`

घुस लिने अधिकृत पक्राउ

Nepal One HD २४ असार २०८३ ११:०३
अपराध

काठमाडौं । सिरहास्थित सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै यादवले प्रतिट्रक ४ हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीले आयोगमा उजुरी दिएपछि अख्तियारले आवश्यक प्रमाण संकलन गर्दै योजनाबद्ध निगरानी थालेको थियो।

सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट वन अधिकृत यादवलाई १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। पक्राउपछि घटनास्थलमै मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका प्रवक्ता प्रकाश पोखरेलका अनुसार पक्राउ परेका यादवलाई नियन्त्रणमा राखेर घटनास्थलमै आवश्यक कानुनी प्रक्रिया पूरा भइरहेको छ। प्रक्रिया सम्पन्न भएपछि थप अनुसन्धानका लागि उनलाई आयोगको बर्दिबास कार्यालय लगिनेछ।

घटनाबारे थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ। साथै, सार्वजनिक सेवामा हुने घुसखोरी तथा अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप कारबाहीलाई निरन्तरता दिइने आयोगको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *