`

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँः आर्थिक मामिलामन्त्री कार्की

Nepal One HD १० जेठ २०८३ १९:०६
राजनीति

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका सङ्कल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गर्नुभयो ।उहाँले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिनुभयो ।

कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधिकरणमार्फत रोजगारी र आयआर्जन सृजना गर्ने नीति सरकारले लिएको उहाँको भनाइ थियो ।मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्य बैजनाथ कलवार, दिलकुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मीना बुढामगर, शान्ति लोध, मीनाकुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी÷कुर्मी, सुरुल पुन तथा वसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।

छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल समाप्त भएको घोषणा गर्नुभयो ।प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *