एमालेको राष्ट्रिय भेला मंसिर पहिलो हप्तामा हुने
काठमाडौं । नेकपा एमालेले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव लेखराज भट्टले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय भेलामा पार्टीका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका अध्यक्ष तथा उपाध्यक्षसहित संघ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
उनले भने, ‘अब मङ्सिर २६ मा वडा अधिवेशन, आगामी पुस ४ मा पालिका अधिवेशन गर्ने निर्णय भएको छ । मङ्सिरको पहिलो हप्ता राष्ट्रिय भेला गर्ने, पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र सङ्घ, प्रदेश तथा पालिकाका जनप्रतिनिधिहरूलाई सहभागी गराउने निर्णय भएको छ ।’
यसैगरी, मधेश प्रदेशमा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गर्ने जैनव खातुनको निधन भएपछि रिक्त स्थानमा नाजमा खातुनलाई पठाउने निर्णय भएको भट्टले जानकारी दिए ।
