`

नागार्जुनमा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु, साउन ४ गतेसम्म चल्ने

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. ५ हरिसिद्धि, सितापाइलामा ‘कृषि सांस्कृतिक तथा व्यापार महोत्सव’ भव्य रूपमा सुरु भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित उक्त महोत्सवको शुक्रबार एक विशेष समारोहका बिच उद्घाटन गरिएको हो। महोत्सवको उद्घाटन नागार्जुन नगरपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष महेश रिमालले गरे ।

उद्घाटन मन्तव्य राख्दै रिमालले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, आन्तरिक व्यापारको विस्तार र लोक संस्कृतिको जगेर्ना गर्न यस्ता महोत्सवहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उद्घाटन कार्यक्रम राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष नमराज ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो।

साउन ४ गतेसम्म चल्ने महोत्सवका मुख्य आकर्षणको रुपमा महोत्सव स्थलमा विभिन्न रैथाने तथा आधुनिक कृषि उत्पादन, औद्योगिक सामग्री, विविध स्वादका खानेकुरा (फूड स्टल) का साथै बालबालिका र युवाहरूका लागि पिङ तथा विभिन्न मनोरन्जनात्मक खेलका स्टलहरू राखिएका छन्।

महोत्सवको अवधिभर नेपालका ख्यातीप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा रचना रिमाल, समिक्षा अधिकारी, एलिना चौहान, पशुपति शर्मा, नवराज घोरासिनी, भोजराज काफ्ले, सरोज लामिछाने, भिमसेन खतिवडा, सृजना खत्री (हाउडेमाया), सहिमा श्रेष्ठ र विन्दु परियार लगायतका लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन गराउने छन्।

स्थानीय व्यापार व्यवसायलाई चलायमान बनाउन र सर्वसाधारणलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्न आयोजित यो महोत्सव आगामी साउन ४ गतेसम्म निरन्तर चल्नेछ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४० पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १२ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८० पैसा र बिक्रीदर १५ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २७ पैसा र बिक्रीदर २३ रुपैयाँ ३६ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ३५ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ९४ पैसा रहेको छ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।

देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

‘रोनाल्डो आएमा स्वागत गरिने’ पुर्चुगलका नयाँ प्रशिक्षकको भनाइ

ओइरास। पोर्चुगलले शुक्रबार जर्ज जेससलाई आफ्नो नयाँ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिले प्रतिक्रिया दिँदै उहाँले पोर्चुगलका ‘सुपरस्टार’ क्रिस्टियानो रोनाल्डोलाई उपलब्ध भएमा टोलीमा बोलाउने बताउनुभएको छ । उहाँले आफूका लागि रोनाल्डो कहिल्यै समस्या नहुने बताउनुभएको छ।पूर्व प्रशिक्षक रोबेर्टो मार्टिनेजको नेतृत्वमा यस ग्रीष्ममा भएको विश्वकपका क्रममा ४१ वर्षीय स्ट्राइकरको प्रदर्शनको आलोचना भएको थियो । पोर्चुगल स्पेनसँग अन्तिम १६ मा पराजित भएर बाहिरिएको थियो ।

रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप रहेको बताइसक्नुभएको छ । उहाँले अझै राष्ट्रिय टोलीबाट खेल्ने या नखेल्ने निर्णय गर्नुभएको छैन ।“केही सीमाभित्र र राष्ट्रिय टोलीका लागि मलाई उत्तम लाग्ने अवस्थामा उहाँ खेलिरहने अवस्थामा भएमा म उहाँ र अन्य खेलाडीहरूलाई पनि टोलीमा समावेश गर्नेछु,” जेससले शुक्रबार पत्रकारसँगको साक्षात्कारका क्रममा भन्नुभयो ।

अनुभवी प्रशिक्षक मानिने ७१ वर्षीय जेससले अझै रोनाल्डोसँग कुरा नभएको तर उनीहरूले पूर्व म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका स्टारको खेल जीवनको भविष्यबारे छलफल गर्ने बताउनुभयो ।

“मैले अझै ‘क्रिस’सँग कुरा गरेको छैन । ‘क्रिस’ राष्ट्रिय टोली र मेरा लागि समस्या हुनुहुने छैन,” जेससले भन्नुभयो ।उहाँले भन्नुभयो, “क्रिस पोर्चुगाली फुटबलको प्रतीक हुनुहुन्छ । उहाँ राष्ट्रिय टोलीको प्रतीक हुनुहुन्छ र इतिहासमा सदाका लागि रहनुहुनेछ ।”

“मलाई विगतमा उहाँसँग काम गर्न ठूलो खुशी मिलेको थियो । उहाँसँग काम गर्न सजिलो छ”, जेससले भन्नुभयो, “हामी दुईबीच उहाँले भविष्यमा के गर्न चाहनुहुन्छ भन्नेबारे कुराकानी हुनेछ।”जेससले पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोसँग अल–नासरमा काम गर्नुभएको थियो भने मे महिनामा ‘साउदी प्रो लिग’को उपाधि जिताएर क्लबबाट बिदा हुनुभएको थियो ।

“मैले उहाँसँग एक वर्ष बिताएको छु। मलाई थाहा छ, रोनाल्डो अल–नासरमा नै खेलिरहन चाहनुहुन्छ,” नवनियुक्त पोर्चुगाली मुख्य प्रशिक्षक जेससले थप्नुभयो ।

“उहाँ सधैं मलाई भन्नुहुन्थ्यो, म आफ्नो करियर अल–नासरमा नै समाप्त गर्नेछु,” जेससले अगाडि भन्नुुभयो ।सन् २०३० को विश्वकपको आयोजना पोर्चुगल, स्पेन र मोरक्कोले संयुक्त रूपमा गर्दैछन् र सामान्य अवस्थामा जेससले त्यतिबेलासम्म पोर्चुगलको नेतृत्व गर्नुहुनेछ ।

स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ, २७ असारः बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चाल्र्स डे केटलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्याए ।

त्यसपछि खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए । स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

नवलपरासी । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो ।

गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौँ यात्रुले घण्टौँ सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्र भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् ।

यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौँ लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गरे । “गत वर्ष पानी पर्ने बित्तिकै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्र भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ”, उनले भने ।

दाउन्ने क्षेत्रमा सहजरुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । “दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ”, उनले भने ।

गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । “गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक–पटक लामो जाम व्यवस्थापन गर्नुपर्थ्यो । अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज छ । सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन”, उनले भने, “प्रहरी र आयोजनाबिचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ ।”

नारायणघाट–बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्र र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताए । “अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२।३८ प्रतिशत पुगेको छ”, उनले भने, “अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन् । विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ ।”

पूर्व–पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट–बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौँ सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन ।

गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित

पाँचथर । पाँचथरमा उत्पादित गोलभेँडाले उचित मूल्य नपाउँदा किसान समस्यामा परेका छन्। उत्पादन लागत बढ्दै गए पनि गोलभेँडा प्रतिकिलो १५–१७ रुपैयाँमै बिक्री हुन थालेपछि किसान घाटा बेहोर्न बाध्य भएका हुन्।

किसानका अनुसार प्रतिकिलो ३० रुपैयाँभन्दा कम मूल्यमा बिक्री गर्दा लागतसमेत उठ्दैन। तर झापा, मोरङ र सुनसरीका बजारमा बाहिरबाट गोलभेँडा बढी मात्रामा भित्रिँदा स्थानीय उत्पादनको मूल्य घटेको व्यवसायीहरू बताउँछन्।

पाँचथरको फिदिम नगरपालिका तथा हिलिहाङ र याङवरक गाउँपालिकामा व्यावसायिक रूपमा गोलभेँडा खेती हुँदै आएको छ। पहिलो सिजनको उत्पादनले मूल्य नपाए पनि आगामी सिजनमा बजार मूल्य सुध्रिने आशामा किसान छन्।

गण्डकीमा गाँजाखेती र घरेलु मदिरा वैध हुने भएसँगै कानुन कार्यान्वयनको पर्खाइ

कास्की । घरेलु मदिरासम्बन्धी ऐन बनेको झण्डै एक वर्षपछि गण्डकी प्रदेशसभाबाट गाँजाखेतीलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक बिहीबार पारित भएको छ । यससँगै गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने कानुनी बाटो खुलेको छ । घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गत वर्ष साउनमा प्रदेशसभाबाट पारित भएको थियो भने सोसम्बन्धी नियमावली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वीकृतिको प्रक्रियामा छ ।

यी दुवै विधेयक लामो समयदेखि बहसमा थिए । प्रदेश सरकारले महत्वका साथ घोषणा गरेका तर संशयका साथ हेरिएका गाँजाखेती र घरेलु मदिराले अन्ततः गण्डकी प्रदेशमा कानुनी मान्यता पाएका छन् । कानुन बने पनि तिनको कार्यान्वयन कसरी हुन्छ भन्ने विषय जनचासोको केन्द्रमा छ ।

प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टीकाराम पौडेलले घरेलु मदिरासम्बन्धी ऐनको नियमावली मन्त्रिपरिषद्मा पुगेको बताए । “मन्त्रिपरिषद्को आगामी बैठकबाट नियमावली स्वीकृत हुन्छ, त्यसपछि कानुन कार्यान्वयनका लागि थप सहज अवस्था बन्छ,” उनले भने, “ऐनले परिकल्पना गरेका प्रावधान र केही संरचनागत व्यवस्था गर्नुपर्ने छ । नियमनको पाटोलाई ऐनले बढी जोड दिएको छ ।”

गाँजाखेतीसम्बन्धी विधेयकको नियमावली निर्माण यथाशीघ्र सुरु हुने उपसचिव पौडेलले बताए । दुवै विधेयक उद्योग तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित छन् । प्रदेश सरकारले विगत केही वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत गाँजाखेती र घरेलु मदिरालाई कानुनी मान्यता दिने घोषणा गर्दै आएको थियो ।

प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ऐन बनेकाले अब नियमावली र कार्यविधि बनाएर यससम्बन्धी कानुन कार्यान्वयनलाई अगाडि बढाइने बताए । “गाँजाखेती र घरेलु मदिरालाई ब्रान्डिङ र बजारीकरण गर्न सकियो भने प्रदेश सरकारले ठूलो राजस्व प्राप्त गर्छ । सँगसँगै प्रदेशभित्र आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ,” उनले भने ।

मन्त्री शेरचनले सङ्घीय कानुनसँग बाझिने अवस्था भएमा सङ्घ सरकारले नै यससम्बन्धी कानुन बनाएर सहजीकरण गर्नुपर्ने बताए । सम्बन्धित क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षबीच पटकपटक छलफल तथा परामर्श गरी कानुन निर्माण गरिएको उनले उल्लेख गरे । सेवनका लागि नभई गाँजाको औद्योगिक र औषधिजन्य उत्पादनलाई मात्र वैधता दिने गरी प्रदेश सरकारले कानुन ल्याएको उनले जानकारी दिए ।

लागुऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी कानुन निर्माण गरिएको प्रदेश सरकारको दाबी छ । गाँजाखेतीसम्बन्धी विधेयकमा कडा प्रावधान राखिएको जनाइएको छ । प्रदेश सरकारबाट इजाजत लिएर मात्र गाँजाखेती गर्न पाइने व्यवस्था गरिएको छ । प्रतिव्यक्ति निवेदन दस्तुर रु पाँच हजारदेखि खरिद–बिक्री तथा आयात–निर्यातका लागि रु एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ ।

अनुमतिविना गाँजाखेती, ओसारपसार र बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेल, मलजस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि छुट्टै संयन्त्र निर्माण हुनेछ । विधेयकमा सरकारले तोकेको क्षेत्रमा गाँजाखेती गर्न पाइने प्रावधान छ । गाँजाको बोटमा पाइने नशालु पदार्थ ‘टीएचसी’को मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था गरिएको छ ।

गाँजाखेती गर्न चाहने व्यक्ति वा संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको मन्त्री शेरचनले जानकारी दिए । उनका अनुसार गाँजाको बोट कटान र बिक्री गर्नुअघि त्यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था विधेयकमा छ ।

प्रदेश सरकारले गत कात्तिकमा यो विधेयक प्रदेशसभामा दर्ता गराएको थियो । अर्थ तथा विकास समितिमा यो विधेयकमाथि ११ वटा बैठकमा छलफल भएको थियो । गाँजाको व्यावसायिक खेती गर्न सरकारसँग पूर्वसहमति, तयारी उत्पादन किन्ने उद्योगको सहमतिसहित अनुगमनका कडा प्रावधान राखिएका छन् ।

अनुमति नलिई गाँजाखेती गरेमा, नियमविपरीत बिक्री–वितरण गरेमा, अनुमतिपत्रमा भएको जग्गा र क्षेत्रफलभन्दा फरक स्थानमा खेती गरेमा लागुऔषधसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवस्था विधेयकमा छ । खेतीको अभिलेख नराखेमा, सिलबन्दी नगरी ओसारपसार गरेमा तथा ऐनले तोकेकोभन्दा फरक काम गरेमा रु ५० हजारदेखि रु पाँच लाखसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

लुकीछिपी उत्पादन र बिक्री–वितरण भइरहेको घरेलु मदिरालाई पनि नियमन तथा व्यवस्थापन गर्न कानुन निर्माण गरिएको प्रदेश सरकारले जनाएको छ । घरेलु मदिराको ब्रान्डिङ र बजारीकरणका लागि कानुनी प्रबन्ध गरिएको हो । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिराको व्यावसायिक उत्पादन खुला गर्न लागिएको हो । परम्परागत रूपमा घरघरमा बनाइँदै आएको मदिरालाई एकैपटक वैध घोषणा गर्दा गुणस्तर सुनिश्चितताको समस्या आउन सक्ने भएकाले व्यावसायिक उत्पादनलाई मात्र कानुनी दायरामा ल्याउन लागिएको उद्योग तथा पर्यटन मन्त्रालयले जनाएको छ । वैज्ञानिक विधिबाट गुणस्तरीय घरेलु मदिरा उत्पादन र बजारीकरण गर्न सके राज्यलाई ठूलो आर्थिक लाभ मिल्ने विश्वास गरिएको छ ।

केही वर्षअघि गण्डकी विश्वविद्यालयले गरेको घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चाको गुणस्तर निर्धारणसम्बन्धी अनुसन्धान सफल भएको थियो । प्रदेशका ११ वटै जिल्लाबाट रक्सी बनाउने विधिको अध्ययनसहित मर्चा सङ्कलन गरेर रासायनिक विश्लेषण गरिएको थियो । मर्चाको मापदण्ड र गुणस्तर कायम गरेर घरेलु मदिरालाई सुरक्षित बनाउन सकिने आधार अनुसन्धानबाट देखिएपछि प्रदेश सरकारले घरेलु मदिरासम्बन्धी कानुन निर्माण प्रक्रिया अगाडि बढाएको थियो । ऐनमा घरेलु मदिरा उत्पादनका लागि प्रदेश सरकारबाट इजाजतपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

व्यक्ति, फार्म वा कम्पनीले उद्योग दर्ता नगराई घरेलु मदिराको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, लेबलिङ तथा बिक्री–वितरण गर्न नपाइने व्यवस्था गरिएको मन्त्री शेरचनले उल्लेख गरे । उनका अनुसार धर्म, परम्परा, घरायसी प्रयोजन तथा निजी उपयोगका लागि वार्षिक ५० लिटरसम्म घरेलु मदिरा उत्पादन गर्न इजाजतपत्र लिनु नपर्ने व्यवस्था ऐनमा छ । उद्योग दर्ता गराउन स्थानीय तहको सहमति, स्थान, आवश्यक पर्ने भाँडा, उपकरण तथा अन्न एवं फलफूलजस्ता कच्चापदार्थको आपूर्ति हुने क्षेत्र उल्लेख गर्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।

घरेलु मदिरालाई गण्डकी प्रदेशभित्रका कृषि सहकारीले दर्ता गर्न सक्नेछन् । मदिरामा अन्य कुनै मिसावट गर्न नपाइने स्पष्ट व्यवस्था विधेयकले गरेको छ । कोदो, फापर, उवा, जौ, गहुँ, मकै, स्याउ, सुन्तला, खुर्पानी, मौवा, अम्बा, लिची, ऐसेलु, चुत्रो, डिम्बरलगायत अन्न र फलफूलबाट मदिरा बनाउन सक्ने व्यवस्था गरिएको मन्त्री शेरचनले जानकारी दिए ।

जनजाति समुदायमा सामाजिक संस्कारमा प्रयोग हुँदै आएको घरेलु मदिरालाई कानुनी दायरामा ल्याएर प्रदेश सरकारले संस्कृति र परम्पराको समेत सम्मान गरेको प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले बताए । दुवै ऐन कार्यान्वयनमा ल्याई गाँजाखेती र घरेलु मदिरालाई व्यावसायिक बनाउन सकिएमा आर्थिक रूपमा प्रदेश सरकार र नागरिक दुवैलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।

पुनः प्रयोग गर्न मिल्ने चिनियाँ रकेट सफलतापूर्वक अवतरण

चीनले पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण भएको जनाएको छ। यसलाई अन्तरिक्ष प्रविधिमा चीनको महत्वपूर्ण उपलब्धि तथा प्रक्षेपण लागत घटाउने दिशामा ठूलो फड्कोका रूपमा हेरिएको छ।

यो सफलतासँगै पुनः प्रयोगयोग्य रकेट प्रविधिमा अमेरिकाको अग्रतालाई चीनले चुनौती दिन सक्ने अवस्था बनेको छ। हालसम्म यस क्षेत्रमा एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिन अग्रणी मानिन्छन्।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)का अनुसार ‘लङ मार्च–१०बी’ रकेट चिनियाँ समयअनुसार शुक्रबार दिउँसो १२ः१५ बजे हाइनानस्थित प्रक्षेपण केन्द्रबाट उडाइएको थियो। रकेटले एउटा उपग्रहलाई सफलतापूर्वक पृथ्वीको कक्षमा स्थापित गरेको थियो।

मिसनपछि रकेटको पहिलो चरणलाई समुद्रमा रहेको प्लेटफर्ममा ‘नेट–क्याप्चर प्रणाली’मार्फत सफलतापूर्वक अवतरण गराइएको थियो।

चीनको सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेको दृश्यमा रकेटको पहिलो चरण समुद्री प्लेटफर्ममा सुरक्षित रूपमा अवतरण गरेको देखाइएको छ।

सीएनएसएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो चीनका लागि प्रक्षेपण रकेटको पहिलो चरणलाई नियन्त्रित रूपमा फिर्ता ल्याउने पहिलो सफल प्रयास हो। साथै समुद्रमा नेट–क्याप्चर प्रणालीमार्फत रकेट पुनः प्राप्त गरिएको यो विश्वकै पहिलो घटना हो।”

चिनियाँ अन्तरिक्ष प्रशासनले यसलाई पुनः प्रयोगयोग्य रकेट प्रविधिमा चीनको ऐतिहासिक सफलता भएको जनाएको छ।

स्पेसएक्सको फाल्कन–९ रकेटभन्दा फरक, लङ मार्च–१०बीमा अवतरणका लागि ‘ल्याण्डिङ लेग्स’ प्रयोग गरिएको छैन।

चाइना एकेडेमी अफ लन्च भेहिकल टेक्नोलोजीका प्राविधिक विशेषज्ञ चेन मुयेको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “नेट–क्याप्चर प्रणालीमा आधारित रिकभरी प्रविधिका आफ्नै विशेष फाइदाहरू छन्।”

उनका अनुसार, “हाल प्रयोग भइरहेका अधिकांश रिकभरी प्रणालीको तुलनामा नेट–क्याप्चर प्रणाली विभिन्न अवतरण अवस्थाअनुसार अझ लचिलो र अनुकूलनयोग्य छ।”

सामान्यतया अधिकांश रकेट एकपटक मात्रै प्रयोग गर्न मिल्ने गरी निर्माण गरिन्छ। प्रयोगपछि तिनका भाग समुद्रमा खस्ने, वायुमण्डलमै जलेर नष्ट हुने वा अन्तरिक्षमै फोहोरका रूपमा रहने गर्छन्। तीमध्ये पहिलो चरण सबैभन्दा महँगो हुने भएकाले त्यसलाई पुनः प्रयोग गर्न सकिनु लागत घटाउने दृष्टिले महत्वपूर्ण मानिन्छ।

चेनका अनुसार नेट–क्याप्चर प्रणाली प्रयोग गर्दा रकेटको आन्तरिक संरचना सरल बन्छ र अवतरणका लागि छुट्टै खुट्टा (ल्याण्डिङ लेग्स) आवश्यक पर्दैन। यसले रकेटको तौल घटाउने भएकाले पेलोड क्षमता र सञ्चालन दक्षता दुवै बढ्छ।

रकेटका केही भाग पुनः प्रयोग गर्न सकिँदा उपग्रह तथा अन्तरिक्षयान प्रक्षेपणको लागत उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। ‘लङ मार्च–१०’ शृङ्खलाका रकेटहरू विशेषगरी चीनको भावी मानवसहितको चन्द्र अभियानलाई लक्षित गरेर विकास गरिएका हुन्।

लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत

काठमाडौँ। लुम्बिनी बौद्ध विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सम्मित पोखरेलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्न निर्देशन दिए ।

बैठकमा उपकुलपति डा माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल दुई हजार ६२० विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । विश्वविद्यालयका आठ सम्बन्धन प्राप्त कलेज र आठ सहकार्यमा सञ्चालित कलेज छन् । विश्वविद्यालयमा २०२ अन्तरराष्ट्रिय विद्यार्थी अध्ययनरत छन् ।

चीन, जापान, भारत, कोरियालगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र सम्पन्न गरी अन्तरराष्ट्रिय सहकार्य विस्तार गरेको, पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गरेको तथा कम्प्युटर आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाएको विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले जानकारी दिए ।

विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम अघि बढाएको, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा प्रगति हासिल गरेको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो ।

बैठकमा विश्वविद्यालय सभाका सदस्य, पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज शोक विज्ञप्ति जारी गरी शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा नेपालीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे।

महासङ्घले सार्वजनिक यातायात क्षेत्रमा विद्यमान कानुन, ऐन, नियमावली परिवर्तन नगरी अत्यधिक बिमा प्रिमियम, दायित्व र जरिवाना वृद्धि गर्ने गरी प्रकाशित सूचनाले यातायात क्षेत्रलाई आक्रान्त बनाएको र सोही कारणले यस्ता घटना घटेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घले मृतक नेपालीका परिवारलाई उचित क्षतिपूर्ति र निष्पक्ष छानबिनको मागसमेत गरेको छ ।

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ ।

मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो । तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाइ गर्न सुरु गरिएको छ ।

बैकमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षहरूमा विस्तृत छलफल गरी तयारी अघि बढाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

भेरी करिडोरः अस्थायी संरचनामार्फ सवारी सञ्चालन

काँक्रेविहार (सुर्खेत) – भेरी करिडोरअन्तरर्गत जाजरकोट–डोल्पा सडकखण्डको रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ मा दुई वटा अस्थायी संरचना निर्माण गरेर सवारीसाधन सञ्चालन गरिएको छ ।

पुल निर्माणको ठेक्का हालै भएकाले वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेपछि रिजीगार र उसुम खोलामा अस्थायी संरचना निर्माण गरेर यातायातका साधन सञ्चालन गरिएको करिडोरका आयोजना प्रमुख नरेशकुमार केसरीले जानकारी दिनुभयो । रमण निर्माण सेवाले करिडोर आयोजनासँग गत जेठ ७ गते सम्झौता गरेर काम सम्पन्न गरेको थियो ।

खोलामा हुम पाइपदेखि अन्य काम गरिएको कार्यालय प्रमुख केसरीले जानकारी दिनुभयो । हाल यहाँ पुल नहुँदा सिधा डोल्पा जान र आउन समस्या हुने गरेको थियो । पुल निर्माणका लागि ठेक्का लगाइएको भन्दै उहाँले केही दिनमा सम्झौता हुने जानकारी दिनुभयो । रिजीगार र उसुम खोलाका साथै अन्य ११ ठाउँमा पुल निर्माणका लागि ठेक्का भएको छ ।

एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाएको संयुक्त राष्ट्रसङ्घद्वारा जानकारी

सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ ।

एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको छ भने अन्य प्रमुख दाता देशहरूले पनि आफ्नो खर्च घटाएका छन् ।

“संसारका सबैभन्दा गम्भीर मानवीय सङ्कटहरूको अग्रपंक्तिमा रहेका महिला सङ्गठनहरू बन्द हुने जोखिममा छन्,” युन वुमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोर्पले एक विज्ञप्तिमा भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “महिला सङ्गठनहरूबाट हटाइएको प्रत्येक डलर भनेको द्वन्द्वसम्बन्धी यौनिक हिंसाका पीडित, विस्थापित आमा, विद्यालयबाट बाहिरिन बाध्य बालिका र बाँच्न सङ्घर्ष गरिरहेका समुदायहरूबाट हटाइएको डलर हो।”

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर सशस्त्र द्वन्द्वहरू दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब १२ करोड महिला र बालिकाहरूलाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ ।

सङ्कटग्रस्त विभिन्न ५२ वटा देशहरूका ८५५ महिला नेतृत्वका तथा महिला अधिकार सङ्गठनहरूबाट प्राप्त जवाफहरूमा आधारित यो रिपोर्टले देखाएको छ कि ८४ प्रतिशत समूहले सन् २०२५ जनवरी यता आफ्ना सेवाहरूको माग बढेको अनुभव गरेका छन् ।

“लगभग ९० प्रतिशतले उनीले हालको आवश्यकता पूरा गर्न नसक्ने बताउँछन्,” एजेन्सीले भनेको छ, “ सर्वेक्षण गरिएका मध्ये दुईमा एक (४० प्रतिशत) सङ्गठनले आगामी एक वर्षभित्र अस्थायी वा स्थायी रूपमा बन्द हुने अपेक्षा गरेका छन् ।”

यी सङ्गठनहरूलाई जोगाउनका लागि नेतृत्व र कर्मचारीहरूले आफ्नै श्रम र स्वास्थ्यको मूल्य चुकाइरहेका छन् ।

पूर्ण ६५ प्रतिशत महिला नेतृत्वका सङ्गठनहरूले सेवाहरू सञ्चालन गर्न कर्मचारी बिना तलब काम गरिरहेको रिपोर्ट गरेका छन् भने लगभग आधाले कर्मचारीहरूमा बढ्दो थकान रिपोर्ट गरेका छन् ।

युन वुमेनको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा पीडितहरूलाई संरक्षण गर्ने प्रणाली भत्किरहेको बेला द्वन्द्वसम्बन्धी यौनिक हिंसा दोब्बर बढेको छ।”

झण्डै ८६ प्रतिशत महिला सङ्गठनहरूले आफूले सेवा गरिरहेका समुदायमा लैङ्गिक हिंसा बढेको रिपोर्ट गरेका बताइएको छ ।

यो सङ्गठनले सहायता कटौतीले विनाशकारी परिणाम ल्याइरहेकोमा जोड दिएको छ ।

“हिंसाबाट आश्रय खोजिरहेको महिला बन्द भएको आश्रय केन्द्रको ढोकामा पुग्न सक्छिन्; गर्भवती महिलालाई स्वास्थ्य क्लिनिक पुग्न घण्टौं हिँड्नुपर्ने हुन सक्छ; वा आमाले आफ्ना बच्चाहरूलाई खाना दिन अस्वीकार गर्नुपर्ने हुन सक्छ,” सङ्गठनले भनेको छ ।

यी कटौतीहरूको प्रभाव केवल मानवीय प्रतिक्रियालाई कमजोर पार्नेमा मात्र सीमित नहुने सङ्गठनले जोड दिएको छ ।

“महिला सङ्गठनहरूको विघटन कुनै खाली ठाउँमा होइन, बरु महिला र बालिकाहरूको अधिकारमाथि विश्वव्यापी प्रतिक्रियावादको बिरुद्धमा भइरहेको छ,” यसले भनेको छ ।

हरेक पाँचमा एक (२० प्रतिशत) सङ्गठनहरूले महिला नेतृत्व र लैङ्गिक समानता अघि बढाउने काम पहिले नै स्थगित गरेका छन् भने आधाभन्दा बढीले समुदायको नेतृत्व र स्थानीय निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता घट्दै गएको देखेको सङ्गठनको दावी छ ।

‘युद्ध अझै नसकिएको’ इजरायली प्रधानमन्त्री नेतन्याहुको भनाइ

वाशिङ्गटन–तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन्

उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताएका छन् ।

बिहीबार हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम राख्नु नै देशको राष्ट्रिय सुरक्षा प्रणालीको मुख्य आधार रहेकोमा जोड दिनुभयो । उहाँले तेहरानले उल्लेखनीय धक्का खाएको तरपनि नयाँ रणनीतिक चुनौतीहरू देखा पर्न थालेको सङ्केत ग  ।

इजरायली सञ्चारमाध्यमले प्रधानमन्त्री नेतन्याहुलाई उद्धृत गर्दै भने, “इरानी शासनलाई ठूलो झट्का लागेको छ र हाम्रो नीति स्पष्ट छ, चाहे सम्झौता होस् वा नहोस्, इरानले आणविक हतियार प्राप्त गर्न पाउने छैन । यदि हामीले कदम नचालेको भए इरानले आणविक हतियार प्राप्त गरिसकेको हुन्थ्यो। युद्ध अझै सकिएको छैन र हाम्रो सामु नयाँ चुनौतीहरू देखा पर्दै छन् ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘समाप्त’ भएको घोषणा गरी दुई देशबीचको सैन्य हमलापछि तेहरानसँगको कूटनीतिक प्रयासलाई ‘समयको बर्बादी’ भनेको एक दिनपछि इजरायली नेताको यो भनाइ आएको हो।

तेहरानले हर्मुज जलडमरुमध्यमा व्यावसायिक जहाजहरूलाई आक्रमण गरेको र त्यसपछि वाशिङ्गटनले ८० भन्दा बढी इरानी लक्ष्यहरूलाई आक्रमण गरी तेहरानको पेट्रोलियम निर्यातमा प्रतिबन्ध लगाएपछि इरानले बहरइन र कुवेतमा रहेका अमेरिकी सैन्य आधारहरूमा जवाफी हमला गरेको थियो।

प्रधानमन्त्री नेतन्याहुको चेतावनीसँगै इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरले तेहरानविरुद्धको आक्रमण अझै समाप्त नभएको बताएको छ तर रक्षा सेना नयाँ रणनीतिक योजनाहरू तयार पारिरहेको उल्लेख ग  ।

पोल्यान्डमा पहिलोपटक ‘नेपाल महोत्सव’ हुँदै

लिस्बन । पोल्यान्डमा पहिलो पटक ‘नेपाल महोत्सव, २०२६’ आयोजना हुने भएको छ । हामी नेपाली ग्लोबल पोल्यान्ड शाखाको आयोजनामा पोल्यान्डको पोजनान शहरस्थित इम्पेरियल क्यासलमा यही जुलाई ११ तारिखमा महोत्सव आयोजना हुन लागेको हो ।

नेपाली कला, संस्कृति र पर्यटनको प्रचारप्रसार एवं प्रवद्र्धन गर्ने उद्धेश्यले पोल्यान्डमा पहिलोपटक नेपाल महोत्सवको आयोजना गरिएको शाखाकी अध्यक्ष शान्ति श्रेष्ठले बताइन् । महोत्सवमार्फत पोलिस नागरिकलाई नेपालको सांस्कृतिक विविधता र मौलिक पहिचानसँग परिचित गराउँदै नेपाल भ्रमणका लागि प्रोत्साहित गर्ने उद्देश्य राखिएको उनले बताइन् ।

महोत्सवमा जर्मनीका लागि कार्यवाहक नेपाली राजदूत तथा पोल्यान्डका लागि गैरआवासीय कार्यवाहक नेपाली राजदूत सागरप्रसाद फुयालको प्रमुख अतिथिका रुपमा सहभागिता रहनेछ । साथै, पोल्यान्ड सरकारको कल्चरल डिपार्टमेन्ट, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न संस्थाका प्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक संस्थाले जनाएको छ ।

पोजनानस्थित मार्चिन ८०/८२ को सेन्त्रुम कुल्टुरे जामेखमा भेला भई सहभागीहरूले नेपालको झण्डासहित नेपाली मौलिक संस्कृति झल्काउने सांस्कृतिक नृत्य, झाँकी तथा परम्परागत भेषभूषासहित सहरका मुख्य चोकहरूको परिक्रमा गर्ने कार्यक्रम तय भएको छ भने इम्पेरियल कल्चरल सेन्टरको मुख्य हलमा भव्य कार्यक्रम हुने बताइएको छ ।

पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको बाँकी रहेको वार्षिक लेखापरीक्षण आगामी पुस मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

समयमै लेखापरीक्षण सम्पन्न नहुँदा सरकारी निकायको वित्तीय अनुशासन, सेवा प्रवाह र बजेट कार्यान्वयनमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले सार्वजनिक सञ्चार संस्थाहरूलाई उत्तरदायी र व्यवस्थित बनाउन लेखापरीक्षणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए ।

सार्वजनिक सञ्चारमाध्यमहरूको लेखापरीक्षणबारे आज सूचना तथा सञ्चारमन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री तिमिल्सिनाले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा–२०८३ ले देखाएका कमजोरीलाई तत्काल सुधार गर्नुपर्नेमा जोड दिए ।

उनले गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको वार्षिक लेखापरीक्षण आगामी आर्थिक वर्षको पहिलो छ महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गरी नियमित प्रणालीमा फर्काउन निर्देशन दिए ।

गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण संस्थाको आर्थिक वर्ष २०७९/८० यताका लेखापरीक्षण गर्न बाँकी छ । जसकारण ती संस्थाको वित्तीय व्यवस्थापनमा समस्या देखिनुका साथै सरकारबाट विनियोजित अनुदान र विभिन्न शीर्षकका रकमसमेत प्राप्त गर्न कठिनाइ उत्पन्न भइरहेको अवस्था छ ।

गोरखापत्र संस्थानले लेखापरीक्षण सम्पन्न गर्न नसकेकै कारण चालु आर्थिक वर्षका लागि सरकारले विभिन्न समावेशी भाषामा समाचार प्रकाशन तथा प्रसारणका लागि विनियोजन गरेको रु चार करोड ६० लाख बजेट मन्त्रालयबाट निकासा हुन सकेन । बजेट निकासाका लागि संस्थाको वार्षिक लेखापरीक्षण अनिवार्य शर्त रहेकाले उक्त रकम रोकिएको हो । त्यसैगरी, लोककल्याणकारी विज्ञापनबापत प्राप्त हुनुपर्ने रकमसमेत संस्थानले गुमाइरहेको छ ।

गोरखापत्र संस्थानका अनुसार आर्थिक वर्ष २०८/१ को लेखापरीक्षणका लागि प्रक्रिया अघि बढिसकेको जनाएको छ । वार्षिक लेखापरीक्षणका लागि संस्थानका प्रमुख तथा लेखा शाखाले आवश्यक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्नु, नेतृत्व तहमा देखिएको व्यवस्थापकीय समस्या तथा लेखापरीक्षण गर्ने कम्पनीहरूको ढिलासुस्तीका कारण लेखापरीक्षण समयमै सम्पन्न हुन नसकेको विषय छलफलमा उठाइएको थियो ।

त्यसैगरी, लेखापरीक्षणमा भएको ढिलाइका कारण गोरखापत्र संस्थानअन्तर्गतका प्रकाशनहरू वर्गीकरण प्रक्रियामा समेत सहभागी हुन नपाएको तथा संस्थानको आन्तरिक लेखापरीक्षण शाखा विगत पाँच वर्षदेखि निष्क्रिय रहेको जनाइएको छ । सो शाखामा दरबन्दीअनुसार कर्मचारी व्यवस्थापन गरी प्रभावकारी रूपमा सञ्चालन गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ ।

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको ‘आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’माथि छलफलका क्रममा उनीहरूले यस्तो बताएका हुन् ।

छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट कार्यान्वयन, राजस्व परिचालन, वित्तीय आत्मनिर्भरता र विकास योजनाको प्रभावकारितामा जोड दिएका थिए ।

विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, तुलसी देवकोटा र दमन भण्डारीले भाग लिनुभएको थियो भने आर्थिक विधेयकमाथिको छलफलमा अक्कलबहादुर रावल, धर्मराज पाठक र मानबहादुर धामीले धारणा राखे ।

प्रदेशसभा सदस्य चौधरीले राजस्व अनुमान यथार्थपरक हुनुपर्ने, आर्थिक विकास र कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्नेगरी योजना छनोट तथा बजेट विनियोजन हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए । सङ्घीय सरकारले अनुदान घटाएको अवस्थामा प्रदेशले सामना गर्नुपर्ने चुनौतीबारे पनि पूर्वतयारी आवश्यक रहेको चौधरीको भनाइ थियो ।

प्रदेशसभा सदस्य देवकोटाले बजेटको मूल्याङ्कन रकमको आकारका आधारमा नभई नागरिकको जनजीविकामा पार्ने प्रभावका आधारमा गर्नुपर्ने धारणा राखे । उनले कृषि, रोजगारी, युवा तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको बजेटले समृद्ध सुदूरपश्चिम निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले प्रदेशको राजस्वको आधार कमजोर रहेको र राजस्व प्रशासन प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । उनले केन्द्रमाथिको निर्भरता घटाउन आन्तरिक स्रोत परिचालनमा जोड दिँदै करको दायरा विस्तारसँगै प्रभावकारी कर सङ्कलन प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशमाथि विभिन्न प्रकारका आलोचना भइरहेकाले त्यसलाई चिर्नेगरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रदेशको कुल बजेटमा आफ्नै स्रोतको योगदान करिब चार प्रतिशतमात्र रहेको उल्लेख गर्दै स्रोत पहिचान र आम्दानी विस्तारबारे वर्षौँदेखि छलफल भए पनि त्यसअनुसार प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए ।

प्रदेशसभा सदस्य मानबहादुर धामीले बजेट र सम्बन्धित विधेयकहरूमाथिको छलफल औपचारिकतामा सीमित हुन नहुने बताउँदै त्यसलाई परिणाममुखी बनाउन आग्रह गरे । उनले राजनीतिक नेतृत्वबाट कमजोरी भए पनि कानुन र प्रशासनमा अनुभवी राष्ट्रसेवक कर्मचारीले आवश्यक सुधारका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राखे ।

प्रदेशसभाको आजको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सभामुख भीमबहादुर भण्डारीले जानकारी गराए।

सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्छ भन्दै बोले गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकार सञ्चालन केवल भाषणबाट नभई जनताको समस्यामा पुगेर समाधान गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनी केहीबेर बोल्न नसकी भावुक देखिएका हुन् ।

संसदमा उठेका प्रश्नहरूको प्रतिवाद गर्दै गृहमन्त्री गुरुङले मुखले मात्रै सेवाको कुरा गर्ने समय सकिएको बताए । उनले भने, ‘घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो, अब हामीले हातले काम गर्नुपर्छ । आफ्नो जनताको सेवा गर्नुपर्छ।’

गृहमन्त्री गुरुङले घटनास्थलमा भएको अवस्थाबारे प्रश्न उठाउँदै स्थानीय र प्रदेश सरकारको भूमिकाबारे पनि ध्यानाकर्षण गराए ।

उनले घटनास्थलमा ट्राफिक प्रहरीले ह्वील लक गरेको विषयमा प्रश्न उठाउँदै त्यसको जिम्मेवारी स्थानीय तहको कानुन र व्यवस्थापनसँग जोडिएको बताए ।

उनले भने, ‘एउटा संघीय सरकार, प्रदेश सरकार र अर्को स्थानीय सरकार हुन्छ । जुन ठाउँमा घटना घट्यो, त्यो ठाउँमा ट्राफिकले ह्वील लक गरेको होइन । कुनै भिडियोमा ट्राफिकले ह्वील लक गरेको देखिन्छ ?’

उनले भने, ‘स्थानीय सरकार कसको छ अहिले ? प्रदेश सरकार कसको छ अहिले ? दुई तहको सरकार त तपाईंहरूसँगै छ । यो नियम कानुन कसले बनाएको हो ? तपाईंहरूले बनाएको कानुन हामीले पालना गरेका हौं ।’

सर्वोच्च अदालतमा साउन १ देखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने

काठमाडौँ। सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित सुनुवाइ नहुने भएको छ ।

प्रत्येक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमति सुनुवाइ रोकिने अभ्यास हुँदै आएको हुनाले नियमित सुनुवाइ साउन ११ गतेबाट हुने भएको हो । यसअघि, दुई हप्ता नियमित सुनुवाइ नहुने अभ्यास थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार साउन आगामी साउन १ गतेदेखि ११ गतेसम्म बन्दी प्रत्यक्षीकरणका रिट निवेदनमा भने दर्ता तथा सुनुवाइ हुनेछ ।

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु ६० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै १९ दिनको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम सङ्कलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ ।

सूचनाअनुसार निक्षेप सङ्कलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।

बोलकबोलमा न्यूनतम रु १० करोड र अधिकतम रु पाँच करोड दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप सङ्कलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याल छन् । माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ पठाइएको छ ।

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

चितवन । ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो ।

ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताउनुभयो ।

गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति परिचालन गरेको छ ।

विसं २०७४ मा नेपाली सेनाका सेनानी (मेजर)लाई आक्रमण गरी मारेपछि ध्रुवेले नौ वर्षपछि यी दुई आमाछोराको ज्यान लिएको हो ।

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौँ । सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन नै गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । साथै त्यसको साप्ताहिक अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज विभिन्न मन्त्रालयसँगको समन्वयका लागि तोकिएका अधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले दुवै सङ्घीय संसदमा उठ्ने जनसरोकारका विषयलाई टिपोट र अभिलेखीकरणमा मात्र सीमित नराखी समाधानसम्म पुर्याउने गरी आजैदेखि सक्रिय रूपमा काम गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।

“सांसदहरूले नागरिकका जनजीवनसँग सम्बन्धित उठाउने प्रश्न र समस्यालाई केवल रेकर्ड गर्ने अभ्यासमा सीमित राख्नु हुँदैन । सम्बन्धित मन्त्रालयले समाधानका लागि सक्रिय रूपमा काम गर्नुपर्छ, भएको प्रगति सम्बन्धित सांसदलाई प्रत्यक्ष सम्पर्क गरेर जानकारी गराउनुपर्छ ”, उनले भने ।

शाहका अनुसार सम्बन्धित सांसद्ले उठाउने विषयका सम्बन्धमा सम्बन्धित भएको काम कारबाहीबारेको प्रतिवेदन प्रत्येक साता सम्बन्धित मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्नेछ । प्रधानमन्त्री कार्यालयले त्यसको नियमित र सूक्ष्म अनुगमन गर्नेछ । शाहले सभामुख र प्रमुख सचेतकलाई समेत यस व्यवस्थाबारे जानकारी गराइने बताए ।

आफू सांसद रहँदाको अनुभव सुनाउँदै उनले भने, “सदनमा उठाइएका प्रश्न सरकारसम्म पुगेर पनि प्रभावकारी रूपमा सम्बोधन नभएको अनुभूति हुँदा सांसदहरूको मनोबल कमजोर हुने गरेको थियो । वर्तमान सरकारले सबै दलका सांसदले उठाउने जनसरोकारका विषयलाई सरकारको साझा जिम्मेवारीका रूपमा लिएर समाधान गनेछ ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव एवम् प्रवक्ता हेमराज अर्यालले सरकारले संसदमार्फत नागरिकप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन यो व्यवस्था अघि बढाएको बताए । उनकाअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभामा शून्य समय, विशेष समय वा अन्य प्रक्रियामार्फत उठाइने जनसरोकारका सबै विषयलाई समाधानमुखी ढङ्गले सम्बोधन गरिने भएको हो ।

मन्त्रीले सदनमा मौखिक जवाफ दिएर मात्र नपुग्ने भएकाले अब सम्बन्धित मन्त्रालयका कर्मचारीले प्रश्न उठाउने सांसदलाई प्रत्यक्ष फोन सम्पर्क गरी समाधानको प्रगति जानकारी गराउने व्यवस्था गरिएको उनले स्पष्ट पारे ।

यसअघि मन्त्रीको जवाफपछि प्रश्न वा समस्याको कार्यान्वयन अवस्था सम्बन्धित सांसदलाई जानकारी गराउने व्यवस्थित संयन्त्र नरहेको उल्लेख गर्दै उनले अब त्यसलाई संस्थागत गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रवक्ता अर्यालकाअनुसार अब प्रत्येक मन्त्रालयहरुले आफूसँग सम्बन्धित संदनमा उठेका विषयको सम्बोधन र समाधान भएको अवस्था तथा सम्बन्धित सांसदलाई गरिएको जानकारी समेत समेटेर हरेक सातामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन पठाउनुपर्नेछ ।

प्रधानमन्त्री कार्यालयले ती प्रतिवेदनलाई एकीकृत गरी समग्र समीक्षा तथा अनुगमन गर्नेछ । यसका लागि व्यवस्थापन सूचना प्रणालीमार्फत एकीकृत अभिलेख प्रणाली विकास गर्ने तयारीसमेत गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयकाअनुसार यस व्यवस्थाले संसदमा उठने जनसरोकारका विषयको प्रभावकारी सम्बोधन, सरकारको जवाफदेहिता र नागरिकप्रतिको प्रत्यक्ष उत्तरदायित्वलाई थप सुदृढ बनाउनका साथै मन्त्रालयहरू बिचको समन्वय तथा अपेक्षा गरिएको छ ।

वर्षाबाट जलेश्वर जलमग्न

महोत्तरी । लामो समयपछि आज भएको भारी वर्षाबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ ।

करिब डेढ घण्टासम्म लगातार परेको मुसलधारे पानीले सदरमुकाम जलेश्वरसहित वरपरको क्षेत्र जलमग्न बनेको हो । वर्षाका कारण जलेश्वरका सडकमा एकदेखि तीन फिटसम्म पानी जम्दा सडक यातायात आवागमनसमेत प्रभावित बनेको छ ।

जलेश्वरको सहरी क्षेत्रमा ढल निकासको उचित व्यवस्था नहुँदा बर्षाको पानीले नपाएपछि पानीसँगै फोहरमैलासमेत सडकभरि छरिएको छ । यसैबीच वर्षाकै कारण जलेश्वरको मुटु मानिएको महेन्द्रचौकस्थित हनुमान मन्दिर डुबानमा परेको छ ।

जलेश्वर नगरपालिका–२ मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ । त्यस मन्दिरमा पानी गर्भगृहभित्र पस्ने अवस्थामा छ ।

मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा पूजाआजासँगै व्यायम गर्नका आउने मानिसहरुको सङ्ख्या बढ्दै गएको छ । महेन्द्र राजमार्गको गैँडाकोटबाट करिब चार किलोमिटर उत्तरमा पहाडको टाकुरामो रहेको यस मन्दिरमा स्थानीयहरु दैनिक व्यायम गर्नसमेत आउने गरेका छन् ।

धार्मिक सेवा समिति मौलाकालीका अध्यक्ष खगेन्द्रदास कँडेलले टाढाटाढाबाट देवी कालीको दर्शन गर्न श्रद्धालुहरु आउने गरेका उल्लेख गर्दै स्थानीयहरु पूजाआजासँगै दैनिक शारीरिक व्यायमका लागि आउने गरेका बताए । “ऐतिहासिक शक्तिपीठको रुपमा रहेको यस मन्दिरमा नेपालबाट मात्रै नभएर भारतबाट समेत भक्तजन आउने गर्नुभएको छ”, उनले भने, “तर, स्थानीय युवाहरु व्यायम गर्नका लागि दैनिक मन्दिरमा आउने गरेका छन् ।”

कँडेलले सामान्य दिनको तुलनामा बिदाको दिनमा मन्दिरमा भक्तजनहरुको उपस्थिति बढी हुने बताए । “मन्दिरमा दैनिक रुपमा दुई हजारभन्दा बढी श्रद्धालुहरु आएर दर्शन गर्नुहुन्छ”, अध्यक्ष कँडेलले भने “शनिबारसहित बिदाको दिन तथा चाडपर्वमा भने यहाँ भक्तजनको अत्यधिक भीड हुने गरेको छ ।” मन्दिरमा विशेष गरी नवदुर्गा (ठूलो दसैँ), माघे सङ्क्रान्ति, सरस्वती पूजा, चैतेदसैँ, नयाँ वर्षजस्ता विशेष अवसरमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको कँडेलको भनाइ छ । “दसैँ र नयाँ वर्षमा यहाँ देवीको दर्शनका लागि आउने मानिसहरु पाँच–छ घण्टासम्म लाइन बसेर दर्शन गर्नुपर्ने अवस्था छ”, कँडेलले भने, “विशेष पर्वहरुमा हामीलाई यहाँको व्यवस्थापनमा निकै कठिन हुँदै आएको छ ।

समुद्री सतहबाट ५६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ । १६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सृजना गरेपछि यस पर्वत (मौला पहाड) को नाम रहन गएकाले यसको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पुजारी क्षेत्रप्रसाद पराजुलीले बताए । “सोह्रौँँ शताब्दीमा यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, उनले भने, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवान्को आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।”

यहाँ रहेको मन्दिरको पुरानो संरचना विसं १९९० सालमा आएको भूकम्पमा सबै क्षति भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको पराजुलीले बताए । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणलाई सपनामा सेतो कपडा लगाएकी महिलाले म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको रुखमुनि अलपत्र छु भनेर गइन् भन्ने गरिएको छ”, उनले भने, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेटाएको कुरा यहाँ प्रचलित छ ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, भगवती कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको पराजुलीले बताए ।

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजनहरु आउन लागे” पराजुलीले भने, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनहरुले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजनहरु निरन्तर आउने क्रम बढेको छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी काली वा कालिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने पराजुलीले बताए । “मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुनःस्थापित गरिएको उनको भनाइ छ ।

सहरी क्षेत्रबाट नजिकै भएकाले पनि यहाँ देवी भगवतीको दर्शनसँगै स्थानीयहरु शारीरिक व्यायम गर्न आउनेहरुको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । “रनिङ बढाउन तथा विभिन्न व्यायम गर्न हामी नियमितरुपमा मन्दिरमा आउने गरेका छौँ”, गैँडाकोटका शुभम् अधिकारीले भने, “लाहुरेको तयारीका लागि पनि फिजिकल फिटनेस आवश्यक हुने भएकाले नियमित मन्दिर ओहोरदोहोर गर्छु ।” नेपाली सेना, भारतीय सेना तथा ब्रिटिस आर्मीमा भर्ती हुनका लागि तयारी गरेका युवाहरु दैनिकरुपमा मन्दिरमा दौडिएर आउजाउ गर्छन् ।

गैँडाकोटको निजी कलेजबाट कक्षा १२ को परीक्षा दिएर बस्नुभएका समीर गुरुङले आफू शनिबार र बिदाको दिन मौलाकालिका मन्दिर पुग्ने गरेको बताउनुभयो । “ब्रिटिस लाहुने बन्ने इच्छा छ, त्यसैले मेहनत गर्ने गरेको छु”, उनले भने, “हामी समूहमा मन्दिर उक्लन्छौँ, दौडेर मन्दिर पुग्नका लागि करिब २० मिनेट लाग्ने गरेको छ ।” जाडोमा भारी बोकेर मन्दिरको उकालो उक्लने गरेको भए पनि गर्मी महिनामा रित्तै दौडिने गरेको गुरुङको भनाइ छ ।

धनुषाको जनकपुरबाट मौलाकालिका दर्शन गर्न आउनुभएका रामनरेश यादवले अटो रिक्सामार्फत मन्दिर नजिकै पुग्न सहज भएको बताए । “मौलाकालिका माताको महिमा सुनेर दर्शन गर्न आयौँ”, उनले भने, “देवघाटमा बैठकमा डाकेर आएका थियौँ, त्यसैको छेको पारेर मौलाकालिका माताको दर्शन गर्न आयौँ ।”

मौलाकालिका मन्दिरको फेदीमा गर्मी भइरहेको अवस्थामा मन्दिर पुगेर देवी भगवतीको दर्शन गर्दा र त्यहाँको वातावरणले आफूलाई छुट्टै प्रकारको खुसीको अनुभूति भएको यादवको भनाइ छ ।

योगका अगुवा राम देव, आचार्य बालकृष्णले पनि सन् २०११ मा मन्दिरको दर्शन तथा भ्रमण गर्नुभएको थियो । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार ८८२ सिँढी उक्लनुपर्छ । अहिले मन्दिर जानका लागि पैदल यात्रासँगै साना सवारीसाधन एवं केबलकारले सहज बनाएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१ र ०६२’ पेस गर्ने, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०६१÷०८२’ पेस गर्ने र ‘राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक प्रतिवेदन २०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नं ८१) माथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘अन्तर्राष्ट्रिय एबनभ म निरीक्षण सम्बन्ध सहास ं १९४७ (नं. ८१) लाई अनुमोदन गरियोस’् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

युवामैत्री परिणाममुखी काम गर्न मन्त्रालयका निकायलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालय अन्तर्गतका विभाग तथा निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेष गरी युवा पुस्ताको ठुलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न निर्देशन दिइन् ।

उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिना भित्र आफ्नो मातहत बाट कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नसिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिए ।

‘युवा पुस्ताको अपेक्षा अनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ । मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिना भित्र कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नसिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेस गर्नुपर्छ,’ उनले निर्देशन दिए ।

मन्त्री चौधरीले कार्यान्वयनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा

युरोपेली सङ्घ (इयु) ले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रण गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्ने तयारी गरेको छ । अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिस गर्ने अपेक्षा गरिएकाले यसै गर्मीयामदेखि नयाँ व्यवस्था लागू हुने सम्भावना बढेको छ ।

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रिस, स्पेनलगायतका युरोपेली मुलुकले पनि यस्तै नीति अपनाउन दबाब बढाएका छन् । इयुले पूर्ण प्रतिबन्धदेखि निश्चित सेवा तथा सुविधामा मात्र पहुँच सीमित गर्ने विकल्पसम्म सबै सम्भावना खुला रहेको जनाएको छ ।

यद्यपि, इयुभित्र सबै प्रकारका सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा व्यापक समर्थन नरहेको अधिकारीहरूले बताएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलाई विज्ञ समूहले जुलाई १३ मा सिफारिस बुझाउने कार्यक्रम छ भने औपचारिक घोषणा सेप्टेम्बरमा हुन सक्ने अपेक्षा गरिएको छ ।

भोन डेर लेयनले सामाजिक सञ्जालले बालबालिकामाथि पार्ने प्रभावलाई गम्भीर रूपमा लिनुपर्ने बताउँदै प्रश्न बालबालिका कहिले सामाजिक सञ्जालमा प्रवेश गर्छन् भन्ने नभई सामाजिक सञ्जालले बालबालिकासम्म कहिले र कसरी पहुँच बनाउँछ भन्ने भएको बताइन् ।

फ्रान्सलगायत केही सदस्य राष्ट्रले आफ्नै कानुन तयार गरे पनि युरोपेली आयोगले यस्ता विषय इयुको साझा अधिकार क्षेत्रभित्र पर्ने भन्दै फ्रान्सलाई आफ्नो विधेयक संशोधन गर्न आग्रह गरेको छ ।

इयुका उपभोक्ता संरक्षण आयुक्त माइकल म्याकग्राले उमेरको सीमा निर्धारण मात्र पर्याप्त नहुने बताउँदै बालबालिकाको अनलाइन अनुभवलाई असर गर्ने प्लेटफर्मको डिजाइन र व्यावसायिक मोडेललाई पनि नियमन गर्नुपर्ने धारणा राखे ।

विज्ञहरूका अनुसार इयुले अस्ट्रेलियाजस्तो पूर्ण प्रतिबन्धभन्दा जोखिममा आधारित नीति अपनाउने सम्भावना बढी छ । त्यसअनुसार इन्स्टाग्राम, स्न्यापच्याट वा टिकटकजस्ता प्लेटफर्म पूर्ण रूपमा बन्द गर्नुको सट्टा अनन्त स्क्रोल, व्यक्तिगत सामग्री सिफारिस र लत बढाउने अन्य सुविधामा प्रतिबन्ध लगाउन सकिनेछ । जर्मनीको एक विज्ञ समूहले पनि हालै १३ वर्षको न्यूनतम उमेर कायम गर्ने वा निश्चित सेवा तथा सुविधामा मात्र प्रतिबन्ध लगाउने दुई विकल्प अघि सारेको थियो ।

बेलायत र इन्डोनेसियाले पनि यस्तै नीति अघि बढाएसँगै बालबालिकाको सामाजिक सञ्जाल प्रयोग नियमन गर्ने प्रवृत्ति विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । यद्यपि इस्टोनियाले भने यस्ता प्रतिबन्धको विरोध गर्दै आएको छ ।

फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड र स्पेनमा गरिएको युगभ सर्वेक्षणमा सहभागी अधिकांशले अनन्त स्क्रोल र व्यक्तिगत सामग्री प्रवाहजस्ता बालबालिकाका लागि हानिकारक मानिएका डिजाइन हटाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सर्वेक्षणमा सहभागी पाँच हजार १०० भन्दा बढी वयस्कमध्ये ७५ प्रतिशतले सुरक्षित भएको प्रमाणित नभएसम्म सामाजिक सञ्जाल प्लेटफर्म नाबालिगका लागि खुला गर्न नहुने बताएका छन् ।

डिजिटल अधिकारसम्बन्धी संस्थाहरूले भने पूर्ण प्रतिबन्ध समाधान नभएको तर्क गरेका छन् । इडिआरआईकी सिमोन डे ब्रोवरले विद्यमान कानुन प्रभावकारी रूपमा कार्यान्वयन गरी प्लेटफर्मलाई बालबालिकाका लागि सुरक्षित बनाउनुपर्ने बताइन् । रिसेट टेकका इयु निर्देशक मिचेल भ्यान हल्टनले पनि आफ्ना सेवा प्रयोग गर्नुअघि ती बालबालिकाका लागि सुरक्षित छन् भन्ने प्रमाणित गर्ने जिम्मेवारी प्लेटफर्मकै हुनुपर्ने धारणा राखे ।

इयुसँग डिजिटल सेवा ऐनजस्ता कानुनी व्यवस्था छन् । यी व्यवस्थाले ठूला अनलाइन प्लेटफर्मलाई हानिकारक सामग्री हटाउन र बालबालिकालाई लक्षित विज्ञापन रोक्न बाध्य बनाउँछन् । युरोपेली आयोगले मेटाको फेसबुक र इन्स्टाग्रामले बालबालिकामा लत बढाउने व्यवहार सिर्जना गरेको विषयमा भइरहेको अनुसन्धानको निष्कर्ष यसै गर्मीयामको अन्त्यसम्म सार्वजनिक गर्ने तयारी गरेको एक इयु अधिकारीले बताएका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन १२.६ प्रतिशतले वृद्धि

कञ्चनपुर। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको छ ।चालु आर्थिक वर्षको असारसम्म चार हजार १९१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । यो सङ्ख्या गत आवको कूल तीन हजार ७२२ पर्यटकको तुलनामा ४६९ जनाले बढी हो । चालु आवमा मात्रै करिब १२.६ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार चालु आवको असोजदेखि असारसम्म निकुञ्ज भ्रमण गर्नेमा एक हजार ६५७ महिला र दुई हजार ५३४ पुरुष छन् ।निकुञ्जमा आन्तरिक पर्यटकको वर्चस्व कायमै छ । कुल पर्यटकमध्ये निकुञ्ज भ्रमण गर्ने तीन हजार ६९९ नेपाली पर्यटक छन् । जसमा एक हजार ५१३ महिला र दुई हजार १८६ पुरुष छन् । कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत हिस्सा नेपाली पर्यटकको रहेको तथ्याङ्कले शुक्लाफाँटा आन्तरिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गएको पुष्टि गर्दछ ।

त्यसैगरी, सार्क राष्ट्रबाट ३५८ पर्यटक निकुञ्ज पुगेका छन् । यसमध्ये ८७ महिला र २७१ पुरुष छन् । तेस्रो मुलुकबाट भने १५६ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । जसमा ५७ महिला र ९९ पुरुष छन् । विदेशी पर्यटकको सङ्ख्या अझै अपेक्षाकृत कम भए पनि पछिल्ला वर्षमा विस्तारै वृद्धि हुँदै गएको छ । गत आवभन्दा चालु आवमा विदेशी पर्यटको सङ्ख्या २२ ले बढेको छ ।

महिनागत तथ्याङ्क हेर्दा चैतमा सबैभन्दा बढी ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसपछि कात्तिकमा ५८०, जेठमा ५७९, वैशाखमा ५५४ र असारमा ४२४ जना पुगेका छन् । मौसम अनुकूल हुने तथा वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैत, वैशाख र जेठमा पर्यटकको चाप बढी हुने गरेको छ ।

सबैभन्दा कम पर्यटक असोजमा मात्र नौ जना पुगेका थिए । त्यसपछि मङ्सिरमा २९३, माघमा ३६९, पुसमा ३७६ र फागुनमा ३८६ जनाले निकुञ्ज भ्रमण गरेका छन् । वर्षायाम तथा पर्यटकीय सिजन सुरु नहुँदा असोजमा पर्यटकको सङ्ख्या न्यून हुने गरेको देखिन्छ ।

गत आव २०८१÷८२ मा निकुञ्जमा तीन हजार ७२२ पर्यटक आएका थिए । तीमध्ये तीन हजार ३७१ नेपाली, १९९ सार्क राष्ट्रका तथा १५२ जना तेस्रो मुलुकका पर्यटक थिए ।

चालु आवमा नेपाली तथा सार्क मुलुकका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन अपेक्षाकृत स्थिर देखिएको छ । करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित छ ।

यहाँ बाह्रसिङ्गासँगै पाटेबाघ, जङ्गली हात्ती, एकसिङ्गे गैँडा, चितुवा, नीलगाई, जरायो, रतुवा, जङ्गली बँदेल, भालु, स्याल, बँदेललगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्ज पन्छीप्रेमीका लागि पनि आकर्षक गन्तव्य हो । यहाँ ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् ।

निकुञ्जभित्रका विशाल शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, सालघारी, चौधर नदी क्षेत्र, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन् । बिहान र साँझको समयमा हात्ती सफारी, जिप सफारी तथा बर्ड वाचिङमार्फत पर्यटकले वन्यजन्तु नजिकबाट अवलोकन गर्ने अवसर पाउँछन् ।

प्राकृतिक सम्पदा, जैविक विविधता र वन्यजन्तु अवलोकनको अनुपम गन्तव्यका रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ । निकुञ्ज प्रशासनले पूर्वाधार विस्तार, प्रचारप्रसार तथा पर्यटकमैत्री सेवामा थप सुधार गर्न सके आगामी वर्षहरूमा विदेशी पर्यटकको आगमन अझै उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।

अपर म्याग्दी–१ आयोजनाको माटो थुपार्दा नदी कटान, स्थानीयको जग्गामा क्षति

म्याग्दी। धवलागिरि गाउँपालिका–७ स्यानखण्डमा म्याग्दी नदीको कटान र पहिरोको समस्या उत्पन्न गरेको छ ।कुल ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा थुपार्दा स्यानखण्डमा रहेको बगैँचा र पाखोबारीमा क्षति पुगेको हो । म्याग्दी नदीको दायाँ किनारमा रहेको विद्युतगृह निर्माणस्थल भारवाङ मालिका गाउँपालिकाको ७ नम्बर वडाको भूगोलमा पर्छ ।

जलविद्युत् आयोजनाले जथाभावी माटो र ‘मकिङ’ (सुरुङबाट निस्किएको गेगर) थुपारेका कारण म्याग्दी नदीले धार परिवर्तन गरेर बायाँतर्फ रहेको १८ रोपनी जग्गा पहिरो र कटानको चपेटामा परेको जग्गाधनी गजबहादुर थापाले गुनासो गर्नुभयो ।

“जलविद्युत् आयोजनाले पूर्वसहमति र अनुमतिबिनै नदी किनारमा माटो र मकिङ थुपारिदिँदा केराको बगैँचासहितको पाखोबारी पहिरोले बगाउनुका साथै बाँकी रहेको जमिन पनि छियाछिया बनाएर प्रयोग गर्न नमिल्ने बनाएको छ”, उहाँले भन्नुभयो, “एक वर्षयता आयोजनालाई जथाभावी माटो नफाल्न अनुरोध गरे पनि बेवास्ता गरेकाले बर्खायामसँगै म्याग्दी नदीमा पानीको सतह बढ्न थालेपछि पहिरो र कटानको समस्या सृजना भएको हो ।”

जगबहादुर र यामबहादुर थापाको व्यक्तिगत जग्गामा रहेको केरा बगैँचा र उत्तिसको निजी वन म्याग्दी नदीले कटान गरेर बगाइसकेको छ । भारवाङका बासिन्दा थमन जुग्जालीले जलविद्युत् आयोजनाले वातावरणीय पक्षलाई बेवास्ता गर्दै नदीमा माटो, मकिङ थुपार्ने र बगाउने गरेकाले बाढीको आयतन बढेर तटीय क्षेत्रमा कटानको जोखिम बढाएको बताउनुभयो ।

“आयोजना निर्माणस्थलबाट निस्किएको माटो र मकिङलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने वातावरणीय अध्ययन प्रतिवेदनका शर्तहरू पालना भएको छैन”, उहाँले भन्नुभयो, “सुरुङबाट निस्किएको बारुद मिसिएको मकिङका कारण म्याग्दी नदीमा माछालगायत जलचर सङ्कटमा परेका छन् ।”

भारवाङका दलबहादुर जुग्जालीले सुरुङ र पहुँचमार्गबाट आउने लेदोसहितको पानी बारीमा पसेर खेतीबाली नष्ट भएको गुनासो गर्नुभयो । वातावरणीय र सामाजिक असर न्यूनीकरण, पहुँचमार्ग स्तरोन्नति, धुलो र हिलोको समस्या समाधान गर्न आयोजनालाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नगरेको स्थानीयवासीले बताएका छन् ।

कटानको जोखिम भएको ठाउँमा संरक्षण र क्षति भएको जग्गाको क्षतिपूर्ति दिने नीतिअनुसार जग्गाधनीसँग सहमतिको प्रयास गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । “आयोजना निर्माणस्थल नजिकै भएका कारणले असर परेको स्वीकार गरेका छौँ तर सबै क्षति हाम्रो मात्रै कारणले भएको होइन”, उहाँले भन्नुभयो, “आयोजनाको कारणले व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा हानि नपुगोस् भन्नेमा हामी संवेदनशील छौँ ।”

क्षति पुगेको जग्गाको विषयमा विभिन्न विकल्पमा छलफल र सहमतिको प्रयास जारी रहेको आयोजना प्रमुख केसीले बताउनुभयो । आयोजनाको प्रवर्द्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले वातावरणीय असर न्यूनीकरणका उपाय अपनाउनका लागि निर्माण कम्पनीलाई सचेत बनाएको र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्थानीयका मुद्दा सम्बोधनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तहको सिफारिस र समन्वयमा कार्यान्वयन हुने सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि रु छ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

सो नदीमा अन्य आयोजना पनि रहेकाले बाढीको आयतन बढ्नुमा अपर म्याग्दी–१ मात्र जिम्मेवार नभएको बताउँदै घलेले सडक मर्मत, धुलो र हिलो व्यवस्थापनका काममा अन्य आयोजनासँग समन्वय तथा साझेदारी गर्नुपर्ने भएकाले समस्या भएको प्रतिक्रिया दिनुभयो ।

विसं २०८३ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाको सिभिल ठेकेदार लुना विल्डर्स एन्ड कन्ट्याक्टर २०८१ जेठ ८ गते परिचालित भएको थियो । धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा पठाउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ ।

बाँध निर्माणस्थल नजिकै १०० मिटर लामो र १५ मिटर अग्लो तीनवटा पानी थिग्र्याउने पोखरी निर्माणाधीन छ । नदीप्रवाही प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर छ । ऊर्जा इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सोलुुसन परामर्शदाता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्समा आबद्ध छ । विद्युतगृहतदेखि मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधीन १३२ केभी क्षमताको सबस्टेशनमा जोड्नका लागि १.५ किलोमिटर लामो प्रसारण लाइनको अध्ययन भइरहेको छ ।

सानिमा बैंकको नेतृत्वमा छवटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने रु ११ अर्ब २३ करोड २७ लाख छ हजार लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ । आयोजनाबाट वार्षिक औसत ३१५.१ गिगावाट घण्टा ऊर्जा राष्ट्रिय प्रणालीमा जोडिनेछ

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

काठमाडौंँ – कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने ।

फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।

आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो ।

फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलान्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

“वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्डखण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयारी अवस्थामा राखिएको छ”, कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।

उनका अनुसार साविककै स्थानमा पुनःनिर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ । यसअघि भने खोलामै अस्थायी डाभइभर्सन बनाइएकाले रोशी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो ।

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ ।

विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो ।

क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरिरहेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।

“पुनःनिर्माण हुने सडकखण्ड दुई लेनको छ । हाल सञ्चालनमा रहेको पुलसँगै अर्को नयाँ पुल निर्माण गरिन्छ”, योगेशले भन्नुभयो । उहाँका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकलाई जाइकाले रु दुई अर्ब ६३ करोडबराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो ।

५५ अर्बभन्दा बढी लागतमा माथिल्लो मुगु कर्णाली आयोजना निर्माण हुँदै

सुर्खेत । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ ।

अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो ।

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुङ्गो लाग्ने बताए ।

आयोजनास्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको छ । यस्तै, डिजाइन र हेडवक्र्सको अध्ययन हाइड्रोल्याबमा भइरहेको कम्पनीले जनाएको छ । विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ । उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ । कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।

विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको कुल लागत रु ५५ अर्ब ३३ करोडबराबर रहनेछ ।

आजको मौसम : देशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ।

देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको धेरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ । मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोेरै स्थानमा, मधेस सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

 

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २२ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र बिक्रीदर ४०५ रुपैयाँ ६० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ २० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ। गत जेठ ३१ गते सुरु भएको अधिवेशन बिहीबार बसेको छैटौँ बैठकसँगै सकिएको हो।

बैठकमा नगरसभाको चौथो र पाँचौँ बैठकमा पेस भएका संशोधन विधेयक तथा वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो। विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनमा समसामयिक संशोधनसम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेस गरिन्।

पेस भएका विषयमाथि नगरसभा सदस्य विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राखे।

बैठकमा व्यक्त धारणा र लिखित संशोधन प्रस्ताव समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्णयार्थ प्रस्ताव पेस गरिन्। ती विधेयकसँगै पाँचौँ बैठकमा पेस भएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिको वार्षिक प्रतिवेदन पनि सदस्यहरूले दिएका सुझाव समेटेर निर्णयका लागि प्रस्तुत गरिएको थियो।

पेस भएका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएपछि सभाध्यक्ष डङ्गोलले नगरसभा सम्पन्न भएको घोषणा गरिन्। उनले स्वीकृत कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मतदाता, महानगरवासी तथा राजधानीमा आश्रित नागरिकको हित, उपयोग र सुरक्षाको सुनिश्चितता हुने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिन्।

नगरसभामा कार्यवाहक प्रमुख डङ्गोलले आर्थिक वर्ष २०८३/८४ का लागि ११ क्षेत्र समेटिएका १०१ बुँदे नीति प्रस्ताव पेस गरेकी थिइन्। उक्त प्रस्ताव असार १ गते बसेको दोस्रो बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो।

त्यसैगरी, असार ४ गतेको तेस्रो बैठकमा उनले आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सोही बैठकमा आर्थिक विधेयक र विनियोजन विधेयक पनि पेस गरिएको थियो।

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा कानुनविपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिएका छन् । कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै त्यस्ता कर्मचारी राख्न उनले निर्देशन दिएका हुन् ।

विगतमा विभिन्न निकायबाट कानुनविपरीत ठूलो सङ्ख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डा. तिमिल्सिनाले बताए । अब मन्त्रालय मातहतका निकाय तथा संस्थाले अत्यावश्यक र दैनिक कार्य सञ्चालनमा समस्या आउने अवस्था देखिएमा मात्र करार सेवामा कर्मचारी राख्ने तथा त्यस्तो नियुक्ति गर्दा विद्यमान कानुन, सम्बन्धित संस्थाको ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीले व्यवस्था गरेको कानुनी दायराभित्र रही प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति गर्न उनले निर्देशन दिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले विगतमा सार्वजनिक सञ्चारमाध्यमलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको, आर्थिक भार बढेको र संस्थालाई ठूलो दायित्व थपिँदै गएको देखिएकाले अब त्यस्तो अभ्यासलाई पूर्ण रूपमा अन्त्य गरिने बताए ।

सञ्चार मन्त्रालयको निर्देशनपछि गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) र राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीअनुसार कर्मचारी व्यवस्थापनको काम थालिसकेको मन्त्रालयले जनाएको छ ।

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले दातृ निकायलाई तत्काल सहयोगका लागि आह्वान गर्दै आगामी छ महिनाभित्र १३ लाख प्रभावित नागरिकलाई अत्यावश्यक सहायता उपलब्ध गराउने लक्ष्यसहित प्रारम्भिक चरणमा नौ करोड ६० लाख डलर आवश्यक रहेको बताए । उनले विभिन्न दातृ राष्ट्रले सहयोग सुरु गरिसकेको उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता औँल्याए ।

भेनेजुएला सरकारले पनि पुनःनिर्माणका लागि विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । विदेशमन्त्री यभान गिलले संयुक्त राष्ट्रसङ्घको बैठकमा भेनेजुएलासँग सम्बन्धित विभिन्न मुलुकमा रोक्का गरिएका कोष पुनःनिर्माणमा प्रयोग गर्न उपलब्ध गराउनुपर्ने बताए । उनका अनुसार ती सम्पत्ति अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रोक्का भएका हुन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बेलायतको बैंक अफ इङ्गल्यान्डमा रहेको करिब ३० टन भेनेजुएली सुन फुकुवा गरिदिन बेलायती राजा चार्ल्स तृतीयलाई पत्र पठाउने निर्णय गरेको जानकारी दिइन् । उनले उक्त सुन भूकम्पपछिको पुनःस्थापनामा अत्यावश्यक रहेको बताइन् ।

अमेरिकी सरकारले राहत कार्यलाई सहज बनाउन भेनेजुएलामाथिका केही आर्थिक प्रतिबन्ध चार महिनाका लागि अस्थायी रूपमा हटाएको छ । सन् २०१९ यता लागू गरिएका प्रतिबन्धहरू जनवरीमा राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएपछि क्रमशः खुकुलो पारिँदै आएका छन् । ट्रम्प प्रशासनले अन्तरिम नेतृत्वलाई समर्थन गर्दै विशेषगरी ऊर्जा क्षेत्रको पुनरुत्थानलाई ध्यानमा राखेर प्रतिबन्धमा सहुलियत दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जुन २४ मा आएको शक्तिशाली भूकम्पबाट भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ६ प्रतिशत बराबर ६ अर्ब ७० करोड अमेरिकी डलरको क्षति पुगेको छ । राजधानी काराकासको अन्तर्राष्ट्रिय विमानस्थलसमेत क्षतिग्रस्त भएकाले व्यावसायिक उडान अझै सञ्चालनमा आउन सकेको छैन ।

७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएको दुई सातापछि अधिकांश अन्तर्राष्ट्रिय उद्धार टोलीले जीवित व्यक्तिको खोजी अभियान समाप्त गरेका छन् । यद्यपि प्रभावित परिवार अझै पनि भग्नावशेषमा आफन्तको शव खोजिरहेका छन् । सरकारी विवरणअनुसार हालसम्म तीन हजार ८११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब १७ हजार घाइते भएका छन् । ला गुइरा क्षेत्रमा मात्र करिब १८ हजार मानिस घरबारविहीन भएका छन् ।

सबैभन्दा बढी प्रभावित काराबालेडा क्षेत्रमा धेरै परिवार राहत सामग्रीको प्रतीक्षामा खुला स्थानमा बसिरहेका छन् । उनीहरूले सीमित मात्रामा खाद्यान्न, पानी, डायपर र अन्य अत्यावश्यक सामग्री प्राप्त गरेका छन् । समुद्र किनारमा नरिवलको मिठाई बेच्दै आएकी २६ वर्षीया स्टेफनी गारेटले राहतले केही सहजता दिएको भए पनि यस्तो अवस्था कति समयसम्म रहने भन्ने अन्योल रहेको बताइन् ।

त्यसैगरी, ३४ वर्षीया केशकर्त्री जेनेसिस रामिरेज आफ्ना भतिजीहरूको खोजीमा भग्नावशेषमा पुगेकी छन् । एउटै भवनबाट एक बालक जीवित उद्धार गरिएकाले अझै आशा नमरेको उनको भनाइ छ । उनले शव नभेटिएसम्म आफन्त जीवितै हुन सक्ने विश्वास कायम रहेको बताइन् ।

ध्वस्त आवासीय भवनमा अहिले उत्खनन टोलीले भग्नावशेष हटाइरहेका छन् भने आफन्त शव फेला पर्ने आशामा घटनास्थलमै पर्खिरहेका छन् । एक सैनिकका अनुसार उद्धारको सम्भावना सकिएको र अब मुख्य काम शवको खोजी तथा व्यवस्थापन मात्र बाँकी रहेको छ ।

सुकुमवासीको उचित व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमवासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ ।

विसं २०८३ वैशाख १२ गतेदेखि काठमाडौँ जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गरेका सुकुमवासीको घरटहरा हटाइ उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो । हाल उनीहरुलाई ती सेन्टरबाट हटाइएको छे ।

विज्ञप्तिमा भनिएको छ, “सुकुमवासीलाई पछिल्लो पटक हटाएको मितिदेखि आयोगले हालसम्म उनीहरूको अवस्थाबारेमा गरिरहेको अनुगमनबाट सूचना टाँस गरी पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यतित भएपछि पुनः थप सात दिनको समयावधि तोकिएकोलगायत तथ्यहरु पाइएको छ ।”

राज्यका निकायबाट विनाविकल्प होल्डिङ सेन्टरबाट हट्न ‘अल्टिमेटम’ दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषतः उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायबाट अभिभावकत्व ग्रहण नगर्नेलगायत अवस्था देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।