`

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्वारा १० लाख सहयोग

कास्की। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले भोटेकोशी नदी क्षेत्रमा आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु १० लाख ११ हजार १११ सहयोग गरेको छ ।

पोखरामा प्रधान कार्यालय रहेर देशभर सार्वजनिक यातायात सञ्चालन गर्दै आएको कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख ११ हजार १११ जम्मा गरेको अध्यक्ष एनकुमार साइले बताउनुभयो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत उद्धार तथा राहत कार्यमा सहयोग तथा कम्पनीका तर्फबाट रु पाँच लाख ५५ हजार ५५५, सञ्चालक समिति पदाधिकारी तथा आबद्ध कर्मचारीका तर्फबाट रु दुई लाख ७४ हजार र पृथ्वी यातायात सहकारी संस्थाका तर्फबाट रु एक लाख ८१ हजार ५५६ सहयोग गरिएको कम्पनीले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण यातायात व्यवसायी, चालक, सहचालक, यातायात मजदुर, यात्रु, हाइड्रोपावर क्षेत्रमा कार्यरत मजदुर, गोसाइँकुण्ड तीर्थयात्रामा रहेका नेपाली तथा विदेशी पर्यटकसमेत प्रभावित भएकामा कम्पनीले दुःख व्यक्त गरेको छ ।

बाढीपीडितको उद्धार, खोजतलास, राहत सङ्कलन तथा वितरण र घाइतेहरूको उपचारकार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको अध्यक्ष साइले बताउनुभयो ।

त्यसैगरी कम्पनीले संस्थामा आबद्ध ग२ख ११५२ नम्बरको यात्रुवाहक बस सोही बाढीपछि परेर टिमुरे क्षेत्रबाट ३२ जना यात्रुसहित बेपत्ता भएको हुँदा चालक, यात्रु तथा बसको खोजतलासका लागि सहयोगको अपिलसमेत गरेकोे छ ।

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ। प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

काउन्सिलले आज ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धाभन्दा सही, पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो । निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धारसम्बन्धी सूचना आधिकारिक वा अन्य विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ ।

क्षतविक्षत शव, शरीरका अङ्ग स्पष्ट देखिने विभत्स दृश्य, अत्यधिक रक्ताम्मे दृश्य वा तस्बिर, मृतकको अनुहार, गम्भीर घाइतेको पीडादायी सामग्री तथा शोकमा रहेका परिवार वा बालबालिकाका अत्यन्त निजी दृश्य सामान्यतः प्रकाशन वा प्रसारण नगर्न भनिएको छ ।

असाधारण सार्वजनिक हितका कारण संवेदनशील दृश्य प्रयोग गर्नुपरे अनुहार वा पहिचान ढाक्न, दृश्य सीमित गर्न, आवश्यक पूर्वसूचना दिन तथा सम्भव भएसम्म कम हानिकारक वैकल्पिक दृश्य प्रयोग गर्न निर्देशन दिइएको छ । वेबसाइट, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सलगायत डिजिटल प्लेटफर्मका भिडियो वा सामग्री खोल्नुअघि बाहिरै देखिने सानो तस्बिर मुख्य तस्बिर वा आफैँ चल्ने श्रव्यदृश्यको छोटो भाग (थम्बनेल, कभर वा अटोप्ले प्रिभ्यु)मा समेत विभत्स दृश्य राख्न नहुने काउन्सिलले जनाएको छ ।

पीडितलाई समाचारको विषयमात्र नभई सम्मान र अधिकार भएका नागरिकका रूपमा व्यवहार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अन्तर्वार्ता लिँदा परिचय र उद्देश्य खुलाउन, सम्भव भएसम्म सचेत सहमति लिन, बोल्न नचाहनेलाई दबाब नदिन तथा मानसिक रूपमा विचलित व्यक्तिलाई बारम्बार प्रश्न नगर्न भनिएको छ ।

बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै रोइरहेका वा त्रसित बालबालिकाको अनावश्यक ‘क्लोजअप’, मृत वा घाइते आफन्तसँगको निजी दृश्य तथा सुरक्षा जोखिममा पार्न सक्ने व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गरिएको छ । सामाजिक सञ्जालबाट प्राप्त विपद्सम्बन्धी सामग्री पुनःप्रकाशन गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी पाँच पक्ष पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

पुरानो विपद्को भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता (एआई)बाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको सङ्ख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनिएको छ । एआईबाट सिर्जित साङ्केतिक दृश्य प्रयोग गर्दा त्यसलाई वास्तविक घटनास्थलको दृश्यजस्तो भ्रम पर्ने गरी प्रस्तुत गर्न नहुने र ‘एआईद्वारा सिर्जित साङ्केतिक दृश्य’ भनेर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

काउन्सिलले विपद्का समाचारलाई मृत्यु र विनासमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्वचेतावनी, अस्पताल, राहत केन्द्र, आपत्कालीन सम्पर्क, उद्धार, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ । “सकारात्मक सञ्चारको अर्थ वास्तविकता लुकाउनु होइन; समस्या देखाउँदै समाधान र पुनःउत्थानको बाटोसमेत देखाउनु हो”, निर्देशिकामा भनिएको छ ।

समाचार सङ्कलनका क्रममा उद्धार, एम्बुलेन्स आवागमन, उपचार, सुरक्षाकर्मीको काम वा राहत वितरणमा अवरोध नपुर्याउन तथा पत्रकारले अनावश्यक जोखिम नलिन भनिएको छ । गलत सूचना प्रकाशित भएको थाहा हुनासाथ तत्काल सच्याउन, के गलत भएको थियो र सही तथ्य के हो भन्ने स्पष्ट गर्न तथा आवश्यक परे क्षमायाचना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

काउन्सिलले लगातार विभत्स तथा पीडादायी सामग्रीमा काम गर्ने पत्रकार, फोटो पत्रकार, श्रव्यदृश्य सम्पादक र सामाजिक सञ्जाल अनुगमनकर्ताको मानसिक स्वास्थ्यमा समेत सञ्चारमाध्यमले ध्यान दिनुपर्ने जनाएको छ । संवेदनशील सामग्री प्रकाशनअघि तथ्यपुष्टि, सुरक्षा, गोपनीयता, बालबालिकाको हित, दृश्यको आवश्यकता र सार्वजनिक हितलगायत विषय समेटिएको ‘१० प्रश्न’ परीक्षण गर्न पनि सम्पादकलाई सुझाइएको छ ।

निर्देशिकाविपरीत सामग्री देखिए पत्रकार आचारसंहिता, कार्यविधि तथा प्रचलित कानुनबमोजिम ध्यानाकर्षण, निर्देशन वा अन्य प्रक्रिया अघि बढाउन सकिने काउन्सिलले जनाएको छ ।

श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार

भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राङ्गणमा सर्लाहीका ३७ वर्षीय बालगोविन्द यादव नयाँ जीवन पाएर घर फर्किन पाएपछि खुसी देखिनुहुन्थ्यो ।

श्रीमानलाई आफ्नो आधा कलेजो काटेर प्रत्यारोपण गरेपछि सकुशल घर जान पाएकामा ३३ वर्षीया श्रीमती मीनाकुमारी यादव झनै खुसी देखिनुहुन्थ्यो ।

बालगोविन्दको कलेजो बिग्रिएर शरीरमा नहँुदा जीवनमरणको सङ्घारमा रहेको बेलामा उपचारकै क्रममा कलेजो प्रत्यारोपण गर्न मिल्ने थाहा पाएपछि श्रीमान्लाई कलेजो दान दिएर भए पनि बचाउने अठोट व्यक्ति गर्दै मीनाकुमारी सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउनुभएको थियो ।

केन्द्रका चिकित्सकले यही भदौ ८ गते मीनाकुमारीको आधा कलेजो काटेर श्रीमान् बालगोविन्दलाई प्रत्यारोपण गरेपछि उहाँहरू आज डिस्चार्ज भएर घर फर्किनुभएको केन्द्रका प्रशासन प्रमुख हरिहर पोखरेलले जानकारी दिनुभयो । केन्द्रले यो ३९औँ कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।

शल्यचिकित्सक डा रामबाबु साहकोे नेतृत्वमा ६० जना विशेषज्ञ चिकित्सक, नर्सलगायतको समूहले सफलतापूर्वक कलेजो प्रत्यारोपण सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । प्रत्यारोपण केन्द्रले १४ वर्षको अवधिमा एक हजार ६८० जनाको मिर्गाैला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरी सकेको केन्द्रका कार्यकारी निर्देशक डा कल्पनाकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

यस केन्द्रमा नियमित कलेजो प्रत्यारोपण हुन थालेपछि कलेजो प्रत्यारोपणको लागि विदेश धाउनपर्ने बाध्याता हटेको र यस केन्द्रले देशको सबैभन्दा धेरै (करिब दुई तिहाई) प्रत्यारोपण गर्दै आएको उहाँले बताउनुभयो ।

बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)को आयोजनामा आज नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका करिब २५ भन्दा बढी सङ्घसंस्थाको संयुक्त बैठकले नेपालको पर्यटन पुनरुत्थानका लागि हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

बैठकमा क्यूआरटीका संयोजक धमलाले सङ्कटको घडीमा सरकार र निजी क्षेत्रले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगत एक हप्तादेखि मन्त्रालय र निजी क्षेत्रबीचको समन्वय प्रभावकारी बनेको र मन्त्रीस्तरबाटै विभिन्न समस्याहरूको तत्काल समाधान खोज्ने काम भइरहेको बताउनुभयो ।

नेपाललाई अन्तरराष्ट्रियस्तरमा जोखिमपूर्ण क्षेत्रबाट हटाउन विश्व पर्यटन सङ्गठनमा थप पहल गरिने बताउनुभयो । यस पुनरुत्थान अभियानको मुख्य आकर्षणका रूपमा ‘लाङटाङ’ क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो । भूकम्पपछि बन्द रहेको लाङटाङ पदमार्ग र पर्यटकीय क्षेत्र खुला गर्दा विश्वभर नेपाल सुरक्षित छ र नेपालीहरू सङ्कटसँग जुध्न सक्षम छन् भन्ने सकारात्मक सन्देश जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण सङ्कलन फारमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

बैठकले लाङटाङ क्षेत्रमा चालु याममा पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढङ्गले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिनुभयो ।

नेपालको पर्यटन अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन, पाटालगायत अन्तरराष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष भरतजङ्ग पाण्डे, नेपाल पर्वतारोहण सङ्घ, होटल व्यवसायी महासङ्घको सहभागिता थियो ।

यस्तै, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार सङ्घ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ, नेपाल पर्यटक बस व्यवसायी सङ्घ, कैलाश अपरेटर सङ्घ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरूको सहभागिता थियो ।

‘क्लब १८’को कन्सर्टबाट उठेको १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौं । जडीबुटीस्थित क्लब १८ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट संकलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।भदौ १७ गते आयोजना गरिएको कन्सर्टको डोर सेल्सबाट संकलित रकम क्लब १८ ले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोग गर्ने उद्देश्यले कन्सर्टको डोर सेल्सबाट प्राप्त रकम राहत तथा सहयोगमा खर्च गर्ने घोषणा आयोजकले कार्यक्रमअघि नै गरेको थियो।कन्सर्टमा मैथिली र्‍याप ‘जनचेतना’ मार्फत चर्चामा आएका र्‍यापर डिके सागर (यादव सरकार) को मुख्य प्रस्तुति रहेको थियो। कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले समेत प्रस्तुति दिएका थिए।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर आयोजना गरिएको कार्यक्रमबाट उठेको रकम विपद् प्रभावितको सहयोगमा प्रयोग गर्ने प्रतिबद्धताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको क्लब १८ ले जनाएको छ।क्लब १८ का सञ्चालक सुजन श्रेष्ठले संगीत र मनोरञ्जनमार्फत संकलित रकम विपद् प्रभावित नागरिकको सहयोगमा योगदान पुगोस् भन्ने उद्देश्यले कोषमा रकम जम्मा गरिएको बताए।

भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।

बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन् । पशुपति आर्यघाटमा आज मात्रै सात जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ ।

बेपत्ता भएको १० दिनसम्म पनि कुनै खबर नआएपछि सिन्धुपाल्चोक-७ का बद्रीकुमार दर्जीले आफ्ना आफन्त ३६ वर्षीय राजकुमार दर्जीको कुशको शव बनाएर अन्तिम संस्कार गर्नुभएको छ । “भोटेकोशीको बाढीले हाम्रो आफन्त राजकुमार दर्जी बेपत्ता भएको आज १० दिन भयो । अवस्था पत्ता लाग्न नसकेपछि आज कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरेका छौँ”, उहाँले भन्नुभयो ।

पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएका कम्तीमा १६ जनाको भने शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बाढीमा परी मृत्यु भएकाको शव दाहसंस्कारका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।

बेपत्ता आफन्तको खोजीका क्रममा लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि परिवारजन धार्मिक संस्कार पूरा गर्न बाध्य भएका हुन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्दै मनलाई केही शान्त पार्ने प्रयास गरिरहेका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि सयौँको सङ्ख्यामा मानिस बेपत्ता भएका छन् भने खोजी तथा उद्धार कार्य पनि जारी छ ।

जन्माष्टमीमा बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्री बालेनले भने – ‘चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्छौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्थाप्रति दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले जन्माष्टमीमा बालबालिका राधाकृष्णको रूपमा सिँगारिएर रमाउने भए पनि यसपटक रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू भने पीडामा रहेको बताएका छन्।

उनका अनुसार कतिपय बालबालिकाले आफ्ना बाबुआमा र आफन्त गुमाएका छन् भने कतिपय अझै स्तब्ध अवस्थामा छन्। बाढीका कारण घर तथा बस्तीहरू खण्डहर बनेको, खेल्ने चौरहरू पुरिएको र आफ्नै ठाउँसमेत बिरानो बनेको उनको भनाइ छ।

बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा प्राथमिकता दिइएको उनले बताएका छन्। अहिले प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गरिने उनको प्रतिबद्धता छ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
हाम्रा प्यारा नानीबाबुहरू,
आज श्रीकृष्ण जन्माष्टमी। ससाना नानी बाबुहरू राधाकृष्णको रूपमा सिँगारिएर मखन खाने र रमाउने दिन हो। हातमा बाँसुरी लिएर नानीबाबुहरू रमाइरहनुभएका तस्बीरहरू सामाजिक सञ्जालमा साझा भइरहेका होलान्।
तर, यसपालिको यो उत्सवमा रसुवाभोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुशी हुन सक्नुभएन। उहाँहरू गहिरो पीडामा हुनुहुन्छ। कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ।
अचानक के–के भयो, कतिले त सोच्न समेत भ्याउनुभएको छैन होला। उहाँहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान्। कतिपय बाबुनानीहरूले विपद्को १० औं दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला।
साँच्चै, आज देश दुःखी भएको छ। कति साथीहरू छुटिनुभयो। कति घर र बस्तीहरू खण्डहर बनेका छन्। खेल्नेकुद्ने चौरहरू पुरिएका छन्। यहाँहरूको आफ्नै ठाउँ आज बिरानो जस्तै बनेको होला।
प्यारा नानीबाबुहरू,
बाढी गएलगत्तै हामीले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै यहाँहरूलाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएका थियौँ। अहिले पनि त्यो क्रम जारी छ।
हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन। तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।
यहाँहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ। यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौं। जतिसक्छौं हामी खटिरहेका छौं। त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ।
विपद् फेरि पनि आउला। जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको छ। हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको होला। तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्छ र उनीहरूलाई पनि यस्ता जोखिम घटाउन जिम्मेवार बनाउनुपर्छ।
हामी हिमाली देशका बासिन्दा हौं। त्यसैले सधैँ सजग रहनुपर्छ। प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो। अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला। यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ।
पूर्वतयारीका लागि यी कुरामा ध्यान दिनुहोलाः
१. विपद् झोलाः आफ्नो घरमा सजिलै सबैले भेट्न सक्ने ठाउँमा एउटा ‘विपद् झोला’ राख्न सुरु गर्नुहोस्। यस्तो झोलामा विपद्का बेला अति आवश्यक पर्ने हलुका र साना वस्तुहरू (जस्तैः घाउचोट बाँध्ने पट्टी, आवश्यक औषधि, पानी, सुक्खा खानेकुरा, केही नगद पैसा आदि) राख्नुहोला।
२. ससानो बचतः भोलि आउन सक्ने विपद्का लागि आजैदेखि बचत गर्न सिक्नुहोस्। दैनिकरुपमा १ रुपैयाँ मात्र जम्मा गर्यौ भने पनि नेपालभरि एक वर्षमा कति रकम जम्मा होला? यहाँहरु नै आफै हिसाब गर्नुहोस् त?
३. अध्ययन र छलफलः जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेका छ भन्नेबारे अध्ययन सुरु गर्नुहोस्। एकआपसमा यस्ता विषयमा छलफल गर्नुहोस् र जनचेतना फैलाउने काममा अगाडि बढ्नुहोस्।
यी त केही सुरुआती कामहरू भए, जुन यहाँहरू आफैँले गर्न सक्नुहुन्छ।
प्यारा नानीबाबुहरू,
केही बेर अघिसम्म विपद्मा पर्नुभएका १३ हजार ९५ जना आमाबाबु, दाजुभाइ, दिदीबहिनीहरूको उद्धार भइसकेको छ।
यो उद्धारमा आफ्नो ज्यानको परबाह नगरी अहोरात्र खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत अन्य विज्ञ टोलीलाई हामी सबैले हृदयदेखि नै धन्यवाद भन्नुपर्छ।
यस विपद्को समयमा विदेशमा बस्नुहुने नेपालीहरू, मित्र राष्ट्रहरू र विकास साझेदार संस्थाहरूले पनि ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूप्रति पनि हामी कृतज्ञ रहनुपर्छ।
विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।
श्रीकृष्णले पनि भन्नुभएको छ संघर्ष र विपद्को समयमा हार मानेर वा निराश भएर बस्ने होइन। धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ। हामी रोकिदैनौं।
आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ।
धेरै माया..

इटालीकी प्रधानमन्त्रीको सत्तामा रेकर्ड

काठमाडाैँ। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले युद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गरेको रेकर्ड बनाउँदै शुक्रबार दक्षिणी सहर बारीमा राजनीतिक र्‍याली आयोजना गरिएकाे छ । सन् २०२७ को निर्वाचनलाई लक्षित गरिएको र्‍यालीमा उनले सरकारका उपलब्धि प्रस्तुत गर्दै समर्थकलाई आगामी चुनावका लागि एकजुट गर्ने अपेक्षा गरिएको छ।

मेलोनीको सरकारले शुक्रबार एक हजार ४१३ दिन पूरा गर्दै पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको रेकर्ड तोड्नेछ । पछिल्लो ८० वर्षमा ६८ वटा सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बाबजुद मेलोनीले सत्ता टिकाएकी हुन्।

मेलोनीको ‘ब्रदर्स अफ इटाली’ पार्टीले आयोजना गरेको कार्यक्रममा करिब १० हजार समर्थक सहभागी हुने अपेक्षा गरिएको छ। ‘सबैभन्दा स्थिर सरकार, सबैभन्दा बलियो इटाली’ नारासहितको कार्यक्रममा मेलोनीले सन् २०२२ यता रोजगारीमा १० लाखभन्दा बढी वृद्धि र व्यक्तिगत आयकरमा २१ अर्ब युरो कटौतीलाई प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नेछन्।

सरकारले देशको वित्तीय अवस्थामा सुधार आएको दाबी गरे पनि आलोचकहरूले आर्थिक वृद्धि कमजोर रहेको बताएका छन्। ट्रेड युनियन सीजीआईएलका प्रमुख माउरिजियो लान्डिनीले तलब नबढेको, पेट्रोल महँगिएको, रोजगारीको असुरक्षा बढेको र स्वास्थ्य सेवा कमजोर बनेको बताए।

मेलोनीको गठबन्धनले सार्वजनिक सुरक्षा र आप्रवासन नियन्त्रणमा केन्द्रित करिब ३०० कानून तथा आदेश पारित गरेको छ। सन् २०२२ मा अवैध आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धतासहित चुनाव जितेको ‘ब्रदर्स अफ इटाली’ ले आफ्ना नीतिका कारण आप्रवासी आगमन ८० प्रतिशत घटेको दाबी गरेको छ।

यसैबिच सरकारविरोधी प्रदर्शनकारीहरूले मेलोनी सरकारमाथि युद्ध र हतियारको अर्थतन्त्रलाई बढावा दिएको, ‘पुलिस राज्य’ निर्माण गर्न खोजेको र आप्रवासीविरुद्ध घृणाको वातावरण सिर्जना गरेको आरोप लगाएका छन्। आगामी निर्वाचनअघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनीतिक शक्ति पनि उदाउँदै गएको बताइएको छ।

त्रिशूली–३ ‘ए’मा उद्धार टोली फर्कियो, दुई जनालाई जीवित निकालियो, एक शव फेला

काठमाडौँ – त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य हाललाई बन्द गरिएको छ ।

आज बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो ।

उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको थियो । उनीहरूको उपचार भइरहेको छ ।

खोज तथा उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको थियो । थप व्यक्तिको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिए पनि हाल उद्धार गर्न कठिन भएपछि बन्द गरिएको छ ।

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम। दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री भट्टले घटनाबारे अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित अधिकारीसँग जानकारी लिँदै सतर्क रहन निर्देशन दिनुभएको हो ।

नदी थुनिएपछि पानीको सतह बढ्न सक्ने तथा थुनिएको नदी अचानक खुल्दा तल्लो तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री भट्टले नदी किनारका बासिन्दालाई पूर्वसावधानी अपनाउन आग्रहसमेत गर्नुभएको छ ।

उहाँले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै चौलानी नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको उहाँँको सचिवालयले जनाएको छ ।

उहाँले आन्तरिक मामिला मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न र आवश्यक परे तत्काल खोज, उद्धार तथा राहतका लागि परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । नदी आसपास उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले चौलानी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेर नदी आंशिक रूपमा थुनिएपछि सम्भावित जोखिमबाट बच्न तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गर्नुभएको हो ।

पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने र त्यसबाट जोखिम उत्पन्न हुन सक्ने प्रशासनले जनाएको छ । वर्षा र बाढीबारे जानकारी लिन १११५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल ११४४ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

यसैबीच, नदी आंशिक रूपमा थुनिएको खबर प्राप्त हुनासाथ सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सशस्त्र प्रहरीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल चमेलिया जलविद्युत् सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद खड्काको कमाण्डमा १० जनाको टोली सूचना प्रवाहका लागि खटिएको सशस्त्र प्रहरी बल,नेपाल वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिनुभयो ।

टोलीले चमेलिया नदी आसपासका बस्ती तथा चमेलिया जलविद्युत् उत्पादन केन्द्रको इलाकामा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सतर्क रहन माइकिङ गर्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“हाल नदीको बहाव सामान्य रहेको जानकारी छ । तथापि, पछि उत्पन्न हुने जोखिमलाई हेरेर हामीले उच्च सतर्कता अपनाउन आवश्यक सूचनाका लागि जनशक्ति परिचालन गरेका छौँ,” डिआइजी सुवेदीले भन्नुभयो ।

अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

काठमाडौँ, भदौ १९ –नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ । टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ ।नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ । नेपालले पहिलो खेलमा अष्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो ।

तास्मिनियाविरुद्ध नेपालका कुनै पनि अर्धशतकीय पारी खेल्न सकेनन् । त्यस खेलमा नेपाल २ विकेटले पराजित भयो । नेपालले दोस्रो खेलमा झन खराब ब्याटिङ ग¥यो ।शुक्रबार दक्षिण अष्ट्रेलियाविरुद्धको उक्त खेलमा २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमै समेटियो । दोस्रो एकदिवसीय खेलमा पनि नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय इनिङ खेल्न सकेनन् ।दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल १३८ रनले पराजित भयो । नेपालले अब आइतबार अन्तिम खेलमा न्यूजील्यान्डविरुद्ध खेल्नेछ ।

टप एन्ड टी–२० सिरिजमा पनि खराब प्रदर्शन

तेस्रो संस्करणको टप एन्ड टी–२० का लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले ‘ए’ टोलीलाई प्रतियोगिता खेल्न अष्ट्रेलिया पठाएको थियो । ‘ए’ नाम दिए पनि टिममा समावेश अधिकांश खेलाडीले अन्तरराष्ट्रिय क्रिकेटमा पदार्पण गरिसकेका छन् । नेपालले टप एन्ड टी–२० सिरिज २०२६ मा पनि लिग चरणमा छ वटा खेल खेल्न पायो । नेपालले छमध्ये चारमा पराजय र दुई खेलमा मात्र जित निकाल्यो ।

गत संस्करणमा पनि नेपालले यही प्रकारको नतिजा निकालेको थियो । यसपटक नेपालको सुरुवात निकै कमजोर रह्यो । नेपालले आयोजक नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेटको पराजय व्यहोर्दै प्रतियोगिताको सुरुआत गरेको थियो ।

दोस्रो खेलमा नेपालको भेट बङ्गलादेश हाई–परफर्मेन्ससँग भयो । उक्त खेलमा नेपालले ९ विकेटको हार व्यहोर्यो । तेस्रो खेलमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै होबार्ट हरिकेन्सको एकेडेमीलाई ३९ रनले हरायो । सोही लय दोहोर्याउँदै नेपालले चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध चार विकेटको जित निकाल्यो ।

पाँचौँ र छैटौँ खेलमा भने नेपालले फेरि लय गुमायो । नेपालले पाँचौँ खेलमा हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रन र भिक्टोरिया सिए–११ विरुद्ध एक विकेटको पराजय व्यहोर्यो । यसरी समग्रमा नेपालले छ खेलबाट चार अङ्क मात्र जोड्यो । नेपाल तालिकाको सातौँ स्थानमा रह्यो ।

ब्याटिङमा किन सुधार देखिएन ?

अष्ट्रेलियामा खराब नतिजा दोहो¥याउनुमा त्यहाँ खेलेको अनुभवको कमी रह्यो । नेपालका पूर्वराष्ट्रिय क्रिकेटर शरद भेषवाकर पनि अष्ट्रेलियाको पिचमा खेल्न कठिन हुने बताउनुहुन्छ ।

“अष्ट्रेलियाको पिचमा बल धेरै बाउन्स हुन्छ । हाम्रा लागि त्यहाँको पिच कठिन नै मानिन्छ । यद्यपि हामीले त्यहाँको पिचमा पनि खेल्ने बानीको विकास गर्नुपर्छ,” भेषवाकरले रासससँग भन्नुभयो, “यस प्रतियोगितामा नेपालले लय पाउन निकै सङ्घर्ष गरेको देखियो । ब्याटिङमा कुशलबाहेक अरू ब्याटर चल्न नसक्दा टोलीले आफूअनुकूल नतिजा निकाल्न सकेन ।”

खेलमा पराजय व्यहोरे पनि यस्तो प्रकारको प्रतियोगिताले आगामी दिनमा सिनियर टोलीलाई धेरै फाइदा पुग्ने उहाँको बुझाइ छ ।

“अष्ट्रेलिया भ्रमणमा नेपाल ‘ए’ ले अपेक्षाअनुसार नतिजा दिन नसके पनि केही खेलमा प्रतिस्पर्धात्मक क्रिकेट भने खेल्यो । यस प्रकारका प्रतियोगिताले खेलाडीको क्षमता अभिवृद्धि गर्न धेरै मद्दत पुर्याउँछ,” भेषवाकर भन्नुहुन्छ, “ठूला प्रतियोगितामा खेल्दा खेलाडीमा आत्मविश्वास बढ्छ । साथै उनीहरूसामु आफ्नो क्षमता देखाउने अवसर पनि मिल्छ ।”

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौँ, भदौ १९ –राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ । विभागले आज सूचना जारी गर्दै राहदानीसम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो ।

विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ । साथै, सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुनेसम्बन्धी सूचना प्रकाशित गरिएको विभागले जनाएको छ ।

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ। चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ।उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन्।

चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ।

सञ्चारमन्त्रीले लिए रसुवा बाढीका घाइतेहरूको अवस्थाबारे जानकारी

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवा बाढीमा परी घाइते भई उपचाररत बिरामीहरूसँग भेटघाट गरेका छन् ।मन्त्री तिमिल्सिनाले शुक्रबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री तिमिल्सिनाले बाढीका कारण रसुवाको टिमुरेदेखि देवीघाटसम्मका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको बताए ।

उनले भने, ‘बाढीमा परी घाइते भएर उपचार गराइरहनुभएका व्यक्तिहरूसँग भेटघाट ग¥यौँ। उहाँहरू निकै प्रभावित क्षेत्र टिमुरेदेखि तल देवीघाटसम्मका विभिन्न ठाउँमा रहँदा बाढीमा परी घाइते हुनुभएको रहेछ । हरेक दिन बाढीको कुरा गरिरहँदा र जहाँ जाँदा पनि यो एउटा अकल्पनीय महाविपत्ति हो भन्ने महसुस हुन्छ । त्यसैले अत्यन्त दुःख लागेको छ ।’

मन्त्री तिमिल्सिनाले घाइतेहरू उद्धार भएर उपचाररत हुनु सकारात्मक पक्ष भए पनि उनीहरूका परिवार, आफन्त तथा गाउँलेहरू बाढीमा परी बेपत्ता वा मृत्यु भएको खबर अत्यन्त दुःखद रहेको बताए ।

‘उहाँहरूको अवस्था हेरेपछि र कुरा सुनिसकेपछि सकारात्मक कुरा के हो भने उहाँहरू उद्धार भएर आएर उपचार गराइरहनुभएको छ । तर दुःखको कुरा, उहाँहरूसँगै घरमा बस्ने परिवार, आफन्त, गाउँले तथा नातागोताका धेरै मानिसलाई बाढीले बगाएर लगेको छ । त्यो एकदमै दुःखको कुरा हो,’ उनले भने ।उनले घाइतेहरूको उपचारको अवस्था, अस्पतालबाट उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवा तथा उपचारका क्रममा देखिएका समस्याबारे चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग विस्तृत जानकारीसमेत लिएका छन् ।

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

कास्की। पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

सेदीबाट लेकसाइडतर्फ आउँदै गरेकोे कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४ः५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको विहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन् ।

उद्धार टोलीले फेवातालको पानीभित्रबाट उहाँहरुलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वाटर कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो ।

दुर्घटनामा परेको भारतीय नम्बर बिआर ०५ बिबी ६७५९ को कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिनुभयो ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो ।

जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा मानिसको आवाज सुनिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली ले खोज गरेको थियो ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ ।

विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू–भागमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको र अन्य प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।

“देशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ । पछिल्लो छ घण्टामा सबैभन्दा धेरै झापाको अनारमनी विर्तास्थित मौसम मापन केन्द्रमा ३४ मिलिमिटर वर्षा मापन भएको छ”, उनले भनिन्, “हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ । हाल देशभर सामान्यतया बदली रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।”

विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीसमेत चल्नसक्ने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भाग, देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै तथा मधेस प्रदेशका एक÷दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ । अझै तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

रुसी सैन्य भर्ती गर्ने नयाँ योजना छैन: पुटिन

काठमाडौँ । रुसले युक्रेन आक्रमणका लागि अहिले थप मानिसलाई परिचालन गर्न आवश्यक नभएको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार अर्को सैन्य भर्तीको अडकललाई युक्रेनी ‘अफवाह’ भने ।

राष्ट्रपति पुटिनले सन् २०२२ मा युक्रेनमा सैन्य असफलतापछि जगेडा फौजको ‘आंशिक परिचालन’ को आदेश दिएका छन् ।

उक्त आदेशलाई क्रेमलिनले करिब १४ करोड जनसङ्ख्यामध्ये मात्र तीन लाख जनामा लागू हुने बताएको थियो । यो अत्यन्त अलोकप्रिय थियो र यसले भर्ती उमेरका पुरुषहरूको ठुलो पलायन गराएको थियो ।

क्रेमलिनले बारम्बार अर्को भर्तीको योजना अस्वीकार गर्दै आएको छ । “आज कुनै पनि यस्तो परिदृश्य छैन जसले परिचालन आवश्यक बनाउँछ,” पुटिनले भ्लादिभोस्टोकमा आयोजित ‘इस्टर्न इकोनोमिक फोरम (इइएफ) सम्मेलनको पूर्ण सत्रमा भने ।

“यो ‘डुमा’ निर्वाचनको पूर्वसन्ध्यामा शत्रुको झूटो प्रचार अभियान हो जसले नतिजा प्रभावित पार्ने उद्देश्य राखेको छ,” उनले यस महिनापछि हुने रुसी संसदीय निर्वाचनलाई सङ्केत गर्दै भने ।

“हाम्रा मानिसहरू स्वेच्छाले भर्ती हुन्छन् र सम्झौतामा हस्ताक्षर गर्छन्,” उनले भने । किएभले पुटिनका टिप्पणीबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाईमा भनेका थिए, “मस्कोले अगाडि ठुलो क्षति बेहोरेपछि ‘शरदमा नयाँ परिचालन श्रृङ्खला’ को तयारी गरिरहेको छ ।

रूसको युद्ध मैदानमा यस वर्षको प्रगति उल्लेखनीय रूपमा सुस्त भएको छ किनकि उसको अगाडि युक्रेनले गरेको ड्रोनको व्यापक प्रयोगले द्रुत र ठुलो स्तरको फौज आवागमनलाई कठिन बनाएको छ ।

अमेरिकी थिंक ट्याङ्क समूह ‘इन्स्टिच्युट फर द स्टडी अफ वार’ले जुलाईमा युद्धकालमा सेनाले थप प्रकारका कैदीहरू भर्ती गर्न सक्ने हालै पारित कानुनलाई उद्धृत गर्दै भनेको थियो, “मस्कोले अर्को सैन्य परिचालनको ‘अवस्था’ तयार पारिरहेको देखिन्छ ।”

परिचालन ‘पुटिनका लागि अत्यन्त व्यक्तिगत निर्णय हो र अन्ततः युद्ध मैदानको अवस्था र क्रेमलिनको स्थिरताप्रति पुटिनको व्यक्तिगत धारणामा निर्भर गर्छ,” उक्त कानुनी प्रावधानमा भनिएको छ।

दुवै पक्षले द्वन्द्वमा ठुलो सैन्य क्षति बेहोरेका छन् ।

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही । सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठुलो धनराशि खर्च गरेर निर्माण गरिएको ब्यारेज तीन दशकसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

बलरा नगरपालिका–१० र रामनगर गाउँपालिका–१ को सिमाना सुदामामा निर्माण भएको सिँचाइ ब्यारेज ३१ वर्षदेखि अलपत्र अवस्थामा छ । बाह्रै महिना पानी बग्ने एकादशी खोलामा २०५२ सालमा ब्यारेज निर्माण गरिएको थियो । सुदामा, छोटउल, अचलगड, बलरा अर्नाह, मिर्जापुर, छतौना, खेअर्वा, रामनगर बहुअर्वालगायत साबिक दर्जन बढी गाविसका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित निर्माण भएको ब्यारेज प्रयोग नै नभई अलपत्र बनेको हो ।

ब्यारेज ६ करोड लागतमा निर्माण भएको थियो । कृषिको उर्वर भूमिका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको भरपर्दो सुविधा नहुँदा किसान वर्षाको पानीको भरमा खेती गर्न बाध्य छन् । यस क्षेत्रका सयौँ बिघा खेतीयोग्य भूभाग वर्षात्मा जलमग्न र हिउँदमा खण्डहर बन्ने गरेको बलरा नगरपालिका–५ मिर्जापुरका किसान शङ्कर साहले गुनासो गरे । “ब्यारेजसँग जोडिएको एउटा नहर छ”, उनले भने, “त्यो पनि अव्यवस्थित छ ।”

नहरबाट आएको पानी वर्षायाममा अनियन्त्रित भई ब्यारेज नजिकका केही किसानको खेतसम्म पुग्छ । बाँकी क्षेत्रका किसानले पम्पसेट र विद्युत् मोटरको भरमा जेनतेन खेती गरिरहेका उनको गुनासो छ ।

यसरी गरिएको खेती मौसम प्रतिकूल हुँदा खेर जाने गरेको उहाँको अनुभव छ । ब्यारेज निर्माण भएको ठाउँ जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्छ । उत्तरी क्षेत्र रामनगर गाउँपालिकाका भूभागमा सिँचाइ गर्न नसकिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

“यहाँको भूभाग कोल्टे पर्छ”, रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवले भने, “सुरुमा हालको रामनगर र बलराको लागि भनेर ब्यारेज निर्माण भएको देखिन्छ । गलत ठाउँ परेकाले रामनगरका किसानको लागि त्यो उपयुक्त भएन । ब्यारेजबाट पानी उत्तरतर्फ आउँदैन । त्यसैले सोही खोलाको माथिल्लो स्थानमा बाँध निर्माण गरेर सिँचाइ सुविधा पुर्याइरहेका छौँ ।”

नहर निर्माण गरी व्यवस्थित गर्नसके हालको बलरा नगरपालिकाका सम्पूर्ण खेतीयोग्य भूभागमा सिँचाइ सुविधा पुग्ने नगरप्रमुख रामाशङ्करप्रसाद कुशवाहाले बताए । ब्यारेज नै अलपत्र पर्दा समस्या भएको उहाँको भनाइ छ । ब्यारेजको संरक्षण स्वामित्व कसैले नलिएकाले जीर्ण बनेको उनले स्वीकार गरे । आफू नगरप्रमुख भएर आएपछि बजेट विनियोजन गरी ब्यारेजको सामान्य मर्मत सम्भार गरेको उनको भनाइ छ ।

नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा ब्यारेज मर्मत तथा सौन्दर्यकरणका लागि बजेट विनियोजन गरेको थियो । ब्यारेज र पार्कलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नीति लिएको उनले बताए । सङ्घ र प्रदेश सरकारसँग व्यवस्थापनसँगै नहर निर्माण योजना पेस गरेको नगरप्रमुख कुशवाहाले बताए । ब्यारेजका लागि गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारले रु पाँच करोड बजेट उपलब्ध गराएको थियो । समयमा काम हुन नसक्दा फिर्ता गएको उनको भनाइ छ ।

यस वर्षको रु दुई करोड बजेटबाट नहरको काम गर्ने तयारी गरिएको नगरप्रमुख कुशवाहले जानकारी दिनुभयो । ब्यारेज व्यवस्थापनका लागि आफूले प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गरेको उनले दाबी गरे । तर, हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको उहाँ बताउनुहुन्छ । ठुलो भूभागमा सिँचाइ हुने भए पनि ब्यारेज प्रयोगमा ल्याउन नसक्नु दुःखद भएको उनको भनाइ छ ।

किसानको सुविधाका लागि आएको बजेट नगरपालिकाले काम नै नगरी फिर्ता गरेको स्थानीय किसानको आरोप छ । खेत नजिकै बाह्रै महिना खोला बग्ने तर आफूहरूले महँगोमा डिजल मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहनु दुःखत भएको स्थानीय किसान गगनदेव सिंहले गुनासो गरे । पालिकाले सिँचाइ ब्यारेज व्यवस्थित गरी किसानको खेतसम्म पानी पुर्‍याउनुको साटो पार्क निर्माणमा खर्च गरेको उनको आरोप छ ।

ब्यारेज मर्मत गरी पक्की नहरको व्यवस्थासहित सिँचाइ सुविधा उपलब्ध गराउनुपर्ने स्थानीय किसानको माग छ । किसानले सुविधा पनि नपाउने, राज्यको ठुलो लगानी खेर जाने अवस्थाको अन्त्य हुनुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै

काठमाडौँ। अष्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ ।

अष्ट्रेलियाको डार्विनस्थित गार्डेन्स ओभलमा टस जितेर दक्षिण अष्ट्रेलियाले नेपाल ‘ए’विरुद्ध ब्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालले प्रमुख ब्याटर कुशल भूर्तेललाई आराम दिएको छ । उनको स्थानमा राशिद खानले खेलिरहेका छन् ।

दक्षिण अष्ट्रेलियाले १५ ओभरको खल सकिँदा दुई विकेट गुमाएर ५४ रन बनाएको छ । बलिङतर्फ नेपाल ‘ए’ का राशिद खान र नारायण जोशीले एक एक विकेट लिएका छन् ।

एकदिवसीय शङ्खलामा नेपाल ‘ए’ पहिलो जितको खोजीमा छ । नेपाल ‘ए’ले पहिलो खेलमा अष्ट्रेलियन घरेलु टोली तास्मिनियाविरुद्ध एक विकेटको हार व्यहोरेको थियो ।

नेपाल ‘ए’ले तेस्रो एकदिवसीय खेल आइतबार न्यूजील्यान्ड ‘ए’ विरुद्ध खेल्ने तालिका छ ।

सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छ – मुख्यमन्त्री भट्ट

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताउनुभएको छ ।

बाढीमा हराएका आफन्तको खोजीको माग गर्दै बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडितपरिवारसँगको भेटमा मुख्यमन्त्री भट्टले स्थानीय नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताउनुभएको हो ।

मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने उल्लेख गर्नुभयो । हराइरहेकाको खोजी तथा उद्धारका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पीडितपरिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।”

प्रदेश सरकारले बेपत्ता नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । उहाँले पीडितपरिवारलाई एक्लो महसुस हुन नदिने बताउँदै प्रदेश सरकार सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘अशक्तको घरमा प्रजिअ’: अस्मिताले घरमै पाइन् नागरिकता

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । ‘क’ वर्गको अपाङ्गता भएकी पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

मानसिक अपाङ्गताका कारण जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता लिन कठिनाइ हुने भएपछि प्रशासनले घरमै सेवा दिएको हो । सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले घरनजिकै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

अस्मिताले नागरिकता प्राप्त गरेपछि सरकार र स्थानीय तहबाट अशक्त नागरिकले पाउने सुविधा पाउनेछिन् । जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्न थालेको छ ।

“दशवटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण सङ्कलन गरिरहेका छन्”, प्रमुख जिल्ला अधिकारी अर्यालले भनिन्, “सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको घरपायक पर्ने स्थानमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्छौँ ।”

पहाडमा पनि ‘गोमन सर्प’ देखिएपछि…

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन् ।

पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन् । खेतीपाती गर्ने तथा घाँसदाउरा गर्न वन तथा खेतबारीमा जाने स्थानीयलाई सर्पको डर बढेको उनले बताए ।

“विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ”, उनले भने, “अहिले हाम्रो गाउँघरमा पनि गोमन सर्प देखिन थालेको छ । यसले गाउँघरमा त्रास बढेको छ ।” सर्पसम्बन्धी विशेषज्ञले यहाँ फेलापरेको सर्प गोमन नै भएको बताएको उनले जानकारी दिए ।

खेतीपातीको समयमा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ । गोमनजस्तो विषालु सर्पको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भएकाले ग्रामीण क्षेत्रमा सर्पदंशसम्बन्धी जनचेतना र उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ ।

विपत्ति र चुनौतीबीच कर्तव्यमा अडिग रहन प्रधानमन्त्री बालेनको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन्। यस्तो अवस्थामा पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निर्वाह गर्नु नै भगवान् श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग भएको उनको भनाइ छ।

उनले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा अडिग रहन धैर्य र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेका छन्।

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

नुवाकोट। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धार, राहत वितरण एवं पुनरुत्थानका विषयमा जिल्लास्थित सरोकारवालासँग छलफल गरेकी छिन् ।

बिहीबार नुवाकोट आउनुभएकी मन्त्री रावलले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट सबैभन्दा बढी क्षति पुगेको विदुर नगरपालिकाका विभिन्न क्षेत्रमा पुगेर जनधनको क्षति, उत्पन्न समस्या तथा तत्काल गर्नुपर्ने समाधानका विषयमा सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गरेकी हुन् ।

विदुर नगरपालिकाका जनप्रतिनिधिसहित जिल्लास्थित सरोकारवालासँगको छलफलमा मन्त्री रावलले अकल्पनीय विपत्तिका बीच जतिसक्दो छिटो गरिएको खोज तथा उद्धार, विस्थापित नागरिकलाई सुरक्षित स्थानमा राख्न सञ्चालन गरिएको ‘होल्डिङ सेन्टर’ तथा त्यसको व्यवस्थापनको प्रशंसा गरिन् ।

“जनप्रतिनिधि र कर्मचारी स्वयं प्रभावित भएको अवस्थामा पनि दिनरात नभनी बाढीपीडितको असहज परिस्थितिलाई सहज बनाउन पु¥याएको योगदान उच्च छ”, मन्त्री रावलले भनिन् “अकल्पनीय विपत्तिमा गरिएको उद्धार, विस्थापित नागरिकलाई सुरक्षित बासस्थानमा राख्ने कार्य र असहज परिस्थितिलाई सहज बनाउन भएका अभ्यास सबैका लागि नमुना बनेका छन् । अब यही सन्देश पुनरुत्थानको काममार्फत पनि दिनुपर्दछ ।”

मन्त्री रावलसँगको छलफलमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपीडित नागरिकका लागि तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना र सुरक्षित बसोबास सुनिश्चित गर्न तीन तहका सरकारबीच विशेष पहलसहित निरन्तर सहकार्य आवश्यक रहेको बताइन् ।

नगरप्रमुख श्रेष्ठले तत्कालको उद्धार कार्य सम्पन्न भए पनि बाढीबाट प्रभावित नागरिकका घर तथा संरचनाको खोजी, अवरुद्ध सडक तथा पहुँच मार्ग तत्काल सञ्चालनमा ल्याई प्रभावित क्षेत्रको आवागमन सहज बनाउनुपर्नेमा जोड दिइन् ।

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक। केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ ।

राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनको तौल–सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ । उक्त राजमार्गमा १० टन तौलभन्दा बढीका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सडक जाम हुन नदिन ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमा क्रस नहुनेगरी समय व्यवस्थापन गरिएको उल्लेख ग ।

डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा अवरोध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका कार्य तत्काल अगाडि बढाउनेछ । ग्यास बुलेटलगायतका ठूला मालवाहक सवारीसाधनलाई बिपी राजमार्गअन्तर्गतको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिनेछ ।

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन्: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उनले समाजमा रहेका यस्ता लोक परम्परा तथा सांस्कृतिक पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएको बताएका छन् ।

राष्ट्रपति पौडेलले गौरा पर्वले परिवार र समाजलाई जोड्दै राष्ट्रिय एकता सुदृढ पार्न, संस्कृतिको संरक्षण गर्न तथा आध्यात्मिक आस्था र मानवीय जीवनको सुख, शान्तिका लागि सहयोग पुर्‍याएको उल्लेख गरेका छन् ।

यो पर्व हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालका पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइन्छ । यस पर्वमा शिव र पार्वती (गौरा)को पूजाअर्चना गरी व्रत बस्ने गरिन्छ । पर्वमा गहुँ, धान, केराउ, मास र गहतजस्ता पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादका रूपमा ग्रहण गरी मानवीय जीवन, कृषि संस्कृति र पारिवारिक समृद्धिको कामना गरिन्छ ।

गौरा पर्वका अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी आदिका माध्यमबाट एकअर्काका दुःख र सुख बाँड्ने गर्दछन् । राष्ट्रपतिले यस पर्वले बिछोडिएका जोडीको मिलन हुने, आपसी भाइचाराको सम्बन्धमा वृद्धि हुने र पति–पत्नीबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास रहेको उल्लेख गरेका छन् ।

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ। सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार रु तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिए । विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनःस्थापनाका लागि रु सात अर्ब ९५ करोड आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ ।

“प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने अनुमान छ”, उनले भने ।

भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ। भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त सो जलविद्युत् केन्द्रमा खोज तथा उद्धारकार्य तीव्र पारिएको छ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार उक्त जलविद्युत् क्षेत्रमा खोज तथा उद्धारकार्यलाई तीव्रता दिइएको जानकारी दिए। उनले टनेलको मुखमा जमेको १५ फिटसम्मको लेदो निकालेर नेपाली सेनाको टोलीभित्र प्रवेश गरेको बताए।

“सेनाले थप अगाडिसम्म पुग्ने प्रयास जारी राखेको छ, दिनरात नभनी गरिएको प्रयासपछि सुरुङमा जमेको पानीलाई निकास दिन प्राविधिक टोली सफल भएको छ, त्यसबाट उद्धारकार्य थप सहज भएको छ”, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणको व्यवस्थापन समितिको बैठकले खोज तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन कुनै पनि स्रोत साधनको अभाव हुन नदिने निर्णय गरेको छ। बैठकले आवश्यक बजेट, खाद्यान्न तथा अन्य सामग्रीको प्राप्ति, खर्च र त्यसको अभिलेख व्यवस्थापन गर्ने विशेष निर्णय गरेको छ।

बाढीका कारण सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न र उनीहरूका परिवारको पीर, मर्का एवं गुनासो सुन्न प्राधिकरणले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समन्वय समिति गठन गरेकोे छ।

सम्पर्कमा नआएका कर्मचारीका केही आफन्तजनलाई बाढीबाट क्षतिग्रस्त पावरहाउस क्षेत्रसम्मै पुर्याएर स्थलगत जानकारी गराउने व्यवस्था मिलाइएको छ।

भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन् ।

यस्तै, नेपाली सेनामार्फत तीन हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत एक हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने कार्य भइरहेको छ । सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन छन् ।

यसैगरी, भोटेकोशी बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २९० शव फेला परेका छन् । भारतमा फेलापरेका शवसमेत उक्त विवरणमा समावेश गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेलापरेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । त्यस्तै, ५३२ आंशिक अङ्गसहितका शव फेलापरेका छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका दुई जनाको विवरण पनि त्यसमा समावेश गरिएको छ ।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको छ ।

प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै विस्थापितको उद्धार गरिएकाको तत्कालीन व्यवस्थापन र बेपत्ताको खोजी अहिले मुख्य प्राथमिकतामा छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८७ रुपैयाँ १६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४० पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४२ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २४ पैसा र बिक्रीदर १९ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम। बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झापाबाट इलामतर्फ आउँदै गरेको डब्लुबी२९बी २९४४ नम्बरको ट्रक आज दिउँसो मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-१० गोदकस्थित बाह्रगोलाइमा दुर्घटना हुँदा सहचालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् ।

दुर्घटनामा ट्रक चालक भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३० वर्षीय रबिन बर्मुन र ट्रकमा सवार सिन्धुपाल्चोकको चौतारा नगरपालिका-३ का २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका उहाँले बताउनुभयो ।

घाइते दुवै जनालाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । ट्रक अनियन्त्रित भई सडकको दाहिने साइडबाट अन्दाजी पाँच मिटर तल झरी दुर्घटना भएको प्रनाउ भण्डारीले बताउनुभयो ।

ट्रक इलामको तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत इलाम नगरपालिका-१० र माईजोगमाई गाउँपालिका-४ जोड्ने जोगमाई खोलामा निर्माणाधीन बेलिब्रिजको सामग्री लिएर झापाबाट इलामतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन् – सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हाम्रा मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र जीवन पद्धतिको अनुपम सङ्गम भएको सुन्दर राष्ट्र भएको बताए ।

यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उनले उल्लेख गरे । भगवान् श्रीकृष्णको जन्म भएको पावन दिनको स्मरणमा मनाइने श्रीकृष्ण जन्माष्टमी सत्य, न्याय, कर्तव्य, प्रेम, करूणा र मानव कल्याणका आदर्शलाई आत्मसात् गर्ने प्रेरणादायी पर्वका रूपमा रहेको सभापति थापाले चित्रण गरे ।

त्यस्तै, सुदूरपश्चिमको समृद्ध मौलिक संस्कृति, आस्था र परम्परासँग अभिन्न रूपमा जोडिएको गौरा पर्व हाम्रो सांस्कृतिक गौरव, सामाजिक एकता र पारिवारिक आत्मीयताको जीवन्त प्रतीक भएको उनको भनाइ छ ।

उनले दुवै पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा भक्तजनको भीड लाग्छ ।

राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोगेको बताउनुभएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको प्रतिफल भएको उनको भनाइ छ ।

यो विपद् हाम्रा लागि निकै पीडादायी रहेको उल्लेख गर्दै उनले आज सामाजिक सञ्जालमार्फत उनले उल्लेख गरेका छन्, “हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौँ –जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालहरू पग्लदै छन् । यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुन्द्रको तटसम्म पुगिरहेको छ । हामीलाई विगतदेखि नै जुन डर थियो त्यो यथार्थमा रसुवाको भोटेकोशी नदीमा भीषण बाढी बनेर आयो ।” उनले नेपालले त्रासदीपूर्ण घटना बेहोरेको उल्लेख गर्दै हामीले यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने र हामीले यसबारे मानव सभ्यतालाई जवाफ दिनुपर्ने बताएका छन्।

प्रधानमन्त्री शाहले प्राकृतिक विपद् व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण नै हुने उल्लेख गर्दै उपलब्ध स्रोत–साधनहरूको प्रयोग गरी हामी अहोरात्र खटिरहेका बताएका छन् । साथै यस विपद्मा हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । उनले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावित क्षेत्रमा विभिन्न होल्डिङ सेन्टरहरू सञ्चालन गरी नागरिकहरूलाई बसोबास गराइरहेका उल्लेख गरेका छन्। प्रभावितका लागि खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराइरहेको उनको भनाइ छ ।

“नुवाकोटमा सञ्चालित २४ होल्डिङ सेन्टरमा २ हजार ७९६ जना नागरिकहरू बसोबास गरिरहनुभएको छ । रसुवाका ५ वटा होल्डिङ सेन्टरहरूमा १९५ र काठमाडौँका २ स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरी रसुवाका विभिन्न प्रभावित क्षेत्रका ३०० जना नागरिकहरूलाई बसोबास गराइरहेका छौँ । यस्तै, रसुवाका विभिन्न क्षेत्रका ४५०० जना नागरिकहरूलाई प्रत्येक दिन हेलिकप्टरमार्फत राहत वितरण गराइरहेका छौं”, उनले भनेका छन् ।

बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?

काठमाडौँ। रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रममा जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बाढी आएको पहिलो दिनदेखि नै सहयोग आइरहेको छ ।

कार्यालयका अनुसार भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ । भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । साथै, उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ ।

चीनले नेपाललाई रु ३० करोड र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ । साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।

पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ । श्रीलङ्काले १० लाख अमेरिकी डलरको सहयोगको प्रतिबद्धता जनाएको छ । बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।

अमेरिकाबाट ५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता आएको छ । अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग) सहयोगको प्रतिबद्धता आएको छ भने विशेषज्ञसहित ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको छ ।

यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ ।

संयुक्त अधिराज्य (यूके)ले ५ मिलियन पाउण्डले सहयोग गर्ने घोषणा गरेको छ। त्यसैगरी, युरोपेली सङ्घअन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले २ मिलियन यूरो, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्याण्डले ५ लाख यूरो, चेक रिपब्लिकले २५ लाख चेक कोरुना, नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेका छन्। साथै, फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । यस्तै, लक्जेम्बर्ग र लातभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन् ।

खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रले विद्यार्थी तथा युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको बताउनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आज यहाँ आयोजित २३औँ संस्करणको पल्सर स्पोर्टस अवार्ड २०८२ लाई सम्बोधन गर्दै मन्त्री पोखरेलले अहिलेको सङ्कटको अवस्थामा खेलकुद क्षेत्रले बाढी प्रभावित बालबालिका तथा विद्यार्थीको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।

“हालैको विनाशकारी बाढीमा धेरैले आमाबुबा गुमाउनुभएको छ । बाढीले गर्दा कतिपयको गाउँ नै छैन । यसबीचमा धेरैले मानसिक समस्या भोगिरहनुभएको छ । यस्तो अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउन खेलकुद क्षेत्रले राम्रो भूमिका खेलिरहेको छ,” मन्त्री पोखरेलले भन्नुभयो, “हाम्रो टोली पनि बाढी प्रभावित क्षेत्रमा गएर विद्यार्थी तथा बालबालिकालाई खेलकुद सामग्री वितरण गरिरहेको छ । साथै खेलकुद प्रतियोगिता गर्ने तयारी गरिरहेका छौँ ।”

मन्त्री पोखरेलले सरकारको अहिलेको प्राथमिकता बाढी प्रभावितको उद्धार र राहत वितरण रहेको बताउनुभयो । उहाँले बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने खेलकुद क्षेत्रका सङ्घसंस्थालाई धन्यवादसमेत दिनुभयो । स्पोर्टस अवार्डजस्ता कार्यक्रमले खेलाडीको मनोबल वृद्धि गरिहरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

आसन्न संस्करणको एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई मन्त्री पोखरेलले शुभकामना दिनुभयो । उहाँले सीमित स्रोतसाधनका बाबजुद खेलाडीले महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै मिहिनेत जारी राख्न आग्रह गर्नुभयो ।

“खेलाडीले देशको गौरवलाई सधैँ माथि राख्नुभएको छ । राज्यले सीमित स्रोतसाधन उपलब्ध गराउँदा पनि खेलाडीले देशको झन्डालाई माथि राखेर जति मेहनत गर्न सकिन्छ त्यति गरिरहनुभएको छ,” मन्त्री पोखरेलले भन्नुभयो ।

रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात

कास्की। भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पोखराका दुई र रुपा गाउँपालिकाका एक जना गरी तीन जना सम्पर्कमा आएका छन् ।

पोखरा महानगरपालिका-१५ का छमप्रकाश थापा र मनु बुढा सुरक्षित रूपमा घर आउनुभएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

यही भदौ ९ गते गोसाइँकुण्डका लागि पोखराबाट प्रस्थान गर्नुभएका थापा दम्पतीसँग बाढीलगत्तै सम्पर्क हुन नसकेपछि मेलिना थापाले प्रशासनमा खोजीका लागि निवेदन दिनुभएको थियो । आफ्ना काका/काकी भदौ १५ गते साँझ घरमा आइपुग्नुभएको मेलिनाले बताउनुभयो ।

“बाढी आउनुअघि स्याफ्रुबेँसी पार गरेर उहाँहरू पहिल्यै गोसाइँकुण्डतर्फ लागिसक्नुभएको रहेछ । बाटोमा सम्पर्क हुन नसकेपछि हामी चिन्तित भयौँ र खोजीका लागि आग्रह गरेका थियौँ । पछि सम्पर्क भयो र अहिले घरमा आइसक्नुभएको छ”, थापाले भन्नुभयो ।

यसैगरी, बाढीपछि सम्पर्कविहीन हुनुभएका रुपा गाउँपालिका-७ का २९ वर्षीय सरोज विक पनि परिवारको सम्पर्कमा आउनुभएको प्रशासनले जनाएको छ । बाढीपछि हराएका पोखराका १२ जनाको अवस्था भने अझै अज्ञात रहेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो ।

हालसम्म सम्पर्कमा नआएकामा पोखरा-१७ की सविना पौडेल (मिश्र), पोखरा-५ की सृष्टि बास्तोला, पोखरा-६ का अभिषेक आचार्य, पोखरा-१२ का लिला बहादुर थापा र सुमन श्रेष्ठको अवस्था अझै अज्ञात छ ।

पोखरा-१५ की देवीकुमारी गुरुङ, पोखरा-१३ की विनु गुरुङ र उषा गुरुङ, पोखरा-१४ का गोविन्दबहादुर अधिकारी, पोखरा-१० काजीपोखरीकी देवीकुमारी गुरुङ, पोखरा-१२ जयटोलका दिलबहादुर थापा तथा पोखरा-११ का उज्ज्वल गुरुङको पनि अवस्था पत्ता लाग्न नसकेको प्रशानले जनाएको छ ।

कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभागृहमा विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श केन्द्र’ सुरु गरेको छ ।

केन्द्र सञ्चालनबाढीको चोटले मानसिक तथा संवेगात्मक समस्यामा परेका व्यक्तिहरू लक्षित हुनेछ । चिन्ता, तनाव, दुःख तथा अन्य विभिन्न मनोसामाजिक समस्याहरूको सामना गरिरहेका नागरिक लक्षित केन्द्रमा मनोविद्हरूले मनोसामाजिक परामर्श प्रदान तथा सहयोग गर्नुहुनेछ स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले जानकारी दिनुभयो ।

उक्त केन्द्र कामपा स्वास्थ्य विभाग मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने सङ्घसंस्थाहरूसँगको सहकार्यमा सेवा थालिएको केसीको भनाइ छ ।

केन्द्रमा प्रभावित व्यक्तिहरूले आफ्ना अनुभव, भावना तथा चिन्ता व्यक्त गर्न सक्ने सुरक्षित र सहयोगी वातावरण मिलाइएको छ । यसरी व्यक्त भएका भावनाबाट मनोवैज्ञानिक प्राथमिक उपचार उपलब्ध गराउनु केन्द्र सञ्चालनको मुख्य उद्देश्य रहेको स्वास्थ्य विभागका प्रमुख केसीले भन्नुभयो । उहाँका अनुसार बाढीबाट घाइते भएर वा अन्य कुनै प्रभाव परेर काठमाडौँका अस्पताल तथा अन्य ठाउँमा बसिरहेका व्यक्तिहरूलाई सेवा प्रदान गरिनेछ । शारीरिक उपचारपछि मानसिक स्वास्थ्य परामर्शका लागि अस्पतालहरूले बिरामीहरू केन्द्रमा पठाउन सक्नेछन् । केन्द्रले मानसिक स्वास्थ्य उपचार गर्नु पर्ने व्यक्तिलाई सम्बन्धित अस्पतालमा पठाउनेछ ।

कामपाले सञ्चालन गरेको विपद् व्यवस्थापन सहायता कक्ष एवं विपद् सूचना केन्द्रमा आएका व्यक्तिहरूलाई आवश्यकताका आधारमा केन्द्रमा पठाइनेछ ।

विपद्बाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श तथा भावनात्मक सहयोग प्रदान गर्नु, विपद्का कारण उत्पन्न डर, चिन्ता, तनाव, दुःख तथा अन्य भावनात्मक कठिनाइसँग सामना गर्न सहयोग गर्नु, थप मानसिक स्वास्थ्य सेवाको आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा उपयुक्त रेफरल (प्रेषण) को व्यवस्था गर्नु केन्द्रको काम हो ।

केन्द्रबाट प्रभावित समुदायमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी सचेतना र जानकारी प्रदान गरिन्छ । स्वस्थ रहन तनावको सामना गर्ने क्षमता बढाउनु तथा व्यावहारिक तनाव व्यवस्थापनका उपायहरू प्रवद्र्धन गर्नु परामर्शदातालाई जिम्मेवारी प्रदान गरिएको छ ।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका र संवेदनशील समूहलाई विशेष ध्यान दिइन्छ । सहयोग प्रदान गरिन्छ ।

सेवा लिने व्यक्तिहरूको व्यक्तिगत गोपनीयता र सम्मानलाई व्यावसायिक ढङ्गले सञ्चालन गरिनेछ । यसबाट विपद्पश्चात् भावनात्मक तथा मनोवैज्ञानिक कठिनाइ भोगिरहेका व्यक्ति तथा परिवारहरूलाई समयमै सहयोग प्रदान हुने विश्वास कामपाको छ ।

बाढीपीडितको राहतमा एसटीसी ग्रुपको सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख १ हजार

काठमाडौं। एसटीसी ग्रुपले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।

उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। एसटीसी ग्रुपका आधिकारिक वितरक रहेको भारतीय भेरोक इन्टरनेशनलले समेत १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ।

एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएकाले सहयोग गरिएको बताए। उनले राहत तथा पुनःस्थापनाका सरकारी प्रयासमा निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।