स्वास्थ्य मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्यसम्पन्न
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय पुलअन्तर्गत नयाँ थप ९७७ दरबन्दी स्वीकृत भएको जानकारी दिनुभयो ।
अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसँगै मन्त्रालयमा अब एक हजार ८०८ दरबन्दी कायम गरिएको उहाँले बताउनुभयो । उहाँले प्राप्त भएका यी स्वीकृत दरबन्दीमा अब छिट्टै लोकसेवा आयोगबाट चरणबद्ध रुपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।
सहप्रवक्ता डा अधिकारीअनुसार थप गरिएका नयाँ दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ ।
सिएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो सङ्ख्यामा दरबन्दी खुल्ने उहाँको भनाइ छ ।
