मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्ने आज अन्तिम दिन, छलफलमा दलहरु
जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया निर्णायक मोडमा पुगेको छ । एमाले बाहेकका सात दल गठबन्धनबद्ध भएर आजै नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न तयारी अवस्थामा छन् । प्रदेश प्रमुखले तोकेको समयसीमा अनुसार आज साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्ने भएकाले दलहरू बिहानैदेखि अन्तिम छलफल र समन्वयमा व्यस्त छन् ।
गत कात्तिक २४ गते शपथ लिएर विवादमा तानिएका तत्कालीन मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सर्वोच्च अदालतको आदेशअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन नसकेपछि मंसिर १७ मा राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनसहित बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका हुन् ।
सात दलीय गठबन्धन—नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी—ले नयाँ सरकार बनाउने सहमति गरेका छन्। १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक ५४ भन्दा धेरै ७३ जना सांसद उनीहरूका पक्षमा छन्, जसले सरकार गठनको प्रक्रिया सहज बनाएको छ ।
गठबन्धनभित्र मुख्यमन्त्रीका लागि मुख्य दाबेदारमा लोसपाका जितेन्द्र सोनल र नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव रहेका छन् । यद्यपि नेताहरूबीच बिहीबार झण्डै आठ घण्टासम्म चलेको छलफलमा नाम टुंगो नलागेपछि आज पुनः बसेर अन्तिम निर्णय गर्ने सहमति भएको एक सांसदले जानकारी दिए । जसपाका संसदीय दलका नेता सरोजकुमार यादवले भने गठबन्धनले साझा सहमति कायम गरिसकेको बताउँदै आज दिउँसो २ बजे नै दाबी पेस हुने दाबी गरेका छन्।
उनका अनुसार मुख्यमन्त्रीसँगै सबै दलका मन्त्रीहरूले एकैपटक शपथ लिने तयारी छ । यसैबीच एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि सभामुख पद पनि रिक्त छ, जसमा जसपाले दाबी गर्ने संकेत देखिएको छ । नयाँ सरकार, नयाँ शक्ति सन्तुलन र प्रदेश सभाको नेतृत्व कसरी बन्छ भन्ने प्रश्नमा प्रदेशभर राजनीतिक सरगर्मी तीव्र बनेको छ ।
