मधेस प्रदेशका सभामुख मण्डल पदमुक्त
काठमाडौं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उनीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव बुधबार प्रदेश सभामा निर्णाथ पेस हुँदा प्रस्तावको पक्षमा ७६ मत खसेको हो ।
यो मत प्रस्ताव पारित हुन चाहिने २ तिहाइ भन्दा बढी हो । दुई तिहाइका लागि ७२ मत भए पुग्छ । गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक डाकिएको थियो ।
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले सो प्रस्ताव छलफलका लागि बैठकमा पेस गरेका थिए । सो उपरको छलफलमा लोसपाका प्रदेश सांसद उपेन्द्र महतो, जसपा नेपालका प्रदेश सांसदहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, राजकुमार गुप्ता, कांग्रेसकी प्रदेश सांसदहरू जीवछीदेवी यादव, नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद गणेश पटेल र प्रमोद यादवले आफ्ना धारणा राखेका थिए ।
त्यसपछि निर्णयार्थ प्रस्तुत गरी मत विभाजनमार्फत पारित गरिएको हो । बैठकमा नेकपा एमालेबाट भने एकजना प्रदेश सांसद सुरुको बैठकमा उपस्थित भए पनि स्थगित भए पश्चात पुनः सुरु भएको बैठकमा कोही उपस्थित थिएनन् ।
