`

बाढी प्रभावित क्षेत्रमा ड्रोन उडानमा कडाइ, आधिकारिकबाहेकका साना ड्रोनमा पूर्ण प्रतिबन्ध

काठमाडौं  । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रहरूमा साना तथा अनधिकृत ड्रोन नउडाउन सबैमा आग्रह गरेको छ ।

विपद्ग्रस्त क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० केजीसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र उडान अनुमति दिइनेछ । त्यसबाहेकका अन्य कुनै पनि साना वा व्यक्तिगत प्रयोजनका ड्रोन उडानमा पूर्ण रोक लगाइएको छ ।

अनुमतिबिना ड्रोन उडाइएको पाइएमा ‘एन्टी–ड्रोन’ टोली सक्रिय गरी त्यस्ता उपकरण तत्काल नियन्त्रणमा लिइने र जफत गरिने मन्त्रालयले स्पष्ट पारेको छ।उद्धार कार्यमा संलग्न टोली तथा हवाई सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै यस जरुरी सूचनाको कडाइका साथ पालना गर्न गृहमन्त्रीले सम्पूर्ण नागरिक तथा सरोकारवालाहरूमा अपिल गरेका छन् ।

पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल

गण्डकी। आगामी असोजदेखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका र फ्लाई दुबईबीच सहकार्य प्रक्रिया अघि बढेको छ ।

पोखरा-दुबई उडान सेवाको प्रवर्द्धन र प्रचारप्रसारका लागि दुवै संस्थाका प्रतिनिधिबीच समझदारीपत्रमा आज हस्ताक्षर भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया र फ्लाई दुबईको नेपालस्थित जनरल सेल्स एजेन्टका तर्फबाट युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईंले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । महानगरपालिका र फ्लाई दुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पर्यटन प्रवर्द्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको उहाँले जानकारी दिनुभयो ।

यस उडान पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । समझदारीअनुसार पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचारप्रसारका स्थानहरूमा १५ दिनसम्म निःशुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत पोखरा-दुबई उडानको प्रवर्द्धनमा सहयोग गर्नेछ ।

फ्लाई दुबईले प्रचारप्रसारका सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने जिम्मेवारी लिएको छ । पोखरा-दुबई नियमित हवाई उडानले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग थप सहज रूपमा जोड्ने महानगर प्रमुख आचार्यको भनाइ छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै अन्तरराष्ट्रिय गन्तव्यहरूसँग जोड्न महानगरले पहल सुरु गरिएको उहाँले बताउनुभयो ।

पोखरा-दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले पनि चासो र अग्रसरता देखाएका छन् । हालै नेपालका लागि संयुक्त अरब इमिरेटन्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शाम्सीसँग भेट गरी व्यवसायीहरूले पोखरा-दुबई नियमित उडानबारे छलफल गरेका थिए । पोखरा-दुबई उडानको निरन्तरता र दिगोपनाका विषयमा छलफल गरिएको थियो ।

केही समयअघि फ्लाई दुबईका नेपाल प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच पनि पोखरामा सोही विषयमा छलफल भएको थियो । सो अवसरमा पोखरा-दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । यस उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दा बढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो । यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ‘ट्रान्जिट हब’ दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ । पोखरा-दुबई उडान पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको दोस्रो व्यावसायिक उडान हो ।

यसअघि चीन, भारत र भूटानका विभिन्न गन्तव्यमा चार्टर उडान भने हुँदै आएको थियो । पोखरा-दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन् ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ ।

रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा

सर्लाही। भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूका परिवार यतिबेला शोकमा हुनुहुन्छ ।बाढीपछि बेपत्ता हुनुभएकाको खबर पाउने आशमा रहेका परिवार समय घर्किंदै गएसँगै निराश बन्दै गएका छन् । रक्षाबन्धनका लागि घर आउने तयारी गर्नुभएका सर्लाहीको हरिवन नगरपालिका-५ घुर्कौलीका ३१ वर्षीय सुनिलकुमार कुशवाहाको परिवार पनि शोकमा हुनुहुन्छ ।

तीन दिदीबहिनीका भाइ सुनिल बाढी आउनु केही मिनेट पहिलासम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । भाइलाई राखी बाँध्ने तयारीमा विवाह गरेर जानुभएका दिदीबहिनी घर आउनुभएको थियो तर भदौ १० गते बिहान आएको विनाशकारी बाढीले राखी पर्व मनाउन घर आउने सुनिलको योजना असफल हुनुका साथै भाइको नाडीमा राखी बाँधेर दीर्घायुको कामना गर्ने दिदीबहिनीको सपना पनि अधुरो रह्यो ।

घरको एक मात्र दाजु बेपत्ता भएपछि सम्पूर्ण परिवार टुहुरो जस्तो बनेको सुनिलका भाइ तिरज कुशवाहले बताउनुभयो । घटनाको भोलिपल्टदेखि तिरज दाजुको खोजीमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेक आसपासमा भौँतारी रहनुभएको छ । घटनापछि परिवारसँगै उहाँको गाउँ शोकमा डुबेको छ । घरमा केही नयाँ मान्छे आए सुनिलका ८० वर्षीय बुबा राम औतार महतो हतारिँदै छोराको खबर बुझ्न पुग्नुहुन्छ ।

घटनाको नौ दिनसम्म पनि दाजुको अत्तोपत्तो नलागेको भन्दै तिरजले निराशा व्यक्त गर्दै भन्नुभयो, “घरमा दाजु लिएर आउँछ भनेर आश गरेर बस्नुभएको छ । यता दाजुको अत्तोपत्तो छैन् ।” सुनिल घरको छोराहरूमध्ये जेठो सन्तान हुनुहुन्थ्यो । माइलो भाइ विजय वैदेशिक रोजगारीका लागि मलेसिया पुग्नुभएको छ । सानैदेखि इमानदार र मेहनती सुनिल पढाइमा समेत अब्बल रहेको बुबा औतारले बताउनुभयो ।

खेतीकिसानी गरेर जसोतसो इन्जिनियर बनाएको छोरा बाढीपछि हराएको खबरले बुबाको आँखा ओभाएको छैन । परिवारका अन्य सदस्यसमेत सुनिल घर आउनेमा आशावादी देखिनुहुन्थ्यो । सुनिलले भारतको बेङ्लोरमा इन्जिनियरिङ गर्नुभएको हो । नेपाल आएपछि उहाँले झन्डै चार वर्ष रामेछापको एक निर्माण कम्पनीमा काम गर्नुभयो । उहाँले काम गर्ने ठाउँ र कामका बारे त्यतिबेला परिवारलाई राम्रोसँग जानकारीसमेत थिएन ।

पुसपछि रामेछापको जागिर छाडेर दाजु त्रिशूली ३ ‘बी’ मा काम गर्न जानुभएको तिरजले जानकारी दिनुभयो । सुनिलको श्रीमती र ७ महिना पुग्न लाग्नुभएको एक छोरी हुनुहुन्छ । स्याङ्जा निवासी निरू भट्टराईसँग ४ वर्षपहिले सुनिलको विवाह भएको थियो । गत फागुन २७ गते सुत्केरी श्रीमती र छोरी छोडेर नुवाकोट पुग्नुभएको उहाँ त्यसपछि घर आउन पाउनुभएको थिएन ।

बाढी आउनु दुई दिनपहिला मात्र सुनिल दाजुसँग कुरा भएको तिरजले सुनाउनुभयो, “दाजु मोटरसाइकल चलाउनु हुन्न । म काठमाडौँमा पढ्न बस्छु । मसँग मोटरसाइकल भएकाले ११ गतेसम्म दाजु काठमाडौँ आउने र रक्षाबन्धनका लागि १२ गते हामी दाजुभाइ सर्लाही पुग्ने तयारी थियो । दाजुले काम सकेर छिट्टै आउँछु भन्नुभएको थियो । बाढी गएको दिन बुधबार बिहान ८ः०० बजेतिर घरमा भाउजूसँग पनि कुरा गर्नुभएको रहेछ । त्यसपछि दाजु सम्पर्कविहीन हुनुभयो ।”

सुनिलले १० गते बिहान ८ः०० बजे सर्लाहीमा श्रीमती निरूसँग फोनमा रक्षाबन्धनका लागि घर आउनलागेको बताउनुभएको थियो । सोही दिन एक्कासि भोटेकोशीमा भीषण बाढी आएको र ठूलो बितण्डा मच्चाएको श्रव्यदृश्य सामग्रीहरू सामाजिक सञ्जालमा फैलिन थाल्यो । “सुरुमा सुनिल नुवाकोटको कुनै सुरक्षित ठाँउमा हुनुहुन्छ भन्ने लाग्यो”, भाइ तिरजले भन्नुभयो, “त्यसपछि लगातार सम्पर्कको प्रयास गर्‍यौँ तर कुनै प्रतिक्रिया आएन त्यसपछि हामी छाँगाबाट खसे जस्तै भएका छाँै ।”

“घटनाको दिन के गर्ने कुनै भेउ पाएनौँ । भोलिपल्ट नुवाकोट पुगे । खोज्दै जाँदा थाहा भयो दाजु बेत्रावतीभन्दा धेरै माथि त्रिशूली ३ ‘बी’ मा काम गर्नुहुँदो रहेछ”, भाइ तिरजले भन्नुभयो । उहाँका अनुसार सुनिलको मोबाइल ‘लोकेसन’ बुधबार बिहान ९ः१० मा अन्तिम पटक त्रिशूली बजारमा सक्रिय देखिएको थियो । “दाजुसँगै काम गर्ने एकजना कर्मचारी भेटेको थिए । बाढी हेरेर आउँछु भनेर निस्किनु भएछ । भीषण बाढी देखेपछि माथितिर भागेर बाँचेको सुनाउनुभयो”, उहाँले भन्नुभयो ।

“मेरो दाजु काम गर्दै हुनुहुन्थ्यो रे । फर्केर गएर भाग भन्न भ्याइन दाजुसँगै काम गर्ने कर्मचारीले भन्नुभयो । माथि पुगेर हेर्दा पूरै बगर बनिसकेको थियो । त्यसपछि दुई दिन जङ्गलमा बसेर ज्यान जोगाएँ”, भाइ तिरजले भन्नुभयो । उहाँको कुरा सुनेपछि दाजु भेट्छु भन्ने आश मरिसकेको उहाँको भनाइ छ । तर पनि मनमा दाजु कतै अलपत्र हुनुहुन्छ कि झैँ लागिरहने बताउँदै उहाँले सोही आशले यो ठाउँ छाडेर फर्कन नसकेको उल्लेख गर्नुभयो । दाजुको अफिस भएको ठाउँको नामोनिसान छैन ।

“दाजु काम गरेको ठाउँमा खोजी हुँदैछ । ठाउँ निकै जोखिमपूर्ण छ”, तिरजले भन्नुभयो । त्रिशूली ३ ‘बी’ तर्फ उद्धारको कार्य ढिलाइ भएको उहाँले दुखेसो पोख्नुभयो । गृहमन्त्रीदेखि आर्मी, पुलिस र सशस्त्र सबैलाई अनुनयविनय गरिरहेको भन्दै उहाँले दिदीबहिनी अझै भाइको दीर्घायुको कामना गर्न राखी लिएर बाटो कुरिरहेका बताउनुभयो ।

तिरजका अनुसार उहाँका दाजुले काम गरेको कम्पनीका सेफ्टी डिपार्टका एक जना कर्मचारी सोमबार मात्र सम्पर्कमा आउनुभएको छ । “ती कर्मचारी पनि ९ गते छुट्टीमा रहेकाले बच्नुभएको रहेछ”, उहाँले भन्नुभयो, “त्यसबाहेक कम्पनीका कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । हामीलाई प्रहरीले कम्पनीका प्रतिनिधिको फोन नम्बर दिएका छन् । फोन कसैको उठ्दैन । हामी निकै पीडामा छौँ ।”

विपद्मा मानवीय साथ : भोटेकोशी बाढीपीडितलाई अक्सिडेन्टलको २ लाख ५१ हजार सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका प्रिन्सिपल टेकबहादुर पौडेलले जानकारी दिए। बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका शिक्षक, कर्मचारी तथा समग्र शिक्षालयको सामूहिक सहभागितामा रकम संकलन गरिएको उनले बताए। प्रिन्सिपल पौडेलका अनुसार प्राकृतिक विपद्का कारण नागरिकको जनजीवन प्रभावित भइरहेका बेला शिक्षालयको तर्फबाट आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै सहयोग गरिएको हो। विद्यालयले विपद्मा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षासहित उद्धार कोषमा रकम हस्तान्तरण गरेको जनाएको छ।

विद्यालयका निर्देशक डिबी निरौलाले विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्व भएको बताए। बाढीका कारण धेरै परिवारले आफन्त गुमाउनुका साथै घर, व्यवसाय तथा अन्य भौतिक संरचनामा ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा राज्यको प्रयाससँगै निजी क्षेत्र, शिक्षण संस्था, संघसंस्था र आम नागरिकको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा अन्य सदस्यहरूको सामूहिक भावना र सहभागिताबाट सहयोग रकम जुटाइएको हो। व्यक्तिगत रूपमा सानो योगदान भए पनि सबैको सामूहिक प्रयासबाट उल्लेख्य रकम संकलन गर्न सकिने र त्यसले विपद्मा परेका परिवारलाई राहत पुर्‍याउन सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ।

विद्यालयका व्यवस्थापक तथा सूचना प्रमुख गोपाल पौड्यालले विपद्का बेला पीडितलाई सहयोग गर्नु शिक्षालयको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताए। शिक्षालयको भूमिका केवल विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञान र शैक्षिक सीप प्रदान गर्नमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गराउनु पनि विद्यालयको महत्वपूर्ण जिम्मेवारी भएको बताए। ‘विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै समाजप्रतिको जिम्मेवारी र मानवीय संवेदना सिकाउनु आवश्यक छ,’ पौड्यालले भने, ‘विपद्का बेला पीडित परिवारको साथमा उभिन सक्ने संस्कार विकास गर्न शिक्षालयले पनि आफ्नो तर्फबाट योगदान गर्नुपर्छ।’ उनले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विपद्बाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन राज्यका निकायसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था, शिक्षालय र नागरिक समाजको निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

विद्यालयले गरेको सहयोगले तत्काल राहत तथा उद्धारका लागि केही भए पनि योगदान पुग्ने विश्वास लिइएको छ। साथै, यस्ता सहयोगले विपद्का बेला सामाजिक एकता र सहकार्यको भावना बलियो बनाउने विद्यालयको धारणा छ। भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनःस्थापना लामो समयसम्म चल्ने प्रक्रिया भएकाले तत्कालीन राहतसँगै घरबास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार पुनर्निर्माणमा समेत सामूहिक पहल आवश्यक रहेको विद्यालयले जनाएको छ। अक्सिडेन्टल पब्लिक स्कुलले आफ्नो तर्फबाट गरिएको सहयोगलाई विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता र सामाजिक जिम्मेवारीका रूपमा लिएको जनाएको छ।

सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

कञ्चनपुर। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाले सूचना जारी गर्दै सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलगायत पहाडी जिल्लामा ससाना नदीमा पानीको बहाव उलेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले महाकाली नदीमा पानीको बहाव उलेख्य बढ्ने भएकाले नदी तटीय तथा होचा भु–भागका बासिन्दाले सतर्क रहन आग्रह गरेको छ। सरोकारवाला निकायलाई नदीको निगरानी बढाउन, स्थानीय तह तथा समुदायलाई सूचीत गराउने र आवश्यक तयारी सुरु गर्न महाशाखाले सूचना जारी गरेको छ।

सुदूरपश्चिमका पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा निरन्तर वर्षाका भइरहेको छ । जसका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा व्यारेजमा आवागमनमा रोक लगाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज बिहान महाकाली नदीमा पानीको बहाव एक लाख २० हजार ५८० क्युसेक पुगेको छ । “महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा व्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइन्छ।”उनले भने, “पानीको बहाव एक लाख क्युसेकभन्दा कम भएपछि आवागमन सञ्चालन हुन्छ।”

राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने

काठमाडौँ। राष्ट्रियसभाको बैठक यही भदौ २४ गते बुधबार अपराह्न १ः१५ बजे बस्ने भएको छ ।राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यही भदौ २३ गते मङ्गलबार बस्ने गरी तोकिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएकाले भदौ २४ गतेका लागि निर्धारण गर्नुभएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाका कारण बैठक सरेको हो ।

‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसीको लक्ष्य’

चितवन । दुग्ध किसानको बक्यौता भुक्तानी र उत्पादनको ठूलो मात्रा मौज्दातसहित वित्तीय सङ्कटबीच लामो समयदेखि गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

संस्थालने दूध लिएबापतको रकम किसानलाई नियमित रुपमा भुक्तानी दिने व्यवस्था सुनिश्चित गरी दुग्ध सङ्कलन तथा दुग्धजन्य पदार्थको बिक्री केन्द्र विस्तार गरेर दैनिक एक लाख ५० हजार लिटर सङ्कलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको हो । किसानबाट दैनिक ६५ हजार लिटर दूध खरिद गर्दै आएको संस्थानले अब थप ८५ हजार लिटर वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।

संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले नियमित भुक्तानी व्यवस्थासहित दुग्ध किसानलाई विश्वासमा लिएर उत्पादन तथा बिक्रीवितरणका दृष्टिले उपयुक्त स्थानको पहिचान गरी देशव्यापी रुपमा सञ्जाल विस्तार गरी लक्ष्य हासिल गर्ने योजना रहेको बताए ।

देशका प्रधानमन्त्रीसहित नेपाल सरकारबाट डिडिसीको बजार प्रवर्द्धनमा अमूल्य योगदान भएकामा गर्व गर्दै महाप्रबन्धक डा पाण्डेले भने, “सम्माननीय प्रधानमन्त्रीले खुलेरै डिडिसीको महत्वसहित प्रचार गर्नुभएको छ । यसबाट हामी थप उत्साहित भएका छौँ । अहिले परिस्थिति अनुकूल भएकाले स्पष्ट लक्ष्य–योजनासहित परिणाम देखिनेगरी काम गर्नुपर्ने दायित्व थपिएको छ । सरकार र आमउपभोक्ताको अपेक्षाअनुसार गुणस्तरीय उत्पादनसहित डिडिसीलाई आर्थिक रुपले सवल बनाउनेछौँ ।”

सहकारी संयन्त्रमार्फत सीमित स्थानमा मात्र दूध सङ्कलन हुँदै आएको र किसानले समयमै दूधको मूल्य नपाएको अवस्थालाई सम्बोधन गर्ने पक्षमा संस्थान रहेको स्पष्ट गर्दै पाण्डेले भने, “दूध उत्पादनका हिसाबले सम्भावना भएका स्थानमा आवश्यक पूर्वाधारको व्यवस्था गरी सङ्कलन केन्द्र विस्तार गर्नेछौँ । यसअघिको बक्यौता छिट्टै फरफारक गरी नियमित रुपमा भुक्तानीको व्यवस्था सुनिश्चित गरी किसानको विश्वास जित्नेछौँ । मात्रात्मक एवं गुणात्मक दृष्टिले दूधको सङ्कलन, उत्पादन तथा बिक्रीवितरणमा जोड दिई लक्ष्य पूरा गर्नेछौँ ।”

संस्थाले किसानको बक्यौता घटाउनुका साथै दूध सङ्कलन तथा बिक्रीदर बढेको भन्दै पछिल्ला दिनमा दुग्धजन्य वस्तुको मौज्दात घटाएको र नयाँ बजारसहित निर्यातका सम्भावना खोज्न थालेको उनले बताए । आफूले गत वैशाख १८ गते जिम्मेवारी सम्हाल्दा संस्थानसँग करिब ६०० टन धुलो दूध (मिल्क पाउडर), ५०० टन बटर र १० टन पनिर मौज्दात रहेको जानकारी दिँदै त्यसलाई बजारीकरण गरेर मौज्दात घटाइएको उनले बताए । महाप्रबन्धक डा पाण्डेले भने “चार महिनाअघि किसानलाई करिब रु ७२ करोड भुक्तानी दिन बाँकी थियो, डिडिसीका कुनै पनि उत्पादन अन्तरराष्ट्रिय बजारमा निर्यात हुने अवस्था थिएन । तर, अहिले बक्यौता रु २० करोडमा झरेको छ र उत्पादित वस्तु विदेशमा बिक्रीवितरण भइरहेको छ, यसबाट अपेक्षा गरिएअनुसारको परिणाम दिन सकिन्छ भन्ने विश्वास लिएको छु ।”

यसैगरी, करिब ६०० धुलो दूधको मौज्दात घटेर करिब १२० टनमा झरेको, ५०० टन हाराहारीमा रहेको बटरको मौज्दात १२५ टन बाँकी रहेको र पछिल्लो तीन महिना १५ दिनभित्र संस्थानले करिब रु ७० करोड भुक्तानी गरिसकेको डा पाण्डेले जानकारी दिए ।

डीडीसीले नियमित रूपमा दूध खरिद गरिरहेकाले भुक्तानी बाँकी रहने रकमलाई क्रमशः व्यवस्थापन गर्दै लैजाने उनको भनाइ छ । आफू महाप्रबन्धक हुँदा आठ महिनाको भुक्तानी बाँकी रहेकामा अहिले दुई महिनाको मात्र बाँकी रहेको उनले जानकारी दिए । उनले भने, “अब मासिक र त्यसपछि १५ दिनमा किसानलाई भुक्तानी दिने गरी काम गर्दैछौँ ।”

संस्थानले बजार विस्तारलाई पनि प्राथमिकतामा राखेर काम गर्दै आएको छ । काठमाडौँमा यसअघि ‘डेडिकेटेड’ बिक्री काउन्टर नभएको भन्दै उनले अहिले डिडिसीका मात्रै १५ वटा डेडिकेटेड काउन्टर सञ्चालनमा ल्याइएको बताए । यसअघि दैनिक रु ५० देखि ६० लाख हाराहारीको कारोबार हुने गरेकामा अहिले करिब रु एक करोडको कारोबार हुन थालेको छ । दूध बिक्रीमा वृद्धि भएको उनले बताए ।

काठमाडौँमा दैनिक दूध बिक्री करिब ६० हजार लिटरबाट बढेर अहिले ७२ हजार लिटर पुगेको छ । त्यस्तै, दैनिक दूध सङ्कलन ५० हजार लिटर हाराहारीबाट बढेर ६५ हजार लिटर पुगेको छ ।

हाल दूध उत्पादनको तुलनामा औपचारिक बजारमा खपत कम हुने अवस्था रहेको छ । चाडपर्व तथा गर्मी मौसममा घरमै दूध, दही, खीरलगायतका परिकारमा बढी प्रयोग हुने भएकाले औपचारिक बजारमा दूधको खपत घट्ने गरेको उनको भनाइ छ ।

संस्थानले आन्तरिक बजारसँगै अन्तररारष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गर्न थालेको भन्दै उनले खाडी मुलुकमा घ्यू निर्यात सुरु भइसकेको बताए । हालै ५०० किलो घ्यु दुबईमा निर्यात गरिएको र वार्षिक ५० हजार किलो घ्यु निर्यात गर्ने सम्झौता भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

उनका अनुसार चिज र पेडाकोसमेत माग विदेशबाट आउन थालेको छ । दक्षिण कोरिया, मलेसिया र जापानमा डीडीसीका उत्पादन निर्यातका लागि छलफल भइरहेको पाण्डेले जानकारी दिए।

उनले भने, “बजारको मागअनुसार नयाँ उत्पादन थप गर्ने तयारीमा हामी लागेका छौँ ।” हाल संस्थाले करिब २० प्रकारका उत्पादन गर्दै आएकामा ‘स्लाइस चिज’ लगायतका उत्पादन बजारमा ल्याउने तयारी भइरहेको छ ।

बजारमा यस्ता चिजको माग उच्च भए पनि हाल निजी क्षेत्र वा विदेशबाट आयात हुँदै आएको पाण्डेले बताए । मोफसलमा उत्पादन र बजार विस्तार गर्ने रणनीतिअन्तर्गत पोखरामा उत्पादन गर्ने गरी सम्झौताको प्रक्रिया अघि बढाइएको छ । संस्थाको मुख्य समस्या कर्मचारी सङ्ख्या बढी हुनु र दूध सङ्कलन तथा बजारबीच उचित तालमेल नहुनु रहेकाले यसलाई व्यवस्थापन गर्दै अघि बढेको उनले बताए । डीडीसीमा करिब ८०० कर्मचारीहरु छन् ।

डीडीसीमा हाल करिब रु एक अर्ब २६ करोड ऋण रहेको भन्दै उहाँले आगामी एक वर्ष छ महिनाभित्र ऋण तिर्ने लक्ष्यसहित काम अघि बढाएको बताए । डा पाण्डेका अनुसार पछिल्लो अवधिमा मात्रै डीडीसीले करिब रु तीन करोड ऋण तिरेको छ । खर्च नियन्त्रण र वित्तीय अनुशासनमा सुधार ल्याउँदै संस्थालाई क्रमशःआत्मनिर्भर बनाउने योजना रहेको उनको भनाइ छ ।

भोटेकोशी  बाढी अपडेट : मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन

जनकपुर । भोटेकोशीमा आएको बाढीमा मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु ढकालका अनुसार आजसम्मको उपलब्ध तथ्यांक अनुसार जम्मा सम्पर्कविहीन रहेका प्रदेशभरिका १९९ जनामध्ये ३० जना सम्पर्कमा आईसकेका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । मृत्यु हुनेमा नुवाकोट हाईड्रोपावमा कार्यरत्त सप्तरीका २८ वर्षिय संतोष चोधरी रहेका छन् । उनको सव पहिचान गरी परिवारजनले जिम्मा लिइसहेको प्रवक्ता ढकालले जानकारी दिएका छन् ।

प्रवक्ता ढकालका अनुसार अहिलेसम्म सम्पर्कविहीन रहेकामध्ये पर्साका ३८ जना रहेका छन् भने बाराका २३ जना रहेका छन् । त्यस्तै, रौतहटका १३ जना सम्पर्कविहीन रहेका छने भने सर्लाहीका १८ जना रहेका छन् । त्यस्तै, महोत्तरीका १० जना अझै सम्पर्कविहीन रहेका छन भने धनुषाका ७ जना सम्पर्कविहीन रहेका छन् । त्यस्तै, सिरहाका १२ जना सम्पर्कविहीन रहेका छन् भने सप्तरीका ४७ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।

हालसम्म सम्पर्कविहीन रहेका जम्मा १९९ जनामध्ये सम्पर्कमा आएका ३० जनाहरुमा पर्साका २ जना, बाराका २ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना, महोत्तरीका ७ जना, धनुषाका ७ जना, सिरहाका १ जना र सप्तरीका एक जना रहेको प्रवक्ता ढकालले बताए ।

उनका अनुसार प्रदेश प्रहरी कार्यालयले प्रत्येक दिन केन्द्रिय कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रत्यक्ष रुपमा पनि परिवारजनहरुसँग समन्वय गरेर सम्पर्कविहीनहरुको अवस्थाबारे जानकारी लिनेदिने कार्य भइरहेको छ ।

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्युवरण गरेका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको निवासमा परिवारजनसँग भेटगरी समवेदना प्रकट गरेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

महानिरीक्षक पौडेलले बाढीमा परी बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेटगरी सहानुभूति व्यक्त गरेका छन् । उनले आशिषलगायत बेपत्ता सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धारमा लागिरहेको स्पष्ट पारे । रसुवा बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना सम्पर्कविहीन भएका थिए ।

उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका कार्य मानव अधिकारमैत्री ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरिएको जनाइएको छ।

आयोगले बाढीमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैगरी, उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मनोसामाजिक परामर्शकर्ता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्था र मानवीय सहयोगमा जुटेका सर्वसाधारणप्रति धन्यवाद व्यक्त गरेको छ।

बाढी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुनःस्थापनाका कार्यमा निजी क्षेत्रसँगसमेत सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ।

विपद्को यस असहज परिस्थितिमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणसँग सम्बन्धित गतिविधिमा सरकारलाई सहयोग गर्न, मानवीय सहायताका कार्यमा सक्रिय हुन तथा प्रभावित परिवारको पीडामाथि सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी नगर्न आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ।

साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ।

सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार

बागलुङ। भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै सम्पर्कविहीन छन् । कामको सिलसिलामा भोटेकोशीमा गएकामध्ये बाढीपछि हराइरहेका आफन्तको आशमा परिवार बाटो हेर्दै पर्खिरहेका छन् ।

बाढीमा परेर सम्पर्कविहीन भएका १६ जनामध्ये अधिकांश परिवारिक आर्थिक अवस्था कमजोर छ । रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक र नुवाकोटको त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा काम गर्दै आएका बागलुङ नगरपालिकाका दुई जना इन्जिनियर र दुई बालबालिका गरी १६ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए।

तमानखोला गाउँपालिका-३ का वडाध्यक्ष झकबहादुर बुढाका अनुसार बाढीमा बेपत्ता भएका वडाका ५० वर्षीय दलप्रसाद बुढा र सञ्जय श्रीपालीमाथि परिवार पूर्ण रूपमा आश्रित थियो। दलप्रसादका नौ वर्षीय एक छोरा, एक छोरी र श्रीमती, २२ वर्षीय सञ्जयका आमाबाबा र भाइबहिनी उहाँहरूमाथि आश्रित हुनुहुन्थ्यो । अहिले उहाँहरूका परिवार बाटो कुरेर बसिरहेका वडाध्यक्षले बताए।

वडाध्यक्ष बुढा दलप्रसाद र सञ्जयको उद्धारका लागि बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासहित आफ्ना नागरिकको उद्धारका लागि रसुवा पुगेका वडाध्यक्ष झकबहादुरले आठौँँ दिनसम्म पनि खोजी जारी रहेको भन्दै सकुशल भेटिने आशा झिनो बन्दै गएको बताए।

“आफन्त हराएकाले बाटो हेरिरहनुभएको छ, बाढीमा हराएकाहरू सकुशल भेटिने आशा अझै छ”, वडाध्यक्ष झकबहादुरले भने, “बाढीपछि बेत्तिा भएकाहरूका परिवार सम्झेर झनै चिन्तित हुन्छौँ । सबैको आर्थिक अवस्था कमजोर छ, सबैजना परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुग्नुभएको थियो । बिहान-बेलुका छाक टार्न गाह्रो रहेको परिवारलाई कसरी व्यवस्थापन गर्ने चुनौती देखिएको छ ।”

तमानखोला-२ बोङ्खानीका भीमबहादुर छन्त्याल र खड्कबहादुर छन्त्यालको परिवारिक अवस्था पनि उस्तै छ । श्रीमती, अपाङ्गता भएका बाबाआमा, छोरा, भाइबहिनीसहित ठूलो परिवार आश्रित रहेका ३७ वर्षीय भीमबहादुर बेपत्ता भएपछि परिवारमा बज्रपात परेको छ । त्यस्तै, ५२ वर्षीय खड्कबहादुको भरमा वृद्ध बाबाआमा, श्रीमती र छोराछोरीसहित परिवार चल्दै आएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताए।

तमानखोलाको वडा नम्बर १ का मात्र तीन जना बाढीमा परेर बेपत्ता भएका छन् । करिब ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षीय इन्द्रकुमार विक र २२ वर्षीय विष्णु घर्तिमगर बेपत्ता छन्। पदमका श्रीमती १३ र सात वर्षका छोराछोरी छन्। इन्द्रका श्रीमतीसहित ११ र आठ वर्षका छोराछोरी र विष्णुका श्रीमती, छोरा, बाबाआमा र दाजु पनि उहाँमै आश्रित रहेको प्रशासकीय अधिकृत परियारले बताए।

वडा नम्बर ४ का ५८ वर्षीय लाता कामीका स-साना दुई छोराछोरी र शारीरिक रूपमा कमजोर रहेकी श्रीमती छन्। सोही वडाका भीमबहादुर विकका श्रीमती, तीन सन्तान, आमासहित भाइको परिवार समेत उहाँमा आश्रित रहेको वडाध्यक्ष छप्रसाद श्रीपालीले बताए। आश्रित परिवारले अझै बेपत्ताको बाटो कुरिरहेका छन्।

ढोरपाटन नगरपालिका-४ का बेजेन्द्र घर्तीको पनि आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष तिलक पुनले बताए। आर्थिक अवस्था कमजोर रहेका २३ वर्षीय घर्ती परिवार पाल्नकै लागि हाइड्रोपावरमा मजदुरी गर्न रसुवा पुगेका उनकाे भनाइ छ । ढोरपाटन-९ का २० वर्षीय तुलबहादुर सुनारको पनि परिवारको अवस्था उस्तै छ।

एक हप्ता पहिलेमात्र मजदुरी गर्न रसुवाको अपर त्रिशूली हाइड्रोपावर पुगेका गलकोट नगरपालिका-२ का २७ वर्षीय रमेश सुनार बाढीमा परेर बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको रमेशको परिवारमा वृद्ध बाबाआमा, श्रीमती, दुई छोराछोरी र भाइ हुन् ।

मजदुरी गरेर परिवार पाल्दै आएका रमेश बेपत्ता भएपछि परिवार आत्तिएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए। “बाढीमा बेपत्ता भएको सात दिन बितिसक्यो, सकुशल भेटिने आशा मारेका छैनौँ,” वडाध्यक्ष भण्डारीले भने, “हामीले सोचेजस्तो रमेश सकुशल नभेटिए परिवारको विचल्ली हुन्छ।”

बागलुङ नगरपालिका-९ तित्याङ्को एकै परिवारका चार जना बाढीमा बेपत्ता हुँदा परिवार शोकमा डुबेको छ। इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल उहाँका श्रीमती इन्जिनियर ३१ वर्षीय प्रमिला पाठक र दुई छोराछोरी चार वर्षका आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल बेपत्ता छन्।

ट्रम्पको धम्कीको बाबजुद इरानले गर्‍याे अमेरिकी सैन्य आधारमा आक्रमण

काठमाडाैँ। राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको ६ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ। देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा कम्तिमा १९ जना इरानी मारिएपछि अमेरिकी सेना इरानमा कुनै पनि समयमा आक्रमण गर्न तयार रहेको ट्रम्पले बताए।

तेहरानले भने कुवेत, जोर्डन, संयुक्त अरब इमिरेट्स, बहराइन र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रसहित मध्यपूर्वमा विभिन्न अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेर आक्रमणको बदला लिएको छ। निरन्रको द्वन्द्वले युद्धलाई बढवा दिएको छ भने इरानले स्ट्रेट अफ हर्मुजमा तेल निर्यात मार्गमा आफ्नो पकड कायम राख्ने प्रयासलाई अमेरिकाले इरानी बन्दरगाहको प्रति–अवरोधलाई दबाब दिइरहेको छ।

सुरक्षा प्रमुख मोहसेन रेजाईले संयुक्त राज्य अमेरिकालाई चेतावनी दिँदै इरानले युद्धमा “नयाँ रणनीति” अपनाएको बताए। कुवेतको सेनाले बिहीबार इरानबाट आएको क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई रोकेको बताएको छ भने इरानको सरकारी टिभीले तेहरानले “इरानी जनता विरुद्धको अमेरिकी अपराधको प्रतिक्रियामा खाडी राज्यमा अमेरिकी आधारलाई लक्षित अक्रमण गरेको पुष्टि गरेको छ।

तेहरानले स्ट्रेट अफ हर्मुजमा समुद्री खानी राख्ने प्रयास गरिरहेको भन्दै वासिङ्टनले आइतबार इरानी लक्ष्यमा प्रहार गरे पछि हाल तनाव बढेको जनाइएको छ। इरानले आइतबारको आक्रमणमा “हताहत” भएको र जोर्डन र संयुक्त अरब इमिरेट्समा अमेरिकी सेनालाई लक्षित गरेर जवाफ दिएको बताएको छ।

अधिकतम दबाब सैन्य कारबाहीसतिह वासिङ्टनले आफ्ना व्यापारिक साझेदारमाथि प्रतिबन्ध लगाउने धम्की दिँदै इरानको अर्थतन्त्रलाई दबाउने प्रविद्धता गरेको छ। इरानका आर्थिक साझेदारलाई लक्षित गरी विस्तारित प्रतिबन्धको अमेरिकी योजनाले “पूर्ण रूपमा अधिकतम दबाब” दिने ऊर्जा सचिव क्रिस राइटले बताए।

सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले तेहरानले छ महिनादेखि प्रभावकारी रूपमा बन्द गरेको रणनीतिक ढुवानी मार्ग स्ट्रेट अफ हर्मुजको नाम परिवर्तन गरी “ट्रम्प स्ट्रेट” राख्ने सुझाव पनि दिए।

बाढी र पहिराबाट सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित

काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।

त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेलगायत विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।टोखा–छहरे तथा पासाङल्हामु सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–घट्टेखोलामा राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । बेत्रावती नगरपालिका–१० सिमटारमा सडक पूर्ण रूपमा अवरुद्ध छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध छ भने गजुरी–२ परेवा भीरमा साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् । ज्वाडखोला र कमेरेभीरमा पहिरो हटाई एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा गएराति पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी क्षेत्रमा बाढीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ । साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म अवस्था मूल्याङ्कन गरी अन्य सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।

प्रहरीले यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न तथा जोखिमयुक्त क्षेत्रमा रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत

काठमाडौँ। एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ ।

यी दुई टोलीबीचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले आजको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ ।

एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन् ।

नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । नेपाली टोली दोस्रोपटक प्रिमियर कपको उपाधि जित्ने योजनामा छ

भोटेकोशी बाढीपछि उद्धार तीव्र, ११ हजार ९९३ जनाको उद्धार, ४२१६ को अवस्था अज्ञात

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्राधिकरणका अनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार १९९ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन् ।

सुरक्षाकर्मीले नदी किनार, बाढी प्रभावित बस्ती, सडक तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन् । बाढीका कारण कतिपय स्थानमा सडक तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ । बाढीमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार २०४ पुगेको छ ।

प्रभावित जिल्लामा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । प्राधिकरणका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, तनहुँ, चितवनलगायत जिल्ला प्रभावित भएका छन् ।

हालसम्म रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा २०२, तनहुँमा ३८ र चितवनमा ३४८ जनाको शव फेला परेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो ।

विपद्को समयमा नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । सेनाले हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरेको छ ।

खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ६९० पटक हवाई उडान गरेको छ । बुधबार मात्रै सेनाले ८० वटा हवाई उडान गरेको प्राधिकरणले जनाएको छ ।

निजी क्षेत्रबाट पनि हालसम्म २९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरेको छ । दुर्गम तथा सडक सम्पर्कविच्छेद भएका स्थानमा हवाई माध्यमबाट उद्धार तथा राहत सामग्री पु¥याउने काम भइरहेको छ ।

प्राधिकरणका अनुसार बाढीपछि नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन् । त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाबाट करिब ८६५ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

नुवाकोटबाट एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका नेपाली १६४ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

जलविद्युत् आयोजनामा कार्यरत करिब ९००, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

बाढीबाट प्रभावित नागरिकका लागि सरकारले राहत तथा उद्धारलाई निरन्तरता दिएको छ । प्रभावित क्षेत्रमा खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने कार्य जारी छ ।

बाढीका कारण ठूलो मानवीय क्षति हुनाका साथै हजारौँ नागरिक अझै सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइएको छ । प्रभावित क्षेत्रमा राहत, स्वास्थ्य सेवा तथा अत्यावश्यक सामग्रीको पहुँच विस्तार कार्यलाई प्राथमिकतामा राखिएको छ ।

बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति गरेपछि राज्यका सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न निकाय निरन्तर उद्धार र राहतमा सक्रिय छन् । सम्पर्कविहीनको सङ्ख्या ठूलो रहेकाले खोजी कार्यलाई अझै तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आ.व. २०८२÷८३को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समिति बिहान दिनको ११ः३० बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूच रहेको छ ।

यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा प्राकृतिक प्रकोप र यसले पूर्वाधार क्षेत्रमा पुऱ्याएको असर सम्बन्धमा छलफल हुनेछ ।

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन महत्वपूर्ण प्रस्ताव पेस हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तैगरी, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची छ ।

२४ घण्टामा ५२३ सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत ५४, रातोबत्तीमा ३० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ३९, हर्न निषेधमा ०६, लेन क्रसमा २५, अवस्था ठिक नभएको १, एकतर्फीमा ६ र अन्यमा २९९ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।

त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास, सुनिता दास, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिका युवराज पाण्डे, ओेरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिवास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रवक्ता ढकालको भनाइ छ ।

यस्तै, धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा, विक्रम ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

हालसम्म सप्तरीका ४८ जना, पर्साका ३८ जना, रौतहटका १३ जना, बाराका २३ जना, सर्लाहीका १८ जना, महोत्तरीका १० जना, धनुषाका सात जना तथा सिरहाका १२ जना अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचनाहरु आउने थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन गर्न थालेको छ ।

बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उनले बताए ।

कचनकवलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख सहयोग

झापा । कचनकवल गाउँपालिकाले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो ।

विपद् व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिका तर्फबाट रु ७१ हजार, सम्पूर्ण गाउँपालिका कर्मचारीका तर्फबाट रु नौ लाख २२ हजार ५२४ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीका तर्फबाट रु १८ लाख १२ हजार ५६७ गरी कुल रु २९ लाख छ हजार १०० उपलब्ध गराउने निर्णय गरेको हो ।
गत भदौ १० गते हिमताल विस्फोटका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लालगायत क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको ठूलो धनजनको क्षतिप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा विस्थापितको पुनःस्थापनाका लागि सरकारी निकाय, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था एवं निजी क्षेत्रलाई आआफ्नोतर्फबाट सहयोग गर्न अपिलसमेत गरेको छ ।बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।

गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी उपलब्ध गराएको हो । बाढीबाट विभिन्न जिल्लामा जनधनको क्षति भएकाले प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले रकम सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीबाट रकम सङ्कलन गरिएको हो ।

गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएको छ ।भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले आफ्नो तहबाट योगदान गरिएको गाउँपालिकाले जनाएको छ ।

कपिलवस्तु कारागारका कैदीबन्दीले प्रधानमन्त्री विपद् राहत कोषमा एक लाख एक हजार १११ रुपैयाँ संकलन गरेका छन् । कारागारमा रहेका ४२२ कैदीबन्दीले विपद्मा सहयोग गर्न चन्दा सङ्कलन गरेका थिए ।विपद्को समयमा आफूहरू पनि प्रभावित नागरिकको पीडामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।

बन्दीहरूले पीडितको राहत तथा उद्धारका लागि उक्त रकम आफैँमा सङ्कलन गरेर प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको कारागार प्रमुख मानबहादुर सारुले बताए ।रसुवाको भोटेकोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । कैदीबन्दीले पैसा जम्मा गरेको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तन्तरण गरेका छन् ।

कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भरेर काठमाडौं पठाउन थालियो

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिन्डरमा ग्यास भरेर लैजान थालिएको हो ।

साल्ट ट्रेडिङ कर्पाेरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार चितवनको बाबा ग्यासले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ ।

श्री ग्यासको प्लान्ट धादिङ नौबिसेमा रहेको छ । यस्तै यहाँको साइबाबाले आफ्नै ९०० सिलिन्डर काठमाडौँ पठाएको छ । नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको एक हजार २०० सिलिन्डर भरेर पठाएको छ ।

गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौँको एभरेष्ट र सुगमको ग्यास भरेर पठाइएको छ । उनले भने “साल्ट ट्रेडिङ कर्पाेरेशनको एसटिसी ग्यास वीरगञ्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ ।”

सञ्चालक विमल कालाखेतीका अनुसारा बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानी बाहिरका विभिन्न ग्यास उद्योगमा भरेर सिलिन्डर त्रिभुवन राजपथबाट पठाउन सुरु गरेका छन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्यसमेत रहेका सञ्चालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताए ।

गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हालसम्मको बढी भएको बताए । उनका अनुसार सोही अनुपातमा ग्यास आइरहेकाले समस्या पर्ने अवस्था छैन ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका उद्योगसँग समन्वय गरी भरेर उपत्यका लैजान थालेका छन् । उपत्यका र छिमेकी जिल्लामा कुल खपतको ४० प्रतिशत खपत हुने उनी बताउँछन् ।

भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही

काठमाडौँ । भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । काउन्सिलले त्यस्ता सामग्री हटाउन सम्बन्धित सञ्चारमाध्यमलाई निर्देशनसहित सचेत गराएको छ ।

काउन्सिलले बाढीसम्बन्धी कुल २४ वटा सामग्री अनुगमन गरिएको थियो । तीमध्ये १४ वटा दर्ता भएका सञ्चारमाध्यम र १० वटा दर्ता नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री थिए । अनुगमन गरिएका २४ मध्ये २१ वटा सामग्री पत्रकार आचारसंहिता प्रतिकूल रहेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने माध्यमलाई फोन, म्यासेन्जर तथा पत्रमार्फत निर्देशन र ध्यानाकर्षण गराइएको छ । अधिकांशले काउन्सिलको निर्देशनपछि त्यस्ता सामग्री सम्पादन वा हटाएका छन् ।

अनुगमनका क्रममा बाढी तथा उद्धारसँग सम्बन्धित भन्दै अन्य देशका पुराना भिडियो तथा असम्बन्धित दृश्यलाई नेपालमा भएको घटनाका रूपमा प्रस्तुत गरिएको पाइएको छ ।

विशेष गरी नेपाली सेनाले रसुवा बाढीमा उद्धार गरिरहेको, चिनियाँ टोलीले सुरुङमा फसेका नागरिकको उद्धार गरिरहेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै गलत भिडियो तथा सामग्री सामाजिक सञ्जालमा प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ ।

काउन्सिलको अनुगमनमा अनलाइनखबर डटकममा प्रकाशित सामग्रीसमेत आचारसंहिता प्रतिकूल रहेको जनाएको छ । ‘सातौँ दिनमा सरकारले आयोजनाहरूलाई भन्यो– सुरुङबाट उद्धार गर्न सकेनौँ, आफैँ गर’ जस्तो शीर्षकबाट अन्योल, भ्रम तथा त्रास उत्पन्न हुने सामग्री सम्प्रेषण भएको काउन्सिलको ठहर छ ।

उक्त सामग्रीको शीर्षकपछि सम्पादन गरिए पनि सम्पादन नगरिएको ‘ग्राफिक्स’ सामाजिक सञ्जालमा अन्यत्रबाट सेयर भइरहेको पाइएको काउन्सिलले जनाएको छ ।

अनुगमनमा फेवा खबर, ई–मधेस, दृष्टि सञ्चार, पुलेसो टिभी, इच्छाकामना एफएम चितवन, सेतो खबर, स्टेट ७ खबर, द रिम अनलाइनलगायतका माध्यमबाट पनि आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण भएको उल्लेख छ ।

तीमध्ये केहीले नेपाली सेनाले रसुवाको बाढीमा उद्धार गरिरहेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए । केही माध्यमले बाढीका कारण एक व्यक्ति मानसिक समस्यामा परेको भन्दै नेपाली सेनाले देखाएको पुरानो ‘डेमो’ भिडियोलाई बाढीको पछिल्लो घटनासँग जोडेर सम्प्रेषण गरेका थिए ।

त्यस्तै, सुरुङभित्र नेपाली सेनाले उद्धार गरिरहेको, चिनियाँ टोलीले सुरुङमा फसेका नागरिकको उद्धार गरेको तथा गृहमन्त्री उद्धारमा खटिएको भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण भिडियो प्रसारण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ ।

बाढीमा ज्यान गुमाएका व्यक्तिका शव तथा शवका टुक्रासँग सम्बन्धित बीभत्स भिडियो पनि सामाजिक सञ्जालबाट प्रसारण गरिएको काउन्सिलले जनाएको छ ।

पुलेसो टिभी र इच्छाकामना एफएम चितवनलगायत माध्यमले बाढीबाट बगेका शवसँग सम्बन्धित बीभत्स दृश्य सम्प्रेषण गरेको अनुगमन विवरणमा उल्लेख छ । यस्ता सामग्रीले पीडित परिवार तथा आम नागरिकमा थप मानसिक पीडा र त्रास सिर्जना गर्न सक्ने भएकाले काउन्सिलले सम्बन्धित माध्यमलाई सामग्री हटाउन वा आवश्यक सम्पादन गर्न निर्देशन दिएको छ ।

दर्ता नभएका सामाजिक सञ्जाल पेजबाट पनि यस्ता सामग्री प्रसारित भएका छन् । काउन्सिलको अनुगमनमा स्मार्ट नेपाल, एमओ नेपाल, सुदूर नेपाल, श्री अनलाइन एचडी, कुराकानी, तुफान न्यूज, द बागमती पोस्ट, टप १० न्यूज र डेली न्यूज एनपी लगायतका दर्ता नभएका माध्यमका सामाजिक सञ्जालबाट आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको पाइएको छ ।

यीमध्ये कतिपयले नेपाली सेनाले रसुवाको बाढीमा उद्धार गरेको भन्दै अन्य देशका भिडियो प्रयोग गरेका थिए भने केहीले चिनियाँ टोलीले उद्धार गरिरहेको भन्दै अन्यत्रको भिडियो सम्प्रेषण गरेका थिए ।

त्यस्तै, बाढीबाट बगेको शवको टुक्राको बीभत्स भिडियो सामाजिक सञ्जालमा राखिएको तथा बाढीपीडितविरुद्ध एक व्यक्तिले दिएको अभिव्यक्तिलाई अतिरञ्जित गर्दै सामाजिक सद्भाव भड्काउने, उत्तेजना र घृणा फैलाउने खालको सामग्री सम्प्रेषण गरिएको काउन्सिलको विवरणमा उल्लेख छ ।

विपद्का समयमा सूचना सम्प्रेषण गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र संवेदनशीलतामा विशेष ध्यान दिन प्रेस काउन्सिलले सचेत गराउँदै आएको भए पनि दर्ता भएका र मूलधारका सञ्चारमाध्यामले पनि भ्रामक र अपुष्ट सामग्री समाचारका रूपमा सम्प्रेषण गर्दै आइरहेका छन् ।

विशेष गरी उद्धार, मृत्यु, बेपत्ता तथा पीडितसँग सम्बन्धित सामग्रीमा अपुष्ट सूचना, पुराना वा असम्बन्धित भिडियो र बीभत्स दृश्यको प्रयोगले विपद्को अवस्थालाई थप जटिल बनाउन सक्ने देखिन्छ । काउन्सिलको अनुगमनको तथ्याङ्कले पनि विपद्का बेला क्लिक र भ्यू बढाउने उद्देश्यले भ्रामक शीर्षक, गलत भिडियो र संवेदनशील दृश्य प्रयोग गर्ने प्रवृत्ति अझै चुनौतीका रूपमा रहेको देखाएको छ ।

खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ, निजी कम्पनीसँग सहकार्य

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ ।

गत आइतबार धादिङको कृष्णभीरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पाेरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भरेर काठमाडाैँ ल्याउने नीति लिएको हो ।

सो राजमार्ग अवरुद्ध हुँदा कर्पाेरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पाेरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोजसहित बाबा ग्यासका ‘प्लान्ट’सँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका भित्र्याउने प्रबन्ध मिलाएको हो ।

विषम प्राकृतिक विपद्को अवस्थालाई ख्याल गर्दै कर्पाेरेशनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो नीति अवलम्बन गरेको कर्पाेरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत बज्रेश झाले जानकारी दिए ।

उाले भने, “पहिलो चरणमा शुक्रबारसम्म ती दुई निजी प्लान्टमा भरिएका आफ्ना ग्यासका सिलिन्डर काठमाडौँ आइपुग्ने छन् ।” कर्पाेरेशनले आफ्नो ग्यास प्लान्टका लागि छुटेका केही ग्यासका बुलेट ती निजी कम्पनीमा ‘डाइभर्ट’ समेत गरेको छ ।

सीमित कोटा : चुस्त वितरण प्रणाली

नेपाल आयल निगमले कर्पाेरेशनलाई न्यून कोटा अर्थात् ‘पिडियो’ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन । निगमले भारतीय आयल कर्पाेरेशनबाट कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेको जनाइएको छ ।

सोमध्ये करिब दुई प्रतिशत अर्थात् ५३ वटा ‘बुलेट’ मात्र कर्पाेरेशनको भागमा परेकोे छ । कर्पाेरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसडिसी सिलिन्डर’ खपत गरिरहेको जनाइएको छ ।

निजी क्षेत्रका ग्यास कम्पनीले खाडी सङ्कट, पछिल्लो समय पृथ्वीराजमार्ग अवरुद्ध एवं अन्य बहना देखाउँदा उपभोक्ता समस्यामा पर्दै आएका छन् । कर्पाेरेशनले हाल कुपन प्रणालीमार्फत बिक्री वितरणलाई सहज बनाइराखेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत झाले भने “उपभोक्तालाई कुपन वितरण गर्दा नै ग्यास प्राप्त गर्ने दिन सुनिश्चित गर्दछौँ ।”

छ महिनालाई पुग्ने आयोडिनयुक्त नुन ‘स्टक’

सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आमनागरिकसम्म पु¥याउने नीति र यसलाई अक्षरशः कार्यान्वयन गर्ने कर्पाेरेशनले छ महिनालाई पुग्नेगरी नुनको मौज्दात राखेको छ ।

यही भदौ १७ गते बुधबार कर्पाेरेशनका भण्डारणमा एक लाख २७ हजार ३६१ मेट्रिकटन नुन ‘स्टक’ रहेको नायब प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए। उनका अनुसार देशभर वार्षिक दुई लाख टनभन्दा बढी आयोडिनयुक्त नुनको माग हुँदै आएको छ । कर्पाेरशनले गत आवमा करिब दुई लाख १० हजार टन नुन बिक्री वितरण गरेको थियो ।

‘आयोडिन’ शरीरलाई दैनिक रुपमा नभई नहुने अतिसुक्ष्म पोषक तत्व हो । सरकारले दुई बालबालिका चिन्ह भएको नुन ‘थोरै खाऔँ, सही मात्रामा खाउँ’ भन्दै आग्रह गरिरहेको छ ।

उपभोक्तावादीहरुले नुन अत्यावश्यक वस्तु भएकाले सरकारको नीतिभित्रै राख्नुपर्ने र यसको बिक्रीवितरणमा निजी क्षेत्रलाई प्रवेश गराउनै नहुने आवाज उठान गर्दै आएका छन् । उनीहरुको तर्क छ “विषम अवस्थामा निजी क्षेत्रले नुनको सहज आपूर्ति मिलाउन सक्दैन । विपद्लगायत अन्य असहज अवस्थामा सार्वजनिक संस्थाले कस्तो भूमिका निर्वाह गर्नुपर्छ भनेर कर्पाेरेशनले आफूलाई अब्बल सस्थाका रुपमा प्रमाणित गरेको छ ।”

चिनीमा बजार हस्तक्षेप

अर्काेतर्फ कर्पाेरशनले पछिल्ला दिनमा अन्तरराष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेको चिनीको बिक्रीवितरणलाई चुस्त बनाउँदै बजार हस्तक्षेप गरेको छ ।

निजी क्षेत्रबाट प्रतिकिलो रु १३५ सम्म बिक्री भइराखेको चिनी कर्पाेरेशनले रु १०० मा बिक्रीवितरण गरिराखेको छ । कर्पाेरेशनले दिएको जानकारीअनुसार यही भदौ ९ मा मात्र संस्थाले ६०० टन चिनी भित्र्याएको थियो । संस्थाले सरकारको नीतिअनुसार चिनी बिक्री गर्दै आएको छ । पछिल्ला दिनमा कर्पाेरेशनले तीन हजार टन बजारमा पठाइसकेको छ ।

दैनिक बजारमा उपभोग्यवस्तु चामल, दाल, गेडागुडी, तेललगायत वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ तर कर्पाेरशनले आफूले बिक्रीवितरण गर्दै आएको खाद्यन्नमा मूल्य स्थिर राख्न सफल भएको जनाएको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृत झाले भने, “सरकारी निजी स्वामित्वको कर्पाेरेशनको ध्येय दैनिक अत्यावश्यक उपभोग्यवस्तु नुनलगायत अन्य खाद्यन्न वस्तुलाई असहजस्थितिमा पनि निरन्तर सेवा पुर्याउनु हो । नाफामा मात्र होइन ।” विपद्का अवस्थामा सार्वजानिक संस्थाको भूमिका र अपरिहार्यता अझ बढ्ने देखिन्छ ।

रवि लामिछानेले बोलाए रास्वपाको सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन्।

सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’मा बस्ने गरी बैठक बोलाएका हुन्।

भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग

कञ्चनपुर। भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ ।जिल्लाका विभिन्न स्थानीय तह, सङ्घसंस्था र व्यक्तिबाट सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिकाले रु सात लाख कोषमा जम्मा गरेको नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनुभयो ।त्यसैगरी, सुदूरपश्च्मि विश्वविद्यालयले रु ८८ लाख बराबरको रकम राहत कोषमा प्रदान गरेको विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले बताउनुभयो । उहाँका अनुसार उपकुलपतिले एक महिनाको तलब, प्राध्यापक तथा कर्मचारीले १० दिनसम्मको र अन्य तहका कर्मचारीले दुईदेखि सात दिनसम्मको तलब रकम कट्टा गरी कोषमा रकम जम्मा गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घले बाढीबाट प्रभावितको लागि रु पाँच लाख २५ हजार राहत कोषमा जम्मा गरेको छ । सङ्घका अध्यक्ष दिनेश मल्लले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

यहाँको लिटिल बुद्ध एकेडमीले राहत कोषमा रु आठ लाख २५ हजार रकम प्रदान गरेको विद्यालयका प्रिन्सिपल श्याम सिंह मौनीले जानकारी दिनुभयो ।उदयदेव सहकारी संस्थाले रु दुई लाख ११ हजार, मेघा सहकारीले रु एक लाख एक हजार र जिल्लाका अन्य सहकारीले रु ९८ हजार सहयोग गरेका छन् । यहाँको निड्स नेपालले रु एक लाख २५ हजार, समाज कल्याण सङ्घले रु एक लाख ८६ हजार, भीमदत्त नगरपालिका वडा १८ ले रु एक लाख ११ हजार, सिर्जनशील सहकारीले रु एक लाख ११ हजार, भीमदत्त नगरपालिका–४ बाट रु ५१ हजार वडा १७ बाट रु ५० हजार रकम राहत कोषमा जम्मा गरिएको छ ।

जिल्लाको होटेल चेतनले ५१ हजार, आध्या स्कुलले ५५ हजार र मर्निङ ग्लोरी स्कुलले ५१ हजार रकम राहत कोषमा जम्मा गरेको छ । होटेल ओपेराले एक लाख ५१ हजार प्रदान गरेको छ ।

त्यसैगरी, कञ्चनपुरस्थित गुरुकुल इन्टरनेसनल स्कुलले विद्यालय प्राङ्गणमा धार्मिक महोत्सव गरी बाढीपीडितका लागि सहयोग जुटाउने तयारी गरेको छ ।दिव्य श्रीकृष्ण लीला गौरा पर्व धार्मिक महोत्सव आयोजना गरी बाढीपीडितलाई सहयोग सङ्कलन गर्न लागिएको विद्यालयका प्राचार्य खेमलाल घिमिरेले जानकारी दिनुभयो ।

“विपद्को समयमा सबै क्षेत्रबाट सहयोग भएको छ, विद्यालयले पनि केही सहयोग गर्न सकिन्छ कि भनेर गौरा पर्वको अवसर पारी यो महोत्सव आयोजना गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “महोत्सवबाट यसबाट सङ्कलन हुने सबै सहयोग बाढीपीडितलाई सहयोग गर्छौं ।” जिल्लाका विभिन्न सङ्घसंस्थाहरूले बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका सहयोग गर्ने क्रम जारी छ ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ।

हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी सबै भूभागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । कोशी र सुदूरपश्चि प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी प्रदेशको तराई भूभागका केही, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७६ रुपैयाँ १८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

चीन, रुस र मङ्गोलियाले संयुक्त सीमा रक्षा अभ्यास गर्ने

काठमाडौँ । चीन, रुस र मङ्गोलियाले सेप्टेम्बरको सुरुमा दोस्रो संयुक्त सीमा रक्षा अभ्यास सुरु गर्ने भएका छन् ।

सीमा रक्षा सहयोग २०२६ कोड नाम दिइएको यस अभ्यासले सीमावर्ती क्षेत्रहरूमा जासुसी र तोडफोड गतिविधिहरू रोक्न र यस विरुद्ध लड्नमा ध्यान केन्द्रित गर्नेछ ।

यस अभ्यासमा संयुक्त योजना, खोजी, समन्वित आक्रमण र गिरफ्तारी, साथै संदिग्धहरूको संयुक्त हस्तान्तरण समावेश हुने मन्त्रालयले जनाएको छ ।

यो अभ्यासको उद्देश्य तीन छिमेकी देशहरू बिचको रणनीतिक आपसी विश्वासलाई अझ सुदृढ पार्नु, सीमा रक्षा सहयोगलाई सक्षम बनाउनु र संयुक्त रूपमा सीमा क्षेत्रमा सुरक्षा र स्थिरताको रक्षा गर्नु रहेको जनाइएको छ ।

तीनै देशका सीमा सुरक्षा बलले सन् २०२५ सेप्टेम्बरमा यस प्रकारको पहिलो संयुक्त अभ्यास गरेका थिए ।

सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक

लमजुङ । निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन ।

विक्रम संवत् २०७६ असोज ३० गते निर्माण सम्झौता भएको १७ किलोमिटर सडक विसं २०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।

क्व्होलासोथार गाउँपालिका–१ बाग्लुङपानीदेखि वडा नं ३ घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्रे र घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्ने गरी आयोजना अघि बढाइएको थियो ।

कान्छाराम कन्स्ट्रक्सनले रु ३६ करोड ६६ लाख ६८ हजार १७५ मा ठेक्का सम्झौता गरेको थियो । पहिलोपटक तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेपछि २०७९ असोज २९ गतेसम्म म्याद थप गरिएको थियो ।

सो अवधिमा पनि काम सम्पन्न नभएपछि पुनः विसं २०८१ असार २८ गतेसम्म म्याद थप गरिएको थियो । थपिएको समयमा निर्माण पूरा नभएपछि २०८२ चैत ३० गतेसम्म पुनः समय थप गरियो ।

हाल आयोजनाको म्याद थप भएको छैन । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरी राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकिएको मापदण्ड पूरा गर्ने निर्माण व्यवसायीलाई पुनः म्याद थप गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसार निर्माण व्यवसायीले तोकिएको अवधिभित्र निवेदन दिनुपर्ने र आवश्यक प्रगति हासिल गर्ने आधार प्रस्तुत गरेमा बाँकी काम अगाडि बढाउन सकिने प्रावधान छ ।

पूर्वाधार विकास कार्यालयका परामर्शदाता राजेश अधिकारीका अनुसार सोही व्यवस्थाअनुसार कान्छाराम कन्स्ट्रक्सनले साउन ४ गते म्याद थपका लागि निवेदन दिएको छ । आवश्यक प्रक्रिया पूरा भएपछि बाँकी निर्माण कार्य अगाडि बढाउन सकिने उनले बताP ।

सो सडक गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको हो । परामर्शदाता अधिकारीका अनुसार आयोजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ भने ७४ प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रु २७ करोड ३७ लाख ४६ हजार ९८२ बराबरको रकम भुक्तानी भइसकेको छ ।

बाग्लुङपानीदेखि घलेगाउँसम्मको १० किलोमिटर सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रे भइसकेको छ । सडकमा छ मिटर चौडाइको कालोपत्रे र एक मिटर चौडाइको नाली निर्माण हुनेछ ।

हालसम्म पाँच हजार ५०० मिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकी चार हजार ५०० मिटर कालोपत्रे गर्न बाँकी छ ।

त्यस्तै, घलेगाउँदेखि वडा नं ४ भुजुङसम्मको सात किलोमिटर सडक ग्राभेल गर्नुपर्नेमा दुई किलोमिटर सडकमा ग्राभेल भएको छ । पाँच किलोमिटर ग्राभेल गर्न बाँकी छ ।

आयोजनामा नाली निर्माण, माटो कटिङ, ढलान, कल्भर्ट तथा पर्खाल निर्माणका काम भएका छन् । । करिब चार हजार ९०० घनमिटर नाली निर्माण गर्नुपर्नेमा हालसम्म दुई हजार ७२९ घनमिटर निर्माण भएको छ ।

त्यस्तै, तीन हजार १८७ घनमिटर ढलान गर्नुपर्नेमा २०१ घनमिटर ढलान भएको छ । कल्भर्ट तथा पर्खाल निर्माणका केही काम बाँकी छन् । विभिन्न कारणले निर्माणमा ढिलाइ हुँदै आएको छ । पछिल्लो समय म्याद थपसम्बन्धी प्रक्रिया टुङ्गो नलाग्दा काम अघि बढ्न नसकेको अधिकारीले बताउनुभयो । सडक आयोजना पूरा भएपछि क्व्होलासोथार गाउँपालिकाका पर्यटकीय घलेगाउँ र भुजुङ सडक सञ्जालमा सहज रूपमा जोडिनेछ । त्यसबाट स्थानीयवासीको आवागमन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।

प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका अर्जुन

सुनसरी । नेपाल प्रहरीबाट अवकाश भएपछि के गर्ने होला ? भन्ने सोचले पिरोल्थ्यो । उमेर थियो, जोस बाँकी थियो । केही न केही त गर्नै पर्छ भन्ने लाग्थ्यो ।

विदेश जान मन थिएन । देशभित्रै रहेर आर्थिक उपार्जन गर्ने र धेरैका लागि उदाहरण बन्ने लक्ष्यका साथ सुरु गरेको कृषिले आज अर्जुन विष्टलाई नयाँ परिचय दिएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का विष्ट आज सफल व्यावसायिक कृषकका रूपमा स्थापित हुनुभएको छ । कृषि व्यवसायबाट वार्षिक रु २८ लाखसम्म आम्दानी गर्दै आएको उनले सुनाए ।

विसं २०७७ मा प्रहरी सेवाबाट अवकाश लिएपछि उहाँले कृषि व्यवसाय सुरु गर्नु भएको हो । अवकाश हुँदा प्राप्त भएको रु १४ लाख लगानी गरेर व्यवसाय सुरु गरेकाका विष्टले अहिले पाँच बिगाहा क्षेत्रफलमा केरा, भूइँकटहर, खरबुजा, मेवा, सयपत्री फूल, दाल, तोरी, साग, मकै, धानलगायत खेती गर्दै आएका छन् । उनले नेपाल प्रहरीमा १७ वर्ष सेवा गरेका थिए ।

केराको बिक्रीबाट मात्रै वार्षिक रु आठ लाख बढी आम्दानी हुने उहाँ सगौरव बताउनुहुन्छ । उत्पादित केराप्रति दर्जन होलसेलमा रु ५० बारीबाटै बिक्री हुन्छ । उत्पादित केरा चक्रघट्टी, कालाबञ्जर, चतरालगायत स्थानीय बजारसँगै इटहरी, धरान र गाईघाटसम्म बिक्रीका लागि पठाउने गरिएको छ । उनले चिनियाँ चम्पा र कृष्णभोग जातका केरा लगाउनुभएको छ । एउटा केराको बोटबाट १५ देखि २० दर्जनसम्म फल उत्पादन हुने गरेको उनको भनाइ छ ।

केरा रोपेको एक वर्षपछि उत्पादन लिन सकिन्छ । केरा खेतीमा मेहनत धेरै छ । रोग किराको समस्या हुन्छ । गोडमेल गर्नुपर्छ र अनावश्यक बोट हटाउनुपर्छ । “खेतीमा आफैँ समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन,” उनले भने ।

यस्तै, भूइँकटहर बिक्रीबाट पनि राम्रो आम्दानी हुने उनले बताए । गत वर्ष मात्रै करिब रु १५ लाख बराबरको भूइँकटहर बिक्री गरेको उनको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा कम क्षेत्रफलमा खेती गरिएकाले उत्पादन घटेको छ । भूइँकटहर प्रतिगोटा रु २०० मा बिक्री हुने गरेको छ । यसको मुख्य ‘सिजन’ असारदेखि भदौसम्म हुन्छ ।

बजारमा भूइँकटहरको मूल्य निर्धारणमा भारतीय उत्पादनले पनि प्रभाव पार्ने गरेको उनको भनाइ छ । भारतबाट ठुलो परिमाणमा भूइँकटहर भित्रिँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको उनी बताउँछन् । “यस वर्ष नेपाली भूइँकटहरले राम्रो बजार मूल्य पायो, त्यसैले आम्दानी पनि राम्रो भयो,” उनले भने ।

त्यस्तै, विष्टले १२ कट्ठा क्षेत्रफलमा खरबुजा खेती गरेका छन् । भारतबाट बीउ ल्याएर उक्त खेती गर्दै आएका उनले उत्पादित खरबुजा थोकमा प्रतिकिलो रु ५० मा बिक्री हुने बताए ।

उनले उत्पादन गरेका कृषि उपज धरान कृषि बजार, इटहरी, दमक, विराटनगर तथा झापासम्म बिक्री हुने गरेको छ । मकै र धान बिक्रीबाट पनि वार्षिक रु दुई लाख बढी आम्दानी हुने उनले सुनाए ।

विभिन्न बाली तथा फलफूल बिक्री साथै बजारसम्म पुर्‍याउन सहज होस् भनेर विष्टले करिब दुई वर्षअघि ‘विष्ट फलफूल पसल’ समेत सञ्चालन ल्याएका छन् । पसल सञ्चालन गरेपछि आफ्नै उत्पादन आफैँ बिक्री गर्न सहज भएको उनको भनाइ छ ।

यस वर्ष फलफूल खेतीमा बाढीको असर नपरेको र रोग किरको समस्या पनि नभएकाले उत्पादन राम्रो भएको उनको भनाइ छ ।

गत वर्षको बाढीले रु १० लाख बराबरको क्षति पुर्‍याएको विष्टले बताए । बाढीका कारण १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भएको थियो । बिक्रीका लागि तयार भएको सयपत्री फूल डुबानमा परेर नष्ट भयो साथै केराखेतीमा पनि ठुलो क्षति पुगेको उनले जानकारी दिए ।

उहाँले अरूलाई पनि रोजगारी दिनुभएको छ । ज्यालादारी मजदुरका लागि मात्रै वार्षिक रु पाँच लाखसम्म खर्च हुने गरेको छ । गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भूइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने तथा रोपाइँलगायत काममा मजदुर आवश्यक पर्ने उनको भनाइ छ । त्यसबाट स्थानीयलाई रोजगारी उपलब्ध भएको छ ।

प्रहरीबाट अवकाशपछि अन्य व्यापार व्यवसायबाट खासै आम्दानी नहुने देखिएपछि कृषि पेसामा लागेको विष्ट बताउनुहुन्छ । सुरुआती दिनमा भने कृषि व्यवसाय गर्न सहज नभएको उनको अनुभव छ । खेत तयार पार्नेदेखि सिँचाइको व्यवस्था गर्ने काममा निकै मेहनत गर्नुपरेको उनले बताए ।

कृषिमा प्रभावकारी अनुदानको व्यवस्था खासै नभएको उनको भनाइ छ । “कृषिमा अनुदानको आस गर्नुभन्दा प्रविधि र बजारको ज्ञान भयो भने आफैँ राम्रो कमाउन सकिन्छ । कृषि गर्ने युवाले ठुलो ऋण लिएर व्यवसाय सुरु गर्नुभन्दा सानो क्षेत्रफलबाट थोरै लगानी गरे राम्रो आम्दानी गर्न सकिन्छ,” उनले भने ।

कृषि पेसामा सफल हुन आफ्नै मेहनत आवश्यक पर्ने विष्टको अनुभव छ । “कामदार राखेर अर्काको भरमा मात्रै कृषि गर्ने हो भने सफल भइँदैन । आफैँ मेहनत गर्नुपर्छ,” उनले भने

सम्पर्कविहीन परिवार: न चुल्हो बल्छ , न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास–३ गौरीडाँडाकी सरिता विष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन् । एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन् ।

अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत छोरा सौभाग्य बिष्ट भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका छन् । “बाबुले मामु ठिकै छु भनेर फोन गरी हाल्छ कि भन्ने लाग्छ, एक छिन यो मोबाइल छाडेकी छैन,” सरिता भन्छिन्, “अहिले सौभाग्यबाहेक कुनै कुरा सम्झन सक्दिनँ ।”

यही भदौ १० गते नै पनि बिहान छोरासँग कुरा भएको सम्झँदै सरिता भन्छिन्, “बाढीको खबर आउन थालेपछि सम्पर्क गर्न चाह्यौँ । त्यो दिन बिहान ९ः०० बजेपछि बाबुसँग सम्पर्क हुन सकेको छैन ।” सौभाग्यको खोजीमा बुबा ध्रुव बिष्ट र मावलीघरका आफन्त यति बेला रसुवा पुगेको सरिताले बताइन् ।

“एकचोटि त भन्दियोस्, मामु म फसेको थिएँ, अब निस्केँ,” उनी भन्छिन्, “सौभाग्यको यति वचन सुन्ने अभिलाषाले एक छिन मोबाइल छाडेकी छैन ।” सामान्य आर्थिक अवस्थाको बिष्ट परिवार मेकानिकल इञ्जिनियर रहेका छोरा सौभाग्यकै आर्जनको भरमा चलेको थियो ।

यसैगरी, बर्दिबास–९ पशुपतिनगरको गोमस्ता टोलका खिलबहादुर राना मगरको परिवारमा पनि अहिले घरको चुल्हो नबलेको एक साता नाघ्यो ।

अपर त्रिशुली–१ जलविद्युत् आयोजनामै कार्यरत छोरी जोया रानासँग भदौ १० बिहान ९ः०० बजेयता सम्पर्क हुन नसकेपछि यो परिवारमा सन्नाटा छाएको छ । “सन्तानका नाउँमा तीन वटी छोरी छन्, अलि लेखपढ भएकी हुँदा जोयाकै भरमा परिवार चलेको छ,” पिता खिलबहादुर राना भन्छन्, “जो माथि जिन्दगी सुम्पन्न खोज्थे, उही सम्पर्कविहीन भएकी छ । आफैँले हेलिकप्टर भाडामा लिएर कैयन फेरा रसुवा र नुवाकोटका त्रिशूली किनामा चक्कर लगाए पनि छोरीको अहिलेसम्म अत्तोपत्तो नपाएको खिलबहादुर बलिन्द्र आँसु काढ्दै बताउँछन् ।

यसैगरी, मटिहानी–७ का ४० वर्षीय गङ्गाराम मण्डलको घरमा आमा, पत्नी र चार छोराछोरी उहाँको एक वचनको पर्खाइमा छन् । “भदौ ९ गते ‘म गोसाइँकुण्ड जाँदैछु’ भनेर फोन गर्नुभएको थियो,” पत्नी गुञ्जा मण्डल भक्कानिँदै भन्छिन्, “त्यसपछि उहाँसँग सम्पर्क भएको छैन ।”

आमा र चार छोराछोरी निरन्तर उनलाई सम्झिरहेका बेला आफू आँसु झार्न पनि नसकेको गुञ्जाको बिलौना छ । काठमाडौँस्थित रिचा टुर्स कम्पनीमा भान्सेको काममा रहेका मण्डल यही भदौ ९ गते कम्पनीका पाहुनासँगै रसुवा गएका थिए । परिवारको एउटै सहारा गङ्गाराम सम्पर्कविहीन भएपछि निकै छटपटी बढेको छ ।

यस्तै, जलेश्वर–७ का हशन अन्सारी पनि भदौ १० गते बिहान ९ः०० बजेपछि सम्पर्कविहीन छन् । केही दिन पहिलेमात्र रसुवाको एक जलविद्युत् आयोजनामा मेकानिकको काम गर्ने अन्सारीले अन्तिमपटक यही भदौ ९ गते आमा मुलिमा खातुनलाइ फोन गरेका थिए

केही दिनभित्रै एक साताको बिदामा घर आउने बताउनुभएको पिता माजिद अन्सारी सम्झन्छन् । “दिनदिनै घरमा फोन गथ्र्यो, भदौ १० पछि पनि फोन आउने प्रतीक्षामा छौँ,” पिता माजिद भन्छन्, “यही भदौ १० यता घरमा चुल्हो बलेको छैन, आफन्त जो आउँछन् घरमा सबै आँखा टिलपिलाएका छन् ।” कसैले हशनबारे राम्रो समाचार सुनाउला कि पर्खाइ मात्रै बाँकी रहेको माजिद बताउँछन् ।

भोटेकोशी बाढीयता रसुवा र नुवाकोटमा सम्पर्कमा आएका १८ जनालाई जिल्ला प्रशासन कार्यालयले सुरक्षित तवरले पारिवारिक सम्पर्कमा पठाइसकेको छ । त्यसबाहेक सम्पर्कविहीन भएका १९ जनामध्ये छ जना पारिवारिक सम्पर्कमा आइसक्नु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “अब महोत्तरीका १३ जना सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको खोजी र सम्पर्कको प्रयास निरन्तर भइरहेको छ,” प्रजिअ यादवले भने, “विश्वास गरौँ, सबै सकुशल भेटिनुहोस् ।”

बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता

काठमाडौँ। रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार २०४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा ११५, नुवाकोटमा १५५, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, चितवनमा ३४८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा २०२ शव फेला परेको छ ।

फेला परेकामध्ये ९५ शव सनाखत भई परिवारजनले बुझेका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीका कारण चार हजार २१६ जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।

बाढीमा परी ३०१ जना घाइते भएका छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीका कारण घरबारविहीन भएका तीन हजार ४५३ नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँका ‘होल्डिङ सेन्टर’मा रहेको प्राधिकरणले जनाएको छ ।

शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासङ्घले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासङ्घले विगतमा उठाउँदै आएका विषयलाई दुईपक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यसैगरी, हालैको रसुवाको भोटेकोशी नदीमा गएको बाढीको विपद् र प्रभावित विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन गर्नुपर्ने उपायकाबारेमा पनि छलफल भएको थियो ।

छलफलमा शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी, नेपाल शिक्षक महासङ्घका अध्यक्ष र प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै छुटेका विषय तथा प्राप्त रायसुझावलाई ऐनमा समेट्ने बताउनुभयो । उहाँले नयाँ शिक्षा ऐनले गुणस्तरीय शिक्षाको सुनिश्चिततासँगै विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माणमा जोड दिने उल्लेख गर्नुभयो ।

विद्यालय शिक्षा तथा उच्च शिक्षा सुधारका लागि सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले विद्यार्थीलाई स्वदेशमै रोक्न गुणस्तरीय शिक्षा र अवसरको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विपद्का समयमा विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न विद्यालयमा समयसमयमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास गराउनुपर्ने बताउनुभयो ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले विद्यालय शिक्षा सुधारका लागि शिक्षा ऐनलाई थप समृद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय र महासङ्घबीचको सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक महासङ्घले उठाएका विषयलाई प्रक्रियागत रूपमा संवाद र सहमतिका माध्यमबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

महासङ्घका अध्यक्ष सुवेदीले आफूहरूले उठाएका सवाल संवादमार्फत समाधान गर्न सकिने धारणा राख्नुभयो । शिक्षा ऐन शीघ्र जारी भए शिक्षक महासङ्घ सबैभन्दा खुसी हुने बताउँदै उहाँले मन्त्रालयसँगको संवाद र सहकार्यबाट शिक्षा क्षेत्रका समस्याको समाधान खोज्न सकिने उल्लेख गर्नुभयो ।

छलफलमा सहभागी अन्य शिक्षक सङ्गठनका पदाधिकारीले पनि मन्त्रालयसँगको संवाद र सहमतिका आधारमा शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका व्यक्ति जीवित भेटिने आशा टरेपछि उनीहरूका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । बेपत्ता भएका व्यक्तिका परिवारजनले हिन्दू परम्पराअनुसार कुशको शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरेका हुन्।

बाढी गएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएका हुन् । आज पशुपतिस्थित आर्यघाटमा दर्जनौँ कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गरिएको हाे।

आर्यघाटमा एकैपटक दर्जनौँ सङ्ख्यामा बेपत्ताका परिवारजन भेला भएपछि दिनभरजसो बाक्लो भीड लागेको थियो । बाढीमा आफन्त गुमाएका परिवारजनका लागि पछिल्ला दिनहरू पीडादायी भएका छन् । पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार आज मात्रै आर्यघाटमा कम्तीमा एक सयभन्दा बढी कुशबाट बनाइएका शवका प्रतीकको सामूहिक अन्त्येष्टि गरिएको छ।

“कुशका शवको हामीले छुट्टै रेकर्ड राख्ने गरेका छैनौँ, तर आज कम्तीमा पनि एक सयभन्दा बढी प्रतीकको शव जलाइएको थियो”, उहाँले भन्नुभयो । बाढीमा परी आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि परिवारजनले अन्तिम संस्कार गर्न बाध्य भएको बताएका छन्। आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन्।

नुवाकोटका बबिन रिजालका अनुसार भोटेकोशी बाढीमा उनका आमा र बुवा नाथ रिजाल र विनिता रिजाल बेपत्ता छन्। बाढीमा बगेको लामो समय बितिसक्दा पनि बुवा, आमाको अवस्था पत्ता लाग्न नसकेपछि आज पशुपति आर्यघाटमा कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको उनले बताए।

“बाढीमा परी मेरा आमा र बुवा बेपत्ता हुनुभएको छ । अब जीवितै भेटिने आशा मरिसकेकाले आज कुशका शव बनाएर पशुपतिमा अन्त्येष्टि गरेका छौँ”, उनले भने। बेपत्ताको शव फेला नपरेपछि परिवारजनले धार्मिक संस्कारअनुसार अन्तिम कर्म गर्नुलाई पीडाका बीचमा आफन्तप्रतिको अन्तिम श्रद्धाञ्जलीका रूपमा लिएका छन्। आर्यघाटमा कुशबाट तयार पारिएका प्रतीकात्मक शव जलाउँदा आफन्तजन भावविह्वल बनेका थिए ।

भोटेकोशी नदीमा यही भदौ १० गते गएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि ठूलो सङ्यामा मानिस बेपत्ता भएका छन् भने विभिन्न स्थानमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

बेपत्ताको खोजी भइरहे पनि लामो समयसम्म कुनै सम्पर्क वा अवस्था पत्ता नलागेपछि केही परिवारले आफन्तको जीवित उद्धार हुने आशा त्याग्न थालेका छन् । त्यसपछि उनीहरूले हिन्दू परम्पराअनुसार कुशबाट प्रतीकात्मक शव बनाएर अन्तिम संस्कारमा सामेल हुन थालेका हुन्।

आर्यघाटमा आज भएको सामूहिक अन्त्येष्टिले भोटेकोशी बाढीले निम्त्याएको मानवीय पीडाको गहिराइसमेत झल्काएको छ। आफ्ना आफन्तको वास्तविक शवसमेत देख्न नपाएका परिवारजनले प्रतीकात्मक शवलाई अन्तिम श्रद्धाञ्जली दिँदै धार्मिक संस्कार पूरा गरेका छन्।

बेपत्ता आफन्तको सम्झनामा गरिएको यस अन्तिम संस्कारका क्रममा आर्यघाटमा उपस्थित परिवारजन र आफन्तहरू भावुक देखिन्थे । कसैले कुशबाट तयार गरिएको प्रतीकात्मक शव बोकेर घाटसम्म ल्याएका थिए भने कसैले धार्मिक विधिअनुसार कर्मकाण्ड पूरा गरेका थिए।

बाढीले आफन्त गुमाएका परिवारका लागि शव नपाउनुको पीडा अझ गहिरो छ । मृत्यु पुष्टि गर्न शवसमेत प्राप्त नभएका अवस्थामा लामो समयसम्म अनिश्चिततामा बस्नुपरेका परिवारजनले आज प्रतीकात्मक अन्त्येष्टिमार्फत आफन्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन्। यसरी कुशबाट शवको प्रतीक बनाएर गरिएको सामूहिक अन्त्येष्टि भोटेकोशी बाढीमा बेपत्ता भएका नागरिकका परिवारले भोगिरहेको पीडा, अनिश्चितता र भावनात्मक सङ्घर्षको मार्मिक चित्र देखिएको छ।

न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत

काठमाडाैँ । न्युजिल्यान्डको केन्द्रीय बैंकले बुधबार आफ्नो आधिकारिक नगद दर २५ आधार अंकले बढाएर २.७५ प्रतिशत पुर्‍याएको छ। जुन त्रैमासिकमा वार्षिक मुद्रास्फीति बढेर ४.१ प्रतिशत पुगेपछि बैंकले यस्तो निर्णय गरेको हो। मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढ्नु मुद्रास्फीति वृद्धिको प्रमुख कारण बनेको छ।

न्युजिल्यान्डको रिजर्भ बैंकको मौद्रिक नीति समितिले मुद्रास्फीतिलाई २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुतर्फ फर्काउन तथा आर्थिक वृद्धि र रोजगारीलाई समर्थन गर्न मौद्रिक प्रोत्साहन क्रमशः हटाउनु उपयुक्त हुने जनाएको छ ।

समितिका अनुसार, जुन त्रैमासिकमा कमजोर आर्थिक वृद्धि भए पनि न्युजिल्यान्डको आर्थिक पुनरुत्थान सम्भवतः पुनः सुरु भएको छ । व्यापारिक साझेदार मुलुकहरूबाट आएको बलियो माग र उच्च निर्यात मूल्यले निर्यातमा निर्भर क्षेत्र तथा प्रदेशमा आम्दानी वृद्धि र लगानीलाई सहयोग गरिरहेका छन् ।

तर कमजोर आम्दानी वृद्धि, रोजगारीको असुरक्षा र घरको मूल्यमा आएको स्थिरताले घरपरिवारको खर्च तथा आवासीय लगानीमा दबाब कायम राखेको छ । यसको प्रभाव विशेषगरी देशको सबैभन्दा ठूलो सहर अकल्यान्ड र राजधानी वेलिङ्टनमा देखिएको समितिले जनाएको छ।

समितिले आगामी दिनमा आर्थिक पुनरुत्थान थप बलियो र व्यापक हुने अपेक्षा गरेको छ । निर्यात क्षेत्र लचिलो रहने तथा घरपरिवारको खर्च क्रमशः बढ्दै जाने उसको अनुमान छ।

आर्थिक पुनरुत्थानले गति लिएसँगै श्रम बजारको अवस्था पनि सुधार हुने र मुद्रास्फीति २ प्रतिशतको लक्ष्यको मध्यबिन्दुमा फर्किएपछि जनताको क्रयशक्ति बढ्ने समितिले जनाएको छ । साथै, आगामी मौद्रिक नीतिका निर्णयहरू मध्यम अवधिको मुद्रास्फीतिमा रहेका जोखिमहरूबीचको सन्तुलनबारे समितिको मूल्याङ्कनमा निर्भर रहने बताइएको छ।

न्युजिल्यान्डकी अर्थमन्त्री निकोल विलिसले एक वक्तव्यमा भने, “अघिल्ला केही आर्थिक सुधारका चरणभन्दा फरक, यसपटकको पुनरुत्थान घरको मूल्य बढ्नुको सट्टा निर्यात क्षेत्रबाट अघि बढिरहेको छ । यो भविष्यका लागि सकारात्मक सङ्केत हो।”

भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड

काठमाडौँ। भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट पर्यटन क्षेत्रमा गम्भीर असर परेपछि अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटनप्रतिको विश्वास पुनःस्थापित गर्न विशेष रणनीतिका साथ अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सहभागी सांसद, सरकारी निकाय तथा पर्यटन व्यवसायीले पर्यटकको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिँदै विपद्पछि अन्तरराष्ट्रिय समुदायमा नेपाल सुरक्षित र पर्यटकका लागि तयार रहेको विश्वसनीय सन्देश प्रवाह गर्नुपर्ने बताएका हुन् ।

समितिकी सभापति सुम्निमा उदासले ‘नेपाल सुरक्षित छ’ भनेर मात्र पुग्ने अवस्था नरहेको बताउँदै पर्यटक तथा अन्तरराष्ट्रिय समुदायमा विश्वास पैदा हुनेगरी सरकार र निजी पर्यटन क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्पछि नेपालको पर्यटनबारे सकारात्मक र विश्वसनीय सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले विपद्पछिको उद्धार तथा राहतप्रति सरकार संवेदनशील र जिम्मेवार रहेको बताउनुभयो । उहाँले हेलिकप्टर परिचालनलाई एकद्वार प्रणालीमा ल्याएर उद्धार कार्यलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो ।

मन्त्री पौडेलले भोटेकोशी क्षेत्रबाहेक दैनिक पाँच वटा उडान सार्वजनिक सेवाका रूपमा निःशुल्क सञ्चालन भइरहेको बताउनुभयो । अन्तरराष्ट्रिय समुदायको विश्वास कायम गर्दै नेपालमा पर्यटक आगमन बढाउने रणनीतिमा सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री पौडेलले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडेर दीर्घकालीन रूपमा रसुवालाई ‘क्लाइमेट हेरिटेज’का रूपमा विकास गर्ने अवधारणा अघि सार्नुपर्ने बताउनुभयो ।

समिति सदस्य अनुष्का श्रेष्ठले सङ्कटका बेला इन्फोग्राफिक्स तथा डिजिटल माध्यमबाट तीव्र र प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले सम्बन्धित निकायमा नेतृत्व तथा पद रिक्त हुँदा निर्णय प्रक्रिया प्रभावित हुनसक्ने भएकाले आवश्यक पदपूर्ति तत्काल गर्नुपर्ने धारणा राख्नुभयो ।

समिति सदस्य जगदीश खरेलले प्रभावित क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य तत्काल पुग्नुपर्ने बताउनुभयो । उहाँले रसुवामा हराइरहेका विदेशी पर्यटकका परिवार तथा आफन्तलाई भिसामा सहजीकरण र होटलमा छुट दिनुपर्ने तथा प्रधानमन्त्री राहत कोषबाट पर्यटन पुनःस्थापनाका लागि कम्तीमा १५ प्रतिशत रकम छुट्याउनुपर्ने प्रस्ताव राख्नुभयो ।

समिति सदस्य प्रेमकुमार हमालले जलवायु परिवर्तन र जलवायु न्यायलाई अब पर्यटन नीतिको केन्द्रमा राख्नुपर्ने बताउनुभयो । हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमलाई अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै नेपालले क्षति तथा नोक्सानीको मुद्दालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

समिति सदस्य सन्दीप रानाले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै विदेशी पर्यटकका परिवारलाई सूचना तथा समन्वयका लागि छुट्टै सहायता कक्ष स्थापना गर्नुपर्ने बताउनुभयो । हराइरहेका आफन्तबारे सूचना नपाउँदा परिवारमा बढेको त्रास कम गर्न एकीकृत सूचना प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले पर्यटन पुनरुत्थानका लागि ‘कलिङ नेपाल’ अभियानलाई थप प्रभावकारी बनाउने तथा आवश्यक परे हवाई भाडा र होटलमा छुट वा निःशुल्क सुविधा उपलब्ध गराउने प्रस्ताव अघि बढाइएको जानकारी दिनुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेले भारतीय नागरिकसहित करिब ९९५ विदेशी पर्यटक प्रभावित क्षेत्रमा हराइरहेको जानकारी दिनुभयो । उहाँले उद्धार तथा पुनःस्थापनासँगै नेपाल पर्यटकका लागि तयार रहेको स्पष्ट सन्देश अन्तरराष्ट्रिय सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्ने बताउनुभयो ।

बैठकमा पर्यटन क्षेत्रका सरोकारवालाले खोज तथा उद्धार, पर्यटकको यथार्थ तथ्याङ्क व्यवस्थापन, प्रभावित पर्यटन श्रमिकको सामाजिक सुरक्षा तथा अन्तरराष्ट्रिय बजारमा नेपालको विश्वसनीयता पुनःस्थापित गर्ने अभियानलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिएको थियो ।

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौँ। नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ ।

यही गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनःसञ्चालन कार्यमा खटिएपश्चात् साइटहरू पुनःसञ्चालनमा आएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो ।

सो कार्यका लागि बाढीले सडक तथा विद्युत् अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराइ सेवा पुनःसञ्चालन गरिएको थियो । यही भदौ १७ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।

बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवामध्ये ८३ साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएका थिए भने तीन वटा साइटहरू टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

नेपाल टेलिकमले यही भदौ १६ मा बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सञ्चालन गरेसँगै नेपाल टेलिकमका सबै साइटहरू सञ्चालन भएका छन् तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका साइटबाट उपलब्ध सेवा हाल अन्य साइटबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताका लागि उक्त क्षतिग्रस्त साइटलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइनेछ ।

भदौ १० गते बाढी आएको जानकारी प्राप्त भएलगत्तै नेपाल टेलिकमका प्राविधिक साइट सञ्चालनका लागि निरन्तर रूपमा खटिएका छन् । भदौ ११ गते रसुवा जिल्लाका न्यौपानेचौर तथा राम्चे रिपिटर साइटमा हेलिकप्टरबाट जेनेरेटर, इन्धन तथा ब्याट्रीलगायत उपकरण पठाइ सेवा सञ्चालन गरिएको थियो । रसुवा जिल्ला सदरमुकाम धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो ।

यसैगरी, भदौ १२ गते रसुवाको गोलजुङ टावर (बाहुनडाँडा), नुवाकोटको गेर्खु, तुप्चे तथा टिमुरे माथिको डाँडामा अवस्थित टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिक खटाई सेवा सञ्चालन गरिएको थियो । नुवाकोट जिल्लाअन्तर्गतको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङ जिल्लाअन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धनसहित कर्मचारी परिचालन गरी सेवा सञ्चालन गरिएको थियो ।

भदौ १३ गते रसुवाको त्रिशूली ३‘ए’ सँगै रहेको टावर, रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावर तथा नुवाकोट जिल्लाको बुङ्ताङमा रहेको टावरसमेत सञ्चालनमा ल्याइएको थियो । यीबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका थिए । यससँगै प्रभावित १२० साइटमध्ये ९३ साइट सञ्चालनमा आएका थिए ।

भदौ १४ गते थप सात स्थानमा सेवा सञ्चालन गरियो, जसमा रसुवा जिल्लाअन्तर्गत नेपाल–चीन सिमानामा रहेको रसुवा बोर्डर साइटलगायत अपर सेन्जेन, छापथोके, जिबजिबे माइक्रो र गत्लाङ साइटहरू रहेका थिए । त्यसैगरी, नुवाकोटको चारघरे तथा चारघरे मूलाबारी साइट रहेका थिए । रसुवा बोर्डर बिटिएस साइटमार्फत नेपाल–चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर र स्याफ्रुबँेसीदेखि भोटेकोशी करिडोरसम्म सेवा पुनःसञ्चालनमा आएका थिए । यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बिटिएस साइटहरू सञ्चालनमा ल्याइएका थिए ।

भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको त्रिशूली बजार साइट सञ्चालन गरिएको थियो ।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकता प्राप्त साइटहरू अनवरत रूपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको थियो तथा हालसम्म पनि विद्युत् आपूर्ति नियमित नभएका साइटहरू जेनेरेटरमार्फत सञ्चालनमा रहेका छन् ।

कतिपय स्थानका साइटहरू विद्युत सेवा आपूर्तिको सहजतासँगै स्वतः सञ्चालनमा आएका छन् र फोरजी सेवाको प्रभावकारितासमेत वृद्धि हुँदै गएको छ ।

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौँ। भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङमा फसेका मानिसको खोज तथा उद्धार प्रयास जारी छ ।

भारतीय सुरुङ उद्धार टोलीले नेपाली उद्धार टोलीसँग समन्वय गरी हाल लाङ्टाङ र चिलिमेमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुरुङ खोल्ने दिशामा केही काम भएको तर सुरुङको भित्री भाग हिलो र ठूला ढुङ्गाले भरिएकाले अझै थप काम गर्नुपर्ने अवस्था रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

“चिनियाँ सुरुङ उद्धार टोलीलाई अपर त्रिशूली ३ ‘ए’ मा परिचालन गरिएको छ र उहाँहरूले नेपाली उद्धार टोलीसँग मिलेर काम गरिरहनुभएको छ । उहाँहरूले सुरुङको केही भाग खोलिसक्नुभएको छ”, भोटेकोशी बाढीसम्बन्धी आज मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो ।

कोरियाली सुरुङ उद्धार टोलीले पनि नेपाली टोलीसँग मिलेर अपर त्रिशूली १ को सुरुङ खोल्ने कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन गणतन्त्र कोरियाबाट थप सहयोग तथा ‘लजिस्टिक्स’ आउने अपेक्षा गरिएको मन्त्रालयको भनाइ छ ।

यसैगरी, सरकारले १९ सदस्यीय भारतीय फरेन्सिक टोलीले नेपाल प्रहरीसँगको सहकार्यमा डिएनए नमुना विश्लेषणको कार्य जारी राखेको छ । प्रवक्ता क्षेत्रीले भन्नुभयो, “चीनको पाँच सदस्यीय विशेष फरेन्सिक टोली हिजो आइपुगेको छ । त्यसयता नेपाल प्रहरीले गरिरहेको कार्यमा सहभागी भई डिएनए नमुनाको प्रशोधन तथा विश्लेषणलाई तीव्र बनाउन काम गरिरहेको छ ।”

यस प्रक्रियालाई तीव्र बनाउन सिङ्गापुरबाट छ सदस्यीय ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन टिम’ पनि आइपुगेको भने थप १३ सदस्य डिएनए परीक्षण उपकरणसहित आज आइरहेको मन्त्रालयले जनाएको छ । उच्च क्षमताका ड्रोन तथा अन्य लजिस्टिक्ससहित थप सदस्यहरू भोलि त्यस टोलीमा सहभागी हुनेछन् ।

आवश्यक उपकरण तथा साधनसहितको थप कोरियाली फरेन्सिक टोली पनि हालै यस कार्यमा सहभागी भएको छ ।

त्यस्तै, सुरक्षा निकाय, सरकारी निकाय, चिकित्सा तथा आपतकालीन प्रतिक्रिया टोली र अन्य सम्बन्धित निकाय प्रभावित क्षेत्रमा एकसाथ काम गरिरहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत टोलीले प्रभावित क्षेत्र तथा आसपासमा खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत कार्यलाई निरन्तरता दिइरहेको छ ।

पछिल्लो जानकारीअनुसार एक हजार ११४ वटा शव फेला पारिएको छ, करिब तीन हजार ९०० जना अझै बेपत्ता छन् । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । जसमा ३०० भन्दाबढी विदेशी नागरिक रहेका र तीमध्ये पाँच जना सम्पर्कमा रहेका तथा सुरक्षित अवस्थामा रहेका प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो । यसैगरी ३४ देशका करिब ५९० जना विदेशी नागरिक अझै बेपत्ता छन् ।

दुई हजार ५०० जना तीर्थयात्री फर्किए

“विपद्को समयमा कैलाश पर्वततर्फ जाने तथा त्यहाँबाट फर्कने क्रममा रहेका अनुमानित तीन हजार जनामध्ये करिब दुई हजार ५०० जना अधिकांश तीर्थयात्री हिल्सा र तातोपानी हुँदै फर्किसकेका छन् । बाँकी मानिसलाई पनि फर्कन सहजीकरण गरिएको छ र केही जना ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्”, उहाँले भन्नुभयो ।

मन्त्रालयले करिब एक हजार ५०० नेपाली नागरिक हाल केरुङमा रहेका जनाउँदै चाँडै फर्कन चाहनेका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको उल्लेख गरेको छ ।

केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरका सम्बन्धमा उपयुक्त सीमा नाकामार्फत उनीहरूको पुनःरुट निर्धारण गरी आवागमन सहज बनाउन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयको भनाइ छ । त्यस दिन चिनियाँ सीमातर्फ करिब १०० नेपाली नागरिक बेपत्ता छन् ।

विपद्मा मानवीय सहयोगको निरन्तरता, केडिया अर्गनाइजेशनबाट राहत कोषमा १ करोड

रसुवाको भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि केडिया अर्गनाइजेशनले १ करोड रुपैयाँ सहयोग गरेको छ।

अर्गनाइजेशनका प्रबन्ध निर्देशक एवं संविधानसभा सदस्य विमल केडियाले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

केडिया परिवारले यसअघि पनि विभिन्न विपद्का बेला राहत तथा मानवीय सहयोग गर्दै आएको जनाइएको छ।

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्यसहित पाँच जनाविरुद्ध गैरकानुनी लाभ वा हानी गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय, भैरहवा, रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसमेत पाँच जनाउपर गैरकानुनी लाभ वा हानि, गलत लिखत एवं सरकारी कागजात सच्च्याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको जनाएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तत्कालीन मालपोत अधिकृत आचार्य, तत्कालीन नायब सुब्बाद्वय लक्ष्मणप्रसाद न्यौपाने, अजितकुमार साहनी (चाई), तत्कालीन खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतराजकान्त मिश्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को बमोजिमको कसुरमा बिगो रु चार करोड ५३ लाख ४१ हजार ८०० रकम कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना कायम गरी आरोपपत्र दायर गरिएको हो ।