‘ग्रेटर नेपाल देखाउने बालेनले भारतमा सीमा विवादको कुरा उठाउन सकेनन्’
काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा सजाएर अरूलाई राष्ट्रवादको पाठ पढाउने प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) भारत पुग्दा भने नेपालको सीमा विवादसमेत उठाउन नसकेको भन्दै एमाले महासचिव शंकर पोखरेलले कडा कटाक्ष गरेका छन्।
राष्ट्रियताको मुद्दामा चर्को अभिव्यक्ति दिने प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको स्वाभिमान उँचो बनाउन नसकेको उनको आरोप छ।
प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले बालेनको भारत भ्रमणलाई उपलब्धिभन्दा बढी निराशाजनक भएको टिप्पणी गरे। लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता संवेदनशील सीमा विवादमा छलफलसमेत हुन नसकेको र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ती विषय भ्रमणको एजेन्डामै नरहेको बताएको प्रसंग उनले उठाए।
‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ,’ पोखरेलले भने, ‘काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्ने प्रधानमन्त्रीले भारत भ्रमणमा नेपालको हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन।’
एमाले नेतृत्वको सरकारले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्नसमेत नमानेको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले आग्रह गर्न नसकेको पोखरेलको आरोप छ। राष्ट्रिय हितसँग जोडिएको यो विषय भ्रमणमा प्राथमिकतामा नपरेको उनको भनाइ छ।
पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा पनि भारतसँग ठोस सहमति हुन नसकेको बताए।
हिजो हवाई रुट नदिएर रोकिएको विषय अब उडानको उचाइसम्बन्धी विवादमा अल्झिन सक्ने भन्दै उनले नेपालको उड्डयन क्षेत्रको सम्भावनामाथि नै अवरोध कायम रहने संकेत गरे।
भारतबाट दुई खर्ब रुपैयाँभन्दा बढी ऋण ल्याउनुलाई उपलब्धि भन्दै प्रचार गरिएकोप्रति पनि पोखरेलले व्यङ्ग्य गरे। विगतमा ऋणकै कारण देश डुबेको भाषण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण पाउनुलाई सफलताको प्रमाणपत्र बाँड्न थालेको उनको टिप्पणी थियो।
