हिरासतबाटै विद्रोहको सन्देश दिने २९ वर्षीया नेहा बोरा को हुन्?
एजेन्सी। प्रहरीको अवरोध छिचोल्दै प्रदर्शनमा अघि बढ्ने, ब्यारिकेडमाथि चढेर मुट्ठी उचाल्दै नारा लगाउने र पक्राउ परेपछि पनि समर्थकलाई आन्दोलन नरोकिन आग्रह गर्ने २९ वर्षीया नेहा बोरा पछिल्लो समय भारतको युवा आन्दोलनमा चर्चित अनुहार बनेकी छन्।
वामपन्थी विद्यार्थी राजनीतिबाट उदाएकी उनी शिक्षा, बेरोजगारी, परीक्षा प्रणाली र निर्वाचन प्रक्रियासम्बन्धी विवादमा सरकारको जवाफदेहिता माग्दै सडकमा सक्रिय छिन्।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध भइरहेका प्रदर्शनमा बोराको उपस्थिति र प्रहरीसँगको मुठभेडका दृश्य सामाजिक सञ्जालमा फैलिएका छन्। उनको राजनीतिक सक्रियताले विद्यार्थी आन्दोलनलाई विश्वविद्यालयको सीमाबाट बाहिर निकालेर राष्ट्रिय बहसमा पुर्याउन सहयोग गरेको छ।
अक्टोबर १० मा नयाँदिल्लीको जन्तर मन्तरमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बोरालाई नियन्त्रणमा लिएको थियो। प्रदर्शनकारीलाई जन्तर मन्तरतर्फ जान रोकिएपछि उनले दिल्ली हाटमा भेला हुन समर्थकलाई आह्वान गरेकी थिइन्। ‘आज दिल्ली हाट नै जन्तर मन्तर बन्छ’ भन्ने सन्देश दिँदै उनी नाराबाजीसहित अघि बढेकी थिइन्।
प्रहरीले नियन्त्रणमा लिएपछि पनि उनले विरोधका कार्यक्रम नरोकिने बताइन्। हिरासतमा रहेको अवस्थाबाटै समर्थकलाई आन्दोलन जारी राख्न आग्रह गरेको भिडियो सार्वजनिक भएपछि उनी थप चर्चामा आइन्। उनी सोही दिन रिहा भएकी थिइन्।
बारम्बार पक्राउ पर्ने र रिहाइपछि फेरि प्रदर्शनमा सहभागी हुने उनको शैलीले उनलाई भारतको युवा राजनीतिको परिचित अनुहार बनाएको छ।
नेहा बोराको जन्म भारतको उत्तरी राज्य उत्तराखण्डमा भएको हो। भारतीय सेनामा कार्यरत उनका बुबाको सरुवाका कारण बाल्यकालमा उनले विभिन्न सहरमा बस्ने अवसर पाइन्। उनले दिल्ली विश्वविद्यालयबाट स्नातक र अम्बेडकर विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। हाल उनी जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा कला तथा सौन्दर्यशास्त्रसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेकी छन्।
जेएनयू भारतमा विद्यार्थी राजनीति र वामपन्थी विचारधारासम्बन्धी बहसका लागि परिचित विश्वविद्यालय हो। यही वातावरणमा बोराको विद्यार्थी आन्दोलनप्रतिको संलग्नता गहिरिँदै गएको हो। यद्यपि, उनको राजनीतिक चेतनामा विश्वविद्यालयको अध्ययनसँगै थिएटर अर्थात् नाट्यकर्मको पनि प्रभाव परेको छ।
स्नातक अध्ययनका क्रममा उनी एउटा नाट्य समूहमा आबद्ध भएकी थिइन्। अभिनय गर्दा आफूभन्दा फरक विचार र जीवनपरिस्थिति भएका पात्रको भूमिका निर्वाह गर्नुपर्दा अरूको दृष्टिकोण बुझ्ने अवसर पाएको उनले बताएकी छन्। रोयटर्ससँगको कुराकानीमा उनले थिएटरले आफूलाई फरक पृष्ठभूमिका मानिसको जीवन र सोच बुझ्न मद्दत गरेको उल्लेख गरेकी थिइन्।
बोराको राजनीतिक यात्रामा सन् २०१९ र २०२० मा भारतमा नागरिकता संशोधन कानुनविरुद्ध भएको आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको थियो। उक्त कानुनले मुस्लिम समुदायप्रति विभेद गर्ने भन्दै भारतका विभिन्न भागमा विरोध प्रदर्शन भएका थिए। विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रिएको दृश्यले उनलाई पनि राजनीतिक गतिविधिमा थप सक्रिय हुन प्रेरित गरेको थियो।
त्यसपछि उनी अखिल भारतीय विद्यार्थी संघ अर्थात् अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआईएसए) मा आबद्ध भइन्। यो भारतको वामपन्थी विद्यार्थी संगठन हो। बीबीसीका अनुसार बोरा करिब एक दशकदेखि संगठनमा आबद्ध छिन् र पछिल्ला दुई वर्षदेखि यसको राष्ट्रिय अध्यक्षको जिम्मेवारीमा छिन्।
उनलाई राष्ट्रिय स्तरमा चिनाउन परीक्षा प्रणालीमा कथित अनियमितता र शिक्षा सुधारको मागसहित भएका आन्दोलनले पनि भूमिका खेले। सन् २०२६ मा प्रश्नपत्र चुहावटसम्बन्धी आरोप तथा शिक्षा क्षेत्रका समस्यालाई लिएर विद्यार्थी प्रदर्शन चर्किएको थियो। आन्दोलनकारीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत मागेका थिए। बोरा र एआईएसए उक्त आन्दोलनमा सहभागी थिए।
जुन २८ मा शिक्षाविद् तथा वैज्ञानिक सोनम वाङ्चुकले आन्दोलनको समर्थनमा अनशन सुरु गरेपछि बोरा र एआईएसएका केही अभियन्ता पनि अनशनमा बसेका थिए। वाङ्चुक र अन्य प्रदर्शनकारीलाई अस्पताल लगिएपछि पनि बोराले अनशन जारी राखेको विवरण सार्वजनिक भएको थियो। त्यस क्रममा उनले आन्दोलन जारी रहने र स्वास्थ्यमा सुधार भएपछि फेरि सडकमा फर्किने बताएकी थिइन्।
शिक्षासम्बन्धी आन्दोलनपछि बोराको सक्रियता निर्वाचन प्रक्रियासम्बन्धी विवादमा पनि देखिएको छ। अक्टोबरमा कक्रोच जनता पार्टी (सीजेपी) ले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै नयाँदिल्लीमा प्रदर्शनको आह्वान गरेको थियो। मतदाता नामावली व्यवस्थापनमा अनियमितता भएको र करिब १३ करोड मतदाताको नाम हटाइएको आन्दोलनकारीको आरोप थियो। उनीहरूले यसबाट प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुगेको दाबी गरेका थिए।
तर, निर्वाचन आयोगले पक्षपात गरेको आरोप अस्वीकार गरेको छ। भाजपाले पनि निर्वाचन प्रक्रियामा अनियमितता भएको दाबी अस्वीकार गरेको छ। बोरा सीजेपीकी सदस्य नभए पनि आफ्नो संगठन एआईएसएसहित प्रदर्शनमा सहभागी भएकी थिइन्। सोही क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका दृश्य सार्वजनिक भएपछि उनको चर्चा अझ बढ्यो।
बोराको भाषण शैली पनि उनको परिचयको एउटा महत्त्वपूर्ण पक्ष हो। सामान्य कुराकानीमा शान्त देखिने उनी सार्वजनिक मञ्चमा भने जोसिलो रूपमा प्रस्तुत हुन्छिन्। हिन्दी र अंग्रेजी दुवै भाषामा बोल्ने उनले संविधान, लोकतान्त्रिक अधिकार, शिक्षा, सामाजिक असमानता र सरकारको जवाफदेहिताजस्ता विषय उठाउँदै आएकी छन्।
उनले विद्यार्थीका समस्यालाई परीक्षा वा कक्षाकोठामा सीमित मुद्दाका रूपमा मात्रै प्रस्तुत गर्दिनन्। परीक्षा प्रणालीको विश्वसनीयता, रोजगारीको अभाव र प्रहरीको व्यवहारलाई युवाको भविष्य तथा नागरिक अधिकारसँग जोडेर व्याख्या गर्छिन्। बीबीसीसँगको कुराकानीमा उनले सामाजिक परिवर्तनका लागि सडक आन्दोलनको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेकी थिइन्।
उनको राजनीतिक विचारले पारिवारिक जीवनमा समेत मतभेद सिर्जना गरेको छ। बीबीसीसँग उनले आफ्ना आमाबुबा भाजपाका समर्थक रहेको र आफूले लिने राजनीतिक अडानका कारण परिवारमा असहमति हुने गरेको बताएकी छन्।
बोराको राजनीतिक सक्रियतासँगै विवाद पनि जोडिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध कथित आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध भाजपाले कम्तीमा तीनवटा प्रहरी उजुरी दिएको थियो। त्यसअघि एआईएसएले बोरालाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएको विवरण पनि सार्वजनिक भएको थियो।
झारखण्डमा विद्यार्थीसम्बन्धी प्रदर्शनमा सहभागी भएका बेला उनीमाथि एक व्यक्तिले मसी फ्याँकेको घटना पनि चर्चामा आएको थियो। प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको थियो।
बोराले आफ्नो राजनीतिक सक्रियतालाई देशमा वर्षौंदेखि जम्मा हुँदै आएको असन्तुष्टिसँग जोडेर हेर्ने गरेकी छन्। रोयटर्ससँगको कुराकानीमा उनले ‘डर संक्रामक हुन्छ, तर आशा पनि संक्रामक हुन्छ’ भन्ने धारणा व्यक्त गरेकी थिइन्। उनका अनुसार मानिसमा साहस बढ्नुको एउटा कारण आफूहरूले पनि परिवर्तनका लागि आवाज उठाउन सक्छौँ भन्ने विश्वास पैदा हुनु हो।
२९ वर्षीया बोरा अहिले विद्यार्थी नेतृ, वामपन्थी अभियन्ता र भारतको युवा आन्दोलनको चर्चित अनुहारका रूपमा देखिएकी छन्। थिएटरबाट सुरु भएको सामाजिक बुझाइ, विश्वविद्यालयको अध्ययन र विद्यार्थी संगठनमा लामो आबद्धताले उनलाई सडक आन्दोलनसम्म पुर्याएको छ।
उनलाई चर्चामा ल्याउन सामाजिक सञ्जालमा फैलिएका भाषण, प्रदर्शन र गिरफ्तारीका दृश्यले पनि ठूलो भूमिका खेलेका छन्।
प्रहरीको नियन्त्रणमा पुगेपछि पनि आन्दोलन जारी राख्न गरेको आह्वानले उनको सार्वजनिक छविलाई थप बलियो बनाएको छ। शिक्षा, रोजगारी र निर्वाचन प्रक्रियासम्बन्धी मुद्दामा उनको सक्रियताले भारतको युवा राजनीतिमा नयाँ बहस जन्माइरहेको छ।
