`

धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

Nepal One HD २४ असार २०८३ १०:३२
समाज

इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाएका छन् । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गरेका उनले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गरे । अलैँची बेचेर उनले वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । यस वर्ष मात्र उनले अलैँची बेचेर रु १७ लाख हात पारे । प्रतिमन (४० किलो) रु एक लाखका दरले अलैँची बेचेको उनले बताए ।

“यो वर्ष अलैँचीको उत्पादन राम्रै थियो । भाउ पनि राम्रो पाइयो”, उनले भने, “घरैबाट प्रतिमन रु एक लाखका दरले सुक्खा अलैँची बिक्री गरेर रु १७ लाख आम्दानी गर्न सफल भएँ ।” उनले जिर्मले जातको अलैँचीखेती गर्दै आएका छन् । पछिल्लो वर्ष व्यावसायिक अलैँचीखेतीमा लागे उनले अलैँचीको बजार राम्रो भएकाले विदेश जान छाडेर व्यावसायिक अलैँचीखेतीमा जुटेको बताए ।

माङसेबुङ –२ का अर्का किसान गणेश लिम्बूले पनि यस वर्ष अलैँची बिक्रीबाट रु १६ लाख बढी आम्दानी गरेका छन्। विगत पाँच वर्षदेखि अलैँचीखेती गर्दै आएका लिम्बूले २५ रोपनी क्षेत्रफलको खेत मासेर अलैँचीखेती गर्दै आएका छन्। “मैले विगत पाँच वर्षदेखि धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै आएको छु । यसपटक त भाउ पनि राम्रै आएकाले राम्रो आम्दानी गर्न सफल भएँ”, उनले भने, “यो वर्ष थप सात रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गर्ने तयारी गरिरहेको छु ।”

अलैँची बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्च साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको उनले बताए । “मेरो परिवारको घरखर्च र छोराछोरीको पढाइखर्च यही अलैँचीखेतीले धानेको छ”, उनले भने । उहाँले रामशाही र गोलशाही जातको अलैँतीखेती गर्दै आएका छन्। पछिल्लो समय अलैँचीमा रोग नलाग्ने र राम्रो मूल्यमा बिक्री हुन थालेपछि किसानहरू अलैँचीखेतीमा आकर्षित भएका हुन् । अलैँचीखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेको छ । किसानहरूले व्यावसायिक रूपमा अलैँचीखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।

अलैँचीको मूल्य बढेसँगै किसानले धान र अन्य खेती छाडेर पनि अलैँतीखेतीलाई बढाएका छन् । अरु खेतीको दाँजोमा अलैँचीखेतीले नाफा बढी हुने भएकाले पनि यसो खेतीमा किसानको उत्साह बढेको हो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र खेती गरिने अलैँचीलाई पछिल्लो सयम किसानले अन्य अन्न बाली छाडेर खेत र करेसाबारीमा रोप्न थालेका छन् ।

परम्परागत शैलीको अलैँचीखेतीबाट आधुनिकीकरणसमेत हुन थालेपछि उत्पादन र आम्दानीमा समेत वृद्धि हुन थालेको माङसेबुङ–३ चिबुवाका किसान इन्द्रबहादुर लिम्बूको अनुभव छ । “गत वर्षदेखि उकालो लागेको अलैँचीको भाउले रु एक लाख नाघ्यो, मूल्य बढेपछि व्यापारीहरूको पनि खोसामार हुँदोरहेछ”, उनले भने “बिक्रीका लागि समेत समस्या परेन ।” उनले बेर्सेनि १५ मन अलैँची बिक्री गरेर लाखौँ आम्दानी गरिरहेको सुनाए ।

अलैँचीखेतीबाट मनग्ये आम्दानी लिन सफल भएपछि आफू अलैँचीखेती विस्तार गर्ने योजना रहेको सुनाए । माङसेबुङ गाउँपालिका वडा नं १, २, ३ र ६ का विभिन्न क्षेत्रका किसानले व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा अलैँचीखेती किसानहरू बढ्दै गएका छन् । खेर गइरहेको, अन्नबाली राम्ररी नफस्टाउने, पानी बगिरहने, बढी चिस्यान, सेपिलो, ओसिलो, छायाँ पर्ने, भिरालो, कम गहिरो माटो भएको, कमसल जग्गामा समेत अलैँचीखेती गर्न सकिने भएकाले किसानहरू अलैँचीखेतीतर्फ आकर्षित भएका हुन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर अलैँची रोपेका छन् । सामान्य अलैँचीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक रूपमा अलैँचीखेती सुरु गर्न थालेका छन् । उत्पादन र मूल्य राम्रो हुँदै गएकाले किसानहरू अलैँचीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् ।

कम मिहिनेत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक अलैँचीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक अलैँचीखेती सुरु गरेका छन् । बाँझो रहेका पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक रूपमा अलैँचीखेती सुरु गरेका हुन् । उनीहरूले खेतीयोग्य जमिन मासेर व्यावसायिक अलैँचीखेती गर्दै आएका हुन् । यहाँका किसानले सामशाही, गोलशाही, जिर्तले, भर्लाङ्गेलगायत जातका अलैँचीखेती गर्दै आएका छन् ।

बहुवर्षीय सदावहार बाली

अलैँची एक सदावहार बाली हो । यसले एकपटक रोपेपछि २० देखि २५ वर्षसम्म उत्पादन दिइरहन्छ । यसको बोट एकदेखि दुई दशमलव पाँच मिटरसम्म अग्लो हुन्छ । यसको मध्यम खालको झाङ हुन्छ । अलैँचीका वानस्पतिक भागलाई जरा, लाँक्रा, पात, थुङ्गा, फल र दाना गरी छ भागमा विभाजन गरिएको हुन्छ ।

भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँचीखेती समुद्र सतहदेखि ६०० मिटरदेखि २१०० मिटर उचाइसम्मा गर्न सकिन्छ । यसका लागि उपयुक्त तापक्रम १० देखि ३० डिग्री सेल्सियस हुने पहाडी क्षेत्र मानिन्छ । अलैँचीले बढी आद्रता भएमा राम्रो मानिन्छ । वर्षा जति भयो त्यति राम्रो मानिन्छ । सिँचाइभन्दा वर्षाको पानी राम्रो मानिन्छ । तर फेदमा पानी जम्न दिनु भने हुँदैन । वार्षिक सरदर वर्षा २००० देखि २५०० मिलीमिटर हुने स्थानमा यसको व्यावसायिक खेती गरिन्छ । यसले बढी हुरीबतास र तुषारो एवं हिउँ सहन सक्दैन ।

अलैँची विशेषगरी मसला, जडीबुटी तथा औषधिका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँचीमा थुप्रै औषधीय गुणहरू पाइने विज्ञहरूको भनाइ छ । अलैँचीलाई मुखमा राखेर चुस्नाले स्वरलाई ठिक बनाउने र टन्सिलजस्ता रोगलाई ठिक पार्ने, अलैँचीलाई पानीमा राखेर उमाली चियाजस्तो बनाएर खानाले स्वस्थ हुने र मस्तिष्कलाई शान्त बनाउने, कलेजो र हृदयमा बल प्रदान गर्ने, अलैँचीको बोक्राको धुलो बनाइ दूध वा पानीसँग नियमित सेवन गर्नाले पाचनप्रणाली र रक्तक्रियालाई व्यवस्थित गरी मिर्गौलाका सम्पूर्ण रोगहरूलाई समाधान गर्ने विज्ञहरूको भनाइ छ ।

बजारको अभाव छैन

अलैँची किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजै रूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले अलैँची किन्ने गरेका छन् । घरैबाट व्यपारीले किन्ने गरेकाले किसानलाई बजारसम्म पुर्याउने झन्झटसमेत छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले अलैँचीको मूल्यसमेत राम्रै पाउने गरेको माङसेबुङ–२ किसान कैलाशकुमार राईले बताए ।

“हामीले उत्पादन गरेको अलैँची बिक्रीका लागि कुनै समस्या छैन, व्यापारीहरू घरघरमा नै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “यातायातको सुविधा विस्तार भएपछि किन्नका लागि व्यापारीलाई मात्र होइन, बेच्नका लागि हामी किसानलाई समेत सहज भएको छ ।”

गाउँपालिकाद्वारा अनुदान

व्यावसायिक अलैँचीखेती गर्ने किसानलाई प्रवर्द्धन गर्न माङसेबुङ गाउँपालिकाले अनुदानमा अलैँचीको बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेपछि व्यावसायिक अलैँचीखेती विस्तारमा किसान आकर्षित भएका छन् । अलैँची उत्पादनमा वृद्धि गराउने उद्देश्यले माङसेबुङले अलैँचीखेती किसानलाई ५० प्रतिशत लागत साझेदारीमा अलैँचीको बिरुवा वितरण गर्दै आएको माङसेबुङ गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रतिक सुनुवारले बताए ।

माङसेबुङले यस वर्ष पनि किसालाई १६ हजारवटा अलैँचीको बिरुवा वितरण गरेको छ । रामशाही र गोलशाही जातका १४ हजार भर्लाङ्गे जातका दुई हजार बिरुवा वितरण गरिएको कृषि विकास शाखा प्रमुख सुनुवारले जानकारी दिए । “माङसेबुङ गाउँपालिकाको तर्फबाट यस वर्ष ५० प्रतिशत लागत साझेदारीमा किसानलाई १६ हजार अलैँचीका बिरुवा वितरण गरेका छौँ”, सुनुवारले भने, “मागका आधारमा एकजना किसानले एक हजारदेखि चार हजार २०० वटासम्म अलैँचीका बिरुवा पाएका छन् ।” कतिपय किसानले व्यक्तिगत रूपमा र कतिपय किसानले सहकारी संस्था र कृषक समूहमार्फत अलैँचीखेती गर्दै आएको उनले बताए । अलैँचीको बिरुवा वितरणका लागि गाउँपालिकाले रु एक लाख ५० हजार विनियोजन गरेको थियो ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको बताए । “कृषि क्षेत्रमा प्रशस्त सम्भावना रहेको माङसेबुङमा कृषि क्षेत्रलाई नै प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएका छौँ”, अध्यक्ष राईले भने, “किसानलाई प्रोत्साहन गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै निरन्तरता दिनेछौँ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *