`

सुडानमा अन्तरसमुदायिक हिंसा बढ्दा मानवीय सहायता प्रभावित : संयुक्त राष्ट्रसङ्घ

Nepal One HD १९ जेठ २०८३ १९:०९
विश्व

संयुक्त राष्ट्रसंघ। पश्चिमी सुडानका डार्फुर र कोर्डोफान क्षेत्रहरूमा जारी युद्धका बीच अन्तरसमुदायिक हिंसा बढ्दै गएको तथा हैजाको सम्भावित प्रकोपले मानवीय सङ्कट थप जटिल बनाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयका अनुसार, मध्य डार्फुर र दक्षिण डार्फुर प्रदेशहरूमा प्रतिद्वन्द्वी समुदायबीच भएको झडपमा मानवीय क्षति भएको छ भने हजारौं मानिस विस्थापित भएका छन् । केही परिवारहरू छिमेकी देश चाडतर्फ पलायन गर्न बाध्य भएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, “बढ्दो असुरक्षाले मानवीय सहायता सञ्चालनमा समेत अवरोध पु¥याइरहेको छ । मध्य डार्फुरमा करिब २१ हजार मानिसलाई लक्षित मानवीय गतिविधि झडपका कारण स्थगित गरिएको छ ।”

यसैबीच, पश्चिम कोर्डोफानमा हैजाको आशंकित प्रकोप फैलिइरहेको छ। आइतबारसम्म ३०० भन्दा बढी आशंकित संक्रमित र ७७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

स्वास्थ्य साझेदार संस्थाहरूले प्रतिक्रिया जनाइरहेका भए पनि अत्यावश्यक सामग्री तथा स्रोतसाधनको अभावले उनीहरूको काम प्रभावित भएको बताइएको छ। मार्च महिनामा देशव्यापी हैजा प्रकोप अन्त्य भएको घोषणा गरिए पनि त्यस क्रममा १ लाख २४ हजारभन्दा बढी संक्रमित र तीन हजार ५०० भन्दा बढी मृत्यु भएका थिए ।

 

वर्षायाम सुरु भएसँगै हैजा तथा पानीजन्य अन्य रोगहरूको जोखिम अझ बढ्ने चेतावनी दिइएको छ। खानेपानी तथा अन्य आधारभूत पूर्वाधारमाथि भइरहेका आक्रमणका कारण स्वच्छ पानीको पहुँच थप कठिन बनेको बताइएको छ ।

गत हप्ता मनाइएको ईद अल–अधा पर्वको अवधिमा पनि डार्फुर र कोर्डोफानका विभिन्न क्षेत्रमा युद्ध चर्किँदा दर्जनौं सर्वसाधारणको ज्यान गएको जनाइएको छ ।

उत्तर कोर्डोफानको बारा क्षेत्रमा भएको भिडन्तमा कम्तीमा एक दर्जन सर्वसाधारण मारिएका, धेरै परिवार विस्थापित भएका तथा मानवीय आवश्यकताहरू बढेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार पछिल्ला केही दिनमा मात्रै दुई हजार २०० भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

पश्चिम कोर्डोफानको कादाम क्षेत्रमा भएको ड्रोन आक्रमणमा कम्तीमा ८ सर्वसाधारणको मृत्यु भएको तथा धेरै घाइते भएका स्थानीय स्रोतहरूले बताएका छन् ।

त्यस्तै, मध्य डार्फुरको उम दुखुन सहरमा शनिबार भएको अर्को ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले सबै पक्षलाई सर्वसाधारण तथा नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न र मानवीय सहायता पहुँच सहज बनाउन पुनः आग्रह गरेको छ ।

साथै, सुडानका लागि आवश्यक २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता अपिल वर्षको मध्यसम्म आइपुग्दा केवल २२ प्रतिशत मात्र वित्तीय सहयोग प्राप्त भएकाले थप अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *