`

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित ‘सुकुमवासी होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज खरिपाटीमा रहेका २१ र बोडेमा रहेका १८ जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

‘होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीका लागि झोला, कलम–कापीलगायतका शैक्षिक सामग्रीसहित क्यारम्बोर्ड, ब्याडमिन्टन, चेस, भलिबललगायतका खेलकुदका सामग्री वितरण गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुहुँदै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाइ नहोेस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराउनुभयो ।

यसैगरी, सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका नागरिकको स्वास्थ्य, सुरक्षासहित समग्र व्यस्थापनका लागि सम्बद्ध मन्त्रालयहरूबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकाले ढुक्क भई बस्न अनुरोध गर्नुभयो ।

शिक्षामन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा रहका विद्यार्थीको विद्यालय भर्नालगायत आउने जाने क्रममा समस्या देखिए आवश्यक सहजीकरणसहित समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैबीच ‘होल्डिङ सेन्टर’मा रहका विद्यार्थीलाई विद्यालय जान–आउन सहज बनाउने उद्देश्यले भोलि मङ्गलबारदेखि ‘बस’ को व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल ‘होल्डिङ सेन्टर’ पुग्नुभएको हो ।

यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सम्बद्ध मन्त्री सम्मिलित टोलीले ‘होल्डिङ सेन्टर’ को स्थलगत अनुगमन गरी त्यहाँ बस्ने सुकुमवासीको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाका बारेमा जानकारी लिएको थियो ।

बालेन सरकारले आफ्ना मान्छेहरूको सम्पत्ति लुकाएर अरूको मात्रै छानबिन गर्नु गलत – ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको पनि सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् । सोमबार बुटवलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले बहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरूको समेत सम्पत्ति छानबिन हुनुपर्ने माग गरे।

शाहीले सरकारले आफ्ना मान्छेहरूको सम्पत्ति लुकाएर अरूको मात्रै छानबिन गर्नु गलत भएको बताए । जागिर वा कुनै ठूलो व्यवसाय विना नै राजनीतिक नेतृत्वमा रहेका धेरै व्यक्तिहरूसँग करोडौँदेखि अर्बौँ रुपैयाँसम्मको सम्पत्ति कहाँबाट आयो भन्दै आम नागरिकले प्रश्न गरिरहेको उनकोे भनाइ थियो ।

रास्वपाका नेताहरू समेत अर्बपति देखिएको टिप्पणी गर्दै उहाँले सम्पत्ति छानबिनको दायरा सबैका लागि समान हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री बालेन्द्र शाहतर्फ इङ्गित गर्दै नेता शाहीले पूर्वमेयरहरूको सम्पत्ति छानबिन नगर्नुले सरकारको सुशासनको नारामाथि नै प्रश्न उठाएको बताए ।

नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन भानुभक्तको महत्वपूर्ण योगदान छः प्रदेश प्रमुख भट्ट

कास्की – गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली भाषालाई लोकप्रिय र साझा बनाउन आदिकवि भानुभक्तको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराले आज आयोजना गरेको विशेष समारोहमा उहाँले विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत जोड्ने काम भानुभक्तले गर्नुभएको बताए ।

प्रदेश प्रमुख भट्टले भने “भानुभक्तका कृतिमा धार्मिक भावना मात्र होइन, लोककल्याणको गहिरो चेतना समेत पाइन्छ । उनका कृतिहरुलाई सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पु¥याउनु आवश्यक छ ।”

आदिकवि विश्वभरका नेपाली भाषी बीचमा भाषा तथा साहित्य फैलाउने सेतुका रुपमा स्थापित रहनुभएको बताउँदै उनले भने, “भानुको साहित्यिक योगदानले भाषा र समाजबीचको सम्बन्धलाई सुदृढ बनाउँदै नेपालीपनको साझा भावना निर्माणमा उल्लेखनीय भूमिका खेलेको छ । भानुभक्तले नेपालीलाई एउटै भाषिक सूत्रमा बाँध्ने प्रेरणा दिनुभएको छ ।”

भानुभक्तले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल, सहज र जनबोलीको नेपाली भाषामा रूपान्तरण गरी साहित्यलाई जनसामान्यको जीवनसँग जोड्नुभएकाले यही ऐतिहासिक योगदानले नेपाली भाषालाई साझा सांस्कृतिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार तयार गरेको उनको भनाइ छ ।

भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मियाँ, पोखरा–११ का वडासदस्य रनशुभा गुरुङ, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति दुर्गा शाह, पोखरा प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति पद्मराज ढकाल लगायतले भाषा र साहित्यमार्फत आदिकवी भानुभक्तले नेपालको एकीकरणमा पु¥याउनुभएको योगदानको चर्चा गरे । समारोहमा विभिन्न साहित्यिक व्यक्तित्वले भानुभक्तीय रचना वाचन गरे ।

‘लालीबजार’ले कमायो ९ करोडभन्दा बढी, ‘जाँड’को कमाइ डेढ लाख पनि पुगेन

काठमाडौँ – यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।

चलचित्र विकास बोर्डले प्रत्येक सोमबार सार्वजनिक गर्ने गरेको सूचनामा २८ गते आइतबार बेलुकीसम्म ‘सिनेपा २ बक्स अफिस’ मा सो कुरा उल्लेख छ ।

अभिनेत्री स्वस्तिमा खड्का लगायत अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा, प्रसंशा सुवेदीलगायतका कलाकारको अभिनय रहेको छ ।

यस वर्षको पहिलो तीन महिनामा सबैभन्दा कम कमाउने चलचित्र ‘जाँड’ बनेको छ । सार्वजनिक विवरणअनुसार उक्त चलचित्रले रु एक लाख २६ हजार आम्दानी गरेको छ ।

राजु शाहले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

त्यसैगरी, गत जेठ १५ गते प्रदर्शन भएको चलचित्र ‘रोल नम्बर १’ ले रु एक करोड ७७ लाख छ हजार ५८३ कमाई गरेको छ ।

सो चलचित्र जोन योञ्जनको निर्देशनमा तयार भएको हो । चलचित्रमा मुकुन भुसाल, सुशाङ्क मैनाली, रेणु योगी, एवनराज उप्रेती, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

यही असार ५ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘आइएम जितबहादुर’ ले घरेलुबजारमा राम्रो कमाई गर्न सकेन । यस अवधिमा सो चलचित्रले जम्मा रु ३१ लाख ३६ हजार ११२ कमाएको छ ।

कलाकार जीतु नेपालले निर्माण तथा अभिनय गर्नुभएको उक्त चलचित्रमा कलाकार नेपालसँगै वर्षा राउत, प्रियंका कार्की लगायतको अभिनय रहेको छ ।

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

बागलुङ। बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ एक गाउँदेखि अर्को गाउँ पुग्न थुप्रै पहाड र खोला पार गर्नुपर्छ । हिउँदको समयमा जसोतसो आवतजावत गरे पनि बर्खाको समयमा कठिन हुन्छ ।

गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालय पुग्न घण्टौँ लाग्छ । बर्खाको समयमा विभिन्न खोलाहरुमा पुल नबन्दा नागरिकले सास्ती खेप्दै आएका छन् ।गाउँपालिकाले बाह्रै महिना सवारीसधान सञ्चालन गर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर ठाउँठाउँमा पुल तथा कल्भर्ट निर्माण गरे पनि अझै धेरै स्थानमा बनाउन बाँकी छ । पालिकाले यसवर्ष मात्रै छ वटा खोलामा कल्र्भट र पक्की पुल निर्माण गरेको छ । तर अझै पनि वडा नम्बर ३, ४ र ६ वडामा वर्खामा पालिका केन्द्रबाट सिधा यातायात सञ्चालन हुँदैनन् ।

रु एक करोड ७० लाख खर्चे घट्टबोघाट, सिङ्खोलाघाट, नुनथला घाट, पात्लेखोलामा दुई वटा र सेर्माघाटमा एउटा पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

पालिकाका छ वटै वडामा बाह्रै महिना यातायात संचालनका लागि अझै पाँच स्थानमा पुल निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।अध्यक्ष बुढामगरका अनुसार चालु आर्थिक वर्षमा पुल बनेपछि वडा नम्बर ५ खुङ्खानीमा बाह्रै महिना सवारीसाधान चल्न सक्ने भएको छ । वडा नम्बर ६ को नर्जाखानी पुग्न बागमानघाट, वडा नम्बर ३ को तमान र वडा नम्बर ४ को लाम्मेला पुग्न धोमैघाट पुल बनाउनुपर्ने अध्यक्ष बुढामगरले बताउनुभयो ।

तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालयसम्म आउनका लागि छ स्थानमा पुल तर्नुपर्ने बताउनुभयो ।अहिलेसम्म छ वटामध्ये हालसम्म पाँच स्थानमा पुल तथा कल्भर्ट बनेको भन्दै अब बागमानघाटमा पुल बन्यो भने बाह्रै महिना सहज रुपमा पालिका पुग्न सकिने उहाँले बताउनुभयो ।

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ।

ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही क्षेत्रहरूमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सर्तकता अपनाउन सबैमा आग्रह गरे।

विभागमा अहिले प्राप्त अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मकवानपुरगढी र म्याग्दीमा समान १२१ मिलिमिटर (अति भारी वर्षा) भएको छ । त्यसपछि सुनसरीमा ११७ र उदयपुरमा १०६ मिलिमिटर (अति भारी वर्षा) वर्षा भएको मौसमविद् अर्यालले जानकारी दिए । उनका अनुसार काठमाडौँसहित अन्य केही जिल्लाहरूमा भने भारी वर्षा भएको छ । काठमाडौँको चन्द्रागिरि वर्षामापन केन्द्रमा गरिएको मापनअनुसार ९३ दशमलव छ मिलिमिटर वर्षा भइसकेको छ।

त्यस्तै सिन्धुलीमा ९३, झापामा ८४, सङ्खुवासभामा ५२, ताप्लेजुङमा ६४, सोलुखुम्बुमा ५८, सिन्धुपाल्चोकमा ६८, चितवनमा ८४, नवलपुरमा ८५, नवलपरासी पश्चिममा ६९ पाल्पामा ९८, बाँकेमा ५७ र कैलालीमा ५७ मिलिमिटर (भारी वर्षा) भएको छ। अन्य अधिकांश जिल्लामा भने मध्यम वर्षा भएको विभागले जनाएको छ। अहिले काठमाडौँसहित उदयपुर, लमजुङ, सिन्धुपाल्चोक, चितवन, लम्जुङ, खोटाङ बाग्लुङ, पर्वतलगायत जिल्लमा वर्षा जारी छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद् अर्यालले उल्लेख गर्नुभयो । सोही कारणले आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारीदेखि अति भारी वर्षा साथै बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ। मौसमविद् अर्यालले वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको जानकारी दिए।

चर्का भाषणले होइन, राजनीतिक इमानदारीले देश बन्छ – एमालेका महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चर्का भाषणले नभई राजनीतिक इमानदारीले देश बन्ने बताउका छन् । सामाजिक सञ्जालमार्फत उनले सस्तो लोकप्रियताले देश नबन्ने बताए ।

उनले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका छन्।

उनले लेखेका छन् – परिवर्तनको भ्रम र आजको कटु सत्य!
देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मा आफैँभित्रका विकृति (लागुऔषधको दुर्व्यसन जस्ता गम्भीर विचलन) र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको छ। चर्का भाषण र सस्तो लोकप्रियता (पपुलिजम) को भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको छ। वास्तवमा देश बदल्नका लागि स्पष्ट वैचारिक जग, सुस्पष्ट योजनासहितको गन्तव्य र त्यसप्रतिको निरन्तर समर्पण आवश्यक पर्दछ।
हिजो देशमा केही भएकै थिएन भन्ने भाष्य गलत हो। विगतमा धेरै कामहरू भएका थिए र विकासको प्रक्रिया अघि बढ्दै पनि थियो। पूर्वाधार र सूचना प्रविधिको विकासले समाजमा वस्तु र सेवाको उपलब्धता त सहज बनायो, जसले गर्दा आम मानिसको अपेक्षा र चाहना ह्वात्तै वृद्धि भयो। तर, सोही अनुरूप नागरिकको वैधानिक आयमा भने वृद्धि हुन सकेन।
अपेक्षा र आयबीचको यही असन्तुलनका कारण वस्तु र सेवा प्राप्त गर्न समाजमा वैध-अवैध सबै तरिकाहरू अपनाउने गलत प्रवृत्ति मौलायो। परिणामतः समाजमा भ्रष्टीकरण, अपराधीकरण, सामाजिक अराजकता, पैतृक सम्पत्तिको तीव्र क्षयीकरण र वैदेशिक पलायन जस्ता गम्भीर समस्याहरू देखा परे। यसैबाट उत्पन्न जनअसन्तोषलाई सोसल मिडिया र पपुलिजम (सस्तो लोकप्रियतावाद) का माध्यमबाट राज्य र राजनीतिक दलहरूका विरुद्धमा उचाल्न र प्रयोग गर्न केही शक्तिहरू सफल भए।
तर, यस प्रकृतिका गम्भीर संरचनागत समस्याहरूको समाधान पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव छैन भन्ने कुरा अब प्रष्ट भइसकेको छ। यस्ता संकटहरूको दिगो समाधान केवल वैचारिक स्पष्टता र राजनीतिक इमानदारिताको जगमा मात्र खोजिनुपर्दछ र त्यो सम्भव पनि छ।

पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक क्रेन’ पठाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा कर्णालीमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न ‘यान्त्रिक क्रेन’ पठाउने निर्णय गरेको हो ।

कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या र मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी प्राप्त भएको थियो ।

उक्त विषयमा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको थियो । काठमाडौँ फर्केलगत्तै मन्त्री श्रेष्ठले विद्युत् अवरोध समाधानका लागि आवश्यक परेको ‘यान्त्रिक क्रेन’ पठाउन नियामक निकायसँग समन्वय गरेका ग को थियो ।

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचनाक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ ।

उनले भने, “घर अलि अप्ठ्यारो ठाउँमा रैछ, पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खालनै भत्किएपछि खेल्दै गरेको बालक पुरिएछन्, आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ ।”

विदेश त्यागेर गाउँमै ड्रागनखेती : चुलाचुलीका प्रविणले कमाउँछन् वार्षिक १२ लाख

इलाम । इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन। उनको अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ। श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उनी ड्रागनको रेखदेख गर्न लागिपर्छन्।

सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फल उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ। उनले उक्त खेतीबाट वार्षिक १२ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन्।

दुई बिघामा लगाइएका दुई हजार ८०० बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिएका इङनामले यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा रहेको बताए। उनले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फल रोपेका हुन्।

सुरुमा तीन कट्ठा जमिनमा ड्रागनखेती सुरु गरेका उनले कम लगानीमा धेरै आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन्। पहिले परीक्षणका लागि तीन कट्ठामा रोपेको र उत्पादन राम्रो भएपछि क्रमशः बढाउँदै लगेर अहिले दुई बिघा (४० कट्ठा) मा खेती विस्तार गरेको उनले जानकारी दिए। आगामी वर्ष खेती थप विस्तार गर्ने उनको योजना छ।

उनले उत्पादन गरेको ड्रागन फ्रुटको बजारका लागि कुनै समस्या छैन। व्यवसायीहरू बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन्। उनले उत्पादन गरेको फल झापाको विर्तामोड र दमक, मोरङको उर्लाबारी र इलाम बजारमा बिक्री हुने गरेको छ। बगानबाट साइजअनुसार प्रतिकिलोग्राम २०० देखि ५०० रुपैयाँसम्ममा फल बिक्री हुने गरेको छ।

यस फार्मबाट उनी आफैँ त स्वरोजगार बनेका छन् नै, स्थानीय पाँच जना श्रमिकलाई समेत रोजगारी दिएका छन्। गाउँघरमा नै स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक रूपमा ड्रागन फलको खेती सुरु गरेको इङनाम बताउँछन्। कम मिहिनेत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा उक्त खेतीतर्फ अन्य किसानको पनि आकर्षण बढ्न थालेको छ।

चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि व्यावसायिक ड्रागन फलखेती गर्दै आएकी छन्। छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी खेती गर्न थालेकी उनले अहिले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोपेकी छन्, जसले उत्पादन दिन थालिसकेका छन्। उनले गत वर्ष ड्रागन फल बिक्रीबाट सबै खर्च कटाएर वार्षिक एक लाख २५ हजार रुपैयाँ आम्दानी गरेको सुनाइन्।

चुलाचुलीमा ड्रागन फलखेती प्रवर्द्धनमा सरकारको समेत सहयोग हुँदै आएको छ। इङनामको फार्मलाई ड्रागन फलखेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा चार लाख रुपैयाँ अनुदान दिएको थियो। उक्त अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप गर्न मद्दत मिलेको इङनामले बताए। यस्तै, ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ लाई बगान व्यवस्थापनका लागि सोही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा दुई लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध भएको थियो।

चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि अगाडि बढाएको बताए। आगामी वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए। इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा यो खेती विस्तार हुँदै गएको छ।

भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुऱ्याएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताएका छन्।

२१३औँ भानु जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो धारणा राखेका हुन्।

मुख्यमन्त्री पाण्डेका अनुसार भानुभक्तले नेपाली भाषामा अनुवाद गरेको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीता लगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाएका छन्। यी कृतिहरूले विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे।

मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ।’ संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पुऱ्याउने उनको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र नभई राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्त्वपूर्ण योगदान पुऱ्याएको सन्देशमा उल्लेख छ।

विक्रम संवत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुऱ्याएको योगदानलाई उच्च सम्मान गर्दै भानु जयन्तीका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ। यस अवसरमा आदिकविले देखाएको भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न मुख्यमन्त्री पाण्डेले सबैमा आग्रह गरेका छन्।

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो, २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?

तनहुँ । असार महिना लागेपछि तनहुँको चुँदीरम्घामा चहलपहल ह्वात्तै बढ्छ। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ र रङरोगन गरिन्छ भने विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ।

यस अवसरमा साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढे पनि जयन्ती सकिएपछि यो ठाउँ फेरि सुनसान बन्छ। वर्षभरि नै नेपाली भाषाका महाकवि जन्मिएको यो पवित्र स्थल ओझेलमा पर्ने गरेको छ।नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुऱ्याउने आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घा हरेक वर्ष असार २९ गतेको वरिपरि मात्रै चर्चामा आउने गरेको छ। बाँकी समय भने यो ऐतिहासिक स्थल अपेक्षाकृत सुनसान रहने स्थानीयको गुनासो छ।

स्थानीय सन्देश आचार्यले भानुभक्तको नामले देशभर सम्मान गरिए पनि उनको जन्मस्थलले अझै पनि अपेक्षित प्राथमिकता पाउन नसकेको बताए। जयन्तीका बेला सबै आएर भाषण गर्ने र योजना सुनाउने गरे पनि कार्यक्रम सकिएपछि फेरि सबै हराउने उनको भनाइ छ।

भानु जयन्तीका अवसरमा विभिन्न साहित्यिक गोष्ठी, कविता वाचन र सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा जन्मथलो केही दिनका लागि मात्रै जीवन्त बन्ने तर स्थायी रूपमा पर्यटन र साहित्यिक गतिविधि सञ्चालन हुन नसक्दा त्यसको प्रभाव केही दिनमै हराउने गरेको उनी बताउँछन्।

यसैबिच, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदीरम्घालाई अन्तर्राष्ट्रिय स्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्ने महत्त्वाकाङ्क्षी योजना कार्यान्वयनको चरणमा पुगेको बताएका छन्। यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २४ करोड रुपैयाँभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उनले जानकारी दिए।

प्रमुख त्रिपाठीले भने, ‘हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ।’ यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखिएकाले बजेट सुनिश्चित भएसँगै अब निर्माण कार्यले गति लिने उनले स्पष्ट पारे।

गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ, जहाँ बहुआयामिक साहित्यिक संरचना निर्माण गरिनेछ। चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन निर्माण हुनेछ। उक्त भवनभित्र आदिकवि भानुभक्तको जीवन, साहित्यिक योगदान र ऐतिहासिक सामग्रीलाई चित्र, अभिलेख तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ। त्यसैगरी भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना छ, जुन चुँदीरम्घाको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ।

गुरुयोजनामा नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने मूर्तिवाटिका निर्माण गर्ने योजना पनि समेटिएको छ। त्यहाँ विभिन्न साहित्यिक व्यक्तित्वका प्रतिमा स्थापना गरिनेछ। साथै भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल र पार्किङ क्षेत्र लगायतका संरचना निर्माण गरिनेछ। यससँगै सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्मको सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। यी संरचनाले चुँदीरम्घालाई धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

यो योजना घोषणा मात्रै नभएर समयमै कार्यान्वयन हुनु अझ महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन्। गुरुयोजना पूरा भए चुँदीरम्घामा वर्षभर पर्यटक, साहित्यकार र अध्ययन अनुसन्धान गर्नेहरूको आवागमन बढ्ने स्थानीय शङ्कर रानाभाटले बताए। त्यसले स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ।

भानुभक्तले विश्वभरका नेपालीलाई एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् ।

नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आज आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’मा उहाँले भाषाका माध्यमबाट नेपाललाई संसारभर जोड्ने काम भानुभक्तले गरेको उल्लेख गरे ।

“जसरी पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गर्नुभयो, त्यसरी नै भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो”, उनले भने ।

उनले अहिलेको समयमा नेपालको ‘सफ्ट पावर’को रूपमा नेपाली भाषा, धर्म, संस्कृति र सभ्यता नै रहेको उल्लेख गरे। संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली भाषाले नै एक–अर्कासँग जोड्ने र आफ्नोपनको महसुस गराउने उनको भनाई थियो ।

मन्त्री खनालले भानुभक्त र घाँसीको प्रसङ्ग उल्लेख गर्दै समाजसेवा र देश निर्माणमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुने बताए ।

“घाँसीले आफ्नो नाम रहोस् भन्ने भावनाले कुवा खनाएको जस्तै, हामीले पनि समाज र राष्ट्रका लागि केही न केही योगदान दिनुपर्छ”, उनले भने। तनहुँको चुँदीमा जन्मिएका मन्त्री खनालले भानुभक्त आचार्यप्रति आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए ।

उनले भानु जयन्तीले नेपाली भाषा र साहित्यको संरक्षणमा सधैँ प्रेरणा दिइरहने विश्वास व्यक्त गर्नुभयो। नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले भानु माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको भानुभक्तको प्रतिमा नेपालकै पहिलो प्रतिमा भएको बताउँदै यसको ऐतिहासिक महत्व रहेको उल्लेख गरे।

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम। मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार उक्त सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि गएराति सडक थप भासिएपछि सोमबारदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द गरिएको हो ।

सडक अवरुद्ध भएपछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको छ ।

इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ गएका तथा झापाबाट इलाम, पाँचथर र ताप्लेजुङतर्फ आएका ठूलो सङ्ख्याका मालवाहक तथा अन्य सवारीसाधन माइखोलाको दुवै किनारमा रोकिएका छन् ।

“दिनदिनैको वर्षाले सडक भासिने र पहिरो झर्ने क्रम बढ्दो छ”, प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो, “आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिएका थियौँ । जोखिम झन बढेकाले आजदेखि उक्त सडकखण्ड अनिश्चितकालका लागि पूर्ण रूपमा बन्द गरेका छौँ।”

राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको तिल्केनी–सिमलगोला सडकअन्तर्गत जोगमाई खोलाको डाइभर्सन आइतबारको बाढीले बगाएपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

यस्तै, इलाम–झापा जोड्ने छोटो दूरीको केचना–कञ्चनजङ्घा सडक (मेची करिडोर) अन्तर्गत पुवा खोलाको डाइभर्सन पनि बाढीले बगाएपछि इलाम, पाँचथर र ताप्लेजुङको झापासँगको सडक सम्पर्कविच्छेद भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

सडक डिभिजन इलामका प्रमुख भवन भट्टराईका अनुसार जोगमाई र पुवा खोलामा बेलीब्रिज जडानका लागि डेढ महिनाअघि नै सिभिल संरचना तयार भए पनि भारत सरकारले निःशुल्क उपलब्ध गराएको बेलीब्रिजको सामग्री हालसम्म नआउँदा समस्या समाधान हुन सकेको छैन ।

सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण पहिरो प्रभावित राजदुवाली खण्ड पैदल पार गरेर गन्तव्यतर्फ जान बाध्य भएका छन् ।

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा। ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गरिएको छ ।

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा सोमबारबाट पुनः विद्युत् उत्पादन सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पु¥याएको थियो ।

त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजनालाई पुनः क्षति पुग्न सक्ने आशङ्कामा सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन् ।

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ। अवस्था सुरक्षित देखिएमा आजैदेखि विद्युत् उत्पादन पुनः सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

भोटेकोशी नदीमा पनि पानीको बहाव बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन तथा नयाँ आयातित सवारी तत्काल सुरक्षित स्थानमा सारिएको त्यहाँस्थित सुरक्षाकर्मीले जनाएका छन् ।

भन्सार यार्डको उत्तरी भागबाट बाढी पस्न सक्ने जोखिम रहेकाले यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति (प्रालि)सँग चालकहरूले माग गरेका छन् ।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा सवारीसाधन नदी किनारमा नराख्न स्थानीयवासीलाई आग्रह गर्नुभएको छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार आइतबार साँझ आएको हल्का बाढीले मैलुङ सडकबाहेक अन्य स्थानमा उल्लेखनीय क्षति पु¥याएको छैन ।

मैलुङ सडकखण्ड जोखिममा परेकाले केरुङ आवतजावत गर्ने सवारीसाधनलाई बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने साविकको सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४७, आलु रातो (मुढे) प्रतिकिलो रु ४७, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २४, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु २०, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १४०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रूखकटहर प्रतिकिलो रु ५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, माछे खुर्सानी प्रतिकिलो रु ४०, खुर्सानी भेडे प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुर्‍यो, एकको मृत्यु, दुई घाइते

काठमाडौं – जाजरकोटमा अविरल वर्षाका कारण पहिरो खस्दा एक जनाको ज्यान गएको छ । भेरी नगरपालिका वडा नं। २ राङ्सीमा पहिरो खस्दा ६७ वर्षीया जयशिला शाहको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण शाहकै छोरी ४० वर्षीया मेनुका शाह थापा र नातिनी ७ वर्षीया टिका थापा घाइते भएका छन् । उनीहरु भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाट टिनको अस्थायी टहरा निर्माण गरेका थिए ।

विभागको टोलीद्वारा खाँदबारी कारागार अनुगमन

सङ्खुवासभा। कारागार व्यवस्थापन विभागको टोलीले सङ्खुवासभाको जिल्ला कारागारको आज स्थलगत अनुगमन गरेको छ । कारागारको भौतिक अवस्था र कैदीबन्दीको समस्या बुझ्न विभागको टोली सङ्खुवासभा आइपुगेको हो ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलगायतको टोलीले कारागारको अनुगमन गरी कैदीबन्दी, कारागार प्रशासन तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमनका क्रममा कैदीबन्दीले दैनिक जीवनसँग जोडिएका विभिन्न माग राखेका थिए । उनीहरूले नियमित र सहज रूपमा स्वच्छ पिउनेपानीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । यस्तै फोहरमैला तथा ढल व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने र खेलकुदका लागि आवश्यक सामग्रीको प्रबन्ध गर्नुपर्ने उनीहरूको माग थियो ।

उपयुक्त र सुरक्षित स्थानको खोजी गरी कारागार स्थानान्तरण गर्न आवश्यक पहल गरिने कारागार व्यवस्थापन विभागका निर्देशक न्यौपाने बताए । हालको कारागार भवन अत्यन्त साँघुरो र अपर्याप्त रहेको भन्दै फराकिलो क्षेत्रफलमा आधुनिक र सुरक्षित भवन निर्माणको आवश्यकता औँल्याइएको छ ।

कैदीबन्दीले उठाएका समस्यालाई चाँडै सम्बोधन गरिने अनुमगन टोलीले प्रतिबद्धता जनाएको छ । जिल्ला कारागारमा एक आश्रित बालिका, आठ महिलासहित कुल १५९ जना कैदीबन्दी रहेको जिल्ला कारगार खाँदबारीका प्रमुख धनबहादुर श्रेष्ठले जानकारी दिए

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६१.९७ प्रतिशत बजेटमात्रै कार्यान्वयन भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख रत्न सुवेदीका अनुसार उपलब्ध रु ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारबराबरको कुल बजेटमध्ये रु २० अर्ब ५७ करोड १२ लाख आठ हजार ३७८ कार्यान्वयनमा आएको छ । बाँकी रु १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ खर्च नहुँदा राज्यको मूलखातामा आएको छ ।

तथ्याङ्कअनुसार चालुतर्फ रु १२ अर्ब ५९ करोड ४३ लाख १७ हजार बजेटमध्ये रु नौ अर्ब २५ करोड ४३ लाख ८१ हजार ६७५ अर्थात् ७३.४८ प्रतिशत खर्च भएको छ । तर, पुँजीगततर्फ रु १९ अर्ब ९८ करोड ४३ लाख ३८ हजार बजेटमध्ये रु ११ अर्ब १३ करोड ९३ लाख २६ हजार ७०३ मात्र खर्च हुँदा प्रगति ५५.७४ प्रतिशतमा सीमित भएको छ ।

वित्तीय व्यवस्थातर्फ रु ६१ करोड ५० लाख बजेटमध्ये रु १७ करोड ७५ लाख अर्थात् २८.८६ प्रतिशत खर्च भएको छ । मन्त्रालयगत रूपमा हेर्दा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबैभन्दा बढी ९३.६७ प्रतिशत बजेट खर्च गरेको छ ।

यस्तै, मुख्य न्यायाधिवक्ताको कार्यालयले ८८.०९ प्रतिशत तथा स्थानीय तहतर्फ विनियोजित बजेटको ८६.१७ प्रतिशत खर्च भएको देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ७५.९८ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७४.०८ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ७२.४९ प्रतिशत तथा कर्णाली प्रदेश योजना आयोगले ६९.८६ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रदेश व्यवस्थापिकाको खर्च प्रगति ६७.५३ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ६४.२७ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५७.०९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५५.२४ प्रतिशत तथा प्रदेश लोकसेवा आयोगको ५२.८२ प्रतिशत रहेको छ ।

सबैभन्दा कम प्रगति भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा देखिएको छ । रु ११ अर्ब एक करोड २१ लाख सात हजार बजेटमध्ये रु पाँच अर्ब ४१ करोड ८१ लाख १५ हजार ४१७ मात्र खर्च हुँदा मन्त्रालयको समग्र खर्च प्रगति ४९.२० प्रतिशतमा सीमित भएको छ । त्यस्तै, वित्तीय व्यवस्थातर्फ २८.८६ प्रतिशत खर्च भएको छ भने अर्थ–विविध शीर्षकअन्तर्गत विनियोजित रु नौ अर्ब ८६ करोड ७९ लाख ९९ हजारमध्ये कुनै पनि रकम खर्च हुनसकेको छैन ।

प्रदेश सरकारले चालु खर्चमा तुलनात्मक रूपमा राम्रो प्रगति हासिल गरे पनि विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च अपेक्षाअनुसार हुन नसक्दा समग्र बजेट कार्यान्वयनमा समेत प्रभाव परेको तथ्याङ्कले देखाएको छ । चालु आवमा प्रदेश सरकारको रु १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ फ्रिज भएको छ । यसमा पुँजीगततर्फको बजेट बढी छ । मन्त्रालयगत खर्चको तथ्याङ्क केलाउने हो भने कर्णालीको पूर्वाधार विकासको जिम्मेवारी पाएको भौतिक मन्त्रालयले अपेक्षाकृत बजेट खर्च गर्न सकेको छैन ।

यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु एक अर्ब ५६ करोड ५३ लाख खर्चेको छ । यस मन्त्रालयमा कार्यान्वयन हुनेगरी रु दुई अर्ब ४२ करोड ७९ लाख ९८ हजार बजेट थियो । रु तीन अर्ब ८३ करोड तीन लाख ५८ हजार बजेट रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले रु दुई अर्ब ९१ करोड १७ लाख ९८ हजार खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा रु दुई अर्ब ५७ करोड ११ लाख बजेट रहेकामा रु एक अर्ब ४६ करोड ७८ लाख ७५ हजार २५९ खर्च भएको छ । यस्तै, रु सात करोड नौ लाख एक हजार ४४२ बजेट रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलले रु छ करोड ६४ लाख १४ हजार २४२ खर्च गरेको छ । चालु आवमा रु पाँच अर्ब ९७ करोड २६ लाख ८९ हजार बजेट रहेको सामाजिक विकास मन्त्रालयले रु चार अर्ब ३२ करोड ९५ लाख १० हजार १०७ बराबरको बजेट खर्चेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रु ६० करोड ९६ लाख १९ हजार ५५८ कुल बजेट रहेकामा रु ३३ करोड ६७ लाख ८० हजार ८८४ खर्च भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय रु २० करोड १३ लाख ४५ हजार बजेट थियो । यो मन्त्रालयले रु १४ करोड ९१ लाख ५९ हजार ९०४ खर्चेको छ ।

यस वर्ष भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कुल बजेटको रु पाँच अर्ब ४१ करोड ८१ लाख १५ हजार ४१७ खर्चेको छ । यस मन्त्रालयलाई चालु आवमा रु ११ अर्ब एक करोड २१ लाख सात हजार बजेट दिइएको थियो ।

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

खोटाङ। निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ ।मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिलाबजार जोड्ने ग्रामीण सडक कालोपत्र योजना अपुरो हुने भएको हो ।

कोशी प्रदेश सरकारबाट विनियोजित बजेमार्फत अस्फाल्ट कालोपत्र गर्ने भनिएको यी दुई सडकको काम कालोपत्र गर्ने चरणमा पुगेपछि अलपत्र परेको छ । दुवै सडकको कालोपत्रको काम यही असार १५ गतेभित्र सक्नेगरी निर्माण कम्पनी बिसी–पिसी–पीकेबी जेभीले भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायीले सडक कालोपत्र गर्न आवश्यक सामग्री तयार पारे पनि म्याद र मौसमका कारण काम अघि बढ्न नसकेको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालले जानकारी दिनुभयो । नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडक रु दुई करोड ३८ लाख ३८ हजारमा दुई हजार २०० मिटर खण्डमा कालोपत्र गर्नेगरी निर्माण व्यवसायीले काम सुरु गरेको थियो ।

सोही ठेकेदार कम्पनीले हुर्लुङबाट जालपातर्फ दुई हजार ५०० मिटरमा अस्फाल्ट कालोपत्र गर्नेगरी रु दुई करोड ५३ लाख ५४ हजारमा सम्झौता गरेको थियो । हालसम्म नुनथला–जौबारी–कुभिन्डे–हरमटार सडकको प्रगति १८ प्रतिशत र जालपा–हुर्लुङ–सप्तेश्वर–बाक्सिला सडकको भौतिक प्रगति १३ प्रतिशतमात्रै भएको कार्यालयले जनाएको छ ।

सम्झौताअनुसार ड्रेन, रिटेनिङ वाल, ग्याविन जाली, सवबेस, कजवे ढलानलगायतका काम गरिसकिएको छ । तर बेस राखेर कालोपत्र गर्ने समयमा निर्माण व्यवसायीले काम अघि बढाउन नसकेको स्थानीयले बताएका छन् ।

करिब महिना दिनको काम बाँकी रहँदा नियमित वर्षा भइरहेका कारण ठेकेदार कालोपत्र गर्नबाट पछि हटेको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो । बेलामा ‘बिटुमिन’ किनेर ल्याउन नसकिएका कारण कालोपत्रको काम पूरा गर्न नसकिएको निर्माण व्यवसायीका प्रतिनिधिले बताएका छन् ।

कालोपत्र हाल्ने चरणमा पुगेपछि कालोपत्र नै नगरी काम छाडिँदा राज्यको रकम खेर जाने अवस्था सृजना भएको हुर्लुङका स्थानीयवासी महन गुरुङले बताउनुभयो । म्याद थप भए करिब महिना दिनमा कालोपत्र सकिने कार्यालयले जनाएको छ ।

ठेकेदार कम्पनीले गत वैशाख ३ गते दुवै सडकको कालोपत्र गर्ने कबोलसहित ठेक्का सम्झौता गरेको थियो । सम्झौता गरेको लामो समयसम्म विभिन्न बहानामा निर्माणको काम सुरु नगरी बसेका निर्माण व्यवसायीका प्रतिनिधिले अन्तिममा आएर काम सुरु गरे पनि वर्षाका कारण काम रोकेर हिँडेका हुन् । कार्यालय तथा स्थानीयको पर्याप्त सहयोग हुँदाहुँदै दुवै सडक कालोपत्र नगरी निर्माण व्यवसायी निर्माणस्थल छाडेर हिँडेपछि स्थानीय आक्रोशित बनेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक अहिलेसम्म कालोपत्र भएका छैनन् । निर्माण व्यवसायीले सडक कालोपत्रका लागि निर्माणस्थलमा ल्याएका निर्माण सामग्रीसमेत निर्माणस्थलमै छाडेर हिँडेपछि यातायात सञ्चालनमा समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ। अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् ।

उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस वर्षको बर्खायाममा ससवारीसाधन सहज रूपमा सञ्चालन भइरहेका छन् ।

गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत निर्माण गरिएको उक्त सडक सञ्चालनमा आएपछि सदरमुकाम बेँसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा सहज, छोटो र सुरक्षित बनेको छ । विगतमा वर्षामा सडक हिलाम्मे हुने, सवारीसाधन चिप्लिने, गाडी फस्ने तथा यात्रा गर्न घण्टौँ लाग्ने अवस्था थियो । हिउँदमा धुलो उड्ने समस्या हुँदा स्थानीय बासिन्दा, यात्रु तथा सडक आसपासका बस्तीसमेत प्रभावित हुने गरेका थिए ।

अहिले अस्फाल्ट प्रविधिबाट कालोपत्र भएपछि स्थानीयले राहत पाएका छन् । सडक राम्रो भएपछि वर्षायाममा पनि सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् भने दैनिक आवतजावत छरितो बनेको छ । दोर्दी गाउँपालिका–४ नौथरसैराका स्थानीय लक्ष्मण गुरुङले सडक कालोपत्र भएपछि बर्खायाममा समेत सहज रूपमा आवतजावत गर्न सकिएको बताउनुभयो ।

विगतमा हिलो र चिप्लोपनका कारण उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्ने गरेको स्मरण गर्दै उहाँले अहिले मोटरसाइकल तथा साना सवारीसाधनबाट १५–२० मिनेटमै आवतजावत गर्न सकिने भएको बताउनुभयो । “पहिला बर्खामा सडकको अवस्था खराब हुँदा जोखिम मोलेर यात्रा गर्नुपथ्र्यो । गाडी चिप्लिने, हिलोमा फस्ने र कतिपय अवस्थामा यात्रुले झरेर बाटो मिलाउनुपर्ने अवस्था थियो । अहिले सडक राम्रो भएपछि समयमा नै गन्तव्यमा पुग्न सकिन्छ”, उहाँले भन्नुभयो ।

बेँसीसहर नगरपालिका–११ रामचोक बेँसीका ईश्वरराज सेढाईले पनि सडक सहज भएपछि दैनिक आवतजावतमा ठूलो सुविधा पुगेको बताउनुभयो । घर र कामको सिलसिलामा यही सडक हुँदै नियमित यात्रा गर्ने उहाँले पहिले घर पुगेर फर्किनसमेत धेरै समय लाग्ने गरेकामा अहिले छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था बनेको बताउनुभयो ।

“पहिला जानलाई लाग्ने समयले अहिले गएर आएर काम सक्न सकिने अवस्था छ । समयको सदुपयोग भएको छ”, उहाँले भन्नुभयो । सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन, आवश्यक सामग्री ल्याउन तथा सदरमुकाम आवतजावत गर्न पनि सहज भएको उहाँको भनाइ छ ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीयलाई ठूलो राहत पुगेको जानकारी दिनुभयो । सडक निर्माण सम्पन्न भएपछि पालिका आउने–जाने र सदरमुकाम बेँसीसहरसम्मको यात्रा सहज, छोटो र सुरक्षित बनेको उल्लेख गर्दै उहाँले वर्षायाममा हुने जोखिमसमेत हटेको बताउनुभयो ।

सडक पूर्वाधारको विकासले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायत अन्य विकासका क्षेत्रमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ । “यो सडक दोर्दीको विकासको एउटा महत्त्वपूर्ण उदाहरण हो”, उहाँले भन्नुभयो ।

पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले सडक निर्माण सम्पन्न भई अहिले नियमित रूपमा सञ्चालनमा रहेको बताउनुभयो । उहाँका अनुसार गत मङ्सिरको अन्तिमतिर कालोपत्र सम्पन्न भएको हो । प्रदेश सरकारको रु २६ करोड २९ लाख लगानीमा निर्माण भएको ७.१ किलोमिटर सडकको ठेक्का कन्टेक निर्माण प्रालि काठमाडौँले पाएको थियो ।

कम्पनीसँग विसं २०७७ असार ३ गते सम्झौता भएको थियो । कोभिड–१९ लगायतका कारण निर्माण प्रभावित भएपछि तोकिएको समयमा काम सम्पन्न हुन सकेन । त्यसपछि पटकपटक म्याद थप गरिएकामा पछिल्लोपटक थपिएको अवधिभित्र निर्माण सम्पन्न गरी सडक सञ्चालनमा ल्याइएको हो ।

सडकमा अस्फाल्ट कालोपत्रसँगै आवश्यक स्थानमा ढलान, नाला तथा अन्य संरचना निर्माण गरिएको छ । सडक सञ्चालनमा आएपछि दोर्दी गाउँपालिकाका बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, शैक्षिक तथा स्वास्थ्य सेवामा पहुँच सहज भएको छ । सदरमुकामसँगको सम्पर्क सहज बनेसँगै स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ०२ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

यस्तै,जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा,हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ र ७६ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक रहेको छ।

जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै,कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै,कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई , कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली भू–भागका धैरै स्थान, गण्डकी प्रदेशको हिमाली भू–भागको केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा तराईमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय भई भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ -आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

त्यसैगरी, ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

आदिकविको स्मरण गर्दै आज उहाँको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना

हवाना। क्युबामा एक साताभित्र दोस्रो पटक भएको देशव्यापी बिजुली कटौती आइतबार राष्ट्रिय विद्युत प्रणाली पुनर्स्थापना गरिएपछि पुनः सञ्चालनमा आएको राष्ट्रिय विद्युत कम्पनीले जनाएको छ ।

राष्ट्रिय विद्युत प्राधिकरणले एक्समा जारी एक विज्ञप्तिमा लेखिएको छ, “आज बिहान ६ः३० बजे देखि देशभरको राष्ट्रिय विद्युत प्रणाली पुनः जोडिएको छ।”

देशको विद्युत् आपूर्तिमा समस्या आएपछि २४ घण्टाभन्दा बढी समय लगाएर प्रणाली पुनः सुरु गर्नुपरेको थियो । इन्धनको अभावले यो प्रक्रिया ढिलो र जटिल बनेको थियो । शनिबार रातिदेखि आइतबार बिहानसम्म इन्जिनियरहरूले कामलाई तीव्रता दिएका थिए ।

करिब १७ लाख जनसङ्ख्या भएको शहर हवानामा ६५ प्रतिशतभन्दा बढी घरपरिवारमा शनिबार रातिदेखि नै बिजुली पुनर्स्थापना गरिएको थियो ।

यो छ महिनाभित्र चौथो देशव्यापीरूपमा भएको विद्युत् अवरोध हो । सन् २०२४ को अन्त्ययता यो नवौँ पटक भएको छ । क्युबामा कुल ९६ लाख जनसङ्ख्या छ ।

क्युबा दशकौँदेखिको सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा इन्धनमा लगाएको नाकाबन्दीले यो सङ्कटलाई थप गम्भीर बनाएको छ । यो नाकाबन्दी छ दशक लामो कम्युनिस्ट शासन अन्त्य गर्न दबाब दिने अभियानको एक भाग हो ।

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ ।

बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ ।

यसैगरी स्थानीय जगन पुनको रेष्टुरेन्टमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मोदी खोलाको कटानका कारण नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ ।

यसैगरी बाढीले किम्रुङ खोलामाथि रहेको झोलुङ्गे पुल समेत बगाएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने उक्त पुल बगेसँगै स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी पर्यटकको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ । गाउँपालिकाका अध्यक्ष केसीले किम्रुङ खोलामा लेदोसहितको बाढी आउँदा मोदी खोलामा पानीको सतह बढ्दा क्षति पुगेको बताउनुभयो ।

“एक्कासी आएको बाढीका कारण मोदी खोलाले एउटा घर पूर्ण रुपमा बगाएको छ भने एउटा रेष्टुेन्टमा क्षति पुगेको छ । पर्यटकीय गाउँ घान्द्रुक जाने सडक बगाएको छ”, अध्यक्ष केसीले भन्नुभयो ।

स्थानीयका अनुसार नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएर एक्कासी खोलिँदा बाढी आएको आँकलन गरिएको छ । स्थानीय प्रशासन तथा गाउँपालिकाले नदीको तटीय क्षेत्रका स्थानीयलाई अन्यत्र सुरक्षित स्थानमा स्थान्तरण गरेको छ । स्थानीय प्रशासनले विशेषगरी मोदीखोला आसपास र अन्य स्थानमा समेत बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र आवश्यक परे सुरक्षित स्थानतर्फ जान अपिल गरेको छ ।

घटनापछि गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली घटनास्थलमा पुगेर क्षतिको विवरण सङ्कलन तथा आवश्यक व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत। कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा आज बिहानदेखि भइरहेको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलामा पानीको बहाव बढेको हो ।

बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका-८ र वडा नं १० को सिमाना सेउलीबजार नजिकै सडक कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । यसैगरी सोही ठाउँमा रहेको स्थानीय दिपिल गुरुङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगन पुनको रेस्टुरेन्टमा पनि क्षति पुगेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत खोला किनारका स्थानीयका घरहरू बाढीको उच्च जोखिममा रहेका अन्नपूर्ण गाउँपालिका-७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिनुभयो ।

निरन्तर वर्षा भइरहेको र बाढी घट्ने सङ्केत नदेखिएको भन्दै उहाँले आवश्यक सुरक्षा सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । गुरुङको रेस्टुरेन्टबाट केही सामान स्थानीयको सक्रियतामा सुरक्षित स्थानमा सारिएको भन्दै उहाँले कुनै मानवीय क्षति भने नभएको जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पर्यटकीय गाउँ घान्द्रुक, लान्द्रुकलगायत ठाउँमा जाने सयौँ सवारीसाधन अलपत्र बनेका छन् । यसैगरी अन्नपूर्ण चक्रीय पदमार्गमा घुम्नका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन् । कतिपय यात्रु तथा पर्यटक पैदल हिँडेर गन्तव्यतर्फ गइरहेको प्रहरीले जनाएको छ । तत्काल सडक खुलाउन सक्ने सम्भावना नरहेकाले केही समय आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ ।

मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत र मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो ।

यसैबीच खोलामा पानीको अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् ।मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेको तल्लो मोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चारवटै विद्युत् गृहबाट उत्पादन बन्द हुँदा झन्डै ७४ मेगावाट विद्युत् प्रभावित बनेको छ । मोदीखोलाको पर्वत खण्डमा सुरक्षा सावधानी तथा आवश्यक जोखिम न्यूनीकरणका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

गोदावरी नदीको बाढीमा फसेका एक जनाको उद्धार

कैलाली। कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।

गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिनुभयो ।

नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।

बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित

ढाका। भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

अधिकारीहरूले एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हजार मानिस घरबारविहीन भएका छन् ।

नदीहरूले भरिएको निम्न क्षेत्र भएको बङ्गलादेश मनसुनी मौसममा बाढी र पहिरोको जोखिममा रहन्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले अत्यधिक मौसमी घटनाहरूको सङ्ख्या र तीव्रता बढाएको छ।

पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण–पूर्वी जिल्लाहरूमा बाढीले कटान गरेको क्षेत्रमा डुङ्गामा खाना, पिउने पानी र अन्य आवश्यक सामग्री पु¥याइरहेका छन् ।

–चट्टोग्राम जिल्लामा सबैभन्दा बढी क्षति–

चट्टोग्रामका डिभिजनल कमिसनर मोहम्मद जियाउद्दिनले एएफपीसँग फोनमा बताएअनुसार गत एक सातामा यो जिल्लामा मात्र ५० जनाको मृत्यु भएको छ, जसमध्ये २९ जना पहिरोमा पुरिएर मरेका हुन्।

उहाँले भन्नुभयो, “अझै केही बेपत्ता छन्।”

उहाँका अनुसार करिब ३५ मानिस सरकारी आश्रय केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।

गत साता कोक्स बजारको रोहिङ्ग्या शरणार्थी शिविरमा भारी वर्षाले पहिरो गएर १५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा रूख कटान गरी पहाडी क्षेत्रमा बस्दै आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि भारी मनसुनी बर्षाले जोखिम बढाएको छ ।

बाढी पूर्वानुमान केन्द्रका सरदार उदय रायहानले आइतबार बताएअनुसार दक्षिण–पूर्वी जिल्लाहरूको स्थिति छिट्टै सुधारिने सम्भावना छ, तर मनसुन उत्तर–पूर्वी र उत्तरी भागमा सक्रिय छ । त्यहाँ थप बाढीको सम्भावना रहेको छ।”

‘नेपाली भाषाको विकास र विस्तारमा भानुभक्त आचार्यको योगदान महत्वपूर्ण’

काठमाडौँ। नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्र्ण रहेको छ ।

आदिकवी भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङमय प्रतिष्ठान, तीर्थ स्मृति प्रतिष्ठान, ठाकुर छाँगा स्मृति समाज, शताब्दी साहित्य प्रतिष्ठानले टोखास्थित एसिया प्यासिफिक विद्यालयमा आयोजना गरेको कार्यक्रमका वक्ताले नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यको योगदान आज पनि सान्दर्भिक भएको बताएका हुन् ।

वरिष्ठ साहित्यकार प्राडा शैलेन्दुप्रकाश नेपालले नेपाली भाषालाई जनसाधारणको पहुँचमा पु¥याउने तथा साहित्यिक अभिव्यक्तिलाई सरल, सहज र प्रभावकारी बनाउने कार्यमा भानुभक्त आचार्यको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

प्रा डा नेपालले भानुभक्तले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको माध्यमका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो ।

भानुभक्तका कृतिले नेपाली साहित्यको जग बलियो बनाउनुका साथै पछिल्ला पुस्ताका स्रष्टालाई सिर्जनशील बन्न प्रेरणा दिएको उहाँको भनाइ थियो ।

प्राडा सर्वराज आचार्यले भानुभक्तले नेपाली भाषाको विकास, विस्तार र लोकप्रियतामा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तको कृतिलाई चिनाउनका लागि मोतिराम भट्टले भूमिका खेलेको उल्लेख गर्नुभयो ।

प्राडा भागवत ढकालले पृथ्वीनारायण शाहले नेपालको भूगोल एकीकरण गरेर विशाल मुलुक निर्माण गरेजस्तै भानुभक्तले भाषिक एकीकरण गरेको बताउनुभयो । उहाँले नेपालमा भात्र नभई भारत, भुटान र वर्मामा भानुभक्तलाई उत्तिकै आदरसत्कार गर्ने गरेको उल्लेख गर्नुभयो ।

मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले नेपाली भाषा र साहित्यको इतिहासमा भानुभक्त आचार्यको योगदान सदैव स्मरणीय रहने बताउनुभयो । उहाँले मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले हरेक वर्ष भानु जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको बताउनुभयो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीराम्घामा जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आमजनतामाझ पु¥याउनुभएको थियो । भानुभक्तले रामायणका अतिरिक्त भक्तमाला, प्रश्नोत्तर, बधुशिक्षा लगायतका कृतिमार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नुभएको थियो ।

उहाँका रचनाहरू सरल भाषा, मिठासपूर्ण शैली तथा जनजीवनसँग निकट भएकाले नेपाली साहित्यमा विशेष स्थान ओगट्न सफल भएका छन् ।

कार्यक्रममा ८७ वर्षीया मेनका पौडेलद्वारा लिखित ‘मेरा चौरासी वर्ष’ कृति लोकार्पण गरिएको थियो । लमजुङको सुन्दरबजार नगरपालिका दुराडाँडा स्थायी घर भएकी पौडेलले ८४ वर्षसम्म भोगेका भोगाइलाई समेटिएर तयार पारेको उक्त पुस्तक भानुजयन्तीका अवसरमा विमोचन गरिएको हो ।

कार्यक्रममा लोककलाकार शान्ति शर्मा, विष्णुभक्त अधिकारी, कृष्ण गुरुङ, आशबहादुर तामाङलगायतले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै एशिया प्यासिफिक स्कूलका विद्यार्थीले भानुभक्तद्धारा रचित कविता वाचन गरेका थिए ।

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा प्रमुख अमेरिकी सिनेटर लिन्डसे ग्राहमको ‘छोटो समय अचानक बिरामी’ परेपछि ७१ वर्षको उमेरमा निधन भएको उनको कार्यालयले आइतबार जानकारी दिएको छ ।

विदेश नीतिका कामका लागि परिचित ग्राहम इरानविरुद्धको युद्धका दृढ समर्थक मानिनुहुन्थ्यो र पछिल्ला वर्षहरूमा ट्रम्प तथा बाइडेन प्रशासनलाई रूसको आक्रमणविरुद्ध किएभ (युक्रेन) लाई समर्थन गर्न आग्रह गर्नुभएको थियो ।

साउथ क्यारोलिनाका रिपब्लिकन सिनेटर ग्राहमको कार्यालयले सामाजिक सञ्जाल एक्समा उहाँको शनिबार साँझ निधन भएको पुष्टि गरेको छ। ग्राहमले बिहीबार मात्र ७१ वर्ष पूरा गर्नुभएको थियो । उहाँको ‘अचानक तर छोटो समय बिरामी’ भई निधन भएको हो ।

“यो दुःखको कठिन समयमा दिवङ्गत सिनेटर ग्राहमको परिवारले प्रार्थनाको आह्वान गर्दै गोपनीयताका लागि अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
एनबीसी न्यूजका अनुसार शनिबार राति ग्राहमको क्यापिटल हिलस्थित निवासबाट ‘हृदयाघात’ को उपचारका लागि फोन आएपछि इमर्जेन्सी सेवाहरू तुरून्त उहाँको निवासमा पुगेका थिए ।

–श्रद्धाञ्जलि–

राष्ट्रपति ट्रम्पले आइतबार प्रभावशाली सिनेटरप्रति श्रद्धाञ्जली दिँदै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नुभएको छ, “सिनेटर लिन्डसे ग्राहम, मैले चिनेका सबैभन्दा महान व्यक्तिहरू र सिनेटरमध्ये एक हुनुहुन्थ्यो, उहाँ अब रहनुभएन !”

ट्रुथ सोसलमा अगाडि लेखिएको छ, “उहाँ सधैँ कर्तव्यनिष्ठासहित देश र देशबासीको हितका लागि काम गरिरहनुहुन्थ्यो । उहाँ एक सच्चा अमेरिकी देशभक्त हुनुहुन्थ्यो । लिन्डसेको निधनले अमेरिकी राजनीति र कुटनीतिका क्षेत्रमा ठूलो अभाव महसुस हुनेछ ।”

–राजनीतिक यात्रा–

सन् २०१६ मा ग्राहमले राष्ट्रपतिको उम्मेदवारी दिनुभएको थियो तर प्रतिस्पर्धामा सफलता प्राप्त हुन सकेको थिएन । त्यतिबेला उहाँले ट्रम्पलाई अमेरिकामा रहेका विदेशी मुलका समुदाय र अमेरिकामा बसोबास गर्ने नागरिकप्रति जातीय द्वेष फैलाउने धार्मिक कट्टरपन्थी नेताको संज्ञा दिनुभएको थियो ।

सन् २०२१ को जनवरी ६ को क्यापिटल हमलापछि सम्बन्ध तनावपूर्ण भएको थियो । तर पछि ट्रम्पको दोस्रो कार्यकालमा उनीहरूको सम्बन्ध सुध्रियो र ग्राहमले ट्रम्पको पुनः निर्वाचनलाई समर्थन गर्नुभयो ।

–महान् मित्रः नेतन्याहु–

ग्राहम इजरायलका बलिया समर्थक र इरानविरुद्ध कडा नीतिको पक्षधर हुनुहुन्थ्यो ।

उहाँले भन्नुभयो, “ग्राहम इजरायल र मेरो एक महान मित्र हुनुहुन्थ्यो ।”

नेतन्याहुले भन्नुभयो, “उहाँले इजरायल र अमेरिकाको सुरक्षा एकअर्कासँग अविभाज्य छ भन्ने बुझ्नुभएको थियो र आफ्नो जीवन अमेरिकाको रक्षा, गठबन्धन बलियो बनाउन र स्वतन्त्र संसारको लागि खडा हुन समर्पित गर्नुभयो।”

–युक्रेन–

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्राहमसँग गत शुक्रबार मात्र किएभमा भेट भएको उल्लेख गर्दै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभयो ।

“रूसको युक्रेनमा गरेको पूर्ण आक्रमणका क्रममा ग्राहमले १० पटक युक्रेन भ्रमण गर्नुभएको थियो । अमेरिका र विश्वले एक दृढ कुटनीतिज्ञ र एक असल अमेरिकी राजनेता गुमाएको छ।”

–भोन डेर लेयेन–

युक्रेन समर्थनमा उहाँको लडाइँको प्रशंसा गर्दै युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले ग्राहमलाई एक ‘दृढ र निडर नेता’को संज्ञा दिनुभएको छ। भने।

दक्षिण क्यारोलिना गभर्नर हेनरी म्याकमास्टर ले ग्राहमलाई ‘अप्रतिस्थापनीय’ राजनीतिक नेता बताउनुभएको छ। “साउथ क्यारोलिना र अमेरिकाका लागि उहाँ विरोधीहरूबीच सबैभन्दा उग्र लडाकु र मित्रहका लागि वफादार तथा अटल मित्र हुनुहुन्थ्यो,” उहाँले एक्समा लेख्नुभएको छ ।

–पृष्ठभूमि–

साउथ क्यारोलिनाको मध्य शहरमा हुर्केका ग्राहम सन् १९९४ मा पहिलोपटक अमेरिकी प्रतिनिधिसभा (सिनेट) मा निर्वाचित हुनुभएको थियो । उहाँ सन् २००२ सन् २००८, सन् २०१४ र सन् २०२० मा पुनः सिनेटर बन्नुभएको थियो । उहाँ सिनेटको बजेट समितिको अध्यक्षसमेत बन्नुभएको थियो ।

उहाँका आमाबाबुले रेस्टुरेन्ट चलाउँथे। उहाँ आफ्नो परिवारमा कलेज पढ्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो भने पछि सेनामा वकिलको रूपमा काम गर्दै एयर फोर्स कर्नेलसम्म बन्नुभएको थियो ।

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले उनको खोजी गरिरहेको छ ।

शनिबार पौडी खेल्न गएका दुवै जना घर नफर्केपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए । दुवै बालबालिका शनिबार दिउँसो ४ बजे घरबाट निस्किएका थिए । उनीहरू डुबेको घटनाबारे भैँसी गोठालाले शनिबार राति परिवारका सदस्यहरुलाई जानकारी दिएका थिए ।

कांग्रेस नीति तथा प्रतिष्ठानमा छ उपसमितिका संयोजक चयन

पाटन (ललितपुर) – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ६ उपसमितिको संयोजक चयन गरिएको छ ।

प्रतिष्ठानका संयोजक एवं पार्टीउपसभापति विश्वप्रकाश शर्माले सङ्गठनलाई थप प्रभावकारी बनाउन आज छ वटा उपसमिति गठन गरी संयोजकको जिम्मेवारी तोकेका हुन् । उनले अपाङ्गता संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तिकरण उपसमितिमा रेशम गुरुङ, दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा डीबी सुनार तथा पूर्वआप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईंलाई संयोजकको जिम्मेवारी दिइएको बताए ।

यस्तै सार्थक सम्प्रेषण उपसमितिमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सिताराम काफ्लेलाई संयोजकको जिम्मेवारी दिइएको छ । उपसभापति शर्माको अध्यक्षतामा यही असार २५ र २६ गते बसेको बैठकको निर्णयानुसार उहाँहरुलाई उपसमितिको संयोजक तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकले उपसमिति संयोजकहरुको मनोनयनका साथै प्रतिष्ठानको आगामी कार्यदिशा र विविध विषयमा समेत महत्वपूर्ण निर्णय गरेको सो पार्टीले जनाएको छ ।

लोड व्यवस्थापनपछि विराटनगरमा विद्युत् आपूर्ति थप भरपर्दो

विराटनगर, असार २८। नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले टंकी सबस्टेशनमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न आवश्यक प्राविधिक व्यवस्थापन गरेपछि विराटनगरका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सहज र थप भरपर्दो बनेको जनाएको छ।

वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार ३३/११ केभी टंकी सबस्टेशनअन्तर्गत सञ्चालनमा रहेको ३३ केभी विराटनगर–३ फिडरमा पछिल्लो समय विद्युत् माग उल्लेख्य रूपमा बढ्दै गएपछि ओभरलोडको अवस्था सिर्जना भएको थियो। यसले विद्युत् आपूर्तिको गुणस्तर तथा प्रणालीको स्थायित्वमा असर पार्ने सम्भावना देखिएपछि प्राधिकरणले तत्काल प्राविधिक उपाय अपनाएको हो।

उहाँका अनुसार सबस्टेशनमा जडान गरिएका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली पुनः व्यवस्थित गरिएको छ। यस क्रममा पावर ट्रान्सफर्मर नम्बर १ लाई ३३ केभी विराटनगर–२ फिडरसँग र पावर ट्रान्सफर्मर नम्बर २ लाई ३३ केभी विराटनगर–३ फिडरसँग सञ्चालनमा ल्याइएको छ।

यो व्यवस्थापनपछि विराटनगर–३ फिडरमा देखिएको ओभरलोडको समस्या हटेको प्राधिकरणले जनाएको छ। साथै दुवै पावर ट्रान्सफर्मरमा विद्युत् भार सन्तुलित रूपमा वितरण भएकाले सम्पूर्ण प्रणाली अझ सुरक्षित, स्थिर र प्रभावकारी बनेको वितरण केन्द्रको दाबी छ।

प्रमुख शाहका अनुसार हाल सम्बन्धित सबै क्षेत्रमा विद्युत् आपूर्ति नियमित र निर्वाध रूपमा भइरहेको छ। लोड सन्तुलन कायम भएपछि आकस्मिक अवरोधको सम्भावना पनि घटेको र विद्युत् वितरण प्रणालीको कार्यक्षमता थप सुदृढ भएको उहाँले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणले बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै आवश्यकताअनुसार वितरण प्रणालीको स्तरोन्नति, उपकरणको क्षमता विस्तार तथा लोड व्यवस्थापनलाई निरन्तरता दिने जनाएको छ। यसबाट उपभोक्ताले अझ गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युत् सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्राधिकरणले विद्युत् प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यका साथ विभिन्न स्थानमा यस्ता प्राविधिक सुधारका कार्यलाई निरन्तर अघि बढाइरहेको जनाएको छ। यस्ता व्यवस्थापनले भविष्यमा विद्युत् आपूर्तिमा देखिन सक्ने समस्या न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्व: डङ्गोल विजयी, राजभण्डारी पराजित

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् । परिषद्को शनिबार आयोजित ३० र ३१ औं वार्षिक साधारणसभा तथा आइतबार विहान सम्पन्न निर्वाचनमा डङ्गोलले अर्का उम्मेदवार प्रश्रय राजभण्डारीलाई पराजित गरे।

अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । यस्तै, प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्धितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।

यस्तै, महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्धन्द्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे ।

यसैगरी, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएका छन् । यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् । निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो ।

खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

गोलबजार (सिरहा) – सिरहाको गोलबजारमा खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । गोलबजार–७ स्थित पुरानो चोक चोहर्वामा रहेको पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् । रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका उनीहरु गोलबजार–७ मा डेरा गरी बस्दैआएका थिए । कवाडी सङ्कलन गरी जीविकोपार्जन गर्दै आएका तीनै जना आज दिउँसो घरबाट खेल्न निस्किएका थिए ।

घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी बसोबास गर्दै आएका सुकुमवासी परिवारसँगको छलफलमा उनले सुकुमवासी/भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको बताएका हुन्।

“तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहनसँग बुझेको छ,” गृहमन्त्री गुरुङले भने, “यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्‍यो।”

सुकुमवासी/भूमिहीन समस्यालाई समाधान गर्ने सरकारको प्रयासमा कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ।

गायिका चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौराहा गीत ‘मन पर्ने मायालु’ बजारमा, भिडियोको चर्चा

काठमाडौँ । गायिका चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौराहा गीत ‘मन पर्ने मायालु’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ लोक गायक खड्ग गर्बुजाले गीतको विमोचन गरेका हुन्। सागर विरहीको शब्द, भाका र एरेन्जमा तयार भएको गीतमा सागर विरही, दिपिका बयम्बु मगर र चन्द्रमाया जुग्जालीको स्वर रहेको छ।

गीतमा गंगा थापा मगर, दुर्गा गापा र राम छन्त्यालले कोरस गायनमा साथ दिएका छन्। म्याग्दीको बिम गाउँलाई केन्द्रमा राखेर प्रेमभाव झल्काउने गीतको भिडियोमा मनोज गुरुङ र लक्ष्मी थापा मगरको रोमान्टिक अभिनय प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन सागर विरहीले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका छन्।

राजाराम सिंम्खडाको कोरियोग्राफी, सुरेश श्रेष्ठको सिनेमेटोग्राफी तथा निर्मला आचार्यको मेकअप रहेको भिडियो गोलढुंगा स्थित उज्वल कला कुटीमा छायांकन गरिएको हो। भिडियो चन्द्रमाया जुग्जालीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यसअघि गायिका जुग्जालीका ‘ज्यानकै बाजी भो’, ‘कान्छी माया’, ‘आमा’, ‘तगारो’ र ‘सरर रेलैमा’ लगायतका गीतले दर्शक–श्रोतामाझ राम्रो चर्चा बटुलिसकेका छन्।

विमोचन कार्यक्रममा बोल्दै सर्जक सागर विरहीले म्याग्दीसँग जोडिएको मौलिक कौराहा सिर्जना गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, “मौलिक सिर्जनामा पौडी खेल्नुको मजा नै बेग्लै छ। लोक पारखीहरूले पनि यो गीतलाई मन पराउनुहुनेछ भन्ने विश्वास छ।” कार्यक्रममा म्याग्दी समाजसँग आबद्ध विभिन्न विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सागर विरही सिर्जना, गायन, एरेन्ज, निर्देशन र अभिनय सबै क्षेत्रमा समान रूपमा सक्रिय सर्जकका रूपमा परिचित छन्। ‘मन पर्ने मायालु’ले नेपाली मौलिक कौराहा संस्कृतिलाई नयाँ पुस्तामाझ थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

चलचित्र ‘चंगुल’ कृष्ण जन्माष्टमी भदौ १९ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौं । जेन-जी आन्दोलन र त्यसअघिको तथा त्यसपछिको सामाजिक-राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘चंगुल’ कृष्ण जन्माष्टमी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रले भ्रष्टाचारले थिलथिलो बनेको देश, त्यसबाट उत्पन्न सामाजिक अवस्था र त्यसविरुद्ध देखिएको युवा जागरणलाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ ।

निर्माता मालती कार्कीका अनुसार गतवर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन तथा आन्दोलनका क्रममा ज्यान गुमाएका सहभागीहरूको स्मृतिलाई सम्मान गर्दै चलचित्र भदौ १९ गते प्रदर्शनमा ल्याउन लागिएको हो ।

चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा बीसी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय छ । बालकलाकारका रूपमा रिम्शा कार्कीले अभिनय गर्नुभएको छ ।

चलचित्रका गीतमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने दीपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन चलचित्रमा रहेको छ ।

गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको वार्तापछि सरकार र पीडित पक्षबीच सहमति कायम भएको हो। सहमतिपत्रमा गणेश नेपालीको मृत्यु घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ। उक्त समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ।