युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण
यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली नेताहरूसँग भेटवार्ता गर्नुहुनेभएको छ। बैठकमा यूक्रेनको हवाई सुरक्षा र युद्धको आगामी रणनीतिबारे छलफल हुनेछ ।
यूक्रेनका राष्ट्रपति जेलेन्स्की सोमबार पेरिस पुग्नुभएको हो । पेरिसमा रहँदा उहाँले रूसको आक्रमणविरुद्ध यूक्रेनलाई सहयोग गरिरहेका करिब दुई दर्जन यूरोपेली नेताहरूसँग कुराकानी गर्नुहुनेछ । यो युद्ध अहिले पाँचौं वर्षमा प्रवेश गरेको छ ।
यसैबीच युरोपेली देशका विदेश मन्त्रीहरूबीच पनि ब्रसेल्समा बैठक भइरहेको छ । यस बैठकमा यूक्रेनको आवश्यकता र रूसबाट युरोपलाई उत्पन्न भएको खतराबारे छलफल हुने अपेक्षा गरिएको छ ।
यूक्रेन र उसका युरोपेली समर्थकहरूले युद्ध समाप्त गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताका लागि दबाब दिन चाहन्छन् । उनीहरूको बुझाइमा अमेरिकी ट्रम्प प्रशासनको एक वर्ष लामो शान्ति प्रयासका बावजुद मस्कोले कुनै समझदारीमा चासो देखाएको छैन ।
विश्लेषकहरू र पश्चिमी अधिकारीहरूका अनुसार हालका महिनाहरूमा ड्रोन प्रविधिमा यूक्रेनको प्रगतिले उसलाई फाइदा पुर् याएको छ। उनीहरूले यूक्रेनका आक्रमणहरूले मोर्चाको पछाडि रूसको आपूर्ति प्रणालीलाई क्षति पु¥याएको छ । यसले रूसी सेनाको अघि बढ्ने गतिलाई ढिलो बनाएको छ र उसलाई ठूलो मूल्य चुकाउनुपरेको छ ।
यूक्रेनी सेनाले विशेष गरी क्रिमियातर्फ जाने आपूर्तिलाई निशाना बनाएको छ। यसबाट ‘ब्ल्याक सी’ क्षेत्रमा इन्धनको ठूलो सङ्कट उत्पन्न भएको छ ।
रूसले सन् २०१४ मा क्रिमियालाई अवैध रूपमा आफ्नो कब्जामा लिएको थियो । यूक्रेनका यी आक्रमणहरूले क्रेमलिनको ‘रूसले युद्ध जित्दैछ’ भन्ने दाबीलाई पनि झट्का दिएको छ।
जेलेन्स्कीले युरोपेली देशहरूसँग मिलेर छिट्टै ब्यालिस्टिक मिसाइलबाट बच्ने हवाई सुरक्षा प्रणाली विकास गर्ने योजना अगाडि बढाउन चाहनुभएको छ । यो प्रणालीले यूक्रेनको विद्युत् संरचनामाथि रूसले गर्ने विनाशकारी आक्रमण रोक्न मद्दत गर्न सक्छ।
रातभर भएका आक्रमणपछि सोमबार जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “दुनिया हेर्दैछ, यूक्रेनलाई अझ धेरै हवाई सुरक्षा र जनजीवनको सुरक्षा चाहिन्छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता यूक्रेनलाई प्याट्रियट हवाई सुरक्षा प्रणाली बनाउने अनुमति दिने घोषणा गरेकोलाई किएभका लागि ठूलो सफलता मानिएको छ । तर, विज्ञ र यूक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् कि यो योजनालाई वास्तविक हतियारमा बदल्न धेरै वर्ष लाग्न सक्छ ।
