गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटन प्राथमिकतामा
गण्डकी। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नागरिकको दैनिक जीवनमा अनुभूत हुनेगरी प्रभावकारी सेवा प्रवाह, समावेशी विकास, सुशासन र सार्वजनिक उत्तरदायित्व सुनिश्चित गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उहाँले बताउनुभयो । ‘आत्मनिर्भर र समुन्नत प्रदेश: सुखी प्रदेशवासी’ को दीर्घकालीन सोचलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्दै ल्याइएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।
‘सम्मानजनक कृषि : प्रदेशको दृष्टि’ भने आदर्श वाक्य तय गर्दै कृषिलाई सम्मानजनक पेशाको रूपमा स्थापित गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र व्यवसायीकरणमा जोड दिइएको छ ।
विदेश तथा स्वदेशका विभिन्न सहरबाट गाउँ फर्केर व्यासायिक कृषि र कृषि उद्योग सञ्चालन गर्न चाहाने व्यक्तिलाई व्यवसाय कर्जामा ब्याज अनुदान दिँदै ‘रिर्टन टु भिलेज’ अभियान सञ्चालन गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो । कृषि उत्पादनको बजार पहुँच र न्यायोचित मूल्यका लागि ‘कृषि एप’ को विकास गरिने जनाइएको छ । कृषि उपजको सहज बजारीकरणका लागि कृषि कृषि एम्बुलेन्स सेवाको प्रभावकारी कार्यान्वयन गरिने भएको छ ।
अन्तरप्रदेश साझेदारीमा कृषि उपज गुणस्तर परीक्षण तथा स्तरीकरणका लागि प्रयोगशाला स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आवमा १० वटा स्थानीय तहलाई ‘पशुमा पूर्ण खोप स्थानीय तह’ घोषणा गर्दै चालु पञ्चवर्षीय योजना अवधिभित्रै प्रदेशलाई पूर्ण पशु खोपयुक्त प्रदेश घोषणा गरिने भएको छ । कृषि बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । जग्गा चक्लाबन्दी, आलु तथा चैते धान प्रवर्द्धन कार्यक्रम, करिडोर लक्षित कृषि विकास कार्यक्रम आदिलाई निरन्तरता दिइने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।
पर्यटकीय राजधानी पोखरामा अन्तर मन्त्रालय तथा निकायको समन्वयमा एकीकृत पर्यटन विकास अवधारणा कार्यान्वयन गरिने भएको छ । दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, देवघाट, त्रिवेणीधामजस्ता धार्मिकस्थल जोड्ने गरी ‘धार्मिक पर्यटन परिपथ’ विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेश अनि परदेश’ र ‘लेक टु लेक’ कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । मनाश्लु, अन्नपूर्ण र धवलागिरि हिमाल तथा ढोरपाटन क्षेत्रको पर्यटकीय सम्भावनालाई विश्वस्तरमा चिनाउन पदमार्ग स्तरोन्नति तथा वैकल्पिक पदमार्ग पहिचान र विकास गरिने भएको छ ।
मोदीवेणीधामदेखि बागलुङको भैरवस्थापन र पर्वतको पुर्कोटसम्म धार्मिक पदमार्ग निर्माण गरिने जनाइएको छ । लिगलिगकोट–गोरखा दरबार–मनकामना पदमार्गलाई नेपाली सभ्यताको चिनारी तथा नेपाल एकीकरण मार्गका रूपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । छिमेकी देश भारत र चीनबाट नेपाल आउने पर्यटक सङ्ख्यालाई आगामी पाँच वर्षभित्रमा दोब्बर बनाउने लक्ष्यका साथ ‘गण्डकी जाऔँ ः प्रकृति र संस्कृतिसँग रमाऔँ’ अभियान सञ्चालन गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो ।
‘एक जिल्ला, एक पर्यटकीय गन्तव्य’ विकासको नीति अवलब्बन गरिने जनाइएको छ । प्रदेशको समुन्नतिका आधारका रूपमा लोकाहाखोला र पुँडीटार औद्योगिक क्षेत्रलाई सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि सङ्घ सरकारसँग समन्वय गरिने जनाइएको छ । घरले मदिराको उत्पादन, ब्राण्डिङ, वितरण र नियमनलाई व्यवस्थि तगर्न जारी गरिएको गण्डकी प्रदेश घरेलु मदिरा ऐन कार्यान्वयनमा ल्याइने भएको छ ।
औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रदेशसभाको चालु अधिवेशनबाट स्वीकृत गरी कार्यान्वयन गरिने जनाइएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक विकास, सञ्चार, लगानी प्रवर्द्धन, सडक पूर्वाधार, सिँचाइ, खानेपानीलगायत क्षेत्रमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
सन्तुलित विकास, सामाजिक सद्भाव, दिगो शान्ति र राजनीतिक स्थायित्व सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयलाई थप सुदृढ तुल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
