`

भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।

पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुङ्गे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सात वटा पुलमा सामान्य क्षति पुगेको थियो ।

अत्यधिक क्षति भएका ११ वटा पुलहरूको बटारिएका लट्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने, साइडको जाली राखी मर्मत गरिएको थियो भने बाँकी सात वटा पुलहरूको सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

सहसचिव बुढाथोकीका अनुसार बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, सोही जिल्लाको वेलकोटगढी–५ देखि धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल, धादिङको सिद्धलेक–३ देखि बेनीघाट रोराङ–३ जोड्ने झोलुङ्गे पुल छन् ।

साथै, नुवाकोटको बेलकोटगढी–५ केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने झोलुङ्गे पुल, धादिङको सिद्दलेक–६ र गजुरी–१ जोड्ने् झोलुङ्गे पुल, धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नं ४ जोड्ने झोलुङ्गे पुल, गल्छी–२ र वडा नं ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल, नुवाकोटको बेवकोटगढी–५ र धादिङको गल्छी–२ जोड्न कोल्पु कल्लेरीघाट पुल र गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको थियो ।

साथै गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको छ । सामान्य मर्मत गरिएका अन्य पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, जिल्लाकै सिद्धलेक–५ देखि बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल, धादिङकै गल्छी२–४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुल, गोरखाको सहिद लखन–४ देखि चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल छन् । साथै धादिङको गल्छी–२ र ४ जाड्ने महादेवस्थान झोलुङ्गे पुल र गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल छन् ।

भोटेकोशी बाढी: काभ्रेका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलान्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलान्चोक ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ ।

विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मङ्गलबारदेखि भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३ अनुसार काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ । यसका लागि बिहीबारदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

अधिकारीका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ । यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र सोही समितिले बेपत्ता व्यक्ति यकिन गर्ने निर्णय गरिएको छ ।

प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीको भनाइ छ । त्यसपछि समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको अधिकारीले बताउनुभयो । यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने बताइन्छ ।

प्रजिअ अधिकारीका अनुसार नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाउन लागिएको हो । सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ भित्र अनिवार्य रूपमा पालिकामा पेस गर्नुपर्ने जनाइएको छ । त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ । स्थानीय तहबाट तोकिएको समयभन्दा अगाडि नै विवरण प्राप्त भएमा कात्तिक १८ अगावै बाँकी प्रक्रिया थालिने प्रजिअ अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक अनुसार जिल्लाका ३७ सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ । त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २७ पैसा र बिक्रीदर १७० रुपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ३० पैसा र बिक्रीदर २०२ रुपैयाँ १० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८३ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४० रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २२ पैसा र बिक्रीदर १५ रुपैयाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७८ पैसा र बिक्रीदर २२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ९६ पैसा बिक्रीदर ४०३ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ – दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।

छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

त्यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

शिक्षण अस्पतालमा शल्यक्रियापछि प्रधानमन्त्री पत्नी सविना काफ्ले घर फर्किइन्

काठमाडौं । प्रधानमन्त्रीकी पत्नी सविना काफ्ले अस्पतालबाट डिस्चार्ज भएकी छन्। स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएकी काफ्लेको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको हो।

काफ्लेलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा परीक्षण तथा चिकित्सकीय मूल्याङ्कनपछि उनलाई एपेन्डिसाइटिस भएको पुष्टि भएपछि बिहीबार बिहान ४ बजे आकस्मिक शल्यक्रिया गरिएको थियो।

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या ९ पुग्यो, थप चार पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।

मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो।

यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको छ। भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ। त्यस सन्दर्भमा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था गरिने छ।

उक्त मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुमबासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ । त्यसरी उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूलखेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गमा पुर्‍याइने छ।

यसअघि तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका, कास्कीको रुपा गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिइएको थियो।

बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ।

पश्चिमी वायुको प्रभावले आज र भोलि वर्षाको सम्भावना

काठमाडौँ। आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई मौसमसम्बन्धी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा। गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्‍याइएको हो। बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै सडक र पुलसमेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो।

गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्‍याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको छ।

सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि ढुक्क भएका छन्। सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि यो ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत मिलेको वडा कार्यालयले जनाएको छ।

ले पेनको टिप्पणीपछि जेलेन्स्कीद्वारा आपसी हितका लागि सहकार्यमा जोड

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार आफ्नो देशको फ्रान्ससँगको रक्षा सहकार्य आपसी हितका लागि रहेको बताएका छन्। यो टिप्पणी फ्रान्सका राष्ट्रपतीय उम्मेदवार मरिन ले पेनले निर्वाचित भएमा किएभलाई दिइने सहयोग कटौती गर्ने बताएपछि आएको हो।

जेलेन्स्कीले फाइनान्सियल टाइम्सलाई दिएको अन्तवार्तामा भने, “युक्रेनको युद्धमैदान प्रविधिको अनुभव ‘साझेदारहरूका लागि निकै महत्त्वपूर्ण छ । बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्सयस्ता साझेदारहरू यसमा पर्छन्।” उनले भने, “म्याडम ले पेन केही विवरणहरूसँग गहिरो रूपमा परिचित हुनुहुन्न।”

फ्रान्ससँगको रक्षा सम्बन्धबारे जेलेन्स्कीले भने, “मेरो विचारमा यो आपसी हितका लागि हो।” दक्षिणपन्थी नेत्री ले पेनले बुधबार अर्को वर्षको फ्रान्सको राष्ट्रपतीय चुनाव आफूले जितेमा फ्रान्सले युक्रेनलाई दिइने आर्थिक सहयोग कटौती गर्नेछ।

वर्तमान राष्ट्रपति इमान्युएल माक्रोँको अन्तिम कार्यकाल समाप्त हुँदा हुने उक्त चुनावमा सर्वेक्षणहरूले उहाँलाई अगाडि देखाएका छन् । मतदान अप्रिल र मे महिनामा हुनेछ। “हामी छ महिनासम्म सहयोग कायम राख्नेछौँ तर त्यसपछि आर्थिक सहयोग रोकिनेछ किनकि हामीसँग पैसा छैन,” ले पेनले बेल्जियमको टेलिभिजन नेटवर्क भिआरटीसँग भने।

फ्रान्स युक्रेनका सबैभन्दा बलियो सैन्य समर्थकहरू मध्ये एक हो । युक्रेनले सन् २०२२ मा सुरु भएको रुसको आक्रमणविरुद्ध लडिरहेको छ र फ्रान्सले किएभलाई दिइने युरोपेली सङ्घको आर्थिक सहयोगलाई पनि सअयोग गर्छ।

युक्रेनले विशेष गरी ‘फ्रान्को–इटालियन एसएएमपी/टी’ भू–सतहबाट हवाइ लक्ष्य भेद्ने मिसाइलहरू प्रयोग गर्छ जसलाई उसले आफ्नो हवाई रक्षाका लागि परिमार्जन गरेको छ । त्यस्तै ‘फ्रान्को–ब्रिटिश स्टर्म स्याडो/स्काल्प’ लामो दूरीका क्रूज मिसाइलहरू पनि प्रयोग गर्छ।

जेलेन्स्कीले फाइनान्सियल टाइम्सको अन्तर्वार्तामा भने, “युक्रेनले फ्रान्सेली सैन्य प्रणालीहरू युद्धमैदानमा प्रयोग गरेको अनुभव, ती प्रणालीहरूमा गरिएका अनुकूलनहरू र ड्रोन युद्धमा उसको अनुभवले फ्रान्सलाई बहुमूल्य वास्तविक अनुभवको प्रतिक्रिया दिएको छ।”

जर्मनीको थिङ्क ट्याङ्क ‘किएल इन्स्टिच्युट’का अनुसार रुसको पूर्ण आक्रमण सुरु भएदेखि फ्रान्सले किएभलाई २७ अर्ब युरो (३० अर्ब अमेरिकी डलर) योगदान गरेको छ।

यो रकममा ७.९ अर्ब युरो द्विपक्षीय सहयोग र १९ अर्ब युरो युरोपेली सङ्घका माध्यमबाट दिइएको सहयोग हो।

दसैँ–तिहारमा भारतबाट फर्किने यात्रुको गड्डाचौकी नाकामा ६ प्रकारका रोगको परीक्षण

कञ्चनपुर, २९ असोज : दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो ।

भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान गरी समयमै उपचार तथा रोगको सङ्क्रमण फैलिन नदिन सीमानाकामै स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले जानकारी दिनुभयो ।

“सङ्क्रमण देखिए अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिन्छ”, भट्टले भन्नुभयो, “टाढाको मानिसका लागि सम्बन्धित जिल्लाको अस्पतालमा खबर गरेर उपचारको व्यवस्था मिलाइन्छ ।” नाकामा आउने यात्रुमध्ये भारतका मलेरिया, डेङ्गीलगायतका सङ्क्रामक रोग बढी फैलिएको क्षेत्रबाट आएका यात्रु र ज्यरो आएको यात्रुको परीक्षण गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

असोजमा मात्रै गड्डाचौकी नाकामा चार हजार ७०० को स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणमा अहिलेसम्म दुई जनामा टिभी पोजेटिभबाहेक अन्यमा सङ्क्रमण देखिएको छैन । प्रहरीको तथ्याङअनुसार अहिले गड्डाचौकी नाका भएर दैनिक दुई हजार मानिस नेपाल फकिरहेका छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपाली घर फर्किन थालेपछि गड्डाचौकी नाकामा यात्रुको चाप बढेको छ ।

यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमानाकालगायत जिल्लाका विभिन्न स्थानमा नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकी नाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेकाले यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताउनुभयो ।

“गड्डाचौकी नाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उहाँले भन्नुभयो, “चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्युनीकरणका लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।”

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर, २९ असोज : कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा सहभागी हुन प्रदेश सचिव इन्द्र सापकोटालाई मनोनयन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सापकोटालाई मनोनयन गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाले सर्वसम्मतिले पारित गरेकामा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, विषयगत समितिका सभापति तथा राजनीतिक दलका प्रमुखप्रति कृतज्ञता ज्ञापन गरेको छ । यही असोज २४ गते उक्त विधेयक पारित भएको हो ।

महँगो भए पनि दसैँमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो, रोज्जाको मूल्य ५० हजारसम्म

बागलुङ, २९ असोज : दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ ।

कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने डोल्पा-मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत बागलुङ च्याङ्ग्रा बिक्रीका लागि आउनुभएका तेन्जिङ तार्के तामाङले बताउनुभयो ।

“डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिएँ, जसमध्ये १०० बागलुङ र १०० च्याङ्ग्रा पोखरा पठाएको छु । बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भन्नुभयो, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दसैँको समयमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म च्याङ्ग्राको मूल्य परेको छ, माग भने घटेको छैन । दसैँअघि बिक्री गरिसक्ने योजना छ ।” उहाँका अनुसार रु ३२ हजारदेखि रु ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ ।

हिमपातले यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उहाँको अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उहाँको आकलन रहेको छ ।

बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा मासु बिक्री गरिरहेको बताउनुभयो । यसपटक मूल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको उहाँको भनाइ छ । यस वर्ष मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदाहुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्र्याएका व्यापारी बताउछन् ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो ।

“स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन”, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, व्यापारी थापाले भन्नुभयो, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरिएको छ ।”

हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्र्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडाैँ निकासी भएका छन् । अहिलेसम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला। जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी छनोट भएका छन् ।

यहाँ आयोजित कर्णाली प्रदेशस्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगितामा हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका दशमध्ये आठ जिल्लाका ९३ जना खेलाडीले भाग लिएका खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन दिनसम्म सञ्चालन भएको छनोट प्रतियोगिताबाट कर्णाली प्रदेशका २१ जना तेक्वान्दो खेलाडी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जुम्ला, कालीकोट, मुगु, दैलेख, सुर्खेत, जाजरकोट, सल्यान र रुकुम पश्चिमबाट कूल ९३ जना खेलाडी सहभागी भएका जनाउँदै उहाँले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउँदा २१ जना खेलाडी प्रथम हुँदै राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका बताउनुभयो ।

उक्त खेलमा छनोट भएका खेलाडी पुरुषतर्फ रुकुम पश्चिमका लालबहादुर परियार, कमल खड्का, खड्क विक र रमेश गुरुङ, कालीकोटका विराज बम, सुर्खेतका जीवन सार्की, सल्यानका योगेन्द्र शाह र लीलाधर नेपाली तथा जुम्लाका नरेन्द्र रावत छन् । महिलातर्फ जुम्लाकी निशा बुढा, सरला खत्री र ज्ञानिता कुलाल तथा सुर्खेतकी दिप्ती नेपाली, देवीसरा सुनार र विविका बस्नेत छनोट भएका छन् ।

साथै पूजा गाहा, मोनिमा दर्लामी र पूजा खत्रीलगायत खेलाडी पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलकुद विकास समितिको कार्यालय जुम्लाले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको खेलकुद विकास समिति जुम्लाले जनाएको छ ।

विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन

म्याग्दी। विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुन आज मनसुनजन्य विपद्बाट पुगेको क्षतिको निरिक्षणका लागि म्याग्दीमा आउनुभएको छ ।

यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण प्रभावित बनेको म्याग्दीको स्थलगत निरीक्षणका लागि यहाँ आउनुभएको हो ।

गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा पुन विजयी हुनुभएको थियो । बाढीपहिरोले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण, प्रभावितसँग भेटघाट र सरोकार भएका निकायका प्रतिनिधिसँग छलफलका लागि उहाँ म्याग्दी पुग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“म्याग्दीका छ वटै स्थानीय तहको केन्द्रमा पुगेर विपद्ले पुर्‍याएको क्षतिको निरीक्षण, प्रभावितसँग भेटघाट र पुनर्निर्माण तथा पुनःस्थापनाका विषयमा छलफल गर्न आएको हुँ”, मन्त्री पुनले भन्नुभयो, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र बाढीपहिरोबाट घरवासविहीन बनेकाहरुको पुनःस्थापनालाई प्राथमिकता दिएर म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।”

सरकार विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनामा केन्द्रित भएको मन्त्री पुनले बताउनुभयो । उहाँले स्थलगत निरिक्षण, प्रभावितको अपेक्षा र सरोकारवालाहरुको सुझावका आधारमा पुननिर्माण तथा पुनःस्थापनाको कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो ।

आज बिहान बेनीमा प्रमुख जिल्ला अधिकारी गणेश गैरेलगायत सुरक्षा अधिकारीहरूसँग भेटघाट गरेर धौलागिरि, मालिका र मङ्गला गाउँपालिकाको निरीक्षणमा जानुभएको थियो । शुक्रबार बिहान बेनी, दिउँसो रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाको निरीक्षण गरी त्यहाँका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मन्त्री पुनका सम्पर्क व्यक्ति चित्र तिलिजा पुनले बताउनुभयो ।

मन्त्री बनेपछि पुन दोस्रोपटक आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । सरकारी सवारीसाधन र सुरक्षाकर्मी साथमा नलिई निर्वाचन क्षेत्रमा आएका पुनको टोलीले भ्रमणमा भाडाको जिप प्रयोग गरेका छन् ।

विपद्का कारण म्याग्दीमा सात जनाको मृत्यु र दुई जना बेपत्ता भएको, सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाभर १११ घर पूर्णरुपमा क्षति भई परिवार विस्थापित भएका छन् । त्रियाननब्बे घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा रहेका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

प्रारम्भिक विवरणअनुसार बेनी-जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी-दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ ।

सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ भने विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।

दुईतिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् – अमरेशकुमार सिंह

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारसँग दुईतिहाइ बहुमत हुँदैमा सरकारले गर्ने हरेक निर्णय सही नहुने टिप्पणी गरेका छन्। उनले लोकतन्त्रमा बहुमतको सरकार भए पनि सरकारका निर्णय विधि, पद्धति, संवैधानिक व्यवस्था र राष्ट्रिय हितको कसौटीमा परीक्षण हुनुपर्ने बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतलाई संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको विषयलाई लिएर सरकारको निर्णयमाथि प्रश्न उठाएका हुन्। उनले संसदीय समितिले सरकारका सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे त्यस्ता सिफारिस रोक्नु लोकतान्त्रिक व्यवस्थामा संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उल्लेख गरेका छन्।

सिंहको टिप्पणीले सरकारसँग पर्याप्त संसदीय समर्थन रहेको अवस्थामा पनि सरकारका निर्णयमाथि निगरानी र समीक्षा आवश्यक रहने विषयलाई पुनः चर्चामा ल्याएको छ। उनका अनुसार बहुमत प्राप्त सरकारलाई शासन सञ्चालन गर्ने अधिकार भए पनि त्यसको अर्थ सरकारले गरेका सबै निर्णय स्वतः सही ठहरिनु होइन। लोकतन्त्रमा सरकारका निर्णयको औचित्य, पारदर्शिता र राष्ट्रिय हितसँगको सम्बन्धसमेत महत्त्वपूर्ण हुने उनको भनाइ छ।

देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थाको अध्ययन गरेर नीति बनाउन ओलीको जोड

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धान र तथ्यमा आधारित नीति निर्माण आवश्यक रहेको बताएका छन्।

पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उनले कृषि, अर्थतन्त्र, पूर्वाधार र परराष्ट्र नीतिलगायतका क्षेत्रमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताए।

ओलीले जनताको जीवनस्तर सुधार, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना र आर्थिक तथा सामाजिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले अनुसन्धानबिनाको नीति मनोगत हुने भन्दै नागरिक, बुद्धिजीवी र विषयविज्ञसँग परामर्श गरेर नीति निर्माण गर्नुपर्ने बताए।

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित

धनगढी। पत्रकारिता, कला, साहित्य तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ प्रदान गरेको छ। चैतन्य पाठशालामा आयोजित ‘चैतन्य कला संस्कृति उत्सव–२०८३’को पाँचौँ शृङ्खलाका अवसरमा जोशीलाई सम्मान गरिएको हो।

बोगटान फुड्सिल गाउँपालिका–३ इनाडा डोटीको पावन भूमिमा पिता महेश्वर जोशी तथा माता शारदादेवी जोशीका सुपुत्रका रूपमा जन्मिएका जोशीले विगत १७ वर्षदेखि साहित्य, कला, संस्कृति तथा पत्रकारिताका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन्।

समाजका विविध विषयलाई पत्रकारितामार्फत उजागर गर्नुका साथै साहित्य सिर्जनाका माध्यमबाट सामाजिक जीवनका अनुभूति, विचार र आवाजलाई अभिव्यक्त गर्दै आएका जोशीको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको चैतन्य पाठशालाले जनाएको छ।

सम्मानपत्रमा जोशीले पत्रकारितामार्फत समाजका आवाजलाई अभिव्यक्त गर्दै आएको तथा ‘बैँसाखी’ कथासङ्ग्रहमार्फत साहित्यिक सिर्जनामा योगदान पुर्‍याएको उल्लेख छ। उनको निरन्तर साधना, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चासोलाई सम्मान गर्दै साहित्यिक क्षेत्रमा थप योगदानका लागि प्रेरित गर्ने उद्देश्यले सम्मान प्रदान गरिएको चैतन्य ग्रुपका सीइओ गणेश जोशीले बताए।

यस्तै सोही अवसरमा शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल पनि सम्मानित भएका छन्।

शिक्षा, संस्कार, साहित्य र सिर्जनशीलतालाई प्राथमिकता दिँदै आयोजना गरिएको उत्सवका अवसरमा मल्लले शिक्षण तथा साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको पाठशालाले जनाएको छ।

मल्ल विगत ३१ वर्षदेखि शिक्षण पेसामा समर्पित रहँदै समाजमा शैक्षिक चेतना फैलाउन सक्रिय छन्। शिक्षालाई ज्ञान, संस्कार, सिर्जना र व्यक्तित्व विकासको महत्त्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै आएका उनले शिक्षा क्षेत्रमा मात्रै नभई साहित्यिक सिर्जनामार्फत समेत आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन्।

चैतन्य पाठशालाले शिक्षा र संस्कारसँगै कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई पनि महत्त्व दिँदै आएको छ। विद्यालयले आयोजना गर्दै आएको कला संस्कृति उत्सवले विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने अवसर प्रदान गर्दै आएको हो। यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनात्मक सोचको विकास गर्नुका साथै स्थानीय कला, साहित्य र संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पत्रकारिता समाजको ऐना मात्र नभई समाजमा देखिएका विकृति, विसङ्गति र सम्भावनालाई उजागर गर्ने महत्त्वपूर्ण माध्यम पनि हो। त्यस्तै, साहित्यले मानिसका अनुभूति, विचार, भावना र सामाजिक यथार्थलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने भएकाले पत्रकारिता र साहित्य दुवै क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्नुले समाजमा सकारात्मक सोच, सिर्जनशीलता र जिम्मेवार अभिव्यक्तिको महत्त्वलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास रहेको चैतन्य ग्रुपका सीईओ जोशीले बताए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामाचन्द्र नेपाल रहेका थिए। कला, संस्कृति र साहित्यलाई शिक्षासँग जोड्दै आयोजना गरिएको उत्सवले स्थानीय बौद्धिक तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

यज्ञराज जोशीलाई प्रदान गरिएको सम्मानले सुदूरपश्चिमको पत्रकारिता तथा साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्वको योगदानलाई संस्थागत रूपमा कदर गर्ने प्रयासलाई प्रतिबिम्बित गरेको छ। साथै, यस्ता सम्मानले नयाँ पुस्तालाई लेखन, सिर्जना, अध्ययन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

चैतन्य पाठशालाले शिक्षा र संस्कारको संगमका रूपमा विद्यार्थीको सर्वाङ्गीण विकाससँगै समाजका सकारात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ। कला संस्कृति उत्सवमार्फत साहित्यकार तथा पत्रकारलाई सम्मान गर्नु विद्यालयको शैक्षिक गतिविधिभन्दा बाहिरको सामाजिक र सांस्कृतिक योगदानको उदाहरणका रूपमा लिन सकिन्छ।

साहित्य र पत्रकारिताको माध्यमबाट समाजसँग संवाद गर्दै आएका जोशीलाई प्रदान गरिएको ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ ले उनको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ। सम्मानले व्यक्तिको योगदानको कदर गर्नुका साथै समाजमा साहित्य, पत्रकारिता र संस्कृतिको महत्त्वलाई उजागर गर्ने सन्देशसमेत दिएको छ।

उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक

काठमाडाैँ । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले चिनियाँ उपकरण तथा पार्टपुर्जाको सहयोगमा नयाँ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक प्रतिवेदनले जनाएको छ ।

द्वन्द्वग्रस्त क्षेत्रमा हतियारको आपूर्ति तथा प्रयोगको अध्ययन गर्ने बेलायतस्थित संस्था कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो। प्रतिवेदनअनुसार नयाँ क्षेप्यास्त्र प्रणाली विकास भएमा हुथी विद्रोहीको सैन्य क्षमता विस्तार हुन सक्ने र साउदी अरब तथा इजरायलका लक्ष्यमा थप सटीक प्रहार गर्ने क्षमता बढ्न सक्ने सम्भावना छ।

संस्थाका वरिष्ठ विश्लेषक फाबियन हिन्जका अनुसार हुथी विद्रोहीहरूको स्वदेशमै हतियार उत्पादन गर्ने महत्त्वाकाङ्क्षा यसअघि अनुमान गरिएभन्दा बढी देखिएको छ। उनका अनुसार प्राप्त गर्न खोजिएका केही पार्टपुर्जा विशेष प्रकृतिका भएकाले तिनको उत्पादनका लागि क्षेप्यास्त्रको डिजाइनसम्बन्धी प्राविधिक जानकारी आवश्यक पर्न सक्छ।

प्रतिवेदनमा हुथी विद्रोहीहरूले इरानको ‘खैबर शेकान’ क्षेप्यास्त्रको संस्करण निर्माण गर्न उपयोगी हुने सामग्री चिनियाँ आपूर्तिकर्ताबाट प्राप्त गर्ने प्रयास गरेको उल्लेख छ । उक्त क्षेप्यास्त्रको मारक दूरी करिब दुई हजार किलोमिटर रहेको बताइएको छ।

यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ चाङले प्रतिवेदनका विशिष्ट निष्कर्षबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि चीनले अन्तर्राष्ट्रिय दायित्व पूरा गरिरहेको बताउनुभयो । उहाँका अनुसार चीनले सैन्य सामग्रीको निर्यातमा सावधानी अपनाउँदै दोहोरो प्रयोजनमा प्रयोग हुन सक्ने वस्तुको निर्यातलाई कडाइका साथ नियन्त्रण गर्छ।

प्रतिवेदन यमनका सरकारी अधिकारीहरूले जुलाईमा सार्वजनिक गरेको विवरणमा आधारित छ । त्यसबेला चीनबाट पठाइएका र यमनको होदेदाह बन्दरगाहमा पु¥याउन लागिएका शङ्कास्पद उपकरणसहितका दुई खेप नियन्त्रणमा लिइएका थिए । बरामद सामग्रीमा क्षेप्यास्त्रसँग सम्बन्धित विभिन्न पार्टपुर्जा समावेश थिए ।

यसैबीच, साउदी अरब र यमनको सरकारले हुथी विद्रोहीको प्रभाव घटाउने उद्देश्यले बाब अल–मन्देब जलडमरूमध्य क्षेत्रमा सैन्य अभियान सञ्चालन गरेका छन् । उक्त जलमार्ग अन्तर्राष्ट्रिय व्यापार तथा तेल ढुवानीका लागि महत्त्वपूर्ण मानिन्छ।

चीनले यसअघि साउदी अरब र इरानबीच सम्बन्ध सुधार गर्न कूटनीतिक भूमिका निर्वाह गरेको थियो। पछिल्लो प्रतिवेदनले मध्यपूर्वमा हतियारको आपूर्ति, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धबारे थप चासो उत्पन्न गरेको छ।

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारसम्बन्धी अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन्।

दुवै विमानस्थलको हालै निरीक्षण तथा अवलोकन भ्रमण गरेका मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा क्यानका पदाधिकारीसँग छलफल गरी आवश्यक अध्ययन प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूको सहभागितामा गत असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमण गरिएको थियो।

भ्रमणका क्रममा ती विमानस्थलको दीर्घकालीन विकास तथा विस्तारका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता अभिवृद्धि तथा सेवा प्रभावकारी बनाउने उपायबारे विस्तृत अध्ययन गर्न निर्देशन दिइएको हो।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार दाङको टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावनाबारे अध्ययन गरी हवाई यातायात सेवालाई थप सुलभ, सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । यसबाट पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, रारा विमानस्थलको हकमा हाल सञ्चालनमा रहेको विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाको अध्ययन गरिने महानिर्देशक डङ्गोलले बताए। उनका अनुसार आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाबारे समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिए।

दुवै विमानस्थलको विकासका लागि आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता विश्लेषण, पूर्वाधारको आवश्यकता पहिचान तथा आगामी कार्ययोजना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउनसमेत निर्देशन दिइएको छ ।

विमानस्थलहरूको विकास तथा विस्तारसम्बन्धी प्रक्रिया अघि बढेमा हवाई यातायातको पहुँच विस्तार, पर्यटन विकास तथा सम्बन्धित क्षेत्रको आर्थिक र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल कोरिया मैत्री अस्पतालमा आधुनिक आईसीयू सेवा, नगरप्रमुख श्रेष्ठले गरे उद्घाटन

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मोडुलर आईसीयू (सघन उपचार कक्ष) उद्घाटन गरिएको छ।

मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले मोडुलर आईसीयूको उद्घाटन गरेका हुन्।

अस्पतालमा मोडुलर आईसीयू सञ्चालनमा आएसँगै गम्भीर अवस्थाका बिरामीलाई सघन उपचार सेवा उपलब्ध गराउने उद्देश्यलाई थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। आईसीयू सेवा गम्भीर बिरामीको स्वास्थ्य अवस्था निरन्तर निगरानी गर्न तथा आवश्यक उपचार प्रदान गर्न महत्वपूर्ण मानिन्छ।

नगरपालिकाद्वारा सञ्चालित अस्पतालमा स्वास्थ्य सेवा तथा उपचार सुविधाको विस्तारले स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

मोडुलर आईसीयू उद्घाटनसँगै अस्पतालको सेवा क्षमता अभिवृद्धि गर्ने तथा बिरामीलाई आवश्यक सघन उपचार सेवा प्रदान गर्ने दिशामा थप पहल भएको छ।

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौँ। आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप देवी स्कन्दमाताको विधिपूर्वक पूजा-आराधना गरिँदै छ।पहाडमा बसेर संसारका सम्पूर्ण जीवहरूमा नवचेतना प्रदान गर्ने देवीका रूपमा स्कन्दमातालाई श्रद्धापूर्वक स्मरण गर्ने परम्परा छ ।कमलको फूलमाथि विराजमान रहने भएकाले पद्मासना देवीका नामले समेत चिनिने स्कन्दमाताको वर्ण सेतो तथा वाहन सिंह रहेको छ ।

यी देवीका चार हातमध्ये दाहिनेतर्फको माथिल्लो हातले काखमा रहेका सुपुत्र स्कन्दकुमार (कार्तिकेय) लाई सम्हालेको र तल्लो हातमा कमलको फूल सुशोभित छ ।

देब्रेतर्फको माथिल्लो हात वरमुद्रामा र तल्लो हातमा पनि कमलको फूल रहेको छ। स्कन्दमाताको उपासना गर्दा स्वतः स्वामी कार्तिकेयको समेत उपासना हुने विशेषता रहेको छ । देवी भागवत पुराणका अनुसार सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको भक्तिपूर्वक पूजाआजा गर्नाले साधकले अलौकिक तेज र कान्ति प्राप्त गर्ने विश्वास गरिन्छ ।

धार्मिक मान्यताअनुसार कठोर तपस्यापछि ब्रह्माजीबाट भगवान् शिवका पुत्रको हातबाट मात्र मृत्यु हुने वर पाएको तारकासुरले तीनै लोकमा आतंक मच्चाएको थियो । त्यसपछि सतीदेवीले हिमालय पुत्री पार्वतीको रूपमा पुनर्जन्म लिई ब्रह्मचारिणी बनेर गरेको कठोर साधनाबाट प्रसन्न भई शिवजीसँग विवाह सम्पन्न भएको थियो। शिव र पार्वतीका सन्तानका रूपमा कुमार कार्तिकेयको जन्म भएपछि उनैले तारकासुरको वध गरी देवताहरूलाई मुक्ति दिलाएको पौराणिक प्रसङ्ग शास्त्रमा उल्लेख छ ।

स्कन्दमाताको उपासनाले भक्तका सम्पूर्ण मनोकामना पूरा हुनुका साथै मोक्ष प्राप्ति हुने र भवसागर पार गर्न कुनै कठिनाइ नहुने विश्वास गरिन्छ । धार्मिक आस्थाका साथै यिनको पूजाले मानसिक शान्ति, पारिवारिक सद्भाव र सामाजिक चुनौतीहरूसँग जुध्ने आत्मबल मिल्ने शास्त्रमा वर्णन गरिएको छ ।

यस दिन भक्तजनहरूले शुद्ध भई हरियो रंगको वस्त्र पहिरिएर उत्तरतर्फ मुख गरी पूजा गर्ने शास्त्रीय मान्यता छ। देवीको प्रतिमा वा कलश स्थापना गरी पञ्चामृत, सेतो वा कमलको फूल, चन्दन, धूप–दीप, अक्षता, नैवेद्य र फलफूल चढाएर पूजा गरिन्छ । त्यसपछि वन्दना श्लोक र माताको स्तोत्र पाठ गर्दै केराको विशेष प्रसाद अर्पण गरी आरती गरेर प्रसाद ग्रहण तथा वितरण गर्ने गरिन्छ ।

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौँ। शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका छन् ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले ४१ हिमाल आरोहणका लागि ८३३ पुरुष र २६५ महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो । अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट रु २८ करोड २४ लाख १४ हजार ५६ रोयल्टी सङ्कलन गरेको छ ।

आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये सबैभन्दा धेरै मनास्लु (आठ हजार १६३ मिटर) रहेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् । त्यसमा ३७३ पुरुष र १२७ महिला रहेका छन् । आरोहीबाट  विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी सङ्कलन गरेको छ ।विभागका अनुसार धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । ती आरोहीबाट विभागले ८४ लाख ७३ हजार ६५० रोयल्टी सङ्कलन गरेको छ ।

यस्तै, मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरुबाट विभागले छ लाख ८८ हजार ५० राजस्व सङ्कलन गरेको छ ।यसैगरी, हिम्लुङ हिमालका लागि नौ टोलीका ९४ आरोहीले अनुमति लिएका छन् । सो आरोही दलबाट विभागले रु ५७ लाख ८८ हजार ९६० रोयल्टी सङ्कलन गरेको छ ।

यसैगरी, आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले आरोहण अनुमति लिएका छन् । उनीहरुबाट विभागले दुई करोड ७३ लाख १५ हजार ५०० राजस्व सङ्कलन गरेको छ ।

यसैगरी, पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।

ती हिमाल आरोहण गर्नका लागि ७१ देशका एक हजार ९८ आरोहीले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका १३२ जना छन् ।

यसबाहेक रसियाका ९६, फ्रान्सका ९३, अमेरिकाका ९४, बेलायतका ७४, पोल्यान्डका २९, नेपालका २६, स्विजरल्यान्डका २८, स्पेनका २१, भारतका २२, इटलीका २८ र जापानका २८ जनाले आरोहण अनुमति लिएका छन् ।विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् रु २८ करोड २४ लाख १४ हजार ५६ नेपाली रोयल्टी सङ्कलन गरेको छ ।

शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीनदिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो ।

बजेटमार्फत अघि सारिएका शिक्षा क्षेत्र सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कार्यविधि निर्माण, बजेट खर्चको अवस्था र शैक्षिक गुणस्तर सुधारका विषयमा कार्यशालामा छलफल गरिएको थियो ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको कार्यशाला बुधबार मधेस प्रदेशमा सम्पन्न भएको हो । कार्यशालामा शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको विशेष उपस्थिति थियो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा सङ्घीय शिक्षा तथा खेलकुद मन्त्रालयका उच्च अधिकारी, शिक्षा विभागका प्रतिनिधि तथा जिल्ला समन्वय समिति, शिक्षा विकास तथा समन्वय इकाइ र प्रदेशका सम्पूर्ण स्थानीय तहका शिक्षा प्रमुखको सहभागिता थियो ।

प्रमुख सल्लाहकार झाले सरकारले अघि सारेका शिक्षा नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षा शाखा प्रमुखको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रमुख सल्लाहकार झाका अनुसार गत वर्षको बजेट कार्यान्वयनका सिकाइ, सबल पक्ष, चुनौती र कमजोरीको समीक्षा गर्दै बजेटका कार्यक्रमलाई कसरी चुस्त रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा घनिभूत छलफल भएको छ ।

सङ्घीय सांसद सरिता महतोले समावेशी शिक्षा, बौद्धिक अपाङ्गता भएकाको सातै प्रदेशमा ‘रिसोर्स र रिसर्च डेभलपमेन्ट’मा काम गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्रालयले सङ्घबाट विनियोजित कुल बजेटको झण्डै ७० प्रतिशत रकम स्थानीय तहमा सिधा पठाउने गरेको छ । पहुँचका आधारमा एउटै विद्यालयमा पटक–पटक भवन बन्ने र आवश्यकता भएका ठाउँमा भवन नै नहुने जस्ता बेथिति रोक्न मन्त्रालयले देशभर ‘इन्फ्रास्ट्रक्चर एसेसमेन्ट’ (पूर्वाधार मूल्याङ्कन) सुरु गरेको छ । अब विद्यार्थी सङ्ख्या, जन्मदर, भौगोलिक क्लस्टर र गुणस्तरीय शिक्षाको सुनिश्चिततालाई हेरेर मात्र स्थानीय, प्रदेश र सङ्घको समन्वयमा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिनेछ । यसका साथै बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने र शिक्षक तालिममा प्रदेश सरकारलाई थप जवाफदेही बनाउने योजना मन्त्रालयको छ ।

विगतमा सङ्घीय नेतृत्वले सङ्घीयताको मर्मअनुसार काम नगरेको र प्रदेशको संरचनालाई पूर्ण रूपमा स्वीकार नगरेको गुनासोलाई अहिलेको सरकारले गम्भीरतापूर्वक लिएको छ । हाल कुल बजेटको २८ प्रतिशत उच्च शिक्षा (सङ्घ), ७० प्रतिशत स्थानीय तह र मात्र दुई प्रतिशत प्रदेशमा जाने परिपाटी रहेकामा आगामी बजेटमा प्रदेशको बजेट हिस्सा बढाउने तयारी मन्त्रालयको छ ।

संविधानको मर्मअनुसार विद्यालय शिक्षा स्थानीय तह, उच्च शिक्षा सङ्घ र प्राविधिक तथा व्यावसायिक शिक्षा, प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वामित्व र नेतृत्व पूर्ण रूपमा प्रदेश सरकारलाई हस्तारन्तरण गर्ने गरी ऐन निर्माणको काम भइरहेको सल्लाहकार झाले स्पष्ट पार्नुभयो ।

मन्त्रालयले शिक्षा क्षेत्रका नीतिगत तथा कानुनी समस्या समाधानका लागि काम गरिरहेको जनाउँदै शिक्षा नियमावलीको एघारौँ संशोधनको तयारी भइरहेको पनि कार्यक्रममा जानकारी दिइएको थियो । विद्यालयभित्र राजनीतिकरण हुन नदिन आवश्यक प्रावधान समावेश गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

प्रस्तावित विद्यालय शिक्षा ऐनको मस्यौदा निर्माणका क्रममा सरोकारवालाका सुझाव समेटेर ऐनलाई व्यावहारिक र विद्यार्थीकेन्द्रित बनाउने प्रयास भइरहेको जनाइएको छ । कार्यशालाको शिक्षा विभागका निर्देशक नीलकण्ठ उप्रेतीले नेतृत्व गर्नुभएको थियो ।

कार्यशालामा सहभागी शिक्षा शाखा प्रमुखले सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधारसम्बन्धी योजनाहरू कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए ।

शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि बजेटको उचित उपयोग, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा नीतिगत समस्याको समाधान आवश्यक रहेको निष्कर्षसहित कार्यशाला सम्पन्न भएको थियो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ असोजः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २०२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ ३० पैसा र बिक्रीदर १८३ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ तोकिएको छ ।

जापानी येन १ को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५३ पैसा र बिक्रीदर चार रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११ रुपैयाँ ४२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २५ पैसा र बिक्रीदर १५ रुपैयाँ ३१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १९ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ १० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ २० पैसा बिक्रीदर ४०३ रुपैयाँ ७९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३९६ रुपैयाँ २३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ–्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । देशका तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २८ असोजः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ ।

छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयमा कुराकानी भएको थियो ।

त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रू १७ अर्ब ७५ करोड ७५ लाख ३८ हजार २९३ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब २३ करोड ११ लाख ५३ हजार ८९७ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको खातामा दुई करोड ९७ लाख ४७ हजार ५३२ अमेरिकी डलर पुगेको छ ।

दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए

काठमाडाैँ। दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ।

सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९ः४१ बजे आगो लागेको थियो । कारखानामा कार्यरत सबै १२ जना कर्मचारी सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

अत्यधिक ज्वलनशील पदार्थ टोल्युइन भण्डारण गरिएको बाहिरी ट्याङ्कीबाट आगो सुरु भएको अधिकारीहरूले बताएका छन् । उक्त ट्याङ्कीमा आठ हजार लिटर टोल्युइन रहेको थियो । आगोबाट उडेका झिल्काहरू नजिकैको अर्को क्षेत्रमा खस्दा त्यहाँ पनि आगलागी भएको थियो । आगो छेउछाउका रासायनिक भण्डारण ट्याङ्कीमा फैलिन सक्ने जोखिमसमेत देखिएको थियो ।

आगलागीपछि बाक्लो कालो धुवाँ र विषाक्त गन्ध फैलिएपछि आसपासको क्षेत्र खाली गराइएको थियो । सम्भावित जोखिमबाट जोगाउन नजिकैको पेट्रोकेमिकल कारखानाको निर्माणस्थलमा कार्यरत करिब सात हजार कामदारलाई बाहिर निकालिएको थियो । अन्य नजिकका उद्योग तथा व्यवसायका कर्मचारीलाई पनि सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको थियो ।

आगो नियन्त्रणमा लिन अग्निनियन्त्रण अधिकारीहरूले राष्ट्रियस्तरको आपत्कालीन परिचालन आदेश जारी गरेका थिए । त्यसपछि विशेष अग्निनियन्त्रण सवारीसाधन, हेलिकप्टर र आसपासका सहर तथा क्षेत्रबाट दुई सयभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको थियो ।

अधिकारीहरूका अनुसार दिउँसो १ः३४ बजे आगो नियन्त्रणमा लिइएको थियो भने १ः५० बजे पूर्ण रूपमा निभाइएको थियो । घटनाको वास्तविक कारण र त्यसबाट भएको क्षतिको विवरण पत्ता लगाउन अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्।

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रभावितलाई छ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ ।नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो ।

बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा र धादिङका पाँच हजार ११६ परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिने बताउनुभयो ।

सरकारले बाढीपीडित परिवारलाई पाँच महिनासम्म मासिक रु १५ हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई प्रत्येक थप सदस्यका लागि रु दुई हजारका दरले थप रकम उपलब्ध गराइनेछ । प्रभावित परिवारलाई आगामी तीन महिनाका लागि रु ४५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको उहाँले बताउनुभयो ।

इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक सञ्जय उप्रेतीले पुनःस्थापनाका क्रममा विपद् तथा इन्जिनियरिङ पक्षसँगै सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

टिमुरेकी स्थानीय छेदिन डोल्माले बाढीपछिको मानसिक त्रासबाट आफूहरू अझै मुक्त हुन नसकेको बताउनुभयो । स्थानीय नामग्याल घलेले आफूहरू पूर्ण रूपमा विस्थापित भएको र अब कहाँ जाने भन्ने टुङ्गो नभएको बताउनुभयो ।

टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक फूर्वु दोर्जेले बाढीमा विद्यालयका १० विद्यार्थी बेपत्ता भएको र भवन पूर्ण रूपमा नष्ट भएकाले आगामी दिनमा विद्यालय सञ्चालन तथा शैक्षिक वातावरणबारे अन्योल रहेको बताउनुभयो ।

रसुवाका पत्रकार निराजन पौडेलले बाढीमा आफ्ना आमाबुवासहित परिवारका पाँच सदस्य गुमाएको र बाढी आएको ५० दिन बितिसक्दा पनि राहत नपाएको गुनासो गर्नुभयो ।

सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ : फिनालेबाट उत्कृष्ट पाँच प्रतियोगी छनोट

धनगढी । सनिश्चर म्युजिक कम्पनी प्रालिको आयोजनामा सम्पन्न ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार २०२६’ को गायनतर्फ राजेन्द्र दयाल र नृत्यतर्फ हानिश मौनी विजेता बनेका छन्। धनगढीस्थित होटल पौवामा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै आएका प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगिताको गायनतर्फ धर्मराज तिमिल्सिना प्रथम, महेश्वर थापा मगर द्वितीय, सुन्दरनाथ योगी तृतीय र धर्मेन्द्र धामी चौथो रनरअप घोषित भए। त्यसैगरी, नृत्यतर्फ सिर्जना बीके प्रथम, उमेश परियार द्वितीय, रेस्मी ठगुन्ना तृतीय र सपना चुडारा चौथो रनरअप बने।

प्रतियोगिताको निर्णायक टोलीमा ग्राण्ड जज जेम्स जोशीसहित भवानी रेग्मी, नरेन्द्रराज रेग्मी र शमिर परियार रहेका थिए। कार्यक्रमको सञ्चालन अनिता धामीले गरेकी थिइन् भने सहनिर्माता प्रमिला सिलवालको पनि उपस्थिति थियो। कार्यक्रमको व्यवस्थापन तथा आयोजनाको नेतृत्व कार्यक्रम निर्देशक सुदीप जोशीले गरेका थिए।

आयोजकका अनुसार प्रतियोगिताको नतिजा सार्वजनिक भोट र निर्णायकको मतका आधारमा निर्धारण गरिएको थियो। त्यसका लागि अन्तर्राष्ट्रिय भोट, ईसेवा भोटिङ र भोटिङ पासको व्यवस्था गरिएको थियो। प्रत्येक निर्णायकलाई ५०० मताधिकार दिइएको थियो भने अन्य माध्यमबाट असीमित मत दिन सकिने व्यवस्था थियो।

प्रतियोगिताका विजेताले दुई लाख रुपैयाँ नगद, चार लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर र अन्तर्राष्ट्रिय भ्रमणको पुरस्कार प्राप्त गर्नेछन्। प्रथम रनरअपले ७० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर पाउनेछन्।

त्यस्तै, द्वितीय रनरअपले ३० हजार रुपैयाँ नगद र दुई लाख रुपैयाँबराबरको अवसर, तृतीय रनरअपले १३ हजार रुपैयाँ नगद र एक लाख रुपैयाँबराबरको अवसर तथा चौथो रनरअपले पाँच हजार रुपैयाँ नगद र ५० हजार रुपैयाँबराबरको अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ।

कार्यक्रमलाई अमेरिकास्थित केटीज स्मोकहाउसले मुख्य सहयोगीका रूपमा साथ दिएको थियो। ईसेवा भोटिङ पार्टनर, खबर एण्ड लाइभ मिडिया पार्टनर, भायानेट इन्टरनेट पार्टनर, डीजे अशोक साउण्ड सिस्टम पार्टनर, कालभैरव ज्वेलर्स सपोर्टिङ पार्टनर, एष्ट्रा कन्सल्टिङ ग्रुप शिक्षा पार्टनर र होटल रिस्ता होटल पार्टनरका रूपमा जोडिएका थिए। होटल पौवा कार्यक्रमको भेन्यु पार्टनर रहेको थियो।

आयोजक सनिश्चर म्युजिक कम्पनी प्रालिले प्रतियोगिताले सुदूरपश्चिम र कर्णाली क्षेत्रका प्रतिभालाई कला प्रस्तुत गर्ने, क्षमता विकास गर्ने तथा सांगीतिक र नृत्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर प्रदान गरेको जनाएको छ।

एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण

काठमाडौँ। एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ एकलमा स्वर्णपदक जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगिताको यु–२१ ब्वाइज एकलमा रसिन र गल्र्स एकलमा इभानाले स्वर्ण जितेका हुन् ।

यु–२१ ब्वाइज एकलमा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेस्रो भए ।

यु–२१ गल्र्स एकलमा एभीएमकी वियंका राई दोस्रो तथा सोही क्लबका आस्मा पहरी र साइरा शाक्य तेस्रो भए ।

नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज एकलमा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कास्य पदक जितेका छन् । ।

दुईदिने प्रतियोगितामा छ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स एकलमा साइरा शाक्य तथा यु–१३ ब्वाइज एकलमा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायत पदाधिकारीले पुरस्कार प्रदान गर्नुभयो ।

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका आवासीय रादूत चाल्र्स ह्वीट्लीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

त्यसैगरी, इन्डोनेसिया, घाना, सुडान र ब्रुनाइका गैरआवासीय राजदूतहरू क्रमशः लिस्त्योवाती, कोजो बोन्सु, मोहम्मद अब्दल्ला अली इल्टोम र सिती आर्निफरिजा विन्ती हाजी मोहद जैनीले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि उहाँहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।

अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा

काठमाडौँ। अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स व्यूरोले आज उनीहरूलाई नियन्त्रणमा लिई अध्यागमन विभागको जिम्मा लगाएको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल ईस्लाम र ३० वर्षीय बसर खान रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

उनीहरूलाई सशस्त्र प्रहरी नेपाल नं १८ गण हेक्वा (विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरवको टोलीले पक्राउ गरेको हो ।

सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयको पत्र

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ ।

मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बिमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो।

मन्त्रालयका अनुसार पत्रमा नेपाल सरकारका मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ। स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बिमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरिएको मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ।

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ।

नेपल दूरसञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि रु तीन अर्ब ५४ करोड तथा व्याण्डविथ भुक्तानीबापत रु पाँच अर्ब ५५ करोड बराबरको विदेशी मुद्राको सिफारिस गरी कूल रु नौ अर्बभन्दा बढीको अनुमति प्रदान गरेको हो। वि.सं. २०५४ फागुनमा गठित प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक संस्था हो।

प्राधिकरणका सूचना अधिकारी रेवतीराम पन्थका अनुसार यसले निजी क्षेत्रको सहभागिता गराई देशभर दूरसञ्चार सेवाको विकास, विस्तार तथा सञ्चालन गर्न आवश्यक स्वच्छ प्रतिस्पधात्मक वातावरणको सिर्जना गरेको छ।

देशको सामाजिक तथा आर्थिक विकासमा दूरसञ्चार (टेलिकम्युनिकेशन) क्षेत्रले राम्रो प्रगति गरेको छ । विश्व परिवेशमा दूरसञ्चार क्षेत्रमा भएको विकासले आधुनिक समाजमा सहजता थपेको छ। सूचना तथा सञ्चार प्रवाहले मानिसको जीवनमा अत्यन्त सकारात्मक भूमिका निर्वाह गरेका कारण समाजमा यसको महत्त्वपूर्ण र दूरगामी प्रभाव बढ्दै गएको छ।

दूरसञ्चार सेवा प्रदायकहरूवाट आर्थिक वर्ष २०८१/८२ मा रोयल्टी रकमबापत रु तीन अर्ब ४४ करोड ४८ लाख ९१ हजार ८७७ सरकारको राजस्व खातामा दाखिला भएको छ। यो सेवा प्रदायकले प्राप्त गरेको वार्षिक आयको चार प्रतिशत रोयल्टी हो । रु दुई अर्ब ३२ करोड ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको प्राधिकरणका सूचना अधिकारी पन्थले जानकारी दिए।
र्थिक वर्ष २०८२/८३ को विवरण असोज मसान्तभित्र बुझाउनका लागि अन्तिम चरणमा रहेको जनाइएको छ।

विभिन्न सामाजिक सञ्जाल र सञ्चारमाध्यमले मानिसहरूलाई एकापसमा जोड्न, सूचना आदानप्रदान गर्न र समाजमा जनचेतना फैलाउन सहयोग गरेको यसक्षेत्रले विश्व भूमण्डलीकरणलाई नै साँघुरो बनाएर भौगोलिक दूरी घटाएको छ।

ज्ञानको खोजी गर्न, शिक्षा, स्वास्थ्य, वित्तीय, बैंकिङ र सरकारी सेवाहरूमा सर्वसाधारण मानिसको पहुँच विस्तार भएको छ । मोबाइल बैंकिङ, डिजिटल वालेट तथा फिनटेक सेवामार्फत बैंकिङ पहुँच नपुगेका गाउँठाउँमा समेत वित्तीय कारोबार सहज बनाएको छ।

दूरसञ्चार, इन्टरनेट, अनलाइन शिक्षा, डिजिटल सामग्रीका माध्यमबाट दूरशिक्षामा राम्रो विकास भएको छ । दूरसञ्चारले राजनीतिक, कूटनीतिक, सामाजिक, आर्थिकलगायत क्षेत्रमा योगदान पुर्‍याएको छ । बिरामीले पनि विशेषज्ञ डाक्टरहरूसँग स्वास्थ्यकाबारेमा जानकारी लिन सक्ने अवस्था बनेको छ।

टेली–मेडिसिन सेवाअन्तर्गत दूरदराज तथा दूर्गम क्षेत्रका बिरामीहरूले घरमै बसेर परामर्श लिन सक्ने भएका छन्। यसले आकस्मिक स्वास्थ्य उपचारलाई सहज बनाएको छ। दैवी प्रकोप, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिबाट जनधनको संरक्षणका लागि अगाडि नै सूचना प्रवाह गर्न दूरसञ्चार प्रभावकारी साधनका रूपमा प्रयोग गरिएको छ।

नागरिकहरूले राज्यबाट लिनुपर्ने सेवा तथा कर भुक्तानी, शुल्क बुझाउन, व्यापार, व्यवसाय विस्तारलगायत कार्य अनलाइनमार्फत हुन थालेको छ । साना तथा ठूला व्यवसायीहरूले आफ्ना उत्पादनहरू अनलाइनमार्फत देश–विदेशमा प्रवर्द्धन तथा कारोबार गर्न सक्ने वातावरण बनेको छ।

डिजिटल बैंकिङ र वित्तीय पहुँचमा पनि यसको महत्वपूर्ण योगदान देखिएको छ । जसले ई–गभर्नन्समा डिजिटल मार्केटिङले युवाहरूका लागि नयाँ र आकर्षक रोजगारीका अवसरहरू उपलब्ध गराएको दूरसञ्चार क्षेत्र कृषि क्षेत्रलाई पनि सहज बनाएको छ।

किसानले मोबाइल एप वा एसएमएसमार्फत मनसुन, मल, बीउबिजनको जानकारी, बजारमा माग र आपूर्तिको अवस्था खेती प्रणालीमा प्रविधबारे जानकारी दिएर उत्पादन बढाउन सहयोग गरेको छ । भरपर्दो र ज्ञानवर्द्धक सूचनाले व्यवसायको लागत घटाउँछ, आपूर्ति शृङ्खलालाई सहज बनाउँछ।

दूरसञ्चार पूर्वाधार विकासमा भएका लगानी कम रहेको बताइएको छ । वैदेशिक लगानी भित्रिने सम्भावना छ । यसले नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकमा ताररहित र ब्रोडब्यान्ड इन्टरनेटको विस्तारले दुर्गम क्षेत्रलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय अर्थतन्त्रसँग जोडेको छ।

नेटवर्क निर्माण, सफ्टवेयर विकास, टावर सञ्चालन, तथा बिक्री–वितरणका क्षेत्रमा ठ्रलो सङ्ख्यामा लाखौँ मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्राप्त भएको छ भने सरकारलाई लाइसेन्स शुल्क, फ्रिक्वेन्सी शुल्क, भ्याट र विभिन्न करमार्फत ठूलो मात्रामा राजस्व प्राप्त भएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यलयका अनुसार अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान डेढ प्रतिशत छ। अर्थ मन्त्रालयका अधिकृत एवं वरिष्ठ अर्थशास्त्री उद्धव पौडेलका अनुसार अर्थतन्त्रमा दूरसञ्चारसहित समग्र सूचना प्रविधि क्षेत्रले विभिन्न किसिमबाट अर्थतन्त्रलाई योगदान पुर्‍याइरहेको बताउँदै अर्थतन्त्रको भविष्यका रूपमा सूचना प्रविधि क्षेत्रलाई अघि बढाउनुपर्ने बताए।

अहिलेसम्म तथ्यपरक ढङ्गले अर्थतन्त्रमा टेलिकम क्षेत्रले पुर्‍याएको योगदानका विषयमा गहिरो अध्ययन हुन सकेको छैन । यस विषयमा थप अध्ययन तथा अनुसन्धान गर्न आवश्यक देखिन्छ ।

दूरसञ्चार प्राधिकरणका अनुसार समग्र सूचना प्रविधिले विगतमा दुई दशमलव २२ प्रतिशत अर्थतन्त्रमा योगदान गरेकामा दूरसञ्चार क्षेत्रको मात्रै एक दशमलव ४७ प्रतिशत योगदान गरेको छ । अर्थतन्त्रमा दूरसञ्चार क्षेत्रको योगदान विगतमा रु ५१ अर्बभन्दा बढी भएको तथ्याङ्क छ।

प्राधिकरणले विगत पाँच वर्षयता निजी क्षेत्रबाट सञ्चालित हेलो मोबाइल, सिजी मोबाइल, स्मार्ट र युटिएलको दर्ता खारेजी गरेको छ। नयाँ कम्पनीले लगानी विस्तार गर्न तथा धेरै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियटा लिमिटेडले आफ्ना सेवाग्राहीलाई आकर्षण गरेका छन्।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले उपभोक्तासम्म इन्टरनेट प्रवाह गर्दा सेवा प्रदायकले विभिन्न कर तिर्नुपर्ने जनाएको छ । सेवा प्रदायकले आफ्नो वार्षिक आयको चार प्रतिशत रोयल्टीबापत, दुई प्रतिशत ग्रामीण दूरसञ्चार कोषमा, दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत, भ्याटबापत १३ प्रतिशत, कर्पोरेट ट्याक्सबापत ३० प्रतिशत र पुँजीगत लाभ करबापत २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ ।

अप्टिकल फाइबर केबल आयात गर्दा १५ प्रतिशत र राउटरलगायत उपकरण ल्याउँदा पनि पाँच प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । विगतका सरकारले सूचना प्रविधि क्षेत्रबाट अधिकतम फाइदा लिन डिजिटल नेपालको फ्रेमवर्कको अवधारणा तयार पारेको थियो।

दूरसञ्चार सेवा प्रदायकले गर्ने योगदानका आधारमा सहुलियतको अनुपात पनि फेरबदल हुनुपर्ने विज्ञको सुझाव छ । पछिल्लो जनगणना २०७८ अनुसार देशको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

एकै व्यक्तिले एकभन्दा बढी सिमकार्ड प्रयोग गरेका कारण सदस्यता सङ्ख्या धेरै छ । नेपाल टेलिकमको एक करोड ६३ लाख ९ हजार ६७५ ग्राहक सङ्ख्या रहेका छन् । एनसेलका एक करोड ४० लाख ४६ हजार ३८२ ग्राहक रहेको जनाइएको छ।

मोबाइल ब्राँडब्यान्डमा फोरजीका दुई करोड ६९ लाख ४७ हजार ६४१ र थ्रिजीका सात लाख ४१ हजार ४०९ प्रयोगकर्ता रहेका छन्। फिक्स्ड ब्राँडब्यान्ड तारयुक्ततर्फ ३५ लाख ६३ हजार ८७५ ग्राहक छन् भने वायरलेसतर्फ २९ हजार ८१७ ग्राहक रहेको बताइएको छ ।

दूरसञ्चार कम्पनीहरूलाई डिजिटल अर्थतन्त्रका आधारभूत पूर्वाधारका रूपमा समेत हेरिनुपर्छ। अर्थविद् राधेश्याम मालाकारले दूरसञ्चार क्षेत्रले आफ्ना करोडौँ सङ्ख्यामा रहेका ग्राहकलाई सस्तो र सहुलियतमा सेवा सुविधा उपलब्ध गराउन सरकारले दीर्घकालीन नीति बनाउनपर्ने उल्लेख गर्दै प्रविधिमा हुने परिवर्तनसँगै दूरसञ्चार क्षेत्रमा निरन्तर लगानी आवश्यक हुनेमा जोड दिए।

यो क्षेत्रले सरकारलाई दीर्घकालसम्म राजस्व उठाउन सहयोग गर्ने भएकाले जनताको सामाजिक तथा आर्थिक विकास सकारात्मक प्रभाव पार्ने बताउँदै उनले भने, “दूरसञ्चार कम्पनीबाट उठ्ने करसँगै उनीहरूले गर्ने लगानी, रोजगारी सिर्जना, नयाँ कारोबार र डिजिटल अर्थतन्त्रमा पुर्याउने योगदानलाई समेत समग्र रूपमा हेर्नुपर्छ ।” दूरसञ्चार क्षेत्रको कर नीति पुनरवलोकन गर्दा करको दरसँगै लाइसेन्स नवीकरण, रोयल्टी, ग्रामीण दूरसञ्चार कोष, स्पेक्ट्रम शुल्क र अनुमतिपत्रको अवधिलाई समेत एकीकृत रूपमा पुनर्विचार गर्नुपर्ने देखिन्छ ।

सेवाप्रदायक कम्पनी कर तिर्ने उद्योगकारूपमा विकास गर्न सकेमा राजस्वसँगै दीर्घकालीन स्वदेशी तथा वैदेशिक लगानी, रोजगारी, डिजिटल कारोबार र अर्थतन्त्रमा पर्ने समग्र प्रभावलाई सकारात्मक बनाउने छ । औद्योगिक क्षेत्र कमजोर हुँदै गएमा राज्यको राजस्व पनि दीर्घकालमा प्रभावित हुन सक्ने खतरा छ । यसका लागि राज्यले दूरसञ्चार क्षेत्रको नीति पुनरावलोकन गर्नुपर्ने देखिन्छ।

दूरसञ्चार सेवाको बजारको हिस्सालाई राजस्वका आधारमाहेर्दा आर्थिक वर्ष २०७६/०७७ माभ्वाइस सेवाको राजश्वमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ४२ प्रतिशत र एनसेलको ५८ प्रतिशत हिस्सा रहेकामा आर्थिक वर्ष २०८०/०८१ मा सो सेवाको राजस्व नेपाल दूरसञ्चार कम्पनीले ५० दशमलव १९ प्रतिशत र एनसेलले ४९ दशमलव ८१ प्रतिशत हिस्सा कायम गरेको छ।

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युत् विहीन

गोरखा । बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो ।

बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए । गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए ।

“बाढीले विद्युतकाे १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ,” उनले भने, “आइतबार बिहान ४ः०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।”

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन् । उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उनको भनाइ छ ।

उनी भन्छन्, “बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो ।” फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताए ।

हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन् । “फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,” उनले भनिन्, “झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।” उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।

बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत् विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए । “बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,” उनले भने ।

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत् विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । उनका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।

कोरला नाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्याउन सकस

मुस्ताङ । यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (इभी) नेपाल भित्रिएको छ । यसरी कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी भने गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमा राखिएका छन् ।

शुक्रबार साँझदेखि सडक सञ्चालन भए पनि सडक सहज नभएकाले कोरलानाकाबाट नेपाल भित्रिएका विद्यतीय सवारीसाधनहरु अझै गन्तव्यतर्फ प्रस्थान गर्न सकेका छैनन् । उक्त सडक पूर्ण रूपमा सहज नभएको जनाउँदै सम्बन्धित प्रतिनिधिहरूले गन्तव्यमा पुर्याउन नसकी मुस्ताङमै रोकिन पुगेको हो ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र न्हेचुङस्थित मुस्ताङ भन्सार यार्डमा करिब दुई हजार बढी विद्युतीय सवारी पार्किङ गरी राखिएको छ । कोरलास्थित बिओपीका इन्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरलानाकाको दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजार बढी र भन्सार यार्डमा २०० बढी विद्युतीय गाडी पार्किङमा रहेको जानकारी दिए । “कोरलानाका क्षेत्रमा भन्सार जाँच पास भइसकेपछि स्थानीय चालकले भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्, त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्”, सशस्त्र प्रहरी निरीक्षक धितालले भने, “नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौँ ।”

त्यसैगरी कोरलानाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब पाँच सय बढी विद्युतीय सवारी जोमसोमका दुई पार्किङस्थलमा व्यवस्थापन गरिएको छ । अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालन भए पनि सडकको अवस्था अझै नाजुक रहेकाले जोमसोम झरेका विद्युती सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्न नसकेको बिवाडी कम्पनीको खरिदकर्ता साइमन इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिए । उनका अनुसार भारी वर्षाले सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडी कम्पनीका विभिन्न मोडलका २००० बढी गाडी मुस्ताङमा रोकिएको बताए ।

कम्पनीबाट कोरलानाकाबाट भित्रिएका विद्युती गाडी गन्तव्यतर्फ छुटाउन आएका उनले साना गाडीलाई गन्तव्यमा पठाउन अझै समस्या भएकाले जोमसोममै राखिएको उनको भनाइ छ । जोमसोम बसपार्क र भन्सार कार्यालयको जोमसोममा रहेको पार्किङस्थलमा भित्रिएका गाडीहरु थन्क्याइएको उनले उल्लेख गरे ।

असोज ११ गतेअघि बिवाइडी कम्पनीका गाडी करिब ४५० जति गन्तव्यमा पठाइएको भए पनि त्यसपछि भित्रिएका गाडी बेनी–जोमसोम सडक असहजताले गर्दा गन्तव्यमा पठाउन समस्या भएको उनले जानकारी दिए । साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि करिब तीन हजार बढी विद्युतीय गाडी कोरलानाकाबाट भित्र्याउने योजना रहेको उनको भनाइ छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० बढी कन्टेनर जिल्लाबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् । यसैगरी जिल्लामा रोकिएका कन्टेनरहरु बाहिरिएसगै कोरलानाकामा मालवस्तु ढुवानी गर्न केही खाली कन्टेनर उकालो लागेको उनले जानकारी दिए ।

१०९ सामुदायिक विद्यालयमा १२ कोठे भवन निर्माण गरिने, पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड बजेट

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले बताएका छन्। यसबाट विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ।

मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केही विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर पूर्वाधार सुधारको काम अघि बढाइएको बताएका छन्।

‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ। विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने।

उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्री आदिवासी जनजातितर्फ बहादुर सिंह लामा तामाङले अग्रता लिएका छन्।६ हजार ९९५ मतगणना हुँदा लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत पाएका छन्। लामा घर्ती मगरभन्दा १ हजार ७९९ मतले अगाडि छन्।

त्यस्तै, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता, द्विपक्षीय सुरक्षा सहकार्यमा जोड

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। प्रथम बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा भएको भेटमा नेपाल–भारत सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको छ।

भेटका क्रममा गृहमन्त्री गुरुङले नेपालमा हालै गएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आपसी सम्मान र विश्वासका आधारमा द्विपक्षीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।