`

करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका निकायमा कानुनविपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिएका छन् । कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै त्यस्ता कर्मचारी राख्न उनले निर्देशन दिएका हुन् ।

विगतमा विभिन्न निकायबाट कानुनविपरीत ठूलो सङ्ख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डा. तिमिल्सिनाले बताए । अब मन्त्रालय मातहतका निकाय तथा संस्थाले अत्यावश्यक र दैनिक कार्य सञ्चालनमा समस्या आउने अवस्था देखिएमा मात्र करार सेवामा कर्मचारी राख्ने तथा त्यस्तो नियुक्ति गर्दा विद्यमान कानुन, सम्बन्धित संस्थाको ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीले व्यवस्था गरेको कानुनी दायराभित्र रही प्रतिस्पर्धाका आधारमा मात्रै नियुक्ति गर्न उनले निर्देशन दिए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले विगतमा सार्वजनिक सञ्चारमाध्यमलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको, आर्थिक भार बढेको र संस्थालाई ठूलो दायित्व थपिँदै गएको देखिएकाले अब त्यस्तो अभ्यासलाई पूर्ण रूपमा अन्त्य गरिने बताए ।

सञ्चार मन्त्रालयको निर्देशनपछि गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) र राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ऐन तथा कर्मचारी सेवा शर्त विनियमावलीअनुसार कर्मचारी व्यवस्थापनको काम थालिसकेको मन्त्रालयले जनाएको छ ।

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल

विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले दातृ निकायलाई तत्काल सहयोगका लागि आह्वान गर्दै आगामी छ महिनाभित्र १३ लाख प्रभावित नागरिकलाई अत्यावश्यक सहायता उपलब्ध गराउने लक्ष्यसहित प्रारम्भिक चरणमा नौ करोड ६० लाख डलर आवश्यक रहेको बताए । उनले विभिन्न दातृ राष्ट्रले सहयोग सुरु गरिसकेको उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता औँल्याए ।

भेनेजुएला सरकारले पनि पुनःनिर्माणका लागि विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । विदेशमन्त्री यभान गिलले संयुक्त राष्ट्रसङ्घको बैठकमा भेनेजुएलासँग सम्बन्धित विभिन्न मुलुकमा रोक्का गरिएका कोष पुनःनिर्माणमा प्रयोग गर्न उपलब्ध गराउनुपर्ने बताए । उनका अनुसार ती सम्पत्ति अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रोक्का भएका हुन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बेलायतको बैंक अफ इङ्गल्यान्डमा रहेको करिब ३० टन भेनेजुएली सुन फुकुवा गरिदिन बेलायती राजा चार्ल्स तृतीयलाई पत्र पठाउने निर्णय गरेको जानकारी दिइन् । उनले उक्त सुन भूकम्पपछिको पुनःस्थापनामा अत्यावश्यक रहेको बताइन् ।

अमेरिकी सरकारले राहत कार्यलाई सहज बनाउन भेनेजुएलामाथिका केही आर्थिक प्रतिबन्ध चार महिनाका लागि अस्थायी रूपमा हटाएको छ । सन् २०१९ यता लागू गरिएका प्रतिबन्धहरू जनवरीमा राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएपछि क्रमशः खुकुलो पारिँदै आएका छन् । ट्रम्प प्रशासनले अन्तरिम नेतृत्वलाई समर्थन गर्दै विशेषगरी ऊर्जा क्षेत्रको पुनरुत्थानलाई ध्यानमा राखेर प्रतिबन्धमा सहुलियत दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जुन २४ मा आएको शक्तिशाली भूकम्पबाट भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ६ प्रतिशत बराबर ६ अर्ब ७० करोड अमेरिकी डलरको क्षति पुगेको छ । राजधानी काराकासको अन्तर्राष्ट्रिय विमानस्थलसमेत क्षतिग्रस्त भएकाले व्यावसायिक उडान अझै सञ्चालनमा आउन सकेको छैन ।

७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएको दुई सातापछि अधिकांश अन्तर्राष्ट्रिय उद्धार टोलीले जीवित व्यक्तिको खोजी अभियान समाप्त गरेका छन् । यद्यपि प्रभावित परिवार अझै पनि भग्नावशेषमा आफन्तको शव खोजिरहेका छन् । सरकारी विवरणअनुसार हालसम्म तीन हजार ८११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब १७ हजार घाइते भएका छन् । ला गुइरा क्षेत्रमा मात्र करिब १८ हजार मानिस घरबारविहीन भएका छन् ।

सबैभन्दा बढी प्रभावित काराबालेडा क्षेत्रमा धेरै परिवार राहत सामग्रीको प्रतीक्षामा खुला स्थानमा बसिरहेका छन् । उनीहरूले सीमित मात्रामा खाद्यान्न, पानी, डायपर र अन्य अत्यावश्यक सामग्री प्राप्त गरेका छन् । समुद्र किनारमा नरिवलको मिठाई बेच्दै आएकी २६ वर्षीया स्टेफनी गारेटले राहतले केही सहजता दिएको भए पनि यस्तो अवस्था कति समयसम्म रहने भन्ने अन्योल रहेको बताइन् ।

त्यसैगरी, ३४ वर्षीया केशकर्त्री जेनेसिस रामिरेज आफ्ना भतिजीहरूको खोजीमा भग्नावशेषमा पुगेकी छन् । एउटै भवनबाट एक बालक जीवित उद्धार गरिएकाले अझै आशा नमरेको उनको भनाइ छ । उनले शव नभेटिएसम्म आफन्त जीवितै हुन सक्ने विश्वास कायम रहेको बताइन् ।

ध्वस्त आवासीय भवनमा अहिले उत्खनन टोलीले भग्नावशेष हटाइरहेका छन् भने आफन्त शव फेला पर्ने आशामा घटनास्थलमै पर्खिरहेका छन् । एक सैनिकका अनुसार उद्धारको सम्भावना सकिएको र अब मुख्य काम शवको खोजी तथा व्यवस्थापन मात्र बाँकी रहेको छ ।

सुकुमवासीको उचित व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले सुकुमवासीको उचित व्यवस्थापन गर्न आग्रह गरेको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा सुकुमवासीको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न र उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न आयोग नेपाल सरकारलाई आग्रह गरिएको छ ।

विसं २०८३ वैशाख १२ गतेदेखि काठमाडौँ जिल्लाको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गरेका सुकुमवासीको घरटहरा हटाइ उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो । हाल उनीहरुलाई ती सेन्टरबाट हटाइएको छे ।

विज्ञप्तिमा भनिएको छ, “सुकुमवासीलाई पछिल्लो पटक हटाएको मितिदेखि आयोगले हालसम्म उनीहरूको अवस्थाबारेमा गरिरहेको अनुगमनबाट सूचना टाँस गरी पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाएको, सो अवधि व्यतित भएपछि पुनः थप सात दिनको समयावधि तोकिएकोलगायत तथ्यहरु पाइएको छ ।”

राज्यका निकायबाट विनाविकल्प होल्डिङ सेन्टरबाट हट्न ‘अल्टिमेटम’ दिने, सेन्टरबाट हटाउने, खानाको पर्याप्त प्रबन्ध नगर्ने, विशेषतः उनीहरूका आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति सरकारका निकायबाट अभिभावकत्व ग्रहण नगर्नेलगायत अवस्था देखिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौँ । सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित बिदाइ कार्यक्रममा निवर्तमान मुख्य सचिव अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे । उनले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्य सचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी, सुरक्षा निकाय तथा सार्वजनिक निकायको सहयोगले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताए । सरकार र कर्मचारीतन्त्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने स्पष्ट पारे ।

देश निर्माणमा योगदान दिने व्यक्तिको कहिल्यै बिदाइ नहुने उल्लेख गर्दै राजनीतिक सल्लाहकार शाहले सेवा निवृत्त मुख्य सचिव अर्यालको अनुभव, ज्ञान र कार्यशैलीलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने विश्वास व्यक्त गरे । साथै, नवनियुक्त मुख्य सचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने अपेक्षा राखे ।

नवनियुक्त मुख्य सचिव कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिलाई सार्वजनिक प्रशासन र निजामती सेवाको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रधानमन्त्री शाहका तर्फबाट राजनीतिक सल्लाहकार शाहले सेवानिवृत्त मुख्य सचिव अर्याललाई कदरपत्र प्रदान गरे । प्रधानमन्त्रीको स्वकीय सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी र सचिवहरूले उनको नेतृत्व, योगदान र समर्पणप्रति आभार प्रकट गर्दै मुख्य सचिव कार्कीलाई शुभकामना व्यक्त गरे ।

अटिजममा आधारित नमुना विद्यालय स्थापनासम्बन्धी प्रतिवेदन हस्तान्तरण

काठमाडौँ – अटिजममा आधारित नमुना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणापत्र तयारीका लागि गठित प्राविधिक समितिले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले करिब तीन महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन आज मन्त्री पोखरेललाई हस्तान्तरण गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित छ सदस्यीय प्राविधिक समिति गठन गरिएको थियो । समितिले करिब तीन महिनाको अवधिमा प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन ग्रहण गर्दै शिक्षामन्त्री पोखरेलले प्रतिवेदन चाँडै कार्यान्वयनमा ल्याइने बताए । मन्त्री पोखरेलले अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले अटिजम नमुना विद्यालय स्थापना गर्न लागेको पनि जानकारी दिए ।

समितिका संयोजक श्रेष्ठले एक सङ्घीय अनुसन्धान केन्द्र तथा प्रत्येक प्रदेशमा नमुना विद्यालय स्थापनाका लागि आवश्यक मापदण्डसहितको प्रतिवेदन तयार गरिएको उल्लेख गरे । विशिष्टीकृत अटिजमसम्बन्धी सेवा पाउने सुनिश्चिततासहित अवधारणापत्रमा समेटिएको उनले उल्लेख गरे ।

विसं २०८२ चैत १९ गते विश्व अटिजम सचेतना दिवसका अवसरमा सातवटै प्रदेशमा अटिजममा आधारित नमुना विद्यालय स्थापना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाको कार्यान्वयनका लागि प्रतिवेदन तयार गरिएको हो । प्रतिवेदनले एक सङ्घीय अनुसन्धान केन्द्र तथा प्रत्येक प्रदेशमा नमुना केन्द्र वा विद्यालयमार्फत अटिजमसम्बन्धी सेवा व्यवस्थापन गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत बालबालिकाको प्रारम्भिक स्क्रिनिङ, सिकाइ, थेरापी, व्यावसायिक सीप विकास, समावेशी विद्यालयमा समायोजन तथा समाजमा एकीकरणका अवसर सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।

पूर्वाधार निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयले बजेट प्रस्ताव गरिसकेको तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले चालु आवदेखि नै आवश्यक कार्यक्रम प्रारम्भ गरेको बताइएको छ । प्रत्येक प्रदेशमा रु २८ करोडका दरले अटिजम नमुना विद्यालयका लागि बजेट विनियोजन गरिएको छ ।

साथै, आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि प्रत्येक प्रदेशमा रु तीन करोडका दरले कूल रु २१ करोड बजेट पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । यसका साथै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्धित प्रयासमा अटिजम सेवासम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरिएको छ ।

मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार उक्त मापदण्डले हाल निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबाट सञ्चालित अटिजम केन्द्रको नियमन तथा सेवा व्यवस्थापनका लागि आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । यस पहलले अटिजम भएका बालबालिकालाई गुणस्तरीय, समावेशी र पहुँचयोग्य शिक्षातर्फ महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको छ ।

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौँ – विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त मुद्दाका आरोपी १८ जनालाई आज सफाइ दिएको विशेष अदातलका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनका लागि दुई समूहबिच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार २७ गते हुन लागेको उक्त निर्वाचनका लागि पूर्वउपाध्यक्षद्वय राजुमान डङ्गोल र प्रश्रय राजभण्डारी समूहबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुवै समूहले आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन् । कार्यसमिति सदस्य, दुई कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष हुनुभएका अध्यक्षका प्रत्यासी डङ्गोल समूहको प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावा तामाङ, तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी, महासचिवमा पशुपति कँडेल, सचिवमा दिलीप कँडेल र कोषाध्यक्षमा किन्चु लामा भुटिया (श्रेष्ठ) उम्मेदवार रहेका छन् ।

कार्यसमिति सदस्यमा सुरेन्द्र डङ्गाेल, कृष्णबहादुर सेढाईं, विश्वमान प्रधान, सानुकाजी महर्जन, बालकृष्ण खनाल, चन्द्रा तामाङ, रोशन प्रधान श्रेष्ठ र लिजा मानन्धर रहेका छन् ।

राजभण्डारी समूहको प्रथम उपाध्यक्षमा श्रीकृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ, तृतीय उपाध्यक्ष रमेश श्रेष्ठ, महासचिव पुन्यराम लागेजु, सचिव प्रकाश थपलिया र कोषाध्यक्षमा रोशन अधिकारीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सदस्यमा कमल अर्याल, सोजेश मालाकार, नवीन तामाङ, पूर्णिमा मालाकार, लालबाबु चौधरी, गोविन्दकुमार श्रेष्ठ, मीरा अधिकारी र सोम बानियाँ उम्मेदवार रहेका छन् । एक हजार ३०० बढी व्यवसायी तथा घरधनी आवद्ध रहेको परिषद्को ३० र ३१ औँ वार्षिक साधारणसभा तथा निर्वाचन असार २७ गते शनिबार नयाँबजारस्थित मल्टी भेन्यूमा हुँदैछ ।

पश्चिम एसियामा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह

पश्चिम एसियामा चलिरहेको चरणबद्ध वार्तको प्रयासको बावुजुत पुनः भड्किएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाई वार्ता र कूटनीति मार्फत मतभेद समाधान गर्न पाकिस्तानले आग्रह गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिचको नयाँ द्वन्द्व “कसैको पनि हितमा नभएको बताएउदै यस्ता क्षेत्रीय शान्ति र स्थिरतालाई थप कमजोर पार्ने कार्यहरूबाट टाढा रहन सबै पक्षहरूलाई आह्वान गरेको छ ।

यस क्षेत्रमा शान्तिको साझा लक्ष्य हासिल गर्न निरन्तर संलग्नता, संवाद र कूटनीतिको कुनै विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेश कार्यालयले सबै पक्षहरूलाई इस्लामाबाद समझदारी ज्ञापनपत्र अनुसार आ–आफ्नो प्रतिबद्धता कायम राख्न आग्रह गर्दै समझदारी पत्रलाई यस क्षेत्रको लागि आपसी साझा समृद्धिको स्थायी आधारको रूपमा वर्णन गरेको छ ।

यसैबीच पाकिस्तान क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्न आफ्नो भूमिका निर्वाह गर्न सधै तयार रहेकोसमेत जनाएको छ ।

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम राज्यकोषमा दाखिला नगरेको पाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन् ।

त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन पाउने छैनन् ।

लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालयमा पठाएको विवरणका आधारमा सेवा रोक्का प्रक्रिया अघि बढिसकेको छ । उक्त जरिवानावापतको रकम दाखिला नगरेसम्म त्यहाँबाट पाउने विभिन्न सेवा रोक्का हुने प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

जरिवानावापतको रकम पूर्णरूपमा बुझाएपछि मात्रै ती सेवा पुनः प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यातायात व्यवस्था कार्यालयले अब कुनै पनि नयाँ सेवा लिनुअघि सम्बन्धित चालकले ट्राफिक जरिवानावापतको रकम राज्यकोषमा तिरेको पुष्टि अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । जरिवानावापतको रकम जम्मा गर्न बाँकीलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कार्य सुरु गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार यो कदम जरिवानावापतको रकम राज्यकोषमा जम्मा गर्ने अभियानलाई प्रभावकारी बनाउनका साथै ट्राफिक नियम पालना गर्ने संस्कृतिको विकास र सडक अनुशासन कायम गर्न लागू गरिएको जनाइएको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी जरिवानावापत रकम राज्य कोषलाई नतिर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यस्तो व्यवस्था प्रभावकारी हुने विश्वास गरिएको प्रवक्ता सुवेदीले बताए । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पूर्णपालना गर्न चालकलाई अनुरोध गरेको छ ।

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौँ । सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको अवरोध हटाएको छ । बुधबारको मन्त्रिपरिषद्को निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो ।

मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणलाई वन ऐन, २०७६ को दफा ४२(१) बमोजिम मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटे सामुदायिक वन उपभोक्ता समूह तथा बकैया–२ स्थित सरस्वती सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको राष्ट्रिय वनको २.२ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । साथै उक्त क्षेत्रमा रहेका विभिन्न प्रजातिका एक हजार २९२ वटा रुख हटाउन पनि स्वीकृति प्रदान गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार लामो समयदेखि वन क्षेत्रको स्वीकृति, राइट अफ वे (मार्गाधिकार) तथा रुख कटानसम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो । ढल्केबर–हेटौँडा–इनरुवा करिडोर करिब ३०० किलोमिटर लामो रहेको र ४०० केभी उच्च भोल्टेज प्रसारण लाइनका लागि ४६ मिटर चौडाइको मार्गाधिकार आवश्यक पर्ने भएकाले वन क्षेत्रको अनुमति अत्यावश्यक थियो ।

हेटौँडादेखि बुटवलसम्म २२० केभी प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ । नयाँ ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ्ने, पटक–पटक हुने ट्रिपिङ तथा विद्युत् अवरोधमा कमी आउने र अतिरिक्त विद्युत् भारत निर्यात गर्न सहज हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रसारण लाइन सञ्चालनमा आएपछि नेपालको राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ, सन्तुलित र भरपर्दो हुनेछ । पूर्वमा उत्पादन भएको विद्युत् पश्चिम र पश्चिममा उत्पादन भएको विद्युत् पूर्वसम्म प्रवाह गर्न मिल्ने बताए ।

यसैबिच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यो परियोजनालाई ‘ऊर्जा राजमार्ग’ का रुपमा चित्रण गर्दै यसबाट मुलुकको विद्युत् निर्यात क्षमता बढेको र हालको करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्नसक्ने क्षमता प्रसारण प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि दुई हजार ५०० देखि तीन हजार मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिने बताएका छन् ।

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, भौतिक पूर्वाधार विकास, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग छलफल गरेका छन्।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रका समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको बताए।

उनले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सरकार र निजी क्षेत्रसहित सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिए।

छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी थिए।

महासंघका पदाधिकारीहरूले निर्माण क्षेत्रले भोगिरहेका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका थिए।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा पनि सहभागी थिए।

युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु

काठमाडाैँ। युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु भएकाे छ। आक्रमणमा अन्य सात जना घाइते भएको जनाइएको छ।

डोनेट्स्कका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रूसी आक्रमणमा ड्रझकिव्कामा तीन जना र क्रामटोरस्कमा एक जनाको मृत्यु भएको बताए।

पछिल्लो आक्रमणमा यस क्षेत्रका थप सात जना घाइते भएको युक्रिनफर्मले पनि पुष्टि गरेको छ। रूस र युक्रेनले सन् २०२२ फेब्रुअरी देखि दुई पक्ष बिच चलिरहेको द्वन्द्वका कारण यो क्षेत्रमा दिनहु जसो आक्रमणहरू भएको रिपोर्ट गर्ने गरिएको छ।

नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले शासकीय सुधारका प्रयासलाई थप संस्थागत, परिष्कृत र परिणाममुखी बनाउँदै नागरिकलाई अनुभव हुनेगरी सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सरकार गठन भएको एक सय दिनमा भएका प्रमुख कार्य, उपलब्धि र प्रारम्भिक परिणामको सारांश प्रस्तुत गर्दै उनले यस अवधिमा भ्रष्टाचारमा शून्य सहनशीलता, मितव्ययिता, योग्यतामा आधारित नियुक्ति तथा ‘डिजिटल’ सेवा प्रवाहमा ठोस परिणाम हासिल भएको जानकारी दिए।

मन्त्री पोखरेलले गत भदौको जेनजी आन्दोलनबाट अभिव्यक्त सुशासन र शासकीय रूपान्तरणको आकाङ्क्क्षालाई संस्थागत गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारका एक सय कार्यसूची स्वीकृत गरिएको बताउँदै प्रत्येक कार्यसूचीको समयसीमा, जिम्मेवार निकाय र कार्यसम्पादन सूचक निर्धारण गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन, समन्वय र सहजीकरण भइरहेको जानकारी दिए।

नीतिगत तथा कानुनी सुधार

मन्त्री पोखरेलले नीति निर्माणलाई प्रमाणमा आधारित बनाउन तथा स्वार्थप्रेरित नीति निर्माण नियन्त्रण गर्न राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षहरूको ढाँचा र नीति परीक्षण ढाँचा लागू गरिएको जानकारी दिए।

उनले प्रशासनिक बोझ घटाउन सङ्घीय मन्त्रालयको सङ्ख्या १८ मा सीमित गरिएको तथा १७ सदस्यीय चुस्त र कामकाजी मन्त्रिमण्डल गठन गरिएको बताउँदै यसबाट वार्षिक करिब रु २० अर्ब बचत हुने अनुमान गरिएको जानकारी दिए।

उनले सुशासन, सार्वजनिक सेवा र विकास निर्माणसँग सम्बन्धित विभिन्न नीतिगत तथा कानुनी प्रबन्ध गरिएको, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक संसद्मा पेस गरिएको र यसबाट खरिद प्रक्रिया अझ सरल, सहज तथा प्रतिस्पर्धी हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, राजनीतिक हस्तक्षेपमुक्त सार्वजनिक प्रशासन निर्माण गर्ने उद्देश्यले युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइएको उहाँले बताउनुभयो ।

सुशासन तथा भ्रष्टाचार नियन्त्रण

मन्त्री पोखरेलले राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानुनी सम्पत्ति छानबिन गरी कारबाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको र हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन भएको जानकारी दिए।

उनले नेपाल बाल सङ्गठन (बालमन्दिर) र एनसेल सेयर स्वामित्व विवादसम्बन्धी उच्चस्तरीय छानबिन प्रतिवेदन कार्यान्वयनमा आएको तथा सिआइबीबाट ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरको अनुसन्धान जारी रहेको बताए ।

साथै, सदाचार प्रवर्द्धन, आचारसंहिता निर्माण, परिपालना तथा स्वार्थको द्वन्द्व नियन्त्रण समेटिएको राष्ट्रिय सदाचार नीति जारी गरिएको र सरकारी निकायमा आपसी लेनदेनमा संलग्न व्यक्ति तथा बिचौलियामाथि कारबाही गरिएको जानकारी दिए।

मन्त्री पोखरेलले ठुलो परिमाणमा सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिएको, फेवाताल जलाधार क्षेत्रको अतिक्रमण हटाउने कार्य प्रारम्भ गरिएको तथा त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउन १७ निकायसँग प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनले उखु किसानको रु १३ अर्ब ७६ करोड (करिब ९२ प्रतिशत) बक्यौता भुक्तानीमा सहजीकरण गरिएको, दुग्ध किसानलाई रु ३५ करोड भुक्तानी गरिएको तथा गहुँ र धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको जानकारी सदनलाई गराए।

उनले दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति र आयोजना खारेज तथा एकीकरण गरिएको, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र समावेशितालाई प्राथमिकता दिने छुट्टै मन्त्रालय गठनसहित कार्यविभाजन गरिएको, मन्त्रालयहरूमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी कटौती गरिएको, स्थानीय तहमा निमित्तका भरमा सञ्चालन भइरहेका प्रमुख प्रशासकीय अधिकृतलाई विस्थापित गरिएको, प्रचलित कानुनबमोजिम सवारी सुविधा नपाउने पदाधिकारीको सुविधा कटौती गरिएको तथा भन्सारमा थन्किएका सवारीको लिलाम तथा हस्तान्तरण प्रक्रिया अघि बढाइएको बताए।

त्यसैगरी, विभिन्न ३१ वटा अनुत्पादक निकाय खारेज गरिएको, छ वटा निकाय मर्जर गरिएको, छ वटा निकाय हस्तान्तरण गरिएको तथा १८ निकायको पुनर्संरचना प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए। कानुनविपरीत प्रयोग भइरहेका ६७२ सरकारी गाडी तथा मोटरसाइकल जफत गरी राज्य मातहत फिर्ता ल्याइएको पनि उनले बताए।

त्यसैगरी, अध्ययन बिदा पूरा भए पनि सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट रु १३ करोड २६ लाख राजस्व फिर्ता गराइएको तथा औद्योगिक क्षेत्रका उद्योगबाट बाँकी बक्यौतामध्ये रु ४३ करोड ४८ लाख असुली गरिएको जानकारी दिए।

एक हजार ५०० भन्दा बढी राजनीतिक नियुक्तिका पदाधिकारीलाई पदमुक्त गरिएको तथा योग्यता प्रणालीका आधारमा रिक्त पदमा खुला प्रतिस्पर्धा, सार्वजनिक विज्ञापन र विज्ञ छनोट समितिमार्फत नियुक्ति प्रक्रिया सुरु भएको जानकारी दिँदै उहाँले पहिलो पटक विभिन्न देशका लागि राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।

यसैगरी, प्रमुख सहरका भन्सार कार्यालय दैनिक कम्तीमा १२ घण्टा तथा बिदाका दिनसमेत सञ्चालनमा ल्याइएको, आन्तरिक राजस्व विभागबाट एक सय २० स्थानीय तहमा सेवा विस्तार गरिएको, नागरिक सेवा केन्द्र सञ्चालन कार्यविधि तर्जुमा गरिएको तथा सात सय ५३ वटै स्थानीय तहबाट प्रवाह हुने सेवालाई नागरिकमैत्री बनाउन पहिलो पटक स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड, २०८३ जारी गरिएको उनले जानकारी दिए।

मन्त्री पोखरेलले नापी तथा भूमि प्रशासन कार्यालयमा बिचौलियाको प्रभाव अन्त्य गरी सेवाग्राही सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको तथा ७५ जिल्लामा हुलाकमार्फत नागरिकता, राहदानीलगायतका सेवा घरदैलोमै पुर्याउने व्यवस्था गरिएको जानकारी दिए।

उनले चार लाख ४७ हजार ३३२ सवारी चालक अनुमतिपत्र छपाइ भई यातायात कार्यालयमा पुगेका तथा केही जिल्लामा सेवाग्राहीका घरमा वितरण गर्ने तयारी भइरहेको बताए।

जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सुरु गरिएको, सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यालय हेलो सरकारमा आबद्ध भएको र प्राप्त गुनासोमध्ये ६० प्रतिशत फछ्र्यौट भइसकेको जानकारी पनि उनले दिए।

एकीकृत ‘ड्यासबोर्ड’मार्फत सबै मन्त्रालयको गुनासो समाधानको प्रगति रियल–टाइममा अनुगमन भइरहेको तथा गृह मन्त्रालयबाट देशभरका गुनासो, सुझाव र अनुरोध शीघ्र सम्बोधन गर्न राष्ट्रिय नागरिक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली अहोरात्र सञ्चालनमा ल्याइएको उनले बताए।

सूचना प्रविधि

मन्त्री पोखरेलले ७७ जिल्लाका स्थानीय तहबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस गर्न सकिने व्यवस्था गरिएको, राहदानी सेवामा अनलाइन ‘प्री–इनरोलमेन्ट’ र ‘अपोइन्टमेन्ट’ प्रणाली लागू गरिएको तथा अध्यागमन विभागमा ‘डिजिटल टाइमकार्ड’ र नागरिक एपमार्फत इमिग्रेसन स्वघोषणाको व्यवस्था गरिएको जानकारी दिए।

त्यसैगरी, प्रहरी चारित्रिक प्रमाणपत्र, स्थायी लेखा नम्बर, इन्जिनियरिङ काउन्सिलको प्रमाणपत्रलगायतका कागजात एपमार्फत ‘डाउनलोड’ गर्न सकिने, डिजिटल सवारी चालक अनुमतिपत्रको व्यवस्था गरिएको, एलआइएन नम्बरबाट जग्गाको विवरण हेर्न सकिने मालपोत प्रणाली लागू गरिएको तथा धितोबन्धकी प्रक्रिया ‘अनलाइन’ अनिवार्य बनाइएको सरकारका प्रवक्ताले जानकारी दिए।

सरकारी ‘एप तथा पोर्टल’हरू अपाङ्गमैत्री बनाइएका र एकीकृत ‘वेबसाइट’ प्रणाली सञ्चालनमा आएका पनि मन्त्री पोखरेलले बताए।

प्रतिनिधि सभाकाे विशेष समयमा कसले के भने ?

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रणलगायत समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका बिजुलीको खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढेको बताए।

नेपाली कांग्रेसकी सांसद सुशीला ढकाल आचार्यले पछिल्लो तीन दशकमा मुलुकमा ‘केही भएन भन्ने’ र वर्तमान सरकारको एक सय दिनमा मुलुक कायपलट भयो भन्ने दुवै भाष्य गलत भएको बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का क्षितिज थेवेले निर्वाचनमा प्राप्त जनादेशअनुसार जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्ने बताए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका जिल्लामा सडक दुर्घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै सुरक्षित सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिए।

श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पहाडी क्षेत्रमा बाँदरसम्बन्धी समस्याबाट किसान विस्थापित हुनेक्रम बढिरहेको जनाउँदै बाँदर, बँदेलजस्ता जङ्गली जनावर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।

रास्वपाका ताहिर अलि भाटले सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको समस्या समाधान गर्न सुझाव दिए । सोही पार्टीका अरबिन्द साहले वर्तमान सरकारले पछिल्लो एक सय दिनमा सुशासन, आर्थिक र प्रशासनिक सुधार, डिजिलट प्रविधिको विस्तार तथा राज्यका आधारभूत संरचना बलियो बनाउने दिशामा प्रगति गरेको बताए।

कांग्रेसका खड्कबहादुर बुढाले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको पुनःस्थापनामा ध्यान दिन सरकारसँग माग गरे। एमाले सांसद रिङ्गला यादवले वर्षौंदेखि भूमि र पहिचानका लागि लड्दै आएका नवलपरासी पश्चिम सुस्ता क्षेत्रका नागरिकको माग तत्काल सम्बोधन गर्न माग गरिन्।

नेकपाका रमेशकुमार मल्लले नेपालको परराष्ट्र नीतिका आधारका रुपमा रहेका स्वतन्त्रता, असंलग्नता, पञ्चशीलको सिद्धान्त, सार्वभौमिक समानता, पारस्परिक सम्मान र सन्तुलित छिमेकी नीतिलाई सरकारले पूर्णपालना गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिइन्।

रास्वपाका ठाकुरसिंह थारुले बर्दियामा सर्पदंशका बिरामी बढ्दै गइरहेका अवस्थामा बर्दिया अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा ल्याउन सरकारसँग माग गरे।

सांसद रुक्मिणीदेवी कोइरालाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासी र भूमिहीन नागरिकलाई तत्काल भूमिको स्वामित्वसहित पुनःस्थापित गर्न सरकारको ध्यानाकर्षण गराइन्।

एमालेका ऐनबहादुर महरले छिमेकीसँगको सम्बन्धका विषयमा नेपालको प्रतिबद्धताबारे सरकारको जवाफ माग गरे। रास्वपाकी बिना गुरुङले बेलायती गोर्खा सैनिकका सन्ततिको वंशजको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

रास्वपाका खगेन्द्र सुनारले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कहिले कारबाही हुन्छ भनी सरकारसँग प्रश्न गरे।

सोही पार्टीका सागर भुसालले बाँदर आतङ्क प्रभावित किसानलाई तत्काल राहत दिन सरकारसँग माग गरे। सांसद नरेन्द्र साह कलवारले असार मसान्त नजिकिँदै गर्दा विकास गर्नेभन्दा पनि बजेट सम्पन्न गर्ने प्रवृत्तिले शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको जनाउँदै आगामी आर्थिक वर्षदेखि उक्त प्रवृत्ति अन्त्य गर्न सुझाव दिए।

रास्वपाका प्रदीप विष्टले काठमाडौँ क्षेत्र नं १० का कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकामा पिउने पानीको अभाव भइरहेको जनाउँदै सो क्षेत्रका खानेपानी मुहान संरक्षण गरी न्यायोचित रुपमा पानी वितरण गर्न सरकारको ध्यानाकर्षण गराए।

सोही पार्टीकी ज्ञानु पौडेलले सीमा क्षेत्रमा हुनसक्ने लागुऔषधको अवैध ओसारपसारका गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरिन् । रास्वपाका राम लामाले बर्सेनि रासायनिक मलको अभाव हुने समस्या सदाका निम्ति समाधान गर्न स्वदेशमै मल उत्पादन कारखाना स्थापना गर्न सरकारलाई सुझाव दिए।

रास्वपाका रुकेश रञ्जितले भक्तपुर नगरपालिका–२ मा रहेको देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना तत्काल सम्पन्न गरी स्थानीयलाई राहत दिन माग गरे।

सोही पार्टीका बुद्धरत्न महर्जनले काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रुपमा रहेको कान्ति लोकपथको मापदण्ड र रुटकाबारेमा नागरिकलाई तत्काल जानकारी दिन आग्रह गरे।

रास्वपाका ललिताकुमारीले चिकित्सा विज्ञानमा शून्य जोखिम नहुने उल्लेख गर्दै चिकित्सकमाथि हुने आक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराए।

सोही पार्टीका ज्ञानेन्द्रसिंह महताले कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका केही बस्ती महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण डुबानको उच्च जोखिममा रहेका उल्लेख गर्दै डुबान तथा नदी कटान रोक्ने योजना बनाउन सरकारलाई सुझाव दिए।

सोही पार्टीका राजीव खत्रीले सुदूरपश्चिमका किसानलाई सिँचाइ, लगानी, मलबीउ, प्रविधि हस्तान्तरण गरी राहत दिन माग गरे।

त्यसअघि बैठकमा समय लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेको भन्ने समाचारका सम्बन्धमा सरकारको जवाफ माग गरेका थिए।

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। छलफलमा सदस्य वासुदेव घिमिरेले भाग लिँदै आफूहरूका संशोधनलाई स्वीकार गरेकामा सरकारलाई धन्यवाद दिइन्।

अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधि सभामा फिर्ता जानेछ ।

सभाका अध्यक्ष नारायणप्रसाद दाहालले समय सीमाको चापकाबिच छोटो अवधिमा छलफलपश्चात् आजै अध्यादेशलाई प्रतिस्थापनसम्बन्धी चार र बजेटसम्बन्धी आश्रित दुई विधेयक पारित गर्न सकिएकामा सम्बन्धित मन्त्री, समितिका सदस्य र सबै सदस्यहरूप्रति आभार व्यक्त गरे। सभाको अर्काे बैठक यही असार २६ गते शुक्रबार १ः१५ बजे बस्नेछ।

उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभलले आज उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा उनीहरूबिच नेपाल– फ्रान्स सम्बन्धका विविध आयामबारेमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र फ्रान्सबिच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको पारस्परिक सम्मान, सहयोग र मैत्रीमा आधारित सम्बन्ध अझ उन्नत भएको बताएका थिए ।

उनले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यहरू ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ ले नेपालको राजनीतिक आन्दोलनलाई पनि प्रेरित गर्दै आएको उल्लेख गरेका थिए ।

फ्रान्सले युरोपेली सङ्घ (इयु) मार्फत नेपाललाई प्रदान गर्दै आएको सहयोगका लागि उपराष्ट्रपति यादवले धन्यवाद ज्ञापन गर्दै दुई देशबिचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

साथै, उपराष्ट्रपति यादवले फ्रान्सको आसन्न राष्ट्रिय दिवसका अवसरमा राजदूत कोर्टेभलमार्फत फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो र फ्रान्सेली जनताको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।-

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ।

सभाको बिहीबारकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेकाे सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

उक्त प्रस्तावमाथिको छलफलमा सांसद बुद्धिप्रसाद पन्त, विदूषी राणा, रेनुका काउँचा, यज्ञमणि न्यौपाने, नरेन्द्रकुमार केरुङ, केपी खनाल, समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, विक्रम थापा, सृष्टि भट्टराई, खुश्बु ओली, लिमा अधिकारी आचार्य र कमल सुवेदीले राष्ट्रिय सुरक्षाका लागि सही सूचना आवश्यकपर्ने भन्दै गुप्तचर निकायलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

छलफलमा गणेशबहादुर विश्वकर्मा, निश्कल राई, कृष्णहरि बुढाथोकी, भरतप्रसाद पराजुली, सुलभ खरेल, मनिष खनाल, पार्वती विक, चन्द्रमोहन यादव, अशोककुमार चौधरी, बलावती शर्मा, निराशा चौधरी (डगौरा), प्रेमलाल चौधरी, जनकसिंह धाँमी, ठाकुरसिंह थारु, प्रशान्त उप्रेती, गणेश कार्की, साजिता खातुन सिद्धिकी, मोहनलाल आचार्य, शाहजान खातुन, राधिका रम्तेल, सोम शर्मा, गङ्गालक्ष्मी अवाल र आर्यन राईले छलफलमा भाग लिएका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले भनिन्, “पहिला राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयअन्तर्गत थियो, अहिले विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको मात्रै हो, यसले सबै ‘इन्फरमेशन’ रहँदा मात्रै देशलाई कसरी सुरक्षामैत्री बनाउने भन्ने कुरा ‘हेड अफ क्याविनेट’ गर्न पाउनु हुन्छ भन्ने हो ।”

‘गजनी’ भिलेन प्रदीप रावतदेखि पल शाहसम्म अभिनित ‘आ बाट आमा २’ को क्रोएसिया राइट्स बिक्री

काठमाडौँ । आर्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार (राइट्स) बिक्री भएको छ। सिनेमा प्रदर्शन हुनु अगावै क्रोएसियाका लागि ‘नेप इन्टरटेन्मेन्ट’ (NEP Entertainment) र जाग्रेबस्थित ‘बुद्ध मार्ट’ ले यसको प्रदर्शन अधिकार खरिद गरेका हुन्।

चलचित्रका निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका फिल्म वितरकबीच प्रदर्शन अधिकारका लागि औपचारिक कागजी सम्झौता भइसकेको छ। पछिल्लो समय क्रोएसियामा नेपालीहरूको चाप अत्यधिक बढ्दै गएका कारण त्यहाँका वितरकहरूले यो फिल्म खरिद गरेका हुन्। यसअघि नै यो चलचित्रको प्रदर्शन अधिकार अमेरिका, क्यानडा र जापान लगायतका देशहरूमा ‘सोल्ड आउट’ भइसकेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्तकै कथा तथा पटकथा रहेको यो चलचित्र आगामी असोज ३० गते बडादसैँको फूलपातीका दिनदेखि देशव्यापी तथा विश्वव्यापी रूपमा प्रदर्शनमा आउने तयारीमा छ। “दशैँको जमरा र आमाको पर्खाइको कथा” लाई मुख्य विषयवस्तु बनाएको यस चलचित्रको पोस्टरमा “आउँछु भन्ने एउटा भुटो आशामा आमाले बर्षेनी जमरा छरिरहन्छिन्” भन्ने मार्मिक हरफ राखिएको छ, जसले वैदेशिक रोजगारीका कारण टाढिएका सन्तान र उनीहरूलाई कुरेर बस्ने आमाको कारुणिक कथालाई दर्शाउँछ।

आर्य पन्तको प्रस्तुति र आर्या इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको यस चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत (गजनीका भिलेन), मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट,दिलिप अखेडा र नरेन खड्का लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय देख्न पाइनेछ।

नेपालभर यो चलचित्रको वितरण ‘आर आर फिल्मस्’ ले गर्ने जिम्मा लिएको छ भने यसको डिजिटल अधिकार ‘ओएसआर डिजिटल’ ले खरिद गरिसकेको छ। चलचित्रको प्रोडक्सन म्यानेजरको रूपमा करणसिंह रसाली रहेका छन्।

‘गौँथली’को ट्रेलर हेरेपछि दर्शक भन्छन्– यस्तो पो नेपाली फिल्म

काठमाडौं । साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ । टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो । चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले सिनेमा हेर्न दर्शक प्रतिक्षित रहेको देखाउँछ । अहिले सिनेमाको ट्रेलर नेपालमा सिनेमातर्फको ट्रेन्डिङ चार्टको दोस्रो स्थानमा रहेको छ ।

यो चलचित्रको बजारमा बढ्दो हाइप र ट्रेलरमा देखिएको भावनात्मक गहिराइले ‘गौँथली’ साउन १ गतेदेखि बक्स अफिसमा राम्रो व्यापार गर्ने संकेत देखाएको छ । ट्रेलर हेरेर यस चलचित्रलाई दर्शकले व्यापारिक सफलताको शुभकामना दिइरहेका छन् । युट्युबमा ट्रेलर हेरेर अकेन्द्र ठकुरी लेख्छन्, “यो चलचित्रले पूर्णबहादुरको सारङ्गीको रेकर्ड तोड्नुपर्छ ।” पूर्णबहादुरको सारङ्गी नेपाली सिनेमा उद्योगमा हालसम्मकै सबैभन्दा धेरै पैसा कमाउने चलचित्र हो ।

“नेपाली फिल्म भनेको त यस्तो पो हुनुपर्छ मनै छुने । ट्रेलरमै अग्रिम शुभकामना फिल्म सुपरहिट होस्,” ट्रेलर हेरेपछि अकेन्द्र नामक फेसबुक प्रोफाइलबाट युट्युबमा कमेन्ट गर्छन् । यो चलचित्रमा अटिजम भएको युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनको अपोजिटमा रहेकी सिम्रन खड्को अभिनयको धेरै तारिफ भइरहेको छ । यससँगै उनीहरूले प्रचारका क्रममा गरेको मेहनतलाई दर्शकले तारिफ गरिरहेका छन् ।

अञ्जु थापालाई ट्रेलरले नै रुवायो । उनी लेख्छिन्, “ट्रेलरले नै रुवायो, पूरा सिनेमाले त के गर्ला ?” ट्रेलरमा विशेषगरी अरुणको अवोधपन र सिम्रनले बिना कारण भोगिरहेको दुःखले दर्शकको मन जितिरहेको छ ।

छवि ओलीलाई पनि यसको सम्बेदनाले मन छोएको छ । “चलचित्र पुरै त हेर्न सकिन्न होला, हलमै आँसुले बगाएर । सशक्त अभिनय, उस्तै सम्बाद र भावले हरपल हृदय रसाएर । सानो अंश हेर्दै त आङ जिरिङ भयो हर शब्द सम्बादले,” उनले लेखेका छन् । कलाकारको अवोधपन र इमोस्नल पक्षले दर्शकको ध्यान तानिरहेको छ । यही नै चलचित्र ‘गौँथली’को सबल पक्ष हो ।

अटिजमबाट पीडित युवकसँग भर्खरै विवाह गरेकी दुलहीले झेलिरहेको समस्या, उनले पढ्नका लागि गरेको संघर्ष, परम्परागत मान्यता र विश्वासमा अडिरहेको सोच र त्यसले भत्काइरहेको सुन्दर सपनाको प्रस्तुतिलाई दर्शकले मन पराइहेका छन् । ‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका हुन् । चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको यस चलचित्रमा पाश्र्व संगीत एलिस कार्कीको छ ।
चलचित्रलाई हरि हुमागाईंले खिचेका छन् । मिलन श्रेष्ठले सम्पादन गरेका छन् । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ ।

यो चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् ।

पार्वती’ को डबिङ धमाधम, दीपाश्री भन्छिन्– ‘सोचेभन्दा राम्रो कथा बनेछ’

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ। यसै क्रममा चलचित्रकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन्। डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन्। फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभव समेत उनले साटेकी छन्।

अभिनेत्री दीपाश्रीलाई डबिङ गराइरहेकी यस फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि उत्तिकै उत्साहित देखिएकी छन्। आफूले कल्पना गरेभन्दा राम्रो फिल्म बनिरहेको भन्दै उनले दीपाश्री लगायत सम्पूर्ण टिमप्रति आभार प्रकट गरेकी छन्।

‘नीता फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतको मुख्य अभिनय रहेको छ।

हरिहर अधिकारी निर्माता रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन्। सुदिप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको यस फिल्मको निर्माण टोली निकै बलियो देखिन्छ। यसअघि यही ब्यानरबाट बहुप्रतीक्षित फिल्म ‘ह्रस्वदीर्घ’ निर्माण भएको थियो।

कालिकोटमा कालाजारको बिरामी देखियो

कालिकोट । हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी देखिन थालेका छन् । कालिकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् ।

विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२/ ८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । उनका अनुसार डेङ्गीका १०, कालाजारका आठ र औलोका एक जना एक बिरामी भेटिएका छन् ।

जिल्लाका नौ पालिकामध्ये छ पालिकामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिएको जनस्वास्थ्य अधिकृत महतले बताए । “जिल्लाका नौ पालिकामध्ये खाँडाचक्र नगरपालिका डेङ्गीका आठ, पलाँता गाउँपालिका एक , नरहरिनाथ गाउँपालिका एक जना बिरामी भेटिएका छन् ।

त्यस्तै, कालाजारका खाँडचक्र नगरपालिका दुई, पचालझरना गाउँपालिका दुई , रास्कोट नगरपालिका, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा एक÷एक जना, बिरामी भेटिएका छन्”, उनले भने, “औलो रोगका बिरामी खाँडाचक्र–२ मा एक जनामा भेटिएको थियो । यो भने आयतित बिरामी थिए ।”

जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने क्षेत्रमा लामखुट्टे बाँच्न र प्रजनन गर्न सक्षम भएका र जिल्लाबाट धेरै मानिसहरु तराईका जिल्लाबाट आउन–जाने भएकाले पनि पछिल्लो चरणमा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले बताए । “सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने ठाउँ बढ्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बन्छ । त्यो कारणले पनि जिल्लामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन्”, उनले भने, “ विशेष गरेर जिल्लाका तल्लो भेग कर्णाली नदी र तिला नदी किनार आसपासका क्षेत्रमा लामखुट्टेबाट सर्ने रोगका बिरामी भेटिएका छन् ।”

जिल्लामा डेङ्गी, औलो र कालाजारका सङ्क्रमणका बिरामी भेटिन थालेपछि महामारीको रुपमा फैलिन नदिनका लागि स्वास्थ्य संस्थाहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताए । “लामखुट्टेको जोखिम देखिएका जिल्लाका विभिन्न ठाउँमा स्थानीय स्वास्थ्य संस्थाहरुको सहयोगमा लार्भा खोज्ने र नष्ट गर्ने तथा सचेतनाको अभियान सञ्चालन गरेका छौँ”, उनले भने “विशेष गरेर डेङ्गी, औलो र कालाजार बिरामी भेटिएका क्षेत्रमा घरभित्र र बाहिर पानी जम्ने ठाउँहरु सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग विषयमा जानकारी गराएका छौँ ।”

ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४, सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको हो ।

तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ ।

सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आउनुभएको हो ।

“कामको खोजीमा भारतको सिलोङमा जानुभएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११ आँै दिनमा आमाको निधन भएको रहेछ”, कर्णबहादुरले भन्नुभयो, “बुबा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामाघरका हजुरबुबा र आमाले हुर्काउनुभएको थियो ।”

तीस वर्षअघि जिल्ला सदरमुकाम बेनीमा ल्याएर दाजुभाइ र आफन्तले बुबाको नामबाट नागरिकता दिलाएपछि मामाघरमै फर्किएका कर्णबहादुर त्यसयता कसैको सम्पर्कमा नभएपछि परिवार र आफन्तहरुले माया मारिसकेका थिए । कर्णबहादुरका भाइ (फुपुका छोरा) भूमिराज केसीले केही दिनअघि ताकममा भएको कुलपूजामा सहभागी हुन श्रीमतीसहित दाजु थातथलो खोज्दै आइपुग्दा सबै दङ्ग र अचम्ममा परेका बताउनुभयो ।

“नागरिकता बनाएपछि मामाघरमै जानुभएका कर्णबहादुर दाइको अवस्था अज्ञात हुँदा हामीहरुले माया मारिसकेका थियौँ”, उहाँले भन्नुभयो, “जन्मथलो खोज्दै पुर्ख्यौली थलोमा आइपुगेपछि हामीहरु सबै खुसी भएका छौँ ।” जन्मजात रुपमा दाहिने आँखा नदेख्ने कर्णबहादुरले २० वर्षअघि देब्रे आँखामा लागेको चोटको समयमै उपचार नपाउँदा दुवै आँखाको दृष्टि गुमेको बताउनुभयो ।

रुपन्देहीमा रहेको नेत्रहीन सङ्घको कार्यालयमा बाँसको मुढा बुन्ने तालिममा सहभागी हुने क्रममा त्यही काम गर्ने दृष्टिविहीन डिलमाया चौधरीसँग कर्णबहादुरको चिनजान र १० वर्षअघि बिहेवारी भएको थियो । ३६ वर्षीया डिलमाया जन्मजात दृष्टिविहीन हुनुहुन्छ । शिक्षा शास्त्र सङ्कायमा स्नातक तह उत्तीर्ण गरेकी डिलमायाले सामाजिक सञ्जाल र वेबसाइटको माध्यमबाट श्रीमान् कर्णबहादुरको जन्मथलोको ठेगाना पहिचान गरेर सम्पर्कमा आएको बताउनुभयो ।

डिलमायाको माइती र कर्णबहादुरका मावलीको संरक्षणमा रुपन्देहीको सियारीमा सामानको ‘मार्केटिङ’ गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुको सात वर्षका छोरालाई नेत्रहीन सङ्घको समन्वयमा ललितपुरको छात्रावासमा बसेर अध्ययनको व्यवस्था मिलाइएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र पसलको ‘मार्केटिङ’ गरेर प्राप्त हुने ज्यालाबाट उनीहरुले घरव्यवहार चलाउँदै आएका छन् ।

आफन्त र दाजुभाइ भएकै ठाउँमा बसोबास गर्ने इच्छाअनुसार पुरख्यौली थलोमा आएका कर्णबहादुरको घरजग्गा र सम्पत्ति छैन । अध्यापन गराउन सक्ने शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र भएकी डिलमायाले जागिरको खोजीमा रहेको बताउनुभयो ।

कर्णबहादुरका दिवङ्गत दाजुका छोरा बालकृष्ण खत्री ताकममा बसोबास गर्नुहुन्छ । अर्की आमाबाट जन्मिएका भाइ पनि बेपत्ता रहेका भूमिीराजले बताउनुभयो । “आफन्त खोज्दै आउनुभएका कर्णबहादुर दाइ र भाउजुको लागि ताकममै हामी आफन्तहरुले घडेरीको व्यवस्था गरेर घर बनाइदिने प्रयासमा छौँ”, उहाँले भन्नुभयो, “सुकुमवासी उहाँको आवास निर्माणका लागि वडा कार्यालय, गाउँपालिकादेखि राज्यका सम्बद्ध निकाय तथा दाताहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।”

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ५०, काउली स्थानीय प्रतिकिलो रु ४०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३५, लौका प्रतिकिलो रु ३५, परवर (लोकल) प्रतिकिलो रु ४०, परवर (तराई) प्रतिकिलो रु ४०, चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला प्रतिकिलो रु ३५, झिगुनी प्रतिकिलो रु ४०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ६०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ७०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ५००, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु ३००, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ ।

अदुवा प्रतिकिलो रु २००, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ५०, खुर्सानी भेडे प्रतिकिलो रु ७०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३०० निर्धारण भएको छ ।

पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारी साधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटनमा भएको थियो ।

दुर्घटनामा चालक राई गम्भीर घाइते भएकामा उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारको क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए । सोही दुर्घटनामा पिकअपमा सवार सिराहा लहान नगरपालिका घर भई विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाईते भएका छन् ।

उनको अवस्था समान्य भएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई समेत प्रस्तुत गर्ने र कार्यसूची छ । ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ ।

आर्थिक असन्तोषले नयाँ राजनीतिक शक्ति जन्मायो, तर अराजकतावाद टिक्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन् –

नेपाली राजनीतिमा ‘नयाँ शक्ति’ को उदय र त्यसको भविष्यः
१. जीवन स्तरको वृद्धि र आर्थिक वृद्धिको असन्तुलनवाट उत्पन्न सामाजिक असन्तोषः
• पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीले नेपाली समाजको जीवनस्तर त उकास्यो, तर सोही अनुरूप नेपाली समाजको आर्थिक विकास हुन सकेन।
• जीवनस्तरमा भएको वृद्धिले वस्तु र सेवाको उपभोगमा अस्वाभाविक वृद्धि भयो, तर सोही अनुपातमा वैधानिक आय बढ्न सकेन। यही अन्तर्विरोध नै समाजमा व्याप्त असन्तोषको मुख्य कारण बन्यो।
• वैध आयको अभावमा वस्तु र सेवाको आवश्यकता पूर्ति गर्ने होडबाजीका कारण समाजमा भ्रष्टीकरण, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र तीव्र विदेश पलायन जस्ता गम्भीर समस्याहरू जन्मिए । यस प्रति राज्यको ध्यान समयमा जान सकेन । जसले गर्दा नागरिकको ठूलो हिस्सा राज्यप्रति निराश र आक्रोसित बन्दै गयो।
२. आम निर्वाचन २०८२ र एजेन्डाको प्रभाव
• निर्वाचनमा मूलधारका दलहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई अघि सार्दै विगतका कामको प्रचारमा जोड दिए,भविष्यमा त्यस्तै काममा तिव्रता दिने कुरा गरे । तर यसले आम मतदातालाई आकर्षित गर्न सकेन।
• अर्कोतर्फ, वैकल्पिक शक्तिहरूले ‘भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारी’ लाई मुख्य मुद्दा बनाए, जसले सीधा जनताको ध्यान खिच्यो।
• साथै “पुरानो शक्तिबाट पूरा नभएका अपेक्षाहरू नयाँबाट मात्र सम्भव छन्” भन्ने भाष्य स्थापित गर्न उनीहरू सफल भए। सत्ता राजनीतिमा अल्झिएका पुराना दलहरूको जनतासँग टुट्दै गएको सम्बन्धको फाइदा नयाँले सामाजिक सञ्जालको चतुर प्रयोगमार्फत उठाए। तर मुलधारका राजनीतिक दलहरुले त्यसको प्रतिवाद समेत गर्न सकेनन् ।
३. भूराजनीति, ‘डिप स्टेट’ र वाह्मय चलखेल
• यो राजनीतिक परिवर्तन केवल आन्तरिक मात्र थिएन; पुराना दलहरूको विपक्षमा र नयाँको पक्षमा जनमत निर्माण गर्न भूराजनीतिक चलखेल र ‘डिप स्टेट’ का नाममा करोडौँ डलरको लगानीले समेत पर्दापछाडि बलियो भूमिका खेल्यो।
• ‘जेन्जी (Gen Z) अभियानकर्ता’ का नाममा भएका प्रदर्शनहरूलाई भिडन्तमा बदलेर नेपाली जनमतलाई थप आक्रोशित बनाउने खेल प्रायोजित थियो भन्ने तथ्यहरू अहिले बाहिर आइसकेका छन्।
• भदौ २३ र २४ को घटना र त्यसको जगमा भएको सत्ता परिवर्तनमा बाह्य शक्तिको नाङ्गो हस्तक्षेप रहे तापनि, आम निर्वाचनमा नयाँ शक्तितर्फ ढल्किएको नेपाली जनमत समाजभित्रै गुम्सिएको आर्थिक-सामाजिक अन्तर्विरोध र असन्तोषको परिणाम समेत थियो ।
४. नयाँ शक्ति र त्यसको भविष्य:
• लोकप्रियतावाद (पपुलिजम), अराजकतावाद र अवसरवादको जगमा उभिएर, अनि भूराजनीतिक द्वन्द्वको रणनीतिक लाभ उठाउँदै सत्तामा पुगेको नयाँ शक्ति लामो समयसम्म जनविश्वास कायम राख्न सक्ने अवस्थामा देखिँदैन।
• नेपाली समाजमा विद्यमान जटिल समस्याहरूको समाधान लोकतान्त्रिक विधि र संवैधानिक मार्गबाट खोजिनुपर्नेमा वर्तमान सरकार गलत बाटो समात्दै स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढ्न खोजिरहेको छ।
• इतिहासमा लामो र कठिन लोकतान्त्रिक आन्दोलनहरूबाट गुज्रिएर परिपक्व बनेको नेपाली समाजले राज्यको यस्तो अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई लामो समयसम्म स्वीकार गर्ने छैन र यसलाई छिट्टै अस्वीकार गर्ने निश्चित छ।

पोखराको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ ।

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवर्द्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक रूपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ । त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ । सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ ।

आयोजनाले गत मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो । तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइन्छ । प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ ।

सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ । त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङ मार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ । यहाँ ११/११ मेगावाट क्षमताका दुई वटा ‘टर्वाइन’ जडान गरिएका छन् ।

आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ । आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर ९आइपिओ० निष्कासन गर्ने तयारी गरिएको छ ।

सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन् । गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्द्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ । हाल आधा दर्जन आयोजना निर्माणको प्रारम्भिक चरणमा र केही निर्माणाधीन छन् ।

खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले किसानले उत्पादन गरेको खसी बोक्राको उचित मूल्य सुनिश्चित गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।यस सम्बन्धमा किसानबाट व्यापारी तथा बजारसम्मको आपूर्ति शृङ्खला, खरिद मूल्य तथा उत्पादकले पाउने वास्तविक प्रतिफलका विषयमा तथ्याङ्क संकलन तथा अध्ययनको प्रक्रिया अघि बढाइएको छ ।

किसानले आफ्नो उत्पादनको न्यायोचित मूल्य प्राप्त गर्ने वातावरण निर्माण गर्दै उपभोक्तासम्म सहज र पारदर्शी आपूर्ति प्रणाली विकास गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।

उत्पादक र उपभोक्ता दुवैको हितलाई ध्यानमा राखी आवश्यक नीतिगत तथा समन्वयात्मक पहलका बारेमा थप निर्णय छिट्टै सार्वजनिक गरिनेछ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १५३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६० पैसा र बिक्रीदर १०६ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०८ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४४ पैसा र बिक्रीदर २२ रुपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २९ पैसा र बिक्रीदर २३ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्रिय गौरवको भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ ।

सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ ।

भेरी नदीको पानी ‘डाइभर्सन’ गरी बबईमा झारेर सिँचाइ सुविधा उपलब्ध गराउने र त्यसबाट करिब ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित प्रसारण लाइनमा नौ वटा टावर रहनेछ । त्यसमध्ये तीन वटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी छ वटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ ।

प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ । प्रसारण लाइनका कारण सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ । आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ ।

भेरी–बबईको प्रगति ७० प्रतिशत

भेरी नदीको पानीलाई १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाको झण्डै ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत रहेको छ । बाँकी काम सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाले जानकारी दिए ।

अपेक्षित प्रगति नभएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले केही दिन पहिले आयोजना स्थलको निरीक्षण गरेका थिए । उनले निर्माण प्रक्रियालाई तीव्र पार्न निर्देशन दिएका थिए ।

आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । सिभिल निर्माण कार्य, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम जारी छ । प्रसारण लाइन निर्माण कार्यको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पूर्वस्वीकृतिको प्रक्रिया सुरु भएको छ ।

पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलान्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ ।

कुल दुई दशमलव चार मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्त्वपूर्ण उपकरण डुबानमा परेका थिए ।

यस्तै, रोशी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पुर्‍याएको छ । विपद्का कारण रु सात करोड बराबरको क्षति भएको जनाइएको छ । बाढीले विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्‍याएको केन्द्रका प्रमुख शिवराज तिमिल्सिनाले जानकारी दिए ।

यस्तै, बाँधबाट विद्युत्गृहसम्म पानी लैजाने ‘क्यानल’ मा समेत क्षति पुगेको थियो । तिमिल्सिनाका अनुसार हालसम्म विद्युत् गृहभित्र थुप्रिएको माटो र लेदो हटाउने काम पूरा भएको छ । नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ ।

हाल केन्द्रमा ‘सिभिल’तर्फको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ । विद्युत्गृह वरपरको पहिरो नियन्त्रणका जैविक इन्जिनियरिङलगायत काम सम्पन्न हुने चरणमा छ । निर्माण व्यवसायीले निर्धारित समयमै काम सम्पन्न गरे बढीमा एक वर्षभित्र विद्युत् उत्पादन हुने बताइएको छ ।

तत्कालीन सोभियत सङ्घको सहयोगमा २०१७ सालमा निर्माण सुरु भएको सो आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने निर्णय गरिसकेको छ । रु २७ करोड लागतमा निर्माण सम्पन्न भएको आयोजनाको उद्घाटन विसं २०२२ मा भएको थियो ।

तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि सरकारले रु ६ अर्ब बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनामा हालसम्म ७५ दशमलव पाँच प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युत् गृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण जारी छ ।

बाँधलगायतका संरचनाको भौतिक प्रगति ५९ प्रतिशत बराबर पुगेको छ । यस्तै, मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुई वटा डाइभर्सन सुरुङलगायतका संरचनाको निर्माण सम्पन्न भएको छ ।

यस्तै, विद्युत् गृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ । त्यसको भौतिक प्रगति ७७ प्रतिशत छ । उहाँका अनुसार जलाशयको पानीलाई विद्युत्गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट ‘लाइनिङ’ कार्य जारी छ । प्रसारण लाइनअन्तर्गत ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ ।

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट । देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका बेला कालीकोटमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पशु सेवा कार्यालय कालीकोटले बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लाभित्र कुखुरामा बर्डफ्लु फैलिन सक्ने भएकाले सतर्कताका साथ पूर्व तयारीमा रहन कुखुरापालक किसानलाई अनुरोध गरिएको छ । कुखुरा फार्म, मासु पसल तथा कुखुरापालक किसानलाई रोग नियन्त्रणका लागि पूर्व तयारीमा रहन अनुरोध गरिएको जिल्ला पशु कार्यालयका प्रमुख धनबहादुर महतले जानकारी दिए ।

“हालसम्म जिल्लामा बर्डफ्लुको कुनै शङ्कास्पद घटना वा सङ्क्रमण पुष्टि भएको छैन,” उनले भने, “रोग नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाई सचेतना फैलाउने काम भइरहेको छ ।”

जिल्ला बाहिरबाट जीवित कुखुरा तथा चल्ला भित्र्याउँदा निगरानी बढाउने, फार्ममा जैविक सुरक्षाका मापदण्ड पालना गर्ने, अनावश्यक व्यक्तिलाई प्रवेश नदिने, दाना–पानी सफा राख्ने तथा कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर मात्र उपभोग गर्न आग्रह गरिएको प्रमुख महतले बताए ।

उनका अनुसार कुखुरामा शङ्कास्पद लक्षण देखिएमा नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिन चौबीसै घण्टा अनुगमन सुरु गरिएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

यही असार २० गते चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१ घर भई हाल बेलहट्टामा बसोबास गर्दै आएकी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको मृत्यु भएको थियो ।

मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेमा डार्ट प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ । रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई चौबीसै घण्टा निगरानीमा राखिनेछ ।

उनले हात्ती मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पु¥याएर आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेकी छिन् ।

यसैबीच, ध्रुवे हात्तीको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई तत्काल राहत उपलब्ध गराइएको मन्त्री चौधरीले जानकारी दिइन् । घटनाको तीन दिनभित्रै मृतकका परिवारलाई जनही रु १० लाखका दरले रु २० लाख राहत रकम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कोषबाट मृतकका परिवारलाई जनही रु ५० हजारका दरले थप रु एक लाख उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशको शरणार्थी शिविरमा पहिरो, आठ जनाको मृत्यु

बङ्गलादेशको कक्स बजारस्थित विश्वकै ठूलो शरणार्थी शिविरमा भारी वर्षाका कारण बुधबार गएको पहिरोमा परी सात बालबालिका र एक शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।

कक्षा सञ्चालन भइरहेका बेला विद्यालयको अस्थायी संरचनामा पहिरो खसेपछि हिलोमा पुरिएका बालबालिकाको शव उद्धारकर्मीले लामो प्रयासपछि निकालेका थिए।

बङ्गलादेशका शरणार्थी राहत तथा स्वदेश फिर्ती आयुक्त मोहम्मद मिजानुर रहमानले घटनामा सात बालबालिका र एक शिक्षकको मृत्यु भएको पुष्टि गर्नुभयो। उहाँका अनुसार चार जनाको घटनास्थलमै र अन्य चार जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

सन् २०१७ मा म्यानमामा भएको सैन्य कारबाहीपछि भागेर आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी कक्स बजारका विभिन्न शिविरमा बसोबास गर्दै आएका छन्।

शरणार्थीहरू बसोबास गर्ने अधिकांश शिविर पहाडी तथा भिरालो क्षेत्रमा अवस्थित छन्। जङ्गल फँडानी गरी बनाइएका यस्ता क्षेत्रमा मनसुनका बेला भारी वर्षा हुँदा पहिरोको जोखिम बढ्ने गरेको छ।

यसअघि सोमबार राति पनि तीनवटा छुट्टाछुट्टै शिविरमा गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको थियो।

बङ्गलादेशको बाढी पूर्वानुमान तथा चेतावनी केन्द्रले आगामी चार दिनसम्म भारी वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।

रोहिङ्ग्या शरणार्थी प्रतिनिधि सैयद उल्लाहले जोखिमयुक्त क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्न र नयाँ बसोबास क्षेत्रको व्यवस्था गर्न आग्रह गर्नुभएको छ। उहाँले शरणार्थी शिविर व्यवस्थापनमा पर्याप्त समन्वय नहुँदा यस्ता दुर्घटना दोहोरिएको बताउनुभयो।
संयुक्त राष्ट्रसङ्घले रोहिङ्ग्या सङ्कटलाई विश्वकै सबैभन्दा ठूलो र लामो समयदेखिको शरणार्थी सङ्कटमध्ये एकका रूपमा वर्णन गरेको छ।

छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन भइरहेकाले अहिल्यै आफ्नो दाबी नगर्न आग्रह गरेको छ ।

बसपार्कको जग्गा व्यवस्थापन तथा स्वामित्व सम्बन्धी विषयमा गठित छानबिन समितिको प्रतिवेदन नआउँदासम्म कुनै पनि पक्षले सार्वजनिक रूपमा आफ्नो अधिकार दाबी गर्न नमिल्ने महानगरले स्पष्ट पारेको छ । बसपार्कका लागि २०३२ सालमा अधिग्रहण गरिएको जग्गा विभिन्न समयमा बिक्री, सट्टापट्टा, बसोबास तथा भोगचलनका लागि दिइएको विषयमा कानुन र प्रक्रिया समान रूपमा पालना नभएको गुनासा आएपछि महानगरले अहिले न्यायिक छानबिन गरिरहेको छ ।

महानगर प्रमुख धनराज आचार्यले छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म ‘मेरो लालपुर्जा यति हो’ वा ‘मेरो अधिकार यही हो’ भन्ने सार्वजनिक दाबी गर्नु उपयुक्त नहुने बताए । बसपार्कभित्रका ६०० व्यवसायीले सार्वजनिक हितका लागि आफ्नो व्यावसायिक स्थान छाडेर व्यवस्थापन प्रक्रियामा सहयोग गरिसकेको उल्लेख गर्दै उनले एउटा पेट्रोल पम्पलाई मात्र विशेष सुविधा दिनुपर्ने तर्क न्यायोचित नहुने बताए ।

“प्रतिवेदन प्राप्त भएपछि त्यसले ठहर गरेबमोजिम सबै लालपुर्जा भएका वा दाबी गर्ने पक्षका हकमा समान कानुनी मापदण्डका आधारमा निर्णय लागू गर्नेछौँ । तथ्य र कानुनी प्रक्रिया पूरा नहुँदै दाबी गर्नु उचित हुँदैन । कानुनी राज्यमा मौखिक अनुमति वा अनौपचारिक सहमतिले स्थायी कानुनी अधिकार सिर्जना गर्दैन । कानुन, प्रक्रिया, समानता र न्यायका आधारमा नै अन्तिम निर्णय गर्नेछौँ”, महानगर प्रमुख आचार्य

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो। सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारवादी समूहले जनाएका छन्। सुडानमा जारी द्वन्द्वका क्रममा मानवरहित विमान (ड्रोन)को प्रयोग बढ्दै गएको बताइएको छ।

सुडान डक्टर्स नेटवर्कका अनुसार, बुधबार राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेका सर्वसाधारण चढेको सवारीसाधनमा ड्रोन आक्रमण हुँदा एउटै परिवारका पाँच महिलासहित १० जनाको मृत्यु भएको हो।

चिकित्सा सहायता समूहले उक्त आक्रमणका लागि अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)लाई जिम्मेवार ठहर गरेको छ। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको जनाइएको छ।

सुडान डक्टर्स नेटवर्कले आक्रमण योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आग्रह गरेको छ।

यसैबीच, अधिकारवादी संस्था ‘इमर्जेन्सी लयर्स’का अनुसार मङ्गलबार नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन सोही प्रान्तको अल–शातउट क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमाथि ड्रोन प्रहार हुँदा पाँच महिलासहित १३ जनाको ज्यान गएको थियो।

उक्त संस्थाले सर्वसाधारणलाई लक्षित ड्रोन आक्रमण पछिल्लो समय बढ्दै गएको जनाएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार नर्थ कोर्डोफान क्षेत्रमा भएका ड्रोन आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय क्षेत्र, पुल तथा आपूर्ति मार्गमा क्षति पुगेको छ।

सुडानमा सेना र ¥यापिड सपोर्ट फोर्स (आरएसएफ)बीच सन् २०२३ को अप्रिलदेखि जारी द्वन्द्वमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भएको, करिब एक करोड ३० लाख मानिस विस्थापित भएको तथा तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य

काठमाडौँ। सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमतिपत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले उक्त नियमावली तयार गरेको जनाएको छ ।

नियमावलीअनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न रु २५ लाख धरौटी राख्नुपर्नेछ । साथै, अनुमतिपत्रका लागि रु ५० हजार दस्तुर तिर्नुपर्ने छ ।

अब मन्त्रालयबाट अनुमतिपत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा स्थानीय तहले गर्न सक्ने छन् । अनुमति पत्रको अवधि एक वर्षको हुनेछ र प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ ।

शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ । साथै, संस्थाको आफ्नै भवन वा कम्तीमा तीन वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ ।

नियमावलीले विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको छ । सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ भने नगद कारोबार गर्न पाइने छैन । संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । साथै, सेवा शुल्कको विवरण आफ्नै वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।

विद्यार्थीको हित संरक्षणका लागि परामर्शदाता संस्थाको जिम्मेवारी पनि बढाइएको छ । परामर्श लिएका विद्यार्थी विदेशमा अलपत्र परेमा वा सम्बन्धित शिक्षण संस्था अवैध ठहरिएमा परामर्शदाता संस्थाले क्षतिपूर्ति दिनुपर्नेछ । विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेपछि मात्र बैंकमार्फत शैक्षिक शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

नियमावलीले शैक्षिक परामर्श संस्थामा स्वदेशी लगानी मात्र रहने व्यवस्था गरेको छ । विदेशी लगानी भएका संस्थाले एक वर्षभित्र स्वदेशी लगानीमा नामसारी गर्नुपर्नेछ ।

त्यसैगरी, विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न रोक लगाइएको छ । अन्य शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न भने मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्नेछ ।

मन्त्रालयले सेवा गुणस्तर, कार्यसम्पादन र विद्यार्थीको सफलताका आधारमा शैक्षिक परामर्श संस्थालाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गर्न सक्नेछ । जोखिमयुक्त विदेशी विश्वविद्यालय पहिचान गरी त्यस्ता संस्थामा विद्यार्थी पठाउन रोक लगाउने अधिकार पनि मन्त्रालयलाई दिइएको छ ।

नियमावलीअनुसार अनुमति पत्र नवीकरण नगर्ने, विद्यार्थीमाथि आर्थिक शोषण वा ठगी गर्ने, भ्रामक सूचना प्रवाह गर्ने वा कर नतिर्ने संस्थाको अनुमतिपत्र रद्द गरी धरौटी जफत गर्न सकिने व्यवस्था छ ।

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौँ। प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका लागि गठित समितिले सभामुखसमक्ष बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिइएको छ ।

सङ्घीय संसद् सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई जानकारी गराइएको थियो । त्यसपछि जेठ १८ गते बसेको प्रतिनिधिसभा बैठकले उक्त विषयमा थप अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो ।

सोही निर्णयबमोजिम प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्य रहने गरी समिति गठन गरिएको थियो ।

समितिले जेठ २५ गते सभामुखसमक्ष आफ्नो प्रतिवेदन पेस गरेको र सभामुखबाट उक्त प्रतिवेदन अध्ययनपछि आवश्यक कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन प्राप्त भएको सचिवालयले जनाएको छ ।