`

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी संकलन

ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ ।

सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो । भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी बनाउन समितिले नियमित रूपमा विवरण सार्वजनिक गर्दै आएको छ ।

समितिको तथ्याङ्कअनुसार साउनमा दुई हजार ४६९ जना तीर्थयात्रीले दर्शन गर्दा तीन लाख १८ हजार ५०० रूपैयाँ भेटी सङ्कलन भएको थियो । भदौमा छ हजार १२३ जना दर्शनार्थीबाट १३ लाख ६७ हजार रूपैयाँ र असोजमा ११ हजार ९३० जना दर्शनार्थीबाट १६ लाख ४१ हजार १५० रूपैयाँ भेटी सङ्कलन भएको छ । अघिल्ला दुई महिनाको तुलनामा असोजमा दर्शनार्थीको सङ्ख्या र भेटी सङ्कलन दुवै बढेको समितिले जनाएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार वर्षायाम सकिएसँगै मौसममा आएको सुधार र बडादसैँको नवरात्रका कारण असोजमा तीर्थयात्रीको आगमन बढेको हो ।

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् ।बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् ।

“बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ”, उहाँले सामाजिक सञ्जालमा लेखेका छन् ।

फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् ।“आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु”, विमलले लेखेका छन् ।

उनले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले नौ गोल गरेका छन् ।उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए ।

घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए ।

खोटाङमा शङ्कास्पद अवस्थामा शव फेला, पाँच युवा पक्राउ

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले गएराति स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएको हो ।

धितुङमा भएको घटना शङ्कास्पद लागेपछि अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।

“हर्कु राई बिहीबार बेलुकासम्म गाउँमा डुलिरहेको भन्ने खुलेको छ । उहाँको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ”, बस्नेतले भने, “अहिलेसम्म घटनाका बारेमा केही खुलेको छैन । अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौँ ।”

घटनाका विषयमा मृतक हर्कुको आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ । हर्कुको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएको छ ।

जीबी राईसहित विदेशमा रहेका आरोपितलाई फर्काउन सरकारमाथि दबाब बढाउँदै ज्ञानेन्द्र शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित विदेशमा रहेका सबै आरोपितलाई तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले सहकारीमा बचत गरेको सर्वसाधारणको रकम फिर्ता गराउन सरकार र सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। उनले विगतमा कांग्रेस, एमाले र माओवादीको आडमा सहकारी ठगी गरेर विदेश भागेको आरोप लागेका व्यक्तिहरूलाई समेत नेपाल ल्याउनुपर्ने माग गरेका छन्।

शाहीले साग बेचेर, सडकमा मकै पोलेर, इँटा बोकेर तथा दिनरात पसिना बगाएर कमाएको रकम सहकारीमा जम्मा गरेका गरिब नागरिकको पैसा फिर्ता गराउनुपर्नेमा जोड दिएका छन्।

उनले सहकारी ठगीका कारण आर्थिक क्षति भोगेका बचतकर्तालाई रकम फिर्ता गराउनु मात्रै पर्याप्त नहुने उल्लेख गरेका छन्। आर्थिक क्षति र त्यसबाट उत्पन्न मानसिक पीडाका कारण आत्महत्या गर्न बाध्य भएका नागरिक तथा उनीहरूका परिवारले न्याय पाउनुपर्ने उनको भनाइ छ।

शाहीले यस्ता घटनामा परिस्थितिअनुसार आत्महत्या दुरुत्साहन तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दासमेत चलाउनुपर्ने माग गरेका छन्।

उनले आफ्नो मागप्रति सहमत हुनेहरूलाई धारणा सार्वजनिक गर्न र पीडितलाई न्याय तथा दोषीलाई कानुनी सजाय दिलाउन आवाज उठाउनसमेत आग्रह गरेका छन्।

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि आम नागरिकसम्मका प्रश्नको चित्तबुझ्दो जवाफ दिन सक्ने पार्टी बनाउने प्रतिबद्धता जनाएका छन् ।

शपथग्रहणपछि सम्बोधन गर्दै थापाले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीको प्रमुख प्राथमिकता बनाउने बताए । उनले पार्टीको सफलता निर्वाचनको जित वा सभा–जुलुसको संख्याभन्दा नागरिकको विश्वासबाट मापन हुने उल्लेख गरे ।

थापाले कांग्रेसलाई आन्तरिक गतिविधिमा मात्र सीमित नराखी युवा, किसान र आम नागरिकका समस्यामा केन्द्रित गराउने बताए । साथै, लोकप्रियतावादबाट माथि उठेर सुधारमुखी राजनीति अघि बढाउन र पार्टीका सदस्यलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्नेमा जोड दिए ।

टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सविता पौडेलसहित बडादशैँको फूलपातीका अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह २०८३ मा सहभागी भए ।

नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपतिसमेत हुन् ।

समारोहका क्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । नेपाली सेनाले विभिन्न सैनिक परेड तथा राइफलबाट लहरे र एकठ्ठा बढाइँका साथै तोपबाट समेत बढाइँ प्रस्तुत गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज शर्मा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद कठिन घडीमा नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखेर गरिएको खोज, उद्धार, राहत र स्थानान्तरणमा सुरक्षा फौज समन्वयका साथ सक्रिय रूपमा परिचालित थियो । जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको सेनाले जनाएको छ ।

भदौ १० गते भोटेकोशीको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको कार्य जारी रहेकै अवस्थामा असोजमा भएको अविरल वर्षाले बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । विपद्को कठिन घडीमा नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरी विपद् प्रतिकार्यलाई तीव्र बनाएको थियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सडक अवरुद्ध भएका स्थानमा उद्धार मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको समेत प्रयोग गरिएको थियो ।

यसैक्रममा मनाङको चामेस्थित मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन, अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउन र नार्फाभूमिस्थित हिम्लुङ हिमालमा हिमपहिरोमा परी मृत्यु भएका पर्यटकहरूको शव उद्धार गर्न सेना सक्रिय रह्यो । असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीपछि एमआई–१७ सहित चारवटा हेलिकप्टर तथा स्थलमार्गबाट विदेशीसहित एक हजार १०६ जनाको उद्धार गरिएको थियो ।

प्रभावित क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न ढुवानी गर्नुका साथै आरुघाटस्थित क्षतिग्रस्त पुलको स्थानमा बेलिब्रिज जडानको तयारी अघि बढाइएको छ । यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवालाई सडक सञ्जालसँग जोड्ने कार्य गरिएको थियो ।

नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन र समुदायबीच स्थापित समन्वयले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । भौगोलिक अवस्था, सीमित एयर स्पेस र थुनिएका टनेलजस्ता चुनौतीपूर्ण अवस्थामा पनि त्रुटीरहित ढङ्गबाट उद्धार कार्य सम्पन्न गर्न सफल भएको भन्दै सेनाले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सेवा र सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

काठमाडौं । भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार साइबर ब्युरोमा भएको छलफलपछि श्रेष्ठ घर फर्किएका हुन् ।

रुसमाथि प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह, ट्रम्पको निर्णयप्रति असन्तुष्टि

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गर्नुभएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी अर्थतन्त्रलाई लक्षित गरी प्रस्तावित व्यापक प्रतिबन्धहरू अघि बढ्न नदिने निर्णय गरेको केही घण्टापछि जेलेन्स्कीले यस्तो आग्रह गर्नुभएको हो । ह्वाइट हाउसको यस निर्णयले युक्रेनमाथि रुसको आक्रमण तीव्र भइरहेका बेला र जाडो मौसम नजिकिँदै गर्दा युक्रेनको सुरक्षा जोखिम थप बढ्नसक्ने चिन्ता उत्पन्न गरेको छ ।

जेलेन्स्कीले ट्रम्पको प्रतिबन्ध रोक्ने कदमलाई ‘दुर्भाग्यपूर्ण’ बताउनुभएको छ । यद्यपि, पछिल्ला दिनमा युक्रेन र वासिङ्टनबीच तनाव बढ्दै गए पनि उहाँले अमेरिकी राष्ट्रपतिको प्रत्यक्ष आलोचना भने गर्नुभएको छैन ।जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दुर्भाग्यबस, अमेरिकामा ‘लिन्ड्से ग्राहम ऐन’लाई पूर्ण रूपमा बेवास्ता गर्ने निर्णय गरिएको छ । यस ऐनबाट रुसमाथि प्रभावकारी दबाब सिर्जना गरी युद्ध अन्त्य गर्न मद्दत पुग्ने अपेक्षा गरिएको थियो ।”

उहाँले प्रस्तावित प्रतिबन्ध अझै कार्यान्वयन हुनसक्ने आशा व्यक्त गर्दै भन्नुभएको छ, “यो ऐनले ठूलो मद्दत गर्न सक्थ्यो र अझै पनि गर्न सक्छ । तर यसको कार्यान्वयन आवश्यक छ । यसलाई समर्थन गर्दै उठ्ने हरेक आवाज महत्वपूर्ण छ ।”

युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण भएको किभको दाबी

जेलेन्स्कीले शनिबार रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो आक्रमण गरेको पनि बताउनुभएको छ । उहाँका अनुसार, देशभरका १५ भन्दाबढी स्थानमा आक्रमण गरिएको थियो ।उहाँले भन्नुभयो, “रुसले विशेषगरी हाम्रो ऊर्जा क्षेत्रलाई लक्षित गर्दै व्यापक र निरन्तर आक्रमण गरिरहेको छ । यसले दुर्भाग्यबस गम्भीर परिणाम निम्त्याइरहेको छ ।”

युक्रेनी वायुसेनाका अनुसार, रुसी सेनाले रातभर चार वटा क्रुज मिसाइल र ३३२ वटा आक्रमणकारी ड्रोन प्रहार गरेको थियो । तीमध्ये चारवटै मिसाइल र २८९ वटा ड्रोनलाई निष्क्रिय पारिएको वा खसालिएको वायुसेनाले जनाएको छ ।जाडो मौसम सुरु हुनुअघि युक्रेनको विद्युत् प्रणालीमाथि रुसी आक्रमण तीव्र हुनु युद्धको नियमित प्रवृत्तिजस्तै बनेको छ । यस्ता आक्रमणले सर्वसाधारणलाई ताप, विद्युत् र खानेपानीजस्ता अत्यावश्यक सेवाबाट वञ्चित गराउँदै युक्रेनको प्रतिरोध क्षमतामा असर पार्ने उद्देश्य राखेको युक्रेनी पक्षको भनाइ छ ।

युक्रेनी अधिकारीले आगामी महिनामा थप आक्रमण गर्न रुसले ब्यालिस्टिक मिसाइलहरू भण्डारण गरिरहेको चेतावनीसमेत दिएका छन् । जाडो नजिकिँदै गर्दा ऊर्जा पूर्वाधारमाथि हुने सम्भावित आक्रमण र अमेरिकी प्रतिबन्धसम्बन्धी निर्णयले युक्रेनको सुरक्षा अवस्थाबारे चिन्ता थपिएको छ ।

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी। असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ ।

विपद्का समयमा आकस्मिक रूपमा विद्युत आपूर्ति सहज बनाउन क्यानडाको प्रविधि उपयोग गरेर अस्थायी टावर निर्माण थालिएको छ ।

प्रसारण लाइनका तीन वटा टावरमा क्षति पुग्दा म्याग्दी र मुस्ताङका सातवटा जलविद्युत् आयोजनाबाट उत्पादित १७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन सकेको छैन । अवरुद्ध विद्युत् आपूर्ति सुचारु गर्न नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखा र यस क्षेत्रमा सञ्चालनमा रहेमा जलविद्युत आयोजनाहरूको सहयोगमा अस्थायी टावर निर्माण र तार तान्ने काम अन्तिम चरणमा पुगेको प्राधिकरणका सहायक निर्देशक सञ्जय लोहनीले बताउनुभयो ।

“क्षतिग्रस्त भएका तीन वटा टावरको सट्टामा क्यानाडा प्रविधिको एक वटा अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “बेनी–जोमसोम सडकको भीरकाटे खण्डदेखि पारी रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाको औलमा टावर निर्माणका साथै तार तान्ने काम अन्तिम चरणमा छ ।”

कालीगण्डकी वेसिनमा रहेका जलविद्युत् आयोजना र महाशाखाका गरी २० जनाभन्दा बढी इञ्जिनियर, त्यति नै सङ्ख्यामा प्राविधिक र ५० जनाभन्दा बढी मजदुरहरू दैनिक रूपमा परिचालन गरेर टावर निर्माण र तार तान्ने काम धमाधम भइरहेको छ । तत्कालका लागि अस्थायी टावर निर्माण गरेर विद्युत् आपूर्ति सुचारु गर्ने र क्षतिग्रस्त टावरको पुनःनिर्माणको प्रक्रिया सँगसँगै अगाडि बढाउने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारणलाइनको टावरमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालन भएका सात वटा जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । दाना–खुर्कोट प्रसारणलाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ती गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्त्रीखोला, ३८ मेगावाट क्षमताको निलगिरी–१, ७१ मेगावाट क्षमताको निलगिरी–२, ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना र मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।प्रसारणलाइन र टावरमा क्षति पुगेपछि राहुघाटको स्विचयार्ड देखि माथि दाना सम्मको प्रशारण लाइन बन्द हुनपुगेको छ ।

शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिने-दिने नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना सन्देश जारी गर्दै पार्टीले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदानलाई निरुत्साहित गर्दै आएको स्मरण गराएका छन्।

उनले भने, ‘राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो ।’ चाडपर्वको मूल सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको उनले बताए।

महामन्त्री आचार्यले सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

सुरेश अधिकारी र कृष्ण बीकको सहकार्यमा आयो नयाँ दशैँ गीत ‘रातो टीका जमरा’, भिडियोको चर्चा

काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दशैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन्। बडादसैँको अवसर पारेर उनको संगीत रहेको ‘रातो टीका जमरा’ सार्वजनिक भएको हो।

दशैँका अवसरमा वर्षौँदेखि गुञ्जिँदै आएका ‘चरीररि रै…’ र ‘हो दशैँ आयो’ जस्ता लोकप्रिय गीतका सर्जक अधिकारीले लामो समयपछि नयाँ दशैँ गीतमा संगीत दिएका हुन्। गीतमा कृष्ण बीक र जुनु रिजालको स्वर, वेद जोशीको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ। महाराज थापाले संगीत संयोजन गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीतको भिडियोमा सञ्जय विश्वकर्मा र सञ्जना गुरुङले अभिनय तथा नृत्य गरेका छन्। भिडियोको निर्देशन तथा कोरियोग्राफी सञ्जय विश्वकर्मा (खिम्जन) ले गरेका हुन्। रातो टीका, जमरा, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिलाई केन्द्रमा राखिएको गीतले दशैँको उल्लासलाई प्रस्तुत गरेको छ। अधिकारीको अनुभव र नयाँ पुस्ताका गायक कृष्ण बीकको सहकार्यमा तयार भएको गीतले पुराना दशैँ गीतको सम्झना दिलाउँदै नयाँ पुस्ताका श्रोतामाझ पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ। लक्षारा फिल्म्सको प्रस्तुतिमा तयार भएको गीत कृष्ण बीकेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

दसैँको शुभकामना दिँदै प्रधानमन्त्री शाहले भने- ‘आर्थिक कारणले महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन’

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले दसैँले नेपालीबीच एकता, आत्मीयता र सांस्कृतिक सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रधानमन्त्री शाहले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विस्थापित नागरिकको पुनःस्थापनामा सरकार सक्रिय रहेको पनि बताएका छन्।

शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
–आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
तपाईं-हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ। आज सप्तमी तिथि अर्थात् फूलपाती, दशमी तिथि अर्थात् विजया दशमीको दिन टीका ग्रहण गर्ने मुख्य दिन रहे तापनि नवरात्रको सुरुवात विधिपूर्वक घटस्थापना गरेर यसअघि नै भइसकेको छ। सर्वप्रथम, म यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस्।
नेपाली समाजमा सदियौँदेखि दसैँको विशेष महत्त्व रहिआएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण चाडका रूपमा रहेको दसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित रहेको छ। बडाको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्बसमेत हो। देशभित्रका विभिन्न स्थानहरूबाट मात्र होइन, देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा दसैँ युगौँदेखि परिचित छ। मानौँ, दसैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसै-त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ। यस अवसरमा सबैभन्दा लामो सार्वजनिक बिदा छुट्याइने भएकाले पनि होला, दसैँ निस्फिक्री रमाउने चाडका रूपमा रहँदै आएको छ। स-साना बाबुनानीहरूका लागि त झनै विद्यालय बिदा भएपछि खाने, खेल्ने र नयाँ-नयाँ लुगा लगाएर मामाघर जानेजस्ता फुरुङ्ग पार्ने गतिविधिले अर्कै उत्साह ल्याउने गर्दछ र त्यसले पनि वातावरणलाई थप पुलकित पार्ने गर्दछ। आर्थिक गतिविधिका हिसाबले समेत बडादसैँ नेपालीहरूमाझ सबैभन्दा चलायमान पर्वका रूपमा रहेको छ।
हामी नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका छौँ।
कुनै बेला विनाशकारी भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दसैँ आयो र गयो। अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दसैँ आयो। हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ। यो वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दसैँ आइपुगेको छ। ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनातर्फ काम गरिरहेको छ भन्ने जानकारी पनि गराउन चाहन्छु।
असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि दसैँ मनाइने गरिन्छ। आसुरी प्रवृत्तिमाथि दैवी विजयको धार्मिक मान्यता बोकेको दसैँको अवसरमा म सम्पूर्ण नेपालीहरूमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस्, सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभभाव व्यक्त गर्न चाहन्छु।
मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको तीतो यथार्थलाई पनि यतिबेला म स्मरण गर्न चाहन्छु। हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा दृढ विश्वास व्यक्त गर्दै सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु।
आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ। आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ। आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिइरहेको जानकारी पनि गराउन चाहन्छु।
दसैँको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादसैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु। सभ्य र भव्य रूपमा दसैँ मनाऔँ।
माता दुर्गाभवानीले हामी सबैको रक्षा गरून्।
सबैको जय होस्।

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ भन्दै बोलिन् मन्त्री निशा मेहता

काठमाडौ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशभर ट्रमा सेन्टर विस्तार गर्ने योजना सरकारको प्राथमिकतामा रहेको बताएकी छन्।

ट्रमा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले आकस्मिक उपचार सेवाको पहुँच विस्तारसँगै घाइतेलाई सामान्य जीवनमा फर्काउन पुनःस्थापना केन्द्र निर्माणको काम अघि बढाइएको जानकारी दिइन्। उनले समयमै उद्धार, प्राथमिक उपचार र गुणस्तरीय आकस्मिक सेवाले दुर्घटनामा घाइतेको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

सहकारीले सुरु गर्‍यो व्यावसायिक सयपत्री खेती, सामाजिक सञ्जालमार्फत काठमाडौँसम्म बिक्री

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा व्यस्त देखिन्छन्।

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यसकै स्याहारसुसारमा व्यस्त रहने गरेका हुन्। चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताएकी छन्।

‘अहिले सबै कार्यसमिति र कर्मचारी यही हजारी खेतीको स्याहारमा लागेका छौँ’ भन्दै उनले ‘हजारीको सिजन भएकाले यतातिर लागेका हौँ’ भनेकी छन्। उनका अनुसार ‘कर्म’ जातको सयपत्री खेती गरिएको हो। सुरुमा बिउ, मल्चिङ तथा खेत जोताइलगायतका काममा करिब तीन लाख रुपैयाँभन्दा बढी खर्च भएको छ।

तिहारलाई लक्षित गरी साउन २६ गते रोपिएको सयपत्री ४५ दिनमै फुलेपछि आफू चिन्तित बनेको अध्यक्ष धितालले बताएकी छन्। दसैँभन्दा अघि नै सयपत्री फुल्दा सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने चिन्ता उनलाई छ। ‘मैले तिहारलाई लक्षित गरेको थिएँ’ भन्दै उनले ‘दसैँमा फुलेकाले सोचेअनुसार आम्दानी हुँदैन कि भन्ने लाग्छ’ भनेकी छन्।

सयपत्रीमा नियमित सिँचाइ गरेमा तीन पटकसम्म फुल्ने भएकाले सोहीअनुसार काम गरिरहेको उनले बताएकी छन्। खेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष धितालको भनाइ छ।

दसैँ अगावै फुले पनि सामाजिक सञ्जालबाट प्रचार गरेर काठमाडौँसम्म फूल पठाइएको उनले बताएकी छन्। टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालको प्रयोग गरी असोजमै करिब दुई क्विन्टल फूल काठमाडौँ पठाइसकिएको छ। विदेशबाट समेत फूलको माग आएको उनले जानकारी दिएकी छन्।

पाँच वर्षका लागि कट्ठाको वार्षिक दुई हजार रुपैयाँका दरले जग्गा भाडामा लिएर यो खेती गरिएको हो। कृषि सहकारी भएकाले सयपत्रीबाट मनग्य आम्दानी लिन सकिने देखिएकाले यस खेतीतर्फ लागिएको अध्यक्ष धितालले बताएकी छन्।

कांग्रेसका नवनिर्वाचित सभापति थापाले आज शपथ ग्रहण गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथ ग्रहण गर्ने भएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना शुक्रबार सम्पन्न भएसँगै थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम तय भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार फूलपातीका दिन आज अपराह्न २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा शपथ ग्रहण तथा पदबहाली समारोह आयोजना हुनेछ।

समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई कांग्रेसले निमन्त्रणा गरेको छ।

लिग–२ क्रिकेट : नेपाल आज क्यानडाविरुद्ध मैदानमा

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरात क्रिकेट मैदानमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि शीर्ष ६ मा स्थान सुरक्षित गर्न निकै महत्वपूर्ण मानिएको छ ।

तालिकामा ३४ खेलबाट २८ अङ्कसहित सातौं स्थानमा रहेको नेपाल क्यानडाभन्दा एक अङ्कले अगाडि छ । आजको खेल जितेमा नेपालले एक खेल अगावै शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ । जारी त्रिकोणात्मक शृङ्खलामा उत्कृष्ट लयमा रहेको नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा घरेलु टोली ओमानलाई ११३ रनको फराकिलो अन्तरले हराएको थियो ।

उता, पछिल्लो खेलमा ओमानलाई ५८ रनले पराजित गरेको क्यानडा पनि नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै शीर्ष ६ को सम्भावना जीवित राख्ने दाउमा छ । क्यानडाले ओमानविरुद्ध २५६ रन बनाएकाले नेपाली बलरहरूलाई विपक्षी ब्याटिङ रोक्ने चुनौती रहनेछ ।

जारी शृङ्खलाका दुवै खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २३५ र २६३ रनको मजबुत योगफल खडा गरेको थियो । हालसम्म यी दुई टोलीबीच भएका ६ एकदिवसीय भेटमा नेपालले चार र क्यानडाले दुई खेल जितेका छन्। नेपाल सोही सफलतालाई निरन्तरता दिँदै लगातार तेस्रो जित दर्ता गर्ने लक्ष्यमा छ।

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा, स्वीस र्फ्याङ्क एकको खरिददर १८४ रुपैयाँ १४ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६८ पैसा र बिक्रीदर २२ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५४ पैसा र बिक्रीदर चार रुपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४० पैसा र बिक्रीदर ११ रुपैयाँ ४५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५ रुपैयाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८४ पैसा र बिक्रीदर २२ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ १० पैसा र बिक्रीदर ४९४ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ४३ पैसा बिक्रीदर ४०३ रुपैयाँ ०२ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा रहेको छ ।भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

घ्यूका नाममा बिक्री भइरहेको प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट गरेको छ। उक्त कार्यालयबाट शुक्रबार बजार अनुगमन तथा निरीक्षणमा गएको टोलीले वीरेन्द्रनगरको पूजा पसल तथा स्टोरबाट पूजामा प्रयोग गर्ने घ्यूका नाममा प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरेको थियो।

उक्त जफत गरिएको चिल्लो पदार्थका करिब दुई दर्जन ‘श्रीकृष्ण पूजा घ्यू’ लेखिएका सबै बट्टा जफत गरी आजै नष्ट गरिएको कार्यालयका सूचना अधिकारी सन्तोष दाहालले जानकारी दिएका छन्।

सूचना अधिकारी दाहालका अनुसार ‘दसैँ तिहारलाई लक्षित गरेर’ तथा ‘पूजा, होम, हवन र दीप प्रज्वलनका लागि’ तयार गरिने चिल्लो पदार्थलाई घ्यूका रूपमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ। ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले’ यस सम्बन्धमा सूचना जारी गरेको भए पनि विभिन्न सहर तथा बजारमा सो प्रतिबन्धित पदार्थ बेचिएको उनले बताएका छन्। सुर्खेत वीरेन्द्रनगरमा पनि यस्तो अवैध कार्य भेटिएको उनको भनाइ छ।

पहिलो पटक भएकाले पसल धनीलाई सचेत बनाइएको र पुनः भेटिएमा कारबाहीका लागि सिफारिस गरिने चेतावनी दिइएको सूचना अधिकारी दाहालले बताएका छन्। चाडपर्वका बेला मानिसको भीड धेरै हुने र यस्तो अवस्थामा व्यापारीले कालोबजारी गर्न सक्ने भएकाले बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उनले जनाएका छन्।

उक्त कार्यालयका प्रमुख श्रीराम न्यौपानेका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले सीमित जनशक्ति र स्रोत साधनका बाबजुद काम गरिरहेको छ। कर्णाली प्रदेशका दशमध्ये सात जिल्लालाई कार्यक्षेत्र बनाएर स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा खाद्य स्वच्छता कायम गर्ने अभियान अगाडि बढाइएको उनले बताएका छन्। म्याद नाघेका एवम् अखाद्य वस्तु बिक्री वितरण हुन नदिन नियमित अनुगमन तथा निरीक्षण भइरहेको उनको भनाइ छ। जुम्ला कार्यालयले भने जुम्ला, मुगु र कालिकोट जिल्ला हेर्दै आएको जनाइएको छ।

आश्विन शुक्ल सप्तमीः आज घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिपूर्वक फूलपाती भित्र्याइँदैछ । घटस्थापनादेखि दुर्गा स्थापना गरिएको दशैंघर तथा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष गरी नौ प्रकारका वनस्पति (नवपत्रिका) भित्र्याउने धार्मिक परम्परा छ ।

धार्मिक मान्यताअनुसार यी नौ वनस्पति नवदुर्गाका सहायक देवीहरूका प्रतीक हुन् । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी शास्त्रीय विधिपूर्वक शक्तिको आराधना गरिन्छ ।

यसैबीच, ऐतिहासिक हनुमानढोका दरबारको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइँदैछ । गोरखाबाट धादिङको जीवनपुरसम्म मगर समुदायका पुजारीहरूले ल्याउने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मणहरूले बोकेर ल्याउने परम्परा रहिआएको छ। जमलबाट भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गुर्जुको पल्टन, निजामती सेवाका उच्च अधिकारी तथा सांस्कृतिक बाजागाजा र लावालस्करसहित भव्य शोभायात्राका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याइन्छ ।

चिकित्सा शिक्षा आयोगद्वारा सिट निर्धारण

काठमाडौँ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ।

त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबबिबिएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्‍याउने निर्णय गरेको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ मा उल्लेखित व्यवस्था, चिकित्सा शिक्षा आयोगद्वारा स्वीकृत कार्यक्रमगत न्यूनतम/प्रत्यायन मापदण्ड, चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम चिकित्सा शिक्षाको शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि सिट सङ्ख्या निर्धारण गरिएको हो।

शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चाङ्ग निर्णायक समिति

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ ।

शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो ।

शुक्र र वृहस्पति अस्त हुँदा नित्य र नैमित्तिक कर्म गर्न शास्त्रीय वचनका आधारमा कुनै बन्देज नभएकाले आम मानिसमा सामाजिक सञ्जालका भरमा भ्रममा नपर्न पनि समितिले आह्वान गरेको छ ।

वृहस्पति र शुक्र अस्तका बेला कुनै कामना राखेर गरिने कर्म गर्न मात्र नहुने शास्त्रीय वचन रहेको छ । सामाजिक सञ्जालमा आएका यस्ता हल्लाका पछि लाग्नुपूर्व यस विषयका जानकार धर्मशास्त्रविद् एवं समितिका पदाधिकारीसँग सरसल्लाह, परामर्श गर्न पनि समितिले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

यही असोज २८ गते बुधबार दिउँसो १३ः४० बजे पश्चिममा अस्त भएका शुक्र कात्तिक ११ गते बुधबार मध्यराति १२ः४९ बजे उदय हुने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

जलवायु सम्मेलनमा हिमालको मुद्दा सशक्त रूपमा उठाइने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप) मा नेपालले पर्वतीय क्षेत्रका समस्या र हिमनदी पग्लिने जोखिमलाई प्रमुख एजेन्डाका रूपमा सशक्त ढङ्गले उठाउने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री खनालले अस्ट्रेलिया, तुभालु र फिजीद्वारा आयोजित ‘प्यासिफिक प्री–कोप’ मा सहभागिता जनाउँदै जलवायु परिवर्तनका कारण टापु राष्ट्रहरू मात्र नभई नेपालजस्ता हिमाली मुलुकहरू पनि उत्तिकै जोखिमको अग्रपंक्तिमा रहेको विषय अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गरिएको जानकारी दिए । यसअघि समुद्री सतह वृद्धि (सी–लेभल राइज) को विषय मात्र प्राथमिकतामा पर्ने गरेकोमा यस पटक प्री–कोपको अन्तिम घोषणापत्रमै हिमनदी पग्लिने (ग्लेसियर एन्ड आइस मेल्ट्स) मुद्दालाई औपचारिक रूपमा समावेश गराउन नेपाल सफल भएको उनले बताए ।

मन्त्री खनालले आगामी कोप सम्मेलनमा नेपालका मुख्य तीन एजेन्डा रहने प्रस्ट पारे । उनका अनुसार विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा बढी हुन नदिन विकसित राष्ट्रहरूबाट स्पष्ट र दृढ प्रतिबद्धता खोजिनेछ । यसैगरी, जटिल र लामो प्रक्रियाको सट्टा विपद्ग्रस्त राष्ट्रहरूले सजिलै पाउन सक्ने अनुदानमा आधारित तथा भरपर्दो (प्रेडिक्टेबल) जलवायु वित्त प्रणाली स्थापना हुनुपर्ने विषयलाई प्राथमिकता दिइनेछ । साथै समुद्री सतह वृद्धि हुनुको मुख्य स्रोत नै हिमनदी पग्लिनु भएकाले जलवायु संकटलाई टुक्राटुक्रामा नभई समग्र पर्यावरण (इकोसिस्टम) को दृष्टिकोणबाट हेरिनुपर्ने नेपालको अडान रहनेछ ।

यसैबीच, हालै भोटेकोशी क्षेत्रमा आएको बाढी–पहिरोको विपद्पछि अर्थ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमार्फत ‘लस एण्ड ड्यामेज फण्ड’ मा अधिकतम सीमा २० मिलियन अमेरिकी डलरको दाबी पेस गरिएको परराष्ट्रमन्त्री खनालले जानकारी दिए । विपद्का बेला लामो प्रशासनिक झन्झटविना तुरुन्तै स्रोत परिचालन (र्यापिड डिस्पर्समेन्ट) हुनुपर्ने मान्यतासहित दाबी पेस गरिएको र आगामी कोप सम्मेलनअगावै यसबारे सकारात्मक घोषणा आउनेमा सरकार आशावादी रहेको उनले बताए ।

सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

धनगढी । यस पटक सुदूरपश्चिम प्रदेशमा दशैं मनाउन पूर्ख्यौलीघर जाने यात्रुको चाप विगतको भन्दा घढेको छ ।
प्रदेश राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार यस बर्ष हालसम्म कैलाली, कञ्चनपुरबाट दशैं–तिहार मनाउन पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन । गत बर्षको दशैंमा तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख ५० हजार भन्दा बढी कटेको थियो ।

प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टका अनुसार दशैं सुरु भएपछि दुई/तीन दिन मात्रै पहाड जाने यात्रुको चाप देखिएको थियो ।

बिहीबारदेखि भने पहाड जाने यात्रुको चाप धेरै घटेको भट्ट बताउँछन् । ‘आजसम्म तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन,’ सुचना अधिकारी भट्टले भने, ‘विगतको भन्दा यस पटक दशैं मनाउन पहाड जाने यात्रुको संख्या धेरै घटेको छ, यसपाली दशैंसम्म पनि पहाड जाने यात्रुको संख्या एकलाख कट्छ जस्तो लाग्दैन ।’

अत्तरिया सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने एक मात्र गन्तव्य हो । भारत लगायते देश विदेशबाट आएकाहरुले सुदुरपश्चिमका पहाडी जिल्ला जान यही मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी भट्टका अनुसार सामान्य अवस्थामा अत्तरिया हुदै पहाडतर्फ जाने सार्वजनिक सवारीको संख्या ३० देखि ४० सम्म हुने गरेकोमा दशै सुरु भएपनि ५० देखि ६० सम्म पुगेको छ ।

‘तर विगत जस्तो सार्वजनिक यातायातमा यात्रुको अत्याधिक चाप भएको वा, ठगिएको गुनासो आएको छैन,’ उनले भने, अहिले अवस्था सामान्य छ, पहाड जाने सार्वजनिक सवारीको संख्या समेत एक/दुई दिन यता घटेको छ ।’

सुदूरपश्चिम प्रदेशका विभिन्न ३९ स्थानमा यस पटक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षबाट यात्रुका गुनासा सुन्ने, जनचेतना फैलाउने कार्य भइरहेको उनी बताउँछन् । चालकको अवस्था बुझ्न र ट्राफिक व्यवस्थापनका लागि जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त अनुगमन गर्ने गरेको भट्टको भनाई छ ।

पश्चिम एसिया युद्धका कारण इराकलाई ६० अर्ब डलरको क्षति

काठमाडाैँ। पश्चिम एसियामा जारी युद्धका कारण इराकले करिब ६० अर्ब अमेरिकी डलरको आर्थिक क्षति बेहोरेको त्यहाँका विदेशमन्त्री फुआद हुसेनले बताएका छन्। इरानले विश्वव्यापी ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण होर्मुज जलमार्गमा अवरोध सिर्जना गरेपछि इराकको तेल उत्पादन र निर्यात प्रभावित भएको हो। युद्धअघि इराकले दैनिक करिब ४० लाख ब्यारेल तेल उत्पादन गर्दै आएको थियो भने ३५ लाख ब्यारेल निर्यात हुने गरेको थियो।

इराकको अधिकांश तेल दक्षिणी क्षेत्रबाट होर्मुज जलडमरूमध्य हुँदै निर्यात हुने भएकाले जलमार्गमा अवरोध भएपछि उत्पादन घटाउनुपरेको थियो। भण्डारण क्षमता सीमित हुँदा इराकले सिरिया र टर्कीए हुँदै ट्रक तथा पाइपलाइनमार्फत सीमित मात्रामा तेल निर्यात गर्नुपरेको छ।

हुसेनले रोममा इटालीका विदेशमन्त्रीसँगको भेटमा युद्धका कारण भएको क्षतिबारे जानकारी दिएका छन्। इराकको कुल सरकारी राजस्वको करिब ९० प्रतिशत हिस्सा तेल निर्यातबाट प्राप्त हुन्छ। तेल उत्पादनमा आएको गिरावटपछि निर्यातमा केही सुधार देखिए पनि सेप्टेम्बर १ देखि २१ सम्म दैनिक २६ लाख ब्यारेल तेल निर्यात भएको त्यहाँको तेल मन्त्रालयले जनाएको छ।

यसैबिच इराकको विदेशी मुद्रा सञ्चिति २० अर्ब डलरले घटेको छ भने उपभोक्ता मूल्यसमेत तीव्र रूपमा बढेको छ। आर्थिक संकट नियन्त्रण गर्न इराकको केन्द्रीय बैंकले तीन वर्षभन्दा बढी समयपछि पहिलोपटक अमेरिकी डलरको तुलनामा इराकी दिनारको मूल्य घटाएको छ।

तेल बिक्रीबाट प्राप्त विदेशी मुद्रामा निर्भर इराकले आयात, मुद्रा स्थिरता तथा सरकारी कर्मचारी र अवकाशप्राप्त व्यक्तिको तलब व्यवस्थापन गर्दै आएको छ।

आर्थिक निर्भरता घटाउन इराकले सन् २०३७ सम्म गैरतेल राजस्वको हिस्सा १० प्रतिशतबाट बढाएर ४५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेकाे छ।

राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन्।

महासचिव सरवार आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन्। उनी बङ्गलादेशका कूटनीतिज्ञ हुन्।

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौँ। पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण, वातावरण संरक्षण र आधुनिक विकाससहित विविध विषयमा ज्ञान लिन सक्ने बताउनुभएको छ ।

साइनो नेपाल कल्चरल एण्ड टुरिज्म प्रमोशन सोसाइटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा साँसद उहाँले चीनले संस्कृति संरक्षणलाई रोजगारीको माध्यम बनाएकाले त्यो पक्षलाई नेपालले आत्मसात गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाल र सिचाङबीच सदियौदेखि घनिष्ठ मित्रवत सम्बन्ध रहेकाले नेपालले त्यहाँबाट धेरै विषयबस्तु सिक्न सक्ने बताउनुभयो ।

उहाँले त्यहाँको संस्कृति नेपालको नेवाः संस्कृतिसँग मिल्दोजुल्दो रहेकाले विगतदेखि नै दुई देशबीचको सम्बन्ध जनस्तरमा समेत प्रगाढ रहेको धारणा व्यक्त गर्नुभयो ।

महावाणिज्यदूत निरौलाले भन्नुभयो, “नेपाल र सिचाङको सामाजिक र सांस्कृतिक सम्बन्ध प्रगाढ छ, त्यहाँको पर्यटन प्रवद्र्धन, रेलमार्ग, सुरुङमार्गसहित अत्याधुनिक विकासबारे नेपालले सिक्न पर्छ ।”

त्यहाँस्थित पोताला दरबार अवलोकन गर्न वार्षिक चार करोड बढी पर्यटक पुग्ने भएकाले त्यसको एक हिस्सा मात्र यहाँ ल्याउन सके नेपालको पर्यटनमा कायापलट हुन सक्नेभएकाले त्यसतर्फ सम्पूर्ण राज्यको ध्यान केन्द्रित गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । केही दिनअघि सिचाङ क्षेत्रको भ्रमण गरी फर्किएको नेपाली टोलीका सदस्य एवम् बौद्ध दर्शनका जानकार मोहनकुमार तामाङले नेपाल र सिचाङबीच १४ सताब्दीदेखि नै जनस्तरमा समेत मित्रवत सम्बन्ध रहेको बताउनुभयो ।

सिचाङले बौद्ध सम्पदाको संरक्षण गरी लाखौँ पर्यटक आकर्षित गरेको बताउँदै त्यहाँ रहेका र नेपालका कतिपय गुम्बाबीच अन्योन्याश्रित सम्बन्ध रहेको विषयमा प्रचार प्रसारको खाँचो उहाँले औँल्याउनुभयो ।

कलाकार राजु पौडेल (मास्टर) ले सिचाङबाट हामीले सम्पत्ति मात्र नभई सम्पदा जोगाएर सन्ततीलाई हस्तान्तरण गर्न पर्ने रहेछ भन्ने ज्ञानआर्जन भएको बताउनुभयो । उहाँले नेपालले आफ्नो पहिचानका रुपमा रहेको कला, संस्कृति र मठमन्दिर संरक्षणमा अब विशेष पहल गर्नुपर्छ भन्नुभयो । वरिष्ठ पत्रकार दीपक रिजालले सिचाङको विकास, पर्यावरण संरक्षणमा त्यहाँको सरकारले देखाएको तदारुकता प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यहाँको विकास, अनुशासन, सरसफाइ पूर्वाधार निर्माण, सांस्कृतिक सम्पदाको संरक्षणबाट नेपालले धेरै कुरा सिक्नुपर्छ ।” आयोजक संस्था सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले सिचाङबाट नेपालको पर्यटन र हिमाली क्षेत्रले फाइदा लिन सक्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सिचाङ र नेपालीको हिमाली सम्पदा, परम्परागत ज्ञान र सीप आर्जन गर्ने परम्परा एकै खालको रहेकाले त्यहाँ स्थापित असल अभ्यास र मूल्य मान्यतालाई यहाँका भावी पुस्तालाई सुरक्षित हस्तान्तरण गर्नुपर्छ ।”

कार्यक्रममा नेपाल र सिचाङ क्षेत्रका महत्त्वपूर्ण सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्र सम्बन्धित वृत्त चित्र प्रस्तुत गरिएको थियो ।

कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीमा हुने, सानेपामा कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पार्टी सभापति गगनकुमार थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीको दिन हुने भएको छ ।

शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुर (सानेपा) मा शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार १५औँ महाधिवेशनको मतगणना कार्य सम्पन्न भएसँगै नवनिर्वाचित सभापतिको पदबहाली कार्यक्रम तय गरिएको हो ।

सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ। सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा सभामुख अर्यालले भोटेकोशी बाढीबाट उत्पन्न विपद्का बेला नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू) को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत ‘जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल’ विषयक आपत्कालीन एजेन्डा दुईतिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराउनुभयो ।

जलवायु परिवर्तनका कारण उत्पन्न विपद्बाट प्रभावित तथा जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी र उत्थानशीलता सुदृढीकरणका साथै यस विषयमा अन्तरराष्ट्रिय तथा अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा सभामुख अर्यालले जोड दिनुभयो ।

भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

कोरलानाकाबाट तीन महिनामै साढे आठ अर्बभन्दा बढी राजस्व संकलन

कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवमा रु नौ अर्ब राजस्व जम्मा गर्ने लक्ष्य राखेको छ। कार्यालयले तीन महिना नपुग्दै (९३.५३) प्रतिशत राजश्व जम्मा गर्न सफल भएको ।

लक्ष्य पूरा हुुन रु ६७ करोड १७ लाख अर्थात (७.४६) प्रतिशत मात्रै राजस्व जम्मा गर्न बाँकी छ। उल्लेखनीय राजश्व वृद्धि हुनुको मुख्य कारण तातोपानी नाका र रसुवागढी नाका बन्द भएकाले हो।

तातोपानी र रसुवागढी नाका पूर्ण रुपमा बन्द हुँदा त्यहाँबाट हुने निकासी तथा पैठारी मार्ग कोरलानाका विकल्प बनेको छ।

चालु वर्षको साउन महिनादेखि असोज २७ गतेसम्मको अवधिमा रु १९ अर्ब ४० करोड ६७ लाख बराबरको मालवस्तु पैठारी भएको छ।

यसैगरी रु ३७ लाख ७८ लाख मूल्य बराबरको मालवस्तु नेपालबाट चीनतर्फ निकासी भएको भन्सार विभागले जनाएको छ।

फोहर घरमै सङ्कलन गरी राख्न काठमाडाैँ महानगरकाे अनुरोध

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ।उक्त दिनहरुमा नेपालीको महान् पर्व दसैँको परेकाले सफाइ कर्मचारी चाडपर्व मनाउन जानुपर्ने हुँदा घर बाट निस्कने फोहर घरमै सङ्कलन गरी राख्न अनुरोध भएको हो।

जम्मा भएका फोहरलाई कुहिने र नकुहिनेलाई वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेका छन्। उक्त मितिबाहेक अन्य दिन नियमित रुपमा फोहर व्यवस्थापन हुने कामपाले जानकारी दिनएको छ।

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ ।सञ्चारमन्त्री तिमिल्सिनासमक्ष आज प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री डा तिमिल्सिनाले नागरिकलाई गुणरस्तरीय र भरपर्दाे दूरसञ्चार सेवा प्रदान गर्न निर्देशन दिए।

प्रतिवेदनमा आव २०८२/८३ मा जनसङ्ख्याका आधारमा भ्वाइस टेलिफोन सेवाको घनत्व १०४ दशमलव १६ प्रतिशत पुगेको उल्लेख छ। ब्रोडव्याण्ड सेवाको घनत्व १४८ दशमलव ६४ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ।

ब्रोडव्याण्डमध्ये फिक्स्ड ब्रोडव्याण्ड सेवाको घनत्व ५३ दशमलव ५५ प्रतिशत, थ्रि जीको घनत्व दुई दशमलव ५७ प्रतिशत र फोर जीको घनत्व ९२ दशमलव ५२ प्रतिशत गरी मोबाइल ब्रोडव्याण्डको कूल घनत्व भने ९५ दशमलव ०९ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ।

राजस्वका आधारमा आव २०७७/७८ मा भ्वाइस सेवाको बजार हिस्सा ८२.१६ प्रतिशत र इन्टरनेट नेटवर्क सेवा प्रदायकको बजार हिस्सा १७.८४ प्रतिशत रहेकामा आव २०८१/८२ को विवरणअनुसार भ्वाइस सेवाको बजार हिस्सा ७३ दशमलव ७९ प्रतिशत र इन्टरनेट नेटवर्क सेवा प्रदायकसमेत सेवा प्रदायकको बजार हिस्सा २६ दशमलव २१ प्रतिशत पुगेको छ।

दूरसञ्चार सेवा बजारको हिस्सालाई प्रमुख सेवा प्रदायकको राजस्वका आधारमा आव २०७७/७८ मा भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४६ दशमलव ८७ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ५३ दशमलव १२ प्रतिशत बजार हिस्सा रहेको थियो।

तर, आव २०८१/८२ मा भने भ्वाइस सेवाको राजस्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५० दशमलव ८१ प्रतिशत र एनसेल आजियटा लिमिटेडको ४९ दशमलव १९ प्रतिशत बजार हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले आव २०८२/८३ मा इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनका लागि एक र आधारभूत दूरसञ्चार सेवाको एक नयाँ अनुमतिपत्र जारी गरेको छ।

आव २०८२/८३ मा २९ वटा इन्टरनेट सेवा प्रदायक, तीन वटा नेटवर्क सेवा प्रदायक र एक भिस्याट सेवा प्रयोगकर्ता गरी कुल ३३ वटा अनुमतिपत्र प्राप्त सेवा प्रदायक तथा उजुरीका आधारमा पाँच वटा सेवा प्रदायकको अनुगमन गरी नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

आव २०८२/८३ मा दूरसञ्चार सेवाका लागि आवश्यक उपकरण आयातबापतको भुक्तानीका लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकलाई रु चार अर्ब ८६ करोड २९ लाख ५६ हजार ३४ र व्याण्डविध भुक्तानीबापत रु चार अर्ब १४ करोड १० हजार ५७६ बराबरको विदेशी मुद्रा भुक्तानीका लागि सिफारिस गरिएको छ।

त्यसैगरी, आव २०८२/८३ मा इन्टरनेट सेवाको समस्यासँग सम्बन्धित गुनासोको सङ्ख्या ३३९ रहेको छ भने भ्वाइस सेवाको समस्यासँग सम्बन्धित गुनासोको सङ्ख्या ९६ रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोडने महामार्गमा व्याक बोन नेटवर्क निर्माण गर्ने कार्यअन्तर्गत हालसम्म दुई हजार २४८.४४ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको छ।

त्यस्तै, आव २०८२/८३ मा २२० दशमलव ९९ किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने काम भएको छ। प्राधिकरणका अनुसार आव २०८२/८३ दूरसञ्चार सेवा प्रदायकबाट आव २०८१/८२ को वार्षिक आयको ४ प्रतिशतले हुने रोयल्टी रकमबापत रु तीन अर्ब १७ करोड ६१ लाख ८५ हजार ५३३ नेपाल सरकारको राजस्व खातामा दाखिला भएको छ।

दूरसञ्चार सेवा प्रदायकबाट आव २०८१/८२ को वार्षिक आयको दुई प्रतिशतले हुने ग्रामीण दूरसञ्चार विकास कोष रकमबापत रु एक अर्ब ६८ करोड पाँच लाख २४ हजार ५६४ ग्रामीण दूरसञ्चार विकास कोषमा दाखिला भएको छ।

दूरसञ्चार सेवाका फ्रिक्वेन्सी प्रयोग गरेबापत विभिन्न सेवा प्रदायकबाट आव २०८२/८३ मा रु तीन अर्ब ९१ करोड ८२ लाख ८० हजार ५०० रकम नेपाल सरकारको खातामा जम्मा भएको छ।

  परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको बिदाइ भेट

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेटवमर्ता गरेका छन्।मन्त्रालयमा शुक्रबार भएको भेटमा सार्कको महत्त्व तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। त्यसअवसरमा जलवायु परिवर्तन र विपद् प्रतिकार्यलगायतका क्षेत्रमा क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले महासचिव सरवारले आफ्नो कार्यकालमा सार्कको संस्थागत विकास तथा क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उनलाई धन्यवाद व्यक्त गरेका थिए।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ८० रुपैयाँ र सानो (टनेल) गोलभेडा ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८३ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, डल्लो भन्टा ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ८० रुपैयाँ तथा घिउ सिमी (लोकल) ८० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा ८० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १०० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २०० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (जुम्ला) प्रतिकिलो २५०, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १५० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ तोकिएको छ ।

यातायात क्षेत्रका समस्या समाधान गर्ने सांसदहरूको प्रतिबद्धता

रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सांसदहरूले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यावसायिक रूपमा सबल बनाउन विद्यमान कानुन समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले तीन तहका सरकारबीच समन्वयको अभाव, फरक-फरक नीति तथा कानुन, विकास निर्माणका जटिल प्रक्रिया र नियमनमा देखिएका कमजोरीले सरकारी कामकारबाही प्रभावित भइरहेको बताए । उनले नवीन सोच र प्रभावकारी कार्यान्वयनमार्फत सार्वजनिक सेवा तथा विकास निर्माणलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

सांसद मञ्जु भुसालले देशमा तीव्र पूर्वाधार विकास र सुशासन कायम गर्न सरकार तथा संसद् प्रतिबद्ध रहेको बताइन् । उनले सुकुमवासी समस्या समाधानलगायत विषयमा पनि सरकारले काम अघि बढाएको जानकारी दिइन्। विद्यमान कानुनलाई समयानुकूल सुधार गर्दै जनअपेक्षाअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

सांसद अमृता विकले यातायात क्षेत्रसहित समग्र व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि आफूहरू दृढतापूर्वक साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनले बताइन्।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सञ्चालन खर्चमा बढोत्तरी, सवारीसाधनको सङ्ख्या वृद्धि र सरकारी नीतिका कारण यातायात व्यवसायी समस्यामा परेकाले यसतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताए । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पर्याप्त चार्जिङ स्टेसन, पार्टपुर्जाको उपलब्धता, मर्मतसम्भार तथा सञ्चालन दूरीसँग सम्बन्धित चुनौती कायमै रहेको उनको भनाइ छ ।

अध्यक्ष खरेलले यातायात क्षेत्रका समस्या समाधानका लागि कानुनमा सुधार, वैज्ञानिक आधारमा भाडादर निर्धारण, प्रभावकारी अनुगमन, बसपार्क तथा पार्किङ व्यवस्थापन र यात्रु एवं व्यवसायीमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिए । यी विषयमा आवश्यक पहल गर्न उनले सांसदहरूमार्फत सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा व्यवसायीहरूले यातायात क्षेत्रका समस्या, व्यवसायीका माग तथा समाधानका सम्भावित उपायबारे जानकारी गराए । यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र प्रभावकारी यातायात व्यवस्थापनमा सरकार, व्यवसायी, चालक, सहचालक तथा यात्रु सबै जिम्मेवार हुनुपर्नेमा पनि सहभागीहरूले जोड दिएका छन् । यातायात क्षेत्रका समस्या समाधानका लागि सांसदहरूले प्रतिबद्धता जनाए पनि कानुनी सुधार, भाडादर निर्धारण र पूर्वाधार व्यवस्थापनका विषयमा ठोस निर्णय तथा कार्यान्वयन हुन बाँकी रहेको व्यवसायीहरूको भनाइ छ ।

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थमात्र बिक्री वितरण गर्न आग्रह गरेको हो ।

विभागले उपभोग्य अवधि बाँकी रहेका खाद्य पदार्थमात्र बिक्री गर्न, पकाएको र नपकाएको खाना छुट्टाछुट्टै राख्न तथा खाद्य पदार्थलाई सुरक्षित तापक्रममा भण्डारण गर्न निर्देशन दिएको छ ।

त्यस्तै, भान्सा, खाना वितरण गर्ने स्थान र परिसर सफा राख्न, कामदारको व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा सफा भाँडाकुँडा र स्वच्छ पानी प्रयोग गर्न पनि सूचित गरेको छ ।

सूचनाअनुसार खाद्य व्यवसायीले गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरी खाना राम्ररी पकाएर मात्र उपभोक्तालाई उपलब्ध गराउनुपर्नेछ । बासी, सडेगलेका, झिँगा भन्केका, धुलो तथा फोहर पानी मिसिएका वा अस्वच्छ अवस्थामा तयार गरिएका खाद्य पदार्थ बिक्री गर्न पाइने छैन । साथै, खाद्य पदार्थको बिक्री स्थलमा आवश्यकताअनुसार चिसो वा तातो तापक्रमको व्यवस्था मिलाउन र उचित मूल्यमा बिक्री गर्न पनि विभागले निर्देशन दिएको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिमका प्रावधान पालना गर्न सचेत गराउँदै निर्देशन उल्लङ्घन गर्ने व्यवसायीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ ।

यसैगरी, विभाग वा मातहतका कार्यालयबाट खाद्य स्वच्छताका आधारमा व्यवसायको स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा खाद्य पदार्थको खपत र यात्रुहरूको आवतजावत बढ्ने भएकाले खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न विभागले व्यवसायीको ध्यानाकर्षण गराएको हो ।

दसैँका कारण कात्तिक १ देखि चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ, ३० असोज : काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो ।

आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला ।” उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ ।यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि पर्यटक र बिरामीको आकर्षण बनेको तातोपानी कुण्डको अस्तित्व मेटिएको हो । कुण्डको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माणमा गरिएको करिब रु एक करोड लगानी बाढीले बगाएर क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।

“तातोपानीलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले विगत नौ वर्षदेखि रु एक करोडभन्दा बढी लगानी गरेर तयार पारेको पूर्वाधार ध्वस्त बनाएको छ”, उनले भने, “कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको मुहानसमेत पुरानो कुण्डबाट करिब ३० मिटर तल सरेको छ ।”

कालीगण्डकीको कटानबाट जोगाउन किनारमा निर्माण गरिएको पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत पूर्वाधार कालीगण्डकीको बाढीले बगाएको छ ।

गाउँपालिकाले पछिल्ला केही वर्ष यता प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गर्दै आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो । चालु आर्थिक वर्ष २०८३/८४ का लागि कुण्ड सञ्चालन गर्न रु. चार लाख पाँच हजारमा ठेक्का सम्झौता भएको थियो ।

स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जन स्थलका रूपमा विकास भएको थियो ।

“रातोपानीको प्राकृतिक तातोपानी कुण्ड स्नानका लागि आउने पाहुना र पर्यटकका कारण चलायमान हुन थालेको स्थानीय बजार र होटल व्यवसायलाई पनि असर गरेको छ”, उनले भने, “बाढीका कारण भौतिक संरचनामा क्षतिसँगै रोजगारी र आयआर्जनको अवसर पनि गुमेको छ ।”

बेनी-जोमसोम सडकको छेउमा रहेको यहाँ प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०/१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको थियो ।

तातोपानी कुण्ड व्यवस्थित भएसँगै मुस्ताङ भ्रमण गरेर फर्किएकाहरुले थकान मेटाउन कुण्डमा स्नान गर्ने गर्दथे । कुण्डमा पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रवर्द्धनमा टेवा पुगेको थियो ।

यहाँ चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउने गर्दथे । कुण्ड स्वास्थ्य पर्यटन र उपचारका लागि निकै चर्चित थियो ।

पुनःयही स्थानमा तातोपानी कुण्ड पुनर्निमाण गर्न कठिन हुनेगरी बाढीले बगाएका कारण तातोपानीको मुहानबाट पानी लगेर अन्यत्र स्थानमा स्नानस्थल निर्माण गर्ने विकल्पकाबारेमा छलफल थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुङ्गे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सात वटा पुलमा सामान्य क्षति पुगेको थियो ।

अत्यधिक क्षति भएका ११ वटा पुलहरूको बटारिएका लट्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने, साइडको जाली राखी मर्मत गरिएको थियो भने बाँकी सात वटा पुलहरूको सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

सहसचिव बुढाथोकीका अनुसार बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, सोही जिल्लाको वेलकोटगढी–५ देखि धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल, धादिङको सिद्धलेक–३ देखि बेनीघाट रोराङ–३ जोड्ने झोलुङ्गे पुल छन् ।

साथै, नुवाकोटको बेलकोटगढी–५ केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने झोलुङ्गे पुल, धादिङको सिद्दलेक–६ र गजुरी–१ जोड्ने् झोलुङ्गे पुल, धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नं ४ जोड्ने झोलुङ्गे पुल, गल्छी–२ र वडा नं ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल, नुवाकोटको बेवकोटगढी–५ र धादिङको गल्छी–२ जोड्न कोल्पु कल्लेरीघाट पुल र गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको थियो ।

साथै गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सामान्य मर्मत गरिएका अन्य पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, जिल्लाकै सिद्धलेक–५ देखि बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल, धादिङकै गल्छी२–४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुल, गोरखाको सहिद लखन–४ देखि चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल छन् । साथै धादिङको गल्छी–२ र ४ जाड्ने महादेवस्थान झोलुङ्गे पुल र गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल छन् ।

भोटेकोशी बाढी: काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलान्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलान्चोक ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ ।

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मङ्गलबारदेखि भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३ अनुसार काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ । यसका लागि बिहीबारदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

अधिकारीका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ । यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र सोही समितिले बेपत्ता व्यक्ति यकिन गर्ने निर्णय गरिएको छ ।

प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीको भनाइ छ । त्यसपछि समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको अधिकारीले बताउनुभयो । यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने बताइन्छ ।

प्रजिअ अधिकारीका अनुसार नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाउन लागिएको हो । सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ भित्र अनिवार्य रूपमा पालिकामा पेस गर्नुपर्ने जनाइएको छ । त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ । स्थानीय तहबाट तोकिएको समयभन्दा अगाडि नै विवरण प्राप्त भएमा कात्तिक १८ अगावै बाँकी प्रक्रिया थालिने प्रजिअ अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक अनुसार जिल्लाका ३७ सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ । त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए ।