`

संघीय सरकारका परिपत्रले प्रदेश कानून निष्प्रभावी बनाउन मिल्दैनः मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले जारी गर्ने परिपत्रका आधारमा प्रदेशले बनाएका कानूनहरूलाई निष्प्रभावी बनाउन नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कँडेलले यस्तो धारणा राखेका हुन् । बैठकमा कोशी र सुदूरपश्चिम बाहेकका पाँच प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो ।

बैठकमा मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन, संवैधानिक अधिकारको बाँडफाँट र प्रशासनिक जटिलताका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्री कँडेलकाअनुसार संघीय सरकारले पछिल्लो समय जारी गरेका कतिपय परिपत्रहरू संविधानसम्मत नभएको विषय बैठकमा जोडदार रूपमा उठाइएको छ ।

विशेष गरी सञ्चार र विकास निर्माणका आयोजनाका ठेक्कापट्टा सम्बन्धी परिपत्रका बारेमा उठेको प्रश्नमा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । प्रधानमन्त्रीले उक्त परिपत्रको मनसाय प्रदेशका सबै क्रियाकलाप रोक्ने नभई केवल ठेक्कापट्टाको सूचना संप्रेषणमा एकरूपता ल्याउनु मात्र रहेको स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले कर्मचारीतन्त्रमा अझै पनि संघीय मानसिकता हाबी रहेको र उनीहरूले प्रदेश कानुनभन्दा संघको परिपत्रलाई बढी प्राथमिकता दिने गरेको गुनासो गरे ।

संविधान कार्यान्वयनको १० वर्ष पुग्न लाग्दा पनि संघीय निजामती सेवा ऐन, शिक्षा ऐन र वन ऐन जस्ता महत्त्वपूर्ण कानूनहरू नबन्दा प्रदेश सरकारको भुमिका प्रभावकारी हुन नसकेको उनले उल्लेख गरे । ती कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीले सकारात्मक प्रतिवद्धता जनाउनुभएको कँडेलको भनाइ छ ।

बैठकमा प्रधानमन्त्रीले संघीयतालाई सुदृढ बनाउन तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको बताउनुभएको पनि उनले जानकारी दिए ।

नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ

रुपन्देही। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार कपिलवस्तुको वाणगङ्गा नगरपालिका-२ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका-१५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-९ का ५३ वर्षीय दीपेन्द्र थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो ।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीको निगरानीका क्रममा गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका-५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका-१० स्थित भच्कैयाबाट रु एक हजारदरका नेपाली नक्कली नोट २१ थानसहित चार जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएका हुन् ।

बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ ।

साथै, राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबिच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको एजेन्डा रहनेछ ।

देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत बैठकमा हुने अपेक्षा गरिएको छ ।

यस बैठकलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र जनतामा प्रत्यक्ष लाभ पु¥याउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १८ रुपैयाँ, आलु रातो (भारतीय) २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ४० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, लौका ३० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, भिन्डी ७० रुपैयाँ, सखरखण्ड ६५ रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ४५ रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) १७० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकुन्दर ४० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २०० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना ११० रुपैयाँ र गुन्द्रुक २२० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा २२० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर (हरियो) २१० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १४० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ५५ रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ निर्धारण गरिएको छ ।

रास्वपा संसदीय दलको बैठक बस्दै, समिति सभापति निर्वाचनबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।बैठक मध्यान्ह १२ः१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेगरी बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचन सम्बन्धमा र अन्य विविध विषयमा छलफल हुने छ ।

संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ ।मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ ।

दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ ।समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ ।

दाइजो प्रथाविरुद्ध निमन्त्रणापत्रमै ‘ दाइजो मुक्त विवाह’ उल्लेख गर्न उपसभामुख रुवीकुमारीको आग्रह

काठमाडौं – उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध विवाह निमन्त्रणापत्रमै ‘ दाइजो मुक्त विवाह’ उल्लेख गर्न आग्रह गरेकी छन्।

उपसभामुख ठाकुरले दाइजो लिनु दिनु मात्र होइन, दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको बताएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छिन् – सबैमा नमस्कार,
हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु। तर तीमध्ये कुनैपनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन। यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ।
दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो। यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ।
यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ। व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ।
यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु। कृपया दहेज मुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं।
अत: विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु।
आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं।
धन्यवाद।
रुवि कुमारी कुमारी ठाकुर
उपसभामुख

सभामुख र उद्योगमन्त्रीबिच भेट, निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग उद्योगमन्त्री गौरी कुमारीले भेट गरेकी छन् ।बुधबार सभामुख डीपी अर्याल र उद्योगमन्त्री गौरीबिच भेटवार्ता भएको हो ।

उनीहरुबीच भेटका क्रममा सभामुख अर्यालले कम्पनी दर्ता तथा बन्द गर्ने प्रक्रियालाई सहज बनाउन सुझाव दिएका छन् ।साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे ।

एमालेका महासचिव शंकर पोखरेलले भने – ‘पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ’

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नियोजित तथा प्रायोजित रूपले विवादित बनाउने काम भइरहेको बताएका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले लेखेका छन् – निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ।

त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ ।

निर्वाचन समिक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रिय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समिक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ ।

थलिएका जीवनमा खुसीको पाङ्ग्रा : ह्विलचेयरले ल्यायो नयाँ जीवन

महोत्तरी, ३ वैशाख : पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिनुभएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ ।

मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाउनुभएको छ । त्यसैले यसपालिको नयाँ वर्ष र जुडशीतल पर्व उहाँका लागि सम्झनलायक बनेको हो । लायन्स क्लब अफ बर्दिबास समाजले बस्तीमै पुगेर उहाँलाई ह्विलचेयर दिएको हो । “हातगोडा केही नचल्ने भएर तीन वर्षदेखि थला परेको थिए, अब भने यही ह्विलचेयरमा घर ओरपर डुल्न पाइने भएको छ । यो अवसरका लागि सहयोगी संस्था र व्यक्तित्वलाई आभार छ”, भुजेलले भन्नुभयो ।

उक्त बस्तीमा भुजेलका अतिरिक्त १३ वर्षीय जनम दियाली र ३५ वर्षीय खुपबहादुर थापाले पनि सहयोग पाउनुभएको छ । “दुर्घटनामा परेर दुवै गोडा काटिएपछि १५ वर्षदेखि कुँजिएर बसेको थिएँ, आफ्नै जीवन बोझजस्तै बनेको थियो”, ह्विलचेयर पाएपछि थापा भन्नुहुन्छ, “यसपटक भने नयाँ वर्षले आफ्नो जीवनमा नयाँ आशा ल्याएर आएको अनुभूति भएको छ । अब त ह्विलचेयरमा वरपर जान सहज भएको छ ।”

दियाली त जन्मँदै अशक्त हुनुहुन्छ । उहाँ बोल्न पनि नक्नुहुन्न । ह्विलचेयर पाएपछि उहाँ पनि खुसी हुनुहुन्छ । हेर्दा सानो सहयोग भए पनि लायन्स क्लब अफ बर्दिबासले अशक्त जीवनमा निकै खुसी दिएको बर्दिबास–११ का वडाध्यक्ष गोपाल बल बताउनुहुन्छ ।समाजका अध्यक्ष वैकुण्ठप्रसाद देवकोटाले लायन्स क्लब इन्टरनेसनल ३२५ ‘एफ’ को सहयोगमा ह्विलचेयर प्रदान गरिएको बताउनुभयो । यसपटक छ वटा ह्विलचेयर सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।

एकैदिन ५६ व्यावसायिक फर्ममा अनुगमन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ ।खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो ।

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा व्यावसायिक फर्ममा अनुमगन गरी सुधारात्मक निर्देशन दिइएको छ ।दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री बिक्री–वितरण गर्ने व्यावसायिक फर्म, पसलले बिल बीजक दिए/नदिएको, उपभोक्ताले देख्ने गरी मूल्यसूची राखेन/राखेको, कानुनअनुसार तिर्नुपर्ने कर तथा अन्य क्रियाकलाप गरे/नगरेको विषयमा जानकारी लिएको छ ।”उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएकाहरूको उपस्थितिमा अनुगमन गरिएको विभागले जनाएको छ ।

पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ तथा तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भईरहेको छ ।

दिउँसो कोशी प्रदेशको पहाडी भूभाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदुरपश्चिम प्रदेशसहित बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

सिरहा। बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो ।

आकाशे पानीको भरमा खेती गर्ने उहाँ कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्नुहुन्थ्यो, अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उहाँले परम्परागत खेती प्रणालीलाई त्यागेर ‘जलवायुमैत्री कृषि’ अपनाउनुभएको छ ।

“पहिले पानी नपर्दा मल र बीउको लगानी पनि उठ्दैनथ्यो”, आफ्नो अनुभव सुनाउँदै मण्डल भन्नुहुन्छ, “हाल मल्चिङ प्रविधि र थोपा सिँचाइ सुरु गरेपछि कम पानीमा पनि लटरम्म तरकारी फलेको छ । खेती गर्ने तरिका फेर्दा आम्दानी मात्र होइन, मनमा शान्ति पनि मिलेको छ ।”

मण्डल परिवार तरकारी खेतीको आम्दानीबाट जीविका चलाउँदै आएको छ । विगत छ महिनादेखि प्लास्टिक घर, थोपा सिँचाइ, गँड्यौला मल, झोल मल, कीरा नियन्त्रणका लागि आवश्यक जानकारी लिई तरकारीखेती गर्दा केही सहज भएको उहाँको भनाइ छ । मण्डल भन्नुहुन्छ, “रसायनिक मल पहिलादेखि नै न्यूनीकरण गर्दै लगेका थियौँ । एक त भनेको समयमा नपाइने, पाए तापनि माटोको उर्वराशक्ति ह्रास गर्ने र उत्पादन पनि घट्ने । जैविक मलको प्रयोगले मानव स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले यसको उपयोग गर्न थालेका छौँ ।”

मण्डल परिवारले करिब साढे दुई कट्ठा जग्गाबाट पछिल्लो छ महिनामा मात्रै काउली खेतीबाट रु ४० हजार, टमाटरबाट रु ५० हजार, च्याउबाट रु २० हजार र सागसब्जीबाट रु नौ हजार आम्दानी गरिसकेको छ । उहाँले खेतीलाई वातावरण अनुकूल बनाउन तापक्रम नियन्त्रण गर्ने टनेल हाउस र सिँचाइका लागि सोलार प्रणाली जडान गरी लाभ लिइरहेको सुनाउनुभयो ।

परिवर्तित खेती प्रणालीको सफलताले वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत स्वदेशमै भविष्य देखाएको छ । धनगढीमाई नगरपालिका–१० की अनिता महतोले यही सिजनमा तीन कट्ठामा लगाएको काउली बेचेर रु एक लाखभन्दा बढी आम्दानी गरेको बताउनुभयो । उहाँको यो प्रगति देखेपछि वैदेशिक रोजगारीमा रहनुभएका श्रीमान् जागेश्वर महतो घर फर्किएर कृषिमा साथ दिइरहनुभएको छ ।

जागेश्वर भन्नुहुन्छ, “बिजुलीको झन्झट छैन, इन्धनको खर्च जोगिएको छ । घाम लागेसम्म पानीको चिन्ता हुँदैन । प्लास्टिकको घर (टनेल) भित्र गरिएको खेतीले असिना र अत्यधिक तापक्रमबाट बाली जोगाएको छ । यसले परिवारको आम्दानी मात्र होइन, आत्मनिर्भरता पनि बढाएको छ ।”

आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले जलवायुमैत्री गाउँ परियोजनामार्फत सहयोग गरिरहेको छ । ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले किसानलाई पाठशाला सञ्चालन गर्नेदेखि कृषि सामग्री उपलब्ध गराउनेसम्मका काम गरिरहेको संस्थाका लक्ष्मीपुर पतारीका ‘फिल्ड सुपरीवेक्षक’ उमेश नन्दन चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानलाई माटो बचाउँदै खेती गर्ने प्रणालीबारे सिकाइएको छ । पालिकाका छमध्ये पाँच वटा वडामा महिला कृषक समूह गठन गरी गोठ सुधार कार्यक्रम, गँड्यौला मल उत्पादन तथा बोरिङ, फोहोरा सिँचाइ, आधुनिक चुलो र जलवायुमैत्री बीउबिजन वितरण गरिएको छ ।

यस्तै, धनगढीमाई नगरपालिकाका क्षेत्रगत सुपरिवेक्षक रबिन साहले पनि नमूना किसान समूह निर्माण गरी किसानलाई यस प्रविधितर्फ आकर्षित गरिएको जानकारी दिनुभयो ।

परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ । यी छ वटा पालिकामा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो ।

“हरित गृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्ने र महिलाको कार्यबोझ कम गर्दै क्षमता अभिवृद्धि गर्ने परियोजनाको मुख्य उद्देश्य हो”, थापा भन्नुहुन्छ, “यस प्रदेशमा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्न हामीले ७० प्रतिशत संस्थाको र ३० प्रतिशत स्थानीय किसानको लागत साझेदारीमा काम गरिरहेका छौँ । यसले किसानमा अपनत्वको बोध पनि गराइरहेको छ ।”

उहाँका अनुसार, हालसम्म यी पालिकाहरूमा ५१८ घरधुरी लाभान्वित हुने गरी ९३ वटा भूमिगत सिँचाइ प्रणाली (बोरिङ) जडान गरिएका छन् भने ५०० वटा महिला समूह क्रियाशील छन् ।

उत्पादनको बजारीकरणका लागि पनि यहाँ योजनाबद्ध रूपमा काम भइरहेको छ । हाल सिरहाको लक्ष्मीपुर पतारीमा कृषक समूहले मानकीदेवी मोची र गीतादेवी मण्डललाई तरकारी बिक्रीको जिम्मा दिएर उत्पादनको उचित बजार र मूल्यका लागि प्रयास गरिएको छ । “उपभोक्ताले ढुक्कसँग अग्र्यानिक तरकारी किन्न पाएका छन् । फलानो ठाउँको तरकारी भनेपछि अहिले सबैले रासायनिक मल र विषादी नहालेको भनेर चिनिहाल्छन्”, परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत थापाले भन्नुभयो ।

उहाँका अनुसार जलवायुमैत्री कृषि प्रणालीले मुख्यतया तीनवटा कुरामा जोड दिन्छः पानीको उचित व्यवस्थापन, माटोको स्वास्थ्य सुधार र अनुकूलित बीउको प्रयोग । थापा भन्नुहुन्छ, “यो प्रणाली अपनाउँदा उत्पादन लागत ३० देखि ४० प्रतिशतसम्म घट्छ र प्रतिकूल मौसममा पनि उत्पादनलाई स्थिर बनाउन मद्दत पुग्छ ।”

जलवायुमैत्री कृषिको महत्त्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ । सरकारले भर्खरै सार्वजनिक गरेको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समेत माटोमा कार्बन बढाउने विषयलाई समेटेको छ । माटोमा कार्बनको सञ्चिति बढ्दा पोषक तत्वहरूको चुहावट कम हुने, सिँचाइपछि लामो समयसम्म चिस्यान कायम रहने र जराको फैलावटमा वृद्धि हुने गरेको जानकारहरू बताउँछन् । यसले माटोमा हावाको सञ्चार राम्रो बनाउनाका साथै सूक्ष्म जीवहरूको सङ्ख्या बढाई पारिस्थितिकीय प्रणालीमा खाद्य चक्र सन्तुलन राख्छ, जसले अन्ततः माटोको भौतिक, रासायनिक र जैविक गुणमा सुधार ल्याई जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न मद्दत पु¥याउने गरेको सुपरिवेक्षक साहले बताउनुभयो ।

खडेरी र कीराको प्रकोप जस्ता समस्या झेल्दै आएका यहाँका किसानका लागि ‘जलवायुमैत्री कृषि’ पद्धति ‘वरदान’ साबित हुँदै गएको छ । यद्यपि, सबै किसानसम्म यी प्रविधि पुगेका छैनन् । अग्रणी किसानको सफलताले अन्य कृषकलाई पनि यसतर्फ लाग्न प्रेरित भने गरिरहेको छ ।

दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

म्याग्दी। म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ ।

धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो ।

‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताउनुभयो ।

“ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को चरणमा पनि बिटुमिन बिछ्याएपछि तेस्रो चरणमा बिटुनीमसँग चिप्स भुटेर सडकमा बिछ्याउँछौँ”, उहाँले भन्नुभयो, “छ किलोमिटर दूरीमा स्तरोन्नतिका लागि सञ्चालित आयोजना सम्पन्न हुुने चरणमा छ ।” यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त सडक आयोजना हो । यस योजनामार्फत दुई लेनमा ९०० मिटर दूरीमा कालोपत्र गर्न लागिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न सञ्चालित आयोजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताउनुभयो ।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो ।

ठेकेदारले संरचना निर्माण, बेस र सबबेस बिछ्याएको छ । गौथली भिरलगायत अप्ठ्यारो ठाउँमा ढलान भएको छ । सडकलाई आठ मिटर फरालिको बनाउने, नाली र पर्खाल निर्माण गरिएको छ । धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो । यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

कालोपत्र हुुन थालेपछि ताकमवासी उत्साहित भएका धवलागिरी गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । सडक चालु आर्थिक वर्षभित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो ।

यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताउनुभयो ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ । म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वी रुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताउनुभयो ।

धौलागिरिको केन्द्र मुनादेखि खोरीया, मरेनी, ढोरपाटनको जलजला हुँदै पूर्वी रुकुमको तकसेरा गत फागुन महिनामा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघिनै सडक निर्माण भइसकेको छ ।

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६ र १२ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । दुई हप्ताको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उहाँको नामअङ्कित भएको थियो ।

तेह्र दिनभित्रै तीनपटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा आफ्नो नाम अङ्कित गरिएको उहाँले जानकारी दिनुभयो । “पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी थिए, त्यसपछि २०८२ जेठ ४ गते पाँचौँ पटक आरोहण गरेँ”, श्रेष्ठले भन्नुभयो ।

उहाँले आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण १, धौलागिरि र मनास्लु हिमाल पटक पटक गरी १४ पटक आरोहण गरेर विभिन्न शीर्षकमा कीर्तिमान कायम गरिसक्नुभएको छ ।

आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका–९ आरुटार निवासी हुनुहुन्छ ।

यस्तो आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १९१ रुपैयाँ २५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ १७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ८६ पैसा र बिक्रीदर २१ रुपैयाँ ९५ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५० पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८८ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८२ पैसा, ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौँ । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो ।

“सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी गराएका छन् । नेपाल टेलिकमले सबैभन्दा धेरै २१ हजारभन्दा बढीको सङ्ख्यामा बन्द गरेको छ, यस्ता एप र वेभसाइट निरन्तर पहिचान गर्ने र बन्द गर्ने क्रम चलिरहेको छ”, लामिछानेले भने ।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो । मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ ।

सोही निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो । उक्त निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन नपाइने व्यवस्था छ । उक्त प्रावधान उल्लङ्घन गरेमा सोही दफाको उपदफा (६) अनुसार प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले समेत जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिठ्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा प्रचलित कानुनअनुसार सजाय हुने र अन्यथा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुने प्रावधान रहेको छ ।

सरकारले नेपालभर सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ । साथै, कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्राधिकरणले नागरिकलाई सचेत रहन, यस्ता अवैध डिजिटल गतिविधिबाट टाढा रहन तथा कुनै पनि शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

विसं २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै पनि धेरै नागरिक समेटिन बाँकी छन् । प्रदेशको कूल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेका छन् । स्वास्थ्य सेवामा नागरिकको सर्वसुलभ पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

बिमा बोर्डका अनुसार समेटिएका दुई लाख २८ हजार ३९८ परिवारमध्ये एक लाख ५४ हजार ५०५ परिवार लक्षित (विपन्न, सीमान्तकृत, जोखिममा रहेका समूह) छन् । ७३ हजार ८९३ परिवार अन्य श्रेणीका छन् ।

चालु आव २०८२/०८३ को चैतसम्म ७९ हजार १९५ परिवार क्रियाशील रहेका छन् । यो सङ्ख्या कूल बीमित परिवारको तुलनामा निकै कम हो । ठूलो सङ्ख्यामा परिवारले बिमा नवीकरण गर्न इच्छुक नभएको देखिन्छ ।

गत वर्ष प्रदेशसम्ममा छ लाख ७३ हजार ९५३ नागरिकले स्वास्थ्य बिमा गराएको बिमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । कार्यालय अनुसार आव २०७९/८० मा एक लाख ३४ हजार ६२६ परिवार बिमामा आबद्ध भएका थिए । आव २०८०/८१ मा एक लाख २६ हजार ४५ र आव २०८१/८२ मा एक लाख ४६ हजार ८९८ परिवार बिमा आबद्ध भएको तथ्याङ्कमा उल्लेख छ ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र किफायती बनाउन स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको हो । विशेषगरी गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य खर्चबाट जोगाउने लक्ष्यका साथ यो योजना ल्याइएको थियो । न्यून शुल्क तिरेर परिवारले निश्चित रकमसम्मको उपचार सुविधा पाउने व्यवस्था यस कार्यक्रमको प्रमुख आकर्षण मानिन्छ ।

सुदूरपश्चिम प्रदेशको कैलालीबाट सुरु गरिएको यो कार्यक्रम विस्तार हुँदै हाल प्रदेशका सबै जिल्लामा पुगिसकेको छ । भौगोलिक विकटता, जनचेतनाको अभाव र सेवा प्रवाहमा देखिएका समस्याका कारण अपेक्षित उपलब्धि हासिल गर्न कठिन भएको बताइएको छ ।

नवीकरणको कमी, सेवा गुणस्तरमा प्रश्न, भौगोलिक पहुँच समस्या, जानकारीको अभाव, विश्वासको कमीलगायतका कारण सरकारको लोकप्रिय मानिएको कार्यक्रममा आबद्धता, नवीकरणमा चासो कम रहेको बोर्डले जनाएको छ ।

बिमा बोर्डको कार्यालय प्रदेशका कार्यकारी निर्देशक जनक साउदले सुदूरपश्चिम प्रदेशमा अझै पनि स्वास्थ्य बिमा कार्यक्रम अपेक्षा गरिएअनुसार प्रभावकारी हुन नसक्नुमा जनचेतनाको अभाव, पर्याप्त स्रोतसाधनको अभाव, स्थानीय तहसँग समन्वय नहुनु, स्वास्थ्य प्रदायक संस्थाले प्रदान गर्ने सेवामा कमजोरीलगायत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य संस्थाका जनशक्तिलाई अभिमुखीकरण, क्षमता अभिवृद्धि गर्नुका साथै बिमामैत्री सेवाका लागि जिम्मेवार बनाउन आवश्यक रहेको छ ।” प्रदेशका ३४ वटा विभिन्न स्वास्थ्य संस्थाले बीमितलाई सेवा दिइरहेको छन् । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार पाँच जनासम्मको परिवारका लागि वार्षिक रु तीन हजार ५०० तिरेपछि स्वास्थ्य बिमाको परिचयपत्र दिइन्छ । पाँचभन्दा बढी सदस्य भएमा प्रत्येक व्यक्तिका लागि थप रु ७०० तिर्नुपर्छ ।

अतिविपन्न, अशक्त, अपाङ्ग, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालको क्षयरोग लागेका बिरामी र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा हुने प्रावधान छ ।

नेपालको विकास प्रयासमा जापानी सहयोगको सराहना

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले नेपालको विकास प्रयासमा जापान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभएको छ ।मन्त्रालयमा आज नेपालका लागि जापानी राजदूत मायदा तोरुले गर्नुभएको शिष्टाचार भेटमा गृहमन्त्रीले नेपालको आर्थिक–सामाजिक विकासमा जापानी सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्ग परियोजनासहित अन्य विभिन्न पूर्वाधार तथा विकास आयोजनाबारे चर्चा गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पु-याइरहेको उल्लेख गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपाल–जापानबीच विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानसम्बन्धी आवश्यकता औँल्याउँदै गृहमन्त्रीले विपद् व्यस्थापनसम्बन्धी अध्ययन तथा खोज अनुसन्धानका लागि विश्वविद्यालय स्थापनामा प्राविधिक सहयोग गर्न आग्रह गर्नुभयो ।

भेटमा राजदूत मायदाले जापानको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा नेपाली समुदायले प्रभावकारी योगदान पु-याइरहेको बताउनुभयो । उहाँले नेपाल–जापान आप्रवासन सहकार्यलाई थप व्यवस्थित र सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

समानुपातिक सांसदद्वारा प्रधानमन्त्री शाहको ध्यानाकर्षण

काठमाडौँ। समानुपातिक सांसदहरूले विभिन्न क्लस्टरका समस्या, चुनौती र समाधानका उपायबारे प्रधानमन्त्री वालेन्द्र शाहलाई ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा सांसदहरूले दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम समुदाय तथा पिछडिएका क्षेत्रका समस्या, चुनौती र सम्भावनाका विषयमा प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसदहरूले धार्मिक सहिष्णुता कायम हुनुपर्ने, वडामा महिला प्रतिनिधित्व यथावत राख्नुपर्ने, थारु समुदायका लागि आरक्षण व्यवस्था गरिनुपर्ने, दलित समुदायमाथि कायम विभेद अन्त्यका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने, संवैधानिक आयोगहरूका प्रादेशिक कार्यालय स्थापना गरिनुपर्ने, जनजातिको संयुक्त सङ्ग्रहालय स्थापना गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिका लागि नेतृत्व विकास, शिक्षा र सीपको अवसर विस्तार गर्नुपर्ने तथा चुरे संरक्षण गरिनुपर्नेलगायत माग राख्नुभएको थियो ।

मुस्लिम समुदायका सांसदहरूले मुस्लिम आयोगको प्रभावकारिता, मदरसा शिक्षाको आधुनिकीकरण, मुस्लिम विश्वविद्यालय स्थापना तथा ऐतिहासिक सम्पदाको संरक्षणमा जोड दिनुभएको थियो । साथै उहाँहरूले साम्प्रदायिक सद्भाव कायम राख्न आवश्यक पहल गर्न समेत प्रधानमन्त्री शाहसमक्ष आग्रह गर्नुभएको थियो ।

मधेस क्लस्टरका सांसदहरूले वैदेशिक रोजगारीका कारण बदलिँदो सामाजिक अवस्था, महिलाको जीवनशैलीमा देखिएका चुनौती, सिँचाइ व्यवस्थाको सुधार, मैथिली भाषाको प्रयोग तथा महिलाको आर्थिक सशक्तीकरणमा जोड दिनुभयो । उहाँहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन, दलित समुदायको उत्थान, राजनीतिक तथा संवैधानिक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न, परम्परागत पेसाको आधुनिकीकरण तथा शिक्षा र स्वास्थ्यमा पहुँच विस्तार गर्नुपर्ने माग राख्नुभयो ।

आदिवासी जनजातिका सांसदहरूले भाषा, संस्कृति, लिपि र परम्परागत सीप संरक्षणको विषय उठाउनुभएको थियो भने महिला सांसदहरूले महिलाको समग्र विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा विभिन्न सांसदहरूले आआफ्नो क्लस्टरका मुद्दा प्रस्तुत गर्दै समाधानका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत

रूपन्देही। सीमावर्ती भारतीय बजारबाट घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्रिने क्रम बढेपछि भैरहवा भन्सार कार्यालयले सयभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार महसुल लिने व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

मुख्य नाका बेलहिया, सीमावर्ती बजार फरेनियालगायत अन्य साना नाकाहरूमा कडाइ गरिएको छ । सीमावर्ती बजारबाट रु १०० बढीको समान ल्याए भन्सार महसुल बुझाउनुपर्ने भन्दै सशस्त्र प्रहरीले माइकिङ गरिरहेको छ । सरकारको निर्देशन र स्थानीय प्रशासनको सक्रियतामा विगतमा फितलो बनेको उक्त व्यवस्थालाई पुनः प्रभावकारी बनाइएको भन्सार कार्यालयले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुङ्गानाले अघिल्लो हप्तादेखि नै सो व्यवस्थालाई पूर्ण रूपमा लागू गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भारतीय बजारबाट फर्किने सर्वसाधारणलाई सम्झाइबुझाइ गर्दै रु १०० भन्दा बढी मूल्यका सामानमा भन्सार काट्ने कार्य भइरहेको छ ।

“सुरुका दिनमा जानकारी अभावका कारण सर्वसाधारणबाट गुनासो आएको थियो, तर अहिले सीमा नाकामा माइकिङमार्फत सचेतना फैलाइएको छ”, उहाँले भन्नुभयो, “यो व्यवस्थाले ठूलो मात्रामा राजस्व वृद्धि नगरे पनि चुहावट नियन्त्रण र कानुनी शासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

यसअघि पनि करिब डेढ वर्ष अगाडि स्थानीय व्यवसायीहरूको अगुवाइमा भैरहवा भन्सार कार्यालयले यो व्यवस्था लागू गरेको थियो । तर लागू गरेको करिब चार महिनामै कार्यान्वयन फितलो हुँदै गएको थियो ।

सीमावर्ती क्षेत्रबाट भारतीय बजार हुँदै फर्किने सर्वसाधारणले उक्त मूल्यका सामानमा भन्सार अनिवार्य गरिएको व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाएका थिए । अहिले पनि धेरैजसो उपभोक्ताले आफूहरूलाई उक्त नियमबारे पहिले नै पर्याप्त जानकारी नदिइएको गुनासो गरेका छन् । सीमा नाकामा पुगेपछि मात्र भन्सार तिर्नुपर्ने जानकारी पाउँदा अनपेक्षित झन्झट भएको उनीहरूको भनाइ छ ।

“हामीलाई पहिले नै जानकारी दिएको भए तयारी भएर आउँथ्यौँ, तर सीमानाकामै थाहा पाउँदा समस्या भएको छ”, एक सर्वसाधारणले गुनासो गर्नुभयो । उहाँले रु १०० को सीमा अत्यन्तै न्यून र अव्यवहारिक भएको बताउँदै सामान्य घरायसी सामानमा पनि भन्सार तिर्नुपर्ने व्यवस्था व्यवहारमा कठिन भएको बताउनुभयो ।

यसैगरी, उपभोक्ताहरूले स्वदेशी बजारमा वस्तुहरूको मूल्य तुलनात्मक रूपमा महँगो रहेको भन्दै ध्यानाकर्षण गराएका छन् । भारतीय बजारमा समान वस्तुहरू सुलभ मूल्यमा र केही अवस्थामा गुणस्तरीय रूपमा पाइने भएकाले सीमापार किनमेल गर्ने प्रवृत्ति बढेको उनीहरूको तर्क छ । “नेपालमै मूल्य सस्तो र सहज रूपमा सामान पाइने भए किन बाहिर जान्थ्यौँ र ?” अर्का एक उपभोक्ताले प्रश्न गर्नुभयो ।

यसैबीच, निजी क्षेत्रले उक्त कदमको स्वागत गरेको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले लामो समयदेखि व्यवसायीहरूले उठाउँदै आएको माग सरकारले सम्बोधन गरेको बताउनुभयो । उहाँले विगतमा पनि यस्तै व्यवस्था केही समय कार्यान्वयनमा आएर पुनः फितलो बनेको उल्लेख गर्दै अहिलेको कडाइले सीमापारबाट हुने अनियन्त्रित खरिद–बिक्री नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“सीमापारको बजारका कारण स्थानीय उद्योगी व्यवसायीहरू प्रतिस्पर्धामा टिक्न कठिन भएको अवस्था थियो”, अध्यक्ष आचार्यले भन्नुभयो, “नयाँ सरकार र गृहमन्त्रीको निर्देशनपछि सीमा क्षेत्रमा कडाइ हुनु सकारात्मक छ ।”

यद्यपि, उहाँले दैनिक ज्यालादारी मजदुर तथा न्यून आय भएका सर्वसाधारणलाई ध्यानमा राख्दै रु १०० को सीमालाई व्यवहारिक बनाउनेतर्फ पुनरावलोकन आवश्यक रहेको धारणा राख्नुभयो । “यो सीमा रु एक हजार ५०० देखि रु दुई हजारसम्म पु¥याउँदा व्यवहारिक हुने देखिन्छ”, उहाँले सुझाव दिनुभयो ।

उहाँले उपभोक्ताहरूलाई स्वदेशी बजारमै सामान खरिद गर्न आग्रह गर्दै व्यवसायीहरूलाई पनि न्यून नाफामा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो । भन्सार प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग समन्वय गर्दै सीमा क्षेत्रमा निगरानी बढाएको जनाएको छ । भन्सार छली तथा चोरी पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती र जाँचलाई थप प्रभावकारी बनाइएको हो ।

सूचना अधिकारी ढुङ्गानाले यो कार्य चुनौतीपूर्ण भए पनि कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । नियम कार्यान्वयनसँगै रायसी प्रयोजनका नाममा हुने अवैध आयात नियन्त्रणमा आउने, स्थानीय बजार चलायमान हुने र वैधानिक व्यापार प्रवर्द्धन हुने अपेक्षा गरिएको छ ।

बेनीका १५ विद्यालयको कक्षा घटुवा र एक वटा बन्द

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले यस वर्ष एक वटा विद्यालय बन्द, १५ विद्यालयको कक्षा घटुवा तथा तहमिलान गरेको छ । विद्यार्थी अभावका कारण बेनी नगरपालिका–५ मा रहेको चेतना आधारभूत विद्यालय बन्द भएको हो ।

कक्षा घटुवा, तह मिलान र बन्द भएका विद्यालयका ३२ जना शिक्षकहरूलाई विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूमा व्यवस्थापन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

१–३ तहको पठनपाठन हुँदै आएको चेतना आधारभूतमा नयाँ भर्ना हुने विद्यार्थी नभएकाले बन्द भएको गरिएको नगरपालिकाले जनाएको छ । यसअघि गत वर्ष बेनपा–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका थिए ।

१–३ तहको पठनपाठन हुने बेनपा–१ को ज्ञानपुञ्ज, २ को हंशबाहिनी, वडा नं ३ को नवज्योती र भूमे आधारभूतमा बालकक्षा मात्र कायम भएको नगरपालिकाले जनाएको छ । रत्नेचौरको भानु माविलाई १–१२ बाट १–८, गलेश्वरको जडभरत संस्कृति माविलाई १–१० बाट १–८, थाकनपोखरी र राधाकृष्ण आधारभूतलाई १–८ बाट १–५ मा झारिएको छ ।

१–५ तहका बराह, ज्ञानपुञ्ज, नवदुर्गा, विद्यामन्दिर, बरनाथ, स्यालीखेत र चन्द्रोदय आधारभूत विद्यालयमा १–३ कक्षा कायम भएको छ । नगरप्रमुख सुरत केसीले ‘जहाँ विद्यार्थी, त्यहाँ शिक्षक’ भन्ने १७ आँै नगरसभाको निर्णयअनुसार विद्यार्थी सङ्ख्या कम भएका विद्यालयका शिक्षकहरूको दरबन्दी बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयलाई उपलब्ध गराएको बताउनुभयो ।

“गत भदौ महिनामा कार्यदल बनाएर विद्यालयहरूको स्थलगत अनुगमन, विषयगत समिति, समुदाय र वडास्तरमा विभिन्न चरणमा भएको छलफलमा प्राप्त सुझावअनुसार गत चैत २७ गतेको कार्यपालिका बैठकले गरेको विद्यालयको तह र कक्षा कटुवा तथा शिक्षक व्यवस्थापनको निर्णय नयाँ शैक्षिकसत्रको सुरुआतसँगै कार्यान्वयनका लागि पत्राचार गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “अहिले तह र कक्षा घटाइएका विद्यालयमा विद्यार्थी सङ्ख्या भएमा तह र कक्षा थप गर्ने नीति लिएका छौँ ।”

कार्यपालिकाले गरेको तहअनुसारको प्रअ नियुक्ति गर्नका लागि पनि विद्यालयहरूलाई पत्राचार गरिएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताउनुभयो । माविमा मावि, १–८ तहको आधारभूतमा निमावी र १–५ को आधारभूतमा प्रावि तहका माथिल्ला बरियताक्रममा रहेका शिक्षक प्रअ हुने गरी शिक्षकहरूलाई व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

बन्द भएका विद्यालयहरूको भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न उपसमिति गठन भएको र उक्त सम्पत्ती तथा कागजात नजिकको विद्यालयमा राखिने नगरपालिकाले जनाएको छ । दोस्रो चरणमा तह समायोजन र पुलमा रहेका शिक्षकहरूलाई विषयगत रूपमा आवश्यकताको आधारमा विद्यालयमा खटाउने तयारी नगरपालिकाले गरेको छ । बेनी नगरपालिकामा ५५ वटा सामुदायिक विद्यालय छन् ।

सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै गएको छ । कक्षा सञ्चालनका लागि आवश्यक विद्यार्थी सङ्ख्या नपुगेपछि शैक्षिक सत्र २०७९ मा ११ र २०८० मा सात वटा विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरिएको थियो ।

तीव्र बसाइँसराइ, निजी विद्यालयतर्फको आकर्षण, अभिभावकको विश्वास जगाउन नसक्नु, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नु नसक्नुले सामुदायिक विद्यालय सङ्कटमा पर्न थालेका छन् भने विषयगत शिक्षक नपाउनु अर्को समस्या बनेको छ ।

अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

तेहरान। इरानले बुधबार सप्ताहन्तमा असफल वार्ता भएपछि पाकिस्तान हुँदै अमेरिकासँगको आदानप्रदानलाई निरन्तरता दिइएको बताएको छ ।इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभयो, “आइतबारदेखि इरानी प्रतिनिधिमण्डल तेहरान फर्केपछि पाकिस्तानमार्फत कैयौँ सन्देशहरू आदानप्रदान भएका छन् ।”

उहाँले भन्नुभयो, “आज हामीले इस्लामाबादमा हुने छलफलको निरन्तरताका रूपमा पाकिस्तानी प्रतिनिधिमण्डललाई स्वागत गर्ने सम्भावना छ।”केही दिनअघि घोषणा गरिएको दुई हप्ताको युद्धविरामको पृष्ठभूमिमा सप्ताहन्तमा अमेरिका–इरान वार्ता भएको थियो तर उनीहरूले युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्न असफल भएका थिए।

करिब २१ घण्टा चलेको वार्तामा उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल र संसदका सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी पक्ष सहभागी भएको थियो ।
त्यसबेला मुख्य मुख्य बिन्दुहरू आधिकारिक रूपमा खुलासा गरिएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि इरानलाई ‘स्ट्रेट अफ हर्मुज’ नखोलेकोमा आलोचना गरिएको र इरानले आफ्नो परमाणु कार्यक्रमको विषयमा स्वीकार गर्न अस्वीकार गरेको बताउनुभएको छ।

त्यसपछि समाचार रिपोर्टहरूमा भनिएको छ, “वाशिङ्गटनले इरानको युरेनियम संवद्र्धनमा २० वर्षको लागि राक्न माग गरेको थियो भने इरानले यसको बदलामा आफ्नो परमाणु गतिविधि पाँच वर्षका लागि स्थगित गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका थिए।”

बुधबार बकाईले वार्ताका क्रममा अमेरिकाले गरेका केही मागहरू ‘अनुचित र अव्यवहारिक’ भएको बताउनुभएको छ। उहाँले इरानको आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारमा जोड दिँदै यसलाई ‘दबाब वा युद्धको माध्यमबाट खोस्न सकिँदैन’ भन्नुभयो ।

उहाँले भन्नुभयो, “संवद्र्र्धनको स्तर ‘परक्राम्य’ छ र इरानले आफ्नो आवश्यकता अनुसार संवद्र्धन जारी राख्न सक्षम हुनुपर्दछ ।”बकाईले सोमबारदेखि इरानी बन्दरगाहमा अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीको आलोचना गर्दै यो सफल नहुने बताउनुभएको छ।उहाँले इरानले अमेरिकी सर्त स्वीकार गर्न कुनै पनि वार्तामा प्रवेश नगर्ने बताउनुभयो ।

इरान युद्धविरामको म्याद नथपिने

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको युद्धविरामलाई लम्ब्याउने सैद्धान्तिक सहमति जनाएको खबर आएपछि संयुक्तराज्य अमेरिका इरानसँगको युद्धविरामलाई दुई हप्ता लम्ब्याउने विषयमा औपचारिक रुपमा सहमत नभएको एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् ।नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले एएफपीसँग भने, “युद्धविराम लम्ब्याउने विषयमा अमेरिका औपचारिक रुपमा सहमत भएको छैन तर यो अवधिमा अमेरिका र इरानबीच सम्झौताका लागि निरन्तर वार्ता भइरहेको छ ।”

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो।

आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै वि.सं. २०६२÷६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग गठन गरिएको जानकारी दिए ।

बैठकले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप कोषका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने स्विस फ्राङ्क १ मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, आन्तरिक राजस्व विभागअन्तर्गत विभिन्न तहका कर्मचारीलाई कार्यक्षेत्रअनुसार अन्तरशुल्क अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरिएको छ भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरिएको छ ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८२ पनि पारित गरिएको छ । साथै, नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधिसभामा जानकारीका लागि पेश गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, २०८२ भदौ २३ र २४ गते भएको घटनाको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुवोध अधिकारी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि नै शासकीय सुधारअन्तर्गत भ्रष्टाचार नियन्त्रण र दण्डहीनता अन्त्य गर्ने लक्ष्यसहित सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।सरकारले गठन गरेको आयोगले कानुनी मापदण्ड र प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्ने तथा प्राप्त प्रतिवेदन र सिफारिसहरू सम्बन्धित निकायमार्फत कार्यान्वयन गरिने जनाएको छ ।

कालीगण्डकीमा बेपत्ता २९ वर्षीय बस्याल मृत फेला

पाल्पा। बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज मृत भेटिएका हुन् ।

नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । मङ्गलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका थिए ।

वन्यजन्तु सप्ताह : लाङटाङ राष्ट्रिय निकुञ्ज संरक्षणको यात्रा

रसुवा। नयाँ वर्ष २०८३ को सुरुआतसँगै हिमाली जैविक विविधताको धरोहर मानिएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षणका लागि चेतना अभिवृद्धि गर्ने उद्देश्यले वन्यजन्तु सप्ताह सुरु गरिएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमले संरक्षणप्रति समुदायस्तरमा चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । रसुवागढीदेखि नुवाकोटको दुप्चेश्वर हुँदै सिन्धुपाल्चोकको स्याउलेसम्म फैलिएको एक हजार ७१० वर्गकिमी निकुञ्ज क्षेत्र र आसपासका क्षेत्र समेटिएको करिब ४२० वर्ग किलोमिटर मध्यवर्ती भू–भागसहितको वन क्षेत्र जैविक विविधताको दृष्टिले नेपालको महत्त्वपूर्ण प्राकृतिक सम्पदा मानिन्छ ।

यही क्षेत्रमा पाइने वन्यजन्तु, वनस्पति तथा प्राकृतिक प्रणालीको दीर्घकालीन संरक्षणका लागि ‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग, समृद्धिको दिगो सेतु’ भन्ने मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो ।

संरक्षणको चुनौति

संरक्षणको उदाहरण बन्दै गएको लाङटाङ क्षेत्र विगत केही वर्षमा गम्भीर प्राकृतिक र मानवीय दबाबबाट गुज्रिएको थियो । दशकौँअघि यहाँका जङ्गल स्थानीय जीविकोपार्जन, अत्यधिक दाउरा कटान, चरन क्षेत्र विस्तार तथा अवैध सिकारका कारण क्रमशः कमजोर बन्दै गएको थियो ।

हिमाली क्षेत्रका दुर्लभ वन्यजन्तु–विशेषगरी रेडपाण्डा, कस्तुरी मृग र हिम चितुवाको अवैध सिकार एक समय ठूलो चुनौती बनेको थियो । जनसङ्ख्या वृद्धि, सडक विस्तार र चेतनाको अभावले वन्यजन्तुको बासस्थान खण्डित हुँदै गएको संरक्षणकर्मीहरू बताउँछन् ।

त्यसैबीच २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पहिरो तथा प्राकृतिक प्रकोपले लाङटाङ उपत्यकाका जङ्गल, वन्यजन्तुको मार्ग र पर्यावरणीय सन्तुलनमा असर परे पनि विस्तारै पुनः जीवनको रूपमा अगाडि बढेको छ । कतिपय स्थानमा वन्यजन्तुको आवास नै परिवर्तन हुन पुगेको थियो ।

संरक्षणको नयाँ अध्याय

यी चुनौतीपछि संरक्षणप्रति राज्य, स्थानीय समुदाय र संरक्षण संस्थाहरूको संयुक्त पहलले लाङटाङ क्षेत्रमा नयाँ अध्याय सुरु भयो । निकुञ्ज प्रशासन, नेपाली सेना, स्थानीय सरकार, सामुदायिक संस्था तथा संरक्षणकर्मीहरू मिलेर जैविक विविधता जोगाउने अभियान तीव्र बनाइयो ।

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले संरक्षणमा हालसम्मका गतिविधि सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी दिनमा जनसहभागितामूलक कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार संरक्षण कार्यमा आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

गैरसरकारी संस्था लाकोसका अध्यक्ष सन्तोष घलेले रेडपाण्डा संरक्षणका लागि खेलकुद, विशेषगरी भलिबल प्रतियोगितामार्फत, समुदायमा चेतना फैलाउँदै आएको जानकारी दिनुभयो । संरक्षणलाई सामाजिक अभियानसँग जोड्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका जिल्ला अध्यक्ष एवं नापी अधिकृत शिवजी केसीले जैविक विविधता संरक्षणमा सबै क्षेत्रको सहकार्य अपरिहार्य हुने बताउनुभयो ।

दुर्लभ वन्यजन्तुको सुरक्षित आश्रय

वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार लाङटाङ राष्ट्रिय निकुञ्जमा हाल ४६ प्रजातिका स्तनधारी जनावर पाइने अभिलेखमा उल्लेख गरिएको छ । यहाँ लोपोन्मुख रेडपाण्डा, हिमचितुवा, हिमाली ठूलो भालु, ब्वाँसो , पहरेबाँदर, बँदेल, कस्तुरी मृगलगायत महत्त्वपूर्ण प्रजातिहरूको बासस्थान रहेको छ ।

वन्यजन्तुविज्ञ डा मुकेशकुमार चालिसेले डाँफे, मुनाल, कस्तुरी मृगजस्ता दुर्लभ प्रजातिको उपस्थितिले लाङटाङ क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमै महत्त्वपूर्ण जैविक क्षेत्र बनाएको छ । लाङटाङ निकुञ्ज क्षेत्रमा अनेकौँ पंछीहरू रहेका छन् । संरक्षण सफल बनाउन समुदाय र निकुञ्जबीच हातेमालोका साथ अगाडि बढ्न डा चालिसेले सुझाव दिनुभयो ।

नेपाली कांग्रेसका पार्टी सचिव तथा लाङटाङ मध्यवर्ती काउन्सिल जिल्ला अध्यक्ष उत्तम थापाले नेपाली सेना र निकुञ्ज कर्मचारी २४ घण्टा संरक्षण कार्यमा खटिइरहेको जानकारी दिनुभयो ।

कानुनी संरक्षण र सुरक्षा घेरा

हिमाली राष्ट्रिय निकुञ्ज ऐन २०२९, नियमावली २०३६ तथा मध्यवर्ती क्षेत्र ऐन २०५६ अनुसार निकुञ्ज क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ । नेपाली सेनाको सिङ्गो गण परिचालन गरी नियमित गस्ती, अवैध चोरी सिकार नियन्त्रण र वन संरक्षणको काम भइरहेको संरक्षणकर्मीले बताएका छन् ।

संरक्षणमा समुदायको भूमिका

पहिले जङ्गललाई केवल स्रोतका रूपमा हेर्ने सोच अहिले परिवर्तन हुँदै गएको छ । स्थानीय बासिन्दा, पर्यटन व्यवसायी, विद्यार्थी, आमा समूह तथा युवा क्लबहरू संरक्षण अभियानमा जोडिन थालेका छन् । पर्यावरण संरक्षणसँगै पर्यापर्यटन, आयआर्जन र स्थानीय समृद्धि जोडिँदै गएको छ ।

संरक्षणको सन्देश

जङ्गल बच्यो भने वन्यजन्तु बच्छन्, वन्यजन्तु बचे भने हिमालको पर्यावरण र मानव जीवन सुरक्षित रहने विज्ञहरूको भनाइ पाइएको छ । वन्यजन्तु सप्ताह केवल कार्यक्रम मात्र नभई विनाशको अनुभवबाट सिकेर संरक्षणको संस्कृतिमा रूपान्तरण हुँदै गएको लाङटाङ निकुञ्जले जनाएको छ ।

शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा र उचित वातावरण तयार गर्न बेलायत सरकारको प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यका लागि आग्रह गरेका छन् ।

यस्तै, मन्त्री पोखरेलले नेपाली शिक्षकहरूको पेशागत क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यसमा बेलायतको आधुनिक शिक्षण पद्धति र अनुभव फलदायी हुने विश्वास व्यक्त गरे ।भेटमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरे ।

उनले भने, ‘नेपालको शैक्षिक रुपान्तरण र शिक्षकहरूको कार्यकुशलता अभिवृद्धिमा बेलायत सरकारको भूमिका सधैं सराहनीय छ, आगामी दिनमा यो सहकार्य अझै व्यापक हुने अपेक्षा राखेका छौँ ।’राजदूत रब फेनले नेपालको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनमा बेलायत सरकार सधैं सकारात्मक रहेको बताए । उनले नेपालमा ’ट्रान्सनेसनल एजुकेशन’
(अन्तरदेशीय शिक्षा) को सम्भावना र यसले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा चासो व्यक्त गरे ।

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौँ । राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ।

नेपाल सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं १५ मा शिक्षकको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा सुविधाको व्यवस्थापन आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने व्यवस्था मिलाउने उल्लेख भएबमोजम सो प्रबन्ध गर्न लागिएको हो।

राष्ट्रिय किताबखानाका महाप्रबन्धक श्रवणकुमार पोखरेलले उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा डिजिटल सर्भिस, इ–पेन्सनलगायतको सुविधा तथा सिटरोल दर्ताको प्रक्रियाअघि बढाउने गरी छलफल प्रारम्भ भएको बताउनुभयो । यसका लागि कार्यालयले कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाएको छ।

वैद्यखानाले अब ‘जिएमपी’ मापदण्ड अनुसार औषधि उत्पादन गर्ने

काठमाडौँ । सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य सङ्गठनको कुशल उत्पादन अभ्यास (जिएमपी) मापदण्डमा लैजाने तयारी गरिएको छ।

समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले चाँडै वैद्यखानाबाट उत्पादन हुने औषधि जिएमपी मापदण्डमा उत्पादन गरिने बताए । उनका अनुसार यसै वर्ष शिलाजित, मिमियालगायत औषधिलाई जिएमपी मापदण्डअनुसार उत्पादन गरिनेछ । आगामी आर्थिक वर्षदेखि चुर्ण र ट्याब्लेटलाई जिएमपी मापदण्डमा उत्पादन गरिने उनको भनाइ छ।

कार्यकारी निर्देशक केसीले आफू समितिको अध्यक्ष भएर आएदेखि औषधि उत्पादन बढेको बताए । उनका अनुसार १०३ प्रकारका औषधि उत्पादन गरिरहेको बताए। “हामीले लक्ष्यभन्दा बढी औषधि उत्पादन गरिरहेका छौँ । चालु आवमा ८४ औषधि उत्पादन गर्ने लक्ष्य भए पनि हामीले १०३ प्रकारका औषधि उत्पादन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैको सहयोगबाट वैद्यखानामा औषधि उत्पादन बढाइएको छ ।”

आव २०८१/८२ मा ७७ औषधि उत्पादन गर्ने भने तापनि ४० प्रकारका औषधि उत्पादन गरिएको थियो । यस्तै, आव २०८०/८१ मा १४ प्रकारका, आव २०७९/२०८० र आव २०७८/२०७९ मा १५ प्रकार, आव २०७७/०७८ मा २५ प्रकारका औषधि उत्पादन भइरहेको थियो।

कार्यकारी निर्देशक केसीले विगत पाँच वर्षदेखि घाटामा रहेको वैद्यखानालाई औषधि उत्पादन बढाएर नाफामा पु-याइएको बताए । वैद्यखानाले चालु आवमा वार्षिक ५५ हजार किलो बराबरको कच्चापदार्थबाट औषधि उत्पादन गर्दै आइरहेको छ । वैद्यखानाले हालसम्म १०१ खरिद आदेशमा सम्झौता भएर ८५ काम सम्पन्न गरिसकेको छ।

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।उक्त भेटघाटमा महामहिम राजदूतले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

साथै, नेपाल–जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, जापान सरकारद्वारा नेपालको आर्थिक तथा सामाजिक विकासमा पु¥याइँदै आएको सहयोग र आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा सारगर्भित छलफल भएको थियो।

भेटका क्रममा गृहमन्त्री गुरुङले निर्माणाधीन नागढुङ्गा सुरुङमार्गसहित विभिन्न पूर्वाधार आयोजनाको प्रगतिप्रति चासो व्यक्त गर्दै यस्ता परियोजनाले नेपालको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरे ।

त्यसैगरी, उनले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका क्षेत्रमा नेपाल र जापानबीच थप प्राविधिक सहकार्य, क्षमता अभिवृद्धि र अनुभव आदानप्रदान आवश्यक रहेको औँल्याए । साथै, विपद् व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि नेपालमा विश्वविद्यालय स्थापना गर्न जापानको प्राविधिक सहयोग र ज्ञान हस्तान्तरण आवश्यक रहेको धारणा पनि व्यक्त गरे ।

गृहमन्त्री गुरुङले जापानमा शिक्षा, रोजगारी तथा अन्य क्षेत्रमा अवसर प्राप्त गरेका नेपालीप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे।

सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन ।

चालु आर्थिक वर्षका लागि उपभोक्तामार्फत कार्यान्वयन गर्नेगरी बजेट विनियोजित भएका थिए ।

कार्यालयमार्फत चालु आवमा ७८ वटा सिँचाइ तथा नहर पुनस्र्थापनाका योजनाका लागि गण्डकी प्रदेश सरकारमार्फत रु १० करोड ४२ लाख बजेट विनियोजन भएको थियो । तीमध्ये २४ वटा योजना सम्पन्न भइसकेका छन् भने बाँकी ४४ वटा योजना कार्यान्वयनको चरणमा छन् । बाँकी १० योजना भने सम्झौता नै हुन नसकेको कार्यालय प्रमुख सागर भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्बन्धित किसान तथा उपभोक्ता समितिको सहभागिता नहुँदा ती योजना सम्झौता प्रक्रियामै रोकिएका छन् । “सम्झौताका लागि पटकपटक सूचना गर्दा पनि किसान आउनुभएको छैन, यसले गर्दा केही योजना अघि बढ्न सकेका छैनन्”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सम्झौता प्रक्रियामा सिँचाइ उपभोक्ता समिति गठन तथा दर्ता अनिवार्य हुनुका साथै प्रतिरोपनी एक सय रुपैयाँका दरले रकम जम्मा गर्नुपर्ने प्रावधान छ । गाउँस्तरमा उपभोक्ता समितिमा बस्ने व्यक्तिको अभाव, मूल्यवृद्धिका कारण नागरिकमा चासो घट्नु तथा प्रक्रियागत झन्झटले पनि सहभागिता कम भएको भट्टराईले जानकारी दिनुभयो ।

नेपाल किसान महासङ्घका अध्यक्ष रघुनाथ गौडेलले योजना सम्झौता नहुनुमा किसानमात्र दोषी नभएको बताउनुभयो । “योजनाबारे समयमै पर्याप्त जानकारी नपुग्नु, लागत साझेदारीको स्पष्टता नहुनु र प्रक्रिया जटिल हुनुका कारण किसान अलमलमा परेका छन्”, उहाँले भन्नुभयोे, “साना बजेटका योजनामा धेरै झन्झट र आर्थिक दायित्व हुँदा किसानको आकर्षण घटेको छ ।”

उहाँका अनुसार पछिल्लो समय बढ्दो महँगी, कामदार अभाव र कृषि पेसाप्रति घट्दो रुचिले पनि किसानलाई योजना प्रक्रियामा सक्रिय हुन कठिन भएको छ । “किसानलाई सहज बनाउनेगरी नीतिगत सुधार र सचेतना आवश्यक छ, नत्र यस्ता योजना कागजमै सीमित हुने जोखिम रहन्छ”, गौडेलले थप्नुभयो ।

कार्यालयका अधिकांश योजना रु पाँच लाखदेखि रु ३५ लाखसम्मका छन् । बजेट आकार सानो हुनु र कामदार अभावका कारण कार्यान्वयनमा पनि चुनौती देखिएको छ ।

समयमै सम्झौता हुन नसक्दा सिँचाइ पूर्वाधार विस्तारमा ढिलाइ हुने र खेतीपाती प्रभावित हुने चिन्ता बढेको छ । कार्यालयले भने बाँकी योजनाका लागि पुनः समन्वय र सूचना जारी गरी सम्झौता प्रक्रिया अघि बढाउने तयारी गरेको जानकारी दिएको छ ।

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

बागमती। आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग नियमित सञ्चालन गर्न माग गरिएको छ ।रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारले तयारी गरेपछि आर्थिक सङ्कटका कारण कहिले बन्द हुने र कहिले खुल्ने नियति सो उद्योगले भोग्दै आएको छ । सरकारले बन्द उद्योग सञ्चालन गर्ने घोषणा गरेकाले विभिन्न समस्यासँग जुध्दै अएको हेटौँडा उद्योग पनि नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरिएको हो ।

सिमेन्ट उद्योगलाई पुनः नियमित कसरी सञ्चालन गर्न सकिन्छ भने विषयमा सांसद प्रकाश गौतमले प्राथमिकता दिएको छ । हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधान गरी नियमित सञ्चालनका लागि सङ्घीय र बागमती प्रदेश सरकारसँग पहल गरिरहेको उहाँले बताउनुभयो ।

“हेटौँडा सिमेन्ट उद्योगलाई पुनः कसरी नियमित रूपमा सञ्चालन गर्न सकिन्छ भने विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग पनि कुरा गरेको छु”, सांसद गौतमले भन्नुभयो, “यसै विषयमा केही दिनअघि बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि छलफल गरेको छु, उहाँहरूले पनि सकारात्मक आश्वासन दिनुभएको छ ।” उद्योगका कर्मचारीहरूसँग पनि यस विषयमा अन्तक्र्रिया गरेको छु, सबैबाट राम्रै सुझाव आएको छ”, उहाँले भन्नुभयो ।

“उद्योग चलाउन सकिने सम्भावना देखिन्छ, उद्योग रुग्ण हुनुमा व्यापारिकभन्दा पनि सरकारी भएपछि सेवामूलक, तलबमात्र खाने बाटो बनाएको जस्तो मात्र्रै देखिन्छ”, उहाँले भन्नुभयो, “उद्योगमा हुँदै आएको राजनीतिक हस्तक्षेप, आन्तरिक रूपमा हुने भ्रष्टाचार रोक्न सकियो र नयाँ व्यवस्थापन टिम बनाउन सकियो भने उद्योग चलाउन सकिने सम्भावना देखिन्छ ।” त्यसैका लागि म प्रयास गरिरहेको छु, छिट्टै सकारात्मक परिणाम आउन सक्नेमा विश्वास्त छु, उहाँको कथन छ ।

उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा गत भदौको १९ देखि २४ गतेसम्म पाँच दिनमात्र उद्योग सञ्चालन भएको छ । सो अवधिमा दुई हजार ५०० टन क्लिङ्कर र करिब ३० हजार बोरा सिमेन्ट उत्पादन भएको उद्योगका निमित्त महाप्रबन्धक डा शिवनारायण साह बताउनुभयो ।

गत चैत १३ गतेदेखि उद्योगले पुनः क्लिङ्कर उत्पादन प्रक्रिया सुरु गरे पनि कच्चा पदार्थ नहुँदा पुनः रोकिएकोछ । अघिल्लो महिनामा कोइला खरिदका लागि बोलपत्र आह्वान गरिए पनि पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आउन नसकेकाले एकदुई दिनमा पुनः उद्योग बन्द हुने निमित्त प्रमुख डा साहको भनाइ छ ।

“अहिले मौज्दात रहेको कच्चा पदार्थबाट क्लिङ्कर उत्पादन हुँदैछ, क्लिङ्करबाट सिमेन्ट उत्पादन गरेर प्याकिङ हुन्छ”, निमित्त महाप्रबन्धक साहले भन्नुभयो, “अबको एकदुई दिनमा उत्पादन ठप्प हुन्छ, तर नियमित खर्च जस्ताको त्यस्तै छ”, डा साहले भन्नुभयो, “उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीहरूको तलबभत्ता दिनै परेको छ, केही इन्धन खर्च र समान्य मर्मत खर्च भइरहेकै छ ।” जसका कारण उद्योगमा आर्थिक समस्या त बढ्दै जाने कुरा त भइनै हाल्यो, उहाँले भन्नुभयो ।

“उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक एक सय २० टन कच्चा पदार्थ कोइलाको आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन ।” यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी पनि गर्न सकिएको छैन भन्नुभयो ।

सो उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत छन् । आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको लामो समयदेखि महसुल बुझाउन नसकिँदा अहिले बक्यौता थपिएको छ ।

“विद्युत् उपभोग त गरियो तर महसुल बुझाउन सकिएन”, उहाँले भन्नुभयो, “अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी भने भन्न नसकिए पनि करिब ३०÷४० करोड जति बक्यौता बाँकी छ होला ।” त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उहाँको कथन छ ।

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरण पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकहरूको भनाइ छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ४५, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ७० र भन्टा डल्लो प्रतिकिलो रु ८० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु ९०, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ११०, भटमास कोसा प्रतिकिलो रु ३४०, तीते करेला प्रतिकिलो रु ८०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु १००, चिचिन्डो प्रतिकिलो रु ७०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ५० र स्कुस प्रतिकिलो रु ७० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ७०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ४०, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ५०, सजीवन प्रतिकेजी रु १२०, कोइरालो प्रतिकिलो रु २७०, रातो बन्दा प्रतिकिलो रु ४०, ग्याठकोभी प्रतिकिलो रु ५०, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकेजी रु १२०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमुला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु २५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३८०, अङ्गुर (हरियो) प्रतिकिलो रु २३०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ९० र किबी प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ ।

यसैगरी, एभोकाडो प्रतिकिलो रु ८००, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४८०, खुर्सानी (हरियो) प्रतिकिलो रु १००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ८०, माछे खुर्सानी प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु १३०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १४०, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु १००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३१० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

विराट गोल्ड कप फुटबल प्रतियोगिताः सम्राट स्पोर्टिङ विजयी

मोरङ। विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत सम्राट स्पोर्टिङ क्लब विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।विराट गोल्ड कप फुटबल ट्रष्टद्वारा विराटनगरको सहिद रङ्शालाको ‘फ्लडलाइट’मा (रात्रिकालीन) नकआउट आधारमा मङ्गलबार सम्पन्न खेलमा सम्राटले भारतको झारखण्डस्थित विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित गर्दै समिफाइनलमा प्रवेश गरेको छ ।

विर्सामुण्डाका शङ्कर किस्कुले ४४आँै मिनेटमा गोल गरेका थिए भने खेलको ५०औँ मिनेटमा सम्राटका मौसम लिम्बू, ८६औँ मिनेटमा प्रताप तामाङले गोल गरे । खेलको अतिरिक्त (इन्जुरी) समयमा प्रताप तामाङले पुनः दोस्रो गोल गर्दै टोलीलाई ३–१ को अन्तरले विजयी बनाएका छन् । उत्कृष्ट प्रदर्शन गरेका प्रताप तामाङ प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता आगामी २०८३ वैशाख ५ गतेसम्म हुने र नेपाल र भारतका गरी आठवटा टोलीले भाग लिएका छन् । विराटनगर गोल्ड कपको ३८औँ संस्करणमा विजेता हुने टिमले रु ११ लाख, उपविजेताले रु पाँच लाख, उत्कृष्ट प्रशिक्षकलाई रु १५ हजार, उत्कष्ट गोलरक्षकलाई रु १५ हजार, सर्वाधिक गोलकर्तालाई रु १५ हजार, सर्वोकृष्ट खेलाडीलाई रु ५१ हजार र दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद रु ११ हजार पुरस्कार प्राप्त गर्ने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । रासस

आईपीएल : चेन्नईसँग कोलकाता ३२ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो ।चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए ।

आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।

१९३ रनको लक्ष्य पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६० रनमात्र बनाउन सक्यो ।५ खेलमा दोस्रो जित हात पारेपछि चेन्नई एक स्थान माथि उक्लिएर आठौँमा पुगेको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ ।

प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूसँग आज विशेष छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग आज छलफल गर्ने भएका छन् ।आज मध्याह्न १२ बजे शिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छलफल गर्ने भएका हुन् ।

कार्यक्रममा सांसदहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् ।

यस अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ । कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गर्ने

काठमाडौँ। आजदेखि देशका सात सय ५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो ।

व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ ।यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् ।

त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्ताह मनाउन आग्रह गरिसकेको छ ।

पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्‍याउने सरकारको प्रतिबद्धता

काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पुर्‍याइने प्रतिबद्धता जनाएको छ । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्‍याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।

प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलियतलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उल्लेख गरिएको छ ।

यसै गरी प्रत्येक प्रदेशमा एक अत्याधुनिक अपाङ्गता पुनः स्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ ।

जलन पीडितलाई निःशुल्क उपचार

सरकारले जलन पीडितलाई निःशुल्क र गुणस्तरीय उपचार तथा मानसिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याइने जनाइएको छ ।

प्रतिबद्धतामा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याइने, समग्र स्वास्थ्य प्रणाली सुधारका लागि आधारभूत स्वास्थ्यमा न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडल लागू गरिने, सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाको पुनः संरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको वर्गीकरण गुणस्तर निर्धारण गरिने उल्लेख छ । ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ सञ्चालन गरिने छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक

प्रतिबद्धतामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक जना चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका एमडिपिजी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइने बताइएको छ ।
यस्तै, गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्तिको बिमा वा निःशुल्क उपचार तथा अनिवार्य श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख छ ।

रोग लागेपछि उपचार होइन रोग नै लाग्न नदिने अवस्था सृजना, स्वस्थ हावापानी, वातावरण र सक्रिय जीवनशैली प्रोत्साहन गरी ‘म स्वस्थ मेरो परिवार स्वस्थ्य’ भन्ने महाअभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।

स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योगध्यानलाई जोडी प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गरिनाका साथै पाठ्यक्रममा योग, ध्यान र आरोग्य पर्यटन समावेश गरिने प्रतिबद्धतामा उल्लेख छ ।उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३/८४ को र त्यसपछिका वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार ‘एजेन्डा’मा आबद्ध गरिने जनाइएको छ ।

सशस्त्र प्रहरीद्वारा राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाई

झापा, २ बैशाख: राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाई गर्न थालेको छ ।सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएका र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि यहाँ कडाई गरिएको हो ।

यहाँ सशस्त्र प्रहरी बलले मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवललगायत सीमा नाकामा रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ ।

भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी मदन रसाइलीले बताउनुभयो । गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको उहाँले बताउनुभयो ।सीमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले देशैभरका नाकामा झापामा जस्तै निगरानी बढाइरहेको जनाइएको छ ।