मधेसका पदमुक्त पाँच सांसदले मागे बैठकमा उपस्थित हाजिरी ‘रेकर्ड’
काठमाडौं । मधेश प्रदेशसभाका पाँच जना सांसदहरूले आफ्नो हाजिरी विवरण सार्वजनिक गर्न प्रदेशसभा सचिवालयसँग माग गरेका छन् । सभामुख रामचन्द्र मण्डलले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि हिजो लगातार १० वटा बैठकमा नआएको भन्दै ५ जना सांसदलाई पदमुक्त गरेका थिए । तर, आज उपसभामुख बबिताकुमारी राउतले त्यो निर्णय बदर गर्दै अर्को सूचना जारी गरेकी छन् ।
यद्यपि, कारबाहीमा परेको जसपाका सांसदहरू मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन सा कलवार, सारदा संकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंहले प्रदेशसभासँग आज विवरण माग्दै निवेदन दिएका हुन्। सभामुख रामचन्द्र मण्डलले आफूमाथि प्रस्ताव दर्ता भएपछि पाँच जना सांसदलाई बिहीबार कारबाही गरेका थिए ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेको जनाएका थिए । निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जालमार्फत १० पटकको निरन्तर अनुपस्थितिको आधारमा कारबाही भएको जानकारी आजै मात्र प्राप्त भएको हुँदा सत्य तथ्य पुष्टि गर्न आधिकारिक हाजिरी र अभिलेख उपलब्ध गराउन सचिवालयसँग अनुरोध गर्दछौँ ।’ उनीहरूले आफूहरूलाई कसको निर्णयले कारबाही गरिएको ? भन्दै निर्णयलगायतको सबै कागजातको प्रमाणित नक्कल पनि माग गरेका छन् ।


