रोहित, देव र दीपेन्द्रको अर्धशतकमा नेपालले बनायो २८० रन
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २८० रन बनाएको छ। नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको हो। यससँगै ओमानले जितका लागि २८१ रनको लक्ष्य पाएको छ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ६९ रनको योगदान दिए। उनले ६२ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।
देव खनालले ६५ बलमा ५७ रन बनाए भने बासिर अहमदले ७ बलमा आक्रामक १७ रन जोडे। इशान पाण्डेले ६० बलमा २९ रन बनाउँदा आसिफ शेखले ७ रन मात्र बनाउन सके।
गुल्सन झाले ४ बलमा ५ रन र करण केसीले ५ बलमा ९ रन बनाए। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले खाता खोल्न सकेनन्। ललित राजवंशी भने शून्य रनमा अविजित रहे।
नेपालले अतिरिक्तबाट ७ रन पाएको थियो।
ओमानका लागि फैसल शाहले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए। उनले ८ ओभरमा ५७ रन खर्चिए। जय ओडेड्राले ३ विकेट लिँदा समय श्रीवास्तवले २ विकेट लिए।
नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८० रन बनाएको हो। अब ओमानले जितका लागि २८१ रन बनाउनुपर्नेछ।
