`

मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल

बागलुङ। यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल पश्चिम नेपालकै प्रमुख लाइफलाइन रहेकाले जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिनुभएको छ ।

बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको अवस्था अवलोकन गर्न मंगलबार साँझ त्यहाँ पुग्नुभएका महासङ्घका निवर्तमान अध्यक्ष ढकालले बागलुङको पर्यटन र आयातनिर्यातका लागि पुल छिट्टै सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको हो । हाल सो जिल्लासँगको सम्पर्क विच्छेद भने नभएको भन्दै उहाँले अहिलेलाई भने बागलुङ पुग्ने वैैकल्पिक मार्गहरुका बारेमा पर्यटक र यात्रुलाई जानकारी दिन स्थानीय सरकार तथा व्यवसायीहरुलाई आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “मालढुङ्गा पुल राष्ट्रिय महत्वका रूपमा रहेको छ । उक्त पुल जतिसक्दो चाँडै सञ्चालनमा ल्याउनुपर्छ । कामको प्रगति पनि राम्रै भइरहेकाले चाँडै नै निर्माण हुने पनि देखिएको छ । यसका साथै वैकल्पिक मार्गलाई पनि थप चलायमान बनाउन सकिएमा यसबाट यस क्षेत्रको पर्यटन र आयात–निर्यात सहज बन्नेछ ।

यो एउटा पुलमात्रै नभएर बागलुङलाई राष्ट्रिय राजमार्गमा जोड्ने सेतु नै रहेको र भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा पहाडलाई छिचोलेको मध्यपहाडी लोकमार्गकै सङ्गमस्थल रहेको ढकालको भनाइ थियो । उहाँले पुल निर्माण कार्यमा भइरहेको तदारुकताको प्रशंसा पनि गर्नुभयो ।

स्थानीय सरकार तथा व्यवसायीहरुसँग उहाँले भन्नुभयो, बाटो अलिकति असहज भएपनि जिल्लाको सम्पर्क नै विच्छेद भने भएको रहेनछ । वैकल्पिक मार्गहरुका बारेमा पनि स्थानीय यात्रु तथा पर्यटकहरुलाई प्रसस्त मात्रामा सूचना तथा जानकारी दिउँ । जति सक्दो चाँडै यो पुल निर्माणका लागि सबैसँग हातेमालो र सहयोग गरौँ ।

उक्त पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । हाललाई भने बागलुङ बजार पुग्न वैकल्पिक मार्ग प्रयोगको व्यवस्था मिलाएको छ ।

चाडबाडअघिको आवागमनका साथै पर्यटकीय गतिविधिलाई लक्षित गरी मालढुङ्गा पुलको विकल्पमा मालढुङ्गा–बेनी हुँदै बागलुङ र पर्वतको फलेवास–जैमिनीघाट हुँदै बागलुुङ मार्ग प्रयोग भइरहेको छ । एक सय १४ मिटर लामो पुलको पहुँचमार्गको झन्डै ३० मिटर सडकमा क्षति पुगेपछि १० दिनदेखि दुई जिल्लाबीचको सम्पर्क सहज बन्न सकेको छैन । सुरुमा सम्पर्कविच्छेद नै भए पनि अहिले भने वैकल्पिक मार्गबाट आवतजावत भइरहेको छ ।

यसबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम, रोल्पाको सम्पर्क सूत्र पनि टुटेको छ । सडक डिभिजन कार्यालय पोखराले पुल मर्मतकार्य २४सै घण्टा गरिएकाले अबका केही दिनमै पुल सञ्चालनमा आउने जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले बागलुङ आउने मुख्य नाकाका रूपमा रहेको मालढुङ्गा पुल ठप्प भएपछि वैकल्पिक मार्ग प्रयोग हुँदै आएको जानकारी दिँदै सुवेदीले भन्नुभयो, “दसैँअघि नै पुल सञ्चालनमा आउँछ, बागलुङसहित रुकुमपश्चिमसम्मका यात्रुले सहज यात्रा गर्न सक्नेछन् ।”

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङ जोड्ने कालीगण्डकीमाथिको मालढुङ्गा मोटरेबल पुल मर्मतकार्य जियोब्याग र जियोग्रेड प्रविधिमा २४सै घण्टा भइरहेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले चाडबाडसमेत नजिकिँदै गएको तथा बागलुङमा खाद्यान्न, ग्यासलगायत उपभोग्य सामानको अभावसमेत देखिन थालेकाले २४सै घण्टा काम गरेर भए पनि छिटो पुल सञ्चालनमा ल्याउने प्रयास गरिएको जानकारी दिनुभयो ।

बागलुङका पर्यटन व्यवसायी अर्जुन चोखालका अनुसार बागलुङ बजारमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यन्न वैकल्पिक मार्गबाट नियमित आयात भइरहेको छ । उहाँले बैकल्पिक मार्गको प्रयोगबारे स्थानीय, पर्यटक र अन्य यात्रुलाई पनि जानकारी दिइएको बताउनुभयो ।

भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लैनचौरको टोलीले भालुको पित्तसहित नवलपरासीका योगेन्द्रप्रसाद चौधरी र हात्तीको दाह्रासहित सिन्धुलीका सोमबहादुर माझी र महोत्तरीका चित्रबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाले भालुको पित्तसहित चौधरीलाई काठमाडौँको सोह्रखुट्टे र हात्तीको दाह्रासहित माझी र विश्वकर्मालाई सिन्धुलीको कमलामाई क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेका चौधरीसँग १४० ग्रामको भालुको पित्त एक थान र माझी र विश्वकर्मासँग हात्तीको दाह्रा छ किलोग्राम बरामद गरेको छ । पक्राउ परेका चौधरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ र माझी तथा विश्वकर्मालाई डिभिजन वन कार्यालय सिन्धुली बुझाइएको ब्यूरोले जनाएको छ ।

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी । मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढेको हो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

“अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किँदा बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ”, उनले भने, “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरे पनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षणको विकल्प छैन ।”

साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन । कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किन्छन् । ह्युम पाइप राखिएको ठाउँमा बाढी आएर बगाउने जोखिम पनि उत्तिकै छ । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चाप पनि यो सडकमा छ ।

गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा कालोपत्र डिलदेखि कुनासम्मै सडकको पूरै भाग भत्किएको छ ।

सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनारदेखि पक्की पर्खाल उठाएर सडकलाई पुनर्निमाण गर्नुपर्ने कार्यालय प्रमुख उलकले बताए। डिलतिर ठाउँ छैन, भित्ता काटेर सडक बनाउँदा बस्तीलाई जोखिम हुन्छ । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब १४० घरपरिवारको बसोबास रहेको दुखुबेँसी गाउँलाई जोखिम बनाएको बताए ।

कटान रोकथाम, सडक सञ्चालन र बस्ती संरक्षणको काम गर्नुपर्ने दुखुबेँसीका बासिन्दाको भनाइ छ । बेनी–दरवाङ सडकको पछिल्लोपटक चुनौती बनेको बालौटे खण्डको सडक पुनर्निर्माणको काम अघि बढाउन मङ्गलबार म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँको टोलीले निरीक्षण गरे।

सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुनर्निर्माण, कटान नियन्त्रण र बस्ती संरक्षणको कामलाई समानान्तर रुपमा अघि बढाउन प्रस्ताव गरे । तत्काल बस्तीलाई असर नपुग्ने गरी सडक पुनर्निर्माण गरी दसैँअघि सवारी सञ्चालन गर्ने र आगामी बर्खाअघि नै नदी नियन्त्रण गर्नुपर्ने जुग्जालीले बताए ।

सचिव शर्माले पूर्वाधार विकास कार्यालयले सडक मर्मत शीर्षकको मौजुदा र अख्तियारीप्राप्त भएको बजेटमार्फत ग्यावियन जाली खरिद र मजदुरको ज्यालाको व्यवस्थासँगै थप बजेटको प्रक्रिया अघि बढाउने, मन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने र छिटो काम गर्नका लागि जलविद्युत् आयोजनाहरूका उपकरण परिचालन गर्ने समझदारी बनेको बताए ।

मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनालाई पनि तत्काल मर्मत गरी सञ्चालनका लागि बजेटको अभाव हुन नदिने र कतिपय जिल्लामा काम भइरहेको सचिव शर्माले बताए।

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन। नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ ।भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोलाघाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्याएको हो ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धिगणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुरक्षेत्रमा १०० मिटर, गौरेस्वर, गाँजीपुर, कटेरो क्षेत्रमा ५० मिटरका दरले बाढीले तटबन्धमा असर पुर्याएको हो । बाढीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ ।

नारायणी पुलदेखि पश्चिम क्षेत्र चितवनतर्फ धेरै तटबन्ध भएकाले अहिलेको वर्षाले ठूलो क्षति हुन नपाएको उहाँले बताउनुभयो । तटबन्ध गर्न बाँकी रहेका केही ठाउँबाट बाढी बस्तीमा पसे पनि क्षति हुन नपाएको उहाँले बताउनुभयो । बाढीले नवपरासीतर्फको तटबन्धको काम नभएको क्षेत्रमा ठूलो क्षति भएको उहाँले बताउनुभयो । नवलपरासीतर्फ अमलटारी क्षेत्रमा तीन किलोमिटर, नन्दपुर, सीतापुर, सेरी क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।

यस्तै पर्सौनी, तमासपुर, बगुवानसम्म विभिन्न स्थानमा गरी १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट, घोसारघाट क्षेत्रमा ७०० मिटर र सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रफलमा बाढीले क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । ती क्षेत्रमा तटबन्धको काम कम भएकाले क्षति धेरै भएको हो । तटबन्ध गरिएका ठाउँहरूमा सामान्य क्षतिमात्र रहेको छ ।

उहाँका अनुसार नवलपरासी क्षेत्रमा नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध गरिएको छ । नवलपरासी क्षेत्रमा नारायणी पुलबाट तल ९८ किलोमिटर क्षेत्र पर्दछ । तटबन्धका काम नभएका क्षेत्रमा बाढीले कटान गरेको उहाँको भनाइ छ । तटबन्धका कारण चितवनतर्फ क्षति कम भएको र नवलपरासीतर्फ काम हुन नसक्दा बढी क्षति भएको हो ।

दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

बागमती । पर्यटकीय सम्भावना भएर पनि अपेक्षित रूपमा उपयोग हुन नसकेको गन्तव्यमध्ये एक हो हेटौँडा । सहर प्राकृतिक रूपमा उत्तिकै सुन्दर छ । यहाँको सुन्दरतालाई पर्यटकीय दृष्टिले खासै उपयोग गर्न सकिएको छैन ।

चुरे शृङ्खलामा समेटिएको हेटौँडामा बिदाका दिनमा घुम्न सकिने धेरै गन्तव्य रहेको यस क्षेत्रको प्रवर्द्धन र विकासका लागि निरन्तर रूपमा लागिरहेका जानकारको भनाइ छ ।

हेटौँडा प्राकृतिक एवम् ऐतिहासिक दुवै दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ र बागमती प्रदेशका सदस्य उत्तम शर्मा ढकाल बताउँछन् ।

महाभारतकालीन इतिहास जोडिएको भुटनदेवी मन्दिरदेखि ऐतिहासिक मकवानपुर गढी, हेटौँडा सहिद स्मारक, दक्षिण एसियाकै पहिलो चुरिया सुरुङ मार्ग जस्ता धेरै ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक सौन्दर्यताले भरिएका गन्तव्य हेटौँडा आसपासमा रहेको उनले जानकारी दिए ।

विशेषगरी दसैँ, तिहारको बिदाको समयमा हेटौँडाका विभिन्न स्थानमा भ्रमण गर्न सकिने उनले बताए ।

यस्ता छन् प्रमुख पर्यटकीय गन्तव्य

हेटौँडा सहिद स्मारक

हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक नेपालको गौरव र हेटौँडाको पहिचानका रूपमा चर्चा कमाएको गन्तव्य हो । विभिन्न शैक्षिक संस्थाको अवलोकन भ्रमणसँगै व्यक्तिगत रूपमा हेटौँडामा घुम्न आउने पर्यटकका लागि यो नछुटाउने गन्तव्यजस्तै बनिरहेको स्मारकका व्यवस्थापक रामचन्द्र न्यौपाने बताउँछन् ।

स्मारकमा पूर्वाधार विस्तारसँगै विभिन्न कालखण्डमा शहादत प्राप्त गर्नुहुने सहिदका बारेमा प्रकाशित पुस्तक, जीवनी, लेखरचना फोटोलगायतका विवरण एउटै थलोमा उपलब्ध गराइएको छ । सहिदका बारेमा अध्ययन अनुसन्धान एवम् खोज गर्न सहज होस् भनेर सहिद अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरिएको छ ।

स्मारक परिसरमा बालबालिकाको मनोरञ्जनका लागि चिप्लेटी, पिङ, जीप, ट्रेन, आदि सञ्चालनमा छन् । वयस्कका लागि रोटेपिङ, डुङ्गा, फ्लाइङ चेयर, फ्लाइङ कार आदि सञ्चालित छन् । त्यस्तै, साहसिक मनोरञ्जनात्मक खेल जिपलाइन, रोलर कोस्टर जिपलाइन र स्काई साइकल उपलब्ध छ ।

स्मारक परिसरमा प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र गणेशमान सिंहको पूर्णकदको प्रतिमासहित आकर्षक बगैँचा, फाउन्टेनसहितको प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ ।

सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहज होस् भन्ने अभिप्रायले ६५ फिट अग्लो १९ मिटर गोलाइको सहिदस्तम्भ निर्माण गरिएको छ । स्तम्भ यहाँको अर्को आकर्षण हो । चारैतिरबाट कमलको फूलको जस्तो आकार देखिने र भित्री भागमा विभिन्न कालखण्ड झल्कने अर्ध अमूर्त आकृति, चार फोहोरा, आकर्षक बगैँचा, अग्रभागमा मुख्य नदीहरू, हिमशृङ्खलादेखि तराईसम्म बगिरहेको दृश्यसहितको नेपालको नक्सा राखिएको छ ।

स्मारक परिसरभित्र रहेको चिडियाघर यहाँको अर्को आकर्षण हो । पछिल्ला दिनमा यहाँ जातीय सङ्ग्रहालय स्थापना गरी मकवानपुर रहेका दनुवार, चेपाङ, बनकरीया, राउटे, राई, लिम्बू, नेवार, तमाङलगायत २६ जातिको पहिरन, प्रयोग गर्न सकिने सामान, सांस्कृतिक पर्वलगायतले जातीय इतिहासलाई जीवन्तता दिने प्रयास गरिएको छ ।

हेटौँडाका धार्मिक पर्यटकीय गन्तव्यहरू

धार्मिक पर्यटकीय गन्तव्यका रूपमा हेटौँडामा महाभारतकालीन भुटनदेवी मन्दिर, कुष्माण्ड सरोवर त्रिवेणी धाम, भुवनेश्वर पशुपति, चुरियामाई आदि छन् । हेटौँडा उपहानगरपालिका–१० मा रहेको भुटनदेवी मन्दिरलाई महाभारतकालीन इतिहाससँग जोडेर हेरिन्छ ।

हरेक दिन दर्शनार्थीको आगमन भइरहने यस मन्दिरमा बडादसैँलगायत महत्त्वपूर्ण चाडपर्व र तिथि मितिमा विशेष भीड लाग्ने गरेको मन्दिरका पुजारी बुद्धिमान राई बताउँछन् । मन्दिरभित्र अष्टभुजायुक्त देवीको आकर्षक मूर्ति रहेको छ । मन्दिरभित्र देवीसँगै सिंह र दैत्यवधको प्रतीकात्मक मूर्तिले असत्यमाथि सत्यको विजयलाई देखाएको छ ।

भुटनदेवीको स्थापना सेनवंशी राजाबाट भएको मानिएको छ । देवीको पूजा दर्शन नगरी सिकार वा लडाइँमा गएमा उपलब्धि हासिल नहुने विश्वासका कारण त्यस समयदेखि नै शासकले देवीको श्रद्धाभक्तिपूर्वक पूजा गरेर मात्रै आफ्नो कार्य थालनी गर्ने गरेको किंवदन्ती छ ।

त्यस्तै, हेटौँडामा नै रहेको कुष्माण्ड सरोबर त्रिवेणी धाम यहाँको अर्को धार्मिक पर्यटकीय गन्तव्य हो । हेटौँडास्थित रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी)को त्रिवेणीमा कुष्माण्डा भगवतीले तपस्या गरी विष्णु भगवान्बाट सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ । यस तीर्थस्थलमा विभिन्न चाडपर्व, तिथिमितिका साथै हरेक वर्षको कात्तिक शुक्ल नवमी ९कुष्माण्ड नवमी० मा हजारौँ दर्शनार्थी आउने गरेका छन् । कार्तिक शुक्ल नवमीका दिन यहाँ कुभिण्डो दान गरिएमा पुण्य प्राप्त हुने जनविश्वास छ ।

कुष्माण्ड सरोवर त्रिवेणीधाम व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेका अनुसार यस तीर्थस्थलमा १०८ वटा गाईको मुखबाट झरिरहेका धारा (गौमुखी धारा), शिवालय, यज्ञकुण्ड, नागस्थान, स्वचालित बुद्ध दर्शनस्थल, हेडम्बा नगरीको इतिहास झल्काउने संरचना, सङ्ग्रहालय, फूल बगैँचा, वृत्तचित्र प्रदर्शन स्थल, मनोरेल आदि सञ्चाालनमा छन् । त्रिवेणीधामको महिमा स्कन्दपुराणको हिमवत्खण्ड, महाभारतको आदि पर्व र वन पर्व, वराह तथा वायु पुराणमा उल्लेख छ ।

हेटौँडाकै अर्को प्रसिद्ध धार्मिक तीर्थस्थल चुरियामाई यहाँको घुम्नै पर्ने गन्तव्य हो । चुरिया माईसँगै रहेको दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग यहाँको अर्को आकर्षणका रूपमा रहेको छ । यातयातकी देवीका रूपमा लिइने चुरिया माईमा विशेषगरी नयाँ सवारीसाधन खरिद गरेपछि पूजाआजाका लागि दर्शनार्थी पुग्ने गर्छन् ।

मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ । वरपर गणेशसहित विभिन्न देवीदेवताका मूर्ति छन् । मन्दिर परिसरमा रहेको सुरुङ मार्ग पनि यहाँको अर्को आकर्षण हो ।

विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई १८७४ सालमा सम्पन्न भएको चुरियामाई सुरुङ मार्ग तत्कालीन हेटौँडा–अमलेखगन्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर सुरुङ मार्ग निर्माण गरिएको हो । यसको नेतृत्व सिभिल इन्जिनियर स्व डिल्लीजङ्ग थापाले गरेका थिए ।

भुटनदेवी, चुरियामाई जस्तै हेटौँडा आसपासमा भुवनेश्वर पशुपति मन्दिर, मनकामना, पाथीभरा, वनस्खण्डी, लक्ष्मीनारायण मन्दिर, दक्षिणकाली मन्दिर, गोरक्षेश्वर धाम, रुद्रेश्वर महादेव मन्दिर आदि धार्मिक गन्तव्य छन् ।

यस्तै, राक्सिराङ गाउँपालिकामा रहेको जलपरी झरना, सीता अशोक वाटिका पनि धार्मिक रूपमा दर्शनीय स्थलका रूपमा स्थापित छन् । हर्नामाडीस्थित मूर्ति सङ्ग्रहालय, जुरेथुमस्थित श्रीकृष्णको विशाल मूर्ति, पुष्पलाल पार्क आदि छन् ।

ऐतिहासिक रूपमा पनि उत्तिकै महत्त्वपूर्ण गन्तव्य

हेटौँडा र आसपासका गन्तव्यमध्ये मकवानपुरगढी यहाँको अर्को ऐतिहासिक महत्वको गन्तव्य हो ।

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाको दरबार हो । सेनवंशी राजाको इतिहासदेखि नेपाल एकीकरणका ऐतिहासिक पक्षको जीवन्त साक्षीका रूपमा रहेको यो दरबार वर्तमानमा भने मकवानपुरकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चर्चामा छ ।

हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथ सडकसँगै समुद्री सतहदेखि एक हजार १७ मिटर उचाइमा रहेको यस गढीले नेपालको एकीकरण हुनु पूर्व सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहासलाई झल्काउने गरेको छ । यो गढीले परम्परागत तर तत्कालीन उन्नत वास्तुकलाको ज्वलन्त उदाहरणसँगै त्यस कालखण्डको सुरक्षात्मक प्रबन्धलाई जीवन्त रूपमा चित्रण गरेको छ ।

औद्योगिक एवम् कृषिमा उदीयमान गन्तव्य

हेटौँडा देशकै तेस्रो ठुलो औद्योगिक सहर हो । यहाँ धेरै उद्योग सञ्चालनमा छन् । भारतसँगको प्रमुख नाका वीरगञ्जसँग राजधानी काठमाडौँलाई जोड्ने सहरका रूपमा पनि यसको महत्त्व छ । पछिल्ला दिनमा कृषि पर्यटनका क्षेत्रमा उदाइरहेका हेटौँडा आसपासका पदमपोखरी, बकैया आदि स्थानको पनि पर्यटकीय उपयोग गर्न सकिने देखिन्छ ।

धेरै पर्यटकीय गन्तव्य रहे पनि प्रवर्द्धनको अभावमा सदुपयोग हुन नसकेको मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ढकालले बताए । दसैँ, तिहार जस्ता बिदामा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी लाग्नु आवश्यक भएको उनको भनाइ छ ।

भारतसँगको सीमाबाट नजिकै रहेको हेटौँडामा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको आकर्षण बढाउन सकिने हिमालय राइडर्स सोसाइटी, हेटौँडाका अध्यक्ष राजु थापा मगर बताउँछन् । “गन्तव्यको प्रवर्द्धन गर्दै पर्यटकको आकर्षण बढाउन पर्यटन सम्बद्ध सबैको एकताबद्ध प्रयास आवश्यक छ,”, उनले भने, “विशेष गरी दसैँ, तिहारको बिदाको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकलाई हेटौँडा पनि एउटा घुनै पर्ने गन्तव्य हो भन्ने बुझाउनु अपरिहार्य छ ।”

भोटेकोशी बाढीमा खोजी–उद्धार तीव्र, ४,७२० बेपत्ताको खोजी जारी

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ६ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ ।

जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४४० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७२० जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार १७९ जना व्यक्तिहरूलाई राखिएको छ ।

एनपिएल सुरु हुन तीन साता बाँकी, कीर्तिपुर मैदानमा तयारी तीव्र

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।

प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

“तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगितालाई राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ । प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ”, सचिव खड्काले रासससँग भन्नुभयो, “दसँैसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ ।”

गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् । एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिनुभयो । मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उहाँको भनाइ छ ।

यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताउनुभयो । टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ ।

गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नु परेको थियो । यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले पहल गरेको सचिव खड्काले बताउनुभयो ।

दसैँलगत्तै एनपिएल

दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि नेपाल क्रिकेट सङ्घ (क्यान) भने यसप्रति धेरै चिन्तित छैन । क्यानका सचिव खड्का नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो भएकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गर्नुहुन्छ ।

उहाँका अनुसार एनपिएलको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । यी सबै पक्षलाई हेर्दा यस वर्षका लागि दसैँ–तिहारको बीचको समय नै प्रतियोगिता आयोजना गर्नु उपयुक्त देखिएको उहाँको भनाइ छ ।

तेस्रो संस्करणमा सहभागी टोलीले अन्तरराष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ । टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ ।

“यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ”, उहाँले भन्नुभयो । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक नौदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको विभिन्न स्थानमा मर्मत कार्य सम्पन्न भएको छ ।

सो सडकखण्डको विभिन्न ५५ स्थानमा बाढी पहिरोका कारण अवरुद्ध भएको थियो । यही असोज ८ देखि ११ गतेको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले १० स्थानको सडक कटान गरेर बगाएको र भत्काएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा कालीगण्डकीले बगाएको सडक पुलको पहुँच मार्ग र रघुगङ्गा गाउँपालिका–२ कुनौटा बाहेकका स्थानमा मङ्गलबारसम्म प्रारम्भिक मर्मत कार्य सकिएको जानकारी दिइन् ।

“मालढुङ्गादेखि कुनौटा, कोरलादेखि पोखरेबगर सडक पुलसम्मको सडकमा ठुला सवारीसाधन सञ्चालन गर्न सकिने गरी मर्मत भएको छ,” उनले भनिन्, “पोखरेबगरदेखि कुनौटाको बीचमा पर्ने रातोपानी, धिरच्याङ, भिरकाटे, महभिर, तिप्ल्याङ र बेगखोलामा पहिरो पन्छाउने तथा नयाँ मार्ग बनाउने काम सकिएको छ ।”

बाढीले कुनौटामा पैदलयात्रा गर्न नमिल्ने गरी २५० मिटर सडक र पोखरेबगरको पुलको पहुँच मार्ग बगाएको थियो । कुनौटामा चार वटा एक्साभेटरसहित टिप्पर परिचालन गरेर माटो भर्ने तथा पोखरेबगरमा मजदुर र उपकरण परिचालन गरेर ग्यावियन पर्खाल निर्माण भइरहेको छ ।

आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरिएको योजना प्रमुख शर्माले बताउनुभयो । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत् गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन इन्धन अभाव रहँदै आएको थियो ।

राहुघाटको विद्युत् गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको छ । नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।

सडक विभाग र निर्माण व्यवसायीका १५ वटा एक्साभेटर, १२ वटा टिप्पर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए।

“सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने । सो आयोजनामा यसपटकको विपद्ले हालसम्म ठुलो क्षति पुर्‍याएको छ । सडक पुनर्निर्माणका लागि रु तीन अर्ब लाग्ने प्रारम्भिक अनुमान सडक विभागले गरेको छ । रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्त्वपूर्ण रहेको छ । सो नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भएको छ । दसैँ–तिहारका लागि भेडा च्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय याम सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब परेको छ ।

जापानमा साइबर आक्रमण तीव्र, लाखौँ ग्राहक तथा विद्यार्थीको विवरण प्रभावित

जापान । जापानमा पछिल्ला दिनमा विभिन्न कम्पनी तथा विश्वविद्यालयमा भएका साइबर आक्रमण र तथ्याङ्क चुहावटका घटनाले लाखौँ ग्राहक, सदस्य, विद्यार्थी तथा शिक्षक प्रभावित हुन सक्ने देखिएको छ। सोमबारदेखि सार्वजनिक भएका छुट्टाछुट्टै घटनामा व्यक्तिगत विवरण अनधिकृत रूपमा पहुँच गरिएको वा चुहिएको सम्बन्धित संस्थाहरूले बताएका छन्।

ओसाका मेट्रोपोलिटन युनिभर्सिटीले साइबर आक्रमणपछि कम्तीमा १ लाख ३० हजार विद्यार्थी तथा शिक्षकको विवरण चुहिएको हुन सक्ने जनाएको छ। गत शुक्रबार भएको आशङ्कित ‘रेन्समवेयर’ आक्रमणपछि विश्वविद्यालयको सूचना प्रणाली सञ्चालन गर्ने करिब ५०० सर्भर बन्द गर्नुपरेको थियो।

विश्वविद्यालयका विद्यार्थीका लागि रहेको क्याम्पस नेटवर्क तथा शिक्षकका लागि प्रयोग हुने पोर्टल सोमबारसम्म सञ्चालनमा आउन सकेका थिएनन्। आक्रमणका कारण केही व्याख्यानसमेत रद्द गरिएको विश्वविद्यालयले जनाएको छ।

जापानी छुट पसल सञ्चालक म्याक्स होल्डिङ्स लिमिटेडले आफ्नो अनलाइन किनमेल सेवा सञ्चालन गर्ने सर्भरमा अनधिकृत पहुँच भएपछि करिब १७ लाख ग्राहकको व्यक्तिगत विवरण प्रभावित भएको हुन सक्ने मंगलबार बताएको छ। कम्पनीले अनलाइन सेवा रोकेर आक्रमणको बाटो बन्द गरेको तथा बाह्य सुरक्षा विशेषज्ञ, नियामक निकाय र प्रहरीसँग अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

इन्टरनेट सेवा प्रदायक जीएमओ रिसर्च एन्ड एआई इङ्कले पनि सोमबार आफ्नो सर्भरमा अनधिकृत पहुँच भएपछि ९ लाख ४८ हजार ५०० सदस्यको विवरण चोरी भएको जनाएको छ। कम्पनीका अनुसार केही सदस्यले प्राप्त गरेका पुरस्कारमध्ये करिब २९ लाख येन अर्थात् करिब १८ हजार अमेरिकी डलर बराबरको रकम अवैध रूपमा अमेजन उपहार कार्डका कोडमा साटिएको पाइएको छ।

याकिनिकु किङ बारबेक्यु रेस्टुरेन्ट चेन सञ्चालन गर्ने मोनोगातारी कर्पले पनि आफ्नो रेस्टुरेन्ट आरक्षण तथा पुरस्कारसम्बन्धी स्मार्टफोन एप सञ्चालन गर्ने प्रणालीमा अनधिकृत पहुँच भएपछि १ करोडभन्दा बढी ग्राहकसम्बन्धी विवरण चुहिएको जनाएको छ। चुहिएको विवरणमा इमेल ठेगाना र फोन नम्बर रहेको बताउँदै कम्पनीले ती विवरणको दुरुपयोग भएको पुष्टि नभएको स्पष्ट पारेको छ।

यसैबीच, दाइवा सेक्युरिटिज ग्रुप इङ्कले आफ्नो धितोपत्र कारोबारसम्बन्धी एकाइका करिब १ लाख १० हजार ग्राहकको विवरण तथा अन्य गैरव्यक्तिगत सूचना ठेकेदारद्वारा सञ्चालित सर्भरमा भएको अनधिकृत पहुँचका कारण प्रभावित भएको हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार विवरण चुहिएको भए पनि त्यसलाई अनलाइन कारोबारलगायत कुनै पनि कारोबार गर्न प्रयोग गर्न नसकिने अवस्था रहेको छ।

सम्बन्धित संस्थाहरूले यी घटनालाई छुट्टाछुट्टै रूपमा सार्वजनिक गरेका हुन्। अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार ती घटनाबीच कुनै सम्बन्ध रहेको वा एउटै समूहले सबै साइबर आक्रमण गरेको सङ्केत भने फेला परेको छैन।

कांग्रेस १५औँ महाधिवेशन: उम्मेदवारको प्रथम नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरेको हो ।

प्रकाशित नामावलीअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपसभापति एक पदका लागि भने विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमा वरिष्ठ उपसभापतिमा शर्माको एकल उम्मेदवारी परेको उल्लेख छ ।

निर्वाचन समितिका अनुसार प्रथम नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि १२ बजेसम्म आवश्यक कागजातसहित केन्द्रीय निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ । सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भएपछि अब निर्वाचन समितिले दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

देशभर मौसम बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ।

देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै ठाँउ तथा लुम्बिनी प्रदेशको एकरदुई ठाँउमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागको थोरै स्थानमा र पहाडी भूभागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमवर्षाको सम्भावना छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेश सबै भूभाग तथा देशको हिमाली र पहाडी भूभाग साधारणतया बादल लाग्ने छ। देशको तराई भुभागमा आंशिक बादल लाग्नेछ। देशको तराई भूभागमा बिहानीपख हुस्सु र कुहिरो पनि समभावना छ । देशको हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भुभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । देशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

काठमाडौँ । नेपाल र रुसबिचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज यहाँ हुँदैछ । नेपाल र रुसले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष मनाइरहेका बेला हुन लागेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले र रुसी प्रतिनिधिमण्डलको नेतृत्व नेपाल भ्रमणमा रहेका रुसी उपविदेशमन्त्री आन्द्रेई रुडेन्कोले गर्नेछन् ।

नेपाल र रुसबिच नियमित परामर्श तथा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले सन् १९९५ मा परामर्शसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २००७ मा मस्कोमा र दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौँमा भएको थियो ।

आजको बैठकमा नेपाल–रुस सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिला र बहुपक्षीय मञ्चमा सहकार्यका विषयले पनि बैठकमा स्थान पाउनेछन् ।

यसैबिच, उपविदेशमन्त्री रुडेन्कोले मङ्गलबार साँझ काठमाडौँमा रुसी दूतावासले आयोजना गरेको ‘ओपन डाइलग’मा बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरे ।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे उठाएको विषयको प्रशंसा गर्दै जलवायु परिवर्तनसम्बन्धी समस्या विश्वका लागि ‘अलार्म बेल’ भएको बताए ।

नेपालले भोगिरहेको विपद्का बेला रुस आफ्नो क्षमताअनुसार सहयोग गर्न तयार रहेको उनले बताए । रुस आफैँ विभिन्न चुनौती र समस्यासँग जुधिरहेको भए पनि नेपाललाई आवश्यक सहयोगका लागि सम्भव सबै प्रयास गर्न तयार रहेको उनको भनाइ थियो ।

ओपन डाइलगमा उनले नेपालका विद्यार्थीलाई उच्च शिक्षाका लागि रुसमा अध्ययन गर्ने अवसरबारे पनि जानकारी दिँदै आगामी शैक्षिक वर्षमा नेपाली विद्यार्थीका लागि ५२ छात्रवृत्ति कोटा उपलब्ध गराउने बताए ।

उपविदेशमन्त्री रुडेन्कोले शिक्षा, संस्कृति तथा जनस्तरको सम्बन्धलाई नेपाल–रुस सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै यस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

रुसी उपविदेशमन्त्री रुडेन्कोको नेपाल भ्रमणका क्रममा नेपाली नागरिक रुसी सेनामा भर्ती भएको विषय, बेपत्ता तथा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्तिलगायतका विषयमा पनि नेपाली पक्षले छलफलमा उठाउने अपेक्षा गरिएको छ ।

साथै उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । मस्कोले नेपालसँगको कूटनीतिक महत्वलाई उच्च प्राथमिकता दिएको उनको भनाइ थियो ।

गाजामा स्थायी युद्धविराम गर्न गुटेरेसको आह्वान

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गरेका छन्।

उनले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्‍याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न पनि आग्रह गरेका छन्।

एक विज्ञप्तिमार्फत उनले अबको समय स्थायी युद्धविराम, व्यापक मानवीय सहायता र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने समय भएको बताए। उनले सम्पूर्ण क्षेत्रमा स्थायी शान्तिका लागि राजनीतिक मार्ग तय गर्नुपर्नेमा पनि जोड दिए।

“यो वार्षिकोत्सव शोकको अर्को वर्ष मात्र नभई फरक भविष्य निर्माण गर्ने नयाँ दृढ सङ्कल्पको अवसर बनोस्”, उनले भने। उनका अनुसार इजरायली र प्यालेस्टिनी नागरिकले आफ्ना अधिकार, गरिमा र आकांक्षा पूरा गर्दै शान्ति र सुरक्षामा सँगै बस्न सक्ने अवस्था निर्माण गर्न आवश्यक छ ।

महासचिव गुटेरेसले सन् २०२३ को हमास आक्रमणमा एक हजार दुई सयभन्दा बढी इजरायली तथा विदेशी नागरिकको हत्या र २५१ जनालाई बन्धक बनाइएको घटनालाई ‘घृणित’ भन्दै इजरायली पक्षमा भएको क्षतिलाई स्वीकार गरे।

साथै, गाजाका प्यालेस्टिनी नागरिकले ठूलो मानवीय क्षति, विस्थापन र विनाशको सामना गर्नुपरेको उनले बताए। “उनीहरूको पीडा पनि अब अन्त्य हुनुपर्छ”, उनले भने।

गाजामा इजरायलले सञ्चालन गरेको लामो सैन्य अभियानमा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार ७४ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । उक्त मन्त्रालय हमासको नियन्त्रणमा रहेको भए पनि संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गर्ने तथ्याङ्कलाई भरपर्दो मान्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २०२५ मा घोषणा गरेकाे छोटो युद्धविरामले केही राहत ल्याएको गुटेरेसले स्वीकार गरे । तर त्यसले अझै पर्याप्त सुरक्षा, मानवीय सहायता तथा पुनःस्थापना र शान्तितर्फ जाने विश्वसनीय मार्ग सुनिश्चित गर्न नसकेको उनले बताए।

इजरायलले गाजाको अधिकांश भागमा अझै नियन्त्रण कायम राखेको छ । हमासको निशस्त्रीकरण प्रमाणित नभएसम्म आफ्ना सैनिक फिर्ता नहुने इजरायलको अडान छ । हमासले भने आफ्ना हतियार तत्काल र एकपक्षीय रूपमा त्याग्नुपर्ने प्रस्तावको सट्टा क्रमिक निशस्त्रीकरणको पक्षमा रहेको बताएको छ ।

सन् २०२३ को आक्रमणपछि इजरायलले विभिन्न मोर्चामा सैन्य कारबाही गर्दै आएको छ । विशेषगरी तेहरानको समर्थन प्राप्त इस्लामवादी आन्दोलन हिजबुल्लाहविरुद्ध दक्षिणी लेबनानमा सैन्य कारबाही गरिएको छ । साथै, फेब्रुअरीको अन्त्यमा संयुक्त राज्य अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरिएको छ।

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् – परराष्ट्रमन्त्री खनाल

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक सङ्कटको अग्रपंक्तिमा रहेको बताउनुभएको छ ।

फिजीमा आज आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’ अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित ‘हिमालयन सुनामी’ ले ठूलो मानवीय क्षति पुर्‍याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो ।

उहाँले हिमालयका हिमनदी पग्लिँदा समुद्री सतह वृद्धि हुनुका साथै प्रशान्त क्षेत्रमा थप शक्तिशाली चक्रवातलगायत जलवायुजन्य जोखिम बढ्ने उल्लेख गर्नुभयो । ‘हिमाल र महासागर एउटै ग्रहका विभाजन गर्न नसकिने भागको निरन्तरता हुन्, जुन साझा जलचक्र र मानवताको साझा भविष्यबाट जोडिएका छन्”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूले भोगिरहेको जलवायु अन्यायप्रति पनि ध्यानाकर्षण गराउनुभयो । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका कमजोर तथा विकासशील मुलुकहरूले मानवीय जीवन, महत्त्वपूर्ण पूर्वाधार र विकासका उपलब्धि गुमाएर जलवायु सङ्कटको असमान मूल्य चुकाइरहेको उहाँको भनाइ थियो ।

“जलवायु जोखिममा रहेका मुलुकको अवस्थालाई विश्वव्यापी न्यायपूर्ण जिम्मेवारीमार्फत तत्काल सम्बोधन गरिनुपर्छ”, उहाँले भन्नुभयो । आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र कायम राख्ने लक्ष्यप्रति दृढ प्रतिबद्धता, ऋणको बोझ नथपिने गरी पूर्वानुमानयोग्य तथा अनुदानमा आधारित अनुकूलन वित्त, हानी तथा क्षति कोषको शीघ्र कार्यान्वयन तथा हिमाल र महासागरमा आधारित राष्ट्रहरूबीच औपचारिक ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलवायु परिवर्तनका कारण समान जोखिममा रहेका हिमाली तथा टापु राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।

मन्त्री खनालले फिजीको ‘सोलेसोलेवाकी’ र नेपालको ‘श्रमदान’ जस्ता सामुदायिक सहकार्यका सांस्कृतिक अभ्यासलाई स्मरण गर्दै जलवायु सङ्कट सामना गर्न विश्वव्यापी ऐक्यबद्धता र एकीकृत नेतृत्व आवश्यक रहेको बताउनुभयो।

उहाँले कोप–३१ सम्मको यात्रामा साझा जोखिमलाई कार्यान्वयनयोग्य जलवायु न्यायमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

दुई लाखभन्दा बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले जुवा खालबाट एक बुङ तास र नगद रु दुई लाख ३१ हजार १७० बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ का २७ वर्षीय नारायण श्रेष्ठ, सुनसरीको रामधुनी नगरपालिका–१ का ३६ वर्षीय प्रेम विक, सोही ठाउँका ४७ वर्षीय गौरीशङ्कर लुइँटेल, ४२ वर्षीय महेशलाल धामी र इटहरी उपमहानगरपालिका–१७ का ४३ वर्षीय लोकबन्धु कार्की रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने’ – अध्यक्ष श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका कारण निजी क्षेत्र, उद्योग–व्यवसाय र समग्र अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको बताएका छन्।

सङ्घीय संसद्काे संसदीय विशेष समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा नेपालको वर्तमान परिस्थिति, विकासका चुनौती, हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा जलवायु न्यायका विषयमा छलफल गर्दै अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि निजी क्षेत्रलाई पनि नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा प्रभावकारी रूपमा सहभागी गराउनुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण उद्योग, व्यवसाय, पूर्वाधार तथा आपूर्ति प्रणालीमा ठूलो जोखिम बढेको भन्दै सरकार र निजी क्षेत्रबिच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए। उनले जलवायु परिवर्तन र विपद्का कारण निजी क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ठुलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।

अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले जलवायु अनुकूल व्यावसायिक अभ्यास, हरित प्रविधि तथा दिगो उत्पादन प्रणालीमा लगानी बढाउनुपर्ने धारणा राखे। “विपद् जोखिम न्यूनीकरणमा सरकारको मात्रै भूमिका पर्याप्त हुँदैन । निजी क्षेत्र, स्थानीय समुदाय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित सरकारी निकायबीच समन्वय र साझेदारीलाई संस्थागत गर्न आवश्यक छ”, उनले बताए।

बैठकमा नेपालको जलवायु जोखिमका विषयलाई अन्तरराष्ट्रिय मञ्चमा थप प्रभावकारी ढङ्गले उठाउनुपर्ने धारणा व्यक्त भएको थियो । यस्तै भोटेकोशी–त्रिशूली करिडोरमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिम बढिरहेको अवस्थामा अग्रिम सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने विषयमा बैठकमा छलफल भएको थियो।

बैठकमा नदीको प्राकृतिक बहावमा प्रतिकूल असर नपर्ने गरी जलविद्युत् तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोतको अत्यधिक दोहन रोक्दै दिगो स्रोत व्यवस्थापनको नीति अवलम्बन गर्नुपर्ने तथा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिइएको थियो।

बैठकले जलवायु परिवर्तन, जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास र निजी क्षेत्रको भूमिकालाई एकीकृत रूपमा अघि बढाउनुपर्ने निष्कर्ष निकाल्दै जलवायु परिवर्तनबाट सिर्जित जोखिमलाई विकासको मूलधारमा समेट्दै सुरक्षित, दिगो र जलवायु अनुकूल पूर्वाधार निर्माण तथा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने विषयलाई आगामी नीति तथा कार्यक्रमको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिएको छ।

निर्वाचनमा मात्रै होइन, नियमित जनताको घरदैलोमा पुग्ने रास्वपाको अभियान

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताएका छन्।

रास्वपा धादिङले मंगलबार धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उनले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै नागरिकसँग नियमित संवाद गर्न अभियान सुरु गरिएको बताए। “सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन”, उनले भने, “त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौँ।”

प्रवक्ता खरेलले अभियानका क्रममा वडा तहसम्मका पार्टी नेता तथा कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावलाई पार्टीको नीति निर्माण र सङ्गठनात्मक सुधारमा उपयोग गरिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।

धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै उनले क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःनिर्माण आवश्यक रहेको बताए। भोटेकोशी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे।

१५औँ महाधिवेशनमा सबैले केन्द्रीय समितिमा उठ्न आवश्यक छैन – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा सबै नेताले केन्द्रीय समितिका लागि प्रतिस्पर्धा गर्न आवश्यक नरहेको बताएका छन्।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले स्थानीय तह वा प्रदेशको नेतृत्व गर्न चाहने नेताहरूले अहिले केन्द्रीय समितिमा उम्मेदवारी नदिन आग्रह गरे।

उनले पार्टीभित्र सबै पुस्ता र समुदायका नेताहरूका लागि आगामी दिनमा उचित राजनीतिक स्पेस सिर्जना गर्ने बताए। साथै, केन्द्रीय समितिमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो।

थापाले पार्टीभित्रको प्रतिस्पर्धालाई स्वस्थ र मैत्रीपूर्ण रूपमा लिनुपर्ने भन्दै चुनावमा हार्दैमा राजनीतिक यात्रा समाप्त नहुने बताए।

बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत

म्याड्रिड। स्पेन सरकारले मङ्गलबार देशमा गहिरिँदो आवास सङ्कट समाधान गर्न नयाँ आपतकालीन उपाय स्वीकृत गरेको छ ।

यो निर्णय तटीय सहर बार्सिलोनामा सोमबार राति भएको हिंसात्मक घटनासहित देशभर हजारौँ मानिसले गरेको प्रदर्शनपछि आएको हो ।

सोमबार अबेर बार्सिलोनामा अशान्ति फैलिनुअघि सप्ताहन्तमा देशका विभिन्न सहरमा प्रदर्शन भएका थिए । राजधानी म्याड्रिडमा ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएपछि आवास सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शनकारीले थप प्रभावकारी कदमको माग गरेका थिए ।

स्पेनको दोस्रो ठूलो सहर बार्सिलोनामा खराब मौसमको चेतावनीका कारण आयोजकले निर्धारित प्रदर्शन सोमबारका लागि सारेका थिए । सुरुमा विशाल र शान्तिपूर्ण रूपमा अघि बढेको जुलुसमा पछि हिंसा भड्किएको थियो । सयौँ कट्टरपन्थी प्रदर्शनकारीले प्रहरीसँग झडप गर्नुका साथै ढुङ्गा प्रहार गरेका र फोहोरका कन्टेनरमा आगजनी गरेका थिए ।

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको सरकारले गत शुक्रबार संसदले अस्वीकार गरेका उपाय मङ्गलबार पुनःस्वीकृत गरेको हो । संसद्को अस्वीकृतिपछि सान्चेजले आगामी २९ नोभेम्बरमा मध्यावधि निर्वाचन घोषणा गरेका थिए । अब यी उपाय अनुमोदनका लागि अन्तरिम विधायिकामा पठाइनेछन्, जुन निर्वाचन सम्पन्न नभएसम्म सक्रिय रहनेछ ।

‘स्थायी आयोग’ भनिने उक्त सानो अन्तरिम विधायिकामा ६९ सदस्य छन्, जबकि नियमित संसद्मा ३५० सदस्य हुन्छन् ।

म्याड्रिडस्थित कम्प्ल्युटेन्स विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक अलेजान्ड्रो क्विरोगाका अनुसार अन्तरिम विधायिकामार्फत आदेश अनुमोदन गराउने कदम संवैधानिक हुनुका साथै सान्चेजका लागि राजनीतिक रूपमा आवश्यक पनि थियो ।

“मलाई लाग्दैन कि सान्चेजसँग अर्को कुनै विकल्प थियो,” क्विरोगाले एसोसिएटेड प्रेस (एपी) लाई भन्नुभयो, “यदि तपाईं आवासको मुद्दालाई मध्यावधि निर्वाचनसम्म जनताको ध्यानको केन्द्रमा राख्न चाहनुहुन्छ भने, चुप लागेर बस्न र यस विषयमा केही नगर्न सक्नुहुन्न । त्यो बुद्धिमानीपूर्ण कदम हुने थिएन ।”

आवासमन्त्री इसाबेल रोड्रिगेजले गत साता पत्रकारलाई बताएअनुसार नयाँ उपायमा जोखिममा रहेका स्पेनिस नागरिकलाई सन् २०३० सम्म घरबाट निष्कासन हुनबाट जोगाउने, कोठा भाडा नियमन गर्ने, मौसमी भाडामा नयाँ कर लगाउने, नाफा कमाउने उद्देश्यले गरिने घरजग्गा खरिदमा रोक लगाउने तथा घरधनीलाई कर छुट दिने प्रावधान छन् ।

युरोपको चौथो ठूलो अर्थतन्त्रमा बलियो आर्थिक वृद्धि भइरहे पनि बढ्दो जीवनयापन खर्च र आवासको अभावका कारण धेरै स्पेनिस नागरिकका लागि घर किन्न वा भाडामा लिन कठिन हुँदै गएको छ ।

प्रदर्शनकारीले भाडामा बस्नेका लागि थप बलियो सुरक्षा, आवाससम्बन्धी ठगी नियन्त्रण तथा वैकल्पिक आवासको व्यवस्था नभएसम्म घरबाट निष्कासन रोक्नुपर्ने माग गर्दै आएका छन् ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ वा हानी गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर मण्डलसहित पाँच जनामाथि मुद्दा दायर गरेको छ ।

आयोगले धनौजी गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ मा डिप बोरिङ जडान, शीतभण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी नगराइ रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मण्डल, धनौजी गाँउपालिकाका तत्कालीन सह–लेखापाल विनोदकुमार मण्डल, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादव, अमृत मिडिया प्रालि तथा अमृत मिडिया प्रालिका अध्यक्ष एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रालिका बजार प्रतिनिधि सञ्जयकुमार यादवविरुद्ध जनही रु तीन लाख ८० हजार विगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तिलौराकोट, जनकपुरधाम र पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन देखिएका समस्या अध्ययन गर्दै राष्ट्रियसभा समिति

काठमाडौँ। राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले सम्भावित विश्व सम्पदा सूचीमा सूचिकृत तिलौराकोट, जनकपुरधाम र पनौतीलाई सूचीकरण गराउन देखिएका समस्या, चुनौती र गर्नुपर्ने कामका बारेमा अध्ययन गर्ने भएको छ ।

तीन सम्भावित विश्व सम्पदास्थललाई सूचीकरण गराउन देखिएका समस्याको अध्ययन गर्नेसहितको वार्षिक कार्ययोजना २०८३÷८४ समितिको आजको बैठकले पारित गरेको हो । कार्ययोजनामा ऐतिहासिक संरचना (गढी) समेत १०० वर्ष पुराना सम्पदाको खोज, अवलोकन र निरीक्षण गर्ने कार्यक्रम समितिले अघि सारेको छ ।

ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने दायित्व तथा भूमिकाका विषयमा पनि अध्ययन गर्न लागिएको कार्ययोजनामा उल्लेख छ । बैठकमा राष्ट्रियसभाका सदस्यहरु चन्द्रबहादुर केसी, मीनासिंह रखाल, रुक्मिणि कोइराला, युवराज शर्मा, जगत पार्की, सोमनाथ पोर्तेल, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियारलगायतले सम्पदा क्षेत्रको अध्ययन अनुसन्धान गरी तिनको महत्व उजागर गर्ने, ऐतिहासिक दस्तावेज एवं अभिलेखको संरक्षण गरिनुपर्ने विषयलाई प्राथमिकताका आधारमा छलफल गराएर निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिनुभएको थियो

कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त

काठमाडौँ। राष्ट्रिय रग्बी टोलीका पूर्वकप्तान कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षकमा नियुक्त भएका छन् ।

नेपाली सेनाले उनलाई सेनाको महिला र पुरुष दुबै टोली हेर्नेगरी प्रशिक्षक नियुक्त गरेको हो । न्युजिल्यान्ड र अस्ट्रेलियाबाट ‘कोचिङ एक्सपोजर’ प्रशिक्षण लिएर फर्कनुभएका थापासँग अन्तरराष्ट्रिय र घरेलु प्रशिक्षणको लामो अनुभव छ ।

खेलाडीको रूपमा थापाले राष्ट्रिय रग्बी सेभेन्स र फिफ्टिन्स दुबैमा कप्तानीको भूमिका निर्वाह गरिसक्नुभएको छ । उनले राष्ट्रिय यु–१८ क्रिकेट टोलीका प्रशिक्षको भूमिका निर्वाह गरिसकेका छन् । उनको प्रशिक्षणमा युवा टोलीले भारत र बङ्गलादेशलाई पराजित गरेको थियो ।

त्यसैगरी उनकै प्रशिक्षणमा राष्ट्रिय सेभेन्स ब्वाइज टिमले सन् २०२३ मा बङ्गलादेशलाई पराजित गरेको थियो । जुन नेपाली रग्बीको पहिलो अन्तरराष्ट्रिय जित पनि थियो । उहाँले यु–१४ एसियन एक्सचेञ्ज फेस्ट जापानमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय तहमा उहाँ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा लुम्बिनीले नवौँ बृहत राष्ट्रिय खेलकुदमा रजत पदक जितेको थियो भने कर्णाली प्रदेशले रारा सेभेन्स, पोखरा सेभेन्स र बागमती सेभेन्स च्याम्पियन बनेको थियो ।

थापा नेपाली रग्बीको चर्चित क्लब गोर्खाली रग्बी क्लबका उपाध्यक्ष र प्रशिक्षक पनि छन् । गोर्खाली क्लबले उहाँको नेतृत्वमा थुप्रै उपाधी जितेका छन् । खेलाडीका रूपमा कृष्णको कार्यकालमा थुप्रै उपलब्धि हात पारेका छन् । जसमा सन् २०२२ मा बङ्गलादेशमा खेलेको रग्बी–१५ खेललाई नेपाली रग्बी विकासको ठूलो फड्को मानिन्छ ।

सात खेलाडी सम्मिलित रग्बी सेभेन्स मात्र खेलिरहेको नेपालले त्यो बेला ढाकामा ‘बङ्गबन्धु बङ्गलादेश नेपाल अन्तरराष्ट्रिय रग्बी शृङ्खला’ खेल्यो, जुन १५ जना खेलाडीले खेल्ने ‘रग्बी–१५’ मा नेपालको पहिलो सहभागिता थियो ।

उक्त प्रतियोगिता खेलेसँगै नेपालले विश्व रग्बी महासङ्घबाट पूर्ण सदस्यता प्राप्त गरेको थियो भने नेपालले अन्तरराष्ट्रिय रग्बीमा डिभिजन–३ खेल्ने राष्ट्रको रूपमा प्रवेश पाएको थियो । त्यस्तै खेलाडीका रूपमा उहाँले सन् २०१६ मा कतारमा एसियन रग्बी च्याम्पियनसिप र सिङ्गापुरमा एसियन रग्बी च्याम्पियनसिप २०१७ तथा ताइवानमा युनिभर्सियाड २०१७ मा भाग लिएको थियो ।

बाढीले रिसोर्ट बगाए पनि हिम्मत हारेनन् हुम थापा, भग्नावशेषबाटै नयाँ सुरुवातको तयारी

पोखरा ।बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’को भग्नावशेषछेउ बसेर रिसोर्टका सञ्चालक हुम थापाले गत बिहीबार सामाजिक सञ्जाल फेसबुकमा तस्बिरसहित एउटा पोस्ट साझा गरे।

‘परिस्थिति जस्तो भए पनि सुखदुःखमा साथ दिने प्यारो जङ्गे’—थापाले लेखेका थिए।

उक्त तस्बिर खिच्दा थापाको साथमा थियो उनको प्यारो कुकुर ‘जङ्गे’, जो लामो समयदेखि रिसोर्टको रेखदेख र सुरक्षामा सहयोगी बन्दै आएको थियो।

दरमखोलामा आएको बाढीले बागलुङको गलकोट नगरपालिका–७ मल्मका युवा उद्यमी थापाको रिसोर्टसहित आसपासमा पारेको क्षतिको दृश्य त्यही एउटा तस्बिरबाटै प्रस्ट हुन्थ्यो। तस्बिर देखेपछि आफन्त र शुभेच्छुकले उनलाई सहानुभूति मात्र दिएनन्, संकटका बेला नआत्तिन ढाडस पनि दिए। कतिपयले साथ र सहयोगको बचनसमेत दिए।

थापा अहिले आफूलाई सम्हाल्दै छन्। झण्डै दुई करोड रुपैयाँ लगानीमा निर्माण गरिएको रिसोर्टलाई पुनः सञ्चालनमा ल्याउने अठोटका साथ उनी अघि बढिरहेका छन्।

गलकोट नगरपालिका–३ चिसापानीमा रहेको उक्त रिसोर्ट पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै थियो। थापाले छ वर्षअघि जिल्लामै पहिलोपटक पौडी पोखरीसहितको रिसोर्ट सञ्चालनमा ल्याएका थिए। रेम्बो ट्राउट माछापालनका कारण पनि चिसापानीले छुट्टै पहिचान बनाएको थियो।

थापाले पर्यटक आकर्षित गर्न पिङ, बगैँचालगायतका संरचना निर्माण गरेका थिए। रेम्बो ट्राउट र स्थानीय दरमखोलाको असला माछाका परिकारका लागि रिसोर्ट परिचित थियो। प्राकृतिक वातावरणमा रमाउन चाहने पर्यटकका लागि परम्परागत शैलीका घरसमेत निर्माण गरिएका थिए।

थापाको योजना यत्तिमै सीमित थिएन। उनी निकट भविष्यमा ‘स्काइ साइक्लिङ’ र ‘जिपलाइन’ सञ्चालन गर्ने तयारीमा थिए। कोभिड–१९ महामारीपछि रिसोर्ट विस्तारै व्यावसायिक रूपमा सफल हुँदै गएको थियो। पर्यटक तथा पाहुनाको आकर्षण पनि बढ्दै गएको थियो।

‘रिसोर्टमा बर्सेनि नयाँनयाँ संरचना थप्दै ल्याएको थिएँ, अहिलेको बाढीले सबै सपना क्षणभरमै चकनाचूर पार्‍यो,’ थापाले भने, ‘प्रकृतिसँग कसैको केही नचल्ने रहेछ। देशविदेशमा रहेका साथीभाइ र आफन्तको साथ, सहयोग र हौसलाले फेरि उठ्ने प्रयासमा छु। नयाँ सोच र नयाँपनका साथ रिसोर्ट पुनः सञ्चालनमा ल्याउनेछु।’

 

बढ्दो प्रतिस्पर्धाबीच सेभेन–इलेभेन भारतबाट बाहिरियो

काठमाडाैँ। भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर सेप्टेम्बर महिनामा बन्द भएका छन्। कम्पनीको जापानी मातृ संस्था ‘सेभेन एन्ड आई होल्डिङ्स’ले मङ्गलबार यसको पुष्टि गरेको हो।

स्थानीय सञ्चारमाध्यमका अनुसार, भारतीय खुद्रा बजारमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीलाई व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको थियो। सेभेन–इलेभेन विश्वभर फैलिएको कन्भिनियन्स स्टोरको शृङ्खला हो। यस्ता स्टोरहरू प्रायः २४ घण्टा सञ्चालन हुन्छन् र छिटो खरिद गर्न सकिने खाजा, पेय पदार्थ तथा दैनिक उपभोगका अत्यावश्यक सामग्रीका लागि परिचित छन्।

विश्वकै सबैभन्दा ठुलो कन्भिनियन्स स्टोर शृङ्खलाको स्वामित्व रहेको ‘सेभेन एन्ड आई होल्डिङ्स’ले एक विज्ञप्तिमा भनेको छ, “हामी पुष्टि गर्छौँ कि मुम्बई र पुणेमा सेभेन–इलेभेन स्टोर सञ्चालन गर्ने हाम्रो मास्टर फ्रान्चाइजी रिलायन्सले ३० सेप्टेम्बरमा आफ्ना सबै ३१ स्टोर बन्द गरेको छ।”

रिलायन्स रिटेलसँग इजाजतपत्र सम्झौता गरेपछि सेभेन–इलेभेनले अक्टोबर २०२१मा मुम्बईमा आफ्नो पहिलो भारतीय स्टोर खोलेको थियो । ‘सेभेन एन्ड आई होल्डिङ्स’का प्रवक्ताका अनुसार, पछि यसको विस्तार भएर करिब ६० स्थानसम्म पुगेको थियो।

कम्पनीले स्टोर बन्द गर्नुको कारणबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ। यद्यपि, जापानका राष्ट्रिय दैनिक ‘निक्केई’ र ‘योमिउरी’ले स्थानीय भारतीय खुद्रा विक्रेतासँगको कडा प्रतिस्पर्धाका कारण कम्पनीलाई चुनौती परेको जनाएका छन्।

‘सेभेन एन्ड आई होल्डिङ्स’ले भने भारतबाट दीर्घकालीन रूपमा बाहिरिने निर्णय नगरेको जनाएको छ।

“भारतमा ग्राहकलाई सेवा दिने हाम्रो चाहना कायमै छ । दीर्घकालीन रूपमा बजारमा आफ्नो उपस्थिति विस्तार गर्न हामी विभिन्न विकल्प खोज्नेछौँ,” कम्पनीले भनेको छ।

यसैबिच सेभेन–इलेभेनको प्रतिस्पर्धी जापानी कम्पनी ‘लसन’ले सन् २०२७ मा भारतमा आफ्नो पहिलो स्टोर खोल्ने योजना बनाएको छ । कम्पनीले सन् २०३० सम्ममा भारतमा करिब १०० स्टोर सञ्चालन गर्ने लक्ष्य राखेको बताइएको छ।

काठमाडौँमा ‘स्वीप अप्रेसन’ मा १०१ जना पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार गएको २४ घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरार ती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौँ उपत्यकामा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिसरले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत तथा दुव्र्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाका रूपमा काम गर्ने र गुण्डागर्दी जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

प्रहरीले अपराध नियन्त्रण तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि न्यूनीकरणका लागि विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ।

विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

विराटनगर । विराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ । परियोजना सम्पत्र भएपछि विराटनगर वासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका हुन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु दुई अर्ब ५४ करोड अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माणकार्य सम्पत्र भइसकेको नेपाल खानेपानी संस्थान विराटनगर ले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।

परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो। अधिकांश निर्माणकार्य निर्धारित समयभन्दा अगावै सम्पत्र भएको हो। अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पत्र गरी दसैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माणकार्य पूरा भइसकेको छ । उहाँले भत्रुभयो, “तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन्। ती काम पनि छिट्टै सक्नेगरी काम भइरहेको छ। दसैँअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्‍याउने तयारी छ।”

परियोजना सञ्चालनमा आएपछि विराटनगर को खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकामा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।

परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ‘ओभरहेड’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ ।

विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर –५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्याङ्की निर्माण गरिएको छ ।

पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २०० ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसङ्ख्याको माग धात्र सहज हुने संस्थानले जनाएको छ ।

विराटनगर वासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता रहेको प्रमुख नागेश कोइरालाले बताए । उनले परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेसँगै आफ्नो प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गरे । लामो समयदेखि खानेपानीको अपर्याप्तता एवं अनियमितता झेल्दै आएका विराटनगर वासीका लागि परियोजना सञ्चालनसँगै ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।

दसैंको टीकाको साइत सार्वजनिक, कात्तिक ४ गते बिहान १०ः२६ बजे टीका लगाउन उत्तम

काठमाडौं । यस वर्षको बडादसैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार सोही दिन बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।

यस वर्ष असोज २५ गते घटस्थापना, कात्तिक १ गते महाष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजया दशमी मनाइनेछ।

मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक, द्रोपदीको भूमिकामा इभा गिरीको आकर्षक लुक्स

काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । फस्र्टलुक पोस्टरमार्फत पाँच पाण्डव चिनाएको निर्माणपक्षले दोस्रो पोस्टरमार्फत द्रोपदी रिभिल गरेको छ ।

‘पाँच पाण्डव’मा द्रोपदीको भूमिकामा इभा गिरी देखिएकी छन् । रातो भेषमा हल्का गहनासहित सुन्दर देखिएकी द्रोपदीको लुक्सले दर्शकको ध्यान खिच्छ । महाभारतकी द्रोपदीको झल्को दिने रातो सोल्जर कट ब्लाउज र रातै सारीमा देखिएकी इभाको लुक्सले पोस्टरलाई थप सुन्दर बनाएको छ ।

पृष्ठभूमिमा चलचित्रका पाँच पाण्डव छन् । पहिलो पोस्टरको रथमा बसेका पाँच पाण्डवलाई दोस्रो पोस्टरको पृष्ठभूमिमा राखेर चलचित्रका मुख्य पात्रलाई रि–कल गर्ने प्रयास गरिएको छ ।

‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर हरिवंश बनेका युधिस्टिर, भीम बनेका जितु नेपाल, अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देखाइएको थियो ।

निर्देशक वसन्त निरौलाले इभा गिरीको द्रोपदी रुप दर्शकले मन पराउने विश्वास व्यक्त गरे । “हामीले यो सिनेमाका इभालाई द्रौपदीको क्यारेक्टरमा लिएका छौँ,” उनले भने, “जसरी उहाँ युवा पुस्तामा लोकप्रिय हुनुहुन्छ, हाम्रो सिनेमाको क्यारेक्टरमा पनि त्यस्तै रुचाइनु हुन्छ भन्ने हाम्रो विश्वास छ ।”

तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुने प्रतिक्षिच चलचित्र ‘पाँच पाण्डव’को अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ । यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन् ।

हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन् । त्यसैगरी, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।

१५औँ महाधिवेशनमा कांग्रेस सभापति बन्न गगन थापाले दर्ता गराए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुका ७ बजेसम्म पुर्‍याएको थियो।

रावल आयोगको प्रतिवेदनपछि ११२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा दाखिला गरिएको छ ।

सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा उक्त जमिन सरकारको नाममा आएको हो ।

रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णयअनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले सरकारको नाममा जग्गा दाखिला गर्ने कार्य सम्पन्न गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका कित्ताबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा ल्याउने कार्य सुरु गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो ।

प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिमा गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव, सम्बन्धित भूमिप्रशासन तथा नापी कार्यालयका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत तथा नापी विभागका नापी अधिकृत सदस्यसचिव रहेका छन् ।

रावल आयोगले २०५२ सालमा सरकारी तथा सार्वजनिक जग्गाको अवस्था अध्ययन गरी अतिक्रमित तथा व्यक्तिका नाममा दर्ता भएका सरकारी एवं सार्वजनिक जग्गा संरक्षण गर्न सुझावसहित प्रतिवेदन दिएको थियो ।

सोही प्रतिवेदनलाई मन्त्रालयले लामो समयपछि कार्यान्वयनमा ल्याउँदै सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा ल्याउने कार्य सुरु गरेको हो ।

सरकारले रावल आयोगले औँल्याएको सम्पूर्ण जग्गा छानबिन गरी सरकारको नाममा ल्याउने कार्य सुरु गरिसकेको छ ।

रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई तीन दशमलव सात प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (बिल्डिङ ब्याक डिफरेन्ट्ली फर द फ्युचर) मा बाढीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशतमा उक्लिने अपेक्षा गरिएको छ ।

बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि तथा वस्तुको आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकको आकलन छ । त्यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा परेको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ ।

कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने उल्लेखनीय असर पर्ने सम्भावना रहेको विश्व बैंकलेल प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पु¥याएको बताउँदै यसलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए ।

उनले सडक तथा सञ्चार सञ्जाल, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाका पूर्वाधारमा जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राखेर उत्थानशीलता तथा वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले नेपाललाई अझ बढी उत्थानशील र दिगो विकासको मार्गमा अघि बढाउन आवश्यक प्रणालीमा लगानी तथा उपयुक्त नीति कार्यान्वयन गर्न विश्व बैंक नेपाल सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

नेपाल उद्धार तथा राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दै गर्दा क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने कार्यमा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन गर्न विश्व बैंकले सुझाव दिएको छ ।

प्रतिवेदनले पूर्वाधारको स्थान र डिजाइनबारे सावधानीपूर्वक विचार गर्न तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा थप वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । विपद् पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने तथा सङ्कटासन्न घरपरिवारलाई विपद्पछिको सहायता तीव्र रूपमा उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ ।

यसैबिच विश्व बैंकको पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदन ‘आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ ले चालु वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातप्रति दक्षिण एसियाली अर्थतन्त्र उत्थानशील रहने अपेक्षा गरिएको छ । सन् २०२७ मा भने यस क्षेत्रको आर्थिक वृद्धिदर ६ दशमलव ७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

प्रतिवेदनले कृत्रिम बौद्धिकताको रणनीतिक प्रयोगमार्फत आर्थिक वृद्धिका नयाँ स्रोत निर्माण गर्न सकिने सम्भावनाको समेत विश्लेषण गरेको छ । दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा यसको प्रयोग अझै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि एआईको प्रयोग तीव्र रूपमा बढिरहेको र व्यवसायहरूले बजारका नयाँ अवसर पहिचान गर्न यसको उपयोग गरिरहेको विश्व बैंकले जनाएको छ । एआईको प्रयोगमा अत्यधिक निर्भर दक्षिण एसियाली आपूर्तिकर्ताका लागि विश्वव्यापी मूल्य शृङ्खलासँगको सम्बन्धमार्फत नयाँ अवसर विस्तार भइरहेको पछिल्ला तथ्याङ्कको विश्लेषणले देखाएको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य, शिक्षा र कृषिजस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाहका लागि एआईको प्रयोगलाई अर्को महत्वपूर्ण सम्भावनाका रूपमा प्रतिवेदनले औँल्याएको छ ।

अस्ट्रेलियामा पेट्रोल कारको बिक्री ३६.२ प्रतिशतले घट्यो, ईभीको माग तीव्र

अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज (एफसीएआई) का अनुसार सन् २०२६ को सेप्टेम्बरमा अस्ट्रेलियामा पेट्रोल सवारीसाधनको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३६.२ प्रतिशतले घटेको हो ।

एफसीएआईका अनुसार डिजेलबाट चल्ने सवारीसाधनको बिक्री पनि सेप्टेम्बरमा १८.४ प्रतिशतले घटेको छ । यसको विपरीत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधन (बीईभी) र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री भने दोब्बरभन्दा बढी भएको छ । यसले अस्ट्रेलियाको नयाँ सवारीसाधन बजारमा विद्युतीय तथा विद्युतीकृत प्रविधिको माग तीव्र रूपमा बढिरहेको देखाएको छ ।

सेप्टेम्बरमा अस्ट्रेलियामा बिक्री भएका सबै नयाँ सवारीसाधनमध्ये बीईभीको हिस्सा २४.२ प्रतिशत पुगेको एफसीएआईले जनाएको छ । यो अहिलेसम्मकै दोस्रो उच्च बजार हिस्सा हो । यसअघि अगस्टमा बीईभीको बजार हिस्सा २४.९ प्रतिशत पुगेको थियो ।

बीईभीले नयाँ सवारीसाधन बिक्रीमा लगातार पाँचौँ महिनासम्म कम्तीमा २० प्रतिशत बजार हिस्सा कायम गरेको छ । मे महिनामा पहिलोपटक बीईभीको हिस्सा २० प्रतिशतभन्दा माथि पुगेपछि त्यसयता विद्युतीय सवारीसाधनको बजार उपस्थिति निरन्तर बलियो बन्दै गएको हो ।

विश्लेषकहरूका अनुसार उपभोक्ताको बदलिँदो प्राथमिकता, विद्युतीय सवारीसाधनका नयाँ मोडलको उपलब्धता र पेट्रोल तथा डिजेल सवारीसाधनप्रतिको घट्दो आकर्षणले बजारको संरचनामा परिवर्तन ल्याइरहेको छ । पछिल्लो तथ्यांकले अस्ट्रेलियाको सवारी बजार क्रमशः परम्परागत इन्धनबाट विद्युतीय प्रविधितर्फ अघि बढिरहेको संकेत गरेको छ ।

यसैबीच, अस्ट्रेलियामा बिक्री भएका नयाँ सवारीसाधनको प्रमुख स्रोतका रूपमा चीनले आफ्नो अग्रता कायम गरेको छ । एफसीएआईका अनुसार सेप्टेम्बरमा अस्ट्रेलियाको कुल नयाँ सवारीसाधन बजारमा चीनबाट आपूर्ति भएका सवारीसाधनको हिस्सा ३५.५ प्रतिशत थियो। जापानको हिस्सा भने २२.५ प्रतिशत रहेको छ ।

चीनले यस वर्षको फेब्रुअरीमा पहिलोपटक अस्ट्रेलियाको नयाँ सवारीसाधनको सबैभन्दा ठूलो आपूर्तिकर्ताको स्थान हासिल गरेको थियो। त्यसअघि जापानले झन्डै ३० वर्षसम्म हरेक महिना अस्ट्रेलियाको नयाँ सवारीसाधन बजारमा सबैभन्दा ठूलो आपूर्तिकर्ताको स्थान कायम गरेको थियो ।

चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीको बिक्रीमा पनि तीव्र वृद्धि देखिएको छ । सेप्टेम्बरको अन्त्यसम्म सन् २०२६ मा बीवाईडीले अस्ट्रेलियामा ७६ हजार ६१४ वटा नयाँ सवारीसाधन बिक्री गरिसकेको छ। यो संख्या सन् २०२५ को सोही अवधिमा बिक्री भएको ३७ हजार ९२३ वटा सवारीसाधनको तुलनामा १०२ प्रतिशत बढी हो ।

पेट्रोल तथा डिजेल सवारीसाधनको बिक्री घट्नु र बीईभी तथा प्लग–इन हाइब्रिडको बिक्री बढ्नुले अस्ट्रेलियाको अटोमोबाइल बजारमा तीव्र परिवर्तन भइरहेको देखाएको छ । विशेषगरी चिनियाँ ब्रान्डको बढ्दो उपस्थिति र विद्युतीय सवारीसाधनप्रतिको उपभोक्ताको बढ्दो रुचिले आगामी दिनमा बजारको प्रतिस्पर्धा थप तीव्र हुने संकेत गरेको छ ।

इजरायली सेनामाथि आक्रमण भए ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी

काठमाडाैँ । हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ। रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन्।

रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा आतङ्ककारी गतिविधि गर्ने योजना बनाएको भन्ने गुप्त सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको हो। सेनालाई क्षति पुगेमा हमास र गाजाको जनसङ्ख्याले अनुपातभन्दा बाहिर ठुलो मूल्य चुकाउनुपर्ने उनले बताए।

एएफपीका अनुसार आधिकारिक इजरायली तथ्याङ्कमा आधारित विवरणमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ।

आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मान्दै आएको छ । गत अक्टोबरमा युद्धविराम भएयता पनि इजरायली सेनाको कारबाहीबाट एक हजार ४४० भन्दा बढी मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैबिच सोमबार आयोजित सरकारी समारोहमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासको शासन कायम नरहने बताउनुभएको छ । उहाँले अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउने कार्यमा संलग्न जोसुकैलाई लक्षित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

किसानलाई छिट्टै परिचयपत्र वितरण गरिने

काठमाडौँ । सरकारले किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । कृषि सञ्चार तथा मानव संशाधन विकास केन्द्रमार्फत किसान सूचीकरणमा समावेश भएका किसानलाई छिट्टै परिचयपत्र काठमाडौँबाट वितरण गर्ने तयारी गरिएको हो ।

किसान सूचीकरण कार्य पूरा भएका पालिकाबाट किसानलाई परिचयपत्र वितरण गर्दै उनीहरूलाई आवश्यक सेवा सहयोग उपलब्ध गराउने योजना रहेको केन्द्रका अनधिकृत डा सञ्जीव पण्डितले जानकारी दिए । परिचयपत्र प्राप्त गर्ने किसानलाई कृषि बिमा, अनुदान, राहत, उत्पादन प्रोत्साहन, कृषि यान्त्रीकरण, प्रविधि हस्तान्तरण, सहुलियतपूर्ण कृषि कर्जा तथा अन्य लक्षित कृषि सेवासँग प्रदान गरिने जनाइएको छ ।

किसानले कति जमिनमा के कस्तो बाली लगाउँछन्, कति पशुपन्छी पाल्छन्, सिँचाइको अवस्था कस्तो छ, उत्पादन तथा कृषि व्यवसायको अवस्थालाई तथ्याङ्कमा आधारित बनाउन वितरण गरिने परिचयपत्र महत्त्वपूर्ण हुने उनले बताए । सरकारले ‘किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ तथा ‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ मार्फत यसको संस्थागत तथा प्राविधिक आधार तयार गरी कार्यान्वयनमा ल्याएको थियो ।

केन्द्रले वास्तविक किसानको पहिचानका लागि सबै स्थानीय तहसँग समन्वय गरेको छ । किसानको खेतीयोग्य भूमि, सिँचाइ, बाली तथा पशुपन्छी उत्पादन, कृषि व्यवसायलगायतको तथ्याङ्क सङ्कलनका आधारमा उनीहरूलाई सूचीकृत कार्य पनि सञ्चालन भइरहेको छ ।

कृषि जनगणना २०७८ अनुसार देशभर ४१ लाख ३० हजार किसान रहेका छन् । अहिलेसम्म २६ लाख बढी किसान सूचीकरणमा आबद्ध भएका छन् । बाँकी किसानलाई पनि सूचीकरण गर्ने काम जारी रहेको केन्द्रले जनाएको छ ।

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन पुललाई आगामी मंसिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ।

कार्यालय प्रमुख कृष्णकुमार महतोका अनुसार पुलको १० नम्बर पिलर उठाउने काम सम्पन्न भइसकेको छ भने सुपर ढलान भइरहेको छ । पुलको फाउण्डेसनसहित तीनवटा पिलरको सबलीकरण तथा ढलानसमेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला आएको बाढीले पुलको पिलर भाँचिएपछि पुल जीर्ण अवस्थामा पुगेको थियो । पुल पुनःनिर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले लामो समयदेखि खोला तर्न डुङ्गाको सहारा लिनुपरेको थियो ।

पुल निर्माणमा देखिएका मुख्य समस्या पहिचान गरी आवश्यक सहजीकरण गरेपछि कामले तीव्रता पाएको प्रमुख महतोले बताए। पुलका दुवैतर्फ पुलसम्म पुग्ने सडकमा माटो भर्ने काम सम्पन्न भएपछि मंसिरदेखि पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ।

कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । सोही निर्माण कम्पनीले अहिले पुलको पुनःनिर्माणको काम गरिरहेको छ । यसैबिच हुलाकी सडकअन्तर्गत सिरहादेखि सलार्हीसम्मको ४०६ दशमलव ४३ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भएको छ । उक्त सडकखण्डमा पर्ने २४ वटा पुलको निर्माणसमेत सम्पन्न भइसकेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका सूचना अधिकारी रञ्जितकुमार रायका अनुसार सिरहामा कूल ५७ दशमलव ५२ किलोमिटर सडकखण्डमध्ये २९ दशमलव ९८ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ भने २७ दशमलव ४६ किलोमिटर सडक निर्माणाधीन छ।

त्यस्तै धनुषामा कूल ८९ दशमलव ५२ किलोमिटरमध्ये ७४ दशमलव ५८ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४ दशमलव ९४ किलोमिटर निर्माणाधीन रहेको छ। महोत्तरीमा कुल ९३ दशमलव ५ किलोमिटरमध्ये ९१ दशमलव ५६ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने एक दशमलव ९४ किलोमिटर बाँकी छ ।

सर्लाहीमा कूल १६६ दशमलव २ किलोमिटर सडकखण्डमध्ये १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १४ दशमलव ५१ किलोमिटर सडक निर्माणाधीन रहेको सूचना अधिकारी रायले जानकारी दिए।

आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि राजमार्गभित्र परेका घरटहरा हटाउन ढिलाइ, विभिन्न स्थानमा जग्गासम्बन्धी विवादलगायत कारणले केही काम प्रभावित भएको कार्यालय प्रमुख महतोले बताए। बाँकी काम समयमै सम्पन्न गर्न निरन्तर प्रयास भइरहेको उनको भनाइ छ।

नेपालकै पुराना राजमार्गमध्ये एक मानिने पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेस प्रदेशका आठवटै जिल्लामा सडक तथा पुल निर्माण तीव्र रूपमा अघि बढेपछि विगतमा दुर्गम मानिएका ग्रामीण क्षेत्र अहिले क्रमशः सहज सडक सञ्जालसँग जोडिँदै गएका छन्।

हुलाकी सडक निर्माणले स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै मधेस प्रदेशको आर्थिक गतिविधि र विकासले गति लिने तथा हजारौँ युवाका लागि रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन। बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो ।

४१ वर्षीय प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङ चार थान, रेडमी दुई थान, एप्पल आइप्याड एक थान र भिभो एक थान गरी ५८ थान मोबाइल तथा उपकरण बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताउनुभयो ।

त्यसैगरी, भरतपुर महानगरपालिका–१ रामनगर क्षेत्रमा बिलबिजकबिना मोबाइल फोन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले २८ वर्षीय उमनन्द भुसाललाई नियन्त्रणमा लिएको छ । उनको साथबाट बिलबिजकबिना बोकेको सामसुङ कम्पनीका पाँच थान मोबाइल बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनाबाट बरामद मोबाइलसहित पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज, पर्सा पठाइएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई यही असोज १८ गते पक्राउ गरिएको हो ।

कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

काठमाडौँ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ ।कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो ।

नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार ११४ पुगेको छ ।मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आज विहान ९ः३० बजे मतदाता नामावली प्रकाशन उपर दावी विरोध, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ, ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्यसचिव कटुवालले बताउनुभयो ।

यस्तै, उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२ः३० बजेदेखि ४ः०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । यस्तै, कांग्रेसको सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा २०० बढी स्वयंसेवक परिचालन

नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेसको हिजोदेखि सुरु भएको १५ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सहजताका लागि २०० स्वयंसेवक परिचालन गरिएको राससलाई जानकारी दिनुभयो ।

संयोजक लामाले बन्दसत्र हुने ठाउँ र निर्वाचन हुने ठाउँमा स्वयम्सेवक परिचालन गरिएको बताउनुभयो । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि देश तथा विदेशबाट सात हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्नुभएको छ ।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६९७ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६९७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४९, सिसिटिभिमार्फत ३६, रातोबत्तीमा १० जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ९९, हर्न निषेधमा ०८, लेन क्रसमा २३, अवस्था ठिक नभएको १५, एकतर्फीमा १४ र अन्यमा ४४३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ-गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ ।

निजले गरेका पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ ।

साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ ।