`

भुटानी शरणार्थी ठगी प्रकरणमा टोपबहादुर रायमाझी दोषी, ४ वर्ष कैद

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने गरी जिल्ला अदालत काठमाडौंले सजाय निर्धारण गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार सजाय निर्धारण गर्दै रायमाझीलाई विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय तोकेको हो।

अदालतले ठगी कसुरमा २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना, राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना तथा सोही कसुरअन्तर्गत थप ६ महिना कैद सजाय तोकेको छ।

विभिन्न कसुरमा तोकिएको सजायलाई एकीकृत गर्दा रायमाझीले ४ वर्ष कैद भोग्नुपर्ने र ४० हजार रुपैयाँ जरिबाना तिर्नुपर्ने अदालतको आदेश छ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई ठगी गरिएको बहुचर्चित प्रकरणमा रायमाझीसहित उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्तिविरुद्ध मुद्दा दायर भएको थियो।

मधेस प्रदेशसभा बैठकः प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम। मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३ माथि छलफल सुरु भएको छ ।मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लगायतका विषयमा देखिएका समस्या समाधान गर्न प्रदेशसभाद्वारा गठित कार्यदलले दिएको १० बुँद्धे सुझावसहितको प्रतिवेदनलाई प्रदेश सरकारले विनियोजन विधेयकको अङ्कका रुपमा स्वीकारेपछि प्रदेशसभामा विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो ।

बजेट पूर्वाग्रही र त्रुटीपूर्ण रहेको भन्दै प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधन नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने अडान राख्दै आएको थियो । यही असार २८ गते बसेको प्रदेशसभा बैठकबाट बजेटलगायतमा देखिएका समस्या समाधान गर्न गठित सात सदस्यीय कार्यदलले आजको प्रदेशसभा बैठकमा बजेटमा देखिएको कमीकमजोरी सच्याउन बिभिन्न १० बुँद्धे सुझावसहितको प्रतिवेदन पेस गरेको थियो ।

बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले कार्यदलको प्रतिवेदनलाई सरकारले स्वीकार गरेको र यसलाई विनियोजन विधेयकको अङ्गका रुपमा ग्रहण गरेको घोषणा गरेपछि प्रदेश विनियोजन विधेयकमाथिको छलफल सुरु भएको हो ।

आजको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी थारु, चन्दन सिंह, अनिताकुमारी साह, ललिता दास र सुरिताकुमारी साहले प्रदेश विनियोजन विधेयकका विषयमा आ–आफ्ना सुझावहरु राख्नुभयो ।

प्रदेशसभाको भोली बिहान ८ः०० बजे बस्ने बैठकमा प्रदेश विनियोजन विधेयकमाथि छलफल जारी रहने सभामुख रामअशिष यादवले बताउनुभयो । आजको बैठकमा सिरहाको गोलबजार नगरपालिकामा खाल्डोमा डुबेर तीन बालबालिकाको मृत्यु भएको घटनाको विषयलाई प्रदेशसभा सदस्यहरुले उठाएको विषयमा सभामुख यादवले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य प्रमोदकुमार यादवले प्रस्तुत गर्नुभएको प्रदेशसभा नियमावली २०८२ को नियम १४१ निलम्बन गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको सभामुख यादवले घोषणा गर्नुभयो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले असार १ गते प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

पूर्वसचिव डा जोशीको निधन

काठमाडौँ। नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ ।उहाँ केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित हुनहुन्थ्यो । काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार हुनुहुन्थ्यो ।

सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाउनुभएका डा जोशी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आवद्ध हुनुहुन्थ्यो ।

पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपाललगायतका पुस्तक लेख्नुभएको छ ।

विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल

काठमाडौँ। विपद्को समयमा नागरिकसम्म पूर्वसूचना छिटो, भरपर्दो र प्रभावकारी ढङ्गले पु¥याउने उद्देश्यले सूचना तथा सञ्चार मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग विपद् आपतकालीन पूर्वसूचना तथा प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिताबारे छलफल गरेको छ ।

मन्त्रालयमा आज आयोजित छलफलमा विपद्को पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सेल ब्रोडकास्ट’ जस्ता आधुनिक प्रविधिको कार्यान्वयन, नवीनतम प्रविधि, बजेट, जनशक्ति, कानुनी व्यवस्था तथा संस्थागत समन्वयका विषयमा विस्तृत विमर्श भएको हो ।

छलफलमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हाल सञ्चालनमा रहेको विपद् पूर्वसूचना प्रणालीको अवस्थाबारे जानकारी लिनुहुँदै अहिलेको प्रणालीलाई अझ प्रभावकारी बनाउन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई आवश्यक निर्देशन दिनुभयो । उहाँले विपद्को समयमा नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण भएकाले पूर्वसूचना प्रणालीलाई विश्वसनीय, द्रुत र प्रविधिमैत्री बनाउनु सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

छलफलमा सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, नेपाल टेलिकम, एनसेल तथा अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विपद्को समयमा कुनै निश्चित क्षेत्रमा रहेका सबै नागरिकसम्म एकैपटक सूचना पु¥याउन ‘सेल ब्रोडकास्ट’ प्रणाली उपयुक्त हुन सक्ने भएकाले यसलाई कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको विषय छलफलमा उठेको थियो । साथै यो प्रणाली कार्यान्वयन गर्न मोबाइल नम्बर वा सिमकार्डको विवरण आवश्यक नपर्ने तथा कुनै निश्चित भौगोलिक क्षेत्रमा सक्रिय रहेका सबै मोबाइल उपकरणमा एकैसाथ वास्तविक समयमा चेतावनी सन्देश पठाउन सकिने विशेषता रहने भएकाले यस्तो प्रविधि नेपालका लागि उपयुक्त हुने सुझाव छलफलका क्रममा आएका छन् ।

छलफलमा सहभागीहरूले अहिले जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो तथा भारी वर्षाका जोखिम भएका क्षेत्रमा एसएमएसमार्फत पूर्वसूचना पठाउँदै आएको जानकारी दिँदै भविष्यमा डढेलो, भूकम्प, हिमपहिरो, चट्याङ, औद्योगिक दुर्घटना तथा अन्य सबै प्रकारका विपद्का लागि समेत एउटै एकीकृत पूर्वसूचना प्रणाली आवश्यक रहेको औँल्याएका थिए । उक्त प्रणाली प्रभावकारी बनाउन विपद्सम्बन्धी सूचना समयमै सङ्कलन गर्ने, अद्यावधिक गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायबीच तत्काल समन्वय गरी नागरिकसम्म सूचना पुर्याउने संयन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

छलफलमा सुरक्षा निकायहरूले आफूहरूसँग तहगत रूपमा सञ्चालनमा रहेका सूचना प्रणालीलाई नागरिकसम्म पुग्ने सार्वजनिक सूचना प्रणालीसँग जोडेर अझ प्रभावकारी बनाउन सकिने सुझाव दिएका थिए । त्यस्तै, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिले विभागले प्रत्येक वर्ष करिब दुई करोड विपद्सम्बन्धी एसएमएस सूचना नागरिकसम्म पठाउने गरेको जानकारी गराउँदै हालको प्रणालीलाई थप आधुनिक बनाउनु आवश्यक रहेको धारणा राखेका थिए । बहुविपद् पूर्वसूचना प्रणाली तथा संयुक्त राष्ट्रसङ्घले अघि बढाएको ‘अर्ली वार्निङ्स फर अल’ मापदण्डलाई समेत नेपालमा उपयोग गर्न सकिने सुझाव आएका छन् ।

छलफलमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि तयार पारेको अध्ययन प्रतिवेदनमा समेटिएका सिफारिस कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो । हाल परिमार्जनको क्रममा रहेको दूरसञ्चार ऐनमा ती सिफारिस समेटेर कानुनी तथा नीतिगत आधार तयार गर्न सकिने सुझाव पनि सहभागीबाट आएका थिए ।

यसैगरी ‘सेल ब्रोडकास्ट’ प्रणाली कार्यान्वयनका लागि कुन निकाय प्रमुख जिम्मेवार हुने, आवश्यक बजेटको स्रोत, संस्थागत संरचना, प्राविधिक पूर्वाधार, दक्ष जनशक्ति तथा सञ्चालन मोडालिटीका विषयमा थप अध्ययन गर्ने बारे पनि छलफल भएको छ ।

भोलिदेखि भरी सिलिन्डर ग्यास पाइने

बुधबारदेखि भरी सिलिन्डर पाइने भएको छ। नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जनाएको छ। बुधबारदेखि साविकै १४.२ केजीको सिलिन्डर विक्री हुने भएको छ।

यसअघि ७.१ केजीको ग्यास विक्री हुँदै आएको थियो। आयल निगमले भरी सिलिन्डरको दुई हजार ६० रुपैयाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरी सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ।

डा. रुद्रनाथ अधिकारीको अर्को सशक्त सृजना ‘या लिएर आउ’को भिडियो रिलिज

काठमाडौं। राष्ट्रिय पुरस्कारबाट सम्मानित साहित्यकार, लेखक तथा गीतकार डा. रुद्रनाथ अधिकारीको नयाँ गीत ‘या लिएर आउ’ सार्वजनिक भएको छ। डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतमा गायक निशान भट्टराईको स्वर रहेको छ।
राजदरबारको कथावस्तुमा आधारित यस गीतले प्रेम, विरह, समर्पण, त्याग तथा मानवीय संवेदनालाई साहित्यिक गहिराइका साथ प्रस्तुत गरेको छ। प्रभावशाली शब्द, भावपूर्ण प्रस्तुति र जीवन्त अभिनयले गीतलाई थप आकर्षक बनाएको छ। गीतका शब्द तथा रचना डा. रुद्रनाथ अधिकारीकै हुन् भने संगीत एआर रिमेश थापाका हुन् । बिक्रम बुढाथोकी, दिनेश विष्ट, बिना राउत र संगीता शाहीको अभिनय रहेको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ ।

भिडियोको निर्देशन दिनेश विष्टले गरेका हुन् । जसमा मिन रावलको कलर, दीपक देउवाको सम्पादन तथा सलिनाराज भण्डारीको कोरियोग्राफी रहेको छ । सार्ववजनिक गीतका गीतकार डा अधिकारी नेपाली साहित्य, संस्कृति र गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुन् । उनका थुप्रै साहित्यिक कृति तथा गीतहरू प्रकाशित भइसकेका छन्। समाज, संस्कृति, इतिहास र मानवीय जीवनका विविध आयामलाई समेट्ने उहाँका सिर्जनाले पाठक तथा श्रोतामाझ छुट्टै पहिचान बनाएका छन्।

हालै सम्पन्न राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड २०२६ मा डा. अधिकारीद्वारा रचित ‘आमा’ गीतका लागि उहाँ वर्षको सर्वोत्कृष्ट गीतकार (पुरुष, सुगम संगीत) सम्मानबाट सम्मानित भएका थिए । उक्त उपलब्धिले उनको सिर्जनात्मक योगदानलाई राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ। गीत सार्वजनिक भएपछि डा. अधिकारीले आफ्नो साहित्यिक यात्रा अझ सशक्त रूपमा निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले राठे (लोक) गीत, प्रेमिल गीत, चेतनामूलक गीत, सामाजिक सन्देश बोकेका गीत तथा साहित्यका विविध विधामार्फत समाजलाई सकारात्मक दिशा दिने र नेपाली भाषा, साहित्य तथा मौलिक संस्कृतिको संरक्षणमा आफ्नो कलमलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त व्यक्त गरेका छन् । ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’, ‘मदहोस’, ‘आमा’, ‘अब अत्ति भइसक्यो जागौँ’लगायत उनका दर्जन बढी गीत श्रोतारदर्शकमाझ आएका छन् । जीवनका विभिन्न भोगाइ र नियतिले परिपूर्ण रहेका उत्कृष्ट रचनाहरूसँग रम्न रुचाउने प्रकृतिप्रेमी डाक्टर अधिकारी धार्मिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा पनि राम्रो दखल राख्छन् ।

खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलीकोप्टर उपलब्ध गराउने

काठमाडौँ। विपद्मा परेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि प्रयोग हुने गरी निजी क्षेत्रले हेलीकोप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

वायुसेवा सञ्चालक सङ्घ, नेपालसँगको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नुपरेमा निःशुल्क उपलब्ध गराउने र उपत्यकाबाहिर उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।

यसैगरी नेपाल ड्रोन सङ्घसँगको समझदारीअनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत्सम्बन्धी उपकरण (पाईलटसहित) उपलब्ध गराउनु पर्नेछ। सो कार्यमा खटिने सदस्यहरुको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ ।

नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखेर माग गरेमा नाराले निःशुल्क रुपमा राफ्ट र तत्सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने उल्लेख छ ।

राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ। यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनःनवीकरण गर्न सकिनेसमेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले विपद्का बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य तथा समन्वय जरुरी हुने बताउनुभयो । उहाँले सबैको हातेमालोबाट मात्रै विपद्लाई पार लगाउन सकिने जिकिर गर्दै निजी क्षेत्रको सेवा भावप्रति आभार व्यक्त गर्नुभयो ।

यसैगरी वायुसेवा सञ्चालक सङ्घ, नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन सङ्घका अध्यक्ष राजविक्रम महर्जन र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज् (नारा) का निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षाका लागि आफूहरुले सकेको मद्दत गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका उपसचिव फणिन्द्रप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधिहरुको उपस्थिति थियो ।

ऋण उठाउन राज्य कठोर बन्छ, बचत फिर्ता सुनिश्चित गरिन्छ : बानियाँ

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनःसञ्चालनमा आउने वातावरण तयार गरिने बताउनुभएको छ ।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा आज यहाँ आयोजित समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बचत फिर्ता कार्यक्रममा उहाँले हालको समस्या समाधान भएपछि नयाँ समिति गठन गरी हस्तान्तरण गर्न सकिने बताउनुभएको हो।

सहकारीमा बचत गरेका सबैको बचतको सुरक्षा गर्ने कार्यमा ध्यान दिइरहेको बताउँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो,“अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्छौँ, ऋणीको समस्या सुन्छौँ, ऋण तिर्ने वातावरण तयार हुनुपर्छ, यसका लागि राज्य कठोर हुन्छ ।”

उहाँले महिलाले सञ्चालन गरेका सहकारी, कृषि सहकारी, केही बचत तथा ऋण सहकारी राम्रोसँग चलेको बताउनुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयो, “मन र बचनले जनताको हितमा काम गर्ने हो, बेइमानी गर्ने सहकारी सञ्चालकलाई कानुन बमोजिम कारबाही हुन्छ, ऋण उठ्ने आधारमा प्रभावकारी कदम चालिन्छ, पैसा तिर्ने मनस्थिति बनाउने ऋणीहरूलाई सहयोग गर्न तत्पर छौँ ।”

त्यस अवसरमा उहाँले पाँच वटा समस्याग्रस्त सहकारीको १० हजारदेखि ५० हजारसम्म फिर्ता गरेर आशा जगाउने प्रयास गरेको बताउनुभयो ।

साना नदीमा बहाव बढ्ने चेतावनी, ४४ जिल्ला उच्च निगरानीमा

काठमाडौँ। आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडाैँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भइ बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ। बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सात प्रदेशका साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

एकैदिन ७३ प्राकृतिक प्रकोपका घटनाः दुई जनाको मृत्यु, एक बेपत्ता

काठमाडौँ । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७३ वटा प्राकृतिक प्रकोपका घटना दर्ता हुँदा दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्मको अवधिमा भएका घटनामा बाढी, पहिरो, सर्पदंश, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना समावेश छन् । प्राधिकरणको तथ्याङ्कअनुसार उक्त अवधिमा पहिरोका ४० घटना दर्ता भएका छन्, जसबाट २६ जिल्ला प्रभावित बनेका छन् । पहिरोका कारण दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले घट्टमा पीठो पिस्न जाँदा पहिरोमा पुरिएर कालीकोटस्थित सान्नीत्रिवेणी–६ धाँमीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको मृत्यु भएको जानकारी दिइन् ।

यस्तै बाढीका १४ घटनाले १० जिल्ला प्रभावित भएका छन् । बाढीका कारण एक जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । मकवानपुर जिल्लामा बाढीका कारण एक जना स्कुटरसहित बेपत्ता भएको प्रवक्ता महतले बताइन्। त्यसैगरी, अविरल वर्षाका १२ घटनाबाट आठ जिल्ला प्रभावित भएका छन् । सर्पदंशका चार, आगलागीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना दर्ता भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश स्थानमा भारी वर्षा भएको जनाएको छ । विभागका अनुसार देशभर रहेका ३८० वर्षा मापन केन्द्रमध्ये २७८ केन्द्रमा वर्षाको रेकर्ड गरिएको छ । तीमध्ये ८३ केन्द्र मानव सञ्चालित र २९७ केन्द्र स्वचालित रहेका छन् ।

गत २४ घण्टामा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा सबैभन्दा बढी ३१९.८ मिलीलिटर वर्षा मापन भएको विभागले जनाएको छ । सो केन्द्र आसपासका तीन स्थानमा २०० मिलीलिटरभन्दा बढी वर्षा भएको छ ।

विभागका अनुसार देशभर २६ वटा केन्द्रमा १०० मिलीलिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ । निरन्तर वर्षासँगै नदी तथा खोलामा बहाव बढ्ने, पहिरो खस्ने तथा सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।

अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित

नवलपरासी । लगातारको वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिरो र डुबानका घटना बढेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै नौ घरमा पानी पसेपछि ३५ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार गैँडाकोट नगरपालिका–४ डनचोक क्षेत्रमा जङ्गलबाट आएको बाढी र नालीको पानी घरमा पस्दा नौ घरमा क्षति पुगेको छ । तीमध्ये आठ घरका ३५ जना स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।

घटनामा मानवीय तथा चौपायाको क्षति नभए पनि थप क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

गैँडाकोट नगरपालिका–१५ मा वडाध्यक्ष प्रेमराज तिमिल्सिनाको घरको तल्लो तलामा वर्षाको पानी र नालीको पानी पस्दा करिब २० क्विन्टल धान तथा लत्ताकपडा भिजेको छ । सोही क्षेत्रमा स्थानीय सुदीप रानाभाटको घरमा पनि पानी पस्दा लत्ताकपडा भिजेको भए पनि मानवीय क्षति वा विस्थापन भएको छैन । अस्थायी प्रहरीपोस्ट बेल्डिहाबाट प्रहरी टोली परिचालन गरी आवश्यक समन्वय गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

गैँडाकोट नगरपालिका–३ चिसापानी नजिक कालीगण्डकी करिडोर सडकखण्डमा सोमबार राति अविरल वर्षापछि माथिबाट पहिरो खस्नुका साथै सिसौ र सालका रुख ढलेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी टोली घटनास्थलमा खटिई सडक खुलाउने समन्वय भइरहेको जनाइएको छ ।

यसअघि हुप्सेकोट गाउँपालिका–४ र ५ को सिमानामा रहेको रातेखोलामा पानीको बहाव बढ्दा रुम्झाटार जाने भित्री सडक अवरुद्ध भएको थियो । साथै, हुप्सेकोट गाउँपालिका–६ बाडाखोलामा पहिरो खस्दा झ्यालवासदेखि वडा नं ६ कार्यालय जाने भित्री सडकसमेत अवरुद्ध भएको छ । दुवै स्थानमा प्रहरी तथा स्थानीय तहको समन्वयमा सडक खुलाउने प्रयास जारी छ ।

अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरोधका घटना देखिएको बताउँदै प्रहरी उपरीक्षक खड्काले प्रभावित क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। वर्षा निरन्तर भइरहेकाले जिल्लाका नदी किनार, पहाडी सडक तथा जोखिमयुक्त बस्तीमा निगरानी बढाइएको छ ।

मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

उनका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आव २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।

यही असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आव २०८३÷८४ का लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५०, आलु रातो (मुढे) प्रतिकिलो रु ४८, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ८०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ३५ र भन्टा डल्लो प्रतिकिलो रु ४५ कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ६०, मकै बोडी प्रतिकिलो रु८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो प्रतिकिलो रु १००, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रूखकटहर प्रतिकिलो रु ५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ७०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा

रामेछाप । रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो ।

राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका ९होल्ड गरिएका० सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पु¥याएको थियो। बाढीबाट क्षतिग्रस्त राजमार्गको पुनर्निर्माण कार्य अहिले जारी रहेको छ ।

हाल खोलामा डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको छ । अस्थायी डाइभर्सनबाट यातायात सञ्चालन भइरहेकाले खोलामा पानीको सतह बढ्ने बित्तिकै सुरक्षाका कारण सवारी आवागमन बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ ।वर्षायाममा रोशी खोलाको बहाव जुनसुकै समयमा बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न तथा प्रहरी र सम्बन्धित निकायको निर्देशन पालना गर्नसमेत अनुरोध गरिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा.वाग्लेले नियुक्तिपत्र प्रदान गरे । नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।

उनले नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता एवं अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे ।स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन् । उनको यो नियुक्ति अवैतनिक हो ।

सार्वजनिक जग्गा संरक्षणमा सक्रिय पोखरा महानगर

गण्डकी। पोखरा महानगरपालिकाले सोमबार पोखरा सभागृहमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा पोखरा बसपार्क, फिर्के खोलालगायत क्षेत्रका सार्वजनिक जग्गालाई अतिक्रमणमुक्त बनाउन महानगरले खेलेको भूमिकाले चर्चा पायो ।

प्रश्नकर्ताले महानगरसँग सम्बन्धित कतिपय विषयमा गुनासा राखे पनि सार्वजनिक जग्गा संरक्षणमा महानगरको नेतृत्वले लिएको पहलकदमीको भने प्रशंसा गरे ।

महानगरपालिकाले हालैमात्र पोखरा बसपार्क, अमरसिँहचोक र फिर्के खोलाको अतिक्रमित जग्गा खाली गराएको थियो । सबैको सहयोग र समर्थनमा महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाएको थियो ।

कार्यक्रममा पोखराका अन्य क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाबारे उठेका प्रश्नको जवाफ दिँदै महानगर प्रमुख धनराज आचार्यले किन्तु परन्तु भनेर सार्वजनिक जग्गा संरक्षणको अभियानबाट महानगर पछाडि नहट्ने बताउनुभयो ।

“केही समय भित्रै महानगरले पोखरामा रहेको सार्वजनिक जग्गाको लगत विवरण सार्वजनिक गर्छ, वनक्षेत्रसमेत गरी झण्डै ८१ हजार रोपनी सार्वजनिक जग्गा रहेको प्रारम्भिक अनुमान छ”, उहाँले भन्नुभयो, “सार्वजनिक जग्गा यकीन गर्दा यदि कसैले जग्गा अतिक्रमण गरेको पाइएमा जग्गा खाली गर्न सूचित गर्छौं, सम्बन्धितले खाली नगरेमा प्रक्रियाअनुसार महानगर आफँैले अतिक्रमण हटाउँछ, यसमा कुनै सम्झौता हुँदैन ।” कुनैबेला पाटन र चौरका नामले चिनिने पोखरामा अहिले खुला ठाउँ देख्न पनि मुस्किल हुन थालिसकेको उहाँको भनाइ थियो ।

प्रमुख आचार्यले महानगरका ३३ वटै वडामा खेलमैदान र उद्यान निर्माणको योजना अगाडि सारिएको सुनाउनुभयो । उहाँले फिर्के खोलाको खोलाघरभित्र निर्माण गरिएका १६० वटा संरचना हटाइसकिएको र अझै केही संरचना हट्न बाँकी रहेको बताउनुभयो ।

अँधेरी कुनादेखि गाईघाटसम्मको आठ किलोमिटरमा समेटिएको फिर्के खोलाको किनारमा पैदलमार्ग र साइकलमार्गसहितको आकर्षक करिडोर बनाउने महानगरको योजना छ । प्रमुख आचार्यले पोखरा बसपार्कमा बसोबास गर्दै आएका सुकुमवासीको उचित व्यवस्थापनपछि बसपार्क निर्माणको काम सुरु हुने जानकारी दिनुभयो ।

कार्यक्रमका सहभागीहरुले बसपार्कका लागि अधिग्रहण गरिएको १८७ रोपनी जग्गाकै बसपार्क बनाउनुपर्ने सुझाव दिएका थिए । प्रमुख आचार्यले बसपार्क क्षेत्रमा कतिपयको व्यक्तिगत जग्गा भएकाले तिनलाई मुआब्जा दिएर अन्यत्र व्यवस्थापन गर्न सकिएमा सबै क्षेत्रमा बसपार्क बन्ने बताउनुभयो ।

“व्यक्तिको लालपुर्जा भएको जग्गालाई मुआब्जा दिन नसकिने अवस्थामा अहिले रहेकै ठाउँमा व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “बसपार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ, अतिक्रमित जग्गा सबै खाली गरेर बसपार्क बनाउँछौँ ।”

पोखरा–१ स्थित टुँडीखेलको जग्गा पनि यकीन गर्ने काम छिट्टै सुरु गरिने उहाँले बताउनुभयो । सडक, राजकुलो, चौरलगायत जुनसुकै सार्वजनिक जग्गा अतिक्रमण गर्नु कानुनविपरीत हुने उहाँको भनाइ छ । यदि कसैले त्यस्तो जग्गामा मिचेर निजी संरचना, व्यवसाय सञ्चालन गरेको भए पनि आफँै जग्गा खाली गर्न प्रमुख आचार्यले आग्रह गर्नुभयो ।

प्रश्नकर्ताले महानगरको सेवा प्रवाह, विकास निर्माणका गतिविधि आदिका विषयमा प्रश्न उठाएका थिए । भूपेन्द्र गिरीले राम्रो काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्नुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक ठाउँमा उद्यान निर्माण गर्न महानगरलाई सुझाव दिनुभयो ।

स्थानीवासीले भरत चालिसेले फिर्के खोलाको मापदण्ड कायम हुनुपर्ने बताउनुभयो । उहाँले पोखरामा रहेका राजकुलो र नहरको जग्गा पनि अतिक्रमणमा परेको भन्दै तिनको संरक्षण गर्न माग गर्नुभयो । अर्का सहभागी प्रभात कँडेलले सार्वजनिक जग्गा मिचेर रिसोर्ट बनाउनेलाई महानगरले बेवास्था गरेको उल्लेख गर्दै कानुन सबैका लागि समान रुपमा लागू हुनुपर्ने बताउनुभयो ।

पोखरा–१ का चन्द्रबहादुर गुरुङले १८७ रोपनी जग्गामै पोखरा बसपार्क बन्नुपर्ने धारणा राख्नुभयो । यस्तै, अशोक राईले सुकुमवासीको उचित व्यवस्थापन गरेर मात्र बसपार्कको निर्माणका प्रक्रिया सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रविण सुवेदी, किशोर भण्डारीलगायत सहभागीहरुले महानगरको कार्यसम्पादन, सेवा प्रवाह आदिका विषयमा प्रश्न रोखका थिए । प्रमुख आचार्यसहित जवाफदेहीका तर्फबाट सहभागीका प्रश्न र गुनासा सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको थियो ।

भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

कञ्चनपुर। डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ ।कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् ।

नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि कठिन जीवन बिताउन बाध्य छन् । करिब ५० परिवार बसोबास गर्ने पलगडी गाउँमा अझै मोटर बाटो पुगेको छैन ।

गाउँ पुग्ने एकमात्र माध्यम पैदल यात्रा हो । स्थानीयका अनुसार झलारी बजारबाट गाउँ पुग्न करिब छ घण्टा उकालो–ओरालो, खोला र जङ्गल पार गर्नुपर्छ । वर्षायाममा यो बाटो अझ जोखिमपूर्ण बन्छ । पहिरो, हिलो र चिप्लोका कारण यात्रा निकै कठिन हुन्छ । बाढीले पनि स्थानीयको दैनिक जीवन थप कष्टकर बनाउने गरेको छ । यो उनीहरूको नियमित दैनिकी जस्तै बनेको छ ।

गाउँमा कोही बिरामी परेका अवस्थामा झन् कठिन हुन्छ । एम्बुलेन्स त परको कुरा, स्ट्रेचरसमेत पुग्न सक्दैन । त्यसैले बिरामीलाई डोको वा पिठ्युँमा बोकेर करिब छ घण्टा पैदल हिँडेर कञ्चनपुरको झलारी वा अन्य स्वास्थ्य संस्थासम्म लैजानुपर्छ । स्थानीय हरिश कुँवर भन्नुहुन्छ, “गाउँसम्म सडक छैन । बिरामीलाई पिठ्युँमा बोकेर हिँडाउनुपर्छ । बाटोमै ज्यान जाने डर हुन्छ । अर्को विकल्प पनि छैन ।”

शिक्षाको अवस्था पनि उस्तै चुनौतीपूर्ण छ । गाउँमा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय छ । माध्यमिक शिक्षा पढ्न बालबालिकाले दैनिक चार घण्टासम्म पैदल हिँडेर आलितालको दोबाटा पुग्नुपर्छ । लामो यात्रा, वर्षायामको जोखिम र आर्थिक अभावका कारण धेरै विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् ।

गाउँमा आधारभूत स्वास्थ्य चौकी पनि छैन । सामान्य बिरामी हुँदा झारफुक वा घरेलु उपचारमै भरपर्नुपर्ने अवस्था छ । दैनिक उपभोगका सामग्री किन्न पनि पलगडीका बासिन्दा कञ्चनपुरको झलारी बजार जानुपर्छ । खाद्यान्न, लत्ताकपडा, औषधि र अन्य आवश्यक सामग्री पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय मोहनबहादुर ऐर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “किनमेल गर्न झलारी पुग्नुपर्छ । सामान किनेर फेरि पिठ्युँमा बोकेर गाउँ ल्याउनुपर्छ । वर्षायाममा धारापानी खोलामा बाढी आउँछ । जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि घर पुग्न खोला तर्नैपर्छ ।”

उहाँका अनुसार धारापानी खोलामा पुल नहुँदा हरेक वर्ष स्थानीयले जोखिम मोल्नुपरेको छ । एउटै खोला तीन–चार ठाउँबाट तर्नुपर्ने अवस्था छ । तीन वर्षअघि गाउँकै एक जना स्थानीय खोला तर्ने क्रममा बगेर ज्यान गुमाएका थिए । त्यो घटना अझै गाउँलेको सम्झनामा ताजै छ । ऐर भन्नुहुन्छ, “सडक र पुल बने हाम्रो जीवन धेरै सहज हुन्थ्यो । तर कहिले बन्ला भन्ने आशामै बसेका छौँ ।”

स्थानीय गीता कुँवरका अनुसार वर्षायाम सुरु भएपछि गाउँ बाहिर निस्कन पनि डर लाग्छ । उहाँ भन्नुहुन्छ, “बाटोमा हिँड्दा कुनबेला पहिरो झर्छ, कुनबेला खोला बढ्छ भन्ने थाहा हुँदैन । सडक छैन, सुरक्षित बाटो छैन । हरेक यात्रा जोखिमपूर्ण हुन्छ ।”

कठिन भौगोलिक अवस्थाका बीच यहाँका अधिकांश परिवार बाख्रापालन र कृषिमा निर्भर छन् । केही युवा रोजगारीका लागि भारत तथा अन्य ठाउँमा मजदुरी गर्न जाने गरेका छन् । गाउँमा उत्पादन भएका खसीबोका बिक्री गरेर घरखर्च चलाउने परिवार पनि धेरै छन् । सडक नहुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ ।

स्थानीय रतनबहादुर साउदका अनुसार गाउँमा बिजुली पुगेको छैन । त्यसैले सौर्य ऊर्जामा भर पर्नुपरेको छ । सञ्चार सेवा पनि कमजोर छ । मोबाइलको नेटवर्क कहिलेकाहीँ मात्र लाग्ने भएकाले आपतकालीन अवस्थामा सूचना आदानप्रदान गर्न कठिन हुन्छ । स्थानीयले पिठ्युँमा बोकेर विद्युत्का खम्बा गाउँसम्म पु¥याएका छन् । तर खम्बा गाड्ने र तार तान्ने काम अझै भएको छैन ।

वर्षौंदेखि स्थानीयले सडक, पुल, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय र विद्युत् विस्तारको माग गर्दै आएका छन् । तर त्यसमा खासै प्रगति हुन सकेको छैन । साउद भन्नुहुन्छ, “पलगडीको विकासका लागि सबैभन्दा पहिले सडक चाहिन्छ ।

सडक पुगेपछि स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, कृषि र बजारसँगको पहुँच आफैँ विस्तार हुन्छ ।” विकासको उज्यालोबाट टाढा रहेको पलगडी गाउँ आज पनि सडक, पुल, स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको पर्खाइमा छ ।

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखा। समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ ।कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ ।

कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उहाँको भनाइ छ । कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्नसक्ने कृषि प्राविधिकको अनुमान छ ।

जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन् । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धानखेती हुँदैन ।

बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

काठमाडौँ। बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।

समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको अधिकतम रु एक लाखसम्मको बचत रकम फिर्ता गर्न लागिएको समितिका सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ललितपुरको जवलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता शुभारम्भ गर्नुहुनेछ । केही दिनअघि मुख्यमन्त्री बानियाँको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको थियो ।

यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्नेगरी तयारी भइरहेको समिति सदस्य ढकालले राससलाई जानकारी दिनुभयो । समितिले बचतकर्ताको विवरण ‘भेरिफाइड’ गर्ने काम सम्पन्न गरेको छ ।

बचतकर्तालाई रकम फिर्ता गर्न करिब रु नौ करोड जम्मा भइसकेको छ । समितिले सिभिल, सुमेरु, लालीगुराँस र नमोबुद्ध सहकारीका बचतकर्ताका रु एक लाखसम्म तथा दर्शन सहकारीका बचतकर्तालाई रु १० हजारसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ । यससँगै पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ताले रकम फिर्ता पाउने समितिका सदस्य ढकालले जानकारी दिनुभयो ।

समितिले गत जेठ २२ गते समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक प्रतिवेदन आ.व. २०८१÷०८२’ पेस गर्ने, ‘न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०८१÷०८२ पेस गने र ‘लोक सेवा आयोगको धैयसट्टीसौ वार्षिक प्रतिवेदन (२०८१ श्रावण २०८२ आषाढ)’ पेस गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री डा.मा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘राष्ट्रिय सेवा दल विधेयक, २०६३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सन्धीमाथि छलफल र अनुमोदन युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ लाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

पर्वत – पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ ।

दुई दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढेपछि शालिग्राम शिला डुबानमा परेको हो । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमास्थलसमेत डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी दिए । उनका अनुसार कालीगण्डकीको बहाव बढेपछि शालिग्राम शिला डुबानमा परेको हो ।

निरन्तर वर्षाका कारण कालीगण्डकी र सेतीखोलामा पानीको सतह ह्वात्तै बढेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् भने नियमित पूजापाठ र दर्शन गर्न आउने भक्तजन पनि शालिग्राम शिलाको दर्शन गर्नबाट वञ्चित भएका छन् ।

सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव र कालीगण्डकीको उच्च बहावका कारण शिला परिक्रमास्थलसमेत पूर्णरूपमा क्षतविक्षत बनेको स्थानीय तिलक पराजुलीले बताउनुभयो। उहाँले शिला क्षेत्र डुबानमा परे पनि बस्तीमा भने तत्काल कुनै खतरा नरहेको जानकारी दिए ।

पवित्र शालिग्राम शिलासँगै शालिग्राम क्षेत्रका सत्तललगायतका सबै संरचना डुबानमा परेका छन्। शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबियन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइएको छ ।

कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सीमामा पर्ने सेतीवेणी बजार डुबानको जोखिममा पर्ने गरेको छ । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीवेणी बजार डुबानमा पर्ने चिन्ताले पर्वततर्फको बजार क्षेत्र र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजार क्षेत्रका झण्डै दुई सय व्यापारी तथा सर्वसाधारण त्रसित बन्ने गरेका छन् ।

दुई वर्षअघि साउनमा आएको बाढी बजारसम्म पुग्दा एक घर भत्किएका थियो भने आधा दर्जन घर विस्थापित भएका थिए । कालीगण्डकी नदीको बहाव परिवर्तन नगरेसम्म जोखिम कायम रहने गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए।

आज देशका यी प्रदेशमा ठुलो पानी पर्ने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी प्रदेशमा अधिकांश बादल र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई, कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४० रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३५ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र ९९ पैसा बिक्रीदर ४०६ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९८ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ ।

आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्‍याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।

“आयोजनास्थल जोड्ने सडक पनि ठाउँठाउँमा भत्केको छ, ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ”, उनले भने, “आयोजनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दैछौँ ।” पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।

घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

बयालिस मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत रु १० अर्ब ५७ करोडको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । किम्रुङ खोलाको बाढीले झोलुङ्गे पुलसमेत बगाएको थियो । किम्रुङ खोला हुँदै मोदी खोलामा मिसिएको बाढीले अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउली बजारमा एक घर, रेष्टुराँ र घान्द्रुक जोड्ने सडकमा क्षति पुगेको थियो ।

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ ।

वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने सम्भावना उच्च रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई मध्यनजर गर्दै यो निर्णय लिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिए ।

सो सडक खण्डमा मकवानपुर जिल्लासँगको समन्वयमा मङ्गलबार बिहान ५ः०० बजेदेखि असार ३१ गते बिहान ६ः०० बजेसम्मका लागि सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधनको आवागमन बन्द गरिएको छ ।

विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन प्रशासनले सर्वसाधारण तथा यातायात व्यवसायीलाई अनुरोध गरेको छ ।

प्रशासनले सर्वसाधारणलाई मौसम तथा सडकको अवस्थाबारे आधिकारिक सूचनाको पालना गर्न, सुरक्षित भएर रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि आग्रह गरेको छ ।

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७ औँ वार्षिक साधारण सभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो ।

यहाँस्थित सङ्घको मुख्य कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए । अध्यक्ष खनालले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

सङ्घका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबिच सहकार्य आवश्यक रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्दै व्यावसायिक हकहित संरक्षण, यातायात व्यवस्थापन र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष बालगोपाल कँडेल, नारायणी यातायात व्यवसायी सङ्घका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले शुभकामना दिएका थिए ।

अध्यक्ष खनालका अनुसार सङ्घले सञ्चालन गरिरहेको एम्बुलेन्स पुरानो भएकाले नयाँ ल्याउने निर्णय गरिएको हो । सामान्यतः एम्बुलेन्स १० वर्षसम्म मात्र सञ्चालन गर्न पाइन्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पुराना एम्बुलेन्सलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने नीति अगाडि सारेको छ ।

अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका आयोजनाको अवस्था अध्ययन गरिने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले अनुमति लिएर लामो समयसम्म प्रगति नगरेका जलविद्युत् आयोजनाको अवस्था अध्ययन गरी वर्गीकरणका आधारमा आवश्यक निर्णय गरिने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न आज यहाँ आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले वास्तविक लगानीकर्तालाई सरकारले पूर्ण सहयोग गर्ने बताउँदै अनुमति लिएर आयोजना अघि नबढाउने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने स्पष्ट पारे ।

उनले कुनै पनि प्रवर्द्धकले लाइसेन्स (अनुमतिपत्र) लिएर बस्ने अभ्यास स्वीकार्य नहुने उल्लेख गर्दै इप्पानले पनि यस्ता गतिविधिको संरक्षण नगर्न आग्रह गरे । ऊर्जा क्षेत्रका समस्या समाधानका लागि सबै विषयलाई एउटै रूपमा नभई प्राथमिकताका आधारमा वर्गीकरण गरी अघि बढ्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । विद्युत् ऐन आएपछि त्यससँगै आवश्यक नियमावली र निर्देशिका ल्याएर नीतिगत अन्योल अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै उत्पादनसँगै बजार व्यवस्थापन, विद्युत् खपत वृद्धि, प्रसारण तथा वितरण प्रणालीमा पनि निजी क्षेत्रको भूमिका बढाउनुपर्ने आवश्यकता औँल्याए ।

जलवायु परिवर्तनका कारण ऊर्जा उत्पादनको स्वरूप परिवर्तन भइरहेकाले भविष्यको ऊर्जा योजना ऊर्जा मिश्रण (इनर्जी मिक्स) को अवधारणामा आधारित हुनुपर्ने मन्त्री श्रेष्ठको धारणा छ । विद्युत् निर्यात विस्तारका लागि भारतस्थित नेपाली दूतावासमा ऊर्जा सहचारी नियुक्त गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिँदै ऊर्जा कूटनीति सुदृढ बनाउन सरकार सक्रिय रहेको उनले बताए ।

मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा कार्यान्वयनगत समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्यमा उच्चस्तरीय संयन्त्र गठन गर्न आफू सकारात्मक रहेको बताए । ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणसँग जोडेर ‘इकोनोमिक इन्जिनियरिङ’ को दृष्टिकोणबाट अघि बढाउनुपर्ने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच नियमित संवाद र सहकार्य गरिने उनले बताए ।

कार्यक्रममा इप्पानले ऊर्जा विकासमा देखिएका नीतिगत तथा संरचनागत समस्याको समाधानका लागि ३८ बुँदे सुझाव ऊर्जा मन्त्रालयसमक्ष पेस गरेको छ । संस्थाले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति, प्रसारण लाइन निर्माणमा सहभागिता, विद्युत् ऐनलाई लगानीमैत्री बनाउने व्यवस्था, साझा प्रसारण लाइन निर्माण, अनुमतिपत्रको अवधि वृद्धि, विद्युत् खरिद सम्झौता (पिपीए) प्रणालीमा सुधार, विद्युत् खपत अभिवृद्धि, हरित ऊर्जा प्रवर्द्धन, वातावरणीय स्वीकृति प्रक्रिया सरलीकरणलगायतका विषय समेटेर सुझाव दिएको हो ।

इप्पानका अध्यक्ष मोहन डाँगीले सरकारले नीतिगत सहजीकरण गरे निजी क्षेत्र मात्रैबाट आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य पूरा गर्न सकिने दाबी गरे । उनले पिपीएमा भइरहेको ढिलाइ, प्रसारण पूर्वाधारको अभाव, अन्तिम व्यापारिक मिति (आरसिओडी) नथपिने व्यवस्था, अनुमतिपत्र खारेजीलगायत विषयले लगानीकर्तामा अन्योल सिर्जना गरेको बताउँदै उच्चस्तरीय संयन्त्रमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

अध्यक्ष डाँगीले पिपीए नभएसम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्भव नहुने र त्यसकै आधारमा अनुमतिपत्र खारेज गर्ने अभ्यासले लगानी वातावरण प्रभावित भएको उल्लेख गरे । उत्पादन सुरु नगरी प्राथमिक शेयर निष्कासन (आइपिओ) तथा हकप्रद सेयर जारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न इप्पान स्वयं प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

सुनसरी । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ ।

कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७२ हजार ४३२ क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

कोसी नदीमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्यारेजका ५२ वटा मूल र दुई वटा नहरको गरी ५६ वटा ढोकामध्ये २० वटा ढोका खुला गरिएको उनले जानकारी दिए ।

पानीको बहाव बढ्दो क्रममा रहेकाले खतराको सङ्केतस्वरुप कोसी ब्यरेजमा रातो बत्ती बालिएको छ । खतराको सङ्केतस्वरुप रातो झण्डा फहराइएको कोसी ब्यारेजको कन्ट्रोल रुमले जनाएको छ ।

चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण

काठमाडौँ । मनसुन सक्रिय भई आइतबारदेखि जारी भारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएको छ । चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा न्यून वर्षा भएको छ । गण्डकी, बागमती र कोशी प्रदेश भारी वर्षाका कारण नराम्ररी प्रभावित हुन पुगेको छ । काठमाडौँ उपत्यकामा सोमबार दिनभर वर्षा भयो ।

कास्कीमा खोलाले सडक तथा घर नै कटान गरेको छ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो र लेदोका कारण अवरुद्ध भएको छ । स्थानीय प्रशासनले सवारी आवागमन रोकेको छ ।

मकवानपुरबाट काठमाडौँ आउने सडकसमेत प्रभावित भएकाले सवारीसाधन सञ्चालन नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

नागढुङ्गाबाट काठमाडौँ बाहिर जाने सडकमा यातायात सञ्चालनमा रोक लगाइएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले वर्षाका कारण जोखिम बढेकाले अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको बताउनुभयो । कालीकोटमा पहिरोले पुरेर दुई जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी वर्षा चितवनमा

यसबिचमा सबैभन्दा बढी वर्षा आज चितवनमा भएको छ । पछिल्लो २४ घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा २६९ मिलिमिटर वर्षा भएको विवरण रेकर्ड भएको छ ।

सोमबार राति १०ः०० बजेको विवरण अनुसार चितवनमा अहिले पनि वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले राति पनि वर्षा हुने जानकारी दिए ।

चितवनका अन्य केही वर्षा मापन केन्द्रमा पनि धेरै भारी वर्षा भएको छ । मनसुन भित्रिएपछि मात्रै २०० मिलिमिटरमाथि वर्षा भएको थियो । स्थानीय प्रशासनले चितवन भएर चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

विवरणअनुसार, चितवनको रामपुरमा २३२ र देवघाटमा २०९ मिलिमिटर तथा कालीखोलामा १५१ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको घोरेपानीमा २५८ मिलिमिटर वर्षा भएको छ ।

विभागको पछिल्लो विवरणमा चितवन म्याग्दीपछि नवलपुरको दुम्क्यौलीमा २१५ मिलिमिटर वर्षा भएको छ । सिन्धुली, उदयपुर र सुनसरीमा पनि १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

यस्तै, कास्की, गुल्मी, पाल्पा, मकवानपुरको पनि त्यस्तै विवरण प्राप्त भएको छ । अहिले पनि चितवनसहित बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेको छ । त्यसको असर देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

राति कोशी र बागमती प्रदेशको पहाडी र तराई भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा पनि भारी वर्षा हुने अनुमान छ ।

मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराईमा मेघगर्जनसहित वर्षा हुनेछ । कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमस्तरको वर्षाको सम्भावना छ ।

गाजाको पुनःस्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोगको घोषणा

बेल्जियम। युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापना प्रयासका लागि करिब १ अर्ब अमेरिकी डलरको रकम उपलब्ध गराउने जानकारी दिएको छ।

“हामी आज लगभग ९०० मिलियन युरो वा एक अर्ब अमेरिकी डलरको प्रारम्भिक प्याकेज प्रस्तुत गर्दैछौँ,” इयूकाभूमध्यसागरमामिलासम्बन्धी आयुक्त डुब्राभ्का सुइकाले ब्रसेल्समा आयोजित दाताहरूको बैठक अघि बताउनुभयो ।

“हामीलाई गाजाका जनतासम्म यो सहयोग पु¥याउन सक्ने माध्यम चाहिएको छ,” उहाँले भन्नुभयो ।

यो कोषमा गाजाका लागि पहिले नै प्रतिबद्ध रकम पनि समावेश छ । यो रकम इजरायलको सैन्य अभियानबाट बाँकी रहेको भग्नावशेष हटाउन र पानी, ढल निकासीजस्ता आधारभूत सेवाहरू पुनर्निर्माण गर्न प्रयोग गरिनेछ।

ब्रसेल्सले भनेको छ, “बेल्जियम, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, नर्वे, स्पेन, स्वीडेन र स्विट्जरल्याण्डका सरकारहरूका साथै युरोपेली आयोग र युरोपेली लगानी बैङ्क सहभागी छन्।”

इयूका अनुसार आयुक्त सुइकाले हालै इजरायल भ्रमणका क्रममा गाजामा फोहोर र पानी व्यवस्थापनका दुई ठूला परियोजनाहरू कार्यान्वयनका लागि इजरायली अधिकारीहरूसँग सहमति गरेको छ ।

उहाँले दाताहरू ‘उनीहरूकै भाषामा प्रारम्भिक पुनःस्थापना’ बाट काम सुरु गर्न चाहन्छन् र ‘हामी यो गर्न तयार छौँ भन्ने देखाउनु अत्यन्त जरुरी’ भएको बताउनुभयो ।

“त्यसका लागि हमासको निशस्त्रीकरण आवश्यक छ, जसले मात्र उचित पुनःस्थापना सुरु गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

अहिले पनि गाजाको मानवीय सहायताको आवश्यकता अत्यधिक छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पूर्ण पुनर्निर्माण गर्न वर्षौं लाग्नेछ र अर्बौं डलर आवश्यक पर्नेछ । भग्नावशेष हटाउने उपकरण र निर्माण सामग्री अझै अत्यन्त कम छ ।

ब्रसेल्स बैठकमा सहभागी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति समितिका प्रतिनिधिले उक्त रकम युद्धपछिको गाजाको तयारीमा सहयोग गर्नका लागि प्रयोग गरिनेछ ।

सुइकाले यसले पुनर्निर्माण प्रयासमा ‘समन्वय र पूरकता’ सुनिश्चित गर्ने बताउनुभयो ।

प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा सहभागी भएको यो बैठक प्यालेस्टिनी प्राधिकरणको सुधारको मूल्याङ्कन र थप सहयोगका लागि पनि हो ।
प्यालेस्टिनीहरूका लागि इयू सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय दाता हो ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकूहरूको इजरायलमाथिको अकल्पनीय आक्रमणपछि सुरु भएको दुई वर्षको युद्धपछि गाजामा इजरायल र हमासबीच अक्टोबरमा युद्धविराम भएको थियो।

युद्धविरामको दोस्रो चरण अर्थात् हमासको निशस्त्रीकरण र इजरायली सेनाको क्रमिक फिर्ती महिनौँदेखि रोकिएको छ ।

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८ दशमलव दुई प्रतिशतले वृद्धि भई रु २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ ।

गत जेठमा मात्र विप्रेषण आप्रवाह रु दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड थियो । प्रतिवेदनअनुसार यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु २३ दशमलव २१ अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु १६ खर्ब ६९ अर्ब ५१ करोड रहेको थियो ।

गत जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख ५५ हजार ७३५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

सुकुमवासी परिवारलाई सीप विकास तथा रोजगारमा आबद्ध गराइने

काठमाडौँ। सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुमवासी युवालाई लक्षित गरी विशेष रोजगारीको योजना ल्याउने भएको छ ।

बोडेस्थित होल्डिङ सेन्टरमा सुकुमवासीसँग भेट गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सुकुमवासीलाई रोजगारी सुनिश्चित गर्न आवश्यकता पहिचान गरी सोहीअनुसारको सीप विकास तथा रोजगार कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए ।

“यस कार्यक्रमले युवालाई आर्थिक रूपमा सबल बनाउन मद्दत गर्नेछ”, मन्त्री यादवले भने । यसका लागि युवा, रोजगार तथा श्रम मन्त्रालयको आन्तरिक रोजगार महाशाखा र त्यसअन्तर्गत शाखाले गृहकार्य गरिरहेका छन् ।

सुकुमवासी युवालाई लक्षित गरेर सीप, क्षमता विकास तथा रोजगारीसँग जोडिने कार्यक्रम सञ्चालन गर्नेगरी मन्त्रालयले सघन रूपमा काम गरिरहेको श्रम मन्त्री यादवको भनाइ छ ।

सुकुमवासीको हकमा तालिमको आवश्यकता पहिचान (ट्रेनिङ निड एसेस्मेन्ट) का आधारमा छनोट गरी उपयुक्त हुने खालका रोजगारी तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ ।

आइतबार श्रममन्त्री यादवसहित मन्त्रीहरूको टोली सुकुमवासीका गुनासो सुन्न र समस्या समाधान गर्न भक्तपुरको खरिपाटी र बोडेमा रहेको होल्डिङ सेन्टर पुगेका थिए ।

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन। निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

वर्षाका कारण बाढीपहिरो जानसक्ने भएकाले अत्यावश्यकबाहेक नारायणगढ-मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा यात्रा नगर्न स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माद्वारा जारी सूचनामा उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो जानसक्ने भएकाले यात्रा गर्दा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न अनुरोध गरिएको छ । स्थानीय सरकार, डिभिजन सडक कार्यालयलगायत सरोकार भएका निकायसँग समन्वय गर्न पनि आग्रह गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले निरन्तर रूपमा परेको वर्षात्का कारण नारायणगढ-मुग्लिन सडकखण्डसहित अन्य राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै यात्रुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, सडक, सिँचाइ तथा जल स्रोत आयोजना, वन लगायतका निकायलाई मेसिनरी औजारसहित तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको बैठकले तुईन खोला र सेती दोभानमा पहिरोको उच्च जोखिम रहेको औँल्याएको छ ।

बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुरानो होल्डिङ सेन्टरलाई खाली गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विसं २०५८ मा आएको विपद्का कारण तत्कालीन जिल्ला विकास समिति र नेपाल रेडक्रस सोसाइटीले दुवै संस्थाको नाममा जग्गा खरिद गरी होल्डिङ सेन्टरको रूपमा रहेको ठाउँ खाली गर्न भनेको हो ।

भरतपुर महानगरपालिका-२३ मा रहेको सेन्टरमा रहेका वास्तविक आश्रयविहीनलाई अन्य वैकल्पिक व्यवस्था भए/नभएको पहिचान गरी आश्रय आवश्यक नपर्नेलाई उक्त सेन्टरबाट हटाउनसमेत निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । होल्डिङ सेन्टर सफा गरी तयारी अवस्थामा राख्नसमेत समितिले निर्देशन दिएको हो ।

तत्कालीन समयमा सो होल्डिङ सेन्टरमा ४० घर निर्माण गरेर बाढी प्रभावितलाई राखिएको थियो । एक बिघा क्षेत्रफलमा होल्डिङ सेन्टर स्थापना गरी बाढी प्रभावितलाई राखिएको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले जानकारी दिनुभयो । विपद् व्यवस्थापन समितिको बैठकले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

जासुसी रोक्न जापान सक्रिय

काठमाडाैँ । रुसले जापानलाई गुप्तचर गतिविधि र युद्धसम्बन्धी प्रविधि खरिदको केन्द्रका रूपमा प्रयोग गरिरहेको भन्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको खुलासापछि जापानले विदेशी जासुसी गतिविधिविरुद्ध अझ कडा कदम चाल्न आवश्यक रहेको जनाएको छ ।

सरकारका प्रमुख प्रवक्ता मिनोरु किहाराले सोमबार बदलिँदो सुरक्षा परिवेशमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना हासिल गर्ने विदेशी गुप्तचर गतिविधि बढ्दो चुनौती बन्दै गएको बताउँदै त्यसको प्रभावकारी प्रतिरोध गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले द न्युयोर्क टाइम्सको प्रतिवेदनबारे प्रत्यक्ष टिप्पणी नगरे पनि यस विषयलाई सरकारले थप गम्भीर रूपमा सम्बोधन गर्ने स्पष्ट पारे।

आइतबार प्रकाशित अनुसन्धानात्मक प्रतिवेदनमा कमजोर जासुसी कानूनका कारण रुसले जापानलाई गुप्तचर सूचना सङ्कलन तथा युक्रेन युद्धमा प्रयोग हुने दोहोरो उपयोग (डुअल–युज) प्रविधि र उपकरण खरिदका लागि प्रमुख केन्द्र बनाएको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार रुसमा प्रत्यक्ष निर्यातमाथि प्रतिबन्ध रहेकाले आवश्यक सामग्री जापानबाट मध्यस्थ कम्पनीमार्फत भियतनाम, उज्बेकिस्तान र श्रीलङ्कालगायत तेस्रो मुलुक हुँदै रुस पुर्‍याइने गरिएको उल्लेख छ । त्यसमा टोकियोस्थित रुसी विमान सेवा एरोफ्लोटको कार्यालयबाट गोप्य रूपमा सञ्चालन हुने गुप्तचर सञ्जालको समेत चर्चा गरिएको छ।

युक्रेनी पक्षको अनुमानअनुसार हाल प्रयोग भइरहेका रुसी क्षेप्यास्त्र र ड्रोनमा प्रयोग भएका करिब ९० प्रतिशत जापानी कम्पोनेन्ट रहेका छन् ।

यसैबिच प्रवक्ता किहाराले जापानको संसद्ले यस वर्ष विभिन्न निकायमा छरिएर रहेका गुप्तचर गतिविधिको समन्वय गर्न नयाँ राष्ट्रिय निकाय गठन गर्ने कानून पारित गरिसकेको जानकारी दिए । उनका अनुसार नयाँ संयन्त्रले विदेशी जासुसी गतिविधिको निगरानी र प्रतिरोधलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया सञ्चालकहरूको छाता संस्था ‘डिजिटल मिडिया सोसाइटी’ सँग सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी नीतिगत सुधारका विषयमा छलफल गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चार जगत बलियो नभई लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्दै यस क्षेत्रका विद्यमान समस्याहरुको समाधानका लागि सरकार तयार रहेको बताउनुभयो ।

पत्रकारिता क्षेत्रलाई अझ बलियो, संस्थागत, विश्वसनीय र व्यावसायिक बनाउन सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट गर्नुहुँदै सञ्चारमन्त्रीले मिडिया क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला पक्षबाट यसमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पत्रकारिता जगतले आफ्नो गरिमा, विश्वसनीयता र सामाजिक दायित्व कायम राख्न सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सञ्चार क्षेत्रलाई कसरी सुदृढ र मर्यादित बनाउने भन्ने विषयमा सरकारले आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारका काम अघि बढाइरहेको जानकारी दिनुभयो । गलत, भ्रामक तथा नियोजित रूपमा फैलाइने गलत सूचना, कृत्रिम बुद्धिमत्तामार्फत तयार गरिने नक्कली सामग्री (डिपफेक) तथा झुटा र सनसनीपूर्ण समाचारको प्रकासन एवं प्रसारण बढिरहेकामा चिन्ता व्यक्त गर्नुहुँदै
सञ्चारमन्त्री डा तिमिल्सिनाले सञ्चार क्षेत्रमा देखिएको यसकिसिमको गम्भीर चुनौतीको समाधानका लागि सहकार्य हुन आवश्यक छ भन्नुभयो ।

सञ्चारमन्त्रीले विद्यमान नीति तथा कानुनमा सुधार गरी संस्थागत व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी सूचना तथा प्रविधिको क्षेत्रमा देखिएका चुनौतीको समाधान गरिने स्पष्ट गर्नुभयो । प्रभावकारी नभएका कानुनी व्यवस्थाको पहिचान गरी आवश्यक संशोधन तथा परिमार्जन गर्ने काम सुरु भएको बताउँदै उहाँले भन्नुभयो, “आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि छलफल सुरु भइसकेको छ । सरोकार भएका सबै पक्षबाट प्राप्त हुने रायसुझावका आधारमा ती विधेयकलाई समयानुकुल र व्यावहारिक बनाइने छ । त्यस प्रक्रियामा मिडिया जगतबाट सहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

छलफलका क्रममा डिजिटल मिडिया सोसाइटीका पदाधिकारीहरूले प्रेस काउन्सिलको भूमिका पछिल्लो समय कमजोर बन्दै गएको टिप्पणी गर्दै सञ्चार क्षेत्रको प्रभावकारी नियमन, आत्मअनुशासन र आचारसंहिताको कार्यान्वयनलाई सुदृढ बनाउन काउन्सिललाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिलको कमजोर भूमिकाका कारण पत्रकार तथा सञ्चारमाध्यमको संरक्षण, नियमन र व्यावसायिक अभ्यासमा समस्या देखिएको तथा त्यसले सञ्चार माध्यमप्रतिको सार्वजनिक विश्वाससमेत कमजोर बनाएको उहाँहरुको भनाइ थियो । डिजिटल मिडिया सोसाइटीले पत्रकारिता आचारसंहिताको प्रभावकारी पालना गराउनुपर्ने, सञ्चार माध्यमहरूले जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्ने तथा विज्ञापन बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको सुझावसमेत दिएको थियो ।

छलफलमा सञ्चार क्षेत्रको विश्वसनीयता अभिवृद्धि, डिजिटल पत्रकारिताको संस्थागत विकास, सञ्चार माध्यमको दिगोपना तथा बदलिँदो सूचना प्रविधिसँग मेल खाने कानुनी र नीतिगत संरचना निर्माणका विषयमा समेत छलफल भएको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण

यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेभएको छ। बैठकमा यूक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुनेछ ।

यूक्रेनका राष्ट्रपति जेलेन्स्की सोमबार पेरिस पुग्नुभएको हो । पेरिसमा रहँदा उहाँले रूसको आक्रमणविरुद्ध यूक्रेनलाई सहयोग गरिरहेका करिब दुई दर्जन यूरोपेली नेताहरूसँग कुराकानी गर्नुहुनेछ । यो युद्ध अहिले पाँचौं वर्षमा प्रवेश गरेको छ ।

यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ । यस बैठकमा यूक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएको खतराबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यूक्रेन र उसका युरोपेली समर्थकहरूले युद्ध समाप्त गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि दबाब दिन चाहन्छन् । उनीहरूको बुझाइमा अमेरिकी ट्रम्प प्रशासनको एक वर्ष लामो शान्ति प्रयासका बावजुद मस्कोले कुनै समझदारीमा चासो देखाएको छैन ।

विश्लेषकहरू र पश्चिमी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा ड्रोन प्रविधिमा यूक्रेनको प्रगतिले उसलाई फाइदा पुर्‍ याएको छ। उनीहरूले यूक्रेनका आक्रमणहरूले मोर्चाको पछाडि रूसको आपूर्ति प्रणालीलाई क्षति पु¥याएको छ । यसले रूसी सेनाको अघि बढ्ने गतिलाई ढिलो बनाएको छ र उसलाई ठूलो मूल्य चुकाउनुपरेको छ ।

यूक्रेनी सेनाले विशेष गरी क्रिमियातर्फ जाने आपूर्तिलाई निशाना बनाएको छ। यसबाट ‘ब्ल्याक सी’ क्षेत्रमा इन्धनको ठूलो सङ्कट उत्पन्न भएको छ ।

रूसले सन् २०१४ मा क्रिमियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको थियो । यूक्रेनका यी आक्रमणहरूले क्रेमलिनको ‘रूसले युद्ध जित्दैछ’ भन्ने दाबीलाई पनि झट्का दिएको छ।

जेलेन्स्कीले युरोपेली देशहरूसँग मिलेर छिट्टै ब्यालिस्टिक मिसाइलबाट बच्ने हवाई सुरक्षा प्रणाली विकास गर्ने योजना अगाडि बढाउन चाहनुभएको छ । यो प्रणालीले यूक्रेनको विद्युत् संरचनामाथि रूसले गर्ने विनाशकारी आक्रमण रोक्न मद्दत गर्न सक्छ।

रातभर भएका आक्रमणपछि सोमबार जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दुनिया हेर्दैछ, यूक्रेनलाई अझ धेरै हवाई सुरक्षा र जनजीवनको सुरक्षा चाहिन्छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता यूक्रेनलाई प्याट्रियट हवाई सुरक्षा प्रणाली बनाउने अनुमति दिने घोषणा गरेकोलाई किएभका लागि ठूलो सफलता मानिएको छ । तर, विज्ञ र यूक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् कि यो योजनालाई वास्तविक हतियारमा बदल्न धेरै वर्ष लाग्न सक्छ ।

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित ‘सुकुमवासी होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज खरिपाटीमा रहेका २१ र बोडेमा रहेका १८ जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

‘होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीका लागि झोला, कलम–कापीलगायतका शैक्षिक सामग्रीसहित क्यारम्बोर्ड, ब्याडमिन्टन, चेस, भलिबललगायतका खेलकुदका सामग्री वितरण गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुहुँदै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाइ नहोेस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराउनुभयो ।

यसैगरी, सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका नागरिकको स्वास्थ्य, सुरक्षासहित समग्र व्यस्थापनका लागि सम्बद्ध मन्त्रालयहरूबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकाले ढुक्क भई बस्न अनुरोध गर्नुभयो ।

शिक्षामन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा रहका विद्यार्थीको विद्यालय भर्नालगायत आउने जाने क्रममा समस्या देखिए आवश्यक सहजीकरणसहित समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच ‘होल्डिङ सेन्टर’मा रहका विद्यार्थीलाई विद्यालय जान–आउन सहज बनाउने उद्देश्यले भोलि मङ्गलबारदेखि ‘बस’ को व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल ‘होल्डिङ सेन्टर’ पुग्नुभएको हो ।

यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सम्बद्ध मन्त्री सम्मिलित टोलीले ‘होल्डिङ सेन्टर’ को स्थलगत अनुगमन गरी त्यहाँ बस्ने सुकुमवासीको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाका बारेमा जानकारी लिएको थियो ।

बालेन सरकारले आफ्ना मान्छेहरूको सम्पत्ति लुकाएर अरूको मात्रै छानबिन गर्नु गलत – ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूको समेत सम्पत्ति छानबिन हुनुपर्ने माग गरे।

शाहीले सरकारले आफ्ना मान्छेहरूको सम्पत्ति लुकाएर अरूको मात्रै छानबिन गर्नु गलत भएको बताए । जागिर वा कुनै ठूलो व्यवसाय विना नै राजनीतिक नेतृत्वमा रहेका धेरै व्यक्तिहरूसँग करोडौँदेखि अर्बौँ रुपैयाँसम्मको सम्पत्ति कहाँबाट आयो भन्दै आम नागरिकले प्रश्न गरिरहेको उनकोे भनाइ थियो ।

रास्वपाका नेताहरू समेत अर्बपति देखिएको टिप्पणी गर्दै उहाँले सम्पत्ति छानबिनको दायरा सबैका लागि समान हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री बालेन्द्र शाहतर्फ इङ्गित गर्दै नेता शाहीले पूर्वमेयरहरूको सम्पत्ति छानबिन नगर्नुले सरकारको सुशासनको नारामाथि नै प्रश्न उठाएको बताए ।

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छः प्रदेश प्रमुख भट्ट

कास्की – गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आज आयोजना गरेको विशेष समारोहमा उहाँले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत जोड्ने काम भानुभक्तले गर्नुभएको बताए ।

प्रदेश प्रमुख भट्टले भने “भानुभक्तका कृतिमा धार्मिक भावना मात्र होइन, लोककल्याणको गहिरो चेतना समेत पाइन्छ । उनका कृतिहरुलाई सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक छ ।”

आदिकवि विश्वभरका नेपाली भाषी बीचमा भाषा तथा साहित्य फैलाउने सेतुका रुपमा स्थापित रहनुभएको बताउँदै उनले भने, “भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभएको छ ।”

भानुभक्तले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएकाले यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ छ ।

भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, पोखरा–११ का वडासदस्य रनशुभा गुरुङ, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह, पोखरा प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति पद्मराज ढकाल लगायतले भाषा र साहित्यमार्फत आदिकवी भानुभक्तले नेपालको एकीकरणमा पु¥याउनुभएको योगदानको चर्चा गरे । समारोहमा विभिन्न साहित्यिक व्यक्तित्वले भानुभक्तीय रचना वाचन गरे ।

‘लालीबजार’ले कमायो ९ करोडभन्दा बढी, ‘जाँड’को कमाइ डेढ लाख पनि पुगेन

काठमाडौँ – यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने गरेको सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।

अभिनेत्री स्वस्तिमा खड्का लगायत अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको पहिलो तीन महिनामा सबैभन्दा कम कमाउने चलचित्र ‘जाँड’ बनेको छ । सार्वजनिक विवरणअनुसार उक्त चलचित्रले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।

राजु शाहले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

त्यसैगरी, गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले रु एक करोड ७७ लाख छ हजार ५८३ कमाई गरेको छ ।

सो चलचित्र जोन योञ्जनको निर्देशनमा तयार भएको हो । चलचित्रमा मुकुन भुसाल, सुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यही असार ५ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’ ले घरेलुबजारमा राम्रो कमाई गर्न सकेन । यस अवधिमा सो चलचित्रले जम्मा रु ३१ लाख ३६ हजार ११२ कमाएको छ ।

कलाकार जीतु नेपालले निर्माण तथा अभिनय गर्नुभएको उक्त चलचित्रमा कलाकार नेपालसँगै वर्षा राउत, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।