`

बिल लिने उपभोक्तापछि बिल दिने व्यापारीलाई पनि पुरस्कार, कार्यविधि संशोधन गर्न निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उहाँले आन्तरिक राजस्व विभागलाई यस्तो निर्देशन दिनुभएको हो।

बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिएबापत नगदमार्फत पुरस्कृत गर्दै आएको छ। सो कार्यक्रमका कारण बिल लिने संस्कार विकास भएको र राजस्व सङ्कलनमा प्रत्यक्ष फाइदा पुगेको देखिएपछि अर्थमन्त्री डा. वाग्लेले शुक्रबार विभागलाई यस्तो निर्देशन दिनुभएको हो।

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उहाँले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो। “बिल लिनुपर्छ भन्ने त व्यापक देखियो। तर, बिल जारी गर्नुपर्छ भन्नेलाई पनि प्रोत्साहनको नीति लिन जरुरी देखियो,” उहाँले मातहतका उच्च अधिकारीहरूलाई भन्नुभयो, “कार्यविधि संशोधन गरेर प्रस्ताव लिएर आउनुहोस्। कति रकम कसरि दिन सकिन्छ । जसले उहाँहरुलाई पनि बिल जारी गर्न झन्झट नहोस् ।”

बिल लिनुपर्छ भन्दै गर्दा बिल दिनुपर्छ भन्ने संस्कारको विकास गर्न पनि जरुरी रहेको उहाँले बताउनुभयो। साउन १ गतेदेखि सुरु भएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत बिल नम्बरका आधारमा हरेक १५–१५ दिनमा दैनिक एक जनालाई एक लाख ३४ हजार र एक–एक जनालाई बम्पर उपहारमा १० लाख रुपैयाँ नगद प्रदान गरिँदै आएको छ। जसमा आकस्मिक लाभकर कट्टी हुँदा विजेताले क्रमशः दैनिक एक-एक लाख र बम्परमा सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गर्छन्।

हालसम्म साउन १ गतेदेखि असोज १५ गतेसम्म पाक्षिक रुपमा पाँच वटा उपहार घोषणा भएर विजेतालाई नगद उपहार प्रदान गरिसकिएको छ। जसमा ७४ जनाले जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारमा ७ लाख ५० हजार रुपैयाँ जितिसक्नुभएको छ। अब विभागले बेलैमा कार्यविधिमा व्यवस्था गरेको अवस्थामा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को पुरस्कार घोषणामा विक्रेताका लागि पनि पुरस्कार घोषणा हुनेछ। पुरस्कार प्रोत्साहन रकम उपभोक्ताको जत्तिको ठूलो नहुने स्पष्ट छ तर रकम कति हुने भन्ने यकिन भइसकेको छैन्।

प्रोत्साहन पुरस्कारमा सहभागी हुन उपभोक्ताले वस्तु खरिद गर्दा अनिवार्य रुपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्छ। अनलाइनबाट खरिदको रकम भुक्त्तानी गरेका उपभोक्ता स्वत: पुरस्कारका लागि योग्य हुन्छन् भने नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताले आन्तरिक राजश्व विभागको करदाता पुरस्कार पोर्टलमा दिइएको लिङ्क खोलेर बिल अपलोड गर्न सकिन्छ।

मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।थारू आयोगको कार्यालयमा आज आयोजित कार्यक्रममा थारू अगुवा तथा विज्ञहरूको सहभागितामा उहाँले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

थारू जातिको लोक चित्रकाल, थारू समुदायको खाद्य परिकार, थारू लेखनशैली निर्देशिका, थारू समुदायः सिकल सेल एनिमिया र बिटा थपलिया, मुक्तकमैया तथा कमलहरीहरुको अवस्था, थारू समुदायको बलिदानीको इतिहासलगायत प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कार्यक्रममा मन्त्री चौधरीले प्रतिवेदनमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि थारू अगुवाहरूले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रतिवेदन कार्यान्वयनमार्फत थारू समुदायका समस्या सम्बोधन गर्न सम्बन्धित पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत गलौँदीमा सडक भासियो, जोखिम बढेपछि सवारीसाधनमा रोक

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदीमा सडक चर्किएर भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको ठूलो भाग चर्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले उक्त सडकखण्डमा सवारीसाधनको आवतजावतमा रोक लगाएको हो।

प्राप्त विवरणअनुसार गलौँदीमा पृथ्वी राजमार्गको करिब १०० मिटर सडक चर्किएको छ। चर्किएको भागमध्ये करिब २० मिटर सडक भासिएको छ। सडकमा ठूलो चिरा पर्नुका साथै केही भाग भासिएपछि उक्त खण्डमा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो।

सडकको अवस्था जोखिमपूर्ण बनेपछि प्रहरीले सावधानी अपनाउँदै सवारी आवागमन रोकेको जनाएको छ। सडक भासिएको स्थानमा सवारीसाधन सञ्चालन गर्दा थप जोखिम हुन सक्ने भएकाले सुरक्षालाई प्राथमिकतामा राखेर आवागमन बन्द गरिएको हो।

पृथ्वी राजमार्ग राजधानी काठमाडौँलाई देशका विभिन्न भूभागसँग जोड्ने प्रमुख सडकमार्गमध्ये एक हो। यस राजमार्ग हुँदै दैनिक ठूलो संख्यामा यात्रुवाहक बस, निजी सवारीसाधन तथा मालवाहक गाडी आवतजावत गर्ने गर्छन्।

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले रु १५ लाख २८ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका-१६ भुटनदेवी मन्दिरस्थित सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु नौ लाख २२ हजार ५०० बराबरको औषधि नियन्त्रणमा लिई आज वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

हेडक्वाटर पर्साबाट खटिएको अर्को टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु तीन लाख दुई हजार ९६० बराबरको मोटरसाइकलसहित तरकारी वीरगञ्ज-१६ बाट नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नं १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।

यस गण मातहत सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज-१६ इनर्वा सीमा इलाकाबाट भारततर्फबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु एक लाख ७७ हजार ८६० बराबरको कपडा तथा जुत्ता बरामद गरी भन्सार कार्यालयको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए ।

त्यस्तै पर्साकै जगरनाथपुर गाउँपालिका-२ लक्ष्मीपुरचोकमा सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको रु एक लाख २५ हजार १०० बराबरको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

आवास खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ

काठमाडौँ । नेपालमा आवाससम्बन्धी खर्च धान्न ७० प्रतिशत नेपालीलाई कठिनाइ हुने गरेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले सार्वजनिक गरेको ‘होम एट ह्वाट कस्ट ? ग्लोबल हाउजिङ रिसर्च २०२६’ प्रतिवेदनअनुसार आवासको बढ्दो लागतसँगै सुरक्षित बसोबास, विपद् जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो ।

प्रतिवेदनअनुसार नेपालमा ७० प्रतिशत उत्तरदाताले आफूलाई आवाससम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने बताएका छन् । बाइस देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने ३४ प्रतिशत छ । त्यस्तै, ७० प्रतिशत नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्नसक्ने चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात ४८ प्रतिशत रहेको छ ।

आवाससम्बन्धी आर्थिक दबाबले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजनासमेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ । आवासको आर्थिक दबाबका कारण २८ प्रतिशत उत्तरदाताले स्वास्थ्योपचार ढिला गरेको वा उपचार नै नगरेको बताएका छन् । त्यस्तै, ३६ प्रतिशतले आवश्यक घर मर्मतसम्भार पछि सारेका र २१ प्रतिशतले खाद्य सहायता लिनुपरेको बताएका छन् ।

नेपालमा आवास र मानसिक तनावबीचको सम्बन्धसमेत उल्लेखनीय देखिएको छ । ६८ प्रतिशत उत्तरदाताले आफ्नो आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावका स्रोतमध्ये एक भएको बताएका छन् । विश्वव्यापी औसत ३५ प्रतिशत रहेको छ । आगामी वर्षमा आफू बसिरहेको ठाउँ छाड्नुपर्ने चिन्ता ७१ प्रतिशतमा देखिएको छ भने ७१ प्रतिशतले आफू बस्ने स्थानमा असुरक्षित घटना भए सम्बन्धित निकायले समयमा प्रतिक्रिया नदिने चिन्ता व्यक्त गरेका छन् ।

जलवायुजन्य जोखिमप्रति उच्च चिन्ता

नेपालमा जलवायु तथा प्राकृतिक विपद्को जोखिमसँगै सुरक्षित आवासको प्रश्न पनि गम्भीर रहेको अध्ययनले देखाएको छ । ७२ प्रतिशत उत्तरदाताले चरम मौसमका कारण आफू बसिरहेको स्थानमा सुरक्षित महसुस गर्न कठिन हुने बताएका छन् । विश्वव्यापी औसत यस्तो धारणा राख्नेको सङ्ख्या ३० प्रतिशत मात्र छ ।

त्यस्तै, आगामी तीन वर्षमा चरम मौसमका कारण अहिले बसिरहेको ठाउँमा बस्न झनै कठिन हुने ७० प्रतिशतले बताएका छन् । प्रतिवेदनमा यो सर्वेक्षणमा सहभागी २२ देशमध्ये सबैभन्दा उच्च अनुपात भएको उल्लेख छ । खराब आवासीय अवस्थाका कारण ७६ प्रतिशत नेपालीले आफूलाई असुरक्षित महसुस गर्ने बताएका छन् । त्यस्तै, असुरक्षित ढोका, झ्याल वा घरको सीमाका कारण सुरक्षित महसुस गर्न कठिन हुनेको सङ्ख्या ७३ प्रतिशत छ ।

किफायती घरको अभाव

आवासको मूल्य बढ्दै जाँदा किफायती घरको अभावसमेत गम्भीर बन्दै गएको प्रतिवेदनले देखाएको छ । ७८ प्रतिशत उत्तरदाताले किफायती घर पर्याप्त नभएको बताएका छन् भने ७४ प्रतिशतले पहिलोपटक घर खरिद गर्नेलाई सहयोग गर्न विद्यमान आवास नीतिहरू पर्याप्त नभएको धारणा व्यक्त गरेका छन् । बढ्दो आवास लागतले घरधनी बन्न कठिन बनाइरहेको ७७ प्रतिशतको बुझाइ छ । यद्यपि, ७१ प्रतिशत नेपालीले जीवनको कुनै न कुनै समयमा आफ्नै घर हुने अपेक्षा राखेका छन् ।

आवासको खर्चले परिवार सुरु गर्ने योजनासमेत प्रभावित भएको देखिएको छ । ७२ प्रतिशत उत्तरदाताले आवास खर्चका कारण परिवार सुरु गर्ने विषयमा सोच्न कठिन भएको बताएका छन् । सन्तान भएका उत्तरदातामध्ये ७३ प्रतिशतले आवास खर्चका कारण बालबालिकालाई उपलब्ध गराउन सकिने अवसर सीमित भइरहेकामा चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, ७१ प्रतिशतले अहिलेको आवासीय अवस्थाका कारण आफूले पहिले पूरा गर्ने अपेक्षा गरेका सपना वा महत्वाकाङ्क्षा त्याग्नुपरेको बताएका छन् ।

आवास प्रणालीप्रति असन्तुष्टि

आवाससम्बन्धी विद्यमान प्रणालीप्रति पनि नेपालीमा उल्लेखनीय असन्तुष्टि देखिएको छ । ७२ प्रतिशत उत्तरदाताले देशको आवास प्रणाली प्रभावकारी रूपमा काम नगरेको धारणा व्यक्त गरेका छन् । विश्वव्यापी औसत ५६ प्रतिशत रहेको छ ।

सुरक्षित तथा मर्यादित आवासलाई आधारभूत मानव अधिकार मान्ने नेपालीको सङ्ख्या भने ८३ प्रतिशत छ । त्यस्तै, ७९ प्रतिशतले आफू बस्ने क्षेत्रमा थप किफायती वा सामाजिक आवास उपलब्ध भए स्वागत गर्ने बताएका छन् ।

अनौपचारिक आवासमा बस्ने बढी असुरक्षित

अनौपचारिक आवासीय व्यवस्थामा रहेका नेपालीमा आवासीय सुरक्षाको अवस्था थप कमजोर देखिएको छ । औपचारिक आवासीय कागजात नभएका, अस्थायी आवासमा रहेका वा अन्य गैरऔपचारिक व्यवस्थामा बस्ने उत्तरदातामध्ये ५३ प्रतिशतले मात्र आफू अहिले बसिरहेको ठाउँमा बसिरहन सक्नेमा विश्वस्त रहेको बताएका छन् ।

प्रतिवेदनअनुसार नेपालमा १२ लाखभन्दा बढी मानिस सुरक्षित जग्गा वा आवासबाट वञ्चित छन् भने करिब १३ लाख परिवार अनौपचारिक जग्गा तथा आवासीय स्वामित्व व्यवस्थामा रहेका छन् । अध्ययनका लागि नेपालमा कुल एक हजार ४०० जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो । तीमध्ये एक हजार जना वयस्कलाई अनलाइन माध्यमबाट राष्ट्रिय नमुनाका रूपमा सर्वेक्षण गरिएको थियो । उमेर, लिङ्ग, क्षेत्र र आयका आधारमा राष्ट्रिय वयस्क जनसङ्ख्यालाई प्रतिनिधित्व गर्नेगरी नमुना तयार पारिएको र तथ्याङ्कलाई सम्बन्धित जनसाङ्ख्यिकीय आधारमा भारित गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी, मासिक पारिवारिक आम्दानी २० हजार रुपैयाँभन्दा कम भएका थप ३०० जनालाई सर्वेक्षणमा समेटिएको थियो । अनौपचारिक आवासीय व्यवस्थामा रहेका थप १०० जनासँग काठमाडौँ, काभ्रे, भक्तपुर र टोखामा प्रत्यक्ष अन्तवार्ता गरिएको थियो । थपिएका लक्षित समूहका नमुना स्वतन्त्र रूपमा राष्ट्रिय प्रतिनिधिमूलक नभएको प्रतिवेदनले स्पष्ट पारेको छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनलले एडेलम्यान इन्टेलिजेन्समार्फत सन् २०२६ अप्रिल १० देखि जुन ३० सम्म करिब २० मिनेटको सर्वेक्षण सञ्चालन गरेको थियो । नेपालसहित विश्वका २२ देशमा कुल ३० हजार ७५८ जना सर्वेक्षणमा सहभागी थिए । प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ । आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपद्को जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन

रसुवा । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेको त्यो दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन ।

अझै पनि यी सबै सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ त उहाँलाई । यतिका दिनसम्म पनि कान्छाको आँखामा भने भदौ १० गतेको त्यो बाढीको भेल नाचिरहन छाडेको छैन । त्यो बाढीको गड्याङगुडुङको आवाज अझै कान्छाको कानमा गुञ्जिरहन छाडेको छैन । भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका हुन्थे । ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काँप्न छाडेको छैन । ती घटना बिर्सन सके पो मन भारी हुन छाड्थ्यो कान्छाको ।

बाढीपछि मृत्यु भएका ती आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन् । हराएका ती प्रियजन अब त फर्कने आशा पनि मरिसक्यो । कहिलेकाहीँ फर्की आउँछन् कहीँकतैबाट पो भन्ने भ्रम पनि मनबाट पूर्ण रूपमा हट्न सकिरहेको छैन कान्छाको । आँखै अगाडि बगिरहेका ती प्रियजन सम्झन्छन् । बस्तीलाई बाढीले बढारेको दृश्य आँखामा नाचिरहन्छ । अनि झन् मन भक्कानिन्छ कान्छाको । सुन्दर बस्तीलाई बाढीले क्षणभरमै बगर बनाउला र यति धेरै कुरूप बन्ला भन्ने कल्पना पनि गरेका थिइनन् कान्छाले । ती उजाडलाग्दो बगरलाई हेर्दा आँखा रसाउँछ उनको ।

त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो । बाढी आउँदा उनी केही अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए तर सुरक्षित स्थानमा पुगेपछि पनि उनले देखेको दृश्य झनै भयावह थियो । “गड्याङगुडुङ गरेर ठूलो आवाज आयो । के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ”, कान्छा त्यो दिन सम्झन्छन्, “बेतोडले भागेर अलि माथि पुगेँ । तल हेर्दा मानिस बगिरहेका थिए । कोही चिच्याइरहेका थिए । हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बढार्‍यो ।”

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा भने उनको मनमा गहिरो गरी बसेको छ । “सयौँ मानिस बगेको हेर्नुपर्‍यो । त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन”, कान्छा भन्छन्, “बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र ? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ ।” त्यसदिन बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सम्झनासमेत बगाएर लग्यो । सँगै खेलेका साथीहरू, परिचित अनुहार र त्यो बस्ती अहिले कान्छाका सम्झनामा मात्रै छन् । गड्याङगुडुङको आवाज, एकाएक उर्लिएको भेल, मानिसको चिच्याहट र आँखै अगाडि बगिरहेको बस्तीको दृश्य सायद कान्छाको मानसपटलमा ननाचेको कुनै क्षण नै नहोला ।

विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन…

बाढी गएको यतिका दिन बितिसक्दा पनि अझै डराइरहेको छ कान्छाको मन । घरीघरी ठूलो विपद् फेरि दोहोरिन्छ कि भन्ने चिन्ताले सताउन छाडेको छैन । “त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ”, उनी भन्छन्, “फेरि यस्तै विपद् दोहोरिन्छ कि डर लागिरहन्छ । रातभर आनन्दले निद्रा नै पर्दैन ।”
कान्छाकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखैअगाडिको त्यो घटना न सम्झिन मन छ, न बिर्सन सजिलै सकिन्छ । उनका पनि कयौँ रातहरू डरैडरमा बितिसके । अझै पनि मनको डर हट्न सकेको छैन । “आकाशमा मेघ गर्जंदा पनि डर लाग्छ, हामीलाई जिन्दगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले”, उनी भन्छिन् ।

अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना छ जना आफन्तलाई त्यही बाढीमा गुमाउनुपर्‍यो । बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला भन्ने लाग्छ सन्दुलाई । भत्किएका घर, सडक र संरचना पनि फेरि उठाउन सकिएला तर बाढीले खोसेका आफन्त भने कहिल्यै फर्कने छैनन् । सम्झनाले उनलाई पनि हरेक दिन सताइरहेको छ ।

सन्दुको घरलाई भने बाढीले छुन सकेन । घर जोगिएकामा खुसी हुनुपर्ने हो । तर, घरको आँगनीको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ । आफ्नै घर जोगिएको खुसीभन्दा तलको बस्ती र आफ्ना आफन्त गुमाएको पीडा ठूलो छ उनलाई । “बस्ती त फेरि बनाउन सकिन्छ होला । घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने ?” सन्दुको भनाइमा बाढीले छाडेको पीडाको गहिराइ स्पष्ट झल्किन्छ ।

गत वर्ष पनि यसपटकको जस्तै भारी वर्षाबिना भोटेकोशीमा बाढी आएको थियो । तर, यस्तो सुनामी थिएन । सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ– फेरि पनि योभन्दा ठूलो बाढी आयो भने ? “अब त ठूलो बाढी जुनसुकै बेला आउला भन्ने डर लाग्छ । बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ”, उनी भन्छन् ।

त्यो दिन बाढी आउँदैछ भन्ने पूर्वसूचना आफूहरूले नपाएको सन्दु बताउँछन् । नदीको आवाज अस्वाभाविक आएपछि के रहेछ भनेर हेर्दा पनि निकै ठूलो बाढी पो रहेछ । “हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौँ । त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर आवाज दिन खोजेँ । कसैले सुनेन”, उनी भन्छन् ।

उर्लिरहेको बाढीको गर्जनसामु एउटा मानिसको सुस्केराको आवाज कति नै ठूलो हुनु र मानिसले सुन्नु । सुनेर पनि भाग्न भ्याउने अवस्था थिएन । सन्दुले सुस्केरा दिँदादिँदै उनकै आँखाअघि बाढीले बस्ती र मानिसलाई बगायो । त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन छाडेको छैन । “अझै पनि यी सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ । बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो”, उनी भन्छन् । तर, त्यो सपना हुनै सक्दैन अब, कठोर सत्य हो । जुन स्वीकार गर्नुको विकल्प नै छैन ।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेरेपछि आफन्त सम्झिरहन्छन् सन्दु । घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा अरू गुमाएकाको पीडा बल्झिन्छ । बाढीको भेल तलतिर बगेर गयो । तर, त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास भने अझै बगेको छैन ।

विपद्पछिको कठिन जीवनस्तर
भोटेकोशी बाढी गएको ४५ दिन बितिसकेको छ । बाढीले खोसेका जीवन फर्केर आउने छैनन् । बेपत्ता आफन्त भेटिने आशा पनि मरिसक्यो । बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन् । हिजोका सुन्दर बस्ती र हराभरा खेत, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगर बनेको छ । त्यो बगर देख्ने जोकोहीको मन भारी हुन्छ र आँखा रसाउँछन् ।

बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन । घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ । “महँगी असाध्यै छ । हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन । किनेर खान पनि नजिकै ठाउँ छैन । अलि टाढा जाँदा असाध्यै महँगो पर्छ”, सन्दु भन्छन्, “बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ ।”

विपत्तिले दिएको पीडा र अभावका बीच सन्दुको मनमा भने निराशासँगै पुनः सामान्य जीवनमा फर्किने झिनो आशा पनि बाँकी छ । सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उनलाई घचघच्याइरहन्छ । पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उनलाई थाहा छैन । अहिलेका लागि उनीसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्किने प्रतीक्षा भने बाँकी नै छ ।

वैकल्पिक आवतजावतलाई तुइन
केही सामान किन्न र उपचार गर्न जानुपर्दा भने घण्टौँ कुरेर तुइनबाट आवतजावत गर्नुपर्ने अर्को समस्या सुनाउँछन् कान्छा तामाङ । “तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ । के गर्नु तुइनबाहेक अन्य केही विकल्प नै छैन”, उनी सुनाउँछन् ।

रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवतजावतका लागि बनाइएका ती तुइन निर्माण तथा मर्मतमा करिब रु. २० लाख खर्च भएको जानकारी दिए ।

“नुवाकोटको इन्द्रेणीचौर–गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ । त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ”, उनले भने, “रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका–५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा रहेको छ ।”

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ । विभागका अनुसार स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ । रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ ।

विपद्पछि १२ झोलुङ्गे पुलको मर्मत सम्पन्न
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौ वटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको जानकारी दिएका छन् । तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिदको सम्झौता भई पहिलो पटकको सामानसमेत आपूर्ति भइसकेको उनको भनाइ छ ।

विभागका अनुसार मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार–जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा–मझुवाटार दोभान, महादेवस्थान, केउरेनी–गहते, बेल्खु–भुतिया, कालिकास्थान, महेशदोभान–मास्टार, चिरौँदी खोला र शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल छन् । गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ ।

विभागका अनुसार यी १२ वटा झोलुङ्गे पुलको मर्मतमा करिब रु. तीन करोड खर्च भएको छ । त्यस्तै गोरखा–धादिङको बादरे, धुवादीघाट, जिन्टे–स्यालटार, धादिङ–नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा–धादिङको जोगीमारा र कौडीखोला, गोरखा–चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत सुरु गरेको जनाएको छ । त्यस्तै क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको छ । थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सुदूरपश्चिम। प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयकमा पुनरावलोकनसहित परिमार्जन गर्न नपाइने दाबीसहित दायर रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले आज प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयक पुनरावलोकनसहित परिमार्जन गर्न पाइने वा नपाइने विषय रिट निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अधिवक्ता मनिराम उपाध्यायले अघिल्लो सरकारले गत असार १ गते प्रदेशसभामा बजेट प्रस्तुत गरिसकेको अवस्थामा सरकार परिवर्तन भएपछि प्रदेशसभामा दर्ता रहेको अर्थ विधेयक पुनरावलोकनसहित परिमार्जन गर्न नमिल्ने दाबीसहित अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्नुभएको थियो । गत असार २९ गते प्रदेश सरकार परिवर्तन भएको थियो ।

संयुक्त इजलासले संविधानको धारा ५९ को उपधारा (३), धारा २०० र धारा २०९ तथा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १२३ लगायत कानुनी व्यवस्थाको सन्दर्भमा बजेट परिमार्जनको अधिकारसम्बन्धी प्रश्न अन्तिम सुनुवाइका क्रममा निरुपण हुनुपर्ने प्रकृतिको देखिएको उल्लेख गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ का सम्बन्धित व्यवस्थासमेतका आधारमा हाललाई अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ ।

दुई पक्षको बहसपछि संयुक्त इजलासले भनेको छ, “संविधानको धारा २०० मा एकातर्फ विधेयक फिर्ता लिन सकिने संवैधानिक व्यवस्था गरेको र अर्कोतर्फ धारा २०९ मा अर्थमन्त्रीले पूरक अनुमान मात्र पेस गर्न सक्ने व्यवस्था रहेको तथा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० को नियम १२३ को व्यवस्था कार्यान्वयन हुन बाँकी रहेको सन्दर्भमा बजेट प्रस्तुत भइसकेपछि सोलाई परिमार्जन गर्ने अधिकार प्रदेश सरकारलाई रहने नरहने विषय निवेदनको अन्तिम किनारा हुँदाका बखत निरुपण हुने प्रकृतिको देखिएको र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१, २२, २३, २४ को व्यवस्थासमेतको रोहमा हाललाई निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएन । नियमानुसार गर्नू ।”

कांग्रेस महाधिवेशन : सभापतिको नतिजापछि मात्रै अन्य पदको मतगणना, मतपत्र सानेपा लगिने

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै हुने भएको छ । सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताए ।नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ६.५० मा खुल्ला मञ्च स्थित तराई मधेस हलमा मतदान गर्दैछन् ।

रवि र बालेन शाहप्रति मिराज ढुङ्गानाको टिप्पणी, फेरि विद्रोह हुन सक्ने दिए चेतावनी

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहलाई राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति प्रश्न उठाउँदै मुलुकमा पुनः विद्रोह हुन सक्ने चेतावनी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ढुङ्गानाले राजनीतिक नेतृत्वमा नयाँ अनुहार देखिँदैमा देशको अवस्था परिवर्तन हुने ग्यारेन्टी नहुने टिप्पणी गरेका हुन्। उनका अनुसार, राजनीतिक व्यक्तिहरूको अनुहार फेरिए पनि उनीहरूको आचरण, कार्यशैली र प्रवृत्तिमा परिवर्तन नआए त्यसले जनताको अपेक्षा पूरा गर्न नसक्ने अवस्था रहन्छ।

उनले नेपाली कांग्रेसलगायत पुराना राजनीतिक दलमा केही अनुहार परिवर्तन हुँदैमा राजनीतिक सुधार भएको मान्न नसकिने तर्क गरेका छन्। त्यस्तै, विगत ३५ वर्षदेखि बिग्रिएको भनिएको राजनीतिक तथा शासकीय अवस्थाको समाधान रवि लामिछाने र बालेन शाह तीन दिनमै मिलेर निकाल्न सक्छन् भन्ने दाबीलाई सहजै विश्वास गर्न नसकिने उनको भनाइ छ।

ढुङ्गानाले फेसबुकमा लेखेका छन् – ‘५ जना अनुहार फेरिए, काङ्ग्रेस फेरियो रे।३५ वर्ष बिगारे रे, ३ दिनमा रवि र बालेन मिलेर त्यस ३५ वर्षको समाधान निकाले रे, पत्याइदिनु पर्ने रे।
ध्यान दिएर हेर्नुभयो भने यी दुवै उस्तै खालका ‘नयाँ’ हुन्, राजनीतिक आचरण त्यही, लालिपोतो नयाँ। एउटै डालामा राख्दा फरक पर्दैन।२३ र २४ को विद्रोहले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठन खोजेको थियो, जुन रिकन्डिसन गरेका पुराना दलले सक्दैनन्।यिनैलाई विकल्प मान्ने हो भने २३ र २४ को घटना निश्चित नै दोहोरिन्छ, यो कुरा लेखेर राख्दा हुन्छ।त्यसैले चरम नेपाली निराशाको समाधान र राजनीतिक पुनर्गठनका लागि तेस्रो ध्रुव (Third Pole) को आवश्यकता अपरिहार्य छ।’

युद्धबन्दी विवादमा युक्रेनबाट राजदूत फिर्ता बोलाउँदै दक्षिण कोरिया

साेल । दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ ।

राष्ट्रपति ली जे म्युङले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धबन्दीको स्थानान्तरण सार्वजनिक गरेकोमा माफी नमागे थप कदम चाल्ने चेतावनी दिएका थिए । यद्यपि, युक्रेनले विवादका बाबजुद वार्ताका लागि तयार रहेको जनाएको छ ।

रुसको पक्षबाट युक्रेनविरुद्ध लड्न खटिएका ती दुई उत्तर कोरियाली सैनिकलाई सन् २०२५ को सुरुतिर युक्रेनले नियन्त्रणमा लिएको थियो । उनीहरूले स्वदेश फर्किएमा दुव्र्यवहार भोग्नुपर्ने आशङ्काले दक्षिण कोरियामा बसोबास गर्ने इच्छा व्यक्त गरेका थिए । दक्षिण कोरियाले उत्तर कोरियाबाट भागेर आउने नागरिकलाई आश्रय दिने नीति अपनाउँदै आएको छ ।

दक्षिण कोरियाले सैनिकहरूको स्थानान्तरण गोप्य राख्ने सहमति उल्लङ्घन गरेको आरोप युक्रेनमाथि लगाए पनि किएभले त्यस्तो सहमति भएको अस्वीकार गरेको छ । विश्लेषकहरूका अनुसार विवादले रुस र उत्तर कोरियाबीचको सैन्य सहकार्यबारे जानकारी प्राप्त गर्ने दक्षिण कोरियाको प्रयासमा असर पार्न सक्छ ।

दक्षिण कोरियाले सन् २०२२ देखि युक्रेनलाई ४४ करोड ५० लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराएको छ । गत जुलाईमा राष्ट्रपति लीले युक्रेनलाई थप एक करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

हेटाैँडा । गत भदौ १० गते भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै हेटौँडास्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज विष्णुसहस्रनाम र श्रीमद्भगवत् गीता पाठपारायण गरिएको छ ।

भोटेकोशी बाढीको ४५ दिन पुगेको सन्दर्भमा ज्यान गुमाएकाको आत्माले शान्ति पाओस् भन्ने कामनासहित ४० जना गुरु पुरोहितद्वारा पाठपारायण गराइएको त्रिवेणीधाम संरक्षण समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिए ।

त्यस अवसरमा अकल्पनीय रुपमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा उहाँहरुको आत्मा शान्तिको कामनासहित मौन धारणा पनि गरियो । रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणी कुष्माण्डमा सत्य युगमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धी प्राप्त गरेको धार्मिक विश्वासका कारण त्यहाँको बेग्लै महिमा छ ।

बाढीले तनहुँका आठ झोलुङ्गे र पाँच पक्की पुलमा क्षति

तनहुँ । यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले तनहुँमा घर, सडक, पुल, खानेपानी, विद्युत्, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कल्भर्ट, सडकलगायत संरचनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा मर्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

पाँच झोलुङ्गे पुल पूर्ण क्षतिग्रस्त

विपद्का कारण तनहुँका पाँच वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण क्षति भएको हो । उक्त पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग, ललितपुरमा सिफारिस गरिएको प्रजिअ तिवारीले बताए ।

उनका अनुसार घिरिङ-१ को अत्रौलीबाट कासिवन जोड्ने झोलुङ्गे पुल पनि बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसको पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ । घिरिङ-४ र नवलपुरको बौदीकाली गाउँपालिका-२ अन्तर्गत मण्डारबाट खरसङघाट जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । उक्त पुल पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।

सोही वडाको करुवाटारबाट माइतीघाट-मचेडी जोड्ने झोलुङ्गे पुल पनि बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएको प्रजिअ तिवारीले जानकारी दिए । यसैगरी देवघाट गाउँपालिका-२ र नवलपुरको बुलिङटार गाउँपालिका-१ जोड्ने खाल्टे-बुलिङटार झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

यी पुलहरू क्षतिग्रस्त भएपछि नदी वारपार गर्ने स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको छ भने कतिपय स्थानमा विद्यालय जाने विद्यार्थीसमेत प्रभावित भएका छन् ।

तीन झोलुङ्गे पुलमा आंशिक क्षति

बाढीले तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । घिरिङ गाउँपालिका-१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने पुट्टारघाट-स्याउलीबजार झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । पुलको मर्मत तथा पुनर्निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिस गरिएको छ ।

त्यस्तै, घिरिङ-४ र नवलपुरको बौदीकाली जोड्ने जगौलीटार-थोत्रेनी झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । देवघाट-१ र नवलपुरको गैँडाकोट नगरपालिका-३ जोड्ने झोलुङ्गे पुलको लठ्ठा, स्ल्याब तथा जालीमा क्षति पुगेको प्रजिअ तिवारीले बताए । पुललाई तत्काल मर्मत तथा सुरक्षित बनाउनेतर्फ प्रक्रिया अघि बढाइएको उनले उल्लेख गरे ।

पक्की पुलमा पनि क्षति

बाढीले घिरिङ-४ र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकी मण्डार-खरसङघाट पक्की पुलमासमेत आंशिक क्षति पुगेको छ । पुलको पुनर्निर्माण तथा आवश्यक मर्मतका लागि सडक विभाग, बबरमहल र सडक डिभिजन कार्यालय दमौलीमा सिफारिस गरिएको प्रजिअ तिवारीले बताए ।

दुई कल्भर्टमा क्षति

बाढीका कारण जिल्लाका विभिन्न स्थानमा कल्भर्टसमेत क्षतिग्रस्त भएका छन् । भिमाद नगरपालिका-४ स्थित सिंहाले कल्भर्ट पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । यसको पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ तथा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेशमा सिफारिस गरिएको छ ।

त्यस्तै, घिरिङ गाउँपालिका-४ स्थित तिरन्दी खोला कल्भर्टमा आंशिक क्षति पुगेको छ । उक्त कल्भर्टको मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशमा सिफारिस गरिएको प्रजिअ तिवारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी तिवारीले बाढीका कारण क्षतिग्रस्त सडक, पुल, भवन तथा अन्य सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मतलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । “स्थानीय तहको विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, प्रहरीको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा आवश्यक प्रक्रिया पूरा गरी क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ”, उनले भने ।

हिल्सा नाका बन्द हुँदा खाद्यान्न र उपचारको अभाव, हिउँले घर फर्किन कठिन

हुम्ला । चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ ।

गत ९ गतेदेखि हिल्सा नाका बन्द भएपछि त्यहाँ दैनिक उपभोग्य वस्तुको अभाव बढ्दै गएको हो । लामो समयदेखि हरियो सागसब्जी नदेखिएको स्थानीय तथा सुरक्षाकर्मी बताउँछन् । माछा–मासु पूर्णरूपमा बन्द भएको छ भने मौज्दातमा रहेको दालको झोलसँग खाना खानुपर्ने अवस्था आएको हिल्सा सीमा सुरक्षाचौकी (बीओपी)का इन्स्पेक्टर केदार सापकोटाले बताए ।

उनका अनुसार नाका बन्द भएपछि हिल्सामा खाद्यान्नसँगै स्वास्थ्य उपचारको समस्या पनि गम्भीर बनेको छ । बिरामी पर्दा उपचारका लागि स्वास्थ्यचौकी वा मेडिकलसमेत छैन । सशस्त्र प्रहरी बलका एक जना जवानले सिएमए तालिम लिएको र उनीसँग रहेको सामान्य औषधि, विशेषगरी सिटामोलकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।

नाका बन्द हुँदा हिल्सामा रहेका नेपाली नागरिकको आवतजावतसमेत प्रभावित भएको थियो । चीनतर्फको नाका खुलेपछि बिहीबार १४४ नेपाली नागरिक नेपालतर्फ प्रवेश गरेका छन् । तीमध्ये केहीले हिउँ जमेको बाटो हुँदै नेपाल फर्किनुपरेको छ ।

कतिपय बिहीबार नै पैदल मार्ग हुँदै अघि बढिसकेका छन् भने केही शुक्रबार बिहानै हिल्साबाट पैदल यात्रा सुरु गर्ने तयारीमा छन् । चीनबाट नेपाल अबेर प्रवेश गरेकाहरू शुक्रबार बिहानै हिँड्ने तयारीमा रहेको सापकोटाले बताए । यता, नेपालतर्फको सडकमा जमेको हिउँ पन्छाउने काम भने बुधबारबाट मात्रै सुरु भएको छ ।

नारा लेक क्षेत्रमा सडकमा जमेको हिउँ पन्छाउन सानो स्काभेटर (भ्याकु) प्रयोग गरिएको छ । तर, मेसिन सानो भएकाले दैनिक बढीमा एक–दुई किलोमिटर मात्रै सडक सफा गर्न सक्ने अवस्था छ । सडक सफा गर्ने गति निकै सुस्त भएपछि हिल्सामा रोकिएका नेपाली नागरिकमा झनै चिन्ता बढेको छ ।

यही गतिमा हिउँ पन्छाउने हो भने दसैँसम्म पनि घर पुग्न नसकिने भन्दै बिहीबार एक सयभन्दा बढी नेपाली हिल्साबाट पैदलै यात्रा सुरु गरेका छन् ।

लामो समयदेखि सीमा नाका बन्द, सडकमा जमेको बाक्लो हिउँ, खाद्यान्नको अभाव र स्वास्थ्य सेवाको पहुँच नहुँदा हिल्सा अहिले समस्यैसमस्याको बीचमा छ ।

चीनतर्फको नाका खुले पनि नेपालतर्फको सडक सहज रूपमा सञ्चालनमा आउन नसक्दा हिल्साबाट घर फर्किन चाहने नागरिकका लागि अर्को चुनौती थपिएको छ ।

स्थानीय तथा सुरक्षाकर्मीका अनुसार तत्काल सडकमा प्रभावकारी रूपमा हिउँ पन्छाउने व्यवस्था गरी यातायात सञ्चालनमा ल्याउन नसके हिल्सामा खाद्यान्न र स्वास्थ्य सङ्कट थप गहिरिन सक्ने देखिएको छ ।

यतिबेला हिल्सामा ३५ जना सशस्त्र प्रहरी, २० जना नेपाल प्रहरी, चार जना अध्यागमन कार्यालय र चार जना भन्सारका गरी ६३ जना सरकारी कर्मचारी छन् भने केही स्थानीय नागरिकसमेत बस्दै आएका छन् ।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) ९० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १२० रुपैयाँ, पालुङ्गो साग १२० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

गगन थापासँग प्रतिस्पर्धामा रहेका श्यामकृष्ण खड्गीले गरे मतदान

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले मतदान गरेका छन्।

शुक्रबार खड्गीले राष्ट्रिय सभागृहमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

उनी सभापति पदका अर्का उम्मेदवार गगनकुमार थापासँग प्रतिस्पर्धामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

पोखरा–१८ अधेरीकुनामा माटोको ढिस्को खस्दा दुई मजदुरको ज्यान गयो

पोखरा – पोखरामा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पर्वतका २९ वर्षीय विक्रम सुनार र गोरखाका ३९ वर्षीय राजु कुमाल रहेका छन् ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले स्काभेटरको सहयोगमा उनीहरूको उद्धार गरी मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए। तर, चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दशैँको अग्रिम टिकट खुल्यो, बिहानैदेखि बसपार्कमा यात्रुको लाइन

काठमाडौं – दशैँका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरिएको छ । टिकट लिन बिहानैदेखि काठमाडौंका बसपार्कमा यात्रुको चहलपहल बढेको छ।

यात्रुको सहजताका लागि ट्राफिक प्रहरीले उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ। यात्रुको चापअनुसार लामो तथा मध्यम दूरीका गाडीलाई रिजर्भमा सञ्चालन गर्न रुट परमिटसमेत खुला गरिएको छ।

सरकारले बढी भाडा नलिन, क्षमताभन्दा बढी यात्रु नराख्न र सवारीसाधनको अवस्था जाँच गरेर मात्र सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ। प्रहरीले चाडपर्वमा सडक सुरक्षा र ट्राफिक निगरानी पनि बढाएको छ।

पोखराको ओख्ले भीरमा स्कुल बस दुर्घटना, २१ विद्यार्थी सवार

काठमाडौं – कास्कीको पोखरा महानगरपालिका–२८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक विवरण छ, जसमध्ये २१ जना कक्षा १० का विद्यार्थी छन्।

परीक्षाका लागि ट्युसन पढ्न जाने क्रममा बिहान भएको दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्धार सुरु गरेका छन्। हालसम्म १८ जनाभन्दा बढीलाई उद्धार गरी गण्डकी अस्पताल पठाइएको छ। घटनास्थलमा उद्धार जारी रहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ।

हुम्ला-मुगु सीमा क्षेत्रमा जडीबुटी विवादपछि तीन जनाको मृत्यु, उद्धार टोलीले ल्यायो शव

काठमाडौं । हुम्ला–मुगु सीमावर्ती मिमी पाटनमा जडीबुटी खोज्न गएका मुगुका तीन जनाको मृत्यु भएको छ।

जडीबुटी संकलन क्षेत्रको सीमा विवादमा असोज ११ गते भएको झडपमा गणेशबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि बेपत्ता भएका ललितजङ्ग बडुवाल र अंगबहादुर रोकायाको शव उच्च हिमाली क्षेत्रमा हिउँमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

अत्यधिक हिउँ, कठिन भूगोल र प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो। सुरक्षाकर्मीले तीनै जनाको शव जिल्ला अस्पताल मुगुतर्फ ल्याएका छन्।

सिड्नीमा परराष्ट्रमन्त्री खनालसँग न्यू साउथ वेल्सका प्रिमियर मिन्सको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा भेटवार्ता गरेका छन् ।

भेटका क्रममा प्रिमियर मिन्सले नेपालमा हालै गएको विनाशकारी बाढी तथा विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि न्यू साउथ वेल्स सरकार नेपाललाई सहयोग गर्न तयार रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले विपद्का कारण प्रभावित नेपालीप्रति देखाएको सहानुभूति, ऐक्यबद्धता र सहयोगका लागि न्यू साउथ वेल्सका जनता, नेपाली डायस्पोरा तथा त्यहाँका विभिन्न समुदायप्रति आभार व्यक्त गरेका थिए ।

मन्त्री खनालले विपद्पछि सम्पर्कविहीन भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा उद्धारलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी समेत प्रिमियर मिन्सलाई गराए ।

भेटवार्तामा नेपाल र न्यू साउथ वेल्सबिच व्यापार, ऊर्जा, खानी, पूर्वाधार तथा प्राविधिक एवं व्यावसायिक शिक्षा तथा तालिम (टिभिइटी) लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको थियो ।

त्यसैगरी, नेपाल र न्यू साउथ वेल्सका उच्च शिक्षण संस्थाबीच सहकार्य तथा शैक्षिक आदानप्रदानलाई थप विस्तार गर्ने विषयमा समेत दुवै पक्षबिच छलफल भएको थियो ।

हुम्लाको नारा लेकमा हिउँ पन्छाउन सुरु, ३ दिनभित्र सडक खुलाउने लक्ष्य

हुम्ला – हुम्लाको सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ। नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी प्रयोग गरी हिउँ हटाउन थालिएको हो।

असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ।

करिब १० किलोमिटर क्षेत्रमा हिउँ जम्दा यातायात अवरुद्ध भएको छ। सडक खुलेपछि हिल्सामा रहेका स्थानीय तथा चीनको ताक्लाकोटमा रहेका नेपालीलाई दसैँ–तिहारमा घर फर्किन सहज हुने अपेक्षा गरिएको छ। नारा लेक समुद्री सतहदेखि ४ हजार ६७० मिटर उचाइमा रहेको छ।

कांग्रेस महाधिवेशनमा कुनै गुट छैन, विवेक प्रयोग गरेर मतदान गर्नुस् – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूचीलाई आधिकारिक नबुझ्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।

उनले कुनै प्यानल वा गुट नरहेको स्पष्ट पार्दै पार्टीको हितलाई ध्यानमा राखेर स्वतन्त्र विवेकका आधारमा मतदान गर्न अनुरोध गरेका छन्। साथै, प्राविधिक कारणले मतदान ढिलो हुँदा परेको असुविधाप्रति क्षमासमेत मागेका छन्।

थापाले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अनुरोध गरेका छन् ।

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ। सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ आजदेखि लागू गरेको छ ।चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन २८ हजार १२६ जनशक्ति परिचालित गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो । सशस्त्रका चार हजार ५०० जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

सशस्त्र प्रहरीले अन्तरराष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती सञ्चालन गरिएको छ भने झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठ तथा अन्य चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, मुख्य राजमार्गमा हुनसक्ने दुर्घटना न्यूनीकरण र शीघ्र उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ ।

ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएका छन् ।

विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य वेश तथा १६ वटा स्थायी विपद् वेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल र मोबाइल तथा लामो दूरीको गस्ती, विस्फोटक पदार्थ निष्क्रिय गर्ने टोली तथा गोताखोरसहितका विपद् उद्धार टिमलाई २४सै घण्टा तैनाथ गरिएको छ ।

सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवश्यक गस्ती तथा समकक्षी सुरक्षा सङ्गठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती गर्ने सशस्त्रको योजना छ ।

संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ, भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सिसिटिभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

ग्यास अभावमा राहत : विद्यार्थीलाई इन्डक्सन चुलो बाँड्दै वैकल्पिक ऊर्जा केन्द्र

काठमाडौं। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको छ। बिहीबार ताहाचलस्थित केन्द्रको परिसरमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिद्धय सुदन मानन्धर र समीर क्षेत्रीले छनोट भएका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरेका हुन्।
सो अवसरमा बोल्दै निर्देशक ढकालले बिद्यार्थीहरुका जिज्ञासा मेटाउँदै ग्याँस भन्दा इन्डक्सन चुलो करिब ३२ देखि ४० प्रतिशतसम्म कम खर्च लाग्ने बताए । निर्देशक ढकालले चुलो प्राप्त गरेका बिद्यार्थीलाई बधाई समेत दिएका थिए ।

ग्यास अभावको समयमा उपत्यका बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत पु¥याउने उद्देश्यले केन्द्रले इन्डक्सन चुलो वितरणका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये २४७ विद्यार्थी छनोट भएका छन्। तीमध्ये बिहीबार ५१ विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरिएको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार बाँकी विद्यार्थीले असोज २३ र २६ गते ताहाचलस्थित कार्यालयमा उपस्थित भएर चुलो लिन सक्नेछन्।

चुलो लिन विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्र, लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुलेको सरकारी निकायको सिफारिस, अध्ययनरत शैक्षिक संस्थाको सिफारिस पत्र, विद्यार्थी परिचयपत्र तथा स्वघोषणा फारामको सक्कल र स्वप्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ। केन्द्रका अनुसार असोज २३ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र असोज २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चुलो वितरण हुनेछ। तोकिएको मितिमा उपस्थित नहुने स्वीकृत नामावलीका विद्यार्थीको आवेदन स्वतः खारेज हुने केन्द्रले जनाएको छ।

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ ।बाढीले अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पहुँचमार्ग बगाएको थियो ।

बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावीयन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक जोडिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

पहुँचमार्ग जोडिएपछि बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायत बाँकी काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य रहेको शर्माले बताए ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ०२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ८१ पैसा बिक्रीदर ४११ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०२ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

दाङ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको छ ।बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको हो ।

त्यस अवसरमा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताउनुभयो । प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ । करिब रु २२ करोड लागतमा उक्त ट्रमा सेन्टर निर्माण हुँदैछ । हाल भौतिक प्रगति ७४ प्रतिशतबराबर पुगेको छ ।

निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरबाट उपचार सेवा सञ्चालन गर्ने विषयमा सङ्घीय सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने भन्दै प्रदेश सरकारले ध्यानाकर्षण गराएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसहित मन्त्रालयका सम्बद्ध अधिकारीको टोलीले ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्नेगरी पहल भइरहेको बताउनुभयो ।यसैबीच मन्त्री मेहताले बिहीबार नै लमही अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो ।

विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

म्याग्दी, २३ असोजः कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ ।चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।

विभिन्न ५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा चुनौती देखिएको थियो ।

इन्धन, एम्बुलेन्स, सडक, विद्युत् र सञ्चार सेवा सञ्चालन गराउन आवश्यक उपकरण र राहत सामग्री ढुवानी गर्ने सवारीसाधनमात्र एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा रहेको सडकमा थप मर्मतकार्य बाँकी रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताउनुभयो ।

“प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेवल मिलाउने, क्रसिङ बनाउन बाँकी छ”, उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”

केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता, खहरेखोला क्षेत्रमा कालीगण्डकीले कटान र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ ।

हालै कालोपत्र सकिएको र पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटर बढी स्थानमा सडक क्षतविक्षत भएको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

“चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको भए पनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “रु ९० करोडबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ ।”

बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहनुभएका सुवेदीका अनुसार योजना सुरु भएयताकै ठूलो क्षति यसपालिको बाढीले गरेको छ । अत्यधिक वर्षाका साथै सहायक सडक भत्किएका, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सृजना हुनु, सहायक नदीमा बाढीको सतह बढ्नुलगायतका कारण कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षति गरेको सुवेदीको भनाइ छ ।

कोरलानाकामा जानेआउने मालवाहक, मुस्ताङको स्याउ र आलु निकासी, पर्यटकीय याम र दसैँतिहारलगायत ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायात साधनको चापले सृजना हुने चुनौतीको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

भन्सार जाँचपास गरेर कोरलानाकाबाट दसैँलाई लक्षित गरेर आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्ने प्रतीक्षामा मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा रोकिएका छन् ।

“अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी गैरेले भन्नुभयो, “सवारीसाधनको जाम हुन नदिनका लागि साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”

अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर, स्याउ, आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था सहज नहुँदासम्मको लागि घुमघामका लागि आउनेलाई केही दिन योजना पछि सार्न प्रजिअ गैरेले अनुरोध गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिससका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रजिअ गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री र सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीसहित जिल्ला तहका सुरक्षा अधिकारीले सडकमा यातायात सञ्चालनको तयारीका लागि अनुगमन गर्नुभएको थियो ।

सरोकारवालाको सुझावअनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन छलफल र कार्ययोजना तयार गरिने प्रजिअ गैरेले जानकारी दिनुभयो ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।
हाल देशका पहाडी र हिमाली भूभाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई ठाँउमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षारहिमपातको सम्भावना छ ।

मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशको हिमाली र पहाडी भूभाग साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोश प्रदेशको तराई भूभागका केही स्थानमा, मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू(भागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

म्याग्दी । नेपाल सरकारले म्याग्दी जिल्लाका छ वटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभामा सदस्य एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जिल्लाका सबै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिएका हुन् ।

“बेनी नगरपालिका तथा अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन”, मन्त्री पुनले भने, “क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र विपद् प्रभावित बस्तीको पुनर्स्थापनाका लागि सरकारले पर्याप्त स्रोतको व्यवस्थापन गर्नेछ ।”

मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दीबाहेक गोरखा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका स्थानीय तह तथा केही वडासमेत गरी २० स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

गोरखाको शहिद लखन गाउँपालिकाका वडा नं ३ र ४, मनाङका चामे गाउँपालिका, नासों गाउँपालिका तथा मनाङ ङिस्याङ गाउँपालिकाका वडा नं १ र ४ विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन् ।

त्यसैगरी बागलुङका निसीखोला गाउँपालिकाका वडा नं ४ र ६, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिकाका वडा नं २ र ४ तथा ताराखोला गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिकाका वडा नं २, ३, ७, ८, १० र ११, बिहादी गाउँपालिका वडा नं ६, महाशिला गाउँपालिकाका वडा नं ५ र ६ तथा मोदी गाउँपालिकाका वडा नं २ र ३ विपद् सङ्कटग्रस्त क्षेत्रमा परेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को सुस्ता गाउँपालिका वडा नं ५ पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषित भएको छ । सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विभिन्न भूभागमा भएको भारी तथा अतिभारी वर्षाका कारण सिर्जित बाढी तथा पहिरोबाट अति प्रभावित क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

ऐनअनुसार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सीमा र अवधि तोकेर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता हुनुका साथै सडक, निजी आवास, सिँचाइ, नदी नियन्त्रण, खानेपानी, विद्युत्, जलविद्युत्, सञ्चार, पदमार्गलगायत भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो क्षति पुगेको छ ।

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनः स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी आधार तयार भएको र थप सहज हुने म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ । चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे । आर्थिक गतिविधि बढ्थ्यो । रोजगारी विस्तार भएको थियो । यस वर्ष पनि त्यस्तै अपेक्षामा रहेका व्यवसायी भने निरास र खिन्न छन् । मुख्य सडक सम्पर्कविच्छेद हुँदा पर्यटन र व्यापार व्यवसाय प्रभावित भएको छ ।

दसैँको समयमा कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकले बागलुङका होटल भरिभराउ हुने गरे पनि यस वर्ष बजार तथा होटलमा अपेक्षित चहलपहल देखिएको छैन । बागलुङ प्रवेश गर्ने मुख्य नाका मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि १२ दिनदेखि सिधा यातायात ठप्प भएको छ । त्यसको प्रत्यक्ष असर पर्यटन, व्यापार र सर्वसाधारणको जीवनमा पर्न गएको छ ।

यही असोज ११ गतेको कालीगण्डकीको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्कविच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रभाव बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

पर्यटकीय गन्तव्यमा जाने पर्यटकका लागि बागलुङ प्रवेशद्वारका रूपमा रहेको छ । होटल व्यवसायी एन्जील शाक्यले दसैँको मुखमा होटलमा पर्यटकको चाप बढ्नुपर्ने भए पनि सुनसान रहेको बताए । “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् ? मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो”, उनले भने, “पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् । मुस्ताङ जाने सडक र मालढुङ्गा पुल नखुल्दासम्म होटल व्यवसायमा ठूलो नोक्सानी हुने देखिन्छ ।”

भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडी क्षेत्र हुँदै गएको मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गा भएकाले यहाँको सडक अवरोधले बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनमा असर पारेको छ ।

वैकल्पिक मार्गले बढायो ढुवानी खर्च

मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीको भनाइ छ । यसको प्रत्यक्ष प्रभाव दैनिक उपभोग्य वस्तुको मूल्यमा पर्न थालेको छ ।

ग्यास ढुवानीमा वैकल्पिक मार्ग प्रयोग गर्दा प्रतिसिलिन्डर रु १५० देखि रु १७० सम्म अतिरिक्त ढुवानी खर्च लाग्न थालेको ग्यास विक्रेता हरि आचार्यले बताए। ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्य रु १०० ले बढाउनुपरेको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा समयमै आपूर्ति हुन नसकेपछि बागलुङमा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुनसकेको छैन ।

मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा असर परेको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानैपर्ने सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

दसैँअघि पुल सञ्चालनको तयारी

सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ । पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक बाढीले क्षति पुर्याएपछि मर्मत तथा पुनःस्थापनाको काम भइरहेको छ ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।

कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कविच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वीरुकुम र रोल्पातर्फ जाने यातायात प्रभावित भएको छ । पुल सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ ।

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ७ बजेदेखि मतदान हुँदैछ। मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदानका लागि निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। निर्वाचन समितिका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।

मतदानका लागि राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरमा व्यवस्था मिलाइएको छ। प्रतिनिधिहरूको प्रदेश, समूह तथा संस्थाअनुसार छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ। राष्ट्रिय सभा गृह र खुलामञ्च परिसरका विभिन्न हलमा मतदानको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानमा प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न मताधिकार प्रयोग गर्नेछन्। निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ।

यसअघि असोज २२ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो। निर्वाचन समितिले रातिको समयमा मतदान गराउनुभन्दा बिहान मतदान सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित नयाँ समयतालिका सार्वजनिक गरेको थियो।

मतदान सकिएपछि मतगणना सुरु गरिनेछ। सबै पदको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक हुनेछ। यद्यपि मतपरिणाम सार्वजनिक हुने निश्चित समय भने तोकिएको छैन।

विशेष महाधिवेशनप्रति प्रकाशमानको आपत्ति, भने– ‘विधान र प्रक्रिया पूरा भएको छैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान र प्रक्रिया मिचेर गरिने गतिविधिले कांग्रेस कमजोर हुने बताएका छन्।

बिहीबार काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै सिंहले पार्टीभित्रको विवाद विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्ने बताए। उनले विशेष महाधिवेशनको प्रक्रिया विधानअनुसार पूरा नभएको दाबी गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने बताए।

‘यो पार्टीले चाहिँ के हो भन्दाखेरि पार्टीभित्रै विधिको शासन त हुनुपर्यो नि त। त्यो कारणले गर्दाखेरि अहिले जुन नेपाली कांग्रेसमा यो चाहिँ भनौं न पार्टीभित्र एउटा चाहिँ जुन अप्रजातान्त्रिक तवरले, अलोकतान्त्रिक तवरले पार्टीको विधान, नियम मिचेर जुन जबर्जस्त गरेर र चाहिँ यो चाहिँ के छ भन्दाखेरि देशी–विदेशी तत्त्वहरूको सहयोगमा कांग्रेस पार्टीलाई चाहिँ कमजोर पार्नको लागि किन कमजोर गर्नु पर्यो त भन्दाखेरि नेपाली कांग्रेस पार्टीले सबभन्दा बढी जोड के मा दिन्छ भन्दाखेरि नेपालको यो चाहिँ जुन हाम्रो चाहिँ देश छ, राष्ट्र छ, राष्ट्रियतामा हाम्रो चाहिँ बढी जोड छ,’ उनले भने।

विशेष महाधिवेशनको विषयमा बोल्दै सिंहले पार्टीको विधानअनुसार प्रक्रिया पूरा नभएको दाबी गरे।

बाढीपहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध, दुई सातादेखि यातायात प्रभावित

गण्डकी। बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध हुँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा दुई सातादेखि सवारी आवागमन प्रभावित बनेको छ ।

कालीगण्डकी नदीमा आएको बाढीले लोकमार्गको पर्वत-बागलुङ जोड्ने मालढुङ्गा पुल र करिडोरअन्तर्गत म्याग्दी खण्डको पोखरेबगर पुलमा क्षति पुर्‍याएपछि दुवै सडकमार्गमा सिधा यातायात सेवा बन्द छ ।

चाडबाड नजिकिँदै गरेको अवस्थामा मुख्य सडकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । महँगो भाडा तिरेर घुमाउरो वैकल्पिक सडकबाट यात्रा गर्नुपर्ने बाध्यता छ ।

सडक सञ्जाल टुट्दा मुख्य याममै पर्यटकीय गतिविधि पनि न्यून देखिएका छन् । ढुवानी प्रभावित हुँदा बजारमा मालसामानको भाउ बढेको छ । मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने मुख्य सडकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अफ्टेरोमा परेका स्थानीय बताउँछन् ।

पर्वतको कुश्मा नगरपालिका-१ बाट बागलुङ सदरमुकाम जोड्ने मालढुङ्गा पुलको पहुँच मार्ग बाढीले बगाउँदा बागलुङबाट पश्चिम डोल्पासम्मको यातायात सेवा प्रभावित बनेको धवलागिरि-गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

मालढुङ्गाको पुल भत्केपछि लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाबाट बागलुङ हुँदै काठमाडौँसम्मको बस सेवा ठप्प भएको उहाँको भनाइ छ ।

पछिल्लो समय काठमाडौँबाट पोखरा, बागलुङ, रुकुमपूर्व, रुकुमपश्चिम हुँदै डोल्पासम्मका बस मध्यपहाडी लोकमार्ग भएर गुड्ने गरेका थिए । “बागलुङबाट काठमाडौँ, पोखरालगायत लामो दूरीमा चल्ने बस अहिले छुटाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “वैकल्पिक सडक प्रयोग गरेर माइक्रो र जीप मात्र सञ्चालन भइरहेका छन् ।”

साना सवारीसाधन पर्वतको दोबिल्लाबाट फलेवास, जैमिनीघाट हुँदै कालीगण्डकी करिडोर भएर बागलुङ भित्रने गरेको उहाँको भनाइ छ । केही सवारीसाधन मालढुङ्गादेखि म्याग्दीको बेनी बजार, रत्नेचौर हुँदै यात्रु लिएर बागलुङ पुग्ने गरेका छन् । मालढुङ्गा नजिक रहेको खनियाघाटको झोलुङ्गे पुलबाट पनि सर्वसाधारण आउजाउ गरिरहेका छन् । साना सवारीसाधनबाट खनियाघाट पुगेका यात्रु झोलुङ्गे पुल तरेपछि अर्को सवारीसाधनमा बागलुङ बजारसम्म पुग्ने गरेका छन् ।

“अब पनि मालढुङ्गाको पुल सञ्चालनमा ल्याउन नसक्ने हो भने यातायात व्यवसाय सङ्कटमा पर्ने देखिन्छ”, अध्यक्ष केसीले भन्नुभयो, “यात्रुको चाप हुने बेलामा सवारीसाधन थन्काएर राख्नुपर्नेको छ । चाडबाडको बेला यात्रुलाई पनि सास्ती भएको छ ।” चाडबाडका बेला विदेश र स्वदेशका ठूला सहरबाट गाउँ फर्कने यात्रुलाई समस्या भइरहेको उहाँले बताउनुभयो ।

सडक डिभिजन कार्यालय, पोखराका प्रमुख कृष्णराज अधिकारीले अबको चार/पाँच दिनभित्रमा मालढुङ्गाको पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो । ‘ग्याबिन’ र ‘जियोब्याग’ प्रविधिबाट पुलमा मर्मतकार्य भइरहेको उहाँको भनाइ छ । “उच्च प्राथमिकताका साथ पुल मर्मतको काम भइरहेको छ, दसैँअगावै पुल सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “नदी किनार र साँघुरो ठाउँ भएकाले काममा पनि केही कठिनाई छ, तर रातदिन नभनी हामी कार्यस्थलमा खटिएका छौँ ।”

कालीगण्डकीको बाढीले मालढुङ्गासँगै कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकको पोखरेबगर पुलमा पनि क्षति पुर्‍याउँदा सिङ्गो मुस्ताङ जिल्ला सडक सम्पर्कबाट विच्छेद भएको छ । बाढीले उक्त पुलको पहुँच सडक कटान गरेपछि अहिले मर्मतकार्य चलिरहेको छ । आगामी सोमबारसम्म पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । उक्त सडक अवरुद्ध हुँदा काठमाडौँ, पोखरादेखि मुस्ताङसम्मको यातायात सेवा ठप्प भएको छ ।

नेपाल-चीन कोरला नाकासँग जोडिएको उक्त सडक बन्द हुँदा सीमापार व्यापार पनि प्रभावित भएको छ । चीनबाट नेपाल भित्रिएका सयौँ कन्टेनर अहिले मुस्ताङमै रोकिएका छन् । चाडबाडलाई लक्ष्य गरी चीनबाट कोरला नाका हुँदै नेपाल आयत गरिएका मालसामान बाटोमै रोकिँदा व्यवसायी पनि मर्कामा परेका छन् । मुस्ताङमा उत्पादित स्याउ पनि बजार पठाउन समस्या भइरहेको छ । मुस्ताङमा दैनिक उपभोग्य सामानको अभाव देखिन थालेको छ ।

मुस्ताङ जोड्ने मुख्य सडकमार्ग अवरुद्ध बनेपछि पोखरा-जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताउनुभयो । उडान सङ्ख्या कम भएका कारण यात्रुको चाप थेग्न मुस्किल भइरहेको जोमसोम विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताउनुभयो । उहाँका अनुसार तारा र समिट एयरको ट्विनअटर जहाजले पोखरा-जोमसोम उडान गर्दै आएका छन् ।

“दुवै जहाजले दैनिक पाँच/पाँच वटा उडान गर्दै आएकामा अहिले दैनिक सात/सात वटासम्म उडान गरेका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङ जोड्ने सडकमार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढेको हो ।” सडकमार्ग बन्द हुँदा हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको सङ्ख्या पनि बढीरहेको विमानस्थल प्रमुख शर्माले बताउनुभयो ।

सोह्र श्राद्धका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दूमार्गीहरु पनि उल्लेख्य रुपमा त्यहाँ पुग्ने गर्छन् । मुख्य पर्यटकीय याममै सडक अवरुद्ध हुँदा गण्डकी प्रदेशको पर्यटन क्षेत्र पनि प्रभावित भएको छ । मुस्ताङ, मनाङ, म्याग्दी, बागलुङलगायत क्षेत्रमा पर्यटकीय गतिविधि न्यून देखिएका छन् ।

यही असोज ८ देखि ११ गतेसम्मको भारी वर्षात्पछि कालीगण्डकी नदीमा आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर ठाउँठाउँमा अवरुद्ध भएको थियो । कपितय ठाउँमा सडक मर्मत गरेर आवागमन सहज बनाइएपनि ठूलो क्षति पुगेका ठाउँमा अझै यातायात सञ्चालनमा आउन सकेको छैन ।

स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा आयोग, प्रमुख आयुक्त कार्कीले भने– ‘हामी तयारीमै छौँ’

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्।

बुधबार एक कार्यक्रममा उनले भने, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ।”

स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचार पनि आएको छ नी भन्ने प्रश्नमा उनको भनाइ थियो, “मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरुप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ ।”

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनको भनाइ थियो।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो भन्ने प्रश्नमा उनको भनाइ थियो, “हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो । त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ । त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन । सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।”

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ। नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक प्राप्त गरेको छ ।

बेलायतको वेल्सस्थित ब्रेकनमा यही असोज २१ देखि २२ सम्म सञ्चालन भएको सो प्रतियोगितामा नेपाली सेनाको टोलीले स्वर्ण पदक हासिल गरेको छ ।

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३५ राष्ट्रका १३० टोलीले सहभागिता जनाएका थिए । सन् १९६० देखि प्रत्येक बर्ष आयोजना हुँदै आएको यो अभ्यासमा नेपाली सेना सन् २०१४ देखि नै सहभागी भइरहेको छ ।

यस प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । त्यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते र बिरामीको व्यवस्थापनलगायत विविध सैनिक कलाहरूको परीक्षण पनि गरिन्छ ।

यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक हात पारिसकेको छ ।

जापानी प्रधानमन्त्रीलाई चीनले सम्मानजनक भाषा प्रयोग नगरेपछि आपत्ति

काठमाडाैँ। जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र सम्बोधन गरेपछि टोकियोले बेइजिङसमक्ष आफ्नो असन्तुष्टि जनाएको जापानी विदेश मन्त्रालयले बताएको छ।

जापानी विदेश मन्त्रालयका प्रवक्ता तोशिहिरो किटामुराले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार अर्को देशका नेतालाई सम्मानजनक रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताए। “हाम्रो स्थितिमा मतभेद भए पनि अर्को देशका नेतालाई उचित सम्मान देखाउनु स्वाभाविक हो”, उनले भने।

चीनले आफ्नो भूभाग दाबी गर्दै आएको ताइवानको विषयमा जापानका प्रधानमन्त्री ताकाइचीले सन् २०२५ मा दिनुभएको अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा केही असहजता देखिएको छ।

यसैबिच सम्बन्ध सुधार्ने प्रयासस्वरूप जापानी सांसदहरूले पछिल्ला केही सातामा चीनको भ्रमण गरेका छन्। प्रधानमन्त्री ताकाइचीले हालै चीनलाई ‘महत्त्वपूर्ण छिमेकी’ बताउँदै दुई देशबिच स्थिर सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महामन्त्रीका उम्मेदवार सुनिल शर्मा भन्छन्– ‘नयाँ मार्गचित्रसहित कांग्रेसलाई रुपान्तरण गर्छु’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले पार्टीलाई नयाँ मार्गचित्रसहित अघि बढाउने प्रतिबद्धता जनाएका छन्। उनले महाधिवेशनमा छुटेका नेता–कार्यकर्तालाई समेट्दै कांग्रेस रुपान्तरण गर्ने बताए।

शर्माले आफू संघर्षबाट अघि बढेको र कांग्रेसको इतिहासमा पहिलोपटक सुकुमवासी परिवारबाट महामन्त्री बन्ने दाबी गरे। उनले नागरिकले उपचारका लागि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य गर्ने तथा देशभरका गरिब र विपन्न नागरिकसँग प्रत्यक्ष जोडिने योजना पनि सुनाए।

मोरङ–३ बाट २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित शर्मा चिकित्सक तथा समाजसेवीका रूपमा परिचित छन्। कांग्रेसको १५औँ महाधिवेशनमा उनी महामन्त्री पदका लागि प्रतिस्पर्धामा छन्।

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा प्रतिस्पर्धी क्षमता विकासमा जोड दिनुपर्ने बताएका छन्।

युरोपियन इकोनोमिक चेम्बर नेपालले बिहीबार आयोजना गरेको ‘युरोपेली युनियन र भारतबीचको स्वतन्त्र व्यापार सम्झौताले नेपालको प्रमुख आर्थिक क्षेत्रमा पार्ने प्रभाव’ विषयक छलफल कार्यक्रममा उहाँले नेपालले आफ्नो निर्यात गर्ने क्षमतामा सुधार गर्नुपर्ने बताए।

“नेपालले भारतको युरोप लक्षित व्यापार शृङ्खलासँग प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्दै प्राकृतिक रेसा, धागो, कृषि प्रशोधन, प्याकेजिङ, जलविद्युत्, व्यावसायिक सेवा तथा अन्य सामग्रीमार्फत क्षेत्रीय आपूर्ति शृङ्खलामा सहभागी हुने गरी अघि बढन जरुरी छ”, उनले भने, “दुई मुलुकबिच भएको सम्झौताबाट नेपालले कसरी लाभ लिने भन्नेतर्फबाट अघि बढ्न आवश्यक छ।”

मन्त्री साहले पश्मिना, गलैँचा, फेल्ट, अर्थोडक्स चिया, कफी, मसला, प्राकृतिक उत्पादन तथा डिजिटल सेवामा नेपालको सम्भावना रहेको उल्लेख गर्दै गुणस्तर, पहिचान र मौलिकताका आधारमा अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा पूर्वअर्थमन्त्री रामेश्वर खनालले नेपालले विदेशी लगानी भित्र्याउनका लागि पनि आवश्यक पर्ने लगानीमैत्री वातावरण बनाउनेतर्फ पनि अग्रसर हुनुपर्ने बताउनुभयो । नेपालले विदेशी मुलुकमा निर्यात गर्ने समानको लागत घटाउँदै प्रतिस्पर्धात्मक गर्ने क्षमतामा सुधार ल्याउनुपर्ने उनले उल्लेख गरे।

नेपालका लागि युरोपेली युरोपेली युनियनका राजदूत चाल्र्स ह्वाइटलीले युरोपेली युनियन र भारतबिचको स्वतन्त्र व्यापार सम्झौताबाट विभिन्न लाभ लिन सक्ने बताए। उनले नेपालले गुणस्तरीय र प्रतिस्पर्धात्मक वस्तु निर्यातमा जोड दिए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्माले नेपालले विदेशी मुलुकमा स्वच्छ ऊर्जा, कृषि उत्पादन, तयारी पोसाकलगायत वस्तु निर्यात गर्ने सम्भावना भएकाले पनि व्यवस्थित ढङ्गले निर्यात गर्नका लागि नीतिगत सुधार गर्नेतर्फ अघि बढ्नका लागि सुझाव दिए। युरोपियन इकोनोमिक चेम्बर नेपालका अध्यक्ष नारायण बजाजले सो सम्झौताबाट नेपालले निर्यात गर्ने वस्तुको मौलिकतालाई जोगाउँदै अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताए।

मलेसियाको जोहोरमा वायु प्रदूषणले विद्यालय बन्द

काठमाडाैँ। मलेसियाको जोहोर राज्यमा वायु प्रदूषण बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ। पछिल्ला दिनमा राज्यका विभिन्न क्षेत्रमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि सावधानीस्वरूप विद्यालय बन्द गरिएको बताए।विद्या

लय बन्द हुँदा जोहोर राज्यका सबै एक हजार १९८ विद्यालय प्रभावित भएका छन्। यसबाट छ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ।

जोहोरमा पछिल्ला दिनमा वायु प्रदूषण सूचकाङ्क (एपीआई) को स्तर उच्च देखिएको छ। बिहीबार बिहान १० बजे सेगमट क्षेत्रमा एपीआई १८७ पुगेको थियो। यो अस्वास्थ्यकर वायु गुणस्तरको स्तर हो।

राजधानी क्वालालम्पुरसहित मलेसियाका ३८ क्षेत्रमा पनि अस्वास्थ्यकर एपीआई स्तर रेकर्ड गरिएको छ। बढ्दो धुवाँ र प्रदूषणका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन्।