`

आज कहाँ कहाँ पानी पर्छ ? हेर्नुहोस् मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका सबै भू–भाग तथा देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

यस्तै आज राती देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी, बागमति र गण्डकी प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । तराईका केही भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।मधेश प्रदेश तथा बागमति र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

झापा । चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकारवालाबिचको अन्तरक्रियामा प्रयोगशाला स्थापनाका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरिएको हो ।

चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीको भनाइ थियो । हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्र चिया परीक्षण प्रयोगशाला रहेको जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा बनाएको पहिचान कायम राख्न गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताए । “चियाको गुणस्तर कायम राख्नु उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय हो । तयारी चियामा अखाद्य र बाह्य पदार्थको मिसावट रोक्न र खाद्य सुरक्षा मापदण्डको पालना सुनिश्चित गर्न सबै सरोकारवाला जिम्मेवार हुनुपर्छ,” उनले भने ।

उनले चियाको उत्पादनदेखि प्याकेजिङ र बजारसम्म गुणस्तर कायम राख्न सम्बन्धित निकाय, उद्योगी तथा व्यवसायीबिच समन्वय आवश्यक रहेको बताए।

अन्तरक्रियामा तयारी चियाको गुणस्तर, खाद्य सुरक्षा मापदण्डको पालना, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असर तथा मापदण्ड विपरीत रङ वा अन्य पदार्थ प्रयोग गरेमा प्रचलित कानुनअनुसार हुने दण्ड, जरिवाना र सजायका व्यवस्थाबारे जानकारी गराइएको थियो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा ३८ चिया उद्योग सञ्चालनमा छन् । गत आर्थिक वर्षमा झापामा नौ करोड ८५ लाख किलो सिटिसी चिया उत्पादन भएको थियो ।

जिल्लामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । त्यसमध्ये तीन हजार ६०० हेक्टरमा साना किसानले चिया खेती गर्दै आएका छन् भने करिब तीन हजार किसान यस क्षेत्रमा संलग्न छन् ।

कार्यक्रममा चियामा बाह्य पदार्थको मिसावट रोक्न, गुणस्तर सुधार गर्न तथा किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन वितरण प्रणाली प्रभावकारी बनाउनुपर्ने विषयमा पनि छलफल भएको थियो । मल वितरण प्रणालीलाई प्रभावकारी बनाउन बोर्डले प्रदेश सरकारसँग समन्वय गर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरूलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९ सम्मका दुई सय बढी स्वयंसेविकालाई शुुक्रबार सचेतना प्रदान गरिएको हो ।

सो अवसरमा अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविका मार्फत वडा वडामा सचेतना फैल्याउने अभियान सुरु गरिएको बताइन् । उनले भनिन् “यहाँ सिकेका ज्ञान तपाईँहरूले घरघरसम्म पुर्‍याएर सचेतना फैल्याउनु हुनेछ ।”

स्तन क्यान्सर भयो भन्दैमा डराउनु नपर्ने जनाउँदै उनले समयमा पहिचान गरी उपचार गरेमा निको हुने बताए । समय समयमा स्तन क्यान्सर छ छैन भनी परीक्षण गरेर ढुक्क भएर बस्न उनको सुझाव छ । स्तनमा भएका कोशिकाहरूको असामान्य वृद्धिलाई स्तन क्यान्सर भनिने जनाउँदै उनले आफैले छामेर पनि गाँठागुँठी पत्ता लगाउन सकिने उनले बताइन् । उनले भनिन् “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर क्यान्सर हो होइन परीक्षण गरेर निक्र्यौल गर्नुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले स्वयंसेविका मार्फत सन्देश घरघरमा पुग्ने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने बताए । संघीय सरकारले रु।एक लाख र बागमती प्रदेश सरकारले रु. ५० हजार क्यान्सर उपचारका लागि दिने जनाउँदै स्तन र पाठेघरको क्यान्सरका लागि त्यसमा पनि थप रु। ५० हजार प्रदेशले सहयोग गर्ने जानकारी दिए ।

अस्पताल निर्देशक प्रा.डा.गोपेन्द्र द्वाले क्यान्सरको सहज उपचारका लागि चितवन मेडिकल कलेजले छुट्टै क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको जानकारी दिए । उनले क्यान्सर उपचारका लागि आउने बिरामी अन्यत्र भौतारिनु नपर्ने जनाउँदै सम्पूर्ण सुविधा एउटै भवनबाट दिइएको उनको भनाइ छ ।

शैक्षिक निर्देशक प्रा।डा।दयाराम लम्साल, प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापा, रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुर लगायतले अस्पताले संघीय सरकार र प्रदेश सरकारले दिने विपन्न सबै सुविधा यस अस्पतालबाट प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरका सबै वडाका स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । अक्टोबर महिनालाई विश्वभरी स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने गरिन्छ । यसै अवसरमा अस्पतालले एक महिना भरी स्तन क्यान्सर निःशुल्क परीक्षण समेत सुरुआत गरेको छ ।

त्रिभुवन राजपथमा सवारी आवागमनको नयाँ समय तालिका लागू

हेटौँडा । काठमाडौँ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ । प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए ।

उनका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारीसाधनलाई यही असोज २४ गते बिहान २ बजेदेखि ५ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ । असोज २५ गते बिहान ४ बजेदेखि १० बजेसम्म सवारी सञ्चालन गर्न पाइनेछ । त्यस्तै, काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई आज साँझ ६ः३० बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज २४ गते बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र राति १० बजेदेखि असोज २५ गते बिहान १ बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको छ ।

असोज २५ गते दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म पनि काठमाडौँबाट हेटौँडातर्फ सवारीसाधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार त्रिभुवन राजपथमा ११ मिटर लम्बाइसम्मका यात्रुवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। त्यस्तै, १० चक्काभन्दा बढी भएका तथा १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई उक्त सडकखण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ्ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिएको बताउनुभयो। उहाँका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा साना सवारीसाधनका लागि आलोपालो समय तालिका लागू गरिएको छैन । जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा स्वास्थ्य कार्यालयका प्रमुखविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको भनिएको ‘आइए’ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ ।

उक्त प्रमाणपत्रकै आधारमा तिवारीले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटकपटक सोही प्रमाणपत्र पेस गरेको र त्यसबाट राष्ट्रसेवक कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ ।

आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता

म्याग्दी । दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइगे ।

प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले उनीहरूलाई सताएको छ ।

मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उनीहरू गत भदौ १८ गते घरबाट हिँडेका हुन् ।

“यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।”

शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उहाँहरूको योजना छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ । “ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने ।

डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । उनीहरू शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ गएका हुन् ।

रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ । भेडाच्याङ्ग्रापालन नै मुख्य पेसा भएकाले उनीहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्छन् । तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनायो । यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुप¥यो । सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो ।

डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन ।

“भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पुर्याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उनले भने ।

सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ ।

मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ । यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए ।

तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।

कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ । गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

लागत बढ्यो

यात्रा लामो हुँदा किसान र ब्यापारीको खर्च बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भयो ।

“किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उनले भने । मुस्ताङमा आकार अनुसार भेडा प्रतिगोटा रु. ३२ हजारदेखि रु. ३५ हजार र च्याङग्रा प्रतिगोटा रु. ४० हजारको हाराहारीमा खरिदबिक्री भइरहेको ब्यापारीहरुले बताएका छन् । बेनीमा भने भेडा प्रतिगोटा करिब रु. ३६ हजार र च्याङ्ग्रा रु. ४५ हजार पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताए ।

“पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उनले भने “महाँगो परेपनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ ।” मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा र काठमाडौँ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए ।

च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान

मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताए । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् ।

दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन् । तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ । लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।

गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै पार्टीको नेतृत्व सम्हालेका हुन्।

थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए। निर्वाचनमा ५४ मत बदर भएको थियो। कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए।

सभापति पदको मतगणना सम्पन्न भए पनि अन्य पदको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गरिने जनाइएको छ।

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबिच भेटवार्ता भएकाे छ ।

भेटमा नेपाल र अष्ट्रेलियाबिचको छ दशक लामो मैत्रीपूर्ण सम्बन्ध, अष्ट्रेलियामा नेपाली डायस्पोराको योगदान तथा नेपाली विद्यार्थीको हितलगायत बिषयमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आगामी जलवायु सम्मेलन (कोप–३१)मा नेगोसिएसनमा अध्यक्षता गरिरहेको सन्दर्भमा उनीहरुबिच अष्ट्रेलियासँग नेपालको जलवायु एजेन्डा (हिमालयको संरक्षण, जलवायु उत्थानशीलता, पूर्वचेतावनी प्रणाली स्थापना गर्ने) समर्थनका बिषयमा समेत छलफल भएकाे छ ।

आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।

यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी गराए ।

यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध गर्नेको भीड लाग्छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष सुरु हुन्छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०८ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १९ पैसा र बिक्रीदर २३ रुपैयाँ २८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ११ पैसा बिक्रीदर ४१० रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल नेपालको पहलमा कार्यरत संस्था मानसिक स्वास्थ्य स्वावलम्बन समूह सञ्जाल कर्णाली प्रदेश सुर्खेतद्वारा आज हस्तान्तरित ध्यानाकर्षणपत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहीले मानसिक स्वास्थ्य प्रवर्द्धन कार्य सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

उनले भने, “मानसिक स्वास्थ्य समस्या अब लुकाउने विषय रहेन । यो गम्भीर जनस्वास्थ्यको विषय हो । नागरिकको अस्वाभाविक मृत्युको कारण बन्दै गएको आत्महत्याजस्तो समस्या रोक्न प्रदेश सरकार प्रतिबद्ध छ ।”

मुख्यमन्त्री शाहीले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धनसम्बन्धी सञ्जालले उठाएका विषय जायज रहेको र सरकारले आगामी नीति तथा कार्यक्रममा सम्बोधन गर्दै जाने बताए ।

सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेको नेतृत्वको टोलीले मुख्यमन्त्रीसँगको भेटमा प्रदेशमा आत्महत्याको दर उच्च रहेको, जनचेतनाको अभाव, दक्ष जनशक्तिको कमी र औषधिको पहुँचमा समस्या रहेको भन्दै आठ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको थियो ।

उक्त ध्यानाकर्षणपत्रमा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक आठमा एक व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुने, नेपालमा दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेको र आर्थिक वर्ष २०८२र८३ मा मात्र सात हजार १४० जनाले आत्महत्याका कारण ज्यान गुमाएको उल्लेख छ ।

विशेषगरी १५ देखि २९ वर्ष उमेर समूहको मृत्युको प्रमुख कारण आत्महत्या हुनु चिन्ताजनक रहेको भन्दै कर्णालीमा यसको रोकथामका लागि प्रदेशस्तरीय नीति र बजेट आवश्यक रहेको सञ्जालले जनाएको छ ।

सञ्जालले कर्णालीका सबै जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञको व्यवस्था गर्न, स्थानीय स्वास्थ्य संस्थाबाटै निःशुल्क औषधि पाउने व्यवस्था मिलाउन, मनोसामाजिक अपाङ्गता परिचयपत्र वितरण प्रक्रिया सहज बनाउन, विपन्न वर्गका लागि जीविकोपार्जन तथा सीप विकास कार्यक्रम ल्याउन र समुदायमा क्रियाशील तीनवटा जिल्लास्तरीय सञ्जाल र ३० भन्दा बढी स्वावलम्बन समूहको क्षमता अभिवृद्धिका लागि बजेट र साझेदारीको व्यवस्था गर्न माग गरेको छ ।

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित हुनुभएको प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिए ।

बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गर्नुभएको नवौँ महाधिवेसनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

सर्वसम्मत भएका र आज शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम भोलि शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ ।

सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेसनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौँ। प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।

सभापति गजुरेलले आज साँझ गोँगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै चाडपर्वमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

सभापति गजुरेलले यसवर्ष दशैँ तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेको भन्दै सोहीअनुसारको व्यवस्थापन मिलाउन सम्बन्धीत निकायलाई आग्रह गरे ।  उन्ले पूर्वाधार विकास समितिले दसैँ, तिहार र छठपर्वमा यात्रुहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेर उक्त उपसमितिमार्फत तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको बताए ।

सभापति गजुरेलले अध्ययन प्रतिवेदनअनुसार यात्रुको सङ्ख्याअनुसार बसको सङ्ख्या पर्याप्त रहेकाले यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे । फूलपातीदेखि नवमीसम्मको समयमा यात्रुको चाप उच्च हुने भएकाले आवश्यकता परेमा थप बस सञ्चालनका साथै नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी निकायका सवारीसाधनसमेत प्रयोगमा ल्याउन सकिनेगरी समन्वय भइरहेको उन्को भनाइ छ ।

अनुगमनका क्रममा नयाँबसपार्कभित्र डिजिटल प्रणालीमार्फत टिकट काट्दा तोकिएको दररेटअनुसार नै भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको चलानी प्रतिवेदन राखिएकाले ठगी हुने सम्भावना नरहेको पाइएको बताए । उहाँनले आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट काट्न यात्रुहरूलाई आग्रह गरे ।

३८ वर्षपछि डडेल्धुराको परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका ५ अव्यवस्थित परिवारले ३८ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

जिल्ला भूमि समस्या समाधान समिति डडेल्धुराले साविकको जोगबुढा गाविस वडा नम्बर १ हाल परशुराम नगरपालिका–१२ अन्तर्गत खजुरानी र तुलाभाडी गाउँका ५ परिवारलाई लालपुर्जा वितरण गरेको हो।

२०४५ सालदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका परिवारले लामो समयपछि आफ्नो नाममा जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका उनीहरूका लागि लालपुर्जा प्राप्तिसँगै जग्गाको स्वामित्व सुनिश्चित भएको छ।

लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जा नहुँदा समस्यामा रहेका परिवारले अब आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन्। लालपुर्जा वितरणले उनीहरूको बसोबासलाई कानुनी मान्यता दिलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

सुदूरपश्चिम । सुदुरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा निरन्जन बिष्टलाई नियुक्त गरिएको छ ।

मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उgलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता उपसचिव शेखरकुमार रोकायाद्वारा जारी विज्ञप्तिमा मुख्यमन्त्री भट्टको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विष्टलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको उल्लेख छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ निवासी विष्ट लामो समयदेखि अधिवक्ताका रुपमा वकालत गर्दै आएका छन् ।

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौँ। गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ ।

दूरसञ्चार क्षेत्रको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । ग्रामीण दूरसञ्चार विकास कोषबाट रु दुई अर्ब एक करोडसम्म अनुदान उपलब्ध गराइने यस परियोजनाको कार्यान्वयन अवधि ३६ महिना अर्थात् तीन वर्ष तोकिएको छ ।

सम्झौताअनुसार गण्डकी र लुम्बिनी प्रदेशमा करिब दुई हजार २१६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुका साथै उच्च क्षमताका उपकरण जडान गरिनेछ । यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रसम्म भरपर्दो ब्रोडब्यान्ड सेवा विस्तार गरी डिजिटल विभाजन न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ ।

उक्त सम्झौता कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले सम्झौता हुनु परियोजना कार्यान्वयनको सुरुआत मात्र भएको उल्लेख गर्नुहुँदै निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । “सम्झौता हुनु सुरुआत मात्र हो । यसको कार्यान्वयन पक्ष उत्तिकै महत्त्वपूर्ण छ । तोकिएको तीन वर्षको समय सीमाभन्दा एक वर्षअघि नै परियोजना सम्पन्न गर्ने गरी काम गर्नुहोस् । नागरिकहरू सेवा पर्खेर बस्न तयार छैनन्, हामीले पनि नागरिकलाई सुविधाबाट वञ्चित गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।

उहाँले अघिल्ला परियोजनामा देखिएका समस्या र ढिलाइबाट पाठ सिक्दै नयाँ परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । परियोजनाको समय सीमा र लागत बढाउनुपर्ने अवस्था दोहोरिन नदिन सुरुआतदेखि नै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ थियो । “सहजतामा बसेर नतिजा निकाल्न सकिँदैन । हामी जिम्मेवार भएर नतिजा प्राप्तिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सक्यौँ भने मात्र नयाँ संस्कार विकास हुन्छ”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो ।

उहाँले परियोजनाको प्रगति निर्धारित समयअनुसार भइरहेको छ वा छैन भन्ने विषयमा निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्न पनि निर्देशन दिनुभयो । कार्यान्वयनका क्रममा कानुनी वा प्रक्रियागत समस्या देखिएमा सम्बन्धित निकायसँग तत्काल समन्वय र सहकार्य गर्न आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विधि, विधान र ऐनकानुन नागरिकलाई सुविधा दिन र नतिजा प्राप्त गर्नका लागि हुन् । सही नियतले सही काम गर्दा समस्या देखिएमा तत्काल सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्नुहोस् । परियोजना कार्यान्वयनमा मन्त्रालयले सहजीकरण गर्छ । यो वा त्यो कारण देखाएर काममा ढिलाइ गर्ने छुट कसैलाई छैन”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रमा रूपान्तरणकारी वर्षका रूपमा अघि बढाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै फोरजी विस्तार र फाइभजी सुरु गर्ने तयारीलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । “मेरो कार्यकालभित्र देशको आमसञ्चार र दूरसञ्चार क्षेत्रमा ठूलो फड्को मार्न सकियोस् भनेर काम गरिरहेको छु । यसमा सबै निकायको सहयोग र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो ।

दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारले नेपालको समग्र आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै उहाँले नागरिकको सुशासन र सहज सेवा प्रवाहको अपेक्षा पूरा हुने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

अप्टिकल फाइबरका लागि दुई हजार २१६ किलोमिटरमा सूचना महामार्ग

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेका अनुसार सूचना महामार्ग परियोजनाअन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा दुई हजार २१६ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । यसमध्ये दुई हजार २८ किलोमिटर एरियल र १८८ किलोमिटर भूमिगत रूपमा फाइबर बिछ्याउने योजना छ । परियोजनाअन्तर्गत २८ वटा डीडब्लुडीएम प्रणाली र पाँच वटा राउटर जडान गरिनेछ । यस पूर्वाधारबाट दुवै प्रदेशका १९४ स्थानीय तह र ४३२ मोबाइल बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) साइटसम्म भरपर्दो ब्रोडब्यान्ड पहुँच पुर्‍याउने लक्ष्य रहेको नेपाल टेलिकमले जनाएको छ ।

प्राधिकरण अध्यक्ष घिमिरेले देशभर उच्च गतिको, भरपर्दो र सुरक्षित सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गरी डिजिटल रूपान्तरणमार्फत सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्राधिकरणले काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार मध्यपहाडी लोकमार्ग तथा अन्य प्रमुख राजमार्गमा उच्च क्षमताको अप्टिकल फाइबर ब्याकबोन नेटवर्क निर्माण गर्ने उद्देश्यले सूचना महामार्ग परियोजना अघि बढाइएको हो । ग्रामीण दूरसञ्चार विकास कोषको प्रभावकारी परिचालनमार्फत देशका सबै भागलाई सूचना प्रविधिको सञ्जालमा जोड्ने लक्ष्य राखिएको छ । उहाँले परियोजनालाई शीघ्र सम्पन्न गर्ने उद्देश्यसहित काम अघि बढाइएको जानकारी दिँदै तोकिएको समय र गुणस्तर कायम राखेर निर्माण कार्य सम्पन्न गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताउनुभयो ।

तीन रणनीतिक प्याकेजमा सूचना महामार्ग

प्राधिकरणका अनुसार सूचना महामार्ग परियोजनालाई तीन रणनीतिक प्याकेजमा विभाजन गरिएको छ । प्याकेज १ अन्तर्गत कोशी, मधेस र बागमती प्रदेश; प्याकेज २ अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेश तथा प्याकेज ३ अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्वाधार विस्तारको काम भइरहेको छ ।

प्याकेज १ अन्तर्गत कोशी प्रदेशतर्फको काम सम्पन्न भइसकेको छ । मधेस र बागमती प्रदेशमा विभिन्न कारणले बाँकी रहेका मार्गको दायरा परिवर्तन गर्ने सहमति तथा सम्झौताको म्याद थप गरी काम अघि बढाइएको प्राधिकरणले जनाएको छ । उक्त प्याकेजअन्तर्गत लक्षित दुई हजार १७९ किलोमिटरमध्ये एक हजार ४४९.४४६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएको छ । साथै डीडब्लुडीएम प्रणाली र कोर राउटरलगायत उपकरण जडानसमेत सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार प्याकेज १ अन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोषबाट भन्सार महसुलसहित हालसम्म करिब रु एक अर्ब ६९ करोड ८४ लाख खर्च भएको छ ।

त्यस्तै, प्याकेज ३ अन्तर्गत शुक्लाफाँटा, बाँके र बर्दियालगायत राष्ट्रिय निकुञ्ज क्षेत्रमा अप्टिकल फाइबर विस्तारका लागि आवश्यक वातावरणीय तथा कानुनी स्वीकृति प्राप्त भएपछि काम अघि बढाउने अवस्था बनेको छ । यस प्याकेजमा लक्षित मार्गमध्ये हालसम्म ७९९ किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । यसैगरी २३ वटा डीडब्लुडीएम प्रणाली, ४६ मध्ये ४ वटा कोर राउटर र २१ मध्ये २० वटा माइक्रोवेभ उपकरण जडान भएको प्राधिकरणको विवरणमा उल्लेख छ । प्याकेज ३ अन्तर्गत हालसम्म ग्रामीण दूरसञ्चार विकास कोषबाट मूल्य अभिवृद्धि करबाहेक रु ३० करोड ६७ लाखभन्दा बढी भुक्तानी भएको छ ।

प्राधिकरण अध्यक्ष घिमिरेले प्याकेज १ र प्याकेज ३ अन्तर्गत केही क्षेत्रमा निर्माण कार्यले अपेक्षित गति लिन नसकेको विषयमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले बाँकी काम शीघ्र अघि बढाउन र निर्धारित गुणस्तर कायम राख्न नेपाल टेलिकमलाई निर्देशन समेत दिइएको बताउनुभयो । राष्ट्रिय महत्त्वको पूर्वाधार निर्माणमा हुने ढिलाइले नागरिकलाई प्रविधिको पहुँचबाट वञ्चित गराउने उल्लेख गर्दै उहाँले परियोजनाको समयसीमा र गुणस्तरमा सम्झौता नगरी काम गर्नुपर्ने बताउनुभयो ।

सूचना महामार्ग विस्तारले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई ई–शासन, टेलिमेडिसिन, ई–शिक्षा, डिजिटल वित्तीय सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी प्रविधिको पहुँच सहज बनाउने अपेक्षा गरिएको छ । उच्च क्षमताको अप्टिकल फाइबर नेटवर्कले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार क्षेत्रमा डिजिटल सेवाको उपयोग बढाउन सहयोग पुग्नेछ । यसबाट स्थानीय आर्थिक गतिविधि विस्तार, साना उद्योगको प्रवद्र्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने प्राधिकरणको विश्वास छ ।

डिजिटल नेपाल र दिगो विकास लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण

सम्झौता हस्ताक्षर कार्यक्रममा सञ्चार सचिव राजेन्द्रकुमार पौडेलले सूचना महामार्ग परियोजनालाई सोह्रौँ आवधिक योजना, दिगो विकास लक्ष्य तथा नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नति गर्ने लक्ष्य प्राप्तिका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले उच्च गुणस्तरको ब्रोडब्यान्ड सेवा र अप्टिकल फाइबर विस्तारले नागरिकलाई सहज सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

“मोबाइल डाटाको गुणस्तर सुधारसँगै अप्टिकल फाइबर विस्तारले घरायसी मात्र नभई औद्योगिक क्षेत्रमा पनि दूरसञ्चार सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,” सचिव पौडेलले भन्नुभयो । यसअघिका परियोजनामा भौतिक निर्माण कार्यमा केही ढिलाइ भएको उल्लेख गर्दै उहाँले नयाँ परियोजना निर्धारित समय र लागतभित्रै सम्पन्न गर्न निर्देशन दिनुभयो । वन क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा आवश्यक अनुमति प्राप्त गर्न लाग्ने समय र मध्यपहाडी लोकमार्गको भौगोलिक अवस्थाका कारण अप्टिकल फाइबर विस्तार चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो । सरकारको डिजिटल शासन विस्तार गर्ने महत्त्वाकांक्षी योजनालाई कार्यान्वयन गर्न उच्च गुणस्तरको ब्रोडब्यान्डसँगै फाइभजी सेवा सुरु गर्ने तयारीलाई तीव्रता दिनुपर्ने उहाँले बताउनुभयो ।

दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धता

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले गण्डकी र लुम्बिनी प्रदेशका दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा समेत गुणस्तरीय, भरपर्दो र सर्वसुलभ दूरसञ्चार सेवा विस्तार गर्न प्राधिकरणसँग सहकार्य गरेर परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नेपाल टेलिकमले दुवै प्रदेशमा अप्टिकल फाइबर तथा वायरलेस दूरसञ्चार सेवा नियमित रूपमा विस्तार गर्दै आएको उल्लेख गर्दै नयाँ सम्झौताले दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट सेवा पुर्‍याउन थप सहयोग गर्ने बताउनुभयो । अप्टिकल फाइबर नेटवर्क विस्तार भएपछि उच्च क्षमताका उपकरण जडान गर्न सकिने र यसबाट दूरसञ्चार सेवाको गुणस्तर सुधार हुनुका साथै भविष्यमा फाइभजी सेवा विस्तार गर्नसमेत आधार तयार हुने उहाँको भनाइ थियो ।

प्रबन्ध निर्देशक पहाडीका अनुसार नेपाल टेलिकम र प्राधिकरणबीच यसअघि पनि विभिन्न प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तारका लागि सम्झौता भएका थिए । विसं २०७३ असोज १२ गते कोशी, मधेस र बागमती प्रदेशका लागि एक हजार ९८६ किलोमिटर अप्टिकल फाइबर, २६ वटा डीडब्लुडीएम प्रणाली र ४८ वटा राउटर जडान गर्ने सम्झौता भएको थियो ।

विसं २०७६ पुस १८ गते कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा एक हजार ९८२ किलोमिटर अप्टिकल फाइबर, २६ वटा डीडब्लुडीएम प्रणाली, ५३ वटा राउटर र दुई वटा हाइब्रिड माइक्रोवेभ उपकरण जडान गर्ने सम्झौता भएको थियो ।

सडक विभाग, नेपाल विद्युत् प्राधिकरण, वन विभाग तथा राष्ट्रिय निकुञ्जसँग समन्वय र अनुमति लिएर काम गर्नुपर्ने भएकाले अघिल्ला परियोजनामा केही चुनौती देखिएको उहाँले बताउनुभयो । निर्धारित समयमा अनुमति प्राप्त गर्न कठिन हुने अवस्थाका बाबजुद कोशी, मधेस र बागमती प्रदेशमा ९१ प्रतिशत तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा ८७ प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार तथा उच्च क्षमताका उपकरण जडानपछि दुर्गम बस्तीमा इन्टरनेटको पहुँच र गुणस्तर उल्लेखनीय रूपमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । “दूरसञ्चार सेवा अब केवल सञ्चारको माध्यम मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार, सरकारी सेवा प्रवाह र समग्र आर्थिक तथा सामाजिक विकासको आधार बनिसकेको छ”, प्रबन्ध निर्देशक पहाडीले भन्नुभयो ।

उहाँले प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन, कृषि, उद्योग, व्यापार र जनजीवनका दृष्टिले गण्डकी र लुम्बिनी महत्त्वपूर्ण प्रदेश भएकाले सहरी क्षेत्रदेखि ग्रामीण बस्ती र दुर्गम स्थानसम्म गुणस्तरीय दूरसञ्चार सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो

मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

काभ्रे । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

काभ्रे जिल्लाको मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयले सो नामावली हटाएको हो । नामावलीबाट हटाइएकामध्ये मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका दुई जना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरले जानकारी दिए ।

मृत्यु भएका मतदाताको नाम हटाउनेमा भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ३७५ जना रहेका छन् । पनौती नगरपालिकामा २९६, नमोबुद्ध नगरपालिकामा २८१, बनेपा नगरपालिकामा २४०, धुलिखेल नगरपालिकामा ९७, महाभारत गाउँपालिकामा ६५, पाँचखाल नगरपालिकामा ३४ र बेथानचोक गाउँपालिकामा १४ जनाको नाम हटाइएको छ ।

दोहोरो दर्ताका कारण पनौती नगरपालिकामा सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ । चौँरीदेउराली गाउँपालिकामा ११८, नमोबुद्ध नगरपालिकामा १०९, पाँचखाल नगरपालिकामा १०४, मण्डनदेउपुर नगरपालिकामा १०१ र रोशी गाउँपालिकामा ९९ जनाको नाम हटाइएको हो ।

तेमाल गाउँपालिकामा ८२, धुलिखेल र बनेपा नगरपालिकामा ८०–८०, बेथानचोक गाउँपालिकामा ७४, भुम्लु गाउँपालिकामा ७२, महाभारत गाउँपालिकामा ७० तथा खानीखोला गाउँपालिकामा ६८ जनाको दोहोरो दर्ता हटाइएको छ ।

नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम हटाइएको उनले बताए । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्यागका कारण नाम हटाइएकामध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ र पनौती नगरपालिकामा ४३८ जना रहेका छन् ।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा ३९०, बनेपा नगरपालिकामा ३२०, धुलिखेल नगरपालिकामा १७७, पाँचखाल नगरपालिकामा १३८, महाभारत गाउँपालिकामा १३५, चौँरीदेउराली गाउँपालिकामा ११८, मण्डनदेउपुर नगरपालिकामा १०२, रोशी गाउँपालिकामा ९९, बेथानचोक गाउँपालिकामा ८८, तेमाल गाउँपालिकामा ८२ र खानीखोला गाउँपालिकामा ६८ जनाको नाम हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिए ।

एआईजी वंशीराज दाहाल बर्खास्त, गृह मन्त्रालयका प्रवक्ता काफ्लेले गरे पुष्टि

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशी राज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ ।

आचरणसम्बन्धी नियम बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा उनीमाथि विभागीय कारबाही गरिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको हो।

चीन र युरोपेली सङ्घले व्यापार वार्तापछि कार र दुर्लभ खनिजबारे सहमति

काठमाडाैँ । चीन र युरोपेली सङ्घबिच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे शुक्रबार ‘समझदारी’ बनेको छ ।

उनीहरूका वाणिज्य प्रमुखहरूले वार्ता टुङ्ग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाए, जसले पूर्ण व्यापार युद्धको डरलाई कम गरेको छ।

युरोपेली सङ्घका मारोस सेफ्कोभिक र चीनका वाङ वेनताओले दुवै पक्ष हाइब्रिड कारको ‘कम्पनी मूल्य प्रतिबद्धतासम्बन्धी प्रक्रिया’ पालना गर्ने सहमति जनाएको बेइजिङको वाणिज्य मन्त्रालयले संयुक्त विज्ञप्ति उद्धृत गर्दै बताएको छ।

महत्वपूर्ण अटोमोटिभ क्षेत्र वार्ताको अग्रिम चरणमा केन्द्रबिन्दु थियो। चीनबाट आउने सस्तो उत्पादनले युरोपेली उद्योगलाई थिचोमिचो पारेको छ र ब्रसेल्सले ती निर्यातलाई व्यवस्थापन गर्न खोजिरहेको थियो ।

ब्रसेल्सलाई थप राहत दिने कदममा बेइजिङले युरोपेली सङ्घलाई दुर्लभ खनिजजस्ता आवश्यक वस्तुहरूको आपूर्ति जारी राख्ने प्रतिबद्धता पनि जनाएको छ।

“चीनले युरोपेली सङ्घका लागि दुर्लभ खनिज र स्थायी चुम्बकको निर्यात लाइसेन्स स्वीकृतिलाई सहज बनाउन संवाद जारी राख्न तयार छ,” विज्ञप्तिमा भनिएको छ।

उनीहरूले आपसमा ‘असहमति’ रहेको स्वीकार गर्दै दुवै पक्ष व्यापार वार्ता कायम राख्न र मार्चमा थप बैठक गर्ने प्रतिबद्धता जनाएका छन्।

यो वार्ता २७ राष्ट्रको युरोपेली सङ्घ र एसियाली शक्तिबीच महिनौंदेखि बढ्दो तनावपछि भएको हो, जसले व्यापार युद्धमा परिणत हुने खतरा थियो।

सेफ्कोभिकले बिहीबार वाङसँग भेटपछि वार्ताले ‘ठोस परिणाम’ दिनु ‘अत्यावश्यक’ रहेको बताएका थिए। उनले शुक्रबार विहान युरोपेली सङ्घको चीनसँगको व्यापार घाटा दैनिक करिब एक अर्ब युरो (१.१ अर्ब डलर) रहेको र यो ‘असहनीय’ भएको बताएका थिए।

युरोपमा धेरैले चीनलाई ठूला अनुदानमार्फत कम्पनीहरूलाई समर्थन, मूल्य डम्पिङ र मुद्रा हेरफेरजस्ता अनुचित व्यापार अभ्यास गरेको आरोप लगाउँछन्। युरोप बेइजिङलाई चिढाउन सक्दैन, तर चीनका लागि पनि जोखिम उच्च छ । कमजोर घरेलु अर्थतन्त्रको क्षतिपूर्ति गर्न चीन निर्यातमा अत्यधिक निर्भर छ।

युरोपेली संसद्को व्यापार समिति प्रमुख बेन्र्ड लान्गेले सेफ्कोभिकको भ्रमणअघि भन्नुभएको थियो, “चीनको ‘यो आर्थिक सङ्कट’ ले युरोपेली सङ्घलाई ‘मोलतोलको लागि शक्ति’ दिएको छ ।

“चीनस्थित युरोपेली सङ्घ च्याम्बर अफ कमर्सका सदस्यहरूबीच वार्तामा केही ‘चिन्ता’ रहेको छ,” च्याम्बरका महासचिव एडम डननेटले भने।

स्थानीय रूपमा सञ्चालन भएका युरोपेली कम्पनीहरूले ‘बकाया व्यापार असन्तुलनको महत्त्व र वास्तविक समस्या’लाई स्वीकार गरेको डननेटले शुक्रबार बेइजिङमा एएफपीलाई बताए।

“उनीहरू यसलाई सम्बोधन गर्नुपर्छ भन्ने पूर्ण रूपमा समर्थन गर्छन्, तर यसलाई समानुपातिक, विशिष्ट र वार्तामार्फत गर्नुपर्छ भन्ने चाहन्छन्, ताकि समग्र सम्बन्ध व्यवस्थापन गर्न सकियोस्,” उनले भने।

बेइजिङले दुर्लभ खनिज आपूर्ति जारी राख्ने प्रतिबद्धताले चीनस्थित युरोपेली कम्पनीहरूलाई केही राहत दिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका भन्सार शुल्कको बदलास्वरूप बेइजिङले गत वर्ष लगाएका नयाँ नियमअन्तर्गत यी कम्पनीहरू महत्वपूर्ण सामग्रीमा जटिल पहुँचको अभावको सामना गरिरहेका छन्।

“‘त्यसबारे अलि बढी पारदर्शिता हुनु’ यस साताको वार्ताको मुख्य उपलब्धि हो,” उनले भने।

चीनबाट ११ दिनमै ५४३ टन फलफूल आयात, कोरलानाकाबाट भित्रियो ठूलो परिमाण

मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ ।

नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो ।

क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो एघार दिनमा कोरलानाका हुँदै स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको हो ।

भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा कोरलानाकाबाट नेपाल भित्रिएका चिनियाँ फलफूलजन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाइ भइरहेको छ ।

आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिमसमेत बढेको छ ।

यसैबीच, मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको थियो । करिब रु २४ लाख ५० हजार मूल्य बराबरको ड्रागन फ्रुट समयमै गन्तव्यमा पु¥याउन नसकेपछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिए ।

उनले कन्टेनरमा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट रहेकोमा कुहिनुभन्दा स्थानीयलाई वितरण गरेको जानकारी दिए ।

योसँगै ड्रागनको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्व गरी अनुमानित रु ३० लाखको फलफूल क्षति भएको छ ।

काठमाडौँ उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।

यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सूचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको हो ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित १३२ केभी प्रसारण लाइन स्तरोन्नति आयोजनाले मातातीर्थ-स्युचाटार १३२ केभी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कन्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ सूचालक जडान गरिरहेको छ ।

उक्त कार्यका लागि असोज २४ गते शनिबार र २५ गते आइतबार बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ ।

कम क्षमताको पुरानो सूचालकको सट्टा ‘एचटिएलएस कन्डक्टर’ (बढी क्षमताको विद्युतीयर भार वहन गर्न सक्ने) सूचालक जडान गर्न लागिएको हो ।

डबल सर्किट लाइनको एउटा सर्किटको करिब चार सय मिटर सूचालक बदल्न बाँकी रहेको छ । उक्त कार्य सम्पन्न भएपछि प्रसारण लाइनको विद्युत् बहन क्षमता अभिवृद्धि हुनुका साथै बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सवस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।

निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक तयारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने जनाइएको छ ।

बिल लिने उपभोक्तापछि बिल दिने व्यापारीलाई पनि पुरस्कार, कार्यविधि संशोधन गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उहाँले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिनुभएको हो।

बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगदमार्फत पुरस्कृत गर्दै आएको छ। सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको देखिएपछि अर्थमन्त्री डा. वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिनुभएको हो।

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उहाँले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो। “बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,” उहाँले मातहतका उच्च अधिकारीहरूलाई भन्नुभयो, “कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस्। कति रकम कसरि दिन सकिन्छ । जसले उहाँहरुलाई पनि बिल जारी गर्न झन्झट नहोस् ।”

बिल लिनुपर्छ भन्दै गर्दा बिल दिनुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो। साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा हरेक १५–१५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार र एक–एक जनालाई बम्पर उपहारमा १० लाख रुपैयाँ नगद प्रदान गरिँदै आएको छ। जसमा आकस्मिक लाभकर कट्टी हुँदा विजेताले क्रमशः दैनिक एक-एक लाख र बम्परमा सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्छन्।

हालसम्म साउन १ गतेदेखि असोज १५ गतेसम्म पाक्षिक रुपमा पाँच वटा उपहार घोषणा भएर विजेतालाई नगद उपहार प्रदान गरिसकिएको छ। जसमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारमा ७ लाख ५० हजार रुपैयाँ जितिसक्नुभएको छ। अब विभागले बेलैमा कार्यविधिमा व्यवस्था गरेको अवस्थामा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को पुरस्कार घोषणामा विक्रेताका लागि पनि पुरस्कार घोषणा हुनेछ। पुरस्कार प्रोत्साहन रकम उपभोक्ताको जत्तिको ठूलो नहुने स्पष्ट छ तर रकम कति हुने भन्ने यकिन भइसकेको छैन्।

प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा अनिवार्य रुपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ। अनलाइनबाट खरिदको रकम भुक्त्तानी गरेका उपभोक्ता स्वत: पुरस्कारका लागि योग्य हुन्छन् भने नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताले आन्तरिक राजश्व विभागको करदाता पुरस्कार पोर्टलमा दिइएको लिङ्क खोलेर बिल अपलोड गर्न सकिन्छ।

मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उहाँले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

थारू जातिको लोक चित्रकाल, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहासलगायत प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत गलौँदीमा सडक भासियो, जोखिम बढेपछि सवारीसाधनमा रोक

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक चर्किएर भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको ठूलो भाग चर्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतमा रोक लगाएको हो।

प्राप्त विवरणअनुसार गलौँदीमा पृथ्वी राजमार्गको करिब १०० मिटर सडक चर्किएको छ। चर्किएको भागमध्ये करिब २० मिटर सडक भासिएको छ। सडकमा ठूलो चिरा पर्नुका साथै केही भाग भासिएपछि उक्त खण्डमा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो।

सडकको अवस्था जोखिमपूर्ण बनेपछि प्रहरीले सावधानी अपनाउँदै सवारी आवागमन रोकेको जनाएको छ। सडक भासिएको स्थानमा सवारीसाधन सञ्चालन गर्दा थप जोखिम हुन सक्ने भएकाले सुरक्षालाई प्राथमिकतामा राखेर आवागमन बन्द गरिएको हो।

पृथ्वी राजमार्ग राजधानी काठमाडौँलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख सडकमार्गमध्ये एक हो। यस राजमार्ग हुँदै दैनिक ठूलो संख्यामा यात्रुवाहक बस, निजी सवारीसाधन तथा मालवाहक गाडी आवतजावत गर्ने गर्छन्।

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले रु १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा लिई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

हेडक्वाटर पर्साबाट खटिएको अर्को टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी वीरगञ्ज-१६ बाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।

यस गण मातहत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज-१६ इनर्वा सीमा इलाकाबाट भारततर्फबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु एक लाख ७७ हजार ८६० बराबरको कपडा तथा जुत्ता बरामद गरी भन्सार कार्यालयको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरचोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको रु एक लाख २५ हजार १०० बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

काठमाडौँ । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, विपद् जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो ।

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत छ । त्यस्तै, ७० प्रतिशत नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्नसक्ने चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात ४८ प्रतिशत रहेको छ ।

आवाससम्बन्धी आर्थिक दबाबले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजनासमेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ । आवासको आर्थिक दबाबका कारण २८ प्रतिशत उत्तरदाताले स्वास्थ्योपचार ढिला गरेको वा उपचार नै नगरेको बताएका छन् । त्यस्तै, ३६ प्रतिशतले आवश्यक घर मर्मतसम्भार पछि सारेका र २१ प्रतिशतले खाद्य सहायता लिनुपरेको बताएका छन् ।

नेपालमा आवास र मानसिक तनावबीचको सम्बन्धसमेत उल्लेखनीय देखिएको छ । ६८ प्रतिशत उत्तरदाताले आफ्नो आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावका स्रोतमध्ये एक भएको बताएका छन् । विश्वव्यापी औसत ३५ प्रतिशत रहेको छ । आगामी वर्षमा आफू बसिरहेको ठाउँ छाड्नुपर्ने चिन्ता ७१ प्रतिशतमा देखिएको छ भने ७१ प्रतिशतले आफू बस्ने स्थानमा असुरक्षित घटना भए सम्बन्धित निकायले समयमा प्रतिक्रिया नदिने चिन्ता व्यक्त गरेका छन् ।

जलवायुजन्य जोखिमप्रति उच्च चिन्ता

नेपालमा जलवायु तथा प्राकृतिक विपद्को जोखिमसँगै सुरक्षित आवासको प्रश्न पनि गम्भीर रहेको अध्ययनले देखाएको छ । ७२ प्रतिशत उत्तरदाताले चरम मौसमका कारण आफू बसिरहेको स्थानमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन् । विश्वव्यापी औसत यस्तो धारणा राख्नेको सङ्ख्या ३० प्रतिशत मात्र छ ।

त्यस्तै, आगामी तीन वर्षमा चरम मौसमका कारण अहिले बसिरहेको ठाउँमा बस्न झनै कठिन हुने ७० प्रतिशतले बताएका छन् । प्रतिवेदनमा यो सर्वेक्षणमा सहभागी २२ देशमध्ये सबैभन्दा उच्च अनुपात भएको उल्लेख छ । खराब आवासीय अवस्थाका कारण ७६ प्रतिशत नेपालीले आफूलाई असुरक्षित महसुस गर्ने बताएका छन् । त्यस्तै, असुरक्षित ढोका, झ्याल वा घरको सीमाका कारण सुरक्षित महसुस गर्न कठिन हुनेको सङ्ख्या ७३ प्रतिशत छ ।

किफायती घरको अभाव

आवासको मूल्य बढ्दै जाँदा किफायती घरको अभावसमेत गम्भीर बन्दै गएको प्रतिवेदनले देखाएको छ । ७८ प्रतिशत उत्तरदाताले किफायती घर पर्याप्त नभएको बताएका छन् भने ७४ प्रतिशतले पहिलोपटक घर खरिद गर्नेलाई सहयोग गर्न विद्यमान आवास नीतिहरू पर्याप्त नभएको धारणा व्यक्त गरेका छन् । बढ्दो आवास लागतले घरधनी बन्न कठिन बनाइरहेको ७७ प्रतिशतको बुझाइ छ । यद्यपि, ७१ प्रतिशत नेपालीले जीवनको कुनै न कुनै समयमा आफ्नै घर हुने अपेक्षा राखेका छन् ।

आवासको खर्चले परिवार सुरु गर्ने योजनासमेत प्रभावित भएको देखिएको छ । ७२ प्रतिशत उत्तरदाताले आवास खर्चका कारण परिवार सुरु गर्ने विषयमा सोच्न कठिन भएको बताएका छन् । सन्तान भएका उत्तरदातामध्ये ७३ प्रतिशतले आवास खर्चका कारण बालबालिकालाई उपलब्ध गराउन सकिने अवसर सीमित भइरहेकामा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, ७१ प्रतिशतले अहिलेको आवासीय अवस्थाका कारण आफूले पहिले पूरा गर्ने अपेक्षा गरेका सपना वा महत्वाकाङ्क्षा त्याग्नुपरेको बताएका छन् ।

आवास प्रणालीप्रति असन्तुष्टि

आवाससम्बन्धी विद्यमान प्रणालीप्रति पनि नेपालीमा उल्लेखनीय असन्तुष्टि देखिएको छ । ७२ प्रतिशत उत्तरदाताले देशको आवास प्रणाली प्रभावकारी रूपमा काम नगरेको धारणा व्यक्त गरेका छन् । विश्वव्यापी औसत ५६ प्रतिशत रहेको छ ।

सुरक्षित तथा मर्यादित आवासलाई आधारभूत मानव अधिकार मान्ने नेपालीको सङ्ख्या भने ८३ प्रतिशत छ । त्यस्तै, ७९ प्रतिशतले आफू बस्ने क्षेत्रमा थप किफायती वा सामाजिक आवास उपलब्ध भए स्वागत गर्ने बताएका छन् ।

अनौपचारिक आवासमा बस्ने बढी असुरक्षित

अनौपचारिक आवासीय व्यवस्थामा रहेका नेपालीमा आवासीय सुरक्षाको अवस्था थप कमजोर देखिएको छ । औपचारिक आवासीय कागजात नभएका, अस्थायी आवासमा रहेका वा अन्य गैरऔपचारिक व्यवस्थामा बस्ने उत्तरदातामध्ये ५३ प्रतिशतले मात्र आफू अहिले बसिरहेको ठाउँमा बसिरहन सक्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिवेदनअनुसार नेपालमा १२ लाखभन्दा बढी मानिस सुरक्षित जग्गा वा आवासबाट वञ्चित छन् भने करिब १३ लाख परिवार अनौपचारिक जग्गा तथा आवासीय स्वामित्व व्यवस्थामा रहेका छन् । अध्ययनका लागि नेपालमा कुल एक हजार ४०० जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो । तीमध्ये एक हजार जना वयस्कलाई अनलाइन माध्यमबाट राष्ट्रिय नमुनाका रूपमा सर्वेक्षण गरिएको थियो । उमेर, लिङ्ग, क्षेत्र र आयका आधारमा राष्ट्रिय वयस्क जनसङ्ख्यालाई प्रतिनिधित्व गर्नेगरी नमुना तयार पारिएको र तथ्याङ्कलाई सम्बन्धित जनसाङ्ख्यिकीय आधारमा भारित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, मासिक पारिवारिक आम्दानी २० हजार रुपैयाँभन्दा कम भएका थप ३०० जनालाई सर्वेक्षणमा समेटिएको थियो । अनौपचारिक आवासीय व्यवस्थामा रहेका थप १०० जनासँग काठमाडौँ, काभ्रे, भक्तपुर र टोखामा प्रत्यक्ष अन्तवार्ता गरिएको थियो । थपिएका लक्षित समूहका नमुना स्वतन्त्र रूपमा राष्ट्रिय प्रतिनिधिमूलक नभएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले एडेलम्यान इन्टेलिजेन्समार्फत सन् २०२६ अप्रिल १० देखि जुन ३० सम्म करिब २० मिनेटको सर्वेक्षण सञ्चालन गरेको थियो । नेपालसहित विश्वका २२ देशमा कुल ३० हजार ७५८ जना सर्वेक्षणमा सहभागी थिए । प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ । आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपद्को जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

रसुवा । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेको त्यो दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन ।

अझै पनि यी सबै सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ त उहाँलाई । यतिका दिनसम्म पनि कान्छाको आँखामा भने भदौ १० गतेको त्यो बाढीको भेल नाचिरहन छाडेको छैन । त्यो बाढीको गड्याङगुडुङको आवाज अझै कान्छाको कानमा गुञ्जिरहन छाडेको छैन । भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका हुन्थे । ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काँप्न छाडेको छैन । ती घटना बिर्सन सके पो मन भारी हुन छाड्थ्यो कान्छाको ।

बाढीपछि मृत्यु भएका ती आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन् । हराएका ती प्रियजन अब त फर्कने आशा पनि मरिसक्यो । कहिलेकाहीँ फर्की आउँछन् कहीँकतैबाट पो भन्ने भ्रम पनि मनबाट पूर्ण रूपमा हट्न सकिरहेको छैन कान्छाको । आँखै अगाडि बगिरहेका ती प्रियजन सम्झन्छन् । बस्तीलाई बाढीले बढारेको दृश्य आँखामा नाचिरहन्छ । अनि झन् मन भक्कानिन्छ कान्छाको । सुन्दर बस्तीलाई बाढीले क्षणभरमै बगर बनाउला र यति धेरै कुरूप बन्ला भन्ने कल्पना पनि गरेका थिइनन् कान्छाले । ती उजाडलाग्दो बगरलाई हेर्दा आँखा रसाउँछ उनको ।

त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो । बाढी आउँदा उनी केही अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए तर सुरक्षित स्थानमा पुगेपछि पनि उनले देखेको दृश्य झनै भयावह थियो । “गड्याङगुडुङ गरेर ठूलो आवाज आयो । के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ”, कान्छा त्यो दिन सम्झन्छन्, “बेतोडले भागेर अलि माथि पुगेँ । तल हेर्दा मानिस बगिरहेका थिए । कोही चिच्याइरहेका थिए । हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बढार्‍यो ।”

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा भने उनको मनमा गहिरो गरी बसेको छ । “सयौँ मानिस बगेको हेर्नुपर्‍यो । त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन”, कान्छा भन्छन्, “बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र ? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ ।” त्यसदिन बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सम्झनासमेत बगाएर लग्यो । सँगै खेलेका साथीहरू, परिचित अनुहार र त्यो बस्ती अहिले कान्छाका सम्झनामा मात्रै छन् । गड्याङगुडुङको आवाज, एकाएक उर्लिएको भेल, मानिसको चिच्याहट र आँखै अगाडि बगिरहेको बस्तीको दृश्य सायद कान्छाको मानसपटलमा ननाचेको कुनै क्षण नै नहोला ।

विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन…

बाढी गएको यतिका दिन बितिसक्दा पनि अझै डराइरहेको छ कान्छाको मन । घरीघरी ठूलो विपद् फेरि दोहोरिन्छ कि भन्ने चिन्ताले सताउन छाडेको छैन । “त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ”, उनी भन्छन्, “फेरि यस्तै विपद् दोहोरिन्छ कि डर लागिरहन्छ । रातभर आनन्दले निद्रा नै पर्दैन ।”
कान्छाकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखैअगाडिको त्यो घटना न सम्झिन मन छ, न बिर्सन सजिलै सकिन्छ । उनका पनि कयौँ रातहरू डरैडरमा बितिसके । अझै पनि मनको डर हट्न सकेको छैन । “आकाशमा मेघ गर्जंदा पनि डर लाग्छ, हामीलाई जिन्दगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले”, उनी भन्छिन् ।

अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना छ जना आफन्तलाई त्यही बाढीमा गुमाउनुपर्‍यो । बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला भन्ने लाग्छ सन्दुलाई । भत्किएका घर, सडक र संरचना पनि फेरि उठाउन सकिएला तर बाढीले खोसेका आफन्त भने कहिल्यै फर्कने छैनन् । सम्झनाले उनलाई पनि हरेक दिन सताइरहेको छ ।

सन्दुको घरलाई भने बाढीले छुन सकेन । घर जोगिएकामा खुसी हुनुपर्ने हो । तर, घरको आँगनीको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ । आफ्नै घर जोगिएको खुसीभन्दा तलको बस्ती र आफ्ना आफन्त गुमाएको पीडा ठूलो छ उनलाई । “बस्ती त फेरि बनाउन सकिन्छ होला । घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने ?” सन्दुको भनाइमा बाढीले छाडेको पीडाको गहिराइ स्पष्ट झल्किन्छ ।

गत वर्ष पनि यसपटकको जस्तै भारी वर्षाबिना भोटेकोशीमा बाढी आएको थियो । तर, यस्तो सुनामी थिएन । सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ– फेरि पनि योभन्दा ठूलो बाढी आयो भने ? “अब त ठूलो बाढी जुनसुकै बेला आउला भन्ने डर लाग्छ । बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ”, उनी भन्छन् ।

त्यो दिन बाढी आउँदैछ भन्ने पूर्वसूचना आफूहरूले नपाएको सन्दु बताउँछन् । नदीको आवाज अस्वाभाविक आएपछि के रहेछ भनेर हेर्दा पनि निकै ठूलो बाढी पो रहेछ । “हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौँ । त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर आवाज दिन खोजेँ । कसैले सुनेन”, उनी भन्छन् ।

उर्लिरहेको बाढीको गर्जनसामु एउटा मानिसको सुस्केराको आवाज कति नै ठूलो हुनु र मानिसले सुन्नु । सुनेर पनि भाग्न भ्याउने अवस्था थिएन । सन्दुले सुस्केरा दिँदादिँदै उनकै आँखाअघि बाढीले बस्ती र मानिसलाई बगायो । त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन छाडेको छैन । “अझै पनि यी सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ । बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो”, उनी भन्छन् । तर, त्यो सपना हुनै सक्दैन अब, कठोर सत्य हो । जुन स्वीकार गर्नुको विकल्प नै छैन ।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेरेपछि आफन्त सम्झिरहन्छन् सन्दु । घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा अरू गुमाएकाको पीडा बल्झिन्छ । बाढीको भेल तलतिर बगेर गयो । तर, त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास भने अझै बगेको छैन ।

विपद्पछिको कठिन जीवनस्तर
भोटेकोशी बाढी गएको ४५ दिन बितिसकेको छ । बाढीले खोसेका जीवन फर्केर आउने छैनन् । बेपत्ता आफन्त भेटिने आशा पनि मरिसक्यो । बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन् । हिजोका सुन्दर बस्ती र हराभरा खेत, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगर बनेको छ । त्यो बगर देख्ने जोकोहीको मन भारी हुन्छ र आँखा रसाउँछन् ।

बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन । घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ । “महँगी असाध्यै छ । हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन । किनेर खान पनि नजिकै ठाउँ छैन । अलि टाढा जाँदा असाध्यै महँगो पर्छ”, सन्दु भन्छन्, “बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ ।”

विपत्तिले दिएको पीडा र अभावका बीच सन्दुको मनमा भने निराशासँगै पुनः सामान्य जीवनमा फर्किने झिनो आशा पनि बाँकी छ । सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उनलाई घचघच्याइरहन्छ । पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उनलाई थाहा छैन । अहिलेका लागि उनीसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्किने प्रतीक्षा भने बाँकी नै छ ।

वैकल्पिक आवतजावतलाई तुइन
केही सामान किन्न र उपचार गर्न जानुपर्दा भने घण्टौँ कुरेर तुइनबाट आवतजावत गर्नुपर्ने अर्को समस्या सुनाउँछन् कान्छा तामाङ । “तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ । के गर्नु तुइनबाहेक अन्य केही विकल्प नै छैन”, उनी सुनाउँछन् ।

रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवतजावतका लागि बनाइएका ती तुइन निर्माण तथा मर्मतमा करिब रु. २० लाख खर्च भएको जानकारी दिए ।

“नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ । त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ”, उनले भने, “रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा रहेको छ ।”

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ । विभागका अनुसार स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ । रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ ।

विपद्पछि १२ झोलुङ्गे पुलको मर्मत सम्पन्न
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौ वटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको जानकारी दिएका छन् । तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिदको सम्झौता भई पहिलो पटकको सामानसमेत आपूर्ति भइसकेको उनको भनाइ छ ।

विभागका अनुसार मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन् । गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ ।

विभागका अनुसार यी १२ वटा झोलुङ्गे पुलको मर्मतमा करिब रु. तीन करोड खर्च भएको छ । त्यस्तै गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत सुरु गरेको जनाएको छ । त्यस्तै क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको छ । थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सुदूरपश्चिम। प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयकमा पुनरावलोकनसहित परिमार्जन गर्न नपाइने दाबीसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले आज प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयक पुनरावलोकनसहित परिमार्जन गर्न पाइने वा नपाइने विषय रिट निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता मनिराम उपाध्यायले अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयक पुनरावलोकनसहित परिमार्जन गर्न नमिल्ने दाबीसहित अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्नुभएको थियो । गत असार २९ गते प्रदेश सरकार परिवर्तन भएको थियो ।

संयुक्त इजलासले संविधानको धारा ५९ को उपधारा (३), धारा २०० र धारा २०९ तथा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १२३ लगायत कानुनी व्यवस्थाको सन्दर्भमा बजेट परिमार्जनको अधिकारसम्बन्धी प्रश्न अन्तिम सुनुवाइका क्रममा निरुपण हुनुपर्ने प्रकृतिको देखिएको उल्लेख गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का सम्बन्धित व्यवस्थासमेतका आधारमा हाललाई अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ ।

दुई पक्षको बहसपछि संयुक्त इजलासले भनेको छ, “संविधानको धारा २०० मा एकातर्फ विधेयक फिर्ता लिन सकिने संवैधानिक व्यवस्था गरेको र अर्कोतर्फ धारा २०९ मा अर्थमन्त्रीले पूरक अनुमान मात्र पेस गर्न सक्ने व्यवस्था रहेको तथा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १२३ को व्यवस्था कार्यान्वयन हुन बाँकी रहेको सन्दर्भमा बजेट प्रस्तुत भइसकेपछि सोलाई परिमार्जन गर्ने अधिकार प्रदेश सरकारलाई रहने नरहने विषय निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुने प्रकृतिको देखिएको र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१, २२, २३, २४ को व्यवस्थासमेतको रोहमा हाललाई निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएन । नियमानुसार गर्नू ।”

कांग्रेस महाधिवेशन : सभापतिको नतिजापछि मात्रै अन्य पदको मतगणना, मतपत्र सानेपा लगिने

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै हुने भएको छ । सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताए ।नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ६.५० मा खुल्ला मञ्च स्थित तराई मधेस हलमा मतदान गर्दैछन् ।

रवि र बालेन शाहप्रति मिराज ढुङ्गानाको टिप्पणी, फेरि विद्रोह हुन सक्ने दिए चेतावनी

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहलाई राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै मुलुकमा पुनः विद्रोह हुन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढुङ्गानाले राजनीतिक नेतृत्वमा नयाँ अनुहार देखिँदैमा देशको अवस्था परिवर्तन हुने ग्यारेन्टी नहुने टिप्पणी गरेका हुन्। उनका अनुसार, राजनीतिक व्यक्तिहरूको अनुहार फेरिए पनि उनीहरूको आचरण, कार्यशैली र प्रवृत्तिमा परिवर्तन नआए त्यसले जनताको अपेक्षा पूरा गर्न नसक्ने अवस्था रहन्छ।

उनले नेपाली कांग्रेसलगायत पुराना राजनीतिक दलमा केही अनुहार परिवर्तन हुँदैमा राजनीतिक सुधार भएको मान्न नसकिने तर्क गरेका छन्। त्यस्तै, विगत ३५ वर्षदेखि बिग्रिएको भनिएको राजनीतिक तथा शासकीय अवस्थाको समाधान रवि लामिछाने र बालेन शाह तीन दिनमै मिलेर निकाल्न सक्छन् भन्ने दाबीलाई सहजै विश्वास गर्न नसकिने उनको भनाइ छ।

ढुङ्गानाले फेसबुकमा लेखेका छन् – ‘५ जना अनुहार फेरिए, काङ्ग्रेस फेरियो रे।३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनु पर्ने रे।
ध्यान दिएर हेर्नुभयो भने यी दुवै उस्तै खालका ‘नयाँ’ हुन्, राजनीतिक आचरण त्यही, लालिपोतो नयाँ। एउटै डालामा राख्दा फरक पर्दैन।२३ र २४ को विद्रोहले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको थियो, जुन रिकन्डिसन गरेका पुराना दलले सक्दैनन्।यिनैलाई विकल्प मान्ने हो भने २३ र २४ को घटना निश्चित नै दोहोरिन्छ, यो कुरा लेखेर राख्दा हुन्छ।त्यसैले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठनका लागि तेस्रो ध्रुव (Third Pole) को आवश्यकता अपरिहार्य छ।’

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

साेल । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ ।

राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिएका थिए । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको छ ।

रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न खटिएका ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को सुरुतिर युक्रेनले नियन्त्रणमा लिएको थियो । उनीहरूले स्वदेश फर्किएमा दुव्र्यवहार भोग्नुपर्ने आशङ्काले दक्षिण कोरियामा बसोबास गर्ने इच्छा व्यक्त गरेका थिए । दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर आउने नागरिकलाई आश्रय दिने नीति अपनाउँदै आएको छ ।

दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरण गोप्य राख्ने सहमति उल्लङ्घन गरेको आरोप युक्रेनमाथि लगाए पनि किएभले त्यस्तो सहमति भएको अस्वीकार गरेको छ । विश्लेषकहरूका अनुसार विवादले रुस र उत्तर कोरियाबीचको सैन्य सहकार्यबारे जानकारी प्राप्त गर्ने दक्षिण कोरियाको प्रयासमा असर पार्न सक्छ ।

दक्षिण कोरियाले सन् २०२२ देखि युक्रेनलाई ४४ करोड ५० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको छ । गत जुलाईमा राष्ट्रपति लीले युक्रेनलाई थप एक करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

हेटाैँडा । गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ ।

भोटेकोशी बाढीको ४५ दिन पुगेको सन्दर्भमा ज्यान गुमाएकाको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ४० जना गुरु पुरोहितद्वारा पाठपारायण गराइएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।

त्यस अवसरमा अकल्पनीय रुपमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा उहाँहरुको आत्मा शान्तिको कामनासहित मौन धारणा पनि गरियो । रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी कुष्माण्डमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वासका कारण त्यहाँको बेग्लै महिमा छ ।

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

तनहुँ । यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले तनहुँमा घर, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कल्भर्ट, सडकलगायत संरचनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

पाँच झोलुङ्गे पुल पूर्ण क्षतिग्रस्त

विपद्का कारण तनहुँका पाँच वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण क्षति भएको हो । उक्त पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग, ललितपुरमा सिफारिस गरिएको प्रजिअ तिवारीले बताए ।

उनका अनुसार घिरिङ-१ को अत्रौलीबाट कासिवन जोड्ने झोलुङ्गे पुल पनि बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसको पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ । घिरिङ-४ र नवलपुरको बौदीकाली गाउँपालिका-२ अन्तर्गत मण्डारबाट खरसङघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । उक्त पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।

सोही वडाको करुवाटारबाट माइतीघाट-मचेडी जोड्ने झोलुङ्गे पुल पनि बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको प्रजिअ तिवारीले जानकारी दिए । यसैगरी देवघाट गाउँपालिका-२ र नवलपुरको बुलिङटार गाउँपालिका-१ जोड्ने खाल्टे-बुलिङटार झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

यी पुलहरू क्षतिग्रस्त भएपछि नदी वारपार गर्ने स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ भने कतिपय स्थानमा विद्यालय जाने विद्यार्थीसमेत प्रभावित भएका छन् ।

तीन झोलुङ्गे पुलमा आंशिक क्षति

बाढीले तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने पुट्टारघाट-स्याउलीबजार झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । पुलको मर्मत तथा पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।

त्यस्तै, घिरिङ-४ र नवलपुरको बौदीकाली जोड्ने जगौलीटार-थोत्रेनी झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । देवघाट-१ र नवलपुरको गैँडाकोट नगरपालिका-३ जोड्ने झोलुङ्गे पुलको लठ्ठा, स्ल्याब तथा जालीमा क्षति पुगेको प्रजिअ तिवारीले बताए । पुललाई तत्काल मर्मत तथा सुरक्षित बनाउनेतर्फ प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे ।

पक्की पुलमा पनि क्षति

बाढीले घिरिङ-४ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी मण्डार-खरसङघाट पक्की पुलमासमेत आंशिक क्षति पुगेको छ । पुलको पुनर्निर्माण तथा आवश्यक मर्मतका लागि सडक विभाग, बबरमहल र सडक डिभिजन कार्यालय दमौलीमा सिफारिस गरिएको प्रजिअ तिवारीले बताए ।

दुई कल्भर्टमा क्षति

बाढीका कारण जिल्लाका विभिन्न स्थानमा कल्भर्टसमेत क्षतिग्रस्त भएका छन् । भिमाद नगरपालिका-४ स्थित सिंहाले कल्भर्ट पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसको पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशमा सिफारिस गरिएको छ ।

त्यस्तै, घिरिङ गाउँपालिका-४ स्थित तिरन्दी खोला कल्भर्टमा आंशिक क्षति पुगेको छ । उक्त कल्भर्टको मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशमा सिफारिस गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तिवारीले बाढीका कारण क्षतिग्रस्त सडक, पुल, भवन तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मतलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । “स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, प्रहरीको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा आवश्यक प्रक्रिया पूरा गरी क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ”, उनले भने ।

हिल्सा नाका बन्द हुँदा खाद्यान्न र उपचारको अभाव, हिउँले घर फर्किन कठिन

हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ ।

गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो । लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन् । माछा–मासु पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताए ।

उनका अनुसार नाका बन्द भएपछि हिल्सामा खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी वा मेडिकलसमेत छैन । सशस्त्र प्रहरी बलका एक जना जवानले सिएमए तालिम लिएको र उनीसँग रहेको सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।

नाका बन्द हुँदा हिल्सामा रहेका नेपाली नागरिकको आवतजावतसमेत प्रभावित भएको थियो । चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली नागरिक नेपालतर्फ प्रवेश गरेका छन् । तीमध्ये केहीले हिउँ जमेको बाटो हुँदै नेपाल फर्किनुपरेको छ ।

कतिपय बिहीबार नै पैदल मार्ग हुँदै अघि बढिसकेका छन् भने केही शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा छन् । चीनबाट नेपाल अबेर प्रवेश गरेकाहरू शुक्रबार बिहानै हिँड्ने तयारीमा रहेको सापकोटाले बताए । यता, नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारबाट मात्रै सुरु भएको छ ।

नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ । तर, मेसिन सानो भएकाले दैनिक बढीमा एक–दुई किलोमिटर मात्रै सडक सफा गर्न सक्ने अवस्था छ । सडक सफा गर्ने गति निकै सुस्त भएपछि हिल्सामा रोकिएका नेपाली नागरिकमा झनै चिन्ता बढेको छ ।

यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन् ।

लामो समयदेखि सीमा नाका बन्द, सडकमा जमेको बाक्लो हिउँ, खाद्यान्नको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा हिल्सा अहिले समस्यैसमस्याको बीचमा छ ।

चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा हिल्साबाट घर फर्किन चाहने नागरिकका लागि अर्को चुनौती थपिएको छ ।

स्थानीय तथा सुरक्षाकर्मीका अनुसार तत्काल सडकमा प्रभावकारी रूपमा हिउँ पन्छाउने व्यवस्था गरी यातायात सञ्चालनमा ल्याउन नसके हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट थप गहिरिन सक्ने देखिएको छ ।

यतिबेला हिल्सामा ३५ जना सशस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, चार जना अध्यागमन कार्यालय र चार जना भन्सारका गरी ६३ जना सरकारी कर्मचारी छन् भने केही स्थानीय नागरिकसमेत बस्दै आएका छन् ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) ९० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १२० रुपैयाँ, पालुङ्गो साग १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

गगन थापासँग प्रतिस्पर्धामा रहेका श्यामकृष्ण खड्गीले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्।

शुक्रबार खड्गीले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

उनी सभापति पदका अर्का उम्मेदवार गगनकुमार थापासँग प्रतिस्पर्धामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

पोखरा–१८ अधेरीकुनामा माटोको ढिस्को खस्दा दुई मजदुरको ज्यान गयो

पोखरा – पोखरामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतका २९ वर्षीय विक्रम सुनार र गोरखाका ३९ वर्षीय राजु कुमाल रहेका छन् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले स्काभेटरको सहयोगमा उनीहरूको उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए। तर, चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दशैँको अग्रिम टिकट खुल्यो, बिहानैदेखि बसपार्कमा यात्रुको लाइन

काठमाडौं – दशैँका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ । टिकट लिन बिहानैदेखि काठमाडौंका बसपार्कमा यात्रुको चहलपहल बढेको छ।

यात्रुको सहजताका लागि ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका गाडीलाई रिजर्भमा सञ्चालन गर्न रुट परमिटसमेत खुला गरिएको छ।

सरकारले बढी भाडा नलिन, क्षमताभन्दा बढी यात्रु नराख्न र सवारीसाधनको अवस्था जाँच गरेर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ। प्रहरीले चाडपर्वमा सडक सुरक्षा र ट्राफिक निगरानी पनि बढाएको छ।

पोखराको ओख्ले भीरमा स्कुल बस दुर्घटना, २१ विद्यार्थी सवार

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक विवरण छ, जसमध्ये २१ जना कक्षा १० का विद्यार्थी छन्।

परीक्षाका लागि ट्युसन पढ्न जाने क्रममा बिहान भएको दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्धार सुरु गरेका छन्। हालसम्म १८ जनाभन्दा बढीलाई उद्धार गरी गण्डकी अस्पताल पठाइएको छ। घटनास्थलमा उद्धार जारी रहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ।

हुम्ला-मुगु सीमा क्षेत्रमा जडीबुटी विवादपछि तीन जनाको मृत्यु, उद्धार टोलीले ल्यायो शव

काठमाडौं । हुम्ला–मुगु सीमावर्ती मिमी पाटनमा जडीबुटी खोज्न गएका मुगुका तीन जनाको मृत्यु भएको छ।

जडीबुटी संकलन क्षेत्रको सीमा विवादमा असोज ११ गते भएको झडपमा गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि बेपत्ता भएका ललितजङ्ग बडुवाल र अंगबहादुर रोकायाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

अत्यधिक हिउँ, कठिन भूगोल र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो। सुरक्षाकर्मीले तीनै जनाको शव जिल्ला अस्पताल मुगुतर्फ ल्याएका छन्।