जसपा नेपालका यादव मधेश प्रदेशको सभामुखमा निर्वाचित
जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत निर्वाचनमा सात दलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।
सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् । रामअशिष यादवलाई सभामुख निर्वाचित गर्न नेपाली काँग्रेसका सांसद वीरेन्द्रप्रसाद सिंहले प्रस्ताव गरेका थिए । सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।
सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । यसअघि नेकपा एमालेबाट सभामुख बनेका रामचन्द्र मण्डललाई सातलीय गठबन्धनले पद अनुकूल अचरण नगरेको भन्दै गत मंसिर ३ गते दुई तिहाई बहुमतबाट पदमुक्त गराएका थिए । त्यसपछि सो पद रिक्त रहेको थियो ।
