`

बालेनको ‘प्रविधि छैन’ भनाइमा हर्कको व्यंग्य- ‘मान्छे मंगलग्रह पुगिसक्यो, हिलो निकाल्न सकेनौँ ?’

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले हिलोले पूर्णरूपमा थुनिएको टनेलबाट तत्काल उद्धार गर्न सक्ने प्रविधि विश्वमै नभएको बताएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कटाक्ष गरेका छन्।

साम्पाङले मानिस मंगलग्रहसम्म पुगिसकेको अवस्थामा हिलो निकाल्ने प्रविधि नभएको भन्नु आश्चर्यजनक भएको टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘हिलो निकाल्ने प्रविधि छैन भनेर भन्ने प्रधानमन्त्रीले मान्छे मंगलग्रह पुग्यो भनेर थाहा नपाएकै हो। टेक्नोलोजीको कुरा गर्नेहरूको एआई प्रधानमन्त्रीले यो खाले अभिव्यक्ति दिँदा बेल्चाको याद आयो नि नाइँ ?’

नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । नेपाल प्रहरीले प्रधानमन्त्री राहत कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई तत्काल प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

बाढीमा २८ प्रहरी सम्पर्कविहीन भएकोमा हालसम्म तीन जनाको शव फेला परेको छ। बेपत्ता प्रहरीको खोजीका लागि विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ।दिवंगत प्रहरीका परिवारले लिएको विशेष सापटी मिनाहा गर्ने, परिवारका एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीमा पहल गर्ने र सन्ततिलाई शैक्षिक शुल्क मिनाहासहित अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत भएको छ।

शंकर ग्रुपको विपद् प्रभावितलाई साथ, प्रधानमन्त्री राहत कोषमा ४ करोड सहयोग

काठमाडौं । विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ। सोमबार ग्रुपकी निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।

यसअघि ग्रुपले गृह मन्त्रालयको समन्वयमा विस्थापित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरका २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराएको जनाएको छ। ग्रुपले बाढीपीडितको उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्वयंसेवक र सरकारी अधिकारीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ, भदौ १७ –त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ ।वर्षाद्को समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ ।

त्यस्तै, हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन् ।
यसैगरी, ठूला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन् । उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६ः०० बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैँसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

विनयी त्रिवेणी गाउँपालिकाले गर्‍यो प्रधानमन्त्री राहत कोषमा ३२ लाख सहयोग

नवलपुर (नवलपरासी), भदौ १७-रसुवा बाढीपीडितलाई विनयी त्रिवेणी गाउँपालिकाले रु ३२ लाख सहयोग प्रदान गर्ने भएको छ ।बाढीपीडितको राहत उद्धार तथा पुनःस्थापनाका उक्त रकम प्रदान गरिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

राहतका लागि पालिकाले पालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट जम्मा गरी एकमुष्ट ३२ लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने भएको छ ।

राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा विधायन समितिमा छलफल

काठमाडौं । कानुनमन्त्री सोविता गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने भन्ने विषयमा मात्रै हालको विधेयकले निर्णय गर्न सक्ने बताएकी छन् ।

बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएकी हुन् ।

आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिएको थियो ।

छलफलमा उनले भनिन्, ‘आजको हाम्रो छलफल यो हाम्रो नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयकको विषयवस्तु एकदमै छोटो गरी छ । विशेष गरी राष्ट्रिय अनुसन्धानलाई कता लैजाने, जम्माजम्मी एउटा मात्रै विषय आज हामीले छलफल गरेर टुङ्ग्याउनुपर्ने हो। गृह मन्त्रालय मातहत राख्ने हो कि अथवा प्रधानमन्त्री कार्यालय मातहत राख्ने हो भन्ने कुरामा मात्रै राय राख्न मिल्ने छ खास भन्ने हो भने।’

मन्त्री गौत्तमले विधेयक संशोधन गर्दा तोकिएको दफाको सीमाभित्र रहेर मात्रै छलफल र निर्णय गर्नुपर्ने बताइन् । उनका अनुसार हाल ल्याइएको विधेयकमा विगतमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको व्यवस्था पुनः जगाउन खोजिएको हो ।

उनले भनिन्, ‘किनभन्दा खेरी हामी सबैलाई थाहा छ, विधेयकहरू संशोधन हुँदै गर्दा विधेयकको संशोधनको सीमा हामीलाई थाहा छ, जो दफा खुलाएर लिएर आयौँ त्यसैमा मात्रै हामी केन्द्रित हुन्छौँ। अहिले फेरि यो जगाउने जुन दफा जगाइएको छ, त्यो दफा जागेको चाहिँ पहिला साविकको व्यवस्थामा प्रधानमन्त्री कार्यालय अन्तर्गत थियो।’

यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका बेला अध्यादेशमार्फत राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्ने व्यवस्था गरिएको उनले बताइन् ।

‘बिचमा जतिबेलामा जेन्जी सरकार भनौँ त, जेन्जी आन्दोलन पछि सुशीला कार्की चाहिँ तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले अध्यादेश लिएर आएर फेरि यसलाई गृह मन्त्रालय मातहत नै हुने गरेर उहाँले ल्याउनुभएको थियो,’ उनले भनिन् ।

तर उक्त अध्यादेशलाई प्रतिस्थापन नगरेपछि त्यसबाट कायम भएको व्यवस्था रिक्त अवस्थामा पुगेको मन्त्री गौत्तमको भनाइ छ ।

उनले भनिन्, ‘अनि पछि फेरि त्यसलाई अब प्रतिस्थापन गर्नुपर्ने, तर प्रतिस्थापन गरिएन हामीले। किनभने प्रधानमन्त्री मातहत पुरानो जे व्यवस्था थियो, त्यही नै हुँदा ठिक हुन्छ भन्ने हामीलाई लागेर हामीले प्रतिस्थापन गरिएन। प्रतिस्थापन नगरिसकेपछि त्यो जुन अध्यादेशले दफा चलायो, त्यो त रिक्त भयो, एक हिसाबले भ्याक्युममा गयो। अब त्यसलाई जगाउनुपर्ने परिस्थितिमा हामीले यो विधेयकलाई जगाउनको लागि लिएर आएका छौँ।’

बाढी प्रभावित कुन क्षेत्रमा कति रकम निकासा भयो ?

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि रू १३ करोड ५० लाख निकासा गरेको छ । सरकारले दुई चरणमा गरी ती पालिकामा उक्त रकम निकासा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि रू एक÷एक करोड र धादिङका लागि रू ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते रु छ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाका लागि रु दुई करोड, कालिका गाउँपालिकाका लागि रू ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि रू तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि रू एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि रू ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि रू एक करोड निकासा गरिएको छ ।

त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि रू ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि रू ४० लाख, गजुरी गाउँपालिकाका लागि रू ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि रू ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि रू ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि रू ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि रू ४० लाख निकासा भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म रू सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते रू एक करोड निकासा दिएपछि अब सो कोषमा रू छ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

भोटेकोशी बाढी : रसुवामा १३३ शव सङ्कलन

रसुवा । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ ।

रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लग्ने कार्य जारी रहेको उनले बताए ।

यसैबीच, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहमा फसेका व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । नेपाली सेनाको ६ नं बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन ।

स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।

अस्ट्रेलियाको आर्थिक वृद्धिदर बढ्यो, दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत

काठमाडाैँ। अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा बढेको हो।

अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार जुन महिनाको अन्त्यसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव ४ प्रतिशतले बढेको हो । मार्चमा समाप्त भएको अघिल्लो त्रैमासिकमा आर्थिक वृद्धिदर शून्य दशमलव ३ प्रतिशत थियो।

वार्षिक आधारमा भने जुनसम्मको १२ महिनामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन २ दशमलव १ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

अस्ट्रेलियाको केन्द्रीय बैंकले गत अगस्टमा सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणमा वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको थियो । त्यस्तै, देशको सबैभन्दा ठूलो उपभोक्ता बैंकले सोमबार त्रैमासिक आर्थिक वृद्धिको अनुमान शून्य दशमलव १ प्रतिशत र वार्षिक वृद्धिको अनुमान १ दशमलव ६ प्रतिशतमा झारेको थियो।

कोषाध्यक्ष जिम चाल्मर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पछिल्लो तथ्यांकले अस्ट्रेलियाको अर्थतन्त्र अझै पनि लचिलो र मजबुत रहेको देखाएको बताए। तथ्यांक विभागका अनुसार दोस्रो त्रैमासिकको आर्थिक वृद्धि निजी क्षेत्रको मागमा देखिएको सुधार र त्यसलाई पूरा गर्न बढेको आयातका कारण भएको हो।

तथ्यांक विभागकी राष्ट्रिय लेखा प्रमुख ग्रेस किमले बढ्दो उपभोग र व्यवसायिक लगानी अर्थतन्त्रका केही क्षेत्रमा केन्द्रित रहे पनि समग्र आर्थिक वृद्धिमा आयातले ठूलो भूमिका खेलेको बताए। त्रैमासिक अवधिमा वस्तुको आयात २ दशमलव ४ प्रतिशतले बढेको छ । अस्ट्रेलियाली नागरिकहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका बेला सवारीसाधनको आयात १० दशमलव ३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।

यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय यात्रामा असर परेपछि सेवाको आयात ४ दशमलव ९ प्रतिशतले घटेको छ। मार्च त्रैमासिकमा खराब मौसमका कारण प्रभावित भएको कोइला उत्पादनमा सुधार आएपछि अस्ट्रेलियाको निर्यात भने शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले अगस्टमा गरेको प्रक्षेपणअनुसार डिसेम्बरसम्म वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ४ प्रतिशतमा झर्ने र सन् २०२८ सम्म पनि २ प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

स्याङ्जा। भोटेकोशी बाढीमा परी घाइते भएकाहरुका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको छ। जिल्ला रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बुधबार भीरकोट बयरघारीमा रक्तदान शिविर सञ्चालन गरी १११ पिन्ट रगत सङ्कलन गरिएको हो ।

घाइतेको सङ्ख्या धेरै भएकाले रगतको अभाव हुनसक्ने भएकाले रगत अभाव हुन नदिन रक्तदान शिविरमार्फत स्वतःफूर्त रुपमा रगत सङ्कलन गरिएको नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष भागवत प्रकाश मल्लले बताए।

देशमा सङ्कट आएका बेला मानवीय सहयोगमा जुट्नुपर्छ भन्ने भावनाबाट अभिप्रेरित भई रक्तदान शिविरको आयोजना गरिएको उनले बताए। शिविरमा रक्तदाताहरु स्वतःफूर्त रुपमा सहभागी भएका थिए।

यहाँ सङ्कलन भएको रगत नेपाल रेडक्रस सोसाइटीको स्याङ्जास्थित ‘ब्लड बैंक’ मा राखिने र आवश्यकताका आधारमा पठाउने व्यवस्था मिलाइने नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्यालले जानकारी दिए।

सुरुङमा फसेकाको उद्धारमा सरकार असफल भएको गोकुल बास्कोटाको आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुरुङमा फसेका नागरिकको उद्धारमा सरकार असफल हुँदै स्थानीय तहलाई दोषी देखाउन थालेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बास्कोटाले उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सरकार स्थानीय तहलाई दोषी करार गर्न र कानुन अभावको विषय उठाएर ‘स्टन्ट’ गर्न थालेको बताएका हुन्।

उनले लेखेका छन्,- सुरङमा फसेका नगरिकको उद्दारमा हात उठाएको सरकार स्थाननीय तहलाई दोषी करार गर्न र कानुन अभावको स्टन्ट गर्न थाल्नु दुर्भाग्य हो।रंग पोतेर शेर देखिएकाहरुको रंग संकटमा खुईलियो।ठाडो घाँटी लगाएर जे जति मन लाग्छ,सराप।आखिर मष्तिष्क भएको मान्छे बोल्ने हैन,सत्रसय धेरै मसिन मानव बोल्ने हो।

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन – रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ¬्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो ।

प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका १२९ वटा शव छन् । त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।

शव पहिचानका लागि डिएनए नमूना सङ्कलन सुरु

भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा डिएनए परीक्षणका लागि आफन्तको नमूना सङ्कलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि डिएनए नमूना सङ्कलन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म नमूना सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार शवसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरिनेछ । उहाँले डिएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउन अनुरोध गर्नुभयो ।

डिएनए नमूना सङ्कलन र परीक्षणको प्राविधिक प्रक्रियाबारे जानकारी दिँदै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको बताउनुभयो । ती नमूनाबाट डिएनए प्रोफाइल तयार गरिन्छ र त्यसलाई आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरी पहिचान गरिन्छ ।

उहाँले भन्नुभयो, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डिएनए नमूना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।”

वर्षा र पहिरोका कारण देशका यी राजमार्ग अवरुद्ध

काठमाडौँ। नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ ।

प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ भने केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्था गरिएको उल्लेख छ ।

बुलेटिनका अनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर यातायात पूर्ण रोकिएको छ ।

सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात सेवा अवरुद्ध छ ।

साथै रसुवामा यही भदौ १० गते आएको विनासकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भई राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ ।

स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

“यस्तै, नुवाकोटको विदुर–लाच्याङ सडकखण्डमा सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

नुवाकोटकै टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको छ”, भनिएको छ, “लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म–गमगढी सडकखण्डमा पनि वर्षाका कारण ढुङ्गा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको छ ।”

बुलेटिनका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो भएपछि अवरुद्ध भएको सडक हाल साना सवारीसाधनका लागि सञ्चालनमा आएको जनाइएको छ ।

प्रहरीले मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको र १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

त्यसैगरी, प्रहरीका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तथा काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारीसाधन तोकिएको पालोमा सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ ।

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त भएका छन् ।

प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा.डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्र कुमार लिम्बु नियुक्त भएका हुन् । नवनियुक्त पदाधिकारीहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थागत सुधार र गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित भएर काम गर्ने बताए ।

बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ -अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका छन् ।

भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिपछिको बीमा दाबीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रियाको सन्दर्भमा सोमबार बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

“बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबैजना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मल्हम लगाऔँ। दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ,” अर्थमन्त्री डा। वाग्ले भने, “बरु बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला। हामी सहयोग गर्न तयार छौँ।”

मुलुकको कठिन परिस्थितिमा सबै मिलेर जानुको विकल्प नभएको पनि उनले बताए। भोटेकोशी नदीमा आएको अकल्पनीय र दुःखद् बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै जलविद्युत् आयोजना, सार्वजनिक पूर्वाधार र निजी सम्पत्तिमा ठूलो असर परेको पनि उनले उल्लेख गरे।

नेपाल बीमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीका कारण कुल ५८३ वटा बीमा दाबी परेका छन्। यी प्रारम्भिक दाबीहरूको कुल अनुमानित रकम रु। २५ अर्ब ८७ करोड रहेको छ। आजको बैठकले यी ठूला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न सहजतातर्फ कदम चाल्ने निर्णय पनि गरेको छ।

साथै, द्रुत दाबी भुक्तानीका लागि कागजी प्रक्रियामा अल्झिएर भुक्तानीमा ढिलाइ हुन नदिन कार्यविधिमा व्यापक सहजीकरण गर्दै साना दाबीहरूका लागि द्रुत भुक्तानी प्रणाली अपनाइने निर्णय पनि भएको छ।

बैठकले जलविद्युत् आयोजना र ठूला पूर्वाधारजस्ता ठूला क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बीमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप भुक्तानी दिइने पनि निर्णय गरेको छ।

आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षा र चट्याङको जोखिम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने देशको अन्य भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कोशी प्रदेशको हिमाली भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

दुइ संसदीय समितिको बैठक आज बस्दै, यी बिषयमा छलफल हुने

काठमाडौं । दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिक बस्ने भएको हो ।

बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल हुने कार्यक्रम छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ अवधि घटाउँदै

थाइल्याण्डले ६० भन्दाबढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने भएको छ । उक्त व्यवस्था आगामी १५ सेप्टेम्बरदेखि लागू हुनेछ ।

पर्यटन दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि विदेशी नागरिकबाट हुने अपराध नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम चालिएको अधिकारीले बताएका छन् ।

पछिल्ला दिनमा भएको पक्राउमा लागुऔषधसम्बन्धी कसुर, यौन बेचबिखन तथा आवश्यक अनुमतिबिना होटल र विद्यालयजस्ता व्यवसाय सञ्चालन गरेको आरोप लागेका विदेशी नागरिकसमेत छन् ।

हालको पर्यटन योजनाअनुसार युरोपको २९ सदस्यीय सेन्जेन क्षेत्र, चीन, भारत, संयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाका केही मुलुकसहित ९० भन्दाबढी देशका नागरिकले थाइल्याण्डमा भिसाबिना ६० दिनसम्म बस्न पाउने व्यवस्था छ ।

थाइ विदेश मन्त्रालयको कन्सुलर मामिला विभागले मङ्गलबार जनाएअनुसार चीन, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका २७ सदस्य राष्ट्रसहित ६० भन्दाबढी देश तथा क्षेत्रका नागरिकका लागि भिसाबिनाको बसाइ अवधि ३० दिनमा सीमित गरिनेछ ।

करिब २० अन्य देशका लागि भिसाबिनाको सुविधाको अवस्था भने अझै स्पष्ट छैन । यसबारे विदेश मन्त्रालयका एक अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

पेरु, ब्राजिल र दक्षिण कोरियाका नागरिकले भने अब ९० दिनसम्म बिना भिसा थाइल्याण्डमा बस्न पाउनेछन् । यसअघि उनीहरूलाई ६० दिनसम्म बस्न पाउने व्यवस्था थियो ।

पर्यटकले अध्यागमन अधिकारीको स्वीकृतिमा आफ्नो बसाइको अवधि एकपटक थप गर्न सक्नेछन् । मन्त्रिपरिषद्ले उक्त व्यवस्था स्वीकृत गरेपछि मे महिनामा सरकारी प्रवक्ताले एएफपीलाई यसबारे जानकारी दिनुभएको थियो ।

विदेशमन्त्री सिहासाक फुवाङकेटकेओले मे महिनामै भिसाबिना बसाइको अवधि घटाउने योजना भिसा प्रणालीको दुरुपयोग गरी थाइल्याण्डमा अपराध गर्ने व्यक्तिविरुद्धको कारबाहीको एक हिस्सा भएको बताउनुभएको थियो ।

पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि हालसम्म थाइल्याण्डमा दुई करोड नौ लाख विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत कम हो ।

अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग

भैरहवा । अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु छ लाख ७५ हजार सहयोग गर्ने भएका छन् ।

कर्मचारीले स्वतःस्फूर्त रूपमा सङ्कलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने उद्योगका महाप्रबन्धक उद्धव कार्कीले जानकारी दिए । उनका अनुसार विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरेका हुन् ।

“समस्या परेका बेला हामीले पनि केही सहयोग गर्नुपर्छ भन्ने भावनाले कर्मचारीले आपसमा सल्लाह गरी रकम सङ्कलन गरेका हुन्”, उनले भने । उनले उद्योगमा कार्यरत कर्मचारीले पहिलोपटक यसरी स्वतःस्फूर्त रूपमा ठूलो रकम सङ्कलन गरी विपद्बाट प्रभावित परिवारका लागि सहयोग गर्न लागेको बताए। उद्योगका सहायक महाप्रबन्धक कृष्ण पाण्डेसहित कर्मचारीको सहभागितामा उक्त रकम सङ्कलन गरिएको जनाइएको छ ।

फोहर बेचेर व्यास नगरपालिकाले कमायो २७ लाख

दमौली (तनहुँ) – तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी गरेको हो ।

आवश्यक प्रक्रिया पूरा गरी बोलपत्रमार्फत चालु आर्थिक वर्षमा साबिकको मूल्यमा दश प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेपछि सहज भएको लम्सालले बताए । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी सङ्कलन गरिएको छ ।

एकै ठाउँमा सबै फोहर सङ्कलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा सङ्कलन भइरहेको छ । फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकाको आन्तरिक स्रोत वृद्धिमा सहयोग भएको छ ।

फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिदका लागि सम्बन्धित मन्त्रालयमा सिफारिस गरिए पनि हालसम्म निर्णय हुन नसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाउँदै आएको छ । नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लाष्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ ।

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गरिरहेको छ । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

भोटेकोशी बाढीः पोखरा ल्याइएका १०२ शवमध्ये २१ को सनाखत

कास्की – रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ ।

पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ । “लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो । सबै शवको डिएनए लिएका छौँ । परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने ।

धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो । शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको छ । शव पुरिसकेपछि गमला राखेर शवको सङ्केत नम्बरको ‘स्ट्यान्ड’ बनाइएको छ ।

भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग

काभ्रे। प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन्। धुलिखेल नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु १० लाख सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाका कार्यवहाक नगर प्रमुख निराजन जङ्गमले नगर कार्यपालिकाको बैठकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

उनले भोटेकोशी बाढीपछि धुलिखेलका चार जना अझै सम्पर्कविहीन रहेको बताए। उनीहरूको खोजतलासका लागि राज्यका सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग गरिनेछ।

यसैगरी, बेथानचोक गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख तथा जनप्रतिनिधि, शिक्षक र कर्मचारीले पाउने सेवा–सुविधा तथा पारिश्रमिकबाट रु २० लाख गरी कुल रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।

बेथानचोक गाउँपालिकाले २०८१ साल असोज दोस्रो साता विपद्को सामना गरेको स्मरण गर्दै पीडित नागरिकलाई सहयोग गर्नु स्थानीय सरकारको दायित्व भएको जनाएको छ। पनौती नगरपालिकाले बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु ३० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ।

पाँचखाल नगरपालिकाले रु १० लाख, बनेपा नगरपालिकाले रु १५ लाख, रोशी गाउँपालिकाले रु १० लाख र चौरीदेउराली गाउँपालिकाले रु १० लाख सहयोग गर्ने निर्णय गरेका छन्।

यस्तै, नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले केन्द्रीय समितिमार्फत रु १७ लाख ६६ हजार उपलब्ध गराएको छ। सामुदायिक साकोस पनौतीले रु पाँच लाख, मनकामना साकोसले रु एक लाख ५० हजार, अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालयले रु पाँच लाख र चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार सहयोग गर्ने निर्णय गरेका छन्।

त्यस्तै, पनौती नगरपालिका–२ ले रु एक लाख ५० हजार, धुलिखेल नगरपालिका–८ ले रु एक लाख, चौरीदेउराली गाउँपालिका–७ ले रु एक लाख र पनौती नगरपालिका–८ ले रु ८० हजार सहयोग गरेका छन्।

यस्तै, बुडोल सामुदायिक साकोसले रु दुई लाख ५१ हजार, नमोबुद्ध नगरपालिका–६ स्थित चरङ्गे साकोसले रु एक लाख ११ हजार र धुलिखेलको अटल पाँचकुण्ड साकोसले रु एक लाख पाँच हजार सहयोग गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा जिल्लाभरबाट ५२ जना सम्पर्कविहीन रहेको विवरण दर्ता भएको थियो। तीमध्ये केही सम्पर्कमा आएका तथा केहीको मृत्यु भई शव फेला परेसँगै हाल सम्पर्कविहीनको सङ्ख्या ४१ रहेको छ।

आज बस्दै प्रतिनिधिसभा बैठक, भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ।

सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्नुहुने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ।

“प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ,” सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा भनिएको छ, “उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतको आत्माको चिरशान्तिको कामना गर्दछ र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।”

यसैगरी, आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

बिहान ९ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने कार्यक्रम छ।

यस्तै, अपराह्न १२ः१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।

काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग

काभ्रेपलाञ्चोक। गत बुधबार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभे्रका सात स्थानीय तहले रु एक करोडभन्दा बढी सहयोग गरेका छन् । जिल्लास्थित राजनीतिक दल, सङ्घसंस्था तथा व्यक्तिले पनि राहतका लागि सहयोग गरेका हुन् ।

बेथानचोक गाउँपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको विपद् कोषबाट रु १५ लाख र जनप्रतिनिधि, शिक्षक, कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा तथा पारिश्रमिकबाट रु २० लाख उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । रसुवा बाढीमा यस गाउँपालिकाका तीन जना सम्पर्कविहीन भएका छन् ।

यसैगरी पनौती नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट सङ्कलन भएको रकममा थप गरी रु ३० लाख प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख रामशरण भण्डारीले बताउनुभयो । बनेपा नगरले रु १५ लाख, पाँचखाल र धुलिखेल नगरपालिका, रोशी र चौँरीदेउराली गाउँपालिकाले रु १०/१० लाख रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला समितिले केन्द्रीय समितिमार्फत सरकारलाई सहयोग गर्ने उद्देश्यले रु १७ लाख ६६ हजार बुझाएको छ । यस्तै सामुदायिक सहकारी पनौतीले रु पाँच लाख, बनेपास्थित अच्युतानन्द ज्योतिष आयुर्वेद औषधालय बनेपाले रु पाँच लाख तथा चित्रन्य हार्डवेयरले रु तीन लाख ३३ हजार, मनकामना सहकारीले रु एक लाख ५० हजार दिने निर्णय गरेका छन् ।

भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३९ जना काभे्रपलाञ्चोकका नागरिक अझै सम्पर्कविहीन भएका जानकारी आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका सम्पर्कविहीनमध्ये आठ जना परिवारको सम्पर्कमा आइसकेका छन् ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५ रुपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ १७ पैसा बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा, ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राहत कोषमा कुम्मायकको २१ लाख सहयोग

पाँचथर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितको सहयोगका लागि पाँचथरको कुम्मायक गाउँपालिकाले रु २१ लाख ६५ हजार रकम सहयोग गरेको छ ।

कुम्मायक गाउँपालिकाको सम्पन्न कार्यपालिका बैठकले बाढीबाट प्रभावितका लागि उद्धार, राहत, पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रु २१ लाख ६५ हजार ५५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाको राहत व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिहरुले प्राप्त गर्ने सुविधाबाट एकामुष्ठ रु ८७ हजार, गाउँपालिकामा कार्यरत कर्मचारीको तलबबाट रु पाँच लाख ४६ हजार ५०० र गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रु १४ लाख ३२ हजार ५० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

गाउँपालिकाले मानवीय कर्तव्य र सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै पीडामा परेका बाढी प्रभावितका लागि सहयोग गर्न अपिलसमेत गरेको छ ।

रसुवा बाढीपछि पुनःस्थापनामा जुट्यो सरकार, १ अर्ब रुपैयाँ निकासा

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले सरकारले बाढी प्रभावित क्षेत्रका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो कुरा बताएका हुन् । उनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणसँगै पुनःस्थापनातर्फ अघि बढेको बताए ।

उनले बाढी प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार र मनोपरामर्शलाई प्राथमिकता दिँदै पुनःस्थापनाको काम अघि बढाइएको जानकारी दिए। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार खोज, उद्धार र राहतका लागि जनशक्ति परिचालन गरिरहने उनले बताए।

‘प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनःस्थापनातर्फ लागेको जानकारी गराउँछौँ। तथापि, प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा पनि आवश्यकताअनुसार जनशक्ति खटाइरहने छौँ,’ उनले भने।

प्रधानमन्त्री शाहका अनुसार नुवाकोटका १९ वटा अस्थायी आश्रयस्थलमा २ हजार ६५३ जनाले आश्रय तथा राहत प्राप्त गरिरहेका छन्। रसुवाका बाढी प्रभावितलाई समेत नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रका लागि मंगलबार १ अर्ब रुपैयाँ निकासा गरेको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहलाई आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताए।

उनका अनुसार मंगलबार मात्रै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ। यसअघि सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो।

‘नेपाल सरकारले बाढी प्रभावित क्षेत्रका लागि आज १ अर्ब रुपैयाँ निकासा गरेको छ। यो रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत प्रभावित स्थानीय तहमा आवश्यकताअनुसार उपलब्ध गराउन निर्देशन दिइसकेका छौँ। जसमध्ये आजै तीन जिल्लाका १५ स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ,’ प्रधानमन्त्री शाहले भने।

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

गुल्मी। अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ ।

भोटेकोशी बाढीबाट मृत्युु भएका परिवारलाई मधेस प्रदेशको एक लाख राहत

जनकपुरधाम। मधेस प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवारलाई प्रतिमृतक रु एक लाख पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस भवनमा आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा गएको बाढी तथा विपद्बाट मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवार वा प्रचलित कानुनबमोजिमका नजिकका हकवालालाई तत्काल आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि प्रतिमृतक रु एक लाखका दरले पारिवारिक राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले बाढी तथा विपद्का कारण घाइते भएका मधेस प्रदेशका नागरिकलाई प्रदेश सरकार मातहत सञ्चालित प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सेवा तथा उपचार निःशुल्क उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्ने विशेषज्ञ सेवा वा अत्यावश्यक उपचारका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उपचारको व्यवस्था मिलाउन मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहजीकरण गर्ने निर्णय गरेको छ ।

बैठकले बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत परिचालन गर्ने निर्णय गरेको छ । आवश्यकताका आधारमा तत्काल सात हजार थान कम्मल तथा ७०० सेट टेन्ट उपलब्ध गराइने निर्णय गरेको छ । जम्मा रु एक करोड ९६ लाख बराबरको उक्त राहत सामग्री मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोमार्फत नुवाकोट तथा रसुवा जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिने भएको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा आवश्यक संशोधन गर्न तयार गरिएको संशोधन मस्यौदाउपर राय तथा परामर्श प्राप्त गर्न प्रदेश लोकसेवा आयोगमा लेखी पठाउने निर्णय गरेको छ । प्रदेश सरकारका अनुसार स्थानीय सेवासम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयानुकूल र प्रभावकारी बनाउन आवश्यक संशोधनको प्रक्रिया अघि बढाइएको निर्णय गरेको छ ।

बैठकले स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा प्रक्रियालाई व्यवस्थित, पारदर्शी, अनुमानयोग्य तथा न्यायोचित बनाउन तयार गरिएको ‘स्थानीय तहका कर्मचारीहरूको सरुवा मापदण्ड, २०८३’ समेत स्वीकृत गरेको मन्त्री भट्टराईले बताउनुभयो ।

बाढीपीडितलाई बागमती कांग्रेसबाट १० लाख सहयोग

मकवानपुर। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेश संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु १० लाख ६६ हजार ६६६ सहयोग गरेको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिले रु पाँच लाख ५५ हजार ५५५ र प्रदेश संसदीय दलले रु पाँच लाख ११ हजार १११ सहयोग गरेको हो । दुवै रकम कांग्रेस विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उपलब्ध गराइएको कांग्रेस बागमती प्रदेश कार्यसमितिका सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।

सहमहामन्त्री श्रेष्ठले मङ्गलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सहयोग रकमको चेक पार्टी केन्द्रीय उपसभापति पुष्पा भुसाललाई चेक हस्तान्तरण गर्नुभएको हो ।

बाढी तथा अन्य प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कांग्रेस प्रदेश कार्यसमिति र संसदीय दलले संयुक्त रूपमा सहयोग गरेको श्रेष्ठको भनाइ छ ।

रवि लामिछाने र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनिया राजदुत झाङ माओमिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतीबारे दुस्ख ब्यक्त गरे ।

खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद्लगत्तै उद्दारकर्मी, डिएनए विशेषज्ञलगायत आवश्यक सबै सहयोग चिनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी उहाले दिए ।

भेटमा सभापति लामिछानेले विपद्का समयमा चिनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । नेपालको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनमा चिनको आर्थिक तथा प्राविधिक सहयोग महत्वपूर्ण हेने बताउदै आगामी दिनमा थप सहकार्यको आग्रह समेत गरे ।

चीनबाट आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुग्यो

काठमाडौं – बाढी तथा विपद्बाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप मंगलबार साँझ काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० ठूलो क्षमताको सैन्य परिवहन विमानमार्फत साँझ करिब ५ः३० बजे राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।

सोही विमानबाट नेपालका लागि चिनियाँ सहयोगी विशेषज्ञको तेस्रो टोलीअन्तर्गत पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन्। उनीहरूले विपद्का कारण बेपत्ता तथा मृतकको पहिचानसम्बन्धी कार्यमा नेपाली पक्षलाई सहयोग गर्ने जनाइएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थिति थियो। सो अवसरमा चिनियाँ विशेषज्ञ टोलीलाई स्वागतसमेत गरिएको थियो।

प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ, १६ भदौ : बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज साँझसम्म प्रधानमन्त्री राहत कोषमा ९ वटा वाणिज्य बैंकका खाताहरूमा छ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ ।

जसमध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासका भएपछि अहिले कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ मौज्दात छ । यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर जम्मा भएको छ । आर्थिक सहयोगका लागि कतिपय देश तथा सङ्घसंस्थाहरूले प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै रहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ ।

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

काठमाडौँ, १६ भदौः सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गर्नुभएको हो ।

जसअनुसार त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्राडा अञ्जना महर्जन सिंह र रजिस्ट्रारमा प्रा रवीन्द्र शिवाकोटी नियुक्त हुनुभएको छ । शिवाकोटी त्रिविको शिक्षा शास्त्र सङ्कायका प्राध्यापक हुनुहुन्छ भने सिंह विज्ञान सङ्कायकी प्राध्यापक हुनुहुन्छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा पन्ना थापा, पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा निर्मला जमरकट्टेल र सुदूरपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा प्राडा तारादत्त भट्ट नियुक्त हुनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा सुदिप ठकुरी तथा राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा जीवन काफ्ले नियुक्त हुनुभएको छ । नवनियुक्त शिक्षाध्यक्ष तथा रजिस्ट्रारले आजै शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधार तथा सर्वाङ्गीण विकासका लागि टिमवर्क र प्रभावकारी समन्वयका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले उच्च शिक्षा सुधारका लागि उपकुलपति, रजिस्ट्रारलगायत विश्वविद्यालयका पदाधिकारीबीच बलियो सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयलाई उत्कृष्ट र अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिँदै मन्त्रालयबाट आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरण र कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले शैक्षिक गुणस्तर, परीक्षा प्रणाली सुधार तथा विश्वविद्यालयको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयबीच प्रभावकारी समन्वय गर्दै गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयकी नवनियुक्त रजिस्ट्रार प्राडा निर्मला जमरकट्टेलले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विभिन्न विश्वविद्यालयका उपकुलपति, मन्त्रालयका उच्च अधिकारीलगायतको उपस्थिति थियो ।रासस

सुरुङमा फसेकाको उद्धारमा हरसम्भव प्रयास भइरहेको छ – गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीका कारण हाइड्रो सुरुङमा फसेकाको उद्धारका लागि ड्रिलिङदेखि सबै विकल्प खोजिरहेको बताएका छन् ।

उनले सुरुङमा फसेकाको उद्धारका लागि माथिबाट ड्रिल गर्ने तयारीमा रहेको बताए । उनले सुरुङमा फसेकाको उद्धारमा हरसम्भव प्रयास भइरहेको बताए ।

‘अझै पनि हामीले होप लुज (आशा मारेको) गरेका छैनौं । माथिबाट पनि छिर्न सकिन्छ कि, उहाँहरू त्यहाँको नै पानी खाएर बस्नुभएको छ कि भन्ने पनि लाएको छ । हाम्रो सुरक्षा संयन्त्र अझै पनि त्यहाँ काम गर्नुभएको छ’ उनले भने – ‘हाम्रो नयाँ विचार के आएको छ भने माथिको ठाउँबाट पनि खनेर बरु त्यसलाई ड्रिल गरेर केही गर्न सक्यौं भने पनि केही सम्भावना छ कि भनेर राज्यले प्रयास गरिरहेको छ’

गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रमा राहत पुर्‍याउन राज्यका सबै हेलिकप्टर तथा उपलब्ध संयन्त्र परिचालन गरिएको बताए । उनले राज्य आफ्नो कर्तव्यबाट पछि नहट्ने स्पष्ट पार्दै कुनै स्थानमा राहत नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे ।

‘उहाँहरू सुरक्षाकर्मी भए पनि देशका नागरिक हुन् । कसैले उहाँहरूको अवस्था के छ, परिवारको अवस्था कस्तो छ भनेर सोधेको छैन । उहाँहरू पनि नेपाली नागरिक नै हुन् । त्यैपनि राज्यको ब्याकबोनको हिसाबले आफ्नो जिम्मेवारी पूर्णरूपमा पालना गरिरहनुभएको छ,’ उनले भने ।

जुनियर सुपरमोडेल र सम्मान कार्यक्रम एक साथ सम्पन्न

काठमाडौं १४ भाद्र । सामरी इन्टरनेशनलद्वारा आयोजित जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६ को भव्य ग्रान्ड फिनाले तथा सम्मान एवं अवार्ड कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी २३ जना प्रतिभाशाली बालबालिकाले आफ्नो आत्मविश्वास, प्रतिभा, सिर्जनशीलता तथा आकर्षक स्टेज प्रस्तुतिमार्फत दर्शक र निर्णायकहरूको मन जितेका थिए ।

प्रतियोगिताको मुख्य उपाधि आयना राईले जितिन् । एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय रनरअप, अनमोल परियार तृतीय रनरअप, युबिया महर्जन चौथो रनरअप तथा बिद्या खत्री पाँचौँ रनरअप घोषित भए ।
विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस विनर, अंशु भण्डारीले भ्यूअर्स च्वाइस विनर तथा जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइस विनरको उपाधि जितेका छन् ।

श्रदेय गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता, सामरी इन्टरनेशनल इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत भरत सामरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालको पहिलो सेफ गोविन्द नरसिंह केसी, विशिष्ट गायक तथा रेडियो नेपालका पुर्व निर्देशक सिताराम पोखरेलको विशेष आतिथ्य रहेको थियो भने विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा मिडियाको बाक्लो उपस्थिति रहेको थियो । जुनियर सुपर मोडेलको निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाहीको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागी २३ जना प्रतियोगीलाई उनीहरूको व्यक्तित्व, प्रतिभा र प्रस्तुतिका आधारमा विभिन्न विशेष उपाधि पनि प्रदान गरिएको थियो । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा विजेता घोषणा मुख्य आकर्षणका रूपमा रहेका थिए ।यसै अवसरमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थालाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकी विशिष्ठ तथा चर्चित गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
त्यस्तै कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्की, अनमोल भगत, अर्शु महर्जन, रोजिन शाक्य, राज कार्की, शेखर वाग्ले, आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट तथा फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रमले बालबालिका तथा युवा प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा भविष्यका लागि नयाँ अवसर सिर्जना गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको आयोजक समारी इभेन्टसका प्रमुख भरत सामरीले जानकारी गराउनुभयो ।

“जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ” भन्ने मूल भावनासहित सम्पन्न प्रतियोगिताले प्रतिभा, फेसन, सिर्जनशीलता र आत्मविश्वासको सुन्दर उत्सव प्रस्तुत गरेको थियो ।सम्पूर्ण विजेता, उपाधि विजेता, प्रतियोगी, सम्मानित व्यक्तित्व, निर्णायक मण्डल, अभिभावक, सञ्चारकर्मी, सहयोगी तथा शुभेच्छुकहरूलाई आयोजकले हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेको छ ।

बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने

तनहुँ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भानु नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नगरपालिकाका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले भानु नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट समेत बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । विभिन्न श्रेणीका शिक्षक तथा कर्मचारीको तलबबाट रु ३६ लाख ५२ हजार सङ्कलन गरी कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।

नगरपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीको तलबबाट प्राप्त हुने रु ३६ लाख ५२ हजार बराबर जम्मा हुने रकम व्यवस्थित रूपमा सङ्कलन गरी कोषमा जम्मा गर्ने जनाएको छ । नगरपालिकाका जनप्रतिनिधिले कम्तीमा १० दिनको सेवा-सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय गरेको त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त रकम बाढीमा परी हालसम्म सम्पर्क स्थापित हुन नसकेका नगरवासीको खोज तथा उद्धार कार्यमा सहयोग गर्न प्रयोग गरिने उहाँले बताउनुभयो । रसुवामा आएको बाढीका कारण विभिन्न स्थानमा पुगेका तथा हालसम्म परिवारको सम्पर्कमा नआएका भानु नगरवासीको खोजीलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

सम्पर्कविहीन नागरिकको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गर्ने नगरपालिकाले जनाएको छ ।

बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधिले विपद्को यस कठिन घडीमा रसुवावासी तथा प्रभावित नागरिकप्रति उच्च मानवीय संवेदना, ऐक्यबद्धता र सहयोग आवश्यक रहेको धारणा राखेका छन् ।

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

भक्तपुर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना सम्पर्कमा आएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार भक्तपुर ठेगाना भएका १९ जना बाढीपछि सम्पर्कविहीन भएका विवरण प्राप्त भएको छ । सम्पर्कविहीनमध्ये छ जना सम्पर्कमा आएका छन् भने भक्तपुरका इञ्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भइसकेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा बाहिरी जिल्ला ठेगाना भएका ५६ जना व्यक्तिसमेत सम्पर्कविहीन भएका विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । तीमध्ये दुई जना सम्पर्कमा आएका र एक जना काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत रहेका उहाँले बताउनुभयो ।

यसैबीच, वातावरण संरक्षण समितिका अध्यक्ष सत्यसुन्दर प्रजापतिका मामा न्हुछेबहादुर प्रजापतिले भन्जाको शव यही भदौ १२ गते फेला परेको जानकारी दिनुभयो ।

“बाढी गएको आज सात दिन भइसकेको छ, सरोकार भएका निकायले खोज तथा उद्धारलाई तीव्रता दिई नागरिकको सकुशल उद्धारमा जुट्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । भदौँ १० गतेदेखि आजसम्म सेना, हवाई माध्यम, ड्रोनको सहायताले निरन्तर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ

सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालयका कर्मचारीको पनि सरकारको निर्णय बमोजिम श्रेणीगत रुपमा पारिश्रमिकवापतको रकम कट्टा गरी उक्त उद्धार कोषमा जम्मा गरिनेछ ।

सभामुख सचिवालयले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउनु सबैको दायित्व भएको स्पष्ट गरेको छ ।

राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक

काठमाडौँ। राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित आज बिहान श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) ले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गर्नुभएको हो ।

रसुवा बाढीमा परी जीवन गुमाएका, हराइरहेका र घाइते भएकाको कल्याणको कामनाले महारुद्राभिषेक गरिएको हो ।

राष्ट्रमा आइपरेको विकराल प्राकृतिक विपत्तिको सामना गर्दै सम्पूर्ण नेपाली जनताको सुख, दिगो शान्ति, समृद्धि तथा सामाजिक सद्भाव कायम होस् भन्ने पवित्र सङ्कल्पका साथ आराध्यदेव भगवान् श्री पशुपतिनाथको पावन सान्निध्यमा महारुद्राभिषेक महायज्ञ गरिएको हो ।

पशुपतिनाथ मन्दिरमा १२१ जना ब्राह्मणद्वारा महारुद्री पूजा, हवन तथा शान्तिपाठसमेत गरियो । साथै, श्री गुह्येश्वरी मन्दिरमा नौ जना ब्राह्मणले चण्डी पाठ पारायणसहित क्षमापूजा तथा वैदिक विधि–विधानअनुसार शान्ति अनुष्ठान सम्पन्न गरिएको छ ।

यसैगरी माता गुह्येश्वरी, नवशक्तिपीठ, भैरव, ११ महारुद्र, आगम घरका भगवान् तथा पशुपति क्षेत्रका अन्य देवी–देवताहरूमा पनि विशेष क्षमापूजा गरिएको कोषले जनाएको छ ।