परराष्ट्रमन्त्री खनाल र मलेसियाका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौँ -परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका विदेशमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच आज टेलिफोन वार्ता भएको छ ।
मलेसियाका विदेशमन्त्री हसनले परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
वार्ताका क्रममा मलेसियाका विदेशमन्त्री हसनले नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया सरकार तयार रहेको बताए । वार्तामा परराष्ट्रमन्त्री खनालले मलेसियाले व्यक्त गरेको सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए । उनले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरिरहेका प्रयासबारे जानकारी गराउँदै बेपत्ता व्यक्तिको खोजीकार्य जारी रहेको बताएका थिए ।
मन्त्री खनालले विपद्बाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासनसमेत दिएका छन् ।
