मधेसमा जितेन्द्र सोनाललाई मुख्यमन्त्री बनाउन दावी पेस
जनकपुर । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ । ६ राजनीतिक दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष ५७ सांसदको हस्ताक्षर रहेको दाबी पेस गरेका हुन् ।
दाबी पेस गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरिएको छ ।
१०७ सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९÷९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्वित छन् । नागरिक उन्मुक्तिले समेत समर्थन दिएपछि ५७ सांसद पुगेको छ ।
मधेस प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका शक्ति एक ठाउँ आएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा कांग्रेस र एमालेलाई बाहिर राख्ने गरी गठबन्धन बनेको त्यसमा सहभागी पार्टीका नेताहरूले बताएका छन् ।
‘सुरूमा कांग्रेस र एमालेसँग सहमति गरेर जान जनमत पार्टी तयार भएको थियो । तर हामी दोस्रो तहका नेताहरूले निरन्तर छलफल गरेपछि अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘अहिलेको अवस्थामा परिवर्तनकारी शक्तिहरू एकठाउँ हुनपर्छ भनेर सुरूमा हामी र जसपा तयार भयौं । त्यसपछि यो गठबन्धनको वातावरण बनेको हो ।’ यो गठबन्धन बनाउन जसपाका तर्फबाट प्रवक्ता मनिष सुमन, जनमत पार्टीबाट महेश यादव, माओवादी केन्द्रबाट भरत साह, एकीकृत समाजवादीबाट शत्रुधन महतो लगायतका नेता सक्रिय थिए । राष्ट्रिय मुक्ति पार्टीका केशव झा समेत सहमतिका लागि जुटेका थिए ।
