`

मधेशका नव नियुक्त मुख्यमन्त्री यादवको आज शपथ

Nepal One HD २१ मंसिर २०८२ ७:५६
प्रमुख खबर

जनकपुर । मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (आइतबार) पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । मंसिर १९ गते सात दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा कांग्रेस संसदीय दलका नेताका तर्फबाट मुख्यमन्त्री नियुक्त यादवले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । मुख्यमन्त्रीको कार्यालयका अनुसार जनकपुरधाममा शपथ ग्रहणका सबै तयारी पूरा भएका छन् ।

यसअघि संविधानको धारा १६८(३) बमोजिम ठूलो दलका हैसियतमा नियुक्त भएका नेकपा एमालेका नेता सरोजकुमार यादवले विश्वासको मत लिनसक्ने सम्भावना नदेखिएपछि मंसिर १७ गते राजीनामा दिए थिए । सर्वोच्च अदालतले उनी नियुक्त भइसकेपछि २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । विश्वासको मत प्राप्त गर्ने परिस्थिति नबनेपछि उनले पद त्यागेपछि नयाँ बहुमत निर्माण भएको हो ।

शनिबार राति बसेको बैठकपछि सरकार गठनमा सहभागी दलहरूले मन्त्रालय बाँडफाँडमा मोटामोटी सहमति गरेका छन् । सहमति अनुसार जसपा नेपालले सभामुखसहित तीन मन्त्रालय पाउनेछ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पनि तीन मन्त्रालय दिने सहमति भएको छ ।

मुख्यमन्त्रीसहित नेपाली कांग्रेसले दुई मन्त्रालय व्यवस्थापन गर्नेछ भने जनमत पार्टीले पनि दुई मन्त्रालय पाउनेछ । विश्वासको मत नपाए पनि सरकार विस्तारमा सहभागी हुन लागेको लोसपा नेपालले पनि दुई मन्त्रालय प्राप्त गर्ने सहमति बनेको छ ।

गत कार्तिक २३ गते एमालेका सरोज कुमार यादव १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्चमा रिट दायर गर्दै प्रक्रिया गलत भएको दाबी गरेको थियो । त्यसपछि अदालतको निर्देशनअनुसार विश्वासको मत पुष्टि गर्नुपर्ने अवस्था उत्पन्न भयो, तर मत सुनिश्चित नभएपछि एमाले नेतृत्वको सरकार ढलेको हो ।

यही परिस्थितिमा कांग्रेस नेता यादवले कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादीसँगै अन्य मिलेर ७७ सदस्यको बहुमत देखाउँदै दाबी पेस गरेका थिए । आज शपथसँगै मधेशमा नयाँ सरकार आधिकारिक रूपमा स्थापना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *