छन् । प्रदेशको मुख्य प्रशासनिक ढोका नै अवरुद्ध गरिएको अवस्थामा सामान्य प्रशासनिक काम समेत प्रभावित हुँदै गएको छ । सबैको नजर अब सर्वोच्च अदालतमा केन्द्रित छ—जहाँको निर्णयले मधेश प्रदेशको आगामी राजनीतिक अध्याय तय गर्नेछ ।

 

मधेशका पाँच सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले गत कात्तिक २७ गते सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्तिका एक गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए । सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।

मधेश भवन अगाडि सातौं दिन पनि सांसदहरु धर्नामा

काठमाडौं । गत सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका सांसदहरु आज पनि सडकमा उत्रिएका छन् । सर्वोच्च अदालतले आज मधेश प्रदेशको सरकार गठनको विषयमा सुनुवाइ गर्दैछ । अदालतले आज सुनुवाइ गर्ने भएपछि सांसदहरु बिहानैदेखि सडकमा आएका हुन् ।

असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ । नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी एकसातादेखि मधेश भवन अगाडि धर्ना दिँदै आएका छन् ।

संविधानको धारा १६८ को ३ बमोजिम तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक रहेकोले बदर हुनुपर्ने सातदलीय गठबन्धनको माग छ ।
मधेश प्रदेश सभा सदस्य राजकुमार गुप्ताले अदालत प्रति विश्वस्त रहेको बताए । उनले न्यायको मन्दिर अदालतले संविधान रक्षात्मक र लोकतन्त्रको मूल्य मान्यतालाई यथावत राख्ने बताए । अदालतले गैर संवैधानिक गिरोहलाई आफ्नो न्यायले मात दिने विश्वास व्यक्त गरे ।

 

 

 

मधेश भवनमा नेपालको झण्डासहित आज पनि सात दलको धर्ना

जनकपुरधाम । एक सातादेखि आन्दोलित मधेश प्रदेशका सात दलका नेता–कार्यकर्ता आज (आइतबार) पनि बिहानैदेखि मधेश भवन अगाडि धर्नामा बसेका छन् । असंवैधानिक मुख्यमन्त्री नियुक्ति, सांसदहरुमाथि कुटपिटमा उत्रिने अविश्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सातदलले मुख्यमन्त्री खारेजीविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज दुवै पक्षबीच छलफल पनि हुँदैछ । सडकदेखि सर्वोच्च अदालतसम्म सात दलले मुख्यमन्त्रीविरुद्ध र प्रदेश सभामा सभामुखविरुद्ध धर्ना जारी राखेका छन् । आज आइतबार चाँहि सबैले पार्टी झण्डाको सट्टा नेपालको झण्डासहित धर्ना दिएका छन् ।

सात दलका सांसद मधेश प्रदेशसभा अघि धर्नामा

 जनकपुर । जनकपुरमा आज (शनिबार) पनि सात दलीय गठबन्धनका दलहरूले धर्ना दिएका छन् । प्रदेशका सात दलका सांसदहरू सभामुखविरुद्धको कदमको विरोधस्वरूप प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् ।

सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै सांसदहरूले उनलाई हटाउन प्रस्ताव दर्ता गरेका थिए । यही प्रस्तावबारे उपसभामुखसँग जानकारी लिन आफूहरू सामूहिक रूपमा सभाभवन पुगेको लोसपा सांसद उपेन्द्र महतोले बताए ।

सभामुख मण्डलले आफूविरुद्ध प्रस्ताव दर्ता भएपछि प्रत्युत्तरस्वरूप पाँच जना सांसदलाई पदमुक्त गरेका थिए । तर, सभामुखको निर्णय उपसभामुखले उल्टाइदिएकी थिइन् । मधेस प्रदेशमा पछिल्लो समय राजनीतिक विवाद चर्किदै गएको छ । मधेश प्रदेशमा एमालेका सरोज यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरिएको निर्णयपछि सत्ता पक्ष–विपक्षबीचको राजनीतिक विवाद चर्किदै गइरहेको छ ।

 

जनकपुरमा सात दलीय मोर्चाको प्रदर्शन

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलीय मोर्चाले प्रदर्शन गरेका छन् । एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै आज (शनिबार) जनकपुरमा जनप्रदर्शन गरिएको हो ।

अहिले उनीहरू प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्धको प्रस्ताव लिएर सांसदहरू पुगेको बेला हातपात भएको थियो । सो बीच सभामुख मण्डलले पाँच जना सांसदहरूलाई पदमुक्त गरेका थिए । प्रदर्शनका क्रममा अहिले बाक्लो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ ।

नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत गरेको विपक्षीको आरोप छ । एक नेताले भने, ‘सत्ताको लोभमा एमालेले असंवैधानिक रूपमा नेकपा एमालेका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले गैरकानुनी तबरले नियुक्त गर्‍यो । अब सभामुखले कानुन विपरीत प्रतिशोधको राजनीतिक तबरले पाँच जना माननीय सदस्यहरूलाई कारबाही गरेको छ ।’

मधेसका पदमुक्त पाँच सांसदले मागे बैठकमा उपस्थित हाजिरी ‘रेकर्ड’

काठमाडौं । मधेश प्रदेशसभाका पाँच जना सांसदहरूले आफ्नो हाजिरी विवरण सार्वजनिक गर्न प्रदेशसभा सचिवालयसँग माग गरेका छन् । सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि हिजो लगातार १० वटा बैठकमा नआएको भन्दै ५ जना सांसदलाई पदमुक्त गरेका थिए । तर, आज उपसभामुख बबिताकुमारी राउतले त्यो निर्णय बदर गर्दै अर्को सूचना जारी गरेकी छन् ।

यद्यपि, कारबाहीमा परेको जसपाका सांसदहरू मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन सा कलवार, सारदा संकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंहले प्रदेशसभासँग आज विवरण माग्दै निवेदन दिएका हुन्। सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गरेका थिए ।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको जनाएका थिए । निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जालमार्फत १० पटकको निरन्तर अनुपस्थितिको आधारमा कारबाही भएको जानकारी आजै मात्र प्राप्त भएको हुँदा सत्य तथ्य पुष्टि गर्न आधिकारिक हाजिरी र अभिलेख उपलब्ध गराउन सचिवालयसँग अनुरोध गर्दछौँ ।’ उनीहरूले आफूहरूलाई कसको निर्णयले कारबाही गरिएको ? भन्दै निर्णयलगायतको सबै कागजातको प्रमाणित नक्कल पनि माग गरेका छन् ।

 

थुनामा रहेका पूर्व प्रदेश प्रमुख अहिराज पुगे सर्वोच्च

काठमाडौं । जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले सर्वोच्चमा निवेदन दायर गरेका छन् । उनले २३ कात्तिकमा थुनामुक्त गर्न माग गर्दै ७३ निवेदन दिएका हुन् । अहिराजको निवेदनमाथि शुक्रबार न्यायाधीशद्धय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको छ । उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सुरुमा उच्च अदालत पाटन पुगेका थिए ।

उच्चले १२ भाद्र २०८२मा अहिराज भन्ने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो । जिल्ला र उच्चको आदेशविरुद्ध उनी सर्वोच्च पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । जिल्लाले थुनामा पठाएपछि अहिराज वेरितको निवेदन लिएर उच्च अदालत पुगेको थिए । उनीविरुद्ध एक युवतीले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।

साउन ४ मा पक्राउ परेका झालाई ९ दिनमै प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा अहिराजले बलात्कार गरेको आरोप अहिराजमाथि लागेको थियो । अहिराजले भने आफूलाई बलात्कारको जाहेरी दिने युवतीविरुद्ध मुद्दा हालेका थिए । उनी मधेश प्रदेशको प्रदेश प्रमुख भएका थिए ।

 

 

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा.लाभद्वारा पदभार ग्रहण

जनकपुर । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पदभार ग्रहण गरेका छन् ।डा. लाभलाई नेपाली सेनाको टोलीले सलामी दिएर मधेश प्रदेश प्रमुख कार्यालयमा स्वागत गरेका छन् । सो क्रममा मधेश प्रदेशका सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख डा.लाभले आफूलाई जिम्मेवारीबोध भएको अनुभूति भइरहेको बताए । उनले सम्पूर्ण जनता, सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबैलाई मिलेर प्रदेश बनाउनुपर्ने धारणा राखे । डा.लाभले विधिको साशनलाई सबैले मान्नुपर्ने बताए ।

उनले आफू जनकपुरधामकै भएकाले मधेश प्रदेशको हरेक पक्ष र समस्याहरुसंग आफू परिचित रहेकोले काम गर्न सहज हुने बताए । डा.लाभले हाल मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्तिसंग उम्रीएको विवाद अदालतमा पुगिसकेकाले अदालतले गर्ने निर्णय नै मान्य हुने प्रष्ट पारे ।

मुख्यमन्त्री यादवको नियुक्तिको विषयमा उत्पन्न विवाद पश्चात मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्र सुवेदी भण्डारीलाई पदमुक्त गरिएपछि डा.लाभलाई सिफारिस गरिएको थियो । मंगलबार राष्ट्रपति राम चन्द्र मण्डलले डा.लाभलाई सपथ ग्रहण गराएका थिए ।

मधेशमा सत्ता संकट : सात दल सडकदेखि सर्वोच्चसम्म, मुख्यमन्त्री ‘अनिश्चितता’ को घेरामा

काठमाडौं । मधेश प्रदेश अहिले राजनीतिक चर्चा र बहसको केन्द्र बनेको छ । संविधानको धारा १६८ (३) अनुसार नेकपा (एमाले) का सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएको दुई दिनमै प्रदेशमा सत्ता संकट गहिरिँदै गएको छ । विवादास्पद रूपमा महोत्तरीको होटलमा शपथ लिएको सरकारविरुद्ध सात दलीय गठबन्धन निरन्तर धर्ना र प्रदर्शनमा छ ।

मधेश भवन अगाडि बुधबार पनि कांग्रेस, जसपा, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी), जनमत र नागरिक उन्मुक्ति पार्टीका सांसद र कार्यकर्ताले बाटो अवरुद्ध गर्दै आन्दोलन जारी राखे । मंगलबार प्रदर्शनमा प्रहरीको लाठीचार्ज हुँदा १७ जना घाइते भएका थिए । सो घटनाको विरोधमा सात दलले प्रदेशव्यापी आन्दोलन घोषणा गरिसकेका छन् ।

७४ सांसदको रिट संयुक्त इजलासमा फैसला हुने
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विवाद सर्वोच्च अदालतको संयुक्त इजलासमा पुगेको छ । मंगलबार प्रदेशका सात राजनीतिक दलका ७४ जना सांसदले यादवको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिँदै आइतबारका लागि पेशी तोकेको हो ।

रिटमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका जयलुन राइनलगायतका सांसदहरूको हस्ताक्षर छ । यसैबीच मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध परेको अर्को रिट पनि आइतबारकै लागि सराइएको छ । यसअघि सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्न आदेश दिएको थियो । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘सुविधा र सन्तुलन’ का आधारमा यस्तो अन्तरिम आदेश जारी गरेको हो । जसको प्रभाव मुद्दाको अन्तिम नतिजा नआएसम्म कायम रहनेछ ।

विवादको जड भने तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि सुरु भएको हा े। विश्वासको मत नपाउने निश्चित भएपछि सोनलले पदत्याग गरे, त्यसपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् । तर, उक्त नियुक्ति प्रक्रियामा संविधानको मर्म उल्लंघन भएको भन्दै दलहरूले आपत्ति जनाए । विशेष गरी, बिरामी भएको बहानामा काठमाडौं जाने तयारीमा रहेका यादवलाई बर्दिबासको पानस होटेलमा शपथ गराइएको घटनाले व्यापक आलोचना चुलाएको थियो । यस प्रकरणपछि संघीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई प्रदेश प्रमुखको पदबाट पदमुक्त गरे । नयाँ प्रदेश प्रमुखको रूपमा सुरेन्द्र लाभ कर्णले बुधबार शपथ ग्रहण गरिसकेका छन् । संविधान र पदको गरिमा विपरीत कदम चाल्दा भण्डारीको पद गएको भन्दै राजनीतिक वृत्तमा यो घटनालाई ‘संवैधानिक अभ्यासमा नयाँ चेतावनी’ का रूपमा लिइएको छ ।

सत्ता अंकगणित : बहुमतभन्दा टाढा एमाले
मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । तीन जना निलम्बित भएपछि हाल सक्रिय संख्या १०४ छ । बहुमतका लागि ५४ मत आवश्यक भए पनि एमालेसँग सभामुखसहित २५ मात्र सदस्य छन् ।

बाँकी दलहरूको संख्या यस्तो छ :—
कांग्रेस– २२, जसपा–१९, जनमत–१३, माओवादी–९, लोसपा–९, नेकपा (एस)–७, नागरिक उन्मुक्ति, राप्रपा, संघीय समाजवादी– १–१ जना । यस अंकगणितलाई हेर्दा एमालेले कुनै गठबन्धन बिना सरकार गठन गरे पनि संसदमा टिक्न कठिन अवस्थामा छ ।

‘होटल सरकार’ र प्रदेश प्रमुख विवाद
पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदीले होटलमै मुख्यमन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको शपथ खुवाएको दृश्य सार्वजनिक भएपछि प्रदेश राजनीति थप उथलपुथलमा छ । कांग्रेस–जसपा गठबन्धनले यो कदमलाई ‘संविधान र लोकतान्त्रिक मर्यादामाथिको धक्का’ भन्दै भण्डाफोर गरेको छ । यही विवादपछि प्रदेश प्रमुख सुवेदीको पद समेत संकटमा परेको बताइन्छ ।

एमाले एक्लियो, कांग्रेस–जनमत मिल्ने चर्चा
सत्ताको दोहोरिएको खिचातानीबीच एमाले मधेशमा एक्लिएको छ । कांग्रेस, जसपा, माओवादी, लोसपा र जनमत सबै एकै मोर्चामा उभिएका छन् । यता, एमालेले कांग्रेसलाई मनाउने प्रयास थालेको छ । तर मंगलबारको प्रदर्शनमा कांग्रेस सचेतक कुँवरकान्त झा नै घाइते भएपछि तत्काल सहकार्य सम्भावना झिनो देखिन्छ । राजनीतिक वृत्तमा भने नयाँ समीकरणका चर्चा तीव्र छन्–कांग्रेस र जनमत मिलेर एमालेसँग सहकार्य गर्न सक्ने वा पुरानै मधेशी गठबन्धन पुनर्जीवित हुने । यदि कांग्रेस–एमाले–जनमत मिल्न सके भने राष्ट्रियसभा निर्वाचनमा जनमतलाई एउटा सिट सुम्पिने प्रस्ताव समेत आन्तरिक तहमा छलफल भएको स्रोतले जनाउँछ ।

जसपा–लोसपा एकीकरणको कसरत
राजनीतिक अनिश्चितताको यो समयमा जसपा नेपाल (उपेन्द्र यादव) र लोकतान्त्रिक समाजवादी पार्टी (महन्थ ठाकुर) बीच एकीकरणको तयारी पनि तीव्र बनेको छ । जनकपुरको होटलमा दुवै दलका शीर्ष नेताहरूबीच सोमबार पहिलो चरणको वार्ता भइसकेको छ । यदि यी दुई दल मिले भने उनीहरूको संख्या २६ पुग्नेछ, जसले प्रदेशमा नयाँ सत्ता सन्तुलन सिर्जना गर्न सक्छ ।

सभामुख र निवास कब्जा विवाद
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल (एमाले) माथि पनि सात दलको आन्दोलन केन्द्रित हुँदैछ । नव नियुक्त मुख्यमन्त्री सरोज यादव अझै पनि सरकारी निवास प्रवेश गर्न नसकेको र निवर्तमान मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले निवास कब्जा गरिरहेको समाचार आएको छ । विश्लेषकहरू भन्छन्, ‘मधेशमा अहिले ‘संविधान बनाम सत्ता’ को संघर्ष चलेको छ । होटलमा शपथ लिएको सरकार नै असंवैधानिक प्रक्रियाको प्रतीक बनेको छ ।’ काठमाडौँमा एकीकृत वामपन्थी मोर्चाको चर्चा भइरहँदा मधेशमा भने सत्ता र अस्तित्वको लडाइँ उग्र बन्दै गएको छ । सत्ता समीकरण हरेक घण्टामा बदलिँदैछ । सर्वोच्चको आदेशपछि मुख्यमन्त्री यादवको भविष्य निर्धारण हुनेछ । प्रदेश प्रमुख विवाद, सभामुखविरुद्ध आन्दोलन र दलहरूको एकीकरण–विभाजनबीच मधेश प्रदेश अहिले साँचो अर्थमा ‘राजनीतिक आपतकाल’ मा प्रवेश गरेको देखिन्छ ।

 

मधेशको नव गठित सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आज (मंगलबार) मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।

अर्जुन साह र रकीप्रसाद साह समेतले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको सर्वोच्च अदालतका सहरजिष्ट्रार समेत रहेका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम २ को खण्ड क बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी भएको उनले जानकारी दिए ।

रिट निवेदनको विषयवस्तु संवेदनशील, सार्वजनिक महत्वको संवैधानिक प्रद र छिटो छरितो ढुंगो लगाउनु पर्ने प्रकृतिको देखिँदा कुनै पनि पक्षले पेशी स्थगित गर्न नपाउने गरी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई अन्तिम सुनुवाईको लागि आगामी मंसिर ११ गते बोलाइएको छ ।

मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा मंसिर १० गतेभित्र लिखित जवाफ पेश गर्न पनि आदेश भएको छ । आदेशमा भनिएको छ, ‘‘यसमा के भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणसमेतको आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार कारणसहित मंसिर १० गतेभित्र जवाफ पेस गर्नू ।’

मधेश सरकार गठन : सभामुखविरुद्ध प्रदर्शन, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च पुगे दलहरु

जनकपुरधाम । मधेश प्रदेश फेरि अस्थिरताको चपेटामा परेको छ । प्रदेश सभामुख रामचन्द्र मण्डलको राजीनामा माग्दै सात दलका नेता–कार्यकर्ताले सोमबारदेखि मधेश प्रदेश भवन अगाडि उग्र प्रदर्शन जारी राखेका छन् । एमाले बाहेकका सबै दल प्रदर्शनमा सहभागी छन्। प्रदर्शनका क्रममा टायर बालिएको छ र नाराबाजीका साथ सभामुखविरुद्ध कडा आक्रोश प्रकट गरिएको छ ।

दलहरूको आरोप छ–सभामुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठन गर्न सकिने अवस्था हुँदाहुँदै पनि एमालेका लागि धारा १६८(३) को बाटो खोलिदिएर असंवैधानिक कदम चालेका छन् । यसैबीच, मधेशका ७४ सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेस, जसपा, माओवादी केन्द्र, लोसपा लगायत दलहरू मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । उनीहरूले नेकपा एमालेका सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गैरकानुनी रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै रिट दायर गरेका हुन् ।

गत आइतबार राति भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाउँदै बर्दिबासस्थित एक होटेलमा गोप्य रूपमा शपथ ग्रहण गराएकी थिइन् । सो घटनापछि कांग्रेससहितका सात दलले भण्डारी र एमाले नेतृत्वविरुद्ध संयुक्त रूपमा आन्दोलन सुरु गरेका हुन् । शपथ प्रकरण विवाद बढ्दै जाँदा प्रदेश प्रमुख भण्डारीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पदमुक्त गरिसकेका छन् । मधेशमा अहिले राजनीतिक तापक्रम चरम अवस्थामा पुगेको छ—एकातिर सडक आन्दोलन, अर्कातिर सर्वोच्चमा न्यायिक लडाइँ । दलहरू भने एउटै स्वरमा भन्छन्, ‘संविधान मिच्ने खेल अब चल्दैन ।’

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ । रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो । सरकारले उनको ठाउँमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियक्तिका लागि सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति देखेर कात्तिक २२ गते प्रदेश सभामा राजीनामा घोषणा गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबैभन्दा ठूलो दलको हैसियतमा एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि उनी विवादमा परेकी थिइन् ।

स्वास्थ्य उपचारका लागि काठमाडौं जान्छु भनेर हिँडेकी प्रदेश प्रमुख सुवेदीले महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पानस होटलमा सोमबार बिहान झिसमिसेमा एमाले नेता यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएकी थिइन् । त्यसपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मधेश प्रदेशमा राजनीतिकले नयाँ मोड लिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार विहान उज्यालो नभएसम्ममै बर्दिबासस्थित पानस होटलमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको शपथ दिलाएपछि प्रदेशमा चर्को राजनीतिक उथलपुथल सुरु भएको छ ।

संविधानको मर्यादामाथि प्रश्न उठाउँदै सात राजनीतिक दलले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । भण्डारीले मध्यरातमा होटलमै यादवलाई मुख्यमन्त्रीको पदमा नियुक्त गरी शपथ दिलाएपछि एमालेभित्र नै असन्तोष उत्पन्न भएको छ । पार्टीका प्रदेश सचेतक हरिनारायण महतोले ‘होटल–होटलमा सरकार गठन गर्ने’ कार्यले पार्टी र प्रदेश दुबैको अपमान भएको टिप्पणी गरेका छन् ।

उनका अनुसार, ‘यदि धारा १६८(३) अनुसार सरकार गठन गर्नुपर्ने परिस्थिति आएको थियो भने पनि पार्टीभित्र छलफल गरेर अघि बढिनु पथ्र्यो। बर्दिबास र सिन्धुलीको सिमानामा गएर शपथ गर्नुपर्ने बाध्यता किन थियो ?’ प्रदेश प्रमुखले अघिल्लो दिनकै मिति राखेर यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । विश्वासको मत गुमाएका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले भने यसलाई ‘मधेशको जनतासँगको धोका’ भन्दै कडा शब्दमा विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘उहाँले दुई गरिमा गिराउनु भयो– महिला र बिरामीको । उपचारका नाममा काठमाडौँ जान्छु भनेर बिदा लिँदै होटलमा गएर मुख्यमन्त्री नियुक्ति गर्नु अमर्यादित कार्य हो ।’

नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी गरी सात दलले संयुक्तरूपमा प्रदेश प्रमुखको कदमविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । रिटमा भनिएको छ, ‘संविधानको धारा १६८(२) अनुसार सरकार गठनको सम्भावना कायम रहँदा, धारा १६८(३) को प्रयोग गरी नयाँ सरकार गठन गर्नु असंवैधानिक छ ।’ रक्कीप्रसाद साह र सुजित यादवद्वारा दायर उक्त रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय र प्रदेश सभालाई विपक्षी बनाइएको छ।

नव नियुक्त मुख्यमन्त्री यादवले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की एक्लो सांसद कञ्चन विच्छालाई मन्त्री बनाएपछि राप्रपाभित्र पनि हलचल मच्चिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई तुरुन्त सरकारबाट फिर्ता हुन निर्देशन दिँदै भनेका छन्, ‘यो पार्टी अनुशासनको गम्भीर उल्लङ्घन हो, फिर्ता नभए विधानअनुसार कारवाही हुनेछ ।’ शपथपछि सात दलका कार्यकर्ताले जनकपुरस्थित मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालयमा नाराबाजी गर्दै तोडफोडसमेत गरेका छन् । मुख्यमन्त्री कार्यकक्षमा ताल्चा लगाइएको छ । सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार मधेश प्रदेशको यो घटना संघीयता र संवैधानिक अभ्यासमाथि गम्भीर प्रश्नको रूपमा देखा परेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक्समा लेखेका छन्, ‘मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ संघीयतामाथि नागरिकको विश्वास घटाउने दुखद घटना हो। न्यायालयले यसलाई सच्याउने अपेक्षा छ।’

 

 

मधेश प्रदेश प्रमुखले देश र संविधानको अस्मितालाई समाप्त पार्ने काम गर्नुभयो : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले मधेश प्रदेश प्रमुखले देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरेको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले होटलमा मुख्यमन्त्री नियुक्ति गरिएकोमा विरोध गर्दै राजनीतिक स्वीकार्यता हुन नसक्ने बताएका हुन् ।

‘स्वस्थ समस्या छ, उपचारका लागि काठमाडौं जाँदैछु भनेर जनकपुरबाट राति अबेर हिँडेकी मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिन्धुली–महोत्तरीको सिमानाको एक होटलमा एमालेको एक प्रदेश सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा सपथ ग्रहण गराएर देश, संविधान र प्रदेशको अस्मितालाई समाप्त पार्ने कार्य गरिन्,’ उनले लेखेका छन्, ‘यो घृणित कार्यको राजनीतिक स्वीकार्यता हुन सक्दैन, विरोध छ ।’ प्रदेश प्रमुख सुवेदीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए ।प्रदेश प्रमुख भण्डारीले काठमाडांै जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ । अहिले प्रदेश प्रमुख र एमालेको व्यापक विरोध सामाजिक सञ्जालमा भइरहेको छ ।

बैठक चलिरहेको बेला माओवादी सांसदले आफैँलाई दले कालोमोसो

काठमाडौँ । मधेश प्रदेश सभाको बैठक चलिरहेकै समयमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य रहबर अन्सारी आफ्नै अनुहारमा कालोमोसो दलेका छन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिनका लागि डाकिएको बैठकमा बोल्दै रहबर अन्सारीले प्रदेश सभामा रहेका कुनैपनि प्रदेशसभा सदस्यहरुसँग सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै विश्वासको मत नदिने भन्दै आफ्नो अनुहारमा कालोमोसो दलेका हुन् ।

उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहरु जनताको मर्मअनुसार काम गर्न नसकेकाले यो प्रदेश सभामा रहेका प्रदेशसभा सदस्यहरुले निकास दिन नसक्ने स्पष्ट गरे ।

उनले भने, ‘आज हामी सबैले गल्ती स्वीकार गर्ने समय आएको छ, अहिलेका हामीमध्ये कोहीसँग सरकारको नेतृत्व गर्ने अधिकार छैन ।’

अन्सारीले बोले लगत्तै माओवादी केन्द्रकै प्रदेशसभा सदस्य माला कर्णले पनि विश्वास मत नदिने घोषणा गरे। उनले प्रदेश सरकारको पनि निर्णय केन्द्रले नै नियन्त्रण गरिरहेकाले आफू केन्द्रको निर्णयअनुसार अगाडी बढ्न नसक्ने बताए।

मधेश सरकारको मन्त्रालय भागबण्डा टुंग्याउन पाँच दलको बैठक बस्दै

जनकपुर । मधेश प्रदेश सरकार विस्तारबारे आज (शुक्रबार) सत्ता पक्षीय दलहरूको बैठक बस्दैछ । रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ११ बजेदेखि सत्ताघटक जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको हो ।

बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् । बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने ती नेताले बताए ।

गत असोज २९ गते पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । सत्तापक्षीय दलहरूभित्र मन्त्रालयको भागबण्डा नटुंगिदा एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।

 

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा फेरि पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको आरोप छ । उनी यसअघि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए ।

पूर्व गृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि पक्राउ परेर तारेखमा छुटेका थिए । अहिले भने विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित उनको घरमा अख्तियारले १२ जेठमा छापा पनि मारेको थियो । त्यसबेला उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए । घरबाट अनुसन्धान अधिकारीहरुले विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए भने मोबाइल समेत नियन्त्रणमा लिएर डिजिटल फरेन्सिक जाँचका लागि पठाइएको थियो ।

 

मधेसमा जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउन दावी पेस

जनकपुर । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ । ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेका हुन् ।

दाबी पेस गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरिएको छ ।

१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९÷९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् । नागरिक उन्मुक्तिले समेत समर्थन दिएपछि ५७ सांसद पुगेको छ ।

मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका शक्ति एक ठाउँ आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेलाई बाहिर राख्ने गरी गठबन्धन बनेको त्यसमा सहभागी पार्टीका नेताहरूले बताएका छन् ।

‘सुरूमा कांग्रेस र एमालेसँग सहमति गरेर जान जनमत पार्टी तयार भएको थियो । तर हामी दोस्रो तहका नेताहरूले निरन्तर छलफल गरेपछि अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘अहिलेको अवस्थामा परिवर्तनकारी शक्तिहरू एकठाउँ हुनपर्छ भनेर सुरूमा हामी र जसपा तयार भयौं । त्यसपछि यो गठबन्धनको वातावरण बनेको हो ।’ यो गठबन्धन बनाउन जसपाका तर्फबाट प्रवक्ता मनिष सुमन, जनमत पार्टीबाट महेश यादव, माओवादी केन्द्रबाट भरत साह, एकीकृत समाजवादीबाट शत्रुधन महतो लगायतका नेता सक्रिय थिए । राष्ट्रिय मुक्ति पार्टीका केशव झा समेत सहमतिका लागि जुटेका थिए ।

मधेश प्रदेशमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बन्दै

जनकपुरधाम । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको हो । हिजो राति र आज बिहान बसेको पाँच दलको बैठकले लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने सहमति भएको एक नेताले बताए । मन्त्रालयको भागबण्डा भन्ने टुङ्ग्याउन भने बाँकी रहेको बताइएको छ ।

जनमतका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । सो आह्वान अनुसार पाँच दलका नेताहरु ५६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न पुगेका छन् ।

लोकसभाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने सहभागी थिए । १०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् ।

मधेशको मुख्यमन्त्रीमा दावी पेस गर्न कांग्रेस–एमाले बाहेक पाँच दलका नेता प्रदेश कार्यालयमा

जनकपुरधाम । मधेश प्रदेशमा कांग्रेस र एमाले बाहेकका दल मिलेर सरकार बनाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन पाँच दलका नेता प्रदेश कार्यालय पुगेका छन् । ५६ प्रदेश सभा सदस्यको हस्ताक्षर सहितको दावी पेश गर्न नेताहरु पुगेका हुन् ।

मंगलबार सतिशकुमार सिंहले पदबाट राजीनामा घोषणा गरेसँगै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज दिउँसो ४ बजेसम्म सरकारको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी,नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाबीच सरकार बनाउने सहमति भएको माओवादी संसदीय दलका नेता युवराज भट्टराईले जानकारी दिए ।

जनमतका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले असोज २९ गते दिउँसो ४ बजेभित्र दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी पेश गर्न आह्वान गरेकी थिइन् । ५६ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गर्न जाने भट्टराईले बताए ।

सहमति जुटाउन बसेको बैठकमा लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकमा जसपाबाट मनिष सुमन, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव, माओवादी केन्द्रका दलका नेता युवराज भट्टराई, लोसपाका संसदीय दलका नेता जैलुनराइन र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोबिन्दबहादुर न्यौपाने सहभागी थिए ।

१०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । हाल प्रदेश सभामा जसपा नेपालको १९ सीट छ । अशोक राई पक्षका सांसदले पनि दल विभाजन अदालतमा विचाराधीन रहेकाले उपेन्द्रकै पक्षमा उभिने बाध्यता छ । त्यस्तै जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । तीन दल मिलाएर ५७ सिट पुग्छ । लोसपाका एक जना सांसद निलम्वित भएकाले ५६ सीट छ ।