`

कोशी प्रदेश मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ

मोरङ – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेशको मन्त्रिपरिषद् हेरफेर गर्नुका साथै आज साँझ शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ वैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन विस्तार गर्नुभई नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले नवनियुक्त राज्यमन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतो सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्रालय र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रीमा नियुक्त हुनुभएको छ ।

त्यसैगरी शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री रहनुभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा विविध समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले प्रदेश प्रमुख लाभलाई प्रदेशको राजनीतिक समस्या समाधानका क्रममा अभिभावकका रुपमा प्रभावकारी भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । साथै पछिल्ला दिनमा मधेसमा देखिएको सामाजिक समस्या समाधानमा पनि यस्तै भूमिका खेल्न उहाँले आग्रह गर्नुभयो ।

“मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईँले जुन अभिभावकीय भूमिका खेल्नुभयो, त्यो प्रशंसनीय छ”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अझै पनि समाजका सबै पक्ष समेटेर शान्ति र सद्भाव कायम राख्न यस्तै भूमिका खेल्नुहुनेछ भन्ने मलाई विश्वास छ ।”

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा यसबीचमा आउन सक्ने सम्भावित चुनौतीतर्फ पनि सतर्क हुनुपर्ने प्रधानमन्त्री कार्कीको धारणा थियो ।

“देश अब पूरै निर्वाचनमय बनेको छ”, उहाँले भन्नुभयो, “यस्तो समयमा कतिपय तत्वले चुनौती खडा गर्न सक्छन् । त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले भूमिका खेल्नुपर्ने हुन्छ । तपाईँ पनि अभिभावकका रुपमा पहल गर्नुहोस् । राज्यका सबै संयन्त्र परिचालन गरी चुनावका लागि अनुकूल वातावरण बनाउँदै जानुपर्छ ।”

प्रदेश प्रमुख लाभले प्रदेशको शान्ति सुव्यवस्था कायम राख्न आफ्नोतर्फबाट प्रयास गरिरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र परिचालित गरिएको जानकारी दिनुभयो । प्रदेश प्रमुख लाभले भेटका अवसरमा आफूले पदभार सम्हालेपछिका दुई महिनाको अवधिमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै प्रधानमन्त्री कार्कीलाई मिथिलाका स्थानीय कलाकारले बनाएको जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक उपहार दिनुभयो ।

ग्रिनल्यान्डबारे ट्रम्पको भनाइमा युरोपको कडा आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गर्नुपर्ने भनी दिएको अभिव्यक्तिप्रति युरोपेली नेताहरूले कडा असहमति जनाएका छन् । उनीहरूले रणनीतिक तथा खनिज–सम्पन्न आर्कटिक टापु ग्रिनल्यान्ड त्यहाँका जनताको स्वामित्वमा रहेको पुनः स्पष्ट गरेका छन् ।

फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र संयुक्त अधिराज्यका नेताहरूले डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनसँग ऐक्यबद्धता जनाउँदै डेनमार्क राज्यअन्तर्गतको स्वशासित क्षेत्र ग्रिनल्यान्डको सार्वभौमिकताको दृढतापूर्वक रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ । ट्रम्पको हालैको टिप्पणीपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै ग्रिनल्यान्ड कुनै पनि बाह्य शक्तिको अधिग्रहणको विषय हुन नसक्ने बताएका छन् ।

यसैबीच, ह्वाइट हाउसका स्टाफका उपप्रमुख स्टिफन मिलरले सोमबार ग्रिनल्यान्ड संयुक्त राज्य अमेरिकाको हिस्सा हुनुपर्ने धारणा दोहोर्‍याउनुभयो । उहाँले राष्ट्रपति ट्रम्प यस विषयमा महिनौँदेखि स्पष्ट रहँदै आएको बताउनुभयो । सिएनएनसँगको अन्तर्वार्तामा मिलरले ग्रिनल्यान्डलाई अमेरिकाको समग्र सुरक्षा संरचनाको महत्त्वपूर्ण अङ्गका रूपमा राष्ट्रपति हेर्ने गरेको उल्लेख गर्नुभयो ।

तर डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिक्सनले यसअघि नै ग्रिनल्यान्डमाथि अमेरिकी अधिग्रहणको प्रयास नाटो सैन्य गठबन्धनको अन्त्य सरह हुने चेतावनी दिनुभएको थियो । उहाँका अनुसार यस्तो कदमले युरोप र अमेरिका बीचको दीर्घकालीन सुरक्षा सहकार्यमा गम्भीर असर पार्न सक्छ ।

डेनमार्कका नेताहरू, ग्रिनल्यान्डका प्रधानमन्त्री तथा अन्य युरोपेली नेताहरूले सप्ताहन्तमा भेनेजुएलामा भएको अमेरिकी सैन्य कारबाहीपछिको पृष्ठभूमिमा ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउने नयाँ आह्वान गरेपछि त्यसलाई एक स्वरमा अस्वीकार गरेका हुन् । उनीहरूको भनाइमा ग्रिनल्यान्डको भविष्य त्यहाँका जनताले नै तय गर्ने अधिकार राख्दछन् र त्यसमा बाह्य दबाब स्वीकार्य हुन सक्दैन ।

युरोपेली नेताहरूले ग्रिनल्यान्डको रणनीतिक महत्त्व स्वीकार गरे पनि त्यसको सार्वभौमिकता र स्वशासनको सम्मान अन्तर्राष्ट्रिय नियम र साझेदारीको आधार भएको स्पष्ट पार्दै यस विषयमा आफ्नो अडानबाट पछि नहट्ने सङ्केत दिएका छन् ।

मन्त्री खरेलद्वारा ज्येष्ठ नागरिक आनन्द निकेतनको अवलोकन

पाटन (ललितपुर) – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरको बागडोलस्थित ज्यापू समाजको ज्येष्ठ नागरिक आनन्द निकेतनको आज अवलोकन गर्नुका साथै ज्येष्ठ नागरिकहरुसँग अन्तक्र्रिया गर्नुभएको छ ।

ज्यापू समाज यलका पदाधिकारीको निमन्त्रणामा बागडोल पुग्नुभएका मन्त्री खरेलले ज्येष्ठ नागरिकको सेवामा ज्यापू समाजले गरेको काम प्रशंसनीय भएको बताउनुभयो ।

“ज्येष्ठ नागरिकको व्यवस्थापन सरकारले गर्नुपर्छ, ज्यापू समाजले गरिरहेको यो काम समाजका लागि अत्यन्तै प्रशंसनीय छ, यसको निरन्तरताको लागि सरकारले सहयोग र समन्वय गर्ने काम गर्छ”, उहाँले भन्नुभयो ।

समयक्रमसँगै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले सबैको खुसीका लागि सरकारले सक्दो काम गर्ने बताउनुभयो ।

“हामीले गर्ने सहयोग गर्छौं, नेवार समुदायको सम्पदा, संस्कृति र सभ्यतालाई माथि उठाउनका लागिपरेका र्छौं, समग्र नेवार समुदायको संस्कृति र परम्पराको विषयमा प्रचारप्रसार गर्न ‘सम्पदा यात्रा’ कार्यक्रम नेपाल टेलिभिजनमार्फत सञ्चालन गर्ने तयारी छ”, मन्त्री खरेलले भन्नुभयो । ज्येष्ठ नागरिक आनन्द निकेतनको व्यवस्थापन एवं सञ्चालनका लागि न्यूनतम दश वर्षको योजना बनाएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ज्येष्ठ नागरिक आनन्द निकेतनले अहिले २५ जनाको सेवा गरिरहेको जानकारी गराउँदै भविष्यमा थप ज्येष्ठ नागरिकको सेवा गर्ने योजना रहेको बताउनुभयो ।

सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय मानवअधिकार आयोगको सरकारलाई निर्देशन

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्नका लागि संयमित भई कार्य गर्न र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई निर्देशन दिइएको छ ।

“व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धताको सम्मान गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न, घटनाको गाम्भीर्यताप्रति संवेदनशील हुँदै संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, धार्मिक सामाजिक सद्भाव कायम हुने क्रियाकलाप र गतिविधि गर्न आयोग राजनीतिक दल, धार्मिक सङ्घसंस्था, धर्म गुरु, धार्मिक एवं सामाजिक अभियन्ता तथा नागरिक समाजलाई अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, एकापसमा देखिएका विमतिहरूको समाधान वार्ताको माध्यमबाट खोज्नसमेत आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”

गैरीगाउँको आगलागी नियन्त्रणमा, क्षतिको विवरण सङ्कलन हुँदै

काठमाडौँ – काठमाडौँको सिनामङ्गल नजिकै गैरीगाउँस्थित काठको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दिउँसो ३ः१५ बजे लागेको आगो ४ः४५ बजे नियन्त्रणमा आएको हो ।

ईश्वरबहादुर कार्कीको कार्गोमा प्रयोग हुने काठको गोदाममा आगलागी भएको र सो आगलागीबाट गोदाम पूर्ण रुपमा नष्ट भएको पनि उहाँले बताउनुभयो ।

आगलागीबाट जोडिएको लोयला सेकेन्डरी स्कुलको भवनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिइएको तर क्षतिको विवरण भने आइनसकेको प्रवक्ता भट्टराईले बताउनुभयो । विवरण सङ्कलनमै रहेको उहाँले बताउनुभयो ।

एमाले सचिव राई भोजपुरबाट सर्वसम्मत रुपमा सिफारिस

टक्सार (भोजपुर) – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव शेरधन राई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका निर्वाचनका लागि गृहजिल्ला भोजपुरबाट सिफारिस हुनुभएको छ ।

एमाले जिल्ला कमिटी भोजपुरको आज बसेको बैठकले सचिव राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । सचिव राईको विकल्पमा अर्काे बलियो उम्मेदवार नदेखिएकाले सर्वसम्मत रुपमा उहाँको नाम सिफारिस गरेको एमाले भोजपुरले स्पष्ट गरेको छ ।

एमाले जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने यसअघि नै नाम सिफारिस गरिसकेको जनाएको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् एमाले नेता राईलाई सो पार्टीको आज काठमाडौँमा बसेको सचिवालय बैठकले कोशी प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ ।

निःशुल्क आँखा शिविर : ३५० बढीको शल्यक्रिया हुने

बरहथवा (सर्लाही) – बागमती नगरपालिकामा सञ्चालन भएको तीनदिने निःशुल्क आँखा शिबिरमा ३५० भन्दा बढी व्यक्तिको मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ ।

बागमती नगरपालिका, स्थानीय तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन भएको सो शिविरमा पहिलो दिने ७९ जनाको शल्यक्रिया भएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा बागमती नगरपालिकाले खान, बस्न प्रबन्ध गरेको नगर स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले जानकारी दिनुभयो ।

तिलगङ्गा आँखा प्रतिष्ठानको चिकित्सक एवम् शिविरका टोली नेता डा रचना सिंहका अनुसार सर्लाहीमा सर्जिकल आँखा केन्द्र विस्तार भएपछि विभिन्न पालिाकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । उपचारका क्रममा शिविरमा आएनुभएका बागमती नगरपालिका–७, निवासी ७७ वर्षीय वीरबहादुर खड्काले गाउँ घरमै निःशुल्क शिविर सञ्चालन हुँदा गरिब, गुरुवाले संसार देख्न पाएको बताउनुभयो ।

आयोजक संस्थाले शिविरमा आउने बिमारीलाई निःशुल्क खाना, औषधि लगायतको सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ ।

मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुन्छ – कानूनमन्त्री सिन्हा

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मुलुकमा राजनीतिक वातावरण बन्दै गएको बताउनुभएको छ । निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि आज आयोजना गरेको ‘मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठी’मा उहाँले मुलुकमा निर्वाचनको वातावरण बन्दै गएकाले निर्धारित समयमै निर्वाचन हुने बताउनुभयो ।

“भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको छ, निर्वाचन आयोगसँगको निरन्तर छलफलपछि निर्वाचन गराउने वातावरण निर्माण भएको हो,” उहाँले भन्नुभयो उहाँले जेनजी आन्दोलनपछि सुरक्षाकर्मी चप्पल र सादा पोशाकमा कार्यस्थलमा खटिएको स्मरण गर्दै गिरेको प्रहरीको मनोवल उठाउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो ।

मन्त्री सिन्हाले जेनजी पुस्ताले राखेको माग संविधान संशोधनमार्फत पूरा हुने भन्दै संविधान संशोधनको एकमात्र विकल्प निर्वाचन भएको बताउनुभयो । उहाँले कठिन परिस्थितीमा राष्ट्रपतिले आफूहरूलाई निर्वाचन गराउने जिम्मेवारी सुम्पिनुभएको बताउँदै उक्त जिम्मेवारीलाई समयमै पूरा गर्न वर्तमान सरकार दृढताका साथ लागेको उल्लेख गर्नुभयो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग जुटेको बताउँदै निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचनलाई भयरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने जिम्मेवारी सरकार, निर्वाचन आयोग र राजनीतिक दलको भएको बताउनुभयो । उहाँले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयले सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको बताउनुभयो । निर्वाचनको सुरक्षाका लागि संयुक्त कमाण्ड फोर्स बनाउन सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा प्रतिनिधीसभा सदस्य निर्वाचन : संवैधानिक तथा कानूनी व्यवस्था र निर्वाचन कार्यक्रम, निर्वाचनको जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवम् मतदाता शिक्षा, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति : नीतिगत व्यवस्था, नियमन र नियन्त्रण, निर्वाचन आचारसंहिता अनुगमन र पर्यवेक्षणको बारेमा छलफल हुनेछ । यस्तै, निर्वाचन आयोगमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणालीहरू, मतदाता नामावलीसम्बन्धी व्यवस्था र मतदान, मतगणनासम्बन्धी व्यवस्थापकीय कार्य मतगणना प्रक्रिया प्रतिवेदनलगायत विषयमा छलफल हुने निर्वाचन आयोगले जनाएको छ

निर्वाचन सुरक्षा सम्बन्धमा गृहमन्त्री अर्यालद्वारा प्रदेशका प्रमुख सचिवहरूसँग छलफल

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षासम्बन्धी सूचना सङ्कलन, विश्लेषण, मूल्याङ्कन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको छ ।

आज गृहमन्त्री अर्यालको अध्यक्षता तथा गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवहरू र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिबीच भएको छलफलका क्रममा मन्त्री अर्यालले सम्बन्धित निकायलाई सो निर्देशन दिनुभयो ।

उक्त छलफलमा गृहमन्त्री अर्यालले कानुनले दिएको अधिकार, व्यवहार र हाम्रा असल अभ्यासलाई समेत मनन गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश प्रमुख सचिव तथा सचिवहरूले निर्वाह गर्नुपर्ने प्रभावकारी भूमिकाका विषयमा जोड दिनुभयो ।

सम्पूर्ण कर्मचारीहरूले प्रशासकको भूमिकाभन्दा पनि सहजकर्ता, समन्वयकर्ता एवं उत्प्रेरकको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता भएको बताउँदै मन्त्री अर्यालले भन्नुभयो, “तपाईँहरू आफूले प्राप्त गर्नुभएको प्रशासकीय अधिकारलाई र आफ्नो निर्णयको शक्तिलाई बोध गरेर प्रदेश र सङ्घबीच समन्वयात्मक भूमिका खेल्दै निर्वाचनलाई सफल पार्न लागि पर्नुहोस् ।”

सुरक्षा संयन्त्रहरू चुस्त र मजबुत बनाउनुपर्ने धारणा राख्दै, गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सहयोग र समन्वय कायम गरी समाजलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा जोड दिनुभयो ।

त्यस्तै संविधानको मर्मअनुरूप तिनै तहबीच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको आधारमा सङ्घीयतामा सुरक्षाको विषयलाई केन्द्रविन्दुमा राखेर सङ्घ र प्रदेशको सम्बन्ध, सम्पर्क बढाई असल अभ्यासलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनमा सुरक्षा संवेदनशीलता, भौगोलिक अवस्था र अन्य विषय र कारणसमेत पहिचान गरी विगतको अभ्यास र कमी कमजोरी भए सुधारसमेत गरी प्रभावकारी रूपमा सकारात्मक परिणाम देखिने गरी निर्वाचन कमान्ड पोस्टबाट सुरक्षा व्यवस्था मिलाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले राजनीतिक दलसँग सहयोग, समन्वय गरी स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रोयाक्टिभ भई कार्य गर्न निर्देशन दिनुभयो ।

बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, बागमती प्रदेशका बाबुराम अधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिव डन्डुराज घिमिरे, लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल र मधेस प्रदेशका कायम मुकायम प्रमुख सचिव कमलप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र गृह मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो

बलेवा (बागलुङ), २२ पुसः बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो ।

अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको थियो । उक्त खण्ड निर्माण गरिरहेको ठेकेदारले समयमा भुक्तानी नपाएपछि काम अलपत्र थियो । डेढ वर्ष रोकिएर गत वर्ष निर्माण सम्पन्न भएको छ ।

सदरमुकाम बागलुङ बजारदेखि १० किमी खण्डमा काम गरेको निर्माण कम्पनीले भुक्तानी पाएर फर्किएको छ । वडा कार्यालयदेखिको खण्ड निर्माणका लागि राज्यले ठेक्कासमेत लगाउन सकेको छैन । बजेट अभावले भएका योजनासमेत फिर्ता गरेको सरकारले रणनीतिक सडक कहिले पूरा गर्ने भन्ने एकिन गरेको छैन ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं २ अन्तर्गतको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको पहिलो खण्डको ठेक्कासमेत पूरा हुनसकेको छैन । अहिले केही काम भएको देखिए पनि पूरा हुने÷नहुनेमा स्थानीय विश्वस्त हुनसकेका छैनन् । यो सडकको म्याद थप भएपछि मात्र ठेकेदार कम्पनीले आठ किमी सडकखण्डमा काम थालेको छ ।

तोकिएको समयमा २५ प्रतिशतमात्र काम गरेको ठेकेदार कम्पनीले अहिले भने पाँच किमी सडक कालोपत्र गर्ने लक्ष्य राखेको छ । केही समयअघिदेखि नै काम थालेर ७० प्रतिशत भौतिक प्रगति गरेको वल्र्ड वाइडर पूर्ण संयुक्त निर्माण कम्पनीले जनाएको छ । कम्पनीले अप्ठ्यारोमा ढलान गरेको छभने सहज खण्डमा कालोपत्र गर्ने तयारी थालेको छ ।

यसअघि समयमा रकम भुक्तानी नपाउँदा ठेकेदारले काम छाडेर हिँडेका थिए । काम गरेको साढे तीन करोड भुक्तानी नपाएपछि ठेकेदारले अघिल्लो वर्ष काम छाडेपछि म्याद सकिएको थियो । म्याद थपसँगै रकम पाउने प्रतिबद्वतापछि काम सुरु भएको हो । इन्जिनियर सागर भण्डारीले आगामी वैशाखसम्म काम सक्ने योजना रहेको बताउनुभयो । विसं २०७९ को भदौमा यो सडकको रु २५ करोड २० लाखमा ठेक्का सम्झौता भएको थियो ।

यस्तै, कुश्मीसेरा–बरेङ जोड्ने रणनीतिक सडकमा पनि ठेकेदारले काम अलपत्र छाडेपछि स्थनीय चिन्तित थिए । उपभोक्ताले सङ्घर्ष समिति बनाएर मुख्यमन्त्रीलाई आग्रह गरेपछि बजेटको सुनिश्चितता भएको थियो । अहिले काम सुरु भएको यो सडकको नाम्दुकदेखि बरेङसम्म कालोपत्र भइसकेको छभने कुश्मीसेरादेखि राङखानीसम्म गर्ने तयारी भइरहेको छ । बजेट अभावले तमानखोलाको बोङगादोभान–सोलेडाँडा जोड्ने सडकमा काम हुनसकेको छैन ।

मर्कोसुर व्यापार सम्झौतामा ‘छिट्टै हस्ताक्षर हुने’ इयूको विश्वास

युरोपेली सङ्घ (इयू) सदस्य राष्ट्रहरूले दक्षिण अमेरिकी समूह मर्कोसुरसँगको व्यापार सम्झौतालाई अनुमोदन गर्ने दिशामा ‘प्रगति’ गरेको इयूले सोमबार जनाएको छ।

इयूले ‘चाँडै’ सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको छ ।

डिसेम्बरमा सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको भएपनि फ्रान्स र इटालीले ढिलाइको माग गरेपछि सम्झौताले अन्तिम रूप पाउन सकेको थिएन । इयूले जनवरी १२ मा हस्ताक्षर गर्ने लक्ष्य राखेको कूटनीतिज्ञहरूले जनाएका छन् ।

युरोपेली आयोगकी प्रमुख प्रवक्ता पाउला पिन्होले जनवरीको नयाँ मितिको पुष्टि नगरे पनि निकट भविष्यमा सम्झौता पूरा गर्न इयू सही बाटोमा रहेको बताउन्भएको छ।

“विगत दुई हप्तामा त्यहाँ धेरै छलफल, काम र प्रगति भएको छ,” उहाँले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भन्नुभयो ।

विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र निर्माण गर्ने यो सम्झौता प्रयासमा २५ वर्षभन्दा बढी समय खर्चिएपछि यसले २७ सदस्य राष्ट्रहरूको समूह इयू, ब्राजिल, पाराग्वे, अर्जेन्टिना र उरुग्वे सम्मिलित समूहबीचको व्यापारलाई बढावा दिनेछ ।

तर डिसेम्बर २० मा ब्राजिलमा मर्कोसुरबारे भएको भेलामा सम्झौतालाई अन्त्यरूप दिने प्रयास इटाली र फ्रान्सले कृषि क्षेत्रको चिन्तालाई स्थगित गर्न माग गरेपछि रोकिएको थियो ।

यो सम्झौताले विश्वव्यापी व्यापार तनावको समयमा इयूलाई ल्याटिन अमेरिकामा थप गाडी, मेसिनरी, वाइन र स्पिरिट निर्यात गर्न मद्दत गर्नेछ ।

बदलामा, यसले दक्षिण अमेरिकी मासु, चिनी, चामल, मह र भटमासको युरोपमा प्रवेश गर्न सजिलो बनाउनेछ ।

यसले कृषि क्षेत्रको विशाल क्षेत्र रहेको ब्राजिल र यसका छिमेकीहरूबाट सस्तो सामानको प्रवाहले आफू कमजोर हुने डरमा धेरै युरोपेली किसानहरूलाई चिन्तित बनाएको छ ।

रोम र पेरिसले आफ्ना किसानहरूको सुरक्षाका लागि कडा सुरक्षा धाराहरू, कडा आयात नियन्त्रण र मर्कोसुर उत्पादकहरूमा थप कडा मापदण्डहरू आह्वान गरेका छन् ।

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ, २२ पुस ः गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ ।पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो ।

केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्यसमेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको उहाँले बताउनुभयो । करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । यो आयोजना जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

आज समितिले गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ११५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो १०५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ४८ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ४८ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो प्रतिकिलो २७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४८ रुपैयाँ रहेको जनाएको छ ।

यस्तै काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी,फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, मटरकोसा प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १०० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १०० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ८० रुपैयाँ, तितो करेला प्रतिकिलो १०० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, घिरौला प्रतिकिलो १००, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ४० रुपैयाँ, पिँडालु प्रतिकिलो ५० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले बकूला प्रतिकिलो ९० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरीलो प्रतिकिलो २२०० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ९० रुपैयाँ, जिरीको साग प्रतिकिलो १२० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो ६० रुपैयाँ, रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी ६० रुपैयाँ, चमसुर प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो ६० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो १०० रुपैयाँ, केरा (दर्जन) १५० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैँया, अंगुर (हरियो) प्रतिकिलो २०० रुपैँया, सुन्तला (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, निबुवा प्रतिकिलो ६० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

चिसो बढेपछि कञ्चनपुरका तीन पालिकाका विद्यालय बन्द

महेन्द्रनगर – केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।

चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ ।

चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो ।

यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन बिदा दिएको छ । लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र यहाँका सबै पालिकाको जनजीवन प्रभावित बनेको छ भने बजारक्षेत्रमा चहलपहल पनि घटेको छ ।

आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झन्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ। समर्थकहरूका लागि यो जर्सी ७९९ रुपैयाँमा उपलब्ध हुनेछ।

वीरगञ्जमा कफ्र्यु आदेश आज दिउसो १ बजेसम्म थप

वीरगञ्ज (पर्सा), २२ पुस : जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ ।

प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज्ने प्रयास गरिराखेको जानकारी दिनुभयो । “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमनाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कफ्र्यु आदेश जारी गरिएको छ”, उहाँले भन्नुभयो ।

स्थानीय प्रशासनले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ ।

प्रजिअ दाहालले कफ्र्युका बेलामा सुरक्षाकर्मीले देख्नेबित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्किन र निस्कनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र निस्कनका लागि अनुरोध गर्नुभयो । कफ्र्यु आदेश अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउने प्रशासनले जनाएको छ ।

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी

काठमाडौँ – स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको छ भने ६१ दशमलव तीन प्रतिशत हिस्सा स्वपुँजी रहेको छ ।

अध्ययन अनुसार २१ देखि ३५ वर्ष उमेर समूहका ३९ दशमलव तीन प्रतिशत, ३६ देखि ५० वर्ष उमेर समूहका ४४ दशमलव चार प्रतिशत र ५० देखि ७० वर्ष उमेर समूहका १६ दशमलव दुई प्रतिशत उद्यमी रहेका छन् । त्यस्तै, २१ देखि ३५ वर्ष उमेर समूहका उद्यमीमध्ये सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा ७३ दशमलव तीन प्रतिशत र सबैभन्दा कम कृषि क्षेत्रमा २१ दशमलव दुई प्रतिशत उद्यमी संलग्न रहेका अध्ययनमा उल्लेख छ ।

युवापुस्ताले डिजिटल र प्रविधिमा केन्द्रित उद्यममा बढी रुचि राखेका देखिन्छ भने ३६ देखि ५० वर्ष उमेर समूहका उद्यमी सबैभन्दा बढी कृषि क्षेत्रमा संलग्न रहेका देखिन्छ । सबैभन्दा कम सूचना प्रविधि क्षेत्रमा २६ दशमलव सात प्रतिशत युवा आवद्ध रहेका छन् । साथै ५० देख ७० वर्ष उमेर समूहका सबैभन्दा बढी २७ दशमलव तीन प्रतिशत पर्यटन क्षेत्रमा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रमा यो उमेर समूहको कुनै पनि संलग्नता नरहेको अध्ययनमा उल्लेख छ ।

औैद्योगिक व्यावसाय विकास प्रतिष्ठानमा स्टार्टअप कर्जाका लागि आवेदन दर्ता गरेका र ‘सर्टलिष्ट’ भएका कोशी प्रदेशका उद्यमहरूको सङ्ख्यालाई आधार मानी १६० वटा स्टार्टअप उद्यमबाट तथ्याङ्क सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

अध्ययनमा सहभागी १६० उद्यममा कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरी पाँच व्यावसायिक क्षेत्र समावेश छन् । त्यसमा कृषि तथा वनजन्य ४१ दशमलव तीन प्रतिशत, उत्पादनमूलक १८ दशमलव एक प्रतिशत, सेवामूलक १७ दशमलव पाँच प्रतिशत, पर्यटन १३ दशमलव आठ प्रतिशत र सूचना प्रविधि क्षेत्रमा नौ दशमलव चार प्रतिशत उद्यम छन् ।

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

खोटाङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३५ हजार ७६० जना मतदाता छन् भने सबैभन्दा कम साकेला गाउँपालिकामा आठ हजार ६४५ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रविन मगरले जानकारी दिनुभयो ।

जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ जना मतदातामध्ये ८१० जनाले अन्तर जिल्ला मतदान केन्द्र कायम गरेका निर्वाचन अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ मतदाता नामावली दर्ता गर्ने तथा पुरानाको अद्यावधिक गर्दा जिल्लामा यसअघि कायम भएकामा थप एक हजार ८८१ जना नयाँ मतदाता थपिएको छन् ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि सङ्घीय सरकारले मुख्य निर्वाचन अधिकृतसमेत खटाइसकेको छ ।

स्ट्रबेरीखेती बिक्री गरेर एक वर्षमा २१ लाख आम्दानी, दैनिक ७० किलोभन्दा बढी बिक्री

घोराही (दाङ) – अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उहाँको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिनुभएको छ ।

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्नुहुन्छ । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिनुभएका २७ वर्षीय उहाँले गत वर्षमात्र रु २१ लाखबराबरको स्ट्रबेरीको कारोबार भएको बताउनुभयो । गत वर्ष आधाभन्दा बढी रकम त बचत नै भयो, यो वर्ष पनि दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ । यस वर्ष झन् क्षेत्रफल बढेकाले कारोबार बढ्ने उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो वर्ष मङ्सिरबाट बेच्न सुरु गरेको र आम्दानी पनि राम्रो भइरहेको छ । एक किलोलाई रु सात सयका दरले बिक्री भइरहेको छ । उहाँले दुई बिघा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गर्नुभएको छ । किसान साउदले भन्नुभयोे, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।”

परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उहाँले बताउनुभयो । उहाँले घोराहीमामात्र होइन, कपिलवस्तुमा १० कट्ठामा र कैलालीमा दुई बिघामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आउनुभएको छ ।

त्यसैगरी, घोराहीकै अर्का किसान वीरेन्द्र खड्काले पनि व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँले केही वर्षदेखि स्ट्रबेरीखेती गर्दै आउनुभएको हो । उमेरले २८ वर्ष पुग्नुभएका उहाँले यही व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उहाँको भनाइ छ । किसान खड्काले भन्नुभयोे, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आठ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई÷तीन वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।”

उहाँले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आउनुभएको छ । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उहाँले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्नुहुन्छ भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिक खेती गर्दै आउनुभएको छ ।

स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भन्नुभयोे, “बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा रु आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।”

कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताउनुभयो । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिगे्रर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताउनुभयो ।

जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताउँदै उहाँले भन्नुभयो, “स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो, आजभोलिको समय राम्रो हुन्छ ।” जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उहाँको भनाइ छ ।

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…

म्याग्दी – धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् ।

दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन), धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाउनुभएको हो ।

स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो ।

“निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।”

स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताउनुभयो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ ।

छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो ।

यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।

ग्रिनल्याण्डलाई गाभ्ने चेतावनीलाई नदोहोराउन अमेरिकालाई आग्रह

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन गरेको आह्वानको सोमबार अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ । भेनेजुएलामा वासिङ्टनको सैन्य हस्तक्षेपले खनिजको धनी आर्कटिक क्षेत्र ग्रिनल्यान्डबारे चिन्ता उत्पन्न भएपछि अन्तरराष्ट्रिय समुदायको भनाई आएका हुन् ।

आइतबार राति एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हामीलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणले ग्रिनल्याण्ड चाहिएको छ । डेनमार्कले सक्दैन ।”ग्रीनल्याण्ड टापुमा दुर्लभ खनिजहरू छन् र ध्रुवीय हिउँ पग्लने र नयाँ ढुवानी मार्गहरू देखा पर्दा यो एक महत्त्वपूर्ण आकर्षण हुन सक्छ ।

ग्रिनल्याण्ड रुस र अमेरिकाबीच क्षेप्यास्त्र प्रहार गर्न सबैभन्दा छोटो मार्गमा पर्छ र वासिङ्टनले त्यहाँ पहिले नै सैन्य आधार बनाइसकेको छ ।ट्रम्पले भन्नुभयो, “ग्रीनल्याण्डको बारेमा २० दिनमा कुरा गरौँ । हामी दुई महिनाभित्र ग्रीनल्याण्डको बिषयमा हाम्रो चिन्तालाई सम्बोधन गर्न लागिपर्नेछौँ ।”

ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले सामाजिक सञ्जालमार्फत अमेरिकी नेतालाई सङ्केत गर्दै भन्नुभयो, “अब अति नै भयो । अब कुनै दबाब छैन । थप आक्षेपहरू छैनन् । अब विलयको कुनै कल्पना छैन।”उहाँले भन्नुभयो, “हामी वार्ताका लागि खुला छौँ । छलफलको लागि खुला छौँ । तर यो उचित च्यानल मार्फत र अन्तर्राष्ट्रिय कानूनको सम्मानका साथ हुनुपर्दछ।”

डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले पनि संयुक्त राज्य अमेरिकालाई सप्ताहन्तमा आफ्नो परम्परागत सहयोगीलाई धम्की नदिन आग्रह गर्नुभयो र सोमबार धेरै युरोपेली देशसहित इयूले कोपेनहेगनको समर्थन गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले काराकासमाथि आक्रमण गरेर र न्यूयोर्कमा हिरासतमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई कब्जा गरेर युरोपेली नेताहरूलाई चकित पार्नुभएको छ। ट्रम्पले अब अमेरिकाले भेनेजुएलालाई अनिश्चितकालका लागि सञ्चालन गर्ने र तेलको विशाल भण्डार प्रयोग गर्ने बताउनुभएको छ।

द एटलान्टिकसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले ग्रीनल्याण्डमा भेनेजुयलाको सैन्य अभियानको प्रभावबारे सोधिएको प्रश्नमा यो निर्णय अरुले गर्ने बताउनुभयो । “उनीहरूले यसलाई आफैंले हेर्नुपर्छ। मलाई थाहा छैन”, ट्रम्पले भन्नुभयो, “अमेरिकालाई आफ्नो सुरक्षाका लागि ग्रीनल्याण्ड चाहिएको छ ।”

ट्रम्पले गत महिना रुस र चिनियाँ पानीजहाज सबै क्षेत्रमा रहेको दाबी गर्नुभएको थियो । चीनको विदेश मन्त्रालयले सोमबार यसको जवाफ दिँदै अमेरिकालाई ‘तथाकथित चिनियाँ धम्कीलाई व्यक्तिगत फाइदाको बहानाको रूपमा प्रयोग नगर्न’ आग्रह गरेको छ।

यस विवादले युरोपभरिबाट धेरै भनाइहरू चीनको समर्थनमा आएका छन् । युरोपेली सङ्घको विदेश नीतिमामिला प्रवक्ता अनिता हिप्परले पत्रकारहरूसँग भन्नुभयो, “इयू आफ्ना सदस्यहरूको क्षेत्रीय अखण्डताको रक्षा गर्न प्रतिबद्ध छ।”

फिनल्याण्ड, स्वीडेन र नर्वेका नेताहरूको भनाइमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले ‘केवल ग्रीनल्याण्ड र डेनमार्क अधिराज्य’ ले मात्र क्षेत्रको भविष्य निर्धारण गर्न सक्ने बताउनुभएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टी पदाधिकारी तथा सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम बाँकी रहेकाले बैठक आज बिहान ११ः०० बजे पनि बस्ने उनले बताए।

आजको बैठकमा सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, महेन्द्र यादव, बद्री पाण्डे, जीवन परियार र कार्यसम्पादन समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउँदले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यस्तै, बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरू डा मीनेन्द्र रिजाल र मीन विश्वकर्मा, प्रदेश सभापतिहरू अमरसिंह पुन (लुम्बिनी प्रदेश) र वीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश)ले आफ्ना धारणा व्यक्त गरेका थिए ।

एमालेको सचिवालय बैठक आज बस्दै, यी विषयमा छलफल हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठक मङ्गलबार बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौँमा बस्ने भएको छ ।

जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस

देवदह (रुपन्देही), २२ पुस ः जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र नं २ बाट दीपक गुरुङको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, क्षेत्र नं ३ बाट कैलाश गुरुङ, निलम यादव, सियाराम यादव, ४ बाट रामअवतार यादव तथा क्षेत्र नं ५ बाट मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ ।

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

काठमाडौँ, २२ पुसः काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई बल्खु बस्ने २० वर्षीय वसन्तकुमार यादव, चितवनको कविलास घर भई लैनचौर बस्ने २७ वर्षीय साजन गुरुङ, तनहुँको बन्दीपुर घर भई ललितपुरको सातदोबाटो बस्ने २३ वर्षीय पारस गुरुङ र अनुप गुरुङ रहेका छन् ।

त्यस्तै, झापा घर भई बल्खु बस्ने ३८ वर्षीय विक्की श्रेष्ठ, काठमाडौँ महानगरपालिका–१४ बल्खु बस्ने ४२ वर्षीय अर्जुन भण्डारी र धादिङको गल्छी घर भई काठमाडौँ चन्द्रागिरि बस्ने २४ वर्षीय अस्मिन लामिछानेलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

लागुपदार्थ सेवनगरी यात्रु तथा पैदलयात्रीलाई दुःख, हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्न सो क्षेत्रमा प्रहरीको टोली खटिएको थियो । निजहरूलाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा सोमबार अदालतले लागुपदार्थ सेवन कसुरमा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै, कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

राती तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ, २२ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ पाँच पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६४ पैसा र बिक्रीदर २० रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४६९ रुपैयाँ छ पैसा र बिक्रीदर ४७१ रुपैयाँ एक पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, २२ पुसः सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ को व्यवस्थाबमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै विशेष संयन्त्रको आवश्यकता औँल्याएको हो ।

समितिका संयोजक एवं निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी तथा आयुक्त डा जानकीकुमारी तुलाधरसहित समितिका अन्य पदाधिकारीको उपस्थिति रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा आचारसंहिताको प्रभावकारी परिपालना एवं कार्यान्वयनका लागि अन्तरनिकाय सहकार्य, सोका लागि प्रचलित कानुनले तोकेका नियामक निकायको भूमिका, आचारसंहिता कार्यान्वयनका चुनौती र नियन्त्रणका विविध पक्षमा छलफल भएको थियो । बैठकमा सहभागी सदस्यहरूले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मकजस्ता विधिलाई एकसाथ अघि बढाउन उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्वपूर्ण भएको र आयोगले सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आचारसंहिता कार्यान्वयनमा प्रविधि दुरुपयोग रोक्ने प्रभावकारी संयन्त्रसहित नियामक निकाय, अनुसन्धान र अभियोजन गर्ने निकायसँगको सहयोग र सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो ।

आयुक्त डा तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गर्ने जानकारी गराउँदै निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना तथा भ्रमपूर्ण जानकारी न्यूनीकरणमा आयोग सचेत रहेको उल्लेख गर्नुभयो । अनुगमन समितिका संयोजक रहनुभएका निर्वाचन आयुक्त जबराले विगतका कमजोरीलाई सुधार गरी यसपटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उद्देश्य हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

निर्वाचनको स्वच्छता र निष्पक्षताका लागि आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक रहेकाले सूचना प्रविधिको दुरुपयोगबाट हुने चुनौती रोक्न आयोगले सबैपक्षसँग सहकार्य गर्ने समितिका संयोजक जबराले स्पष्ट पार्नुभयो । बैठकमा निर्वाचन आयोग तथा विभिन्न मन्त्रलायका सचिव एवं सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

कारागारबाट फरार व्यक्ति चोरीको मोटरसाइकलसहित पक्राउ

काठमाडौँ – प्रहरीले कारागारबाट फरार प्रतिवादीसहित मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला, सिन्जा गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–११ डाँडागाउँ हिलेटोलस्थित डेरा गरी बस्ने २० वर्षीय हरिशङ्कर शर्मा र काठमाडौँ महानगरपालिका–१८ नरदेवीका २० वर्षीय रोहित खड्गी शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार शर्माको डेरामा लुकीछिपी बसिरहेको अवस्थामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँबाट भागी फरार भएको चोरी मुद्दाको प्रतिवादी रोहित खड्गी शाहीलाई प्रहरीले फेला पारेको हो ।

यसैगरी निज शर्माकै कोठामा काठमाडौँ वसुन्धराबाट चोरी भएको लु५८प ३९७५ नम्बरको रातो रङको एफजेड मोटरसाइकल, भक्तपुर ठिमी एरियाबाट चोरी भएको वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०६२५ ६३७० लाई हटाई बागमती प्रदेश ०२–०६० प ९७८६ नम्बरको नक्कली नम्बर प्लेट जडान गरेको अवस्थाको केटिएम डुक मोटरसाइकल र सामसुङ कम्पनीको मोबाइल एक थानसमेत फेला पारको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

यसैबीच प्रहरीले सुनका गरगहनालगायतका सामान चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा बस्ने २२ वर्षीय मनोज थापा रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित एक कोठाबाट सुन, मोबाइल, घडीलगायतका धनमाल चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा निज थापाको घर खानतलासी गर्ने क्रममा सुनका सामानसहित पक्राउ गरिएको हो ।”

पक्राउ परेका निज थापाको घरबाट सुनजस्तो देखिने पहेँलो धातुले बनेको पोतेसहितको तिलहरी एक थान, सुनजस्तो देखिने पहेँलो धातुले बनेको औँठी एक थान, आइफोन एक थान, सामसुङ कम्पनीको आइप्याड एक थान, रियलमी कम्पनीको मोबाइल एक थान, आइटेल लेखिएको कि प्याड मोबाइल एक थान, गितार दुई थान, क्यासियो लेखिएको घडी एक थान तथा पाइनिङ लेखिएको पावर ब्याङ्क एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज थापाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ – गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्‍याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ ।

“विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो”, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।

मन्त्रालयले शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

गाडीको ठक्करबाट ट्राफिक प्रहरी हवल्दारको मृत्यु

लुम्बिनी, २१ पुसः रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दारको आज साँझ गाडीको ठक्करबाट मृत्यु भएको छ ।

बुटवल रामनगर, धागो कारखाना नजिकै राजमार्गमा ड्युटीमा रहेका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छः मन्त्री घिसिङ

भक्तपुर, २१ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उहाँले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मन्त्री घिसिङले भन्नुभयो, “देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ भन्नुभन्दा पनि देशले के पायो ? देशलाई के दिन सक्छौँ भनेर सोच्नुपर्ने भएको छ । सबै जना गम्भीर बनेर परिवर्तनको बाटोमा अगाडि बढौँ ।”

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत परिवर्तनलाई संस्थागत गर्न हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकको विद्यमान समस्या समाधानको विकल्प निर्वाचनः पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौँ, २१ पुसः पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनमार्फत देशमा विद्यमान समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले निर्वाचनले मात्र जनता र राष्ट्रका तत्कालीन समस्या समाधान गर्ने भएकाले त्यसको विकल्प खोज्न नहुने उल्लेख गर्नुभयो ।

शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार विकास गर्न आग्रह गर्दै नेता नेपालले निर्वाचनका साथसाथै संविधानलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा भ्रष्टाचार, बेरोजगारी र युवाहरूको बहिर्गमनले देशको सामाजिक–आर्थिक सङ्कट निरन्तर गहिरिँदै गइरहेको बताउँदै उहाँले सङ्कटबाट देशलाई जोगाउन समस्त कम्युनिष्टहरु, वामपन्थीहरू, प्रगतिशील शक्तिहरू, देशभक्तहरु र लोकतन्त्रप्रेमीहरूबीच राष्ट्रिय एकता निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

पूर्वप्रधानमन्त्री नेपालले सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध गर्ने उद्देश्यले सत्रवटा वाम समूहहरूलाई एकताबद्ध बनाएर नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको उल्लेख गर्नुभयो ।

विभिन्न ५० जनालाई पार्टी प्रवेश गराउँदै उहाँले अब सामाजिक रुपान्तरणका लागि आधारभूत सिद्धान्तका आधारमा देशलाई समाजवादतिर अग्रसर गराउनुपर्ने बताउनुभयो ।

म्यान्मामा सेनासँग निकट दलको बहुमत

म्यान्माको प्रमुख सैन्य समर्थक पार्टीले जुन्ता सरकारको नेतृत्वमा भएको पहिलो चरणको चुनावमा जित हासिल गरेको सोमबार सार्वजनिक अन्तिम परिणामले देखाएको छ । निर्वाचनमा ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडिपी)’ ले तल्लो सदनको लगभग ९० प्रतिशत सिट जितेको घोषणा गरिएको छ ।

सन् २०२१ मा निर्वाचित आङ सान सुकीको प्रजातान्त्रिक सरकारलाई सेनाले ‘कू’ मार्फत अपदस्थ गरेको थियो भने त्यसपछि पहिलो पटक एक महिनाको अवधिमा तीन चरणमा निर्वाचन गरिरहेको छ। दोस्रो चरणको निर्वाचन जनवरी ११ र तेस्रो जनवरी २५ मा हुँदैछ ।

पश्चिमा कूटनीतिज्ञ र प्रजातन्त्रवादी पक्षधरहरूले म्यान्माकी नेतृ सुकीको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को विघटन, एनएलडी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ र निर्वाचित सांसद्हलाई अपदस्थ गरी असन्तुष्टहरूमाथिको दमन र सैन्य सहयोगीहरूको साथ मतदान भएको भन्दै चुनावलाई सैन्य शासनलाई पुनः अनुमोदन गर्ने चालको रूपमा व्याख्या गर्दै सम्पूर्ण प्रक्रियाप्रति असहमति जनाका छन् भने परिणामलाई पनि अस्वीकार गरेका छन् ।

सैनिक समर्थक यूएसडीपीले पहिलो चरणको तल्लो सदनका लागि निर्वाचन भएका १०२ स्थानमध्ये ८९ सिटमा जित हासिल गरेको छ ।

यूएसडीपीको जित डिसेम्बर २८ मा भएको पहिलो चरणको मतदानमा समावेश गरिएको तल्लो सदनको ८७ प्रतिशतभन्दा बढी सिटको बराबर हो । बाँकी प्रायः जातीय अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्ने दलहरूले जितेका बताइएको छ।

धेरै विश्लेषक र लोकतन्त्र पक्षधर अभियन्ताहरूले यूएसडीपीलाई पार्टीमा वरिष्ठ पदहरूमा सेवा गर्ने सेवानिवृत्त अधिकारीहरूको ठूलो संख्यालाई उद्धृत गर्दै सेनाको प्रोक्सीको रूपमा वर्णन गर्छन् ।जनवरी २५ मा हुने तेस्रो र अन्तिम चरणको मतदानपछि समग्र परिणाम आउने बताइएको छ ।

मतदानको बावजुद, तल्लो सदनको एक चौथाइ सिट र प्रमुख क्याबिनेट पदहरू देशको सैन्य मस्यौदा संविधानको सर्तहरू अन्तर्गत सशस्त्र बलका सदस्यहरूका लागि आरक्षित हुनेछन्।

सन् २०२० मा भएको पछिल्लो निर्वाचनमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीले युएसडीपीलाई पराजित गरेको थियो ।निर्वाचनमा ८० वर्षीया सुकी नागरिकको सम्पर्कभन्दा बाहिर जेलमा रहनुभएको थियो भने उहाँको एनएलडीले निर्वाचन बहिस्कार गरेको छ ।

लामो समयदेखि केन्द्रीय शासनको विरोध गर्दै आएका जातीय अल्पसङ्ख्यक सशस्त्र समूहहरूसँग लड्न प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले छापामार एकाइहरू गठन गरेपछि सैन्य कु गरी बनेको सरकार र विपक्षी समूहबीच द्वन्द्व भएको र यो गृहयुद्धमा परिणत भएको थियो ।

विद्रोही समूहहरूले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा मतदान रोक्ने वाचा गरेका छन् भने र जुन्ता सरकारले पनि मतदान देशव्यापी रूपमा हुन नसक्ने स्वीकार गरेको छ ।

जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु

मुगु – जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । यहाँस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पु¥याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिनुभयो ।

बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।

आइतबार बेलुकी ७ बजे जिप दुर्घटनामा परेको थियो । त्यसपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । बोलेरो सडकदेखि २०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका ऐडीलाई राति १० बजे नै मुगु अस्पतालमा पु¥याइएको थियो ।

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

काठमाडौँ, २१ पुसः नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।

श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौँ प्रहरीले आज सार्वजनिक गरेको छ ।

श्रीवास्तवले भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रङ्गीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको छ ।

अशान्त विश्वमा ‘सही छनौट’ गर्न दक्षिण कोरियासँग चीनको आग्रह

चिनियाँ राष्ट्रपति सी चिनफिङले दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङलाई ‘जटिल र अशान्त’ बन्दै गएको विश्वमा ‘सही रणनीतिक छनौट’ गर्न बेइजिङसँग सहकार्य गर्न सोमबार आग्रह गर्नुभएको छ।

ली छ वर्षपछि चीनको राजधानी भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली शीर्ष नेता हुनुहुन्छ र सीसँगको भेट आणविक हतियार सम्पन्न उत्तर कोरियाले जापान सागरमा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको भोलिपल्ट भएको हो।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पदच्युत गरी लागूऔषध तस्करीको आरोपमा न्यूयोर्क लगेपछि सीको उक्त भनाइ आएको हो ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सोमबारको वार्तामा सीले विश्व अहिले तीव्र परिवर्तनबाट गुज्रिरहेको र अन्तर्राष्ट्रिय अवस्था जटिल र अशान्त बन्दै गएको चेतावनी दिनुभएको थियो ।

बेइजिङ र सियोलले यस क्षेत्रमा शान्ति कायम गर्न महत्वपूर्ण जिम्मेवारी वहन गर्ने र दुवै देशको साझा चासोका बिषय व्यापक रहेको सीले बताउनुभयो ।

सीलाई उद्धृत गरी चिनियाँ सञ्चारमाध्यमले लेखेका छन्, “उनीहरूले इतिहासको सही पक्षमा दृढतापूर्वक उभिनु पर्छ र सही रणनीतिक छनौट गर्नुपर्दछ।”

त्यसपछि दक्षिण कोरियाली नेताले आफू र सीबीचको विश्वासका आधारमा सम्बन्धमा नयाँ चरण सुरु गर्न चाहेको बताउनुभएको थियो ।

दक्षिण कोरियाली समाचार संस्था योनहापले प्रसारण गरेको फुटेजमा उहाँले कोरियाली प्रायद्वीपमा शान्तिका लागि मिलेर सम्भव विकल्प खोज्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस क्रममा नेताहरूबीच प्राविधिक नवीनता, वातावरण, यातायात र व्यापारका विषयमा ‘१५ सहयोग दस्तावेजहरू’ मा हस्ताक्षर भएको सिन्ह्वाले जनाएको छ ।

व्यापार र प्रविधि नेताहरूको प्रतिनिधिमण्डलसँगै लीले आफ्नो देशको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग आर्थिक सहयोग विस्तार गर्ने प्रतिबद्धता हासिल गर्ने आशा गरेका छन् ।

उहाँले दक्षिण कोरिया र चीनलाई ‘अधिक तेर्सो र पारस्परिक लाभदायक’ व्यापारका लागि काम गर्न आह्वान गर्नुभएको छ।

योनहापका अनुसार लीले सोमबार दक्षिण कोरियाली र चिनियाँ फर्मका शीर्ष कार्यकारीहरूसँग बेइजिङमामा भेट गर्नुभएको थियो ।

दक्षिण कोरिया र चीनले एक अर्कालाई एक आपसमा जोडिएको औद्योगिक आपूर्ति श्रृंखलाको माध्यमबाट विकास गर्न मद्दत गरेका छन् र विश्व अर्थतन्त्रको नेतृत्व गरेका छन्।

देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन – सभापति लामिछाने

काठमाडौँ, २१ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताउनभएको छ ।

आज यहाँ आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गर्दै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो ।

“चुनाव सर्छ कि, हुँदैन कि भन्ने अन्योल सिर्जना गर्ने काम नगर्नुहोस् । निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम हो”, सभापति लामिछानेले भन्नुभयो, “देशले सुनौलो भविष्य कोर्न लागेको बेला अवरोध गर्ने होइन ।”

उहाँले नयाँ पुस्ताको राजनीतिमा प्रवेशले देशमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्दै रास्वपासँग जोडिनुभएका काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको उदयले युवाहरूमा राजनीतिप्रतिको चासो बढाएको बताउनुभयो । सभापति लामिछानेले यो इतिहासको संवेदनशील मोडमा देशले राम्रो इतिहास लेख्न लागेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले थरुहट÷थारुवान आन्दोलनलाई पार्टीले आत्मसात् गर्ने र त्यसप्रति जिम्मेवारी लिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी

काठमाडौँ, २१ पुसः नेपाल प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म पाँच लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ ।

सो अवधिमा छ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये एक लाख ३० हजार ४२९ वटा आवेदन रद्द भएका थिए भने दुई हजार २६१ आवेदन कार्यान्वयनको क्रममा छन् ।

हाल दैनिक छ हजारदेखि पाँच हजार ५०० सम्म अनलाइन आवेदन प्राप्त हुने र तीमध्ये सामान्यतया चार हजार ५०० प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरीले जनाएको छ । अधिकांश विकसित मुलुकहरुले प्रवेशाज्ञाका लागि तथा सरकारी एवं निजी सङ्घ संस्थाहरुले समेत रोजगारीलगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार आपराधिक गतिविधिमा संलग्न व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन् । जसले गर्दा विभिन्न देशमा रोजगारी वा अन्य अवसरहरूबाट वञ्चित हुनुपर्दछ ।

नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्णतः निःशुल्क उपलब्ध गराउँछ । अपराधसम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० बमोजिम प्रहरी चारित्रिक प्रमाणपत्र पाउने आवेदकलाई नियमानुसार उपलब्ध गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।

निर्देशिकाअनुसार कुनै व्यक्तिउपर कुनै फौजदारी मुद्दामा अभियोग लागि अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्ता सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट निजलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुने छैन ।

गम्भीर वा जघन्य कसुरमा सजाय पाएको, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोगलगायत अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्तिको हकमा त्यस्तो व्यक्तिले गरेको कसुर उल्लेख गरी प्रहरी चारित्रिक प्रमाणपत्र जारी हुँदै आएको छ ।

यस्तै कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको, नाबालक, अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरू कारबाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सोभन्दा कम सजाय भई सजाय भुक्तान भएको, कुनै फौजदारी अभियोगमा मुद्दा दायर भई सफाइ पाएको व्यक्तिको विरूद्धमा पुनरावेदन परी पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध हुनेछ ।