`

नेपाली र नेपालभाषाका सङ्गीतकर्मी रत्न बेहोसीको निधन

काठमाडौं – रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को ९१ वर्षको उमेरमा निधन भएको छ। नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा ६ दशकभन्दा बढी योगदान दिएका बेहोसीको हिजो निधन भएको सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिएका छन्।

गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय बेहोसीका ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ र नेपालभाषाको ‘सु मदुगु ताक स्वया वा’ चर्चित गीत हुन्। नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिने उनको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

एमाले छाड्नु राजनीतिक जीवनकै ठूलो भूल थियो भन्दै बोले झलनाथ

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेकपा (एमाले) छाड्नु आफ्नो राजनीतिक जीवनकै ठूलो भूल भएको बताएका छन्। ‘नागरिक फ्रन्टलाइन’सँगको कुराकानीमा खनालले आफू भारतमा उपचाररत रहेका बेला प्राप्त गलत सूचनाका कारण एमाले विभाजनको पक्षमा लागेको बताएका हुन्।

खनालका अनुसार आफू उपचारका क्रममा भारतमा रहेका बेला पार्टीभित्रको अवस्थाबारे पूर्ण जानकारी नहुँदा एमाले विभाजनको पक्षमा उभिन पुगेका थिए। स्वास्थ्यलाभपछि नेपाल फर्किएर पार्टीभित्र १० बुँदे सहमति भइसकेको जानकारी पाएपछि आफू स्तब्ध भएको उनले बताए।

आफ्नो लामो राजनीतिक जीवनमा रगत र पसिना बगाएर निर्माण गरेको पार्टी छाड्दा देशभरका एमाले कार्यकर्ताको मन दुखेको पनि खनालले स्वीकार गरेका छन्। पार्टी विभाजनको निर्णयले आफूलाई समेत पछुतो भएको उनको भनाइ छ।

खनालले एमाले विभाजनले तत्कालीन अवस्थामा पार्टी र समग्र कम्युनिस्ट आन्दोलनमा असर परेको दाबी गरे। उनका अनुसार विभाजनका कारण कम्युनिस्ट आन्दोलन कमजोर हुनुका साथै लामो समयदेखि पार्टी निर्माणमा योगदान दिएका नेता तथा कार्यकर्ताबीच समेत दूरी बढेको थियो।

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८१ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ, डल्लो भन्टा ६० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ तथा घिउ सिमी (लोकल) ९० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी १०० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला १२० रुपैयाँ, लौका ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग १५० रुपैयाँ, पालुङ्गो साग १५० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

बलिउड अभिनेता नाना पाटेकरको निधन

काठमाडौं – बलिउडका चर्चित अभिनेता नाना पाटेकरको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा गोवास्थित डोना पाउलाको निवासमा बेहोस अवस्थामा निधन भएको हो। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रारम्भिक विवरणअनुसार उनलाई हृदयाघात भएको आशंका गरिएको छ। चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर गरे पनि उनलाई बचाउन नसकिएको मणिपाल अस्पतालले जनाएको छ। घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र पोस्टमार्टम गरिने बताइएको छ।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३० जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७०, सिसिटिभिमार्फत २७, रातोबक्तीमा १८ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा ११, लेन त्रसमा १३, अवस्था ठिक नभएको ९, एकतर्फीमा ९ र अन्यमा ३९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

कांग्रेस १५औँ महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु हुने भएको हो।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।

यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिले जनाएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ। खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ।

त्यस्तै खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाली हल बाट मतदान गर्ने व्यवस्था गरिएको छ। खुलामञ्चमा रहेको मधेश प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ।

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हल बाट मतदान गर्नेछन्।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो।

अब मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

मतदान केन्द्र र प्रतिनिधि समूह

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’

बागमती प्रदेश

मतदान केन्द्र ‘ख’ खुलामञ्चमा

कोशी प्रदेश तथा तराई–मधेस समूह

हिमाली हल

गण्डकी प्रदेश

तराई–मधेस हल

मधेश प्रदेश

पहाड हल

लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधि

मतदान सकिएपछि मतगणना सुरु हुनेछ भने मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।

बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भूभागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ ।

गण्डकी रलुम्बिनी प्रदेशको केही ठाँउ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकरदुई ठाँउमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्ज र चट्याङ्ग र असिना सहित हल्का वर्षारहिमपातको सम्भावना छ ।

मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशको बाँकी हिमाली र पहाडी भू(भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भुभागमा आंशिक बादल लाग्नेछ। कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागमा थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

एन्फामा ६६ लाख ५३ हजार अनियमितता, चार जनाविरुद्ध मुद्दा चलाउन सिआइबीको सिफारिस

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए ।

“अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट रु ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,” प्रवक्ता जबराले भने ।

एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो ।

“अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौँ । अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,” प्रवक्ता जबराले भने ।

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

लमजुङ । कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले बिउँझाउथ्यो ।

झिसमिसेमै घर–आँगनमा जाँतो घुम्थ्यो । ढिकीको ताल र जाँतोको घुमाइसँगै बस्ती बिस्तारै ब्युँझिन्थ्यो । अहिले भने गाउँबाटै त्यो आवाज क्रमशः हराउँदै गएको छ । अन्न कुट्ने र पिस्ने यी साधन घरायसी कामका उपकरण मात्र थिएनन्, गाउँको श्रम, आत्मनिर्भरता, खानपान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका अभिन्न हिस्सा थिए ।

आधुनिक प्रविधिको विस्तार, विद्युतीय मिलको सहज पहुँच र नयाँ पुस्ताको घट्दो चासोसँगै ढिकी–जाँतोको प्रयोग घट्दै गएको छ । प्रत्येक घरमा देखिने यी साधन अहिले कतै घरको कुनामा थन्किएका छन् भने कतै पुरानो पुस्ताको स्मरणमा मात्रै छन् ।

ढिकी नेपालको परम्परागत कुटानी–पिसानी प्रविधिको महत्त्वपूर्ण साधन हो । धान कुट्न, कोदो तथा जौको भुस निकाल्न, चिउरा बनाउन र विभिन्न खाद्य सामग्री कुट्न यसको प्रयोग हुन्थ्यो । जाँतोमा मकै, कोदो, फापर, गहुँ, दाललगायत अन्न पिसिन्थ्यो । स्थानीय सामग्रीबाटै निर्माण हुने यी साधन गाउँको आवश्यकता र सीपअनुसार विकसित परम्परागत प्रविधिका उदाहरण थिए ।

दूधपोखरी गाउँपालिकाकी ८५ वर्षीया मायाकुमारी गुरुङलाई आफ्ना पालाका ती दिन अझै सम्झना छ । “हाम्रा पालामा सबै घरमा ढिकी हुन्थ्यो । मकैको छुट्टै, कोदोको छुट्टै जाँतो हुन्थ्यो । गाउँमा मिल आएपछि सबैले ढिकी–जाँतो प्रयोग गर्न छाडे । त्यस बेलाको खानाको स्वाद सम्झँदा अहिले पनि जिब्रो रसाउँछ,” उनले भनिन् ।

दोर्दी गाउँपालिका–४ की ७९ वर्षीया लालमाया घिमिरेले आफ्नो जीवनको अधिकांश समय ढिकी कुट्दै र जाँतो पिन्दै बिताइन् । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरको स्वाद अहिले पनि बिर्सन नसकेको उनले सुनाइन् ।

“पहिले गाउँमा ढिकी–जाँतो नभएको घर हुँदैनथ्यो । अहिले देख्नै मुस्किल छ । विगतका ती दिन सम्झँदा कथाजस्तै लाग्छ,” उनले भनिन् ।

मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुका स्थानीय कामसार्की गुरुङका अनुसार गाउँमा करिब १३–१४ वर्षअघि विद्युतीय मिल सञ्चालनमा आएपछि ढिकी–जाँतो प्रयोग गर्ने चलन लगभग समाप्त भएको हो । “पहिले सबै घरमा ढिकी–जाँतो थियो । अहिले एकाध घरमा मात्रै बाँकी छ । परम्परा हराउँदै गएको देख्दा दुःख लाग्छ,” उनले भनिन् ।

मर्स्याङ्दी गाउँपालिका–३ ढगैँका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार १०–१२ वर्षअघिसम्म गाउँका अधिकांश घरमा ढिकी–जाँतो नियमित प्रयोग हुन्थ्यो । अहिले एक–दुई घरमा मात्रै ती सामग्री बाँकी रहेको उनले बताए । बेँसीसहर नगरपालिका–२ नरुवाल गाउँकी सावित्री रानामगरका अनुसार विद्युतीय मिल सञ्चालनमा आएपछि प्रयोग घट्दै गएर अहिले गाउँमा दुई घरमा मात्र ढिकी–जाँतो बाँकी रहेको उनले सुनाए ।

“मिल आएपछि सबैलाई सहज भयो । ढिकी–जाँतोमा धेरै समय र मेहनत लाग्ने भएकाले प्रयोग घट्यो । तर यी हाम्रो संस्कृतिको चिनारी भएकाले हराउँदै जाँदा निकै दुःख लाग्छ,” उनले भए ।

विगतमा महिलाको दैनिक जीवन ढिकी–जाँतोसँग जोडिएको थियो । बिहान सबेरैदेखि धान कुट्ने, मकै, कोदो, फापर, गहुँ र दाल पिस्ने गरिन्थ्यो । कतिपय स्थानका महिला एकै ठाउँमा भेला भएर पालैपालो कुटानी–पिसानी गर्ने चलन थियो ।

यसले श्रमसँगै आपसी भेटघाट र सामाजिक सम्बन्धलाई पनि जोड्ने गरेको पुरानो पुस्ताको अनुभव छ । त्यो श्रम सहज थिएन । स्थानीयका अनुसार विद्युतीय मिलमा एकमुरी धान करिब आधा घण्टामै कुट्न सकिन्छ । त्यही काम ढिकीमा गर्दा आधा दिनभन्दा बढी समय र निकै श्रम लाग्थ्यो ।

त्यसैले गाउँमा मिल स्थापना हुन थालेसँगै मानिसले समय र श्रम बचाउने आधुनिक प्रविधि रोजे । आधुनिक मिलले कुटानी–पिसानीको काम सहज बनाएको छ । समय र श्रम बचत भएको छ । त्यससँगै गाउँको परम्परागत श्रम संस्कृति, स्थानीय प्रविधि, आत्मनिर्भर जीवनशैली र मौलिक खानपानको एउटा अध्याय भने हराउँदै गएको छ । ढिकीमा कुटेको धानबाट बनेको चामल, काउनो र साबा तथा जाँतोमा पिसिएको मकै, कोदो र फापरबाट तयार हुने परिकार पुरानो पुस्ताको दैनिक भोजनका हिस्सा थिए ।

त्यसैले ढिकी–जाँतो हराउनु एउटा साधन हराउनु मात्र नभई त्यससँग जोडिएको खानपान, सीप र जीवनपद्धतिको एउटा अंश हराउनु पनि हो । संरक्षणमा ध्यान नदिने हो भने आगामी पुस्ताले ढिकी–जाँतोलाई प्रयोगमा होइन, इतिहासका पाना, सङ्ग्रहालय वा तस्बिरमा मात्र देख्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको चिन्ता छ ।

स्थानीयवासीले परम्परागत ढिकी–जाँतो संरक्षणका लागि स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गरी होमस्टे, सांस्कृतिक पर्यटन, विद्यालयको स्थानीय पाठ्यक्रम तथा सामुदायिक सङ्ग्रहालयसँग जोड्नुपर्ने बताएका छन् । प्रयोगमा नआए पनि यस्ता सामग्री सुरक्षित राख्ने, नयाँ पुस्तालाई यसको महत्वबारे जानकारी दिने तथा स्थानीय संस्कृति र पर्यटनसँग जोड्ने प्रयास गर्नुपर्ने उनीहरूको भनाइ छ ।

ढिकी–जाँतो हरेक घरमा चलाउन सम्भव नहोला । आधुनिक मिलले गाउँको जीवन सहज बनाएको छ । तर सहजतासँगै हराउँदै गएको मौलिक पहिचान जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यसको इतिहास, प्रविधि र त्यससँग जोडिएको संस्कृति जोगाउन सके कुनै समय ग्रामीण बिहान ब्युँझाउने ‘ढुक…ढुक…’ आवाज कम्तीमा भावी पुस्ताका लागि जीवित सांस्कृतिक सम्पदाका रूपमा रहिरहनेछ ।

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा पर्ने कुनौटामा यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले २५० मिटर सडक कटान गरेर बगाएको थियो । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचोलिएको जानकारी दिए ।

“बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि बेससहित कालीगण्डकीले सडक बगाएर कुनौटामा पैदलयात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो”, उनले भने, “चार दिनको प्रयासमा कुनौटामा दुईतर्फबाट जोडिएको सडकलाई फिलिङ, लेभल मिलाउने र सवारीसाधन सञ्चालन गर्न योग्य बनाउन थप एक–दुई दिन लाग्न सक्छ ।”

बुधबार कुनौटामा दुईतर्फबाट छ वटा एक्साभेटर र त्यतिकै सङ्ख्यामा माटो बोक्ने टिप्पर परिचालन गरिएको थियो । पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँचमार्ग र कुनौटाबाहेकका ठाउँमा प्रारम्भिक मर्मत कार्य सकिएको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चिनको सिमानामा रहेको कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको वर्षात्पछिको बाढीपहिरोले ५५ ठाउँमा अवरुद्ध बनेको थियो । असोज ८ देखि ११ गतेको झरिपछि कालीगण्डकीमा आएको बाढीले १० ठाउँमा सडक कटान गरेर बगाएको र भत्काएको छ ।

मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठूला सवारीसाधन सञ्चालन हुनेगरी मर्मत भएको छ । पोखरेबगर देखि कुनौटाको बीचमा पर्ने रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने र नयाँ मार्ग बनाएको ठाउँमा ग्रेड, घुम्ती मिलाउने, फराकिलो पार्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।

पोखरेबगर पुलमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण गरी पुललाई सडकले जोड्ने संरचना तयार पार्ने काम भइरहेको छ । आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजनाका प्राविधिक विनोद पौडेलले बताए ।

सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।

राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्”, उनले भने, “आर्थिक वर्ष २०७३–७४ मा सुरु भएको यस आयोजनामा यसपालीको विपद्ले हालसम्मकै ठूलो क्षति पुर्याएको छ ।” रु ८० करोडदेखि ९० करोड क्षति पुगेको यो सडक पुनर्निर्माणका लागि रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ ।

रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको छ । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

काठमाडौँलगायतका सहरमा चीनबाट आयात गरिएका सामान बोकेर आउका ५०० वटा कन्टेनर सडक मर्मत सकिँदाबित्तिकै गन्तव्यतर्फ जानका लागि प्रतीक्षा गरिरहेका छन् । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ, तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

धान भित्र्याउने बेलाको खेत क्षणभरमै बगर बनेपछि…

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहेका छन् । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि उहाँको वर्षभरिको अन्नको जोहो गर्ने आधार गुमेको छ ।

चौध जनाको परिवारलाई वर्षभरि खान पुग्ने धान फल्ने खेत बाढीले बगरमा परिणत गरिदिएपछि उनीसँग अब करिब तीन रोपनी बाँझो जमिन मात्रै बाँकी छ । “धान काटेर घर भित्र्याउने बेला खेत नै रहेन,” पुनले भने, “वर्षभरि खाने अन्न फल्ने जमिन बाढीले बगर बनाइदियो ।”

छिस्वाङमा वीरबहादुरको जस्तै पीडा पूर्णबहादुर पुनको पनि छ । पशुचौपाया राख्ने गोठसहित उनको तीन रोपनी धानखेत बाढीले बगाएको छ । अन्न फलाउने एक इन्च जमिन बाँकी नरहेपछि उहाँलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ ।

खहरे खोलाको बाढीले छिस्वाङका करिब ३५ परिवारको करिब डेढ सय रोपनी धानखेतमा क्षति पुगेको स्थानीयले बताएका छन् । अन्नबालीका लागि प्रख्यात छिस्वाङको खहरेखोला आसपासको खेतीयोग्य जमिन खोलाको बगरमा परिणत भएको छ ।

“पुर्खाले छोडेको जग्गा, वर्षौँको श्रम र लगानी केही घण्टामै बाढीले बगायो,” नरबहादुर घर्तीले भने, “धान भित्राउने समयमा खेत नै बगेपछि किसान ठुलो पीडामा छन् ।”

यही असोज ११ गतेको भीषण बाढीले छिस्वाङ खहरेको स्वरूप नै परिवर्तन गरिदिएको छ । केही समयअघिसम्म घरबस्ती र धानखेत रहेको ठाउँ अहिले माटो, ढुङ्गा र गेग्रानले भरिएको छ । बस्तीभन्दा करिब चार किलोमिटर माथि पाङ्ग्र्रा वनमा खसेको पहिरो खहरे खोलामा मिसिएपछि बाढी आएको थियो । पुल तथा कल्भर्टमा बाढी थुनिएपछि पानी र गेग्रान बस्तीतर्फ सोझिएको स्थानीय भिजन पुनले बताए ।

बाढीले छिस्वाङमा नौ घर पूर्ण रूपमा ध्वस्त बनाएको छ । २२ भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । मिल, पसल, गोठ तथा घरभित्रका अन्नपात र सामग्री बाढीले बगाएको छ । घरबास गुमाएका परिवार अहिले आफन्तको घर र शारदा माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।

तुलबहादुर घर्तीले रातको समयमा खानेपानीको पाइपलाइन मर्मत गरिरहेको बेला खोल्सामो बाढी आएका स्मरण गरे । भागेर ज्यान बचाएको उनले सुनाए । “श्रीमती खोलापारि र मैले वारि बसेर खानेपानीको पाइपलाइन मर्मत गरिरहेका थियौ । एक्कासि बाढी आएपछि भागाभाग गरेका थियौँ,” उनले भने, “केही सेकेण्ड छिटो भाग्न सफल हुँदा ज्यान जोगिएको हो ।” घर्तीले खेतबारी पुरिनुका साथै घरभित्र बाढी पसेर क्षति पुगेको बताए ।

घर, गोठ, अन्नपात र खेतबारीमा ठुलो क्षति पुगेको स्थानीयवासी गौदेवी पुनले गुनासो गरे । “घर पनि रहेन, खेत पनि बचेन्,” पुनले भने, “अब बस्ती जोगाउने गरी नदी नियन्त्रणको काम तत्काल हुनुपर्छ ।” पुनले नदी नियन्त्रण, कल्भर्ट व्यवस्थापन र जोखिममा परेको बस्तीको दीर्घकालीन पुनः स्थापनाको माग गरे ।

तुलप्रसाद पुन, मेखबहादुर पुन, पूर्णप्रसाद पुन, देवान घर्ती, नरबहादुर घर्ती, गौदेवी पुन, सरोज विक, जितबहादुर पुन र श्यामप्रसाद विकको घर पूर्ण क्षति भएको मङ्गला गाउँपालिका–५ का वडाअध्यक्ष भूपेन्द्र खत्रीले बताए ।

घरबास र आम्दानीको आधार एकैपटक गुमेपछि परिवारको दैनिक गुजारा कठिन बनेको श्याप्रसाद बिकले बताए । स्थानीय चित्रबहादुर बिकले पहिरो र बाढीले पाइपलाइन, खानेपानीको ट्याङ्कीमा क्षति पुर्‍याएपछि पिउने पानीको समस्या भएको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार प्रारम्भिक चरणमा छिस्वाङमा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको थियो । अहिले सडकमार्गबाट समेत राहत तथा सहयोग पुर्‍याउन सकिने अवस्था बनेको उनले बताए ।

केही दिनअघि पहिरो र बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रजिअ गैरेलगायत सुरक्षा अधिकारीहरुसहित छिस्वाङ पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीसँग स्थानीयले बस्ती संरक्षण र बाढी नियन्त्रणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको साझेदारी तथा समन्वयमा बस्तीलाई सुरक्षित बनाउने, पहिरोको थप जोखिमको अध्ययन र पुनः स्थापनाका लागि पहल भइरहेको उनले बताए ।

दुई वर्षमा टरिगाउँमा १४ सय मिटर धावनमार्ग बन्छ: मन्त्री पौडेल

दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ विमानस्थलमा दुई वर्षभित्र १४ सय मिटर धावन मार्ग विस्तार गरिने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित उक्त विमानस्थलको आज स्थलगत अवलोकनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तुलसीपुरमा आयोजना गरेको ‘समग्र दाङको विकासमा टरिगाउँ विमानस्थलको महत्त्व’ विषयक खुला छलफल कार्यक्रममा मन्त्री पौडेलले चालु आर्थिक वर्षमा रु २५ करोड बजेट विनियोजन भएको भन्दै उक्त बजेटबाट यसै वर्षदेखि प्रारम्भिक काम सुरु गर्ने समेत बताए ।

“अहिले रु २५ करोड बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “यसबाट प्रारम्भिक अध्ययन र फिलिङको काम सुरु गर्न सकिन्छ । यस वर्ष नै काम थालेर दुई वर्षभित्रमा कम्तीमा १४०० मिटर रनवे विमानस्थलको स्तरोन्नति हुनेछ ।”

मन्त्री पौडेलले नेपालगन्जमा कुहिरोले ढाक्यो वा अरू कारणले जहाज अवतरण हुन नसकेको अवस्थामा पनि टरिगाउँ विमानस्थललाई वैकल्पिक रूपमा विकास गर्न सकिने बताए । उनले प्राविधिकहरुले अवलोकन गरेका आधारमा धावनमार्ग अहिलेकै अवस्थामा विस्तार गर्न सकिने समेत बताए । हाल ७५० मिटर लम्बाइको धावन मार्ग रहेको उल्लेख गर्दै मन्त्री पौडेलले त्यसमा ६०० मिटर थप गर्न सकिने सम्भावना रहेको बताए ।

“रनवे एक्सटेन्सनको सम्भावना एकदमै छ”, उनले भने, “रनवेलाई टिल्ट गर्नुपर्छ भन्ने सुनिए पनि नपर्नेजस्तो प्रारम्भिक अनुमान छ ।”

कार्यक्रममा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विमानस्थल निर्माणका विषयमा अनावश्यक राजनीतिक विवाद नगर्न आग्रह गरे । उनले टरिगाउँ विमानस्थलको स्तरोन्नति क्षेत्रीय अर्थतन्त्रसँग जोडिएको बताए। “हामीले नारायणपुर र टरिगाउँको विवाद बन्द गर्नुपर्छ”, उनले भने, “त्यसैले अहिलेका लागि टरिगाउँ विमानस्थललाई विस्तार गर्ने हो ।”

महामन्त्री आचार्यले विमानस्थलले झण्डै १८ लाख जनसङ्ख्यालाई जोड्ने उल्लेख गर्दै उक्त विमानस्थल दाङको मात्र नभई सल्यान, रोल्पा, रुकुम, सुर्खेतलगायतका नागरिकसँग जोडिने बताए ।

त्यस्तै दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले आफ्नो कार्यकालभित्र ठुला जहाज उडाउने प्रतिबद्धता व्यक्त गरे । “यहाँ कसैले विमानस्थल बन्दै बन्दैन र बनाउनै सकिँदैन भन्ने भाष्य बनाएका छन्”, उनले भने, “अब यो विमानस्थल बन्छ र बनाउनुपर्छ ।” उहाँले दाङको समग्र विकासका लागि सडक, स्वास्थ्य र नेपाल संस्कृत विश्वविद्यालयको स्तरोन्नति पनि सँगै अघि बढाइने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले टरिगाउँ विमानस्थलका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलले धावनमार्गको ओरिएन्टेसन यथावत् राखी कसरी लागत घटाउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनका अनुसार विस्तृत अध्ययनपछि यसलाई अगाडि बढाउन सकिनेछ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसीले १२५० मिटर धावनमार्गमा ७२ सिट क्षमताको जहाज अवतरण गर्न सक्दैन भन्ने भ्रामक भाष्यलाई चिर्दै विनियोजित रु २५ करोड बजेटबाट तत्काल काम सुरु गर्नुपर्ने बताए ।

“भरतपुरको १२५० मिटर, सिमराको ११९२ मिटर र सुर्खेतको १२५५ मिटरमा ७२ सिट क्षमताको एटीआर जहाज सञ्चालनमा छन्, भने हाम्रो १२५० मिटरमा किन बस्दैन रु यो आम दाङवासीको साझा प्रश्न हो”, उनले भने, “रु २५ करोड बजेटबाट ७५० मिटरको धावनमार्गलाई १२५० मिटर पुर्‍याउन टेन्डर प्रक्रिया तत्काल अघि बढाइनुपर्छ ।” ठुला जहाज सञ्चालन भएमा छ महिनासम्मको जहाजको टिकटको जिम्मा लिन निजी क्षेत्र तयार रहेको समेत उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले अहिले विनियोजन गरिएको बजेट कार्यान्वयन गर्नका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । विसं २०४२ सम्म नियमित हवाई सेवा सञ्चालन भए पनि त्यसयता उक्त विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन हुन सकेको छैन ।

पछिल्लो समय हप्तामा चार दिन जहाज चल्ने भनिए पनि नियमित रूपमा चल्न सकेको छैन । यसलाई निरन्तरता दिन यस क्षेत्रका सरोकारवालाले पटक–पटक दबाबमूलक अभियान समेत सञ्चालन गर्दै आएका छन् । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर छ । जसले गर्दा १९ सिट क्षमताको जहाज मात्रै अवतरण गर्न सक्छन् । विमानस्थलमा इन्धन डिपो समेत स्थापना भएको छ ।

यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले आज पश्चिम दाङको दङ्गिशरण गाउँपालिका–५ चखौरास्थित थारु सङ्ग्रहालयको समेत अवलोकन गरे ।

तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

महासङ्घले सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ ।

महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।

दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने कुनै रोक लाग्ने छैन ।

त्यसैगरी, घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ ।

काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणको लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासङ्घका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।

यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने छ ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ०५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४० पैसा र बिक्रीदर १५ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १५ पैसा र बिक्रीदर २३ रुपैयाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ९२ पैसा बिक्रीदर ४११ रुपैयाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ९९ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?

काठमाडौँ । सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ । सङ्घले गत सोमबारदेखि सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ रहेको जनाएको छ ।

मध्यपूर्वको तनावपछि चुलिएको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिका कारण इलेक्टोनिक चिपसेटको मूल्य बढेको र यसबाट सेवा प्रदायकको सञ्चालन खर्चसमेत उठ्न नसकेको भन्दै सङ्घले सुपथ मूल्यका प्याकेज बन्द गर्ने निर्णय गरेको थियो ।

सङ्घको निर्णयसँगै निजी इन्टरनेट सेवा प्रदायकले सस्ता प्याकेजको बिक्री बन्द भएको घोषणा गरेका छन् । इन्टरनेट दैनिक जनजीवनको हिस्सा बनिरहँदा एक्कासि सुपथ मूल्यका प्याकेज बन्द हुँदा न्यून वर्ग इन्टरनेटको सुविधाबाट वञ्चित हुनुपर्ने हो कि भन्ने आशङ्का बढेको छ ।

यही सन्दर्भमा हामीले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का प्रवक्ता डा कमल लामिछानेलाई के टेलिकमले पनि सुपथ मूल्यका साना प्याकेज बन्द गर्दैछ भनेर प्रश्न सोधेका छौँ । राससको जिज्ञासामा उहाँले भने, “टेलिकमले ग्राहकलाई जुन प्याकेज बिक्री गरिरहेको छ, त्यो निरन्तर रूपमा चल्छ । अहिले मूल्य बढाउने सोच छैन, टेलिकमले ग्राहकलाई उपलब्ध गराएको प्याकेज निकै सर्वसुलभ दरको छ ।”

अन्य सेवा प्रदायकको तुलनामा टेलिकमले सुपथ मूल्यमा वार्षिक र दुई वर्षको इन्टरनेट प्याकेज बिक्री गरिरहेको उनको दाबी छ । टेलिकमको फाइबर इन्टरनेट प्याकेज खरिद गर्दा ग्राहकले मोबाइलमा दैनिक ६०० एमबीदेखि एक हजार एमबीसम्म डाटा निःशुल्क पाउँदै आएको कम्पनीले जनाएको छ । एक महिने र तीन महिने प्याकेजहरू पनि सञ्चालनमा रहेका छन् । कम्पनीले हाल उपलब्ध गराइरहेका फाइबर इन्टरनेट प्याकेजको विस्तृत विवरण वेबसाइटमा हेर्न सकिनेछ ।

“अहिले उपभोक्तालाई इन्टरनेट ब्यान्डविथ जे–जति दिएछौँ, त्योभन्दा बढी नै पाउनुहुन्छ, त्योभन्दा कम हुँदैन । बिलिङको पाटो पनि पारदर्शी छ”, प्रवक्ता लामिछानेले भने । अझ दुई वर्षको प्याकेज एकैचोटी खरिद गर्दा एक वर्षको प्याकेजमा पाउने सुविधामा झन्डै १५ प्रतिशत सुहलियत उपलब्ध गराइएको टेलिकमको दाबी छ ।

अहिले टेलिकमले घरायसी ग्राहकलाई एक वर्षका लागि ५० एमबिपिएसको इन्टरनेट रु आठ हजार ४९९ मा उपलब्ध गराउँदै आएको छ । दुई वर्षको सेवा एकैपटक लिँदा उक्त ग्राहकले जम्मा रु १४ हजार ९९९ मात्र तिर्नुपर्छ । एकैपटक वार्षिक शुल्क भुक्तानी गर्दा दैनिक ६०० एमबी मोबाइल डाटा निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

टेलिकमले ७५ एमबिपिएसको इन्टरनेटका लागि वार्षिक १० हजार ४९९, १०० एमबिपिएसका लागि ११ हजार ४९९, एक सय ५० एमबिपिएसका लागि १२ हजार ९९९ र २०० एमबिपिएसका लागि १६ हजार ४९९ शुल्क तोकेको छ । गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकको सङ्ख्या चार लाख दुई हजार ११० पुगेको छ ।

इन्टरनेट जडान र मर्मतसम्भारलाई थप व्यवस्थित बनाइएको टेलिकमले जनाएको छ । “इन्टरनेट जडान गर्न चाहने ग्राहकले कार्यालयमा आउनुपर्ने छैन, सिधैँ १९८ मा फोन गरेर ‘डिमान्ड’ लिन सक्नुहुन्छ”, प्रवक्ता लामिछानेले भने, “उपभोक्तालाई चुस्त सेवा दिन सार्वजनिक बिदा तथा चाडपर्वमा पनि काउन्टर खुला राखेका छौँ ।” हाल टेलिकमको फाइबर सेवा ७७ जिल्लाका झन्डै ४०० पालिका र पालिकाका केन्द्रमा पुगेको छ । यो सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ ।

“राष्ट्रिय आवश्यकताको हिसाबले लाभ र लागत नहेरी दुर्गम र अति दुर्गम स्थानमा सेवा विस्तार गरिरहेका छौँ”, प्रवक्ता लामिछानेले भने, “फाइबर इन्टरनेट नपुगेको स्थानमा ‘ब्रोडव्याण्ड इन्टरनेट’ सेवा उपलब्ध गराइरहेका छौँ ।” फाइबर इन्टरनेटसँगै मोबाइल डेटा र विभिन्न छुट हिसाब गर्दा उपभोक्तालाई इन्टरनेटको लगानी अत्यन्त न्यून पर्न जाने कम्पनीको दाबी छ ।

टेलिकमको फाइबरबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन हेर्न, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई ‘थ्री प्लस वान’ नामाकरण गरेको छ ।

अब टेलिभिजन हेर्न ‘भर्चुअल सेट–टप बक्स’

टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराइरहेको टेलिभिजन सेवा एनटीटिभीअन्तर्गत स्मार्ट टिभी प्रयोगकर्ताले ‘सेट टप बक्स’बिना नै सेवा प्रयोग गर्न सक्ने सुविधा ल्याएको छ । कम्पनीले यही असोज १५ देखि हाललाई एन्ड्रोइड टिभीका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको छ ।

ग्राहकहरूले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टिभीमा यो भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ । ग्राहकहरूले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटिभी’ सर्च गरेर इन्स्टल गरी भर्चुअल सेट–टप बक्स प्रयोग गर्न सक्नेछन् ।

आगामी दिनमा सबै स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको टेलिकमका प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको छ ।

नयाँ प्याकेज खरिद गर्दा ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा रु एक हजार छुट हुने व्यवस्था गरिएको छ । टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको छ । भर्चुअल सेट–टप बक्ससहितको टेलिभिजन प्रयोग गर्न कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको छ । वार्षिक र दुई वर्षे प्याकेजमा मोबाइल डाटा सुविधासमेत उपलब्ध छ ।

सार्वजनिक जीवनको २५ वर्ष पूरा गरेका भारतीय प्रधानमन्त्री मोदीलाई बालेन र रविकाे बधाई

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाहले बधाई ज्ञापन गरेका छन्।

गुजरातको मुख्यमन्त्रीदेखि सुरु भएको सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन्। प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै लेखेका छन्, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाका लागि हार्दिक बधाई तथा शुभकामना छ । नेपाल आगामी दिनमा पनि यहाँ र यहाँको सरकारलाई निरन्तर सफलता र समृद्धिको शुभकामना व्यक्त गर्दछ।”

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि एक्समार्फत नै प्रधानमन्त्री मोदीलाई शुभकामना व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई २५ वर्षको समर्पित सार्वजनिक सेवाको उल्लेखनीय यात्राका लागि हार्दिक बधाई तथा शुभकामना । यहाँको दूरदर्शी नेतृत्वमा भारतले गरेको रूपान्तरण र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको छ ।”

सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट दुवै राष्ट्रको साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउनका लागि सहकार्य गर्न उत्सुक रहेको पनि सो शुभकामना सन्देशमा बताए।

ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छ – सञ्चारमन्त्री

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन्।

ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई)ले १७ औँ एसिया प्यासिफिक रिजनल ईन्टरनेट गभर्नेन्स फोरम–२०२६ को समापन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले डिजिटल प्रविधिले नागरिकको शिक्षा, सञ्चार, व्यवसाय, सार्वजनिक सेवा तथा सार्वजनिक जीवनमा सहभागितालाई सहज बनाउँदै गएको बताए।

उनले नेपालको भौगोलिक विविधताका कारण विशेषगरी ग्रामीण, दुर्गम र हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार चुनौतीपूर्ण भए पनि सरकारले यसलाई प्राथमिकतामा राखेको बताए। इन्टरनेटको पहुँच विस्तारसँगै सेवाको गुणस्तर, विश्वसनीयता र सबलता सुनिश्चित गर्न पनि सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

“डिजिटल रूपान्तरणको उद्देश्य देशलाई डिजिटल बनाउनु मात्र नभै डिजिटल प्रविधिमार्फत नागरिकको जीवनमा सुधार ल्याउनु पनि हो,” सञ्चारमन्त्री तिमिल्सिनाले भने। उनले इन्टरनेटको पहुँच मात्र विस्तार गरेर नपुग्ने बताउँदै नागरिकले आवश्यक परेको समयमा भरपर्दो र गुणस्तरीय सेवा पाउनुपर्नेमा जोड दिए। व्यवसायका लागि विश्वसनीय सञ्जाल, सार्वजनिक सेवाका लागि निरन्तर सञ्चार तथा विपद्का समयमा सञ्चालनमा रहने सञ्चार प्रणाली आवश्यक रहेको उनले बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले हालैको रसुवा भोटेकोशी–त्रिशूली विपद्ले सञ्चार पूर्वाधारको महत्त्व थप उजागर गरेको उल्लेख गरे। सडक तथा अन्य भौतिक संरचना क्षतिग्रस्त हुँदा, समुदाय एकअर्काबाट अलग हुँदा र उद्धार तथा राहतमा समन्वय आवश्यक पर्दा सञ्चार सेवा अत्यावश्यक हुने उनको भनाइ थियो।

उनले डिजिटल प्रविधिबाट ग्रामीण क्षेत्रका विद्यार्थीले विश्वभरको ज्ञानमा पहुँच पाउन सक्ने, किसानले बजार तथा मौसमसम्बन्धी सूचना प्राप्त गर्न सक्ने र साना उद्यमीले स्थानीय सीमाभन्दा बाहिरका बजारमा पहुँच बनाउन सक्ने अवस्था सिर्जना भएको बताए। सरकारले आगामी दिनमा डिजिटल पहुँचसँगै डिजिटल समावेशिता, साइबर सुरक्षा, विश्वसनीयता र विपद् प्रतिरोधी सञ्चार प्रणाली विकासमा ध्यान दिने सञ्चारमन्त्री तिमिल्सिनाले बताए।

रुसमा प्रयोगशाला कर्मचारीको मृत्युबारे डब्लुएचओले माग्यो थप जानकारी

काठमाडाैँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले रुसमा प्लेगसम्बन्धी खबर सार्वजनिक भइरहेका बेला प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर निमोनियाबारे थप जानकारी उपलब्ध गराउन रुसी अधिकारीसँग आग्रह गरेको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कन गर्न समयमै, पूर्ण र पारदर्शी रूपमा सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन्। उनले आवश्यक परे मस्कोलाई प्राविधिक सहयोग उपलब्ध गराउन डब्लुएचओ तयार रहेको बताए।

टेड्रोसले सामाजिक सञ्जाल ‘एक्स’मा डब्लुएचओले इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युटमा प्रयोगशालाका एक कर्मचारीको मृत्युबारे अनुसन्धान गरिरहेको उल्लेख गरे। उनका अनुसार ती कर्मचारीलाई अक्टोबर २ मा गम्भीर निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो र पछि उनको मृत्यु भएको थियो।

प्रारम्भिक सञ्चारमाध्यमका खबरमा प्रयोगशालामा भएको भनिएको दुर्घटनात्मक सम्पर्कपछि ती कर्मचारीमा ‘न्युमोनिक प्लेग’ सङ्क्रमण भएको हुन सक्ने उल्लेख गरिएको थियो। तर, डब्लुएचओले यसबारे थप आधिकारिक जानकारी मागेको छ।

डब्लुएचओले शनिबार अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन (आइएचआर) अन्तर्गत रुसी अधिकारीसँग घटनाबारे जानकारी मागेको थियो । आइएचआर सीमापार फैलिन सक्ने जनस्वास्थ्य जोखिम तथा आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि देशको अधिकार र दायित्व निर्धारण गर्ने कानुनी रूपमा बाध्यकारी अन्तरराष्ट्रिय ढाँचा हो । यसअन्तर्गत देशले आइएचआरका अनुरोधमा समयमै जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । रुसले मङ्गलबार आइएचआरलाई जवाफ दिएको थियो।

टेड्रोसका अनुसार आइएचआरले गम्भीर निमोनियाको कारण, जनस्वास्थ्यका लागि जोखिम उत्पन्न गर्न सक्ने रोगजनकको सम्भावित पहिचान तथा अज्ञात कारणले निमोनिया भएका भनिएका अर्का कर्मचारीबारे थप स्पष्टीकरण मागेको छ।

उपलब्ध सूचनाका आधारमा आइएचआरको प्रारम्भिक जोखिम मूल्याङ्कनले इर्कुत्स्क क्षेत्रमा जोखिम मध्यमदेखि न्यून, समग्र रुसमा न्यून र युरोपमा अति न्यून रहेको जनाएको छ।

मङ्गलबार तान्जानियामा विश्वभरका सांसदलाई सम्बोधन गर्दै टेड्रोसले स्वास्थ्य क्षेत्रमा अन्तरराष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभएको थियो । “भाइरसले सीमा मान्दैनन्,” उनले भने।

नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

काठमाडौँ, २१ असोजः नेपाल र रुसी महासङ्घबीचको द्विपक्षीय परामर्श बैठक आज यहाँ सम्पन्न भएको छ । नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको बैठकमा दुई देशबीचको समग्र सम्बन्धका विषयमा समीक्षा भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसारबैठकमा नेपाल र रुसी महासङ्घबीच लामो समयदेखि कायम मित्रता र घनिष्ठ साझेदारीप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्दै शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्य र सहयोगलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुवै पक्षले आ–आफ्नो देशमा भएका राजनीतिक तथा आर्थिक विकासका विषयमा एकअर्कालाई जानकारी गराउनका साथै रुसी सेनामा रहेका नेपाली नागरिक, हराइरहेका नेपाली नागरिक, युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिक तथा क्षतिपूर्तिसम्बन्धी विषयमा पनि छलफल भएको थियो । त्यसैगरी जलवायु परिवर्तन तथा बहुपक्षीय प्रणालीमा सहकार्यलगायत आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको थियो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र रुसी महासङ्घका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहअध्यक्षता गर्नुभएको थियो । रुसी प्रतिनिधिमण्डलमा नेपालका लागि रुसी राजदूत अलेक्सेई सुरोवत्सेभ, रुसी विदेश मन्त्रालयका अधिकारी तथा रुसी दूतावासका कूटनीतिज्ञ सहभागी हुनुहुन्थ्यो ।

बैठकपछि परराष्ट्र सचिव राईले रुसी उपविदेशमन्त्री रुडेन्को तथा प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोज आयोजना गर्नुभएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालय र रुसी महासङ्घको विदेश मन्त्रालयबीच परामर्शसम्बन्धी प्रोटोकलमा सन् १९९५ सेप्टेम्बर ५ मा हस्ताक्षर भएको थियो ।

यसैबीच, राजदूत सुरोवत्सेभले आज साँझ स्वागत समारोह आयोजना गर्नुभयो । त्यस अवसरमा उपविदेशमन्त्री रुडेन्कोले बहुआयामिक रुस–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गर्दै आफ्नो मुलुकले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका साथै शाङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चमा क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका साझा विषयमा दुवै देशले सहकार्य गर्दै आएका बताउनुभयो ।

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ अमेरिकी डलर पुगेको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।

१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव

जेनेभा। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले १० वर्षमुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ ।

बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो ।

डब्लुएचओका अनुसार ० देखि ९ वर्ष उमेर समूहका बालबालिकामा मोटोपन उपचारका लागि औषधि, बेरियाट्रिक शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग गर्न सिफारिस गरिँदैन । १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा भने निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्र स्वीकृत औषधि प्रयोगबारे विचार गर्न सकिनेछ ।

अत्यधिक मोटोपन भएका किशोरकिशोरीमा भने कडा मापदण्ड र चिकित्सकीय सर्तपूरा भएमा बेरियाट्रिक शल्यक्रियाबारे विचार गर्न सकिने डब्लुएचओले जनाएको छ । विशेषगरी टाइप–२ मधुमेह वा उच्च रक्तचापजस्ता स्वास्थ्य जटिलता देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिनेछ ।

यी सिफारिस वयस्कको मोटोपनसम्बन्धी डब्लुएचओको निर्देशिकाभन्दा फरक छन् । सन् २०२५ डिसेम्बरमा जारी वयस्कसम्बन्धी निर्देशिकामा ओजेम्पिक र माउन्जारोजस्ता जिएलपी–१ वर्गका औषधिसहित तौल घटाउने तथा मधुमेह नियन्त्रणका औषधि प्रयोग गर्न सकिने उल्लेख गरिएको थियो ।

डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि ९ वर्ष उमेर समूहका करिब सात करोड बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका करिब १० करोड किशोरकिशोरी मोटोपनबाट प्रभावित थिए । पाँचदेखि १९ वर्ष उमेर समूहमा मोटोपनको दर सन् १९९० को दुई प्रतिशतबाट बढेर सन् २०२४ मा आठ प्रतिशत पुगेको छ ।

डब्लुएचओको पोषण तथा खाद्य सुरक्षा विभागकी निर्देशक लुज मारिया डे रेगिलले मोटोपन सबै क्षेत्रमा बढिरहेको बताउनुभयो । उहाँका अनुसार कम तथा मध्यम आय भएका देशमा समस्या तीव्र रूपमा बढिरहेको छ भने केही उच्च आय भएका देशमा वृद्धि रोकिए पनि समस्या अझै उच्च छ ।

डब्लुएचओले मोटोपनसँगै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने जनाएको छ । चिन्ता, डिप्रेसन र न्यून आत्मसम्मानले अस्वस्थ खानपान तथा शारीरिक निष्क्रियता बढाउन सक्ने भन्दै सङ्गठनले मोटोपन भएका बालबालिकाले सामाजिक लाञ्छना र बुलिङको सामना गर्नुपर्ने जोखिमतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता

काठमाडौँ। बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति अशोकराज सिग्देलले आज बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ सर रोली वाकरसँग भेटवार्ता गर्नुभएको छ ।

सर वाकरको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी औपचारिक भ्रमणका लागि प्रधान सेनापति सिग्देल गत सोमबार बेलायत प्रस्थान गर्नुभएको थियो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार प्रधान सेनापति सिग्देल र बेलायती सेनाका चिफ अफ द जनरल स्टाफबीच आज भएको भेटमा आपसी हित र नेपाल बेलायत सैनिक सम्बन्धका बारेमा कुराकानी भएको जनाइएको छ ।

साथै यस भ्रमणका क्रममा उहाँले हिजो पनि विभिन्न उच्च सैनिक अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै उहाँले गोरखा सैनिक स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको पनि निर्देशनालयले जनाएको छ ।

क्रिकेट : नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ, २१ असोज : आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै २४० रनको नयाँ लक्ष्य बोकेर ब्याटिङ गरेको थियो । त्यसपछि २४० रनको लक्ष्य नेपालले ४८ दशमलव २ ओभरमा ८ विकेट गुमाउदै पूरा ग¥यो ।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ७२ रनको योगदान दिए । त्यसैगरी आसिफ शेखले ३७, देव खनालले ३४ तथा गुल्शनकुमार झाले ३० रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान ‘ए’ले ३९.५ ओभरमा सवै विकेट गुमाउँदै १६० रन बनाएको थियो । ओमान ‘ए’का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका लागि नन्दन यादवले तीन तथा करण केसी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । त्यस्तै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र शाहब आलमले एक एक विकेट लिए । ओमानमा नेपाल, ओमान र क्यानडा सम्मिलित तीन राष्ट्रले यसै साता आइसिसी विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय शृङ्खला खेल्दैछन् ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका प्रतिवादीहरूबाट सात वर्ष दुई महिना २७ दिन कैद सजाय र रु दुई लाख त्रिहत्तर हजार ७७७ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेकामाथि जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो, बाल शोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरलगायतका मुद्दा रहेका छन् ।

प्रहरीको १० दिने विशेष अभियानअन्तर्गत पक्राउ परेका ३७ प्रतिवादीलाई कसुरअनुसार आवश्यक कारबाही, कैद तथा जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रवक्ता गौतमले जानकारी दिए ।

रूपपुर आणविक संयन्त्रप्रति आशा र चिन्ता

काठमाडाैँ। बङ्गलादेश आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्र सञ्चालनको तयारीमा रहँदा यसबाट दीर्घकालीन विद्युत् अभाव अन्त्य हुने आशा बढेको छ । तर, संयन्त्रनजिकै बसोबास गर्ने स्थानीय बासिन्दामा आणविक सुरक्षालाई लिएर चिन्ता पनि कायमै छ।

ढाकाबाट करिब १५० किलोमिटर पश्चिम पद्मा नदीको किनारमा रहेको १३ अर्ब अमेरिकी डलरको रूपपुर आणविक ऊर्जा संयन्त्र एक दशकभन्दा लामो समयको निर्माणपछि सञ्चालनको चरणमा पुगेको हो । २.४ गिगावाट क्षमताका दुई रिएक्टर पूर्ण रूपमा सञ्चालनमा आएपछि १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति गर्ने अपेक्षा गरिएको छ । पहिलो रिएक्टर यसै वर्षको अन्त्यसम्म र दोस्रो एक वर्षभित्र सञ्चालनमा आउने अधिकारीहरूले बताएका छन्।

रुसी राज्य आणविक निगम रोसाटमसँगको सहकार्यमा निर्माण भइरहेको परियोजनाले रूपपुरको ग्रामीण अर्थतन्त्र र जनजीवनसमेत बदलिदिएको छ। हजारौँ रुसी कामदारका कारण आवास, पसल र रेस्टुरेन्ट खुलेका छन् भने बङ्गाली, अङ्ग्रेजी र रूसी भाषामा लेखिएका सङ्केतपाटी देखिन्छन्। स्थानीयवासीले कामदारलाई तरकारी र फलफूल बेच्नेदेखि अन्य व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

संयन्त्रका अधिकारीहरूले कडा सुरक्षा व्यवस्था अपनाइएको र विगतका आणविक दुर्घटनाबाट सिकिएका पाठलाई परियोजनामा समावेश गरिएको बताएका छन्। १५ वर्षीय मोहम्मद नाफिजले रूपपुर विश्वभर परिचित हुनुमा खुसी लागेको र भविष्यमा इन्जिनियरिङ अध्ययनपछि संयन्त्रमा काम गर्ने आशा रहेको बताए।

तर, ८० वर्षीय मोहम्मद युनुस अलीले घना बस्तीबीच आणविक सुविधा निर्माण गरिएकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार केही दिनअघि कम्प्रेसर परीक्षणका क्रममा आएको ठुलो आवाजले सुतिरहेका बालबालिकासमेत डराएका थिए । “म आफ्नो जीवनका लागि डराएको छैन, तर मेरा छोराछोरी र नातिनातिनीको सुरक्षा चाहन्छु”, उनले भने।

रूपपुरमा आणविक संयन्त्र निर्माण गर्ने योजना सन् १९६० को दशकदेखि अघि बढेको थियो। विभिन्न देशसँगको वार्ता असफल भएपछि बङ्गलादेशले सन् २०१५ मा रुससँग सम्झौता गरेको थियो ।

परियोजनाको मूल लागतको करिब ९० प्रतिशत ऋण रुसी पक्षले उपलब्ध गराउने सहमति भएको थियो भने निर्माण सन् २०१७ मा सुरु भएको थियो । कोभिड–१९ महामारी र युक्रेनमाथि रुसको आक्रमणपछि लगाइएका प्रतिबन्धका कारण उपकरण आपूर्ति र भुक्तानीमा समस्या हुँदा परियोजना ढिलाइ भएको थियो।

परियोजनासँग जोडेर भ्रष्टाचारका आरोपसमेत लागेका छन्। अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यले भने ती आरोप अस्वीकार गरेका छन्।

बङ्गलादेशीका लागि भने अहिलेको प्रमुख चासो संयन्त्रबाट भरपर्दो विद्युत् कहिलेदेखि उपलब्ध हुन्छ भन्नेमा छ । ५५ वर्षीया किसान बेली बेगमले नियमित विद्युत् कटौतीका कारण सिँचाइमा समस्या भइरहेको बताउँदै रूपपुर चाँडै सञ्चालनमा आएर आफूहरूले त्यसको पूर्ण लाभ पाउने आशा व्यक्त गरे। “हामीले २४ घण्टा नै कुनै अवरोधबिना विद्युत् पाउने आशा गरेकी छु”, उनले भने।

सरकार र सुक्खा बन्दरगाह मुआब्जा पीडितबिच सहमति

पर्सा। सरकार र सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबिच सहमति भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षमा भएको बुधबार भएको मुआब्जा सङ्घर्ष समिति दुवै पक्षबीचको वार्तापछि चार बुँदे सहमति भएको हो। सहमतिअनुसार २०८२ साल मंसिर २८ गते निर्णय गरी लेखी पठाइएको र हालसम्म उक्त जग्गाहरूको दर्ता गरी लालपुर्जा वितरण भएको नपाइएको भनी स्थानीय वासीले गुनासो गरेको र दर्ता बिनाको जग्गा र यसमा बनेका संरचनाको मुआब्जा/क्षतिपूर्ति प्रदान गर्न समस्या देखिएकाले भूमि प्रशासन कार्यालय, पर्साले तालुक निकायमा यथाशीघ्र पुनः ताकेता गर्ने निर्णय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल र सङ्घर्ष समितिका अध्यक्ष अशोककुमार चौधरीलगायतको हस्ताक्षर भएको सो सहमतिपत्रमा भनिएको छ – सहमतिमा भएको मिति २०७६ माघ ६ मा गठित घर, गोठ, संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेस गरेको प्राविधिक प्रतिवेदनमा उल्लेखित घर, गोठ, टहरा तथा संरचनाको घरधनी/जग्गाधनीको घर निर्माण वर्ष यकिन गर्ने भनी च.नं. १३१, मिति २०८३ असोज १६ गते वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र वीगरञ्ज महानगरपालिका–२५ वडा कार्यालयलाई गरिएको पत्राचारको यस समितिबाट समर्थन गर्ने निर्णय गरियो।

त्यसैगरी मिति २०७६ माघ ६ मा गठित घर, गोठ, संरचना आदिको क्षतिपूर्ति निर्धारण उपसमितिले पेस गरेको प्राविधिक प्रतिवेदनमा उल्लेखित घर, गोठ, टहरा तथा संरचनाले ओगटेको जग्गाको स्वामित्व र कित्ता एकिन गर्ने भनी च.नं. १३२, मिति २०८३ असोज १६ गते नापी कार्यालय, वीरगञ्ज पर्सालाई गरिएको पत्राचारको यस समितिबाट समर्थन गर्ने निर्णयपनि भएको छ।

स्थानीय पीडितले जिल्ला प्रशासन कार्यालयदेखि सरकारका सम्बन्धित निकायसम्म पटक–पटक छलफल, वार्ता तथा सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको भन्दै स्थानीयले मुआब्जाको आज गर्दै ड्राइपोर्टको मुख्य ढोकामै सोमबारदेखि धर्ना दिँदै आएका थिए।

झापा प्रशासन र यातायात व्यवसायीबिच जेनजी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

झापा। झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ।

जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनद्वारा जारी वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता जनाएका हुन्।

नेपाल सरकारले गत असार १८ गते स्वीकृत गरेको ‘जेनजी सहिद परिवार तथा घाइतेहरूको पुनःस्थापना, जीवनयापन तथा सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज’मा भएको व्यवस्थाअनुसार छुटको कार्यान्वयनका लागि प्रशासन र यातायात व्यवसायीबीच समझदारी भएको हो।

उक्त प्याकेजको बुँदा नं ८ मा अति गम्भीरदेखि गम्भीर वर्गीकरणमा परेका घाइतेलाई सार्वजनिक यातायातका साधनमा ५० प्रतिशत छुट तथा सिट आरक्षणको व्यवस्था मिलाउने उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सरकारी प्याकेजमा भएका व्यवस्थालाई स्थानीयस्तरमा प्रभावकारीरूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायबीच समन्वय गरिएको बताए। “घाइतेले पाउनुपर्ने सुविधालाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले यातायात व्यवसायीसँग छलफल गरी छुटको व्यवस्था मिलाइएको हो,” उनले भने।

उनका अनुसार एकीकृत प्याकेज कार्यान्वयनमा अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन प्रशासनले झापाका जेनजी सहिद परिवार तथा घाइतेको डिजिटल प्रोफाइलसमेत तयार गरेको छ।

झापामा दुई जेनजी सहिद परिवार तथा प्रशासनबाट परिचयपत्र प्राप्त ३७ जना जेनजी घाइते रहेका छन्। यातायात व्यवसायीका प्रतिनिधिले एउटै सार्वजनिक यातायातका साधनमा अधिकतम दुई जना जेन्जी घाइतेलाई उनीहरूको वर्गीकृत परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता व्यक्त गरेका छन्। छुट प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको परिचयपत्र देखाउनुपर्नेछ।

‘देउवा, कोइराला, पौडेल समूह सबै सकिए, अब कांग्रेसको भविष्य केन्द्रमा राखौँ’ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि चल्दै आएको गुटगत राजनीति अन्त्य भएको घोषणा गरेका छन्।

१५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले देउवा, कोइराला र पौडेल समूहलगायतका गुट अब समाप्त भएको बताए। उनले अब कांग्रेसको भविष्य, मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे।

कांग्रेस आफ्नो लागि संगठन मात्र नभई परिवार र घरजस्तै भएको बताउँदै थापाले विगतमा नयाँ पार्टी गठनको प्रस्ताव आए पनि कांग्रेसका मूल्य र परम्पराका कारण अस्वीकार गरेको बताए।

उनले पार्टी सुधार तल्लो तहबाटै सुरु गर्नुपर्ने भन्दै सदस्यता, नेतृत्व चयन, संगठन सञ्चालन र आन्तरिक कार्यपद्धतिमा परिवर्तन आवश्यक रहेको बताए। आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापनमा २० प्रतिशत र राष्ट्रिय रूपमा कांग्रेसलाई सुदृढ बनाउन ८० प्रतिशत समय दिने उनको भनाइ छ।

प्रतिनिधिसँग भेटघाट तीव्र बनाउँदै प्रदीप पौडेल, महामन्त्रीमा गुटगत प्रभाव नरहने दाबी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन प्रतिनिधिसँग भेटघाट तीव्र बनाएका छन्। उनले प्रतिनिधिसँग समर्थन माग्दै महामन्त्री पदमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुने बताए।

महाधिवेशन प्रतिनिधि आफैँ नेता भएकाले उनीहरूलाई कुनै गुट वा समूह बनाएर प्रभावित पार्न नसकिने पौडेलको भनाइ छ। उनले प्रतिनिधिहरूले कांग्रेसको भविष्यलाई ध्यानमा राखेर विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे।

पार्टीको विधि र व्यवस्थाभित्र रहेर आफू प्रस्तुत हुने बताउँदै पौडेलले पदाधिकारीको संख्या बढ्नुको कारण क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधिको संख्या बढ्नु रहेको स्पष्ट पारे।

‘जुनसुकै बेला नेपाललाई युक्रेन बनाउन सक्ने अवस्था आउन सक्छ’ – आङदेम्बे

काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।

कांग्रेस महाधिवेशनमा बोल्दै उनले जुनसुकै बेला मुलुकलाई ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने बताए। नेतृत्वका लागि प्रतिस्पर्धाभन्दा भरोसा गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने पार्टी नभई विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाबारे बहस गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्ने बताए।

मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, तीन उच्च कर्मचारी बढुवा

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेदेखि विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र उच्च तहका कर्मचारीको बढुवा गर्नेसम्मका महत्वपूर्ण निर्णय गरेको छ ।

आज बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ जना पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय गरिएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित रोखरेलका अनुसार मन्त्रिपरिषद्ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश लगायतका अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

यसैगरी, नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।

नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले भने– ‘उत्साह हेर्दा कार्यकर्ताले मलाई जिताउन चाहेका छन्‌’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदका उम्मेदवार डा.सुनिल शर्माले आफूले स्वच्छ छवि कायम राखेको र पार्टी तथा लोकतन्त्रको हितमा लामो समयदेखि काम गर्दै आएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभागृहमा प्रचारप्रसारका क्रममा बोल्दै डा.शर्माले आफ्नो उम्मेदवारीको मुख्य आधार आफू भ्रष्टाचारमा संलग्न नभएको र जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको दाबी गरे । ‘हरेक नेपाली नागरिकले भष्ट्राचार नगर्ने नेता चाहन्छ,’ उनले भने, ‘म भष्ट्रचाररहित, क्लिन छवि भएको नेता हुँ । सांसद हुँदासमेत एक रुपैयाँ तलब भत्ता नखाएको र नेपाल सरकारबाट बुद्ध एयरको टिकटसमेत लिएर विराटनगरसम्म नउडेको नेता हुँ ।’

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा आफूले निरन्तर काम गर्दै आएको दाबी गर्दै देशका विभिन्न भूगोलका जनतासँग प्रत्यक्ष जोडिएर काम गरिरहेको बताए । शर्माले गिरिजाप्रसाद कोइरालाको समयदेखि नै नेपाली कांग्रेस, लोकतन्त्र र पार्टीको हितमा काम गर्दै आएको उल्लेख गरे । १२ बुँदे समझदारीसम्म आइपुग्ने राजनीतिक प्रक्रियामा आफूले समेत भूमिका खेलेको उनको दाबी थियो ।

महाधिवेशन प्रतिनिधिहरू सामान्य कार्यकर्ता नभएको उल्लेख गर्दै डा.शर्माले उनीहरू लामो राजनीतिक अनुभव र संघर्षपछि प्रतिनिधिका रूपमा आएको बताए । उनले आफ्नो पक्षमा देखिएको माहोलबारे भने, ‘०४६ पछाडि अहिलेसम्म कांग्रेसको अधिवेशनमा जुन उत्साहजनक तरिकाले पदाधिकारीको पक्षमा माहोल देखिन्छ, यो सम्भवतः पहिलो हुन सक्छ ।’

शर्माले आफू पार्टीका शीर्ष नेताहरूको सूचीमा नरहेको र कुनै गुटमा समेत नरहेको दाबी गरे । ‘टाउकाहरूले हराउन चाहेको तर कार्यकर्ताहरूले जिताउन चाहेको’ उम्मेदवार आफू भएको उनको भनाइ छ ।उनले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूले आफ्नो उम्मेदवारीबारे निर्णय गर्ने र आफूलाई समर्थन गर्ने विश्वाससमेत व्यक्त गरे ।

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौँ। नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न २० अनुसन्धान परियोजनाका अवधारणापत्रमाथि छलफल गरेको छ ।

प्रतिष्ठानले आयोजना गरेको दुईदिने कार्यशालामा अनुसन्धान परियोजनाका अवधारणापत्र प्रस्तुत गरी सरोकारवालाबाट सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिएको हो । कार्यशालामा प्रतिष्ठानका अनुसन्धानकर्ताका साथै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग तथा सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिष्ठानका अनुसन्धाताले प्रस्तुत गरेका अवधारणापत्रमाथि सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधि, प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख र विषयगत विज्ञ अनुसन्धाताले सुझाव दिएका थिए । प्राप्त सुझावका आधारमा अनुसन्धानका अवधारणापत्रलाई थप परिमार्जन र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।

कार्यशालाको मुख्य उद्देश्य अनुसन्धानलाई नेपाल सरकारका आवश्यकता, सम्बन्धित क्षेत्रका विद्यमान नीति, अभ्यास तथा प्राथमिकतासँग थप सान्दर्भिक बनाउनुका साथै अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिनिर्माण प्रक्रियामा उपयोगी बनाउन सरोकारवालाको पृष्ठपोषण लिनु रहेको प्रतिष्ठानले जनाएको छ ।

वीरगञ्जमा विद्युतीय भ्यानको ठक्करबाट एक जनाको मृत्यु

पर्सा । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारी साधन (भ्यान) ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ०७२० नम्बरको उक्त सवारी साधनले पैदलयात्रु गुप्तालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा टाउको र दाहिने गोडामा गम्भीर चोट लागि घाइते हुनुभएकी गुप्ताको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।उक्त दुर्घटनापछि भ्यानका चालक सिन्धुली कमलामाई नगरपालिका–२ का ६० वर्षीय रामकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दसैँ–तिहार मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को, जमुनाहामा बढ्यो चाप

बाँके। दसैँ, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्। भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ।

दसैँ, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा रहेका नेपाली चाडपर्वका अवसरमा स्वदेश फर्किने गरेका छन्। पछिल्लो समय जमुनाहा नाकाबाट भारततर्फ जानेभन्दा नेपाल फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ।

दैलेखको डुङ्गेश्वरका ५७ वर्षीय हेमन्त थापा पनि झन्डै पाँच वर्षपछि दसैँ, तिहार मनाउन घर फर्किएका छन्। भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आएका थापा परिवारको खर्च धान्न कठिन भएपछि पाँच वर्षअघि छिमेकीसँगै रोजगारीका लागि भारत गएका थिए। लामो समय भारतमा बसेर काम गरेपछि चाडपर्वका बेला परिवारसँगै बस्ने इच्छा पूरा गर्न उनीनेपाल फर्किएका हुन्।

ले घरखर्च चलाउन धौ–धौ भएपछि रोजगारीका लागि भारत गएको उनले बताए। गाउँघरमा पर्याप्त रोजगारीको अवसर नहुँदा भारतका विभिन्न ठाउँमा पुगेर काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। पाँच वर्षपछि स्वदेश फर्कंदा जमुनाहा नाकामा देखिएको परिवर्तनले भने उनलाई फरक अनुभूति भएको छ । भारत जाने बेलाको भन्दा अहिले सीमा नाकामा हुने जाँच प्रक्रिया व्यवस्थित र प्रणालीगत भएको उनले बताए।

“पाँच वर्षअघि भारत जाँदा सीमा नाकामा चेकजाँच गर्ने तरिका निकै अव्यवस्थितजस्तो थियो । अहिले त चेकजाँच गर्ने प्रक्रिया नै धेरै फरक रहेछ । सबै कुरा प्रणालीअनुसार व्यवस्थित रूपमा गरिँदो रहेछ”,उनले भने।

भारतमा रोजगारी गरेर परिवारको जीविकोपार्जनमा सहयोग गर्दै आएका हेमन्तजस्तै जाजरकोटको नलगाड नगरपालिका–४ की गङ्गाधरा केसी पनि चाडपर्व मनाउन बुधबार जमुनाहा नाका हुँदै घर फर्किएकी छिन्। उनीसँगै एक छोरी र दुई छोरा पनि नेपाल फर्किएका छन्। स–साना छोराछोरीलाई साथमा लिएर उनी झन्डै आठ वर्षअघि रोजगारीको खोजीमा भारतको कुल्लु पुगेकी थिइन्।

भारत जानुअघि गङ्गाधरा कामको खोजीमा जाजरकोटबाट नेपालगञ्ज आएकी थिइीन्। नेपालगञ्जमा केही वर्ष घर निर्माणस्थलमा गिट्टी तथा बालुवा बोक्ने काम गरिन्। तर कामअनुसार आम्दानी नहुने र पारिश्रमिकसमेत समयमा नपाउने भएपछि उनलाई परिवारको खर्च धान्न कठिन भयो। त्यसपछि करिब १० महिना ठेलामा चटपटे बेच्ने कामसमेत गरिन्। तर त्यसबाट पनि अपेक्षाअनुसार आम्दानी हुन नसकेपछि अन्ततः छोराछोरीसहित भारतको कुल्लु पुगेर काम गर्न थालिन्।

“नेपालमै काम गरेर छोराछोरी पाल्ने धेरै प्रयास गरेँ । गिट्टी–बालुवा बोक्ने काम गरेँ, ठेलामा चटपटेसमेत बेचेँ । तर दुःख धेरै र आम्दानी कम भयो । काम गरेको पैसा पनि समयमा नपाउँदा घरखर्च धान्न गाह्रो भयो”, उनले भनिन्।

भारतमा समेत लामो समय सङ्घर्ष गरेर छोराछोरी हुर्काउँदै आएकी गङ्गाधरा यसपटक दसैँ मनाउन घर फर्किन पाउँदा खुसी छिन्। चाडपर्वका बेला आफ्ना छोराछोरीलाई आफन्त तथा गाउँघरको वातावरणमा राखेर दसैँ मनाउन पाउनु महत्वपूर्ण भएको उनको भनाइ छ । भारतबाट नेपाल फर्किंदै गर्दा जमुनाहा नाकामा भएको चेकजाँचले पनि उनलाई सहज महसुस गराएको छ । विगतको तुलनामा सीमा नाकाको व्यवस्थापन र जाँच प्रक्रियामा सुधार आएको उनले बताइन्।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–७, जमुनीका गोपाल थापा पनि नजिकिँदै गरेको दसैँ, तिहार मनाउन भारतको हिमाचल प्रदेशबाट घर फर्किएका छन्। विगत १८ वर्षदेखि भारतमा काम गर्दै आएका थापा चाडपर्वका बेला नेपाल आउने गर्छन्।

लामो समयदेखि भारतमा रोजगारी गर्दै आए पनि दसैँ, तिहार भने परिवारसँगै मनाउने गरेको उनले बताए।रोजगारीका कारण वर्षभरि घरपरिवारबाट टाढा रहनुपर्ने भएकाले चाडपर्वलाई परिवारसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरेको उनको भनाइ छ।

यसपटक भने जमुनाहा नाकामा जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा सञ्चालन गरिएको यात्रु सहायता कक्षले आफूहरूको यात्रा थप सहज बनाएको उनले बताए।

“यसपटक सीमा नाकामा यात्रु सहायता कक्ष राखिएको रहेछ । कहाँ जाने, कसरी जाने र समस्या परेमा कहाँ सम्पर्क गर्ने भन्ने जानकारी लिन सजिलो भयो । यात्रुलाई सहज बनाउन यस्तो व्यवस्था हुनु निकै राम्रो लागेको छ”,उनले भने।

चाडपर्वका बेला भारतबाट ठुलो सङ्ख्यामा नेपाली स्वदेश फर्किने भएकाले यात्रुको आवागमन व्यवस्थित गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । भारतबाट आउने नेपालीलाई आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनहुँ बढिरहेको छ । अहिले जमुनाहा नाकाबाट दैनिक पाँच हजारभन्दा बढी नेपाली स्वदेश फर्किरहेका छन्।

“बिहानदेखि साँझसम्मै दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको लर्को लागिरहेको छ । प्रत्येक दिन पाँच हजारभन्दा बढी नागरिक जमुनाहा नाकाबाट आउने गरेका छन्”, उनले भने।

उनका अनुसार भारतको नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि गएका नेपाली अहिले दसैँ, तिहार मनाउन स्वदेश फर्किरहेका छन्। चाडपर्व नजिकिँदै जाँदा नेपाल फर्किने नेपालीको सङ्ख्या अझ बढ्ने उनको भनाइ छ। भारतका विभिन्न सहरमा रोजगारीका लागि जाने नेपालीको ठुलो हिस्सा पश्चिम नेपालका पहाडी तथा तराईका जिल्लाबाट हुने गरेको छ।

भारतबाट ठुलो सङ्ख्यामा नेपाली फर्किन थालेसँगै जमुनाहा तथा रुपैडिया क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ । भारतबाट फर्किने नेपालीलाई सीमावर्ती क्षेत्रमा ठगी, लुटपाट तथा अलपत्र पर्ने समस्या हुन नदिन नेपाल प्रहरीले निगरानी र समन्वय बढाएको प्रहरी निरीक्षक भट्टराईले बताए। विशेषगरी रिक्सा चालक, ई–रिक्सा चालक, बस तथा होटल व्यवसायीबाट यात्रु ठगिन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी भइरहेको उनले जानकारी दिए।

भारतको रुपैडियामा रातिको समयमा आइपुग्ने नेपालीलाई असहजता नहोस् भनेर भारतीय प्रहरीसँग समेत समन्वय गरिएको जमुनाहा प्रहरीले जनाएको छ । रातिको समयमा सीमा क्षेत्रमा आइपुग्ने यात्रु सुरक्षित रूपमा नेपाल प्रवेश गर्न सकून् भन्ने उद्देश्यले भारतीय प्रहरीसँग आवश्यक समन्वय गरिएको उनले बताए।

चाडपर्वमा भारतबाट ठुलो सङ्ख्यामा नेपाली स्वदेश फर्किने भएकाले सीमादेखि गन्तव्यसम्म यात्रुको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायले विशेष योजना लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै सीमा क्षेत्रमा प्रहरीको उपस्थितिसमेत बढाइएको छ। यात्रुको भिड व्यवस्थापन, सूचना प्रवाह तथा समस्या परेका यात्रुलाई तत्काल सहयोग गर्ने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तामाङले चाडपर्वको समयमा सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुको सुरक्षालाई प्राथमिकतामा राखिएको बताए। “सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ”, उनले भने। भारतबाट फर्किने नेपालीको ठुलो सङ्ख्यालाई ध्यानमा राखेर सीमा क्षेत्रमा हुने सम्भावित ठगी, लुटपाट, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइएको प्रशासनले जनाएको छ।

यसैबिच भारतको सिम्लाबाट सुर्खेतको रामघाट फर्किएका रमेश विकले गत वर्ष दसैँका बेला भएको जेनजी आन्दोलनका कारण घर फर्किन नसकेको बताए। यसपटक भने आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा भएकाले समयमै घर फर्किएको उनले बताए।

“गत वर्षको परिस्थितिका कारण दसैँमा घर आउन सकिएन । यसपटक भने समयमै घर फर्किएर आफन्त र साथीभाइसँग दसैँ मनाउने इच्छा छ”, उनले भने।

दैलेखका महेश थापाले पनि दसैँ, तिहारजस्ता चाडपर्व आफ्नै गाउँठाउँमा परिवार तथा आफन्तसँग मनाउँदा छुट्टै आनन्द हुने भएकाले भारतबाट घर फर्किएको बताए। भारतमा रोजगारी गरेर परिवारको खर्च धान्ने अधिकांश नेपालीका लागि चाडपर्व घर फर्किने प्रमुख अवसर बनेको छ।

वर्षभरि परदेशमा काम गरेर कमाएको आम्दानीले परिवारको खर्च धान्ने उनीहरू दसैँ, तिहारमा भने परिवारसँगै बसेर सुखदुःख साट्न चाहन्छन्। जमुनाहा नाकामा भेटिएका यात्रुहरूका अनुहारमा लामो समयपछि घर फर्किन पाएको खुसी देखिन्थ्यो। कसैका हातमा झोला र कपडाका पोका थिए भने कसैले बालबालिका तथा परिवारका सदस्यलाई साथमा लिएर सीमा पार गरिरहेका थिए।

चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेसँगै जमुनाहा नाकामा यात्रुको चापसमेत बढेको छ । भारतबाट फर्किने यात्रुको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, प्रशासन तथा अन्य सरोकारवाला निकायले समन्वय गरिरहेका छन्। भारतमा रोजगारीका लागि गएका नेपालीका लागि दसैँ, तिहार केवल चाडपर्व मात्र होइन, वर्षौँदेखि टाढा रहेका परिवारका सदस्यसँग भेट हुने अवसर पनि हो।

हेमन्त थापाजस्ता पाँच वर्षपछि घर फर्किएका हुन् वा गङ्गाधरा केसीजस्ता छोराछोरीको भविष्यका लागि वर्षौँ परदेशमा सङ्घर्ष गरेका हुन्, सबैका लागि दसैँले घर र परिवारको सम्झना बोकेर ल्याएको छ।

दसैँ, तिहार नजिकिँदै गर्दा जमुनाहा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको गन्तव्य एउटै छ। आफ्नो घर, आफ्ना मान्छे र परिवारसँग बसेर चाडपर्व मनाउने चाहना। सीमा नाकामा यात्रुको चाप बढ्दै गए पनि प्रहरीले सीमावर्ती क्षेत्रदेखि नेपाल प्रवेश गरेपछि गन्तव्यसम्म पुग्ने यात्रुको सुरक्षालाई ध्यानमा राखेर निगरानी र समन्वयलाई निरन्तरता दिएको जनाएको छ।

अर्थ मन्त्रालयको सहमति र बजेटमा समावेश बिनै स्थानीय तहद्वारा ऋण परिचालन : वित्त आयोग प्रतिवेदन

काठमाडौँ । केही स्थानीय तहले वार्षिक बजेटमा समावेश नगरीकनै तथा नेपाल सरकारको स्वीकृतिसमेत नलिई नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभामा यही असोज १२ गते प्रस्तुत भएको आयोगको आठौँ वार्षिक प्रतिवेदन २०८३ अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा १७ वटा पालिकाले नगर विकास कोषबाट रु ३३ करोड ८७ लाख ८१ हजार ५४३ बराबर आन्तरिक ऋण परिचालन गरेका छन् । तीमध्ये कतिपय स्थानीय तहले वार्षिक बजेटमा ऋणको व्यवस्था नगरेको तथा कुनै पनि स्थानीय तहले ऋण परिचालनका लागि नेपाल सरकारको सहमति नलिएको आयोगले जनाएको छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ अनुसार प्रदेश तथा स्थानीय सरकारले आन्तरिक ऋण लिनुअघि नेपाल सरकारको सहमति लिनुपर्ने व्यवस्था छ । आयोगका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नगर विकास कोषबाट ऋण परिचालन गरेका १७ स्थानीय तहका सम्बन्धमा अर्थ मन्त्रालयबाट कुनै पनि स्थानीय तहले ऋण परिचालनका लागि सहमति माग गरेको विवरण प्राप्त भएको छैन ।

“आर्थिक वर्ष २०८२÷८३ मा १७ वटा स्थानीय तहले नेपाल सरकारको सहमति नलिई नगर विकास कोषबाट ऋण परिचालन गरेको देखिएको छ”, आयोगले आफ्नो प्रतिवेदनमा भनेको छ ।

आयोगका अनुसार सातवटा पालिकाले वार्षिक बजेटमा समावेश नगरी ऋण परिचालन गरेका छन् । आयोगले हरेक वर्ष स्थानीय तहले वार्षिक बजेटमा ऋणको अनुमान समावेश गरेर सोही सीमाभित्र रही आन्तरिक ऋण परिचालन गर्नुपर्ने भनी सुझाव दिँदै आएको छ ।

वित्त आयोगले गत आर्थिक वर्ष २०८२÷८३ का लागि स्थानीय सरकारले आन्तरिक ऋण परिचालन गर्दा नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट तथा स्थानीय सरकारको आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्वको योगफलको अधिकतम १२ प्रतिशतसम्म ऋण लिन सक्नेगरी सीमा सिफारिस गरेको थियो । त्यस्तो ऋण राष्ट्रिय, प्रादेशिक तथा स्थानीय नीति र योजनामा आधारित भई लागत–लाभ विश्लेषणबाट उपयुक्त देखिएका आयोजना तथा परियोजनामा मात्र परिचालन गर्नुपर्ने आयोगको सिफारिस थियो । त्यसैगरी, आयोगले आयोजना छनोट गर्दा आन्तरिक प्रतिफल दर (आईआरआर) वा खुद वर्तमान मूल्य (एनपीभी)को विश्लेषण गर्नुपर्ने सिफारिस गरेको थियो ।

यसैबीच, गत आर्थिक वर्षमा मोरङ जिल्लाका दुई पालिकाले आयोगले सिफारिस गरेको आन्तरिक ऋणको सीमाभन्दा बढी ऋण परिचालन गरेको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले प्रदेश तथा स्थानीय सरकारले आन्तरिक ऋण परिचालन गर्दा आवश्यक कानुनी, संस्थागत तथा संरचनागत व्यवस्था पूरा गरी नेपाल सरकारको सहमति लिएर मात्र बजेटमा समावेश गर्न सुझाव दिएको थियो । “प्रदेश तथा स्थानीय सरकारले आन्तरिक ऋण लिनुअघि नेपाल सरकारको सहमति लिनुपर्ने कानुनी व्यवस्थाको पालना भएका देखिएन”, प्रतिवेदनमा भनिएको छ ।

यसअघि आर्थिक वर्ष २०८१÷८२ मा समेत १६ वटा स्थानीय तहले नगर विकास कोषबाट आन्तरिक ऋण परिचालन गरेको आयोगले उल्लेख गरेको छ । त्यस्तै, आयोगले आन्तरिक ऋण उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा पनि जोड दिएको छ । पुँजी निर्माण, पूर्वाधार विकास, रोजगारी सिर्जना, आय वृद्धि तथा दीर्घकालीन लाभ हुने आयोजनालाई प्राथमिकता दिनुपर्ने आयोगको सुझाव छ ।

आयोगले नगर विकास कोषबाट ऋण लिने विभिन्न उपभोक्ता संस्थाका लागि स्थानीय तहले जमानत बसेको विषयसमेत उठाएको छ । वार्षिक प्रतिवेदनअनुसार परियोजना रहेको स्थानीय तहले विभिन्न संस्थाले नगर विकास कोषबाट लिएको ऋणका लागि जमानत बसेको देखिएको छ । तर स्थानीय सरकारसँग सम्बन्धित प्रचलित कानुनमा त्यस्तो जमानत बस्न सक्ने व्यवस्था नरहेको आयोगले स्पष्ट गरेको छ ।

वार्षिक प्रतिवेदनमार्फत आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट परिचालन हुने आन्तरिक ऋण र समग्र सार्वजनिक ऋणको एकीकृत विद्युतीय सूचना व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली विकास गर्नसमेत सुझाव दिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत यस्तो प्रणाली सञ्चालन गरी त्यसमा आयोगलाई समेत पहुँच उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ ।

मध्यपहाडी लोकमार्ग : कास्की खण्डमा तीन पक्की पुल निर्माण सम्पन्न

कास्की । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि फराकिलो सडक र साँघुरो पुलका कारण हुँदै आएको आवागमनको समस्या हटेको छ भने यात्रु तथा सवारीसाधनलाई आवतजावतमा सहज भएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा महानगरपालिका–१ याम्दी खोलामा दुईवटा र अन्नपूर्ण गाउँपालिकामा पर्ने घट्टेखोलानजिक पानीविहाडमा एउटा पक्की पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए ।

याम्दीखोलामा रहेको पुरानो पुलको दायाँ र बायाँपट्टि थप एक–एकवटा नयाँ पुल निर्माण गरिएको हो । दुवै नयाँ पुलको लम्बाइ ५२–५२ मिटर रहेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकातर्फ निर्माण गरिएको पानीविहाड पुलको लम्बाइ १२४ मिटर रहेको इन्जिनियर शर्माले बताए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दी पुलदेखि नयाँपुलसम्मको सडकखण्ड यसअघि नै स्तरोन्नति तथा विस्तार भइसकेको थियो । सडक फराकिलो भए पनि पुल निर्माणको काम पूरा नहुँदा कतिपय स्थानमा सडकको चौडाइअनुसार पुलको संरचना नहुँदा सवारीसाधन सञ्चालनमा असहजता हुने गरेको थियो ।

विशेषगरी साँघुरो पुलका कारण विपरीत दिशाबाट आउने सवारीसाधनलाई पार गराउन समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत रहने गरेको थियो । अब सडकको चौडाइअनुसार पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त समस्या हटेको कार्यालयले जनाएको छ । पुल सञ्चालनमा आएसँगै यात्राको समय बचत हुनुका साथै सवारीसाधनको आवागमनसमेत थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

“सडकअनुसारकै पक्की पुल निर्माण भएपछि दुर्घटना हुने जोखिम पनि हटेको छ । पुल निर्माणको सबै काम सम्पन्न भएको छ । यसबाट मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सहज भएको छ”, सूचना अधिकारी शर्माले भने ।

तीनवटै पुल निर्माणका लागि कार्यालयले एउटै ठेक्कामार्फत काम अघि बढाएको थियो । सोहीअनुसार रु २१ करोड ५९ लाख ७८ हजार लागतमा विसं २०७९ साउन २२ गते गीता कन्स्ट्रक्सन, स्याङ्जासँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणकार्य अघि बढाई तीनवटै पुल सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

मध्यपहाडी लोकमार्गले नेपालको मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लालाई सडक सञ्जालमार्फत जोड्दै आएको छ । कास्की खण्डमा पुल निर्माण सम्पन्न भएपछि पोखरादेखि पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लातर्फ हुने यातायात थप सहज हुने भएको छ ।

मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन साविक धवलागिरिका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ तथा पूर्वी रुकुमलगायतका जिल्लामा आवतजावत गर्ने गर्दछन् । मालवाहक सवारी, सार्वजनिक यातायात तथा निजी सवारीसाधनका लागि समेत यो सडकखण्ड महत्त्वपूर्ण मार्गका रूपमा रहेको छ ।

लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीलाई ब्युनस आयर्स विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिने तयारीमा रहेका मेस्सीलाई विश्वविद्यालयले सम्मान गरेको हो ।

अर्जेन्टिना फुटबल संघ (एएफए) ले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत मेस्सीलाई विश्वविद्यालयले ‘डक्टर होनोरिस काउसा’ उपाधि प्रदान गरेको जानकारी दिएको छ ।

मेस्सीले सेप्टेम्बर १ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका थिए । उनले मंगलबार घरेलु मैदानमा बेनिनविरुद्धको खेलबाट अर्जेन्टिनाको राष्ट्रिय टोलीका रूपमा अन्तिम खेल पनि खेलेका छन् । उक्त खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक विदाइ पनि गरिएको छ ।

अर्जेन्टिनाका कप्तान मेस्सी आफ्नो देशका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीबाट २०३ खेलमा १२४ गोल गरेका छन् । उनी दक्षिण अमेरिकी फुटबल इतिहासमा पनि सर्वाधिक गोलकर्ता हुन् ।

सन् २०२२ मा कतारमा भएको फिफा विश्वकप जित्नु मेस्सीको करियरको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक हो । फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो। त्यो अर्जेन्टिनाको तेस्रो विश्वकप उपाधि थियो । त्यसअघि सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मेस्सीले सन् २०२४ मा पनि टोलीलाई कोपा अमेरिका च्याम्पियन बनाउन योगदान दिएका थिए ।

मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल

बागलुङ। यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल पश्चिम नेपालकै प्रमुख लाइफलाइन रहेकाले जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिनुभएको छ ।

बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको अवस्था अवलोकन गर्न मंगलबार साँझ त्यहाँ पुग्नुभएका महासङ्घका निवर्तमान अध्यक्ष ढकालले बागलुङको पर्यटन र आयातनिर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको हो । हाल सो जिल्लासँगको सम्पर्क विच्छेद भने नभएको भन्दै उहाँले अहिलेलाई भने बागलुङ पुग्ने वैैकल्पिक मार्गहरुका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिन स्थानीय सरकार तथा व्यवसायीहरुलाई आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “मालढुङ्गा पुल राष्ट्रिय महत्वका रूपमा रहेको छ । उक्त पुल जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छ । कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै नै निर्माण हुने पनि देखिएको छ । यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यसबाट यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज बन्नेछ ।

यो एउटा पुलमात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्यपहाडी लोकमार्गकै सङ्गमस्थल रहेको ढकालको भनाइ थियो । उहाँले पुल निर्माण कार्यमा भइरहेको तदारुकताको प्रशंसा पनि गर्नुभयो ।

स्थानीय सरकार तथा व्यवसायीहरुसँग उहाँले भन्नुभयो, बाटो अलिकति असहज भएपनि जिल्लाको सम्पर्क नै विच्छेद भने भएको रहेनछ । वैकल्पिक मार्गहरुका बारेमा पनि स्थानीय यात्रु तथा पर्यटकहरुलाई प्रसस्त मात्रामा सूचना तथा जानकारी दिउँ । जति सक्दो चाँडै यो पुल निर्माणका लागि सबैसँग हातेमालो र सहयोग गरौँ ।

उक्त पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । हाललाई भने बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ ।

चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन । सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ ।

यसबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतकार्य २४सै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बागलुङ आउने मुख्य नाकाका रूपमा रहेको मालढुङ्गा पुल ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको जानकारी दिँदै सुवेदीले भन्नुभयो, “दसैँअघि नै पुल सञ्चालनमा आउँछ, बागलुङसहित रुकुमपश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन् ।”

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुङ्गा मोटरेबल पुल मर्मतकार्य जियोब्याग र जियोग्रेड प्रविधिमा २४सै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले चाडबाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो ।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यन्न वैकल्पिक मार्गबाट नियमित आयात भइरहेको छ । उहाँले बैकल्पिक मार्गको प्रयोगबारे स्थानीय, पर्यटक र अन्य यात्रुलाई पनि जानकारी दिइएको बताउनुभयो ।

भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी र हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोह्रखुट्टे र हात्तीको दाह्रासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका चौधरीसँग १४० ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दाह्रा छ किलोग्राम बरामद गरेको छ । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुली बुझाइएको ब्यूरोले जनाएको छ ।