`

गायिका चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौराहा गीत ‘मन पर्ने मायालु’ बजारमा, भिडियोको चर्चा

काठमाडौँ । गायिका चन्द्रमाया जुग्जालीको नयाँ मौलिक कौराहा गीत ‘मन पर्ने मायालु’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ लोक गायक खड्ग गर्बुजाले गीतको विमोचन गरेका हुन्। सागर विरहीको शब्द, भाका र एरेन्जमा तयार भएको गीतमा सागर विरही, दिपिका बयम्बु मगर र चन्द्रमाया जुग्जालीको स्वर रहेको छ।

गीतमा गंगा थापा मगर, दुर्गा गापा र राम छन्त्यालले कोरस गायनमा साथ दिएका छन्। म्याग्दीको बिम गाउँलाई केन्द्रमा राखेर प्रेमभाव झल्काउने गीतको भिडियोमा मनोज गुरुङ र लक्ष्मी थापा मगरको रोमान्टिक अभिनय प्रस्तुत गरिएको छ। भिडियोको निर्देशन सागर विरहीले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका छन्।

राजाराम सिंम्खडाको कोरियोग्राफी, सुरेश श्रेष्ठको सिनेमेटोग्राफी तथा निर्मला आचार्यको मेकअप रहेको भिडियो गोलढुंगा स्थित उज्वल कला कुटीमा छायांकन गरिएको हो। भिडियो चन्द्रमाया जुग्जालीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यसअघि गायिका जुग्जालीका ‘ज्यानकै बाजी भो’, ‘कान्छी माया’, ‘आमा’, ‘तगारो’ र ‘सरर रेलैमा’ लगायतका गीतले दर्शक–श्रोतामाझ राम्रो चर्चा बटुलिसकेका छन्।

विमोचन कार्यक्रममा बोल्दै सर्जक सागर विरहीले म्याग्दीसँग जोडिएको मौलिक कौराहा सिर्जना गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, “मौलिक सिर्जनामा पौडी खेल्नुको मजा नै बेग्लै छ। लोक पारखीहरूले पनि यो गीतलाई मन पराउनुहुनेछ भन्ने विश्वास छ।” कार्यक्रममा म्याग्दी समाजसँग आबद्ध विभिन्न विशिष्ट व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

दुई दशकभन्दा बढी समयदेखि नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सागर विरही सिर्जना, गायन, एरेन्ज, निर्देशन र अभिनय सबै क्षेत्रमा समान रूपमा सक्रिय सर्जकका रूपमा परिचित छन्। ‘मन पर्ने मायालु’ले नेपाली मौलिक कौराहा संस्कृतिलाई नयाँ पुस्तामाझ थप लोकप्रिय बनाउने अपेक्षा गरिएको छ।

चलचित्र ‘चंगुल’ कृष्ण जन्माष्टमी भदौ १९ गतेदेखि देशभर प्रदर्शन हुने

काठमाडौं । जेन-जी आन्दोलन र त्यसअघिको तथा त्यसपछिको सामाजिक-राजनीतिक अवस्थालाई विषयवस्तु बनाइएको नेपाली चलचित्र ‘चंगुल’ कृष्ण जन्माष्टमी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रले भ्रष्टाचारले थिलथिलो बनेको देश, त्यसबाट उत्पन्न सामाजिक अवस्था र त्यसविरुद्ध देखिएको युवा जागरणलाई पर्दामा उतारेको निर्माण पक्षले जनाएको छ ।

निर्माता मालती कार्कीका अनुसार गतवर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन तथा आन्दोलनका क्रममा ज्यान गुमाएका सहभागीहरूको स्मृतिलाई सम्मान गर्दै चलचित्र भदौ १९ गते प्रदर्शनमा ल्याउन लागिएको हो ।

चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा बीसी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय छ । बालकलाकारका रूपमा रिम्शा कार्कीले अभिनय गर्नुभएको छ ।

चलचित्रका गीतमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत छ । देव महर्जनले द्वन्द्व निर्देशन गर्नुभएको छ भने दीपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन चलचित्रमा रहेको छ ।

गणेश नेपाली मृत्यु प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौँ । मुगुको सोरु गाउँपालिका–१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको वार्तापछि सरकार र पीडित पक्षबीच सहमति कायम भएको हो। सहमतिपत्रमा गणेश नेपालीको मृत्यु घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ। उक्त समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ।


 

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका-११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदीखोलाको बहाव अत्यधिक बढेको हो ।

बाढीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षतिसमेत पु¥याएको छ । मोदीखोलामा दिउँसो ३ः०० बजेदेखि पानीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत, मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले मोदीखोला किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो । उहाँले खोला किनारमा काठदाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजानसमेत आग्रह गर्नुभयो ।

यसैगरी मोदी गाउँपालिकाले पनि सामाजिक सञ्जालमार्फत आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । खोलामा अत्यधिक बहाव बढ्दा मोदीखोलामा सञ्चालित चारवटै विद्युत् गृहले उत्पादन बन्द गरेका छन् । मध्यमोदी, मोदीखोला, तल्लो मोदी र युनाइटेड मोदी जलविद्युत् आयोजनाले उत्पादन बन्द गरेका हुन् ।

विद्युत् गृहमा बाढीसहित ढुङ्गा, बालुवालगायत वस्तु पसेर यहाँ रहेका उपकरणहरू बिग्रिने खतराले उत्पादन बन्द गरिएको तल्लो मोदी जलविद्युत् आयोजना जनसम्पर्क अधिकृत सुरेन्द्र वेलवासेले जानकारी दिनुभयो । मोदीखोलाका पर्वत खण्डमा सुरक्षा सावधानीका लागि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

हात्ती संरक्षण र पर्यावरणीय पर्यटनलाई जोड्न मन्त्री चौधरीको निर्देशन

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छिन्।निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी थिइन् । उनले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् ।

मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई ’एलिफेन्ट सेन्चुरीका रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवद्र्धनसँग जोड्नुपर्ने आवश्यकता औँल्याएन् । उनले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवद्र्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन् ।

खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

काठमाडाैँ । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरिएको छ।

गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भने, ‘बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ।’ उनले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिए।

तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो।

यद्यपि सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन। पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको सङ्केत पनि छैन । उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा समावेश गरिएको छैन।

‘इन्फोग्राफिक’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेता समावेश छन्।

युद्धका क्रममा इरानले युरोपेली मुलुकले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग पुर्‍याएको आरोप लगाउँदै आएको छ ।

समाचारका अनुसार मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखा परेका छैनन् ।उनका पिता मारिएको आक्रमणमा उनी पनि घाइते भएका बताइएको छ।

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज

लमजुङ । सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो नियन्त्रणका संरचना बनेपछि बर्खायाममा पनि सवारी आवागमन सहज भएको छ ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, ४५ मिटर अग्लो र ८० मिटर लामो ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण भएको छ ।

बेँसीसहरका बाबुलाल श्रेष्ठ पहिरो नियन्त्रणपछि उदिपुर क्षेत्रमा यात्रा सुरक्षित र सहज बनेको बताए । “गत वर्ष बर्खामा पटकपटक समस्या झेल्नु परेको थियो । कतिबेला माथिबाट ढुङ्गा खस्छ भन्ने डर हुन्थ्यो । अहिले भने निर्धक्क भएर यात्रा गर्न सकिन्छ । सडक राम्रो भएको छ, पहिरोको त्रास पनि छैन,” उनले भने ।

उक्त सडकमा नियमित रुपमा सवारी सञ्चालन गर्दै आउनुभएका नारायण घिमिरे पनि उदिपुर क्षेत्रमा निर्भयका साथ गाडी चलाउन पाएकामा खुसी हुनुहुन्छ । उदिपुर क्षेत्रमा पहिरो नियन्त्रण नहुँदा हरेकदिनजसो सवारीसाधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाने गर्दथे ।

डुम्रे–बेँसीसहर सडक लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो । यही सडकले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोडेको छ ।

फिफा विश्वकप : स्विट्जरल्यान्डलाई हराउदै अर्जेन्टिना सेमिफाइनलमा प्रबेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । आज स्विट्जरल्यान्डविरुद्धको खेलमा अर्जेन्टिनाले ३–१ गोलले जित निकालेको हो । जितसँगै अर्जेन्टिना सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको अर्जेन्टिनाले १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको हेडमार्फत अग्रता लिएको थियो।स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर। रोड्रिगेजको गोलमार्फत खेल १–१ को बराबरीमा ल्याएको थियो।अतिरिक्त समयमा जुलियन अल्भारेज र त्यसपछि लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए।

व्यासलाई सांस्कृतिक राजधानी बनाइने

तनहुँ । व्यास नगरपालिकाले व्यास नगरलाई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै साहित्यिक तथा सांस्कृतिक राजधानीका रूपमा स्थापित गर्ने घोषणा गरेको छ ।

महर्षि वेदव्याससँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रचारप्रसार गरी व्यास नगरको विशिष्ट पहिचानलाई सुदृढ बनाइने नीति रहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरका साहित्यकार, कलाकार, संस्कृतिकर्मीलाई सम्मान तथा लेखनका निम्ति प्रोत्साहन गर्नेलगायत क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै नगरप्रमुख न्यौपानेले लोकसंस्कृति, लोककला, लोकभाका, लोकगीत र लोकनृत्यको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको बताए ।

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी। सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ ।

विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उपलब्ध छन् । केही बिरुवा यस वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आइएको उहाँले बताउनुभयो ।

रामधुनी मन्दिर नजिकै कार्यालय रहेकाले दर्शनका लागि आउने भक्तजनले समेत यहाँबाट बिरुवा लैजाने गरेका छन् । भारतबाट आउने धार्मिक पर्यटकले पनि बिरुवा लैजाने गरेकाले रामधुनीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला तथा सीमापारसम्म पुग्ने गरेको वन सहायक आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग बढी हुने गरेको छ । उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार वितरण गरिन्छ । वन क्षेत्रमा रोप्न उपयुक्त प्रजातिका बिरुवामात्र उत्पादन गर्ने अनुमति भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको उहाँले बताउनुभयो ।

दुई–चारवटासम्म बिरुवा लैजान कुनै कागजात आवश्यक नपर्ने, संस्थागत रूपमा बिरुवा लिन चाहनेले भने सम्बन्धित वडाको सिफारिस अनिवार्य हुने तथा ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नर्सरीको काम फागुनबाट सुरु गरिन्छ फागुनमा बीउ राखेपछि असारदेखि बिरुवा वितरण सुरु हुन्छ ।”

नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ । बिरुवाको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । उहाँले भन्नुभयो, बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक उत्तरदायित्वसमेत व्यहोर्नुपर्ने व्यवस्था रहेकाले नर्सरी व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको छ ।

बिरुवा उत्पादन र वितरणसँगै कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग, छपान तथा कटान कार्यमा सहजीकरण गर्दै आएको छ ।

राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती तथा वन उपभोक्ता समूहका गतिविधिमा सहभागिता जनाउँदै आएको छ । केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको वन सहायक आचार्यले जानकारी दिनुभयो ।

स्विट्जरल्यान्डका ब्रिल एम्बोलोलाई रातो कार्ड, अर्जेन्टिनाविरुद्धको खेल १–१ गोलको बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए ।

यसअघि खेलको १०औं मिनेटमै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा खेलमाथि पकड जमाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने स्विट्जरल्यान्डको आक्रामक खेलशैली सामना गर्नुपरेको थियो। बराबरी गोलपछि दुवै टोली निर्णायक गोलको खोजीमा आक्रमणलाई तीव्र बनाएका छन् ।

खेल जारी रहँदा सेमिफाइनल यात्रा सुनिश्चित गर्न दुवै टोलीले जित निकाल्ने प्रयास गरिरहेका छन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४६, आलु रातो (गोलो) प्रतिकिलो रु ४३, आलु रातो (मुढे) प्रतिकिलो रु ४४, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, सेतो आलु प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ११०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

म्याक एलिस्टरले गोलमा अर्जेन्टिना सुरुआती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनाका लागि सुरुआती अग्रता दिलाएका छन् ।

अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई १—० को अग्रता दिलाए ।

स्विट्जरल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले सुरुआती गोल गर्दै सेमिफाइनलको यात्रातर्फ बलियो संकेत बनाइ रहेको छ ।

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

चितवन । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले चितवनमा वन्यजन्तुको आक्रमणबाट प्रभावित परिवारसँग भेट गरी उनीहरूको अवस्था बुझ्दै सरकार पीडितको साथमा रहेको बताएकी छन् । २०८३ साल असार २० गते राति करिब ११ः३० बजे ध्रुवे हात्तीको आक्रमणमा परी माडी नगरपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२३, बेलहट्टा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको ज्यान गएको घटनाप्रति मन्त्री चौधरीले गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

यसै क्रममा मन्त्री चौधरीले वन्यजन्तुको आक्रमणबाट गम्भीर घाइते भएका सूर्य महतो र मंगले बोटेसँग पनि भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । भेटका क्रममा उनीहरूलाई जीविकोपार्जनका लागि प्रति व्यक्ति ५ लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिइयो ।

 

नर्वेलाई हराउदै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं – फिफा विश्वकप अन्तर्गत आज भएको खेलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले पराजित गरेको हो । जीत निकाल्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डको जीतमा दुवै गोल जुड बेलिङ्घमले गरेका छन् । खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गरेर बराबरीमा बनाए । निर्धारित ९०मिनेटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा ९३ औँ मिनेटमा बेलिङ्घमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे ।

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा तोकिएको छ ।

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थान,मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही र बाँकी हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा रहिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका घेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा मधेश प्रदेश लगायत गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके । वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम सञ्चालनका लागि राज्यले अनुदान तथा सहुलियत उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

स्वदेशमै रोजगारीको उपयुक्त वातावरण नहुँदा विदेशमा श्रम गर्न बाध्य भएका उनीहरूले स्वदेश फर्किएपछि आत्मनिर्भर बन्न सक्ने वातावरण राज्यले निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

डुडुवा गाउँपालिकाले आन्तरिक रोजगारी प्रवर्द्धन तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले शुक्रबारदेखि सञ्चालन गरेको दुई दिने उद्यमशीलता प्रवर्द्धन तालिमका सहभागीले स्थानीयस्तरमा आयआर्जनमूलक व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी उपलब्ध गराउन सरकारसँग माग गरेका थिए ।

सहभागी युवाले जतिसुकै विदेशको सपना देखे पनि अन्ततः स्वदेश नै प्यारो हुने भएकाले यहीँ केही गरेर देश र आफ्नै हितमा योगदान गर्न चाहेको बताए । उनीहरूले स्वदेशमै उद्यम गर्न नीतिगत समस्या रहेको, राज्यले उद्यमशील व्यक्तिको पहिचान गर्न नसकेको तथा उनीहरूलाई लक्षित अनुदान, योजना र बजेटको प्रभावकारी व्यवस्था हुन नसकेको भन्दै विदेश गएका तथा विदेश जाने तयारीमा रहेका लाखौँ युवा चिन्तित रहेको वास्तविकता सुनाए ।

उनीहरूले स्थानीय सरकारले सीप विकाससँगै उद्यम सञ्चालनका लागि आवश्यक पुँजीको व्यवस्था गरी युवालाई आत्मनिर्भर बनाउनुपर्ने माग पनि गरेका छन् ।
तालिममा सहभागीलाई उद्यम सञ्चालनका आधारभूत अवधारणा, व्यवसाय छनोट, व्यवसाय योजना निर्माण, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन, बचत तथा लगानी, उत्पादनको गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग तथा सरकारी निकायबाट उपलब्ध हुने सहुलियत र सेवासुविधाबारे जानकारी प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप, अनुभव र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रोजगार संयोजक अल्का मिश्रले वैदेशिक रोजगारीमा पुनः जानुपर्ने बाध्यता कम गर्दै स्थानीय स्रोतसाधन र सीपको उपयोगमार्फत दिगो रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताइन् ।

रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती

भरतपुर। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष विगतका वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट गर्नुभएको छ ।

चितवनको खैरहनीमा आज आयोजित कार्यक्रममा उहाँले यस वर्ष रोपाइँ गर्नुअघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापनसम्बन्धी समस्याका कारण मल पु¥याउन नसकिएको बताउनुभयो ।

“कुन देशबाट मल आयात गर्दा सहज हुन्छ भनेर हामीले रातदिन खटेर काम गरेका छौँ । आगामी साउन १ गतेदेखि नयाँ ‘लट’को आयात सुरु हुँदैछ । मल बन्दरगाहमा पुगिसकेको छ,” मन्त्री चौधरीले भन्नुभयो।

उहाँले आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

माग र आपूर्तिबीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न ‘टोल–फ्री नम्बर’ सञ्चालनमा ल्याइएको बताउनुभयो ।

मन्त्री चौधरीका अनुसार सरकारले चालु आर्थिक वर्षमा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको जानकारी दिँदै खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढेको बताउनुभयो । मागअनुसार आपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको उहाँले स्पष्ट गर्नुभयो ।

माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन

इलाम । इलाम सदमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ । इलाम गरपालिका-११ को सोयाक र माइ नगरपालिका-९ को चिसापानी जोड्ने माइखोला बेलासेमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको रु एक करोड ११ लाख २८ हजार ९२३ को लागतमा बेलीब्रिज जडान सम्पन्न भएको हो ।

सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार माइखोला बेलासेको बेलीब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । १८० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज निर्माणको जिम्मा बिबी-मेरिस्का-मल्लिका-साइना जेभीले पाएको थियो । भारत सरकारबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री भारतीय प्राविधिक आएर जडा गरेकाले काम सम्पन्न भएको उनले जानकारी दिए ।

यहाँ रहेको पक्की पुल गत असोज १८ गतेको वर्षासँगै आएको बाढीले भाँचेपछि बेलीब्रिज जडान गरी यातायात सञ्चालन गरिएको सुचारु गरिएको प्रमुख भट्टराईले बताए । पुल भाँचिएपछि सडक डिभिजन कार्यालयले हिउँदयाममा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरेको थियो ।

बेलीब्रिज जडान भएपछि ताप्लेजुङ र पाँचथरका विभिन्न क्षेत्रबाट इलामको नेपालटार-मङ्गलबारे हुँदै झापा जान र झापाबाट पाँचथर र ताप्लेजुङ फर्कन यातायात व्यवसायी र यात्रीलाई सहज भएको छ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-९ माइखोलास्थित राजदुवालीमा दैनिकजसो सडक अवरुद्ध हुन थालेपछि अधिकांश यातायात व्यवसायीले यो मार्ग प्रयोग गर्न थालेका छन् ।

पाँचथरको रविबाट झापाको विर्तामोड सवारी सञ्चालन गर्दै आएका चालक सुमन रम्तेलले बेलिब्रिज जडानसँगै व्यवसायीलाई राहत मिलेको बताए । “मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा पानी पर्नासाथ सडक अवरुद्ध हुने समस्याले यातायात व्यवसायी र यात्रीले हैरानी खेप्नु परिरहेको थियो भने जोखिम पनि उत्तिकै छ”, उनले भने, “यो सडक सञ्चालन भएपछि हामीलाई आवागमनमा सहज भएको छ ।”

यस्तै, मेची कोरिडोरअन्तर्गत पर्ने पुवाखोलामा पनि बेलीब्रिज निर्माण भइरहेको छ । इलाम नगरपालिका-९ गोलाखर्क र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलीब्रिज जडानका लागि भौतिक संरचनाहरू तयार भइसके जनाउँदै सडक डिभिजन कार्यालयका कार्यालयका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री ढुवानी गरी जडान गर्न बाँकी रहेको बताए ।

सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजार २३१ को लागतमा बेलिब्रिज जडानको जिम्मा असार मसान्तसम्म सक्ने गरी बिबी-मेरिस्का-मल्लिका-साइना जेभीले पाएको घिमिरेले बताए । “बेलिब्रिजका लागि भौतिक संरचनाहरू तयार भइसकेका छन् तर बेलिब्रिज निर्माणका सामग्री ढुवानी नभएकाले जडान हुन सकेको छैन”, उनले भने, “ढुवानी र जडानका लागि अझ केही समय लाग्ने देखिन्छ ।”

सो स्थानमा गत वर्ष सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार २९७ बराबरको लागतमा जडान गरिएको बेलिब्रिज पनि गत असोज १८ गते आएको बाढीले बगाएपछि सडक पूर्णरूपमा बन्द छ । बेलीब्रिज निर्माण सम्पन्न भएपछि वर्षातकाे समयमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही क्षेत्रमा सहज र नियमित यातायात सञ्चालन हुनेछ । यसले त्यस क्षेत्रमा सामान ढुवानी गर्न र यात्रीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा लिइएको सो सडकको इलामबाट विर्तामोडसम्म ५० किलोमिटर दूरी रहेको छ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी ठेक्का लागेर निर्माण भइरहेको छ ।

यस्तै सिमलगोला-तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा बेलीब्रिज निर्माण सुरु भएको छ । सङ्घीय सरकारको रु तीन करोड ३७ लाख चार हजार १२६ को लागतमा जडान हुने सो बेलीब्रिज निर्माणको जिम्मा डिसी कन्ट्रक्सन प्रालि उदयपुरले पाएको छ ।

बेलीब्रिज जडानका लागि भौतिक संरचना तयार भइसके पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री हालसम्म ढुवानी नभएकाले जडान हुन नसकेको इञ्जिनियर घिमिरेले जानकारी दिए । उक्त स्थानमा गतवर्ष सङ्घीय सरकारको रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा निर्माण गरिएको बेलिब्रिज पनि गत असोज १८ को बाढीले बगाएको थियो । उनका अनुसार निर्माणाधीन पुवाखोला र जोगमाई खोलाको बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको हुनेछ ।

भारत सरकारले बेलीब्रिज निर्माणका सामग्री नपठाउँदा काममा ढिलाइ

दुवै खोलामा बेलीब्रिज जडानका लागि भौतिक संरचना तयार भए पनि भारतबाट बेलीब्रिज निर्माणका लागि आवश्यक पर्ने सामग्री समयमा नपठाउँदा काममा ढिलाइ भइरहेको डिभिजन प्रमुख भट्टराईले बताए । डेढ महिना अघि सबै संरचना तयार भएको जानकारी पत्र भारतमा पठाइएको भन्दै हालसम्म आवश्यक सामग्री ढुवानी नहुँदा काम रोकिएको उनले बताए ।

“भारत सरकारले आफैँ ढुवानी गरेर जडान समेत गरिदिने भन्ने सहमति भएको हो । तर त्यसका लागि अहिलेसम्म आवश्यक सामग्री ढुवानी भएको छैन”, इन्जिनियर घिमिरेले भने, “यस विषयमा जानकारी लिँदा यता पठाउन तयार गरिएका सामग्री प्राकृतिक विपद्का कारण उतै प्रयोग भएकाले ढिलाइ भएको जानकारी पाएका छौँ ।”

यथाशिघ्र ती सामग्री यता ढुवानी गरिदिनका लागि परराष्ट्र र गृह मन्त्रालयमार्फत पहल भइरहेको उनले बताए । “भन्सारका जाँचका लागि चार दिनअघि मात्र भारत सरकारले कागजात पठाएको जानकारी पाएका छौँ । सम्भवत सोमबारसम्ममा फाइल बन्छ”, सडक डिभिजन कार्यालयका प्रमुख भट्टराईले भने, “अबको करिब एक सातामा सबै सामग्री ढुवानी हुने सम्भावना छ, तर निश्चित भने भएको छैन ।” आवश्यक सामग्रीसहित जडान गर्ने प्राविधिक टोली पनि आएमा एउटा जडान गर्न करिब दुई साता लाग्न जनाउँदै उहाँले प्राविधिक टोली पनि आएमा एक महिनामा दुवै बेलीब्रिज जडान भइसक्ने उल्लेख गरे ।

पक्की पुल निर्माणका लागि ठेक्का आह्वान

यसैबिच, मेची कोरिडोरअन्तर्गत माइखोला बेलासेमा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको छ । यही असार १७ गते बोलपत्र आह्वान भएको र आगामी साउन १७ गते बोलपत्र खोलिने सूचना अधिकारी घिमिरेले बताए । सो पुल सम्झौता भएको ३० महिनासम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट सात लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका–२, धनबहादुरलाई तारकेश्वर नगरपालिका–८, उमेशलाई टोखा नगरपालिका–५, सचितालाई काठमाडौं महानगरपालिका–३ र निरोजलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

बझाङमा बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, सात जनाको अवस्था गम्भीर

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ की ६० वर्षीया केलादेवी महत, सोही स्थानका ६० वर्षीय चक्र महत र केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी रहेका छन् ।

प्रजिअ केशरीले गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टर पठाइएको छ । घटनास्थल भौगोलिक रूपमा निकै विकट र टाढा भएकाले उद्धारमा समस्या भइरहेको छ।’

उनका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन ।

घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई । भियतनामको दक्षिणी फु क्वोक टापुनजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ । डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए ।

दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ ।घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

उनीहरूलाई काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र आज पक्राउ गरिएको हो । पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

समको गजल सन्तोषको सङ्गीत र स्वरमा

काठमाडौँ -नाट्यसम्राट बालकृष्ण समद्वारा रचित गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ ।

समद्वारा एक सय वर्षअघि रचना गरिएको उनको कृति ‘मेरो कविताको आराधन उपासना- १’मा सङ्कलित गजल ‘जान लाग्यो नाम जप्ने सास यो’लाई श्रेष्ठले सङ्गीतबद्ध गरी स्वर दिएका हुन् ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङग्रहालय मैतीदेवीमा शनिबार आयोजित कार्यक्रममा उक्त गजलको श्रव्यदृश्य पनि सार्वजनिक गरिएको थियो ।

सार्वजनिक गजलबारे गजल अभियन्ता एवं समालोचक घनेन्द्र ओझाले चर्चा गर्दै सम नाट्यसम्राटका रूपमा सम्मानित रहे पनि उनले गजल पनि लेखेकामा खुसी व्यक्त गरे! ओझाले आदिगजलकार मोतीराम भट्टपछिका सर्जकहरूले गजल लेख्ने क्रम चलेको र त्यही मेसोमा समले पनि गजल लेखेका देखिएको सुनाए! समले गजल भनेरै नलेखे पनि गजलको शास्त्रीयताभित्र रहेर समले उक्त सिर्जना गरेका बताए।

कृष्णभक्तिमा केन्द्रित रहेर समले गजल लेखेका भन्दै ओझाले समका समकालीन त्रिमूर्तिहरू महाकवि देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल र सम तीनै जनाका गजल खोजेर सङ्गीतकार, गायक श्रेष्ठले सङ्गीतमा ल्याएका बताए ।

चलचित्र लेखक तथा निर्देशक मोहन निरौलाले सन्तोष श्रेष्ठ साहित्य र सङ्गीतमा नयाँनयाँ काम गर्न रुचाउने व्यक्ति भएकाले यस्ता राम्रा कामहरू सन्तोषबाट हुँदा खुसी लागेको बताए ।

गजलकार राधा कणेलले सन्तोष श्रेष्ठ र घनेन्द्र ओझाले २ वर्षअघि घोषणा गरेको ‘नेपाली गजल गायन स्वर्ण दशक, वि. सं. २०८०-२०९०’ अभियानले छोटो समयमै देशका विभिन्न भागमा करिब एक दर्जन प्रत्यक्ष गजल गायन गरिसकेको, केही एल्बम ल्याइसकेको भन्दै यही मेसोमा नेपाली साहित्यका त्रिमूर्तिहरू देवकोटा, पौड्याल र समका गजल पनि सङ्गीतमा ल्याइनु राम्रो काम भएको बताइन् ।

महाकवि देवकोटाका सुपुत्र प्रा. डा. पद्मप्रसाद देवकोटाले अग्रजहरूको सम्मान गर्न सन्तोष श्रेष्ठले जानेका भन्दै प्रशंसा गरे ।सङ्गीतकार, गायक श्रेष्ठले आफूले कुनै व्यावसायिक लाभका लागि नभई अग्रजको सम्मानका खातिर मात्र यस्ता काम गरिरहेको बताए।

प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले नेपाली गजल गायनमा सङ्गीतकार श्रेष्ठको सक्रियता र लगाव उल्लेखनीय रहेको बताए।नेपाली गजललाई सङ्गीतमा ल्याउने सन्तोषको प्रयासको बरालले सराहना पनि गरे।अनाममण्डलीले आयोजना गरेको कार्यक्रमको सभापतित्व प्रभाती किरणले गरेका थिए भने सहजीकरण रूपक अलङ्कारले गरेका थिए।

कालोबजारीविरुद्ध मन्त्रालय कडा, हटलाइनमा उजुरी गर्न मन्त्रीको आग्रह

चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने वा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने गतिविधि देखिए तत्काल मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता तथा सर्वसाधारणलाई अनुरोध गरेकी छन् ।

आज जिल्लाका विभिन्न स्थानमा पुगी कृषि क्षेत्रको छड्के अनुगमन तथा किसानहरूसँग विद्यमान समस्या र समाधानका उपायबारे संवाद गर्दै उनले बजारमा कालोबजारी तथा कृत्रिम अभाव सृजना गर्ने, कृषि सामग्री लुकाउने तथा कृत्रिम रूपमा मूल्यवृद्धि गर्ने जस्ता गतिविधि भएमा तत्काल जानकारी गराउन सरोकार भएका सबैलाई आग्रह गरिन् ।

उनले मन्त्रालयमा यस्ता उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरी तत्काल अनुगमन गरिने र दोषी ठहरिएका व्यक्ति वा व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिन् । किसानको हितविपरीत हुने कुनै पनि गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उनको भनाइ छ ।

बाली लगाउने मुख्य समयमा किसानले सहज रूपमा मल, बीउ, विषादी तथा अन्य कृषि सामग्री पाएका छन् वा छैनन्, बजारमा कालोबजारी, कृत्रिम अभाव तथा कृत्रिम मूल्यवृद्धि भए/नभएको अवस्थाबारे स्थलगत रूपमा मन्त्री चौधरीले जानकारी लिएकी हुन् । उनले चितवनका विभिन्न पालिका तथा खेतबारीमा पुगेर किसानसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेकी हुन् ।

मन्त्री चौधरीले रोपाइँलगायत मौसमी बालीको अवस्था, मल–बीउको उपलब्धता, उत्पादन लागत, सिँचाइ, बजार व्यवस्थापन तथा किसानले भोगिरहेका समस्याबारे जानकारी लिइन् । किसानका गुनासा र सुझाव सुनेपछि सम्बन्धित सरकारी निकायका अधिकारीहरूसँग टेलिफोनमार्फत समन्वय गर्दै देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिइन् ।
मन्त्री चौधरीले कृषि उत्पादन बढाउन किसानलाई समयमै आवश्यक कृषि सामग्री उपलब्ध गराउने, कालोबजारी नियन्त्रण गर्ने र कृषि क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन् ।

भावना आचार्य र प्रताप दासको स्वरमा  खानी भातै हो, जानी घाटै होको भिडियो बाहिरियो

काठमाडौँ । गायिका भावना आचार्य र गायक प्रताप दासको स्वर रहेको खानी भातै हो, जानी घाटै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका भावनाकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा ह्याण्सम मोडल सुरेश कोलीसँग गायिका भावनाले अभिनय गरेकी छिन् । सिर्जन बरालको निर्देशन रहेको भिडियोले प्रेम, रोमान्सका कुरा गर्दै जिन्दगीको उतारचढावको कथा बोलेको छ । भिडियो गायिका स्वयमकै च्यानलबाट बजारमा आएको हो ।

भावनाका यसअघि बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन) – समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महत्वपूर्ण आधारस्थल मानिने ऐतिहासिक सोमेश्वरगढी एउटा विशेष र ऐतिहासिक क्षणको साक्षी बन्यो ।

माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा यहाँ निर्मित प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको शालिकको अनावरण गरिएसँगै पार्कले पूर्णता पाएको छ । नेपाली सेनाको निरन्तरको पहल, खोज-अनुसन्धान तथा स्थानीय जनप्रतिनिधिको दृढ इच्छाशक्तिका कारण यहाँ निर्मित शालिक र पार्कले पूर्णता पाएको हो ।

नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरण स्वरूप पूर्णकदको शालिक अनावरण गर्नुभयो । पूर्ण सैनिक पोसाकमा, बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित ठिङ्ग उभिएको काजी बस्न्यातको शालिकले यहाँ पुग्ने जा–कोहीलाई पनि नेपाल एकीकरणको वीरगाथा र राष्ट्रिय स्वाभिमानको बलियो ऊर्जा प्रदान गर्ने उहाँको विश्वास छ ।

बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो भने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले शालिककै छेउमा निर्माण गरिएको सोमेश्वर ढुङ्गेधाराको उद्घाटन गर्नुभयो । माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले उपस्थितलाई स्वागत गर्नुभयो । समारोहमा माडी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना अन्य सुरक्षा निकाय, स्थानीयवासी तथा बुद्धिजीवीहरूको सहभागिता थियो ।

नगरप्रमुख महतोले अभिमानसिंह बस्न्यातको शालिक अनावरणसँगै एउटा ऐतिहासिक कामले पूर्णता पाएको बताउनुभयो । शालिक निर्माणका लागि बागमती प्रदेश सरकार, माडी प्रज्ञा प्रतिष्ठान, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाले गरेको सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

बस्न्यातको इतिहासको खोज, अनुसन्धान र दस्तावेजीकरणमा माडी प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नगरप्रमुख महतोले त्यसैका आधारमा शालिक निर्माणलाई पूर्णता दिन सकिएको बताउनुभयो । पार्क निर्माण तथा व्यवस्थापनमा नेपाली सेनाले प्रतिकूल अवस्थाका बीच पनि निरन्तर खटेर काम गरेको भन्दै उहाँले सेनाको योगदानको प्रशंसा गर्नुभयो ।

निर्माण अवधिभर आवश्यक सामग्री उपलब्ध गराउने जिम्मेवारी माडी नगरपालिकाले निर्वाह गरेको जानकारी दिँदै नगरप्रमुख महतोले सेनाले आफ्नो सीप र मेहनतबाट पार्कलाई पूर्णता दिएको उल्लेख गर्नुभयो । उहाँले सोमेश्वरगढी र सोमेश्वर कालिका मन्दिर माडीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदासँग जोडिएका महत्वपूर्ण स्थल रहेको बताउनुभयो ।

विगतमा माडीमा महामारी फैलिँदा वा खडेरी पर्दा स्थानीय बासिन्दाले सोमेश्वर कालिका मन्दिरमा पूजा तथा भाकल गर्ने परम्परा रहेको स्मरण गर्दै गढी र मन्दिर दुवैलाई समेटेर पर्यटन विकास गर्न आवश्यक रहेको उहाँले धारणा राख्नुभयो । सोमेश्वरगढी नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत भएपछि यसको महत्व अझ बढेको उल्लेख गर्दै उहाँले त्यसयता प्रदेश र सङ्घीय सरकारको ध्यान यस क्षेत्रमा केन्द्रित भएको बताउनुभयो ।

नगरप्रमुख महतोले भन्नुभयो, “माडीमा सोमेश्वरगढी मात्रै नभई धेरै धार्मिक तथा पर्यटकीयस्थल छन् । माडी नगरपालिकाले ठूलो सम्भावना बोकेको हुनाले यसलाई पर्यटकीय नगरी घोषणा गर्न प्रदेश सरकारसँग निरन्तर अनुरोध गरिरहेका छौँ ।”

बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले सोमेश्वरगढी नेपालकै एक ऐतिहासिकस्थल भएको बताउनुभयो । “यस स्थानको विकास, यहाँ बनाइएका पूर्वाधार र आज गौरवका साथ शालिकसमेत स्थापना हुनु हामी सबैको सामूहिक सहयोग र प्रयासको परिणाम हो”, उहाँले भन्नुभयो ।

प्रदेशसभा सदस्य ढकालले राष्ट्रिय गौरव र इतिहास जगेर्नाका लागि माडी नगरपालिका र नेपाली सेनाले गरेको उदाहरणीय कामको खुलेर प्रशंसा गर्दै धार्मिक तथा ऐतिहासिक गढीको विकासका लागि प्रदेशका तर्फबाट आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आज कार्यक्रममा दिइएको जानकारी अनुसार नेपालका प्रथम सेनापति काजी शिवरामसिंह बस्न्यात र वीराङ्गना शुरप्रभा बस्न्यातका साहिला सुपुत्रका रूपमा विसं १८०१ फागुन ७ गते गोरखामा जन्मिनुभएका अभिमानसिंह बस्न्यात नेपाल एकीकरण अभियानका महान् स्तम्भ हुनुहुन्छ । उहाँले विसं १८१२ मा गोरखा सिरानचोक अभियानबाट आफ्नो सैनिक जीवनको गौरवशाली यात्रा प्रारम्भ गर्नुभएको थियो ।

“कुशल कूटनीतिज्ञ, सक्षम प्रशासक तथा अद्वितीय सैन्य नेतृत्वका धनी बस्न्यातले नेपाल एकीकरणका क्रममा अनेकौँ ऐतिहासिक विजय हासिल गर्नुभयो । विसं १८१९ को मकवानपुर विजय, विसं १८२५ को काठमाडौँ तथा पाटन विजय र विसं १८२६ को भक्तपुर विजयमा उहाँले निर्णायक तथा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो”, कार्यक्रममा नगरप्रमुख महतोले भन्नुभयो ।

उहाँले इतिहास अनुसार विसं १८३० देखि १८३१ सम्म माझकिरात, चौदण्डी, विजयपुर तथा लिम्बुवान हुँदै नेपालको पूर्वी सिमाना टिस्टा नदीसम्म पु¥याउने महान् अभियानको सफल नेतृत्व उहाँलेनै गर्नुभएको उल्लेख गर्नुभयो । “विसं १८४१ मा मकैडाँडाको युद्धमा चौबिसे राज्यहरूको संयुक्त शक्तिविरुद्ध ऐतिहासिक विजय हासिल गर्नुभयो । विसं १८४८-१८४९ को नेपाल–तिब्बत युद्धमा पनि उहाँले महत्वपूर्ण योगदान दिँदै राष्ट्रिय हित र सम्बन्ध संरक्षणमा विशेष भूमिका निर्वाह गर्नुभयो”, नगरप्रमुख महतोले भन्नुभयो ।

समुद्र सतहबाट ८८० मिटरको उचाइमा चुरे पर्वतमालाको दक्षिणी शृङ्खलामा अवस्थित सोमेश्वरगढी तत्कालीन समयमा नेपालको दक्षिणी प्रतिरक्षा प्रणालीको प्रमुख केन्द्र थियो । मध्यपहाड, माडी उपत्यका र तराई जोड्ने रणनीतिक मार्गमाथि निगरानी राख्न सकिने यस विशिष्ट गढीलाई विसं १८३४ मा काजी अभिमानसिंह बस्न्यातको नेतृत्वमा तत्कालीन तनहुँ राज्यबाट जितेर नेपालमा समाहित गरिएको थियो । यो विजयले नेपालको दक्षिणी सिमानालाई सुरक्षित बनाउँदै एकीकरण अभियानलाई थप स्थायित्व प्रदान गरेको थियो ।

सैनिक विधामा मात्र नभई राज्य सञ्चालनमा निपूर्ण बस्न्यातले विसं १८५० देखि १८५५ सम्म काजीका रूपमा राज्य प्रशासन, आर्थिक व्यवस्थापन तथा शासन सञ्चालनको नेतृत्व सफलतापूर्वक सम्हाल्नुभएको इतिहास रहेका नेपाली सेना मध्य पृतनापति उपरथी खड्काले जानकारी दिनुभयो । अनवरत रूपमा राष्ट्रसेवामा समर्पित रहँदै विसं १८५७ असार १३ गते काला वञ्जर क्षेत्रमा उहाँको देहावसान भएको थियो ।

काजी अभिमानसिंह बस्न्यात अद्वितीय वीरता, दूरदर्शिता, अटल राष्ट्र निष्ठा र त्यागका प्रतिमूर्ति हो । उहाँले निर्माण गरेको विशाल नेपाल र उहाँले विजय हासिल गरेको सोमेश्वरगढीले आज नेपालको गौरवशाली सैनिक इतिहास, राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डताको जीवन्त स्मरण गराइरहेको छ ।

डबिङ स्टुडियोमा आफ्नै अभिनय देखेर चकित परिन् न्यान्सी खड्का

काठमाडौँ। आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’ को डबिङ कार्य यतिबेला धमाधम भइरहेको छ। प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण पक्षले डबिङको कामलाई तीव्रता दिएको हो। यसै क्रममा शुक्रबार अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रले पूर्ण न्याय पाएको देख्दा उनी निकै उत्साहित र हर्षित देखिएकी थिइन्। पर्दामा आफ्नो काम देखेर उनी आफैँसमेत चकित परेको बताउँदै उनले आफ्नो भूमिकालाई न्याय दिन सकेकोमा खुसी व्यक्त गरेकी छन्।

सुपरहिट फिल्म ‘१२ गाउँ’ मार्फत अभिनय यात्रा सुरु गरेर दर्शकको मन जितेकी न्यान्सीको मुख्य अभिनेत्रीका रूपमा यो नै पहिलो फिल्म हो। यसअघि उनले अभिनेता अनमोल केसीसँग फिल्म ‘बाटुलो जून’ मा पनि अभिनय गरिसकेकी छन्, जुन फिल्म अहिले प्रदर्शनको तयारीमा छ। ‘अक्षरा’ मा एकल मुख्य अभिनेत्रीको रूपमा ठूलो जिम्मेवारी रहेकाले पनि उनले यस फिल्मका लागि निकै मिहिनेत गरेकी छन्।

चलचित्र क्षेत्रमा आउनुअघि न्यान्सीले सन् २०१६–२०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा कम्युनिकेसन स्टडिज ९सञ्चार अध्ययन तथा वक्तृत्वकला० मा स्नातक र साइकोलोजीमा माइनर गरेकी थिइन्। अमेरिकामा रहँदा मोडलिङमा समेत सक्रिय उनी प्रतिष्ठित अन्तर्राष्ट्रिय मुभिर पेरिस म्यागजिनमा समेत फिचर भएकी थिइन्। साथै, उनी मिस नेपाल इन्टरनेसनल २०२२ की विजेता हुन्, जसले जापानमा आयोजित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरवमय प्रतिनिधित्व गरेकी थिइन्।

यस फिल्ममा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ। यी दुईका साथै फिल्ममा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ भने बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना प्रस्तुत भएका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्ममा सोनी थापा ९ढुङ्गाना० को प्रस्तुति रहेको छ। विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको यस फिल्मलाई उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। फिल्मको मूल कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखन रहेको छ। दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको ‘अक्षरा’ लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।

एक वर्ष मिडियाबाट टाढा रहने मन्त्री महावीर पुनको घोषणा

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले एक बर्ष सम्म कुनै पनि मिडियालाई अन्तरवार्ता नदिने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले यस्तो बताएका हुन् , उनले कुनै पनि ठुला तथा साना युटुवरसहितका सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई महत्वपूर्ण विषय भन्दा बाहेक एक बर्ष सम्म अन्तरवार्ता नदिने बताएका हुन् ।

उनले लेखेका छन,‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन् ।’

वैज्ञानिकको सक्रियताले कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास छः मन्त्री चौधरी

पाटन (ललितपुर) – कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का नवनियुक्त नयाँ वैज्ञानिकहरूको मेहनत र सक्रियताले देशको कृषिक्षेत्रलाई नयाँ उचाइमा पुरयाउने विश्वास रहेको बताएकी छिन् ।

नेपाल कृषि अनुसन्धान परिषद्द्वारा आज यहाँ आयोजित नवनियुक्त वैज्ञानिकहरूको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री चौधरीले नियुक्त भएर आएका वैज्ञानिकहरुलाई नयाँ उत्साहका साथ देशको कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्न आग्रह गरिन् ।

“नार्क र कृषि क्षेत्रमा सुधारको आवश्यकता छ, विगत केही वर्षदेखि परिषद्भित्र आन्तरिक जटिलता, संरचनागत समस्याका कारण आफ्नो अस्तित्वको परीक्षाको घडीमा गुज्रिसकेको छ ।

मन्त्रालयले यसलाई उच्च महत्व दिँदै आए पनि आजसम्म परिषद्ले आफ्नो स्पष्ट मार्गचित्र कोर्न सकिराखेको छैन, हाम्रो राष्ट्रको सबैभन्दा ठूलो विकासको आधार कृषि क्षेत्र हो, सुधारका लागि तपाईंहरू जस्ता वैज्ञानिकहरुको महत्त्वपूर्ण जिम्मेवारी रहनेछ”, उनले भनिन् ।

मन्त्री चौधरीले वैज्ञानिकहरूको कार्यसम्पादन, सुशासन र नेतृत्व क्षमताका आधारमा अवसर प्रदान गरिने जानकारी गराउँदै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमसँगको सहकार्यलाई अघि बढाउने तयारी भइरहेको बताउनुभयो । इमानदार, मेहनती र नतिजामुखी भएर काम गर्ने वैज्ञानिकहरूले मात्र परिषद्को नेतृत्व गर्ने अवसर पाउने उनले बताइन् ।

घण्टौँ सवारीसाधन जाम हुने दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

नवलपरासी। गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ ।

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् ।

यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गर्नुभयो । “गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ”,

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान

काठमाडौँ। संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।

समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो ।

सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्तहरुमा सिफारिस गरिएका डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ ।

उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ । उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ ।

समितिका अनुसार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालयमार्फत दस्तुरबिनै पठाउन सकिनेछ । समितिले उक्त सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरेको जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

बालेन सरकारले विस्थापित गरेका सुकुम्बासी फेरि विस्थापित, होल्डिङ सेन्टर डुबानमा, रातारात उद्धार

काठमाडौं – बालेन सरकारले विस्थापित गरेका सुकुम्बासी फेरि विस्थापित भएका छन् । अविरल बर्षा कारण बागमती नदीमा बहाब बढ्दा काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानका परेको छ ।

होल्डिङ सेन्टर डुबानमा परेपछि राति करिब १ बजे नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो । होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा लगिएको जनाइएको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु रातो (मुढे) प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ३५, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकेजी रु ७०,  रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १५०, आँप (दशहरी) प्रतिकिलो रु १६०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ७०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली – नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा केन्द्रित भएका छन् । ग्रीनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आज हुने मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन उनीहरु यहाँ आइपुगेका हुन् ।

प्रतियोगिताका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तानहरु गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाहीलगायत यहाँ आउनुभएको एकेडेमीका अध्यक्ष शशी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमै पहिलो पटक पूर्वराष्ट्रिय खेलाडीहरुको सहभागितामा हुने प्रतियोगितामा कर्णाली प्रदेश बाहिर र कर्णालीका पूर्व राष्ट्रिय खेलाडीहरुबीच मैत्रीपूर्ण प्रतियोगितामा हुनेछ ।

प्रतियोगितामा कलाकार बद्री पंगेनी र दुर्गेश थापाको पनि सहभागिता रहनेछ । कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायतका खेलाडी सहभागी हुने बताइएको छ ।

कर्णालीमा फुटबलप्रतिको आकर्षण बढाउने, स्थानीय प्रतिभालाई पहिचान गर्ने तथा पूर्वखेलाडीको सम्मान तथा कर्णालीले पनि राष्ट्रियस्तरको खेल सञ्चालन गर्न सक्छ भन्ने विश्वास दिलाउने र फुटबलको दियो कर्णालीबाट बाल्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीका महासचिव ललित भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न थप उर्जा र दबाब सिर्जना गर्नेछ ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई समाजसेवी स्व खड्कबहादुर बस्नेतको नाममा ‘म्यान अफ दी म्याच’, शिक्षाविद् स्व विष्णुप्रसाद गौतमको नाममा ‘बेस्ट प्लेयर’, समाजसेवी स्व डीबी समदर्शीको नाममा ‘बेस्ट गोलकिपर’, शिक्षाप्रेमी स्व डा सञ्जु खातीको नाममा ‘बेस्ट डिफेन्डर’ तथा समाजसेवी स्व डा हरि सापकोटाको नाममा ‘बेस्ट स्कोरर’ पुरस्कार प्रदान गरिनेछ ।

नागार्जुनमा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु, साउन ४ गतेसम्म चल्ने

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ५ हरिसिद्धि, सितापाइलामा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित उक्त महोत्सवको शुक्रबार एक विशेष समारोहका बिच उद्घाटन गरिएको हो। महोत्सवको उद्घाटन नागार्जुन नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष महेश रिमालले गरे ।

उद्घाटन मन्तव्य राख्दै रिमालले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, आन्तरिक व्यापारको विस्तार र लोक संस्कृतिको जगेर्ना गर्न यस्ता महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उद्घाटन कार्यक्रम राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

साउन ४ गतेसम्म चल्ने महोत्सवका मुख्य आकर्षणको रुपमा महोत्सव स्थलमा विभिन्न रैथाने तथा आधुनिक कृषि उत्पादन, औद्योगिक सामग्री, विविध स्वादका खानेकुरा (फूड स्टल) का साथै बालबालिका र युवाहरूका लागि पिङ तथा विभिन्न मनोरन्जनात्मक खेलका स्टलहरू राखिएका छन्।

महोत्सवको अवधिभर नेपालका ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा रचना रिमाल, समिक्षा अधिकारी, एलिना चौहान, पशुपति शर्मा, नवराज घोरासिनी, भोजराज काफ्ले, सरोज लामिछाने, भिमसेन खतिवडा, सृजना खत्री (हाउडेमाया), सहिमा श्रेष्ठ र विन्दु परियार लगायतका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन गराउने छन्।

स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउन र सर्वसाधारणलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्न आयोजित यो महोत्सव आगामी साउन ४ गतेसम्म निरन्तर चल्नेछ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८० पैसा र बिक्रीदर १५ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २७ पैसा र बिक्रीदर २३ रुपैयाँ ३६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।

देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

ओइरास। पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उहाँले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताउनुभएको छ । उहाँले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताउनुभएको छ।पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा भएको विश्वकपका क्रममा ४१ वर्षीय स्ट्राइकरको प्रदर्शनको आलोचना भएको थियो । पोर्चुगल स्पेनसँग अन्तिम १६ मा पराजित भएर बाहिरिएको थियो ।

रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप रहेको बताइसक्नुभएको छ । उहाँले अझै राष्ट्रिय टोलीबाट खेल्ने या नखेल्ने निर्णय गर्नुभएको छैन ।“केही सीमाभित्र र राष्ट्रिय टोलीका लागि मलाई उत्तम लाग्ने अवस्थामा उहाँ खेलिरहने अवस्थामा भएमा म उहाँ र अन्य खेलाडीहरूलाई पनि टोलीमा समावेश गर्नेछु,” जेससले शुक्रबार पत्रकारसँगको साक्षात्कारका क्रममा भन्नुभयो ।

अनुभवी प्रशिक्षक मानिने ७१ वर्षीय जेससले अझै रोनाल्डोसँग कुरा नभएको तर उनीहरूले पूर्व म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका स्टारको खेल जीवनको भविष्यबारे छलफल गर्ने बताउनुभयो ।

“मैले अझै ‘क्रिस’सँग कुरा गरेको छैन । ‘क्रिस’ राष्ट्रिय टोली र मेरा लागि समस्या हुनुहुने छैन,” जेससले भन्नुभयो ।उहाँले भन्नुभयो, “क्रिस पोर्चुगाली फुटबलको प्रतीक हुनुहुन्छ । उहाँ राष्ट्रिय टोलीको प्रतीक हुनुहुन्छ र इतिहासमा सदाका लागि रहनुहुनेछ ।”

“मलाई विगतमा उहाँसँग काम गर्न ठूलो खुशी मिलेको थियो । उहाँसँग काम गर्न सजिलो छ”, जेससले भन्नुभयो, “हामी दुईबीच उहाँले भविष्यमा के गर्न चाहनुहुन्छ भन्नेबारे कुराकानी हुनेछ।”जेससले पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोसँग अल–नासरमा काम गर्नुभएको थियो भने मे महिनामा ‘साउदी प्रो लिग’को उपाधि जिताएर क्लबबाट बिदा हुनुभएको थियो ।

“मैले उहाँसँग एक वर्ष बिताएको छु। मलाई थाहा छ, रोनाल्डो अल–नासरमा नै खेलिरहन चाहनुहुन्छ,” नवनियुक्त पोर्चुगाली मुख्य प्रशिक्षक जेससले थप्नुभयो ।

“उहाँ सधैं मलाई भन्नुहुन्थ्यो, म आफ्नो करियर अल–नासरमा नै समाप्त गर्नेछु,” जेससले अगाडि भन्नुुभयो ।सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा गर्दैछन् र सामान्य अवस्थामा जेससले त्यतिबेलासम्म पोर्चुगलको नेतृत्व गर्नुहुनेछ ।