`

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभावलगायत समस्या नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि पाइप विस्तारको सम्भावना र प्रभावसहित अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिए ।

उनले पुराना ग्यास सिलिन्डरको उपयोगबाट उपभोक्तालाई पर्नसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल एलपी ग्यास, आयल निगम र मन्त्रालयकोतर्फबाट नियमित अनुगमन गरी गुणस्तरीय जाँचको सुनिश्चितता गर्न थप निर्देशन दिए ।

सुरक्षा र मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिन सरकारको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले मुलुकको सुरक्षा, शान्ति तथा व्यवस्था र मित्रराष्ट्रसँगको सुसम्बन्धमा असर पर्ने विषयवस्तु समावेश भएका चलचित्रलाई प्रदर्शन अनुमति नदिन चलचित्र विकास बोर्डलाई निर्देशन दिएको छ।

मन्त्रालयले यही असार २६ गते चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता विषयवस्तु भएका चलचित्रलाई चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति दिन नमिल्ने व्यवस्था रहेको स्मरण गराएको हो।

निर्देशनमा नेपालभित्र सार्वजनिक प्रदर्शन हुने सबै चलचित्रले अनिवार्य रूपमा चलचित्र जाँच समितिबाट प्रचलित ऐन तथा नियमावलीबमोजिम जाँचपास गराउनुपर्ने उल्लेख छ।

मन्त्रालयले चलचित्र निर्माता, वितरक तथा सरोकार भएका अन्यले ऐनको उक्त प्रावधानको पूर्ण पालना गर्नुपर्ने भन्दै जाँचका क्रममा ऐनविपरीतका विषयवस्तु समावेश भएका चलचित्र प्राप्त भएमा प्रदर्शन अनुमति दिन नसकिने जनाएको छ। साथै, उक्त व्यवस्था सबै निर्माता, वितरक तथा सम्बन्धित पक्षलाई जानकारी गराई आवश्यक समन्वय गर्न चलचित्र विकास बोर्डलाई अनुरोध गरिएको छ।

कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्‍याैँ

काठमाडाैँ । कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । इरान र अमेरिकाबिच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटना भएका हुन् ।

कुवेतको सेनाले आक्रमणकारी ड्रोनहरू अवरोध गरी निस्तेज पारिएको जनाएको छ । सेनाले उक्त घटनालाई ‘इरानको आक्रामक गतिविधि’को परिणाम भन्दै निन्दा गरेको छ ।

बहराइनको सेनाले पनि इरानबाट गरिएका धेरै हवाई आक्रमणलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरिएको जनाएको छ ।

यसअघि बुधबार बिहान बहराइनको गृह मन्त्रालयले क्षेप्यास्त्र तथा हवाई आक्रमणको चेतावनी साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो ।

यसैबिच इरानको सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्य तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी छुट्टाछुट्टै आक्रमण गरेको दाबी गरेको छ ।

चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून

चीनको अर्थतन्त्र सन् २०२६ को दोस्रो त्रैमासिकमा तीन वर्षयताकै सबैभन्दा सुस्त गतिमा विस्तार भएको छ । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विश्वव्यापी मागका कारण निर्यात बलियो रहे पनि मध्यपूर्वको युद्धबाट उत्पन्न व्यापारिक अवरोध, कमजोर घरेलु माग र सम्पत्ति क्षेत्रको लामो सङ्कटले आर्थिक वृद्धिमा दबाब परेको सरकारी तथ्याङ्कले देखाएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबीएस) ले अप्रिलदेखि जुनसम्मको अवधिमा अर्थतन्त्र ४.३ प्रतिशतले विस्तार भएको जनाएको छ । यो एएफपीले सर्वेक्षण गरेका अर्थशास्त्रीहरूको ४.५ प्रतिशतको अनुमानभन्दा कम हो भने सन् २०२२ को चौथो त्रैमासिकयताकै न्यून वृद्धि हो । यो चीन सरकारले चालु वर्षका लागि तय गरेको ४.५ देखि ५ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यभन्दा पनि तल रहेको छ ।

एनबीएसले पहिलो छ महिनामा राष्ट्रिय अर्थतन्त्र समग्रमा स्थिर दायरामै सञ्चालन भएको जनाएको भए पनि बाह्य वातावरण अझै अनिश्चित रहेको र देशभित्र उत्पादन बलियो भए पनि माग कमजोर रहेको स्वीकार गरेको छ । आर्थिक पुनरुत्थानलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता अझै कायम रहेको ब्युरोको भनाइ छ ।

चीनको सम्पत्ति क्षेत्रमा लामो समयदेखि देखिएको सङ्कट र उपभोक्ता खर्चमा आएको सुस्तताले सरकारलाई निर्यातमा बढी निर्भर बनाएको छ । तर अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण हर्मुज जलघाँटीबाट हुने ढुवानी प्रभावित भएपछि चीनको व्यापारमा नयाँ चुनौती थपिएको छ । उक्त जलमार्गबाट विश्वको करिब पाँचौँ भाग तेल र प्राकृतिक ग्यास ढुवानी हुने भएकाले त्यसको अवरोधले ऊर्जा आपूर्ति र व्यापारमा असर पारेको छ ।

यद्यपि केही सूचकले सकारात्मक सङ्केत पनि देखाएका छन् । जुन महिनामा खुद्रा बिक्री एक प्रतिशतले बढेको छ । यो बजारको अपेक्षाभन्दा राम्रो हो । औद्योगिक उत्पादन पनि ५.३ प्रतिशतले वृद्धि भएको छ । यो अनुमानभन्दा माथि रहेको एनबीएसले जनाएको छ । तर स्थिर सम्पत्ति लगानी भने पहिलो छ महिनामा ५.७ प्रतिशतले घटेको छ ।

इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विश्लेषक यू सूले कमजोर घरेलु माग चीनको अर्थतन्त्रको सबैभन्दा ठूलो चुनौती बनेको बताउनुभयो । उहाँका अनुसार सरकारले उपभोग बढाउन वित्तीय प्रोत्साहन, न्यूनतम पारिश्रमिक वृद्धि तथा अग्रपङ्क्तिका श्रमिकको तलब बढाउनेजस्ता उपायमा जोड दिन सक्ने सम्भावना छ ।

अर्का विश्लेषक झाङ झिवेईले भने पहिलो त्रैमासिकमा पाँच प्रतिशतको वृद्धि भएकाले सरकारले तत्काल आफ्नो आर्थिक नीति परिवर्तन गर्ने सम्भावना कम रहेको बताउनुभयो । उहाँका अनुसार बलियो निर्यातका कारण चीन अझै वार्षिक वृद्धि लक्ष्य हासिल गर्ने मार्गमै रहेको छ ।

मङ्गलबार सार्वजनिक अर्को तथ्याङ्कअनुसार जुन महिनामा चीनको निर्यात २७ प्रतिशतले बढेको थियो । विश्वव्यापी एआई प्रविधिको विस्तारसँगै चिप्स, सेमिकन्डक्टर र कम्प्युटिङ उपकरणको माग बढेकाले निर्यातमा उल्लेख्य वृद्धि भएको हो । सेमिकन्डक्टर निर्यातको मूल्य एक वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ भने डाटा प्रशोधन उपकरणको निर्यात ५३.१ प्रतिशतले बढेको छ ।

यद्यपि क्यापिटल इकोनोमिक्सका जुलियन इभान्स–प्रिचर्डले सेमिकन्डक्टर निर्यातको मूल्य वृद्धि मुख्यतः विश्व बजारमा मेमोरी चिपको अभावका कारण मूल्य बढेकाले भएको र वास्तविक निर्यात परिमाण भने घटेको बताए ।

यसबीच चीनको युरोपेली सङ्घ (इयु) सँगको व्यापारिक विवाद कायम रहेको छ । जुन महिनामा चीनले इयुसँग ३२ अर्ब ९० करोड अमेरिकी डलरको व्यापार बचत कायम गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मे महिनाको बेइजिङ भ्रमणपछि अमेरिका–चीन सम्बन्ध केही स्थिर बने पनि चिप प्रविधि, व्यापार असन्तुलन र उच्च प्रविधिसम्बन्धी प्रतिस्पर्धा भने अझै दुवै देशबीचको प्रमुख विवादको विषय बनेका छन् ।

भूमिहीन र सुकुमवासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौँ। प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन सङ्घीय संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ७१ बमोजिम विपक्षी दलहरूको तर्फबाट आज उक्त प्रस्ताव दर्ता गरिएको हो ।

संविधान, कानुन र मानवअधिकारका मान्यताअनुरूप भूमिहीन तथा सुकुमवासी नागरिकको संरक्षण र दिगो पुनःस्थापनाका विषयमा सदनमा छलफल गर्न आवश्यक रहेको सूचनामा उल्लेख गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावक रहनुभएको उक्त प्रस्तावको नेकपा (एमाले)का ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरेन राई समर्थक हुनुहुन्छ ।

सरकारद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय

काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मान–पत्र प्रदान गर्ने निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले खेलाडीको सम्मान र प्रोत्साहनका लागि नगद पुरस्कारसहित सम्मान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो ।सोही प्रस्तावका आधारमा सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी तथा खेलाडी टोलीलाई सम्मान गर्न लागेको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ (दोस्रो संशोधन, २०८२) अनुसार खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको टोलीलाई कुल १० करोड ५१ लाख ४८ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यसअघि पनि अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्दै आइए पनि यो हालसम्मकै सबैभन्दा ठुलो नगद पुरस्कार राशि हो । सरकारले खेलाडी तथा खेलाडी टोलीलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक यति ठुलो रकम पुरस्कार स्वरूप प्रदान गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितका १०१ जनालाई नगद पुरस्कारसहित सम्मान गरिनेछ ।

प्रस्तावित पुरस्कार सूचीमा मालदिभ्समा सम्पन्न १५औँ विश्व बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२४ का पदक विजेता चार खेलाडी समावेश छन् । त्यसैगरी, भारतमा सम्पन्न प्रथम खो–खो विश्वकप–२०२५ मा रजत पदक जित्ने महिला टोलीका १८ तथा पुरुष टोलीका १८ खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, युडब्लु एसियन बेल्ट रेस्लिङ–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, मलेसियामा सम्पन्न १०औँ एसियाली पारा तेक्वान्दो प्रतियोगिता–२०२५ का कांस्य पदक विजेता तीन खेलाडी, चीनमा सम्पन्न छैटौँ एसियन बीच गेम्स–२०२६ अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य पदक विजेता सात खेलाडी तथा मलेसियामा सम्पन्न एसिसी मेन्स यू–१६ इस्ट जोन कप–२०२५ का स्वर्ण पदक विजेतासहित १७ खेलाडीलाई पनि मन्त्रालयले पुरस्कृत गर्नेछ ।

यस्तै, थाइल्यान्डमा सम्पन्न ५७औँ बडी बिल्डिङ एन्ड फिजिकल च्याम्पियनसिप–२०२५ का कांस्य पदक विजेता एक खेलाडी, श्रीलंकामा सम्पन्न एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप–२०२५ का स्वर्ण पदक विजेता एक खेलाडी, बहराइनमा सम्पन्न आइएसएफ जिम्नासियाड–२०२४ का स्वर्ण र कांस्य पदक विजेता नौ खेलाडी तथा ओमानमा सम्पन्न एसिसी मेन्स इस्ट जोन क्वालिफायर–२०२४मा स्वर्ण पदक जित्दै विश्वकपमा छनोट भएका २० खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै सम्बन्धित खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

गोलभेँडा फ्याँकेर आन्दोलनरत किसानसँग कृषि मन्त्री चौधरीको छलफल

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर प्रदर्शनमा रहेका किसानहरुसँग छलफल गर्नुभएको छ ।

प्रदर्शनमा रहेका किसानलाई आजै मन्त्री चौधरीले किसान प्रतिनिधिहरूलाई मन्त्रालयमा आमन्त्रण गरी उनीहरूका गुनासा र मागबारे विस्तृत छलफल गर्नुभएको हो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य पाउन् भनेर कडा अनुगमनको व्यवस्था गरेका छौं, यसमा विचौलिया रोक्नका लागि कृषि विधेयक अघि बढाएका छौं ।’ कृषि ऐन बनेपछि विचौलियाको समस्या समाधान हुने उहाँको भनाई थियो ।

मन्त्री चौधरीले किसानलाई आफ्नो उत्पादन नजिकका हाटबजारमा विक्री वितरण गर्न आग्रह गर्दै सबैले उत्पादित सामग्री बेच्न कालीमाटी बजारमा आइरहन नपर्ने बताउनुभयो ।

‘हामीले किसानका पीडा बुझेका छौँ, किसानका समस्या सुनुवाई गर्न र समाधान गर्नका लागि म किसानको खेतमा पनि आउन तयार छु,’ मन्त्री चौधरीले भन्नुभयो, ‘आन्दोलन समाधान होइन, सहजीकरणमा आउनुस्, किसानसम्म रासायनिक मल सहज रुपमा पुगोस् भनेर हामीले कडा अनुगमनको व्यवस्था गरेका छौं ।’

छलफलका क्रममा किसानका समस्यालाई गम्भीरतापूर्वक सुन्दै सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी व्यवहारिक समाधानका लागि पहल गरिने विश्वास दिलाउनुभएको मन्त्रालयले जनाएको छ।

छलफलका क्रममा मन्त्री चौधरीले किसानको पीडाप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै भन्नुभयो, “म पनि किसानकी छोरी हुँ। किसानले भोग्नुपरेको पीडा र संघर्षलाई मैले नजिकबाट बुझेकी छु। किसानका जायज माग सम्बोधन गर्न मन्त्रालय सधैं सकारात्मक र प्रतिबद्ध रहनेछ।”

सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उत्पादन, बजार व्यवस्थापन, उचित मूल्य निर्धारण तथा कृषि क्षेत्रका दीर्घकालीन समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो ।

विकास सहकार्यको ६० वर्ष पूरा, युएनडीपीलाई अर्थमन्त्रीको धन्यवाद

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्य चाहेको बताउनुभएको छ ।

नेपाल र युएनडीपीबिच सहकार्य सुरु भएको ६० औँ वर्षगाँठको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।उहाँले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडीपीलाई धन्यवाद पनि दिनुभयो ।

“गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास क्षेत्र देखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ ।

यहाँहरूलाई धेरै धेरै धन्यवाद,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु ।”

संयुक्त राष्ट्रसङ्घको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै उहाँले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताउनुभयो ।

नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँले युएनडीपीलाई धन्यवाद दिनुभयो। आफुले पनि यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उहाँले स्मरण गर्नुभयो ।

सो अवसरमा उहाँले युएनडीपीले नेपालमा गरेका कामहरूको तस्बिर कथा समेटिएको फोटो किताब “६० वर्षको सहयात्रा” सार्वजनिक पनि गर्नुभयो ।

सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान

नयाँदिल्ली । भारतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को व्यापक सुधार अब थप टार्न नसकिने विषय भएको भन्दै विश्व संस्थाहरूलाई वर्तमान यथार्थअनुकूल बनाउन तत्काल कदम चाल्न आह्वान गरेको छ । भारतले सुरक्षा परिषद्सँगै महासभाको भूमिका सुदृढ गर्न र आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) लाई थप प्रभावकारी बनाउँदै बहुपक्षीय प्रणालीलाई भविष्यका चुनौती सामना गर्न सक्षम बनाउनुपर्नेमा जोड दिएको हाे ।

संयुक्त राष्ट्र महासभाले ‘भविष्यका लागि सम्झौता’ को समीक्षा गर्न आयोजना गरेको अनौपचारिक बैठकअन्तर्गत ‘भविष्यका लागि बहुपक्षवाद’ विषयक मन्त्रिस्तरीय गोलमेच कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरिश पर्वथानेनीले वर्तमान विश्व संरचनाले समकालीन वास्तविकता प्रतिबिम्बित गर्न नसकेको बताए ।

उनले बहुपक्षवादलाई प्रभावकारी बनाउन सुरक्षा परिषद्को व्यापक सुधार, महासभाको पुनर्जीवन तथा आर्थिक, सामाजिक र वातावरणीय तीनै आयाममा दिगो विकास प्रवद्र्धन गर्न इकोसोकको भूमिका थप सशक्त बनाउन आवश्यक रहेको उल्लेख गरे ।

राजदूत पर्वथानेनीले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति सुरक्षा परिषद्ले प्रभावकारी प्रतिक्रिया दिन नसकेकाले संयुक्त राष्ट्रसङ्घप्रतिको जनविश्वास कमजोर हुँदै गएको बताए । प्रभावित जनताको पीडा अन्त्य गर्न परिषद् प्रभावकारी हुन नसकेको भन्दै उनले संयुक्त राष्ट्रसङ्घको मूल उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने क्षमतामाथि नै प्रश्न उठ्न थालेको धारणा व्यक्त गरे ।

उनका अनुसार सुरक्षा परिषद्को कमजोरीको मुख्य कारण यसको पुरानो संरचना हो । सन् १९४० को दशकको विश्व व्यवस्थालाई आधार बनाएर निर्माण गरिएको संरचनाले आजका जटिल चुनौतीको सामना गर्न नसक्ने भन्दै उनले सुधारसम्बन्धी अन्तरसरकारी वार्ता (आइजीएन) वर्षौंदेखि निष्कर्षविहीन छलफलमै सीमित रहेको उल्लेख गरे ।

कार्यसूचीका महत्त्वपूर्ण विषय अझै कागजमै सीमित रहेको भन्दै उनले यो अवस्था परिवर्तन हुनुपर्नेमा जोड दिए । ‘भविष्यका लागि सम्झौता’ बारे बोल्दै उनले त्यसमा समावेश केही प्रावधानप्रति भारतको गम्भीर असहमति भए पनि रचनात्मक सोचका साथ उक्त सम्झौतामा समर्थन जनाएको बताए ।

राजदूत पर्वथानेनीले दिगो विकास लक्ष्य हासिल गर्न पर्याप्त, किफायती र पूर्वानुमानयोग्य वित्तीय स्रोत आवश्यक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय वित्तीय संरचनामा पनि सुधारको आवश्यकता औँल्याए । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई अझ प्रतिनिधिमूलक, उत्तरदायी र विकासमुखी बनाउनुपर्ने उनको भनाइ थियो ।

उनले संयुक्त राष्ट्र सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थासहित विश्वव्यापी शासन प्रणालीमा आवश्यक सुधारका लागि हुने सबै सार्थक प्रयासमा भारतले निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान र भावी चुनौती सामना गर्न सक्षम, प्रभावकारी र समावेशी अन्तर्राष्ट्रिय संस्थाको निर्माणमा विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिए ।

साउन १५ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरे ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रारलाई डा. भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा.चन्दलाई रजिष्ट्रारमा आजै नियुक्त गरेको थियो ।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन सभामा पेश गरेका थिए ।

मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए । उनले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे ।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ । बैठकमा सहकुलपतिद्धय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति थिए ।

२४ वर्षपछि विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने, सेमिफाइनलमा रोमाञ्चक भिडन्त

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज हुने पहिलो सेमिफाइनलमा दुई परम्परागत शक्तिशाली टोली अर्जेन्टिना र इंग्ल्यान्ड आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार खेल आज मध्यराति पौने १ बजे अमेरिकाको एटलान्टास्थित रंगशालामा हुनेछ। दुवै टोली उपाधि नजिक पुग्ने लक्ष्यसहित मैदान उत्रिने भएकाले यो खेल प्रतियोगिताकै सबैभन्दा प्रतिक्षित प्रतिस्पर्धामध्ये एक मानिएको छ।

साबिक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने इंग्ल्यान्ड सन् १९६६ पछि दोस्रो विश्वकप उपाधि जित्ने सपना पूरा गर्न चाहन्छ। दुवै टोलीले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेका छन्, जसका कारण खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

विश्वकपको इतिहासमा अर्जेन्टिना र इंग्ल्यान्डबीच २४ वर्षपछि पुनः भेट हुन लागेको हो। यसअघि विश्वकपमा यी दुई टोली पाँच पटक आमनेसामने भएका छन्। दुवै देशबीच समग्रमा १४ अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा इंग्ल्यान्डले ६ खेल जितेको छ भने अर्जेन्टिनाले ३ खेल आफ्नो पक्षमा पारेको छ। बाँकी ५ खेल बराबरीमा सकिएका छन्।

यी दुई टोलीबीच पहिलो प्रतिस्पर्धा सन् १९५१ मा मैत्रीपूर्ण खेलका रूपमा भएको थियो। उक्त खेलमा इंग्ल्यान्डले अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गरेको थियो। त्यसयता यी दुई राष्ट्रबीच भएका अधिकांश खेल उच्च प्रतिस्पर्धा, तीव्र दबाब र ऐतिहासिक क्षणहरूले भरिएका छन्।

विश्व फुटबलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको प्रतिस्पर्धा केवल खेलमा सीमित छैन। दुवै टोलीबीचका विगतका विश्वकप भेटहरू फुटबल इतिहासका चर्चित अध्यायका रूपमा लिइन्छन्। त्यसैले आजको सेमिफाइनलले पनि अर्को ऐतिहासिक कथा लेख्ने अपेक्षा गरिएको छ।

अब दुवै टोलीको लक्ष्य स्पष्ट छ—जित निकाल्दै विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्ने। अनुभवी खेलाडी, युवा प्रतिभा र रणनीतिक खेलको मिश्रण देखिने अपेक्षा गरिएको यस भिडन्तले विश्वभरका फुटबल समर्थकको ध्यान खिचेको छ। सेमिफाइनलको विजेताले उपाधिका लागि अन्तिम प्रतिस्पर्धामा स्थान बनाउनेछ भने पराजित टोलीको विश्वकप यात्रा यहीँ समाप्त हुनेछ।

विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ

काठमाडौं । नेपालमा बढ्दो नसर्ने रोग (एनसिडी) को जोखिम न्यूनीकरण तथा विपद्का समयमा बिरामीले निरन्तर स्वास्थ्य सेवा पाउने सुनिश्चित गर्न सरकार, स्वास्थ्य निकाय र विकास साझेदारबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उत्थानशील नसर्ने रोग परियोजना अन्तर्गत आयोजित ‘विपद्का अवस्थामा नसर्ने रोगको सेवा निरन्तरताका लागि अत्यावश्यक प्रतिकार्य प्याकेज’ विषयक छलफलमा सहभागीहरूले स्वास्थ्य प्रणालीलाई विपद् जोखिम व्यवस्थापनसँग एकीकृत गर्नुपर्नेमा जोड दिए।

स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाकी प्रमुख डा. पोमावती थापाले नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगको जोखिम तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै सन् २०३० सम्मको राष्ट्रिय कार्यदिशा कार्यान्वयनका लागि संयुक्त प्रयास आवश्यक रहेको बताइन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले जोखिममा रहेका समुदायको पहिचान गरी पूर्वतयारी सुदृढ बनाउनुपर्ने बताए।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले विपद्सहित सबै अवस्थामा मानवीय सेवा निरन्तर रहेको जानकारी दिए भने विपद् व्यवस्थापन विभागका निर्देशक सागर श्रेष्ठले विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न बहुपक्षीय सहकार्य र नीतिगत समन्वय अपरिहार्य रहेको बताए। डेनिस रेडक्रसका देशीय व्यवस्थापक डेभिड फोग्देनले विश्वव्यापी रूपमा नसर्ने रोग गम्भीर चुनौती बनेको उल्लेख गर्दै समुदायमा विपद् प्रतिरोधात्मक स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा डेनिस रेडक्रसका निरु प्रधान, नेपाल रेडक्रसका प्रमोद अधिकारी र अनिल महर्जनले परियोजनाका उपलब्धि, अध्ययनका निष्कर्ष तथा विपद् पूर्वतयारीसँग नसर्ने रोग व्यवस्थापन जोड्नुपर्ने आवश्यकता प्रस्तुत गरे।

छलफलमा एनसिडी सेवालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकरण, आवश्यक औषधि र स्वास्थ्य सामग्रीको आपूर्ति, स्थानीय तहको भूमिका, स्रोत परिचालन, अनुसन्धानमा आधारित नीति निर्माण तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उपायबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा निमित्त कार्यकारी निर्देशक मोना अर्याल र कञ्चनपुरको लालझडी गाउँपालिका अध्यक्ष निर्मल रानाले सहकार्य र परियोजनाबाट प्राप्त अनुभव प्रस्तुत गरेका थिए। कार्यक्रममा सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

वाग्मती नदीको कटानले टौदहका बस्ती जोखिममा

काठमाडौँ। वाग्मती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन् ।

कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यकाको प्रमुख पर्यटकीय गन्तव्यस्थलमध्ये एक हो । वाग्मतीले विगत दुई वर्षदेखि धार परिवर्तन गरी पश्चिमी किनाराको माटो कटान गर्न थालेपछिटौदहको पूर्व र दक्षिणतर्फका बस्ती जोखिममा परेका छन् ।

टौदहका स्थानीयवासी मिलन खड्काले भन्नुभयो “ वाग्मती नदीको कटानले टौदहपूर्वका बस्ती जोखिममा परेका छन् । अहिले नै पूर्वतर्फका कान्लाहरूबाट टौदहको पानी चुहिन थालेको छ, समयमै केही नगर्ने हो भने टौदहको अस्तित्व नै सङ्कटमा पर्छ ।”

वाग्मतीको पारिपट्टि ललितपुर महानगरपालिकाले पर्खाल लगाएपछि वाग्मतीले पश्चिम किनारमा मात्र एकोहोरो कटान गरिरहेको उहाँले बताउनुभयो । यसका साथै पश्चिमतर्फ पनि कीर्तिपुर नगरपालिका–४ स्थित दूधपोखरी क्षेत्रबाट बगेर आउने खहरे खोलाले कटान गर्दै लगेको छ ।

खोलाको दक्षिणतर्फ दक्षिणकाली नगरपालिकाले संरक्षण पर्खाल लगाउने तर कीर्तिपुर नगरपालिकाका तर्फबाट त्यसको पहल नगर्ने प्रवृत्तिले गर्दा कटान रोकथामको काम नभएको अर्का स्थानीय अन्जिल खड्का बताउनुहुन्छ ।

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) – अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पु¥याएको छ ।

पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।

रत्ननगर नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रवीण लामाका अनुसार रत्ननगर –११ अन्तर्गत पन्कन्या सामुदायिक वन क्षेत्रस्थित मनिखोला र रत्ननगर – ९ को लालपर्सामा राखिएका मौरीघार सोमबार परेको अविरले वर्षाको बाढीले बगाएको तथा मौरीगोला नष्ट गरेको हो । अधिकांश घारमा मह निकाल्ने समय भइसकेकाले थप आर्थिक क्षति भएको उनले बताए ।

मनिखोला क्षेत्रमा शङ्कर भट्ट (रत्ननगर–१२) का २५० घार, रोशन विक (रत्ननगर–४) का ७० घार र दिनेश ढकाल (भरतपुर–१४) का ९५ घार गरी ४१५ घार प्रभावित भएका छन् । यस क्षेत्रमा केही घार सुरक्षित अवस्थामा फेला पर्ने सम्भावना रहे पनि अधिकांश मौरीगोला नष्ट भएको कृषि शाखा प्रमुख लामाले बताए ।

त्यसैगरी लालपर्सा क्षेत्रमा लोकप्रसाद पराजुली (खैरहनी)का ९० घार, दीपक थापा (रत्ननगर–४) का ९० घार र एकबहादुर गुरुङ (रत्ननगर–३) का ९० घार गरी २७० घार प्रभावित भएका छन् । तीमध्ये करिब २५० घार बाढीले पूर्ण रूपमा बगाएको र केही घारमात्रै भेट्टाएर सुरक्षित स्थानमा सारिएको प्रमुख लामाले जानकारी दिए । पानीको बहाव उच्च भएकाले सबै घार रहेको स्थानमा पुगेर एकिन विवरण सङ्कलन गर्न अझै कठिनाइ भइरहेको उनको भनाइ छ ।

“बाढीपछि केही घार भेटिए पनि अधिकांशका मौरीगोला नष्ट भइसकेका छन् । लालपर्सामा प्रभावित २७० घारमध्ये करिब २५० घार बाढीले बगाएको छ । एउटा घारको औसत मूल्य करिब रु १० हजार पर्छ । अधिकांश घारमा मह निकाल्ने समय भएकाले प्रतिघार चारदेखि पाँच किलोग्रामसम्म मह उत्पादन हुने अवस्थामा थियो । घारसँगै मौरीगोला र उत्पादन हुन लागेको महसमेत नष्ट हुँदा किसानलाई प्रारम्भिक रूपमा कम्तीमा रु ६० लाखबराबरको क्षति भएको अनुमान गरेका छौँ”, प्रमुख लामाले भने ।

अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन् ।

विसं २०७८ असार २४ गतेको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिए पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अझै टुङ्गोमा पुग्न सकेको छैन ।

पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका विस्थापित अहिले हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बसिरहेका छन् । ब्लक र टिनले बनेका साँघुरा कोठा, सीमित खुला ठाउँ र आधारभूत पूर्वाधारको अभावबीच उनीहरूको दैनिकी बितिरहेको छ ।

स्थायी बसोबासको आशा गर्दै बितेका पाँच वर्षले अहिले उनीहरूमा निराशा बढाएको छ । दैनिक ज्याला–मजदुरी गरेर जीविकोपार्जन गरिरहेका विस्थापित परिवारका सदस्यहरू वर्षायाम सुरु भएसँगै फेरि पानी र सर्पको त्रासमा रात बिताउन बाध्य छन् ।

स्थानीय तिलबहादुर सोमै मगरले अस्थायी शिविरमै वर्षौँ बित्दा स्थायी घर पाउने आशा क्रमशः क्षीण बन्दै गएको बताउनुभयो । “केही समयका लागि भनेर राखिएको शिविरमै पाँच वर्ष बित्यो, हरेक वर्ष वर्षा सुरु भएपछि फेरि त्यही त्रास दोहोरिन्छ । बालबालिका, ज्येष्ठ नागरिक र महिलालाई सुरक्षित राख्न निकै कठिन छ । हामीलाई सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गरिदिए पुग्थ्यो”, उहाँले भन्नुभयो ।

पहिरोअघि विस्थापित परिवारसँग प्रतिघर एकदेखि तीन बिघासम्म खेतीयोग्य जमिन, घर र पशुपालनको आधार थियो । पहिराले घरमात्र होइन, उनीहरूको जीविकोपार्जनको आधारसमेत बगायो । अहिले अधिकांश परिवार दैनिक मजदुरीकै भरमा जीवन धानिरहेका छन् ।

स्थानीय दिलमाया सोमै मगरले पहिरोले गाउँ नै भासिएको दृश्य अझै आँखाबाट नहटेको बताउनुभयो । “पहिरोपछि यही शिविरमा आएर सुत्केरी भएँ । मेरो बच्चा यहीँ हुर्किएर अहिले पाँच वर्षको भयो”, उहाँले भन्नुभयो, “तर हाम्रो स्थायी घर बन्ने कुरा अझै अन्योलमै छ । कहिलेसम्म अस्थायी जीवन बिताउने भन्ने चिन्ता छ ।”

खेमबहादुर सोमै मगरले आफूहरूको समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय हुन नसक्दा विस्थापितले सास्ती खेप्नुपरेको बताउनुभयो । “सरकारले प्रक्रिया अघि बढेको भन्छ, तर हाम्रो जीवन भने यही अस्थायी टहरामै बितिरहेको छ”, उहाँले भन्नुभयो ।

हुप्सेकोट गाउँपालिकाले स्थायी पुनःस्थापनाका लागि आवश्यक सबै प्रक्रिया वर्षौँअघि नै पूरा गरिसकेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो । तर पुनःस्थापनाका लागि आवश्यक निर्णय गृह मन्त्रालयबाट नआउँदा काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।

“पहिरो विस्थापितको स्थायी आवास निर्माणका लागि गाउँपालिकाले आफ्नो तर्फबाट आवश्यक प्रक्रिया पूरा गरिसकेको छ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “तर गृह मन्त्रालयबाट आवश्यक निर्णय हुन नसक्दा पुनःस्थापनाको काम अघि बढ्न सकेको छैन । निर्णयप्राप्त हुनेबित्तिकै निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिका तयार छ ।”

आज प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयकमा छलफल अघि बढ्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ मसान्तसम्म)’ पेस गर्ने, ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१÷०८२’ पेस गर्ने र ‘राष्ट्रिय समावेशी आयोगको सातौं वार्षिक प्रतिवेदन आ.व.२०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ

आजदेखि पुनः १४.२ केजीको भरी ग्यास सिलिन्डर बिक्री सुरु

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण पुनः सुरु गरेको छ। ग्यास आपूर्ति सहज बनेपछि पुरानै प्रणालीअनुसार भरी सिलिन्डर उपलब्ध गराउने व्यवस्था लागू गरिएको निगमले जनाएको छ।

मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार उपभोक्ताले अब १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर साबिककै २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यसअघि भारतबाट एलपी ग्यास आयातमा समस्या उत्पन्न भएपछि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी ग्यास भरिएको आधा सिलिन्डर मात्र बिक्री–वितरण गर्दै आएको थियो।

निगमका अनुसार हाल ग्यास आयात सहज भएसँगै बजारमा भरी सिलिन्डरको माग बढेकाले पुरानै व्यवस्था पुनः लागू गरिएको हो।

यद्यपि, बजारमा केही समयसम्म ७.१ केजीको आधा सिलिन्डर र १४.२ केजीको भरी सिलिन्डर दुवै प्रकारका सिलिन्डर उपलब्ध हुन सक्ने निगमले जनाएको छ।

नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।

त्यसै व्यवस्थाअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आव २०८२/८३ को कारोबार विवरणसहितको अन्तिम मौज्दात प्रमाणित गरी आव २०८३–८४ को कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै उपमहानगरपालिकाले २०८३ असार ३२ गते राति १२ः०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसार कार्य बन्द गर्न आग्रह गरेको हो ।

नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध

नवलपरासी । नारायणी नदीको कटान नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८२/ ८३ मा नारायणी नदीमा साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले यस वर्षमात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा ५.५ किलोमिटर तटबन्ध निर्माण गरेको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नदीबाट उच्च जोखिम भएका नदीकिनारका बस्ती संरक्षण गर्न यस वर्षमात्रै विभिन्न स्थानमा गरी ६.५ किलोमिटर तटबन्ध निर्माण गरिएको हो ।

“बहुवर्षीय तटबन्ध र यस वर्ष ठेक्का लागेको तटबन्धको गरी नारायणी नदीको नवलपुरतर्फ साढे छ किलोमिटर तटबन्ध निर्माण गरिएको छ”, पौडेलले भने, “नारायणीमा तटबन्धका लागि मेस जाली, बिग बुल्डर (नदी किनारमा ठूला ढुङ्गा राखेर भिरालो बनाउनेगरी गरिने तटबन्ध), कङ्क्रिट पर्कोपाइन (छवटा पोललाई त्रिभुजाकार बनाएर त्यसभित्र जाली राखी ढुङ्गा र काठका टुक्रा राखेर कसेपछि नदीमा हालिने तटबन्ध) एवं कङ्क्रिट रिटेनिङ वालहरू प्रयोग गरिएका छन् ।”

बहुवर्षीय आयोजनाका रूपमा विगतका वर्षमा नै ठेक्का लागि तटबन्धको काम ढिला भइरहेको अवस्थामा यस वर्ष उल्लेखनीय प्रगति हासिल भएको पौडेलले बताए । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फ छ किलोमिटर क्षेत्रफलमा नारायणी नदी तटबन्धका लागि २०७९ सालमा बहुवर्षीय ठेक्का लगाइएको थियो । गैँडाकोटको वडा नं ५ देखि ९ सम्मको नदीकिनारमा कङ्क्रिट ब्लकबाट तटबन्ध गर्नेगरी रु एक अर्ब नौ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको प्रगति हालसम्म ९८ प्रतिशत पुगेको पौडेलले जानकारी दिए ।

“नवलपुरतर्फको यस स्थानमा गत कात्तिकसम्म जम्मा ४७ प्रतिशतमात्रै प्रगति भएको थियो, हाल काम सम्पन्न हुने चरणमा पुगेको छ”, उनले भने, “नदी तटबन्धसँगै तटबन्धमाथि छ मिटर फराकिलो बाटोसमेत निर्माण गरिएको छ ।” यस आयोजनाअन्तर्गत करिब एक किलोमिटर बिग बुल्डर र बाँकी कङ्क्रिट ब्लकबाट तटबन्धको काम भइरहेको उनले जानकारी दिए । बिग बुल्डरको काम पूरा भएको भन्दै उहाँले कङ्क्रिट ब्लकबाट तटबन्धको काम थोरैमात्र बाँकी रहेको बताए ।

त्यस्तै, विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणी धाममा पर्ने गजेन्द्र मोक्ष दिव्यधाममा समेत कङ्क्रिट रिटेनिङ वाल निर्माणको काम भएको उनले जानकारी दिए । नारायणी नदीको कटानबाट गजेन्द्र मोक्ष दिव्यधामलाई सुरक्षित बनाउन लगाइएको यस वालको उचाइ सात मिटरसम्म रहेको पौडेलले बताए । यो आयोजनाको काम रु दुई करोड १७ लाखमा निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ । जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेलापरेका छन् ।

डेङ्गु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो लामखुट्टेले प्रायः सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिकस्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताए ।

“डेङ्गुका चार प्रकारका विषाणु हुन्छन्”, भट्टले भने, “एकपटक लागेको प्रकारको डेङ्गु पुनः नलागे पनि अर्को प्रकारको सङ्क्रमण हुनसक्छ, दोस्रोपटक हुने सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुने भएकाले थप सचेत रहन आवश्यक छ ।”

डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ । सङ्क्रमण भएपछि १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि असार दोस्रो सातामै रोपाइँ गर्नुभयो ।

“आकासे पानी पर्खिँदा बीउ छिप्पिएपछि साउनमा रोपाइँ गर्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “पक्की नहर बनेपछि समयमै धान रोपाइँ गर्न पाएका छाँै ।” बेल्फी लुरवाङ सिँचाइ योजना निर्माण सम्पन्न भएपछि तुलप्रसादजस्तै बिमका किसानलाई लुरवाङ फाँटमा धान रोपाइँका लागि आकासे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

विसं २०४५ मा निर्माण भएको कच्ची नहरलाई पक्की बनाएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरपरिवार किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताउनुभयो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

नहरमा पानी चलाउन थालेपछि लुरवाङको फाँटमा धान रोपाइँका लागि यसपालि आकासे पानी कुर्न नपरेको उपभोक्ता समितिका अध्यक्ष झकवीर जुग्जालीले बताउनुभयो । कच्ची नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

पक्की नहर निर्माण भएपछि बेल्फीको मुहानबाट लुुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको छ । पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ देखि सुरु भएको आयोजना निर्माणले यसपालि पूर्णता पाएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।

चालु आवमा विनियोजन भएको रु १० लाख बजेटबाट लुरवाङ फाँटको खोल्सामा छ मिटर लामो ‘क्रसिङ’ बनाएर पानी तारिएको छ । थप १७५ मिटर पक्की नहर निर्माण भएको छ । आव २०८१÷८२ मा रु २० लाख बजेट विनियोजन भएको योजनामार्फत गलघण्टीको भिर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको थियो । एक सय ७० मिटर १२५ मिलीलिटर क्षमताको पाइप लाइन जडान गरिएको थियो । आव २०८०÷८१ मा विनियोजन भएको रु १० लाख बजेटबाट बेल्फीमा इन्टेक, बाँध र करिब २०० मिटर पाइप लाइन जडान भएको थियो ।

लुरवाङमा धानलगायत खाद्य बालीका साथै सुुन्तला र व्यावसायिक तरकारीखेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयवासीले अन्नको भण्डार मान्ने गर्छन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ७० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ६०, मकै बोडी प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १४०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु ८०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपति प्रतिकिलो रु १३०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

काठमाडौँ। नेपाल पर्यटन बोर्डको सञ्चालक समितिमा खुला प्रतिस्पर्धामार्फत मङ्गलबार पाँच जना सदस्य नियुक्त भएका छन् ।नियुक्त हुने सदस्यमा खुमबहादुर सुवेदी, सन्तोष पोखरेल, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल हुनुहुन्छ ।

पर्यटन ऐन र प्रचलित कानुनी व्यवस्थाअनुसार गठन गरिएको बोर्ड सदस्य छनोट समितिले खुला आवेदनबाट प्राप्त निवेदनको मूल्याङ्कन गरी उहाँहरुलाई नियुक्त गरिएको हो ।बोर्ड सदस्यका लागि देशभरबाट एक हजार १०० वटा आवेदन परेको थियो । आवेदकको योग्यता, अनुभव, पर्यटन क्षेत्रमा गरेको योगदान, नेतृत्व क्षमता र समग्र दक्षताका आधारमा छनोट गरिएको बोर्डले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रको नीति निर्माण, गन्तव्य प्रवद्र्धन, लगानी आकर्षण र सार्वजनिक–निजी साझेदारीलाई मजबुत बनाउन खुला र पारदर्शी प्रक्रियाबाट सदस्य चयन गरिएको हो ।बोर्डले नवनियुक्त सदस्यको अनुभव र नेतृत्वले नेपालको पर्यटन क्षेत्रको दिगो विकास, अन्तरराष्ट्रिय प्रवद्र्धन र निजी क्षेत्रसँगको सहकार्य विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो ।

चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म निर्माणसम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम सकेको हो ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल समयअघि नै सम्पन्न भएको हो । यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि चालु आर्थिक वर्षमै सम्पन्न भएको उहाँले बताउनुभयो ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ । अब ठिनी खोलामा पुल बनेपछि घरपझोङ गाउँपालिकाका पाँचै वडाबीच आवतजावत थप सहज भएको छ ।

रु चार करोड ४६ लाख लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो । पुलको चौडाइ फुटपाथसहित आठ दशमलव चार मिटर छ ।

निर्माणसम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिसहित पुल कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईका अनुसार घरपझोङको १० दशमलव पाँच किलोमिटर चक्रपथ सडकअन्तर्गत ठिनी खोलाको पुल सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकलाई ढुम्बा ताल अवलोकन गर्न सहज भएको छ । साथै ढुम्बा, स्याङ, सम्लेलगायत गाउँका किसानलाई कृषि उपज बजारसम्म पु¥याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न निकै कठिन हुने गरेको थियो । पुल सञ्चालनमा आएपछि वर्षभरि नै सवारीसाधन सञ्चालन गर्न सहज भएको छ ।

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर। देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

विभागका महानिर्देशक राजेन्द्र कोइरालाले गत वर्ष यही अवधिसम्म ६० प्रतिशत रोपाइँ भएको भए पनि यस वर्ष ५० प्रतिशत मात्र रोपाइ सम्पन्न भएको जानकारी दिनुभयो ।

प्रदेशगत रूपमा सबैभन्दा बढी सुदूरपश्चिममा ८७ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि गण्डकीमा ६५ दशमलव नौ प्रतिशत, कर्णालीमा ६० प्रतिशत, लुम्बिनीमा ५९ प्रतिशत र बागमतीमा ५७ दशमलव एक प्रतिशत रोपाइँ भएको छ । कोशीमा ३२ प्रतिशत र मधेसमा ३२ दशमलव सात प्रतिशत मात्रै रोपाइँ भएको विभागले जनाएको छ ।

देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक सातामा धान रोपाइँ अझ बढ्ने विभागको अपेक्षा छ । बाढी, पहिरो वा अन्य प्राकृतिक विपद् नआएमा रोपाइँ अझै तीव्र हुने विभागले जनाएको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा रहेको छ ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ।

देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा तथा कर्णाली प्रदेशको एकरदुई स्थानमा मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ – फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो ।

त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।

बाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ ।आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पुर्‍याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ ।
गत वर्ष निर्माण सम्पन्न भएको यस आयोजनाको विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौँ – काठमाडौँको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा खेलकुद मन्त्रालयले चासो लिएको छ ।

विद्यालयकी शिक्षिका सोना रानाले कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले उक्त घटनाका सम्बन्धमा पीडित विद्यार्थी, विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग आज मन्त्रालयमा छलफल गरेका हुन् । मन्त्री पोखरेलले पीडित विद्यार्थीसँग छुट्टैसमेत छलफल गरे । उनले विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गर्दै अध्ययन र खेलकुदका लागि हौसला तथा प्रोत्साहन गरे ।

सो अवसरमा मन्त्री पोखरेलले विद्यार्थीलाई कुटपीपिटको घटनामा आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने भएको खण्डमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । साथै, उनले विद्यार्थीलाई मनोवैज्ञानिक असर नगर्ने गरी विद्यालयले घटनामा संलग्न शिक्षिकालाई सचेत गराउन ध्यानाकर्षण गराए । साथै आगामी दिनमा यस्ता प्रकृतिका घटना दोहोरिन नदिन शिक्षकहरुलाई आवश्यक तालीमलगायतको व्यवस्था गर्न पनि विद्यालयलाई आग्रह गरे ।

उक्त घटना एक वर्ष पहिलाको भए पनि यस्ता किसिमका विकृति दोहोरिन नदिन मन्त्रालयले सजकता अपनाउँदै विद्यालय र पीडित पक्षसँग चासो लिएर पहलकदमी लिएको हो । खावालिङ स्कुलका प्रधानाध्यापक सुनिल रानाका अनुसार शिक्षिका रानालाई गत जेठमा नै विद्यालयबाट निस्कासन गरिएको थियो ।

बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

एजेन्सी। थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा ३० जनाको ज्यान गएपछि उक्त घटनास्थलमा आधारभूत सुरक्षा प्रणाली नै नभएको प्रारम्भिक निरीक्षणबाट खुलेको छ।

भवन निरीक्षक सङ्घका पूर्वअध्यक्ष वासावत कित्सिरितीराफाकले फरेन्सिक प्रहरीसँग मिलेर आगलागी भएको ‘रोङ बियर ना लात फ्राओ’ रेस्टुरेन्ट तथा बारको निरीक्षणपछि त्यहाँ ठूलो भीड र प्रत्यक्ष सांगीतिक कार्यक्रम सञ्चालन भइरहे पनि आवश्यक सुरक्षा व्यवस्था नभएको बताएका हुन्।

उनका अनुसार आगो लागेपछि सुरक्षित रूपमा बाहिर निस्कन मिल्ने आपतकालीन निकास मार्ग, चेतावनी प्रणाली तथा आपतकालीन तयारीका आधारभूत व्यवस्था भएको भए मानवीय क्षति उल्लेखनीय रूपमा कम हुन सक्थ्यो।

प्रारम्भिक निरीक्षणमा आपतकालीन निकास संकेत, आपतकालीन बत्ती तथा फायर अलार्मजस्ता अत्यावश्यक सुरक्षा उपकरण फेला नपरेको उनले जानकारी दिए। यद्यपि घटनाको विस्तृत कारण र सुरक्षा अवस्थाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको उनले बताए।

थाइल्यान्डमा विशेषगरी बार, पब र नाइटक्लबजस्ता मनोरञ्जनस्थलमा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा लागू नभएको विषय लामो समयदेखि आलोचनाको केन्द्रमा रहँदै आएको छ। यसअघि सन् २००९ मा बैङ्ककको ‘सान्तिका’ क्लबमा नयाँ वर्षको कार्यक्रममा भएको आगलागीमा ६७ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए। त्यसैगरी सन् २०२२ मा चोनबुरी प्रान्तको ‘माउन्टेन बी’ नाइटक्लबमा लागेको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए।

यसपटकको घटनामा आफ्नी भतिजी गुमाएकी जितिया फाइक्लाउले यस्ता दुर्घटना पटक–पटक दोहोरिनु अत्यन्त दुःखद भएको बताउँदै विगतका घटनाबाट पर्याप्त पाठ नसिकिएको प्रतिक्रिया दिइन्।

निरीक्षणका क्रममा आगलागी भएको प्रतिष्ठानसँग रेस्टुरेन्ट सञ्चालनको अनुमति मात्र रहेको तर व्यवहारमा भने प्रत्यक्ष सांगीतिक कार्यक्रम, मदिरा बिक्री र नाचगानसहित मनोरञ्जनस्थलका रूपमा सञ्चालन भइरहेको पाइएको छ।

गृह मन्त्रालयका अधिकारी आन्सित सम्फान्तारातले कुनै प्रतिष्ठानले मनोरञ्जनस्थलका गतिविधि सञ्चालन गर्ने तर त्यसअनुसार कानुनी दर्ता नगर्ने कार्य नियमविपरीत भएको बताए।

यता बैङ्ककका गभर्नर चाडचार्ट सिट्टीपुन्टले यस्ता प्रतिष्ठानमाथिको अनुगमन कडा बनाइने र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाएका छन्। उनले भवनको वर्गीकरण, जोनिङ व्यवस्था तथा मनोरञ्जनस्थलसम्बन्धी कानुनी प्रावधानमा समेत सुधार आवश्यक रहेको बताए।

भवन सुरक्षा विज्ञ वासावतले भविष्यमा यस्ता मानवीय क्षति दोहोरिन नदिन देशभर भवन सुरक्षा निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउँदै कानुनको कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

सवारी अवरोध जसले गरेको भए पनि कारबाही हुन्छः सभापति लामिछाने

काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही सञ्चारगृहका प्रवेशद्वारमा अवरोध गर्ने गरी सोमबार सवारीसाधन राख्ने जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

सोमबार केही सञ्चारगृह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घर अगाडि प्रवेशद्वारलाई नै असर गर्ने गरी निजी नम्बर प्लेटका सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो । ती सवारीसाधनलाई प्रहरीले हटाउनुका साथै जरिवाना गरेर छोडेको थियो ।

आज सिंहदरबारमा पत्रकारहरुले यसै विषयमा राखेको जिज्ञासामा सभापति लामिछानेले ती सवारीसाधन रास्वपाकै कार्यकर्ता या जसले राखेका भए पनि कारबाही हुने स्पष्ट गरेका हुन् ।

सभापति लामिछानेले सोमबारको घटनाका बारेमा पार्टीले नै विज्ञप्ति प्रकाशन गरेर रास्वपा सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको र सवारी अवरोध उत्पन्न गर्नेमाथि कारबाही हुने जानकारी गराइसकेको बताए ।

उनले भने, “यस घटनाका बारेमा सबैभन्दा पहिला रास्वपाले नै विज्ञप्ति निकालेर यसको विरोध गर्दै दोषीमाथि कारबाही गर्ने धारणा सार्वजनिक गरेको हो । रास्वपा त्यस्तो पार्टी हो जसले आफ्ना सांसदलाई ७२ घण्टाभित्रै कारबाही गरेको इतिहास पनि छ । त्यसैले यसमा जोसुकै एवं रास्वपाकै कार्यकर्ताको संलग्नता भए पनि कारबाही हुन्छ ।”

प्रधानमन्त्री वालेन्द्र शाह र आफूबीच हालै भएको भेटवार्ताका सम्बन्धमा राखिएको एक जिज्ञासामा सभापति लामिछानेले सो भेटमा सुकुमवासी समस्याको दिगो र छिटो समाधान, विकसित विविध परिस्थिति, राष्ट्रिय राजनीति र पार्टीका विविध विषयमा कुराकानी भएको बताए ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै खाणलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको हो।

अदालतले ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिबाना तोकेको छ। सोही कसुरअन्तर्गत थप ३ महिना कैदसमेत निर्धारण गरिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरिएको बहुचर्चित प्रकरणमा सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि अदालतले फैसला सुनाएको हो।

भुटानी शरणार्थी ठगी प्रकरणमा टोपबहादुर रायमाझी दोषी, ४ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने गरी जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको हो।

अदालतले ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा सोही कसुरअन्तर्गत थप ६ महिना कैद सजाय तोकेको छ।

विभिन्न कसुरमा तोकिएको सजायलाई एकीकृत गर्दा रायमाझीले ४ वर्ष कैद भोग्नुपर्ने र ४० हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने अदालतको आदेश छ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरिएको बहुचर्चित प्रकरणमा रायमाझीसहित उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्तिविरुद्ध मुद्दा दायर भएको थियो।

मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम। मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफल सुरु भएको छ ।मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लगायतका विषयमा देखिएका समस्या समाधान गर्न प्रदेशसभाद्वारा गठित कार्यदलले दिएको १० बुँद्धे सुझावसहितको प्रतिवेदनलाई प्रदेश सरकारले विनियोजन विधेयकको अङ्कका रुपमा स्वीकारेपछि प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।

बजेट पूर्वाग्रही र त्रुटीपूर्ण रहेको भन्दै प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान राख्दै आएको थियो । यही असार २८ गते बसेको प्रदेशसभा बैठकबाट बजेटलगायतमा देखिएका समस्या समाधान गर्न गठित सात सदस्यीय कार्यदलले आजको प्रदेशसभा बैठकमा बजेटमा देखिएको कमीकमजोरी सच्याउन बिभिन्न १० बुँद्धे सुझावसहितको प्रतिवेदन पेस गरेको थियो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले कार्यदलको प्रतिवेदनलाई सरकारले स्वीकार गरेको र यसलाई विनियोजन विधेयकको अङ्गका रुपमा ग्रहण गरेको घोषणा गरेपछि प्रदेश विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।

आजको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी थारु, चन्दन सिंह, अनिताकुमारी साह, ललिता दास र सुरिताकुमारी साहले प्रदेश विनियोजन विधेयकका विषयमा आ–आफ्ना सुझावहरु राख्नुभयो ।

प्रदेशसभाको भोली बिहान ८ः०० बजे बस्ने बैठकमा प्रदेश विनियोजन विधेयकमाथि छलफल जारी रहने सभामुख रामअशिष यादवले बताउनुभयो । आजको बैठकमा सिरहाको गोलबजार नगरपालिकामा खाल्डोमा डुबेर तीन बालबालिकाको मृत्यु भएको घटनाको विषयलाई प्रदेशसभा सदस्यहरुले उठाएको विषयमा सभामुख यादवले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य प्रमोदकुमार यादवले प्रस्तुत गर्नुभएको प्रदेशसभा नियमावली २०८२ को नियम १४१ निलम्बन गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख यादवले घोषणा गर्नुभयो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले असार १ गते प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

पूर्वसचिव डा जोशीको निधन

काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।उहाँ केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित हुनहुन्थ्यो । काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार हुनुहुन्थ्यो ।

सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाउनुभएका डा जोशी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आवद्ध हुनुहुन्थ्यो ।

पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपाललगायतका पुस्तक लेख्नुभएको छ ।

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

काठमाडौँ। विपद्को समयमा नागरिकसम्म पूर्वसूचना छिटो, भरपर्दो र प्रभावकारी ढङ्गले पु¥याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपतकालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ ।

मन्त्रालयमा आज आयोजित छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सेल ब्रोडकास्ट’ जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानुनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो ।

छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हाल सञ्चालनमा रहेको विपद् पूर्वसूचना प्रणालीको अवस्थाबारे जानकारी लिनुहुँदै अहिलेको प्रणालीलाई अझ प्रभावकारी बनाउन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवश्यक निर्देशन दिनुभयो । उहाँले विपद्को समयमा नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण भएकाले पूर्वसूचना प्रणालीलाई विश्वसनीय, द्रुत र प्रविधिमैत्री बनाउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

छलफलमा सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, नेपाल टेलिकम, एनसेल तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विपद्को समयमा कुनै निश्चित क्षेत्रमा रहेका सबै नागरिकसम्म एकैपटक सूचना पु¥याउन ‘सेल ब्रोडकास्ट’ प्रणाली उपयुक्त हुन सक्ने भएकाले यसलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको विषय छलफलमा उठेको थियो । साथै यो प्रणाली कार्यान्वयन गर्न मोबाइल नम्बर वा सिमकार्डको विवरण आवश्यक नपर्ने तथा कुनै निश्चित भौगोलिक क्षेत्रमा सक्रिय रहेका सबै मोबाइल उपकरणमा एकैसाथ वास्तविक समयमा चेतावनी सन्देश पठाउन सकिने विशेषता रहने भएकाले यस्तो प्रविधि नेपालका लागि उपयुक्त हुने सुझाव छलफलका क्रममा आएका छन् ।

छलफलमा सहभागीहरूले अहिले जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो तथा भारी वर्षाका जोखिम भएका क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना पठाउँदै आएको जानकारी दिँदै भविष्यमा डढेलो, भूकम्प, हिमपहिरो, चट्याङ, औद्योगिक दुर्घटना तथा अन्य सबै प्रकारका विपद्का लागि समेत एउटै एकीकृत पूर्वसूचना प्रणाली आवश्यक रहेको औँल्याएका थिए । उक्त प्रणाली प्रभावकारी बनाउन विपद्सम्बन्धी सूचना समयमै सङ्कलन गर्ने, अद्यावधिक गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायबीच तत्काल समन्वय गरी नागरिकसम्म सूचना पुर्याउने संयन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

छलफलमा सुरक्षा निकायहरूले आफूहरूसँग तहगत रूपमा सञ्चालनमा रहेका सूचना प्रणालीलाई नागरिकसम्म पुग्ने सार्वजनिक सूचना प्रणालीसँग जोडेर अझ प्रभावकारी बनाउन सकिने सुझाव दिएका थिए । त्यस्तै, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले विभागले प्रत्येक वर्ष करिब दुई करोड विपद्सम्बन्धी एसएमएस सूचना नागरिकसम्म पठाउने गरेको जानकारी गराउँदै हालको प्रणालीलाई थप आधुनिक बनाउनु आवश्यक रहेको धारणा राखेका थिए । बहुविपद् पूर्वसूचना प्रणाली तथा संयुक्त राष्ट्रसङ्घले अघि बढाएको ‘अर्ली वार्निङ्स फर अल’ मापदण्डलाई समेत नेपालमा उपयोग गर्न सकिने सुझाव आएका छन् ।

छलफलमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि तयार पारेको अध्ययन प्रतिवेदनमा समेटिएका सिफारिस कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो । हाल परिमार्जनको क्रममा रहेको दूरसञ्चार ऐनमा ती सिफारिस समेटेर कानुनी तथा नीतिगत आधार तयार गर्न सकिने सुझाव पनि सहभागीबाट आएका थिए ।

यसैगरी ‘सेल ब्रोडकास्ट’ प्रणाली कार्यान्वयनका लागि कुन निकाय प्रमुख जिम्मेवार हुने, आवश्यक बजेटको स्रोत, संस्थागत संरचना, प्राविधिक पूर्वाधार, दक्ष जनशक्ति तथा सञ्चालन मोडालिटीका विषयमा थप अध्ययन गर्ने बारे पनि छलफल भएको छ ।

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

बुधबारदेखि भरी सिलिन्डर पाइने भएको छ। नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जनाएको छ। बुधबारदेखि साविकै १४.२ केजीको सिलिन्डर विक्री हुने भएको छ।

यसअघि ७.१ केजीको ग्यास विक्री हुँदै आएको थियो। आयल निगमले भरी सिलिन्डरको दुई हजार ६० रुपैयाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरी सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ।

डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज

काठमाडौं। राष्ट्रिय पुरस्कारबाट सम्मानित साहित्यकार, लेखक तथा गीतकार डा. रुद्रनाथ अधिकारीको नयाँ गीत ‘या लिएर आउ’ सार्वजनिक भएको छ। डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायक निशान भट्टराईको स्वर रहेको छ।
राजदरबारको कथावस्तुमा आधारित यस गीतले प्रेम, विरह, समर्पण, त्याग तथा मानवीय संवेदनालाई साहित्यिक गहिराइका साथ प्रस्तुत गरेको छ। प्रभावशाली शब्द, भावपूर्ण प्रस्तुति र जीवन्त अभिनयले गीतलाई थप आकर्षक बनाएको छ। गीतका शब्द तथा रचना डा. रुद्रनाथ अधिकारीकै हुन् भने संगीत एआर रिमेश थापाका हुन् । बिक्रम बुढाथोकी, दिनेश विष्ट, बिना राउत र संगीता शाहीको अभिनय रहेको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ ।

भिडियोको निर्देशन दिनेश विष्टले गरेका हुन् । जसमा मिन रावलको कलर, दीपक देउवाको सम्पादन तथा सलिनाराज भण्डारीको कोरियोग्राफी रहेको छ । सार्ववजनिक गीतका गीतकार डा अधिकारी नेपाली साहित्य, संस्कृति र गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुन् । उनका थुप्रै साहित्यिक कृति तथा गीतहरू प्रकाशित भइसकेका छन्। समाज, संस्कृति, इतिहास र मानवीय जीवनका विविध आयामलाई समेट्ने उहाँका सिर्जनाले पाठक तथा श्रोतामाझ छुट्टै पहिचान बनाएका छन्।

हालै सम्पन्न राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड २०२६ मा डा. अधिकारीद्वारा रचित ‘आमा’ गीतका लागि उहाँ वर्षको सर्वोत्कृष्ट गीतकार (पुरुष, सुगम संगीत) सम्मानबाट सम्मानित भएका थिए । उक्त उपलब्धिले उनको सिर्जनात्मक योगदानलाई राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ। गीत सार्वजनिक भएपछि डा. अधिकारीले आफ्नो साहित्यिक यात्रा अझ सशक्त रूपमा निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले राठे (लोक) गीत, प्रेमिल गीत, चेतनामूलक गीत, सामाजिक सन्देश बोकेका गीत तथा साहित्यका विविध विधामार्फत समाजलाई सकारात्मक दिशा दिने र नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणमा आफ्नो कलमलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त व्यक्त गरेका छन् । ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’, ‘मदहोस’, ‘आमा’, ‘अब अत्ति भइसक्यो जागौँ’लगायत उनका दर्जन बढी गीत श्रोतारदर्शकमाझ आएका छन् । जीवनका विभिन्न भोगाइ र नियतिले परिपूर्ण रहेका उत्कृष्ट रचनाहरूसँग रम्न रुचाउने प्रकृतिप्रेमी डाक्टर अधिकारी धार्मिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा पनि राम्रो दखल राख्छन् ।