`

मधेश प्रदेश सभा बैठक बस्न ढिलाई, सुरक्षा व्यवस्था कडा

Nepal One HD १७ मंसिर २०८२ १०:१४
बिशेष

जनकपुर । मधेश प्रदेशमा विश्वासको मतको प्रक्रिया फेरि एकपटक अनिश्चित बन्दै गएको छ । बुधबार बिहान ८ः३० बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएकाले प्रदेश सभा सदस्यहरु समयमै जनकपुरधामस्थित सभा भवन पुगे पनि मुख्यमन्त्री सरोज कुमार यादव उपस्थित नहुँदा बैठक निर्धारित समयमा सुरु हुन सकेन । विश्वासको मत पेश गर्नुपर्ने मुख्य एजेण्डा भएको बैठकमा मुख्यमन्त्री नपुगेपछि सभाहलमा भेला भएका सांसदहरू प्रतीक्षामा बसिरहेका छन् ।

मंगलबार दिउँसो मुख्यमन्त्री यादवले २ बजेको समय माग्दै पत्र पठाएका थिए । तर सर्वदलीय बैठकले त्यसअघि नै बुधबार बिहान बैठक डाक्ने निर्णय गरेपछि सत्ता पक्षमै आन्तरिक असमझदारी देखिएको छ । उक्त सर्वदलीय बैठक उपसभामुख बबिता राउत ईश्वरको अध्यक्षतामा बसेको थियो ।

प्रदेशसभा बैठक बस्न ढिलाइ भइरहँदा भवन परिसरमा सुरक्षा कडा पारिएको छ । तालिम प्राप्त कुकुरमार्फत सुरक्षा जाँच गरिएको छ, जुन जेनजी आन्दोलनको क्रममा सुरक्षा उपकरण जलाइएपछि अपनाइएको विधि हो । यसअघि पनि मुख्यमन्त्री विश्वासको मतको प्रक्रियासँग जोडिएको संवेदनशील दिनमा यस्तो सुरक्षा जाँच गरिएको थियो । मधेश प्रदेशको हालको राजनीतिक अस्थिरताको मूलमा सर्वोच्च अदालतको आदेश छ । अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिएको थियो । आदेश आएको भोलिपल्ट मुख्यमन्त्रीले आफूसँग आदेशको औपचारिक प्रति नआएको तर प्रक्रिया अघि बढाउन सचिवालयसँग सहयोग मागेको बताएका थिए । तर बिहानको बैठकमा उनको अनुपस्थितिले परिस्थिति झनै उल्झिएको छ ।

यसअघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने अवस्था बनेपछि राजीनामा दिएका थिए । त्यसपछि संविधानको धारा १६८(३) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर बर्दिवासस्थित होटलमा झिसमिसेमा गरिएको शपथले व्यापक विवाद खडा गर्दै दलहरू सर्वोच्च अदालतसम्म पुगेका थिए । अब सबैको ध्यान मुख्यमन्त्री यादव कहिले सभामा पुग्छन् र विश्वासको मतको प्रक्रिया अघि बढ्छ कि बढ्दैन भन्ने प्रश्नमा केन्द्रित छ । बैठक बस्न ढिलाइ भइरहेका बेला प्रदेश सभाभित्र र वरिपरि राजनीतिक तनाव, प्रतीक्षा र अनिश्चितताको माहोल छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *