`

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मंगलबार अस्पतालको अनुगमन गर्दै उनले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गर्दै प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन दिएका हुन्।मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवा सुधार प्रदेश सरकारको प्रथमिकतामा रहेकाले अस्पतालमा आवश्यक सेवा र पूर्वाधार विकासका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए।

“सेती प्रादेशिक अस्पताल यहाँका धेरै नागरिकको भरोसा पनि हो, त्यसैले अस्पतालको सेवा प्रवाहसँगै भौतिक तथा संरचनागत सुधारमा प्रदेश सरकारले ध्यान दिन्छ”, मुख्यमन्त्री भट्टले भने, “अस्पताल प्रशासन र यहाँ कार्यरत सबैले अस्पतालको समग्र व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक छ । त्यसमा सुधारका लागि प्राथमिकताका साथ काम गर्नुहोला ।”

मुख्यमन्त्री भट्टलेसेती मात्र नभई सुदूरपश्चिमका सबै अस्पतालको सेवा सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताए।

भोटेकोशी बाढीः ३२४ विदेशी नागरिकको उद्धार, ५९० सम्पर्कविहीन

काठमाडौँ – गत बुधबार गएको भोटेकोशी बाढीमा परेकामध्ये विभिन्न मुलुकका ३२४ जना नागरिकको उद्धार गरिएको छ भने अझै ३९ देशका ५९० जना सम्पर्कविहीन छन् । पछिल्लो जानकारीअनुसार एक हजारभन्दा बढीको शव फेला परेको सरकारले जनाएको छ ।

यसैगरी हालसम्म ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको भोटेकोशी बाढीसम्बन्धी आज परराष्ट्र मन्त्रालयद्वारा नियमित आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय, नेपाली कूटनीतिक नियोगहरू तथा सम्पर्कविहीन विदेशी नागरिकका परिवारसँग निकट समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

यसैगरी विदेशस्थित नेपाली नियोगहरूले पनि प्रमाणित सूचना आदानप्रदान, परिवारसँग सम्पर्क तथा आवश्यकताअनुसार पहिचान, शव स्वदेश फिर्ता गर्ने प्रक्रियालगायतमा सहजीकरण गरिरहेका छन् । “हामी सम्बन्धित देशहरूसँग निकट सम्पर्कमा छौँ र आवश्यक सबै कन्सुलर सहायता उपलब्ध गराउन प्रतिबद्ध छौँ”, प्रवक्ता क्षेत्रीले भने ।

उहाँका अनुसार नेपाल सरकारले विशिष्ट क्षेत्रमा अन्तरराष्ट्रिय सहयोगसहित सरकारका सम्बन्धित निकाय तथा सुरक्षा बलहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । “भारतबाट २४ जना जनशक्ति सम्मिलित दुई वटा तथा चीनबाट नौ जना जनशक्ति सम्मिलित विशेष सुरुङ उद्धार टोली प्रभावित जलविद्युत् आयोजनाहरूमा परिचालित छन्”, उनले भने, “गणतन्त्र कोरियाको एउटा टोली पनि यहाँ आएको छ ।”

भारतीय सुरुङ उद्धार टोलीहरूले चिलिमे तथा लाङटाङ जलविद्युत् आयोजनास्थलमा नेपाली सेनासँग निकट समन्वयमा काम गरिरहेका छन् । चिनियाँ टोलीले माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा नेपाली सेनासँग समन्वय गरी काम गरिरहेको छ । मृतकका शवको व्यवस्थापन तथा संरक्षणका लागि आवश्यक विशेष उपकरण नेपाललाई प्राप्त भइसकेको छ ।

प्रवक्ता क्षेत्रीले भने, “डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले २९ अगस्टदेखि सम्बन्धित नेपाली अधिकारीसँग सहकार्य गर्दै निरन्तर काम गरिरहेको छ । चीनबाट चार सदस्यीय फरेन्सिक टोली आज साँझ आइपुग्दैछ ।” सिङ्गापुरबाट ‘डिजाष्टर भिक्टिम आइडेन्टिफिकेसन’ टोली परिचालन गर्ने सम्बन्धमा पनि समन्वय भइरहेको उहाँले जानकारी दिए ।

मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो ।

ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।

त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ ।

द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।

युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।

एसियाली सेयर बजारमा हङकङको हाङ सेङ सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर २५,३२९ दशमलव ७३ मा झरेको छ भने सांघाई कम्पोजिट सूचकाङ्क शून्य दशमलव दुई प्रतिशतले घटेर ३,९७९ दशमलव ८९ मा सीमित भएको छ ।

टोकियोको निक्केई २२५ सूचकाङ्कले सुरुवाती वृद्धि गुमाउँदै शून्य दशमलव प्रतिशतको गिरावटसहित ६६,२१५ दशमलव ३४ मा झरेको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क भने शून्य दशमलव दुई प्रतिशतले बढेर ६,८३५ दशमलव ८० पुगेको छ । अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव एक प्रतिशतले घटेर ९,०६६ दशमलव ७० मा आएको छ ।

यसबीच ऊर्जा क्षेत्रका कम्पनीको सेयर मूल्य भने बढेको थियो । एक्सन मोबिलको सेयर दुई दशमलव सात प्रतिशत र सेभ्रोनको दुई दशमलव एक प्रतिशतले बढेको थियो ।

ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ । मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।

फेडरल रिजर्भको आगामी कदमबारे लगानीकर्ताको अपेक्षालाई नजिकबाट प्रतिबिम्बित गर्ने दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल सोमबार चार दशमलव ३४ प्रतिशतमा स्थिर रह्यो । यो शुक्रबारको अन्त्यमा पनि सोही स्तरमा थियो । सन् २०२६ को सुरुवातमा भने उक्त प्रतिफल करिब तीन दशमलव ५० प्रतिशत थियो ।

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौँ। सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा तीनहजार कम पर्यटक नेपाल आएका हुन् । सन् २०२५ को अगस्टमा ८८ हजार ६८० पर्यटक नेपाल आएका थिए ।

अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३०४ जना पर्यटक नेपाल छन् । यस्तै, श्रीलङ्काबाट आठ हजार ७१०, अमेरिकाबाट छ हजार २९३, बङ्गलादेशबाट चार हजार ४८७, बेलायतबाट तीन हजार ४७६ जना पर्यटक आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा अगस्टमा सबैभन्दा बढी पर्यटक दक्षिण एसियाबाट ४१ हजार ४२२ जना आएका छन् । अन्य एसियाली मुलुकबाट १८ हजार २७५ जना आएका छन् ।

युरोपबाट १० हजार ८७५ जना पर्यटक आएका छन् भने ओसियाना क्षेत्रबाट दुई हजार ५२९ जना आएका छन् । यसैगरी, अमेरिकी क्षेत्रबाट सात हजार ४७३, मध्यपूर्वबाट एक हजार १०, अफ्रिकाबाट ३३८ जना पर्यटक आएका छन् ।

राष्ट्रियसभाको बैठक आज बस्ने

माडौं । राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

धादिङ सदरमुकामबाट विभिन्न गन्तव्य जाेड्न चार अस्थायी रुट कायम

धादिङ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ ।

ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिले धादिङवेशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार,परेवाटार–आदमटार–बेलिनटार–मासटार, तथा धादिङबेँशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई अस्थायी यातायात रुट कायम गरेको छ ।

बैठकले ती सडक तत्काल सञ्चालन योग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकेको छ । धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्नेछ ।

त्यस्तै धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय गरिएको छ । बाढीबाट धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा नियमित र सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको जनाइएको छ ।

समितिले प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी रुट कायम गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

नारायणगढ (चितवन) । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।

उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ – विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ ।

यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् ।

आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको स्वास्थ्य रक्षा गर्न लागिएको छ ।

हालसम्म दुईहजार ‘डिग्निटी कीट’, चारसय ‘किशोरी कीट’ र तीनहजार तारपोलियन वितरण भैसकेको यहाँस्थित ‘युएनएफपिए’ ले जनाएको छ । स्वास्थ्य शिविर सेवा अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी छ ।

नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा आश्रित भएका महिला तथा किशोरीका दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ती सेवा जारी रहेको ‘युएनएफपिए’ उल्लेख गरेको छ । अस्थायी आश्रयस्थल–ककनी÷किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ नेपाल रेडक्रसले जनाएको छ ।

रसुवाका बाढीपीडितका लागि एकै दिन राहत कोषमा ६० करोड २ लाख जम्मा

काठमाडौँ ।प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराउनु भएको हो । रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो।

प्रधानमन्त्री राहत तथा उद्धार कोषका लागि अर्थ मन्त्रालयमार्फत भौतिक रूपमा सहयोग रकम सङ्कलन गर्न सरकारले भदौ ११ गतेदेखि सुरु गरेको थियो। त्यसयताकै सबैभन्दा धेरै रकम आज अर्थ मन्त्रालयमार्फत प्राप्त भएको हो। आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र निमित्त अर्थसचिव उत्तर खत्रीमार्फत दाताहरूले हस्तान्तरण गरेको चेकको कुल रकम ६० करोड २ लाख २० हजार १०६ रुपैयाँ ६२ पैसा रहेको छ।

भदौ ११ गते २७ करोड ३३ लाख रुपैयाँ, भदौ १२ गते ३८ करोड ६० लाख ६४ हजार ३२४ रुपैयाँ, भदौ १४ गते ४ करोड ७९ लाख रुपैयाँ र २ लाख अमेरिकी डलर दाताहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत चेक हस्तान्तरण गरेर उपलब्ध गराउनु भएको थियो ।

मन्त्रालयको तथ्याङ्कअनुसार चार दिनमा अर्थमन्त्रीमार्फत कुल १ अर्ब ३० करोड ७५ लाख ८ हजार ६६१ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ। त्यसमध्ये ८० हजार रुपैयाँ नगद थियो भने बाँकी सबै ‘एकाउन्ट पेयी’ चेक रहेका छन्। यस्तै, दुई लाख अमेरिकी डलरकाे चेक पनि मन्त्रालयमा प्राप्त भएकाे छ।

भोटेकोशी बाढी: ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ ।पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए ।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म भारतका १८७, चीनका १०८, माल्टाका चार, जर्मनीका चार, रुस, टर्की र अमेरिका र इटालीका दुई/दुई स्वीट्जरल्यान्ड, बुल्गेरियाका, ओमान, पोर्चुगलका एक/एक जनाको उद्धार गरिएको छ ।

यस्तै, विभिन्न देशका ५८३ पर्यटक अझै सम्पर्कविहीन छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा अन्य पर्यटन क्षेत्रका सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिएका छन् ।

घाइते तथा अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ । बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आग्रह गरेको छ । बोर्डले जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४५५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

बाढीपछि नुवाकोटको बेत्रावतीमा एउटा घरबाट २४ शव निकालियो, थप खोजी हुँदै

काठमाडौं – नुवाकोटको बेत्रावतीमा एउटा घरभित्रै २४ शव फेला परेको छ । सोमबार विदुर नगरपालिका९१० स्थित बेत्रावतीमा रहेको एउटा घरमा २४ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।

अरु कति वटा छन् भन्ने यकिन विवरण आउँन बाकीँ रहेको जनाइएको छ । एकै घरमा ठूलो संख्यामा शव फेला पर्नुको कारण बुझ्न नसकिएको तर सो घर होटल वा गेस्टहाउस हुन सक्ने प्रहरीको आशंका गरिएको छ ।

भदौ १० गतेको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमाभोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीनकाठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना रहेका छन् । हालसम्म ५१ जनाको शव हस्तानतरण प्रहरीले जनाएको छ ।प्रहरीले शव व्यवस्थापनामा महिला ८८ , पुरुष १०९ र पहिचान नखुलेको २१६ जना रहेको छ ।

 

भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौँ। रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् ।

यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न गएका १६४ नेपाली, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीन/तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

सरकारले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास जारी राखिएको स्पष्ट पार्नुभएको छ । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विशेषज्ञ टोलीले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारको प्रयासलाई निरन्तरता दिएको छ ।

त्रिशूली-३ ‘ए’ मा ‘टनेल हेड’ फेला परेको र ‘कम्प्रेसर’बाट हावा भित्र पठाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । टनेलभित्रको पानी निकाल्नाका साथै तीन वटा एक्साभेटर प्रयोग गरी पछाडि रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको सेनाले जनाएको छ ।

यस्तै त्रिशूली-३ ‘बी’ मा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धारको काम भइरहेको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म खोजी जारी राखेको छ ।

माथिल्लो त्रिशूली-१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकुमा ३०० मिटरसम्म पुगेर खोजी गरेको छ । खोज तथा उद्धार कार्यका लागि संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको छ । सो सुरुङमा कोही पनि फेला नपरेको सेनाले स्पष्ट पारेको छ । लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव सङ्कलन गरिएको छ ।

नौ सय ३९ शव फेला

बाढीमा परी मृत्यु भएका ९३९ जनाको शव फेला परेको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८, चितवनमा २७९ वटा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिचान नखुलेका शवलाई सुरक्षितसाथ जमिनमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

बाढीबाट प्रभावित भएका ११ हजार ३७९ जनाको उद्धार भएको छ । बाढीमा परी घाइते भएकामध्ये १६८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । प्रभावित क्षेत्रमा आठ हजार ७९१ नेपाली सेना, चार हजार २०३ सशस्त्र प्रहरी र सात हजार ९०९ नेपाल प्रहरी परिचालित गरिएको छ ।

देशभर मनसुन सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती प्रदेशका केही स्थानमा, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेश प्रदेश प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ र बिक्रीदर १८८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर ११९ रुपैयाँ ८७ पैसा तोकिएको छ।जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ

रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ११ पैसा र बिक्रीदर ११ रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५८ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ०८ पैसा बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ३० पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

हेटौँडा । हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।

स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठुला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

भाद्र कृष्ण पञ्चमी: कोलमती घाटस्नान गरिँदै

काठमाडौँ । भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदै छ । यस दिन कागेश्वरी नगरपालिका वडा नं ४ अन्तर्गत डाँछीमा कोलमती घाटस्नान गरे पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवतखण्ड (नेपाल माहात्म्य) लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।

वाग्मती नदीको तीर वर्णन क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ ।

कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ ।

कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्त्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहन गएको हो ।

चैलमती अपभ्रंश भई ‘चौलमती’ भएको मानिन्छ । यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ ।

कोलमती घाटभन्दा केही माथि कोलमतेश्वर महादेव मन्दिर छ । हाल त्यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको छ । पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यको सक्रियतामा हयग्रीव मन्दिर निर्माण भएपछि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।

पटकपटक म्याद थप: खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक अधुरै

लमजुङ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लमजुङको खत्रीठाँटी–कुन्छा–सोतीपसल सडक स्तरोन्नतिको काम अधुरै रहेको छ । सडक निर्माण सम्पन्न नहुँदा स्थानीयले वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती खेप्नुपरेको छ ।

सुन्दरबजार नगरपालिका–२ हाँडेटारदेखि मध्यनेपाल नगरपालिका–१ निबुवाटारीसम्मको १० दशमलव आठ किलोमिटर सडकको हालसम्म ४७ दशमलव १७ प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

वर्षायाममा सडक हिलाम्मे हुँदा कतिपय स्थानमा सवारीसाधन सञ्चालन गर्न कठिन भएको छ । सडकको दूरावस्थाका कारण बिरामीलाई अस्पताल लैजान पनि समस्या हुने गरेको सुन्दरबजार नगरपालिका–२ का वडाध्यक्ष नवीन श्रेष्ठले बताए ।

“सडकमा हिँडडुल गर्नसमेत कठिन छ । बिरामी पर्दा एम्बुलेन्स लैजान नसक्ने अवस्था छ”, उनले भने, “पटकपटक सम्बन्धित निकायमा दबाब दिँदा पनि कामले गति लिन सकेको छैन ।”

निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले गत असारमा सडकमा धान रोपेर विरोधसमेत गरेका थिए । उनीहरूले सडक सुधार गरी निर्माणमा तीव्रता दिन माग गरेका थिए ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख शोभियत खड्काले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरिएको बताए ।

ठेक्का तोड्ने पत्र तयार हुने अवस्थामा पुगेपछि निर्माण कम्पनीले सम्झौता तोडिए आफूलाई गम्भीर असर पर्ने जनाउँदै काम अघि बढाउने प्रतिबद्धता जनाएको उनले बताए । “निर्माण व्यवसायीसँग छलफल गरेर समस्या समाधान गरी निर्माण कार्यलाई अगाडि बढाउने प्रयासमा छौँ”, उनले भने ।

उनका अनुसार सडक स्तरोन्नतिका लागि काठमाडौँस्थित महावीर प्रधान जेभीसँग विसं २०७८ असोज २२ गते २८ करोडमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असार २१ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । काम पूरा नभएपछि पहिलोपटक म्याद थप गरी विसं २०८१ असार २१ गतेसम्म समय दिइएको थियो । सो अवधिमा पनि काम नसकिएपछि पुनः म्याद थप गरी विसं २०८३ असार २० गतेसम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरियो ।

पछिल्लो पटक निर्धारित म्याद समेत सकिइसकेको छ । पूर्वाधार विकास कार्यालयका अनुसार सडकको हालसम्म ४३ दशमलव आठ प्रतिशत वित्तीय प्रगति भएको छ । सडक कटिङ तथा चौडा गर्ने, पाइप राख्ने, ग्याभिन जाली तथा नाला निर्माणलगायत काम भए पनि कालोपत्रका लागि आवश्यक बेस तयार भएको छैन ।

निर्माण कार्यका परामर्शदाता राजेश अधिकारीका अनुसार गत असारयता निर्माणको गति अघि बढेको छैन । निर्माण प्रक्रिया अघि बढाउन दुई पटक बैठक बसेर माइन्युट गरिएको र एकपटक मौखिक रूपमा आग्रह गरिएको उनले बताए ।

“सहमति गर्ने तर त्यसअनुसार काम अघि नबढाउने अवस्था पटकपटक दोहोरिएको छ”, उनले भने, “काम गरे पनि सुस्त गतिका कारण ढिलाइ भएको छ । ”

निर्माण कम्पनीले पुनः म्याद थपका लागि निवेदन दिएको अधिकारीले बताउनुभयो । कम्पनीले विसं २०८४ असारसम्म काम सम्पन्न गर्ने गरी म्याद थप माग गरेको छ । नयाँ म्याद भने स्वीकृत भइसकेको छैन । निर्माण कम्पनीले पर्याप्त लगानी गर्न नसक्दा कामदार तथा निर्माण सामग्री व्यवस्थापनमा समस्या भएको जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म निर्माण कम्पनीलाई रु ११ करोड ८७ लाख २२ हजार ५६४ भुक्तानी भइसकेको छ । परामर्शदाता अधिकारीका अनुसार गत आर्थिक वर्षमा करिब रु ८६ लाख ७३ हजार र त्यसअघि रु एक करोड छ लाख बराबरको काम भएको थियो । सडकको करिब तीन किलोमिटर खण्डमा आरसिसी ढलान गर्ने योजना छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।

सङ्घका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए । यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने उनले बताए । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए ।

श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको कालाखेतीले जानकारी दिए । अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ ।

बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा १५ लाख सहयोग

पर्सा – रसुवाको भोटेकोसीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले रु १५ लाख एक हजार १०१ आर्थिक सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज जम्मा गरिएको सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले जानकारी दिए ।

विगतदेखि प्राकृतिक विपद् तथा सङ्कटका समयमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको सङ्घले बाढीबाट जनधनको क्षति व्यहोरेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई समेत आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

राज्यको सम्पूर्ण शक्ति नागरिकको जीवन रक्षा गर्न प्रभावित क्षेत्रमा खटिएको छः प्रवक्ता पोखरेल

काठमाडौँ – नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्मा नागरिकको जीवनरक्षा गर्न राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खटिएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विगत छ दिनदेखि राज्यको सिङ्गो शक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिरहेको बताउँदै उनले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा गर्नु रहेको उल्लेख गरे ।

प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू रातदिन नभनी स्थलगत रूपमा खटिएका छन् । नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू परिचालित हुनुका साथै आवश्यकतालाई मध्यनजर गरी तयारी अवस्थामा पनि राखिएको उनले जानकारी दिए । “जहाँ(जहाँ नागरिक फसेका छन् त्यहाँ र जहाँ हेलिकप्टर अवतरण गर्न सक्ने भौगोलिक अवस्था छ, त्यहाँ टोली तुरुन्तै पुगेर उद्धार कार्य गरिरहेको छ”, उनले भने।

सरकारका प्रवक्ता पोखरेलका अनुसार केहीबेर अघिसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ । खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको उहाँले जानकारी दिए । “बाढीमा परी घाइते भएका सम्पूर्ण नागरिकको काठमाडौँ र देशका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा निःशुल्क उपचार भइरहेको छ । उपचारपश्चात् केहीबेर अघिसम्म १६८ जना डिस्चार्ज भइसकेको छ । प्रभावित क्षेत्रमा महामारी फैलन नदिन विशेष मेडिकल टोली र औषधि परिचालन गरिएको छ । नागरिकको स्वास्थ्य र जीवन रक्षामा हामी निरन्तर लागिरहेका छौँ”, उनले भने ।

मन्त्री पोखरेलले बाढी गएको खबर पाउनसाथ प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रीसँगको समन्वयमा तत्कालै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सबै किमिसका सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य सुरु गरिएको उल्लेख गरे । विकट ठाउँ, प्रतिकूल मौसम र बाढीका कारण हेलीकप्टर राख्ने ठाउँ खोज्न कठिन हुँदा पनि कुनै कसर बाँकी नराखी निरन्तर उद्धार कार्यलाई अघि बढाइएको उनको भनाइ छ ।

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राहतसँगै पुनःस्थापना र पुनःनिर्माणका सबै चरणमा एनआरएनए तथा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयमा आज एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा हेमराज शर्मासहित प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले एनआरएनएले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने पहल स्वागतयोग्य रहेको बताए । उनले यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खनालले हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताए । यति ठूलो विपद्को पुनःस्थापना तथा पुनःनिर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भन्दै उनले राहतसँगै पुनःस्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य आवश्यक रहेको बताए ।

मन्त्री खनालले एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत वितरण गर्न सक्ने र राहत वितरणअघि तथा पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने बताए ।

उक्त अवसरमा एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड हस्तान्तरण गरेको थियो । एनआरएनएका अध्यक्ष डा शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो ।

परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा मरियम बिन्त अली बिन नासेर अल(मिसनदबीच आज टेलिफोन वार्ता भएको छ ।

परराष्ट्रमन्त्री खनाललाई राज्यमन्त्री डा अल-मिसनदले नेपालमा बाढीका कारण भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

वार्ताका क्रममा राज्यमन्त्री अल-मिसनदले विपद्बाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल(मिसनदले व्यक्त गर्नुभएको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गरे । उनले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो

‘खोज, उद्धार, राहत र पुनर्निर्माणमा सरकार दृढताका साथ लागिरहेको छ’ – प्रधानमन्त्री बालेन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म पनि सरकार खोजी तथा उद्धारसँगै राहत, उपचार र प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनमा केन्द्रित रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्को समयमा प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, सञ्चारकर्मी, स्वयंसेवक तथा आम नागरिकले गरेको सहयोग र समन्वयप्रति आभार व्यक्त गरेका छन्।

उनका अनुसार रसुवा, नुवाकोट र धादिङमा रहेका चारवटा राहत संकलन केन्द्र हुँदै रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रबाट ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्‍याइएको छ। प्रदेश तथा स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रिय रहेको उनले बताएका छन्।

भारत, चीन, अमेरिका, यूएई, कतार, जापान, स्विट्जरल्यान्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट राहत तथा सहयोग प्राप्त भइरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
हार्दिक धन्यवाद
रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिनसम्म आइपुग्दा नेपाल सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढता र सक्रियताका साथ लागिरहेको यहाँहरु सबैलाई जानकारी नै छ। यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी,मिडिया , विभिन्न निकायका पदाधिकारीहरुसँगै स्वयमसेवक संस्था तथा आम मानिसहरुको भूमिका कदरयोग्य र प्रशंसनीय छ। यस अवधिमा यहाँहरुले देखाउनुभएको धैर्य, साथ, सहयोग र समन्वयप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । विपद् व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारले दिएको साथ र सहयोग निकै महत्वपूर्ण छ। साथै, हाम्रा मित्रराष्ट्रहरु, स्वदेशी र विदेशी संघसंस्था, सञ्चारमाध्यमलगायतका सबै सरोकारवालाहरुले देखाउनुभएको सदासयता र सहयोग अनुकरणीय छ।
राहत व्यवस्थापन
सरकार अहिले प्रभावित क्षेत्रमा अझैं पनि खोज र उद्धारमा केन्द्रित छ। सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत संकलन तथा वितरण पनि सरकारको प्राथमिकतामै छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा संघसंस्था र आम नागरिकहरुबाट प्राप्त राहत सामग्री संकलन गरी प्रभावित नागरिक समक्ष पुर्‍याइरहेका छौँ। यस कार्यमा अन्तर्राष्ट्रिय जगतले पनि सघाइरहेका छन्। हालसम्म भारत, चीन, अमेरिका, युएई, कतार, जापान, स्वीट्जरल्याण्ड, अष्ट्रेलिया लगायत मित्र राष्ट्रहरुबाट सहयोग प्राप्त भइसकेको छ।
हाम्रा सुरक्षाकर्मीले हवाई र सडकमार्गमार्फत प्रभावित क्षेत्र (रसुवा, नुवाकोट र धादिङ) का ४ वटा संकलन केन्द्र हुँदै रसुवा र नुवाकोट जिल्लाका २७ वटा वितरण केन्द्रमार्फत ३६९६ जना प्रभावित नागरिकसम्म पुर्‍याइएको छ। साथै प्रदेश र स्थानीय सरकार पनि संघीय सरकारसँगको समन्वयमा ती केन्द्रहरुमा आश्रय तथा राहत व्यवस्थापनमा सक्रियताका साथ जुटिरहेका छन्। सरकारले राहत संकलन र वितरणबारे राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकारणले निरन्तर जानकारी समेत गराइरहेका छ। राहत संकलन तथा वितरण कति प्रभावकारी भइरहेको छ भनेर हामीले हाम्रा सचिवालयका सदस्यहरु र कर्मचारीहरुलाई समेत प्रभावित क्षेत्रमै परिचालन गरिरहेका छौं।
आर्थिक सहयोग
नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पारदर्शी रूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ। आर्थिक सहयोगका लागि कतिपय देश तथा संघसंस्थाहरुले प्रतिवद्धता समेत जनाएका छन्।
सडक सञ्जाल
बाढीका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भू–भाग पुनः सडक सञ्जालमा जोडिएको छ। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी भएर त्रिशूली बजारसम्म पुग्ने सडक सञ्चालनमा ल्याइएको छ। नुवाकोटका ठूलो संख्याका रहनुभएका नागरिकको सदरमुकामसँग पुनः सीधा सडक पहुँच स्थापित भएको छ। यसबाट प्रभावित क्षेत्रहरूमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा थप सहज हुने भएको छ। रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानका पुल भत्किएका छन्। यसले आवातजावतमा असर परेको छ। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ। हामीसँग ४८ मिटर लम्बाइका ६ र ७० मिटरको १ थान बेलिब्रिज छन्। अहिले ३ ठाउँ (देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजार) मा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ। साथै, भारत सरकारबाट २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। त्यति मात्रै होइन, चीन सरकारबाट पनि ३० वटा बेलिब्रिज चाँडै प्राप्त हुँदैछ।
उद्धार तथा उपचार
बाढी प्रभावित क्षेत्रबाट हामीले उद्धार कार्यलाई तीव्र पारेका थियौं। केहीबेर अघि ११,३७९ जना मानिसहरुको उद्धार भइसकेको छ र ३९२५ जना सम्पर्कविहिन हुनुहुन्छ। सम्पर्कबिहिनीको संख्या घटबढ भइरहेको छ। प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरेका २७९ जना घाइते नागरिकहरुमध्ये केहीबेरअघिसम्म १६८ जना डिस्चार्ज भइसक्नुभएको छ।
निरन्तर ब्रिफिङ
बाढी प्रभावित क्षेत्रमा भइरहेको काम र वर्तमान अवस्थाबारे सुरक्षा निकायकासँग नियमतिरुपमा जानकारी लिइरहेका छौँ। आज पनि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुखहरुसँग खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाबारे विस्तृत ब्रिफिङ लिएका छौं। उहाँहरुले हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका सम्बन्धमा जानकारी गराउनुभएको छ। हामीले प्रभावित क्षेत्रमा खटिरहनु भएका मन्त्रिपरिषद्का सदस्यहरु, संघीय सांसदहरु लगायत अन्य साथीहरुबाट पनि निरन्तर जानकारी लिइरहेको छौं। र, यो क्रम निरन्तर जारी रहने छ।
विद्युत् र सञ्चार सेवा
प्रभावित क्षेत्रमा अवरुद्ध भएको विद्युत् पुनःस्थापनाको क्रम जारी छ । रसुवा जिल्लाको कालिकास्थान, नौकुण्डको केही भाग, गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ । साथै, आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ।
बाढीका कारण नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकोमा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी ५ दिनभित्र विद्युत् सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ। विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थानहरु, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भागहरु बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्‍याउने काम भइरहेको छ।
साथै, धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकोमा आदमघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा (९८ प्रतिशत) विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ ।
त्यसैगरी सञ्चार सेवा पनि अधिकांश स्थानमा पुनःस्थापना भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् ।
प्रभावित विद्युत आयोजनाबाट उद्धार
बाढीका कारण विभिन्न विद्युत् आयोजना प्रभावित भएका छन्। केही आयोजनामा कार्यरत जनशक्ति सम्पर्कबिहीन भएको आशंका छ। नेपाली सेनाले विभिन्न जलविद्युत् परियोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ। साथै आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार जारी राखेको छ।
नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट २ जनाको उद्धार गरेको छ। उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीबाट सुरुङको भित्री भागसम्म खोजी भएको थियो। उक्त सुरुङमा मानिस नभेटाएपछि उद्धार टोली फर्किएको छ।
रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरुले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट ९ जनाको उद्धार भइसकेको छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ। उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन, र चिनियाँ टोलीले काम गरिरहेको छ।
नुवाकोट माथिल्लो त्रिशूली–थ्री ए को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ। उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिहरेको छ। माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले २ जनाको उद्धार गरिसकेको छ। हाल उक्त आयोजनामा नेपाली सेनाका थप ९ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन्। यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो।
नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट ३ जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट ४ जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट ४ जनाको उद्धार भइसकेको छ।
शव व्यवस्थापन
बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरुको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ। हालसम्म ९३९ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।
हिमालय क्षेत्रको ठूलो विपद्
रसुवाको भोटेकोशी नदीमा आएको बाढी सामान्य बाढी थिएन। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति हो । यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको संकेत गरेको छ। त्यसैले यो क्षेत्र सर्तक त हुनैपर्छ, सँगसँगै हामीले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद्को विषयबारे बलियो गरी उठान गर्नुपर्ने पनि समय आएको छ।
पुनःस्थापनामा
प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनःस्थापना कसरी गर्ने भन्नेबारे छलफल समेत अघि बढाएको छ। त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण समेत संकलन सुरु भइसकेको छ। हजारौँ नागरिकले घर, परिवार, प्रियजन र जायजेथा गुमाउनुभएको छ। उहाँहरुले भोग्नुभएको यो पीडा सरकारले बुझेको छ। उहाँहरुको पीडामा मलहम लगाउँदै पुनःस्थापनामार्फत सामान्य जनजीवनमा पुर्‍याउनु अबको बाटो हो। उहाँहरुलाई मानसिक र शारीरिक रुपमा सशक्त बनाउँदै पुनःस्थापना गर्न सरकार लाग्नेछ। पुनःस्थापनाका आवश्यक आर्थिक स्रोत जुटाउने क्रम जारी छ।

गोकर्णेश्वरको नयाँ बस्ती युवा क्लब राहत अभियानमा, विपद् कोषमा १ लाख बढी सहयोग

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको नयाँ बस्ती युवा क्लबले रसुवा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।क्लबले गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा उक्त रकम जम्मा गरेको हो। सोमबार क्लबका अध्यक्ष चन्द्रमणि गौतमसहित पदाधिकारीहरूले नगर प्रमुख दीपककुमार रिसाललाई १ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण कार्यक्रममा क्लबका वर्तमान तथा पूर्वपदाधिकारीहरूको समेत उपस्थिति थियो।विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत तथा उद्धारमा आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबले सहयोग गरेको अध्यक्ष गौतमले बताए।

‘विपद्को बेलामा क्लबले सहयोगको हातेमालो गर्दै सानै भए पनि यसरी जोडिन चाहेको हो,’ उनले भने।रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको राहत कोषमार्फत सहयोग परिचालन भइरहेको छ।

भोटेकोशी नदीको पानी तथा माछा प्रयोग नगर्न प्रहरीको अपिल

काठमाडौँ। नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानिकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान, नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको हो ।

भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ । दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ। ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ ।ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै झापा-११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पाँचौँ मिनेटमा झापा-११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास गरे पनि गोल गर्न नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लबलाई पराजित गरेसँगै झापा-११ ले सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको छ । फिदिमले चित्लाङ एफसीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । यी दुई टोलीबीचको खेल भदौ १७ गते हुनेछ ।

यस्तै, मङ्गलबार सेमिफाइनलको पहिलो खेलमा भारतको जर्जियन युनाइटेड फुटबल क्लब र सिराहाको सलहेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको जर्जियन युनाइटेडले आयोजक ताप्लेजुङ-११ लाई २-१ तथा सलहेशले सातदोबाटो एफसीलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आयोजना गरेको प्रतियोगिता भदौ १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार प्रतियोगिताको विजेताले रु सात लाख दुई हजार ८३ तथा उपविजेताले रु तीन लाख ५२ हजार ८३ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न विधागत पुरस्कारसमेत प्रदान गरिनेछ ।

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट, डोर सेल्सको रकम बाढीपीडितलाई

काठमाडौंको जडीबुटीस्थित ‘क्लब १८’मा आगामी भदौ १७ गते (सेप्टेम्बर २) र्यापर ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ आयोजना हुने भएको छ। आयोजकका अनुसार कन्सर्टमा हुने डोर सेल्सबाट संकलित रकम बाढीपीडितको सहयोगमा खर्च गरिनेछ।

कार्यक्रममा ‘जनचेतना’ बाेलकाे मैथिली र्याप गाएर चर्चामा आएका र्यापर ‘यादव सरकार’को मुख्य प्रस्तुति रहनेछ। कार्यक्रममा गायक आश्रम थिङ र गायिका अनिशा तामाङले पनि प्रस्तुति दिनेछन्।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडेर कार्यक्रम आयोजना गर्न लागिएको क्लब १८का सञ्चालक सुजन श्रेष्ठले बताए। उनका अनुसार कार्यक्रमको डोर सेल्सबाट उठेको रकम बाढी प्रभावित परिवारको राहत तथा सहयोगमा प्रयोग गरिनेछ।

`देशका विभिन्न ठाउँमा बाढी र प्राकृतिक विपत्तिका कारण धेरै नागरिक प्रभावित भएका छन्। यस्तो अवस्थामा कलाकार र संगीतप्रेमीलाई एउटै ठाउँमा जोडेर कार्यक्रमबाट उठेको रकम पीडितको सहयोगमा प्रयोग गर्ने उद्देश्य हो। संगीतमार्फत सामाजिक सहयोग गर्ने हाम्रो सानो प्रयास हो,´ सञ्चालक श्रेष्ठले भने।

कन्सर्ट राति ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन अनलाइन टिकट बुकिङको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।आयोजकले संगीतप्रेमीलाई कार्यक्रममा सहभागी हुँदै बाढीपीडितको सहयोगमा योगदान गर्न आग्रह गरेका छन्।

भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु

काठमाडौँ। भोटेकोशी बाढीमा परी हराइरहेका नेपाली तथा विदेशी नागरिकका आफन्तजनले डिएनए परीक्षणपश्चात् फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रिया अघि बढेको छ ।

नेपाल प्रहरीले बाढीपछि फेला परेका शव तथा शरीरका अङ्गको डिएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था मिलाएको जनाएको छ । पहिचान हुन नसकेका व्यक्तिका आफन्तलाई आवश्यक नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ ।

नेपालमा रहेका, सम्पर्कविहीन व्यक्तिका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना पहिलो तहका नातेदारले ताजा रगतको नमुना उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि महाराजगन्जस्थित प्रहरी अस्पतालको प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

विदेशमा रहेका पहिलो तहका नातेदारले आफ्नो बसोबास रहेको मुलुकको आधिकारिक प्रयोगशालामा डिएनए प्रोफाइलिङ (डिएनए प्रतिरूपण) गराई त्यसको डिजिटल प्रतिलिपि प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।

प्रहरीका अनुसार ‘डिएनए प्रोफाइल’को तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान गर्न सम्बन्धित व्यक्तिको पूरा नाम, पहिचानसम्बन्धी विवरण, सम्भव भएमा सम्पर्कविहीन भएको मिति र स्थान, अधिकृत फरेन्सिक प्रयोगशालाबाट प्राप्त डिएनए परीक्षण प्रतिवेदन तथा डिएनए नमुना दिने व्यक्ति र सम्पर्कविहीन व्यक्तिबीचको नाता विवरण आवश्यक पर्नेछ ।

चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा बाढी गएपछि आपूर्ति श्रृङ्खलामा असर पारेकाले यस्तो कठिन परिस्थितिलाई मध्यनजर गर्दै संयमित र जिम्मेवार भई व्यापार, व्यावसाय गर्न उद्योगी व्यवसायीलाई अपिल गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले आज सार्वजनिक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारणले आपूर्ति प्रणालीमा असर पारेकाले पनि संयमित र जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न आह्वान गर्नुभएको हो । उहाँले विशेष गरी उत्तरी रसुवागढी नाका प्रभावित भई आयात-निर्यात तथा आपूर्ति व्यवस्थामा अवरोध हुन गएकाले आगामी चाडपर्वलाई लक्षित गरेर बजारलाई सहज र व्यवस्थित गर्न अनुरोध गर्नुभयो ।

विपद्को कठिन परिस्थितिमा व्यवसायीले नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्ने, सरकारले नियन्त्रणभन्दा माथि उठेर सहजीकरण गर्नुपर्ने र उपभोक्ताले अनावश्यक सञ्चय तथा त्रासबाट मुक्त भएर संयमता अपनाउनुपर्ने चेम्बरद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आगामी तीज, दसैँ, तिहार, छठ, नेपाल संवत्, रमजानलगायत प्रमुख चाडपर्व नजिकिँदै गर्दा बजारमा माग बढ्ने भएकाले आवश्यक वस्तुको नियमित आपूर्ति कायम राख्न, कृत्रिम अभाव तथा मूल्यवृद्धि नगर्न र उपभोक्ताको हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक, थोक तथा खुद्रा व्यवसायीलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै चेम्बरले अवरुद्ध राजमार्गका विकल्पमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, पर्याप्त भण्डारण तथा प्रभावकारी वितरण प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ ।

समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समानान्तर निर्माण सेवा प्रालि र त्यहाँ कार्यरत कर्मचारीले रु ६३ लाख ३७ हजार ३७८ सहयोग गरेका छन् ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि समानान्तर निर्माण कम्पनीका तर्फबाट रु ५१ लाख ५१ हजार ५१५ तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट रु ११ लाख ८५ हजार ८६३ सहयोग गरेका हुन् ।

समानान्तर निर्माण सेवा प्रालिका अध्यक्ष अच्युतप्रसाद खरेलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहयोग रकम हस्तान्तरण गर्दै विपद्बाट पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापना कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा

काठमाडौँ। पूर्वाधार विकास मन्त्रालयले त्रिशूली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सञ्चालनमा आएको जनाएको छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएको थियो । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार गल्छी–त्रिशूली सडकखण्डअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएसँगै नुवाकोटका धेरै नागरिकको सदरमुकामसँग पुनः पहुँच स्थापित भएको मन्त्री लम्सालको निजी सचिवालयले जनाएको छ ।

सडक सञ्जाल जोडिएसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने विश्वास लिइएको छ ।

छोरा घर फर्किने आशामा पाँच दिनदेखि कुरिरहेका विनोद, भोटेकोशी बाढीपछि दीपेन्द्र सम्पर्कविहीन

महेन्द्रनगर – जोनापुरका विनोद डगौराले छोरो घर फर्किने आशामा बसेको आज पाँच दिन बित्यो ।

भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन् । रसुवाको स्वाफ्रुबँेसीस्थित जलविद्युत् आयोजनामा मजदुरी गर्थे उनका छोरा । गत जेठ महिनामा छोरा दीपेन्द्र रसुवा गएका थिए । डगौराका परिवार दीपेन्द्रको खोजीका लागि काठमाडौँ जाने तयारी हुँदै गर्दा कृष्णभीरको पहिराका कारण रोकिन पर्यो ।

“दुई दिनअघि परिवारको सम्र्पकमा नरहेका यहाँका चार जना काठमाडौँ जाने भन्दै थियौँ”, डगौराले भने, “सडक अवरुद्ध भयो भनेपछि रोकियौं । जहाजमा जाने क्षमता भएन ।” दीपेन्द्र घरका एक्ला छोरा हुन् । बाढी आउनु केही दिनअघिसम्म परिवारको सम्र्पक भए पनि बाढीपछि उनको अवस्थाबारे कुनै जानकारी छैन ।

“परिवारको एक्लो छोरा हुन् दीपेन्द्र । अब त सम्र्पकमा आउने आशा पनि न्यून हुँदै गयो”, उनले भने, “छोरो सम्पर्कविहीन भएपछि परिवारमा दुःख आइलागेको छ ।” गाउँका अन्य युवासँग रसुवा गएका दीपेन्द्रका साथीसमेत परिवारको सम्पर्कभन्दा बाहिर छन् । उहाँले छोराको सकुशल रिहाइको आशा मारेका छैनन् । “सबैतिर सरकारले उद्धार गरिरहेकाले कति सुरक्षित ठाउँमा छोरो भेटिन्छ की जस्तो लाग्छ”, उनी भन्छन् ।

टिमुरे भन्सारमा कार्यालयमा कार्यरत भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेशदत्त जोशीका आफन्त पनि खोजीका लागि काठमाडौँ पुगेका छन् । काठमाडौँ पुगेका जोशीको छोरीज्वाई टीका भट्टले आशा मारेका छैनन् । “टिमुरे भन्सारबाट ज्यान जोगाएर आएका भन्सार कर्मचारीसित भेट गरेँ”, भट्टले भने, “टिमरे बजार नै बाढीले बगाइसक्यो । शवहरु अहिले पनि त्यहाँ छरपष्ट छन् भन्ने सुनियो ।”

गत शुक्रबार काठमाडौँ पुगेका भट्टले टिमुरे भन्सार कार्यालयबाट सम्र्पकविहीन १५ जना कर्मचारीका आफन्त खोजीका लागि काठमाडौँ पुगेको बताए । त्यसैगरी, यहाँको लालझाडी गाउँपालिका–५ का पदमसिंह साउद अपर त्रिशूली जलविद्युत् आयोजनामा काम गर्थे । बाढी आउनुअघि सोही दिन बिहान साढे ७ बजे परिवारका सदस्यहरुसित कुराकानी भएको साउदका भतिज खडक थापाले जानकारी दिए ।

“काकाको प्रायः राति डियुटी हुनाले त्यो दिन बिहान घरमा कुरा गरेर सुत्छु भनेर फोन राखे । त्यसपछि सम्र्पक नै भएन”, थापाले भन्नुभयो, “परिवारका सदस्यले फर्किने आशा मारिसकेँ ।” उनले काका बस्ने जलविद्युत् आयोजनाको क्याम्प नै बाढीले बगाइसकेकाले फर्किने आशा मरिसकेको बताए ।

परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौँ -परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच आज टेलिफोन वार्ता भएको छ ।

मलेसियाका विदेशमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

वार्ताका क्रममा मलेसियाका विदेशमन्त्री हसनले नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया सरकार तयार रहेको बताए । वार्तामा परराष्ट्रमन्त्री खनालले मलेसियाले व्यक्त गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए । उनले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको बताएका थिए ।

मन्त्री खनालले विपद्बाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासनसमेत दिएका छन् ।

जापानले ५५.६ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआइ विकासमा जोड दिने

जापानको रक्षा मन्त्रालयले सोमबार ८.९ ट्रिलियन येन (५५.६ अर्ब डलर बराबर) को विशाल आकारको बजेट माग गरेको छ । तनावपूर्ण सुरक्षा वातावरणमा निर्णय प्रक्रिया छिटो बनाउन टोकियो कृत्रिम बुद्धिमत्ता (एआई)तर्फ लागिरहेको छ ।

बजेटको अन्तिम रूप १० ट्रिलियन येनसम्म पुग्न सक्ने रिपोर्ट जापानी अधिकारीहरूले गरेका छन् । जापानले चीन, उत्तर कोरिया र रूससँग बढ्दो तनाव सामना गर्न रक्षा क्षेत्रको व्यापक स्तरोन्नति गर्दैछ ।

नवीनतम मागले एआई, ड्रोन र स्ट्यान्डअफ क्षेप्यास्त्रको प्रयोगजस्ता ‘युद्धका नयाँ तरिका’ को सामना गर्न आवश्यकता देखिएको भन्ने बिषयलाई जोड दिएको छ ।

मागअनुसार मन्त्रालयले एआई–संचालित निर्णय सहयोग प्रणाली लागू गर्न चाहन्छ ।

यसले कम लागतका ड्रोन किन्न पनि चाहन्छ, जसले लामो दूरीका क्षेप्यास्त्रसँग मिलेर शत्रुका सम्पत्ति निष्क्रिय पार्न सक्छ ।

मन्त्रालयले पानीमुनिबाट प्रक्षेपण हुने हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने र संज्ञानात्मक युद्धविरुद्ध रक्षा बलियो बनाउन नयाँ इकाई स्थापना गर्ने योजना बनाएको छ । संज्ञानात्मक युद्ध गलत सूचना अभियानमार्फत सार्वजनिक मतलाई प्रभाव पार्ने बढ्दो खतरा हो ।

सन् २०२७ अप्रिलदेखि सुरु हुने आर्थिक वर्षको बजेट मागले जापानले अस्थिर भूराजनीतिक यथार्थ सामना गर्न सैन्य क्षमता बढाउने र आत्मरक्षाका लागि मात्र बल प्रयोगजस्ता परम्परागत शान्तिवादी अडान बिस्तारै छोड्ने नवीनतम कदम देखाउँछ ।

चीनको तीव्र सैन्य विस्तार र उत्तर कोरियाको क्षेप्यास्त्र तथा आणविक हतियारको निरन्तर विकासले जापानलाई सुरक्षा बलियो बनाउन बाध्य पारेको छ ।

युक्रेनमा रूसको युद्धले जापानी नीति निर्माताहरूमा पूर्वी एसियामा पनि यस्तै द्वन्द्व हुन सक्ने चिन्ता बढाएको छ । चीनको ताइवानमाथि बढ्दो दबाब र जापानसँगको क्षेत्रीय विवादलाई ध्यानमा राख्दा यस्तो चिन्ता आएको हो ।

–माग बढ्न सक्छ–

निक्केई नामक जापानी पत्रिकाले नाम उल्लेख नगरिकन सत्ताधारी दलका एक सांसदलाई सूचनाको स्रोतव्यक्ति बताउँदै लेखेको छ, “रक्षा मन्त्रालयको माग १० ट्रिलियन येनभन्दा बढी हुन सक्नेछ ।”

हालको मागमा क्षेप्यास्त्र, ड्रोन र डिजिटल प्रणालीलगायत धेरै उत्पादन तथा सेवाको अनुमानित लागत उल्लेख छैन ।

यी अङ्कहरू सरकारले वर्षको अन्त्यसम्ममा मूल राष्ट्रिय सुरक्षा दस्तावेजहरूको संशोधन पूरा गरेपछि अन्तिम रूप दिइने रक्षा अधिकारीहरूले बताएका छन् ।

ती तीन दस्तावेजले देशको सुरक्षा वातावरणको मूल्याङ्कन गर्दै भविष्यको रक्षा क्षमताको रूपरेखा तय गर्छन् ।

जापानले सैन्य खर्च र एसियामा सुरक्षा सहकार्य बढाइरहेको छ । बाहिरी टापुहरूमा क्षेप्यास्त्र प्रक्षेपण यन्त्र तैनाथ गर्ने, ‘प्रतिकार क्षमता’ हासिल गर्ने र हतियार निर्यात नियम खुकुलो पार्ने कदम चालेको छ ।

चीनविरोधी मानिने प्रधानमन्त्री सानाइ ताकाइचीले राष्ट्रिय रक्षा आफ्नो परम्परागत एजेन्डाको शीर्षमा राख्नुभएको छ ।

ताकाइचीले नोभेम्बरमा ताइवानसम्बन्धी कुनै पनि द्वन्द्वमा जापान सैन्य रूपमा हस्तक्षेप गर्न सक्ने सङ्केत दिएपछि चीनसँगको सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो । बेइजिङले ताइवानलाई आफ्नो क्षेत्र मान्छ ।

चीनले जापानको ‘नयाँ सैन्यवाद’ फर्केको भनी चिन्ता व्यक्त गरेको छ।

“ताकाइचीको नेतृत्वमा सरकारले समग्र बजेट माग करिब १४३ ट्रिलियन येन बनाउने अपेक्षा छ, जुन चालु आर्थिक वर्षको १२२.४ ट्रिलियन येनको मागभन्दा ठूलो वृद्धि हो,” निक्केईले समाचारमा उल्लेख गरेको छ।

भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

काठमाडौं । बाढी प्रभावितका लागि राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ।

कतारबाट राहत सामग्री लिएर आएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि अवतरण गरेको हो।

जहाजमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ।

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ – रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् ।

मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ । कोरलानाकातर्फ जाँदै गर्नुभएका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए ।

कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२ /०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व सङ्कलन गरेको थियो । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।

विपद्मा सरकार एक्लै चल्न खोजेको विष्णु रिमालको आरोप, ‘जनताको भावनामा खेलबाड नगर’

काठमाडौं – नेकपा एमालेका नेता विष्णु रिमालले प्राकृतिक विपत्तिका बेला राजनीति नगर्न र जनताको भावनामा खेलबाड नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै रिमालले विपत्तिको समयमा उद्धार, राहत तथा पुनर्स्थापना र पुनर्निर्माणका काम एकसाथ अघि बढाउनुपर्ने बताएका छन्। उनले केन्द्रदेखि स्थानीय तहसम्मका सरकार तथा सरकारी निकायलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

रिमालले विपत्तिमा सरकारी संयन्त्रसँगै जनताका संगठनलाई समेत सहयोगमा परिचालन गर्नुपर्ने बताएका छन्। तर, आफूले फिल्डमा हेर्दा केन्द्र सरकार एक्लै अघि बढ्न खोजेको जस्तो देखिएको उनको टिप्पणी छ।

राज्यको सामर्थ्य परिचालन गर्ने जनादेश पाएकाहरूले त्यसलाई नियन्त्रण गरेर जनतालाई ‘प्रचारका खुराक’ मात्र पस्किए अन्याय हुने उनले बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् –

प्लीज जनताको भावनामा खेलबाड नगर!
यस्ता विपत्तिमा उद्धार (रेस्क्यु), राहत (रिलिफ) र पुनर्स्थापना/पुनर्निर्माण (रिहाबिलिटेशन) सँगसँगै सञ्चालन गरिन्छ। केन्द्रदेखि स्थानीयसम्म सरकार र सरकारी निकायलाई समन्वयात्मक ढंगले परिचालन गरिन्छ।जनताका संगठनहरूलाई साथसाथै सहयोगमा मोबिलाइज गरिन्छ।
तर फिल्डमा हेर्दा यस्तो देखिन्छ– केन्द्रको सरकार एक्लै चल्न खोजिरहेको छ। राज्यको सामर्थ्य परिचालनको जनादेश पाएकाहरूले त्यही सामर्थ्यलाई नियन्त्रण गरी जनतालाई ‘प्रचारका खुराक’ मात्र पस्कँदा अनर्थ मात्र हुँदैन, अन्याय हुन्छ। कसैले भनेको सुनेको थिएँ– धेरैको विपत्ति केहीका लागि व्यापारको अवसर बन्छ। सुनिँदै छ, केन्द्रका केही मन्त्री विगतमा संलग्न रहेको वा हाल उनीहरूद्वारा प्रवर्द्धित एनजिओहरूले राहतको नाममा “फिल्ड-कब्जा”को धन्दा सुरु गरेका छन्।
विपत्तिमा राजनीति बन्द गर।
सहयोग गर्न चाहनेलाई सहजीकरण गर।
सके दुःखमा मल्हम लगाऊ–
नसके जनताको भावनामा प्लीज खेलबाड नगर।

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

नुवाकोट। भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ ।जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गए रातिसम्म बाढीका कारण अति प्रभावित भएका तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिनुभयो ।

तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा छसय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । “बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।” प्रजिअ रेग्मीले भन्नुभयो, “उनीहरुको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।”

भोटेकोशी बाढीमा फसेकालाई उद्धारअन्तर्गत जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएकाबाहेकको उद्धार अन्तिम चरणमा पुगेको छ । तर रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही फसेको हुनसक्छ भनेर नियमित रुपमा हेलिकप्टरमार्फत रेकी भइरहेको प्रजिअ रेग्मीको भनाई छ ।

यसैगरी, भोटेकोशी बाढीमा परेर हराएको जनाउँदैै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ । नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो आफन्त हराएको जनाउँदै खोजतलासको लागी एक हजार पाँचसय ५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । उहाँको अनुसार हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइड, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिन्छ । हराइरहेका तथा बाढीमा फसेकालाई खोज तथा उद्धारमा हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा संयुक्त सुरक्षा फौजको टोली सक्रिय रहेको छ ।

बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन भएको छ । नुवाकोटको विभिन्न ३० स्थानमा सयुक्त सुरक्षा टोली परिचालनमार्फत गरिएको खोज तथा उद्धारमार्फत ती शव सङ्कलन गरिएको हो । सङ्कलन भएको शवलाई पहिचानको लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ । शवलाई नुवाकोटबाट परीक्षणको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा पठाएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ ।

भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।

यस्तै हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।