`

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।

उहाँ अहिले ८० वर्ष पुग्नुभयो । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उहाँका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उहाँले आशा भने मार्नुभएको छैन ।

“ढोका ढकढक गर्दा पनि छोरो आयो कि जस्तो लाग्छ, मुसा कराउँदा पनि छोराकै याद आउँछ”, उहाँले भन्नुभयो, “मेरो कपाल फुलेर सेताम्मे भइसक्यो तर अहिलेसम्म केही पत्तो लागेको छैन ।”

बुढेसकालको सहारा होला भनेर छोरालाई इन्जिनियर पढाएको डाँगीले सुनाउनुभयो । तर, बुढेसकालमा झन् एक्लिएर बस्नुपर्दा उहाँलाई दुःख लागेको छ । “बुढेसकालमा छोराको कमाइ खाउँला, सुखले बसौँला भनेको थिएँ”, उहाँले भन्नुभयो, “तर अहिले उसकै सम्झनामा बस्नुबाहेक केही भएन ।”

छोरा हराएको २७ वर्ष बितिसक्दा पनि कुनै पत्तो नलागेको भन्दै उहाँले राज्यसँग पनि असन्तुष्टि पोख्नुभयो । “कुनै दिन छोरो घर फर्किएला भन्ने आशा अझै मरेको छैन”, उहाँले भन्नुभयो ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारीकी निर्मला चौधरीको पीडा पनि उस्तै छ । उहाँका एक्ला छोरा विनोद चौधरी २०६० कात्तिक २ गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ । “एक्लो छोरा हो, घर आउँलाआउँला भन्दाभन्दै २५ वर्ष भइसक्यो”, उहाँले भन्नुभयो, “अझै पनि आशा मरेको छैन ।” प्रतीक्षामा धेरै वर्ष बिते । निर्मला भन्नुहुन्छ, “आमा हुँ, कसरी भुल्न सक्छु र ?”

दाङ दङ्गीशरण गाउँपालिका–३ चितानपुर निवासी हरिराम चौधरी पनि २०५९ सालदेखि बेपत्ता हुनुहुन्छ । तुलसीपुरमा मल लिन भनी आएका चौधरी बेपत्ता भए पनि परिवारको आशा अझै मरेको छैन । “अझै पनि आउनुहुन्छ कि भन्ने लाग्छ”, उहाँका भाइ सीताराम चौधरीले भन्नुभयो ।

यी त केही उदाहरणमात्रै हुन् । अझै पनि धेरै आमाहरूले वर्षौँदेखि यही पीडा भोगिरहेका छन् । द्वन्द्वका समयमा बेपत्ता भएका नागरिकको परिवार झिनो आशामा पीडादायी दिनहरू बिताइरहेका छन् । लामो समयसम्म बेपत्ता भएका आफन्तका परिवारले न्याय पाउन नसकेको र झन् पीडामाथि पीडा थपिएको सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जाल लुम्बिनीका संयोजक सीता चौधरीले बताउनुभयो ।

“कि सास चाहियो, कि लास चाहियो भनेर आवाज उठाउँदै आए पनि त्यसले सार्थकता पाउन सकेको छैन”, उहाँले भन्नुभयो, “हामीले न्यायका लागि धेरै आवाज उठायौँ तर हाम्रा पीडा ज्यूँकात्यूँ छन्, हाम्रो सुनुवाइ कतैबाट भएको छैन ।”

सरकारले अझै पनि बेपत्ता व्यक्तिको अवस्था के छ भन्ने कुरा पत्ता लगाउन नसक्दा पीडितपरिवारमा झन् पीडा थपिएको उहाँको भनाइ छ । पटकपटक बेपत्ता नागरिक खोजीका लागि सामान्य कार्यक्रम भए पनि वास्तविक अवस्था भने पत्ता लाग्न नसकेको भन्दै उहाँले दुःखेसो पोख्नुभयो ।

सोह्रौँ अन्तरराष्ट्रिय बेपत्ता दिवसका अवसरमा शनिबार दाङको तुलसीपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले आ–आफ्ना दुःख र पीडा सुनाउनुभयो । हरेक वर्ष एक दिन बेपत्ता नागरिकको बारेमा छलफल हुने भए पनि हालसम्म अवस्था पत्ता नलाग्दा पीडा जहाँको तहीँ रहेको उहाँहरूको भनाइ छ ।राज्यले तत्काल बेपत्ता नागरिकका बारेमा सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उहाँहरूको भनाइ छ ।

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकामध्ये आजसम्म १५ वटा शव पहिचान गरी आफन्तले बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार शवको पहिचान, कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो । आफन्तले बुझेका शवमध्ये १४ पुरुष र एक महिला रहेका उनले जानकारी दिए ।

चितवनका ३६ वर्षीय सत्यसुन्दर प्रजापति, अर्घाखाँचीका ४५ वर्षीय नारायणबहादुर थापा, मकवानपुरका ३६ वर्षीय उद्धव खड्का, नवलपरासी पश्चिमका ३७ वर्षीय यादव भण्डारी, इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी र धादिङ घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय सञ्जोग घर्तीमगरको शव पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिएको सहायक प्रजिअ बरालले जानकारी दिए ।

यसैगरी नुवाकोटकी ५६ वर्षीया शारदा ढकाल, गोरखाका ५५ वर्षीय यमबहादुर थापा, पाल्पा घर भई रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षीय दीपेन्द्र विष्ट, नुवाकोटका पाँच वर्षीय प्रतिन्स तामाङ, रसुवाका प्रभास भनिने पुरुषोत्तम रैला, सप्तरीका २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोकका ४६ वर्षीय डिकबहादुर कायस्थ, गोरखाका ४० वर्षीय केदार पण्डित र काठमाडौँका ३४ वर्षीय राजु सुनारको शव आफन्तले बुझेका उनले जानकारी दिए ।

भोटेकोशी बाढीपछि धादिङ, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा फेला परेका १०२ शवलाई पहिचान तथा कानुनी प्रक्रियाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । मृतकको पहिचान खुलेसँगै पोस्टमार्टम सम्पन्न गरी सम्वन्धित परिवारजनलाई शव जिम्मा लगाइएको प्रशासनले जनाएको छ ।

बाढीमा बगेका व्यक्तिका शव पोखरामा ल्याइएपछि सम्पर्कविहीन भएका व्यक्तिका आफन्तहरू यहाँ आएर प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा ल्याइका शवमध्येमा हालसम्म ५७ वटाको पोष्टमार्टम सकिएको अस्पताल प्रशासनले जनाएको छ ।

कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ । केन्द्रमा एक जनप्रतिनिधि र दुई कर्मचारी रहनेछन् ।

विभिन्न कामका बारेमा जानकारी लिन वा दिन केन्द्रको फोन नं ०१– ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं ९८४१३४९७३५ र मेट्रो एफएमका स्टेसन म्यानेजर केशवप्रसाद नेपालको फोन नं ९८४१२५०७८० मा पनि सम्पर्क गर्न सकिनेछ ।

“बाढी सङ्कटग्रस्त क्षेत्रका आवश्यकता छिटो छिटो परिवर्तन भइरहेका छन् । आज अत्यावश्यक परेको वस्तु तथा सामग्री भोलि यथेष्ट हुन सक्छन्”, प्रभावित क्षेत्रबाट प्राप्त सूचना उद्धृत गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन् “आवश्यकता र उपलब्धताको सन्तुलन मिलाउन केन्द्रमा प्राप्त हुने तथ्य तथा विवरणले व्यवस्थापनको चित्र देखाउनेछ ।”

उनले एकीकृत विपद् प्रतिकार्यमा जोड दिँदै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह गरिन् । “जिन्सी सामान वा सेवा प्रदान गर्न चाहनेलाई स्थानी आवश्यकताका आधारमा प्रभावितसम्म पुग्नका लागि सहजीकरण गरिदिनेछौँ ।”

कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुलाई ल्याउन निःशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शववाहन परिचालन भइरहेको जानकारी दिए ।

वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरपालिकाले अघि सारेको विपद् सङ्कट व्यवस्थापन कार्यलाई सहयोग पुर्याउन चालु आर्थिक वर्षमा आफूले प्राप्त गर्ने रु दुई लाख ४८ हजार प्रदान गर्ने बताउनुभयो । विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले वडास्तरबाट विवरण सङ्कलन गरिने बताए ।

बाढीबाट उद्धार गरिएका दम्पतीलाई उपचारपछि मानव सेवा आश्रममा

यस्तै, महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट घाइते एक दम्पतीलाई उपचारपछि मानव सेवा आश्रम लगेको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्ने उनीहरूलाई आश्रममा लगिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिए ।

उनका अनुसार बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रितको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमलाई कामपाले सहयोग उपलब्ध गराएको छ । आश्रममा यस्ता व्यक्तिको मानवोचित व्यवस्थापन हुने गरेको छ ।

आइतबार आश्रममा लगिएका दम्पतीको स्थायी बसोबास बाँके कोहलपुर हो । उनीहरू बाढीबाट बच्नका लागि हामफालेर भाग्दा घाइते भएका थिए । बाढीमा परेपछि उद्धार गरेर श्रीमान्लाई भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते हुनुहुन्थ्यो । उपचारपछि उनीहरू आइतबार बिहान डिस्चार्ज भएका थिए ।

एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ ।

एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।

नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली राम्रो छन् । हामीले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन । नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेमा म आशावादी छु ।”

नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।

एसिसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने (कप्तान), रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन्

बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौँ। हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका केही स्थान बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

देशको पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा

काठमाडौँ। रसुवाको भोटेकोशीमा गत बुधबार बिहान गएको बाढी प्रभावित क्षेत्रमा सञ्चार पुनःस्थापना तीव्र गतिमा भइरहेको छ ।

आइतबारसम्म अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनःस्थापना भएको टेलिकम सेवा प्रदायकले जनाएका छन् । नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका १२० बिटिएस टावर थिए ।

जसमध्ये ३८ वटा प्रभावित भएकामा हालसम्म १०६ वटा सञ्चालनमा आएका छन् । एनसेलका ७८ वटा बिटिएस टावरमध्ये २७ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अब तीन वटा मात्रै सञ्चालनमा आउन बाँकी छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटेलाइट बाढी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ १२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११ रुपैयाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ०१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा

काभ्रेपलाञ्चोक। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभे्रपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली अद्यावधिक गरेको छ । कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपिल गरेको थियो ।

सो क्रममा हालसम्म सम्पर्कमा आएका आठबाहेक ४१ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्न कार्यालयले पहल गरिरहेको छ ।

यस्तै, सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी जिल्लास्थित प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

हालसम्म सम्पर्कविहीन अवस्थामा रहेकामा बनेपाका सात, तेमाल गाउँपालिकाका सात, धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार, पनौती, चौँरीदेउराली र बेथानचोकका तीन–तीन, मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना तथा ठेगाना नखुलेका काभ्रेपलाञ्चोककै एक जना रहेको कार्यालयले जनाएको छ ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी तत्काल नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

म्याग्दी। म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् ।

एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२/८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१/४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ५६१ उद्योग र ४८३ व्यवसाय नवीकरण भएका छन् । हालसम्म म्याग्दीमा तीन हजार ४९० उद्योग र तीन हजार ५५ व्यवसाय दर्ता भएका छन् । उद्योग, व्यवसाय दर्ता नवीकरणबापत गत आवमा रु १९ लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयका अधिकृत पवी थापाले बताउनुभयो ।

अघिल्लो वर्ष रु ३० लाख २५ हजार ७७४ राजस्व सङ्कलन भएको थियो । पछिल्ला केही वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायी वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका थिए । आव २०८०/८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएकामा ८४ खारेज भएका थिए । चौध उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका थिए ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसङ्ख्या, बसाइँसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको बताउनुभयो ।

फेन्सी, हार्डवेयर र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने तथा खारेज गर्न थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी: सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् ।

आईतबार साँझ ६ः०० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा ढोका खोलिएका थिए । लगातार पानीको बहाव बढेर बेलुका ८ः०० बजे प्रतिसेकेन्ड एक लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २२ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ ।

हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै जलसतह बढिरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

साथै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचनामार्फत आग्रह गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ। बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ ।

विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।

खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ

भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख ५५ हजार ५५५ सहयोग गर्ने भएको छ ।

प्रदेश कार्यसमितिले उक्त रकम नेपाली कांग्रेस विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश प्रवक्ता तिलकप्रसाद रुवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिले बाढीपछि सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सङ्घीय र प्रदेश सरकारसँग आग्रह गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा पार्टीका प्रदेशदेखि वडा र टोल तहसम्मका संरचना परिचालन गर्ने निर्णय गरिएको प्रवक्ता रुवालीले बताउनुभयो । प्रभावित क्षेत्रमा पार्टीका संरचना र सरकारी निकायबीच समन्वय गर्न उहाँको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ ।

सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग

महेन्द्रनगर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु छ लाख ३९ हजार जम्मा गरेको छ ।

बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्य अनरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम जम्मा गरिएको सुदूरपश्चिमेली समाज इजरायलका कोषाध्यक्ष ज्योति बुढाले जानकारी दिनुभयो ।

उहाँले इजरायलमा रहेका सुदूरपश्चिमेली नागरिकले व्यक्तिगत र संस्थागत रुपमा सहयोग सङ्कलन गरी प्रधानमन्त्री कोषमा पठाएको बताउनुभयो ।

“प्राकृतिक विपत्तीले दिएको यो पीडाको क्षणमा सहयोग पुगोस भनेर यहाँ रहेका सुदूरपश्चिमेली जुटेका हौँ”, कोषाध्यक्ष बुढाले भन्नुभयो, “मानवता नै सबैभन्दा ठूलो धर्म सम्झेर विपद्का बेला सबै मिलेर सहयोग गर्नुपर्छ ।”

भोटेकोशी विनाशकारी बाढीमा परी सुदूरपश्चिमका विभिन्न जिल्लाका १०० भन्दा बढी नागरिक अझै सम्र्पकविहीन छन् ।

कञ्चनपुर, कैलालीलगायत सुदूरपश्चिम प्रदेशबाट प्रदेश सरकार, स्थानीय तह, विभिन्न सङ्घ संस्था र नागरिकस्तरबाट राहत कोषमा सहयोग रकम जम्मा भइरहेको छ ।

भोटेकोशी बाढी : ९ हजार ४३५ जनाको उद्धार, मृतकको संख्या ७८१ पुग्यो

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत पछिल्लो अवस्थाबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका बाबजुद प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको बताएका हुन्।

उद्धार तथा राहतका लागि हालसम्म ३९४ वटा उडान भइसकेका छन्, जसमा आइतबार मात्रै थप ७२ उडान गरिएको उनले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।

विद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ। उक्त क्षेत्रमा चिनियाँ तथा कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा खोजी तथा उद्धार गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
विगत ५ दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ। प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भएपनि हामी दृढताका साथ नागरिकको जीवन रक्षाका लागि अघि बढिरहेका छौं।
आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन। आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ। हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौं। नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं।
यस विपद्को घडीमा प्रभावित क्षेत्रमा भइरहेका खोजी, उद्धार, राहत तथा व्यवस्थापन कार्यहरूको हालसम्मको संक्षिप्त विवरणः
१) खोजी तथा उद्धार
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित मानिसहरुको उद्धारलाई तीव्र पारेको थियो। प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म ९,४३५ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएका पुर्‍याएका छौं। राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २०,६१८ जना सुरक्षाकर्मी खटिनुभएको छ। उद्धारमा अन्य स्वयम्सेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहनुभएको छ।
प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र ३ किलोमिटरसम्म खोज गरिसकेको छ। तर, अहिलेसम्म मानिस फेला पार्न सकेको छैन।
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाको सुरुङमा उद्धारको प्रयास जारी राखिएको छ। उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ‘ब्लास्टिङ’ अघि बढाइएको छ। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी बल, नेपाल, र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली खटिएको छ। टोलीले आइतबार दिउँसो सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। त्यसैले ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।
नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धारको प्रयास जारी छ। आयोजनामा भैरवनाथगण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा उद्धारको प्रयास भइरहेको छ। यस क्षेत्रमा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनासँगको समन्वयमा भारतीय टोलीले रेकी गरी पम्प र एस्काभेटर लगेर उद्धारको प्रयास गरिरहेको छ। रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनामा नेपाली सेनाद्वारा खोज तथा उद्धार प्याट्रोल भइरहेको छ। भारतीय टोलीले नेपाली सेनासँग समन्वय गरी रेकी गरी पम्प र एस्काभेटर लगेर थप काम सुरु भएको छ।
रसुवाकै मैलुङ खोला जलविद्युत् आयोजनामा कोरियन विशेषज्ञको टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी भई काम समेत सुरु भइसकेको छ।
२) उपचार तथा मनोपरामर्श
बाढीका कारण त्यहाँ रहनुभएका धेरै मानिसहरू घाइते हुनुभएको थियो। उहाँहरूलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गर्यौं र त्यो क्रम जारी छ। प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसहरूलाई उद्धार गरी स्थानीयसँगै काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार गरिरहेका छौं।
केहीबेरअघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसक्नुभएको छ भने अन्य घाइते मानिसहरूको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ। प्रभावित क्षेत्रहरूमा उपचार, मनोपरामर्शका लागि काठमाडौंबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको छ। प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी छ।
३) आर्थिक सहयोग
नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ।
प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ। संकलित रकम कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्नेबारे हामीले छलफल गरिरहेका छौं।
४) राहत संकलन, वितरण तथा नागरिक व्यवस्थापन
नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ। छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ। नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्‍याइसकेको छ। काठमाडौंको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौं र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ। मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्‍याइएको छ।
रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएका छन्। यी केन्द्रबाट आइतबार मात्रै ३,४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
राहत वितरणलाई थप प्रभावकारी बनाउन त्यहाँ भण्डारण गरिएको राहत सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र बागमती प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा समेत प्रभावित क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको छ।
५) अन्तर्राष्ट्रिय सहयोग
हामीलाई यो विपद्मा आर्थिक सहयोग गर्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरू पनि बढ्दैछन्। एसियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ।
साथै, भारत सरकारबाट हालसम्म चार चरणमा कुल ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किसिमको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीब्रिज सहयोग अनुरोध गरिएको छ। भारतले आइतबार २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको छ। साथै, भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ। स्विट्जरल्यान्डबाट १ मिलियन स्विस फ्र्याङ्क (संयुक्त राष्ट्र संघबाट खर्च हुने गरी) प्राप्त भएको छ।
६) सञ्चार सम्पर्क
प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ। आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ। नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
७) वैकल्पिक सडक सञ्चालन
बाढीले मुख्य सडकहरूमा क्षति पुर्‍याएको थियो। हामीले वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास गरिरहेका छौं। तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ। साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ। तर, हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेका छन्।
८) शव व्यवस्थापन
बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुनबमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ। ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखी सरकारले आफैं व्यवस्थापन गरिरहेको छ।
हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौं। नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ। प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्‍याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दछ।
धन्यवाद।

यसरी भइरहेको छ जलविद्युत्‌काे सुरुङमा फसेकाहरूको उद्धार

काठमाडौँ। गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामा मानिससमेत फसेका सूचना आइरहेका छन् । प्रभावित क्षेत्रमा कति जलविद्युत् आयोजना थिए र त्यहाँ कति मानिसहरु फसिरहेका छन् त ? त्यस्तै सरकारले त्यहाँ फसिरहेका मानिसलाई उद्धारका लागि के के प्रयास गरिरहेको छ त ? र हालसम्मको प्रगति के छ ?

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार बाढीका कारण त्यस क्षेत्रमा ११ वटा आयोजना प्रभावित भएका छन् । नेपाली सेनाका अनुसार पछिल्लो चार दिनदेखि सुरुङमा फसेकाको उद्धारको प्रयास जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हेलिकप्टरमार्फत आज दिउँसोसम्म २७९ जनाको उद्धार भइसकेको छ।

रसुवाको माथिल्लो त्रिशूली–१ का प्रवर्द्धक रहेको नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट प्रालिका प्रमुख कार्यकारी गिरिराज अधिकारीका अनुसार सुरुङ आसपासबाट दुई दिन लगाएर २५० भन्दा बढीको उद्धार गरिएको थियो । साथै अहिले करिब ३०० जना जति टनेलभित्रै फसेको अनुमान रहेको उनको भनाइ छ ।

“करिब १० किलोमिटर लामो टनेलमा तीन वटा अडिट टनेल छन्, त्यहाँ काम गरिरहेका चिनियाँसहितको टोली फसिरहेको छ, हामी उद्धारको पर्खाइमा छौँ”, उनले भने। आयोजना क्षेत्रमा चिनियाँ टोलीलाई ड्रप गरिएको छ । उक्त क्षेत्रमा कोरियाको आठ जनाको टोलीले समेत एरियल रेकी गरिसकेको छ । साथै एउटा चिनियाँ टिमले टनेलभित्र तीन किलोमिटरसम्म सर्च गरिसकेको छ नेपाली सेनाले जनाएको छ।

नुवाकोटको माथिल्लो त्रिशूली ३ ‘ए’ आयोजनाबाट ४२ जना सम्पर्कविहीन छन् । नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक मदन तिम्सिनाका अनुसार आयोजनाको सुरुङमा अहिले उद्धारको काम सुरु भइसकेको छ ।

आयोजनाको सुरङभित्र फसेका मानिसको उद्धारका लागि नेपाली सेनाका इञ्जिनियरद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएको जनाएको छ । उहाँका अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिम प्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका छ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ ।

टोलीले आज दिउँसो २ः०० बजे सुरुङको मुख्य भाग (क्राउन हेड) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको नेपाली सेनाले जनाएको छ।

त्यसैगरी नुवाकोटको माथिल्लो त्रिशूली थ्री ‘बी’ मा फसेकाहरुको पनि उद्धार जारी छ। आयोजनामा भैरवनाथगढ र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीद्वारा खोज तथा उद्धार कार्य भइरहेको छ । आयोजनाको सुरुङभित्र फसेका मानिसको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ । थ्री ‘बी’ मा चिनियाँ विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी रसुवाका चिलिमे र लाङटाङ खोला जलविद्युत् आयोजनामा भारतीय टिमले रेकी गरी पम्प र एक्सासिभेटरको तयारी भइरहेको छ। चिलिमे आयोजनाको सुरुङमा फसेका छ जनाको उद्धारका लागि नेपाली सेनाको टोलीले काम गरिरहेको बताइएको छ। चिलिमेमा भारतीय विज्ञ टोलीले नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा प्याट्रोल भइरहेको छ ।

आयोजनाका प्रबन्धक तथा इप्पानका सचिव विजय एम भट्टराईका अनुसार आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन छन् । जसमध्ये आयोजनाका सुरक्षाकर्मी दुई र १३ कर्मचारी तथा बाँकी २६ कामदार सम्पर्कविहीन भएको अवस्था छ । “आयोजनाको सुरुङ लामो छैन, १५० मिटर मात्रै भित्र होला, सुरुङभित्र फसेकामध्ये दुई जना आफ बाहिर आइसक्नुभएको छ भने बाँकी त्यहीभित्र हुनुहुन्छ सूचना छ, उहाँहरु उद्धारको पर्खाइमा हुनुहुन्छ”, सचिव भट्टराईले भने ।

रसुवाकै मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि कोरियन विशेषज्ञको टोलीले हवाई रेकी गरेर काम सुरु भइसकेको जनाएको छ।

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

काठमाडाैँ। नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ ।

विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्तिहरू बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् । गत बुधबार बिहान हिलोसहित आएको वाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा वस्तीहरूमा व्यापक भौतिक क्षति पनि पुगेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको टक शो ‘दिस विक’ लाई बताएअनुसार नौ जना अमेरिकीलाई उद्धार गरिएको छ र कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी उनीसँग छैन।उनले भने, “प्रकृतिक विपत्तिले क्षति पुर्‍याएको स्थानको दुर्गम अवस्थाले भरपर्दो जानकारी प्राप्त गर्न कठिन छ, तर हाम्रो समर्पण र प्रतिबद्धता यथावत छ।”

संयुक्त राज्य अमेरिका र क्यानडा दुवैले राहत तथा उद्धारमा सघाउन ३६ लाख डलर सहायता दिने जनाएका छन् भने बेलायतले ६८ लाख डलर प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसङ्घले आपतकालीन कोषबाट २५ लाख डलर सहायता जारी गरेको छ ।

अमेरिकी सहयोगको केही भाग सडक मर्मत र दुर्गम क्षेत्रमा खाना तथा अन्य सहायता पुर्‍याउन ‘विशेष यातायात विकल्प परिचालन’ मा प्रयोग हुने पिगटले बताए।

यो विनाश हिमताल भासिएका कारण भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। चिनियाँ विज्ञहरूले नेपालको लिरुङ शिखरको दक्षिणी ढलानमा रहेको ‘हिमताल फुटेको’ बताएका छन्।

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा। गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई हस्तान्तरण गरिएको छ। त्रिशूली नदीको गोरखातर्फको किनारमा विभिन्न समयमा फेला परेका शव पहिचान भएपछि आफन्तले बुझेर लगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सन्दकपुर गाउँपालिका-३ तुलुबुङ्गा इलामका ३८ वर्षीय दीपक भनिने दिवानन्द सुवेदी, पालुङ्टार नगरपालिका-६ गोरखाका ५५ वर्षीय यमबहादुर थापा र तानसेन नगरपालिका-१० पाल्पाका ३४ वर्षीय दीपेन्द्र विष्टको शव पहिचानपछि आफन्तलाई बुझाइएको हो।

दिवानन्दको शव मृतकका दाजु सागर सुवेदीलाई, यमबहादुरको शव श्रीमती इन्दिरा चौलागाईंलाई र दीपेन्द्रको शव दाजु दीपक विष्टलाई हस्तान्तरण गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। त्रिशूली किनारमा भेटिएका ती शव गोरखामा शवगृहको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको थियो।

चितवनमा गाडिएका शव अन्तिम संस्कार होइन, पहिचान नहुन्जेलको अस्थायी व्यवस्थापन

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले भइरहेको प्रक्रिया ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको प्रष्ट पारेका छन्।

विपद्का कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित स्वास्थ्य सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मापदण्ड (आइसीआरसी) र सरकारी निर्देशिकाअनुसार शव व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले शव व्यवस्थापनामा भइरहेको कामका बारेमा प्रष्ट पार्दै भने, “यो दाहसंस्कार होइन, अन्तिम संस्कार होइन । शव पहिचान नहुन्जेलसम्मका लागि सम्मानजनक हिसाबले राखिएको अस्थायी संरक्षण प्रणाली हो । बाहिर राख्दा दुर्गन्धित भएर समाजमा सङ्क्रमक रोग फैलिन सक्नेतर्फ सचेत भएर हामीले कानुन बमोजिम र रेडक्रसको अन्तरराष्ट्रिय समितिको मार्गनिर्देशनलाई सम्मान गर्दै यो व्यवस्थापन गरेका हौँ ।”

चितवनका अस्पतालमा जम्मा ३० वटा शव राख्ने क्षमता भए पनि हालसम्म २७२ शव प्राप्त भइसकेकाले अन्य विकल्प नभएकाले शव गाड्ने निर्णयमा पुगेको प्रअिज अर्यालले बताए । उनका अनुसार प्राप्त २७२ शवमध्ये १० वटा आफन्तले जिम्मा लिइसकेका छन् भने अन्यको अस्थायी व्यवस्थापन गरिएको छ।

प्रत्येक शवको फोटो, ट्याग नम्बर र डिएनए नमूना सुरक्षित राखिएकाले पछि आफन्त आएमा शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए। उनले थपे, “यदि भोलि कुनै आफन्त आएर फोटो र ट्यागका आधारमा डिएनए परीक्षण गर्न चाहनुहुन्छ र परीक्षण सफल हुन्छ भने हामी माथिबाट कोड नम्बर खोजेर शव उत्खनन गरी उहाँहरूलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्नेछौँ ।”

प्रअिज अर्यालले अस्थायी होल्डिङ सेन्टर बनाउँदा र ‘एसी’ तथा ‘कम्प्रेसर’ जोड्दा लगातार आउने प्राविधिक समस्याका साथै अहिले शव सड्न थालेकाले शव गाड्ने विकल्प पुगेको स्पष्ट पारे। उनले यो प्रक्रिया छनोट नभएर अन्तिम विकल्पको रूपमा बाध्यता अवस्थामा अपनाइएको बताए।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा क्षमताभन्दा बढी शव आएकाले फोरेन्सिक जाँच र डिएनए नमूना सङ्कलनमा निकै चुनौती थपिएको बताए। अत्यधिक गर्मीका कारण शव छिटो कुहिन थालेपछि विशेषज्ञ चिकित्सकको टोली खटाएर तीव्र गतिमा अभिलेखीकरणको काम गरिएको उनले जानकारी दिए।

अस्पतालबाट महामारी फैलिने त्रासबारे प्रष्ट पार्दै डा. बगालेले भने, “शव परीक्षण गरिएका ठाउँबाट सिधैँ महामारी फैलिने जोखिम रहँदैन । सरसफाइ गर्दा निस्कने तरल पदार्थ पानीको मुहानमा नमिसियोस् भनेर छुट्टै खाल्डो खनेर सुरक्षित व्यवस्थापन गरेका छौँ र दिनमा २५-३० पटकभन्दा बढी विषाणुरहित बनाउने औषधि छर्किएका छौँ ।”

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् ।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये आज बिहानसम्म सो सङ्ख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् । हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका १९, बाराका २५, सर्लाहीका १९, महोत्तरीका १७, धनुषाका १३ तथा सिरहाका १० जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए।

सम्पर्कविहीनमध्ये आजसम्ममा पर्साको पोखरिया नगरपालिका ५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका २२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका–१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए।

यस्तै, रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए।

त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिका युवराज पाण्डे, ओेरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिबास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रवक्ता ढकालको भनाइ छ।

यस्तै, धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा, विक्रम ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उहाँले बताउनुभयो । मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन्।

स्काईवेल EV किन्न आज अन्तिम मौका, ५ लाखसम्म छुट

स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा जारी गरेको ‘नाडा अफर’ आज २०८३ भदौ १४ गते आइतबार सकिँदैछ । कम्पनीले स्काईवेलका बीई११ मोडलका ईभीमा नाडा अफर अन्तर्गत ५ लाखसम्म छुट दिएको छ । यो अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्नेले प्राप्त गर्नेछन् ।

नाडा अटो शो अवधिभरीका लागि कम्पनीले ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकेको छ ।

अटो शो सकिएपछि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ ।

जारी अटो शोमा स्काईवेलको मूल्यले धेरैको ध्यान खिचेको छ । लक्जरी ईभी एसयूभी निकै कम मूल्यमा सार्वजनिक भएको भन्दै यसको बुकिङ पनि उल्लेख्य मात्रामा आएको छ । कुल बुकिङ कति भयो भन्ने बारे कम्पनीले आइतबार साँझ सम्ममा जानकारी गराउनेछ ।

साथै, अब केही दिनमै कम्पनीले टेस्ट ड्राइभ सुरु गराउँदैछ । अटो शो सकिएपछि एलआरआर मोटर्सले गाडीको टेस्ट ड्राइभ सुरु गरिने जनाएको छ ।

गीतकार रीमा श्रेष्ठ को जेन–जी समर्पित देशभक्तिपूर्ण गीत ‘देशको शान’ सार्वजनिक

गीतकार रिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सिर्जनशील यात्रामा सक्रिय नाम हुन्। प्रवासको व्यस्त जीवनका बीच पनि उनले कला, साहित्य र संगीतप्रतिको आफ्नो प्रेमलाई कहिल्यै ओझेल पर्न दिएकी छैनन्। पेशाले आईटी इन्जिनियर रहेकी श्रेष्ठ आफ्ना सिर्जनामार्फत नेपाली भाषा, कला, संस्कृति र संगीतसँग निरन्तर जोडिँदै आएकी छन्।

उनले आफ्ना सिर्जनाहरू ‘रिमा श्रेष्ठ वर्ल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन्। प्रवासमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति तथा मौलिक भेषभूषाप्रतिको उनको माया र सम्मान उत्तिकै प्रगाढ देखिन्छ। नेपाली पहिचान र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उनको प्रयास गीत–संगीतमा मात्र सीमित छैन, सामाजिक तथा सांस्कृतिक गतिविधिमा समेत उनको सक्रियता देखिन्छ।

हालै गीतकार रिमा श्रेष्ठले जेन–जी आन्दोलनमा आफ्नो ज्यान गुमाएका सपुतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै देशभक्तिपूर्ण गीत ‘देशको शान’ सार्वजनिक गरेकी छन्। उक्त गीतमार्फत जेन–जी पुस्ताले देशमा आमूल परिवर्तनका लागि दिएको योगदान, त्याग र बलिदानलाई उनले भावनात्मक शब्दमार्फत प्रस्तुत गरेकी छन्।

‘देशको शान’ गीतमा सनिश श्रेष्ठले स्वर दिएका छन् भने दिनेश श्रेष्ठले संगीत संयोजन गरेका छन्। गीतको कम्पोजिसन कल्याण सिंहको रहेको छ। गीतको रेकर्डिङ डी स्टुडियोमा गरिएको हो। यसरी गीतकार रिमा श्रेष्ठको सिर्जनालाई सनिश श्रेष्ठ, दिनेश श्रेष्ठ र कल्याण सिंहले आ–आफ्नो भूमिकामार्फत सशक्त साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा रोहन श्रेष्ठको अभिनय रहेको छ। भिडियोको छायांकन युनिक कोइरालाले गरेका छन् भने सम्पादन विकास दाहालको रहेको छ। चर्चित म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियोको निर्देशन गरेका छन्। यस गीतका निर्माता कुशल गुरुङ हुन्।

देशप्रेम, परिवर्तनको चाहना, त्याग र बलिदानको भावलाई केन्द्रमा राखिएको ‘देशको शान’ ले गीत तथा म्युजिक भिडियोमार्फत नेपाली युवापुस्ताको भावना र देशप्रतिको जिम्मेवारीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ। विशेषगरी जेन–जी पुस्ताले उठाएको परिवर्तनको आवाज र त्यस क्रममा भएको त्याग तथा बलिदानलाई गीतले भावनात्मक रूपमा उजागर गरेको छ।

प्रवासमा रहेर पनि मातृभूमि, नेपाली समाज र समसामयिक विषयसँग भावनात्मक रूपमा जोडिँदै सिर्जना गर्नु रिमा श्रेष्ठको सांगीतिक यात्राको महत्वपूर्ण विशेषता हो। नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानप्रतिको उनको निरन्तर लगावले प्रवासबाट पनि नेपाली सिर्जनाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ।

‘देशको शान’ पनि उनको यही देशप्रेम, संवेदनशीलता र सिर्जनशीलताको एउटा सशक्त अभिव्यक्ति बनेको छ। गीतमार्फत उनले केवल मनोरञ्जन प्रस्तुत गर्ने प्रयास मात्र गरेकी छैनन्, देश, समाज र नयाँ पुस्ताप्रतिको आफ्नो जिम्मेवारी तथा भावनालाई समेत सिर्जनामार्फत अभिव्यक्त गरेकी छन्। प्रवासमा बसेर पनि मातृभूमिको पीडा, आशा, परिवर्तनको चाहना र नेपाली युवाको भावनालाई गीतमा समेट्नु रिमा श्रेष्ठको सिर्जनात्मक यात्राको विशेष पक्षका रूपमा देखिन्छ।

रसुवा बाढीपीडितका लागि चौधरी र नबिलको १५ करोड सहयोग, ५०० अस्थायी आवास निर्माण हुने 

काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि सुरक्षित आवास, पुनर्स्थापना र दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका कार्यक्रम अघि बढाइने जनाएका हुन्।

कार्यक्रमअन्तर्गत तत्काल खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइनेछ। राहत सामग्री वितरण भदौ ११ गतेदेखि सुरु भइसकेको फाउन्डेसन र बैंकले जनाएको छ।

राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन नुवाकोट र रसुवामा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ। स्थानीय प्रशासनसँगको समन्वयमा सञ्चालन हुने ती शिविरमा प्रभावित परिवारलाई दैनिक भोजनसहित आवश्यक आधारभूत सुविधा उपलब्ध गराइनेछ।

त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। स्वास्थ्य शिविरमार्फत प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामसम्बन्धी सेवा उपलब्ध गराउनुका साथै बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइका आवश्यक सुविधा उपलब्ध गराउने योजना छ।

५०० अस्थायी आवास निर्माण

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ।सरकार तथा स्थानीय सरकारसँगको सहकार्यमा निर्माण गरिने यी आवास स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बसोबास उपलब्ध गराउने उद्देश्यले तयार गरिनेछन्।

अस्थायी आवास निर्माणमा नेपालमा भूकम्पपीडितको राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रमाणित प्रविधि प्रयोग गरिने जनाइएको छ।अस्थायी आवाससँगै प्रभावित समुदायमा स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने फाउन्डेसन र बैंकको योजना छ।

संक्रामक रोग नियन्त्रण केन्द्र स्थापना

राहत तथा पुनर्निर्माणलाई तत्कालीन आवश्यकतामा मात्र सीमित नराखी दीर्घकालीन जनस्वास्थ्य तयारीलाई समेत कार्यक्रमको हिस्सा बनाइएको छ।यसअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गरिने भएको छ। केन्द्रले रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी लगायतका विपद्पछि फैलिन सक्ने संक्रामक रोगको प्रभावकारी व्यवस्थापनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारीहरू राहत वितरण तथा प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि स्थानीयस्तरमै परिचालित भइसकेका छन्।

सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता

फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग निकट समन्वयमा राहत तथा पुनर्स्थापनाको काम अघि बढाउने बताएका छन्।सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत र सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य रहेको उनीहरूको भनाइ छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले आपत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना सुनिश्चित गर्नु आवश्यक रहेको बताए।उनले भने, “हाम्रो तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु हो। तर हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन।”

उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको यात्रामा चौधरी फाउन्डेसन र नबिल बैंक प्रतिबद्ध रहेको उनले बताए।बाढी प्रभावितको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले देखाएको सक्रियता र समन्वयप्रति फाउन्डेसन र बैंकले आभारसमेत व्यक्त गरेका छन्।

चौधरी ग्रुपले प्रभावित नागरिकको जीवनरक्षा, राहत तथा पुनर्स्थापनाका लागि सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै घोषित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

भोटेकोशी पीडितको राहतका लागि विदेशबाटै अधिकारी दम्पत्तिले गरे सहयोग, भने जसरी सक्छौँ मानवताको सेवामा जुटौँ

काठमाडौं । ज्यो. पं. डा. रुद्रनाथ अधिकारी र उनकी पत्नी लक्ष्मी अधिकारी ढकालले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। अधिकारी दम्पत्तिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएका हुन्।

हाल विदेश भ्रमणमा रहेका अधिकारी दम्पत्तिले देशमा विपद् परेको अवस्थामा आफ्नो जिम्मेवारी सम्झेर सहयोग रकम कोषमा हस्तान्तरण गरेका हुन्।
रकम जम्मा गरेपछि सामाजिक सञ्जालमार्फत अधिकारीले यो आफ्नो सानो प्रयास भए पनि बाढीपीडितका लागि केही राहत र आशा बन्ने विश्वास व्यक्त गरेका छन्।

उनले आफूहरू विदेशमा रहे पनि देश र नागरिकको दुःखमा साथमै रहेको उल्लेख गर्दै लेखेका छन्, ‘हामी विदेशमा भए पनि देश र नागरिकका साथमै छौँ। चाँडै जन्मभूमि फर्कनेछौँ।’ नेपाल फर्किएपछि पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार मन, वचन र कर्मले सहयोग तथा सेवामा निरन्तर जोडिइरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

अधिकारीले विपद्को समयमा करुणा, मानवता, साथ, हौसला र एकताको आवश्यकता रहेको बताएका छन्। विश्वभर छरिएका नेपालीलाई नेपालका लागि एक भएर उभिन आग्रह गर्दै उनले आज अरूको पीडामा बढाइएको सहयोगी हात भोलि आफ्नै पीडामा सहारा बन्न सक्ने उल्लेख गरेका छन्।

उनले जहाँ भए पनि र जसरी सकिन्छ, मानवताको सेवामा जुट्न तथा नेपाल र नेपालीको दुःखमा सबै एक भएर उभिन आह्वान गरेका छन्।

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ ।

डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो ।

“डब्लुएचओ नेपालमा आपतकालीन अवस्थाको प्रतिकार्य तथा पुनःस्थापनाका प्रयासहरूमा निरन्तर सहयोग गर्न प्रतिबद्ध छ”, विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा निलेश बुद्धले भन्नुभयो ।

डब्लुएचओले भदौ १० गते बाढी आएको केही घण्टामै प्रभावित क्षेत्रका लागि अत्यावश्यक आपतकालीन स्वास्थ्य सामग्री पठाएको उहाँले जानकारी दिनुभयो ।

यसअन्तर्गत करिब १० हजार जनालाई तीन महिनासम्म आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने आपतकालीन स्वास्थ्य सामग्री तथा पाल उपलब्ध गराइएको विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयले जनाएको छ । यस्तै डब्लुएचओले सर्जिकल मास्क, पञ्जा, ह्यान्ड स्यानिटाइजरलगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको छ ।

डब्लुएचओले बाढीपछि विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग, र वाहकजन्य रोगको जोखिमलगायत स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै यसतर्फ समयमै सबै सचेत हुनुपर्नेमा जोड दिएको छ ।

बाढी प्रभावित क्षेत्रका लागि दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट

काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ ।

प्राधिकरणका अनुसार दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।

उपलब्ध गराइएका कूल फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ । स्याटेलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ ।

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ । यसको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

भोटेकोशी बाढीपछि मध्यविन्दुका १२ नागरिकको अवस्था अज्ञात, खोजी जारी

नवलपुर । भोटेकोशी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका दुई वडाका १२ जना नागरिक बेपत्ता भएका छन्।मध्यविन्दु नगरपालिका–१ र ५ घर भएका उनीहरू रसुवागढीको टिमुरेमा निर्माणाधीन तेन्जिन शेर्पा हाइड्रोपावर बिल्डिङ कन्स्ट्रक्सनमा कार्यरत थिए। उनीहरू भदौ १० गतेदेखि सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख भीमलाल अधिकारीका अनुसार मध्यविन्दु–१ का तीन जना र वडा नम्बर ५ का नौ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको भए पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन।

बेपत्ता हुनेमा मध्यविन्दु–१ का हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु तथा मध्यविन्दु–५ का जीवन विक, गङ्गाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, उमेश महतो, एकदेव महतो, विजय महतो, नुमनारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारु रहेका छन्।

नगरपालिकाले अन्य नागरिकसमेत बेपत्ता भएको हुन सक्ने भन्दै नगरवासीलाई आफन्तबारे जानकारी गराउन आग्रह गरेको छ। नगरपालिकाले बेपत्ता नागरिकको तस्बिरसहितको विवरण सार्वजनिक गर्दै उनीहरू कसैको सम्पर्कमा आएको वा फेला परेको जानकारी भए सचिवालयको ९८४७०७५९३२ र ९८५७०४५१९० मा सम्पर्क गर्न आग्रह गरेको छ।

यस क्षेत्रका सङ्घीय सांसद मनिष खनालले भोटेकोशी बाढीका कारण मध्यविन्दु–५ को बाघखोर र मध्यविन्दु–१ बाट कामका लागि रसुवा पुगेका १२ जना नागरिक घट्टेखोला क्षेत्रबाट बेपत्ता भएको बताएका छन्।

खनालले मध्यविन्दुका नगरप्रमुख, उपप्रमुख, पूर्वप्रमुख, स्थानीय जनप्रतिनिधि तथा बेपत्ता नागरिकका परिवारसँग भेटेर उनीहरू पछिल्लो पटक सम्पर्कमा आएको अवस्थाबारे जानकारी लिएको बताए।उनका अनुसार टिमुरेमाथि घट्टेखोला क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ।

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नेपाली नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन्।बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आइतबार विदुर नगरपालिका–१, ढुङ्गे पुगेका मन्त्री खनालले प्रारम्भिक जानकारीअनुसार केरुङमा करिब एक हजार नेपाली रहेको बताएका हुन्।

“प्रारम्भिक जानकारीअनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ,” उनले भने।
सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालनमा ल्याउन तथा मुस्ताङको कोरला नाका प्रयोग गर्न चिनियाँ पक्षसँग अनुरोध गरिसकेको मन्त्री खनालले जानकारी दिए।

उनका अनुसार बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारका लागि विदेशी विशेषज्ञको सहयोग आवश्यक देखिएपछि चीन र भारतबाट विशेषज्ञ बोलाइएको छ।“आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ,” उनले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेको छ। आवश्यकताअनुसार सहयोग लिन्छौँ।”

भोटेकोशी बाढी : नुवाकाेट र रसुवा क्षेत्रका एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आज उक्त तथ्याङ्क सार्वजनिक गर्दै नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको जानकारी दिए ।

उद्धार गरिएकामध्ये दुई हजार २२५ जना नेपालीसहित र २३१ बाँकी विदेशी रहेका छन् । त्यसैगरी ६४ जनाको शव सङ्कलन गरिएको उनले बताए । “उद्धार गरिएकामा ५८ जना घाइते छन्”, उनले भने, “घाइतेको अवस्था हेरेर उपचारका लागि सोहीअनुसारका स्वास्थ्य संस्थामा पठाइएको छ ।” सम्पर्कविहीन हुनेमा एक हजार १०९ नेपाली छन् भने १५७ जना विदेशी छन् । त्यसैगरी पहिचान नखुलेका ५५ जना रहेका उनले जानकारी दिए ।

खोज तथा उद्धारमा माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरक्षाकर्मी र विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खटिरहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी थ्री ‘बी’ मा रेकी भई खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थ्री ‘ए’ को सुरुङभित्र फसेको भनिएकाको उद्धारका लागि सुरुङ भएको स्थान पहिचानको प्रयास भइरहेको छ”, उनले भने, “आवश्यक यन्त्र तथा प्रविधि प्रयोग गरी उद्धार गर्ने प्रयास भइरहेको छ ।”

प्रजिअ रेग्मीले उद्धारको काम निरन्तर भइरहेको बताउँदै अहिले शव व्यवस्थापनलाई पनि प्राथमिकता दिन थालिएको बताए । शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसहित हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । त्यसका लागि त्रिशूली नदी वारी र पारी गरेर ३० स्थानलाई मुख्य आधार क्षेत्र तय गरिएको छ ।

बाढीका कारण अवरुद्ध बनेका यस क्षेत्रका सडक सञ्चालनका लागि धमाधम काम भइरहेको प्रजिअ रेग्मीले बताए । उनका अनुसार गल्छी–देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ ।

त्यसैगरी, ढुङ्गे बजारक्षेत्रको अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्नका लागि तत्काललाई तुइन जडान प्रारम्भ गरिएको छ । “तुइन जडानका लागि लठ्ठा आइसकेको छ”, प्रजिअ रेग्मीले भने, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नेगरी प्रयास गरिएको छ ।”

बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका प्रजिअ रेग्मीले जानकारी दिए । उनका अनुसार प्राप्त राहत सामग्री गोदाम हलमा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।

बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको सङ्ख्यासमेत वृद्धि भएको छ । शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालन गरिएकामा हाल यो सङ्ख्या १७ बनाइएको उनले बताए । होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन् ।

भोटेकोशी बाढीपीडित घर फर्किँदै गरेको बस डण्डामा दुर्घटनाग्रस्त, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ । बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन् । पाँच जनाको उपचार भइरहेको छ । बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको उनले बताए ।

यस्तै, सुर्खेतकी रीता गन्धर्वको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको छ । रसुवाबाट उद्धार गरी काठमाडौँ ल्याइएका बाढी प्रभावितलाई बोकेर बर्दियातर्फ आउँदै गरेको लु प्र ०१÷००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो ।

विज्ञ टोलीको अध्ययनपछि मात्र कृष्णभीरको सडक मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक तत्काल मर्मत नहुने भएको छ। सडक विभागले विज्ञ टोली पठाएर अध्ययन गराएपछि मात्रै सडक कसरी मर्मत गर्ने भन्ने टुंगो लगाउने भएको हो।

आइतबार बिहान सडक चिरिएर भासिएपछि सडक विभागले अध्ययनका लागि काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ पठाएको छ। टोलीले सडक भासिनुको कारण र क्षतिको अवस्थाबारे अध्ययन गरेपछि साँझसम्म मर्मतको विधिबारे निर्णय हुने सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सडक सामान्य रूपमा मर्मत गर्न सकिने अवस्थामा छैन। विसं २०५६ मा पहिरो गएको स्थानमा त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर चर्किएको हो।

उनका अनुसार त्रिशूली नदीमा शनिबारको तुलनामा पानीको सतह करिब तीन मिटर बढेको छ। पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर सडक उकास्ने वा अन्य विधिबाट मर्मत गर्ने भन्ने टुंगो लाग्नेछ।

कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भाग भासिएको छ। करिब ६० मिटर अग्लो सडकको संरचनामा क्षति पुगेको पाण्डेले बताए। सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको उनको भनाइ छ।

‘अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था छैन। कति भाग तलबाट खोलिएको छ भन्ने पनि यकिन गर्न सकिएको छैन,’ पाण्डेले भने।

उनका अनुसार सो स्थानमा भित्तो काटेर सडक चौडा गर्न पनि कठिन छ। यसअघि विसं २०५६ मा पहिरो गएपछि तलबाटै सडक उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो।

गत वर्ष पनि सोही स्थानमा सडक केही भासिएपछि मर्मतको काम भइरहेको थियो। मर्मतकै क्रममा पुनः सडक भासिएर चिरिएको हो।

सडक विभागका महानिर्देशक जैसीका अनुसार तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन। अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले यात्रुलाई सोही सडक प्रयोग गर्न उनले आग्रह गरेका छन्।

बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि जलवायु वित्त माग

काठमाडौँ, भदौ १४-जलवायु विज्ञ, अनुसन्धानकर्ता तथा प्रभावित समुदायले भोटेकोशी बाढी प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि तत्काल पर्याप्त अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तरराष्ट्रिय समुदायसँग माग गरेका छन् । नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान गरे पनि यसको असरको अग्रपङ्क्तिमा रहेको उल्लेख गर्दै विपद्पछिको पुनर्निर्माणका लागि नयाँ ऋण थप्नु अन्यायपूर्ण हुने उनीहरूको भनाइ छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा महेश्वर ढकालले नेपालको विद्यमान पूर्वसूचना प्रणाली मात्र पर्याप्त नहुने र जलवायुजन्य क्षति तथा नोक्सानीका आधारमा अन्तरराष्ट्रिय क्षतिपूर्ति दाबी गर्न विश्वसनीय, प्रमाणमा आधारित र निर्णय गर्न सकिने स्तरको तथ्याङ्क तथा प्रमाण आवश्यक हुने बताउनुभयो ।

“तापक्रम बढ्दा हिउँ पग्लिएर ताल बन्यो र भोटेकोशी बाढी आएको हो । भोटेकोशी बाढी जलवायुजन्य क्षति तथा नोक्सानीका आधारमा अन्तरराष्ट्रिय क्षतिपूर्ति दाबी गर्ने बलियो आधार बनेको छ”, उहाँले भन्नुभयो, “नेपालले त्यस्तो प्रमाण प्रणाली विकास गरिरहेको भए पनि अझै पर्याप्त तथ्याङ्कीय आधार निर्माण हुन बाँकी रहेको छ ।”

विशेषगरी क्षति तथा हानि सम्बोधन कोषबाट सहयोग प्राप्त गर्न नेपालले विपद्को प्रभाव, आर्थिक तथा गैर–आर्थिक क्षति, जलवायु परिवर्तनसँगको सम्बन्ध र आवश्यकताको स्पष्ट प्रमाण प्रस्तुत गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि पूर्वसूचना प्रणालीसँगै हानि तथा नोक्सानीको व्यवस्थित अभिलेखीकरण र वैज्ञानिक मूल्याङ्कन आवश्यक हुने डा ढकालको भनाइ छ ।

नेपालले विभिन्न अन्तरराष्ट्रिय फोरममा जलवायु वित्त, अनुकूलन, जलवायुजन्य हानि तथा नोक्सानी, प्रविधि हस्तान्तरण र क्षमता विकासलगायत विषयमा आवाज उठाउँदै आएको डा ढकालको भनाइ छ । उहाँले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए भोटेकोशी बाढीजस्ता उच्च जोखिम रहेकाले जलवायु न्यायको विषयलाई अन्तरराष्ट्रिय कूटनीतिमा प्रभावकारी रूपमा उठाइने बताउनुभयो ।

“हिमाल, हिमनदी, हिमाली पारिस्थितिक प्रणाली तथा जलसुरक्षासँग जोडिएका नेपालको विशिष्ट अवस्थालाई अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै जलवायु कूटनीतिलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँ”, ढकालले भन्नुभयो, “नेपालले जलवायु न्यायको स्पष्ट धारणा, हिमाली मुलुकका रूपमा रहेको विशिष्ट पहिचान, अन्तरराष्ट्रिय विश्वसनीयता तथा विभिन्न मुलुक र क्षेत्रीय समूहसँग सहकार्य गर्ने क्षमता रहेकाले हिमाली मुद्दामा हामी ‘लिड’ गर्न सक्छौँ ।”

अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०का अनुसार हालका घटनामा बाढीले गिटी, बालुवा, माटो र ठूला ढुङ्गा बोकेको देखिन्छ र जसले पानी मात्र भएको बाढीको तुलनामा धेरै क्षति पुर्‍याउँछ । तापमान वृद्धिका कारण हिमनदीजन्य घटनामा वृद्धि भएको इसिमोडले जनाएको छ ।

इसिमोडका अनुसार छोटो अवधिमा उच्च तापमान वृद्धिका कारण बरफ खसाल्ने, हिमतालको प्राकृतिक बाँध भत्कने, उच्च हिमाली क्षेत्रमा चट्टान खस्ने, जमिन भासिने घटना निम्त्याउँछ । जलवायु क्षेत्रमा काम गर्ने विज्ञहरूले आज यस सम्बन्धमा संयुक्त रूपमा वक्तव्यसमेत जारी गरेको छन् । जलवायुजन्य हानी तथा नोक्सानी कोष, हरित जलवायु कोष र अनुकूलन कोषमार्फत ऋणरहित अनुदान तत्काल उपलब्ध गराउन उहाँहरूको माग छ ।

तोकिएका राष्ट्रिय निकायमार्फत त्यस्तो वित्त आपतकालीन उद्धार, राहत, सुरक्षित पुनर्वास तथा जलवायु–सहनशील पुनर्निर्माणमा प्रत्यक्ष परिचालन गर्नुपर्नेमा जोड दिइएको छ । भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ठूलो रकम आवश्यकपर्ने प्रारम्भिक अनुमान गरिरहेका बेला जलवायु विज्ञहरूको यस्तो माग गर्नुभएको हो ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले पुनर्निर्माणका लागि चारदेखि पाँच अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्नसक्ने प्रारम्भिक अनुमान सार्वजनिक गर्नुभएको छ । जलवायु अभियन्ता राज थापाले नेपालजस्तो जलवायु जोखिमयुक्त मुलुकलाई विपद्पछि थप ऋणको भार बोकाउनु ‘दोहोरो अन्याय’ हुने बताउनुभयो । विपद्बाट जीवन र जीविका गुमाएका समुदायले पुनःऋण तिर्नुपर्ने अवस्था सिर्जना गर्न नहुने उहाँको भनाइ छ ।

“हिमालय क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिनेक्रम तीव्र हुँदै गएको, जसका कारण हिमताल विस्फोटजन्य बाढी ९जिएलओएफ०, पहिरो तथा आकस्मिक बाढीको जोखिम बढिरहेकोे छ”, थापाले भन्नुभयो, “जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई ध्यानमा राखेर हिमालय–विशिष्ट पूर्वसूचना प्रणाली तथा हिमनदी अनुगमन प्रणालीमा तत्काल लगानी गर्न पनि माग गरिएको छ । हालको मनसुनकेन्द्रित पूर्वसूचना संरचना उच्च हिमाली क्षेत्रमा हुने यस्ता विपद्का लागि पर्याप्त छैन ।”

संयुक्त वक्तव्यमा क्षति तथा हानि कोषलाई पूर्ण रूपमा र शीघ्र सञ्चालन गरी नेपालजस्ता जोखिमयुक्त मुलुकले प्रतिबद्धता र वास्तविक वित्तीय सहयोगबीच वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उल्लेख छ । जलवायु अभियन्ता गीता पाण्डेले हिमाली नदी बेसिनका लागि सीमापार पूर्वसूचना प्रणाली र जलवैज्ञानिक तथ्याङ्क आदानप्रदानलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । “एउटै नदी प्रणालीमा निर्भर मुलुकबीच समयमै सूचना आदानप्रदान हुन नसक्दा विपद्को जोखिम अझ बढ्नसक्ने भन्दै यसका लागि क्षेत्रीय संयन्त्र निर्माण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धानअन्तर्गत बाढी पूर्वानुमान माहाशाखाका बाढीविद् विनोद पराजुलीले हिमाली क्षेत्रमा हिमताल विष्फोटको जोखिम रहेको भन्दै पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भोटेकोशी बाढीको जस्तै अन्य हिमाली क्षेत्रमा पनि जलवायुजन्य असरका कारण ठूलो क्षति हुन सक्छ ।” तसर्थ पूर्वसूचना प्रणालीको विकास र विस्तार तथा जोखिम न्यूनीकरणलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ ।

वैज्ञानिकहरूले पनि रसुवा भोटेकोशीको बाढीपश्चात् हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निर्धारण गर्न भने सकेका छैनन् ।

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौँ, भदौ १४-युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनुभएको प्राधिकरणले जनाएको छ ।

युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र हाइजिन (सरसफाइ र स्वच्छता कायम राख्न प्रयोग गरिने) सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका ‘पोर्टेबल’ बत्ती, ‘पोर्टेबल’ जेनेरेटर, ‘सोलार प्यानल’, स्याटेलाइट फोन, वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताउनुभयो ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि यूएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गर्नुभयो ।

भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यी दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

बाढी प्रभावितको राहतका विषयमा मन्त्री वादीद्वारा रेडक्रसका पदाधिकारीसँग छलफल

काठमाडौँ, भदौ १४-महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयका पदाधिकारीसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रको राहतका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले रसुवा बाढीपश्चात् तत्काल आफ्ना कर्मचारी तथा स्वयंसेवक परिचालन गरी रेडक्रसले घटनास्थलमा गरेको प्रतिकार्यप्रति आज धन्यवाद व्यक्त गर्दै बाढी प्रभावित क्षेत्रका व्यक्तिका लागि थप सहयोग उपलब्ध गर्न रेडक्रससँगै सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले महिला तथा बालबालिका, ज्येष्ठ नागरिक र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेकाले यी क्षेत्रसहित मनोसामाजिक परामर्श, पारिवारिक पुनःस्थापनाजस्ता सेवालाई थप प्राथमिकता दिन रेडक्रससँग आग्रह गर्नुभयो ।

रेडक्रसका अध्यक्ष डा विशालकमार भण्डारीले रसुवामा आएको विनाशकारी बाढीपश्चात् प्रभावित क्षेत्रमा स्थलगत भ्रमणका क्रममा आफूले देखेको र अनुभव गरेका आधारमा रेडक्रसले तत्काल प्रतिकार्य सुरु गरेको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सरकारले छुट्याएअनुसार समूह ९क्लस्टर० विभाजन गरी महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सेवा पु¥याइरहेको जानकारी गराउनुभयो ।

रेडक्रसका महामन्त्री ऋषिरमण खनालले रेडक्रसले सरकारको सहयोगी संस्थाका रूपमा मानवीय सेवा पु¥याउँदै आएको उल्लेख गर्दै यो बाढी प्रतिकार्यमा पनि सरकार, आइएफआरसी, आइसीआरसी, साझेदार राष्ट्रिय सोसाइटी र अन्य सरोकार भएका निकायसँग निरन्तर सहकार्य गरिरहेको बताउनुभयो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा राहत तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको उत्कृष्ट कार्यको प्रशंसा गर्र्र्र्दै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा पु¥याइरहेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले चाइना रेडक्रस सोसाइटी आवश्यक सहयोगका लागि तयार रहेको जनाउँदै अन्य अन्तरराष्ट्रिय सहयोग पनि प्राप्त भइरहेको उल्लेख गर्नुभयो । विपद्को यो समयमा आइएफआरसीले नेपाल रेडक्रससँगै सहकार्य गरिरहेको र बाढी प्रतिकार्यका लागि थप सहयोग रकम जुटाउन विश्व समुदायसँग अपिल गरिरहेको उहाँले बताउनुभयो ।

नेपाल रेडक्रसले बाढी प्रभावित क्षेत्रमा हालसम्म त्रिपाल दुई हजार थान, कम्बल एक हजार थान, म्याट्रेस एक हजार शान, डोरी ६०० थान, मर्यादित स्वच्छता सामग्री पाँच हजार किट, शव व्यवस्थापन ब्याग एक हजार ७९० थान, प्राथमिक उपचार बाकस ५५, स्ट्रेचर ५० वटा, टेन्ट १५ वटा, आपतकालीन शौचालय ५० थानलगायत सामग्री उपलध गराइएको जनाएको छ ।

साथै पाँच हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अस्थायी बासस्थान, खाना वितरणलगायत कार्य गरिरहेको रेडक्रसले जनाएको छ ।

भोटेकोशी बाढीः ७८८ वटा शव फेला, उद्धारका लागि सात हजार ८९४ जना प्रहरी परिचालन

काठमाडौं, भदौ १४ –रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार ८९४ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।

बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७८८ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २६४, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १९४ र नवलपरासी पश्चिममा १२० वटा रहेका छन् ।

त्यस्तै, बाढीमा परेका २ हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ । जिल्लागत विवरणअनुसार रसुवामा ७१९, नुवाकोटमा २ हजार २०, धादिङमा तीन जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ ।

बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ ।

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर, भदौ १४ –नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभयो ।

सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गर्नुभयो । उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै तिनको पनि खोजविन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

भोटेकोशी बाढीको प्रभाव चितवन आइपुग्दा घट्यो

भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो

बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ । आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उनको अनुमान छ । नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए।

यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई उनले आग्रह गरे ।

यसैबीच पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए । सडक भासिएपछि चितवन तर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको उनले जानकारी दिए।

यसअघि भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ः०० बजेपछि रोकिएको सडक ७ः०० बजेदेखि खुलेकामा अहिले पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रेपलाञ्चोक। करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुुरु गर्यो ।

नगरको कृषि शाखाले २०८० चैत १५ गतेदेखि सुरु गरेको उक्त हाटबजारमा तरकारी, दूधजन्य उत्पादन, फलफूल, लप्सीका क्यान्डी तथा कपडालगायत खरिदबिक्री हुँदै आएको छ ।

बनेपास्थित लायकु राजमञ्च प्राङ्गणमा सञ्चालित हाटबजारमा किसानले आफ्ना उत्पादन सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिइरहेका छन् । हाटबजारमा बनेपा र आसपासका किसान आफैँले तरकारी बेचिरहेका छन् । “किसानका उत्पादन आफैँ बेचेर सिधैँ आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले हाटबजारलाई निरन्तरता दिइएको छ”, नगर उपप्रमुख विमला दाहालले भन्नुभयो ।

दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि मनग्य आम्दानी गर्न सकिने किसानको अनुभव छ । उत्पादन राम्रो हुने गरेको तरकारी ठेकेदारको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने किसानहरू बताउँछन् । “बजारमा लैजाँदा ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ”, बनेपाका रमेश शर्माले भन्नुभयो । उहाँका अनुसार यसरी सधैँजसो आफैँले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिन्छ ।

नगरले हाल हरेक शुक्रबार सो ठाउँमा सञ्चालन गर्नेगरी ‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ नाराका साथ हाटबजार सञ्चालनमा ल्याएको हो । सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउनेगरी सञ्चालनमा ल्याइएको हाटबजारबाट उपभोक्ता र किसान दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै दुई वर्षअघि काभे्रपलाञ्चोक र भक्तपुरको सीमास्थल मानिएको पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अग्र्यानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइयो । प्रत्येक शुक्रबार र शनिबार लाग्ने हाटबजारमा विशेषगरी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित अग्र्यानिकउन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा ल्याइएको हो ।

प्राङ्गारिक रूपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तीकरण कार्यक्रमले राख्ने गरेको छ । हाटबजारमा तरकारीतर्फ फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तनेबोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तीतेकरेला, खुर्सानी, रैथान कुखुरा, धनियाँ, रैथाने बोडी, निउरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा, काँक्रो राखिने गरिन्छ । यस्तै किसानले घरमै उत्पादित घ्यू, मह र विभिन्न जातका नास्पाती, कागतीलगायत फलफूल तथा यिनका बिरुवासमेत बिक्रीका लागि राख्ने गरेका छन् ।

बीसवटा प्राङ्गारिक कृषक समूहमा ५०६ किसान आबद्ध रहेको कार्यक्रमका संयोजक बद्रीप्रसाद माकाजुले बताउनुभयो । सशक्तीकरण कार्यक्रमको व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो । नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने गर्दछ । त्यही आवागमनलाई लक्षित गरेर हाटबजारको सुरुआत गरिएको हो ।

समूहमा आबद्ध किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी हाटबजारमा बिक्रीका लागि राखिने परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अग्र्यानिक तरकारीको हाटबजार सञ्चालनमा आएपछि स्थानीय होटल तथा पर्यटन व्यवसायी खुसी देखिएका छन् ।

“स्थानीय अग्र्यानिक तरकारी होटल व्यवसायी तथा पर्यटकलाई खुवाउन पाउँदा खुसी भएका छौँ”, नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदीप अधिकारीले भन्नुभयो । उहाँले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीयस्तरकै तरकारी उपलब्ध गराउन हाटबजारले मद्दत पुग्ने बताउनुभयो । हाटबजार नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नपा–६ स्थित महामञ्जुश्री चोकमा सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी, पाँचखाल नगरपालिकाले पनि गत जेठ पहिलो सातादेखि साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन सञ्चालनमा ल्याइएको हाटबजारमा विशेषगरी अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ । पाँचखाल नगरको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो । उक्त कृषि हाटबजारमा किसानले आफ्ना उत्पादन सोझै उपभोक्तालाई बेच्न पाएका छन् ।

धुलिखेल नगरपालिका–१२ इँट्टेमा पनि शनिबारदेखि पाक्षिक कृषि हाटबजार थालिएको छ । स्थानीय गौरीशङ¬्कर साना किसान कृषि सहकारीद्वारा आयोजित हाटबजारमा विशेषगरी तरकारीलगायत स्थानीय कृषि उत्पादन बिक्रीका लागि राखिने आयोजकले जनाएका छन् ।

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ ।

सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।

निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि त्यसको अगाडि र पछाडि ब्यानर राखिएको छ । दुवै सवारीसाधनमा नगर प्रहरी राखिएको छ । उक्त सवारीसाधनमा परिचालन गरिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मानन्धर, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापालगायत सभागृहमा सहभागी हुनुभएको थियो ।

कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा कार्यथलो भएर विपद्पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जाने व्यक्तिलाई लक्षित गरी यो सेवा थालिएको हो । यी सवारीसाधनले दिनमा दुईपटक यात्रु ओसार्नेछन् ।

चार शववाहन परिचालन

यसैबीच, काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीग्रस्त क्षेत्रमा चारवटा शववाहन परिचालन गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलका अनुसार विपद् व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले पनि सक्दो सहयोग गर्न शनिबार चारवटा शववहानको व्यवस्था गरेको हो ।

काठमाडौँ महानगरपालिकाले शनिबार नुवाकोट पठाएका चारवटा शववाहनमध्ये एउटाले पाँचवटा शव ल्याएको छ । त्रिशूली सैनिक तालिम केन्द्रबाट चार पुरुष र एक महिलाको शव लिएर फर्किएको हो ।

यसरी ल्याइएका शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछन् । सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहन परिचालन गरेको हो ।

काठमाडौं उपत्यकामा २४ घण्टामा ६३४ चालक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालकलाई कारबाही गरेको छ।

आइतबार बिहानसम्म विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४८ जना, सिसिटिभीमार्फत ६८ जना र रातोबत्ती उल्लंघन गर्ने २९ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ८२, हर्न निषेध उल्लंघन गर्ने २८, लेन क्रस गर्ने ६, अवस्था ठिक नभएको सवारी चलाउने २० र एकतर्फी सडक उल्लंघन गर्ने १२ जना चालकलाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार अन्य कसुरमा ३४१ जना चालक कारबाहीमा परेका छन्।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ०० पैसा बिक्रीदर ४०५ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।