कांग्रेस फुट्यो ?
काठमाडौं। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद नयाँ मोडमा पुगेको छ। पार्टी नेतृत्वसँग सहमति जुट्न नसकेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट समूहले नयाँ राजनीतिक दल गठन गर्ने तयारी अघि बढाएको छ।
यस विषयमा औपचारिक निर्णय लिन सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ। बैठकले राष्ट्रिय भेला आयोजना गर्ने तथा नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाउने विषयमा निर्णय गर्न सक्ने बताइएको छ।
देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार बैठकमा आगामी रणनीति, संगठन निर्माणको प्रारम्भिक खाका तथा राष्ट्रिय भेलाको मिति निर्धारणबारे छलफल हुनेछ।
नयाँ दल गठनको तयारी भए पनि त्यसको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने समूहभित्र अझै सहमति जुटिसकेको छैन।
स्रोतका अनुसार सम्भावित नेतृत्वबारे विभिन्न विकल्पमा छलफल भइरहे पनि कुनै अन्तिम निर्णय भएको छैन। त्यसैले सोमबारको बैठकलाई देउवा पक्षका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
उता सभापति गगन थापाको नेतृत्वमा रहेको पक्षले भने पार्टी विभाजनभन्दा एकतामै जोड दिएको छ।
उक्त समूहले १५औँ महाधिवेशनलाई एकतामूलक ढंगले सम्पन्न गराउने प्रयास जारी रहेको बताउँदै संगठनलाई समेट्ने नीति अपनाइने जनाएको छ। तर पुरानो केन्द्रीय समितिलाई जस्ताको तस्तै समायोजन गर्न नसकिने अडान भने कायम राखिएको छ।
नेतृत्व पक्षले संगठनात्मक पुनर्संरचना र महाधिवेशन प्रक्रियालाई संस्थागत ढंगले अघि बढाउने तयारीमा रहेको जनाएको छ।
नयाँ पार्टी गठनको विषयमा देउवा समूहभित्र पनि पूर्ण सहमति देखिएको छैन।
समूहका केही नेताले नेपाली कांग्रेसको रुख चुनाव चिह्न र चारतारे झण्डा नछाड्ने अडान लिँदै पार्टीभित्रै रहेर राजनीतिक संघर्ष जारी राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यसले देउवा पक्षभित्र पनि आगामी रणनीतिलाई लिएर फरक-फरक दृष्टिकोण रहेको संकेत गरेको छ।
अब सोमबार बस्ने बैठकले नयाँ दल गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढाउने वा पार्टीभित्रै समाधान खोज्ने भन्ने विषयमा महत्वपूर्ण दिशा तय गर्ने अपेक्षा गरिएको छ।
