`

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

Nepal One HD ८ जेठ २०८३ १८:३१
समाचार

काठमाडौँ – नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, भरूवा बन्दुक २१ थान, बन्दुक एक थान र एयरगन दुई थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ ।”

यसैगरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद भएको जनाएको छ ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील रहेको प्रवक्ता काफ्लेले बताउनुभयो । अवैध हतियार कतै लुकाइ राखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन नेपाल प्रहरी सबैमा आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *