`

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रेपलाञ्चोक। करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुुरु गर्यो ।

नगरको कृषि शाखाले २०८० चैत १५ गतेदेखि सुरु गरेको उक्त हाटबजारमा तरकारी, दूधजन्य उत्पादन, फलफूल, लप्सीका क्यान्डी तथा कपडालगायत खरिदबिक्री हुँदै आएको छ ।

बनेपास्थित लायकु राजमञ्च प्राङ्गणमा सञ्चालित हाटबजारमा किसानले आफ्ना उत्पादन सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिइरहेका छन् । हाटबजारमा बनेपा र आसपासका किसान आफैँले तरकारी बेचिरहेका छन् । “किसानका उत्पादन आफैँ बेचेर सिधैँ आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले हाटबजारलाई निरन्तरता दिइएको छ”, नगर उपप्रमुख विमला दाहालले भन्नुभयो ।

दुःख गरी उत्पादन गरेको तरकारी आफैँले बेच्न पाएपछि मनग्य आम्दानी गर्न सकिने किसानको अनुभव छ । उत्पादन राम्रो हुने गरेको तरकारी ठेकेदारको भाउमा दिनुभन्दा आफैँले बेच्न पाएमा धेरै आम्दानी गर्न सकिने किसानहरू बताउँछन् । “बजारमा लैजाँदा ठेकेदारले जति दियो, त्यति नै थापेर जानुपर्ने हुन्थ्यो, यहाँ ल्याएर आफैँले बिक्री गर्दा त्यहाँको भन्दा निकै फाइदा हुँदोरहेछ”, बनेपाका रमेश शर्माले भन्नुभयो । उहाँका अनुसार यसरी सधैँजसो आफैँले सिधै बेच्ने ठाउँ पाएमा धेरै फाइदा लिन सकिन्छ ।

नगरले हाल हरेक शुक्रबार सो ठाउँमा सञ्चालन गर्नेगरी ‘स्थानीय उत्पादन उपभोग गरौँ, स्थानीय उत्पादन बढाऔँ, दैनिक उपभोग्य वस्तु किनमेलका लागि लायकु हाटबजार जाऔँ’ नाराका साथ हाटबजार सञ्चालनमा ल्याएको हो । सस्तो, ताजा, गुणस्तर र कम मूल्यमा सामान किन्न पाउनेगरी सञ्चालनमा ल्याइएको हाटबजारबाट उपभोक्ता र किसान दुवैका लागि फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै दुई वर्षअघि काभे्रपलाञ्चोक र भक्तपुरको सीमास्थल मानिएको पर्यटकीय क्षेत्र नगरकोटमा प्राङ्गारिक (अग्र्यानिक) तकारीको हाटबजार सञ्चालनमा ल्याइयो । प्रत्येक शुक्रबार र शनिबार लाग्ने हाटबजारमा विशेषगरी काभ्रेपलाञ्चोकको मण्डनदेउपुर पिजिएस प्रमाणीकरण कृषक समूहद्वारा उत्पादित अग्र्यानिकउन्मुख तरकारी विक्रीका लागि सञ्चालनमा ल्याइएको हो ।

प्राङ्गारिक रूपमा जैविक मल प्रयोग गरी विषादीरहित उत्पादन गरिएका तरकारीलाई हाटबजारमा राखिएको काभ्रेपलाञ्चोक एकीकृत ग्रामीण सशक्तीकरण कार्यक्रमले राख्ने गरेको छ । हाटबजारमा तरकारीतर्फ फर्सीको मुन्टा, बन्दा, काउली, अदुवा, तनेबोडी, कर्कलोको गाभा, स्कुस, भटमास, हरियो सिमी, तीतेकरेला, खुर्सानी, रैथान कुखुरा, धनियाँ, रैथाने बोडी, निउरो, जिम्बु, सुकेको सिमी, प्याज, लसुन, गोलभेँडा, काँक्रो राखिने गरिन्छ । यस्तै किसानले घरमै उत्पादित घ्यू, मह र विभिन्न जातका नास्पाती, कागतीलगायत फलफूल तथा यिनका बिरुवासमेत बिक्रीका लागि राख्ने गरेका छन् ।

बीसवटा प्राङ्गारिक कृषक समूहमा ५०६ किसान आबद्ध रहेको कार्यक्रमका संयोजक बद्रीप्रसाद माकाजुले बताउनुभयो । सशक्तीकरण कार्यक्रमको व्यवस्थापन तथा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालको सहयोगमा उक्त हाटबजार सञ्चालनमा ल्याइएको हो । नगरकोटमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको आवागमन बढी हुने गर्दछ । त्यही आवागमनलाई लक्षित गरेर हाटबजारको सुरुआत गरिएको हो ।

समूहमा आबद्ध किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी तरकारी हाटबजारमा बिक्रीका लागि राखिने परियोजनाका कृषि प्राविधिक जगतबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार अग्र्यानिक तरकारीको हाटबजार सञ्चालनमा आएपछि स्थानीय होटल तथा पर्यटन व्यवसायी खुसी देखिएका छन् ।

“स्थानीय अग्र्यानिक तरकारी होटल व्यवसायी तथा पर्यटकलाई खुवाउन पाउँदा खुसी भएका छौँ”, नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव प्रदीप अधिकारीले भन्नुभयो । उहाँले नगरकोटका होटल तथा रिसोर्टमा स्थानीयस्तरकै तरकारी उपलब्ध गराउन हाटबजारले मद्दत पुग्ने बताउनुभयो । हाटबजार नगरकोट क्षेत्रको पायक पर्ने चाँगुनारायण नपा–६ स्थित महामञ्जुश्री चोकमा सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी, पाँचखाल नगरपालिकाले पनि गत जेठ पहिलो सातादेखि साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ । शुक्रबारदेखि हरेक शुक्रबार र शनिबार दुई दिन सञ्चालनमा ल्याइएको हाटबजारमा विशेषगरी अग्र्यानिक तरकारीको प्रदर्शनी तथा बिक्रीवितरण भइरहेको छ । पाँचखाल नगरको आयोजना, स्थानीय कृषि बजार सञ्चालक, व्यवस्थापन समिति पाँचखालको सहआयोजना तथा पाँचखाल–४ नं वडा कार्यालयको समन्वयमा हाटबजार सञ्चालनमा ल्याइएको हो । उक्त कृषि हाटबजारमा किसानले आफ्ना उत्पादन सोझै उपभोक्तालाई बेच्न पाएका छन् ।

धुलिखेल नगरपालिका–१२ इँट्टेमा पनि शनिबारदेखि पाक्षिक कृषि हाटबजार थालिएको छ । स्थानीय गौरीशङ¬्कर साना किसान कृषि सहकारीद्वारा आयोजित हाटबजारमा विशेषगरी तरकारीलगायत स्थानीय कृषि उत्पादन बिक्रीका लागि राखिने आयोजकले जनाएका छन् ।

बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ ।

सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।

निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि त्यसको अगाडि र पछाडि ब्यानर राखिएको छ । दुवै सवारीसाधनमा नगर प्रहरी राखिएको छ । उक्त सवारीसाधनमा परिचालन गरिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मानन्धर, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापालगायत सभागृहमा सहभागी हुनुभएको थियो ।

कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा कार्यथलो भएर विपद्पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जाने व्यक्तिलाई लक्षित गरी यो सेवा थालिएको हो । यी सवारीसाधनले दिनमा दुईपटक यात्रु ओसार्नेछन् ।

चार शववाहन परिचालन

यसैबीच, काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीग्रस्त क्षेत्रमा चारवटा शववाहन परिचालन गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलका अनुसार विपद् व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले पनि सक्दो सहयोग गर्न शनिबार चारवटा शववहानको व्यवस्था गरेको हो ।

काठमाडौँ महानगरपालिकाले शनिबार नुवाकोट पठाएका चारवटा शववाहनमध्ये एउटाले पाँचवटा शव ल्याएको छ । त्रिशूली सैनिक तालिम केन्द्रबाट चार पुरुष र एक महिलाको शव लिएर फर्किएको हो ।

यसरी ल्याइएका शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछन् । सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहन परिचालन गरेको हो ।

काठमाडौं उपत्यकामा २४ घण्टामा ६३४ चालक कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३४ जना सवारी चालकलाई कारबाही गरेको छ।

आइतबार बिहानसम्म विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ४८ जना, सिसिटिभीमार्फत ६८ जना र रातोबत्ती उल्लंघन गर्ने २९ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ८२, हर्न निषेध उल्लंघन गर्ने २८, लेन क्रस गर्ने ६, अवस्था ठिक नभएको सवारी चलाउने २० र एकतर्फी सडक उल्लंघन गर्ने १२ जना चालकलाई पनि कारबाही गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार अन्य कसुरमा ३४१ जना चालक कारबाहीमा परेका छन्।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११० रुपैयाँ ०५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९० पैसा र बिक्रीदर ११० रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७२ पैसा र बिक्रीदर २३ रुपैयाँ ८१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ०० पैसा बिक्रीदर ४०५ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ १८ पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी। अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ ।विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ ।हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् ।

भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो ।जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो । ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको र हाल जोखिम नदेखिएको उहाँले जानकारी दिनुभयो ।

अनुगमनको दोस्रो चरणमा लोमान्थाङ माथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ ।
समुद्रसतहबाट करिब पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नदेखिएको पौडेलले बताउनुभयो ।

अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रको कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उहाँले बताउनुभयो । ती क्षेत्रमा हिमताल रहेको जिपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको उहाँको भनाइ छ ।

गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो । उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ ।

विपद्को सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद् पूर्वतयारीलाई सुदृढ बनाइने भएको छ ।

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

काठमाडौँ। रसुवाको भोटेकोसीमा पुनः बाढी आएको छ। ल्हेन्देखोलाहुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको रसुवास्थित रासस समाचारदाता सरस्वती न्यौपानेले टेलिफोनमार्फत जानकारी दिइन्।

यसअघि यही १० भदौमा ल्हेन्देखोलाहुँदै भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो।

भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ ।नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएमध्ये १६ देशका २६१ पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिए । उद्धार गरिएका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना रहेका छन् ।

यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

बागमतीका मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहितको राहत सामग्री पठाएका छन् ।

यही भदौ १० गते नुवाकोट, भदौ ११ र १२ गते उत्तरगया तथा धुन्चेको स्थलगत अवलोकन गरी गृहजिल्ला भक्तपुर फर्किएलगत्तै मुख्यमन्त्री थापाले सो राहत सामग्री सङ्कलन गरी पठाएका हुन्। उनले रसुवाको उत्तरगया र धुन्चेमा विपद्मा परेका नागरिकका लागि अत्यावश्यक खाना र लत्ताकपडा स्थलमार्गबाट पठाएको बताए ।

मुख्यमन्त्री थापाले काठमाडौँबाट पठाएको राहत सामग्री बिदुरमा मात्रै थुप्रिएकाले उत्तरगया र धुन्चेका लागि टिपर र ट्रकमा राहत सामग्री पठाएको बताए । उहाँले बागमती प्रदेशको पहलमा छहरे, चौघोडा, बाहुनबेँसी, लच्याङ, सरमथली, पारिखर्क, पाँच्याङ पुल, भोर्ले, जेरोकिलो र बेत्रावती हुँदै पासाङल्हामु मार्ग जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । प्रदेश सरकारले रसुवामा अलपत्र परेका पर्यटकलाई निःशुल्क रूपमा विभिन्न यातायातका साधनमार्फत काठमाडौँ ल्याउने काम गरिरहेको छ ।

प्रतिकूल मौसमबिच माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली

काठमाडौं । प्रतिकूल मौसम र रातको अँध्यारोका बिच पनि बाढीका कारण माथिल्लो त्रिशुली— ३ ‘ए’ जलविद्युत आयोजनामा फसेका मानिसहरूको उद्धारको कोसिस भइरहेको छ ।

अविरल वर्षा र अप्ठ्यारो परिस्थितिबिच प्रभावित क्षेत्रमा नेपाली सेनासहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास गरिरहेका छन् ।
रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ ।

घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीबीलगायतका भारी एक्स्क्याभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूसम्म पुग्ने कोसिस भइरहेको छ ।

उद्धार टोलीले अत्याधुनिक ‘सर्च क्यामेरा’ तथा विशेष मोनिटर प्रयोग गरी सूक्ष्मरुपमा खोज्ने प्रयास गरिरहेका छन् । प्राविधिक टोलीहरू आपत्कालीन उपकरण तथा प्राथमिक उपचार बाकससहित स्थलगत समन्वयमा जुटेका छन् ।

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवलदार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ ।पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता भएका थिए । बाढीपछि उनको शव गोरखामा फेला परेको हो । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकामा शनिबार परिवारले पहिचान गरेर अन्त्येष्टिका लागि घर लगेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतक विष्टका दाजु दीपकबहादुरले शवको सनाखत गरेका हुन् ।

रसुवा बाढीपछि विभिन्न जिल्लामा भेटिएका १०२ शव पोखरा ल्याइएको छ । शनिबार साँझसम्म ५० शवको परीक्षण सकिएको र १२ वटाको पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएकाहरूका परिवारजन आउने क्रम बढेको छ ।

प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिनुभएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले शव व्यवस्थापनको काम भइरहेको जानकारी दिए । “हुलियासहितको विवरण हेल्प डेस्कमा राखेर स्क्रिनमा पीडित परिवारले आएर हेर्न सक्ने प्रबन्ध गरेका छौँ”, उनले भने ।

भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये १८७ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये १८७ जनाको उद्धार गरिएको हो । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएकमध्ये १५ देशका १८७ पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो ।

उद्धार गरिएका पर्यटकमध्ये भारतका ११४, चीनका २७, दक्षिण कोरियाका २०, जर्मनीका चार, बेल्जिएमका एक, बुल्गेरियाको एक, इटाली तीन, माल्टा चार, ओमन एक, पोर्चुगल एक, रसिया दुई, स्पेन दुई, स्वीजरल्याण्ड दुई, टर्की दुई र अमेरिकाका तीन रहेका छन् । बाढीमा परेर अझै ४२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नं १२३४, हटलाइन नं ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग

काठमाडौँ – गत बुधबार भोटेकोशीमा आएको विनाशकारी बाढीपीडितका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले रु एक करोड एक लाख एक आर्थिक सहयोग गर्नेभएको छ ।

बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तिलगङ्गा आँखा प्रतिष्ठानले उक्त रकम सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

शनिबार जारी प्रेस विज्ञप्तिका अनुसार प्रतिष्ठानका कर्मचारीहरूले एक दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने भएका छन् । बाढी प्रभावित क्षेत्रका घाइते तथा बिरामीको निःशुल्क आँखा उपचार गर्ने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीलाई ग्रामीण आँखा केन्द्रको सहयोगमा टिम बनाएर प्रभावित क्षेत्रमा खटाउने प्रतिष्ठानले जनाएको छ ।

त्रिशूली–३ए सुरुङमा उद्धारको आशा, माथिल्लो भागसम्म पुग्यो उद्धार टोली

काठमाडौं – गृहमन्त्री सुदन गुरुङले त्रिशूली–३ए सुरुङमा उद्धार कार्य अघि बढेको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचना जारी गर्दै उनले उद्धार टोली सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका हुन्।

उनका अनुसार सुरुङमा बनाइएको सानो प्वालबाट हावा पठाउन सुरु गरिएको छ। अब उक्त स्थानबाट खन्ने काम अघि बढाएर उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री फेलिक्स प्लासेन्सियाबीच आज टेलिफोन वार्ता भएको छ ।वार्ताका क्रममा मन्त्री प्लासेन्सियाले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

मन्त्री प्लासेन्सियाले भेनेजुएलाका राष्ट्रपति, सरकार तथा जनताकातर्फबाट बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै नेपालप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

मन्त्री प्लासेन्सियाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपालसँग आफ्नो देशको ऐक्यबद्धता रहेको बताएका थिए ।

परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा भेनेजुएलाका राष्ट्रपति तथा सरकारबाट व्यक्त गरिएको समर्थन, ऐक्यबद्धता र समवेदनाप्रति हार्दिक आभार व्यक्त गरे । मन्त्री खनालले बाढी तथा विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले आफ्नो नियन्त्रणमा रहेका सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारीसमेत गराए ।

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला

तनहुँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा खोज तथा उद्धारका क्रममा आज चार वटा शव भेटिएको छ । आँबुखैरेनीमा दुई र देवघाट क्षेत्रमा दुई शव फेला परेको हो ।

फेला परेको शवलाई आवश्यक मुचुल्कासहित प्रदेश अस्पताल दमौलीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । त्रिशूली नदी क्षेत्रमा ड्रोनको सहायताबाट पनि शव खोज्ने काम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्धार टोली जान नसक्ने स्थानमा ड्रोनबाट हेर्ने काम सुरु गरेका छौँ । यसले शव खोज्न सहज हुनेछ ।”

आज चार वटा शव फेलापरेसँगै तनहुँको त्रिशूली नदीबाट ३५ वटा शव निकालिएको छ । त्यसमध्ये ११ वटा शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ भने २४ वटा शव पोखरा पठाइएको छ ।

प्रदेश अस्पताल दमौलीमा राखिएका शवको फोटो खिचेर क्युआर कोडबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । यसले मृतकका आफन्तलाई शवको पहिचान गर्न सजिलो हुने प्रजिअ तिवारीले बताउनुभयो ।

मिति २०८३ भदौ १४ गते आइतबार शव व्यवस्थापन जिल्ला समितिको बैठक बसेर आवश्यक निर्णय लिने तयारी गरिएको छ । प्रदेश अस्पताल दमौलीमा राखिएको शवको डिएन परीक्षणकोसमेत तयारी गरिएको प्रजिअ तिवारीले बताउनुभयो ।

‘प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो’– प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको भन्दै सरकार उद्धार, खोजी र राहतमा पूर्ण रूपमा केन्द्रित रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँग निरन्तर समन्वय र सहकार्य गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम तीव्र पारिएको बताएका हुन्।

उनका अनुसार आज साँझ साढे ५ बजेसम्म प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गमार्फत उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको समेत उद्धार भइसकेको उनले जानकारी दिएका छन्। बाँकी क्षेत्रमा नेपाली सेनाले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरी २३६ वटा उडान भइसकेको प्रधानमन्त्रीले बताएका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ।

उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञसमेत नेपाली सेनासँगको समन्वयमा खटिएका छन्। प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका कारण उद्धारमा चुनौती देखिए पनि थप सुरक्षाकर्मी परिचालन गर्नुका साथै हेलिकप्टरहरू तयारी अवस्थामा राखिएको प्रधानमन्त्रीले बताएका छन्।

शाहले सामाजिक सञ्जालमा लेखेका छन् –
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ। बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ।
संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ। राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्याउन चाहन्छौं।
प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुनःस्थापनालगायतबारे संक्षिप्त विवरण निम्न अनुसार छः
खोजी तथा उद्धारः प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज साढे पाँच बजेसम्म ७,५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ। उद्धारमा भारतीय र चिनियाँ विज्ञहरु नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ।
प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ वटा उडान भरिसकेको अवस्था छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८,७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ। हामीलाई प्राप्त सुझाव र गुनासोलाई समेत ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीहरूको संख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्। तर, भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन। ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ। उद्धारका क्रममा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौं।
उपचार तथा मनोपरामर्शः प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएर उपचार गरिरहेका छौं। अन्य घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौंबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ। यस्तै, काठमाडौंबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा २ गरी ५ स्थानबाट स्वास्थ्य सेवा दिइरहनुभएको छ। साथै, घाइते र उहाँहरूका परिवारका सदस्यहरूलाई मनोपरामर्श सेवा समेत प्रदान गरिरहेका छौं। अस्पतालहरूमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ। प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा प्रवाहको थालनी गरिसकेका छौं। विभिन्न अस्पतालहरूमा उपचारार्थ घाइेते नागरिक निको भएर घर जानेक्रम जारी छ।
नागरिक व्यवस्थापनः प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा ३, नुवाकोटमा १५ वटा शिविर स्थापना गरिएको छ। यी शिविरहरूका लागि संघीय सरकारले राहत सामग्री निरन्तर रूपमा पठाइरहेको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रहरू समेत परिचालित छन्। बाढीबाट विस्थापित करिब ३,५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनहरूमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
राहत संकलनः नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितहरूका लागि आर्थिक सहयोग जुटाइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शीरूपमा सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष)मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ कोड र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ। पीडितहरूका तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीहरुको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ। यसैक्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस्, काठमाडौं जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको विपद् तालिम केन्द्र र बबरमहलस्थित शहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री संकलन भइरहेको छ। संकलित राहत सामाग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याउने काम भइरहेको छ। साथै, मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्‍याउने गरिएको छ। त्यहाँ संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरु सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिरहेको छ। आज मात्रै एमआइ—१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्याइएको छ। साथै,आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ। विभिन्न संघसंस्था र सहयोगी निकायहरुले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुहरुमा राहत सामग्री पठाउने क्रम जारी छ।
अन्तर्राष्ट्रिय सहयोगः प्रभावितको व्यवस्थापन र पुनःस्थापनाका लागि एशियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एशियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिवद्धता आएको छ। साथै, भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदैछ। चीनबाट ३० वटा बेलीबिज्र सहयोग अनुरोध गरिएको छ। भारतबाट २ हजार र चीनबाट २ हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ। स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्र्याङ्क (संयुक्त राष्ट्र संघ) बाट खर्च हुनेगरी प्राप्त भएको छ। यस्तै, विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट सहयोग प्राप्त हुनेक्रम जारी छ।
सञ्चार सम्पर्कः प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो। कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो। सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू पुनः सञ्चालनमा ल्याएको छ। जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ।
वैकल्पिक सडक सञ्चालनः बाढीले मुख्य सडकहरूमा क्षति पुर्‍याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ। यो सडकखण्ड खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुनः सडक सञ्जालमा जोडिएको छ।
शव व्यवस्थापनः हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन्। फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ। यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’बमोजिम व्यवस्थापन गरिदैछ। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरुलाई मात्रै डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरु सुरक्षित राखी सरकारले आफै व्यवस्थापन गर्न लागेको हो। परिवारले पहिचान गरेका शव भने उहाँहरुलाई जिम्मा लगाउने काम भइरहेको छ। त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौं।
विपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयंसेवी संस्थाहरूले देखाउनुभएको धैर्यता, तत्परता र सहयोगप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ। विपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्य—तथ्य खोजिरहेको हुन्छ। त्यसैले पीडितहरुको जीवन रक्षा र उहाँहरुको मनोवल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई समेत अनुरोध समेत गर्दछौं।
नेपाल सरकार प्रभावित नागरिकहरुको साथमा छ र उद्धार तथा पुनःस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ।
धन्यवाद

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत सरकारको उच्च प्राथमिकतामा : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार र तत्काल राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

शनिबार नुवाकोटको देवीघाट क्षेत्रको निरीक्षणपछि अर्थमन्त्री वाग्लेले मुलुक ठूलो विपद्मा परेको भन्दै अहिलेको मुख्य प्राथमिकता नागरिकको ज्यान जोगाउने, उद्धार गर्ने र तत्काल राहत पु¥याउने रहेको बताए ।

उनले नेपाली सेनाको नेतृत्वमा उद्धार तथा राहतका काम अघि बढिरहेको जानकारी दिए । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकको उद्धारलाई तत्कालको प्रमुख प्राथमिकताका रूपमा लिइएको उनले बताए ।

‘अब यो ठूलो विपद् हो। अहिले सकेसम्म ज्यान जोगाउने चरणमा छौँ । उद्धार र तात्कालिक राहतको चरणमा छौँ । अहिले नेपाली सेनाको मातहतमा काम अघि बढिरहेको छ,’ उनले भने ।

मन्त्री वाग्लेले अपर त्रिशूली–३ ‘ए’ को सुरुङमा ३५ देखि ४१ जना श्रमिक फसेको सूचना प्राप्त भएको भन्दै उनीहरूको उद्धारका लागि विशेष प्रयास भइरहेको बताए । सुरुङको प्रवेशद्वार थुनिएकाले वैकल्पिक बाटोबाट प्रवेश गर्ने प्रयास भइरहेको उनले बताए ।

‘मुख्यतः अपर त्रिशूली–३ ‘ए’मा ठूलो प्रयास भएको छ । त्यो टालिएको छ र प्वाल कहाँबाट सुरु हुन्छ भन्ने पनि थाहा नभएको अवस्थामा फास्ट ट्र्याकमा प्रयोग भइरहेको विस्फोटक पदार्थ तथा बैरेनीबाट डेटोनेटर ल्याएर प्राविधिकको सहयोगमा प्वाल छेडेर भित्र जान सकिन्छ कि भन्ने प्रयास भइराखेको छ,’ उनले भने ।

अपर त्रिशूली–३ ‘बी’ लगायत अन्य जलविद्युत् आयोजनामा पनि श्रमिक फसेको हुनसक्ने सूचनाका आधारमा उद्धारका लागि टोली केन्द्रित गरिएको उनले बताए । आफन्त तथा साथीभाइबाट प्राप्त सूचनालाई समेत आधार बनाएर सम्भावित जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार भइरहेको उनले बताए ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याउने कामलाई पनि तीव्रता दिइएको मन्त्री वाग्लेले बताए। धुन्चे बजार, त्रिशूली नदीपारिका क्षेत्रलगायत सडक तथा पुल अवरुद्ध भएका स्थानमा हेलिकप्टरमार्फत राहत पु¥याउने काम भइरहेको उनले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौँ, १३ भदौ : प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका छन् ।

विश्वविद्यालय कार्यकारी परिषद्को आज बसेको बैठकको निर्णयअनुसार यही भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो निर्णय गरिएको हो ।

विश्वविद्यालयका रजिस्ट्रार डा रमेशबाबु काफ्लेद्वारा जारी सूचनाअनुसार भदौ महिनाको तलब भुक्तानी गर्दा पदअनुसार तोकिएको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।

निर्णयअनुसार उपकुलपति र रजिस्ट्रारबाट एक महिनाको तलब, डिन, परीक्षा नियन्त्रक, प्राध्यापक तथा प्रशासनतर्फका सम्बन्धित कर्मचारीबाट आधा महिनाको तलब, सह–प्राध्यापक तथा मुख्य अधिकृतबाट १० दिनको तलब, उपप्राध्यापक, वरिष्ठ अधिकृत, सहायक प्राध्यापक/शिक्षण सहायक तथा अधिकृतबाट सात दिनको तलब योगदान गरिनेछ ।

मुख्य सहायक तथा सहायकबाट पाँच दिन र सवारीचालक तथा कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले आफ्ना सम्बन्धन प्राप्त कलेज तथा क्याम्पसहरूलाई समेत विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना कार्यमा सकेको आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।

भोटेकोशी बाढी : नौ जलविद्युत् आयोजनाका ५३७ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौँ, १३ भदौः भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७ जना कर्मचारी तथा श्रमिक अहिलेसम्म सम्पर्कविहीन भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अनुसार रसुवा र नुवाकोटमा रहेका नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८९८ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३६१ जनाको उद्धार भइसकेको छ ।

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ । सोही आयोजनाको सुरुङमा अझै पनि ३०० जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ । अहिले सो सुरुङमार्गमा खोजी भइरहेको छ ।

त्यसैगरी, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना सम्पर्कविहीन भइरहेका छन् । रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ । लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १८ जनाको उद्धार भएको छ ।

त्यसैगरी, चिलिमे हाइड्रोपावरबाट आठ जना सम्पर्कविहीन भइरहेका छन् । मैलुङ खोला हाइड्रोपावरबाट सात जना सम्पर्कविहीन भएका छन् । त्रिशूली जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भएका छन् । देवीघाट जलविद्युत् आयोजनाबाट एक जना सम्पर्कविहीन भइरहेका छन् । माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन् ।

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत् आयोजनाबाट १२२ जना सम्पर्कविहीन भएकामध्ये ९१ जनाको जिवितै उद्धार गरिएको छ । मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन् ।

भोटेकोशी बाढीमा १०० भन्दा बढी एम्बुलेन्स निःशुल्क उद्धारमा परिचालित

चितवन । भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् ।

संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्‍याइरहेका उनले जानकारी दिए ।

टाढा पुर्‍याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताउनुभयो । उहाँका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व) मा सात, नवलपरासी (पश्चिम) मा १०, गोरखामा १०, धादिङमा १५, नुवाकोटमा छ, कपिलवस्तुमा पाँच, रुपन्देहीमा पाँच वटा एम्बुलेन्स घाइतेको उद्धार तथा शव व्यवस्थापनमा परिचालन भएका उनले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा अस्पतालबाट पशुपति र वरपरका घरसम्म शव निःशुल्क लगिएको छ । यसैबिच, बाढीमा परेर नुवाकोटमा तीन वटा एम्बुलेन्स बगाएको र एउटा पुरिएका अवस्थामा फेला परेको छ । रसुवाका पाँच वटा एम्बुलेन्स रहेकामा हालसम्म कोही पनि सम्पर्कमा नआएका उनले बताए । अध्यक्ष लामिछानेले भने, “एम्बुलेन्स चालक रातदिन शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिनुभएको छ ।”

बाढी प्रभावित क्षेत्रमा ६२६ शव संकलन, २७ प्रहरीको अवस्था अज्ञात

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।

विपद् व्यवस्थापन तथा खोजतलासका क्रममा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ ।

यसैगरी बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन् । उद्धार गरिएका घाइतेहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुनेको संख्या १४० पुगेको छ ।

प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हालसम्म ४ हजार ८५४ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा परिचालित छन् । सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र गतिमा जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।

भोटेकोशी बाढी उद्धारमा आयल निगमले दियो ४० हजार ८४० लिटर हवाई इन्धन

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ ।

उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको प्रबन्ध मिलाइएको निगमले जनाएको छ । जसअन्तर्गत भदौ १० गते १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर (ट्याङ्कर र हेलिकप्टरमार्फत), १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको हो ।

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर प्रदेशका १७१ जना हराइरहेकामा आजसम्म टेलिफोनमार्फत २२ जना सम्पर्कमा आएका छन् ।

हालसम्म सप्तरीका ४५, पर्साका ३९, रौतहटका १७, बाराका २३, सर्लाहीका १५, महोत्तरीका १७, धनुषाका पाँच र सिरहाका १० जना सम्पर्कविहीन रहेका विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पर्साको पोखरिया नगरपालिका-५ का ओजिर अन्सारी, वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, बाराको कलैया उपमहानगरपालिका-२२ का सत्यम राम, जितपुर सिमरा उपमहानगरपालिका-१२ का रोजितकुमार साह, स्वर्ण गाउँपालिका-३ का रुपेश गुप्ता सम्पर्कमा आएका प्रवक्ता ढकालले बताए ।

त्यस्तै, रौतहटको गढीमाई नगरपालिका-७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका-४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका-१ का बृजकिशोर दास, सुनिता दास, श्यामलाल मोक्तान, बागमती नगरपालिका-६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका-१ का राकेशकुमार यादव, इञ्जिनियर विपीनकुमार मण्डल र धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव र सुरेश पजियार सम्पर्कमा आएका छन् । उहाँका अनुसार सिरहाको गोलबजार नगरपालिका-१० का टार्जन बलम्पाकी पनि टेलिफोनमार्फत सम्पर्कमा आएका छन् ।

मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रहरी कार्यालयहरूले सम्पर्कविहीन भएकाहरूको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उनले बताए ।

मधेसका विभिन्न जिल्लाबाट रोजगारी, व्यवसाय तथा अन्य कामका लागि रसुवा पुगेका नागरिकसमेत विपद्को चपेटामा परेपछि परिवारजन चिन्तित बनेका छन् । सम्बन्धित परिवार तथा आफन्तले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित जिल्ला प्रशासन, प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी गराउन वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।

भोटेकोशी बाढी : त्रिशूली–३ सुरुङबाट ४३ विदेशी सहित २०८ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा आज दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ ।

सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धारका लागि रहेको संयुक्त टोलीले ‘ड्रिलिङ मेसिन’ लगायत सामग्रीको प्रयोग गरी सुरुङको बाहिरी भाग पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ ।

साथै, प्रभावित जिल्ला रसुवा, नुवाकोट, धादिङलगायत नेपाली सेनाको करिब सात हजार भन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा शव व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ ।

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ। जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ ।महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । “एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोकस्थित जनप्रिय क्याम्पस जाने चोकमा भएको घटनामा पोखरा–३० ढुङ्गेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उहाँकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो ।

स्थानीय कमल दाहाल स्कुटरमा श्रीमती र छोरीलाई लिएर बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै हुनुहुन्थ्यो । भारी वर्षाका कारण सडकमा भेल बढेपछि उहाँले हर्कचोकमा स्कुटर रोक्नुभएको थियो । स्कुटरबाट झर्ने क्रममा दुई वर्षीया रानीकालाई भेलले बगाएर सडकको नालीमा पु¥याएको थियो ।

छोरीलाई बचाउने प्रयासमा आमा सुष्मा पनि नालीमा पुग्नुभएको थियो । त्यसपछि तीव्र आमाछोरी दुवैलाई बगाउँदै करिब दुई किलोमिटर तल बिरौटासम्म पुर्याएको थियो ।

श्रीमान् कमलले हारगुहार गरेपछि स्थानीय र प्रहरी उद्धारमा जुटेका थिए । आमाछोरीलाई पोखरा–१७ बिरौटास्थित नहरको कुलोबाट अचेत अवस्थामा उद्धार गरी अस्पताल लगिएको थियो ।

भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

काठमाडौँ। गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन् । फलस्वरुप मानिसहरु समयमै सही सूचनाबाट बञ्चित भए ।

मानिसहरुले जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढीका तस्बिर र भिडियोले तनाव झन बढायो । बाढीका कारण छोटो समयमा लाखौँ मानिसहरु प्रभावित भएपछि सरकारले खोज र उद्धारका लागि तत्काल काम सुरु ग¥यो । सोही समयमा सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार पुनःस्थापनाका लागि काम सुरु ग¥यो ।

मन्त्रालयमा समन्वय कार्यान्वयन तथा अनुगमन अधिकृत किरन घिमिरेका अनुसार तत्कालै नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, एनसेल, सशस्त्र प्रहरीको समन्वयमा तत्कालै काम सुरु भयो । “हामीले बाढी आएको दिन दिउँसो २ बजेदेखि नै सञ्चार पुनःस्थापनाका लागि काम गरिसकेका थियौँ, सोही दिन प्रभावित क्षेत्रमै पुगेर अनुगमन गरी कसरी काम गर्ने योजना बनाएका थियौँ”, अनुगमन अधिकृत पण्डितले भन्नुभयो ।

रसुवा, नुवाकोट र धादिङमा सञ्चालनमा रहेका नेपाल टेलिकम (एनटिसी)का १२० र एनसेलका ७८ बिटिएस टावर सञ्चालन थिए । जसमध्ये बाढीका कारण एनटिसीका ३८ र एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय ठाउँमा टावरमै ठूलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा टावर सञ्चालनका लागि आवश्यक ऊर्जाको अभाव भइसकेको थियो ।

सरकारले त्यसपछि हेलिकप्टर र सडकमार्गबाट इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरु सञ्चालनको प्रयास गरेको थियो । जसमध्ये हालसम्म एनटिसीका ८६ र एनसेलका ७० वटा बिटिएस टावर सञ्चालनमा आइसकेको सम्बन्धित सेवाप्रदायकले जनाएका छन् । अब केही दिनमा बाँकी एनटिसीका ३८ र एनसेलका आठ वटा टावर सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीहरुको भनाइ छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा नेपाल टेलिकमका कुल १२० वटा टावर थिए । जसमध्ये हाल ८२ वटा पुनः सञ्चालनमा ल्याइएका छन् भने आएका छन् । उहाँका अनुसार केही टावर बाढीबाट पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । साथै बाँकी टावरहरू चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन विद्युत् आपूर्ति र इन्धन व्यवस्थापनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ । बाढीका कारण अधिकांश साइटमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि सुरुमा करिब आठ घण्टासम्म ब्याट्री ब्याकअपबाट सेवा सञ्चालन गरिएको थियो। त्यसपछि हेलिकप्टरमार्फत जेनेरेटर र इन्धन प्रभावित क्षेत्रमा पु¥याइएको उहाँको भनाइ छ ।

साथै सडक मार्गबाट समेत त्रिशूलीसम्म जेनेरेटर र इन्धन पु¥याइएको र प्रभावित क्षेत्रमा काम गर्ने कर्मचारीलाई आवतजावत गर्न सहज हुने अवस्था र आवश्यक इन्धन तथा अन्य सहयोग उपलब्ध भएमा बाँकी साइटहरू चाँडै सेवा पुनः सञ्चालनमा ल्याइने एनटिसीको भनाइ छ । “बाढीका कारण गल्छीदेखि नुवाकोटसम्मको फाइबर लिंक पूर्ण रूपमा अवरुद्ध भएको थियो । फाइबर क्षतिग्रस्त भएपछि ककनीतर्फको आरएएस फाइबरलाई ब्याकअपका रूपमा प्रयोग गरिएको र माइक्रोवेभ लिंक प्रयोग गरेर प्रभावित क्षेत्रका साइटहरू सञ्चालनमा ल्याइएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार टेलिकमले प्रभावित क्षेत्रका आफ्ना एक लाख ६० हजार बासिन्दालाई बुधबारदेखि दुइए दिनका लागि निःशुल्क गरिएको डाटा, एसएमएस र भ्वाइस सेवालाई पाँच दिनसम्मका लागि बढाइएको बताउनुभयो ।

एनसेलका नेटवर्क प्रमुख लीना केशरी कंशाकारका अनुसार रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण एनसेलका दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको थियो । बाढीका कारण रसुवादेखि करिब ७०–८० किलोमिटरको क्षेत्रमा विभिन्न स्थानमा फाइबर काटिनुका साथै बगाएपछि एनसेलका २७ वटा बीटीएस साइट प्रभावित भएका थिए ।

उहाँका अनुसार त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको सहयोगमा प्राविधिक टोली परिचालन गरी प्रभावित क्षेत्रमा सेवा पुनःस्थापनाको काम सुरु गरिएको थियो । बाढीपछि अवरुद्ध भएका २७ बिटिएस टावरमध्ये १८ वटा सञ्चालनमा ल्याइसकिएको र अब ९ वटा मात्रै सञ्चालनमा आउन बाँकी रहेको एनसेलले जनाएको छ । ती बिटिएस टावर पनि चाँडै सञ्चालनमा आउने एनसेलको भनाइ छ ।

फाइबरमार्फत सेवा पुनःस्थापना गर्न सम्भव नभएका स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी टावर सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । साथै, विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा जेनेरेटर सञ्चालनका लागि आवश्यक इन्धनसमेत हेलिकप्टरमार्फत पु¥याइएको कम्पनीको भनाइ छ ।

एनसेलले बाढी प्रभावित मानिसहरुका लागि थप ७ दिन निःशुल्क सेवा दिने समेत घोषणा गरिसकेको छ । “हाम्रो यो योगदानले प्रभावित समुदायलाई यो विपद्का बेलामा आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास लिएका छौं। यस कठिन समयमा आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भन्नुभयो । यसअघि एनसेलले तीन दिनका लागि निःशुल्क भ्वाइस, एसएमएस र डेटा सेवा घोषणा गरेको थियो ।

एनसेलले नेटवर्क पुनःस्थापनाका क्रममा सहयोग प्रदान गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा सञ्चार मन्त्रलय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना, हुवावेलगायतका संस्थाले ठूलो सहयोग गरेको जनाएको छ ।

प्रविधि सेवा प्रदायक कम्पनी हुवावे नेपालका अनुसार कम्पनीले बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकम र एनसेलको सहकार्यमा गरी १० वटा महत्वपूर्ण हब साइटसहित कुल ७० वटा साइट पुनः सञ्चालन गरेको जनाएको छ ।
यसमध्ये दुई वटा महत्वपूर्ण फाइबर लिंक र दुई वटा प्रमुख हब साइटको पुनःस्थापनाले थप २९ साइट पुनः सञ्चालनमा आएको कम्पनीको भनाइ छ ।

कम्पनीले बाढी प्रभावित क्षेत्रममा सञ्चार पुनःस्थापनाका लागि रेडियो, माइक्रोवेभ र फाइबर कनेक्टिभिटीका लागि साइट तथा ट्रान्समिसन लिंक सुधारमा काम गरेको तथा इन्धन, जनशक्ति, उपकरण तथा सामग्री परिचालनलगायतका लजिस्टिक्स र फिल्ड सहयोगलाई तीव्रता दिइएको जनाएको छ ।साथै दुर्गम तथा बाढी प्रभावित क्षेत्रमा आवश्यक परेको अवस्थामा हेलिकोप्टरको सहयोगसमेत लिएको हुवावे नेपालको भनाइ छ ।

आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा विशेष रौनक

काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मनाइँदै छ । ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद ९राजदरबार० भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ ।

यस अवसरमा हाँस्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष भने शनिबारको सार्वजनिक बिदाकै दिनमा यो पर्व परेको छ ।

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको हो। प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ।

प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकम निकासा गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार यो रकम अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित स्थानीय वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा अनुदान वितरण गरिनेछ।

प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत स्वरुप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थमन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णय गरेको थियो।

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा  

काठमाडौँ। अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै छ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने यी दुई टोलीबीचको खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ।

सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल सान्त्वना जितको खोजीमा छ। नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित निकालेको छ। नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध नौ विकेटको हार व्यहोरेको थियो।

त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको थियो।

पाँचौँ खेलमा भने नेपाल हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो। नेपालले आज भिक्टोरिया सिए–११ लाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्य राखेको छ।

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् ।

यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ भने यो क्रम जारी छ ।

प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ । जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ ।

साथै धादिङमा संकलन गरिएका २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेशनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ ।

तनहुँमा फेला परेका शवमध्ये नौ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । गोरखामा भेटिएका शवमध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ ।

नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवमध्ये ६ मध्यविन्दु नगरअस्पताल चोरमारामा, ३६ गैँडाकोट नगर अस्पतालमा, २२ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा, चार शव जिल्ला अस्पताल पाल्पा, दुई मिसन अस्पताल पाल्पा, दुई लुम्बिनी अस्पताल पाल्पा र ४१ गण्डकी अस्पताल पोखरामा राखिएको छ ।

पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये ८ पृथ्वी चन्द्र अस्पताल परासी, ११ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही, तीन वा शव भीम अस्पताल भैरहवा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ । अन्य शवहरुलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शवहरु संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ ।

शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

चितवन । भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ । डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा अहिलेसम्म दुई शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार बाँकेको कोहलपुर नगरपालिका–११ निवासी २३ वर्षीय कबिरलाल चौधरीको शव दाजु सुग्रिन थारुले पहिचान गरेका छन् । त्यसैगरी, रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका–४ नेवारपानी निवासी ४३ वर्षीय रामकाजी पौडेलको शव उनका दाजु सुवास पौडेलले सनाखत गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार हालसम्म बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १८६ शव भेटिएका छन् । “भेटिएका शवको पहिचानका लागि सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । ती शवको तस्बिर केन्द्र नजिकै रहेको चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्ले बोर्डमा राखिएको छ”, उनले भने ।

हाल २२ वटा शव व्यवस्थापन तथा पहिचान केन्द्रमा लगिएको जनाउँदै ४० भन्दा बढी शवको तस्बिर डिस्प्ले बोर्डमा देखाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । अन्य शवको भने भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिच्ने काम भइरहेको उनले जानकारी दिए ।

तस्बिर खिचिएका शवको डिस्प्ले गर्न सुरु गरिएकाले आफन्तले डिस्प्ले बोर्डमा तस्बिर हेरेर शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने र आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा पठाइने उनले जानकारी दिए ।

पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातका आधारमा यकिन गरिने प्रहरी उपरीक्षक पौडेलले बताए । उनका अनुसार शव पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ ।

फोरेन्सिक विज्ञको अभाव र गर्मीका कारण शव व्यवस्थापनमा समस्या

त्रिशूली, नारायणी नदी तथा आसपासका क्षेत्रमा भोटेकोशी बाढीले बगाएर ल्याएका सङ्कलित शवको पहिचान र व्यवस्थापनमा भरतपुर अस्पतालमा गम्भीर चुनौती थपिएको छ । पर्याप्त फोरेन्सिक विज्ञको अभाव तथा चितवनको अत्यधिक गर्मी र ओसिलो (ह्युमिड) मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा विश्वबन्धु बगालेले जानकारी दिए ।

मेसु डा बगालेले यति धेरै शव सङ्कलन हुने पूर्व तयारी नरहेको बताउँदै जनशक्ति अभावका कारण अन्य अस्पतालसँग सहयोग मागिएको जानकारी दिए । उनले भने, “हामीकहाँ फोरेन्सिक विज्ञको अभाव छ । हामीसँग पूर्व तयारी पनि थिएन । त्यसैले बाँकेको भेरी अस्पताल, नेपाल मेडिकल कलेज काठमाडौँ र स्थानीय मेडिकल कलेजहरूमा पत्राचार गरी फोरेन्सिक विज्ञ तथा सहयोगी कर्मचारी पठाइदिन अनुरोध गरेका छौँ । केही अस्पतालले जनशक्ति पठाइसक्नुभएको छ भने थप विज्ञहरू आउने क्रममा हुनुहुन्छ ।”

मेसु डा बगालेका अनुसार हाल दुई वटा टोली बनाएर शव परीक्षण तथा पहिचानको काम भइरहेको छ भने थप विज्ञहरू आएपछि टोली सङ्ख्या बढाएर कामलाई अझ तीव्र बनाइनेछ । उनले भने, “मानिसको मृत्युपश्चात् शरीरमा प्राकृतिक रूपमै परिवर्तनहरू सुरु हुन्छन् । त्यसमाथि चितवनको गर्मी र ओसिलो वातावरणका कारण ‘डिकम्पोजिसन’ (कुहिने क्रम) एकदमै तीव्र गतिमा भइरहेको छ । पूरै शवबाट पहिचान गर्न नसकिए पनि विज्ञद्वारा खिचिएका तस्बिर र विशेष पहिचान चिह्न (आइडेन्टिफिकेसन मार्क) हेरेर आफन्तले पहिचान गर्न सकुन् भनेर हामीले यो प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाएका छौँ ।”

अस्पतालमा बिरामीको चाप उच्च रहेको अवस्थामा यति धेरै शवको व्यवस्थापन गर्नु झनै चुनौतीपूर्ण रहेको मेसु डा बगालेको भनाइ छ । उनले थपे, “अस्पतालमा अन्य बिरामीको चाप पनि बढिरहेको छ । पीडित आफन्तहरू अस्पतालमा आउने भएकाले व्यवस्थापनमा गाह्रो हुने भएपछि पहिचान भएका शवलाई छुट्टै स्थानमा ‘कुलिङ’ वातावरण सृजना गरी राख्ने प्रयास गरिरहेका छौँ । सङ्क्रमण वा महामारी फैलिन नदिन अस्पताल प्रशासन अत्यन्त सजग छ र सम्पूर्ण टोली सतर्कताका साथ काममा खटिएको छ ।”

हाल शव पहिचान केन्द्र रहेको स्थान र अस्पतालको परीक्षण गृह रहेको क्षेत्रमा सर्वसाधारणको आवतजावत रोकिएको छ भने दुर्गन्ध र सङ्क्रमण नियन्त्रणका लागि सम्भावित सबै उपाय अपनाइएको अस्पतालका मेसु डा बगालेले बताए ।

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा रु ६ करोड ७५ लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ ।

प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको थियो । प्राधिकरणका अनुसार उक्त रकम अति प्रभावित, प्रभावित, सामान्य प्रभावित स्थानीय वर्गीकरण गरी सोहीअनुसार अनुदान सहायता उपलब्ध गराउनेछ ।

प्राधिकरणका अनुसार रसुवाको उत्तरगया, गोसाइँकुण्ड, कालीका र आमाछोदिङ गाउँपालिका, नुवाकोटको विदुर र बेलकोट नगरपालिका, तारकेश्वर, किस्पाङ गाउँपालिका, धादिङको बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट र आबुँखैरेनीमा भएको क्षतिका आधारमा उक्त अनुदान वितरण गरिनेछ ।

प्राधिकरणको बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट उल्लेखित स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत स्वरूप रकम उपलब्ध गराउने र सो बराबरको रकम अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा शोधभर्ना उपलब्ध गराउने निर्णय गरेको थियो ।

भोटेकोशी बाढी: नवलपुरमा १५८ शव भेटियो

नवलपरासी । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये शुक्रबार साँझसम्म १५८ जनाको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा फेला परेको छ । जिल्लामा आज मात्र थप ४८ वटा शव फेला परेको हो ।

नवलपरासी हुँदै बग्ने नारायणी नदीको विभिन्न स्थानमा आज साँझसम्ममा १५८ वटा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका शवमध्ये १०९ वटा शव मात्र सिङ्गो फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका शवमध्ये ४९ वटा शवको शरीरका विभिन्न टुक्रा भेटिएका उनले जानकारी दिए ।

जिल्लामा ३१ महिला, ५१ पुरुष, आठ बालक, ११ बलिकाको शव फेला परेको जनाउँदै सूचना अधिकारी पण्डितले बाँकी शवको ३० खुट्टा, ११ हात, तीन थाइ एवम् एक/एक वटा कम्मरमाथिको भाग, टाउकाको भाग, पेटको भाग, शरीरको बायाँ भाग र छातीको भाग रहेको जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा १०३, मध्यविन्दु नगरपालिकामा २२, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा १२–१२ वटा तथा देवचुली नगरपालिकामा नौ शव भेटिएको उनले बताए । नारायणी नदी किनारमा भेटिएक शव विभिन्न अस्पताल तथा वनको भवनमा व्यवस्थापन गरिएको छ ।

नगर अस्पताल गैँडाकोटमा ४८, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ४६, नगर अस्पताल मध्यविन्दुमा ६ तथा अङ्कुर सामुदायिक वनको भवनमा पाँच वटा शवको व्यवस्थापन गरिएको छ । त्यस्तै, गण्डकी अस्पताल पोखरामा ४१, लुम्बिनी मेडिकल कलेज प्रभाास पाल्पामा दुई, प्रदेश अस्पताल पाल्पामा चार तथा मिसन अस्पताल पाल्पामा दुई वटा शव पहिचान तथा व्यवस्थापनका लागि पठाइएको पण्डितले बताए । त्यस्तै बाँकी नौ वटा शव नदी किनारमै रहेको जनाउँदै शवलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

नवलपुरमा भेटिएको शवमध्ये एउटा शव पहिचान गरी आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए । अर्को एउटा शवको पहिचान गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आफन्तको जिम्मा लगाउन बाँकी रहेको उनको भनाइ छ ।

भोटेकोशी बाढी: एक हजार ४७३ जनाको उद्धार , ५५३ जनाको शव फेला

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन् ।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घरफिर्ता (डिस्चार्ज) भएका गरी हालसम्म ९७ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।

विपत्तिको घडीमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सको साथ, राहत कोषमा १ करोड सहयोग

बाढी–पहिरो प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले विपद् प्रभावित नागरिक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ।

१२ भदौ, काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण भएको छ। विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

सी जिनपिङद्वारा बेपत्ताहरूको खोजी गर्न र दोस्रो विपद् रोक्न हरसम्भव प्रयासको आह्वान

सिजाङ: चीनको दक्षिण-पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको सिगात्से शहर, नेपाल-सिजाङ क्षेत्रमा विनाशकारी लेदोसहितको बाढी जिरोङ बन्दरगाह क्षेत्रमा पसेपछि बिहीबार दिउँसोसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्। व्यापक खोजी र उद्धार कार्य जारी छ। अझै बेपत्ता रहेकाहरूमध्ये २६० जना विदेशी नागरिक छन्। महासचिव सी चिनफिङले आपतकालीन प्रतिकार्य र उद्धार कार्यका सम्बन्धमा महत्त्वपूर्ण निर्देशनहरू जारी गरेका छन्। उनले जनता र उनीहरूको जीवनलाई सबैभन्दा माथि राख्नुपर्नेमा जोड दिएका छन्। उनले बेपत्ताहरूको खोजी र उद्धार गर्न, सकेसम्म हताहतीलाई कम गर्न र दोस्रो विपद्‌बाट जोगाउन हरसम्भव प्रयास गर्न आह्वान गरेका छन्। सीद्वारा खटाइएका चिनियाँ प्रधानमन्त्री ली छ्याङले घटनास्थलमा उद्धार र राहत कार्यको निर्देशन दिन विपद् प्रभावित क्षेत्रको भ्रमण गरे।

जिरोङ बन्दरगाहमा विपद्को प्रहार अगस्ट २६ को बिहान करिब १०:३० बजे उत्तरी नेपालमा भीषण लेदोसहितको बाढी आयो र त्यसले जिरोङ काउन्टीको जिरोङ बन्दरगाह क्षेत्रलाई छिट्टै प्रभावित गर्‍यो, जसले गर्दा ठूलो संख्यामा हताहती र मानिसहरू बेपत्ता भए। चीनले तुरुन्तै आफ्नो आपतकालीन प्रतिकार्य संयन्त्र सक्रिय पार्‍यो, जसमा बेपत्ताहरूको खोजी र उद्धार, प्रभावित बासिन्दाहरूको खोजी र स्थानान्तरण, र दोस्रो विपद्को रोकथामलाई उच्च प्राथमिकता दिइयो।

आपतकालीन व्यवस्थापन मन्त्रालयले तुरुन्तै उद्धार कार्यको समन्वय गर्‍यो, जसमा राष्ट्रिय व्यापक अग्नि तथा उद्धार सेवा, चाइना आनेङ, पावर चाइना र अन्य आपतकालीनप्रतिकार्य बलहरू परिचालन गरियो। अगस्ट २६ को राति ८ बजेसम्म राष्ट्रिय व्यापक अग्नि तथा उद्धार सेवाले ६०१ उद्धारकर्मी र ११३ सवारी साधनहरू विपद् क्षेत्रमा खोजी र उद्धार कुकुरहरू, जीवन-पत्ता लगाउने उपकरणहरू, हावा भरिने उद्धार डुङ्गाहरू र अन्य विशेष उपकरणहरू
सहित पठाएको थियो। साथै, चीनको विपद् रोकथाम, न्यूनीकरण र राहतका लागि राष्ट्रिय आयोग र आपतकालीन व्यवस्थापन मन्त्रालयले विपद् राहतका लागि दोस्रो स्तरको राष्ट्रिय आपतकालीन प्रतिक्रिया सक्रिय गरे र टेन्ट, तताउने चुलो, लुगाफाटा, सिरक, फोल्डिङ बेड र चिसोबाट बच्ने म्याटहरू सहित ३०,००० थान केन्द्र सरकारको राहतसामग्रीहरू तत्काल उपलब्ध गराए।

विपद्को स्तर स्पष्ट हुँदै जाँदा खोजी विस्तार खोजी र प्रमाणीकरण प्रयासहरू विस्तार हुँदै जाँदा, विपद्को स्तर बिस्तारै स्पष्ट हुँदै गयो। अगस्ट २७ को बिहान ८ बजेसम्मउद्धारकर्मीहरूले रेसुओ गाउँका दुई गाउँलेलाई जीवितै फेला पारेका थिए। त्यसबेलासम्म तीन जनाको मृत्यु भएको पुष्टि भएको थियो भने २६० विदेशी नागरिकसहित ५५८ जना बेपत्ता
थिए।

त्यसपछि अपरेसनलाई सुदृढ पार्न व्यावसायिक इन्जिनियरिङ र सैन्य उद्धार बलहरू तैनाथ गरियो। चाइना आनेङले बेइजिङ, ल्हासा, चेङ्दु, चोङकिङ र अन्य स्थानहरूबाट भूविज्ञान,इन्जिनियरिङ र आपतकालीन उद्धारमा ३१० विशेषज्ञहरू परिचालन गर्‍यो। तिनीहरूले ड्रोन, थ्रीडी लेजर स्क्यानर, जीवन-पत्ता लगाउने यन्त्रहरू, एक्काभेटर र लोडरहरू सहित १२०थान विशेष उपकरणहरू ल्याए।

जनमुक्ति सेनाको पश्चिमी थिएटर कमाण्ड र जन सशस्त्र प्रहरी बलले उद्धार कार्यलाई सहयोग गर्न ५०० भन्दा बढी कर्मचारी, चारवटा हेलिकप्टर र धेरै ड्रोन उडानहरू खटाए। प्रयासलाई सुदृढ गर्न १११ कर्मचारी सम्मिलित थप चिनियाँ उद्धार टोली पनि सिगात्से पुग्यो। अगस्ट २७ को दिउँसोसम्म ६८१ अग्नि तथा उद्धारकर्मी, ११३ अग्नि तथा उद्धार सवारी साधन, १३ वटा खोजी तथा उद्धार कुकुर र ४७ वटा ड्रोन प्रभावित क्षेत्रमा
पुगिसकेका थिए। उद्धार टोलीहरूले जीवित र बेपत्ता मानिसहरू पत्ता लगाउन ड्रोन टोली, जीवन-पत्ता लगाउने उपकरण र जमिनमा खोजी कार्यको प्रयोग गरे।

१,३८६ उद्धारकर्मीहरू परिचालन अगस्ट २८ मा उद्धार कार्यहरू तीव्र रूपमा जारी रहे। बिहान ९ बजेसम्म जम्मा १,३८६ उद्धारकर्मी र ५७० भन्दा बढी उपकरणहरू घटनास्थलमाआइपुगेका थिए, जसमा ६८१ अग्नि तथा उद्धारकर्मी र ६१३ केन्द्रीय राज्यको स्वामित्वमा रहेका उद्यमहरूका आपतकालीन प्रतिक्रियाकर्मीहरू समावेश थिए।

जल, जमिन र आकाशबाट समन्वयात्मक अपरेसनहरू सञ्चालन गर्न तीनवटा खोजी र उद्धार टोलीहरू संगठित गरिएका थिए। जलमार्गहरूमा हावा भरिने डुङ्गाहरू परिचालन गरियो, उद्धारकर्मीहरू पैदलै पहुँचयोग्य क्षेत्रहरूमा अगाडि बढे, जबकि ड्रोनहरू हवाई रेकिको लागि प्रयोग गरियो। त्रि-आयामी उद्धार अपरेसन विशेष गरी महत्त्वपूर्ण भएको छ किनभने मुख्य विपद् क्षेत्रमा पुग्ने सडकहरू क्षतिग्रस्त वा अवरुद्ध भएका छन् र बाक्लो हिलोले भारी मेसिनरीहरूको पहुँच अत्यन्तै कठिन बनाएको छ।

तीन प्रमुख चुनौतीहरूले उद्धार कार्यलाई जटिल बनाउँदै ठूलो मात्रामा परिचालन भए तापनि, उद्धारकर्मीहरूले असाधारण रूपमा कठिन परिस्थितिको सामना गरिरहेका छन्।

पहिलो चुनौती भू-बनोट हो। मुख्य विपद् क्षेत्रका केही भागहरूमा हिलोको जम्मा १.५ मिटरभन्दा बढी गहिरो छ। उद्धारकर्मीहरू हिलोमा फस्ने जोखिममा छन्, जबकि एक्काभेटर, लोडर र अन्य भारी मेसिनरीहरू धेरै बिस्तारै मात्र अगाडि बढ्न सक्छन्।

दोस्रो चुनौती अस्थिर भौगोलिक अवस्था र खराब मौसमको संयोजन हो। वरपरका पहाडहरूमा पहिरोको जोखिम कायमै छ, जबकि निरन्तरको वर्षाले थप आकस्मिक बाढी, पहिरो वालेदोसहितको बाढी निम्त्याउन सक्छ। केही ठाउँमा सडकहरू बगाएको छ र तीव्र गतिमा बग्ने नदीहरूले विपद् क्षेत्रको पहुँचलाई थप जटिल बनाएको छ। प्रभावित क्षेत्रमा सञ्चार रविद्युत् आपूर्ति पनि अस्थायी रूपमा अवरुद्ध भएको थियो, जसले गर्दा उद्धार टोलीहरूलाई मुख्य विपद् क्षेत्रका केही भागहरूको अवस्थाको पूर्ण तस्विर प्राप्त गर्न गाह्रो भएको छ।

तेस्रो र बढ्दो गम्भीर चुनौती जिरोङ बन्दरगाहभन्दा माथिल्लो तटमा रहेको पहिरो-थुनिएको ताल हो। जलस्रोत अधिकारीहरूले अनुमान गरेका छन् कि तालमा करिब २० लाख क्युबिक मिटर पानी रहेको छ, र अर्को तीन दिनमा थप करिब ३० लाख क्युबिक मिटर पानी त्यसमा बग्ने अपेक्षा गरिएको छ। ताल ओभरफ्लो हुन थालेको छ, र यसको भौगोलिक संरचना अस्थिर छ, जसले सम्भावित फुट्ने चिन्ता बढाएको छ र तल्लो तटीय क्षेत्रहरूमा सम्भावित खतरा खडा गरेको छ। प्रत्यक्ष पहुँच अत्यधिक खतरनाक भएकाले ड्रोनहरू ताल र वरपरको भू-भागको अनुगमन गर्ने महत्त्वपूर्ण माध्यम बनेका छन्। परिवर्तनशील जोखिमको प्रतिक्रियामा केही उद्धार कार्यहरू अस्थायी रूपमा निलम्बित वा समायोजन गरिएका छन्।

उद्धार र दोस्रो विपद् रोकथाम बीच सन्तुलन पहिरो-थुनिएको तालको उदयले उद्धार कार्यमा नयाँ आयाम थपेको छ। फ्रन्टलाइन कमाण्ड मुख्यालयले आपतकालीन व्यवस्थापन,जलस्रोत, यातायात, भूवैज्ञानिक र अन्य अधिकारीहरू बीच संयुक्त परामर्श सुदृढ गरेको छ। वर्षा, पानीको स्तर, भौगोलिक अवस्था र वरपरका पहाडहरूको स्थिरताको मूल्याङ्कनकाआधारमा उद्धार योजनाहरू गतिशील रूपमा समायोजन भइरहेका छन्।

अपरेसनहरू मुख्य विपद् क्षेत्रको गहिराइमा जाँदा उद्धारकर्मीहरूको सुरक्षा गर्न कडा सुरक्षा-नियन्त्रण उपायहरू पनि लागू गरिएको छ। त्यसैले, उद्धार प्रयास सुरुमा बाँचेकाहरूलाई खोज्ने दौडबाट एक जटिल अपरेसनमा विकसित भएको छ जसले खोजी र उद्धार, भौगोलिक खतराहरू, बाढीको जोखिम, क्षतिग्रस्त पूर्वाधार र हजारौं उद्धारकर्ता र प्रभावित बासिन्दाहरूको सुरक्षालाई एकैसाथ सम्बोधन गर्नुपर्दछ।

सडकहरू पुनः खुले र सयौं बासिन्दा तथा पर्यटकहरूलाई बाहिर निकालियो बेपत्ता मानिसहरूको खोजीका साथसाथै, अधिकारीहरूले विपद् क्षेत्रमा पहुँच पुनर्स्थापित गर्नर प्रभावितहरूलाई आश्रय र सामग्री उपलब्ध गराउन काम गरिरहेका छन्।

यातायात अधिकारीहरूले राष्ट्रिय राजमार्ग जी२१६ को विपद् प्रभावित खण्डमा आपतकालीन मर्मत सुरु गरे। अगस्ट २७ को साँझ ६ बजेसम्म प्रभावित सडकको करिब ८०० मिटर खण्डपुनः खोलिएको थियो। सोही दिन राति ९ बजेसम्म विपद् प्रभावित ४९९ बासिन्दालाई अस्थायी बसोबासको व्यवस्था गरिएको थियो भने ५५५ प्रभावित पर्यटकलाई उद्धार गरिएकोथियो। खाद्यान्न, पाल, सिरक, पिउने पानी, जेनेरेटर र अन्य आपतकालीन सामग्रीहरू विपद् क्षेत्रमा पुग्न जारी छन्। सञ्चार र विद्युत् पूर्वाधारको मर्मत कार्यले पनि चरणबद्ध प्रगति गरेको छ।

उद्धार प्रयासहरू जारी छन् अगस्ट २८ को दिउँसो ३ बजेसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने ५५८ जना अझै बेपत्ता छन्। चिनियाँ अधिकारीहरूले बेपत्ताहरूको खोजीजारी राखेका छन् भने पहिरो-थुनिएको ताल, वर्षा, नदीको अवस्था र वरपरका पहाडहरूको स्थिरतालाई नजिकबाट नियालिरहेका छन्।

साथै, विपद् प्रभावित बासिन्दाहरूलाई उचित बसोबास मिलाउन र प्रभावितहरूका लागि सहयोग र क्षतिपूर्ति सहितका राहत कार्यहरू सञ्चालन गर्ने प्रयासहरू भइरहेका छन्।

अगस्ट २६ को प्रारम्भिक आपतकालीन प्रतिक्रियादेखि अहिले जारी रहेको ठूलो मात्रामा जमिन, जल र हवाई अपरेसनसम्म, उद्धार प्रयास धेरै चरणहरू – द्रुत परिचालन, बाँचेकाहरूको खोजी, विशेष इन्जिनियरिङ र सैन्य बलको तैनाथी, यातायात लिंकहरूको पुनर्स्थापना, आपतकालीन सामग्रीको वितरण र बढ्दो रूपमा दोस्रो विपद्को रोकथाम हुँदैअगाडि बढेको छ। सयौं मानिसहरू अझै बेपत्ता रहेका र भौगोलिक अवस्था अस्थिर रहेकाले जिरोङमा खोजी र उद्धार कार्यहरू अत्यन्त कठिन परिस्थितिमा जारी छन्।

बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब रू ७६ करोड) अनुदान स्वीकृत गरेको छ ।

एडिबीले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त अनुदान रकमबाट खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय, सरसफाइ सामग्री, तथा आपत्कालीन पूर्वाधार निर्माणलगायत काममा सहयोग गरिनेछ ।

एडिबी अध्यक्ष मासातो कान्दाले विपद्का बेला सहयोग पर्खन नसक्ने भन्दै प्रभावित परिवारलाई तत्काल खाद्यान्न, सुरक्षित पानी, आश्रय र औषधि उपलब्ध गराउन अनुदानले सहयोग गर्ने बताउनुभएको छ ।

एडिबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा विकास साझेदारसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काममा सहयोग गरिरहेको जनाएको छ ।

त्यसैगरी, विपद्पछिको आवश्यकता मूल्याङ्कन, पुनःस्थापना योजना र सम्भावित पुनःनिर्माणका लागि थप एक लाख ५० हजार अमेरिकी डलर बराबरको थप सहयोगको प्रक्रिया अघि बढेको पनि एडिबीले जनाएको छ ।

विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भोटेकोशी बाढीबाट उत्पन्न मानवीय सङ्कटपछि सिर्जित अवस्थालाई संयमतापूर्वक व्यवस्थापन गर्न सबैले सहकार्य र समन्वय गर्नुपर्ने बताउनुभएको छ ।

अकल्पनीय विपद्ले पुर्‍याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले यस्तो पीडाको सामना गर्दै उद्धार र पुनःस्थापनामा खटिन सबैलाई एकजुट हुन आह्वान गर्नुभयो ।

उद्धारको पर्खाइमा रहनुभएका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउनेलगायत मानवीय सहयोगमा जुट्न कार्यवाहक प्रमुख डङ्गोलले आग्रह गर्नुभयो ।

सङ्कट व्यवस्थापनमा महानगरपालिका आफ्ना दायित्वप्रति जिम्मेवार रहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि, सामाजिक सङ्घसंस्था, निजी क्षेत्र र आमनागरिकलाई एकीकृत रूपमा परिचालन हुन आग्रह गर्नुभयो ।

“यो दुःखलाई केबल समाचारका रूपमा मात्र हेरेर बस्ने होइन । हाम्रो सानो सहयोगले कसैको जीवन बच्न सक्छ । त्यसैले आफूले जे सकिन्छ, जहाँबाट जसरी सकिन्छ उद्धार, राहत सामग्री, यातायात वा स्वास्थ्य सेवामार्फत सहयोग गर्न म हार्दिक अपिल गर्दछु”, डङ्गोलले भन्नुभएको छ ।

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित र सतर्क रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्दै उहाँले भूगोलले छुट्टिएको भए पनि मानवताको नाताले सबै नेपाली एक हुनुपर्नेमा जोड दिनुभयो ।

कामपा बाढी प्रभावित नागरिकहरूको दुःखबाट उकास्ने कामका लागि प्रतिबद्ध रहेको जनाउँदै उहाँले जीवन बचाउने र आशा जगाउने कार्यमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो ।