भोटेकोशी पीडितको राहतका लागि विदेशबाटै अधिकारी दम्पत्तिले गरे सहयोग, भने जसरी सक्छौँ मानवताको सेवामा जुटौँ
काठमाडौं । ज्यो. पं. डा. रुद्रनाथ अधिकारी र उनकी पत्नी लक्ष्मी अधिकारी ढकालले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्। अधिकारी दम्पत्तिले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएका हुन्।
हाल विदेश भ्रमणमा रहेका अधिकारी दम्पत्तिले देशमा विपद् परेको अवस्थामा आफ्नो जिम्मेवारी सम्झेर सहयोग रकम कोषमा हस्तान्तरण गरेका हुन्।
रकम जम्मा गरेपछि सामाजिक सञ्जालमार्फत अधिकारीले यो आफ्नो सानो प्रयास भए पनि बाढीपीडितका लागि केही राहत र आशा बन्ने विश्वास व्यक्त गरेका छन्।
उनले आफूहरू विदेशमा रहे पनि देश र नागरिकको दुःखमा साथमै रहेको उल्लेख गर्दै लेखेका छन्, ‘हामी विदेशमा भए पनि देश र नागरिकका साथमै छौँ। चाँडै जन्मभूमि फर्कनेछौँ।’ नेपाल फर्किएपछि पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार मन, वचन र कर्मले सहयोग तथा सेवामा निरन्तर जोडिइरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
अधिकारीले विपद्को समयमा करुणा, मानवता, साथ, हौसला र एकताको आवश्यकता रहेको बताएका छन्। विश्वभर छरिएका नेपालीलाई नेपालका लागि एक भएर उभिन आग्रह गर्दै उनले आज अरूको पीडामा बढाइएको सहयोगी हात भोलि आफ्नै पीडामा सहारा बन्न सक्ने उल्लेख गरेका छन्।
उनले जहाँ भए पनि र जसरी सकिन्छ, मानवताको सेवामा जुट्न तथा नेपाल र नेपालीको दुःखमा सबै एक भएर उभिन आह्वान गरेका छन्।
