`

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युत् विहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो ।

बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए । गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए ।

“बाढीले विद्युतकाे १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ,” उनले भने, “आइतबार बिहान ४ः०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उनको भनाइ छ ।

उनी भन्छन्, “बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो ।” फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताए ।

हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । “फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उनले भनिन्, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।

बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत् विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए । “बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,” उनले भने ।

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत् विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । उनका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

कोरला नाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्याउन सकस

मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।

शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ । कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए । “कोरलानाका क्षेत्रमा भन्सार जाँच पास भइसकेपछि स्थानीय चालकले भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्, त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्”, सशस्त्र प्रहरी निरीक्षक धितालले भने, “नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौँ ।”

त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ । अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन भए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झरेका विद्युती सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बिवाडी कम्पनीको खरिदकर्ता साइमन इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार भारी वर्षाले सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडी कम्पनीका विभिन्न मोडलका २००० बढी गाडी मुस्ताङमा रोकिएको बताए ।

कम्पनीबाट कोरलानाकाबाट भित्रिएका विद्युती गाडी गन्तव्यतर्फ छुटाउन आएका उनले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको उनको भनाइ छ । जोमसोम बसपार्क र भन्सार कार्यालयको जोमसोममा रहेको पार्किङस्थलमा भित्रिएका गाडीहरु थन्क्याइएको उनले उल्लेख गरे ।

असोज ११ गतेअघि बिवाइडी कम्पनीका गाडी करिब ४५० जति गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडक असहजताले गर्दा गन्तव्यमा पठाउन समस्या भएको उनले जानकारी दिए । साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब तीन हजार बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उनको भनाइ छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले जानकारी दिए ।

१०९ सामुदायिक विद्यालयमा १२ कोठे भवन निर्माण गरिने, पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड बजेट

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले बताएका छन्। यसबाट विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ।

मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केही विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर पूर्वाधार सुधारको काम अघि बढाइएको बताएका छन्।

‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने।

उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्।६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन्। लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन्।

त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता, द्विपक्षीय सुरक्षा सहकार्यमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको छ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आपसी सम्मान र विश्वासका आधारमा द्विपक्षीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।

प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाएसँगै सेवाग्राहीले आफैँ वा नजिकैको वडा कार्यालयको सहायतामा प्रशासनको इमेल अथवा ह्वाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिनसक्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभयो ।

“प्रशासनमा भौतिक उपस्थिति गराउँदा सेवाग्राहीको समय र पैसा दुवै खर्च हुन्छ । हामी झन्झटिलो सेवा प्रवाहलाई निराकरण गर्दै छिटो, छरितो र प्रविधिमैत्री बनाउने योजनामा छौँ,” उहाँले भन्नुभयो, “पहिलो चरणमा चार किसिमका सेवा प्रवाहलाई भौतिक उपस्थिति बिना नै उपलब्ध गराउन थालिएको छ । प्रशासनले सुरु गरेको प्रविधिमैत्री सेवा प्रवाहलाई निकट भविष्यमै थप विस्तार गर्ने योजना बनाइएको छ ।”

दलित÷जनजाति÷खस आर्य प्रमाणितको सिफारिस र थर प्रमाणितको सिफारिससम्बन्धी सेवा लिनका लागि वडाको सिफारिससहित जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको फोटोकपी पेस गर्नुपर्ने छ । परम्पराका रूपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला, इत्यादि सञ्चालनको अनुमति सेवा लिनका लागि सम्बन्धित वडा÷स्थानीय तहको सिफारिससहित निवेदन/पत्र पेस गर्नुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी गुरुङ जिल्ला प्रशासन कार्यालय खोटाङ सरुवा भएर आउनुभएपछि प्रशासनको सेवा प्रवाहमा उल्लेख्य सुधार आएको सेवाग्राहीले बताएका छन् ।

गत भदौ २५ गते सरुवा भएर खोटाङ आउनुभएका प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक संवादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियान सुरु गर्नुभएको छ । नागरिकका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै प्रशासनिक निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन जिल्लाव्यापी अभियान सुरु गर्नुभएको हो ।

अभियानले नागरिकका समस्या, गुनासा र सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने तथा प्रशासन र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी गुरुङले बताउनुभएको छ । “सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न नागरिक संवाद कार्यक्रम महत्वपूर्ण मानिन्छ ।

नागरिकले भोगिरहेका समस्या, सेवा प्राप्तिमा देखिएका कठिनाइ तथा स्थानीयस्तरमा समाधान गर्नुपर्ने विषयबारे प्रत्यक्ष छलफल गरिन्छ,” उहाँले भन्नुभयो, “अभियानले प्रशासनप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । लागूऔषधको दुरुपयोग परिवार, समाज र स्वयम् व्यक्तिका लागि चुनौतीको विषय बन्दै गएको छ । यसको नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि, रोकथामका उपायको प्रचारप्रसार र समुदायको सक्रियता आवश्यक छ ।”

प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम’लाई संयुक्त अभियानको रूपमा अगाडि बढाउनुभएको छ । समुदायमा शान्तिसुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले संयुक्त अभियान सुरु गरेको हो ।

बजेट खर्चभन्दा परिणाममुखी काममा जोड दिन बागमती सरकारको निर्देशन

हेटौँडा। बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ ।साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ ।

प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा प्रभावकारिता र विकास आयोजनाको कार्यान्वयनलाई प्राथमिकता दिँदै १७ बुँदे निर्णय गरेको हो ।बैठकले बजेट खर्चको परिमाणभन्दा त्यसबाट नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र विकासको वास्तविक उपलब्धिलाई कार्यसम्पादन मूल्याङ्कनको आधार बनाउने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिलाई प्रभावकारी बनाउन सबै मन्त्रालयले वार्षिक विकास कार्यक्रम तथा सेवा प्रवाहको स्पष्ट कार्यतालिका तयार गरी कार्यान्वयन गर्नुपर्ने निर्णय गरिएको छ ।

योजना कार्यान्वयनमा बजेट अभाव, सार्वजनिक खरिद प्रक्रिया, दरबन्दी तथा कानुनी जटिलताका कारण देखिने अवरोध तत्काल पहिचान गरी समाधानका लागि माथिल्लो तहबाटै पहल गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयका सचिवलाई दैनिक कार्यसम्पादनमा प्रत्यक्ष जिम्मेवार बनाउँदै अबको अवधिलाई ‘गति, समन्वय, सेवा र परिणामको अवधि’का रूपमा अघि बढाउने निर्णय भएको छ ।

बैठकले प्रत्येक सचिवले दैनिक रूपमा भएका प्रगति, प्राप्त परिणाम र आगामी कार्यदिशाको समीक्षा गर्नुपर्नेमा जोड दिएको छ । मातहतका कर्मचारीको कार्यसम्पादन, नवप्रवर्तन, जिम्मेवारीबोध र उत्तरदायित्व अभिवृद्धि गर्ने जिम्मेवारीसमेत सचिवहरूलाई दिइएको छ ।

प्रशासनिक ढिलासुस्ती र प्रक्रियागत झन्झट न्यूनीकरण गर्न ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली’ कार्यान्वयनमा ल्याउने निर्णय गरिएको छ । सार्वजनिक स्रोतसाधनको प्रयोगमा पारदर्शिता, मितव्ययिता र निष्पक्षता कायम गर्दै अनियमितताप्रति शून्य सहनशीलताको नीति अपनाउन बैठकले निर्देशन दिएको छ ।

त्यसैगरी चाडपर्व तथा विपद् व्यवस्थापनमा प्रदेश सरकारको सक्रिय उपस्थिति सुनिश्चित गर्ने निर्णय गरिएको छ । विपद्को जोखिम रहेका क्षेत्र पहिचान गरी उद्धार, राहत, जनशक्ति तथा स्रोतसाधन तत्काल परिचालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी सार्वजनिक यातायात सहज बनाउने, सुरक्षा व्यवस्था प्रभावकारी पार्ने, कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन तीव्र बनाउने तथा स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले सङ्घीयता कार्यान्वयनका क्रममा बागमती प्रदेशले हासिल गरेका उपलब्धिको एकीकृत विवरण तयार पार्ने निर्णय गरेको छ । त्यसका लागि सबै मन्त्रालयलाई १५ दिनभित्र सङ्घीयता कार्यान्वयनको १० वर्षे अवधिका उपलब्धिसम्बन्धी विवरण पेस गर्न निर्देशन दिइएको छ । प्रदेश सरकारले सञ्चालन गरेका कम्तीमा तीनवटा महत्त्वपूर्ण तथा उत्कृष्ट उपलब्धिमूलक कार्यक्रमको संक्षिप्त विवरण र उच्च गुणस्तरका तस्बिर सङ्कलन गरी नेपाल सरकारलाई पठाउने निर्णयसमेत गरेको छ ।

काठमाडौँ उपत्यकामा २४ घण्टामा ६५८ सवारीसाधनमाथि कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५८ सवारीसाधनमाथि कारबाही गरिएको छ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ असोज २८ गते बिहान ६ बजेसम्मको २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४७, तीव्र गतिमा चलाउने ६६ र सिसिटिभीमार्फत पहिचान गरिएका २३ सवारीसाधनमाथि कारबाही गरिएको छ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३, अवस्था ठीक नभएका सवारीसाधन ३१, लेन अनुशासन उल्लङ्घन गर्ने नौ, अनावश्यक हर्न बजाउने आठ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ।अन्य नियम उल्लङ्घनमा ४४९ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

झापामा चाडबाडका बेला इन्धन अभाव हुन नदिन प्रशासनको सक्रियता

झापा। चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति अवस्थाबारे समीक्षा गर्दै उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन आवश्यक समन्वय गर्न जोड दिनुभयो ।

नेपाल आयल निगम चारआलीका प्रमुख उमेशकुमार पोखरेलका अनुसार जिल्लामा पेट्रोलियम पदार्थको अभाव छैन । झापामा दैनिक पाँच हजार ५०० सिलिन्डर ग्यासको माग रहेकामा सात हजार ६०० सिलिन्डर उत्पादन भइरहेको पराजुली ग्यास उद्योगका सञ्चालक जितबहादुर कार्कीले जानकारी दिनुभयो । पछिल्लो दुई महिनामा नियमित खपतको तुलनामा करिब ४० प्रतिशत बढी ग्यास बजारमा खपत भएको उहाँले बताउनुभयो ।

चाडबाडमा नियमित आपूर्ति सुनिश्चित गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार छलफलमा सुरक्षा निकाय, आयल निगम, पेट्रोलियम डिलर्स एसोसिएसन तथा ग्यास विक्रेता सङ्घका प्रतिनिधि सहभागी थिए

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण

म्याग्दी । म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्‍याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरूमा क्षति पुगेको थियो । मुख्य पोखरी र परिसरमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदान अभियानमार्फत पन्छाएर पुनःनिर्माण गरिएको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताउनुभयो ।

“सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह र दाताको सहयोगमा १६ दिनमा कुण्डको पुनःनिर्माण गरेर बुधबारदेखि स्नानका लागि खुला गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासी र सङ्घसंस्था तथा श्रमदाताको सहयोगमा छिट्टै कुण्ड सञ्चालन गर्ने अवस्था आएको हो ।”

तीन वटा पोखरीमध्ये बिरामीले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकका सञ्चालित सानो पोखरी बाढीले भत्काएको थियो । कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको थियो ।

श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाइएको हो । असोज–कात्तिक सिङ्गा तातोपानी कुण्ड स्नान गर्ने मुख्ययाम हो । वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नान थिए ।

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मङ्सिर, पुष, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

जापानी येन १ को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११ रुपैयाँ ४१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७६ पैसा र बिक्रीदर २२ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ८१ पैसा बिक्रीदर ४०४ रुपैयाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ ।

नवदुर्गा मध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकाले यो नामाकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख छ ।

श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ–‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो ।

बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ पनि गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरीपूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गर्ने शास्त्रीय नियम छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।

गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा सम्पन्न प्रथम बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय बैठकमा उहाँले यससम्बन्धी संयुक्त कार्यदल गठनको प्रस्ताव गर्नुभएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री गुरुङले आतङ्कवाद, लागु औषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण, अवैध वित्तीय प्रवाह तथा साइबर अपराध नियन्त्रणका लागि बिम्स्टेक सदस्य राष्ट्रबीच सुरक्षित सूचना आदानप्रदान, प्रभावकारी समन्वय र संयुक्त प्रतिकार्यमा जोड दिनुभएको थियो ।

सुनार प्रकरणमा हर्क साम्पाङको कटाक्ष – रवि लामिछानेजी,सुनार जीको फन्डा के हो ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार प्रकरणलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले रास्वपा सभापति रवि लामिछानेलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत सुनार प्रकरणबारे प्रश्न उठाएका हुन्।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सुनारसँग जोडिएको विषयबारे चासो व्यक्त गरेका छन्। उनले आफ्नो टिप्पणीमा रवि लामिछानेलाई सोझै सम्बोधन गर्दै खगेन्द्र सुनारको विषय के हो भन्ने प्रश्न गरेका छन्।

साम्पाङले लेखेका छन्, ‘रवि लामिछाने जी।।। सुनार जीको फन्डा के हो रुरुरु ? जान्नेलाई छान्ने जनता कि जय !’

कांग्रेसको महिला सहमहामन्त्रीमा प्रतिमा गौतमको जित, बास्तोलाले पाइन् १ हजार ५५४ मत

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतम निर्वाचित भएकी छिन् ।

महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बास्तोलाले १ हजार ५५४ मत प्राप्त गरिन् ।

गौतमले बास्तोलालाई ३ हजार ५६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा निर्वाचन भएको हो । महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको मतगणना जारी रहँदा विभिन्न पदको परिणाम सार्वजनिक भइरहेको छ।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक, एक्सन र प्रतिशोधको झलक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ ।मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।

ट्रेलरमा प्रस्तुत गरिएका दृश्यले ‘१२ गाउँ २’ एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको मिश्रणमा निर्माण भएको संकेत गर्छ । विशेषगरी विराज र समीरलाई आमनेसामने प्रस्तुत गरिएको दृश्यले चलचित्रको कथामा उनीहरूबीच कस्तो सम्बन्ध र द्वन्द्व रहनेछ भन्ने जिज्ञासा बढाएको छ । एक्सनप्रधान दृश्य, आक्रामक हाउभाउ र द्वन्द्वात्मक प्रस्तुतिले चलचित्रको मुख्य आकर्षण दुई पात्रबीचको संघर्ष हुन सक्ने संकेत गर्छ ।

चलचित्रमा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् । नेपाली चलचित्रमा नकारात्मक भूमिकामार्फत प्रभाव छाड्न सफल शाहीको उपस्थितिले नायकहरूको संघर्षलाई थप रोचक बनाउने अपेक्षा गर्न सकिन्छ । उनको भूमिका सीमित रूपमा देखाइएकाले पात्रको वास्तविक उद्देश्य, शक्ति र कथामा रहने प्रभावबारे धेरै कुरा खुल्न बाँकी छ । यद्यपि, विराज र समीरको टकरावसँगै खलपात्रको उपस्थिति चलचित्रको द्वन्द्वलाई कसरी अगाडि बढाउने आधार बन्नेछ भन्ने चासो दर्शकमाझ हुने देख्निछ ।

चलचित्रको कथासार निर्माण पक्षले पूर्ण रूपमा सार्वजनिक गरिसकेको छैन । त्यसैले ट्रेलरमा देखिएका दृश्यकै आधारमा सम्पूर्ण कथावस्तु यही हो भनेर निष्कर्ष निकाल्न सकिँदैन । एक्सनप्रधान चलचित्रमा द्वन्द्वको कारण, पात्रहरूको व्यक्तिगत सम्बन्ध र उनीहरूले सामना गर्ने चुनौती महत्त्वपूर्ण हुन्छन् । ‘१२ गाउँ २’ले पनि यिनै पक्षलाई कत्तिको प्रभावकारी रूपमा प्रस्तुत गर्छ भन्ने कुरा चलचित्र प्रदर्शनपछि स्पष्ट हुनेछ ।

बाढीपहिरो प्रभावित परिवारको पुनःस्थापनामा वाईसीएलको पहल, प्रचण्डद्वारा २१ आवास हस्तान्तरण

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।

संयोजक प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई दुई कोठा र शौचालयसहितका घरको चाबी हस्तान्तरण गरेका हुन्।

सो अवसरमा संयोजक प्रचण्डले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुगेको र आफ्नै उपस्थितिमा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै भवन निर्माणमा खटिएको वाईसीएललाई विशेष धन्यवाद दिएका छन् ।

लाङटाङ लिरुङबाट १३ करोड २० लाख घनमिटर चट्टान र बरफ खसेको अध्ययनको निष्कर्ष

काठमाडौँ। गत भदौ १० गते रसुवा–केरुङ क्षेत्रमा गएको विनाशकारी बाढीअघि लाङटाङ लिरुङ हिमालको उत्तरी भिरमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको पाइएको छ ।

एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र (इसिमोड) ले आज सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनअनुसार सन् २०२६ जुलाई ७ देखि अगस्ट २४ सम्मको ४८ दिनको अवधिमा ‘सेन्टिनेल–१’ भूउपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उक्त क्षेत्रको सतहमा ४० सेन्टिमिटरसम्म विस्थापन भएको देखाएको हो ।

इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनमा ‘सन् २०२६ अगस्ट २६ को केरुङ–रसुवा विपद् बुझाइ’ शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो ।

अध्ययनअनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित १३ करोड २० लाख घनमिटर चट्टान र हिमनदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो । त्यसले चट्टान, बरफ, पानी र गेग्रानसहितको तीव्र बहाव सिर्जना गर्दै नेपाल–चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो ।

अध्ययनले उक्त घटनालाई परम्परागत हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) नभई चट्टान र हिमनदीको बरफ खस्दा उत्पन्न भएको शृङ्खलाबद्ध विपद्का रूपमा पहिचान गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त विपद्मा नेपालतर्फ कम्तीमा एक हजार ४५१ जनाको मृत्यु भएको छ भने पाँच हजार ७४५ जना बेपत्ता छन् । चीनतर्फका अधिकारीले ४३ जनाको मृत्यु र ५१९ जना बेपत्ता भएको जानकारी दिएका थिए ।

अध्ययनमा भूउपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञानसम्बन्धी विश्लेषण तथा स्थलगत मूल्याङ्कनलाई एकीकृत गरी विपद्को कारण, प्रभाव र पूर्वसूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ ।

भूउपग्रहबाट पहाडको सतहमा भएको विस्थापन पत्ता लागे पनि त्यसका आधारमा पहिरो वा चट्टान खस्ने घटना ठ्याक्कै कहिले हुन्छ भन्ने पूर्वानुमान गर्न नसकिने अध्ययनले स्पष्ट पारेको छ । यद्यपि, यस्ता प्रविधिबाट जोखिमयुक्त पहाडी भिर पहिचान गरी थप निगरानी गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ ।

“यस घटनाले केही जोखिमयुक्त पर्वतीय भीरहरूमा विनाशकारी घटना हुनुअघि नै सतहमा मापन गर्न सकिने परिवर्तन देखिन सक्ने तथ्य उजागर गरेको छ”, इसिमोडका महानिर्देशक ग्याम्छोले भन्नुभएको छ, “अबको चुनौती वैज्ञानिक जानकारीलाई प्रभावकारी निगरानी र क्षेत्रीय सहकार्यका माध्यमबाट व्यावहारिक जोखिम न्यूनीकरणमा रूपान्तरण गर्नु हो ।”

अध्ययनअनुसार लाङटाङ लिरुङमा चट्टान र बरफ खस्ने घटना नेपाली समयअनुसार बिहान ८ः३७ बजे भएको थियो । त्यसबाट उत्पन्न गेग्रानसहितको बाढी करिब सात मिनेटमै सीमावर्ती क्षेत्रमा पुगेको थियो । मोबाइल सन्देशमार्फत पूर्वसूचना बिहान ९ः१५ देखि ९ः१६ बजेतिर पठाइएको थियो, जुन सीमावर्ती क्षेत्र प्रभावित भइसकेको करिब २५ देखि ३० मिनेटपछिको समय हो ।

वर्षा र नदीको जलसतहमा आधारित विद्यमान पूर्वसूचना प्रणालीले अचानक हुने पर्वतीय चट्टान पतन र हिमनदी भत्किने घटनाको जोखिम पहिचान गर्न नसक्ने अध्ययनले औँल्याएको छ । त्यसैले भूउपग्रह निगरानी, भूकम्पीय अवलोकन, जलविज्ञानसम्बन्धी तथ्याङ्क, प्रभावमा आधारित पूर्वानुमान तथा सीमापार सूचना आदानप्रदानलाई एकीकृत गर्नुपर्ने सुझाव दिइएको छ ।

चट्टान खस्नुका सम्भावित कारणमा भूगर्भीय कमजोरी, सन् २०१५ को भूकम्पबाट भएको क्षति, पर्माफ्रोस्ट अर्थात् जमेको जमिन पग्लिनु, हिमनदीमा आएको परिवर्तन तथा हिउँ र बरफ क्रमशः जम्मा हुँदै जानु हुन सक्ने अध्ययनमा उल्लेख छ । यद्यपि, घटनाको एउटै निश्चित कारण पुष्टि भइसकेको छैन ।

यसैबीच, सन् २०२५ जुलाईमा पेरिपु क्षेत्रमा हिमनदीको सतहमा बनेको तालबाट पानी निस्किएर बाढी आएको थियो भने सन् २०२६ अगस्टमा लाङटाङ लिरुङबाट चट्टान र बरफ खसेर सोही सीमावर्ती करिडोरमा अर्को विनाशकारी विपद् भएको थियो । यी दुई घटनाले १३ महिनाभित्र फरक प्रकृतिका दुई ठूला सीमापार विपद् सामना गर्नुपरेको देखाएको छ ।

बुढीगण्डकी जलाधार क्षेत्रमा पनि चट्टान र हिमनदी खस्ने छुट्टै घटना भएको भूउपग्रह तस्बिरबाट पुष्टि भएको अध्ययनमा उल्लेख छ । उक्त घटनाको क्रम, प्रभाव तथा भविष्यमा जोखिम न्यूनीकरणका लागि आवश्यक उपायबारे थप अध्ययन भइरहेको छ ।

इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख च्याङगोङ झाङले भूउपग्रहबाट प्राप्त तथ्याङ्क र वैज्ञानिक विधिले विगतका विपद् बुझ्न मात्र नभई भविष्यमा जोखिमयुक्त हुन सक्ने क्षेत्र पहिचान गर्न पनि सहयोग पुग्ने बताउनुभएको छ ।

इसिमोड र चीनस्थित साझेदार संस्थाको संयुक्त टोलीले यसै साता विपद् प्रभावित क्षेत्रमा थप प्रमाण सङ्कलन गर्न स्थलगत अध्ययन सुरु गर्ने जनाइएको छ । उक्त अध्ययनले जोखिमयुक्त क्षेत्र पहिचान, निगरानी तथा हिन्दूकुश हिमालय क्षेत्रमा पूर्वसूचना प्रणाली सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वन तथा भूमि सम्बन्धी कानुन संशोधनका लागि राष्ट्रपति पौडेलबाट दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योगले डिलरमार्फत नै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।एलपी ग्यासको सहज उपलब्धता सुनिश्चित उद्देश्यले उपत्यकाका विभिन्न १३ स्थानबाट ग्यास बिक्री गरिए पनि उपभोक्तालाई असुविधा पर्न गएको भन्दै सङ्घले अब डिलरमार्फत नै ग्यास खरिद गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष दिवान चन्दले आज विज्ञप्ति जारी गर्दै नजिकको डिलरमा गई ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध गर्नुभएको छ ।

नेपाल आयल निगम र एलपी ग्यास उद्योग सङ्घको समन्वयमा उपत्यकामा बजारीकरण भइरहेका सबै ब्राण्डका सिलिण्डर बिक्रीवितरणको व्यवस्था मिलाइएको थियो ।

क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोडको प्रारम्भिक लागत अनुमान

महेन्द्रनगर, असोज २७ गते । कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ । काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देक अधिकारीले आफूहरुले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिनुभयो । टोलीले रु सात करोड बराबरको क्षति भएको निष्कर्ष निकालेर प्रतिवेदन विभागमा पेस गरेको छ । उहाँले पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने बताउनुभयो ।

“सात करोड बराबरको क्षति भएको छ । पुनःनिर्माणमा बीस करोड लाग्ने लाग्ने भनेर प्रतिवेदन नै बनाएर पेस भइसक्यो ।” उपमहानिर्देशक अधिकारीले भन्नुभयो, “योजनामा राखेर बजेट विनियोजन भए हामी काम गर्न तयार नै छौँ ।” उहाँले महाकालीमा पानीको बहाव कम भएपछि मात्रै पुनःनिर्माण थालनी गर्न सकिने बताउनुभयो । “पानी सुकेपछि मात्रै सोयल टेष्ट हुने हो”, उहाँले भन्नुभयो, “त्यसका लागि हिउँदमा मात्रै काम थालनी हुनसक्छ ।”

उहाँले बजेट व्यवस्थापन भए पुनःनिर्माण थालिएको एक वर्षमा पुल बनी सक्ने बताउनुभयो । अध्ययनका क्रममा पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको प्राविधिक टोलीको भनाइ छ ।

झोलुङ्गे पुलभन्दा अढाइ किलोमिटर उत्तरतर्फ चार लेनको पक्की पुल निर्माण भएकाले दोधारा चादँनीको आवागमन पूर्ण रुपमा प्रभावित भने भएको छैन । यता सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ ।

विपद् भोगिरहेको नेपाललाई सघाउन संयोजक दाहालको अपिल

रसुवा, असोज २७ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तरराष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ ।

रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेँसी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले स्याफ्रुबेँसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःखसमेत व्यक्त गर्नुभयो ।

संयोजक दाहाल जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी हुनुभयो । उहाँले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । आफूले संसद् र सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै स्याफ्रुबेँसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय सरकार र जनप्रतिनिधिलाई उहाँले धन्यवाद दिनुभयो । दाहालले नदी किनारबाट कति दूरीसम्म घर निर्माण गर्न पाइने भन्ने स्पष्ट मापदण्ड तत्काल बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

राप्रपाको महाधिवेशन पार्टीको जीवनमा कोसेढुङ्गा बन्नुपर्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताएका छन्। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी महाधिवेशन राप्रपाको जीवनमा एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने बताए।

पार्टीको आगामी महाधिवेशनलाई औपचारिकतामा मात्र सीमित नराखी पार्टीको टर्निङ पोइन्ट बनाउनुपर्ने उनको भनाई छ ।

उनले भने,‘यो महाधिवेशन एउटा प्रक्रिया पूरा गर्ने मात्र होइन। हरेक चार वर्ष, पाँच वर्षमा हामीले एउटा नयाँ नेतृत्व चुन्नुपर्ने, महाधिवेशन गर्नैपर्ने हाम्रो वैधानिक बाध्यता र त्यसकारण त्यो बाध्यता हामीले पूरा गरिराखेका छौँ, त्यो औपचारिकता पूरा गरिराखेका छौँ मात्र होइन। आउने महाधिवेशन राप्रपाको जीवनको एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने छ हामीले । कतिपय सन्दर्भमा कुराहरू हुँदाखेरि हामीले कुनै पनि विषयलाई जोड दिएर भन्यौँ भने ‘कि ग¥यो कि म¥यो’ भनेर भन्छ। हामीलाई मर्ने सुविधै छैन। त्यसकारणले ग¥यो ग¥यो, राप्रपा अगाडि बढ्यो बढ्यो भन्ने हिसाबले हामीले आफ्नो काम गर्नुपर्ने छ। आउने महाधिवेशन नै हाम्रो पार्टीको जीवनको एउटा टर्निङ पोइन्ट हुनेछ, एउटा त्यस्तो क्षण हुनेछ कि जसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जुरुक्कै उठाउने छ।’

उनले पार्टीमा नयाँ सदस्यलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। अहिले पार्टीमा रहेका सदस्यहरू मात्रै मिलेर राप्रपालाई अपेक्षित रूपमा विस्तार गर्न नसकिने भन्दै उनले लाखौँ नयाँ मानिसका लागि पार्टीमा प्रवेश गर्ने ढोका खोल्नुपर्ने बताए।

‘हामी अहिले जति मान्छे छौँ त्यति मान्छे मिलेर मात्रै राप्रपा पुग्दैन। हामीले अरू मान्छे नबढाउने, आममान्छेको पार्टीको रूपमा राप्रपालाई विकसित नगर्ने तर हामी चाहिँ अँगालो मारेर बस्यौँ भने यो पार्टी ठूलो हुन्छ?’ उनले प्रश्न गरे।

लिङ्देनले विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू स्वतःस्फूर्त रूपमा राप्रपामा प्रवेश गरिरहेको दाबी गरे। नेकपा एमालेबाट रामकोट गाविसको अध्यक्षमा दुईपटक निर्वाचित मोहन गिरीलगायतका व्यक्तिहरू राप्रपामा आएको उल्लेख गर्दै उनले उनीहरूको प्रवेशले पार्टीलाई थप उत्साहित बनाएको बताए।

 

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण, एउटा डुब्यो

काठमाडाैँ । बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ।

बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो।

‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो। युक्रेनको ओडेसामा दर्ता भएको उक्त जहाज युक्रेनी स्वामित्वमा रहेको प्रधानमन्त्री रादेवले जानकारी दिए। जहाजका चालक दलका सदस्यहरूका अनुसार तीनवटा हवाई ड्रोनले जहाजमाथि आक्रमण गरेका थिए।

जहाजमा सवार युक्रेनका सात र अजरबैजानका आठ गरी १५ जना चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीहरूले सकुशल उद्धार गरेका छन् । उद्धार गरिएका सबैलाई भर्ना बन्दरगाहमा पु¥याइएको थियो । उनीहरूमध्ये पाँच जनाले स्वास्थ्य उपचारसमेत प्राप्त गरेका छन्।

यसैगरी, क्रापेत्स सहरबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको जानकारी अधिकारीहरूले प्राप्त गरेका थिए । उक्त जहाज डुबेको र त्यसमा सवार चालक दलका एक सदस्यलाई उद्धार गरिएको सरकारी सूचना सेवाले जनाएको छ।

बुल्गेरियाको तट नजिकै एक साताभित्र व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको यो दोस्रो घटना हो । यसअघि अक्टोबर ६ मा बायलाबाट करिब ७० समुद्री माइल पूर्वमा, बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा, अज्ञात ड्रोनको आक्रमणबाट एउटा व्यापारिक जहाज डुबेको थियो भने अर्को जहाजमा आगलागी भएको थियो।

प्रधानमन्त्री रादेवले बुल्गेरियाको प्रादेशिक जलक्षेत्रको नजिकै व्यापारिक जहाजमाथि बारम्बार आक्रमण हुनु पूर्ण रूपमा अस्वीकार्य रहेको बताए।

उनका अनुसार घटनाबारे उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघ (ईयू) का लागि बुल्गेरियाका स्थायी प्रतिनिधिहरूलाई जानकारी गराइएको छ। साथै, उनले नाटोका महासचिव मार्क रुटेसँग पनि यस विषयमा छलफल गर्ने बताए।

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद् जोखिम न्यूनीकरणका लागि विद्यमान कानुन तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताएकी छिन् ।

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा व्यक्त गरिन्।

मन्त्री गौतमले भनिन्, “विगत १५ वर्षमा प्रकृतिले हामीलाई पटक–पटक सन्देश दिइरहेको छ । विपद्को क्षेत्रमा काम गर्ने विज्ञहरूले नेपाल जोखिममा छ, कानुन र संरचना सुधार्नुपर्छ भनेर भन्दै आएका थिए । तर, यसपटकको रसुवाको बाढीले ती सन्देश सुन्नैपर्ने बाध्यात्मक परिस्थितिमा पु¥याएको छ ।”

मन्त्री गौतमले विपद् प्राकृतिक प्रक्रिया भए पनि त्यसबाट हुने क्षतिको मात्रा भने मानवीय निर्णय, कानुन, नीति र पूर्वाधारको प्रकृतिमा निर्भर रहने बताइन् ।

अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा ललितपुरमा आज आयोजित सम्मेलनमा उहाँले नदी करिडोरमा रहेका संरचना सुरक्षित स्थानमा निर्माण गरिएको भए रसुवाको बाढीको क्षति कम हुने उनले बताइन् ।

मन्त्री गौतमले भनिन्, “प्रकृतिले कस्तो विपत्ति निम्त्याउँछ भन्ने कुरा सधैँ अनुमान गर्न सकिँदैन । तर, विपद्ले कति क्षति पुर्याउँछ भन्ने कुरा हाम्रा संरचना, कानुन र नीतिले पनि निर्धारण गर्छन ।”

नेपालको भौगोलिक अवस्था र बढ्दो विपद् जोखिमलाई ध्यानमा राखेर विकासको ढाँचा परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै मन्त्री गौतमले भविष्यमा हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न पूर्वाधारको उत्थानशील क्षमता विकास गर्न आवश्यक रहेको बताइन् ।

मन्त्री गौतमले वैज्ञानिक तथ्य, तथ्याङ्क र विज्ञका सुझावका आधारमा कानुन तथा नीति निर्माण गरिने प्रतिबद्धता जनाइन् । जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सडक तथा समुदायबाट आवाज उठाउँदै आएको युवा पुस्ता अहिले नीति निर्माणको तहमा पुगेकाले जोखिम न्यूनीकरणलाई विकासको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

“गत भदौ १० गते रसुवामा आएको बाढीपछि उद्धार, राहत र शव व्यवस्थापनका क्रममा सरकारले विभिन्न चुनौती सामना गर्नुपरेका थियो,” मन्त्री गौतमले भनिन्, “विशेषगरी बाढीले बगाएर ल्याएका शव व्यवस्थापन गर्न पर्याप्त शीतभण्डारको व्यवस्था नहुँदा तत्काल निर्णय लिन कठिन भयो ।”

आपत्कालीन अवस्थामा शव व्यवस्थापनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मार्गदर्शनका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्ने कानुनी व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

“विपद्ले हामीलाई धेरै कुरा सिकाउँछ । आपत्कालीन अवस्थामा तत्काल निर्णय लिनुपर्ने हुन्छ । तर, त्यस्ता निर्णय गर्दा कानुनी व्यवस्था र सामाजिक संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ,” मन्त्री भनिन् ।

विपद्का घटना हराएका तथा मृत्यु हुनेको कानुनी घोषणा, सम्पत्ति, पारिवारिक सम्बन्ध तथा अन्य अधिकारसँग जोडिएका विषयलाई सम्बोधन गर्न विपद्को अवस्थालाई समेत ध्यानमा राखेर कानुन परिमार्जन गरिने उनको भनाइ छ ।

कपिलवस्तुमा चाडपर्व लक्षित ६४ वटा क्यूआरटी परिचालन

कपिलवस्तु । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कपिलवस्तुमा ६४ वटा द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) परिचालन गरिएको छ ।

जिल्लाभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सोमबारदेखि परिचालन गरिएका टोलीले घटना तथा दुर्घटनाको सूचना प्राप्त हुनासाथ तत्काल घटनास्थलमा पुगेर आवश्यक कारबाही गर्नेछन् ।

प्रत्येक टोलीमा एउटा मोटरसाइकलमा दुई जना प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनीहरू आवश्यक हातहतियार, सञ्चार सेट तथा अन्य सुरक्षा सामग्रीसहित परिचालित हुने उनको भनाइ छ ।

विशेषगरी सवारीसाधन पुग्न कठिन हुने र पैदल हिँडेर पुग्न समय लाग्ने स्थानमा तत्काल प्रहरी सेवा उपलब्ध गराउन क्यूआरटी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक भट्टले घटना, दुर्घटना वा कुनै पनि प्रकारका आपराधिक गतिविधिको सूचना प्राप्त हुनासाथ छिटो घटनास्थलमा पुगेर प्रतिक्रिया दिन टोली परिचालन गरिएको बताए ।

उनका अनुसार चाडपर्वका समयमा हुन सक्ने चोरी, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रमा निगरानी बढाउन क्यूआरटी टोलीले जिल्लाका विभिन्न स्थानमा गस्ती गर्नेछ ।

चाडपर्वका बेला नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै प्रहरी उपरीक्षक भट्टले शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरे ।

सांसद सुनारलाई राजीनामा दिन सुदन किरातीको सुझाव, ‘नैतिकता बलियो नभई जनताले नयाँ भनेर कसरी विश्वास गर्ने?’

काठमाडौं । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन्।

सुनारसँग सम्बन्धित अडियो सामग्री र विभिन्न आरोप सार्वजनिक भएपछि किरातीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पदको मर्यादा कायम राख्न राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन्।

किरातीले सांसद पद कुनै ओहोदा वा सत्ताको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानक भएको उल्लेख गरेका छन्।

‘माननीय खगेन्द्र सुनारजी, सांसद पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो,’ उनले लेखेका छन्।

उनले अनुहार अर्थात् पात्र फेरिँदैमा समाज परिवर्तन नहुने भन्दै सोच र प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताएका छन्। उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै गम्भीर आरोप र प्रश्न उठेको अवस्थामा त्यसको निष्पक्ष निरुपण आवश्यक रहेको उनको भनाइ छ।

‘अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसदजस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरुपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्,’ किरातीले लेखेका छन्।

किरातीले नैतिकता र राजनीतिक विश्वसनीयताबीचको सम्बन्धसमेत औँल्याएका छन्। उनका अनुसार नैतिक धरातल बलियो नभएसम्म उत्पीडनबाट मुक्ति सम्भव हुँदैन र जनताले नयाँ राजनीतिक शक्तिमाथि विश्वास गर्न पनि सक्दैनन्।

‘खगेन्द्रजी ! नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले “नयाँ” भनेर विश्वास नै गर्न सक्छन्,’ उनले उल्लेख गरेका छन्।

यसअघि रास्वपाले पनि सांसद सुनारमाथि सार्वजनिक भएका सामग्री र आरोपका सम्बन्धमा आन्तरिक छानबिन अघि बढाएको जनाएको थियो। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।

सुनारमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने मागसँगै यस प्रकरणले राजनीतिक नैतिकता, सार्वजनिक जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको विषयलाई पुनः चर्चामा ल्याएको छ।

भरतपुरमा भूमिगत विद्युतीकरण अन्तिम चरणमा, ९५ प्रतिशत काम सकियो

चितवन । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ । बाइपास रोड, सहिदचोकदेखि पुलचोकसम्म र चितवन मेडिकल कलेज अगाडिका ती ग्राहकलाई भूमिगत विद्युत् वितरण गरिएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीका अनुसार अहिले पनि ग्राहककोमा भूमिगत विद्युत् जडानको काम भइरहेको छ ।

अहिले दैनिक १३ वटा हाराहारी मिटरमा लाइन जडानको काम भइरहेको छ । उनका अनुसार भूमिगत विद्युतीकरणअन्तर्गत १८ वटा फिडरमध्ये तीन वटामा लाइन जडानको काम बाँकी रहेको छ भने अन्यमा जडान गरी सकिएको छ ।

भूमिगत विद्युतीकरणअन्तर्गत भरतपुर महानगरपालिकाका एक हजार २४० ग्राहककोमा लाइन जडान गर्नुपर्ने हुन्छ । अहिलेसम्म आयोजनाले ९५ प्रतिशत काम सम्पन्न गरिसकेको उनले जानकारी दिए । भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्नका लागि रु एक अर्ब ४० करोड लागत लाग्ने छ । सुरुआती समयमा रु एक अर्ब ३० करोड बजेट भरतपुरलाई विनियोजन गरिएको थियो । काम थपिएसँगै रु १० करोड थप गरिएको हो ।

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटकपटक म्याद थप गरेर कामलाई अघि बढाइएको हो । एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

तन्त्रका रहस्यमय पक्षलाई र्‍यापमा उतार्ने आयुषको प्रयास, हेर्नुहोस् भिडियो

काठमाडौं । नेपालका ऊर्जा उपचारकर्ता तथा मनोवैज्ञानिक परामर्शदाता आयुष चन्द्र रेग्मीको स्वर, शब्द तथा संगीत रहेको र्‍याप गीत ‘तान्त्रिक’को भिडियो सार्वजनिक भएको छ। हाल अमेरिकामा बस्दै आएका रेग्मीले सनातनी वाममार्गी पद्धतीबारे ‘तान्त्रिक’को शक्ति र तन्त्रका बारेमा गीतमार्फत खुलासा गरेका छन् ।

कलात्मक शैलीमा तयार पारिएको भिडियोमा तान्त्रिक गतिविधि, १० महाविद्या, शम्शान र कपालिकजस्ता विषयलाई समेटिएको छ।

मशान विर, मारण विद्या, जस्ता शब्द मार्फत तान्त्रिक परम्परासँग सम्बन्धित दृश्य र भावलाई गीतमा उतारिएको छ।

भिडियो ‘गेट हिल्ड विथ आयुष’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा तान्त्रिक विषयवस्तुलाई र्‍याप शैलीमा प्रस्तुत गरिएको छ भने भिडियोमा पनि त्यसैअनुरूप कलात्मक दृश्य संयोजन गरिएको छ।

आयुषले प्राचीन उपचार पद्धति र आधुनिक विज्ञानको संयोजन गर्दै हिप्नोथेरापी, ऊर्जा उपचार, तन्त्र तथा मानसिक र शारीरिक सन्तुलनसँग सम्बन्धित सेवा प्रदान गर्दै आएका छन्। रेग्मीले हालसम्म चार हजारभन्दा बढी केसमा काम गरिसकेका छन्। मानसिक स्वास्थ्य र भावनात्मक सन्तुलनका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले आफूले विभिन्न विधिमार्फत काम गरिरहेको उनको भनाइ छ।

विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ ।

जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो । नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।

तालिकाको शीर्ष छमा रहेर आइसिसी एकदिवसीय मान्यता जोगाउन नेपालका लागि आजको खेल महत्वपूर्ण छ । ताजा स्थितिमा अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छ ।

आइसिसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष छमा पर्ने टोलीले सोझै एकदिवसीय मान्यता जोगाउने छन् । तालिकाको पुछारको दुईवटा टिमले एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्छ ।

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की। वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् ।हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक÷एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ । अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ । पशु चिकित्सक अधिकारीले भन्नुभयो“दशैँका लागि पोखरामा भेडाच्याङग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबजारमा ल्याइसकेका छन् भने धेरैले पोखरावरपरका चरन क्षेत्रमा राखेका छन् । ती भेडाच्याङग्रा एक–दुई दिनमा हाटबजारमा ल्याउने जानकारी पाएका छौँ ।”

यसैबीच, पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की र पशु क्वारेन्टाइन कार्यालय पोखराको संयुक्त टोलीले भेडाच्याङग्राको स्वास्थ्य अवस्था तथा बिक्री वितरणको अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा अधिकांश भेडाच्याङग्रा स्वस्थ पाइएको टोलीले जनाएको छ । फूलपातीका दिनसम्म निरन्तर अनुगमन गरिने जनाइएको छ ।

व्यापारीले भेडाच्याङग्रा ल्याउने क्रममा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट भेटेरिनरी निरीक्षकले स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र दिएपछि ढुवानी गर्ने व्यवस्था रहेको छ । अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डा ग्रिष्म न्यौपानेले चाडपर्वका समयमा धेरै संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर संयुक्त अनुगमन गरिएको बताउनुभयो । उहाँले उपभोक्तालाई भेडाच्याङग्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो । सामान्य अवस्थामा श्वासप्रश्वासको गति नबढेको, ¥याल नकाढेको र चिल्लो रौँ भएको च्याङ्ग्रा छनोट गर्न उहाँको सुझाव छ । “लामो समय हिँडाएर वा गाडीमा ल्याइएका भेडाच्याङग्रालाई एक–दुई दिनअघि नै खरिद गरेर लैजानु र बध गर्नुभन्दा कम्तीमा २४ घण्टाअघि घरमा ल्याउनु राम्रो हुन्छ ।” डा. न्यौपानेले भन्नुभयो ।
पोखराको हाटबजारमा च्याङग्रा प्रतिकेजी एक हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको महानगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङग्राको मासुको माग दशैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ । पोखरामा भेडाच्याङ्ग्राका अतिरिक्त सुर्खेत, अर्घाखाँची, दाङ, पाल्पा र तनहुँलगायतका जिल्लाबाट समेत ठूलो संख्यामा खसीबोका ल्याएर बिक्री गर्ने गरिन्छ । मुगुका व्यापारी नवराज देवकोटाले हुम्लाबाट ११ दिन लगाएर च्याङग्रा पोखरा ल्याइपु¥याएको बताउनुभयो । उहाँका अनुसार केही स्थानमा पैदल हिँडाएर र केही ठाउँमा गाडीमा राखेर ल्याइएको हो । यस वर्ष अविरल वर्षा र पहिरोका कारण ढुवानीमा विगतका वर्षभन्दा बढी कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “यसपटक कहिले पानीले सतायो, कहिले बाढीले समस्या भयो । पहिले बजार राम्रो थियो, अहिले बजार पनि राम्रो छैन ।” बाटोमा विभिन्न स्थानीय तह तथा पशु सेवा कार्यालयमा तिर्नुपर्ने शुल्क र चरनका लागि समेत रकम खर्च गर्नुपर्ने भएकाले च्याङग्राको मूल्य महँगो पर्ने गरेको उहाँको भनाइ छ ।

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

गण्डकी। देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ ।पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन् ।

सोही अन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार भरतपुरमा सरोकार भएका पक्षहरूबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम गरी सुझाव सङ्कलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको हो । तीनै स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायीलगायतले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका तीनै गन्तव्यको पर्यटन प्रवर्द्धन र विकासमा साझा प्रतिबद्धता जनाएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिकता, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतालाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पर्यटनका माध्यमबाट तीनै सहरको अर्थतन्त्रलाई समृद्ध बनाउन ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा ल्याउएको बताउनुभयो । उहाँले गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारी अनुसार महानगरको नीति, योजना तथा कार्यक्रममा उक्त प्रवर्द्धनात्मक कार्यक्रमलाई समेटिएको बताउनुभयो ।

“अब व्यवसायदेखि व्यवसाय (बिटुबी) र सरकारदेखि सरकार (जिटुजी) सहकार्यलाई ठोस र मूर्त रूपमा अगाडि बढाउनुपर्छ”, प्रमुख आचार्यले भन्नुभयो, “नेपाल भित्रने पर्यटकलाई पोखरा, चितवन र लुम्बिनी एकैसाथ घुम्ने गरी कनेक्टीभिटीदेखि पर्यटकीय सेवासुविधामा विस्तारमा जोड दिनुपर्छ ।”

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि नीजि क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा संचालनका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

पोखरा भ्रमण वर्ष २०२५-२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यमा जोड दिनुभयो । पछिल्लो समय प्राकृतिक विपद्का कारण पर्यटनमा असर पुगिरहेको बताउँदै नेपाल खुला र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ दिनुपर्ने उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाई लम्बाउने गरी योजना बनाउनुपर्ने बताउनुभयो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुवेदीले तीन स्थानीय तहबीच व्यावसायिक संजाल विस्तार र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको डिजिटल मार्केटिङ गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गव्तव्यको प्रवर्द्धनका लागि सहकार्य र साझेदारी हुनुपर्ने बताउनुभयो । उहाँले छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला (ट्राभल मार्ट)को आयोजना गरिने बताउनुभयो ।

गत जेठ २६ गते भएको तीन स्थानीय तहबीचको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

पर्यटन प्रवर्द्धनका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने सहमति भएको थियो । डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि सम्झौतामा समेटिएको छ । जस अन्तर्गत भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा राखेको डिजिटल सूचना बोर्डकोसमेत सोमबार शुभारम्भ गरिएको थियो ।

उक्त समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समावेश छ । तीनै गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटक प्याकेज विकास गरिने जनाइएको छ ।

दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्यो

काठमाडौँ। बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौँका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरीएका छन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।

“दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उहाँले भन्नुभयो । असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ ।

दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

कांग्रेसको नेतृत्व चयनप्रति अमरेशकुमारको कटाक्ष, दलित, मधेसी र जनजातिको प्रतिनिधित्व खोइ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको विषय उठाउँदै पार्टीको नेतृत्व संरचनामाथि प्रश्न गरेका छन्।

कांग्रेसले समावेशी लोकतन्त्रको नारा दिए पनि नेतृत्व चयनमा विभिन्न जातीय समुदाय र प्रदेशको प्रतिनिधित्व कमजोर देखिएको भन्दै सिंहले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

उनले लेखेका छन्, ‘न जनजाति, न दलित। प्रादेशिक हिसाबले पनि मधेश, सुदूरपश्चिम र कर्णाली शून्य। अब टीके बन्ने हो? खोदा पहाड तो निकला चुहा!’

सिंहले कांग्रेसको सभापतिदेखि महामन्त्रीसम्मका पदमा खस–आर्य समुदायको वर्चस्व देखिएको उल्लेख गर्दै दलित, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्वबारे प्रश्न उठाएका छन्।

‘समावेशी लोकतन्त्रको चर्को नारा दिने नेपाली कांग्रेसको नेतृत्व चयनमा समावेशिताको वास्तविक तस्बिर कहाँ छ?’ उनले प्रश्न गरेका छन्।

कांग्रेसजस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले सबै समुदायलाई समान अवसर र सम्मान दिनुपर्नेमा जोड दिँदै सिंहले समावेशिता भाषणमा मात्र नभई नेतृत्वको संरचनामै देखिनुपर्ने बताएका छन्।

‘समावेशिता भाषणमा होइन, नेतृत्वको संरचनामा देखिनुपर्छ। महिला प्रतिनिधित्वलाई पनि एउटै समुदायमा सीमित गरेर साँचो समावेशिताको दाबी गर्न मिल्दैन,’ उनले लेखेका छन्।

नेतृत्व चयनमा सबै समुदायको सहभागिता र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा राख्दै सिंहले अन्यथा परिवर्तनको नारा नारामै सीमित हुने टिप्पणी गरेका छन्।

‘नाम नयाँ, नारा नयाँ तर नेतृत्वको चरित्र र प्रतिनिधित्व पुरानै,’ भन्दै उनले जनताले खोजेको परिवर्तन यही हो त भनेर कांग्रेसको नेतृत्व चयनमाथि प्रश्न गरेका छन्।

वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले जारी गरेको विवरण अनुसार तारकेश्वर नगरपालिका–११ स्थित आराध्या मसला तथा किराना पसललाई २० हजार रुपैयाँ र बुढानिलकण्ठ नगरपालिका–१० स्थित जोशी किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, बुढानिलकण्ठ–१० कै सुदुर सप्लायर्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

यसैगरी, लाजिम्पाटस्थित कुरीलो प्रा.लि., चावहिलस्थित अस्केटचा र नेपालटारस्थित जय पशुपति काठ तथा प्लाई उद्योग प्रा.लि.लाई आवश्यक कागजातसहित वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

अनुगमन गरिएका अन्य २१ वटा फर्म तथा उद्योगहरूलाई भने व्यवसाय सञ्चालनका क्रममा देखिएका सामान्य कमजोरी सच्याउन निर्देशन दिइएको छ । सामान्य निर्देशन पाउनेहरूमा भाटभटेनी सुपरमार्केट (मध्यपुर थिमी शाखा), खड्का ग्यास डिपो, लमजुङ इलेक्ट्रोनिक्स, विभिन्न फेसन स्टोर, खाद्य पसल तथा एग्रो फर्महरू रहेका छन् ।

विभागले चाडपर्व तथा नियमित बजार अनुगमनलाई तीव्रता दिँदै उपभोक्ता हितविपरीत काम गर्ने फर्म तथा व्यवसायीहरूलाई कारबाहीको दायरामा ल्याउने क्रमलाई निरन्तरता दिएको जनाएको छ ।

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’

भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ ।

हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । गाउँपालिकाले पछिल्ला वर्षमा देवस्थलको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि यसको महत्व थप बढ्दै गएको छ ।

गाउँपालिकाले देवस्थल परिसरमा फलामको बारसहितको पदमार्ग निर्माण गरेको छ । आवतजावत सहज बनाउन सडक विस्तार गरेको छ । महादेव थान संरक्षण समिति गठन गरेर यस क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विकासको काम अघि बढाइएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।

“महादेव थान यहाँको महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो”, अध्यक्ष राईले भन्नुभयो, “यस क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई जोगाउँदै आवश्यक पूर्वाधार विकासमा काम गरिरहेका छौँ । संरक्षणका काम अघि बढेपछि यहाँ आउने भक्तजनलाई पनि सहज भएको छ ।”

विभिन्न कारणले लामो समयदेखि रोकिएको यहाँको मेला पछिल्लो समय स्थानीयवासीको पहलमा पुनःसञ्चालन गरिएको छ । गाउँपालिकाले विसं २०८० देखि पूजापाठ तथा सद्बीज छर्ने कार्यक्रम सुरु गरेपछि यस स्थलको धार्मिक गतिविधि थप सक्रिय बनेको छ । विशेषगरी बालाचतुर्दशीका अवसरमा यहाँ मेला, पूजापाठ तथा भजनकीर्तन हुने गरेको छ ।

गुफासहितको प्राकृतिक बनावटले यस क्षेत्रलाई थप आकर्षक बनाएको स्थानीयवासी लालबहादुर प्रधानले बताउनुभयो । यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण विभिन्न स्थानबाट भक्तजन आउने गरेको उहाँको भनाइ छ ।

महादेव थान परिसरमा गुफासँगै विभिन्न देवीदेवताका मूर्ति रहेका छन् । धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संयोजनले यस स्थललाई पर्यटकीय दृष्टिले महत्वपूर्ण बनाएको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले बताउनुभयो ।

वडा तथा गाउँपालिकाको पहलमा देवस्थलको संरक्षण र पूर्वाधार विकासका काम अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्नसके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढाउन सहयोग पुग्ने वडाध्यक्ष विष्टको भनाइ छ ।

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

बाँके। नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ।दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा पाइला टेक्ने ठाउँ हुँदैन थियो।

दसैँको नयाँ लुगा, घरका लागि चाहिने उपभोग्य सामग्री किनमेल गर्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली उपभोक्ता सीमापारि जाने गर्दथे। यसपटक भने रूपैडिहा बजारको त्यो पुरानो रौनकता र चहलपहल हराएको छ।सीमावर्ती भारतीय बजारमा नेपालीको भीड घट्नुका पछाडि मुख्य गरी सीमा नाकामा गरिएको कडाइ र भन्सारसम्बन्धी नयाँ नियम नै प्रमुख कारण रहेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।

गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट रु १०० भन्दाबढी मूल्यका सामान बिनाभन्सार नेपाल ल्याउन रोक लगाइएको थियो। उक्त सीमा बढाएर हाल रु ५०० पुर्याइएको छ।

अघिल्ला वर्षमा चाडपर्वका बेला नेपाली ग्राहकले भरिभराउ हुने रूपैडिहाका पसल यसपटक सुनसान देखिएका छन्। दुवैतर्फ जाँच र लामो लाइन बस्नुपर्ने भएकाले सीमा पारी जाने उपभोक्ता घटेको नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले बताए।

रु ५०० भन्दाबढीको सामान भन्सार जाँच गर्नुपर्ने व्यवस्थाले उपभोक्ता रुपैडिहा जान छाडेका छन्। नेपाली उपभोक्ताको आवागमन कम भएपछि रूपैडिहा बजार सुनसान बन्दै गएको उनको भनाइ छ।

सीमापारी रुपैडिहा बजार जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका ‘सपिङ मल’मा भीडभाड बढेको छ। नेपालगञ्जको भाटभटेनी, वेष्टर्न मार्टलगायत सुपर स्टोरमा नेपाली उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए।

उनले भन्सार कडाइले सीमापारी जान रोकिएका उपभोक्तालाई नेपालगञ्जमै किनमेलको वातावरण बनाउन यहाँका व्यापारी, उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने बताए।

चाडपर्वका बेला नेपाली बजारमा व्यापारीले मूल्यवृद्धि र वस्तुको अभाव गराउने कार्यलाई निरुत्साहित गर्न बजार अनुगमनलाई ध्यान दिनुपर्ने उनको सुझाव छ।

सीमापारी भारतीय बजार रुपैडिहामा किनमेलका लागि जाने उपभोक्ता घटे पनि स्थानीय बजारमा खरिदर सोही अनुपातमा नबढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले जानकारी दिए।

उनका अनुसार, तस्करी विगतको तुलनामा घटेको अनुमान छ। मुख्य नाकामा कडाइ भए पनि खुला सीमाका कारण भित्री नाकाबाट हुनसक्ने तस्करी रोक्न ती क्षेत्रमा निगरानी बढाउनुपर्ने देखिन्छ।

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने 

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ ।

यस्तै आज राती कर्णाली र सूदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा थोरै स्थानमा मध्यम सम्मको र एक–दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू–भागमा एक–दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू

भक्तपुर । अध्यागमन विभागले नेपालमा रहेका विदेशी नागरिकका गतिविधिको निगरानी, यात्रा व्यवस्थापन र सहजीकरणका लागि पहिलो पटक लागू गरेको सूचना प्रणालीलाई देशव्यापी विस्तार गरेको छ ।

विभागले आज नगरकोटमा आयोजना गरेको ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा विभागका निर्देशक शिव लम्सालले नेपाल भित्रिएका विदेशी नागरिक नफर्केसम्म उनीहरू कहाँ गए, कहाँ बसेलगायतका विवरण लिनेगरी विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली देशव्यापी रूपमा लागू गरिएको बताए ।

विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि विमानस्थलमा आएको र विमानस्थलबाट फर्केको मात्र रेकर्ड राख्ने गर्दा नफर्किएका विदेशी कहाँ गए, के गरिरहेका छन् भन्ने जानकारी नहुँदा कैयौँ विदेशी नागरिक अपराधमा संलग्न रहेको पाइएको बताए ।

उनका अनुसार सन् २०२५ मा कानुन उलङ्घन गर्ने ४५९ विदेशी नागरिकलाई देश निष्कासन गरिएकामा २०२६ जनवरी १ देखि अक्टोबर १० सम्म ५४० जना विदेशीलाई देश निष्कासन गरिएको छ ।

उनले अध्यागमनको कानुन उल्लङ्घन गरेको, प्रवेशाज्ञाको उद्देश्य विपरीत बसेको, देशको कानुनमा दोषी ठहर भएको र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेका ६४ जनालाई सन् २०२५ मा फिर्ता पठाइएको बताए ।

यस्तै, ६१ जनालाई २०२६ अक्टोबर १० सम्म कानुन उलङ्घन गरेको पाइएपछि फिर्ता पठाइएको छ । विभिन्न प्रवेशाज्ञामा नेपाल भित्रिएका विदेशी नागरिक अध्यागमन कानुन विपरीत अरू नै गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन, व्यवस्थापन, सुरक्षा तथा यात्रा सहजीकरण गर्न यो प्रणाली लागू गरिएको उहाँले बताउनुभयो ।

सन् २०२५ जनवरी १ देखि काठमाडौँ उपत्यकाका तारे होटल, ट्राभल एजेन्सी, मनि एक्स्चेन्जलगायतमा यो प्रणाली लागू गरिएको भए पनि अहिले भने देशभर लागू गरिएको विभागका निर्देशक लम्सालले बताए ।

नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले विभागले यो प्रणाली लागू गरिएको उनको भनाइ छ ।

नेपाल भित्रिएका विदेशी नागरिक कुन होटलमा बसेको, उनीहरू कुन कुन ठाउँमा घुमेको, कहाँ कहाँ पुगेको, विपद्का समयमा बेपत्ता भए भने कुन ठाउँमा पुगेर हराए, प्रवेशाज्ञा कानुनअनुसार भए/ नभएको लगायत निगरानी गर्न सकिने बताए ।

विभागका निर्देशक अमरदीप सुनुवारले यो प्रणालीलाई सेवा प्रदायक संस्था, होटल व्यवसायी, आन्तरिक वायु सेवा प्रदायक, ट्रेकिङ एजेन्सी, सार्वजनिक यातायात, पर्वतारोहण एजेन्सी, टुर एण्ड ट्राभल ऐजन्सी, टेलिकम सेवा प्रदायक, बैंक तथा वित्तीय संस्था, टुरिस्ट गाइड, पर्यटक प्रहरीलगायतले प्रत्यक्ष रूपमा विभागको प्रणालीमा सूचना राख्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामा, उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष कृष्णमरारी न्यौपाने, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरी, नगरकोट नाल्दुम पर्यटन प्यवसायी समितिका सचिव प्रदीप अधिकारी, होटल चौतारीका सञ्चालक बद्री माकलगायतले विभागले उक्त प्रणालीलाई अनिवार्य रूपमा देशभर लागू गर्नुपर्नेमा जोड दिए ।